निर्णय नं. १००९८ - ठगी

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्ययाधीश श्री हरिकृष्ण कार्की
माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा
फैसला मिति : २०७४।११।२३
मुद्दा : ठगी
०७०-CR-०६८१
पुनरावेदक / प्रतिवादी : जिल्ला भोजपुर दलगाउँ गाउँ विकास समिति वडा नं. ३ बस्ने पुष्पबहादुर कार्की
विरूद्ध
प्रत्यर्थी / वादी : महेन्द्रबहादुर कार्की समेतको जाहेरीले नेपाल सरकार
०७०-CR-१०९४
पुनरावेदक / वादी : महेन्द्रबहादुर कार्कीसमेतको जाहेरीले नेपाल सरकार
विरूद्ध
प्रत्यर्थी / प्रतिवादी : जिल्ला भोजपुर दलगाउँ गाउँ विकास समिति वडा नं. ३ बस्ने पुष्पबहादुर कार्कीसमेत
ठगीको वारदात स्थापित हुन अर्काको हकको सम्पत्ति लिने खाने उद्देश्यले धोका गफलत परिपञ्च गरेको देखिनु पर्ने
हुन्छ । ठगी अपराधको मूलभूत तत्त्व आफ्नो हक नपुग्ने अर्काको हकको सम्पत्ति लिने दिने दिलाउने नियतले ललाई फकाई गरी विश्वासमा पार्ने, जाल परिपञ्चमा पार्ने, धोका गफलतमा पार्ने आदि जुनसुकै वा कुनै तत्त्व अन्तर्निहित हुन सक्दछ । कुनै पनि किसिमको धोकाजन्य व्यवहार गरेर अर्काको हकको चल अचल सम्पत्ति लिने खाने नियत राखेको प्रमाणित हुन्छ भने त्यो कार्य ठगीको कसुरअन्तर्गत पर्ने ।
(प्रकरण नं.३)
कुनै व्यक्तिले एकभन्दा बढी व्यक्तिको हक पुग्ने सम्पत्ति लिने खाने बदनियतले धोखा दिने कार्य गरी चलअचल लिए खाएको अवस्थामा कुनै एक जनासँग भरपाई लिखत गराएकै आधारमा ठगीको कसुरमा मुद्दा नै नचल्ने, ठगीमा सजाय नै नहुने भन्न मिल्ने देखिँदैन । ठगिने व्यक्तिले ठगी गर्नेलाई पक्री भाखा तमसुक गराई राखेको भन्ने वाक्यांशले ठगिने जति सबैको हकको धनमाल पाउन सक्ने गरी भाखा तमसुकको लिखत भएको भन्ने जनाउँदछ । तर उनाउ व्यक्तिसँग गराई लिएको लिखतलाई ठगीको महलको ३ नम्बरबमोजिमको तमसुक रहेछ भनी मान्न मिल्ने नदेखिने ।
(प्रकरण नं.५)
पुनरावेदक / वादीको तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री टिका भुषण घिमिरे
प्रत्यर्थी / प्रतिवादीको तर्फबाट : विद्वान् अधिवक्ता श्री रोहितकुमार डाँगी
अवलम्बित नजिर :
सम्बद्ध कानून :
सुरू फैसला गर्ने
मा.जिल्ला न्यायाधीश श्री अम्मरराज पौडेल
भोजपुर जिल्ला अदालत
पुनरावेदन तहमा फैसला गर्ने
माननीय न्यायाधीश श्री शम्भूबहादुर खडका
माननीय न्यायाधीश श्री विदुरविक्रम थापा
पुनरावेदन अदालत, धनकुटा
फैसला
न्या.हरिकृष्ण कार्की : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्रको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यसप्रकार रहेको छः-
ग्रामीण पहुँच कार्यक्रमअन्तर्गत भोजपुर जिल्लाको दलगाउँ सडक खण्डमा हामी जाहेरवालाहरू समेतका समूहले सडक निर्माणबापत पाउने श्रमिकको ज्याला नगद रू. १५,१७,०००।- अभियुक्त केशवप्रसाद सुवेदी, पुष्पबहादुर कार्कीसमेतका मानिसहरूले मिति २०६७।६।२० गते राष्ट्रिय वाणिज्य बैंक, भोजपुरबाट भुक्तानी लिई दलगाउँतर्फ फर्कने क्रममा बाटोमा अभियुक्त पुष्पबहादुर कार्की र केशवप्रसाद सेुवेदीसमेतले आर्थिक लोभ लालचमा परी रूपैयाँ ठगी गर्ने योजना बनाएका रहेछन् । अभियुक्त पुण्यप्रसाद प्रधान, राजन भन्ने खड्बहादुर कार्की र चन्द्रबहादुर दर्जीसमेतसँग मिलेमतो गरी दलगाउँ–१ स्थित थपेनी चौतारीमा आइपुगेपछि सोही दिनको बेलुकी अं. १७.४५ बजेको समयमा नाटक रची उल्लिखित रूपैयाँ लुटेराहरूले लुटाए जस्तो बहाना पारी काल्पनिक वारदात घटाई रूपैयाँ मिलेमतो गरी बाँडफाँड गरी खाएछन् । यसरी उपर्युक्तबमोजिम हामीहरूलाई झुक्याई ठगी गरेको विषयमा छलफल हुँदा अभियुक्त पुष्पबहादुर कार्की रू. ४,००,०००।- र अभियुक्त पुण्यप्रसाद प्रधान, राजन भन्ने खड्गबहादुर कार्कीले जनही रू. ५०,०००।- समितिमा बुझाएका र अभियुक्त केशवप्रसाद सुवेदीले रकम नबुझाई भागेकाले हामीलाई ललाई फकाई आफूहरूलाई फाइदा हुने गरी हाम्रो श्रमको रकम ठगी गरेकाले निजहरूलाई कानूनबमोजिम कारबाही गरी हाम्रो ठगी गरेको बिगो रकम रू.१५,१७,०००।– दिलाई भराई पाउँ भन्नेसमेत बेहोराको मिति २०६८।२।२९ गतेको महेन्द्रबहादुर कार्की, अर्जुन तामाङ, राजबहादुर मगर, शंकर सुवेदी, विमला कार्की, तिर्थबहादुर दर्जीसमेतको जाहेरी दरखास्त ।
जाहेरवाला र श्रमिकहरूको जाहेरीमा उल्लिखित रूपैयाँ ठगी गर्ने अभियुक्तहरू जिल्ला सदरमुकाम भोजपुरमा नै घुमफिर गरी हिँडिरहेको अवस्था अभियुक्तमध्येका पुष्पबहादुर कार्की, पुण्यप्रसाद प्रधान, राजन भन्ने खड्गबहादुर कार्की र चन्द्रबहादुर दर्जीसमेतलाई फेला परी पक्राउ गरी यसै प्रतिवेदन साथ दाखिला गरेका छौं, कानूनबमोजिम गरिपाउँ भन्नेसमेत बेहोराको मिति २०६८।२।३० गतेको प्र.ह. धर्मध्वज खड्कासमेतको प्रतिवेदन ।
मिति २०६७।६।२० गते अं. १७.४५ बजेको समयमा हाल घटनास्थल दलगाउँ गा.वि.स. वडा नं.१ स्थित थपेनी चौतारीमा अभियुक्त पुष्पबहादुर कार्की, केशवप्रसाद सुवेदीसमेतले जाहेरवालाहरू र श्रमिकले काम गरेबापतको रूपैयाँ रा.व. बैंक भोजपुरबाट भुक्तानी लिई नगद रू.१५,१७,०००।- रूपैयाँ लुटियो भनी नाटक गरी रूपैयाँ बाँडफाँड गरी बाँडी खाई ठगी गरेको हो भनी श्रीकुमार राईसमेतका मानिसहरूले गरी दिएको मिति २०६८।३।१ गतेको घटनास्थल प्रकृति मुचुल्का ।
मिति २०६७।६।२० गते बेलुकीपख म घर नजिकैको सडकमा काम गरिरहेको अवस्थामा पुण्यप्रसाद प्रधानले भेटी खोला गुम्बासम्म जानु पर्यो, पुष्पबहादुर कार्की र केशवप्रसाद सुवेदीले हामीहरूको ग्रामीण पहुँच कार्यक्रमको पैसा लिई आउँदैछन् भनेकोले म पनि साथमा गएको हुँ । अं. १७.४५ बजेको समयमा घटनास्थल दलगाउँ–१ स्थित थपेनी चौतारोमा पुग्दा पुष्पबहादुर कार्की, केशवप्रसाद सुवेदी र चन्द्रबहादुर दर्जीलाई कम्ब्याक्ट ड्रेस लगाएका, मुखमा कालो माक्स लगाएका हातमा पेस्तोल बोकेका हतियारधारी ४ जना मानिसहरू उभिइरहेका
थिए । हतियारधारीमध्येको १ जनाले हामीलाई पेस्तोल तेर्साई पछि फर्की नत्र मारी दिन्छु भनेकाले हामी पछि फर्कियौं । केही समयपछि निज पुष्पबहादुर कार्की, केशवप्रसाद सुवेदी र चन्द्रबहादुर दर्जीसमेत हामी भए ठाउँमा आएपछि केशवप्रसाद सुवेदीले रूपैयाँ लुट्यो भन्यो । त्यसपछि हामीहरूले के गरौं त भन्दा जे हुनु भइगयो । अब केही गर्नु पर्दैन जाउँ भनेकोले पुण्यप्रसाद प्रधान, राजन भन्ने खड्गबहादुर कार्की पनि आइपुगे । निजहरूले पनि ४ जना अपरिचित कम्ब्याक्ट ड्रेस, छत्रे टोपी लगाएका मानिसहरूलाई देख्यौं । हामीहरू कसैले पनि प्रतिकार गरेनौं । साथै आएका पुण्यप्रसाद प्रधान, खड्गबहादुर कार्कीले पनि घटनापश्चात् कुनै प्रतिकार हार गुहार गरेनन् । लुटेराहरू जंगलतर्फ गए । जे हुनु भई गयो, रकम लुटियो । अब केही गर्नु पर्दैन जाउँ हिड भनेकाले सँगै गई पुष्पबहादुर कार्कीबाहेक केशवप्रसाद सुवेदी, पुण्यप्रसाद प्रधान, खड्गबहादुर कार्की र म केदार सुवेदीको घरमा बस्यौं । पुष्पबहादुर कार्की कहाँ बस्यो थाहा भएन । राति भाग्यो भन्ने कुरा सुनेको
हुँ । लुटिएको रकम जाहेरवालाहरूलगायत श्रमिकहरूको हक लाग्ने हो । निज अभियुक्त केशवप्रसाद सुवेदी र पुष्पबहादुर कार्कीसमेतले जाहेरीमा उल्लिखित रू.१५,१७,०००।- रूपैयाँ आर्थिक लोभ लालचमा परी नाटक रची लुटेराहरू बनाई जाहेरवालासमेतका श्रमिकहरूलाई र मलाईसमेत झुक्याई रूपैयाँ ठगी गरेकोमा पूर्ण विश्वास लाग्छ भनी अभियुक्त खड्गबहादुर कार्कीले मिति २०६८।३।२ गते अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
मिति २०६७।६।२० गते दिनको अं. १६.०० बजेको समयमा म खोला गुम्बामा रहेको खेतमा पानी लगाउन गएको थिएँ । सोही दिनको १७.०० बजेको समयमा सो गुम्बामा मैले अभियुक्त पुष्पबहादुर कार्की र केशवप्रसाद सुवेदीसँग भेट भयो । पूर्णबहादुर तामाङको दोकान बाहिर पुष्पबहादुर कार्की उभिएर बस्यो । केशवप्रसाद सुवेदीले दोकानभित्र पसेर रक्सी
माग्यो । रक्सी छैन भनेपछि घर जाने क्रममा केशवप्रसाद सुवेदीले हिँड भनेकोले कोदालो बोकी सँगै गएको
हो । केही माथि पुगेपछि पुष्पबहादुर कार्कीले जंगलको बाटोमा को मानिस हो भनी मलाई सोध्यो । मैले साथीलाई पर्खिएको होला भन्दै अगाडि जाँदा सल्लाको रूखमा पुगेपछि केशवप्रसाद सुवेदीले मलाई रूपैयाँ लिएर आएका छौं दशैं राम्रै मान्न पाइने भइयो भन्दा पुष्पबहादुर कार्कीले पैसाको कुरा नगर्नु भन्ने बित्तिकै केशवप्रसाद सुवेदीले आउँछ भने मर्छ भन्दै हामी भन्दा केही अगाडी बढ्यो । घटनास्थल भनिएको चौतारामा पुग्दा बिजुलीको पोल छेउमा २ जना चौताराको पूर्वतर्फ जंगलजबाट ३ जना गरी ४ जना अपरिचित कम्ब्याक्ट ड्रेस, छत्रे टोपी हात हातमा पेस्तोल बोकेका मुखमा कालो माक्स लगाएका मानिसहरू आए । पख पख भन्दै १ जनाले केशवप्रसाद सुवेदीलाई झोलासँगै समाई पेस्तोल कन्चटमा तेर्सायो । २ जनाले पुष्पबहादुर कार्कीलाई समाई पेस्तोल कन्चटमा तेर्साई कराइस् भने मरिस् भन्दै पुष्पबहादुर कार्की र केशवप्रसाद सुवेदीले बोकेको झोला कब्जामा लिई हामीलाई उभोमात्र हेर्न लगाई ३ जनाले सो झोला चेक गर्न थाले । १ जनाले मेरो साथमा रहेको नगद रू.३,०००।– झिकी लग्यो । पुष्पबहादुर कार्की र केशवप्रसाद सुवेदीको मोबाइल, फाल्टो रकम झिकी लगेपछि पुण्यप्रसाद प्रधान, राजन भन्ने खड्गबहादुर कार्की पनि आइपुग्यो । निजहरूले पनि ४ जना अपरिचित कम्ब्याक्ट ड्रेस, छत्रे टोपी लगाएका मानिसहरूलाई देख्यौं । हामीहरू कसैले पनि प्रतिकार गरेनौं । साथै आएका पुण्यप्रसाद प्रधान, खड्गबहादुर कार्कीले पनि घटना घटेको देखेका हुन् तर कुनै प्रतिकारका गुहार गरेनन् । लुटेराहरू जंगलतर्फ पसे । जे हुनु भई गयो, रकम लुटियो, अब केही गर्नु पर्दैन जाउँ हिड भनेकाले सँगै गई पुष्पबहादुर कार्कीबाहेक केशवप्रसाद सुवेदी, पुण्यप्रसाद प्रधान, खड्गबहादुर कार्की र म केदार सुवेदीको घरमा बस्यौं । पुष्पबहादुर कार्की कहाँ बस्यो थाहा भएन । राति भाग्यो भन्ने कुरा सुनेको हुँ । लुटिएको रकम जाहेरवालाहरू लगायत श्रमिकहरूको हक लाग्ने हो । निज अभियुक्त केशवप्रसाद सुवेदी र पुष्पबहादुर कार्कीसमेतले जाहेरीमा उल्लिखित रू.१५,१७,०००।– रूपैयाँ आर्थिक लोभ लालचमा परी नाटक रची लुटेराहरू बनाई जाहेरवालासमेतका श्रमिकहरू र मलाईसमेत झुक्याई रूपैयाँ ठगी गरेकोमा पूर्ण विश्वास लाग्छ भनी अभियुक्त चन्द्रबहादुर दर्जीले मिति २०६८।३।२ गते अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
मिति २०६७।६।२० गते १७.०० बजेको समयमा म आफ्नै बारीमा काम गरिरहेको थिएँ । सोही बखत केशवप्रसाद सुवेदीले मोबाइलमा फोन गरी गुम्बासम्म साथी आइज, हामीहरू टक्सारबाट तल झरी सक्यौं । समूहको रूपैयाँ लिएर आउँदैछौं भनी बोलाएकोले मैले निज राजन भन्ने खड्गबहादुर कार्कीलाई मेरै घर मुन्तिर सडक बाटोमा भेटी साथीको लागि सँगै लिई बाटैबाटो गुम्बातर्फ झरेका हौं । यस्तैमा घटनास्थल दलगाउँ–१ स्थित थपेनी चौतारामा पुग्दा पुष्पबहादुर कार्की, केशवप्रसाद सुवेदी र चन्द्रबहादुर दर्जीलाई कम्ब्याक्ट ड्रेस लगाएका, मुखमा कालो माक्स लगाएका, हातहातमा पेस्तोल बोकेका हतियारधारीहरूले हामीलाई देख्नासाथ पेस्तोल बोकेको २ जना मानिसले पेस्तोल देखाई पछाडि फर्की, नत्र मरिस् भनेकोले म र राजन पछाडि
फर्कियौं । केही समयपछि निज पुष्पबहादुर कार्की, केशवप्रसाद सुवेदी र चन्द्रबहादुर दर्जीसमेत हामी भए ठाउँमा आए । केशवप्रसाद सुवेदीले रूपैयाँ लुट्यो
भन्यो । त्यसपछि हामीहरूले के गरौं त भन्दा जे हुनु भइगयो । अब केही गर्नु पर्दैन । जाउँ हिड भनेकाले सँगै गई पुष्पबहादुर कार्कीबाहेक केदार सुवेदीको घरमा रातको १.३० बजेसम्म बसेका हौं । पुष्पबहादुर कार्की निजको घरमा गएकोमा रातभर घरमा नबसी बेपत्ता भएको र मिति २०६७।६।२१ गते मात्र सम्पर्कमा आएको हो । केशवप्रसाद र पुष्पबहादुर कार्कीसमेतले कुनै प्रतिकार नगरी रूपैयाँ लुटेराको हातमा जिम्मा लगाइदिएको
हो । घटनापश्चात् लुटेराहरूको खोजतलास गरी पक्राउ गर्नेतर्फ केही नगरेको, तत्काल घटनाको जानकारी नगराएको देख्दा प्रतिवादीहरू केशवप्रसाद सुवेदी र पुष्पबहादुर कार्कीसमेतले जाहेरीमा उल्लिखित रकम आर्थिक लोभ लालचमा परी नाटक रची लुटेराहरू बनाई जाहेरवालासमेतका श्रमिकहरूलाई झुक्याई ठगी गरेकोमा पूर्ण विश्वास लाग्छ । लुटिएको रकमा जाहेरवालाहरूलगायत श्रमिकहरूको हक लाग्ने
हो । रू.५०,०००।–समूहका मानिसहरूलाई बुझाएको हुँ । सो रकम केशवप्रसाद सुवेदीलाई निजको अनुपस्थितिमा ऋण स्वरूप दिएका हौं । पुष्पबहादुर कार्कीले रू.४,०००००।– समितिलाई तिरेका छन् भनी अभियुक्त पुण्यप्रसाद प्रधानले अधिकारप्राप्त अधिकारीसमक्ष मिति २०६८।२।३१ मा गरेको बयान ।
मिति २०६७।६।२० गते दिउसो रा.व.बैंक भोजपुरबाट रू.३१,६५,०००।– जाहेरवालाहरू र श्रमिकहरूले काम गरेबापत पाउने रकम भुक्तानी लिई रू.१५,१७,०००।– केशवप्रसाद सुवेदी र मैले रू.५,००,०००।– बोकी बाँकी रकम कोषाध्यक्ष रामकुमार कार्की सहजकर्ता पासाङ शेर्पा, रामकुमार राईसमेतले जिम्मा लिई दलगाउँ फर्कने क्रममा रामकुमार कार्की अर्कै बाटो गएकाले हामीहरू केशवप्रसाद सुवेदी र पुष्पबहादुर कार्की खोलागुम्बा जानेबाटो हुँदै दलगाउँतर्फ जाँदै थियौं । बाटोमा केशवप्रसाद सुवेदीले पुण्यप्रसाद प्रधानलाई खोलासम्म साथै आउनु होला भनी मोबाइल फोन सम्पर्क गरी बोलाएको हो । खोला गुम्बा झर्दा हामीहरूले चन्द्रबहादुर दर्जीलाई गुम्बाको पुलमा भेटी सँगै गयौं । खोलाबाट उकालो जादै गर्दा केवशप्रसाद सुवेदी अघि बढ्यो । यस्तैमा थपेनी चौतारामा पुग्ने बित्तिकै ४ जना अपरिचित कम्ब्याक्ट ड्रेस, छत्रेटोपी, हातहातमा पेस्तोल बोकेको मुखमा कालो पट्टी लगाएका मानिसहरू आई २ जनाले मलाई पेस्तोल कन्चटमा तेर्साई कराइस भने मारिदिन्छु भन्दै मेरो झोलामा रहेको नगद रू.५,००,०००।– मोबाइल मेरो निजी रू.४,०००।– लुटी लगे । साथै २ जनाले केशवप्रसाद सुवेदीलाई पेस्तोल देखाई निजको साथको नगद रू.१०,१७,०००।– लुटी चन्द्रबहादुर दर्जीलाई पनि हातपात गरी निजको साथमा भएको रू.३,०००।– झिकी लग्यो । सोही समयमा साथी बोलाएका पुण्यप्रसाद प्रधान, राजन भन्ने खड्गबहादुर कार्की पनि आइपुगे । निजहरूले पनि ५ जना अपरिचित कम्ब्याक्ट ड्रेस, छत्रे टोपी लगाएका मानिसहरूलाई
देखे । हामीहरू कसैले पनि प्रतिकार गरेनौं । साथै आएका पुण्यप्रसाद प्रधान, राजन भन्ने खड्गबहादुर कार्कीले पनि घटना घटेको देखीदेखी कुनै प्रतिकार हारगुहार गरेनन । यत्तिकैमा लुटेराहरू जंगलतर्फ पसे । त्यसपछि जे हुनु भइगयो, रकम लुटियो अब जाउँ हिड भन्दै सबै जना हिड्यौं । लुटिएको रकम जाहेरवालाहरू लगायत श्रमिकहरूको हक लाग्ने हो । मलाई श्रमिकहरूले भेला जम्मा गराई पैसा तिर् भनी भनेकाले केशवप्रसाद सुवेदी र मैले आधा आधा गरी रकम तिुर्नपर्छ भनेकाले मैले रू.४,००,०००।– समितिलाई बुझाएको छु । रकम लिई घर जाने क्रममा केशवप्रसाद सुवेदीले मैले नसुन्ने गरी मोबाइलबाट फोन गर्ने गरेको, अगाडि देखेको मानिसलाई कोहो भनी सोध्दा मर्छ भने आउँ भनी अगाडि बढेको र फर्किउ भन्दा नमानेको कारण निज केशवप्रसाद सुवेदी आर्थिक लोभ लालचमा परी जाल परिपञ्च गरी योजना बनाई लुटेराहरू तयार गरी रू.१५,१७,०००।– लुटाएको हो । जाहेरवालासमेतका श्रमिकहरूलाई तथा मलाईसमेत झुक्याई रूपैयाँ ठगी गरेकोमा पूर्ण विश्वास लाग्छ भनी अभियुक्त पुष्पबहादुर कार्कीले अधिकारप्राप्त अधिकारीसमक्ष गरी दिएको मिति २०६८।२।३१ को बयान कागज ।
मिति २०६७।६।२० गते अभियुक्त पुष्पबहादुर कार्की, केशवप्रसाद सुवेदी र रामकुमार कार्कीसमेतले ग्रामीण पहुँच कार्यक्रमअन्तर्गत दलगाउँ सडक खण्डको कामदार र श्रमिकहरूले काम गरेबापतको रकम रा.वा.बैंक भोजपुरबाट रू.३१,६५,०००।– भुक्तानी लिई दलगाउँतर्फ फर्कने क्रममा जाहेरीमा उल्लिखित नगद रू.१५,१७,०००।– पुष्पबहादुर कार्की र केशवप्रसाद सुवेदीले जिम्मा लिई धेरै ठूलो रकम भएको देखी आर्थिक लोभ लालचमा परी पूर्वयोजना बनाई रकम ठगी गर्ने उद्देश्यले बिच बाटैबाट केशवप्रसाद सुवेदीले पुण्यप्रसाद प्रधानलाई फोन सम्पर्क गरी राजन भन्ने खड्गबहादुर कार्कीलाई समेत बोलाई घटनास्थल थपिनी चौतारामा आई पुगेपछि रकम लुटेराहरूलाई लुटाए जस्तो गरी बेइमानीको नियतले जाहेरवाला र श्रमिकहरू समेतलाई धोका गफलतमा पारी झुक्याई आफूहरूलाई फाइदा हुने गरी कपोलकल्पित घटना सृजना गरी ठगी गरेको हो । पुण्यप्रसाद प्रधान, खडगबहादुर कार्की र चन्द्रबहादुर दर्जीसमेतले मतियारको भूमिका निर्वाह गरेको हो । निजहरूले सो घटनामा कुनै किसिमको हारगुहार प्रतिकार नगरेका, कुनै निकायमा जानकारी नगराएका, घटना घटिसकेपछि सरासर घर गएका पछि छलफल हुँदा अभियुक्त पुष्पबहादुर कार्की, केशवप्रसाद सुवेदीले आधाआधा रकम बुझाउँछौ भनी पुष्पबहादुर कार्कीले रू.४,००,०००।– र पुण्यप्रसाद प्रधान, खड्गबहादुर कार्कीले जनही रू.५०,०००।– गरी रू.१,००,०००।– समितिमा बुझाएका छन । अभियुक्त केशवप्रसाद सुवेदी भागी फरार भएका हुन । निजहरूले हाम्रो रकम नगद रू. १५,१७,०००।– तिर्नु बुझाउनु पर्छ भनी बुझिएका झुमा मगर, टिकाबहादुर कार्की, जनमाया चर्मकार, मन्जु मगर, कृष्णबहादुर मगर, सनमान खड्का, नारायणबहादुर कटुवाल, सिताराम खत्रीले प्रायः एकै मिलानको मिति २०६८।३।५ गते गरिदिएको घटना विवरण कागज ।
मिति २०६७।६।२० गते ग्रामीण पहुँच कार्यक्रमअन्तर्गत दलगाउँ सडक खण्डको विभिन्न कामदार र श्रमिकहरूले काम गरेबापतको पाउने रकम भुक्तानी लिन म भोजपुर सदरमुकाम रा.वा.बैंक लि. भोजपुरमा आएको थिएँ । त्यहाँ अभियुक्त पुष्पबहादुर कार्की, केशवप्रसाद सुवेदीसँग भेट भयो । चेक नं ०२८७५०८ बाट मेरो नामबाट रू.२९,८८,८१६।–र चेक नं.०२८७५०९ बाट पुष्पबहादुर कार्कीले रू.१,७६,८३२।–भुक्तानी लिएका हौं । त्यसपछि हामीहरू तीनैजना बैंकबाट दलगाउँतर्फ फर्कने क्रममा बैंकअगाडिको घरमा रामकुमार राई र पासाङ शेर्पालाई निजहरूको समूहको रकम बुझाई हामीहरू तीनै जना टक्सारको विष्णु कार्कीको घरमा पुगेपछि मलाई रू.९,३२,४५२।– रूपैयाँ दिए । मैले दशैंको बेला छ मुलबाटो नजाउँ चोरबाटो जानुपर्छ भन्दा निजहरूले गुम्बा पुगेपछि घरको दलान टेकिन्छ । त्यहाँ कसले हामीहरूलाई के गर्छ । तपाइँ आफ्नो खुसीले जानु, सुरक्षा आफैँले गर्नु भनेकोले म चोरबाटो हुँदै घर पुगेँ । निज पुष्पबहादुर कार्की, केशवप्रसाद सुवेदी खोलागुम्बातर्फ लागे । मैले रकम पुर्याई समूहका श्रमिकहरूलाई बुझाई दिएँ । जाहेरवालाहरू र श्रमिकहरूले पाउने जाहेरीमा उल्लिखित नगद रू.१५,१७,०००।– रकम पुष्पबहादुर कार्की र केशवप्रसाद सुवेदीले जिम्मा लिई धेरै ठूलो रकम भएको देखी आर्थिक लोभ लालचमा परी बाटैबाट पूर्वयोजना मिलाई रकम ठगी गर्ने उद्देश्यले बीच बाटैबाट केशवप्रसाद सुवेदीले पुण्यप्रसाद प्रधानलाई फोन सम्पर्क गरी राजन भन्ने खड्गबहादुर कार्कीलाई समेत बोलाई घटनास्थल थपिनी चौतारामा आएपछि रकम लुटेराहरूलाई लुटाए जस्तो गरी नाटक रची पछि रकम लुटियो भनी जाहेरवाला र श्रमिकहरूलाई झुक्याई झुठ्ठा कुरा देखाई बेइमानीको नियतले जाहेरवालाहरू र श्रमिकहरू समेतलाई धोका गफलतमा पारी झुक्याई आफूहरूलाई फाइदा हुने गरी कपोकल्पित घटना सृजना गरी ठगी गरेका हुन् । पुण्यप्रसाद प्रधान, खड्गबहादुर कार्की र चन्द्रबहादुर दर्जीसमेतले मतियारको भूमिका निर्वाह गरेको
हो । निजहरूले सो घटनामा कुनै किसिमको हारगुहार प्रतिकार नगरेका, कुनै निकायमा जानकारी नगराएका, घटना घटिसकेपछि सरासर घर गएका, पछि छलफल हुँदा अभियुक्त पुष्पबहादुर कार्की, केशवप्रसाद सुवेदीले आधाआधा रकम बुझाउँछौ भनी पुष्पबहादुर कार्कीले रू.४,००,०००।– र पुण्यप्रसाद प्रधान, खड्गबहादुर कार्कीले जनही रू. ५०,०००।– गरी रू.१,००,०००।–तिर्नु बुझाउनु पर्छ भनी बुझिएका रामकुमार कार्की, निमकुमार भुजेल र हर्क मगरले प्रायः एकै मिलानको मिति २०६८।३।१४ गते गरेको घटना विवरण कागज ।
मिति २०६७।८।१० गते ग्रामीण पहुँच कार्यक्रमअन्तर्गत दलगाउँ सडक निर्माण समूहको सडक समन्वय समिति उपभोक्ता समितिका संयोजक नरबहादुर राईलाई रू.४,००,०००।– अभियुक्त पुष्पबहादुर कार्कीले बुझाएको भरपाईको फोटोकपी ।
मिति २०६७।८।१० गते ग्रामीण पहुँच कार्यक्रमअन्तर्गत दलगाउँ सडक निर्माण समूहको सडक समन्वय समिति उपभोक्ता समितिका संयोजक नरबहादुर राईलाई अभियुक्त केशवप्रसाद सुवेदीले तिर्नुपर्ने रकममा निज अनुपस्थित भएको कारण निजलाई ऋण सहयोग गर्नुपर्ने भन्ने आधारमा रू.५०,०००।– अभियुक्त पुण्यप्रसाद प्रधान, राजन भन्ने खड्गबहादुर कार्कीले बुझाएको भरपाईको फोटोकपी ।
मिति २०६७।८।१० गते अभियुक्त पुष्पबहादुर कार्की, केशवप्रसाद सुवेदी र रामकुमार कार्कीसमेतले ग्रामीण पहुँच कार्यक्रमअन्तर्गत दलगाउँ सडक खण्डको विभिन्न कामदारहरू र श्रमिकहरूले काम गरेबापतको रकम रू.३१,६५,०००।– रा.वा.बैंक भोजपुरबाट भुक्तानी लिई दलगाउँतर्फ फर्कने क्रममा अन्य समूहका सहजकर्ताहरूले पाउने रकम बाँडफाँड गरिसकेपछि बाँकी रहेका जाहेरवालाहरू र श्रमिकहरूले पाउने जाहेरीमा उल्लिखित नगद रू.१५,१७,०००।– पुष्पबहादुर कार्की र केशवप्रसाद सुवेदीले जिम्मा लिई धेरै ठूलो रकम भएको देखी आर्थिक लोभ लालचमा परी निज अभियुक्त पुष्पबहादुर कार्की र केशवप्रसाद सुवेदीले बाटैबाट पूर्वयोजना मिलाई रकम ठगी गर्ने उद्देश्यले बिच बाटैबाट पुण्यप्रसाद प्रधानलाई फोन सम्पर्क गरी राजन भन्ने खड्गबहादुर कार्कीलाई समेत बोलाई घटनास्थल थपिनी चौतारामा आइपुगेपछि रकम लुटेराहरूलाई लुटाए जस्तो गरी नाटक रची पछि रकम लुटियो भनी जाहेरवाला र श्रमिकहरूसमेतलाई धोखा गफलतमा पारी झुक्याई आफूहरूलाई फाइदा हुने गरी कपोलकल्पित घटना सृजना गरी ठगी गरेको
हो । पुण्यप्रसाद प्रधान, खडगबहादुर कार्की र चन्द्रबहादुर दर्जीसमेतले मतियारको भूमिका निर्वाह गरेको हो । निजहरूले सो घटनामा कुनै किसिमको हारगुहार प्रतिकार नगरेका, कुनै निकायमा जानकारी नगराएका, घटना घटिसकेपछि सरासर घर गएका, पछि छलफल हुँदा अभियुक्त पुष्पबहादुर कार्की, केशवप्रसाद सुवेदीले आधी आधी रकम बुझाउँछौ भनी पुष्पबहादुर कार्कीले रू.४,००,०००।– र पुण्यप्रसाद प्रधान, खड्गबहादुर कार्कीले जनही रू.५०,०००।– गरी रू.१,००,०००।–समितिमा बुझाएका हुन् । अभियुक्त केशवप्रसाद सुवेदी फरार छन् । निजहरूले हामी श्रमिकहरूको जाहेरीमा लेखिएको रकम नगद रू.१५,१७,०००।– तिर्नु बुझाउनु पर्छ भन्नेसमेत बेहोराको प्रायः एकै मिलानको पूर्णबहादुर मगरसमेत ५ जनाको मिति २०६७।६।१६ गतेको वस्तुस्थिति मुचुल्का ।
ग्रामीण पहुँच कार्यक्रम दोस्रो चरणअन्तर्गत भोजपुरदेखि घोडेटार जाने बाटो जिल्ला सडकअन्तर्गत दलगाउँमा पर्ने १२.५७ कि.मि. क्षेत्रमा सडक बनाउने कार्यक्रम रहेकोमा उक्त सडकका आसपासका समुदायका गरिब परिवारका सदस्यहरू सडक निर्माण समूहमा रहने गर्दछन् । स्थानीय सडक उपभोक्ता समितिको निर्णय र यस कार्यक्रमको सिफारिसअनुसार स्थानीय सडक उपभोक्ता समितिका अध्यक्ष पुष्पबहादुर कार्की, कोषाध्यक्ष रामकुमार कार्की सचिव केशवप्रसाद सुवेदी रहेका र निजहरूको संयुक्त नाममा रा.वा. बैंक भोजपुर स्थित च.हि.नं. १७९० को खाता सञ्चालन भएको छ । यस कार्यक्रमबाट बिलको आधारमा रकम बैंक खातामा उपलब्ध गराइने र खाताबाट समितिका पदाधिकारीले रकम निकाली समूहमा सहजकर्तामार्फत सडक निर्माण समूहहरूलाई रकम वितरण गर्ने प्रक्रिया रहेको छ । ग्रामीण पहुँच कार्यक्रमको रकम मिति २०६८।३।१७ गते अभियुक्त पुण्यप्रसाद प्रधान, राजन भन्ने खड्गबहादुर कार्की, चन्द्रबहादुर दर्जीले जाहेरीमा लेखिएको बिगो रू.१५,१७,०००।– ठगी गरी खानुपर्छ भन्ने पुष्पबहादुर कार्की र केशवप्रसाद सुवेदीको योजना सल्लाहमा रकम लुटिएकै हो । नक्कली वारदात बनाई जाहेरवालाहरूलाई धोका दिई गफलतमा पारी ठगी गरेको धनमाल बाँडी खाई ठगी गर्ने कार्यमा मतियारको भूमिका निर्वाह गरेको पुष्टि हुन आएकोले प्रतिवादीहरू पुष्पबहादुर कार्की र केशवप्रसाद सुवेदीलाई मुलुकी ऐन, ठगीको महलको १ र ४ नं. बमोजिम कसुर अपराधमा ऐ. ४ नं. बमोजिम सजाय गरिपाऊँ । प्रतिवादीहरू पुण्यप्रसाद प्रधान, राजन भन्ने खड्गबहादुर कार्की र चन्द्रबहादुर दर्जीलाई ऐ. ठगीको १ र ५ नं. बमोजिमको कसुर अपराधमा ऐ. ५ नं. बमोजिम सजाय गरी प्रतिवादीहरू पुण्यप्रसाद प्रधान, केशवप्रसाद सुवेदी, पुष्पबहादुर कार्की, राजन भन्ने खड्गबहादुर कार्की र चन्द्रबहादुर दर्जीबाट जाहेरवालाहरूको समूहका संयोजक नरबहादुर राईले भरपाई गरी रू. ५,०००००।– बुझेको २ वटा भरपाईबाट देखिँदा रू.१५,१७,०००।– मध्येबाट रू.५,०००००।–घटाउँदा बाँकी हुने रू.१५,१७,०००।– बिगो कायम हुन आएकोले बिगो रू.१५,१७,०००।– ऐ.ऐ. ४ र ५ नं. बमोजिम जाहेरवालाहरूलाई दिलाई भराई पाउँ भन्नेसमेत बेहोराको अभियोग मागदाबी ।
मिति २०६७।६।२० गते श्रमिकहरूको पैसा लिन भनी भोजपुर बजार आई दिनको १.३० बजे राष्ट्रिय वाणिज्य बैंक भोजपुरबाट रू.३१,६५,५००।– खुद्रा थाहा भएन रकम केशवप्रसाद सुवेदी, रामकुमार कार्की र मसमेत तीन जनाले निकाली गाउँमा जाने क्रममा साँझ ५.४५ बजे दलगाउँ १ को थपिनी चौतारा भन्ने ठाउँमा पुग्दा चन्द्रबहादुर दर्जीलाई पिखुवा खोलागुम्बा भन्ने ठाउँमा भेटी रामकुमार कार्कीबाहेक हामी तीनजना गयौं । रामकुमार कार्की अर्को बाटो
गयो । हामी तीनजना थपिनी चौतारा भन्ने ठाउँमा पुग्दा हतियारधारी समूह जंगलबाट पखपख भन्दै पेस्तोल देखाउँदै २ जनाले हतियार बोकेकोमा १ जनाले मेरो कन्चटमा र एक जनाले केशवप्रसादको कन्चटमा पेस्तोल राखी एक एक जनाले झोला अड्याई हलचल गरिस् कराइस् भने मर्छस् भनी हाम्रो साथबाट झोला, मोबाइल नं. ९८४२०२५४३५ केशवप्रसादको नम्बर थाहा नभएको मोबाइल सेटसमेत लुटी चन्द्रबहादुर दर्जीको रू.३०००।– पैसा लुटी लग्यो । मैले त झोला माग्दा खेरी घोरेटार आइज भने । हामीलाई लुट्दा लुट्दै राजन कार्की पनि आएको थियो । लुटी सकेपछि पुण्यप्रसाद प्रधान र खड्गबहादुर कार्की आएका
हुन् । हामी अलि माथि गएपछि केशवप्रसादले जिल्ला प्रहरी कार्यालयमा फोन गर्यो । हामी ५ जना घर गएका हौँ । हामीले लुटिएको बारे लिखित उजुर केही गरेनौँ । जिल्ला प्रहरी कार्यालय भोजपुरमा श्रमिकहरू र हामीबीचमा छलफल हुँदा केशवप्रसाद सुवेदी र म (पुष्पबहादुर कार्की) ले आधा-आधा रकम दिने सहमति भयो । सो सहमतिअनुसार रू.६८,०००।– रकम मैले तिरेँ । मैले ठगी नगरेको हुँदा अभियोग मागदाबीअनुसार सजाय पाउनु पर्ने होइन भन्नेसमेत बेहोराको प्रतिवादी पुष्पबहादुर कार्कीले अदालतसमक्ष गरेको बयान ।
मिति २०६७।६।२० गते बिहानको ३.०० बजे ओख्रे भन्ने स्थानमा गएर १२.०० बजे घरमा आई बसेँ । अं. ३.३० बजे केशवप्रसादले फोन गरी बेलुकीतिर खोलामा आउनु भनेकाले साँझको अं.५.०० बजे खड्गबहादुर कार्की र म खोलातिर झर्यौं । दलगाउँ गा.वि.स. वडा नं.१ मा पर्ने थपिनी चौतारामा केशवप्रसाद सुवेदी, पुष्पबहादुर कार्की र चन्द्रबहादुर दर्जींसँग भेट भयो । उनीहरूसँग झोला थिएन । चन्द्रबहादुर दर्जीसँग कोदालो थियो । त्यहाँ अपरिचित ४ जना मानिस कम्ब्याक्ट ड्रेसमा
थिए । हामीलाई देखेपछि अपरिचित व्यक्तिले हामीलाई धम्की दिएकोले हामी त्यहीँ बस्यौं । हाम्रो साथीहरू ३ जना हामी भएको ठाउँमा आए । उनीहरू अघि-अघि खड्गबहादुर र म पछिपछि लाग्यौं । अलिमाथि आएपछि के भएको हो भनी साथीहरूलाई सोध्दा हाम्रो रूपैयाँ लुटेर लगे भनी सुनाए । मैले प्रहरीलाई फोन गरौं भनेपछि खड्गबहादुरको फोनबाट केशवले जिल्ला प्रहरी कार्यालय, भोजपुरमा फोन गरी लुटिएको जानकारी दियौं । मेरो घरमा आइपुगेपछि म खाना खान भित्र
पसेँ । खानापछि बाहिर निस्कँदा कोही थिएन । केशवप्रसाद सुवेदी र पुष्पबहादुर कार्कीबाट आधा-आधा रकम तिर्ने सहमति भएकोले केशवप्रसाद सुवेदीले पैसा तिर्न नसकेकोले मैले ऋण दिएको हो भन्नेसमेत बेहोराको प्रतिवादी पुण्यप्रसाद प्रधानले अदालतमा गरेको बयान ।
मिति २०६७।६।२० गते १०.०० बजे खेतमा पानी लगाई गुम्बामा बसेको थिएँ । त्यहाँ पुष्पबहादुर कार्की र केशवप्रसाद सुवेदीसँग भेट भई साँझ ५.०० बजे हामी ३ जना जाँदै गर्दा थपिनी चौतारामा पुगेपछि कम्ब्याक्ट ड्रेस लगाएका ४ जना मुखमा कालो माक्स लगाएका मानिस आई केशवप्रसाद र पुष्पबहादुरको साथमा रहेको झोला लगे । झोला लाँदा केशवप्रसाद र पुष्पबहादुरले केही प्रतिकार गरेनन् । मसँग रहेको रू. ३०००।– रकम पनि लगे । उनीहरू लुटिएका होइनन्, लुटाएको हो । लुटिएको बाहाना बनाई ठगी गरेकोमा मलाई विश्वास लाग्छ । मैले ठगी नगरेको हुनाले अभियोग मागदाबीबाट सफाइ पाउँ भन्ने बेहोराको प्रतिवादी चन्द्रबहादुर दर्जीले अदालतसमक्ष गरेको बयान ।
मिति २०६७।६।२० गते दलगाउँ गा.वि.स. वडा नं. १ मा बाटो खनेको सहजकर्ता भएकाले बिहान १०.०० बजेदेखि साँझ ५.०० बजेसम्म त्यहाँ बसेँ । साँझ ५.०० बजेतिर पुण्यप्रसादले खोलासम्म जाउँ भनी फोन गर्यो । मैले किन जाने भन्दा केशवप्रसादले साथी बोलाएको रहेछ । हामी खोलातिर झर्दै गर्दा साँझको अं. ५.४५ बजे थपिनी चौतारामा पुग्न लाग्दा पुष्पबहादुर कार्की, चन्द्रबहादुर दर्जी र केशवप्रसाद सुवेदीसँग भेट भयो । उनीहरू चुपचाप बसिरहेका
थिए । त्यहाँ अरू चारजना मुखमा कालो पट्टी बाँधेका, झोला बोकेका, कम्ब्याक्ट ड्रेस लगाएका, हातमा पेस्तोल देखाउँदै पछाडि फर्की भनेकाले हामी पछाडि फर्कियौं । उनीहरू कता गए थाहा भएन । अरू साथीहरू हामी भएको ठाउँमा आए । के भएको भनी सोध्दा हाम्रो पैसा र मोबाइलसमेत लुटे भनेपछि मेरो मोबाइलबाट केशवप्रसाद सुवेदीले जिल्ला प्रहरी कार्यालय, भोजपुरमा फोन गरे । त्यसपछि हामी घरतिर लाग्यौं । पुण्यप्रसादको घरमा आएर पानी
खायौं । पुण्यप्रसाद घरमा नै बसे । म पनि आफ्नो घर गएँ । केशवप्रसाद सुवेदी घरतिर गए । उनीहरूले पूर्वयोजनाअनुसार लुटिए जस्तो गरी ठगी गरेका हुन् भन्नेसमेत बेहोराको प्रतिवादी राजन भन्ने खड्गबहादुर कार्कीले अदालतसमक्ष गरेको बयान ।
दलगाउँ सडक खण्डमा स्थानीय सडक उपभोक्ता समिति गठन भएको र सो समितिले आर्थिक कारोबार गर्ने गरेको थियो । उक्त समितिको अध्यक्ष पुष्पबहादुर कार्की र सचिव केशव सुवेदी भई निजहरूको नाममा रा.वा.बैंक भोजपुरमा खाता खोली सो खातामा जम्मा भएको रकममध्ये रू.१५,१७,०००।– कामदारहरूलाई बाँड्न भनी रूपैयाँ झिकेका हुन् । उक्त दिन यी प्रतिवादीहरूका साथमा खड्गबहादुर कार्की, पुण्यप्रसाद प्रधान र चन्द्रबहादुर दर्जीसमेत थिए भन्ने सुनेको हुँ । पैसा लुटिएको भन्ने कुनै प्रमाण फेला परेको छैन । निजहरूले नै पैसा लुटपिट भयो भन्ने नाटक गरेर मसमेतले पाउनु पर्ने रूपैयाँ यी प्रतिवादीहरूले ठगी गरेको हुन् भनी जाहेरवाला काजी मगरले गरेको बकपत्र ।
यी प्रतिवादीहरू पुष्पबहादुर कार्की, केशव सुवेदी, खड्गबहादुर कार्की, पुण्यप्रसाद प्रधान र चन्द्रबहादुर दर्जी भई समितिको खातामा रहेको रूपैयाँ झिकी हामीहरूसमेतले पारिश्रमिकबापत पाउने जम्मा रू.१५,१७,०००।– ठगी गरेका हुन् भन्ने बेहोराको जाहेरवालाहरू शंकर सुवेदी, बिमला कार्की र अर्जुनकुमार तामाङले गरेको छुट्टाछुट्टै बकपत्र ।
प्रतिवादीहरू केशव सुवेदी, पुष्पबहादुर कार्कीले मसमेतले सडक खनेको पारिश्रमिकबापतको रूपैयाँ निकासा गरेर लिएर गएका र निजहरूले पिखुला खोला गुम्बामा पुगेपछि उनीहरूसँग चन्द्रबहादुर दर्जी, खड्गबहादुर कार्की, पुण्यप्रसाद प्रधानसमेत भई पैसा लुटियो भनी मसमेतले पाउने पारिश्रमिकको रूपैयाँ ठगी गरेका हुन् । मैले सडकमा काम गरेको २८ दिनको पैसा बाँकी थियो । मेरो समूहको सहजकर्ता शंकर सुवेदीबाट रू. २८००।– लिएकी हुँ, अरू लिन बाँकी छ । प्रतिवादीहरूले हाम्रो पारिश्रमिकबापतको रू. १५,१७०००।– ठगी गरेका हुन् भनी झुमा मगरले गरेको बकपत्र ।
प्रतिवादी चन्द्रबहादुर दर्जीले ठगी गरेको होइन । ठगी गरिएको भनेको समयमा यी चन्द्रबहादुर दलगाउँ गा.वि.स. वडा नं. १ मा पर्ने अमले भन्ने खेतमा डुलिरहेका थिए । प्रतिवादीमध्येका केशव सुवेदी र पुष्पबहादुर कार्कीले भोजपुरबाट पैसा लाँदै गर्दा बाटोमा नै लुटियो भनेका हुन् । यस वारदातमा चन्द्रबहादुर दर्जीको संलग्नता छैन भनी प्रतिवादी चन्द्रबहादुरका साक्षी तिलकबहादुर दर्जीले गरेको बकपत्र ।
पुण्यप्रसादले ठगी गरेका होइनन् । प्रतिवादी केशव सुवेदी फरार रहेका छन् । यी केशव र पुष्पबहादुर कार्की मजदुरलाई दिने पैसा लिन गएका हुन् । निजहरूले उक्त पैसा आफैँले लुटपिट गरी लुटियो भनी ठगी गरेका हुन् भनी प्रतिवादी पुण्यप्रसाद प्रधानका साक्षी तीर्थनारायण प्रधान र लक्ष्मी प्रधानले गरेको छुट्टाछुट्टै बकपत्र ।
प्रतिवादी पुष्पबहादुर कार्की र केशव सुवेदीले साथी बोलाई पिखुवा खोलामाथि चौतारोमा आउँदा उनीहरूसँग भेट भयो । सो ठाउँमा प्रतिवादीहरू पुष्पबहादुर कार्की र केशव सुवेदी थिए । निजहरूसँग भएको झोला अपरिचित ४ जनाले लाँदै गरेको देखेको हो । तर निज प्रतिवादीहरूले कुनै प्रतिकार गरेको देखिन भनी खड्गबहादुर कार्कीले मलाई भनेको हुनाले थाहा पाएँ । उक्त झोलामा के थियो मलाई थाहा छैन भनी खड्गबहादुर कार्कीको साक्षी पुस्तकबहादुर कार्की र बलबहादुर थापाले गरेको बकपत्र ।
प्रतिवादीहरू पुष्पबहादुर कार्की र पुण्यप्रसाद प्रधानले अधिकारप्राप्त अधिकारीसमक्षको बयानमा रकम लुटिएको भनी एकै मिलानको बयान गरेका र सोही बयानलाई समर्थन हुने गरी अदालतमा समेत बयान गरेका र प्रतिवादीमध्येका केशवप्रसाद सुवेदी फरार रही सुरू म्याद नै गुजारी बसेका रहेछन् । प्रतिवादीका साक्षीहरूको बकपत्र बेहोरा जाहेरी दरखास्त, वस्तुस्थिति मुचुल्का, घटना विवरण कागज र जाहेरवालाहरू, घटना विवरण कागजमा बस्ने एवं वस्तुस्थिति मुचुल्कामा बस्ने मानिसहरूको बकपत्रसमेतलाई हेर्दा लुटिएको भनिएको रकम वास्तवमा लुटिएको वारदात स्थापित हुन सक्ने नदेखिँदा जाहेरवालासमेतका बाटो निर्माणमा संलग्न मजदुरहरूले भुक्तानी पाउनु पर्ने रकम यी प्रतिवादीहरू केशवप्रसाद सुवेदी र पुष्पबहादुर कार्कीले एक आपसमा बाँडी रूपैयाँ लुटिएको नाटक रचेको देखिन्छ । तसर्थ यी प्रतिवादीहरू केशवप्रसाद सुवेदी र पुष्पबहादुर कार्कीले अभियोग दाबीबमोजिमको कसुर अपराध गरेकोले निजहरूलाई ठगीको ४ नम्बरबमोजिम बिगो भराई बिगोबमोजिम जरिवाना र १ वर्ष ३ महिना कैद सजाय हुने ठहर्छ । अन्य प्रतिवादीहरूको हकमा ठगीको ५ नम्बरबमोजिम बराबरी सजाय हुन्छ भनी सुरू भोजपुर जिल्ला अदालतबाट मिति २०६९।२।१६ गते भएको फैसला ।
मुलुकी ऐन, ठगीको ४ नं. ले “ठगी गर्नेलाई ठगी लिएको बिगो कायम भएमा हक पुग्नेलाई बिगो भराई बिगोबमोजिम र बिगो कायम नभएमा पाँचहजार रूपैयाँसम्म जरिवाना र पाँच वर्षसम्म कैद हुनेछ” भन्ने उल्लेख छ भने ऐ. का ५ नं. ले “ठगी गर्नेसँग मिली ठगी गरेको धनमाल बाँडी लिने वा ठगी गर्नलाई मद्दत दिने वा ठगी गर्नका निमित्त गरेको कुनै लिखतमा जानी जानी साक्षी हुने व्यक्ति मतियार ठहर्छ । त्यस्तालाई ठगी गर्नेसरह सजाय हुन्छ” भन्ने उल्लेख गरेको
पाइन्छ । उल्लिखित कानूनी व्यवस्थाअनुसार ठगीको कुनै वारदातमा ठगीको कसुर गरेको ठहरेमा बिगोबमोजिम जरिवाना वा बिगो कायम नभएमा रू.५०००।– सम्म सजाय र जम्मा ५ वर्षसम्म कैद हुन सक्ने व्यवस्था छ । ठगीको कसुरमा बिगोबमोजिम जरिवाना वा रू.५०००।– भन्दा बढी गर्न पाउने देखिँदैन । उल्लिखित जरिवाना र कैद ठगीको कसुर गर्ने कुनै एक कसुरदारको निम्ति नभई ठगी गरेबापत हुन सक्ने जम्मा सजाय हो । ठगीको कसुर कुनै एक व्यक्तिले मात्र गरेको रहेछ भने उक्त सजाय सोही व्यक्तिलाई मात्र हुन्छ । धेरै जना भई एउटै ठगीको कसुर गरेको रहेछ भने ठगी गर्नमा संलग्न सबैलाई दामासाहीले सजाय हुने कुरा प्रस्ट छ । अत: सुरू अदालतले मिसिल संलग्न प्रमाणको मूल्याङ्कन नै नगरी पुनरावेदकहरूलाई कसुरदार ठहर गरी गरेको फैसलामा प्रमाण कानूनको गम्भीर त्रुटि रहेको र न्यायिक मनको समेत अभाव रहेको हुँदा उक्त फैसला बदर गरी सफाइ पाउँ भन्नेसमेत बेहोराको पुण्यप्रसाद प्रधान, खड्गबहादुर कार्की र पुष्पबहादुर कार्कीको मिति २०६९।८।१८ मा परेको पुनरावेदनपत्र ।
प्रतिवादी चन्द्रबहादुर दर्जीले अधिकारप्राप्त अधिकारी र अदालतसमक्ष बयान गर्दा वारदातस्थलभन्दा केही तल वारदात हुनुभन्दा अगाडि नै अन्य प्रतिवादीहरूसँग यी प्रत्यर्थी प्रतिवादीको भेट भएको, निजकै सामुन्नेमा यो वारदात भएको र निज उक्त वारदातपछाडि आफ्नो घरमा नगई केदार सुवेदीको घरमा बसेको भन्ने उल्लेख छ । प्रतिवादी चन्द्रबहादुर दर्जीले कहीँकतै उजुर गरेको
देखिँदैन । अदालतमा आई बकपत्र गर्ने बुझिएका मानिसहरू नारायणबहादुर कटुवाल, तेजबहादुर कार्की, पूर्णबहादुर मगर, महेन्द्रबहादुर कार्की, झुमा मगर, जाहेरवाला विमला कार्की, अर्जुन तामाङ, शंकर सुवेदी, रामबहादुर मगर, सिताराम खत्री, काजी मगर, सृजना मगरसमेतले मौकामा कागज गर्दा र अदालतमा बयान गर्दासमेत स्पष्ट रूपमा यी प्रतिवादी चन्द्रबहादुर दर्जीसमेतको मिलेमतोमा उक्त ठगीको वारदात भएको हो भन्ने लेखाएको देखिन्छ । यसरी मिसिल संलग्न प्रमाण कागजातहरूबाट कसुर प्रमाणित भइरहेको अवस्थामा समान तहका अन्य प्रतिवादीहरूलाई सजाय गरी प्रत्यर्थी प्रतिवादी चन्द्रबहादुर दर्जीसमेतलाई अभियोग माग दाबीबाट सफाइ दिने गरेको हदसम्म भोजपुर जिल्ला अदालतको फैसला त्रुटिपूर्ण रहेकोले सो हदसम्म बदर गरी अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भन्ने वादी नेपाल सरकारको तर्फबाट मिति २०६२।९।२५ मा पेस भएको पुनरावेदन ।
यसमा पुनरावेदक वादी मनबहादुर गुरूङको जाहेरीले नेपाल सरकार विरूद्ध इश्वरी भन्ने इन्द्रप्रसाद नेपालसमेत भएको फौ.पु.नं. २७१२ को मुद्दामा (ने.का.प.२०६३ नि.नं.७७६७, पृ.१२३५) एकजनाभन्दा बढी कसुरदार भएमा सजाय दामासाहीले हुने कुरा निश्चित र स्पष्ट छ भनी प्रतिपादित सिद्धान्तको रोहमा समेत सुरू फैसला फरक पर्न सक्ने देखिँदा अ.बं. २०२ नं. को प्रयोजनार्थ छलफलका लागि पुनरावेदन सरकारी वकिल कार्यालयलाई पेसीको सूचना दिई नियमानुसार पेस गर्नु भनी मिति २०६९।१२।६ मा भएको आदेश ।
यसमा प्रतिवादी पुष्पबहादुर कार्की सडक निर्माणमा संलग्न श्रमिकहरूलाई वितरण गर्ने रकम बैंकबाट झिक्न गएको, रकम झिकेर आएको तर श्रमिकहरूलाई उक्त रकम वितरण नगरिएको भन्ने तथ्य अदालतमा भएको बयानमा स्वीकार गरेको देखिन्छ । श्रमिकहरूलाई वितरण गर्न लिई आएको रकम कारण ४ जना कम्ब्याट ड्रेस लगाएका व्यक्तिहरूले लुटी लगेको देखिन्छ । पन्ध्र लाखभन्दा बढी रकम लुटिएको विषयमा यी प्रतिवादीहरूले प्रहरी कार्यालयमा जाहेरी दिनसमेत गएको देखिँदैन । बैंकबाट झिकिएको रकम लुटियो भन्ने व्यक्तिले लुटिएको तथ्य स्थापित गर्न नसकेको अवस्थामा निजको रकम लिने खाने बदनियत थिएन भन्न मिल्ने देखिँदैन । अतः निजलाई मुलुकी ऐन, ठगीको महलको १ र ४ नं. बमोजिम १ बर्ष ३ महिना कैद हुने र प्रतिवादीहरू खड्गबहादुर कार्की र पुण्यप्रसाद प्रधानलाई ठगीको कसुरमा पुष्पबहादुर कार्की र केशवप्रसाद सुवेदीसँग मिलेमतो गरेको भन्ने पुष्टि हुन नसकेकोले निजहरूलाई अभियोग दाबीबाट सफाइ दिने गरी भएको सुरू इन्साफसमेत सदर
हुन्छ । जरिवानाको हकमा दामासाहीले गर्नुपर्नेमा जनही सजाय गर्ने गरेको सुरू फैसला केही उल्टी भई बिगो रू.१०,१७,०००।– को २ जना प्रतिवादीहरू पुष्पबहादुर कार्की र केशवप्रसाद सुवेदीबाट दामासाहीले असुल उपर गरी लिने ठहर्छ भन्नेसमेत बेहोराको पुनरावेदन अदालत धनकुटाबाट मिति २०७०।१।२४ मा भएको फैसला ।
प्रतिवादी चन्द्रबहादुर दर्जीले बयानको क्रममा वारदात स्थलभन्दा केही तल प्रतिवादीहरू पुष्पबहादुर कार्की र केशवप्रसाद सुवेदीसँग भेट भएको हो । निजहरू तीनै जना उकालो जाने र पुण्यप्रसाद प्रधान र खड्गबहादुर कार्की दलगाउँ १ स्थित थपिनी चौतारोमा एकसाथ भेट भएको, निजहरू ५ जनाकै सामुन्नेमा ४ जना व्यक्तिहरूले रकम खोसी लगेको कार्य संयोग नभई योजनाबद्ध हो भन्ने देखिन्छ । वारदातको बारेमा मौकामा सुरक्षा निकायमा जानकारी गराएको नदेखिएको, गाउँमा पुगेपछि गाउँलेहरू भेला जम्मा भएको उल्लेख भए तापनि होहल्ला नगरी चुपचाप बसेको देखिएको छ । बकपत्र गर्ने व्यक्तिहरूले वारदातका सम्बन्धमा किटानी गरेको अवस्था देखिँदा यी पाँचजना प्रतिवादीको मिलेमतोमा वारदात घटेको मिसिल संलग्न कागजातहरूबाट पुष्टि भइरहेको अवस्थामा प्रतिवादीहरू पुण्यप्रसाद प्रधान, खड्गबहादुर कार्की र चन्द्रबहादुर दर्जीलाई सफाइ दिएको पुनरावेदन अदालत धनकुटाको फैसला त्रुटिपूर्ण छ । साथै मुलुकी ऐन ठगीको ५ नं. ले बिगोको दामासाहीले जरिवाना गर्ने व्यवस्था नगरेको अवस्थामा बिगो दामासाही गर्ने गरी भएको फैसला बदर गरी प्रतिवादीहरूलाई अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भन्नेसमेत बेहोराको वादी नेपाल सरकारको तर्फबाट मिति २०७०।११।११ मा यस अदालतमा परेको पुनरावेदनपत्र ।
वारदातको सम्बन्धमा मोबाइल फोनमार्फत सुरक्षा निकायमा जानकारी गराएका थियौं । अनुसन्धानको क्रममा कुनै व्यक्तिहरूले पनि मैले रकम ठगी गरेको भनी लेखाउन सकेको अवस्था छैन । मैले नरबहादुर राईलाई बुझाएको पाँच लाख रूपैयाँको भरपाई मिसिल संलग्न रहिरहेको र त्यसलाई स्वीकार गरी बिगोको अंकसमेत १५,१७,०००।– बाट १०,१७,०००।– बनाइएको अवस्थामा सजाय गर्दा सो मैले तिरी बुझाइसकेको रूपैयाँको भरपाईलाई प्रमाणयोग्य रू.१०,१७,०००।– लिई फरार प्रतिवादीसरह सजाय गरेको पुनरावेदन अदालत धनकुटाको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी अभियोग दाबीबाट सफाइ पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी पुष्पबहादुर कार्कीले यस अदालतसमक्ष गरेको पुनरावेदनपत्र ।
नियमबमोजिम पेसी सूचीमा चढी पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी नेपाल सरकारको तर्फबाट उपस्थित हुनु भएका विद्वान् उपन्यायाधिवक्ता श्री टिका भुषण घिमिरेले प्रतिवादी पुष्पबहादुर कार्कीसमेतले बैंकबाट रूपैयाँ ल्याई श्रमिकहरूलाई वितरण गर्न उपभोक्ता समितिको चेक लिई बैंक गएकोमा प्रतिवादीहरू साबित रहेका
छन् । बैंकबाट झिकिएको पैसामध्ये ३१,६५,५००।– रूपैयाँ भुक्तानी लिएकोमध्ये १०,१७,०००।– केशव सुवेदीले ५,००,०००।– कोषाध्यक्ष रामकुमार कार्कीले लिई आएकोमा १६,४८,०००।– रूपैयाँ वितरण भइसकेको छ । बाँकी रूपैयाँ प्रतिवादी पुष्पबहादुर कार्की, केशवप्रसाद सुवेदीले लुटिएको भनी गफलत गरी खाने पचाउने नियत गरेको कुरा प्रमाणित भएको छ । प्रतिवादीहरूले रूपैयाँ लुटिएको भनिए तापनि सो तथ्य प्रमाणित हुन सकेको छैन । रू. १५,१७,०००।– रूपैयाँ लुटिएको भन्नेहरूले कहीँकतै जाहेरी दिएको पनि देखिँदैन । श्रमिकहरूको पैसा २ महिनासम्म नदिई आलटाल गरी रहेकाले जाहेरी परेको हो । धेरै श्रमिकहरू भएकोले यी प्रतिवादीहरूले कुनैलाई केही रकम तिरे बुझाएको कारणले मात्र ठगीको कसुर नहुने भन्न मिल्दैन । प्रतिवादी पुष्पबहादुर कार्की र केशवप्रसाद सुवेदीलाई अन्य अभियुक्तहरूले ठगीको कसुर गर्न सघाएकोले सुरूले सफाइ दिएका प्रतिवादी चन्द्रबहादुर दर्जीसमेतलाई अभियोग दाबीबमोजिम सजाय
हुनुपर्दछ । ठगी जस्तो गम्भीर कसुर अपराध एक्लैले गरेको भन्दा सामुहिक रूपमा गरेको अपराधमा कसुरको मात्रा र गुरूत्व बढी हुन जाने हुँदा कसुरदारलाई दिइने सजायमा दामासाही गर्न मिल्ने होइन । कानूनमा सजाय दामासाहीले गर्ने भनी स्पस्ट उल्लेख भएकोमा बाहेक जनही सजाय गर्न नै न्यायसम्मत हुने भएकोले बिगोको दामासाहीले जरिवाना गरेको पुनरावेदन अदालत धनकुटाको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भनी बहस गर्नुभयो ।
पुनरावेदक प्रतिवादी पुष्पबहादुर कार्कीको तर्फबाट उपस्थित विद्वान् अधिवक्ता श्री रोहितकुमार डाँगीले प्रस्तुत मुद्दाको वारदातलाई ठगीको कसुर मानी सुरूबाट भएको फैसला त्रुटिपूर्ण रहेको छ । ग्रामीण पहुँच कार्यक्रमअन्तर्गत भोजपुर घोडेटार जिल्ला सडक निर्माण समूहको श्रमिकहरूको काम गरेको पैसा दिनको लागि राष्ट्रिय वाणिज्य बैंक भोजपुरबाट नगद लिई आउँदा हतियारधारी कम्ब्याट ड्रेस लगाएका व्यक्तिहरूले लुटी लगेको तथ्य समर्थित भइरहेको अवस्थामा ठगीको कसुर भयो भनी भन्न मिल्दैन । पुष्पबहादुर कार्कीबाट जाहेरवालाले मौकैमा ५ लाख रूपैयाँ बुझी भरपाइसमेत गरिदिएको अवस्थामा ठगीको महलको ३ नं. बमोजिम ठगीको कसुर हुन सक्दैन । सुरू अदालतले फैसला गर्दा ठगीको कसुर कायम गरी जरिवानातर्फ बिगोको जनही जरिवाना गरेकोसमेत कानूनसम्मत नरहेको भनी वैकल्पिक जिकिर पनि प्रस्तुत गर्नुभयो ।
उपर्युक्त बहस जिकिरहरू सुनी पुनरावेदनसहितको सुरू मिसिल संलग्न कागजातहरू अध्ययन गरी हेर्दा यसमा पुनरावेदन अदालत, धनकुटाले प्रतिवादीहरू मध्ये पुष्पबहादुर कार्की र केशवप्रसाद सुवेदीलाई मुलुकी ऐन, ठगीको १ र ४ नं. बमोजिम कसुर गरेको ठहराई १ वर्ष ३ महिना कैदको सजाय गरी बिगोबमोजिम दामासाहीले जरिवाना गरी बाँकी प्रतिवादीहरूलाई अभियोग दाबीबाट सफाइ दिने गरी फैसला भएकोमा सजाय ठहर भएउपर सफाइ पाउँ भनी प्रतिवादी पुष्पबहादुरको र सफाइ पाएउपर वादी नेपाल सरकारको तर्फबाट प्रस्तुत पुनरावेदन पर्न आएको देखियो ।
२. प्रस्तुत मुद्दाको तथ्यलाई नियाल्दा ग्रामीण पहुँच कार्यक्रमअन्तर्गत भोजपुर जिल्लामा सडक बनाउने कार्यक्रम रहेको र सो कार्यक्रम उपभोक्ता समितिमार्फत गराउने भनी प्रतिवादी पुष्पबहादुर कार्कीको अध्यक्षतामा उपभोक्ता समिति गठन भएको रहेछ । त्यसको सचिव केशवप्रसाद सुवेदी र कोषाध्यक्ष रामकुमार कार्की रहेछन् । मिति २०६७।६।२० मा उक्त सडक उपभोक्ता समितिको खातामा सडक निर्माण समूहमा रहेका श्रमिकहरूको पारिश्रमिक दिने प्रयोजनका लागि रू.३१,६५,६४८।– जम्मा गरी दिएको र सो रकम प्रतिवादी पुष्पबहादुर कार्की, प्रतिवादी केशवप्रसाद सुवेदी र कोषाध्यक्ष रामकुमार कार्कीले चेकमार्फत रू. ३१,६५,०००।– झिकेको तथ्यमा कुनै विवाद देखिँदैन । उक्त रकममध्ये केशवप्रसाद सुवेदी र पुष्पबहादुर कार्कीले रू.१५,१७,०००।– र कोषाध्यक्ष रामकुमार कार्कीले अन्य रूपैयाँ जिम्मा लिएकोमा रामकुमार कार्कीले रकम सकुशल ल्याई श्रमिकहरूलाई वितरण गरिदिएका रहेछन् । प्रतिवादी पुष्पबहादुर कार्की र केशवप्रसाद सुवेदीले जिम्मा लिएको १५,१७,०००।– रूपैयाँ ४ जना अपरिचित कम्ब्याट ड्रेस लगाएका व्यक्तिहरूले लुटी लगेको भनी प्रतिवादी पुष्पबहादुर कार्की र केशवप्रसाद सुवेदीले श्रमिकहरूको रूपैयाँ वितरण गर्न इन्कार गरेकोले प्रस्तुत मुद्दाको उठान भएको देखिन्छ ।
३. ठगीको वारदात स्थापित हुन अर्काको हकको सम्पत्ति लिने खाने उद्देश्यले धोका गफलत परिपञ्च गरेको देखिनु पर्ने हुन्छ । ठगी अपराधको मूलभूत तत्त्व आफ्नो हक नपुग्ने अर्काको हकको सम्पत्ति लिने दिने दिलाउने नियतले ललाई फकाई गरी विश्वासमा पार्ने, जाल परिपञ्चमा पार्ने, धोका गफलतमा पार्ने आदि जुनसुकै वा कुनै तत्त्व अन्तर्निहित हुन सक्दछ । कुनै पनि किसिमको धोकाजन्य व्यवहार गरेर अर्काको हकको चल अचल सम्पत्ति लिने खाने नियत राखेको प्रमाणित हुन्छ भने त्यो कार्य ठगीको कसुरअन्तर्गत पर्दछ । लुटिएको भनिएको रकम श्रमिकहरूको हो भनी प्रतिवादी पुष्पबहादुर कार्कीले स्वीकार गरिरहेको, लुटिएको वारदातका सम्बन्धमा प्रहरीमा कुनै उजुर गरेको छैन भनी बयान गर्दा स्वीकार गरेको र श्रमिकको हकको रकम लुटिएको तथ्य समर्थित हुने कुनै विश्वसनीय प्रमाण पेस गर्न सकेको देखिँदैन । यसबाट निजको कार्य मुलुकी ऐन, ठगीको महलले गरेको परिभाषाभित्र पर्ने नै देखियो ।
४. प्रतिवादी पुष्पबहादुर कार्कीसमेत सडक निर्माणमा संलग्न श्रमिकहरूलाई वितरण गर्ने रकम बैंकबाट झिक्न गएको, रकम झिकेर आएको तर श्रमिकहरूलाई उक्त रकम वितरण नगरिएको भन्ने तथ्य प्रतिवादीहरूले अदालतसमेतको बयानमा स्वीकार गरेको देखिन्छ । श्रमिकहरूलाई रूपैयाँ वितरण गर्न नसक्नाको कारणको रूपमा भोजपुर जिल्लाको सदरमुकामबाट रूपैयाँ लिई आउने क्रममा ४ जना कम्ब्याट ड्रेस लगाएका व्यक्तिहरूले रकम लुटी लगेको भन्ने जिकिर प्रतिवादी पुष्पबहादुर कार्कीको रहेको देखिन्छ । पन्ध्र लाखभन्दा बढी रकम लुटिएको विषयमा यी प्रतिवादीले प्रहरी कार्यालयमा जाहेरी दिनसमेत गएको देखिँदैन । निजले मौकामा तथा अदालतमा बयान गर्दा रकम लुटिएको विषयमा यो यस्तो निकायमा उजुर दिएको छु भनी लेखाउन सकेकोसमेत पाइँदैन । बैंकबाट झिकिएको रकम लुटियो भन्ने व्यक्तिले लुटिएको तथ्य स्थापित गर्न नसकेको अवस्थामा निजको रकम लिने खाने बदनियत थिएन भनी अनुमान गर्न सक्ने अवस्था पनि रहेन ।
५. प्रतिवादीहरूले श्रमिकहरूलाई धोका दिने नियतले लुटपिटको वारदात भएको होइन । श्रमिकहरूको चार लाख रूपैयाँ असुल गरी बाँकी पछि तिर्ने बुझाउने गरी कागज गराइसकेकोले ठगीको महलको ३ नम्बरबमोजिम ठगीको वारदातमा मुद्दा चल्न सक्दैन भन्ने पुनरावेदन जिकिरका सम्बन्धमा विचार गर्दा मिति २०६७।८।१० गते पुष्पराज कार्की रकम बुझाउने र नरबहादुर राई रकम बुझिलिने व्यक्ति बनी पुष्पराज कार्कीबाट चार लाख रूपैयाँ बुझिलिएको भरपाई खडा गरेको देखिन्छ । प्रथमतः उक्त भरपाई ठगिने व्यक्तिले गरेको देखिँदैन भने दोस्रो उक्त भरपाई लिखतलाई भाखा तमसुक भन्न पनि मिल्ने
देखिँदैन । कुनै व्यक्तिले एकभन्दा बढी व्यक्तिको हक पुग्ने सम्पत्ति लिने खाने बदनियतले धोखा दिने कार्य गरी चलअचल लिए खाएको अवस्थामा कुनै एक जनासँग भरपाई लिखत गराएकै आधारमा ठगीको कसुरमा मुद्दा नै नचल्ने, ठगीमा सजाय नै नहुने भन्न मिल्ने देखिँदैन । ठगीने व्यक्तिले ठगी गर्नेलाई पक्री भाखा तमसुक गराई राखेको भन्ने वाक्यांशले ठगिने जति सबैको हकको धनमाल पाउन सक्ने गरी भाखा तमसुकको लिखत भएको भन्ने जनाउँदछ । तर उनाउ व्यक्तिसँग गराई लिएको लिखतलाई ठगीको महलको ३ नम्बरबमोजिमको तमसुक रहेछ भनी मान्न मिल्ने देखिएन ।
६. त्यसैगरी लुटपिट भएको देख्ने प्रतिवादीहरू बाहेक चश्मदिद गवाहहरू कोही नभएको प्रस्तुत मुद्दामा प्रतिवादी पुष्पबहादुर कार्की, केशवप्रसाद सुवेदी र रामकुमार कार्कीले बैंकबाट रू.३१,६५,०००।– झिकेको तथ्यमा कुनै विवाद देखिँदैन । उक्त रकममध्ये केशवप्रसाद सुवेदी र पुष्पबहादुर कार्कीले १५,१७,०००।– रूपैयाँ जिम्मा लिएको र बाँकी रकम कोषाध्यक्ष रामकुमार कार्कीले जिम्मा लिएको देखियो । रकम बैङ्कबाट भुक्तानी लिएपछि प्रतिवादी पुष्पबहादुर कार्की र केशवप्रसाद सुवेदी साथै रहेका र प्रतिवादी रामकुमार कार्कीभन्दा अलग बाटो गरी घर फर्किएको देखिन्छ । रामकुमार कार्कीले उक्त रकम सम्बन्धित व्यक्तिहरूलाई बुझाएको देखियो । एकै साथ, एउटै प्रयोजनको लागि, एउटै बैङ्कबाट रकम झिकी एकै ठाउँमा जानुपर्ने मानिसहरू अलग अलग बाटोबाट फर्किएको अवस्था देखिन्छ । प्रतिवादीहरू पुष्पबहादुर कार्की र केशवप्रसाद सुवेदीले पुण्यप्रसाद प्रधान र खड्गबहादुर कार्कीलाई बोलाएकोमा निजहरू वरदात स्थलमा पुग्नु र अकस्मात लुटेराहरू सोही स्थानमा आई पुग्नु निज प्रतिवादीहरूको लुटिएको भन्ने कथनलाई विश्वसनीय मान्न सक्ने देखिँदैन । त्यसमा पनि रकम लुटिसकेपछि गुहार माग्ने वा रकमको खोजी गर्ने तथा सुरक्षा निकायमा खबर गर्ने कुनै कार्य मौकामा गरेको देखिँदैन भने यी सबै प्रतिवादीहरूले कम्ब्याक्ट लगाएका व्यक्तिहरूलाई नाटक गरी बोलाएको रहेछ भन्ने बयान गरेबाट पनि पुष्पबहादुर कार्कीको बयान खण्डित भएको देखिन्छ । यसबाट पनि ठगीको वारदातमा निजहरूको प्रत्यक्ष संलग्नता थियो भनी मिसिल संलग्न प्रमाण कागजातहरू एवं घटनाको प्रकृति तथा निजहरूकै बयान बेहोराबाट देखिइरहेको छ ।
७. अतः लुटिएको भनिएको रकम श्रमिकहरूको हो भनी प्रतिवादी पुष्पबहादुर कार्कीले स्वीकार गरिरहेको, लुटिएको वारदातका सम्बन्धमा प्रहरीमा कुनै उजुर गरेको छैन भनी बयान गर्दा स्वीकार गरेको र श्रमिकको हकको रकम लुटिएको तथ्य समर्थित हुने कुनै विश्वसनीय प्रमाण पेस गर्न नसकेको अवस्थामा यी प्रतिवादीले श्रमिकहरूलाई धोका दिने नियतले काल्पनिक वारदात खडा गरी रकम लिने खाने नियतले आफ्नो हक नपुग्ने अर्काको हकको सम्पत्ति लिने दिने दिलाउने नियतले ललाई फकाई गरी विश्वासमा पारी, जाल परिपञ्चमा पार्ने, धोका गफलतमा पारी धोकाजन्य व्यवहार गरेर अर्काको हकको चलअचल लिने खाने नियत राखेको प्रमाणित भएको उपर्युक्त विवेचित कारण र आधारहरूबाट देखिँदा प्रतिवादी पुष्पबहादुर कार्की र सुरू म्याद गुजारी बस्ने केशवप्रसाद सुवेदीलाई मुलुकी ऐन, ठगीको महलको १ र ४ नम्बरबमोजिमको कसुर गरेको ठहर्याई निजहरूलाई ऐ. ४ नम्बर बमोजिम १ वर्ष ३ महिना कैद र बिगोको दामासाहीले सजाय गर्ने ठहराई भएको पुनरावेदन अदालत धनकुटाबाट भएको फैसला अन्यथा देखिँदैन ।
८. अब सफाइ पाउने प्रतिवादीहरू पुण्यप्रसाद प्रधान, चन्द्रबहादुर दर्जी र राजन भन्ने खड्गबहादुर कार्कीको हकमा विचार गर्दा ठगी गरेर खाएको रकम बाँडी खाएको नदेखिएको, निजहरूले अधिकारप्राप्त अधिकारी र अदालतमा समेत बयान गर्दा केशवप्रसाद सुवेदीले साथी बोलाएकोले गुम्बासम्म गएको भनी बेहोरा लेखाइदिएको देखिन्छ । थपेनी चौतारामा पुग्दा कम्ब्याक्ट ड्रेस लगाएका चारजना मानिस थिए भनी भनेको तर त्यो यी पुष्पबहादुर कार्की र केशवप्रसाद सुवेदीको नाटक थियो भनी बताएको देखिन्छ । यसबाट लुटिएको वारदात देखाउन केशवप्रसाद सुवेदी तथा पुष्पबहादुर कार्कीले यी तीनै जनालाई वारदात स्थलमा बोलाएको देखिँदा उक्त ठगीको कसुरमा तीनै जनाको कुनै मिलेमतो वा संलग्नता मिसिल संलग्न कागजातहरूबाट नदेखिएको अवस्थामा निजहरूलाई अभियोग दाबीबाट सफाइ दिने गरेको फैसला अन्यथा भन्न सक्ने देखिँदैन । अतः पुनरावेदन अदालत धनकुटाबाट मिति २०७०।१।२४ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । अभियोग दाबीबमोजिमको कसुर अपराध नगरेको हुँदा आरोपित अभियोग दाबीबाट सफाइ पाउँ भन्ने प्रतिवादी पुष्पबहादुर कार्कीको पुनरावेदन जिकिर र सजाय दामासाही गर्ने गरेको हदसम्म निज पुष्पबहादुर कार्की र केशवप्रसाद सुवेदी तथा सफाइ पाएका प्रतिवादीहरूका हकमा अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भन्ने वादी नेपाल सरकारतर्फको पुनरावेदन जिकिर उपर्युक्त आधार कारणहरूबाट पुग्न सक्ने देखिएन । दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाई दिनू ।
उक्त रायमा सहमत छु ।
न्या. अनिलकुमार सिन्हा
इजलास अधिकृत श्री यदुराज शर्मा
इति संवत् २०७४ साल फाल्गुण २३ गते रोज ४ शुभम् ।