निर्णय नं. १००९५ - लिखत दर्ता बदर दर्ता

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री मीरा खड्का
माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ
फैसला मिति : २०७३।१२।८
०७०-CI-०६६६
मुद्दा: लिखत दर्ता बदर दर्ता
पुनरावेदक / प्रतिवादी : जिल्ला पर्सा, भौराटार गा.वि.स. वडा नं. ५ बस्ने राधा राउत अहिर
विरूद्ध
प्रत्यर्थी / वादी : जिल्ला पर्सा, भौराटार गा.वि.स. वडा नं. ५ बस्ने ललिता कुमारीसमेत
विभिन्न किसिमका हक हस्तान्तरणहरू मध्ये दान बकस गरी कुनै सम्पत्ति हक हस्तान्तरण गरिएको छ भने सो दान बकससम्बन्धी विषयमा मुलुकी ऐन, दान बकसको महल आकर्षित हुने हुँदा हदम्यादको सम्बन्धमा दान बकसको महलमा उल्लिखित २ वर्षको हदम्याद आकर्षण हुने ।
(प्रकरण नं.३)
अंश बन्डाको १९(१) नं. ले घरको मुख्य व्यक्तिलाई घर व्यवहार चलाउन अचल सम्पत्ति बिक्री गर्न सुविधा दिएको हो । बिक्री नै नगरी सेवा टहल गरेबापत हा.व. गरी दिएको हुँदा अंशबन्डाको १९(१) नं. को व्यवस्था आकर्षित हुन सक्ने देखिन नआउने ।
(प्रकरण नं.६)
दान बकसको १ नं. मा “अंशियार” भन्ने शब्द प्रयोग भएबाट सगोलको सम्पत्तिमा अंशको हक राख्ने उमेर पुगेका वा नपुगेका एकासगोलका सबैलाई अंशियार मान्नुपर्ने हुन्छ । अरू अंशियारहरूको समेत हक लाग्ने सम्पत्ति दान वा बकसपत्रको लिखत पारित गरिदिँदा उमेर पुगेका वा नपुगेका सबै अंशियारको सहमति लिनुपर्ने
हुन्छ । यस दृष्टिबाट बकस गरेको विषयमा दान बकसको १ नं. नै आकर्षित हुने भई अंशबन्डाको १९(१) नं. असान्दर्भिक देखिने ।
(प्रकरण नं.७)
पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री रमेशकुमार के.सी.
प्रत्यर्थी / वादीका तर्फबाट :
अवलम्बित नजिर :
सम्बद्ध कानून :
सुरू तहमा फैसला गर्ने
मा. न्यायाधीश श्री कृष्णकमल अधिकारी
पर्सा जिल्ला अदालत
पुनरावेदन तहमा फैसला गर्ने
माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी
मा. न्यायाधीश डा. श्री आनन्दमोहन भट्टराई
पुनरावेदन अदालत हेटौंडा
फैसला
न्या. मीरा खड्का : साबिक न्याय प्रशासन ऐन, २०४८ को दफा ९ तथा हाल न्याय प्रशासन ऐन, २०७३ को दफा ९ बमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ:
मंगल राउत अहिरको छोरा विपक्षी जगदीशप्रसाद यादव हुन । निज जगदीशप्रसाद यादवको पत्नी म फिरादी प्रभावती देवी हुँ । विपक्षी जगदीशप्रसाद यादव तथा हामी फिरादी एक साथ सगोलमा बसी आएका थियौं । विपक्षी जगदीशप्रसाद यादवसँग अंश हक माग गर्ने क्रममा विपक्षी जगदीशप्रसाद यादवले आफनो दर्ताको हामीसमेतको अंश हकको जग्गा जिल्ला पर्सा, गा.वि.स. भौराटार वडा नं.६ कि.नं.८७४ ज.वि.०-८-१० जग्गा विपक्षी राधा राउत अहिरलाई मिति २०६५/०२/०२ मा र.नं. ३१८० बाट बकसपत्र लिखत पारित गरी लिनु दिनु भएको हो । सो लिखतको म फिरादी प्रभावती देवीले नक्कल लिई हेर्दा मात्र थाहा पाएको हुँ । दाबीको जग्गा हाम्रो सगोलको पैत्रिक सम्पत्ति भएको र विपक्षीहरूले मिति २०६५।०२।०२ मा बकसपत्र लिखत पारित गरी दिनु लिनु भएकोमा हाम्रो मन्जुरीबेगर पारित गरी दिएको उक्त बकसपत्र लिखतभित्रको जग्गामध्ये हाम्रो अंश हक जति ७ भागको ६ भाग जग्गाको बकसपत्र लिखत र सो लिखतको आधारमा विपक्षी राधा राउत अहिरको नाउँमा भएको दर्तासमेत बदर गरी हाम्रो नाउँमा संयुक्त दर्ता गरिपाउँ भन्नेसमेत बेहोराको फिरादपत्र ।
वादी दाबीबमोजिम लिखत दर्ता बदर हुनुपर्ने होइन र वादीहरूको नाउँमा दर्ता पनि हुने होइन । दाता जगदीशप्रसादलाई मैले सेवा टहल औषधी उपचार गरी रिझाएबापतमा निजले आफ्ना नाउँको जग्गामध्ये फिरादमा उल्लिखित जग्गा अर्थात् जिल्ला पर्सा, गा.वि.स. भौराटार वडा नं.६ कि.नं.८७४ को ज.वि. ०-८-१० जग्गा मिति २०६५/०२/०२ का दिन हालैको बकसपत्र लेखत लेखी सोही मितिमा मलाई रजिस्ट्रेसन पारित गरी दिएपश्चात जग्गा मेरो नाउँमा दर्ता भई आएको हो, लिखत पारित भएदेखि सो जग्गा मेरो भोगचलनमा छ । वादीहरूको मुख्य व्यक्ति जगदीशप्रसाद भएको कुरामा कुनै विवाद नभएको हुँदा अंश बन्डाको १९ नं. देहाय १ अनुसार निज जगदीशप्रसादले आफूखुस गर्न पाउने प्रस्ट छ । लिखत भएको मितिले १ वर्षसम्म थाहा पाएको मितिले ३५ दिनभित्र फिराद दायर गर्नुपर्नेमा सो लेनदेन व्यवहारको १० नं. को हदम्याद नाघेपछि लाग्न नसक्नेमा दान बकसको ५ नं. को हदम्यादको साहारा लिई दायर भएको फिराद खारेज गरी झुठा एवं गैरकानूनी दाबीबाट अलग फुर्सद गरिपाउँ भन्नेसमेत बेहोराको प्रतिवादी राधा राउत अहिरको प्रतिउत्तरपत्र ।
प्रतिवादी जगदीशप्रसाद यादवको नाउँमा जारी भएको इतलायनामा म्याद मिति २०६६/७/२० मा तामेल भएकोमा म्यादभित्र प्रतिउत्तरपत्र नदिइ निजले सुरू म्यादै गुजारी बसेको ।
वादीमध्येका मनोज कुमार, रविता कुमारी र प्रभावति देवी उमेर अवस्थाले बालिग देखिएका र निजहरूको सहमति विना मिति २०६५/०२/०२ मा लिखत पारित भइरहेको देखिँदा निजहरूका हकमासम्म अर्थात् सात भागको तीन भागसम्म लिखत बदर भई दर्तासमेत हुने ठहर्छ । अन्य वादीहरूको हकमा नाबालक देखिएका र निजहरूको सहमति लिनु पर्ने गरी कानूनी व्यवस्था भइरहेको नहुँदा सो हदसम्म दाबी पुग्न सक्दैन भन्ने सुरू पर्सा जिल्ला अदालतबाट मिति २०६८/०३/२८ मा भएको फैसला ।
हामी वादी ललिता कुमारी, अन्तिमा कुमारी र सुदर्शनप्रसाद यादव नाबालक भई हाम्रो संरक्षिका आमा प्रभावती देवी भएकोमा प्रस्तुत बकसपत्र लिखतमा दाबीबमोजिम लिखत दर्ता बदर गर्नुपर्नेमा नाबालक भनी हाम्रो हकमा लिखत दर्ता बदर नहुने गरी भएको फैसलामा दान बकसको १ नं. को गलत व्याख्या भएको छ । प्रस्तुत लिखत राजीनामा लिखत नभई बकसपत्र लिखत भएकोले अंश बन्डाको १९ नं. अथवा लेनदेन व्यवहारको १० नं. आकर्षित हुने अवस्था छैन । दान बकसको १ नं. मा नाबालकको हकको जग्गा बकसपत्र गर्न पाउने कानूनी व्यवस्थासमेत नरहेको अवस्थामा हाम्रो अंश हकको दाबीको जग्गा प्रत्यर्थीहरूले बकसपत्र गरी लिए दिएको हुँदा सो लिखतबाट हामी पुनरावेदक वादीको अंश हक मेट्ने भएकोले दान बकसको १ नं. विपरीत भएको लिखत दर्ता हाम्रो हकमा समेत बदर गर्नुपर्नेमा सुरू अदालतबाट हाम्रो हक जतिको लिखत दर्ता बदर नहुने हदसम्म भएको फैसला उल्टी गरी हामीहरूको ३ भागको लिखत दर्ता बदर गरी हामीहरूको नाममा दर्ता हुने गरी फैसला गरिपाउँ भन्नेसमेत बेहोराको वादीहरू ललिता कुमारी, सुदर्शनप्रसाद यादव र अन्तिमा कुमारीको पुनरावेदन अदालत हेटौंडामा परेको पुनरावेदनपत्र ।
म र प्रतिवादी जगदीशप्रसादबीच मिति २०६५/०२/०२ मा हालैको बकसपत्र लिखत पारित गरी लिए दिएकोमा र विपक्षीहरू बकसपत्र लिखत पारित गरिदिने प्रतिवादी जगदीशप्रसादको पत्नी, छोरा, छोरी नाताको अंशियार भएकोमा समेत कुनै विवाद छैन । लेनदेन व्यवहारको १० नं. भित्र वादीको फिराद परेको छैन । विपक्षीहरूको फिराद हदम्याद नाघी दायर भएकोले खारेज हुनुपर्नेमा खारेज नगरी सात भागको तीन भागको लिखत बदर भई दर्तासमेत हुने ठहर्याई सुरू अदालतबाट भएको फैसला कानून तथा न्याय सिद्धान्तविपरीत भई त्रुटिपूर्ण भएको हुँदा उल्ट्याई वादी दाबी खारेज हुने गरी इन्साफ गरिपाउँ भन्नेसमेत बेहोराको प्रतिवादी राधा राउत अहिरको पुनरावेदन अदालत हेटौंडामा परेको पुनरावेदनपत्र ।
यसमा २१ वर्ष नपुगेका वादीहरू मनोजप्रसाद यादव र रविता कुमारीको हकमा समेत लिखत बदर हुने ठहर्याएको सुरूको फैसला मुलुकी ऐन, दान बकसको १ नं. र अंशबन्डाको १९ नं. को देहाय १ को सन्दर्भमा फरक पर्न सक्ने देखिँदा मुलुकी ऐन, अ.बं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ को प्रयोजनार्थ पुनरावेदक परेको हदसम्ममा दुवै पक्षको पुनरावेदन एक आपसमा जानकारी गराई पुनरावेदन नगरेका प्रत्यर्थीहरूका नाउँमा समेत म्याद जारी गरी झिकाई नियमानुसार पेस गर्नु भन्ने पुनरावेदन अदालत हेटौंडाको मिति २०६९/०३/१९ मा भएको आदेश ।
दान बकसको १ नं. मा भएको प्रस्ट कानूनी व्यवस्थालाई अवलम्बन गरी कानूनसङ्गत रूपबाट हामी प्रत्यर्थीहरूको हक जति लिखत बदर गरेको अवस्थामा सुरू अदालतबाट भएको फैसला मिलेकै हुँदा उक्त फैसला नै सदर हुनुपर्ने हो । प्रस्तुत लिखत राजीनामा लिखत नभई बकसपत्र लिखत भएकोले अंश बन्डाको १९ नं. अथवा लेनदेन व्यवहारको १० नं. आकर्षित हुने अवस्था छैन । दान बकसको १ नं. मा नाबालकको हकको जग्गा बकसपत्र गर्न पाउने कानूनी व्यवस्थासमेत नरहेको अवस्थामा हाम्रो अंश हकको दाबीको जग्गा प्रत्यर्थीहरूले बकसपत्र गरी लिए दिएको हुँदा सो लिखतबाट हामी प्रत्यर्थी वादीको अंश हक मेट्ने भएकोले सुरू अदालतबाट हाम्रो हक जति लिखत बदर हुने गरी भएको हाम्रो हक जतिको फैसला कानूनसङ्गत भएको हुँदा सुरू सदर हुने गरी इन्साफ गरिपाउँ भन्नेसमेत बेहोराको वादी रविता कुमारी र मनोजप्रसाद यादवको लिखित प्रतिवाद ।
म जगदीशप्रसाद यादव घरको मुली भएको नाताले व्यवहार चलाउँदा नाबालक छोरा छोरीहरूको मन्जुरी लिनुपर्ने अवस्था नहुँदा निजहरूको हकमा बकसपत्र लिखत बदर हुनु पर्ने अवस्था छैन भन्नेसमेत बेहोराको प्रतिवादी जगदीशप्रसाद यादवको लिखित प्रतिवाद ।
यसमा कि.नं. ८७४ को ज.वि. ०-८-१० जग्गामा वादीहरूको समेत हक भएकोले सो जग्गा वादीहरूको सहमति बेगर प्रतिवादी जगदीशप्रसाद यादवले प्रतिवादी राधा राउत अहिरलाई मिति २०६५/०२/०२ मा हा.व. गरेको कार्य दान बकसको १ नं. विपरीत देखिदा सो लिखत र दर्तासमेत वादी दाबीबमोजिम ७ भागको ६ भाग बदर गरी वादीहरूका नाउमा दर्तासमेत गर्नुपर्नेमा सात भागको तीन भागसम्म लिखत बदर हुने ठहर्याएको सुरू पर्सा जिल्ला अदालतको मिति २०६८/०३/२८/४ को फैसला नमिलेकोले केही उल्टी भई वादी दाबीबमोजिम ७ भागको ६ भाग लिखत र दर्ता बदर भई वादीहरूका नाउँमा दर्तासमेत हुने ठहर्छ भन्नेसमेत बेहोराको पुनरावेदन अदालत हेटौंडाको मिति २०७०/०२/१२/१ को फैसला ।
पुनरावेदन अदालत हेटौंडाले गरेको फैसलामा चित्त बुझेन प्रतिवादी जगदीशप्रसाद वादीहरूको घरको मुख्य हुनु भएको र वादीहरू प्रतिवादी जगदीशप्रसादको सगोलको अंशियार रहनुभएको र पर्सा जिल्ला भौराटार गा.वि.स. वडा नं. ६ कित्ता नं. ८७४ को ज.वि ०-८-१० हालैको बकसपत्र लिखतले मेरो नाउँमा दर्ता भई आएको कुरामा कुनै विवाद नरहेको । जगदीशप्रसादलाई मैले सेवा टहल औषधी उपचार भरी रिझाएको रिझबापतमा मलाई हालैको बकसपत्र लिखत जगदीशप्रसादले पारित गरिदिनुभएको छ । पारित लिखतको कैफियत महलमा बकस पाउने मेरो खासै काका भई मेरो सेवा टहल औषधी उपचार गरी रिझाएको रिझबापत यो जग्गा हालैको दर्ता बकसपत्र गरिदिएको छु भन्ने उल्लेख भएको वाक्यांशलाई वादीहरूले इन्कार गर्नुभएको
छैन । मैले जगदीशप्रसादलाई गरेको सेवा टहल औषधी उपचारको फल वादीहरूको घर परिवारमा पुगेकै कारण उल्लिखित लिखत पारित भएको हो खरिद बिक्री नभएको देखिँदादेखिँदै बिक्री व्यवहार भन्दै भएको फैसला त्रुटिपूर्ण छ । दान बकसको १ नं. मा र लेनदेन व्यवहारको १० नं.मा समेतका अंशियारहरू भन्ने शब्द उल्लेख भएकोमा विवाद छैन । लेनदेन व्यवहारको १० नं. लाई हेर्दा अंश नभएका अंशियारले सगोलको अचल सम्पत्ति बेचबिखन गर्दा वा कुनै किसिमले हक छाडी दिँदा ऐनले आफूखुसी गर्न पाउने अरूको मन्जुरी लिनु नपर्ने बाहेक अरूमा एकाघरसँगका अंशियार सबै साक्षी बसेको वा निजहरूले मन्जुरीको लिखत गरिदिएको भए मात्र पक्का ठहर्छ । साक्षी पनि नबसेको र मन्जुरीको लिखत पनि नभएको मन्जुर नहुनेले रजिस्ट्रेसन पारित भएको मितिले एक वर्षसम्म थाहा पाएको पैंतीस दिनभित्र उजुर गर्यो र निजको मन्जुरी ठहरिएन भने निजको हक जति सो सम्पत्ति निजलाई फिर्ता गराई दिनुपर्छ भन्ने उल्लेख भएको देखिन्छ त्यसकारण कुनै प्रकारले हक छाडी दिएको कुरामा जुनसुकै लिखत पर्न आउने भएबाट केबल दान बकसको १ नं. मा अंशियार शब्द उल्लेख हुँदैमा र दान बकस को ५ नं. मा भएको हद म्यादको व्यवस्थामध्ये लेनदेन व्यवहारको १० नं. मा भएकै व्यवस्थालाई मानी सम्मानित सर्वोच्च अदालतबाट ने.का.प. २०५५ अंक १२ नि.नं. ६६४३ पृष्ठ ७०५ वादी नाबालक प्रपन्न अधिकारीसमेत र प्रतिवादी रमा दाहालसमेत भएको मुद्दा लिखत र दर्ता बदर मुद्दामा सिद्धान्त प्रतिपादन भएको छ । उक्त सिद्धान्तअनुसार प्रस्तुत मुद्दा हद म्यादको अभावमा खारेज हुने देखिँदादेखिँदै उक्त सिद्धान्तको त्रुटि गर्दै र लेनदेन व्यवहारको १० नं. को गलत व्याख्या गरी फिराद दाबी ठहर हुने गरी भएको फैसला उक्त कानून र न्यायको मान्य सिद्धान्तविपरीत भएबाट बदर गरी पर्सा जिल्ला अदालतको मिति २०६३/०३/२८ को त्रुटिपूर्ण फैसला उल्टी गर्दै वादी दाबीबमोजिम ७ भागको ६ भाग लिखत र दर्ता बदर भई वादीहरूका नाउँमा दर्ता हुने ठहर्याई पुनरावेदन अदालत हेटौंडाबाट मिति २०७०/२/१२ मा भएको फैसला कानून र न्यायका सिद्धान्तविपरीत भएको हुँदा सो फैसलालाई उल्टी गरी वादीहरूको फिराद दाबी खारेज हुने गरी हक इन्साफ गरिपाउँ भन्नेसमेत बेहोराको प्रतिवादी राधा राउत अहिरको यस अदालतमा पर्न आएको पुनरावेदन पत्र ।
नियमबमोजिम साप्ताहिक तथा दैनिक पेसी सूचीमा चढी निर्णयार्थ आज यस इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादी राधा राउत अहिरको तर्फबाट उपस्थित विद्वान् अधिवक्ता श्री रमेशकुमार के.सी.ले वादीहरूको घरको मुख्य व्यक्ति प्रतिवादी जगदीशप्रसाद यादव भएको कुरामा कुनै विवाद नभएको हुँदा मुलुकी ऐन अंशबन्डाको १९ नं. को देहाय १ नं. अनुसार निज जगदीशप्रसाद यादवले आफूखुस गर्न पाउने प्रस्ट छ । यदि विपक्षीहरूलाई मन्जुर नभएको भए विपक्षीहरूले मुलुकी ऐन लेनदेन व्यवहारको १० नं. मा भएको हद म्यादको व्यवस्थाअनुसार उक्त लिखत रजिस्ट्रेसन भएको मितिले १ वर्षसम्म थाहा पाएको मितिले ३५ दिनभित्र फिराद दायर गर्नुपर्नेमा सो लेनदेन व्यवहारको १० नं. को हद म्याद नाघेपछि दान बकस को ५ नं. को हद म्यादको सहारा लिई दायर गरेको फिराद खारेज भागी हुँदा वादी दाबीबमोजिम ७ भाग को ६ भाग लिखत दर्ता बदर गर्ने गरेको पुनरावेदन अदालत हेटौंडाको फैसला उल्टी गरी फिराद दाबी खारेज हुनुपर्दछ भनी प्रस्तुत गर्नुभएको बहस जिकिरसमेत सुनियो ।
अब प्रस्तुत मुद्दामा पुनरावेदन अदालत हेटौंडाको फैसला मिलेको छ वा छैन? प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्छ सक्दैन? सो सम्बन्धमा निर्णय दिनुपर्ने देखिन आयो ।
२. निर्णयतर्फ विचार गर्दा, प्रतिवादीहरू एक आपसमा मिली हाम्रोसमेत अंश हक लाग्ने पर्सा जिल्ला भौराटार गा.वि.स. वडा नं. ६ कि.नं. ८७४ ज.वि. ०-८-१० जग्गा मिति २०६५/२/२ मा हाम्रो मन्जुरीबेगर पारित गरी दिएकाले ७ भागको ६ भाग लिखत बदर गरिपाउँ भन्नेसमेतको फिराद दाबी भएकोमा मिति २०६५/२/२ मा पारित भएको लिखत मिति २०६६/२/२९ मा नक्कल लिएको मितिले थाहा पाएको भनी ल्याएको फिराद लेनदेन व्यवहारको १० नं. को हदम्याद नाघी परेको हुँदा फिराद खारेज गरिपाउँ भन्नेसमेतको प्रतिउत्तर जिकिर रहेकोमा वादीमध्येका मनोज कुमार, रविता कुमारी र प्रभावती देवी उमेर अवस्थाले बालिक देखिएका र निजहरूको सहमतिबिना मिति २०६५/२/२ मा लिखत पारित भइरहेको देखिदा निजहरूका हकमा सम्म सात भागको तीन भागसम्म लिखत बदर भई दर्तासमेत हुने ठहर्छ अन्य प्रतिवादीहरू नाबालक देखिएका र निजहरूको सहमति लिनुपर्ने गरी कानूनी व्यवस्था भइरहेको नहुँदा सो हदसम्म दाबी पुग्न सक्दैन भनी सुरू पर्सा जिल्ला अदालतबाट भएको फैसलाउपर वादी प्रतिवादी दुवैको तर्फबाट पुनरावेदन परेकोमा पुनरावेदन अदालत हेटौंडाबाट सात भागको तीन भागसम्म लिखत बदर हुने ठहर्याएको सुरू पर्सा जिल्ला अदालतको मिति २०६८/३/२८ को फैसला नमिलेकोले केही उल्टी भई वादी दाबीबमोजिम ७ भागको ६ भाग लिखत बदर भई वादीहरूका नाउँमा दर्तासमेत हुने ठहर्छ भन्ने फैसला भएकोमा सो फैसलाउपर प्रतिवादी राधा राउत अहिरको पुनरावेदन अदालत हेटौंडामार्फत यस अदालतमा पुनरावेदन पर्न आएको देखियो ।
३. पुनरावेदक प्रतिवादीले पुनरावेदनपत्रमा लेनदेन व्यवहारको १० नं. को गलत व्याख्या गरी हदम्यादको अभावमा फिराद खारेज गर्नुपर्नेमा फिराद दाबी ठहर हुने गरी भएको फैसला त्रुटिपूर्ण छ भनी आफ्नो पुनरावेदन जिकिर लिएको बुँदातर्फ विचार गर्दा प्रतिवादीबीच मिति २०६५/२/२ मा पारित गरी हक हस्तान्तरण गरी लिनुदिनु गरेको हालैदेखिको बकसपत्रको लिखत नै विवादित लिखतको रूपमा रहेको देखिन्छ । के कुन सम्पत्ति दान बकस गर्न मिल्ने हो, अरूहरूको समेत हक लाग्ने सम्पत्ति दान बकस गरिदिदा के कस्तो प्रक्रिया अपनाउनु पर्ने हो र दान बकस गरी पारित गरिदिएको लिखतउपर के कुन समयभित्र नालेस उजुर गर्नुपर्ने हो भन्ने सम्बन्धमा मुलुकी ऐनको दान बकससम्बन्धी महलले छुट्टै व्यवस्था गरेको छ । विभिन्न किसिमका हक हस्तान्तरणहरू मध्ये दान बकस गरी कुनै सम्पत्ति हक हस्तान्तरण गरिएको छ भने सो दान बकससम्बन्धी विषयमा यही दान बकसको महल आकर्षित हुने हुँदा हदम्यादको सम्बन्धमा दान बकसको महलमा उल्लिखित २ वर्षको हदम्याद आकर्षण हुन्छ ।
४. अत: प्रस्तुत विवादमा पुनरावेदन जिकिरअनुसार लेनदेनको महलको १० नं. मा उल्लिखित हदम्याद आकर्षित नभई दान बकसको महलमा उल्लिखित हदम्याद नै आकर्षित हुन्छ । प्रस्तुत मुद्दामा प्रतिवादीबीच वादीहरूको समेत अंश हक लाग्ने कि.नं. ८७४ को ज.बि. ०-८-१० को जग्गा प्रतिवादीहरूका पतिपिता जगदीशप्रसाद यादवले पुनरावेदक प्रतिवादी राधा राउत अहिरलाई मिति २०६५/२/२ मा हालैदेखिको बकसपत्रको लिखत पारित गरिदिएको देखिन्छ । प्रतिवादीहरूबीच पारित गरी लिनुदिनु गरेको उक्त हालैदेखिको बकसपत्रको लिखतउपर प्रत्यर्थी वादीहरूको फिरादपत्र मिति २०६६/२/२९ मा परेको देखिन्छ । अब वादीहरूको फिरादपत्र दान बकसको महलले तोकेको हदम्यादभित्र परेको छ छैन? हेर्नुपर्ने हुन आयो । दान बकसको लिखत सम्बन्धमा उजुर गर्ने हदम्यादसम्बन्धी व्यवस्था मुलुकी ऐन, दान बकसको महलको ५ नं. ले गरेको हुँदा उक्त ५ नं. को व्यवस्था अध्ययन गर्नु वाञ्छनीय हुन आयो ।
५. मुलुकी ऐन, दान बकसको महलको ५ नं. मा भएको कानूनी व्यवस्था हेर्दा “आफूले दान बकस पाएको कुरामा आफ्नो हक पुगेको मितिले र दिन नहुने दान बकस दिएकोमा पाउनेको हक पुगी भोगचलन गरेको मितिले दुई वर्षभित्र नालिस नदिए लाग्न सक्दैन” भन्ने व्यवस्था रहेको देखिन्छ । विवादित लिखत मिति २०६५/२/२ मा भएको र प्रस्तुत फिराद मिति ०६६/२/२९ मा नै दायर भएको छ । यसबाट दान बकसको महलले निर्धारण गरेको हद म्याद २ वर्षभित्र नै वादीहरूको फिराद परेको पाइन्छ । अत: लेनदेन व्यवहारको १० नं. आकर्षित नहुने हुँदा वादीको फिराद हद म्याद नाघी दायर भएको भन्ने पुनरावेदन जिकिर कानूनसम्मत देखिएन । वादीको फिरादपत्र दान बकसको महलले तोकेको हदम्यादभित्र परेको देखिन आयो ।
६. वादी दाबीको पर्सा जिल्ला भौराटारा गा.वि.स. वडा नं. ६ को कि.नं. ८७४ ज.वि. ०-८-१० को जग्गा आफ्नो भतिजीलाई सेवा टहलबापत हा.व. गरिदिएको लिखतको बेहोराबाट देखिन आएको छ । उक्त बेहोरा जनाई लिखत भएको हुँदा पुनरावेदकको जिकिर अनुसार घर व्यवहार चलाउन रकम लिई बिक्री गरेको भनी मान्न सकिएन । अंश बन्डाको १९(१) नं. ले घरको मुख्य व्यक्तिलाई घर व्यवहार चलाउन अचल सम्पत्ति बिक्री गर्न सुविधा दिएको हो । बिक्री नै नगरी सेवा टहल गरेबापत भतिजीलाई हा.व. गरी दिएको हुँदा उक्त अंशबन्डाको १९(१) नं. को व्यवस्था आकर्षित हुन सक्ने देखिन आउँदैन ।
७. मुलुकी ऐन दान बकसको महलको १ नं. को कानूनी व्यवस्था हेर्दा “आफ्नो हक पुग्ने सम्पत्ति दान वा बकस गरी दिन हुन्छ । सोबमोजिम दान वा बकस गरिदिँदा हकवालालाई बकस भनी र अरूलाई दान वा बकस जुन बेहोराले दिए पनि
हुन्छ । आफ्नो खुस गर्न पाउनेबाहेक अरूमा अंशियार र हक पुग्नेहरूको मन्जुरीको लिखत नलिई वा साक्षी नराखी दान बकस गरिदिन हुँदैन” भन्ने व्यवस्था रहेको पाइन्छ । उक्त कानूनी व्यवस्थाअनुसार आफ्नो हक पुग्ने सम्पत्तिसम्ममा दान बकस दिन पाइने र आफ्नो खुस गर्न पाउनेबाहेक अरूमा अंशियार र हक पुग्नेहरूको मन्जुरीको लिखत नलिई वा साक्षी नराखी दान बकस गरिदिनु हुँदैन भन्ने अर्थ गर्नुपर्ने हुन्छ । यसरी दान बकसको १ नं. मा “अंशियार” भन्ने शब्द प्रयोग भएबाट सगोलको सम्पत्तिमा अंशको हक राख्ने उमेर पुगेका वा नपुगेका एकासगोलका सबैलाई अंशियार मान्नुपर्ने हुन्छ । अरू अंशियारहरूको समेत हक लाग्ने सम्पत्ति दान वा बकसपत्रको लिखत पारित गरी दिँदा उमेर पुगेका वा नपुगेका सबै अंशियारको सहमति लिनुपर्ने हुन्छ । यस दृष्टिबाट बकस गरेको विषयमा दान बकसको १ नं. नै आकर्षित हुने भई अंशबन्डाको १९(१) नं. असान्दर्भिक देखिन्छ । वादीहरू प्रतिवादी जगदीशप्रसादका एकासगोलको श्रीमती तथा छोराछोरी भन्नेमा विवाद देखिँदैन ।
८. प्रस्तुत मुद्दामा विवादको पर्सा जिल्ला गा.वि.स. भौराटार वडा नं. ६ को कि.नं. ८७४ को ज.वि. ०-८-१० को जग्गा वादीहरूको समेत अंश हक लाग्ने सगोलको सम्पत्ति हुँदा उक्त जग्गा वादीहरूको पति पिता जगदीशप्रसाद यादवले प्रतिवादी राधाराउत अहिरलाई हालैदेखिको बकसपत्र पारित गरी दिँदा मुलुकी ऐन, दान बकसको महलको १ नं. अनुसार सगोलका अंशियार वादीहरूको मन्जुरीको लिखत लिएको वा बकसपत्रको लिखतमा निजहरूलाई साक्षी राखेको देखिएन । यसबाट प्रतिवादीहरूबीच हक हस्तान्तरण गरी लिनुदिनु गरेको उक्त बकसपत्रको लिखत कानूनसम्मत नदेखिएकोले सो लिखतमध्ये वादीहरूको हक जति लिखत र दर्ता बदर हुने देखियो ।
९. अत: वादीहरूको सहमति बेगर प्रतिवादी जगदीशप्रसाद यादवले प्रतिवादी राधा राउत अहिरलाई मिति २०६५/०२/०२ मा हालैदेखिको बकसपत्रको लिखत पारित गरेको कार्य मुलुकी ऐन दान बकसको १ नं. विपरीत देखिँदा सात भागको तीन भाग जग्गा लिखत बदर हुने ठहर्याएको सुरू पर्सा जिल्ला अदालतको मिति २०६८/३/२८/४ को फैसला नमिलेकोले केही उल्टी भई वादी दाबीबमोजिम ७ भागको ६ भाग लिखत र दर्ता बदर भई वादीहरूका नाउँमा दर्तासमेत हुने ठहर्याएको पुनरावेदन अदालत हेटौंडाको फैसलालाई अन्यथा भन्न मिलेन ।
१०. तसर्थ, माथि उल्लिखित आधार प्रमाणसमेतबाट सुरू पर्सा जिल्ला अदालतको मिति २०६८/३/२८/४ को फैसला केही उल्टी हुने ठहर्याएको पुनरावेदन अदालत हेटौंडाको मिति २०७०/२/१२ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । प्रतिवादी राधा राउत अहिरको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाई दिनू ।
उक्त रायमा सहमत छु ।
न्या. विश्वम्भरप्रसाद श्रेष्ठ
इजलास अधिकृत : विदुरकुमार उपाध्याय
इति संवत् २०७३ साल चैत्र ८ गते रोज ३ शुभम् ।