शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १०१०० - कुटपिट अङ्गभङ्ग

भाग: ६० साल: २०७५ महिना: पौस अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास 

माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ

माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत

फैसला मिति : २०७४।८।२६

 

मुद्दाः कुटपिट अङ्गभङ्ग

 

०७१-CR-११०३

पुनरावेदक / प्रतिवादी : जिल्ला धनुषा कनकपट्टी गाउँ विकास समिति वडा नं.३ बस्ने रामलाल चमार

विरूद्ध

प्रत्यर्थी / वादी : बुधनराम चमारको जाहेरीले नेपाल सरकार

 

०७१-CR-११०४

पुनरावेदक / प्रतिवादी : जिल्ला धनुषा, कनकपट्टी गाउँ विकास समिति वडा नं. ३ बस्ने जिवछ यादव

विरूद्ध

प्रत्यर्थी / वादी : बुधनराम चमारको जाहेरीले नेपाल सरकार

 

कसुरदारलाई सजाय गरी अपराधको रोकथाम र नियन्त्रण गरी समाजमा शान्ति सुव्यवस्था कायम गर्ने फौजदारी न्यायको उद्देश्य हो । कसुरदारलाई आउदो समयमा अपराधिक कार्य गर्नबाट हतोत्साह गर्ने र आफ्नो कार्य प्रति पश्चातापको सिर्जना गर्नु, कसुरको मात्राअनुसार सजाय गर्नु दण्डप्रणालीको महत्त्वपूर्ण उद्देश्य हो । कसुरदारलाई सजाय तोक्दा दण्ड गरे जस्तो मात्र पनि देखिनु हुँदैन । कसुरको मात्रा र गाम्भीर्यअनुसार दण्ड पाएको अनुभुति गरी पश्चातापको वातावरण सिर्जना हुने किसिमले दण्ड गर्नुपर्ने ।

मुलुकी ऐन, कुटपिटको महलको ६ नं. मा दामासाहीले सजाय गर्नुपर्ने भन्ने व्यवस्था रहेको पनि देखिँदैन । जब कानूनले दामासाहीले सजाय हुन्छ भनी स्पष्ट नगरेको अवस्थामा प्रस्तुत वारदातको घटनाक्रम, प्रतिवादीहरूको संख्या तथा पीडितउपर परेको घा खतसमेतलाई दृष्टिगत गर्दा प्रतिवादीहरूलाई जनही सजाय गर्दा नै फौजदारी न्यायको उद्देश्य तथा कुटपिटको महलको ६ नं. को कानूनी व्यवस्थाको मक्सद पूरा हुने ।

(प्रकरण नं.५)

 

पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ता श्री महादेवप्रसाद यादव, विद्वान्‌ अधिवक्ता श्री सतिसकुमार झा

प्रत्यर्थी / वादीका तर्फबाट :

अवलम्बित नजिर :

सम्बद्ध कानून : 

 

सुरू तहमा फैसला गर्नेः

माननीय न्यायाधीश श्री विमलप्रसाद ढुङ्गेल

धनुषा जिल्ला अदालत

पुनरावेदन तहमा फैसला गर्नेः

माननीय न्यायाधीश श्री तेजबहादुर के.सी.

माननीय न्यायाधीश श्री द्वारिकामान जोशी

पुनरावेदन अदालत जनकपुर

 

फैसला

न्या.विश्वम्भरप्रसाद श्रेष्ठ : तत्कालीन न्याय प्रशासन ऐन, २०४८ को दफा १२ बमोजिम यसै अदालतको अधिकार क्षेत्रभित्र पर्ने भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार रहेको छः-

मिति २०६३।७।३ गतेको राति अं. ८ बजेको समयमा म जाहेरवाला तथा पिता असर्फी राम चमार, जोगिन्दररामसमेत जोगिन्दररामको घर दरबाजामा बसी आफ्नो रोजगारीको सम्बन्धमा कुरा कानी गरिरहेको अवस्थामा एक्कासी विपक्षी जिवछ यादवसमेत हात हातमा खुकुरी, फलामे रड लाठीसमेत बोकी आई हामीलाई चारैतर्फबाट घेराउ गरी हाम्रो शरीरमा जत्र तत्र प्रहार गरी मसमेतलाई अङ्ग भंग पारी घाइते बनाई भागी फरार भएको हुँदा निजहरूलाई खोज तलास गरी कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको जाहेरी दरखास्त । 

जिल्ला धनुषा कनकपट्टी गाउँ विकास समिति वडा नं. ३ स्थित जोगिन्दरराम चमारको घर आँगन दरबाजा रहेको । निजको घरभन्दा पूर्व अगाडि आँगन रहेको, सोही आँगनमा जोगिन्दरराम चमार, असर्फी राम चमार र बुधन राम बसी कुरा गरिरहेको अवस्थामा प्रतिवादी जिवछ यादवसमेतले हात हातमा खुकुरी, फलामे रड, लाठीसमेत प्रहार गरी घाइते पारेको ठाउँको घटनास्थल मुचुल्का । 

बुधन राम चमार, जोगिन्दरराम चमार, असर्फी राम चमारसमेतको अङ्ग शरीरमा विभिन्न ठाउँमा चोटपटक लागेको हो भन्नेसमेत बेहोराको घाउ जाँच केस फारम रिपोर्ट । 

मिति २०६३।७।३ गते राति अं. ८ बजेको समयमा मलगायत मेरो छोरा बुधन राम र जोगिन्दररामसमेत जोगिन्दररामको दरबाजामा बसी आफ्नो रोजगारीसम्बन्धी कुरा गरिरहेको अवस्थामा प्रतिवादीहरू मिली हात हातमा खुकुरी, रड, लाठीसमेत बोकी आइ मसमेत माथि जथाभावी प्रहार गर्न लाग्दा प्रतिवादी जिवछले प्रहार गरेको लाठीबाट जोगिन्दरको बायाँ खुट्टा भाँचेको, लक्ष्मण यादवले प्रहार गरेको लाठीले जोगिन्दररामको बायाँ हात भाँचेको, राम लखन चमारले प्रहार गरेको लाठीले जोगिन्दररामको दाहिने हात भाँचेको देखी खुकुरी, लाठी, रड प्रहार गर्दा मेरो दाहिने हात भाँचेको, बायाँ खुट्टामा काटेको र टाउको काटेको हो । निज प्रतिवादीहरूको प्रहारबाट मेरो छोरा बुधन राम चमारको बायाँ हात भाँचेको, टाउको हातसमेत काटी घाउ भएको हो भन्नेसमेत बेहोराको असर्फी राम चमारको घटना विवरण ।

असर्फी राम चमारको कागजलाई पूर्ण समर्थन हुने गरी जोगिन्दरराम चमारले गरेको घटना विवरण कागज ।

मिति २०६३।७।३ गते राति अं. ८ बजेको समयमा बुधन राम चमारको निजको बाबु असर्फी राम चमार जोगिन्दरराम चमारको दरबाजामा बसी कुराकानी गरी रहेको अवस्थामा जाहेरी दरखास्तमा उल्लिखित प्रतिवादीहरू मिली हात हातमा लाठी, रड, खुकुरीसमेत बोकी जाहेरवाला लगायत जोगीन्द्र, बुधन राससमेतलाई कुटपिट गरी घाइते बनाएको हो भन्नेसमेत बेहोराको घटना विवरण कागज । 

प्रतिवादीहरू जिवछ यादव, लक्ष्मण यादव, रमेश यादव, रामलाल चमार, दिलीप कुमार राम चमार, सिकिन्दर चमार, लक्ष्मण राम चमार, श्याम ठाकुर, योगेन्द्र साह, विरेन्द्र साहले मुलुकी ऐन कुटपिटको १, २, ५, १८ नं. को कसुर गरेको देखिन्छ । अत: प्रतिवादीहरू जिवछ यादव, लक्ष्मण यादव, रमेश यादव, रामलाल चमार, दिलीपकुमार राम चमार, सिकिन्दर राम चमार, लक्ष्मण राम चमार, श्याम ठाकुर, योगेन्द्र साह, विरेन्द्र साहलाई कुटपिट महलको ६ नं. अनुसार सजाय गरी ऐ. १८ नं. र जिवछ यादवले वचन दिएकोले कुटपिटको १६ नं. अनुसार थप सजाय हुन साथै उक्त घटना वारदातबाट पीडित घाइतेहरू जोगिन्दरराम चमार, असर्फी राम चमार, बुधन राम चमारले घा खर्चको बिल भरपाइ पेस गरेमा कुटपिटको ६ नं. अनुसार घा खर्च भराई दिनसमेत मागदाबी गरिएको छ भन्नेसमेत बेहोराको अभियोग पत्र । 

म ज्वरोको बिरामी भएकोले मिति २०६३।७।३ गते आफ्नै घरमा थिएँ । जाहेरवालाहरूलाई कसरी घा चोट लाग्यो मलाई थाहा छैन । मैले घटना वारदात गरेको छैन । सो घटनामा गएको पनि छैन । म ज्वरोको बिरामी भएकोले अभियोग दाबीअनुसार सजाय पाउनु पर्ने होइन । अभियोग दाबीबाट सफाइ पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी सिकिन्दर राम चमारले अदालतमा गरेको बयान । 

मउपरको जाहेरी बेहोरा झुठ्ठा हो । घटना विषयमा मलाई थाहा पनि छैन । म काठ मिस्त्रीको काम गर्छु । पीडितलाई कसले कुटे त्यो पनि थाहा छैन | मलाई फसाउन झुठ-जाहेरी दिएका हुन् । जाहेरवालालाई कुटपिट गरेको छैन । अभियोग दाबीबाट सफाइ पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी श्याम ठाकुरले गरेको बयान । 

जाहेरवालालाई कुटपिट गरेको छैन । कुटपिट भएको भनिएको दिन जिल्ला महोत्तरी गाउँ विकास समिति बलेवामा थिएँ । त्यहाँ बिरामी परी उपचार गराई निको भई मिति २०६३।७।८ गते मात्र आफ्नो घर फर्की आएको हुँ, घटना सम्बन्धमा केही थाहा छैन । अभियोग मागदाबीअनुसार अपराध नगरेकोले सजाय पाउनुपर्ने होइन भन्नेसमेत बेहोराको प्रतिवादी लक्ष्मण राम चमारले गरेको बयान । 

मिति २०६३ साल असोज २८ गते आफ्नो ससुराली यसै जिल्लाको इटहर्वा गई कार्तिक १२ गते घर फर्की आएको हुँ । जाहेरवालालाई कुटपिट गरेको छैन । मउपरको जाहेरी झुठ्ठा हो । मलाई फसाउन झुठ्ठा जाहेरी दिएका हुन् । घटना वारदातको दिन गाउँघरमा थिइन । अभियोग दाबीको कसुर गरेको छैन, अभियोगबाट सफाइ पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी रमेश यादवको बयान । 

यसै जिल्लाको झटियाही गाउँ विकास समितिमा पोखरी ठेक्कामा लिएकोले माछा मार्न मिति २०६३।७।३ गते बिहानै झटियाही गएको र ऐ. ४ गते २ बजे आफ्नो घर आएको हुँ । जाहेरी बेहोरा झुठ्ठा 

हो । मैले कुटपिट गरेको छैन । कसले कुटपिट गरे थाहा छैन । अभियोग मागदाबीअनुसार सजाय पाउनु पर्ने होइन भन्नेसमेत बेहोराका प्रतिवादी लक्ष्मण यादवले गरेको बयान । 

मिति २०६३।७।१ गते म आफ्नो ससुराली जिल्ला सिरहा तुल्सीपुर गाउँ विकास समिति वडा नं. ४ मा गएको र ७ गते आफ्नो घर फर्की आएको हुँ । जाहेरी बेहोरा झुठा हो । मैले जाहेरवालालाई कुटपिट गरेको छैन । घटना वारदात विषयमा केही थाहा छैन । अभियोग बेहोरा झुठ्ठा हो । तसर्थ, अभियोग दाबीबाट सफाइ पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी विरेन्द्र साहले गरेको बयान । 

यसै जिल्लाको मानसिंहपट्टी गाउँ विकास समिति बस्ने इन्दल नुनीयाको छोरीको छठीयारको निम्तामा मिति २०६३।७।३ गते निजकहाँ गएको हो र भोलि पल्ट बिहान ८ बजे घर फर्की आएको हुँ । घटना सम्बन्धमा केही थाहा छैन । जाहेरी बेहोरा झुठ्ठा 

हो । मैले कुटपिट गरेको छैन । अभियोग दाबीको कसुर नगरेकोले अभियोग दाबीबाट सफाइ पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी योगेन्द्र साह गरेको बयान । 

यस अदालतबाट जारी भएको म्यादमा प्रतिवादी जिवछ यादव, दिलीप कुमार राम चमार-१, रामलाल चमार-१ समेत हाजिर नभई सुरू म्याद गुजारी बसेको । 

प्रतिवादी जोगिन्दरका साक्षी इन्दल नोनीया-१, प्रतिवादी लक्ष्मणका साक्षी सोन्फी मण्डल-१, घटनास्थलका राम चन्द्र राम, पीडित जोगिन्दरराम, प्रतिवादी लक्ष्मणको साक्षी दिलीपकुमार महरा, पीडित असर्फी राम चमार, प्रतिवादी रमेशको साक्षी बेचन राम, प्रतिवादी श्याम ठाकुरको साक्षी विन्धनाथ मण्डल, प्रतिवादी लक्ष्मण रामको साक्षी रामविलास महरा-१, प्रतिवादी विरेन्द्र साहको साक्षी जगवीर साहको बकपत्र भई मिसिल सामेल रहेको ।

प्रतिवादीमध्येका जिवछ यादव, रामलाल राम चमार र दिलिपकुमार चमारले सुरू म्यादै गुजारी बसेको देखिँदा निजहरूको हकमा अ.बं. १९० ले मुल्तबी रहने ठहर्छ । असर्फी राम र बुधन रामलाई परेको घा खत कुटपिटको २ नं. को परिभाषाबमोजिमको अङ्गभङ्गको परिधिभित्र नपर्ने अवस्था देखिएकाले निजहरूको हकमा सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ को दफा २७ बमोजिम दुनियावादी फौजदारी कुटपिटतर्फ परिणत हुने ठहर्छ । पीडित जोगिन्दररामको घा जाँच केस फारामबाट निजको देब्रे खुट्टाको Tibia र Fibula र दाहिने हातको Humerus Bone भाँचिएको देखिएको र सो कुरा पीडितको बकपत्रसमेतबाट प्रतिवादी लक्ष्मण यादवसमेतले प्रहार गरी भाँचिदिएको भनी उल्लेख भएको हुँदा प्रतिवादी लक्ष्मण यादव, रमेश यादव, विरेन्द्र साह, योगेन्द्र साह, श्याम ठाकुर, लक्ष्मण राम, सिकिन्दर रामलाई कुटपिटको ६ नं. ले जनही २/२ वर्ष कैद र रू.५०००।- (पाँच हजार) जरिवाना हुने ठहर्छ भन्नेसमेत बेहोराको धनुषा जिल्ला अदालतको मिति २०६६।१।२८ गतेको फैसला । 

मिति २०६३।७।३ गते राति म आफ्नो गाउँ घरमै थिइन । टिल्हीमा थिएँ । मैले कुटेको,खुट्टा भाँचेको भन्ने भनाइ झुठ्ठा हो, अभियोग दाबीअनुसार मैले कुनै कसुर अपराध गरेको छैन, मैले कुटपिट गरेको छैन । म निर्दोष हुँदा अभियोग दाबीबाट सफाइ पाउँ भन्नेसमेतको प्रतिवादी जिवछ यादवको बयान । 

प्रतिवादी जिवछ यादवको साक्षी डोमा यादव र विष्णुदेव साहले बकेको बकपत्र । 

प्रतिवादी रामलाल चमार र दिलिपकुमार चमार वारदातमा संलग्न रहेको कुरा वादीका साक्षीका बकपत्रबाट पुष्टि भएको हुँदा निजहरूलाई जनही २/२ वर्ष कैद र रू. ५ हजार जरिवाना हुने र प्रतिवादी जिवछ यादव कसुरमा इन्कार रहेको र सो कुरा निजको साक्षीबाट पुष्टि भएको देखिँदा निजले अभियोग दाबीबाट सफाइ पाउने ठहर्छ भन्नेसमेत बेहोराको धनुषा जिल्ला अदालतको मिति २०६७।११।१ गतेको फैसला । 

सुरूले गरेको फैसलामा हाम्रो चित्त बुझेन । जनकपुर अञ्चल अस्पतालबाट जाँच हुँदा पीडित जोगिन्दर रामको खुट्टा र हात पूर्ण काम लाग्ने भनेको 

छ । यसरी काम लाग्ने वा आंशिक काम लाग्ने भइसकेपछि कुटपिटको २ नं. को परिभाषाबमोजिम अङ्गभङ्ग भन्न मिल्दैन । पीडितले बकपत्र गर्दा हामी प्रतिवादीले निजलाई के कहाँ प्रहार गरेको हो सो कुरा उल्लेख गर्न सकेको छैन । हामीले निजलाई प्रहार गरेको कुरा कुनै प्रमाणबाट पुष्टि नभएको अवस्थामा अन्य प्रतिवादीले २ वर्षका दरले ८ वर्ष कैद काटिसकेकोमा पनि हामीले जनही २ वर्ष कैद र जरिवाना गर्ने गरी सुरूले गरेको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी अभियोग दाबीबाट सफाइ पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी लक्ष्मण राम र श्याम ठाकुरको पुनरावेदन पत्र । 

अ.बं. १९० नं. बमोजिम वारेन्ट जारी हुने मुद्दा मुल्तबी हुने हो । अङ्गभङ्ग मुद्दा वारेन्ट जारी हुने मुद्दा नभएकोमा पनि ३ जना प्रतिवादीको हकमा मुल्तबी राख्ने गरी भएको फैसला मिलेको छैन । त्यसै गरी पीडित असर्फी रामको देब्रे खुट्टाको LB. Fibula को हाडमा Fracture भएको र अर्को बुधन रामको दाहिने पाखुरामा कटाई Gravois प्रकृतिको हो भनी घाउजाँच हुँदा लेखाएकोमा कुटपिटको महलको २ नं. को परिभाषाभित्रको वारदातलाई कुटपिटतर्फ परिणत गरेको फैसला आत्मनिष्ठ छ । पीडितको अङ्ग भाँचिएर सामान्य काम लाग्ने अवस्थामा भएपनि ४ वर्ष कैद गर्नुपर्नेमा २ वर्ष मात्र कैद गरेको र कुटपिटको १८ नं. ले हुल भई कुटपिट भएको तथ्य स्थापित भएकोमा सोतर्फ समेत सजाय गर्नुपर्नेमा सोसमेत नगरी भएको फैसला त्रुटिपूर्ण हुँदा सो हदसम्मको फैसला बदर गरी अभियोग माग दाबीबमोजिम सजाय गरिपाउँ भन्ने वादी नेपाल सरकारको पुनरावेदनपत्र । 

यसमा कुटपिटअन्तर्गत अङ्गभङ्ग मुद्दा वारेन्ट जारी हुने मुद्दा नभएको अवस्थामा फरार रहेका प्रतिवादीहरूको हकमा मुल्तबी राखी दिएको, हुल भई कुटपिट गरेकोमा हुलतर्फ सजाय भएको नदेखिएको साथै अङ्गभङ्गतर्फ जनही २ वर्ष कैद हुने ठहर्‍याई सुरूबाट भएको फैसला फरक पर्न सक्ने देखिँदा अ.बं. २०२ नं. बमोजिम पुनरावेदक प्रतिवादीहरूको पुनरावेदन परेको देखिँदा निजहरूलाई अदालतमै म्याद बुझाइदिने र मुल्तबी हुने प्रतिवादीहरूलाई ऐनबमोजिम झिकाउने र लक्ष्मण राम चमार र श्याम ठाकुरसमेतको पुनरावेदन परेको सूचना पुनरावेदन सरकारी वकिल कार्यालय जनकपुरलाई दिई नियमानुसार पेस गर्नु भन्ने पुनरावेदन अदालत जनकपुरको मिति २०६७।१०।१२ गतेको आदेश । 

पीडितहरूको चोटको प्रकृतिबाट धेरैजना हुल भई कुटपिट गरेको तथ्य स्थापित भएको पाइन्छ । सोही बेहोरालाई समर्थन गरी अदालतमा बकपत्र भएको पाइन्छ । धेरै जनाको हुल समूहले घटना घटाएकोमा Principle of common intention र Principle of common object को सिद्धान्त आकर्षित हुन जाने हुँदा सबै प्रतिवादी जिम्मेवार हुनुपर्ने हुन्छ । प्रस्तुत मुद्दामा प्रतिवादीहरू जिवछ यादव, रामलाल र दिलिपसमेतको संलग्नता प्रमाणित भइरहेकोमा समान अवस्थाका प्रतिवादीमध्ये कसैलाई कसुर ठहर र कसैलाई सफाइ दिने गरी भएको फैसला त्रुटिपूर्ण हुनुको साथै पीडितको दुईवटा अङ्ग भाँचिएको र काम लाग्ने भएपनि कुटपिटको ६ नं. ले ४ वर्ष कैद र हुलतर्फ जरिवाना गर्नुपर्नेमा प्रतिवादी रामलाल र दिलिपलाई जनही २ वर्ष कैद गरेको फैसला सो हदसस्म त्रुटिपूर्ण हुँदा बदर गरी प्रतिवादी जिवछ यादवलाई अभियोग दाबीबमोजिम र प्रतिवादी रामलाल र दिलिपलाई जनही ४ वर्षको र रू. ७५,४००।- जरिवाना गरिपाउँ भन्नेसमेत बेहोराको वादी नेपाल सरकारको पुनरावेदनपत्र । 

सुरूले गरेको फैसलामा मेरो चित्त बुझेन । म पुनरावेदकको नाउँको सुरू म्याद रीतपूर्वक तामेल नै नभई मलाई सुनुवाइको मौका दिएको छैन । कुटपिटको २ नं. को परिभाषाबमोजिम अङ्गभङ्ग हुन कुनै अङ्ग बेकम्मा भई काम नलाग्ने भएमा मात्र अङ्गभङ्ग 

हुन्छ । जोगिन्दररामलाई जनकपुर अञ्चल अस्पतालबाट जाँच हुँदा दाहिने हात पूर्ण रूपमा काम लाग्ने भनेको छ । अर्कोतर्फ दुइवटा अङ्गमाथि काम लाग्ने भएमा अधिकतम ४ वर्ष कैद हुनेमा ९ जनालाई १८ वर्ष कैद गरेको फैसला त्रुटिपूर्ण हुँदा सो फैसला बदर गरी अभियोग दाबीबाट सफाइ पाउने गरी इन्साफ पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी रामलाल चमारको पुनरावेदन पत्र । 

प्रतिवादी रामलाल चमारको हकमा दोहोरो पुनरावेदन परेकोले दुवै पक्षलाई परस्पर जानकारी गराउने र वादी नेपाल सरकार भएको मिति २०६८।३।१० को पुनरावेदनमा एउटा मुद्दाको समान स्तरका प्रतिवादीहरूको हकमा यसै अदालतबाट मिति २०६७/१०/१२ मा विपक्षी झिकाउने आदेश भइसकेको हुँदा प्रस्तुत पुनरावेदन पनि सोही पुनरावेदनसँग अन्योन्या स्रोत सम्बन्ध भएकोले अ.बं. २०२ नं. समेत बमोजिम प्रत्यर्थी झिकाई पेस गर्नु भन्ने पुनरावेदन अदालत जनकपुरको मिति २०६८।११।१६ गतेको आदेश । 

प्रतिवादीमध्येका जिवछ यादवले समेत वारदातमा जोगिन्दररामलाई चोट छाडेको भन्ने पीडित जोगिन्दरराम र प्रत्यक्षदर्शी रामचन्द्र रामले अदालतमा किटानी बकपत्र गरिरहेको अवस्थामा निजलाई अभियोग दाबीबाट सफाइ दिने गरेको र कुटपिटको १८ नं. बमोजिम हुल गरेबापत थप सजाय नगरेको हदसम्मको धनुषा जिल्ला अदालतको फैसला मिलेको नदेखिँदा सो हदसम्म केही उल्टी भई प्रतिवादी जिवछ यादवलाई २ वर्ष कैद र ५ हजार जरिवाना हुने ठहर्छ र प्रतिवादीहरूलाई कुटपिटको १८ नं. बमोजिम जनही रू. ३००।- थप जरिवानासमेत हुने ठहर्छ भन्नेसमेत बेहोराको पुनरावेदन अदालत जनकपुरको मिति २०६९/३/११ को फैसला । 

अभियोग दायर भएपछि मेरो नाममा जारी भएको म्याद मलाई प्राप्त भएको छैन । मलाई कुनै थाहा जानकारी नभएकोले प्रतिरक्षा गर्ने मौका नपाई भएको उक्त फैसला प्राकृतिक न्यायको सिद्धान्तविपरीत छ । मेरो हकमा मुल्तबीबाट जागेपछि मुद्दामा हाजिर हुन म्याद दिनुपर्नेमा नदिई सजाय ठहर गरिएको 

छ । पीडित जोगिन्दररामले वारदात अँध्यारो समयमा भएको भनी बकपत्र गरेका छन् । यस्तोमा चिन्न सकिन भनेको अवस्था छ । मैले निजलाई कुटपिट गर्नुपर्ने अङ्गभङ्ग गर्नुपर्ने कारण छैन । मेरो चोटबाट जोगिन्दररामको दाहिने हात भाँचिएको भन्ने आरोप रहेकोमा निजको सो हात पूर्ण रूपमा काम लाग्ने भन्ने जनकपुर अञ्चल अस्पतालको पत्रबाट देखिएको 

छ । तसर्थ, माथि उल्लिखित आधार कारणबाट मलाई सजाय र जरिवानासमेत गर्ने गरेको धनुषा जिल्ला अदालतको र जनकपुर पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण रहेकोले न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) (क)(ख) बमोजिम दोहोर्‍याई हेरी न्याय पाउँ भन्नेसमेत बेहोराको रामलाल चमारको निवेदनपत्र । 

वारदात मिति २०६३/७/३ गते ८ बजेको समयमा म मेरो ससुराली जिल्ला धनुषा सोनिगामा गाउँ विकास समिति वडा नं. ९ टिल्ही गाउँमा गएको थिएँ । त्यहाँबाट मिति २०६३/७/५ मा आफ्नो घरतर्फ आएको छु । उक्त कुरा मेरो साक्षीले अदालतमा आई बकपत्र गरी पुष्टि गरिदिएका छन् । पुनरावेदकले आफ्नो फैसलामा नै जोगिन्दररामले कागज गर्दा प्रतिवादी जिवछ यादवले बयान दिएको कुरा उल्लेख गरेको देखिँदैन भन्ने स्वीकार गरेको अवस्था छ । यसप्रकार पुनरावेदन अदालत जनकपुरले वादी पीडितको कथन एकतर्फ अविश्वसनीय रहेको भनी प्रमाणित गर्ने अर्कोतर्फ अविश्वसनीय कथनकै आधारमा मलाई सजाय गर्ने गरेको अवस्था छ । म पुनरावेदकउपरको अभियोग प्रमाणित नभएको अवस्थामा मलाई सजायसमेत हुने ठहर्‍याई गरेको फैसला त्रुटिपूर्ण हुँदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क)(ख) बमोजिम दोहोर्‍याई हेरी निस्सा पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी जिवछ साहको निवेदनपत्र । 

यसमा मुलुकी ऐन कुटपिटको महलको ६ नं. मा जनही सजाय गर्ने व्यवस्था नभएको सन्दर्भमा यी निवेदक प्रतिवादीहरूलाई जनही कैद र जरिवानाको सजाय गर्ने गरी भएको पुनरावेदन अदालत जनकपुरको मिति २०६९/३/११ मा भएको फैसला प्रमाण ऐन, २०३१ को दफा ३, ५४ तथा अ.बं. १८४क नं. र ने.का.प. २०५५, नि.नं. ६५५६, पृष्ठ ३२८ मा प्रतिपादित सिद्धान्तसमेतको व्याख्यात्मक त्रुटि भएकोले न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) र (ख) बमोजिम दोहोर्‍याई हेरी निस्सा प्रदान गरिदिएको छ । नियमबमोजिम गर्नु भन्नेसमेत बेहोराको मिति २०७१/११/२० को यस अदालतको आदेश । 

नियमबमोजिम साप्ताहिक तथा दैनिक पेसी सूचीमा चढी पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक रामलाल चमारको तर्फबाट उपस्थित विद्वान्‌ वरिष्ठ अधिवक्ता श्री महादेवप्रसाद यादवले पीडित बुधनलालले मेरो पक्षलाई चिन्दिन भनेको अवस्था छ । पीडित बुधनको हात पूर्ण रूपमा काम लाग्ने भन्ने Medical Report बाट देखिएको अवस्थामा मेरो पक्षलाई सजाय गर्ने गरेको फैसला मिलेको छैन । तसर्थ, सफाइ पाउनु पर्छ भनी तथा प्रतिवादी जिवछ यादवको तर्फबाट उपस्थित विद्वान्‌ अधिवक्ता श्री सतिसकुमार झाले मेरो पक्ष वारदातमा उपस्थित भएको अवस्था छैन । उपचार गरी Discharge भइसकेपछि जाहेरी परेको छ । मेरो पक्षप्रति बदनियतसाथ जाहेरी परेको छ । तसर्थ, अभियोग दाबीबाट सफाइ पाउनु पर्छ भनी गर्नुभएको बहससमेत सुनियो । 

पुनरावेदक जिवछ यादव र रामलालसमेतका प्रतिवादीहरूले बुधनराम, असर्फी राम र जोगिन्दररामलाई कुटपिट गरी हात खुट्टाको जोर्नी भाँचिदिई अङ्गभङ्ग गरी कुटपिटको १, २, ५ र १८ नं. को कसुर अपराध गरेकोले निजहरूलाई कुटपिटको ६ नं. र १८ नं. बमोजिम सजाय गरी प्रतिवादी जिवद्द यादवलाई वचनतर्फ ऐ. को १८ नं. बमोजिम थप सजाय गरी पीडितलाई उपचार गराउन लागेको बिलबमोजिमको खर्चसमेत दिलाई भराई पाउन अभियोग मागदाबी भएकोमा असर्फीराम र बुधनरामलाई परेको घा खत कुटपिटको महलको २ नं. को परिभाषाबमोजिम अङ्गभङ्गको परिधिभित्र नपर्ने अवस्थाको देखिँदा निजहरूका हकमा दुनियाँवादी कुटपिट मुद्दामा परिणत गरी प्रतिवादीमध्येका जिवछ साहलाई सफाइ दिने र पीडित जोगिन्द्ररामकोलाई परेको घा खत अङ्गभङ्गको देखिँदा सोबाहेकका अन्य प्रतिवादीहरूलाई कुटपिटको ६ नं. अनुसार जनही २ वर्ष कैद र ५ हजार जरिवाना हुने ठहरी धनुषा जिल्ला अदालतबाट फैसला भएको र सो फैसलाउपर चित्त नबुझाई प्रतिवादीहरू रामलाल, श्याम ठाकुर, लक्ष्मण राम र वादी नेपाल सरकारको तर्फबाट पुनरावेदन परेकोमा सुरू जिल्ला अदालतको फैसला केही उल्टी गरी प्रतिवादी जिवद्द यादवलाई कुटपिटको ६ नं. बमोजिम २ वर्ष कैद र ५ हजार जरिवाना तथा हुल गरेबापत सबै प्रतिवादीहरूलाई जनही रू.३००।- थप जरिवाना हुने गरी पुनरावेदन अदालत जनकपुरबाट फैसला भएको देखियो । सो फैसलाउपर चित्त नबुझाई प्रतिवादीहरू रामलाल चमार र जिवछ यादवको तर्फबाट मुद्दा दोहोर्‍याई हेरिपाउँ भन्ने निवेदन परेकोमा यस अदालतको मिति २०७१/११/२० को आदेशअनुसार मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्रदान भई प्रस्तुत मुद्दा पुनरावेदनको रोहमा दर्ता हुन आएको देखियो ।

 विद्वान्‌ कानून व्यवसायीहरूको बहससमेतको आधारमा प्रतिवादीहरू रामलाल चमार र जिवछ यादवको पुनरावेदन जिकिर पुग्न सक्ने हो वा होइन? र पुनरावेदक प्रतिवादीहरूलाई कुटपिटको ६ नं. र १८ नं. बमोजिम सजाय गर्ने गरेको पुनरावेदन अदालत जनकपुरको फैसला मिले वा नमिलेको के रहेछ सोही विषयमा निर्णय गर्नुपर्ने देखियो । 

२. अब निर्णयतर्फ विचार गर्दा, मिति २०६३/७/३ गते राति ८ बजेको समयमा म जाहेरवाला बुधन राम, पिता असर्फी राम र जोगिन्दरराम पीडित जोगिन्दररामको दरबाजामा बसेको अवस्थामा प्रतिवादीहरू हात हातमा लाठी, भाला, खुकुरी, फलामे रडसमेत लिई हामीहरूलाई चारैतिरबाट घेरा हाली प्रतिवादीमध्येका जिवछ यादवले यिनीहरूका हात खुट्टा भाँची अङ्गभङ्ग बनाइदेउ भनी बचन दिई आफूसमेत भई शरीरका विभिन्न भागमा जत्रतत्र जथाभावी प्रहार गरी हात खुट्टा भाँची शरीरमा विभिन्न घा खत पारी अङ्गभङ्ग पारेकोले निजलाई कुटपिटको महलको ६ नं. र १८ नं. बमोजिम थप सजाय गरिपाउँ भन्ने अभियोग माग दाबी रहेको देखिन्छ । पीडित असर्फी राम र जोगिन्दररामसमेतले प्रतिवादीहरूको नाम किटान गरी आफूलाई कुटपिट अङ्गभङ्ग गरेको भनी उल्लेख गरेका छन् । प्रत्यक्षदर्शीहरू रामचन्द्र राम, हेमनारायण यादव, फौदार राम चमार र राजेन्द्र राम चमारले सबै प्रतिवादीहरूको नाम उल्लेख गरी क-कसले कुटेको भन्ने बेहोरा उल्लेख गरी जाहेरीको बेहोरालाई पूर्ण समर्थन हुने गरी अदालतमा बकपत्र गरेको देखिन्छ । प्रतिवादीहरूले अदालतमा कसुरमा इन्कार रही बयान गरे तापनि सो इन्कारीलाई कुनै पनि वस्तुनिष्‍ठ प्रमाण पेस गरी समर्थन गराउन सकेको देखिँदैन । प्रतिवादीको इन्कारी बयान मात्र सफाइको आधार हुन सक्दैन । प्रतिवादी जिवछ यादव आफू उक्त दिन वारदातस्थलमा नरही अन्यत्रै रहेको जिकिर लिएको देखिन्छ । आफू अन्यत्र रहेको भनी लिएको जकिर जाहेरवाला तथा प्रत्यक्षदर्शीहरूको कागजबाट खण्डित भइरहेको देखिन्छ । आफू अन्यत्र रहेको जिकिरको प्रमाण यस्तो जिकिर लिनेले नै पेस गर्नुपर्ने हुन्छ । प्रस्तुत मुद्दामा आफूलाई अन्यत्रै रहेको जिकिर प्रमाणित हुने कुनै सबुद प्रमाण प्रतिवादी जिवछ साहबाट पेस हुन सकेको देखिँदैन । 

३. प्रस्तुत मुद्दामा पीडितहरू असर्फी राम, बुधन राम र जोगिन्द्र राम रहेको देखिन्छ । पीडितहरू असर्फी राम र बुधन रामको हकमा अङ्गभङ्ग कुटपिटतर्फको दाबी नपुगी दुनियाँवादी फौजदारी मुद्दामा परिणत हुने गरी फैसला भएतर्फ वादी नेपाल सरकारको तर्फबाट निवेदन परेको नदेखिँदा त्यसतर्फ प्रस्तुत मुद्दाबाट केही बोलिरहनु पर्ने देखिएन । साथै पुनरावेदन अदालत जनकपुरबाट कुटपिटको १८ नं. बमोजिम प्रतिवादीहरूलाई जनही ३०० थप जरिवाना गर्ने गरेतर्फ पनि अन्य प्रतिवादीहरूको पनि निवेदन परेको नदेखिँदा सोतर्फ समेत प्रस्तुत मुद्दामा केही बोलिरहन परेन ।

४. प्रतिवादीहरू मध्येका जिवछ यादव र रामलाल चमारको मात्र मुद्दा दोहोर्‍याई हेरी पाउन निवेदन परेको देखियो । प्रतिवादीहरूलाई कुटपिटको ६ नं. मा जनही सजाय गर्ने व्यवस्था नभएको अवस्थामा समेत जनही सजाय गरेको हुँदा सोही आधारमा यस अदालतबाट मुद्दा दोहोर्‍याई हर्ने निस्सा प्रदान भएको देखियो । प्रतिवादीहरूलाई कुटपिटको महलको ६ नं. बमोजिम जनही २ वर्ष कैद र ५ हजार जरिवाना तथा हुलतर्फ कुटपिटको १८ नं. बमोजिम थप सजाय हुने ठहर्‍याएको पुनरावेदन अदालत जनकपुरको फैसला मिले वा नमिलेको के रहेछ सो सम्बन्धमा समेत विचार गर्नुपर्ने देखिन आयो ।

५. प्रतिवादीहरूलाई कुटपिटको महलको ६ नं. अनुसार जनही २ वर्ष कैद र ५ हजार जरिवाना गरेतर्फ विचार गर्दा प्रस्तुत वारदातमा धेरै संख्याका प्रतिवादीहरू भई पीडितलाई कुटपिट अङ्गभङ्ग गरेको देखिन आएको छ । कसुरदारलाई सजाय गरी अपराधको रोकथाम र नियन्त्रण गरी समाजमा शान्ति सु-व्यवस्था कायम गर्ने फौजदारी न्यायको उद्देश्य 

हो । कसुरदारलाई आउँदो समयमा आपराधिक कार्य गर्नबाट हतोत्साह गर्ने र आफ्नो कार्यप्रति पश्चातापको सिर्जना गर्नु, कसुरको मात्राअनुसार सजाय गर्नु दण्डप्रणालीको महत्त्वपूर्ण उद्देश्य हो । कसुरदारलाई सजाय तोक्दा दण्ड गरे जस्तो मात्र पनि देखिनु हुँदैन । कसुरको मात्रा र गाम्भीर्यअनुसार दण्ड पाएको अनुभुति गरी पश्चातापको वातावरण सिर्जना हुने किसिमले दण्ड गर्नुपर्ने हुन्छ । प्रस्तुत वारदातमा धेरै प्रतिवादीहरू भई सामूहिक तवरले पीडितहरूलाई कुटपिट गरेको अवस्था छ । एक व्यक्तिले गर्ने अपराधभन्दा धेरै व्यक्ति मिली सामूहिक तवरले गरिने अपराधमा कसुरको मात्रा र गुरूत्व बढी हुनु स्वभाविक नै हुन्छ । मुलुकी ऐन, कुटपिटको महलको ६ नं. मा दामासाहीले सजाय गर्नुपर्ने भन्ने व्यवस्था रहेको पनि देखिँदैन । जब कानूनले दामासाहीले सजाय हुन्छ भनी स्पष्ट नगरेको अवस्थामा प्रस्तुत वारदातको घटनाक्रम, प्रतिवादीहरूको संख्या तथा पीडितउपर परेको घा खतसमेतलाई दृष्टिगत गर्दा प्रतिवादीहरूलाई जनही सजाय गर्दा नै फौजदारी न्यायको उद्देश्य तथा कुटपिटको महलको ६ नं. को कानूनी व्यवस्थाको मक्सद पूरा हुने देखिन्छ । प्रस्तुत वारदातमा प्रतिवादीहरूको समूह हुल भई कुटपिट गरी पीडित जोगिन्द्र रामको अङ्ग भङ्गको खत भएको देखिएको छ । तसर्थ मुद्दा दोहोर्‍याउने निस्सा प्रदान हुँदा यस अदालतको मिति २०७१।११।२० को आदेशसँग सहमत हुन सकिएन ।

६. पीडितमध्येका जोगिन्दररामको बायाँ हातको Humerus Bone Facture भएको, देब्रे हातको Alan Fracture भएको र देब्रे खुट्टाको Tibia र Fibula Fracture भएको र शरीरभरी घाउ चोट लागेको भन्ने घा जाँच केस फारामबाट देखिएको छ । पीडितलाई लागेको घाउ चोट ठीक भए नभए सम्बन्धमा अस्पतालबाट जाँच गर्दा पीडित जोगिन्दररामको देब्रे हातको Alina malunionn भए तापनि काम लाग्ने अवस्थाको देखिन्छ । दाहिने हातको Humerus bone भाँचिई पछि जोडी काम लाग्ने भएको, निजको देब्रे खुट्टाको Tibia र Fibula दुवै जोडिएको अवस्थाको देखिए पनि पूर्ण रूपमा काम लाग्ने अवस्थाको देखिँदैन भनी जनकपुर अञ्चल अस्पतालको मिति २०६५/३/१० को पत्रबाट देखिएको छ । 

७. प्रस्तुत मुद्दामा प्रतिवादीहरूले मुलुकी ऐन, कुटपिटको १, २, ५, १८ नं. को कसुर गरेकोले कुटपिट महलको ६ नं. अनुसार सजाय गरी ऐ. १८ नं.बमोजिम र प्रतिवादीमध्येका जिवछ यादवले वचन दिएकोले निजलाई कुटपिटको १६ नं.अनुसार थप सजाय गरी वारदातबाट पीडित घाइतेहरू जोगिन्दरराम चमार, असर्फी राम चमार, बुधन राम चमारले घा खर्चको बिल भरपाइ पेस गरेमा कुटपिटको ६ नं. अनुसार घा खर्च भराई पाउँ भन्ने अभियोग मागदाबी रहेको पाइन्छ ।

८. मुलुकी ऐन, कुटपिटको महलको २ नं. मा "...मेरूदण्ड, डडाल्नु, हात खुट्टा वा यिनैको जोर्नी भाँची फुकाली बेकम्मा पारिदिएमा अङ्गभङ्गको खत ठहर्छ" भन्ने कानूनी व्यवस्था रहेको पाइयो । जनकपुर अञ्चल अस्पतालको रिपोर्टबाट पीडित जोगिन्दरको देब्रे खुट्टा पूर्ण रूपमा काम लाग्ने अवस्थाको नदेखिँदा उक्त २ नं. बमोजिम प्रतिवादीहरूले पीडित जोगिन्द्र रामको घाउचोट अङ्गभङ्गको खतभित्र नै पर्ने देखिन आउँछ । 

९. मुलुकी ऐन कुटपिटको ६ नं. मा "...एउटै किसिमको काम लिने एउटाभन्दा बढी अङ्ग हुनेमा सो अङ्ग मात्र बेकम्मा पारिदिएको भए माथि लेखिएको सजायको आधा सजाय गर्नुपर्छ । सो खत निको भई काम लाग्ने भएमा दुई वर्ष मात्र कैदको सजाय गर्नुपर्छ" भन्ने कानूनी व्यवस्था रहेको पाइयो । 

१०. वारदातमा संलग्न प्रतिवादीहरूको संख्या १० जनाको रहेको देखिँदा प्रस्तुत वारदात हुल हुज्जतको अवस्थामा भएको देखिन्छ । यसरी हुल हुज्जत गरी पीडितहरूलाई कुटपिट गरेको देखिँदा कुटपिटको १८ नं. समेतका अवस्थामा आकर्षित हुने नै देखियो । 

११. अतः उपर्युक्त उल्लिखित आधार कारणबाट प्रतिवादीहरू जिवछ यादव र रामलाल चमारको समेत वारदातमा संलग्न भई पीडित जोगिन्दररामको बायाँ खुट्टा भाँची काम नलाग्ने बनाएको पुष्टि हुन आएको देखिँदा निज प्रतिवादीहरूलाई मुलुकी ऐन, कुटपिटको महलको ६ नं. को कसुरमा २ वर्ष कैद र ५ हजार जरिवाना तथा ऐ.नं. को १८ नं. बमोजिम थप जरिवाना ३ सय हुने ठहर्‍याएको पुनरावेदन अदालत जनकपुरको मिति २०६९/३/११ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । प्रतिवादीहरू जिवछ यादव र रामलाल चमारको पुनरावेदन जिकिर पुग्न सक्दैन । यस फैसलाको जानकारी पुनरावेदकहरूलाई दिई दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाई दिनू । 

 

उक्त रायमा सहमत छु ।

न्या. प्रकाशमान सिंह राउत

 

इजलास अधिकृतः केदारनाथ पौडेल

इति संवत् २०७४ साल मंसिर २६ गते रोज ३ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु