निर्णय नं. १००९७ - कर्तव्य ज्यान
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री हरिकृष्ण कार्की
माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा
फैसला मिति : २०७४।७।१६
०७१-CR-००५६
मुद्दाः- कर्तव्य ज्यान
पुनरावेदक / वादी : देवीराम घर्ती मगरको जाहेरीले नेपाल सरकार
विरूद्ध
प्रत्यर्थी / प्रतिवादी : बागलुङ जिल्ला, निसी गा.वि.स. वडा नं.१ बस्ने कमल घर्ती मगरसमेत
फौजदारी कसुरमा अभियुक्तहरूउपरको कसुर वादीले नि:सन्देह रूपमा प्रमाणित गर्नुपर्ने हुन्छ । यसलाई प्रमाण ऐन, २०३१ को दफा २५ ले पनि स्पष्टरूपमा व्यवस्था गरेको पाइन्छ । कसुर शङ्कारहित तवरले प्रमाणित हुने प्रमाण वादी पक्षले पेस गर्न नसकेको अवस्थामा त्यसको सुविधा अभियुक्तले पाउने हुन्छ । कसुर प्रमाणित गर्न कसैले कसैलाई पोल गर्नु र सोका आधारमा नेपाल सरकारले कसैउपर अभियोग लगाउनु मात्र पर्याप्त हुँदैन । गरेको पोल र लगाएको अभियोग वस्तुनिष्ठ प्रमाणहरूबाट शङ्कारहित किसिमबाट समेत पुष्टि हुनु पर्ने ।
संकलित वस्तुगत प्रमाणहरू, बुझिएका व्यक्तिहरूको भनाइ र वारदातको परिस्थितिजन्य प्रमाणहरू एक आपसमा बाझिएमा र आफैँमा शंकास्पद देखिएमा त्यस्ता प्रमाणहरूका आधारमा कसैलाई दोषी ठहर गर्नु फौजदारी न्यायको सिद्धान्तको प्रतिकूल हुन जाने ।
(प्रकरण नं.७)
पुनरावेदक / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री रामकुमार थापा
प्रत्यर्थी / प्रतिवादीका तर्फबाट :
अवलम्बित नजिर :
सम्बद्ध कानून :
सुरू तहमा फैसला गर्ने:
माननीय न्यायाधीश श्री डिल्लीरमण तिवारी
बागलुङ जिल्ला अदालत
पुनरावेदन तहमा फैसला गर्नेः
माननीय न्यायाधीश श्री उमेशराज पौड्याल
माननीय न्यायाधीश श्री लेखनाथ घिमिरे
पुनरावेदन अदालत बागलुङ
फैसला
न्या. हरिकृष्ण कार्की : तत्कालीन न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम दर्ता हुन आएको प्रस्तुत मुद्दाको तथ्य र ठहर यसप्रकार रहेको छः-
बागलुङ जिल्ला, निसी गा.वि.स. वडा नं.१ स्थित कर्णबहादुर घर्ती मगरको बारी, सो बारीको गरोमा प्रतिलास घर्ती मगरको घोप्टो अवस्थामा लास रहेको, उक्त लासको बायाँ आँखा फुटेको, नाक भाँचिएको, कानबाट रगत निस्केको, ३ वटा दाँत भाँचिएको मुखबाट रगत बगेको घाँटीमा निलडाम रहेको, छातीमा लौराका डामहरू देखिएको, टाउकोमा ३ इन्च लम्बाइ भएको खुकुरीले काटिएको घाउ रहेको भन्नेसमेतको मिति २०६१/०७/१२ को घटनास्थल तथा लास प्रकृति मुचुल्का ।
मिति २०६१/०७/०५ गतेका दिन अं.५:३० बजेको समयमा मृतक प्रतिलास घर्ती मगर, कर्णबहादुर घर्ती मगरको घरमा भेटघाट गर्न आएकोमा प्रतिवादी कुलबहादुर घर्ती मगरसमेतले कर्णबहादुरलाई कुटपिट गर्न निज कुलबहादुर र कमल घर्ती मगर खुकुरी लिएर र अन्यले लाठी लिएर आएको अवस्थामा प्रतिलास घर्ती मगरले झगडा गर्न हुँदैन, कर्णबहादुर घरमा छैनन्, गा.वि.स. भवनतिर गएका छन् भन्दा कर्णबहादुरको श्रीमती भद्रिमा घर्ती मगर र निजकी बुहारी दिलसरा घर्ती मगरसमेतलाई निजहरूले एक्कासी आक्रमण गरेको अवस्थामा छुट्याउन जाँदा निज दाजु प्रतिलासलाई निजहरूले टाउकोमा लाठी खुकुरीसमेतले हानी खुट्टा भाँच्ने, बायाँ आँखा फुटालिदिने, पीठ्युँ, फिला, छातीसमेत शरीरका विभिन्न भागमा हानी मारी कर्णबहादुरको करेसाबारीमा छाडी गएकाले निजहरूलाई ज्यानसम्बन्धी महलअनुसार कारबाही गरिपाउँ भन्ने देवीराम घर्ती मगरको मिति २०६१/७/२२ को जाहेरी दरखास्त ।
मिति २०६१/०७/०५ गतेका दिन अपराह्न ५:३० बजेको समयमा म गा.वि.स. भवनतर्फ गएको अवस्था कुलबहादुर घर्ती मगर र कमल घर्ती मगरसमेतका व्यक्तिहरूले हातमा लौरो खुकुरी लिई मेरो घरमा गई कर्णबहादुर कता गयो भनी खोजी मेरो श्रीमती र बुहारीसमेतलाई कुटपिट गर्न खोज्दा मृतक प्रतिलास घर्ती मगरले यस्तो झगडा कुटपिट गर्न हुँदैन भनी सम्झाउँदा निजहरूले मृतक प्रतिलासको टाउकोसमेतका शरीरका विभिन्न भागमा पाँचै जनाले लाठी खुकुरीसमेतले हानी मारी छाडी गएको हो भन्नेसमेत बेहोराको कर्णबहादुर घर्ती मगरको घटना विवरण कागज ।
कर्णबहादुर घर्ती मगर मेरा देवर
पर्दछन् । निजले मेरा छोराहरूलाई दबाउने र पटकपटक अनावश्यक रूपमा झैझगडा गर्ने तथा गाउँको ठूलो ठालु पल्टने गरेको हुँदा मिति २०६१/०७/०५ गते दिनको ५:३० बजेको समयमा यसलाई ठीक पार्नुपर्छ भनी कुलबहादुर घर्ती र कमल घर्ती हातमा खुकुरी लिई कर्णबहादुर घर्तीको घरमा गए । निजको घरमा कराई हो हल्ला गरेको आवाज सुनी मेरा बुहारीहरू तालमाया घर्ती र कमला घर्ती पनि हातमा लौराहरू लिई गए । यिनीहरू काटमार गर्छन् होला भनी उक्त स्थानमा बुहारीहरूको पछिपछि दौडदै गएँ । बुहारी तालमाया घर्ती र कमला घर्तीले कर्णबहादुरको श्रीमती भद्रिमा घर्ती मगरसमेतसँग लुछालुछ समातासमात गरिरहेको अवस्था मृतक प्रतिलास मगरले वादविवाद गर्न हुँदैन भनी छुट्टाउन खोज्दा कुलबहादुर र कमल घर्तीले खुकुरी तथा लाठीहरूले प्रहार गरी जमिनमा पल्टाएका हुन् । निजको टाउकोबाट रगत बगिरहेको थियो । त्यसपछि त्यसको सूचना सुरक्षा क्याम्प भिङगिठेमा गरेको हो । प्रहार गरेको खुकुरी तथा लाठीहरू कहाँ फाले थाहा भएन भन्नेसमेत बेहोराको हस्तमाला घर्ती मगरको अनुसन्धान अधिकारीसमक्ष भएको बयान कागज ।
मिति २०६१/०७/०५ गते दिनको ५:३० बजेको समयमा कर्णबहादुरको घरमा मेरा पति कुलबहादुर घर्ती मगर र देवर कमलबहादुर घर्ती मगर चर्को स्वरमा बोलेको हुँदा कहाँ के भयो किन कराएको भनी कमला घर्ती मगर र म गयौं । त्यहाँ मानिसहरू जम्मा भेला भएका थिए । कर्णबहादुरको श्रीमती भद्रिमा घर्ती र बुहारी दिलसरा घर्ती मगरसमेतसँग मेरो र देउरानी कमलाको झगडा वादविवाद भएको हो । त्यसैबेला मेरा पति कुलबहादुर र देवर कमलले हातमा खुकुरी लिई कर्णबहादुरलाई आइज भनी कराइरहेका अवस्थामा मृतक प्रतिलास घर्ती मगर बीचमा आई दुवै पक्षका मानिसलाई सम्झाई बुझाई गर्दा मेरा पति कुलबहादुर र कमलले खुकुरी प्रहार गरी पल्टाई शरीरका विभिन्न भागमा कुटपिट गरेका हुन् । त्यसपछि निज बेहोस भई पल्टे । त्यसैबेला सासू हस्तमाला घर्ती पनि आइपुगेकी हुन् । निजले मलाई समेत सम्झाइन् । त्यसपछि घरमा गएका हौं भन्नेसमेत बेहोराको तालमाया घर्ती मगर र कमला घर्ती मगरको एकै बेहोरा मिलानको बयान कागज ।
मिति २०६१/०७/०५ गते म आफ्नै घरमा बसिरहेकी थिएँ । कुलबहादुर घर्ती मगरसमेतका ५ जना आई मेरा पति कर्णबहादुरलाई सोधेका र मैले गा.वि.स. भवनतिर गएको कुरा भन्दा एक्कासी कुलबहादुर घर्ती मगरले मलाई समाती पिट्न सुरू गरे र अन्य सबैले कुटपिट गर्न थाल्दा मृतक प्रतिलासले किन कुटपिट गरेको भाउजूको कुनै गल्ती छैन भनी भन्दा एकैचोटी लाठी खुकुरीले प्रतिलासलाई शरीरको टाउकोसमेतका भागमा प्रहार गर्दा, अत्याधिक रक्तस्राव भएको कारण निजको मृत्यु हुन गएको हो । मृतक प्रतिलासलाई पहिला कुलबहादुर त्यसपछि कमलले प्रहार गरेका हुन् । प्रतिवादीहरूलाई हदैसम्मको सजाय हुनुपर्दछ भन्नेसमेत बेहोराको भद्रिमा घर्ती मगरको घटना विवरण कागज र सोही बेहोराको देवीराम वि.क. समेतले गरिदिएको वस्तुस्थिति मुचुल्काको कागज ।
प्रतिवादीहरूले पूर्वरिसइवीको कारण १ व्यक्तिलाई प्रहार गर्न जम्मा भएका बखत त्यस्तो कार्य नगर्न बीचमा बसी छुट्याउन खोज्ने मृतकप्रति रिस झिकी मार्ने मनसायले प्रहार गरेका रहेछन् भन्ने कुरा सम्बद्ध प्रमाणले सिद्ध गरेको हुँदा प्रतिवादीहरूले गरेको कार्य मुलुकी ऐन ज्यानसम्बन्धी महलको दफा १ नं.र दफा १३ नं को देहाय दफा १ नं. ऐनमा वर्णित प्रकृतिको कसुर अपराध हुँदा त्यस्तो अपराध गर्ने निज प्रतिवादीहरूलाई सोही मुलुकी ऐन ज्यानसम्बन्धी महलको दफा १३ नं.को देहाय दफा १ नं. ऐनअनुसार सजाय हुन मागदाबी लिइएको छ । मागदाबीअनुसार सजाय हुन पक्राउमा परेका प्रतिवादीहरू र सक्कल मिसिल यसैसाथ प्रस्तुत गरिएको छ । मागदाबीअनुसार सजाय होस् । साथै प्रतिवादीहरू कुलबहादुर घर्ती मगर र कमल घर्ती मगरलाई सम्मानित अदालतबाटै वारेन्ट म्याद जारी होस् भन्नेसमेत बेहोराको अभियोग पत्र ।
मिति २०६१/०७/०५ गतेको दिन म बोवाङ गा.वि.स. वडा नं. २ मेरो माइतीघरमा गएकी थिएँ । म उक्त मितिभन्दा ५/६ दिन पहिला नै मेरो माइतीघरमा गएकी थिएँ । मैले प्रतिलास घर्ती मगरलाई कुटपिट गरी मारेको होइन । म माइतीघरमा भएको हुँदा उक्त घटना के कसरी भयो थाहा भएन । श्रीमान् विदेश जानको लागि भिसा लागेको भनेर काठमाडौंतिर जानुभयो । वहाँ काठमाडौंबाट उता गएको हुँदा १ वर्षजति माइतीघरमा बसेपछि घरमा फर्केको हो । मैले उक्त घटनाको बारेमा केही थाहा पाइन । वहाँ पहिले कतार गई बीचबीचमा आउने जाने गर्नु भई श्रावणमा घरमा आई मलेसियामा जानु भएको छ । प्रतिलास घर्ती मगरलाई चिन्न पनि चिन्दिन । शत्रुले गर्दा उक्त झुट्टा जाहेरी दिएका हुन् । प्रहरीले लेखी सही गर्नुपर्छ भनी हात समाई सहिछाप गराएका हुन् बेहोरा झुट्टा हो । म निर्दोष हुँदा अभियोग मागदाबी झुट्टा हो । झुट्टा अभियोगबाट फुर्सद पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी तालमाया घर्तीले सुरू अदालतमा गरेको बयान ।
मिति २०६१/०७/०५ गतेको दिन म माइतीघर बोवाङ थिएँ । आमा बिरामी भएर ५/७ दिन पहिला माइतीघरमा गएकी थिएँ । आमालाई ज्वरो आएपछि बोलाएर भेट्न गएकी थिएँ । १ वर्षजति माइत बसेकी हुँ । मेरा लोग्ने बाहिर जाने भनी घरबाट गएपछि लोग्ने नभएकोले माइतीमा बसेकी हुँ । मेरो लोग्ने २ वर्ष कतार बसेर आएपछि २ वर्ष पहिलादेखि ढोरपाटन सिकार आरक्षमा जागिर खाँदै आउनु भएको छ । मैले प्रतिलासलाई चिन्दिनँ । निजलाई मैले मारेकी होइन । म माइतीमा भएको हुँदा कसले मारे मलाई थाहा छैन प्रतिलासलाई मैले मारेकी नहुँदा अभियोग दाबीबाट पूर्ण सफाइ पाउनुपर्छ भन्ने बेहोरासमेतको प्रतिवादी कमला घर्तीमगरले सुरू अदातलमा गरेको बयान ।
२०६१/०७/०५ गते दिन म घरमै थिएँ । उक्त मितिमा बुहारी माइत गएको हुँदा म गाई भैंसी गोठालो गएकी थिएँ । बिहान ८ बजेतिर फुकाएर वन लगेकी हुँ । बेलुकी ५/६ बजेतिर लिएर आएकी मलाई थाहा
भएन । जाहेरीमा उल्लिखित घटना मैले घटाएकी तथा लाठी भाला लिएर पिट्न गएकी होइन । मैले मानिस मरेको पनि थाहा पाइन । लास के कस्तो थियो, सोबारे समेत मलाई थाहा भएन । अभियोगमा उल्लिखित कसुर अपराध नै नगरेकी हुँदा अभियोगबमोजिम सजायसमेत हुनुपर्ने होइन, सफाइ पाउनु पर्दछ भन्नेसमेत बेहोराको प्रतिवादी हस्तमाला घर्तीमगरले सुरू अदालतमा गरेको बयान ।
मिति २०६१/०७/०५ गतेको दिन म विदेश जानको लागि मिति २०६१/०६/२५ गते काठमाडौं गएको हुँ । म त्यस समयमा विदेश मलेसिया गएको थिएँ । त्यस्तो आपराधिक कार्य मैले गरेको होइन । मेरो बुबासँग लेनदेनको रिसइवीले देवीरामले त्यस्तो जाहेरी दिएका हुन् । मृतक व्यक्ति भारतमा २०/२५ वर्ष बसेर आएको हो । निजलाई मैले चिनेकोसम्म पनि
छैन । निजलाई चरीपाई रोग थियो रे भन्ने मैले सुनेको हुँ । मलाई नेपाल सरकारले जागिर दिएको छ । यस्तो काम गरेको भए, मलाई यसरी किन सरकारले काम दिन्थ्यो । उक्त मृतकलाई विषय बनाएर ममाथि रिसइवी लागी यस्तो जाहेरी दिएका हुन् । २०६१ साल असोजमा काठमाडौंमा गएर त्यतैबाट मलेसिया गएर १ वर्षपछि त्यहाँबाट आएर पुनः १ वर्ष घर बसेपछि म फेरी साउदी अरब गएर २८ महिनापछि घरमा आई ढोरपाटन शिकार आरक्षमा गेम स्काउटमा २०६६/५/४ देखि जागिर गरेको छु । म उक्त घटना घट्ने बेलामा नै नभएको हुँदा मैले कुनै कसुर अपराध गरेको होइन । मैले सफाइ पाउनुपर्छ भन्ने बेहोरासमेतको प्रतिवादी कमलबहादुर थापा भन्ने कमलबहादुर घर्ती मगरले सुरू अदालतमा गरेको बयान ।
प्रतिवादीहरू मध्ये फरार रहेका कुलबहादुर घर्ती मगर थापाका नाउँमा सुरू अदालतबाट म्यादी पूर्जी जारी भई मिति २०६७/१०/२८ मा तामेल भएकोमा निज म्यादभित्र हाजिरै नभई फरार रही बसेको अवस्था रहेछ ।
प्रतिवादीहरू कमल घर्ती मगर, कुले घर्ती मगरले खुकुरी र चक्कुले अन्य प्रतिवादीहरू हस्तमाला घर्तीमगर, कमला घर्तीमगर र तालमाया घर्तीमगरसमेतले लाठीले हानेर प्रतिलास घर्तीलाई मारेका हुन् भन्नेसमेत बेहोराको जाहेरवाला देवीराम घर्तीमगर, भद्रिमा घर्तीमगर, दिल भुजा घर्ती मगरसमेतले सुरू अदालतमा गरेको बकपत्र ।
प्रतिवादीहरूले मृतक प्रतिलासलाई कुटपिट गरेर मारेका होइनन् । कमल मलेसिया, कुले काठमाडौं थिए । त्यो समयमा घरमा थिएनन् । कमला र तालमाया माइतीमा गएका थिए । हस्तमाला घरमै गाईवस्तुमै थिइन् भन्नेसमेत बेहोराको प्रतिवादी तालमाया, हस्तमालासमेतका साक्षी लालबहादुर पुनले सुरू अदालतमा गरेको बकपत्र ।
मौकामा पक्राउ परेका अन्य सहप्रतिवादीको अदालतमा भएको बयान, मौकामा कागज गर्ने व्यक्तिको अदालतमा भएको बकपत्रलगायतका मिसिल संलग्न विभिन्न कागज प्रमाणबाट मृतक प्रतिलासको मृत्यु प्रतिवादी कमलबहादुरसमेतको कर्तव्यबाट भएको भन्ने पुष्टि हुन आएको हुँदा यी प्रतिवादी कमलबहादुर घर्ती मगरलाई अभियोग दाबीबमोजिम मुलुकी ऐन ज्यानसम्बन्धी महलको १ र १३(३) नं. बमोजिमको कसुर अपराधमा सोही ऐनको सोही १३(३) नं. बमोजिम जन्मकैद हुने ठहर्छ । मौकामा कागज गर्ने व्यक्तिहरूले यी प्रतिवादीहरू हस्तमाला घर्ती मगर, तालमाया घर्तीमगर र कमला घर्तीमगरसमेतको मृतकलाई कर्तव्य गरी मार्नमा संलग्न रहेको भनी कागज गरेको भएपनि के कसरी संलग्न रहेको भनी स्पष्ट गर्न नसकेको र अभियोगमा दाबी गरेजस्तो यी प्रतिवादीहरूले कुनै प्रकारको भूमिका रहेको मिसिलबाट नदेखिँदा यी प्रतिवादीहरूले अभियोग दाबीबाट सफाइ पाउने ठहर्छ भन्नेसमेत बेहोराको सुरू बागलुङ जिल्ला अदालतको मिति २०६८/१०/२ को फैसला ।
मिति २०६१/७/५ का दिन वारदात भएको मिति कायम भएको, मृतक लासको पोस्टमार्टम गर्न नसकिएको, लास जाँच मुचुल्का अनाधिकृत व्यक्तिद्वारा २०६१/७/८ मा लास जलाई सकेपछि २०६१/०७/१२ मा तयार गरिएको र अधिकारप्राप्त अधिकारीसमक्ष मृतकलाई मसमेतले कर्तव्य गरी मारेको भनी गरेको बयानलाई अन्य कुनै पनि स्वतन्त्र प्रमाणबाट पुष्टि हुन सकेको छैन । मौकामा कागज गर्ने व्यक्तिले मौकामा गरेको कागज, अदालतमा गरेको बकपत्र तथा जाहेरी दरखास्त र निजले अदालतमा गरेको बयान आपसमा बाझिएको अवस्था छ । म पुनरावेदक वारदात भएको भनिएको दिनमा गाउँघरमा नै नभई रोजगारीको सिलसिलामा मित्रराष्ट्र मलेसियामा रहेको जस्ता सत्य तथ्य बेहोरा खुलाई अदालतमा समेत बकपत्र गरेको र हाल म ढोरपाटन सिकार आरक्षमा कर्मचारीको रूपमा कार्यरत भएको अवस्थामा वारदात भएको भनिएको समयको निकैपछि २०६७ सालको आश्विन महिनामा मानिसहरू पक्राउ गर्ने कार्य भएको र घटनाको लगत्तै गाउँघरमा हुने मेरा आमा श्रीमतीलगायतलाई किन पक्राउ गर्न सकिएन यस्ता विषयहरूमा मिसिल मौन रहेको अवस्थामा लामो समयपछि पक्राउ गरिएका प्रतिवादीहरूको कोरा भनाइलाई आधार बनाई मलाई कर्तव्य ज्यान जस्तो फौजदारी अभियोगमा सजाय गर्ने गरी गरिएको सुरू बागलुङ जिल्ला अदालतको फैसला बदर गरी सफाइ पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी कमलबहादुर घर्ती मगरको पुनरावेदन अदालत बागलुङमा पर्न आएको पुनरावेदन पत्र ।
मृतकको मृत्यु कर्तव्यबाट भएको भन्ने कुरामा विवाद नभएको, मृतकको लास जाँच मुचुल्काबाट मृतकको टाउकोलगायत शरीरको विभिन्न भागमा खुकुरीको घातक चोटहरू रहेको देखिएको र कमल घर्ती मगरसमेतका सहप्रतिवादीहरूको बयान र प्रत्यक्षदर्शीको कागजसमेतबाट वारदातको बेला मृतकलाई प्रतिवादी कमल घर्तीसमेतले खुकुरी प्रहार गरी कर्तव्य गरी मारेको पुष्टि हुँदाहुँदै प्रतिवादी कमलबहादुर घर्तीलाई कम सजाय हुनेगरी र घटनास्थल तथा लासजाँच प्रकृति मुचुल्कामा उल्लेख भएबमोजिम मृतकको बायाँ आँखा फुटेको, नाक भाँचिएको, रगत ठाउँठाउँबाट निस्केको, खुट्टा भाँचिएको, मृतकको शरीरमा लौरा र लाठाका निला डामहरू रहेको र यसरी लाठा र लौरासमेत प्रहार गर्न प्रतिवादीहरू तालमाया घर्ती मगर, कमला घर्ती मगर, हस्तमाला घर्तीले आफूहरू घटनास्थलमा उपस्थित भएको मृतक तथा आफूहरूबीच भनाभन र धकेला धकेल भएको भनी स्वीकार गरेका तथा घरका यी परिवारहरूको पूर्वयोजनाबमोजिम मृतकउपर आक्रमण भएको कुरा पुष्टि हुँदाहुँदै उक्त घटनाकी प्रत्यक्षदर्शी एवं पीडितसमेत रहेकी भद्रिमा घर्ती मगरले मृतकलाई पहिलो प्रहार गर्ने कुलबहादुर त्यसपछि कमलले र अनि अन्य प्रतिवादीले प्रहार गरेका हुन् भनी कागज गरेको अवस्थामा सोही प्रत्यक्षदर्शीले गरेको कागजलाई आधार बनाई कमलबहादुर घर्तीलाई सजाय गर्ने र अन्य प्रतिवादीहरूलाई सफाइ दिने गरी भएको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी सबै प्रतिवादीहरूलाई अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भन्ने वादी नेपाल सरकारको पुनरावेदन अदालत बागलुङमा पर्न आएको पुनरावेदन पत्र ।
प्रतिवादी कमलबहादुर घर्ती मगरलाई वादी दाबीबमोजिम सजाय नगरी घटी सजाय गरी अन्य प्रतिवादीहरू तालमाया घर्ती मगर हस्तमाला घर्ती मगर र कमला घर्ती मगरलाई आरोपित कसुरबाट सफाइ दिनेगरी भएको सुरू बागलुङ जिल्ला अदालतको फैसला मिलेको नहुँदा बदर गरी दाबीबमोजिम प्रतिवादीहरूलाई सजाय गरिपाउँ भन्ने वादी नेपाल सरकारको पुनरावेदन पत्र र मलाई ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सजाय गर्ने गरी भएको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी आरोपित कसुरबाट सफाइ पाउँ भनी कमलबहादुर घर्ती मगरको पुनरावेदन पर्न आएको देखिँदा पर्न आएका पुनरावेदन पत्रहरू वादी नेपाल सरकारको पुनरावेदन पत्रको प्रतिवादी कमलबहादुर घर्ती मगरलाई जानकारी दिएर प्रतिवादी कमलबहादुर घर्ती मगरको पर्न आएको पुनरावेदन पत्रको जानकारी वादी नेपाल सरकारलाई दिई वादी नेपाल सरकारको पुनरावेदन पत्रमा उल्लिखित अन्य प्रतिवादीहरू तालमाया घर्ती मगर, हस्तमाला घर्ती मगर, कमला घर्ती मगरलाई अ.बं.२०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम झिकाई आएपछि वा म्याद नाघेपछि नियमानुसार गरी पेस गर्नु भन्ने पुनरावेदन अदालत बागलुङको मिति २०६९/५/२ को आदेश ।
प्रतिवादी कमलबहादुर घर्ती मगरले बागलुङ जिल्ला अदालतसमक्ष बयान गर्दा वारदातको समयमा आफू विदेश मलेसियामा छु भनी बयान गर्दै राहदानीको फोटोकपी पेस गरेको देखिँदा प्रतिवादीले प्राप्त गरेको राहादानीको सक्कल प्रतिवादीबाट पेस गर्न लगाई नियमानुसार पेस गर्नु भन्ने पुनरावेदन अदालत बागलुङको मिति २०६९/९/२३ को आदेश ।
मृतक प्रतिलास घर्ती मगरको घटनास्थल लास जाँच मुचुल्का मिति २०६१/०७/१२ मा भई लास सडी गली गएको भनी सोही मितिमा पोष्टमार्टम गर्न नपठाई लास सतगत पुर्जी दिएको देखिएको र जाहेरवाला देवीराम घर्ती मगर र वादी पक्षका अन्य साक्षीले अदालतमा बकपत्र गर्दा मिति २०६१/०७/८ मा नै लास सतगत गरेको भनी लेखाएको देखिएकाले सो सम्बन्धमा स्पष्ट हुन लास जाँच मुचुल्कामा बस्ने पूर्वजित घर्ती मगर, जानबहादुर घर्ती मगर र काम तामेल गर्ने प्रहरी निरीक्षक युवराज खड्का र प्रहरी जवान गोविन्दप्रसाद चौंलागाईलाई पुनरावेदन सरकारी वकिल कार्यालय बागलुङमार्फत झिकाई उपस्थित गराई बकपत्रको निम्ति पेस गर्नु भन्ने पुनरावेदन अदालत बागलुङको मिति २०६९/१२/१४ को आदेश ।
मेरो नाम जानबहादुर घर्ती मगर भएपनि यस मुद्दाको घटनास्थल मुचुल्कामा सही गर्ने व्यक्ति म होइन किन यसरी मेरो नाउँमा कसले सही तथा ल्याप्चे लगायो मलाई थाहा भएन मृतकको मृत्यु कहिले के कसरी भयो मलाई थाहा भएन भन्नेसमेत बेहोराको जानबहादुर घर्ती मगरले पुनरावेदन अदालत बागलुङमा गरेको बकपत्र ।
मिति २०६७/७/१२ मा भएको लासजाँच प्रकृति मुचुल्कामा भएको बेहोरा सुनिपाएँ । बेहोरा ठीक साँचो हो । घटना भएको करिब ९ वर्ष भइसकेको हुँदा सबै कुरा सम्झन सक्दिन । लास हल्का गन्ध आइसकेको थियो । सदरमुकाममा लास ल्याउन अझै ३–४ दिन लाग्ने हुनाले उतै सतगत गर्नका लागि हाम्रो टिमले सतगत पुर्जी दिएको हो । लासजाँच प्रकृति मुचुल्कामा जति साक्षीले सहिछाप गर्नुभएको छ ती साक्षीहरूको उपस्थितिमा नै लासजाँच प्रकृति मुचुल्का भएको
हो । लासजाँच प्रकृति मुचुल्कामा लागेको सहिछाप पनि मेरो नै हो भन्नेसमेत बेहोराको लास जाँच मुचुल्कामा काम तामेल गर्ने प्रहरी निरीक्षक युवराज खड्काको पुनरावेदन अदालत बागलुङमा भएको बकपत्र ।
प्रतिवादीमध्येका कमलबहादुर घर्ती मगरलाई अभियोग दाबीबमोजिम कसुर ठहर गरी सजाय गरेको हदसम्मको सुरू बागलुङ जिल्ला अदालतको मिति २०६८/१०/०२ को फैसला मिलेको नदेखिँदा उल्टी भई आरोपित कसुरबाट निजले सफाइ पाउने
ठहर्छ । प्रतिवादीमध्येका हस्तमाला घर्ती मगर, तालमाया घर्ती मगर तथा कमला घर्ती मगरको हकमा सफाइ दिएको हदसम्मको उक्त फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ भन्ने बेहोराको मिति २०७१/०१/०८ मा पुनरावेदन अदालत बागलुङबाट भएको फैसला ।
अनुसन्धानको सिलसिलामा पक्राउ परेका हस्तमाला घर्ती मगर, कमला घर्ती मगर र तालमाया घर्ती मगरले मौकामा गरेको बयानबाट वारदातको दिन प्रतिवादीमध्येका कुलबहादुर र कमलबहादुरले खुकुरी लिई कर्णबहादुरको घरमा गएको, कमला घर्ती मगर, हस्तमाला र तालमाया पनि लाठी लिई निजहरूको पछिपछि वारदातस्थलमा गएको, कर्णबहादुरकी श्रीमती र बुहारीलाई समेत आफूहरूले समाता समात गरेको, सो बेलामा मृतकले छुट्याउन लाग्दा कमल र कुलबहादुरले खुकुरी प्रहार गरी प्रतिलासलाई मारेका हुन् भनी उल्लेख गरेका छन् । निजहरूले अदालतमा आई उक्त बेहोरा स्वेच्छाले लेखाएको होइन भने तापनि निजले शारीरिक परीक्षणको लागि निवेदन दिएको छैन । अदालतमा निवेदन दिई स्वच्छा विरूद्धको बयान हो भनी प्रमाणित गराउन नसकेको स्थितिमा अनुसन्धानमा भएको बयानलाई स्वेच्छाविपरीतको बयान हो भनी भन्न मिल्दैन भनी यस अदालतबाट सिद्धान्तसमेत प्रतिपादित छ । निजहरूको उक्त बयान घटनास्थल र लास प्रकृति मुचुल्काबाट समेत समर्थित भइरहेको छ । प्रतिवादी कमल घर्ती मगरले अदालतमा बयान गर्दा आफू अन्यत्र भएको भनेपनि निजले स.ज. ७ मा आफू मलेसियामा रहेको उल्लेख गरेका छन् भने स.ज. १० मा सो समय आफू काठमाडौं रहेको भनी विरोधाभाषपूर्ण कुरा उल्लेख गरेको
पाइन्छ । यसरी अन्यत्र भएको कुरा यकिन नभई प्रमाणित हुन नसकेको अवस्थामा अन्यत्र भएको मानिँदैन । प्रत्यक्षदर्शी भद्रिका घर्ती मगरले मृतकलाई पहिला प्रहार गर्ने कुलबहादुर, दोस्रो प्रहार गर्ने कमल र त्यसपछि अन्य प्रतिवादीहरूले प्रहार गरेका हुन् भनी कागज गरी अदालतमा समेत सोही बेहोराको समर्थन गरिदिएको पाइन्छ । मृतकको शरीरमा देखिएका अनेक चोटहरूबाट मृतकको मृत्यु प्रत्यर्थीहरूको सामूहिक चोटबाट भएको स्पष्ट देखिएको छ । यस्तो अवस्थामा प्रत्यक्षदर्शीको भनाइलाई समेत प्रमाणमा नलिई निज प्रतिवादीहरूलाई सफाइ दिने गरी भएको फैसला नमिलेको हुँदा निजहरूलाई अभियोग दाबीअनुसार सजाय गरिपाउँ भन्नेसमेत बेहोराको वादी नेपाल सरकारको यस अदालतमा परेको पुनरावेदन पत्र ।
नियमबमोजिम साप्ताहिक तथा दैनिक मुद्दा पेसी सूचीमा चढी इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी नेपाल सरकारका तर्फबाट उपस्थित विद्वान् उपन्यायाधिवक्ता रामकुमार थापाले जाहेरवालाले कसुर भएको भनी कागज गरिदिएका छन् । प्रतिवेदन दिने प्रहरी इन्सपेक्टरले पनि कसुर भएको भन्ने किसिमको बकपत्र गरिदिएको पाइन्छ । लासको शरीरमा निलडाम छ, दात भाँचिएको र आँखाबाट समेत रगत बगेको छ भनी लास जाँच मुचुल्कामा उल्लेख छ । त्यसैले प्रतिवादीहरूलाई सफाइ दिने गरी भएको फैसला त्रुटिपूर्ण भएकोले प्रतिवादीहरूलाई सजाय गरिपाउँ भनी बहस गर्नुभयो ।
यसरी बहससमेत सुनी मिसिल अध्ययन गरी निर्णयतर्फ विचार गर्दा, प्रस्तुत मुद्दामा पुनरावेदन अदालत बागलुङबाट भएको फैसला मिलेको छ वा छैन ? तथा वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्छ वा सक्दैन ? भन्ने विषयमा निर्णय दिनुपर्ने देखियो ।
यसमा प्रतिवादीहरू कुलबहादुर घर्ती मगर, कमल घर्ती मगर, तालमाया घर्ती, कमला घर्ती र हस्तमाला घर्ती मगरउपर मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३ (१) नं. अनुसार सजाय हुन माग दाबी लिई अभियोग पत्र दायर भएको पाइन्छ । सुरू बागलुङ जिल्ला अदालतबाट फरार प्रतिवादी कुलबहादुर घर्ती मगरको हकमा मुद्दा मुल्तबी रहने, प्रतिवादी कमलबहादुर घर्ती मगरलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम जन्मकैद हुने र अरू प्रतिवादीहरूले अभियोग दाबीबाट सफाइ पाउने ठहर्याई फैसला भएको पाइयो । सो फैसलाउपर प्रतिवादी कमलबहादुर घर्ती मगरको सफाइ पाउँ भनी र वादी नेपाल सरकारको सबै प्रतिवादीहरूलाई अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भन्ने पुनरावेदन परी पुनरावेदन अदालत बागलुङबाट सुरू फैसला केही उल्टी भई सबै प्रतिवादीहरूले सफाइ पाउने ठहर्याई फैसला भएको पाइयो । सोउपर वादी नेपाल सरकारको प्रतिवादीहरूलाई अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भनी यस अदालतमा पुनरावेदन परी आज इजलाससमक्ष पेस हुन आएको छ ।
२. निर्णयतर्फ विचार गर्दा, यसमा प्रतिवादीहरू ५ जनाको मिलोमतो तथा संलग्नतामा गाउँकै कर्णबहादुर घर्ती मगरलाई कुटपिट गर्न निजको घरमा जाँदा २०६१/७/५ गते दिनको ५:३० बजेको समयमा उक्त घरमा भेटघाट गर्न पुगेका प्रतिलास घर्ती मगरलाई प्रतिवादीहरूले लाठी, खुकुरीसमेतले कुटपिट गरी भागेकोमा सो चोटबाट निजको मृत्यु भएकोले सोको जानकारी भोलिपल्ट भिमगिठेस्थित सुरक्षा निकायमा गराई लास सद्गद् तथा काजक्रिया सम्पन्न गरी जाहेरी दिन आएको छु । प्रतिवादीहरूलाई पक्राउ गरी कारबाही गरिपाउँ भनी देवीराम घर्तीमगरको मिति २०६१/७/२२ को जाहेरी दरखास्तबाट मुद्दाको अनुसन्धान सुरू भएको पाइन्छ । भिमगिठे सुरक्षा निकायबाट सूचना पाएपश्चात् उक्त लासको सुरक्षा गर्नेलगायत सोको बारेमा माथिल्लो निकायमा सूचना दिनेलगायतका कार्य भएको भन्ने मिसिलमा देखिएको छैन । यसले सुरक्षा निकायलाई जानकारी दिएको भन्ने कथन नै शङ्कास्पद देखिन्छ । मिसिल सामेल रहेको मिति २०६१/०७/१२ मा खडा भएको भनिएको मृतक प्रतिलास घर्ती मगरको नामको घटनास्थल तथा लास जाँच मुचुल्का हेर्दा बागलुङ निसी गा.वि.स. वडा नं.१ स्थित कर्णबहादुर घर्तीको बारीको गरामा रहेको उक्त लासको कपाल तथा अनुहार रगतले भिजेको, दायाँ खुट्टा भाँचिएको, बायाँ आँखा फुटेको, टाउकोमा अन्दाजी ३ इन्च लम्बाइ, २ इन्च गहिराइ, १/२ इन्च चौडाइ आकारको हतियार प्रयोगबाट भएको घाउ चोट तथा शरीरभरि लौराले पिटेको निलडामहरू रहेको भनी उल्लेख भएको पाइन्छ । साथै लासमा किरा औंसा परेको, अत्याधिक दुर्गन्ध आएको, मासु सडी झर्न थालेकोले लासलाई पोस्टमार्टम गर्न नसकिने भई वारेस देवीराम घर्ती (जाहेरवाला) लाई जिम्मा दिएको भन्ने बेहोरा उल्लेख भएको छ । ५ गते घटना भएको भनिएकोमा ऐ.१२ गते लास जाँच मुचुल्का खडा हुँदा एकातिर लास सडीगली किरा परी मासु झर्ने अवस्थासम्मको रहेको भनी उल्लेख भएको छ भने अर्कोतिर लासमा लौरोले पिटेको निलडामसमेत देखिने घाउ चोटसमेत रहेको भनी उल्लेख भएको कुरा आफैँमा अमिल्दो रहेको पाइयो । साथै मृतकको पोस्टमार्टम नभएकोले सोबाट समेत मृतकको मृत्युको कारण खुल्न आएको देखिएन ।
३. यसैगरी जाहेरवाला देवीराम घर्ती, वारदात भएको भनिएको घरका घरवाला कर्णबहादुर घर्ती तथा निजको पत्नी भद्रिमा घर्ती मगर, दिलभुजा घर्ती मगरसमेतले वारदातको भोलिपल्ट सोको जानकारी सुरक्षा निकायमा गराई सबैको सल्लाहले मिति २०६१/७/८ गते लासलाई जलाई सदगद गरेको भनी अदालतमा गरिदिएको बकपत्रमा प्रस्ट रूपमा उल्लेख गरेका छन् । पुनरावेदनको अदालतको आदेशबाट झिकाइएका लास जाँच मुचुल्कामा बस्ने मानिसमध्ये जानबहादुर घर्ती मगरले आफ्नो बकपत्रमा मिति २०६१।७।१२ मा भएको लास जाँच मुचुल्कामा मैले सहिछाप गरेको होइन र सोबारेमा वारदातबारेमा मलाई केही थाहा छैन भनी लेखाई दिएको देखिन्छ । यस्तै लास जाँच मुचुल्कामा काम तामेल गर्ने युवराज खड्काले सो मुचुल्कामा भएको सहिछाप आफ्नै हो भने पनि घटना पुरानो भइसकेकोले आफूले सोबारे बताउन नसक्ने भनी बकपत्र गरिदिएको
पाइन्छ । लास जाँच मुचुल्कामा सही गर्ने अन्य व्यक्तिहरू पुनरावेदन अदालतमा उपस्थित भई बकपत्र गरेको देखिन आएन । अदालतमा आई बकपत्र गर्ने देवीराम घर्ती, कर्णबहादुर घर्ती तथा निजको पत्नी भद्रिमा घर्ती मगर र दिलभुजा घर्ती मगरले यसरी एकातिर लास जाँच मुचुल्का मिति २०६१/०७/१२ मा खडा भएको भनिएको र अर्कोतिर सदगद ऐ.८ गतेमा नै भएको भनी लेखाएको कुरा आपसमा विरोधाभाषपूर्ण भई लासजाँच मुचुल्काको सत्यतामा गम्भीर प्रश्न उठेको
छ । यसबाट ५ गतेको वारदातमा कुटपिटमा परी मरेका भनिएका प्रतिलास घर्तीको दाहसंस्कार ८ गते भएको हो भने १२ गते भएको भनिएको लास जाँच मुचुल्का र सोमा उल्लिखित बेहोरा झुट्टा भएको अर्थात् यदि १२ गते प्रतिलास घर्तीमगरको शवको लास प्रकृति मुचुल्का भएको सत्य मान्ने हो भने सडी गली गएको तथा मासुसमेत झर्न लागेको लासमा त्यस प्रकारको चोटपटक निलडामसमेत देखिने अवस्था नै हुँदैन ।
४. जाहेरवाला देवीराम घर्ती मगरले आफ्नो अदालतको बकपत्रमा ऐ.६ गते आफू र कर्णबहादुरले भिमगिठे प्रहरी चौकीमा दरखास्त दिएको र प्रहरीले हामी माओवादीको डरले गाउँमा आउन सक्दैनौं, तपाइँहरूले लास जलाउनु र मुद्दा दिन चाँडो सदरमुकाम जानु भनेको हो भनी लेखाएको पाइन्छ । यसैगरी कर्णबहादुर घर्ती मगरले पनि सोही कुरालाई समर्थन गर्दै पोष्टमार्टम (लास जाँच मुचुल्का) देवीराम र मैले प्रहरीबाट फर्म लगी आफैँ गरेको हो भनी बकपत्रमा लेखाएको पाइन्छ । स्वतन्त्र रूपमा अदालतमा निजहरूले गरेको बकपत्रलाई अन्यथा भन्न सकिने देखिँदैन । यसबाट घटनास्थलमा प्रहरी कर्मचारीको उपस्थिति नै नभएको र गाउँघरमा जाहेरवालालगायतका व्यक्तिहरूले आफैँ तयार गरिएको लास जाँच मुचुल्कामा पछि गएर प्रहरीलाई सही गराएको भन्ने प्रस्ट हुन जान्छ । यसरी तयार गरेको लास जाँच मुचुल्का र सोमा उल्लिखित कुरालाई सही सत्य रहेछ भनी भन्न सकिने आधार रहे भएको पाइएन । साथै यसरी तयार गरेको मुचुल्का सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ को दफा ७ र ८ तथा मुलुकी ऐन, ज्यानसम्बन्धी महलको २ नं.को कानूनी व्यवस्थाको सन्दर्भमा समेत मिल्न भिड्न आएको देखिँदैन ।
५. यसैगरी मिसिल सामेल रहेको लास सदगत पुर्जी अवलोकन गर्दा २०६१/७/५ गते कर्तव्य गरी मारिएका प्रतिलास धर्तीको लास पोष्टमार्टम गर्न नसकिने अवस्था भएको भनी जाहेरवालाको नाताले देवीराम घर्तीलाई बुझाएको बेहोरा उल्लेख भई मिति २०६१/०७/१२ गतेको मितिमा देवीराम घर्तीको नामको हस्ताक्षरले लास बुझेको भन्ने देखिन्छ । तथापि पत्रको मिति हेर्दा २ अङ्क पछि लेखिएको अर्को अङ्कलाई टिपेक्स लगाई मेटी २ को अगाडि १ अङ्क अर्कै मसीले थप गरी १२ बनाएको प्रस्ट रूपमा देख्न सकिन्छ । यस्तै जाहेरी मिति २०६१/७/२२ मा परेकोमा सोभन्दा अगावै ऐ.१२ गते नै तयार भएको लास सदगत पुर्जीमा जाहेरवाला नामाकरण गरी देवीराम घर्तीलाई लास बुझाएको भन्ने उल्लेख भएबाट उक्त लास सद्गत पुर्जी पनि बनावटी तयार गरेको पुष्टि हुन जान्छ ।
६. यस्तै प्रतिवादीहरूको वारदातमा संलग्नता सम्बन्धमा मिसिल संलग्न अन्य प्रमाणको रोहबाट हेर्दा, वारदात मिति २०६१/०७/०५ मा भई जाहेरी ऐ.२२ मा परेकोमा प्रत्यर्थी प्रतिवादीहरूलाई खोजतलास गरी दाखिला गर्ने भन्ने सम्बन्धमा मिति २०६७/०६/०५ मा मात्र जिल्ला प्रहरी कार्यालय बागलुङबाट प्रहरी खटाएको पाइन्छ । ऐ.१३ गते प्रत्यर्थी / प्रतिवादीहरू मध्येका तालमाया घर्ती मगर, कमला घर्ती मगर, हस्तमाला घर्ती मगर पक्राउ परी निजहरूको बयानलगायतका अनुसन्धानका कार्य अगाडि बढेको पाइन्छ । यसपश्चात् मात्र अनुसन्धानका लागि कागज गर्नेलगायतका कामहरू भएको पाइएको
छ । प्रक्राउ परेका यी प्रतिवादीहरूले अनुसन्धानका क्रममा बयान गर्दा आफूहरू कसुरमा इन्कार रही कुलबहादुर घर्ती मगर तथा कमल घर्ती मगरले मृतकलाई खुकुरी चक्कुसमेतले प्रहार गरी कुटपिट गरेको भन्ने पोल गरी बयान गरिदिएको पाइन्छ । तर निजहरूले अदालतमा गरेको बयानमा मौकाको बयान आफूले भनेबमोजिम नभएको तथा जबरजस्ती सहिछापसम्म गराएको र आफूलाई वारदातबारे केही थाहा नभएको भनी इन्कार गरेको पाइन्छ । अदालतमा हाजिर हुन आएका प्रतिवादी कमल घर्तीले कसुरमा इन्कार रही वारदात भएको भनिएको समयमा आफू बाहिर भएको भनी लेखाइदिएको पाइयो । यसरी सहअभियुक्तको यी प्रतिवादीमध्येका कमल घर्ती मगरलाई पोल गरी गरिदिएको बयान अन्य कुनै प्रमाणहरूबाट पुष्टि हुन सकेको पाइँदैन । अनुसन्धानमा आफैँले पोल गरेकोलाई अदालतमा आफैँ इन्कार गरिदिएको र अन्य कुनै प्रमाणहरूबाट समेत पुष्टि हुन नसकेको अवस्थामा अनुसन्धानमा गरेको सो पोललाई मात्र आधार मानी दोषी ठहर गर्न सकिँदैन । यस्तै जाहेरवाला देवीराम घर्ती मगर र कर्णबहादुर घर्ती मगर घटना भएको भनिएको समयमा घटनास्थलमा नभएको निजहरूले गरेको बकपत्र बेहोराबाट देखिएको छ । कर्णबहादुर घर्ती मगर सो दिन राति मात्र आफ्नो घरमा फर्केको भनी निजले अदालतमा गरेको बकपत्रमा लेखाएका छन् । यसबाट निजहरू घटनाका प्रत्यक्षदर्शी नभएको प्रस्ट हुन्छ । घटनामा नभएका व्यक्तिहरूले दिएको जाहेरी एवं कथनलाई एक मात्र प्रमाणको रूपमा ग्रहण गरी निजहरूले भनेको आधारमा मात्र यी प्रतिवादीहरूको कसुरमा संलग्नता रहेछ भनी भन्न मिल्ने देखिँदैन । यी प्रतिवादीहरूको मृतकलाई मार्नुपर्नेसम्मको रिसइवी रहेको पनि देखिँदैन । केबल झगडा छुट्याउन खोजेको भन्नेसम्म मिसिल संलग्न अन्य कागजहरूबाट देखिएको अवस्था छ ।
७. फौजदारी कसुरमा अभियुक्तहरूउपरको कसुर वादीले नि:सन्देह रूपमा प्रमाणित गर्नुपर्ने हुन्छ । यसलाई प्रमाण ऐन, २०३१ को दफा २५ ले पनि स्पष्ट रूपमा व्यवस्था गरेको पाइन्छ । कसुर शङ्कारहित तवरले प्रमाणित हुने प्रमाण वादी पक्षले पेस गर्न नसकेको अवस्थामा त्यसको सुविधा अभियुक्तले पाउने हुन्छ । कसुर प्रमाणित गर्न कसैले कसैलाई पोल गर्नु र सोका आधारमा नेपाल सरकारले कसैउपर अभियोग लगाउनु मात्र पर्याप्त हुँदैन । गरेको पोल र लगाएको अभियोग वस्तुनिष्ठ प्रमाणहरूबाट शङ्कारहित किसिमबाट समेत पुष्टि हुनु पर्दछ । संकलित वस्तुगत प्रमाणहरू, बुझिएका व्यक्तिहरूको भनाइ र वारदातको परिस्थितिजन्य प्रमाणहरू एकआपसमा बाझिएमा र आफैँमा शंकास्पद देखिएमा त्यस्ता प्रमाणहरूका आधारमा कसैलाई दोषी ठहर गर्नु फौजदारी न्यायको सिद्धान्तको प्रतिकूल हुन जान्छ । प्रस्तुत मुद्दाका सन्दर्भमा पनि माथि लेखिएअनुसार लास जाँच प्रकृति मुचुल्का आफैँमा शङ्कास्पद तथा कानूनको रीत पुर्याई तयार भएको देखिएन । पोष्टमार्टमको कार्य हुनै नसकेकोले मृत्युको कारण के हो भन्ने तथ्य नै पत्ता लाग्न नसकेको पाइयो । वारदात भएको भनिएको करिब ६ वर्षपछि मात्र पक्राउ पुर्जी जारी भई प्रतिवादीहरू पक्राउ परेको र अन्य अनुसन्धानका कामहरू अगाडि बढेको पाइयो । जाहेरवाला र अनुसन्धानका क्रममा बुझिएका व्यक्तिहरूको भनाइ अन्य प्रमाणबाट पुष्टि तथा समर्थित हुन आएको देखिन आएन । स्वयं जाहेरवाला पनि वारदातका प्रत्यक्षदर्शी रहे भएको देखिन आएन । यस्तो अवस्थामा अभियुक्तको कसुर प्रमाणित हुन सक्ने प्रमाण वादी पक्षले गुजार्न सकेको देखिन आएन । उल्लिखित आधार प्रमाणहरूबाट अभियोग दाबीबमोजिम प्रतिलास घर्तीको मृत्यु यी प्रत्यर्थी / प्रतिवादीहरूको कुटपिटको कारणबाट नै कर्तव्यमा परी भएको हो भनी भन्न सकिँदैन । तसर्थ प्रतिवादीहरूले सफाइ पाउने ठहर्याई भएको फैसलालाई अन्यथा मान्न मिलेन । प्रतिवादीहरूलाई अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकिरसँग सहमत हुन सकिएन ।
८. अतः माथि विवेचित आधार, कारण तथा प्रमाणहरूबाट प्रतिवादीमध्येका कमलबहादुर घर्ती मगरलाई अभियोग दाबीअनुसारको कसुर गरेको र प्रतिवादीहरू हस्तमाला घर्ती मगर, तालमाया घर्ती मगर र कमला घर्ती मगरलाई अभियोग दाबीबाट सफाइ दिने गरी सुरू बागलुङ जिल्ला अदालतबाट मिति २०६८/१०/२ मा भएको फैसला केही उल्टी हुने ठहर्याई प्रतिवादीमध्येका हस्तमाला घर्ती मगर, तालमाया घर्ती मगर र कमला घर्ती मगरलाई अभियोग दाबीबाट सफाइ दिएको हदसम्म सुरू फैसला सदर हुने र प्रतिवादीमध्येका कमलबहादुर घर्ती मगरलाई अभियोग दाबीअनुसार सजाय गरेको हदसम्म सुरू फैसला मिलेको नदेखिँदा उल्टी गरी निजलाई समेत अभियोग दाबीबाट सफाइ दिने ठहर्याई पुनरावेदन अदालत बागलुङबाट मिति २०७१/०१/०८ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाइदिनू ।
उक्त रायमा सहमत छु ।
न्या. ईश्वरप्रसाद खतिवडा
इजलास अधिकृत:- यदुराज शर्मा
इति संवत् २०७४ साल कार्तिक १६ गते रोज ५ शुभम् ।