शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ४३३५ - अपुताली दर्ता नामसारी

भाग: ३३ साल: २०४८ महिना: मंसिर अंक:

निर्णय नं. ४३३५    ने.का.प. २०४८      अङ्क ८

 

पूर्णइजलास

सम्माननीय प्रधान न्यायाधीश श्री विश्वनाथ उपाध्याय

माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ

माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल

सम्वत् २०४६ सालको दे.पू.इ.नं. १०९

फैसला भएको मिति : २०४८।८।१२।५ मा

निवेदक/प्रतिवादी : छोटकी रामनगर गा.वि.स. वडा नं. ८ बस्ने सुमेश्वर अहिरको मु.स.गर्ने निजको छोरा केशो अहिर

विरुद्ध

विपक्षी/वादी : भगवानी अहिरनी मरी मु.स.गर्ने जिल्ला रुपन्देही गा.वि.स. वडा नं. ९ बस्ने सुवास चन्द्र यादव

मुद्दा : अपुताली दर्ता नामसारी

(१)    पोइल गएपछि अघिल्लो लोग्नेको नाम दर्ताको मिलापत्रबाट पाएको जग्गामा अघिल्लो लोग्ने तर्फको हकवालाको हक हुन आउने ।

(प्रकरण नं. १३)

निवेदक, प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्दप्रसाद रेग्मी

विपक्षी, वादीतर्फबाट : विद्वान अधिवक्ता श्री अग्नी खरेल

फैसला

न्या.ओमभक्त श्रेष्ठ

१.     श्री ५ महाराजाधिराजका हजूरमा मुद्दा दोहराई पाउँ भनी चढाएको बिन्तिपत्रमा व्यहोरा साँचो भए मिसिल झिकी पूर्णइजलासबाट दोहोराई हेरी कानुन बमोजिम निर्णय गर्नु भन्ने श्री ५ महाराजाधिराजबाट हुकुम बक्सेको छ भनि मौसूफ सरकारका विशेष जाहेरी विभागबाट मिति (साविक पेज नं. ३९४) २०४५।८।६ मा तोक लागी आए अनुसार पूर्णइजलासको लगतमा दर्ता भई पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य यस प्रकार छ :

२.    मृतक मेरा बाबु चुल्हाइको स्त्री मेरी आमा छविराजीबाट जन्मेकी छोरी हुँ बाबु चुल्हाई अघि नै आमा २०३४ साल मार्ग महीनामा देहान्त भएकी र छविराजीको म मात्र एक १ छोरी भएको ३ पुस्ताका हकवाला समेत नभएकोले आमाको नाममा दर्ता भएको जग्गा मेरा नाममा नामसारी गराई पाउँ भनी मालपोत कार्यालयमा दर्खास्त दिएको थिएँ, विपक्षी सुमेश्वरले मेरो स्वास्नी २०३४ साल मार्गमा मरेकाले हकदार म हुँदा नामसारी गरी पाउँ भनी मालमा दर्खास्त दिएका रहेछन् । छविराजी मेरो स्वास्नी भन्ने सुमेश्वर छविराजी चुल्हाइको श्रीमती मेरो आमा भएकोले नामसारी गरी पाउँ भन्ने भगवानी अहिरनी भएकोले मृतक छविराजीको लोग्ने सुमेश्वर यी चुल्हाइ को हुन छविराजीको हक खाने पनि सुमेश्वर हुन् यी छोरी भगवानी को हुन हक बेहक गराई ल्याउनु भनी मालबाट मिति २०३६।८।१० मा निर्णय भएको मृतक छविराजी सुमेश्वरको स्वास्नी नभई चुल्हाइको स्वास्नी मेरा आमा हुन रामनगरको सिर र सिर साथको नम्बरी समेतका जग्गा बिगहा ३५।।२।।। जिमदारी खान्गीमा रु. १६।।। भएको जमिदारी हिस्सा चार आमा बाबु चुल्हाई देहान्त भएकोले उक्त जिमिदारी दर्ता सम्बन्धमा मुद्दा चली जिमिदारी सिर र नम्बरी जग्गा मध्ये आधी दुई आना हिस्सा मृतक चुल्हाइको छोरी म भगवानीले दर्ता गराई भोग गर्ने आधी हिस्सा जिमिदारी मध्ये १ आमा छविराजीले दर्ता गराई भोग गर्ने १ खण्ड बाबु चुल्हाइको कान्छी स्वास्नीको छोरा रामवलीको विधवा स्त्री फुलमतीले दर्ता गराई भोग गर्ने गरी मिलापत्र गर्ने मध्येका फुलमतीको मञ्जूरनामा विपक्षी सुमेश्वरले दाखिल गरी म भगवानी, फुलमती र छविराजी समेतको अपील तहबाट चलेको मुद्दामा २०१६ साल आषाढ २३ गते पाल्ही माझ खण्ड गोश्वारामा मिलापत्र भएको नक्कल पेश गरेको छु । सो बाट आमा छविराजी बाबु चुल्हाइको म छोरी भन्ने प्रष्ट छ । चुल्हाइका नामको जिमिदारी जग्गा नामसारी भई छविराजीको जिउँ छँदा सुमेश्वरलाई लोग्ने भनेको नभई स्वास्नी भनी मिति २०३५।१२।८ मा मात्र दर्खास्त गरेको सुमेश्वरको स्वास्नी कायम हुने हो भने पनि मेरा बाबु चुल्हाइको सत्य डगाएको प्रकाश हुन आएको भन्नु परी त्यस अवस्थामा स्त्री अंश धनको ६, ८ नं. ले अघिको लोग्ने मेरा बाबुबाट नामसारी दर्ता हुन आएको जग्गा छविराजीको हक हुन नसक्ने अपुतालीको २ नं. ले म छोरीको हुने आमाका नाममा दर्ता रहेको तपसीलमा उल्लेखित जग्गा मृतक मेरी आमा छविराजी, मेरो स्वास्नी भएकोले म लोग्नेको नाममा नामसारी गरी पाउँ भनी मालपोत कार्यालयमा दर्खास्त गरी मेरो हक जग्गामा खिचोला गरेको हुँदा मालपोत कार्यालयको निर्णयको म्यादभित्र फिराद गरेको छु । छविराजीको नाममा दर्ता रहेको जग्गा अपुतालीको २ नं. बमोजिम मेरो हक कायम गरी उक्त जग्गा मेरा नाममा दर्ता गरी पाउँ भन्ने समेत व्यहोराको फिरादपत्र ।

३.    फिरादको प्रकरण नं. ३ मा छविराजी चुल्हाइकै सत्यमा रही परलोक भएको छ भने प्रकरण नं. ४ मा छविराजी सुमेश्वरको स्वास्नी कायम हुने भए पनि चुल्हाइको सत्य डगाएकी भन्नु परी भन्ने लेखिएको छ छविराजी चुल्हाई अहिरकै स्वास्नी कायम रही मरेको भनी विश्वास लिन नसकेको छविराजी सुमेश्वरको स्वास्नी भएको प्रकाशमा आएको २०३४ साल मार्गमा मरेपछि मात्र मेरो स्वास्नी भनी मिति २०३५।१२।८ मा सुमेश्वरले दर्खास्त गरेको भन्ने फिरादको कुरा गलत हो चुल्हाई मरेपछि चुल्हाइको नामको रामनगरको चार आना जिमिदारी हिस्सा नामसारी गरी पाउँ भनी तत्कालिन पाल्ही माल परासीमा दर्खास्त दिंदा चुल्हाइको स्वास्नी छविराजी समेत पोइल गएको भनी लेखेको छ छविराजीलाई पोइल गएको भनी वादीले लेख्न नपर्ने, २०२६ सालको मतदाता नामावलीमा छविराजीलाई सुमेश्वरको स्वास्नी (साविक पेज नं. ३९५) भनी प्रकाश भएको छ नामसारी गरी पाउँ भन्ने वादीको माग दावी छ । सो जग्गा सर्भे नापीको क्षेत्रीय दर्ता किताब १ फिल्ड बुकमा समेत लोग्ने सुमेश्वर भनी लेखिएको छ । ०३३ सालमा नागरिकता टोलीमा नागरिकताको अस्थायी प्रमाणपत्रमा लोग्ने सुमेश्वर अहिर भनी लेखिएको चुल्हाई मरेपछि छविराजी पोइल गएको देखि फिरादीले आफ्ना बाबु चुल्हाइको सम्पत्ति मध्ये बिगहा १७१६८ जग्गामा हक पाई अरुमा दावी छोडी मिलापत्र गरेको, सो बाट प्रष्ट देखिने चुल्हाइको सम्पत्ति मध्ये आधा जेठी स्वास्नी ठाकुर देईको अंश हक लाग्ने बिगहा १७१६८ निजको छोरी यी वादी भगवानीले बाँकी आधामा छविराजीले र आधा बिगहामा ८१८४ फुलमतीले दर्ता नामसारी गराई पाउने गरी २०२६।३।२३ मा पाल्ही खण्ड गोश्वारामा मिलापत्र भएको सोही अनुसार दर्ता नामसारी भई भोग तिरो गरेकोमा फुलवतीको हक फिरादीको जेठाजु रामनरेशले हक छुटाई लिएको र फुलवती पनि मरिसकेकी र छविराजीको हक जति मुलुकी ऐन ज.प.को ४ नं. को देहाय २ ले दिएको सुविधा अनुसार त्यसै धुरीमा लोग्ने स्वास्नीले सम्पत्ति भोग गर्न पाउने भई भोगी आएको छविराजी मरेको र आजसम्म सोही घरमा म बसी आएकी छु । मेरो स्वास्नी छविराजीको अपुतालीका ३ नं. अनुसार मेरो स्वास्नी छविराजीका नाममा दर्ता रहेको वादी दावीको जग्गामा मेरो हक कायम गरी मेरै नाममा दर्ता नामसारी गराई पाउँ भन्ने सुमेश्वर अहिरको प्रतिवाद रहेछ ।

४.    वादी प्रतिवादीको साक्षीको बकपत्र भएको । मालपोत कार्यालयबाट आएको नामसारी गरी पाउँ भन्ने ७३ नं. को मिसिल प्रमाणमा रहेछ ।

५.    चुल्हाई मरेकाले निजको नाममा चल अचल श्रीसम्पत्ति नामसारी दर्ता गराई पाउँ भन्ने दावा निजले नै पेश गरेको मिलापत्रबाट पोइल गएको भन्ने किटान गरेको सुमेश्वरले मेरी स्वास्नी हो भनेपछि पोइल गएको कुरा पछि प्रकाशमा आएको भन्ने वादी २०१६।३।२३ को मिलापत्रमा वादीले दावी गरेको वादी खण्डमा आमा पोइल गइसकेको भन्ने कुरा छर्लड्ड गरिएको छ । २००९।२।३१ गते रामबली अहिरलाई गरी दिएको बकसपत्रमा पनि बुहारीहरु पोइल गई सकेकी भन्ने लेखिएको पेश भएको नक्कलबाट देखिन आयो । सक्कल फिल्डबुक झिकाई हेर्दा कैफियत खण्डमा प्रतिवादी सुमेश्वरले सो जग्गा मेरो स्वास्नी छविराजीको नामको सिर हो मैले जोती आएको छु भन्ने लेखिएको किसानको नाममा सुमेश्वर र जग्गावालाको नाममा छविराजी लेखिएको देखियो । छविराजी सुमेश्वरको स्वास्नी नभए फिल्डबुकमा दर्ता हुँदाकै अवस्थामा जनिएको त्यसमा कुनै विवाद नहुँदा छविराजीको लोग्ने सुमेश्वर अहिर रहेछन भन्ने मिति २०३३।८।२४ गतेमा पाएको नागरिकताको अस्थायी प्रमाणपत्रमा लोग्ने सुमेश्वर अहिर भनी जनिएकोबाट अपुतालीको २ नं. बमोजिम नजिकको हकदार लोग्ने भई मौजुद अघिल्लो लोग्ने पट्टीको छोरीले आमाको अपुताली भनी आमाका नामको जग्गा नामसारी गरी पाउँ भन्ने समेत दावी नपुग्ने ठहर्छ भन्ने समेत रुपन्देही जिल्ला अदालतको मिति २०३७।६।२१ गतेको फैसला रहेछ ।

६.    विपक्षी सुमेश्वर अहिर मेरो बाबु चुल्हाइको श्रीमती मेरी आमा छविराजीको लोग्ने होइन बाबु चुल्हाइको सत्यमा रहेको हैसियतले आमा छविराजीको नाममा सम्पत्ति रही आएको हो र आमाको मृत्यु भएको हो सम्पूर्ण मिसिल तलब गरी प्रमाण बुझी शुरु रुपन्देही जि.अ.को मिति २०३७।६।२१ गतेको फैसला इन्साफ उल्टाई मेरो फिराद दावी बमोजिम गरी पाउँ भन्ने समेत व्यहोराको भगवानी अहिरको प.क्षे.अ.मा पुनरावेदन परेको रहेछ ।

७.    भगवानी अहिरनीले सुमेश्वरको स्वास्नी छविराजी हैनन् चुल्हाई हो भनी जिकिर लिएकोमा सुमेश्वरले मेरै स्वास्नी भनी सबूद समेत पेश गरेको मिसिलबाट देखिन आउँछ । छविराजी र चुल्हाई यी सुमेश्वर कसको श्रीमती हुन भन्ने प्रश्न उपस्थित भई (साविक पेज नं. ३९६) सकेकोमा सो निराकरण अ.बं. ८० नं. अनुसार गर्नु पर्ने सो कारवाही नअपनाई छविराजीको लोग्ने सुमेश्वर कायम गर्ने गरेको शुरुको फैसला मिलेको देखिएन । अतः अ.बं. २०२ नं. क्षेत्रीय अदालत नियमावली, २०३६ बमोजिम विपक्षी तारिखमा भई नै रहेको हुँदा झिकाई रहन परेन भन्ने समेत सिंगलबेञ्चको मिति २०४०।८।१९।२ को आदेश रहेछ ।

८.    पाल्ही मालको मिति २०१५।४।२८ गतेको फैसलाबाट भगवानीलाई छविराजीको उदरबाट जन्मेको छोरी भन्ने मिल्ने देखिएन । जेठी स्वास्नी ठकुर देइयाकी छोरी भन्ने देखिन्छ । यस स्थितिमा प्रस्तुत केशमा सौतेनी छोरीले अपुताली पाउन सक्ने भन्न मिलेन । वादी दावीपुग्न सक्दैन रु.जि.अ.को इन्साफ मनासिब ठहरेकोले पुनरावेदक भगवानी अहिरको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने प.क्षे.अ.को मिति २०४१।९।११।३ को फैसला रहेछ ।

९.    वादी दावी पुग्न नसक्ने गरी प.क्षे.अ.ले गरेको फैसला उपर चित्त बुझेन उक्त फैसलामा सार्वजनिक महत्वको प्रत्यक्ष कानुनी त्रुटि भएकोले पुनरावेदनको अनुमति पाउँ भनी यस सर्वोच्च अदालतमा वादीको पर्न आएको निवेदनमा पश्चिमाञ्चल क्षेत्रीय अदालतको निर्णयमा अ.बं. १८४(क) र स्त्री अंश धनको ६ नं. तथा अपुतालीको २ नं. समेतको त्रुटि भएको र उक्त त्रुटि सार्वजनिक महत्वको समेत भएकोले पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत यस सर्वोच्च अदालत डिभिजनबेञ्चको मिति २०४२।१।११ गतेको आदेश रहेछ ।

१०.    मिलापत्र भएको मुद्दामा छविराजीलाई पोइल गइसकेको भनी देखाई चुलाइका नाममा रहेको सम्पत्ति अपुतालीबाट हक भएको भनी नामसारीमा दावी लिएकोमा छविराजीका नाममा चुलाइको सम्पत्तिमध्ये ४ खण्डको १ खण्ड दर्ता हुने गरी मिलापत्र गरेको छ । अघिल्लो लोग्नेको सम्पत्तिमा अपुतालीबाट आफ्नो हक कायम गराई लिएपछि यदि छविराजी विपक्षीसित पोइल जान्छे भने स्त्री अंश धनको ६ नं. ले अघिल्लो लोग्ने तर्फको सम्पत्तिमा छविराजीको कुनै हक कायम नरही अघिल्लो लोग्ने तर्फको हकवालाले खान पाउने व्यवस्था भएको र वादी चुल्हाइकी छोरी भएको चुल्हाई मरे पछि हक खाने कानुन बमोजिम नजिक हकदार नभए वादी छोरीले पाउने स्पष्ट कानुनी व्यवस्था भएकोले छविराजीका नामको सम्पत्तिमा वादी दावी बमोजिम वादीको हक कायम हुने भई नामसारी समेत गरी पाउने ठहर्छ । क्षेत्रीय अदालतबाट वादी दावी नपुग्ने ठहराएको कानुन विपरीत देखिँदा उल्टी हुने ठहर्छ भन्ने समेत सर्वोच्च अदालत संयुक्तइजलासको मिति २०४३।९।७।२ को फैसला ।

११.    श्री ५ महाराजाधिराजका हजूरमा उक्त मुद्दा दोहराई पाउँ भनी चढाएको बिन्तिपत्रमा व्यहोरा साँचो भए पूर्णइजलासबाट दोहराई हेरी कानुन बमोजिम निर्णय गर्नु भन्ने श्री ५ महाराजाधिराजबाट हुकुम बक्सेको छ भनी मौसूफ सरकारका विशेष जाहेरी विभागबाट तोक लागी आए अनुसार नियम बमोजिम पेश हुन आएकोमा निवेदक प्रतिवादीतर्फबाट रहनु भएका विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्दप्रसाद रेग्मीले शिवराजीले नाती रामवलीलाई मिति २००९।२।३१ मा बकसपत्र दिएकोमा छोरा चुल्हाई मरी बुहारी समेत पोइल गएको भनेको छ । २०१० सालमा पाल्ही मालबाट र मिति २०११।५।१६ मा पाल्ही माझ खण्ड गोश्वाराबाट फैसला भएको मुद्दामा रामवलीको नामसारीको उजूरीमा आमाहरु पोइल गएको भन्ने र शिवराजीको उजूरीमा पनि बुहारीहरु पोइल गएको भन्ने व्यहोरा परेको छ । त्यसपछि शिवराजी र रामवली दुवै परलोक भएपछि जग्गा नामसारीको लागि भगवानीले उजूर गरेकोमा बजै भाइ मरेको आमाहरु पोइल गएको भन्ने र फुलमतिले पनि बुढी सासु र लोग्ने परलोक भए सासुहरु पोइल गए भनेकी छ । यसमा जग्गा फुलमतिका नाममा दर्ता हुने ठहरी पाल्ही मालबाट निर्णय भए उपर भगवानीको (साविक पेज नं. ३९७) पुनरावेदन पर्‍यो । मिति २०१६।३।२३ मा पाल्ही माझ खण्ड गोश्वाराबाट मिलापत्र भयो । सो मिलापत्र बमोजिम छविराजीले पाएको जग्गा छविराजीको नाममा दर्ता हुँदा सुमेश्वरकी स्वास्नी भन्ने लेखिएको छ भगवानीले छविराजी पोइल गएको भनेको छ । त्यसलाई २००९ सालको बकसपत्रले समर्थन गरेको छ । पोइल गएपछि मिलापत्रबाट पाएको सम्पत्तिमा साविक लोग्नेको हकवालाले अपुताली पाउन सक्दैन । वादी मर्ने छविराजीको सौतेनी छोरी हुन् । सौतेनी छोरीहरुले अपुताली पाउन सक्दैन । तसर्थ सर्वोच्च अदालत संयुक्तइजलासबाट विवादित जग्गामा वादीको हक कायम नामसारी समेत गर्न पाउने ठहराएको इन्साफ मिलेको छैन । वादी दावी नपुग्ने गरेको पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ सदर हुनुपर्दछ भनी बहस गर्नुभयो । विपक्षी वादीतर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री अग्नी खरेलले मिति २०१६।२।२३ गते मुद्दा मिलापत्र हुँदा फुलमतियाको मञ्जूरीनामा दाखिल गरी सुमेश्वर अहिर समेत सम्मिलित भई मिलापत्र भएको छ । सो मिलापत्रका मितिसम्म छविराजी प्रतिवादी सुमेश्वरसंग पोइल गएको भन्न मिल्दैन । छविराजीले मिलापत्रमा पोइल गएको छैन भनेकी छ । पोइल गएको भए छविराजीले जग्गा पाउने अवस्था पर्दैन पछि खडा भएको नागरिकताको अस्थायी निस्सा, १ नं. फाराम इत्यादि विचारयोग्य छैनन् । चुल्हाइको सम्पत्ति भन्नेमा विवाद छैन । पोइल गएपछि सो सम्पत्ति साविक लोग्नेको हकवालाले पाउँछ । तसर्थ सर्वोच्च अदालत संयुक्तइजलासको इन्साफ न्यायोचित छ र सदर हुनुपर्दछ भनी बहस गर्नुभयो ।

१२.   आज निर्णय सुनाउन तोकिएको प्रस्तुत मुद्दामा सर्वोच्च अदालत संयुक्तइजलासको इन्साफ मिलेको छ, छैन ? सो हेरी निर्णय दिनु पर्ने हुन आएको छ ।

१३.   यसमा निर्णयतर्फ हेर्दा विपक्षी वादी भगवानी अहिर प्रतिवादी सुमेश्वरको श्रीमती छविराजीको अघिल्लो लोग्ने चुल्हाइको छोरी र मर्ने छविराजीको सौतेनी छोरी भन्ने कुरामा विवाद देखिन्न । विपक्षी वादीले आफ्नो फिरादमा दावी लिँदा छविराजीले निजको जिउ छँदा विपक्षी सुमेश्वरलाई लोग्ने भनेको नभई २०३४ साल मार्गमा देहान्त भएपछि छविराजीलाई मेरो स्वास्नी भनी मिति २०३५।१२।८ मा मालपोत कार्यालयमा जग्गा नामसारीको दरखास्त गरेकोबाट मेरो बाबुको सत्य डगाएको प्रकाश हुन आएको भन्नु परी स्त्री अंश धनको ६ नं. ले मेरा बाबु चुल्हाइबाट नामसारी दर्ता हुन आएको जग्गा अपुतालीको २ नं. ले म छोरी हकवालाको हुने भन्ने समेत दावी लिएको देखिन्छ । प्रतिवादी सुमेश्वरले प्रतिवाद गर्दा पाल्ही मालमा दरखास्त दिंदा छविराजीलाई पोइल गएकी भनी लेखेको वादी दावीको जग्गा सर्भे नापीको फिल्डबुकमा अस्थायी नागरिकतामा लोग्ने सुमेश्वर भनी प्रष्ट लेखेको छ । छवीराजी पोइल गएको देखाएर नै फिरादीले मिति ०१६।३।२३ मा मिलापत्र गरेको देखिने हुँदा स्वास्नीको अपुताली भई लोग्ने छँदै वादीले पाउने पश्न नै नभएको भनि जिकिर लिएको पाइन्छ । यसबाट विवादित जग्गा मिलापत्रबाट छविराजीले प्राप्त गरेको भन्ने कुरा पनि विवाद देखिँदैन । वादी प्रतिवादीहरुबाट पेश गरेको जिमिदारी दर्ता सम्बन्धी मुद्दाको पाल्ही मालबाट मिति २०१५।४।२८ मा भएको फैसलाको प्रतिलिपि हेर्दा चुल्हाई मरेको चुल्हाइको दुई स्वास्नीमा जेठीको म भगवानीया कान्छीको रामवली भएको आमाहरु पोइल गएका हुँदा सो जिमिदारीमा म बाहेक अरु हकदार कोही नभएकोले मेरो नाममा दर्ता गरी पाउँ भन्ने भगवानीयाको दरखास्त दावी र म पोइल गएको छैन, लोग्ने चुल्हाइको सत्य डगाएको छैन छोरीको अपुताली खान पोइल गएकी भनी झुट्टा दरखास्त दिएकी हो, मेरा नाममा दर्ता गराई पाउँ भन्ने छविराजीले जिकिर लिएकी छ । चुल्हाइको दुई स्वास्नी पोइल गएको निजको छोरा मेरो लोग्ने रामवली परलोक भएको, म विवाहिता स्वास्नी छदै छोरीले अपुताली नपाउने भन्ने फूलमतिको पनि जिकिर भएकोमा छविराजीले सो जिमिदारी बुहारी फूलमतिका नाममा (साविक पेज नं. ३९८) दर्ता भएमा मन्जूर छ भनी दरखास्त दिई सनाखत गरी दिएपछि रामवलीको स्वास्नी फूलमती छँदा छोरी भगवनियाको नाममा दर्ता गरी दिन ऐनले नमिल्ने बुहारीका नाममा दर्ता वहाली भएमा मन्जूरी कागज समेत भएकोले फुलमतिका नाममा दर्ता बहाली गरी दिने भन्ने पाल्ही मालबाट निर्णय भएको र सो निर्णय उपर भगवानी अहिरको पुनरावेदन परी कारवाही हुँदा सो जिमिदारी जग्गा आधी भगवानीले र आधीमा एक खण्ड छविराजीले, एक खण्ड फुलमतीले दर्ता गराई भोग गर्ने गरी पाएको माझ खण्ड गोश्वारा, पुनरावेदन तहबाट मिति २०१६।३।२३ गते मिलापत्र भएको मिसिल संलग्न सो मिलापत्रको रीत पूर्वकको प्रतिलिपिबाट देखिएको छ । सो मिलापत्रको अध्ययनबाट छविराजी पोइल गएकी वा नगएकी भन्ने प्रश्नको विवेचना सम्म पनि गरेको नपाइनुको अतिरिक्त मिलापत्र भएको अवस्था चुल्हाइको श्रीमती कायम गरी छविराजीलाई जग्गा दिई मिलापत्र भएको देखिन आउँछ । मिलापत्र हुनु अगावै छविराजी पोइल गएकी हो कि भन्ने प्रश्नको निराकरणको लागि पोइल गएकी भनी ठहर भइराखेको कुनै मिसिल प्रमाणबाट पनि देखिँदैन । छविराजी मिलापत्र भएको समयमा चुल्हाइको सत्य डगाई अरुसंग पोइल गइसकेकी भए चुल्हाइको नाम दर्ताको जिमिदारी जिरायत जग्गाको ४ खण्डको १ खण्ड दिई मिलापत्र गर्नु पर्ने अवस्था नै विद्यमान हुन आउने थिएन । तसर्थ मिलापत्र हुनु अगावै प्रतिवादी जिकिर अनुसार प्रतिवादी सुमेश्वरसंग पोइल गएको कायम गरी छविराजीले मिलापत्र गरेको भन्न सबूदको अभावमा मिल्ने नभई, उक्त मिलापत्र भइसकेपछि मात्र छविराजी प्रतिवादी सुमेश्वरसंग पोइल गएकी मान्नु पर्ने हुन्छ । अब त्यसरी छविराजीले मिलापत्रबाट प्राप्त गरेको विवादित जग्गामा वादी दावी बमोजिम वादीको हक कायम हुने हो होइन ? सो परिप्रेक्ष्यमा विचार गर्दा छविराजी पोइल गई प्रतिवादी सुमेश्वरले आफ्नो स्वास्नी राखेमा स्वीकारेको पाइन्छ । स्त्री अंश धनको ६ नं. मा स्वास्नीले आफ्नो लोग्नेको सत्य डगाएमा सो लोग्नेको तर्फबाट पाएको अंश र त्यसबाट बढे बढाएको सम्पत्तिमा स्वास्नीकै हक रहँदैन । हकवालाको हुन्छ भन्ने उल्लेख गरेको र सो व्यवस्थाबाट प्रतिवादी सुमेश्वरसंग छविराजी पोइल गएपछि अघिल्लो लोग्ने चुल्हाइको नाम दर्ताको मिलापत्रबाट पाएको विवादित जग्गामा अघिल्लो लोग्ने तर्फको हकवालाको हक हुन आउने प्रष्ट छ । पछिल्लो लोग्ने प्रतिवादी सुमेश्वरको हक कायम हुने कानुनी प्रावधानको अभावमा मर्ने छविराजीको नामको दर्ताको जग्गामा मेरो हक कायम हुनु पर्ने भन्ने प्रतिवादीको मु.स.गर्ने केशोर अहिरको जिकिर र विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्दप्रसाद रेग्मीको बहस जिकिरसंग यो इजलाश सहमत हुन सकेन । अतः वादी भगवानी अहिर चुल्हाइको जेठी श्रीमतीबाट जन्मेकी छोरीलाई सौतेनी छोरी भनी सम्बोधित हुने भए पनि आखिर चुल्हाइकी छोरी नै भएको र निज बाहेक अरु हकवाला समेत कोही नहुँदा उपरोक्त कारण समेतबाट सर्वोच्च अदालत संयुक्तइजलासबाट मिति २०४३।९।७ मा छविराजीका नामका सम्पत्तिमा वादी दावी बमोजिम वादीको हक कायम भई नामसारी समेत गरी पाउने ठहराएको इन्साफ मनासिब ठहर्छ । अरु तपसील बमोजिम गर्नु ।

तपसील

वादी भगवानी अहिर मरी मु.स.गर्ने सुवास चन्द्र यादव के सर्वोच्च अदालत संयुक्तइजलासको मिति २०४५।१२।३० गतेको फैसला र मिति २०४६।८।८ को लगतले प्रतिवादी सुमेश्वर अहिरबाट जम्मा कोर्टफी रु. ३११।८४ भराउने गरेकोमा प्रतिवादी सुमेश्वरको मु.स.गर्ने केशो अहिरको मुद्दा दोहराई ल्याउँदा निज केशो अहिरले सर्वोच्च अदालत (निवेदन शाखा) को मिति २०४६।२।४ को पत्रसाथ काठमाडौं जिल्ला अदालतमा धरौट राखेको देखिँदा सो धरौट रहेकोबाट भराई पाउँ भनी वादी भगवानी अहिरको मु.स.गर्ने सुवासचन्द्र यादवको ऐनका म्यादभित्र दर्खास्त परे दस्तुर केही नलिई उक्त धरौट (साविक पेज नं. ३९९) रहेकोबाट भरी भराउ गरी दिनु भनी काठमाडौं जिल्ला अदालतमा लगत दिनु...१, सर्वोच्च अदालत संयुक्तइजलासको मिति २०४५।१२।३० गतेको फैसला र २०४६।८।८ को लगतले वादीलाई प्रतिवादीबाट भराउने गरेको कोर्टफी रु. ३११।८४ उक्त लेखिए बमोजिम धरौट रहेकोबाट भरी भराउ हुने हुँदा उक्त सर्वोच्च अदालत संयुक्तइजलासको मिति २०४५।१२।३० गतेको फैसला बमोजिम भरी भराउ गर्नु परेन सो लगत काटी दिनु भनी काठमाडौं जिल्ला अदालतमा लगत दिनु...२, मिसिल नियम बमोजिम गरी बुझाई दिनु...३

उक्त रायमा हामीहरु सहमत छौं । प्र.न्या.विश्वनाथ उपाध्याय, न्या.लक्ष्मणप्रसाद अर्याल

इतिसम्वत् २०४८ साल मंसीर १२ गते रोज ५ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु