निर्णय नं. १००७६ - कर्तव्य ज्यान

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री हरिकृष्ण कार्की
माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान
फैसला मिति : २०७४।७।३०
०७३-CR-०२१०
मुद्दाः- कर्तव्य ज्यान
पुनरावेदक / प्रतिवादी : टोपबहादुर खड्काको छोरा, धादिङ जिल्ला, त्रिपुरेश्वर गा.वि.स. वडा नं.३ घर भई हाल कारागार कार्यालय धादिङमा थुनामा रहेको बलराम खड्का
विरूद्ध
प्रत्यर्थी / वादी : मोहनबहादुर बस्नेतको जाहेरीले नेपाल सरकार
भवितव्य नठहर्ने कुरामा कसैले कसैलाई कुनै तरहले कुनै अंग भाँच्ने, छिनाल्ने गरी कुटपिट गरेकोमा त्यो थला परी निको नभई मरे कुटपिट गर्ने व्यक्तिलाई ज्यानमाराको बात लाग्छ । यस्तो अवस्थामा जतिसुकै समयपछि मरे पनि बात लाग्छ । यसमा सो चोट पीरले थला परी निको नभएको हुनुपर्छ । पहिलेको चोटपीडा एकपटक निको भइसकेको अवस्थामा भने बात लाग्दैन । बात लाग्न चोटपीडाको अनवरतता (Continuation) कायम भइरहेको हुनुपर्छ । टुट्नु (Break) हुँदैन । प्रतिवादीको कुटपिटकै कारण पीडित थला परी सोही चोटपीरका कारणबाट पीडितको मृत्यु भएको देखिएको अवस्थामा प्रतिवादीलाई ज्यानसम्बन्धीको बात लाग्ने नै देखिने ।
(प्रकरण नं.६)
पहिले अपराधले पूर्णता नपाई उद्योगसम्म देखिएको स्थितिमा मुद्दा चल्दाचल्दैको अवस्थामा परिस्थितिमा परिवर्तन भई अपराधले पूर्णता प्राप्त गरेमा पूर्ण अपराधमा मुद्दा चलाउन र सजाय गर्न फौजदारी न्याय सिद्धान्तले रोकेको नदेखिने ।
(प्रकरण नं.७)
पुनरावेदक / प्रतिवादीका तर्फबाट :
प्रत्यर्थी / वादीका तर्फबाट :
अवलम्बित नजिर :
ने.का.प.२०६९, अंक १, नि.नं.८७६१
ने.का.प.२०७१, अंक ५, नि.नं.९१७०
सम्बद्ध कानून :
मुलुकी ऐन, ज्यानसम्बन्धी महलको ८, १३(३) नं.
सुरू तहबाट फैसला गर्नेः-
माननीय न्यायाधीश श्री ठाकुरप्रसाद शर्मा
धादिङ जिल्ला अदालत
पुनरावेदन तहबाट फैसला गर्नेः
माननीय न्यायाधीश श्री लेखनाथ घिमिरे
माननीय न्यायाधीश श्री युवराज सुवेदी
पुनरावेदन अदालत पाटन
फैसला
न्या.हरिकृष्ण कार्की : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) बमोजिम पेस हुन आएको प्रस्तुत मुद्दाको तथ्य र ठहर यसप्रकार रहेको छः-
कक्षा ११ मा पढ्ने मेरो छोरी सुनिता बस्नेत परीक्षा दिन त्रिपुरेश्वरमा आई बलराम खड्काको घरमा कोठा लिई बसेको अवस्थामा मिति २०७१/०२/१० मा परीक्षा सकिएपछि छोरीलाई लिन आएका काका मेरो भाइ नारायणबहादुर बस्नेतलाई बलराम खड्काले एक्कासी पिटिरहेकोमा छोरीले छुट्याउने कोसिस गर्दासमेत छुट्याउन नसकी कुटपिटपश्चात् नारायणबहादुर बस्नेतलाई बोल्न नसक्ने अवस्थामा पुर्याएको हुँदा बलराम खड्कालाई कारबाही गरिपाउँ भनी निवेदन दिई ज्यान मार्ने मुद्दा चलेकोमा निज नारायणबहादुर बस्नेतको उपचारपछि कहिले घरमा र कहिले अस्पतालमा राखी उपचार गराउँदाको अवस्थामा भाइ नारायणबहादुर बस्नेतको मिति २०७१/११/२५ मा मृत्यु भएकाले निज बलराम खड्कालाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(१) नं. बमोजिम सजाय गरिपाउँ भन्नेसमेत मोहनबहादुर बस्नेतको मिति २०७१/१२/५ को जाहेरी दरखास्त ।
मिति २०७१/०२/११ मा मेरो परीक्षा समाप्त हुने भएकोले मेरो आफ्नै काका नारायणबहादुर बस्नेत मलाई लिन भनी मिति २०७१/०२/१० मा बेलुका म बसी आएको बलराम खड्काको घरमा आई खाना खाई घरको माथिल्लो चोटामा छुट्टाछुट्टै खाटमा सुतिरहेको अवस्थामा अं.८:३० बजेको समयमा बलराम खड्का आई मेरो काकालाई घरमा सुतिरहेको देखी किन यहाँ आइस् भनी गाली गलौज गरी एक्कासी मुक्का, लातले कुटपिट गर्न थालेपछि म स्थानीय मानिसहरूलाई बोलाई आउँदा काकालाई बलराम खड्काले रगताम्य बनाई घरको चोटाबाट झारी नजिकै रहेको निजको आमाको घरमा ल्याई पुर्याएको हो । उक्त दिन बलराम खड्काले काका नारायणबहादुर बस्नेतलाई ज्यान लिने उद्देश्यले कुटपिट गरेको हो भन्ने सुनिता बस्नेतको जाहेरी ।
धादिङ जिल्ला, त्रिपुरेश्वर गाउँ विकास समिति वडा नं.३ स्थित पूर्वमा कृष्ण कुँवरको मकैबारी, पश्चिममा जमुना खड्काको मकैबारी, उत्तरमा सडक, दक्षिणमा बलराम खड्काको बुबा टोपबहादुर खड्काको मकैबारी यति चार किल्लाभित्र रहेको टोपबहादुर खड्काको कच्ची २ तले घरअगाडिको आँगनको बीच भागमा धादिङ जिल्ला गुम्दी गाउँ विकास समिति वडा नं.९ घर भई आफ्नै भतिजी सुनिता बस्नेतलाई कक्षा ११ को परीक्षा मिति २०७१/०२/११ मा सकिनासाथ घर लैजानको लागि नारायण बस्नेत मिति २०७१/०२/१० मा निज बलराम खड्काको घरमा आई बसेकोमा बलराम खड्काले नारायणबहादुर बस्नेतलाई कुटपिट गरी रगताम्य पारी उत्तानो अवस्थामा घाइते नारायणबहादुर बस्नेत रहेको । पश्चिमपट्टि कुखुराको खोरमाथि कोदालो फेला परेको, दक्षिण र पश्चिमको कुनाबाट अर्को कोदालो फेला परेको घटनास्थलबाट कालो टर्चसमेत फेला पारी बरामद गरी लिएको बरामदी तथा घटनास्थल मुचुल्का ।
मिति २०७१/०२/०९ मा म काठमाडौंबाट आफ्नो घर आउँदा गुम्दी गाउँ विकास समिति वडा नं.९ रातोमाटे बस्ने जाहेरवाली सुनिता बस्नेतलाई मेरो घरमा ११ कक्षाको परीक्षा दिन भनी बसेकी जाहेरवाली सुनिता बस्नेतलाई लिनको लागि ऐ.१० गते मेरो घरमा आई बसेका अन्जान मानिस नारायण बस्नेतलाई देखी रिस उठी घाइते बनाई घरको माथिल्लो तलाबाट तल झारेको हो । निजलाई लात्ता मुड्कीले हानी उचाली खाट र भर्याङसमेतबाट फालेको हो । निजमाथि कोदालोसमेतले हानेको छैन भन्ने बेहोराको प्रतिवादी बलराम खड्काको अधिकारप्राप्त अधिकारिसमक्ष गरेको बयान ।
कक्षा ११ को परीक्षा दिन बलराम खड्काको घरमा बसी आएकी जाहेरवाली सुनिता बस्नेतलाई लिन गएका नारायण बस्नेतलाई प्रतिवादी बलराम खड्काले ज्यान लिने नियतले कुटपिट गरी घरको माथिल्लो तलाबाट फालिदिएको भन्ने कुरा सुनी थाहा पाएको हो । घाइतेलाई उपचारको लागि धादिङमा ल्याई थप उपचारको लागि तत्काल काठमाडौंतर्फ पठाई उपचार भइराखेको छ । निजको अवस्था गम्भीर रहेकोले बोल्न, हिँड्डुल गर्न सक्दैनन् । निजको उपचार मोडल अस्पताल काठमाडौंमा भइराखेको छ । निज प्रतिवादी बलराम खड्काले नारायणबहादुर बस्नेलाई मार्ने उद्देश्यले कुटपिट गरी घाइते बनाएको हो भन्ने रूकमणी बस्नेतको कागज ।
मिति २०७१/०२/१० मा म आफ्नै घरमा
थिएँ । उक्त दिन बेलुका जाहेरवालाको काका नारायणबहादुर बस्नेत प्रतिवादी बलराम खड्काको घरमा आएको प्रतिवादीले निज नारायणबहादुर बस्नेतलाई कुटपिट गरी घाइते बनाएको भन्ने कुरा गाउँमा हल्ला भएपछि सुनी थाहा पाएको
हुँ । घाइते नारायणबहादुर बस्नेतलाई उपचारको लागि धादिङबेंसीमा ल्याई थप उपचारको लागि काठमाडौंतर्फ पठाइएको भन्ने सुनी थाहा पाएको हो भन्ने नारायणबहादुर लामिछानेको कागज ।
पीडितको अवस्थाका सम्बन्धमा His condition seems critical, Unable to speak his G.C.S. very poor till date he is admitted in ICU भन्नेसमेत बेहोराको काठमाडौं मोडेल अस्पतालको मिति सन् २०१४/०६/१३ को पत्र ।
घाइते नारायणबहादुर बस्नेत मेरो साइलो भाइ हो । निज मिति २०७१/०२/१० मा प्रतिवादी बलराम खड्काको घरमा भतिजी सुनिता बस्नेतलाई लिन गएको अवस्थामा सोही दिन बेलुका बलराम खड्काले भाइ नारायणबहादुर बस्नेतलाई घरको चोटामा कुटपिट गरी चोटाबाट फाली दिएको भन्ने कुरा सुनी थाहा पाएको हो । घाइते भाइलाई तत्काल उपचारको लागि धादिङवेशी अस्पतालमा ल्याएकोमा उपचार हुन नसकी थप उपचारको लागि काठमाडौं रिफर गरेपछि निजको हाल काठमाडौं मोडेल अस्पतालमा उपचार भइराखेको छ । निजको अवस्था गम्भीर भई बोल्न नसक्नुका साथै एउटा हात चल्दैन । खाना पाइपको सहायताले खुवाउनुपर्छ । टाउकोमा गम्भीर चोट लागेको छ । च्यापुको भाग काटिएको, बायाँपट्टिको २ वटा करङ्ग र दाहिने कुमको हड्डी भाँचिएको छ । निज बलराम खड्काले भाइ नारायणबहादुर बस्नेतलाई ज्यान लिने मनसायले कुटपिट गरेको हुँदा कडा कारबाही गरिपाउँ भन्ने बेहोराको रामबहादुर बस्नेतको कागज ।
धादिङ जिल्ला, गुम्दी गाउँ विकास समिति वडा नं.९ स्थित मृतक नारायणबहादुर बस्नेतको घरको पिँढीमा रहेको मृतक लासको मुख बन्द अवस्थामा रहेको, दुवै हात अर्धमुठ्ठी अवस्थामा रही शरीरको अन्य भाग सामान्य अवस्थामा रहेको भन्नेसमेत बेहोराको लासजाँच मुचुल्का ।
मृतकको मृत्युको कारण Old Blunt force injury to head भन्ने शव परीक्षण प्रतिवेदन ।
मिति २०७१/०२/१० मा साथी भाइहरूसँग बसी मादक पदार्थ सेवन गरी साँझ घरमा गई भर्याङ उक्लने क्रममा नचिनेको मानिस जाँच दिन घरमा बसेकी महिलाको कोठाबाट निस्की भर्याङ ओर्लंदै गरेको अवस्थामा मृतकलाई चोर होला भन्ने ठानी रिस उठी कुटपिट गरेपछि निज भर्याङबाट तल झरेपछि सुनिता बस्नेत र मेरो श्रीमती आए र सुनिताले मेरो काका हो भनेपछि आफ्नै मान्छे रहेछन् भन्ने थाहा पाएँ भन्नेसमेत बेहोराको प्रतिवादी बलराम खड्काको अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
प्रतिवादीको कुटपिटबाट घाइते भई बेहोस भएका मृतक होसमा नै नआई सो चोटपीडाको कारण मृत्यु भएको भनी बुझिएका रमा कार्की, विनोद अधिकारी, मोहनबहादुर बस्नेतले गरी दिएको एकै मिलानको कागज ।
प्रतिवादी बलराम खडकालाई ज्यान मार्ने उद्योग मुद्दामा मिति २०७१/०३/०४ मा ५ वर्ष कैद सजाय हुने गरी भएको फैसलाको छायाँप्रति मिसिल सामेल रहेको ।
प्रतिवादी बलराम खड्कालाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं अनुसारको कसुरमा ऐ.१३(३) नं. अनुसार सजाय गरिपाउँ भन्ने अभियोग पत्र ।
ट्रेकिङ गरी गुजारा गर्ने मानिस भएकाले वारदात हुनुभन्दा अगाडि घरमा आएको थिएँ । घरमा कक्षा १२ को परीक्षा दिन भनी सुनिता बस्नेत आएकी रहिछिन्, भेटघाट भई कुराकानी भइसकेपछि घरबाट निस्की साथीहरूसँग बसी सन्सारी पूजाको प्रसादको साथसाथै लोकल रक्सी खाई हल्का मातेको अवस्थामा करिब ८:३० बजेतिर घरको भर्याङ चढ्ने क्रममा यी मृतक नारायणबहादुर बस्नेत तल झरिरहेको
थिए । मैले निजलाई नचिनी निज नाताका मानिस रहेको थाहासमेत नपाएकोमा घरबाट एक्कासी अपरिचित मानिस निस्किएको, घरमा अरू केटा मानिससमेत नभएकोले चोर हो कि भन्ने शंकाले कुटपिट गरेको हो । रातको समयमा अँध्यारोसमेत भएकोले कुटपिट गर्दा नारायणबहादुर बस्नेत लडी तलको सिमेन्टको भागमा परी घाइते भए । सोपछि मैले हल्ला खल्ला गर्दा सुनिता बस्नेतलगायत श्रीमती उठी हाम्रो आफ्नो मानिस हो भनेकोले एम्बुलेन्स बोलाई काठमाडौंस्थित अस्पतालमा उपचार गराएको हो । सुनिता बस्नेतले पुलिस बोलाई मलाई पक्राउ गरेको हो । उपचारपछि मृतक ठीक भई गाउँमा आई काम गरी बसेको थिए । म कारागार कार्यालय धादिङमा रहेको अवस्थामा निजलाई पछि के कसो भयो थाहा भएन । मृतकको उमेरसमेत वृद्ध भएकोमा कुटपिटसमेत मिसमास भयो होला भन्ने प्रतिवादी बलराम खड्काले सुरू अदालतमा गरेको बयान ।
मृतक नारायणबहादुर बस्नेतको मृत्यु प्रतिवादी बलराम खड्काको कुटपिटको कारणबाट भएको हो । भाइ नारायणबहादुर बस्नेतलाई बलराम खड्काले कुटपिट गरेपछि होसमै नआई मृत्यु भएको
हो । भाइ नारायणबहादुर बस्नेतलाई प्रतिवादीले कुटपिट गरेको कारण २०७१ जेठमा अस्पतालमा भर्ना भई २०७१ मंसिरमा घरमा ल्याएकोमा २०७१ चैत्रमा मृत्यु भएको हो भन्ने जाहेरवाला मोहनबहादुर बस्नेतले सुरू अदालतमा गरेको बकपत्र ।
घटनामा मृतक नारायणबहादुर बस्नेतको चिउँडोमा, हात, करङमा चोट हुनुका साथै खुट्टा भाँचिएको, टाउकोमा चोट लागेको, पछाडिको ढाडमा ठूलो घाउ भएको कारण मृत्यु भएको कुरा हस्पिटलको कागजले समेत पुष्टि गर्दछ । घटना हुनुभन्दा अगाडि नारायण बस्नेतमा कुनै रोग थिएन । बलराम खड्काको कुटपिटको कारणले नै नारायणबहादुर बस्नेतको मृत्यु भएकोले प्रतिवादीलाई सजाय हुनुपर्दछ भन्ने मौकामा जाहेर गर्ने सुनिता बस्नेतले सुरू अदालतमा गरेको बकपत्र ।
बलराम खड्काको कुटपिटको कारणले पीडित बोलचाल गर्न नसक्ने हातगोडा नचल्ने, पीठ्युँमा ठूलो घाउ भई अक्सिजन लगाउनुपर्ने भई चिन्ताजनक अवस्थामा रहेका मृतक नारायणबहादुर बस्नेतलाई काठमाडौं मोडेल अस्पतालमा उपचारका लागि भर्ना गरेकोमा उपचार हुन नसकी डिस्चार्ज गरेकोमा सोही घाउको कारण मृत्यु भएकोले निज प्रतिवादी बलराम खड्कालाई कानूनबमोजिम सजाय हुनुपर्दछ भन्ने मौकामा कागज गर्ने मोहनबहादुर बस्नेतले सुरू अदालतमा गरेको बकपत्र ।
मिति २०७१ साल जेठ १० गते प्रतिवादी बलराम खड्काले सामान्य मदिरासमेत सेवन गरी आउँदा घरमा एक्ली महिला भएको अवस्थामा मृतक नारायणबहादुर बस्नेत अर्धनग्न भई सुतेको कुरामा मृतकसँग भनाभन हुँदा प्रतिवादीले भर्याङबाट खसालेकोमा उपचारको क्रममा निको भई आएको भनी परिवारले बकपत्र गरेका हुन् । के कारणबाट मृत्यु भयो थाहा भएन । कुटपिटको कारणले मृत्यु भएको होइन भन्ने प्रतिवादीको साक्षी गोपीप्रसाद पाण्डेले सुरू अदालतमा गरेको बकपत्र ।
मृतक नारायणबहादुरको मिति २०७१/११/२६ मा शव परीक्षण प्रतिवेदन मैले गरेको हो । शरीरको धेरै ठाउँमा र टाउकोमा पनि चोट लागेको थियो । दिमागको Side मा Tempura parietal सतहमा धेरै घाउहरू हुनुका साथै सुन्निएका
थिए । उल्लिखित घाउचोटहरू Skill open Autopsy गर्दा देखिने घाउचोट हो । टाउकोभित्रको चोटको कारण रक्तस्राव भएको (Traumatic SAH), देब्रे Clevis भन्ने हड्डी भाँचिएको, दाहिने नवौं करङ भाँचिएको उल्लेख छ । कुटपिटको क्रममा लागेको त्यस्ता चोट तत्कालको समयमा सामान्य रूपमा हेर्दा देखिने वा नदेखिने हुनसक्छ । काठमाडौं मोडेल अस्पतालमा उपचारको काममा May 5, 2014 देखि नै नारायणबहादुर बस्नेत ICU मा भर्ना भएको
देखिन्छ । घा. जाँच फाराममा उल्लेख भएकोबाहेक अन्य केही नखुलाइएकोले चोटपटक त्यही मात्र हो भन्ने देखिन्छ । टाउकोमा लागेको पुरानो चोटको कारणले नै मृतक नारायणबहादुर बस्नेतको मृत्यु भएको हो सो कुरा Autopsy Report मा खुलाएको छ भन्ने मृतक नारायणबहादुर बस्नेतको पोष्टमार्टम गर्ने डाक्टर श्याम ढोडारीले सुरू अदालतमा गरेको बकपत्र ।
प्रतिवादी बलराम खड्काले मृतक नारायणबहादुर बस्नेतलाई कुटपिट गरी माथिल्लो तलाबाट तल फालिदिएको कारण सोही चोटपीरको कारण सख्त घाइते भई होसमा नै नआई मुलुकी ऐन ज्यानसम्बन्धी महलको ८ नं. बमोजिम हदम्यादभित्र मृत्यु भएको देखिँदा प्रस्तुत मुद्दामा प्रतिवादी बलराम खड्कालाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १ नं. को कसुरमा ऐ. महलको १३(३) नं. बमोजिम सर्वस्वसहित जन्मकैद हुने ठहर्छ । मुद्दाको प्रकृति, घटनास्थल स्थिति प्रतिवादीको मृतकसँग पूर्ण चिनजान र रिसइवी एवं मृतकलाई मार्नका लागि पूर्वयोजनासमेत नभई मृतकलाई यी प्रतिवादीले कुटपिट गरी माथिल्लो तलाबाट तल खसालिदिई सोही चोटको कारण थला परी मरेको अवस्था भई प्रस्तुत मुद्दामा मुलुकी ऐन, अ.बं. १८८ नं. बमोजिम अपराधको अवस्थाबाट भवितव्यबाट घटना घटेको हो कि भन्नेसम्म पनि चित्तमा लागेको देखिन आउँदा सो सम्बन्धमा पुनरावेदन अदालतबाट सदर भई आएपछि कायम गर्ने गरी कैद वर्ष १० गर्न मनासिब देखी राय प्रस्तुत गरेको छु । प्रतिवादीलाई कैदको लगत कायम गर्दा ज्यान मार्ने उद्योग मुद्दामा थुनामा बसेकै मितिबाटै लगत कसी असुल गनुपर्ने ठहर्छ भन्ने सुरू काठमाडौं जिल्ला अदालतको मिति २०६९/१०/१५ को फैसला ।
म ट्रेकिङ काम गरी काठमाडौंमा बसी कहिलेकाहीँ घरमा जाने गर्दथेँ । मेरो घरमा सुनिता बस्नेत डेरा गरेर बस्ने गरेको रहेछ । म घरमा गई गाउँको पूजाबाट घर फर्कने क्रममा अपरिचित व्यक्ति देखी चोर हो कि भनी एक पटक टाउको तथा गालामा थप्पड हानेको हुँ । निज हतार हतार तल झर्दा भर्याङबाट लडेको हो । निजलाई काठमाडौं ल्याई उपचार गराएपछि निज ठीक भई घर गएका थिए । निजको मृत्यु के कसरी भयो थाहा भएन म कारागारमा नै
थिएँ । निज कुटपिटपछि उपचार गराई गाउँघरमा गई काम गर्दै आएका थिए भन्ने कुरा निजका परिवारले नै बकपत्र गरिसकेका छन् । सो घटना भवितव्य हो कि भनी सुरू अदालतबाट अ.बं.१८८ को राय दिँदा पनि बोलेको अवस्था छ । जाहेरवाला तथा बुझिएका मानिसहरू कोही पनि चश्मदिद गवाह नभएकाले र मृतकको मृत्यु उक्त घटनाबाट भएको भनी वादी पक्षबाट प्रमाण ऐन, २०३१ को दफा २५ बमोजिम प्रमाणित गर्न नसकेको हुँदा मलाई अभियोग दाबीबमोजिम सजाय गर्ने गरी भएको सुरू अदालतको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी अभियोग दाबीबाट सफाइ पाउँ भन्ने प्रतिवादीको पुनरावेदन पत्र ।
यसै मुद्दाको अभियोग दाबीको वारदात सम्बन्धमा ०७०-CR-०१२५ को ज्यान मार्ने उद्योग मुद्दामा सुरू धादिङ जिल्ला अदालतबाट अभियोग दाबीबमोजिम यिनै प्रतिवादी बलराम खड्कालाई ५ वर्ष कैद सजाय हुने ठहर्याई मिति २०७१/०९/१३ मा भएको फैसला सदर हुने ठहर्याई यसै अदालतबाट ०७१-CS-१३७१ को मुद्दामा फैसला भएको देखिन आएको परिप्रेक्ष्यमा ज्यानसम्बन्धी महलको १५ र ८ नं. को व्याख्याको रोहमा सुरू फैसला फरक पर्न सक्ने भनी पुनरावेदन अदालत पाटनबाट प्रत्यर्थी झिकाउने गरी भएको आदेश ।
प्रतिवादी बलराम खड्काले मृतक नारायणबहादुर बस्नेतलाई कुटपिट गरेको कारण सोही चोटपीरबाट सख्त घाइते भई ज्यानसम्बन्धीको महलको ८ नं.को हदम्यादभित्र मृत्यु भएकोमा प्रतिवादीलाई ऐ. ऐन महलको १३(३) नं. बमोजिम सर्वस्वसहित जन्मकैदको सजाय ठहर गरी प्रतिवादीले मार्नको लागि पूर्वयोजना नभई कुटपिट गरी माथिल्लो तलाबाट तल खसाली दिई सोही चोटपीरबाट थला परी पीडित मरेकोमा भवितव्यबाट घटना घटेको हो कि भन्ने आधारसमेतबाट मुलुकी ऐन, अ.बं.१८८ नं. बमोजिम १० वर्ष कैद सजायको राय प्रस्ताव गरेकोसमेत मनासिब देखिँदा सुरू धादिङ जिल्ला अदालतको मिति २०७२/०३/३१ को फैसला सदर हुने ठहर्छ भन्ने बेहोराको तत्कालीन पुनरावेदन अदालत पाटनबाट मिति २०७३/०३/०७ मा भएको फैसला ।
मेरो र मृतक नारायणबहादुर बस्नेतबीच कुनै रिसइवी, लेनदेन, चिनजान केही पनि थिएन । म आफ्नो कामबाट घरतर्फ गएकोमा मिति २०७१/०२/१० मा गाउँमा पूजा भएको थाहा पाई पूजामा गई साथीहरूसँग भेट भई मादक पदार्थ सेवन गरी घर फर्कंदा घरको भर्याङमा चढ्ने बेलामा मेरो घरमा कक्षा ११ को परीक्षा दिनका लागि आई बसेकी सुनिता बस्नेतको कोठाबाट बाहिर आई भर्याङबाट ओर्लंदै गर्दा नचिनेको व्यक्ति नारायणबहादुर बस्नेतलाई चोर ठानी निज महिलाको कोठाबाट आएको देखी रिस उठी निजलाई कुटपिट गरी भर्याङबाट तल झारी दिएको हो । पछि सुनिता बस्नेत र मेरी श्रीमती कोठाबाट बाहिर निस्की सुनिता बस्नेतले निज नारायणबहादुर बस्नेत मेरो काका हुन् के गर्नु भएको भनी कराएपछि मात्र निज आफन्त नै रहेछन् भन्ने थाहा पाएको हुँ । सो कुरा मैले मौकामा अनुसन्धान अधिकारी तथा सुरू अदालतसमक्ष भएको बयानमा उल्लेख गरेको छु । ज्यान मार्ने मनसायले मैले मृतकलाई कुटपिट गरेको होइन । यसरी मिति २०७१/०२/१० मा भएको घटनापश्चात् मृतकको औषधी उपचार भई अस्पतालबाट डिस्चार्ज भई घरमा रहे बसेको अवस्थामा मृतकको मृत्यु भएको कुरा मिसिल संलग्न प्रमाणले स्पष्ट पारेको छ । सो घटनाको करिब ९ महिना १५ दिनपछि मृतकको मृत्यु मिति २०७१/११/२५ मा भएको अवस्था छ । एकातिर मिति २०७१/०२/१० गतेको घटनामा भएको कुटपिटको कारणले नै मृतकको मृत्यु भएको भन्ने आधार स्पष्ट देखिँदैन भने अर्कोतिर म प्रतिवादीले मृतकलाई ज्यान लिने इबीलाग वा मनसाय नभएको र मानिस मर्ला भन्नेजस्तो नदेखिएको काम कुरा गर्दा मृत्यु भएमा त्यस्तो वारदात ज्यानसम्बन्धी महलको ५ नं. बमोजिम भवितव्य ठहर्ने र भवितव्यबाट मृत्यु भएकोमा र कुनै अंग भाँच्ने छिनाल्ने गरी कुटपिट नगरेको अवस्थामा ज्यानसम्बन्धी महलको ८ नं. आकर्षित हुनै नसक्ने अवस्थामा कर्तव्य ज्यान मुद्दामा कसुरदार ठहर्याई सजाय गर्ने गरी भएको फैसला त्रुटिपूर्ण छ । तसर्थ सुरू अदालतबाट भएको फैसला सदर हुने ठहर्याई पुनरावेदन अदालत पाटनबाट मिति २०७३/०३/०७ मा भएको फैसला बदर गरी अभियोग दाबीबाट सफाइ पाउँ भन्ने प्रतिवादी बलराम खड्काको यस अदालतमा परेको पुनरावेदनपत्र ।
नियमबमोजिम साप्ताहिक तथा दैनिक मुद्दा पेसी सूचीमा चढी इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदनसहितको सुरू तथा रेकर्ड मिसिल अध्ययन गरी निर्णयतर्फ विचार गर्दा, प्रस्तुत मुद्दामा पुनरावेदन अदालत पाटनबाट भएको फैसला मिलेको छ वा छैन तथा प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्छ वा सक्दैन भन्ने विषयमा निर्णय दिनुपर्ने देखिन आयो ।
२. निर्णयतर्फ विचार गर्दा, प्रतिवादी बलराम खड्काले मृतक नारायणबहादुर बस्नेतलाई कुटपिट गरी सोही कुटपिटको चोटका कारणले थला परी मृत्यु हुन गएको हुँदा प्रतिवादी बलराम खड्कालाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं. विपरीतको कसुरमा ऐ. महलको १३(३) नं. अनुसार सजाय गरिपाउँ भन्ने अभियोग मागदाबी भएको प्रस्तुत मुद्दामा, प्रतिवादी बलराम खड्काले मृतक नारायणबहादुर बस्नेतलाई कुटपिट गरी माथिल्लो तलाबाट तल फालिदिएको कारण सोही चोटपीरको कारण सख्त घाइते भई होसमा नै नआई मुलुकी ऐन ज्यानसम्बन्धी महलको ८ नं. बमोजिम हदम्यादभित्र मृत्यु भएको देखिँदा प्रस्तुत मुद्दामा प्रतिवादी बलराम खड्कालाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १ नं. को कसुरमा ऐ. महलको १३(३) नं. बमोजिम सर्वस्वसहित जन्मकैद हुने ठहर्याई प्रस्तुत वारदात भवितव्यबाट घटना घटेको हो कि भन्नेसम्म चित्तमा लागी मुलुकी ऐन, अ.बं. १८८ नं. बमोजिम यी प्रतिवादीलाई १०(दश) वर्ष मात्र कैदको सजाय हुने रायसमेत प्रस्तुत भई धादिङ जिल्ला अदालतबाट मिति २०७१/१२/१८ मा भएको फैसलाउपर यी प्रतिवादीको पुनरावेदन अदालत पाटनमा पुनरावेदन परी सुरू फैसला र प्रस्तुत रायसमेत सदर हुने ठहर्याई पुनरावेदन अदालत पाटनबाट मिति २०७३/०३/०७ मा भएको फैसलाउपर यी प्रतिवादी बलराम खड्काको यस अदालतमा पुनरावेदन परी निर्णयार्थ इजलाससमक्ष पेस हुन आएको देखियो ।
३. मिति २०७१/०२/१० मा घटित वारदातको सम्बन्धमा म प्रतिवादीउपर ज्यान मार्ने उद्योग मुद्दा परी धादिङ जिल्ला अदालतबाट ५ वर्ष कैद सजाय हुने ठहरी भएको फैसला पुनरावेदन अदालत पाटनबाट सदर भई अन्तिम भई बसेको अवस्थामा सोही वारदात कायम गरी पुनः कर्तव्य ज्यान मुद्दाको कसुर कायम गरी एउटै वारदातमा उही व्यक्तिलाई दोस्रो पटक फरक मुद्दा लगाई सजाय गर्ने गरी भएको फैसला कानूनी सिद्धान्तविपरीत भएको हुँदा पुनरावेदन अदालत पाटनको फैसला बदर गरिपाउँ भन्ने प्रतिवादीको पुनरावेदन जिकिर देखियो ।
४. प्रतिवादीलाई ज्यान मार्ने उद्योगको कसुर ठहर भइसकेपछि पुनः सोही वारदातमा कर्तव्य ज्यान मुद्दामा कसुर ठहर हुन सक्छ वा सक्दैन भन्ने सम्बन्धमा हेर्दा, वारदात मिति २०७१/०२/१० मा पीडित नारायणबहादुर बस्नेतलाई कुटपिट गरी ज्यान मार्ने उद्योगको कसुर गरेकोमा ज्यान मार्ने उद्योगको कसुर कायम गरी सजाय हुन मागदाबी लिई अभियोगपत्र पेस भएकोमा अभियोग मागदाबीबमोजिम प्रतिवादीलाई पाँच वर्ष कैद सजाय हुनेगरी सुरू अदालतबाट फैसला भएकोमा सुरू अदालतको फैसलालाई यस अदालतबाट समेत सदर भइसकेको पाइन्छ । पीडित नारायणबहादुर बस्नेतको मृत्यु भएकोमा सोही वारदातलाई कायम गरी प्रतिवादीउपर ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिमको सजाय हुन अभियोग पेस भएकोमा अभियोग मागदाबीबमोजिम प्रतिवादीलाई सर्वस्वसहित जन्मकैदको सजाय सुरू अदालतबाट ठहर भएको देखिन्छ । मिति २०७१/०२/१० मा प्रतिवादी बलराम खड्काको कुटपिटबाट घाइते भएका नारायणबहादुर बस्नेतको वारदातपश्चात् बेहोस अवस्थामा रहेको र निरन्तर उपचार गराएकोमा होसमा नै नआई मिति २०७१/११/२५ मा मृत्यु भई प्रतिवादीको कुटपिटबाट मृत्यु भएकाले कानूनबमोजिम कारबाही गरिपाउँ भन्ने मृतकका दाजु मोहनबहादुर बस्नेतको जाहेरीसमेतको आधारमा पुनः कर्तव्य ज्यान मुद्दामा प्रतिवादीलाई अभियोजन भएको देखियो ।
५. रोशन श्रेष्ठको जाहेरीले नेपाल सरकार विरूद्ध अशोक सितिखुसमेत भएको ज्यान मार्ने उद्योग मुद्दा (ने.का.प. २०६९, भाग ५४, अंक-१, नि.नं. ८७६१) मा, “ज्यानसम्बन्धी अपराधहरूमा कर्तव्य ज्यान र यसको उद्योगको बीचमा अपराध स्थापित गर्ने तत्त्वहरूको रूपमा रहेको कार्य (Actus reus), मनसाय (Mens rea) र वैध प्रतिरक्षाको अभाव (absence of valid defense) को दृष्टिकोणबाट हेर्दा कुनै भिन्नता रहेको हुँदैन । केबल परिणामको दृष्टिले अपराधले पूर्णता पाउन मात्र बाँकी रहेको हुन्छ’’ भन्ने सिद्धान्त प्रतिपादन भएको छ । प्रतिवादीले ज्यान मार्ने उद्योगको कसुर गरेकोमा कसुर ठहर भई प्रतिवादी थुनामा रहेको अवस्था देखिन्छ ।
६. मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको ८ नं. मा भएको कानूनी व्यवस्था हेर्दा, “यसै महलको ५ नं. ले भवितव्य ठहर्नेबाहेक कुनै अंग भाँच्ने छिन्ने गरी हाने कुटेमा त्यो थला परी निको नभएमा जतिसुकै समयपछि मरे पनि ज्यानमाराको बात लाग्छ” भन्ने कानूनी व्यवस्था रहेको पाइन्छ । उपर्युक्त कानूनी व्यवस्थाअनुसार, ज्यानसम्बन्धीको ५ नं.बमोजिम भवितव्य ठहर्ने कुरामा यो नं. लागू हुँदैन । भवितव्य नठहर्ने कुरामा कसैले कसैलाई कुनै तरहले कुनै अंग भाँच्ने, छिनाल्ने गरी कुटपिट गरेकोमा त्यो थला परी निको नभई मरे कुटपिट गर्ने व्यक्तिलाई ज्यानमाराको बात लाग्छ । यस्तो अवस्थामा जतिसुकै समयपछि मरे पनि बात लाग्छ । यसमा सो चोटपीरले थला परी निको नभएको हुनुपर्छ । पहिलेको चोटपीडा एकपटक निको भइसकेको अवस्थामा भने बात लाग्दैन । बात लाग्न चोटपीडाको अनवरतता (Continuation) कायम भइरहेको हुनुपर्छ । टुट्नु (Break) हुँदैन । प्रतिवादीको कुटपिटकै कारण पीडित थला परी सोही चोटपीरका कारणबाट पीडितको मृत्यु भएको देखिएको अवस्थामा प्रतिवादीलाई ज्यानसम्बन्धीको बात लाग्ने नै देखियो ।
७. आफूलाई सोही कसुरमा ज्यान मार्ने उद्योग मुद्दा चली सजाय भइसकेको अवस्थामा ज्यानसम्बन्धी मुद्दा चलाउन र सजाय गर्न मिल्दैन भन्ने पुनरावेदन जिकिर सम्बन्धमा हेर्दा, पहिले अपराधले पूर्णता नपाई उद्योगसम्म देखिएको स्थितिमा मुद्दा चल्दाचल्दैको अवस्थामा परिस्थितिमा परिवर्तन भई अपराधले पूर्णता प्राप्त गरेमा पूर्ण अपराधमा मुद्दा चलाउन र सजाय गर्न फौजदारी न्याय सिद्धान्तले रोकेको देखिँदैन । फौजदारी कानूनको Merger सम्बन्धी सिद्धान्तले अपराधले पूर्णता नपाई मुद्दा चलेर पछि पूर्ण अपराधको रूपमा पूर्ण अपराधको सजाय हुने कुरालाई अंगिकार गरेको पाइन्छ । फौजदारी कानूनमा “Merger” को सिद्धान्तको सम्बन्धमा यसप्रकार विवेचना भएको पाइन्छः- In criminal law, if a defendant commits a single act that simultaneously fulfills the definition of two separate offenses, merger will occur. This means that the lesser of the two offences will drop out, and the defendant will only be charged with the greater offense. This prevents double jeopardy problems from arising.
a. “Merger” of Solicitation or Attempt into Completed Crime One who solicits another to commit a crime (where solicitation itself is a crime) cannot be convicted of both the solicitation and the completed crime (if the person solicited.
b. “Merger” of Lesser Included Offenses into Greater Offenses Lesser included offenses “merge” into greater offenses, in the sense that one placed in jeopardy for either offense may not later be retried for the other. Nor may one be convicted of both the greater offense and a lesser included offense. A lesser included offense is one that consists entirely of some, but not all, elements of the greater crime. This rule is sometimes labeled a rule of merger, but it is also clearly required by the constitutional prohibition against double jeopardy.
८. प्रस्तुत सिद्धान्तबमोजिम कुनै व्यक्तिले गरेको आपराधिक कार्यबाट उत्पन्न हुने परिणामबाट एकभन्दा बढी अपराध हुन गएमा प्रतिवादीलाई सबैभन्दा ठूलो अपराधमा मात्र सजाय गरी अन्य साना अपराधहरू ठूलो अपराधमा विलय भई ठूलो अपराधमा मात्र अभियोग कायम हुन आउँछ र यस सिद्धान्तले दोहोरो खतराको सिद्धान्तबाट उत्पन्न हुने समस्याहरूलाई रोक्दछ । तसर्थ, प्रतिवादी बलराम खड्काले ज्यान मार्ने उद्योग मुद्दामा सजाय भई कैद भुक्तान गरिरहेको भए पनि सोही कसुरको निरन्तरताको रूपमा रहेको कर्तव्य ज्यानको कसुर दण्डनीय हुने भई एकै वारदातमा पहिला ज्यान मार्ने उद्योगको कसुर स्थापित भई पुनः स्थिति परिवर्तन भएको अवस्थामा वारदात भएको मिति २०७१/०२/१० देखि नै प्रतिवादीले कर्तव्य ज्यानको कसुरमा मुद्दा चल्न र सजाय गर्न मिल्दैन भनी लिएको पुनरावेदन जिकिरसँग सहमत हुन सकिएन ।
९. मैले आरोपित कसुर नगरेको हुँदा प्रस्तुत मुद्दामा अभियोग मागदाबीबाट सफाइ पाउँ भन्ने पुनरावेदक / प्रतिवादीको पुनरावेदन जिकिरतर्फ हेर्दा, यी प्रतिवादी बलराम खड्काले कुटपिट गरेका कारण वारदातपश्चात् निरन्तर उपचार भएको भए पनि होसमा नै नआई पीडित नारायणबहादुर बस्नेतको मिति २०७१/११/२५ मा मृत्यु भएको भन्ने मृतकका दाजु मोहनबहादुर बस्नेतले मौकाको जाहेरीलाई पुष्टि हुने गरी सुरू अदालतमा बकपत्र गरेको, प्रतिवादी बलराम खड्काले आफूले पीडितलाई कुटपिट गरेकोमा मौकाको तथा अदालतमा उपस्थित भई गरेको बयानमा समेत स्वीकार गरेको, मृतकको मृत्युको कारणमा Old blunt force injury to head भन्नेसमेत उल्लेख भएको, मौकामा जाहेरी दिने तथा कागज गर्ने सुनिता बस्नेतले प्रतिवादीको कुटपिटको कारण पीडितको मृत्यु भएको हो भन्ने उल्लेख गरी बकपत्र गरेको, प्रतिवादीकै साक्षी गोपीप्रसाद पाण्डेले अदालतमा बकपत्र गर्दा प्रतिवादीले पीडितलाई कुटपिट गरी भर्याङबाट खसालिदिएको स्वीकार गरी बकपत्र गरेको, मृतकको मिति २०७१/११/२६ मा शव परीक्षण गर्ने चिकित्सक श्याम ढोडारीले शरीरको धेरै ठाउँमा र टाउकोमा समेत चोट लागेको थियो । दिमागको Side मा Temporal Parietal तहमा धेरै घाउ भई सुन्निएको र रक्तस्राव भएको, देब्रे हातको हड्डी र दाहिनेतर्फको नवौं करङ्ग भाँचिएको तथा टाउकोमा लागेको चोटको कारण नै पीडितको मृत्यु भएको भन्नेसमेत उल्लेख गरी बकपत्र गरेकोसमेत आधारबाट प्रतिवादीले कुटपिट गरेपश्चात अन्य कुनै आधार र कारण वा पीडित मर्नेसम्मको अन्य कुनै कारण नदेखिएको स्थिति र अवस्थामा प्रतिवादीले चोट प्रहार गरेकै कारण पीडितको मृत्यु भएको भन्ने पुष्टि भइरहेको देखिँदा प्रतिवादी बलराम खड्कालाई अभियोग मागदाबीबमोजिम मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १ नं. विपरीतको कसुरमा सोही महलको १३(३) नं. बमोजिम सर्वस्वसहित जन्मकैदको सजाय हुने ठहर्याई सुरू धादिङ जिल्ला अदालतबाट मिति २०७१/१२/१८ मा भएको फैसला सदर हुने ठहर्याई पुनरावेदन अदालत पाटनबाट मिति २०७३/०३/०७ मा भएको फैसला मिलेको देखिँदा अभियोग मागदाबीबमोजिमको कसुरबाट सफाइ पाउँ भन्ने पुनरावेदक / प्रतिवादीको पुनरावेदन जिकिरसँग सहमत हुन सकिएन ।
१०. अब, प्रतिवादीलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) नं. अनुसार सर्वस्वसहित जन्मकैदको सजाय गर्दा चर्को पर्न जाने हुँदा सुरू धादिङ जिल्ला अदालतबाट अ.बं.१८८ नं. अनुसार निज प्रतिवादीलाई १० (दश) वर्ष मात्र कैद सजाय हुने गरी राय पेस भएकोमा उक्त राय पुनरावेदन अदालत पाटनबाट सदर भएको राय मिलेको छ वा छैन भन्नेतर्फ हेर्दा, नरेन्द्रसिंह धामी विरूद्ध सुदर्शनसिंह धामीको जाहेरीले नेपाल सरकार भएको कर्तव्य ज्यान मुद्दा (ने.का.प. २०७१, भाग-५६, अंक-५, नि.नं. ९१७०) मा, "उल्लिखित कानूनी व्यवस्थाअनुसार अभियुक्तलाई कानूनले तोकेकोभन्दा कम सजाय गर्नलाई घटित वारदातमा इन्साफ गर्ने हाकिमको चित्तमा भवितव्यको आशङ्का वा अपराध गरेको अवस्था यी दुई तत्त्वमध्ये कुनै एकको विद्यमानता अनिवार्य देखिएको हुनुपर्ने” भन्ने सिद्धान्त प्रतिपादन भएको छ ।
११. उपर्युक्त प्रतिपादित सिद्धान्तअनुसार, प्रतिवादीले अदालतको बयानमा समेत पीडितलाई कुटपिट गरेको स्वीकार गरेकोमा आफू सन्सारी पूजाको प्रसादको साथै लोकल रक्सी खाएर हल्का मातेको अवस्थामा रातको ८:३० बजेको समयमा घरको भर्याङ चढ्ने क्रममा मृतक भर्याङबाट तल झरिरहेकोमा रातको समयमा महिला मात्र रहेको घरमा चोर हो कि भन्ने शङ्कामा नारायणबहादुर बस्नेतलाई कुटपिट गर्दा निज लडी तलको सिमेन्टको भागमा परी घाइते भएको भन्ने उल्लेख गरेको तथा प्रतिवादी र मृतकका बीचमा ज्यानै मार्नेसम्मको पूर्वरिसइवी समेत नदेखिएको, ज्यानै मार्नेसम्मको पूर्वयोजना, मनसाय वा पूर्वतयारीसमेत भएको नदेखिएको अवस्थामा प्रतिवादी बलराम खड्काले तत्काल उठेको रिसका कारण मृतक नारायणबहादुर बस्नेतलाई कुटपिट गरेको कारण सोही चोटपीरबाट सख्त घाइते भई ज्यानसम्बन्धी महलको ८ नं.को हदम्यादभित्र मृत्यु भएकोमा उल्लिखित वारदात भवितव्यको आशङ्का गर्ने ठाउँ रहेको तथा अपराध गरेको अवस्था र परिस्थितिसमेतलाई मध्यनजर गर्दा प्रतिवादीलाई ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सर्वस्वसहित जन्मकैदको सजाय गर्दा चर्को पर्न सक्ने चित्तमा लागी मुलुकी ऐन, अ.बं.१८८ नं. बमोजिम १०(दश) वर्ष मात्र कैद सजाय हुने भनी सुरू धादिङ जिल्ला अदालतबाट पेस भएको राय सदर हने ठहर्याई पुनरावेदन अदालत पाटनबाट मिति २०७३/३/७ मा भएको फैसलासहितको राय मिलेको देखिँदा अन्यथा गर्नुपर्ने अवस्था देखिएन ।
१२. अतः माथि विवेचित आधार प्रमाणहरूबाट यी पुनरावेदक / प्रतिवादी बलराम खड्काले मृतक नारायणबहादुर बस्नेतलाई कुटपिट गरेको कारण सोही चोटपीरबाट सख्त घाइते भई ज्यानसम्बन्धी महलको ८ नं.को हदम्यादभित्र मृत्यु भएकोमा निज प्रतिवादीलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सर्वस्वसहित जन्मकैदको सजाय हुने ठहरी यी प्रतिवादीले मृतकलाई मार्नको लागि पूर्वरिसइवी तथा पूर्वयोजना नभई कुटपिट गरी माथिल्लो तलाबाट तल खसालिदिई सोही चोटपीरबाट थला परी पीडित मरेकोमा भवितव्यबाट घटना घटेको हो कि भन्ने आधारसमेतबाट मुलुकी ऐन, अ.बं.१८८ नं. बमोजिम पुनरावेदक / प्रतिवादी बलराम खड्कालाई सुरू धादिङ जिल्ला अदालतबाट मिति २०७२/०३/३१ मा १०(दश) वर्ष मात्र कैद सजाय हुने गरी व्यक्त गरेको रायसहितको फैसला सदर हुने ठहर्याई पुनरावेदन अदालत पाटनबाट मिति २०७३/०३/०७ मा भएको रायसहितको फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ । अभियोग दाबीबाट सफाइ पाउँ भन्ने पुनरावेदक / प्रतिवादी बलराम खड्काको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाई दिनू ।
उक्त रायमा सहमत छु ।
न्या.टंकबहादुर मोक्तान
इजलास अधिकृत:- लोकबहादुर हमाल
इति संवत् २०७४ साल कर्तिक ३० गते रोज ५ शुभम् ।