शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १००८३ - अप्राकृतिक मैथुन गरी जबरजस्ती करणी

भाग: ६० साल: २०७५ महिना: मंसिर अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री तेजबहादुर के.सी.

माननीय न्यायाधीश श्री बमकुमार श्रेष्ठ

फैसला मिति : २०७४।८।१०

०७०-CR-११३४

 

मुद्दाः- अप्राकृतिक मैथुन गरी जबरजस्ती करणी

 

पुनरावेदक / वादी : मञ्‍जित भट्टराईको जाहेरीले नेपाल सरकार

विरूद्ध

प्रत्यर्थी / प्रतिवादी : भारत सीतामढी घर भई हाल ललितपुर जिल्ला, ललितपुर उपमहानगरपालिका वडा नं.१७ बस्ने परिवर्तित नाम सीतामणी

 

आपराधिक कार्यको मनसाय कुनै छुट्टै रूपमा जाँच गरी पत्ता लगाउनुपर्ने विषय होइन । आपराधिक मनसाय थियो कि थिएन ? भन्‍ने तथ्य अपराध हुँदाको परिस्थिति, अपराध गर्न प्रयोग भएको साधन र सो साधनको प्रयोग गर्ने तरिका, अभियुक्तले वारदात गर्नुअघि वा वारदात हुँदाका अवस्थामा वा वारदातपछि अपनाएको व्यवहार र गरेका क्रियाकलाप आदि जस्ता कुराबाट पत्ता लगाउनुपर्ने ।

(प्रकरण नं.६)

 

पुनरावेदक / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री सोमकान्त भण्डारी

प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : 

अवलम्बित नजिर :

सम्बद्ध कानून :

 

सुरू तहमा फैसला गर्ने:

माननीय न्यायाधीश श्री बाबुराजा कार्की

ललितपुर जिल्ला अदालत

पुनरावेदन तहमा फैसला गर्नेः

मा. मुख्य न्यायाधीश श्री केशरीराज पण्डित

माननीय न्यायाधीश श्री यज्ञप्रसाद बस्याल

पुनरावेदन अदालत पाटन

 

फैसला

न्या.तेजबहादुर के.सी.: तत्कालीन न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम दर्ता हुन आएको प्रस्तुत मुद्दाको तथ्य र ठहर यसप्रकार रहेको छः-

ललितपुर जिल्ला, ललितपुर उपमहानगरपालिका -१७, ग्वार्कोस्थित मेरो कोठानजिक रहेको पान व्यवसाय गर्ने सीतामणी -१ ले मिति २०६७/१२/२९ का दिन १६:०० बजेको समयमा मेरी छोरी नाम परिवर्तित सुशीला भट्टराईलाई जबरजस्ती करणी गरेको हुँदा निज सीतामणी -१ लाई कानूनबमोजिम सजाय होस् भन्‍नेसमेत बेहोराको मन्जित भट्टराईको जाहेरी दरखास्त । 

मिति २०६७/१२/३० गते भारत सीतामढी घर भई हाल जिल्ला ललितपुर, ललितपुर उपमहानगरपालिका-१७, ग्वार्को बस्ने वर्ष १४/१५ को सीतामणी -१ ले जाहेरवालाको छोरी वर्ष ५ की परिवर्तित नाम सुशीला भट्टराईलाई जबरजस्ती करणी गरेको भन्‍ने सम्बन्धमा जाहेरवाला तथा स्थानीय मानिसहरूको सहयोगमा खोजतलास गर्दा निज अभियुक्तलाई फेला पारी दाखिल गरेका छौं भन्‍ने प्रहरी प्रतिवेदन । 

मिति २०६७/१२/२९ गते साँझ १६:०० बजेको समयमा मेरी छोरी परिवर्तित नाम सुशीला भट्टराईले चकलेट खान्छु भनेकी हुँदा निजलाई रू.१ दिएर नजिकैको पान पसलमा पठाएको थिएँ, निज छोरी चकलेट किन्‍न गएको केही समयमा रूँदै पान पसले मदिसे दाइले मेरो पिसाब फेर्ने ठाउँमा उसको औंला छिरायो, मैले दुख्यो भनेपछि छाडेको हो भनेर छोरीले बताएपछि सो ठाउँमा हेर्दा रगतसमेत आइरहेको देखेपछि मैले प्रहरीलाई खबर गरेको हुँ, यसरी नाबालक बालिकालाई जबरजस्ती करणी गर्ने निजलाई कानूनबमोजिम हदैसम्मको कारबाही गरिपाउँ भन्‍ने पीडितकी आमा अम्बिका भट्टराईले गरेको 

कागज । 

मिति २०६७/१२/२९ गते साँझ १६:०० बजेको समयमा मलाई चकलेट खान मन लागेको हुँदा आमासँग पैसा मागेर चकलेट खान भनी नजिकै रहेको पान पसलमा चकलेट किन्‍न जाँदा पानपसले दाइले मलाई निजको पसलभित्र बोलाई काखमा च्यापी मैले लगाएको सुरूवाल फुकाल्नुभयो र मेरो पिसाब फेर्ने अङ्गमा निजको औंला छिराई मलाई दुखाई दिएपछि म कराएपश्‍चात् निज मदिसे दाइले मलाई छोडिदिए, म रूँदै घरमा आई आमालाई सबै कुरा बताएको हुँ र आमाले प्रहरीलाई खबर गर्नुभएको हो, यसरी म जस्तो नाबालकलाई जबरजस्ती करणी गर्ने निजलाई कानूनबमोजिम हदैसम्मको सजाय होस् भनी पीडित बालिका परिवर्तित नाम सुशीला भट्टराईले गरिदिएको कागज । 

मिति २०६७/१२/२९ गते म मेरो पान पसलमा बसिरहेको अवस्थामा पछि नाम थर खुल्न आएकी जाहेरवालाकी छोरी वर्ष ५ की परिवर्तित नाम सुशीला भट्टराई चकलेट किन्‍न आएकी थिइन्, मैले उनलाई रू.१ को चकलेट खान दिई म पसलबाट बाहिर निस्की निज सुशीलालाई मेरो काखमा च्यापी पानपसलबाहिर रहेको एकान्त स्थानमा कुनामा लगी निजको मन्जुरीबेगर निजको सुरूवाल खोली निजको योनिमा बायाँ हातको कान्छी औंला छिराई मेरो लिङ्ग छिर्छ छिर्दैन भनी विचार गरेको हुँ, औंला छिराइरहेको अवस्थामा निज रून कराउन थालेपछि छाडेको हुँ, निजलाई त्यहीँ छाडी भागेको थिएँ, सोही घटना सम्बन्धमा मिति २०६७/१२/३० गते बिहानको समयमा प्रहरीले पक्राउ गरी ल्याएको हो भन्‍नेसमेत बेहोराको प्रतिवादी सीतामणी -१ को अधिकारप्राप्त अधिकारीसमक्ष भएको बयान ।

ललितपुर जिल्ला, ललितपुर उपमहानगरपालिका-१७, ग्वार्कोस्थित हेमशंकरको पान पसलको पछाडिपट्टि कुनामा पूर्वमा मोटर ग्यारेज, पश्चिममा रिङरोडतर्फ जाने बाटो, उत्तरमा ग्लोबल अस्पताल जाने बाटो, दक्षिणमा इमाडोलतर्फ जाने बाटो रहेको, सोही स्थानमा निज सीतामणी -१ ले निज नाम परिवर्तित सुशीला भट्टराईलाई जबरजस्ती करणी गरेको भनिएको चार किल्लासहितको घटनास्थल मुचुल्का ।

प्रतिवादी सीतामणी -१ ले नाम परिवर्तित सुशीला भट्टराईलाई ललाई फकाई काखमा च्यापी निजले लगाएको सुरूवाल खोली जबरजस्ती करणी गरेको हुँदा निज प्रतिवादीलाई कानूनबमोजिम हदैसम्मको सजाय होस् भन्‍ने बेहोराको नारायण भट्टराईसमेत जना-३ ले गरिदिएको घटना विवरण कागज । 

प्रतिवादी सीतामणी -१ को उमेर १४ देखि १६ वर्षसम्मको हुनसक्ने भन्‍ने बेहोराको फरेन्सिक मेडिसिन विभाग, शिक्षण अस्पतालको मिति २०६८/०१/७ परीक्षण प्रतिवेदन । 

प्रतिवादी सीतामणी -१ ले वर्ष ५ कि सुशीला भट्टराईलाई ललाई फकाई निजको योनिमा औंला छिराई मुलुकी ऐन, जबरजस्ती करणीको महलको १ र ९क नं. बमोजिम अप्राकृतिक मैथुन गरी जबरजस्ती करणी गरेको पुष्टि हुन आएकोले निज प्रतिवादीलाई ऐ. महलको ३(१) नं. बमोजिम हुने सजायमा ऐ. महलको ९क नं. बमोजिम हुने सजाय थप गरी हुन आउने हदैसम्म सजायमा प्रतिवादीको उमेर १४ देखि १६ वर्षबीच रहेको भन्‍ने मिसिल संलग्न परीक्षण प्रतिवेदनबाट देखिँदा निजलाई बालबालिकासम्‍बन्धी ऐन, २०४८ को दफा ११(३) बमोजिम सजाय गरी मुलुकी ऐन, जबरजस्ती करणी महलको ९क नं. बमोजिम पीडितलाई प्रतिवादीबाट मनासिब क्षतिपूर्ति भराई पाउँ भन्‍नेसमेतको मागदाबी भएको अभियोग   पत्र । 

मैले जबरजस्ती करणी गरेको छैन, मैले हातको कान्छी औंलाले योनिमा छोई नङले गर्दा रगत आएकोसम्म हो, लिङ्गले छोएको होइन, औंलासम्म छिराएको हो, अभियोग दाबीबमोजिम सजाय हुनुपर्ने होइन भन्‍नेसमेत बेहोराको प्रतिवादी सीतामणी -१ ले सुरू अदालतमा गरेको बयान ।

पछि बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी हाललाई मुद्दा किनारा नलागेसम्मको लागि निज प्रतिवादी सीतामणी -१ लाई बाल सुधार गृहमा राख्‍न बाल सुधार गृह, भक्तपुरमा पठाइदिनु भन्‍नेसमेत बेहोराको सुरू अदालतको मिति २०६८/०१/२१ को आदेशानुसार निज प्रतिवादीलाई बाल सुधार गृह, भक्तपुरमा राखिएको । 

मेरी छोरी नाम परिवर्तित सुशीला भट्टराई दिनहुँजसो चकलेट किन्‍न प्रतिवादीको पसलमा जाने गर्दथिन्, त्यसैक्रममा निज प्रतिवादीले गलत मनसाय राखी पान पसलकै छेउमा नदेख्‍ने ठाउँमा लगी जबरजस्ती करणी गरेको हो, छोरी रूँदै कराउँदै घर कोठामा आएपछि छोरीले नै उक्त कुरा बताएपछि थाहा जानकारी भएको हो, प्रतिवादीलाई हदैसम्मको सजाय हुनुपर्छ भन्‍नेसमेत बेहोराको जाहेरवाला मन्जित भट्टराईले सुरू अदालतमा गरेको बकपत्र ।

प्रतिवादीको चरित्र गाउँघरदेखि नै राम्रो भएकोले निजले उक्त कसुर गरेको जस्तो लाग्दैन, निजलाई अभियोग मागदाबीअनुसार सजाय हुनुपर्ने होइन भन्‍नेसमेत बेहोराको प्रतिवादीका साक्षी मनोजप्रसाद साहले सुरू अदालतमा गरेको बकपत्र ।

वारदातको दिन मेरी छोरीले १ रूपैयाँ झिकी चकलेट किन्‍न निस्केकी, १० मिनेटपछि रूँदै आउँदा के भयो भनी सोध्दा पान पसलेले औंलाले कोट्याइदिएकोले रगत आयो भनी देखाएपछि मैले हेर्दा निजको योनिबाट रगत आइरहेको थियो, रगत आएको कारणले घटना घटेकोमा विश्‍वास लाग्छ भन्‍नेसमेत बेहोराको अनुसन्धानको क्रममा बुझिएको व्यक्ति तथा पीडितकी आमा .................ले सुरू अदालतमा गरेको बकपत्र ।

यसमा प्रतिवादी नाबालक देखिन आएको हुँदा निजको नाउँसमेत गोप्य राखी सीतामणी -१ परिवर्तित नाम दिई बाँकी काम पूरा गर्नु भन्‍नेसमेत बेहोराको मिति २०६८/०३/०९ को सुरू अदालतको आदेश । 

म पापा किन्‍न पसलमा गएको बखत निज सीतामणी -१ ले जबरजस्ती गर्न खोजी मलाई लडाई मेरो पिसाब गर्ने ठाउँबाट रगत आएको हुँदा रोइकराई गर्दा आमा बाबुले थाहा पाई अस्पताल पुर्‍याएको र अस्पतालको रिपोर्टअनुसार निज प्रतिवादीलाई कारबाही गरिपाउँ भन्‍नेसमेत बेहोराको पीडितले सुरू अदालतमा गरेको बकपत्र ।

बालकमाथि लगाइएको आरोप एवं मुद्दाको सन्दर्भमा थुनामा (बाल सुधार गृहमा) रहँदासमेत उसलाई ऊ भन्दा साना भाइबहिनी रहेको र उनीहरूको अवस्थाका बारेमा चिन्ता रहेको, म सुधार गृहबाट निस्कन पाए केही काम गरेर उनीहरूको पालनपोषण गर्थें भन्‍ने उसको चिन्ता रहेको पाइयो, अहिलेको समाजमा आधुनिकताको नाममा बढ्दै गएको उच्छृङ्खलता, तडक-भडक, अश्लिल दृश्यहरूले गर्दा उसमा परिवर्तन भएको देखियो, ऊ सुधार गृहबाट निस्केपछि राम्रो काम गर्नुका साथै आफ्नै भाइबहिनीको हेरचाह गर्ने जिम्मेवारी बहन गरी जीवन निर्वाह गर्ने देखियो, उल्लिखित विवरणको आधारमा प्रतिवादी बालकको सर्वोत्तम हितलाई ध्यानमा राखी एक पटकको लागि निजलाई थुनामुक्त गरी स्थानीय अभिभावकको जिम्मा लगाउनु उपयुक्त हुने राय समाजसेवी श्री सुजाता रेग्मीबाट पेस भई सुरू मिसिल सामेल रहेको ।

प्रतिवादीले पीडितलाई जबरजस्ती करणी गरेको, अप्राकृतिक मैथुन गरेको हो भन्‍न सकिने अवस्था नदेखिँदा प्रतिवादीउपरको अभियोग दाबी पुग्न सक्दैन । प्रतिवादी सीतामणी -१ ले अभियोगदाबीको कसुरबाट सफाइ पाउने ठहर्छ भन्‍नेसमेत बेहोराको ललितपुर जिल्ला अदालतको मिति २०६८/०८/२५ को फैसला ।

महिला र पुरूषबीच यौनाङ्गद्वारा गरिने यौन क्रियाबाहेक अन्य प्रकारको यौन कार्य अप्राकृतिक मैथुन हो, मुलुकी ऐन, जबरजस्ती करणीको महलको ९क नं.ले नाबालकसँग गरिने अप्राकृतिक मैथुनसमेतलाई जबरजस्ती करणीसरह मानी सजाय हुने व्यवस्था गरेको देखिन्छ, आफ्नो पिसाब फेर्ने अङ्गमा प्रतिवादीले औंला छिराएको भन्‍ने पीडितको भनाई रहेकोमा पीडितको योनिमा औंला छिराएको कुरामा प्रतिवादी साबित रहेको र पीडितको योनि सुन्‍निएको र रगत आएको भन्‍ने मिसिल संलग्न शारीरिक जाँच रिपोर्टले पीडितको भनाई र प्रतिवादीको बयान पुष्टि भइरहेको देखिँदा प्रतिवादीउपर आरोपित कसुर ठहर गर्नुपर्नेमा प्रतिवादीले यौनजन्य क्रिया अर्थात्‌ करणी गर्ने कुनै उद्योग गरेकोसम्म नदेखिएको भन्‍ने आधारमा सफाइ दिई भएको उक्त फैसलामा गम्भीर कानूनी त्रुटि विद्यमान छ । जहाँसम्म प्रतिवादीको उमेर १४ वर्ष रहेको भन्‍ने निर्णयाधारको प्रश्‍न छ, बालबालिकासम्बन्धी ऐन, २०४८ को दफा ११(३) ले १४ वर्षमाथि र १६ वर्षमुनिका नाबालकले कुनै कसुर गरेकोमा सजाय गर्दा उमेर पुगेको व्यक्तिलाई हुने सजायको आधा सजाय हुने हुँदा मिसिल संलग्न कागज प्रमाणहरूबाट यी प्रतिवादी कसुरदार रहेको पुष्टि भइरहेको अवस्थामा निजउपर आरोपित कसुर ठहर गरी सजाय गर्नुपर्नेमा सफाइ दिनेगरी भएको सुरू फैसला बदर गरी प्रतिवादीलाई सुरू अभियोग मागदाबीबमोजिम सजाय गरिपाउँ भन्‍नेसमेत बेहोराको वादी नेपाल सरकारको तर्फबाट पुनरावेदन अदालतमा परेको पुनरावेदन-पत्र ।

सुरू ललितपुर जिल्ला अदालतबाट भएको मिति २०६८/०८/२५ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्तैन भन्‍ने बेहोराको मिति २०७०/०३/११ मा पुनरावेदन अदालत पाटनबाट भएको फैसला ।

प्रतिवादीले परिवर्तित नाम सुशीला भट्टराईलाई ललाई फकाई निजको योनिभित्र औंला छिराएको कुरा मिसिल संलग्न प्रमाणहरूबाट पुष्टि भई फैसलामा समेत सो कुरा स्वीकार गरिएको छ । यस्तो अवस्थामा अप्राकृतिक मैथुनको स्पष्‍ट परिभाषा नगरेको भन्‍ने आधारमा प्रतिवादीलाई कसुरबाट सफाइ दिनु न्यायसङ्गत छैन । महिला पुरूषबीच यौनाङ्गद्वारा प्राकृतिक रूपमा गरेको यौन क्रियाबाहेक अन्य प्रकारको यौन कार्य अप्राकृतिक मैथुन हो । मुलुकी ऐन जबरजस्ती करणीको महलको ९क नं. मा अप्राकृतिक मैथुनको स्पष्‍ट परिभाषा नगरेको अवस्थामा कुन कुन अवस्थामा अप्राकृतिक मैथुन गरेको मानिने भन्‍ने सम्बन्धमा व्याख्या नै नगरी प्रतिवादीलाई स्थापित कसुरबाट सफाइ दिएको मिलेको नभएकोले सुरू फैसला सदर गरेको पुनरावेदन अदालतको फैसला उल्टी गरी प्रतिवादीलाई अभियोग दाबीबाट सफाइ दिलाई पाउँ भन्‍नेसमेत बेहोराको यस अदालतमा वादी नेपाल सरकारले मुद्दा दोहर्‍याई हेरिपाउँ भन्‍ने निवेदन ।

यसमा पुरूष र महिलाबीच स्वाभाविक रूपमा मैथुनबाहेक अन्य तरिकाबाट हुने यौनजन्य क्रिया नै अप्राकृतिक मैथुन हो भनी स्वाभाविक अर्थ हुने अवस्था भएको र यस्तो अवस्थामा जबरजस्ती करणीको ९क बमोजिम सजाय हुने कसुर तोकिएकोमा के कस्तो कार्य वा यौनजन्य व्यवहार अप्राकृतिक मैथुन हुने भनी व्याख्यासम्बन्धी प्रश्‍न निहित रहेको भनी पीडित र प्रतिवादी नाबालक रहेको कारणबाट मात्र अभियोग दाबीबाट सफाइ दिने ठहर्‍याएको पुनरावेदन अदालत पाटनको फैसलामा जबरजस्ती करणीको ९क नं. को व्याख्यात्मक त्रुटि विद्यमान रहेको देखिँदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२ (१)(क) बमोजिम प्रस्तुत मुद्दा दोहर्‍याई हेर्ने निस्सा प्रदान गरिएको छ भन्‍ने यस अदालतको मिति २०७०/१०/२९ को आदेशानुसार प्रस्तुत मुद्दा यस अदालतमा पुनरावेदनको रूपमा दर्ता हुन आएको ।

नियमबमोजिम साप्‍ताहिक तथा दैनिक मुद्दा पेसी सूचीमा चढी इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक / वादी नेपाल सरकारका तर्फबाट उपस्थित विद्वान् उपन्यायाधिवक्ता श्री सोमकान्त भण्डारीले यी प्रतिवादीले जबरजस्ती करणी गर्ने मनसाय राखी पीडितको योनिमा औंला घुसाएको र पीडितलाई दुखेकोले निजले करणी नगरेको भन्‍ने स्वयं निज प्रतिवादीको बयान बेहोराबाट समेत स्पष्‍ट भएको छ । यसरी योनि जस्तो संवेदनशील अङ्गमा औंला घुसाउने कार्य अप्राकृतिक मैथुनभित्र नै पर्नु पर्दछ । त्यसैले निज प्रतिवादीलाई अभियोग दाबीअनुसार सजाय हुनुपर्दछ भनी बहस गर्नुभयो ।  

उपर्युक्तानुसारको बहस सुनी मिसिल अध्ययन गरी हेर्दा यसमा पुनरावेदन अदालत पाटनको फैसला मिलेको छ, छैन ? तथा पुनरावेदक वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्छ सक्दैन ? भन्‍ने विषयमा निर्णय दिनुपर्ने देखियो ।

यसमा प्रतिवादी “सीतामणी-१” ले ५ वर्षकी सुशीला भट्टराईलाई ललाई फकाई निजको योनिमा औंला छिराई मुलुकी ऐन, जबरजस्ती करणीको महलको १ र ९क नं. बमोजिम अप्राकृतिक मैथुन गरी जबरजस्ती करणी गरेकोले निज प्रतिवादीलाई मुलुकी ऐन, जबरजस्ती करणीको महलको ३(१) नं. बमोजिम हुने सजायमा ऐ. महलको ९क नं. बमोजिम हुने सजाय थप गरी हुन आउने हदैसम्मको सजायमा प्रतिवादीको उमेर १४ देखि १६ वर्षबीचको रहेको भन्‍ने मिसिल संलग्न परीक्षण प्रतिवेदनबाट देखिँदा बालबालिकासम्बन्धी ऐन, २०४८ को दफा ११(३) बमोजिम सजाय गरी मुलुकी ऐन, जबरजस्ती करणीको महलको ९क नं. बमोजिम पीडितलाई प्रतिवादीबाट मनासिब क्षतिपूर्ति भराई पाउन मागदाबी लिई अभियोग-पत्र दायर भएको देखिन्छ । सुरू ललितपुर जिल्ला अदालतबाट प्रतिवादीले सफाइ पाउने ठहरी फैसला भएकोमा सोउपर वादी नेपाल सरकारको पुनरावेदन परी पुनरावेदन अदालतबाट उक्त फैसला सदर हुने ठहरी फैसला भएको पाइयो । सो फैसलाउपर वादी नेपाल सरकारको यस अदालतमा मुद्दा दोहर्‍याई हेरिपाउँ भन्‍ने निवेदन परी सोमा दोहोर्‍याई हेर्ने गरी यस अदालतबाट निस्सा प्राप्‍त भई प्रस्तुत मुद्दा आज यस इजलाससमक्ष पेस हुन आएको छ ।

२. निर्णयतर्फ विचार गर्दा, यसमा पीडितको योनिमा औंला छिराएको कुरामा प्रतिवादी साबित रहेको र पीडितको योनि सुन्‍निएको, सोबाट रगत आएको भन्‍ने पीडितको शारीरिक जाँच प्रतिवेदनबाट देखिइरहेको अवस्थामा पनि प्रतिवादीले पीडितलाई यौनजन्य क्रिया अर्थात् करणी गर्ने कुनै उद्योग गरेको नदेखिएको र प्रतिवादीको उमेर १४ वर्ष रहेको भन्‍ने आधारमा प्रतिवादीलाई आरोपित कसुरबाट सफाइ दिएको सुरूको फैसला नमिलेको भन्‍ने नै वादी पक्षको मुख्य पुनरावेदन जिकिर रहेको देखिन्छ ।

३. उपर्युक्त मुख्य पुनरावेदन जिकिरमा केन्द्रित रही निर्णयतर्फ विचार गर्दा, प्रतिवादीले आफ्नी छोरीलाई जबरजस्ती करणी गरेको भनी जाहेरवालाले जाहेरीमा उल्लेख गरेको पाइन्छ । जाहेरीमा जबरजस्ती करणी गरेको भनी उल्लेख गरेपनि पीडित भनिएकी परिवर्तित नाम सुशीला भट्टराईले अनुसन्धानको क्रममा कागज गर्दा प्रतिवादीले आफ्नो योनिमा औंला छिराएको, सो कारणले मलाई दुख्यो, म रोएर कराउन लागेपछि प्रतिवादीले मलाई छोडेको भन्‍ने बेहोरा लेखाएको देखिन्छ । सोही बेहोरासँग नै मिल्ने गरी निजको आमा अम्बिका भट्टराईले अनुसन्धानको क्रममा उल्लेख गरी कागज गरेको पाइयो । निज परिवर्तित नाम सुशीला भट्टराईको स्वास्थ्य परीक्षण प्रतिवेदनबाट पनि पीडितको योनि सुन्‍निएको, योनिमा रगत देखिएको भन्‍ने देखिन्छ । अनुसन्धानको क्रममा बयान गर्दा प्रतिवादीले आफूले पीडितको योनिमा आफ्नो बायाँ हातको कान्छी औंला छिराएको र सोही कारणले पीडितको योनिमा रगत आई निज कराउन थालेपछि आफूले छोडिदिएको, आफूले पीडितलाई जबरजस्ती करणी गरेको होइन भनी बयान गरेका छन् भने निजले सुरू अदालतमा बयान गर्दासमेत आफूले हातको कान्छी औंलाले पीडितको योनिमा छोएकोले नङले गर्दा रगतसम्म आएको हो, मेरो लिङ्गले छोएको होइन, करणी गरेको छैन भनी बयान गरेको 

देखिन्‍छ । पीडितका बाबु जाहेरवालाले अदालतसमक्ष बकपत्र गर्दा वारदातका दिन रूँदै कराउँदै आएकी पीडित छोरीको योनिबाट रगत आएको देखिएकोले प्रतिवादीले पीडितलाई करणी गरेको हुन सक्ने भनी बकपत्र गरेका छन् भने पीडितकी आमा ................ले बकपत्र गर्दासमेत प्रतिवादीले पीडित छोरीको योनिमा औंलाले कोट्‍याइदिएकोले रगत आयो भनी छोरीले देखाउँदा निजको योनिमा रगत आइरहेको देखेको हो भनी बकपत्र गरेको देखिन्छ । नाबालिका पीडितले सुरू अदालतमा बकपत्र गर्दा प्रतिवादीले आफूलाई के के गर्‍यो भनी स्पष्‍ट रूपमा बताउन नसकी प्रतिवादीले जबरजस्ती गर्न खोजी मलाई लडाई मेरो पिसाब गर्ने ठाउँबाट रगत आएको हुँदा रोई कराई गर्दा आमाबाबुले थाहा पाई अस्पताल पुर्‍याएको भनी बेहोरा उल्लेख गरिदिएको पाइन्छ ।

४. उल्लिखित परिवर्तित नाम सुशीला भट्टराईको भनाइ र प्रतिवादी परिवर्तित नाम सितामणी-१ को बयान बेहोरा, स्वास्थ्य परीक्षण प्रतिवेदनलगायतका मिसिल संलग्न कागज प्रमाणहरू हेर्दा यी प्रत्यर्थी / प्रतिवादीले पीडित भनिएकी परिवर्तित नाम सुशीला भट्टराईको योनिमा आफ्नो हातको औंला घुसाएको वा घुसाउन खोजेको स्थापित हुन आएको छ ।  सोही कारणबाट निजको योनिबाट रगत आएको र निजको योनि सुन्‍निएको भन्‍ने बुझिन आउँछ । यस तथ्यका सम्बन्धमा स्वयं पीडित भनिएकी सुशीला भट्टराईको भनाइ, प्रतिवादीको भनाइ र अन्य बुझिएका व्यक्तिको भनाइबीच एक आपसमा सामञ्‍जस्यता रहेको देखिन आउँछ । 

५. उल्लिखित तथ्य स्थापित भएपश्‍चात् अब योनिमा औंला घुसाएको वा औंला घुसाउन खोजेको कार्य अभियोग दाबीअनुसार अप्राकृतिक मैथुनको आपराधिक कार्यको परिधिभित्र पर्छ पर्दैन भन्‍ने सम्बन्धमा विचार गर्नुपर्ने हुन आयो । मुलुकी ऐन, जबरजस्ती करणीको महलमा के कस्ता कार्य गरे अप्राकृतिक मैथुन मानिने भनी कतै व्यवस्था गरेको पाइँदैन । मुलुकी ऐन, जबरजस्ती करणीको महलको १ नं. को स्पष्‍टीकरणको (घ) मा गुद्द्वार वा मुखमा लिङ्ग पसाएमा वा लिङ्गबाहेक अन्य कुनै वस्तु योनिमा प्रवेश गराएमा पनि जबरजस्ती करणी गरेको मानिने छ भनी अन्य वस्तु योनिमा प्रवेश गराएको कार्यलाई पनि जबरजस्ती करणीको अपराध मानेको पाइए तापनि फौजदारी न्यायको सिद्धान्तअनुसार त्यस्तो अप्राकृतिक कार्यलाई अपराध मान्‍न जबरजस्ती करणी गर्ने मनसाय रहेको भने अनिवार्य देखिनुपर्ने हुन्छ । करणीजन्य अपराधहरू यौन सन्तुष्टिका लागि नै गरिने हुन्छन् । त्यसैले यौन सन्तुष्टि प्राप्‍त गर्ने इच्छा तथा आशय राख्‍नु नै करणीसम्बन्धी अपराधको आपराधिक मनसाय तत्त्वका रूपमा रहेको हुन्छ । यौन सन्तुष्टि प्राप्‍त गर्ने इच्छा राखी गरिने जबरजस्ती करणी वा अप्राकृतिक मैथुनका क्रियाहरू आपराधिक कार्यका रूपमा रहेको हुन्छ । 

६. अपराध हुन आपराधिक कार्य र आपराधिक मनसाय दुवै तत्त्वको सन्‍निहितता देखिनुपर्ने भन्‍ने फौजदारी कानूनको प्रमुख सिद्धान्त हो । यसमध्ये एउटाको अभाव भएमा अपराध भएको मानिँदैन । प्रस्तुत विवादका सन्दर्भमा यी प्रत्यर्थी / प्रतिवादीले अप्राकृतिक मैथुन वा जबरजस्ती करणी गर्ने मनसायले नै पीडितको योनिमा औंला घुसाएको वा घुसाउन खोजेको हो भन्‍ने कहीँकतैबाट देखिन आउँदैन । प्रतिवादी आफू पनि वारदात हुँदाको अवस्थामा १७ वर्ष उमेर पुगेको देखिन्छ यो उमेर यौन जिज्ञासा राख्‍ने, यौन कार्यमा इच्छा राख्‍ने र संलग्न हुने उमेर हो । यस्तो उमेरमा पनि प्रतिवादीले पीडितको उमेरको अप्राकृतिक मैथुन वा जबरजस्तीको क्रियामा आफ्नो लिङ्ग निजको योनि वा गुद्‍द्वारको मुखमा दल्ने, पसाउन प्रयास गर्ने, मुखमा लैजाने, चुस्न र खेलाउन लगाउने जस्ता कुनै पनि क्रियाहरू गरे गराएको देखिन आउँदैन । प्रतिवादीले यौन सन्तुष्टि पूरा गर्ने अभिप्रायले अप्राकृतिक मैथुन वा जबरजस्ती करणी गर्न खोजेको भए प्रतिकार गर्न असक्षम अवस्थामा रहे भएकी ५ वर्षिया नाबालिका परिवर्तित नाम सुशीला भट्टराईको योनिमा वा शरीरको कुनै भागमा प्रतिवादीले लिङ्ग नै घुसाउने प्रयास गर्ने वा निजले उपर्युक्त यावत् किसिमका कुनै पनि तरिकाले लिङ्गको नै प्रयोग गर्न सक्ने नै अवस्था  हुँदाहुँदै पनि त्यस्तो गरेको देखिन आउँदैन । अपर्झट कुनै बाह्य परिस्थितिका कारण पर्न गई पीडितउपरको क्रियामा लिङ्गको प्रयोग गर्न नसकेको भन्‍ने पनि देखिँदैन । साथै औंलाको प्रयोग गरेर वा लिङ्गको प्रयोग नगरिकनै यौन सन्तुष्टि लिन सकिन्छ वा लिएको थियो भन्‍ने पनि हुँदैन । आपराधिक कार्यको मनसाय कुनै छुट्टै रूपमा जाँच गरी पत्ता लगाउनुपर्ने विषय होइन । आपराधिक मनसाय थियो कि थिएन ? भन्‍ने तथ्य अपराध हुँदाको परिस्थिति, अपराध गर्न प्रयोग भएको साधन र सो साधनको प्रयोग गर्ने तरिका, अभियुक्तले वारदात गर्नुअघि वा वारदात हुँदाका अवस्थामा वा वारदातपछि अपनाएको व्यवहार र गरेका क्रियाकलाप आदि जस्ता कुराबाट पत्ता लगाउनुपर्ने हुन्छ । साथै प्रतिवादी स्वयं पनि वारदात हुँदाको अवस्थामा नाबालक नै रहेको देखिन्छ । निजमा के गर्दा त्यसको परिणाम के हुन्छ भन्‍ने जानकारी हुने अवस्थासमेत रहेको देखिँदैन । त्यसैले प्रस्तुत मुद्दाका सन्दर्भमा पीडित भनिएकी सुशीला भट्टराईको उमेर वारदात हुँदाको परिस्थिति, प्रयोग गरिएको साधन, वारदात हुँदा वा त्यसको अघि वा पछि प्रतिवादीले गरेका क्रियाकलाप, प्रतिवादीको उमेरसमेततर्फ विचार गरी हेर्दा प्रतिवादीमा जबरजस्ती करणी वा अप्राकृतिक मैथुन गर्ने मनसाय तत्त्वको विद्यमानता रहेको भन्‍ने प्रमाणित हुन आउँदैन । यसरी मनसाय तत्त्व स्थापित हुन नसकेको अवस्थामा निजले अप्राकृतिक मैथुन गरी जबरजस्ती करणी गरेको भन्‍ने आरोपित कसुरजन्य कार्य गरेको भनी भन्‍न सकिने देखिएन । प्रतिवादीलाई अभियोग दाबीबाट सफाइ दिएको सुरूको फैसला सदर गरेको पुनरावेदन अदालतको फैसला कानूनसम्मत नै देखियो । 

७. अतः माथि विवेचित आधार, कारण र प्रमाणबाट प्रतिवादीलाई अभियोग दाबीबाट सफाइ दिने ठहर्‍याई सुरू ललितपुर जिल्ला अदालतबाट मिति २०६८/०८/२५ मा भएको फैसला सदर हुने ठहर्‍याई पुनरावेदन अदालत पाटनबाट मिति २०७०/०३/११ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाइदिनू । 

 

उक्त रायमा सहमत छु ।

न्या. बमकुमार श्रेष्ठ

 

इजलास अधिकृत:- यदुराज शर्मा 

इति संवत् २०७४ साल मार्ग १० गते रोज १ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु