निर्णय नं. १५३४ - बाली हक बेहक

निर्णय नं. १५३४ ने.का.प. २०३९ अङ्क २
फुलबेञ्च
माननीय न्यायाधीश श्री बासुदेव शर्मा
माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा
माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
सम्वत् २०३७ सालको दे.पु.नं. ३२
फैसला भएको मिति : २०३९।२।१४ मा
निवेदक : जि.वारा जितपुर गा.पं.वार्ड नं.७ रमौली बस्ने बाबुकृष्ण उपाध्याय
विरुद्ध
विपक्षी : वीरगञ्ज वार्ड नं.४ बस्ने दिनानाथ माडवारी समेत
मुद्दा : बाली हक बेहक
(१) अधिकार प्राप्त अधिकारीको निर्णयले कसैको हक अधिकारमा प्रतिकुल असर पारेको छ र त्यस्तो अधिकार प्राप्त सक्षम निकायबाट भएको निर्णय सम्बन्धित व्यक्तिलाई मौकैमा थाहा छ र त्यस्तो व्यक्तिले प्रचलित कानून बमोजिम उजुर गरी उक्त निर्णयलाई बदर वातिल गराएको छैन भने उक्त निर्णयलाई स्वीकार गरेको मान्न पर्ने स्थिति हुन्छ ।
(प्रकरण नं. १९)
(२) निवेदकले प्रतिवाद गरी पैरवी तारेखमा बसेको र पछि तारेख छोडेको नाताबाट त्यस्तो मुद्दाको जानकारी निज वादीलाई छैन भन्न न्यायसंगत नदेखिने ।
(प्रकरण नं. २१)
(३) अनुपस्थितिमा हारजित गराई त्यसबाट हक गएको रहेछ भने उक्त निर्णय थाहा पाएपछि कानूनबमोजिम उजुर गरी आफ्नो हक कायम गरी लिनु पर्ने ।
(प्रकरण नं. २२)
निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मणप्रसाद अर्याल
विपक्षी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली
फैसला
न्या.त्रिलोकप्रताप राणा
१. सर्वोच्च अदालत डिभिजनबेञ्चको इन्साफ जाँची पाउँ भनी वादीले चढाएको बिन्तिपत्रमा फुलबेञ्चबाट दोहर्याई हेरी कानून बमोजिम गरी छिनी दिनु भन्ने श्री ५ महाराजाधिराज बाट हुकुम बक्सेबमोजिम लगतमा दर्ता भई प्रस्तुत मुद्दा यस बेञ्च समक्ष पेश हुन आएको रहेछ ।
२. मुद्दाको तथ्य यस प्रकार छ : बारा जिल्ला रामपुर पञ्चायत अन्तर्गत बसन्तपुर वार्ड नं.८ क मा मेरो नाउँमा जिमिदारी कचहरीबाट हाल आवादी पूर्जि पाई भोग चलन गरी आएको ०२१ सालमा सर्भे हुँदा रामपुर पञ्चायत वार्ड नं.८ को कि.नं.५६/५७ को १–१४–० जोताहा राम सिसु महतो भएको फिल्डबुकको किसानको व्यहोरामा जग्गाधनी बाबुकृष्ण उपाध्यायको नम्बरी हो । अघि आएको जम्मै कित्तामा दिनानाथ माडवारीका निवेदनबाट कारवाही भएको ०२३।४।६।५ का पर्चा बमोजिम तेरो मेरो हुँदा कि.नं.५५, ५६, ५७ र ५८ मा झगडा जनिएको फिल्डबुकबाट देखिन्छ, हक बेहक गर्न जानु भन्ने सर्भे डोरबाट दिनानाथलाई दिएको सूचनाले ३५ दिन भित्रमा नालेस नदिई म्याद नघाई बसेको बिपक्ष भू.प्र.का.वारामा दिएको उजुरीमा सो जग्गा विपक्षीका नाउँमा दर्ता हुने ठहर्छ भन्ने भू.प्र.का.वाराको ०२५।८।१२ गतेको फैसला, सो फैसला उपर पुनरावेदन परी प्रमुख जिल्ला अधिकारीको कार्यालयमा कारवाही चली रहेको । दिनानाथले अदालतमा नालेस गरी म्याद नघाई फिल्डबुकमा झगडा जनाएको अमान्य भई मेरो हक कायम भइसकेपछि नापी बदर गरी पाउँ भन्ने उजुरी भू.प्र.का.ले लिने अधिकार कानूनले नदिएको उजुरी नलिई फैसला समेत अनाधिकार गरेको । फिल्डबुकमा मेरो नाउँमा दर्ता रहेको र विपक्ष मोहीले पनि जोताहा भनी लेखिएको समेतबाट ०२८ सालको १–१४–० को धान मन १९।।२ नबुझाएकोले रु.७८२।–दिलाई भराइ पाउँ भन्ने समेत वादी ।
३. वादीले म प्रति दावी गरेको जग्गा नै वादीको होइन म समेतलाई प्रलोभन दिई नापीको अवस्थामा नाप नक्सा गराए पनि जग्गावाला दिनानाथको उजुर परी ०२३।६।२५ मा भूमिसुधार अधिकारीबाट जग्गा दिनानाथ माडवारीको कायम गरी दिने निर्णय आदेश भएको छ । सो निर्णय उपर पुनरावेदन परी इन्साफ सदर भई अन्तिम भएको छ । दिनानाथले नै जग्गा आवाद गरेको छ । वादीबाट फुर्सद गरी पाउँ भन्ने समेत प्रतिवादी ।
४. मैले फिराद दावी लिएको कि.नं.५६, ५७ को १–१४–० मा बाबुकृष्णकै हो । मोल रु.८५०।–जाने जग्गा १–१४–० हक कायम गरी पाउँ भन्ने बाबुकृष्ण उपाध्यायको बयान ।
५. बाबुकृष्णले मेरो भनी दावी लिएको कि.नं.५६ र ५७ को रामपुर पञ्चायत वार्ड नं.८ क.को जग्गा मेरो हकको हो । सबै व्यहोरा खुलाई सकेको छु भन्ने समेत दिनानाथ माडवारीको बयान ।
६. जग्गा कि.नं.५६ र ५७ को १–१४–० को दर्ता कसैको नाउँमा कायम भएको नदेखिएको बाबुकृष्णले मेरो हक भनी दावा लिएको कि.नं.५६ र ५७ को जग्गा मेरो हो । जिमादेवी बाबुकृष्णले मेरो हक भनी दावा लिएको कि.नं.५६ र ५७ को जग्गा मेरो हो । जिमादेवी भएको बाली मुद्दामा बयान गरी सकेको सो मुद्दामा जिमादेवीको हक पुग्न नसक्ने ठहरी फैसला भएको कि.नं.५६।५७ को जग्गामा पनि वादीको हक पुग्दैन । वादी दावी झुठ्ठा ठहर्छ भन्ने बारा जिल्ला अदालतको फैसला ।
७. उक्त फैसलामा चित्त बुझेन भन्ने समेत वादीको पुनरावेदन ।
८. मिसिल सामेल रहेको फिल्डबुक उतार हेर्दा जग्गाधनीमा जिमादेवी निजका दाता बाबुकृष्ण र दिनानाथ समेत कसैका पनि नापी दर्ता नभई खाली नै रहेको समेत देखिँदा वादीको हकदैया नपुग्ने खारेज हुनेमा सुरुले पेटबोलीका व्यक्ति दिनानाथलाई बुझी कोर्टफि समेत लिई हक बेहकमा समेत कारवाही गरी इन्साफ गरेको कानूनोचित नहुँदा सुरु फैसला बदर हुन्छ र वादी दावी खारेज हुने ठहर्छ भन्ने समेत नारायणी अञ्चल अदालतको फैसला ।
९. उक्त फैसला उपर इन्साफ जाँची पाउँ भनी वादीले श्री ५ महाराजाधिराज सरकारका हजूरमा चढाएको बिन्तिपत्रमा इन्साफ जाँची दिनु भन्ने हुकुमको प्रमाङ्गी बक्स भई म.क्षे.अ.बाट इन्साफ जाँचिएको रहेछ ।
१०. भू.सु.सर्भे नापी हुँदा वादी दावीको कि.नं.५६ र ५७ को १–१४–० जग्गाधनीमा वादी बाबुकृष्ण र जोताहा मोहीमा प्र.रामसिसू महतो कोइरीको नाम उल्लेख भई मोहियानी हकको प्रमाण पूर्जा समेत प्र.राम सिसूले प्राप्त गरी सकेको देखिन्छ । दावी बमोजिमको जग्गा वादी बाबुकृष्णले नम्बरी भनी नापी गराएकोमा बदर गरी मेरो नाउँमा कायम गरी पाउँ भनी प्रतिवादी दिनानाथ माडवारीले ३ नं.सर्भे टोलीमा उजुर दिई कारवाही हुँदा तेरो मेरोमा ऐनका म्याद भित्र जिल्ला अदालतमा हक बेहकमा उक्त उजुर गर्न जानु भनी दिनानाथलाई सुनाई दिने भन्ने मिति ०२३।४।६ को ३ नं.सर्भे टोलीको पर्चा अनुसार प्रतिवादी दिनानाथले अदालतमा गई हक कायम गराएको भन्ने कुरा देखिन नआएको यस स्थितिमा आफ्नो जग्गा भए सर्भे नापीको दर्ता बदर गराई हक कायम गराई लिनु पर्ने थियो । प्रतिवादी राम सिसुले वादी दावाको जग्गा वादीकै नाउँमा नापी गराएको कुरामा स्वीकार गरी मोहीमा निजकै नाउँ लेखिएको कुरा फिल्डबुक समेतबाट देखिनाले र प्र.दिनानाथले नालेस गरी वादी दावाको जग्गा आफ्नो नाउँमा हक कायम गराउन नसकेको समेतबाट नालेस गर्ने वादीको हकदैया पुगेको देखिनाले वादी दावी बमोजिम बाली बिगो, ७८२। प्रतिवादी राम सिसु महतो कोइरीबाट वादीले भरी पाउने ठहर्छ । नारायणी अञ्चल अदालतले खारेज गरेको निर्णय र सुरु बारा जिल्ला अदालतले वादी दावा झुठ्ठा ठहर्याई गरेको निर्णय नमिलेको हुनाले सो दुवै तहको निर्णय गल्ती ठहर्छ भन्ने समेत ०३८।३।२३।६ को मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला ।
११. उक्त फैसलामा चित्त बुझेन पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने दिनानाथ माडवारीको निवेदन परेकोमा पुनरावेदनको अनुमति दिईएको छ भनी डिभिजनबेञ्चबाट ०३५।१२।२८।३ मा आदेश भएको रहेछ ।
१२. बाबुकृष्ण उपाध्यायका नाउँमा नापी भएको जग्गा जतिमा हाल अवादीमा नाप नक्सा भए पनि मालपोत पहिलादेखि दिनानाथ माडवारीले बुझाई आएको समेतबाट हाललाई जग्गाधनी दिनानाथ माडवारीलाई नै कायम गरी दिने र ज.ध.को पूर्जा वितरण भएपछि बाबुकृष्ण उपाध्यायलाई सम्बन्धित अदालतमा हक बेहकमा उजुर गरी लिनु भनी जि.भू.सु.का.कलैया बाराबाट ०२३।६।२५ मा टिप्पणी सदर भएको र भू.प्र.का.वारा कलैयाबाट जग्गा दिनानाथ माडवारीकै नम्बरी ठहर्छ भनी ०२५।८।१२ मा फैसला भएको सो उपर पुनरावेदन परेकोमा सदर बदर निर्णय गरी रहनु नपर्ने भएकोले कानून बमोजिम गर्नु भनी भूमि प्रशासन कार्यालयमा मिसिल पठाई दिने गरी प्र.जि.अ.वारा कलैयाबाट ०२९।५।७ मा फैसला भएको देखिन्छ । भूमिसुधार बिशेष अदालतमा बाली भराई पाउँ भन्ने समेत दावी गरी बाबुकृष्णले जग्गाधनीबाट मलाई बञ्चित गराउन प्रयास गरेको भन्ने समेत बोली परेको निवेदनमा बाबुकृष्ण समेतको प्रतिउत्तर परेको समेतको विचार गरी दिनानाथले बाली पाउने ठहर्छ भनी बारा जिल्ला अदालतबाट ०२५।५।१९।३ मा फैसला हुँदा प्रतिवादी बाबुकृष्णको हकमा वादीको दावी प्रष्ट नभएकोले त्यसतर्फ विचार गरी रहनु नपर्ने भन्ने समेत बोली परेकोबाट दिनानाथले अरु प्रतिवादीहरुबाट बाली पाउने ठहरेको जग्गा दिनानाथको हक पुगेको देखिएकोले दावी बमोजिम बाली प्रतिवादी राम सिसु महतो कोइरीबाट वादीले भरी पाउने ठहर्छ भनी मध्यमाञ्चल क्षेत्रीय अदालतबाट ०३५।३।२३।६ मा फैसला गरेको मनासिव देखिएन बदर ठहर्छ भन्ने समेत ०३६।७।१४।४ को डिभिजनबेञ्चको फैसला ।
१३. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पक्ष बिपक्षका वारेसहरुलाई रोहवरमा राखी निवेदक तर्फबाट रहनु भएका विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मणप्रसाद अर्याल विपक्षी दिनानाथ तर्फबाट रहनु भएका विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवालीको ०३९।१।७ गते बहस समेत सुनी आज निर्णय सुनाउने तारेख तोकिएको रहेछ । प्रस्तुत मुद्दामा डिभिजनबेञ्चको निर्णय मनासिव बेमनासिव के हो भन्ने विषयमा निर्णय दिनु परेको छ।
१४. यसमा वादी निवेदकको तर्फबाट उपस्थित हुनु भएका विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मणप्रसाद अर्यालले जग्गा तेरो मेरो देखिएकोले जिल्ला अदालतबाट आफ्नो हक कायम गरी ल्याउनु भनी ३ नं.सर्भे टोलीले विपक्षी दिनानाथलाई मिति ०२३।४।६ मा सुनाएको छ । उक्त निर्णय अनुसार विपक्षी दिनानाथले जिल्लाअदालतमा नालेस गरी आफ्नो हक कायम गराई ल्याउनु भएको छैन । यस्तो अवस्थामा वादी दावीको जग्गामा दिनानाथका हक कायम भएको मान्ने स्थिति छैन । ०२५।८।१२ मा भू.सु.का.कलैया बाराले प्रस्तुत जग्गा दिनानाथको नम्बरी ठहराए पनि त्यस्तो निर्णय उपर मेरो पक्षको प्र.जि.अ.को कार्यालयमा पुनरावेदन पर्दा प्र.जि.अ.को कार्यालयबाट भू.सु.का.कलैया बाराको उक्त निर्णय अधिकार क्षेत्र विहिन भनी ०२९।५।७ को आफ्नो निर्णयमा भनेकोले ०२५।८।१२ को भू.सु.का.वाराको निर्णय कायम रहेन । ०२३।६।२५ मा जि.भू.सु.कार्यालय कलैया बाराले जग्गाधनी दिनानाथलाई कायम गरी दिने निर्णय गरेतापनि टिप्पणीको रुपको निर्णय हुँदा न्यायिक मनको अभाव छ र साथै त्यस्ता निर्णय गर्दा मेरो पक्षलाई बुझिएन, त्यस्तो निर्णय अ.बं. ३५ नं.ले बदरभागी छ । ०२५।५।१९ मा बारा जिल्ला अदालतले दिनानाथको जग्गामा हक कायम गरी बाली दिलाए भराएको छ तर दिनानाथको कानून बमोजिमको फिराद परी त्यस्तो निर्णय भएको होइन । बारा जिल्ला अदातलको उक्त फैसला कानूनसंगत छैन र त्यस्तो फैसला भएको जानकारी समेत मेरो पक्षलाई नभएकोले त्यस्तो फैसला मेरो पक्षको बिरद्धमा प्रमाणमा लिन नमिल्ने हुँदा वादी दावी बमोजिम बाली बिगो प्रतिवादीबाट वादीले भरी पाउने ठहराएको म.क्षे.अ.को इन्साफ मनासिव छ । म.अ.क्षे.अ.को फैसला बदर हुने ठहराएको डिभिजनबेञ्चको मिति ०३६।७।१४ को फैसला मिलेको छैन भन्ने र विपक्षी दिनानाथ तर्फबाट उपस्थित हुनु भएका विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवालीले बारा जिल्ला अदालतको ०२५।५।१९ का फैसला र भू.सु.का.वारा कलैयाका निर्णयहरु अन्तिम छन् । उक्त फैसला निर्णयहरु उपरको प्रस्तुत मुद्दा नहुँदा ति फैसला निर्णयहरु ठीक थिए थिएनन् भनी यस मुद्दाबाट जाँचन सकिन्न । कि.नं.५५, ५६, ५७ र ५८ को जग्गा मेरो पक्षको हो भनी बारा जिल्ला अदालतबाट निर्णय भएको छ । त्यस्तो निर्णय गर्न बारा जिल्ला अदालत सक्षम छ । बारा जिल्ला अदालतमा चलेको त्यस्तो मुद्दामा वादी निवेदक बाबुकृष्णले पनि प्रतिवादी गर्ने भएको छ। त्यस्तो अवस्थामा बाबुकृष्णलाई मुद्दाको जानकारी छैन भन्न मिल्दैन । वादी दावीमा उल्लेख भएको जग्गा मेरो पक्षले दर्ता गरी ०१२ सालदेखि अटुट तिरो भरो गरी भोगेको छ । वादी निवेदकले प्रस्तुत जग्गा हाल आवादीमा पाएको भन्नु हुन्छ । तर, त्यसको कुनै प्रमाण पेश हुन सकेको छैन । ०२५।८।१२ को भू.सु.का.कलैया, बाराको निर्णयलाई प्र.जि.अ.को कार्यालयले बदर गरेको छैन । भू.सु.का.कलैया बाराको उक्त निर्णय बदर गर्न परेन भने आफ्नो निर्णयमा प्र.जि.अ.को कार्यालयले बोलेको छ । त्यस्तो निर्णयबाट वादी निवेदकलाई प्रतिकूल असर भए उक्त निर्णयलाई वादी निवेदकले बदर गराउन सक्नु पर्ने तर सो निर्णय बदर समेत भएको छैन । भू.सु.का.कलैया बाराको उक्त निर्णयहरु र बारा जिल्ला अदालतको फैसलाको आधारमा वादी दावी बमोजिमको बाली प्रतिवादीबाट भराउने ठहराएको म.क्षे.अ.को निर्णय बदर गरी वादी दावीको जग्गा दिनानाथको हक पुगेको भनिएको डिभिजनबेञ्चको इन्साफ मिलेको छ भन्ने समेत बहस गर्नु भयो ।
१५. जग्गाधनी कायम गर्ने सम्बन्धमा कारवाई हुँदा जग्गाधनीमा दिनानाथलाई कायम गरी दिने जग्गाधनीको प्रमाण पूर्जा वितरण भएपछि, सम्बन्धित अदालतमा हक बेहकमा उजुर गर्न जानु भनी राय स्वरुप सहनीलाई सुनाई दिने र निवेदक दिनानाथका अरु कित्ताको हकमा पनि सोही बमोजिम गरी दिनानाथलाई कायम गर्ने भन्ने जिल्ला भूमिसुधार कार्यालय कलैया बाराबाट मिति ०२३।६।२५ मा निर्णय भएको पाईन्छ ।
१६. उक्त ०२३।६।२५ को निर्णय बमोजिम जग्गाधनी कायम भएको आधार देखाई बाली भराई पाउँ भनी प्र.स्वरुप सहनी उपर समेत दिनानाथले मिति ०२३।७।३० मा भू.सु...बिशेष अदालतमा निवेदन दिएकोमा भू.सु.बिशेष अदालतले मुद्दाको कारवाई उठाई प्रतिवादीहरुको नाउँमा म्याद पठाई प्रतिउत्तर समेत लिएको र पछि उक्त मुद्दामा पक्षलाई तारेख तोकी बारा जिल्ला अदालतमा पठाएको र बारा जिल्ला अदालतले जग्गाधनी दिनानाथ कायम गरी प्रतिवादी स्वरुप सहनी समेतबाट बाली भराउने गरी मिति ०२५।५।१९ मा फैसला गरेको देखिन्छ । बारा जिल्ला अदालतबाट फैसला भएको उक्त मुद्दामा स्वरुप सहनी समेतले दावीको जग्गामा केही गरे बिराएको छैन भनी प्रतिवाद गरेको र बाबुकृष्णले वादी दावीको जग्गा मेरो हो भनी प्रतिउत्तर फिराएको पाइन्छ ।
१७. ०२५।५।१९ को बारा जिल्ला अदालतको फैसला उपर चित्त नबुझे पुनरावेदन गर्नु भनी बासुदेव समेतलाई पुनरावेदनको म्याद दिएकोमा त्यस्तो फैसलामा चित्त बुझाई स्वरुप सहनी समेत चुप लागी बसेको पाइन्छ ।
१८. भू.सु.का.कलैया बाराले ०२३।६।२५ मा दिनानाथलाई जग्गाधनी कायम गरेको र जग्गाधनी प्रमाण पूर्जा दिने निर्णय गरेको कुरा निज बाबुकृष्णलाई उक्त बाली मुद्दामा आफुले प्रतिवाद गरेकै अवस्थामा नै थाहा नभएको होइन । तर ०२३।६।२५ को उक्त निर्णयलाई बदर गराउन निवेदक बाबुकृष्ण अग्रसर भएको पाइन्न ।
१९. (अधिकार प्राप्त अधिकारीको निर्णयले कसैको हक अधिकारमा प्रतिकूल असर पारेको छ र त्यस्तो अधिकार प्राप्त सक्षम निकायबाट भएको निर्णय सम्बन्धित व्यक्तिलाई मौकैमा थाहा छ र त्यस्तो व्यक्तिले प्रचलित कानून बमोजिम उजुर गरी उक्त निर्णयलाई बदर वातिल गराएको छैन भने उक्त निर्णयलाई स्वीकार गरेको मान्नु पर्ने स्थिति हुन्छ ) जब भू.सु.का.कलैयाको ०२३।६।२५ को निर्णय कानूनसंगत छैन भन्ने निवेदक तर्फको विद्वान वरिष्ठ अधिवक्ताको बहस भएकोमा ०२३।६।२५ को भू.सु.का.कलैया बाराको निर्णय उपरको यो पुनरावेदन सम्बन्धि मुद्दा नहुँदा भू.सु.का.कलैया बाराको उक्त निर्णय ठीक बेठिक के हो यस मुद्दामा जाँच्ने कुरा रहेन ।
२०. स्वरुप सहनी उपर समेत बाली भराई पाउँ भनी दिनानाथले मिति ०२३।७।३० मा भूमि सुधार बिशेष अदालतमा दिनु भएको निवेदनमा वादी निवेदक बाबुकृष्ण समेतले प्रतिवाद गरी उक्त मुद्दामा आफुलाई संलग्न तुल्याउनु भएको छ । त्यस्तो मुद्दामा के कस्तो निर्णय भयो भनी सम्बन्धित पक्ष पनि जागरुक रहनु पर्छ ।
२१. दिनानाथले स्वरुप सहनी समेत उपर दिएको बाली मुद्दामा वादी निवेदक बाबुकृष्णले प्रतिवाद गरी पैरवी तारेखमा बसेको र पछि तारेख छोडेको नाताबाट त्यस्तो मुद्दाको जानकारी निज वादी बाबुकृष्णलाई छैन भन्न न्यायसंगत देखिन्न ।
२२. त्यस्तो मुद्दामा दिनानाथ र मोही स्वरुप सहनी समेत मिली बाबुकृष्णको अनुपस्थितमा हार जीत गराई त्यसबाट बाबुकृष्ण समेतको हक गएको रहेछ भने उक्त निर्णय थाहा पाएपछि बाबुकृष्णले कानूनबमोजिम उजुरी गरी आफ्नो हक कायम गरी लिनु पर्छ । तर सो बमोजिम भने गरेको पाइँदैन । बारा जिल्लाअदालतले दिनानाथलाई जग्गाधनी कायम गरी प्रतिवादीबाट बाली भराई दिएको ०२५।५।१९ को फैसला र दिनानाथलाई जग्गाधनी कायम गरेको भू.सु.का.कलैया, बाराको ०२३।६।२५ को निर्णय अन्तिम रहेको र ति फैसला निर्णयहरुको औचित्यमा प्रवेश गरी अब यस मुद्दाबाट उक्त फैसला निर्णयहरु जाँची बदल्ने अवस्था रहेन ।
२३. अतः वादी दावी बमोजिमको बाली प्रतिवादी राम सिसु महतोबाट भरी पाउने ठहराएको म.क्षे.अ.०३५।३।२३ को फैसला बदर हुने ठहराएको डिभिजनबेञ्चको ०३६।७।१४ को निर्णय मनासिव ठहर्छ । इन्साफको लागि आएकोले केही गर्नु परेन । मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।
हामीहरुको सहमती छ ।
न्या.बासुदेव शर्मा
न्या.गजेन्द्रकेशरी बास्तोला
इतिसम्वत् २०३९ साल जेष्ठ १४ गते रोज ६ शुभम् ।