शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १००७० - मानव बेचबिखन तथा ओसार पसार र जबरजस्ती करणी

भाग: ६० साल: २०७५ महिना: मंसिर अंक:

सर्वोच्‍च अदालत, संयुक्त इजलास 

माननीय न्यायाधीश श्री दीपककुमार कार्की

माननीय न्यायाधीश श्री ईश्‍वरप्रसाद खतिवडा

फैसला मिति : २०७४।५।२

०७२-CR-०८१०

 

मुद्दाः- मानव बेचबिखन तथा ओसार पसार र जबरजस्ती करणी

 

पुनरावेदक / वादी : संकेत नाम बौद्ध ९५ को जाहेरीले नेपाल सरकार

विरूद्ध

प्रत्यर्थी / प्रतिवादी : जिल्ला सिन्धुपाल्चोक, गा.वि.स. पान्ताङ वडा नं.५ बस्ने प्रेम भन्‍ने शंकर वि.क.

 

मुख्यतः अपराधका चारवटा चरणहरू हुन्छन् । पहिलो हो अपराध गर्ने मनसाय चरण; यस चरणमा कसैले कुनै अपराध गर्ने बारेमा सोच्दछ वा मनसायको उत्पत्ति गर्दछ । दोस्रो हो तयारी चरण; यसमा मनले सोचेको कुरालाई कार्य रूप दिनका लागि आवश्‍यक पूर्वाधारहरू तयार वा वातावरण निर्माण गरिन्छ । तेस्रो हो उद्योग चरण; यसमा अपराधको तयारीपश्‍चात् तयारीकर्ताले मनसायपूर्वक अपराध घटाउन वास्तविक कार्यमा उत्रन्छ तर केही अवरोधका कारणबाट अपराध पूरा हुन नपाई खाली पूर्ण अपराधको प्रयत्न मात्र हुन्छ । चौथो तथा अन्तिममा; यसरी अवरोध नआएको भए पूर्ण रूपमा आपराधिक कार्य सम्पन्न हुन्छ । यसबाट अभियुक्तलाई लगाइएको कसुरप्रति निजको अन्तिम प्रयास असफल भएको अवस्था नै आपराधिक उद्योग हो भन्ने स्पष्ट हुन्छ । यदि उद्योग सफल भएको भए उसको इच्छित अपराध पूरा हुने थियो भन्ने अवस्था नै अपराधको उद्योग हो । यसरी अपराधको उद्योग भन्‍नाले अपराध गर्नको लागि आपराधिक मनसायसहित आपराधिक कार्य प्रक्रिया सुरू गरिसकेको तर कुनै कारणवश इच्छित परिणाम प्राप्त गर्न नसकेको अवस्था हुने ।

(प्रकरण नं.६)

 

पुनरावेदक / वादीका तर्फबाट : 

प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : 

अवलम्बित नजिर :

सम्बद्ध कानून :

मानव बेचबिखन तथा ओसार पसार (नियन्त्रण) ऐन, २०६४

 

सुरू तहमा फैसला गर्ने:

माननीय न्यायाधीश श्री भोजराज शर्मा

काठमाडौं जिल्ला अदालत

पुनरावेदन तहमा फैसला गर्नेः

माननीय न्यायाधीश श्री चण्डीराज ढकाल

माननीय न्यायाधीश श्री नारायणप्रसाद श्रेष्ठ

पुनरावेदन अदालत पाटन

 

फैसला

न्या.दीपककुमार कार्की : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः-

काठमाडौ जिल्ला, बौद्ध स्थित मेरो बुबाले सञ्चालन गरेको तामाको भाँडा बनाउने पसलमा दुई वर्ष अगाडिदेखि काम गर्दै आएका प्रेम भन्‍ने शंकर वि.क. सँग बोलचाल हुँदै जाने क्रममा म तिमीलाई माया गर्छु विवाह गर्छु भन्दै नाटक गरी मायाजालमा पारी पटकपटक शारीरिक सम्पर्कसमेत गरेको र कसैलाई भने विष खाएर मर्छु भन्‍ने जस्ता कार्यहरू गरी विभिन्न नाटक गरी भारततर्फ जानुपर्छ भनी मिति २०६९।११।२५ गते मलाई शकंर वि.क.ले चाबहिलमा बोलाई काठमाडौं चाबहिलबाट स्वयम्भूमा लगी ऐ. २५ र २६ गतेसम्म स्वयम्भु स्थित गेष्टहाउसमा राखी शारीरिक सम्पर्क गरी ऐ. २७ गते काठमाडौं स्वयम्भुबाट सिधै भारत दिल्ली जाने रात्री बसमा मेरो नामथरसमेत फरक पारी छुट्टाछुट्टै दुईवटा टिकट काटी जाँदा नचिनेझैं गरी बस्ने भनी सिकाई त्यहाँबाट मलाई भारत दिल्ली लैजाने क्रममा काठमाडौं जिल्ला, नागढुङ्गामा प्रहरी र माइती नेपालका कर्मचारीहरूले सोधपुछ गर्दा विवाह गर्ने बहानामा शंकर वि.क.ले मलाई भारत दिल्ली लैजान लागेको भन्‍ने खुल्न आएकोले यसरी झुठ्ठा प्रलोभन देखाई बिक्री गर्न लैजाने शंकर वि.क.लाई कारबाही गरिपाउँ भन्‍नेसमेत बेहोराको संकेत नाम बौद्ध ९५ को जाहेरी दरखास्त ।

दुई वर्षअगाडि आई हाम्रो पसलमा काम गर्ने क्रममा प्रेम भन्‍ने शंकर वि.क.सँग चिनजान भएको हो । निज मेरो काका नाता पर्छ । पसलमा काम गर्ने क्रममा बोलचाल हुने गरेको थियो । २०६९ साल कार्तिक महिनाको दोस्रो सातातिर म ट्वाइलेट गएको अवस्थामा मलाई जबरजस्ती समाउन थालेकोले म कराउँदा छाडी दिएका थिए । त्यसपछिका दिनमा म तिमीलाई माया गर्छु बिहे गर्छु नमानेमा विष खाएर मरिदिन्छु भन्‍ने जस्ता नाटक गरी मलाई बाध्यतामा पारी शारीरिक सम्पर्कसमेत गर्दै आएका थिए । बाबु आमासँग भनी दिन्छु भन्दा तिमीले चिन्ता लिनु पर्दैन विवाह गरी भारततर्फ लैजान्छु भन्दै फकाउँदै आएकामा मिति २०६९।११।२५ गते मलाई चाबहिलमा आउ भनी बोलाएको म त्यहाँ गई निजसँग भेट हुँदा भारततर्फ जाने हो भनी सो दिन स्वयम्भुमा लगी २६ गतेसम्म गेष्ट हाउसमा राखी शारीरिक सम्पर्कसमेत गरेको र ऐ. २७ गते भारत जाने भनी स्वयम्भुबाट भारत दिल्ली जाने रात्रीबसको टिकट काटी टिकटमा मेरो नाम थर फरक पारी छुट्टाछुट्टै टिकट काटी जाँदा बसमा चेकजाँच हुँदा नचिनेझैं गरेर जाने हो भनी मलाई सिकाई १५।१६ नं. को सिटमा सँगै बसी मलाई भारततर्फ लिई जाँदै गरेको अवस्थामा काठमाडौं जिल्ला, नागढुङ्गा पुग्दा प्रहरी र माइती नेपालका कर्मचारीहरूले हाम्रो गतिविधिमाथि शंका लागी सोधपुछ गर्दा म जाहेरवालालाई प्रेम भन्‍ने शंकर वि.क.ले विवाह गर्ने बहाना बनाई भारत स्थित दिल्लीमा लैजान लागेको भन्‍ने निज प्रतिवादीले भनेपछि थाहा भएको हो । यसरी मलाई शंकर वि.क.ले विवाह गर्ने बहाना गराई ललाई फकाई प्रलोभनमा पारी भारतमा लगी बिक्री गर्ने उद्देश्यले लैजान लागेकोले कारबाही गरिपाऊँ । बसको सक्कलै टिकटसमेत पेस गरेको छु, प्रमाण लगाई पाउँ भन्‍नेसमेत बेहोराको पीडित संकेत नाम बौद्ध ९५ को बयान ।

वादी नेपाल सरकार प्रतिवादी प्रेम भन्‍ने शंकर वि.क. भएको मानब बेचबिखन तथा ‌ओसार पसार मुद्दामा पीडितको व्यक्तिगत चरित्रमा असर पर्न सक्ने भएकोले निज पीडितको नामथर गोप्य राखी निजको नामथरको स्थानमा संकेत नाम बौद्ध ९५ दिइएको छ भन्‍नेसमेत बेहोराको पर्चा र मेरो नाम थर गोप्य राखी मेरो नामथरको स्थानमा बौद्ध ९५ दिएको कुरा मैले जानकारी पाएँ सोही संकेत नामबाट मलाई बोलाउने गरेमा मेरो मन्जुरी छ भन्‍ने बेहोराको पीडितले गरेको कागज ।

मैले दुई वर्षअगाडिदेखि जाहेरवालीको बुबाले सञ्चालन गरेको तामा पित्तलको भाँडा पसलमा काम गर्दै आएको हुँ । जाहेरवालीको घरमा बस्ने निजहरूको घर परिवारसँग खाना खाने र त्यहिँ काम गर्ने सिलसिलामा जाहेरवाली पीडितसँग समेत बोलचाल हुँदै जाँदा दुवैजना बीचमा माया प्रेम हुँदै गई दुवैजनाको सहमतिमा शारीरिक सम्पर्कसमेत हुन थाल्यो । माया बढ्दै गएपछि तिमी डराउनु पर्दैन मैले विवाह गर्छु भनी पीडितलाई भन्दै पनि आएको थिएँ । यस्तैमा २०६९ साल भदौ महिनामा गाउँमा आमाको मृत्यु भएकोले म घरमा गएँ, त्यतिखेर पनि फोन सम्पर्क भइरहेको 

थियो । आमाको काम सकिएपछि काठमाडौं आई घरमा आउने जाने गरिरहेको थिएँ । २०६९ साल फाल्गुण महिनामा मेरो श्रीमती सुत्केरी भएकीले म गाउँमा गएँ, सो अवस्थामा पनि पीडितसँग निरन्तर फोन सम्पर्क भइरहेको थियो । सो समयमा मैले पैसा जुटाउँदै छु, म आएपछि हामी भारततर्फ जाने हो भनेको थिएँ र मिति २०६९।११।२५ गते म काठमाडौंमा आई पीडितलाई भारत जानको लागि चाबहिलमा आउ भनी बोलाएँ । चाबहिलमा पीडितसँग भेट भएपछि दुवै जना स्वयम्भु गयौं, सो दिन र ऐ. २६ गते दिल्ली जाने टिकट पाइएन अनि २ दिनसम्म स्वयम्भुमा रहेको गेष्टहाउसमा बस्यौं, अनि ऐ. २७ गते स्वयम्भुस्थित सुमेरू टुर्स एण्ड प्रा.लि.बाट पीडितको नाम थर फरक पारी पीडित र मेरो छुट्टाछुट्टै गरी दुई ओटा बसको टिकट काटी १५ र १६ नं. सिटमा सँगै बसी स्वयम्भुबाट सो दिन साँझ अन्दाजी साढे ५ बजेतिर भारत दिल्ली जाने भनी गएकोमा काठमाडौं जिल्ला, नागढुङ्गामा पुगेपछि माइती नेपाल र प्रहरीको चेकिङमा हामीलाई सोधपुछ गरी भारत दिल्ली जानबाट रोकी फिर्ता पठाएका हुन् । पछि पीडितले भारतमा लगी बिक्री गर्न लैजान लागेको भनी मेरो विरूद्धमा जाहेरी दिएकी रहिछन् । यसरी पीडितसँग मेरो प्रेम सम्बन्ध रहेको र विवाह गर्ने भनी भारत दिल्लीमा गई १/२ वर्ष बसी पुनः नेपाल फर्कने भनी पीडितलाई लिई भारत दिल्लीमा जान लागेको हुँ । बिक्री गर्न भनी लिई जान लागेको होइन भन्‍नेसमेत बेहोराको प्रतिवादी प्रेम भन्‍ने शंकर वि.क.को अधिकारप्राप्त अधिकारीसमक्षको बयान ।

म माइती नेपाल शाखा कार्यालय नागढुङ्गामा कार्यरत छु । नेपालको काठमाडौंसमेतबाट सो नाका हुँदै नेपाली चेलीबेटीहरूलाई कसैले पनि अरू ठाउँ तथा अन्य देशमा लगी बिक्री गर्न नपाउन भन्‍ने हेतुले नागढुङ्गा नाकामा बसहरू चेक गर्ने गर्दछौं । यसै सिलसिलामा मिति २०६९।११।२७ गते दिउँसो १२ बजेदेखि साँझ ८ बजेसम्म म र मेरो साथी जिना के.सी. को बस चेकजाँच गर्ने ड्युटी थियो । साथी जिना के.सी. ले सो दिन साँझ पौने सात बजेतिर बसभित्र गई हेरी एकजना महिलालाई लिएर ओर्लिनु भयो अनी मैले सोधपुछ गर्दा म एक्लै भारत जान लागेको हो भारतमा दाजु हुनुहुन्छ भन्नु भएकोले विश्‍वास नलागी अन्य थप सोधपुछ गर्दा यसमा दाजु प्रेम भन्‍ने शंकर वि.क. पनि हुनुहुन्छ भन्‍ने कुरा खुलेपछि शंकर वि.क.लाई पनि सोधपुछ गर्दा पीडितको आमाबुबा नभएको भारतमा दाजु भएकोले भेटघाटको लागि लिई जान लागेको हो भनी झुठ्ठा बेहोरा बताएको तथा पीडित र आफूबीच पनि कतिखेर दाजु बहिनी हौं भन्‍ने कतिखेर श्रीमान् श्रीमती हौं भन्‍ने जस्ता द्विविधायुक्त कुराहरू गरेकोले पीडितलाई छुट्टै राखी सोधपुछ गर्दा पीडितको बुबाआमा काठमाडौं रामहिटीमा भएको, कसैलाई जानकारी नगराई प्रेम भन्‍ने शंकर वि.क.ले भारत जाउँ भनेकोले चाबहिलबाट स्वयम्भुमा ल्याई दुई दिनसम्म गेष्टहाउसमा राखी आज भारत जान लागेको हो । बाटोमा चेकजाँच हुँदा नचिनेझैं गरेर जानुपर्छ भनी शंकर वि.क.ले सिकाएका थिए भनेर पीडितले बताएकीले भारत जानबाट रोकी फिर्ता पठाएको हो भन्‍नेसमेत बेहोराको ज्ञानु गौतमको कागज ।

म माइती नेपाल शाखा कार्यालय नागढुङ्गामा कार्यरत छु । नेपालको काठमाडौंसमेतबाट सो नाका हुँदै नेपाली चेलीबेटीहरूलाई कसैले पनि अरू ठाउँ तथा अन्य देशमा लगी बिक्री गर्न नपाउन् भन्‍ने हेतुले नागढुङ्गा नाकामा बसहरू चेक गर्ने गर्दछौं । यसै सिलसिलामा मिति २०६९।११।२७ गते दिउँसो १२ बजेदेखि साँझ ८ बजेसम्म म र मेरो साथी ज्ञानु गौतमको बस चेकजाँच गर्ने ड्युटी थियो । सो दिन साँझ अं. पौने सात बजेतिर स्वयम्भुबाट भारत दिल्ली जाने ना.३ख ५६४१ नं. को बस आएकोले बस चेकजाँच गर्नका लागि म बसभित्र प्रवेश गरेँ, बसको १५ र १६ नं. सिटमा पीडित र प्रतिवादी प्रेम भन्‍ने शंकर वि.क. रहेछन् निजहरू नचिनेझैं गरेर बसेका थिए, मलाई शंका लागि पीडितलाई कहाँ जाने हो बहिनी ? भनी सोधपुछ गर्दा भारतमा दाजु हुनुहुन्छ भेटघाटको लागि एक्लै जान लागेको हो भनी बताएकोले झनै शंका लागी पीडितलाई बसबाट ओराली केही पर बिटमा लगी सोधपुछ गर्दा बसको सिटमा सँगै बसेको प्रेम भन्‍ने शंकर वि.क.ले भारत दिल्ली जाउँ भनी मलाई लिई जान लागेका हुन् बाटोमा चेकजाँच हुँदा नचिनेझैं गरेर बस्ने एक्लै भारत जान लागेको हो भनी बताउनु भनी शंकर वि.क. ले सिकाएकोले सुरूमा उक्त कुरा बताएकी हुँ भनी पीडितले भनेपछि शंकर वि.क.लाई समेत सोधपुछ गर्दा, कतिखेर श्रीमान् श्रीमती त कतिखेर दाजु बहिनी हुँ भन्‍ने जस्ता द्विविधायुक्त कुराहरू गरेका, पीडित र प्रतिवादीको नाम थर फरक पारी छुट्टाछुट्टै टिकट काटेको भए तापनि एकै ठाउँमा बसेको जस्ता शंकास्पद अवस्थाले गर्दा भारत लैजानबाट रोकी फिर्ता पठाएका हौं भन्‍नेसमेत बेहोराको बुझिएकी जिना के.सी.को कागज ।

पीडितको बुबाले सञ्चालन गरेको तामा चाँदीको भाडा बनाउने पसलमा बिगत दुई वर्षदेखि प्रतिवादी प्रेम भन्‍ने शंकर वि.क. ले काम गर्दै आएका थिए । प्रेम भन्‍ने शंकर वि.क. १३ दिने दाजुभाइ हुन्, काम गर्ने सिलसिलामा भाइकी छोरी पीडित बौद्ध ९५ सँग प्रतिवादी प्रेम भन्‍ने शंकर वि.क.ले बोलचाल गर्ने क्रममा कुदृष्टि कुविचार राखी माया गर्ने बहाना गरी नाटक गरी करणी गरेछन् । सो कुरा कसैलाई भने विष खाएर मरिदिन्छु भनी डरत्रासमा पारेका रहेछन् । निज पीडित र पीडकबीच काका र छोरीको नाता सम्बन्ध रहेकोले त्यस्तो नराम्रो सम्बन्ध बारेमा कसैलाई शंका उपशंका थिएन । तर निज प्रतिवादी प्रेम भन्‍ने शंकर वि.क.ले पीडितलाई विवाह गर्ने बहानामा भारत लगी बिक्री गर्ने उद्देश्य रहेछ । यसैअनुरूप प्रतिवादीको घरमा दुइओटा छोरासहितको श्रीमती छँदाछँदै पीडितलाई विवाह गर्ने बहाना बनाई मिति २०६९।११।२५ गते पीडितलाई चाबहिलमा बोलाई चाबहिलबाट स्वयम्भुमा लगी ऐ. २५ र २६ गतेसम्म गेष्ट हाउसमा राखी ऐ. २७ गते काठमाडौं स्वयम्भुबाट सिधै भारत दिल्ली जाने रात्रीबसमा नामथर फरक पारी टिकट काटी चेकजाँच गर्दा नचिनेझैं गरी जानुपर्छ भनी पीडितलाई सिकाई भारत दिल्लीतर्फ लैजाने क्रममा काठमाडौं जिल्ला नागढुङ्गामा माइती नेपाल र प्रहरी कर्मचारीहरूले सोधपुछ गरी भारत दिल्ली लैजानबाट रोकी फिर्ता पठाई दिएका रहेछन् यसरी प्रेम भन्‍ने शंकर वि.क.ले पीडित बौद्ध ९५ लाई विवाह गर्ने बहानामा भारत लगी बिक्री वितरण गर्ने उद्देश्यले काठमाडौं चाबहिलबाट स्वयम्भु हुँदै काठमाडौं जिल्ला, नागढुङ्गा पुर्‍याएको अवस्था भएकोले प्रतिवादीलाई कारबाही गरिपाउँ भन्‍नेसमेत बेहोराको बुझिएको मानिस बुद्धिबहादुर सुनारले गरिदिएको कागज ।

मेरो ..................को तामाको भाँडा बनाउने पसलमा बिगत दुई वर्षदेखि प्रतिवादी प्रेम भन्‍ने शंकर वि.क.ले काम गर्दै आएका थिए, निज १३ दिने दाजुभाइ नाताका व्यक्ति हुन् । ..............को पसलमा काम गर्ने क्रममा दाजुकी छोरी वर्ष १७ की पीडित संकेत नाम बौद्ध ९५ सँग बोलचाल गर्ने सँगै खानेबस्ने क्रममा माया गर्ने विवाह गर्ने बहाना गरी प्रतिवादीले पीडितलाई करणी गर्ने कसैलाई भनेमा मारिदिन्छु आफूले पनि विष खाएर मारिदिन्छु भन्दै डरत्रासमा पार्ने बाध्यात्मक स्थितिमा पारेका रहेछन् । निजहरूबीचमा काका छोरीको नाता पर्ने भएकोले यस्तो सम्बन्धको बारेमा कसैलाई जानकारी भएन । यस्तैमा निज प्रतिवादीले आफ्नो घरमा दुईओटा छोराहरू भएको श्रीमती हुँदाहुँदै पीडितलाई विवाह गर्ने बहाना गरी झुठ्ठा प्रलोभन दिई भारत दिल्लीमा लगी राख्छु भनी भारतमा लगी बिक्री गर्ने उद्देश्यले मिति २०६९।११।२५ गते पीडितलाई चाबहिलमा बोलाई चाबहिलबाट स्वयम्भुमा लगी ऐ. २५ गतेसम्म गेष्ट हाउसमा राखी ऐ. २७ गते काठमाडौं स्वयम्भुबाट सिधै भारत दिल्ली जाने रात्रीबसमा नामथर फरक पारी टिकट काटी चेकजाँच गर्दा नचिनेझैं गरी जानुपर्छ भनी पीडितलाई सिकाई भारत दिल्लीतर्फ लैजाने क्रममा काठमाडौं जिल्ला, नागढुङ्गामा माइती नेपाल र प्रहरी कर्मचारीले सोधपुछ गरी भारत दिल्ली लैजानबाट रोकी फिर्ता पठाइदिएका रहेछन् । यसरी प्रेम भन्‍ने शंकर वि.क.ले पीडित बौद्ध ९५ लाई विवाह गर्ने बहानामा भारत लगी बिक्री वितरण गर्ने उद्देश्यले काठमाडौं चाबहिलबाट स्वयम्भु हुँदै काठमाडौं जिल्ला, नागढुङ्गा पुर्‍याएको अवस्था भएकोले प्रतिवादीलाई कारबाही गरिपाउँ भन्‍नेसमेत बेहोराको बुझिएका मानिस रिपलाल सुनारले गरिदिएको कागज ।

मिसिल संलग्न सुमेरू टुर्स सर्भिसको टिकटहरू, संकेत नाम बौद्ध ९५ को जाहेरी दरखास्त संकेत नाम बौद्ध ९५ को बयान, प्रतिवादी प्रेम भन्‍ने शंकर वि.क.को बयान, बुझिएका ज्ञानु गौतम र जिना के.सी.ले गरेको कागज, कल डिटेल, बुद्धिबहादुर सुनार र रिपलाल सुनारले गरिदिएको घटना विवरण कागजसमेतका आधार प्रमाणहरूबाट यी प्रतिवादी प्रेम भन्‍ने शंकर वि.क.ले पीडित संकेत नाम बौद्ध ९५ लाई बिक्री गर्न लिई हिँडेको अवस्थामा पक्राउ परेको वारदात स्थापित हुन आएकोले प्रतिवादीको उक्त कार्य मानव बेचबिखन तथा ओसार पसार (नियन्त्रण) ऐन, २०६४ को दफा ३(१) र ४(२) को कसुर अपराधमा सोही ऐनको दफा १५(१) (ङ)(१) बमोजिम सजाय गरी सोही ऐनको दफा १७ बमोजिम क्षतिपूर्ति दिलाई भराई पाउन साथै निज प्रतिवादीले पीडित वर्ष १७ की संकेत नाम बौद्ध ९५ लाई लामो समयदेखि डरत्रास देखाई जबरजस्ती करणी गर्दै आएको हुँदा निज प्रतिवादीको उक्त कसुर मुलुकी ऐन, जबरजस्ती करणीको महलको १ नं. विपरीत ३(४) नं. को कसुरमा सोही महलको ३(४) नं. बमोजिम सजाय गरी पीडितलाई पर्न गएको मानसिक असरसमेतको आधारमा ऐ. महलको १०(ग) नं. बमोजिम यिनै प्रतिवादीबाट पीडित बौद्ध ९५ लाई क्षतिपूर्ति दिलाई भराई पाउँ भन्‍नेसमेत बेहोराको अभियोगपत्र ।

मैले जाहेरवालीलाई बिक्री गर्नको लागी भारतमा लान खोजेको होइन । विपक्षी र मेरो बीचमा प्रेम भएको र मेरो श्रीमती र दुईवटा छोरा भएको कारणले नेपालमा बस्न नसक्ने भई निज जाहेरवालीले नै म घर गएको बेला बोलाई भारत जानको लागि टिकट काटेको हो । मेरो र जाहेरवालीको मन्जुरीमा नै मैले जाहेरवालीलाई करणी गरेको हो । मैले जाहेरवालीलाई जबरजस्ती करणी गरेको होइन । मैले कसुर नगरेकोले मलाई सजाय हुने पनि होइन भन्‍नेसमेत बेहोराको प्रतिवादी प्रेम भन्‍ने शंकर वि.क.को सुरू काठमाडौं जिल्ला अदालतमा भएको बयान ।

तत्काल प्राप्त प्रमाणको आधारमा यी प्रतिवादी निर्दोष छन् भन्न सक्ने अवस्था नदेखिँदा पछि प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने नै हुँदा हाललाई मुलुकी ऐन अ.बं. ११८ को देहाय २ बमोजिम थुनामा राख्न स्थानीय कारागारमा पठाई दिनु भन्‍ने सुरू काठमाडौं जिल्ला अदालतबाट भएको आदेश । 

जाहेरवाली संकेत नाम बौद्ध ९५, बुझिएका मानिस रिपलाल सुनार, बुझिएका मानिस बुद्धिबहादुर सुनारले सुरू काठमाडौं जिल्ला अदालतसमक्ष गरेको बकपत्र मिसिल संलग्न रहेको ।

मिसिल संलग्न तथ्य प्रमाणबाट यी प्रतिवादीले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ३(१) तथा दफा ४(२)(क) बमोजिमको कसुर गरेको तथ्य प्रमाणित हुन आएकोले निज प्रतिवादीलाई ऐ.को दफा १५(१) ङ (१) बमोजिम बाह्र वर्ष कैद र रू. ७५,०००।- (पचहत्तर हजार) जरिवाना हुने र ऐ. दफा १७ नं. बमोजिम जरिवाना रकम रू.७५,०००।- (पचहत्तर हजार) को पचास प्रतिशत बराबरको रकम रू.३७,५००।- (सैंतीस हजार पाँच सय) निज प्रतिवादीबाट पीडित बौद्ध ९५ लाई क्षतिपूर्तिबापत भराई दिने ठहर्छ । साथै यी प्रतिवादीले बौद्ध ९५ लाई जबरजस्ती करणीको १ नं. बमोजिम पीडितको मन्जुरीबेगर जबरजस्ती करणी गरेको तथ्य प्रमाणित भएकाले निजलाई जबरजस्ती करणीको ३(४) नं. बमोजिम सात वर्ष कैद हुने र ऐ. १० नं. ले पीडितलाई निज प्रतिवादीबाट एकमुष्ट रू. ४५,०००।- (पैतालिस हजार) रकम क्षतिपूर्तिबापत भराई दिने ठहर्छ भन्‍ने सुरू काठमाडौं जिल्ला अदालतको मिति २०७०।२।२० को फैसला । 

मैले पीडितलाई झुक्याउने कार्य गरेको छैन, म निजको भाँडा पसलमा काम गर्दा पीडितसँग चिनजान प्रेम सम्बन्ध भएकोले र विवाह गरी सँगै बसौंला, सुरूमा केही दिन अप्ठेरो पर्ने भएकोले मात्र दिल्ली जान लागेको, मैले पीडितलाई बिक्री गर्न लैजान लागेको होइन । म घर गएको समयमा पटकपटक फोन गरी बोलाएको हुँदा र मैले काठमाडौं आउँदिन भन्दा विष खान्छु भन्दै रून थालेपछि म घरबाट फर्की आएँ र २५ गते आफ्नो सामान तयार गरी मलाई चाबहिलबाट स्वयम्भु गई टिकट नपाएकोले २७ गतेको टिकट काटी दुवैको सहमतिमा भारत जान लागेको हो तर मैले निजलाई सुरू जिल्ला अदालतको फैसलामा उल्लेख भए जस्तो करकापमा पारी झुक्याई ललाई फकाई जाउँ भनी लिएर जान लागेको होइन । मेरो पीडितलाई बेच्ने मनसाय थिएन न त अरूसँग नै यसबारेमा योजना र सरसल्लाह भएको थियो । जाहेरीमा उल्लेख भएअनुसार निज पीडितलाई बेच्ने उद्देश्य मेरो नभए तापनि यस सम्बन्धमा विचार नपुर्‍याई गरेको सुरू जिल्ला अदालतको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी अभियोग दाबीबाट फुर्सद दिलाई पाउँ भन्‍नेसमेत बेहोराको प्रतिवादीको पुनरावेदन अदालत पाटनमा परेको पुनरावेदन पत्र ।

यसमा जाहेरी दरखास्त, पीडितको बयान एवं जाहेरवालीले गरेको बकपत्रको विवेचना नगरी भएको सुरू काठमाडौं जिल्ला अदालतको मिति २०७०।२।२० को फैसला समग्र प्रमाण मूल्याङ्कनका रोहमा फरक पर्न सक्ने देखिँदा अ.बं. २०२ एवं पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम छलफलका लागि सूचना दिई नियमानुसार पेस गर्नु भन्‍ने पुनरावेदन अदालत पाटनको मिति २०७१।८।९ को आदेश ।

प्रतिवादी काठमाडौं जिल्लाको नागढुङ्गामा पक्राउ परेको र निजले पीडितलाई बेचबिखन गर्ने उद्योग गरेको देखिएको तथा प्रतिवादीले गरेको कसुरको मात्राको आधारमा प्रतिवादीलाई जबरजस्ती करणीको ३(४) नं. बमोजिम न्यूनतम सजाय हुने देखिएको हुँदा प्रतिवादीलाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा १५(१)(ङ)(१) बमोजिम बाह्र वर्ष कैद र रू.७५,०००।– जरिवाना हुने र सोही ऐनको दफा १७ बमोजिम रू.३७,५००।– प्रतिवादीबाट पीडित बौद्ध ९५ लाई क्षतिपूर्तिबापत भराई दिने तथा प्रतिवादीलाई जबरजस्ती करणीको ३(४) नं. बमोजिम सात वर्ष कैद हुने ठहराएको हदसम्म सुरू काठमाडौं जिल्ला अदालतको मिति २०७०।२।२० को फैसला मिलेको नदेखिँदा सुरू अदालतको उक्त मितिको फैसला सो हदसम्म केही उल्टी भई प्रतिवादी प्रेम भन्‍ने शंकर वि.क.लाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा १५(१)(ज) अनुसार छ वर्ष कैद र रू.३७,५००।– (सैंतीस हजार पाँच सय रूपैयाँ) जरिवाना हुने तथा जबरजस्ती करणीको ३(४) नं. बमोजिम पाँच वर्ष कैद हुने र अरूमा सुरू अदालतको फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ । सुरू अदालतको फैसला पूरै उल्टी गरी अभियोग दाबीबाट सफाइ पाउँ भन्‍ने प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्‍ने पुनरावेदन अदालत पाटनको मिति २०७१।९।२२ को फैसला ।

प्रतिवादी शंकर वि.क.ले संकेत नाम बौद्ध ९५ लाई ललाई फकाई भारतको दिल्ली लग्ने भनेर बसको टिकट काटी बसमा चढाई नागढुङ्गा पुर्‍याउँदा माइती नेपाल र प्रहरीले पक्राउ गरेको । प्रतिवादी शंकर वि.क.ले सुमेरू टुर सर्भिसबाट काठमाडौंबाट दिल्ली जाने दुईवटा टिकट लिएको । काठमाडौं स्वयम्भुबाट भारत दिल्ली जाने क्रममा ना. ३ ख ५६४१ नं. को बस नागढुङ्गामा चेकजाँच गर्दा प्रतिवादीसहित पीडित पक्राउ परेकोले प्रतिवादीले नै पीडितलाई लिएर भारततर्फ गएको भन्‍नेमा अन्यथा नरहेको अवस्थामा पुनरावेदन अदालत पाटनबाट भएको फैसला त्रुटिपूर्ण छ । यिनै प्रतिवादी स्वयंले नै योजना बनाई पीडितलाई भारततर्फ लगी राखेको अवस्थामा माइती नेपाल र प्रहरीको अवरोध भई पक्राउ परेको हुँदा मुख्य कसुरदारलाई मतियारजस्तो बनाई पुनरावेदन अदालत पाटनबाट भएको फैसला त्रुटिपूर्ण छ । पुनरावेदन अदालत पाटनबाट मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा १५(१)(ङ) (१) बमोजिम सजाय नगरी मागदाबीभन्दा फरक कसुर ठहराई भएको फैसला सो हदसम्म त्रुटिपूर्ण भएकोले बदर गरी प्रतिवादीलाई अभियोग मागदाबीबमोजिम सजाय गरिपाउँ भन्‍नेसमेत बेहोराको पुनरावेदक वादी नेपाल सरकारको तर्फबाट यस अदालतमा परेको पुनरावेदन पत्र ।

नियमबमोजिम साप्ताहिक तथा दैनिक पेसी सूचीमा चढी इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदन पत्रसहितको मिसिल अध्ययन गरी विचार गर्दा पुनरावेदन अदालत पाटनको फैसला मिलेको छ, छैन र वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्ने हो, होइन भनी निर्णय दिनुपर्ने देखिन आयो ।

२. निर्णयतर्फ विचार गर्दा, प्रतिवादी प्रेम भन्‍ने शंकर वि.क. उपर मानव बेचबिखन तथा ओसार पसार (नियन्त्रण) ऐन, २०६४ को दफा ३(१) र ४(२) को कसुरमा १५(१)(ङ)(१) बमोजिम सजाय गरी १७ नं. बमोजिम प्रतिवादीबाट पीडितलाई क्षतिपूर्ति दिलाई भराई पाउन र मुलुकी ऐन, जबरजस्ती करणीको महलको १ र ३(४) नं. बमोजिमको कसुरमा ऐ. को ३(४) नं. बमोजिम सजाय गरी १०(ग) नं. बमोजिम क्षतिपूर्ति दिलाई दिनसमेत मागदाबी लिई सुरू काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र दायर भएकोमा सुरूबाट दाबीबमोजिम भएकोमा सोउपर परेको प्रतिवादीको पुनरावेदन-पत्रमा पुनरावेदन अदालत पाटनबाट निज प्रतिवादीलाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा १५(१)(ज) बमोजिम ६ वर्ष कैद र ३७,५००।- जरिवाना हुने र जबरजस्ती करणीको ३(४) नं. बमोजिम पाँच वर्ष कैद हुने तथा अरूमा सुरू फैसला सदर हुने ठहरी फैसला भएउपर मानव बेचबिखनतर्फ अभियोग दाबीबमोजिम नै सजाय गरिपाउँ भनी वादी नेपाल सरकारको पुनरावेदन पर्न आएको रहेछ ।

३. पीडितको बुबाले सञ्चालन गरेको तामा पित्तलको भाँडा बनाउने पसलमा काम गर्ने गरेका प्रतिवादीले पीडितलाई प्रेमजालको नाटक गरी अनुचित प्रभावमा पारी जबरजस्ती करणी गरिसकेपछि पीडितलाई विवाह गर्ने बहानामा भारतमा लगी बिक्री गर्नको लागि निज पीडितको बसोबास रहेको स्थानदेखि छुटाई काठमाडौंको स्वयम्भुदेखि बसमा चढाई नागढुङ्गासम्म पुर्‍याएको अवस्थामा प्रहरीसमेतको चेकजाँचको क्रममा प्रतिवादी पक्राउ र पीडितको उद्धार भएको तथ्य घटनास्थल मुचुल्का र पीडितको भनाईसमेतबाट एक आपसमा समर्थित भई पुष्टि भएको छ । पुनरावेदन अदालत पाटनको फैसलाबाट स्थापित उक्त तथ्यलाई वादी नेपाल सरकारको पुनरावेदन-पत्रमा समेत अन्यथा जिकिर लिन सकेको देखिँदैन र प्रतिवादीले पनि उक्त फैसलालाई चुनौती दिई पुनरावेदन गरेको अवस्था छैन ।

४. अब उक्त स्थापित तथ्यअनुसारको प्रतिवादीको कसुरमा निज प्रतिवादीउपर अभियोग दाबी लिइएको मानव बेचबिखन तथा ओसार पसार (नियन्त्रण) ऐन, २०६४ को दफा १५(१)(ङ)(१) अनुसार वा पुनरावेदन अदालतबाट ठहर भएको ऐ.ऐनको दफा १५(१)(ज) अनुसारको कसुर कायम गरी सजाय हुने हो भन्‍ने नै मुख्य निरूपण हुनुपर्ने प्रश्न रहेको देखिन आयो ।

५. मानव बेचबिखन तथा ओसार पसार (नियन्त्रण) ऐन, २०६४ को दफा ३ मा “कसैले पनि मानव बेचबिखन र ओसारपसार गर्न नहुने र गरेमा यस ऐनबमोजिमको कसुर मानिने” भन्‍ने उल्लेख हुँदै दफा १५ मा उक्त दफा ३ को कसुरका सम्बन्धमा सजायसम्बन्धी व्यवस्था गरिएको छ । यस मुद्दाको अभियोग दाबी लिइएको दफा १५(१)(ङ)(१) मा किन्‍न बेच्न वा वेश्‍यावृत्तिमा लगाउने उद्देश्यले मानिसलाई विदेश लैजानेलाई सजायको व्यवस्था गरिएको छ भने दफा १५(१) (ज) मा मानव बेचबिखन वा ओसारपसार कसुरको उद्योगसमेतको कसुर गर्नेलाई सजायसम्बन्धी व्यवस्था गरिएको छ ।

६. यस ऐनमा मानव बेचबिखन तथा ओसारपसारको कसुरको उद्योगको परिभाषा गरिएको छैन । मानव बेचबिखन तथा ओसारपसारको कसुरको उद्योगको बारेमा बुझ्नको लागि अपराधको विभिन्न चरणबारे सङ्क्षेपमा चर्चा गर्न सान्दर्भिक हुने देखिन्छ । मुख्यतः अपराधका चारवटा चरणहरू हुन्छन् । पहिलो हो अपराध गर्ने मनसाय चरण; यस चरणमा कसैले कुनै अपराध गर्नेबारेमा सोच्दछ वा मनसायको उत्पत्ति गर्दछ । दोस्रो हो तयारी चरण; यसमा मनले सोचेको कुरालाई कार्य रूप दिनका लागि आवश्‍यक पूर्वाधारहरू तयार वा वातावरण निर्माण गरिन्छ । तेस्रो हो उद्योग चरण; यसमा अपराधको तयारीपश्‍चात् तयारीकर्ताले मनसायपूर्वक अपराध घटाउन वास्तविक कार्यमा उत्रन्छ तर केही अवरोधका कारणबाट अपराध पूरा हुन नपाई खाली पूर्ण अपराधको प्रयत्न मात्र हुन्छ । चौथो तथा अन्तिममा; यसरी अवरोध नआएको भए पूर्ण रूपमा आपराधिक कार्य सम्पन्न हुन्छ । यसबाट अभियुक्तलाई लगाइएको कसुरप्रति निजको अन्तिम प्रयास असफल भएको अवस्था नै आपराधिक उद्योग हो भन्ने स्पष्ट हुन्छ । यदि उद्योग सफल भएको भए उसको इच्छित अपराध पूरा हुने थियो भन्ने अवस्था नै अपराधको उद्योग हो । यसरी अपराधको उद्योग भन्‍नाले अपराध गर्नको लागि आपराधिक मनसायसहित आपराधिक कार्य प्रक्रिया सुरू गरिसकेको तर कुनै कारणवश इच्छित परिणाम प्राप्त गर्न नसकेको अवस्था हो ।

७. अब आपराधिक उद्योगको कसुरको यो परिभाषालाई यस मुद्दाको स्थापित तथ्यसँग मिलाई हेर्दा यी प्रतिवादीले पीडितलाई भारतमा लगी बेचबिखन गर्ने मनसायअनुसार अपराधको तयारी स्वरूप माया प्रेमको जाल रची नजिक भई अनुचित प्रभावमा पारी शारीरिक सम्बन्ध कायम गरेको र विवाह गर्ने बहानामा भारत जान तयार गराइसकेपछि आफ्नो आपराधिक मनसायलाई कार्यान्वयन गर्नको लागि पीडित रहने बस्ने स्थानदेखि छुटाई भारततर्फ लैजानको लागि बसमा चढाई बाटोमा लैजाँदै गर्दा काठमाडौं नागढुङ्गामा प्रहरीसमेतको चेक जाँचको क्रममा प्रतिवादी पक्राउ र पीडितको उद्धार भएका कारण प्रतिवादीको पीडितलाई विदेश भारतमा लगी बेचबिखन गर्ने आपराधिक मनसायले पूर्णता पाउन नसकेको देखिन्छ । यसरी प्रहरीसमेतले अवरोध नगरेको भए प्रतिवादीको आपराधिक मनसायले पूर्णता पाउने निश्‍चित रहेको देखिन्छ ।

८. यसरी प्रतिवादीले पीडितलाई भारतमा लगी बिक्री गर्नको लागि ओसारपसार गरी लैजाने क्रममा काठमाडौंको नागढुङ्गासम्म पुर्‍याएको अवस्थामा प्रतिवादीले पीडितलाई लगी रहेको बसबाट नै प्रतिवादीलाई पक्राउ र पीडितको उद्धार भएको देखिन्छ । प्रस्तुत सन्दर्भमा, प्रतिवादीउपरको अभियोग दाबी लिइएको दफा १५(१)(ङ)(१) अनुसार कसुर कायम हुन प्रतिवादीले पीडितलाई बेचबिखन गर्ने उद्देश्यले ओसार पसार गरी विदेशी भूमिमा पुर्‍याएको तर बेचबिखन भने गरी नसकेको अवस्था हुनुपर्दछ । यी पीडितलाई विदेश भारतमा लगी बेचबिखन गर्न भारततर्फ लैजाँदै गर्दा बाटोमा लैजाँदै गरेको बसबाट नेपालमा नै पक्राउ परेको अवस्थामा यी प्रतिवादीले उक्त दफा १५(१) (ङ) (१) को कसुरको उद्योगको कसुर गरेको मान्नुपर्ने हुन्छ । 

९. तसर्थ, प्रतिवादीलाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा १५(१) (ज) बमोजिमको कसुर कायम गरी सजाय गर्ने गरेको पुनरावेदन अदालत पाटनको मिति २०७१।०९।२२ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रस्तुत् मुद्दाको दायरीको लगत कट्टा गरी फैसलाको विद्युतीय प्रति अपलोड गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाई दिनुहोला ।

 

उक्त रायमा सहमत छु ।

न्या.ईश्वरप्रसाद खतिवडा

 

इजलास अधिकृतः महेश खनाल

इति संवत् २०७४ साल भदौ २ गते रोज ६ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु