शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १०१०१ - अंशचलन

भाग: ६० साल: २०७५ महिना: पौस अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री विश्‍वम्भरप्रसाद श्रेष्‍ठ

माननीय न्यायाधीश श्री वमकुमार श्रेष्‍ठ

फैसला मिति : २०७४।११।९

 

मुद्दा:- अंशचलन

 

०६६-CI-०९७३

पुनरावेदक / प्रतिवादी : काठमाडौं जिल्ला, मातातिर्थ गाउँ विकास समिति वडा नं.१ बस्ने नेपी मिजारसमेत

विरूद्ध

प्रत्यर्थी / वादी : काठमाडौं जिल्ला, मातातिर्थ गाउँ विकास समिति वडा नं.१ बस्ने काली मिजारसमेत

 

०६६-CI-१२०१

पुनरावेदक / प्रतिवादी : काठमाडौं जिल्ला, मातातिर्थ गाउँ विकास समिति वडा नं.१ बस्ने शान्ति मिजार

विरूद्ध

प्रत्यर्थी / वादी : ऐ.ऐ. बस्ने काली मिजारसमेत

 

०६७-CI-०९०९

पुनरावेदक / प्रतिवादी : काठमाडौं जिल्ला, मातातिर्थ गाउँ विकास समिति वडा नं.१ बस्ने च्यामिनी मिजार

विरूद्ध

प्रत्यर्थी / वादी : ऐ.ऐ. बस्ने, काली मिजारसमेत

 

०६७-CI-१११२

पुनरावेदक / प्रतिवादी : काठमाडौं जिल्ला, मातातिर्थ गाउँ विकास समिति वडा नं. १ बस्ने रामचन्द्र मिजार

विरूद्ध

प्रत्यर्थी / वादी : ऐ.ऐ. बस्ने काली मिजारसमेत

 

कुनै अंशियारको नाममा कुनै सम्पत्ति रहँदैमा अंशबन्डाको ३० नं. को प्रयोजनको लागि व्यवहार प्रमाणबाट अंशबन्डा भइसकेको अर्थ गर्न मिल्दैन । व्यवहार प्रमाणबाट अंशबन्डा भएको देखिनका लागि पनि नरम गरम मिलाई अंशबन्डा गरेको, अंशबन्डा गरी भाग शान्ति पाएको सम्पत्ति आ-आफ्नो नाममा दाखिला खारेज भएको पनि देखिनु पर्ने ।

अंशजस्तो नैसर्गिक हकमा अंशियारले पाउनु पर्ने सम्पत्ति नपाएसम्म वा विधिवत् अंश हक नछोडेसम्म अंश छुट्‍याई लिन पाउने हुँदा सानातिना प्राविधिक कारण देखाई अंशहक भएको सम्पत्तिमा अंशियारलाई सो हकबाट वञ्‍चित गर्नु न्यायोचित नहुने ।

(प्रकरण नं.५)

सगोलको अंशबन्डा लाग्ने सम्पत्ति भनी दाबी भएकोमा सगोलको सम्पत्ति होइन अंशबन्डा नलाग्ने निजी आर्जनको सम्पत्ति हो भन्‍ने पक्षले नै त्यसको सबुद गुजार्नु   पर्ने ।

(प्रकरण नं.६)

कुनै व्यक्तिले आफ्नो श्रम वा बौद्धिक क्षमताबाट कुनै सम्पत्ति आर्जन गर्दछ भने त्यस्तो सम्पत्तिलाई निजी आर्जन 

भनिन्छ । अंशबन्डाको विषयमा निजी आर्जन हुनको लागि अंशियारमध्ये कसैले एकाघर सगोलको सम्पत्ति प्रयोग नगरी सगोलको सम्पत्ति नमिसाइकन आफ्नै श्रम र सीपबाट कुनै सम्पत्ति आर्जन गरेको छ भने सो सम्पत्तिलाई स्वआर्जन भन्‍न सकिने ।

(प्रकरण नं.७)

 

पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान्‌ वरिष्‍ठ अधिवक्ता श्री वसन्तराम भण्डारी, विद्वान्‌ अधिवक्ताहरू श्री गोपालप्रसाद अर्याल, श्री भोजराज भट्ट, श्री केदार गौतम

प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान्‌ वरिष्‍ठ अधिवक्ता श्री राजु बस्नेत

अवलम्बित नजिर :

सम्बद्ध कानून :

प्रमाण ऐन, २०३१

 

सुरू तहमा फैसला गर्ने

मा.अतिरिक्त जिल्ला न्या. श्री वीरसिंह महरा

काठमाडौं जिल्ला अदालत

पुनरावेदन तहमा फैसला गर्ने

माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी

माननीय न्यायाधीश डा. श्री कुलरत्‍न भुर्तेल

पुनरावेदन अदालत पाटन

 

फैसला

न्या. विश्वम्भरप्रसाद श्रेष्ठ : पुनरावेदन अदालत, पाटनको मिति २०६६/८/१ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम यस अदालतमा प्रतिवादीहरूको पुनरावेदन परेको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः 

स्व. ससुरा दलबहादुरका ३ श्रीमतीमा जेठीतर्फका नसे मिजार माइलीतर्फका हामी फिरादीका पति तथा पिता मुसे मिजार कान्छीतर्फका दुराङ्गे मिजार, नरबहादुर र सानुभाई मिजार गरी ५ भाइको जायजन्म भएको पति तथा स्व. पिता मुसे मिजारका २ श्रीमतीमा जेठीका तर्फबाट एक मात्र छोरा विपक्षी रामचन्द्रको जन्म भएको र कान्छी म फिरादीका तर्फबाट २ छोरी र एक छोरा कान्छा मिजारको जायजन्म भएको थियो । यसरी हामी सबै परिवार एकासगोलमा बसी आएका र हामीबीच अंशबन्डा नभएकोमा कुनै विवाद छैन । ससुरा दलबहादुरका श्रीमतीहरू र हाम्रा पति तथा पिताको विभिन्‍न मितिमा मृत्यु भइसकेकोले पछि खान लाउन नदिई घरबाट निकालासमेत गरी अंश माग गर्दा नदिएकोले फिराद गर्न आएको छु । विपक्षीहरूसँग मेरो पति तथा पिताले पाउने ५ भागको १ भाग अंशबाट सौताको मृत्यु भइसकेकोले निजतर्फका छोरा १ हामी फिरादी २ समेत ३ अंशियार भएकोले पतिको भागबाट ३ भाग अंश छोराछोरी ३ जनाको विवाह खर्च पर सारी विपक्षीहरूबाट तायदाती फाँटवारी लिई अंश छुट्‍याई चलनसमेत चलाई पाउँ भन्‍नेसमेत बेहोराको फिराद पत्र । 

बाबु दलबहादुरको, कुनै पैतृक तथा बन्डा गर्नुपर्ने सम्पत्ति नभएको, मोही भई कमाएका जग्गाहरू घरसारमा आपसमा सल्लाह गरी भोगचलन गरी आएका हौं । फिरादीका पति तथा पिता मुसे मिजार, २०२० सालमा छुट्टी भिन्न भई बसेका हुन्‌ । मोहियानी जग्गाहरू केही फिरादीहरूले नै कमाई भोगचलन गरी आएका छन्‌ । यस्तो अवस्थामा विपक्षीहरूलाई हामीले अंश दिनुपर्ने होइन, छैन । वादी दाबी झुठा हो भन्नेसमेत बेहोराको प्रतिवादी काली चरण, दुराङ्गे, च्यामिनी र शान्ती मिजारको संयुक्त प्रतिउत्तर पत्र ।

बन्डा गर्नुपर्ने पैतृक सम्पत्ति नभएको, भएको चल अचल सम्पत्ति लिई पिता मुसे मिजार २०२० सालमा छुट्टी भिन्न भई बसेका, बाजेका नाउँको मोहियानी रहेका जग्गाहरू घरसारमा एकआपसमा बाँडी भोगचलन गरी आएकोमा आमा तथा बाबुको मृत्युपछि विपक्षी काली मिजारले मलाई सौतेनी व्यवहार गरी घरबाट निकाला गर्नु भएकोले ज्याला मजदुरी गरी खाँदै आइरहेको । यस्तो अवस्थामा मैले अंश दिनुपर्ने होइन भन्नेसमेत बेहोराको प्रतिवादी रामचन्द्र मिजारको प्रतिउत्तरपत्र । 

पिता दलबहादुरको मृत्युपश्चात् २०१४ सालभन्दा पछि विपक्षीहरूका पति तथा पिता र अन्य प्रतिवादीहरू समेतसँग छुट्टी भिन्न भई बसेको, बन्डा गर्नुपर्ने पैतृक सम्पत्ति केही नहुँदा बाबुको मोहियानी हकका केही जग्गाहरू अंशबापत लिई भोगचलन गरी आएको र नापीका समयमा जग्गाधनी श्री ५ जेठा कान्छा जिजु मुमा बडामहारानीले त्यागपत्र, गरिदिएका कारण मेरा नाममा दर्ता हुनुपर्ने जग्गा भूलबाट दाजु दुराङ्गेका नाउँमा नापी दर्ता भएकोमा निजले कागज गरी दिएपछि मेरा नाममा दर्ता भएको हो । यसरी व्यवहार प्रमाणबाट २०१६ सालदेखि छुट्टी भिन्न भई बसेको व्यक्तिले अन्य प्रतिवादीहरूसँग २०२० सालमा छुट्टी भिन्न भएका फिरादीका पति तथा पिताका अंशियारालाई मैले अंश दिनुपर्ने होइन भन्नेसमेत बेहोराको प्रतिवादी कुमाले भन्ने नरबहादुर सार्कीको प्रतिउत्तर पत्र । 

वादी प्रतिवादीहरू पहिले नै छुट्टी भिन्न भई बसेकोले वादीहरूलाई प्रतिवादीहरूले अंश दिनुपर्ने होइन भन्नेसमेत प्रतिवादीहरूका साक्षी पूर्णबहादुर रोक्‍का र गणेशबहादुर पुरकारीले गरेको बकपत्र । 

प्रस्तुत मुद्दा मिति २०५३।३।१७ मा तामेलीमा रहने आदेश भई मिति २०६२।१।८ मा तामेलीबाट जागेको । 

यसमा यी वादीको सौतेनी कान्छी सासु धनमायाको सन्तान दोराङ्गे मिजारले आफ्नी आमातर्फका भाइ नरबहादुरसमेत उपर दिएको २०६१ सालको दे.नं.३५२९ को अंश मुद्दामा २०२० सालपूर्व नै छुट्टी भिन्न भइसकेको मानी अंश पाउँ भन्ने दाबी नपुग्ने ठहर भई फैसला भएपश्चात् प्रस्तुत मुद्दा तामेलीबाट जागी कारबाही भएकोमा उक्त मुद्दामा प्रतिवादीको कथनलाई आधार, प्रमाण मानी अंशबन्डा अघि भइसकेको ठहर भइसकेकोले प्रस्तुत मुद्दामा प्रतिवादीको कथनलाई अन्यथा हो भन्न नसकेको हुँदा वादीहरू एकासगोलमा रहे भएको अवस्था नदेखिएको हुँदा अंश पाउँ भन्ने वादी दाबी पुग्न सक्दैन भन्ने मिति २०६२।४।२१ को काठमाडौं जिल्ला अदालतको फैसला ।

विपक्षीहरूको मिलेमतोमा दायर भएको अंश मुद्दामा हामीहरूलाई नबुझी हामीहरू संलग्न नभएको अंश चलन मुद्दाको फैसला हामी विरूद्ध प्रमाण लगाई अंश नपाउने ठहर गरेको त्रुटिपूर्ण फैसला बदर गरी सुरू माग दाबीबमोजिम ५ भागको १ भाग विवाह खर्च परसारी ३ भागको २ भाग अंश दिलाई पाउँ भन्ने वादीहरूको पुनरावेदन पत्र । 

यसमा यस मुद्दाको २०६२।४।२१ मा फैसला हुँदा प्रमाणमा लिएको २०६१।१०।१५ मा ०६१ सालको दे.नं. ३५२९ को अंश चलन मुद्दाको फैसला बदर गरिपाउँ भनी, यिनै पुनरावेदकले २०६२।५।६ मा फैसला बदर मुद्दा काठमाडौं जिल्ला अदालतमा दायर गरी विचाराधीन अवस्थामा रहेको कुरा च.नं. २५४४०, मिति २०६३।३।१८ को पत्रसाथ प्राप्‍त प्रमाणमा आएको २०६२ सालको द.नं.३६३४ को फैसला बदर मुद्दाको मिसिलबाट देखिएकोले उक्त फैसला बदर मुद्दाको किनारा नभएसम्म प्रस्तुत मुद्दा किनारा गर्न नमिल्ने हुँदा मुद्दा किनारा भई पुनरावेदन परी, आएपछि वा अन्तिम भएपछि यो मुद्दासमेत जगाई कारबाही किनारा गर्ने गरी अ.बं.१२ नं. अनुसार मुल्तबीमा राखिदिने भन्ने पुनरावेदन अदालत, पाटनबाट भएको मिति २०६३।३।२० को आदेश । 

यसमा सुरू काठमाडौं जिल्ला अदालतमा विचाराधीन २०६२ सालको दे.नं.३६३४ को फैसला बदरसमेत मुद्दा किनारा भएपछि प्रस्तुत मुद्दा जगाउने गरी पुनरावेदन अदालत, पाटनबाट मिति २०६३।३।२० मा मुल्तबीमा रहेकोमा काठमाडौं जिल्ला अदालतमा विचाराधीन बकसपत्र लिखत बदरसमेत मुद्दा मिति २०६३।१२।१९ मा मुल्तबी रहेको हुँदा प्रस्तुत मुद्दा जगाई पाउँ भनी उक्त आदेशको प्रतिलिपिसमेत साथै राखी पुनरावेदकको निवेदन परेको हुँदा प्रस्तुत मुद्दा मुल्तबीबाट जगाई दिएको छ भन्ने पुनरावेदन अदालत, पाटनबाट मिति २०६४।२।२० मा भएको आदेश । 

यसमा पुनरावेदक वादी पक्षले अंश पाएको कुनै आधिकारिक लिखतबाट पुष्टि भएको अवस्था नदेखिँदा वादी दाबी पुग्न नसक्ने ठहर्‍याई काठमाडौं जिल्ला अदालतबाट मिति २०६२।४।२१ मा भएको फैसला सबुद प्रमाण मूल्याङ्कनको रोहमा नमिली फरक पर्न सक्ने देखिँदा अ.बं २०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम प्रत्यर्थी झिकाई आएपछि वा अवधि नाघेपछि नियमबमोजिम पेस गर्नु भन्ने पुनरावेदन अदालत, पाटनबाट मिति २०६४/५/२५ मा भएको आदेश । 

वादीहरू २०२२ सालभन्दा पहिले नै छुट्टी भिन्न भइसकेका छन्‌ । आफ्नो नाममा रैकर जग्गा कुनै नरहेको अवस्थामा मोहीको रूपमा बल बुदीले कमाएको जग्गा रैकर परिणत गरी आ-आफ्नो भागजति दर्ता नामसारी गराएको जग्गामा आँखा गाडी मुद्दा दिएका हुन् भन्ने प्रतिवादीहरूको छुट्टाछुट्टै लिखित प्रतिवाद । 

यसमा पुनरावेदक वादी र प्रतिवादीको नातामा विवाद नभएको पुनरावेदक वादीका पति पिताले कानूनबमोजिम अंश पाएको वा मुलुकी ऐन, अंशबन्डाको ३० नं. बमोजिम व्यवहार प्रमाणबाट छुट्टी भिन्न भएको देखिने अंशियारको बीचमा जग्गा दर्ता दाखिला नामसारी भएका प्रमाणसमेत नभएको हुँदा फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरी मुलुकी ऐन, अंशबन्डाका २०, २१, २२ र २३ नं. बमोजिम बन्डा गर्नुपर्ने चल अचल सम्पत्तिको तायदाती फाँटवारी वादी प्रतिवादी दुवै पक्षबाट दाखिल गर्न लगाई पेस हुन आउने फाँटवारीमा उल्लेख भएको बिगोको आधारमा नपुग कोर्ट फीसमेत वादीबाट दाखिल गर्न लगाई नियमानुसार गरी पेस गर्नु भन्ने पुनरावेदन अदालत, पाटनबाट मिति २०६४।९।२४ मा भएको आदेश ।

मिति २०६४।९।२४ को आदशानुसार वादी प्रतिवादीबाट पेस भएको तायदाती फाँटवारी मिसिल सामेल रहेको ।

वादीहरू २०१६ सालमै छुट्टी भिन्‍न भएका हुन् भन्‍ने सुनेको हुँ । मेरा नाउँमा रहेको कि.नं. ११८७ मा मेरो पति तथा अन्य कुनैको हक छैन भन्ने अ.बं. १३९ नं. बमोजिम बुझिएकी नेपी मिजारको बयान कागज । 

मिति २०६६/४/२६ को आदेशानुसार अ.बं. १३९ नं. बमोजिम बुझिएकी नरबहादुर मिजारकी श्रीमती नेपी मिजारबाट पेस भएको तायदाती मिसिल सामेल रहेको ।

मिसिल संलग्न प्रमाण कागजबाट वादीहरूले कानूनबमोजिम अंश लिई पाइसकेको वा भोग बिक्री व्यवहार प्रमाणबाट समेत अंशहक प्राप्‍त गरिसकेको भन्‍ने कुरा मिसिल संलग्न तथ्यगत वस्तुनिष्‍ठ प्रमाणबाट समर्थित भएको नदेखिँदा अंश नलिएका अंशियारले कानूनबमोजिम अंश हक पाउनु पर्ने नै देखिन आयो । दाबीबमोजिम अंश पाउने ठहर गर्नुपर्नेमा अंशमा दाबी नपुग्ने गरी सुरू काठमाडौं जिल्ला अदालतबाट मिति २०६२/४/२१ मा भएको फैसला मिलेको नदेखिँदा उल्टी हुने ठहर्छ । मिसिल संलग्न पेस भएको तायदाती फाँटवारीमा उल्लिखित सम्पूर्ण सम्पत्तिलाई ५ भाग लगाई ५ भागमध्ये १ भाग पति मुसे मिजारको भागबाट दुई छोरीको विवाह खर्च पर सारी ३ भागमध्ये २ भाग अंश पुनरावेदक वादीहरूले पाउने ठहर्छ भन्‍नेसमेत बेहोराको पुनरावेदन अदालत, पाटनको मिति २०६६/८/१ को फैसला । 

हामीहरूको कानूनबमोजिम अंशबन्डा लाग्ने पैतृक सम्पत्ति नभएकोले परिवारले कमाई आएको मोहियानी जग्गा घरसारमा कमाउने गरी बाँडफाँड गरी भिन्‍न भएको हो । त्यसरी बाँडफाँड गरिएको मोहियानी जग्गा सम्बन्धित जग्गा कमाउने व्यक्तिको नाउँमा सर्वे नापीमा मोही जनाई नापी भएको छ । छुट्टाछुट्टै मोही दर्ता भई मोही जग्गा भोगचलन गरिएको बेहोराले नै छुट्टी भिन्‍न भएको प्रमाणित गर्दछ । म नरबहादुर मिजारले ६ वर्षसम्म बाँसबारी छाला जुत्ता कारखानामा काम गर्नुको साथै २०३० सालदेखि काठमाडौंको भोटाहिटीमा जुत्ता व्यवसाय गरी आर्जित रकमबाट काठमाडौं महानगरपालिका वडा नं. २२ख, कि.नं. ६३६ को क्षे.फ. ०-६-० जग्गा स्व. आर्जनबाट खरिद गरेको हुँदा मुलुकी ऐन, अंशबन्डाको १८ नं. बमोजिम बन्डा लाग्ने होइन । त्यसैगरी म नेपी मिजारले मेरो माइतीको सम्पत्ति अपुतालीबाट प्राप्‍त गरेकी, माइतीको दाइजो एवं मेरो स्वआर्जनसमेतबाट प्राप्‍त रकमबाट काठमाडौं महानगरपालिका वडा नं. ३१, कि.नं. १३८७ को क्षे.फ. ०-४-१-३ जग्गा खरिद गरी सोमा घरसमेत बनाएकी हुँदा त्यस्तो सम्पत्ति बन्डा लाग्ने गरी भएको पुनरावेदन अदालत, पाटनको फैसला कानूनप्रतिकूल भएकोले उल्टी गरी हाम्रो पुनरावेदन जिकिरबमोजिम न्याय इन्साफ गरिपाउँ भन्‍नेसमेत बेहोराको प्रतिवादीहरू नेपी मिजार र नरबहादुर मिजारको संयुक्त पुनरावेदनपत्र ।

मसमेतको नाउँमा कुनै पैतृक, पति, ससुरासमेतको पालाको बन्डा लाग्ने सम्पत्ति नभएको मिसिल संलग्न प्रमाण कागज एवं तायदाती फाँटवारीबाट देखिई रहेको अवस्थामा सुरूको फैसला उल्टी हुने गरी पुनरावेदन अदालत, पाटनबाट भएको फैसला मुलुकी ऐन, अ.बं. १८ र ३० नं. को प्रतिकूल हुँदा सो फैसला बदर गरी मेरो पुनरावेदन जिकिरबमोजिम न्याय इन्साफ गरिपाउँ भन्नेसमेत बेहोराको शान्ति मिजार र च्यामिनी मिजारको एकै मिलानको छुट्टाछुट्टै पुनरावेदनपत्र । 

म पुनरावेदक रामचन्द्र मिजारले पिताको अंश भाग भनी आजसम्म भोग्न देख्‍न नपाएको अवस्थामा मैले विपक्षी वादीहरूलाई अंश दिनुपर्दछ भन्‍ने विपक्षीले पाउने होइन । अन्य प्रतिवादीहरूले अंशबन्डाको ३० नं. बमोजिम व्यवहार प्रमाण भोग बिक्री आदिका आधारमा पिता मुसे मिजारले पहिला नै अंश लिइसकेका छन् भन्‍नलाई कुन कुन सम्पत्ति कहिले पाए र ती हाल के कुन अवस्थामा छ भनी देखाउने दायित्व अ.बं. ३० नं. को दाबा लिने अन्य प्रतिवादीको हो । त्यस्तो दावा मिसिल संलग्न प्रमाणबाट पुष्टि भइरहेको अवस्थामा पिता मुसे मिजारले अंश पाउने कुरामा विवाद नहुँदा मेरो पुनरावेदन जिकिरबमोजिम न्याय इन्साफ पाउँ भन्‍नेसमेत बेहोराको प्रतिवादी रामचन्द्र मिजारको पुनरावेदनपत्र । 

यसमा वादी प्रतिवादीहरूसँग पैतृक सम्पत्ति रहेको देखिँदैन । प्रतिवादीहरूका नाममा रहेका जग्गा नापी फिल्डबुकमा मोहीका रूपमा जनिई जग्गाधनी तत्कालीन राज परिवारका सदस्यहरूका नाममा रहेको देखिन्छ । मिति २०२६/६/१३ को नेपाल राजपत्रको सूचनाले तत्कालीन राजदरबारका सदस्यहरूको फरमायसी बिर्ता मोहीको नाममा दर्ता देखिएबाट अंशबन्डाको ३० नं. को परिप्रेक्ष्यमा समेत प्रस्तुत विवाद विचारणीय देखिन्छ । मानो छुट्टिएको मितिपछिको आर्जन पनि बन्डा गरिदिएको पनि पाइन्छ । वादी काली मिजारको दुई अविवाहिता छोरीहरूलाई पुनरावेदन अदालतले विवाह खर्चसम्म छुट्‍याएको पाइन्छ । तर मिति २०६६/८/१ मा पुनरावेदन अदालतले फैसला गर्नुपूर्व नै अविवाहिता छोरी अंशियार नै कायम गर्नुपर्ने भएकोमा निजहरूलाई अ.बं. १३९ नं. बमोजिम नुबझी अंशियार कायम पनि नगरी सो फैसलामा कार्यविधिगत त्रुटि भएकोसमेत कारणबाट पुनरावेदन अदालतको फैसला फरक पर्न सक्ने देखिँदा अ.बं. २०२ नं. बमोजिम विपक्षी झिकाई आएपछि वा अवधि व्यतित भएपछि नियमानुसार पेस गर्नु भन्‍ने यस अदालतको मिति २०६८/६/४ को आदेश । 

हामी वादी प्रतिवादीहरू एकै अंशियार भएकोमा विवाद नभएको, प्रतिवादीहरूले समेत हामी छुट्टी भिन्‍न भएको भन्‍ने तथ्य पुष्टि हुने कुनै लिखत प्रस्तुत गर्न नसक्नुका साथै अंश भागबापत यो यति सम्पत्ति हामीहरूले बुझी लिएको भनी भन्‍न र देखाउन नसकेको अवस्था हुँदा पुनरावेदन अदालत, पाटनबाट मिति २०६६/८/१ मा भएको फैसला कायम राखी पाउँ भन्‍नेसमेत बेहोराको वादीहरू काली मिजार र प्रचण्ड रम्तेलको संयुक्त लिखित जवाफ । 

यसमा वादी काली मिजारको दुई अविवाहिता छोरीहरू नबुझी भएको फैसलामा कार्यविधिगत त्रुटि भएको भन्‍नेसमेत आधारमा विपक्षी झिकाउने आदेश भएको देखिँदा वादी काली मिजारको छोरीहरूको नाम, थर, वतन, पुनरावेदक र विपक्षीहरूबाट मुलुकी ऐन, अ.बं. १३३ नं. बमोजिम कागज गराई खुलाउन लगाई खुल्न आएको वतनमा म्याद जारी गरी निजहरू उपस्थित हुन आएमा अ.बं. १३९ नं. बमोजिम बुझी लगाउका मुद्दाहरू समेत साथै राखी नियमानुसार पेस गर्नु भन्‍ने यस अदालतको मिति २०७१/१०/१२ को आदेश । आदेशानुसार अ.बं. १३३ नं. बमोजिम कागज गराई काली मिजारका दुई छोरीहरू सानु रम्तेल र देवकी रम्तेलले हाम्रो विवाह भएको छैन । हामीहरूले नियमानुसार अंश पाउनु पर्छ भनी गरेको बयान मिसिल सामेल रहेको । 

यसमा मुलुकी ऐन, अ.बं.१३९ नं. बमोजिमको म्यादमा हाजिर भई आज यस अदालतमा बयान गर्ने सानु रम्तेल र देवकी रम्तेल कारणीसरह देखिँदा निजहरूलाई तारेखमा राखी नियमानुसार गर्नु भन्‍ने यस अदालतको मिति २०७२/१/१० को आदेश । 

प्रस्तुत मुद्दा मेलमिलापको लागि पटकपटक सर्वोच्‍च अदालतको मेलमिलाप केन्द्रमा पठाइए तापनि मिलापत्र हुन नसकेको । 

नियमबमोजिम दैनिक मुद्दा पेसी सूचीमा चढी निर्णयार्थ आज यस इजलाससमक्ष पेस भएको प्रस्तुत मुद्दाको पुनरावेदन पत्रसहितको मिसिल अध्ययन 

गरियो । पुनरावेदक / प्रतिवादी नरबहादुर मिजारको तर्फबाट उपस्थित विद्वान्‌ वरिष्‍ठ अधिवक्ता श्री वसन्तराम भण्डारी विद्वान्‌ अधिवक्ताहरू श्री गोपालप्रसाद अर्याल र श्री भोजराज भट्टले वादी प्रतिवादीहरूबीच व्यवहार प्रमाणबाट छुट्टी भिन्‍न भइसकेको देखिन्छ । यिनीहरूले मोहीको रूपमा छुट्टाछुट्टै नापी, सोही जग्गाहरू छुट्टाछुट्टै भोगचलन, छुट्टाछुट्टै घरपछि छुट्टाछुट्टै दर्ता र केही अंशियारहरूले बिक्रीसमेत गरिसकेको हुँदा कानूनतः बन्डा लाग्ने सम्पत्ति नभएको स्थितिमा मेरो पक्षले बाँसबारी छाला जुत्ता कारखानामा केही वर्ष काम गरी पछि आफैँले जुत्ता व्यवसाय गरी स्वआर्जन गरी काठमाडौं महानगरपालिका वडा नं. २२ख, कि.नं. ६३६ को क्षे.फ. ०-६-० जग्गा खरिद गरेकोमा सो जग्गासमेत बन्डा लाग्ने गरी पुनरावेदन अदालत, पाटनबाट भएको मिति २०६६/८/१ को फैसला त्रुटिपूर्ण हुँदा सो फैसला बदर गरी मेरो पक्षको पुनरावेदन जिकिरबमोजिम न्याय इन्साफ गरिपाउँ भन्‍नेसमेत बेहोराको बहस प्रस्तुत गर्नुभयो । 

प्रत्यर्थी / वादी प्रचण्ड रम्तेलको तर्फबाट उपस्थित विद्वान्‌ वरिष्‍ठ अधिवक्ता श्री राजु बस्नेतले वादी प्रतिवादीहरूबीच हालसम्म अंशबन्डा नभएको र नातामा समेत विवाद नभएको मिसिल संलग्न प्रमाणबाट देखिन्छ । विपक्षीहरूले मेरो पक्ष छुट्टी भिन्‍न भएको भन्‍ने तथ्य पुष्टि हुने कुनै लिखत प्रस्तुत गर्न नसक्नुका साथै अंशभागबापत यो यति सम्पत्ति मेरो पक्षले बुझी लिएको भनी भन्‍न र देखाउन नसकेको स्थितिमा पुनरावेदन अदालत, पाटनबाट भएको फैसला सदर कायम राखी न्याय इन्साफ पाउँ भन्‍नेसमेत बेहोराको बहस प्रस्तुत गर्नुभयो । 

पुनरावेदक / प्रतिवादी रामचन्द्र मिजारको तर्फबाट उपस्थिति विद्वान्‌ अधिवक्ता श्री केदार गौतमले मेरो पक्षको पिताले अंश पाए कि पाएनन् वा लिए खाए कि भन्‍ने कुरा अनुमानका आधारमा भन्दा पनि पैतृक सम्पत्तिको भोग बिक्री व्यवहार कानूनी तथ्यका आधारमा निरूपण गर्नुपर्ने कानूनी प्रश्न हो । मेरो पक्षको पिताले नै अंश पाएको मिसिल संलग्न प्रमाणबाट पुष्टि नभएको अवस्थामा मेरो पक्षले विपक्षीहरूलाई अंश दिनुपर्छ भन्‍नु न्यायोचित नदेखिँदा पुनरावेदन अदालत, पाटनको मिति २०६६/८/१ को फैसला सदर कायम राखी पाउँ भन्‍नेसमेत बेहोराको बहस प्रस्तुत गर्नुभयो । 

विद्वान्‌ कानून व्यवसायीहरूको बहस बुँदालाई समेत मध्यनजर राखी मिसिल संलग्न प्रमाण कागजातको अध्ययन गरी प्रस्तुत मुद्दामा पुनरावेदन अदालत, पाटनको मिति २०६६/८/१ को फैसला मिलेको छ, छैन ? पुनरावेदन जिकिरबमोजिम हुनुपर्ने हो वा होइन ? सोही विषयमा निर्णय दिनुपर्ने देखियो । 

२. निर्णयतर्फ विचार गर्दा, हामी सबै परिवार एकासगोलमा बसी आएका र हामीबीच अंशबन्डा भएको छैन । दलबहादुरका श्रीमतीहरू र हाम्रा पति तथा पिताको विभिन्‍न मितिमा मृत्यु भइसकेकोले पछि खान लाउन नदिई घरबाट निकालासमेत गरी अंश माग गर्दा नदिएकोले नियमानुसारको अंश पाउँ भन्‍नेसमेत बेहोराको फिराद दाबी भई दलबहादुरको कुनै पैतृक तथा बन्डा गर्नुपर्ने सम्पत्ति नभएको मोही भई कमाएको जग्गाहरू घरसारमा सल्लाह गरी आपसमा भोगचलन गरी आएका हुँदा विपक्षीलाई हामीहरूले अंश दिनुपर्ने होइन भन्‍नेसमेत बेहोराको प्रतिउत्तर भएको प्रस्तुत मुद्दामा वादी दाबी पुग्न नसक्ने ठहर्‍याएको सुरू फैसलालाई उल्टी गरी मिसिल संलग्न पेस भएको तायदाती फाँटवारीमा उल्लिखित सम्पूर्ण सम्पत्तिलाई ५ भाग लगाई ५ भागमध्ये १ भाग पति मुसे मिजारको भागबाट २ छोरीको विवाह खर्च पर सारी ३ भागमध्ये २ भाग अंश वादीहरूले पाउने ठहर्‍याएको पुनरावेदन अदालत, पाटनको मिति २०६६/८/१ को फैसलामा चित्त नबुझाई प्रतिवादीहरूको यस अदालतमा पुनरावेदन परी प्रस्तुत पुनरावेदन निर्णयार्थ पेस भएको रहेछ । 

३. मूल पुर्खा दलबहादुरका जेठी श्रीमती काली मिजारको तर्फबाट जन्मेका लक्ष्मण भन्‍ने कालिचरण मिजार र दलबहादुरकै कान्छी श्रीमती धनमाया मिजारका छोरा प्रतिवादी दोरङ्गे मिजारले वादीहरू काली मिजार र कान्छा मिजार भन्‍ने प्रचण्ड रम्तेल (मिजार) लाई अंश दिई यस अदालतबाट मिति २०७०/७/१३ मा मिलापत्र गरिसकेको ०६६-CI-११९०, ०६६-CI-११९१ को अंशचलन मुद्दाबाट देखियो ।  

४. अब, वादीहरू र बाँकी प्रतिवादीहरूको हकमा सम्म विचार गर्नुपर्ने भएको छ । मूल पूर्खा दलबहादुरका तीन श्रीमतीहरूमा जेठी काली मिजारतर्फ नसे मिजार, माइली जानुका मिजारतर्फ मुसे मिजार र कान्छी धनमाया मिजारतर्फबाट दोरङ्गे मिजार, नरबहादुर र सानुभाइ भन्‍ने लिलाबहादुर मिजारको जन्म भएको देखिन्छ । मुसे मिजारको दुई श्रीमतीमध्ये जेठीको तर्फ रामचन्द्र मिजार र कान्छी काली मिजारको तर्फबाट दुई छोरी सानु रम्तेल, देवकी रम्तेल र एक छोरा कान्छा मिजार भन्‍ने प्रचण्ड रम्तेल देखियो भने सानुभाइ भन्‍ने लिलाबहादुर मिजारको दुई श्रीमतीमा शान्ति मिजार र च्यामिनी मिजार देखिई प्रस्तुत मुद्दामा नाता पुस्तावलीमा कुनै विवाद 

देखिएन । मिति २०७०/७/१३ मा यस अदालतबाट वादीहरू र प्रतिवादीहरू मध्ये लक्ष्मण भन्‍ने कालीचरण मिजार र दोरङ्गेको हकमा सम्म मिलापत्र हुँदा अरू बाँकी अंशियारको समेत अंश हक लाग्ने भनी पुनरावेदन अदालत, पाटनबाट भएको फैसलामा उल्लेख भएको श्रीसम्पत्तिहरूलाई समेत अरू अंशियारको भाग नलाग्ने आफ्नो अंश भाग रहने भनी सबै अंशियारहरूको बीचमा सहमति मन्जुरी भएको देखिएन । सो मिति २०७०/७/१३ को मिलापत्रले फैसलाअनुसार अरू अंशियारहरूको अंश हकलाई कुनै असर पर्न सक्दैन । सबै अंशियारहरूले सम्पत्ति बाँडफाँड गरेको सहमति नजनाई आफ्नो नाउँमा दर्ता रहेका जग्गाहरू लक्ष्मण भन्‍ने कालिचरण मिजार र दोरङ्गे मिजारको आ-आफ्नो नाउँमा दर्ता रहेका सम्पत्ति अंशबापत पाउने गरी भएको मिलापत्रबाट फैसलाले ठहर गरेको अरू पुनरावेदकहरूको समेत अंश लाग्ने हकलाई असर पार्न सक्दैन । फैसलाबमोजिम बाँकी सबै अंशियारहरूको अंश हक रहने नै हुन्छ । 

५. कुनै अंशियारको नाममा कुनै सम्पत्ति रहँदैमा अंशबन्डाको ३० नं. को प्रयोजनको लागि व्यवहार प्रमाणबाट अंशबन्डा भइसकेको अर्थ गर्न मिल्दैन । व्यवहार प्रमाणबाट अंशबन्डा भएको देखिनका लागि पनि नरम गरम मिलाई अंशबन्डा गरेको, अंशबन्डा गरी भाग शान्ति पाएको सम्पत्ति आ-आफ्नो नाममा दाखिला खारेज भएको पनि देखिनु पर्ने हुन्छ । प्रमाण ऐन, २०३१ को दफा २७(२) बमोजिम प्रचलित नेपाल कानूनबमोजिम वादीलाई दिनु वा बुझाउनु पर्ने कुरा सो कानूनबमोजिम दिए वा बुझाएको छु भनी प्रमाणित गर्ने भार प्रतिवादीको हुन्छ । प्रस्तुत मुद्दामा प्रतिवादीहरूले वादीहरूलाई विधिवत् बन्डापत्र पारित गरी अंश दिएको वा घरसारमा नरम गरम मिलाई भाग शान्ति अंश दिएको भन्‍ने कुराको प्रमाण पुर्‍याउन सकेको मिसिलबाट देखिँदैन । अंशजस्तो नैसर्गिक हकमा अंशियारले पाउनु पर्ने सम्पत्ति नपाएसम्म वा विधिवत् अंश हक नछोडेसम्म अंश छुट्‍याई लिन पाउने हुँदा सानातिना प्राविधिक कारण देखाई अंशहक भएको सम्पत्तिमा अंशियारलाई सो हकबाट वञ्‍चित गर्नु न्यायोचित 

हुँदैन । प्रस्तुत मुद्दामा वादी र प्रतिवादीहरू अंशियार नाता भएको र अंशबन्डा भएको प्रमाण मिसिलबाट देखिँदैन । बाबु बाजेकै पालादेखि भोग गरेको मोहीको जग्गा प्राप्‍त भएको हुँदा त्यस्ता सम्पत्तिमा सबै अंशियारको अंश हक लाग्ने नै हुन्छ । 

६. काठमाडौं महानगरपालिका वडा नं. ३१, कि.नं. ११८७ को क्षे.फ. ०-४-१-३ जग्गा र सोमा बनेको घरसमेत मेरो माइतीको दाइजो एवं मेरो स्वआर्जनबाट खरिद गरेको हुँदा बन्डा लाग्ने होइन भन्‍ने पुनरावेदक नेपी मिजारको पुनरावेदन जिकिरको सम्बन्धमा विचार गर्दा विवादित सम्पत्ति निजी आर्जनको हो भन्‍ने यी पुनरावेदक नेपी मिजारको भनाइ प्रमाणित हुने कुनै ठोस प्रमाण कागज निजले पेस गर्न सकेको छैन । निजी आर्जनबाट खरिद गरेको हो भन्‍ने प्रतिवादीको भनाइ प्रमाणित भएको 

देखिएन । सगोलको अंशबन्डा लाग्ने सम्पत्ति भनी दाबी भएकोमा सगोलको सम्पत्ति होइन अंशबन्डा नलाग्ने निजी आर्जनको सम्पत्ति हो भन्‍ने पक्षले नै त्यसको सबुद गुजार्नु पर्ने हुन्छ । यस्तो अवस्थामा विवादित उक्त सम्पत्ति निजी आर्जनको भनी भन्‍न मिल्ने 

देखिएन । सगोलको अवस्थामा आर्जन गरेको सम्पत्तिमा सबै अंशियारहरूको अंश रहने नै देखियो । 

७. पुनरावेदक / प्रतिवादी नरबहादुर मिजारले तायदातीमा उल्लेख गरेको काठमाडौं महानगरपालिका वडा नं. २२ख, बाँसबारी कि.नं. ६३६ को ०-६-० जग्गा र सो जग्गामा रहेको २ तल्ले पक्की घर बाँसबारी छाला जुत्ता कारखानामा काम गरी ऋण लिएर जुत्ता पेसा गरी आर्जन गरको निजी सम्पत्ति हुँदा बन्डा गर्न नपर्ने भनी उल्लेख गरेको सम्बन्धमा विचार गर्दा, कुनै व्यक्तिले आफ्नो श्रम वा बौद्धिक क्षमताबाट कुनै सम्पत्ति आर्जन गर्दछ भने त्यस्तो सम्पत्तिलाई निजी आर्जन भनिन्छ । अंशबन्डाको विषयमा निजी आर्जन हुनको लागि अंशियारमध्ये कसैले एकाघर सगोलको सम्पत्ति प्रयोग नगरी सगोलको सम्पत्ति नमिसाइकन आफ्नै श्रम र सीपबाट कुनै सम्पत्ति आर्जन गरेको छ भने सो सम्पत्तिलाई स्वआर्जन भन्‍न सकिन्छ । 

८. निज नरबहादुर बाँसबारी छाला जुत्ता कारखानामा काम गरेको छैनन् होइन भन्‍ने अंशियारहरूले कुनै जिकिर लिन सकेको पनि 

देखिएन । सो कि.नं. ६३६ को घर जग्गा हिमालयन फाइनान्स एन्ड सेभिङ कम्पनी लिमिटेडको फुकुवा गरिदिने भन्‍ने पत्रबाट देखिन्छ । फाइनान्सबाट लिएको ऋण चुक्ता गर्नमा अन्य अंशियारहरूले समेत सहयोग गरेको कुनै प्रमाण गुजार्न सकेको मिसिल संलग्न प्रमाणबाट देखिँदैन । अतः निज पुनरावेदकले नोकरी गरी कमाई ऋण लिई व्यापार व्यवसाय गरी आर्जन गरेको पुष्टि हुन आएको छ । वादीहरूको पैतृक सम्पत्ति सबै मातातिर्थ गाउँ विकास समितिअन्तर्गत रहेको 

छ । बाँसबारी छाला जुत्ता कारखानामा काम गरी सोही स्थान बाँसबारीमा पुनरावेदक नरबहादुर मिजारले खरिद गरेको कि.नं. ६३६ नं. को घर जग्गा निजी आर्जनको भई बन्डा लाग्ने देखिएन । सोबाहेक अरू सम्पत्तिमा बन्डा लाग्ने नै देखियो ।

९. मिसिल संलग्न प्रमाण कागजबाट वादी काली मिजारका दुई छोरीहरू सानु रम्तेल र देवकी रम्तेलसमेत अंशियार रहेको देखियो । यसर्थ, मूल अंशियार ५ जनामध्ये वादीको पति पिता मुसे मिजारले प्राप्‍त गर्ने १ भागबाट वादीहरू काली मिजार-१, प्रचण्ड रम्तेल-१, बुझिएका सानु रम्तेल-१, देवकी रम्तेल-१ र विपक्षी रामचन्द्र मिजार-१ समेत जम्मा ५ जना अंशियार भई सो वादीका पति पिता मुसे मिजारको १ भागबाट वादीहरू काली मिजार र प्रचण्ड रम्तेलले ५ भागको २ भाग अंश पाउने ठहर्छ । पुनरावेदन अदालत, पाटनको मिति २०६६/८/१ को फैसला केही उल्टी हुन्छ । अरूमा तपसिलबमोजिम गर्नू ।

तपसिल

माथि इन्साफ खण्डमा लेखिएबमोजिम पुनरावेदन अदालत, पाटनको मिति २०६६/८/१ को फैसला केही उल्टी भई नरबहादुर मिजार नाउँ दर्ताको काठमाडौं महानगरपालिका वडा नं. २२ख बाँसबारी, कि.नं.. ६३६ को ०-६-० जग्गा र सो जग्गामा रहेको २ तल्ले पक्‍की घर निजको निजी आर्जनको भई बन्डा नलाग्ने ठहरेकाले सोबाहेक अन्य तायदातीमा उल्लिखित सम्पूर्ण सम्पत्तिबाट ५ भाग लगाई मुसे मिजारको १ भागबाट वादीहरू काली मिजार र प्रचण्ड रम्तेलले ५ भागको २ भाग अंश छुट्‍याई लिन पाउने ठहरेको हुँदा नियमबमोजिम अंश छुट्‍याई पाउँ भनी वादीहरूको दरखास्त परे कानूनबमोजिम छुट्‍याई चलन चलाई दिनु भनी सुरूमा लेखी पठाउनू -----१

प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाई दिनू ---२

 

उक्त रायमा सहमत छु ।

न्या. बमकुमार श्रेष्ठ

 

इजलास अधिकृत:- विद्याराज पौडेल

इति संवत् २०७४ साल फागुन ९ गते रोज ४ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु