निर्णय नं. १०१०३ - सवारी ज्यान

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा
माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी
फैसला मिति : २०७४।२।२२
०७१-CR-०७९२
मुद्दाः- सवारी ज्यान
पुनरावेदक / वादी : दिपकनाथ भन्ने दिनानाथ योगीको जाहेरीले नेपाल सरकार
विरूद्ध
प्रत्यर्थी / प्रतिवादी : सल्यान जिल्ला, खलङ्गा गा.वि.स. वडा नं. ५ बस्ने प्रदिप खत्री
पूर्वानुमान नगरिएको काबूबाहिरको कारण परी हुने दुर्घटनालाई मानवीय गल्ती नै हो भनी किटान गर्नु विवेकसम्मत नहुने ।
(प्रकरण नं.३)
कुनै पनि वारदातमा यदि परिणामको पूर्वज्ञान हुँदाहुँदै पनि जोखिम उठाउने तत्परता देखिएको छ भने लापरवाही भएको मान्न पनि सकिन्छ । तर परिणामको इच्छा नभएको, सावधानी अवलम्बन गर्न खोज्दाखोज्दै पनि अनिच्छित परिणाम आएको अवस्थामा लापरवाही गरेको भनी बढी सजाय गर्न मनासिब हुने नदेखिने ।
(प्रकरण नं.४)
पुनरावेदक / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री दुर्गा खड्का
प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री रूद्रप्रसाद पाठक
अवलम्बित नजिर :
सम्बद्ध कानून :
सुरू तहमा फैसला गर्ने
माननीय न्यायाधीश श्री राजेन्द्र अधिकारी
सल्यान जिल्ला अदालत
पुनरावेदन तहमा फैसला गर्ने
माननीय न्यायाधीश श्री शेषराज शिवाकोटी
माननीय न्यायाधीश श्री मेघनाथ भट्टराई
पुनरावेदन अदालत तुलसीपुर, दाङ
फैसला
न्या. ईश्वरप्रसाद खतिवडा : तत्कालीन न्याय प्रशासन ऐन, २०४८ को दफा १२ बमोजिम मुद्दा दोहोर्याई हेरी पाउन निवेदन परी यस अदालतको मिति २०७१।०९।१७ को आदेशले निस्सा प्रदान भई पुनरावेदनसरह दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः-
तथ्य खण्ड
जिल्ला सल्यान, खलंगा गा.वि.स. वडा नं. ५ मैसेपानी स्थित श्रीनगर सितलपाटीबाट खलंगा जाने पक्की सडक, उक्त सडकको पिचको भाग १६ फिट रहेको, उक्त सडकको ७ फिट पूर्वदेखि पश्चिममा रा. १ त. ८९७ नं. को ट्याक्टरको एक्सल भाँचिई सडकमा खोस्रिएको देखिएको, उक्त ट्याक्टरको ट्रली, टु चेन भाँचिई सडकको पूर्व भागमा घोप्टो परेको, ट्रलीबाट पश्चिमपट्टि खोस्रिएको भाग २५ फिट रहेको, मेन इन्जिनसमेत बायाँतर्फ कोल्टो परेको, सडकको पूर्व भागमा कलभर्डमा विद्यार्थीको जुत्ता चप्पल, कपी, क्लिपबोर्ड छरपस्ट देखिएको, सडक छेउमा रगतको टाटाहरू देखिएको, सल्यान खलंगा-१ बस्ने वर्ष १२ की मिना योगीसमेत उक्त रा १ त ८९७ नं. को ट्रयाक्टर दुर्घटना भई घाइते भई उपचारका क्रममा मृत्यु भएको र अन्य घाइते भएको भन्ने घटनास्थल प्रकृति विवरण ।
मिति २०६९।१२।०५ गते जिल्ला सल्यान खलंगा गा.वि.स. वडा नं. ५ बस्ने प्रदिप खत्री चालक भई रा. १ त ८९७ नं. को ट्याक्टर श्रीनगरतर्फ बालुवा गिट्टी ल्याउन जाँदै गर्दा सो ट्याक्टर खाली भएको र सो दिनको एस.एल.सी. परिक्षासमेत सकिएको अवस्थाले श्रीनगरतर्फ जाने अधिकांश विद्यार्थीहरू सो ट्याक्टरमा बसी श्रीनगरतर्फ जाँदै गर्दाको अवस्थामा ट्याक्टरको एक्सल भाँचिन गई दुर्घटना हुँदा ट्रली फुत्किन गई सो ट्रलीमा बसेका विद्यार्थीहरू घाइते भएका र म जाहेरवालाको छोरी वर्ष १९ की मिना योगीको मृत्यु भएकोले चालक प्रदिप खत्रीलाई सवारी ऐन, नियमावलीअनुसार कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको दिपकनाथ योगीको जाहेरी दर्खास्त ।
मिति २०६९।१२।५ मा श्री त्रिभुवन जनता उच्च माध्यमिक विद्यालय, लुहापीङ, खलंगामा २०६९ को एस.एल.सी. परीक्षा केन्द्र परेकोले हामीहरू उक्त दिन अनिवार्य विज्ञान परीक्षा दिई रा १ त ८९७ नं. को ट्याक्टर चढी खलंगाबाट सितलपाटी जाँदै गर्दा जिल्ला सल्यान, खलंगा गा.वि.स. वडा नं. ५ मैसेपानी स्थित सडकमा दुर्घटना हुँदा उक्त ट्याक्टरमा यात्रा गरी आएका हामीहरू घाइते भएकाले घाउ जाँच गरिपाउँ भन्नेसमेत बेहोराको लक्ष्मी बुढाथोकीसमेत २२(बाइस) जनाले जिल्ला प्रहरी कार्यालय सल्यानमा दिएको निवेदन ।
मिना योगीको मृत्यु टाउकोमा लागेको चोट (Head Injury) को कारण भएको भन्ने शव परीक्षण प्रतिवेदन ।
जिल्ला सल्यान, चाँदे करेन्जी-१ बस्ने ठगेन्द्र बुढाथोकीसमेत २२ जनाको घाउ जाँच केस फारम प्रतिवेदन ।
मिति २०६९।१२।०५ गते बिहान अं. १०.०० बजेको समयमा खलंगा बजारबाट श्रीनगर पेट्रोल पम्पमा तेल हाली खोलाबाट गिट्टी ल्याउन भनी मैले चलाउँदै आएको रा.१.त. ८९७ नं. को ट्याक्टर चलाई लुहापिङ स्कुलमा एस.एल.सी. परीक्षा दिन आएका साथी साजन सुनारलाई लिन गएको अवस्थामा श्रीनगरतर्फ जाने विद्यार्थीहरू पनि ट्याक्टरमा चढेका र खलंगा गा.वि.स. वडा नं. ५ मैसेपानी नजिक पुग्दा ट्याक्टरको ठूलो चक्काको बायाँतर्फको एक्सल भाँचिई बायाँ ठूलो टायर उछिट्टिई गएकोले ट्रली फुत्किई घोप्टिएको र इन्जिनको भाग केही अगाडि पुगी बायाँतर्फ पल्टिएको हो । ट्रलीमा बसेका व्यक्तिहरू ट्रलीले च्यापिएर घाइते भएका हुन् । घाइतेमध्ये १ जनाको मृत्यु भएको हो भन्नेसमेत बेहोराको प्रतिवादी प्रदिप खत्रीको बयान कागज ।
उक्त दुर्घटनामा मलगायत अन्य साथीहरूसमेत घाइते भएका हौं । उपचारबापतको खर्च सवारी धनीबाट भराई लापरवाहीपूर्ण तरिकाले ट्याक्टर चलाई दुर्घटना गराउने चालकलाई कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको घाइते पारस गिरी, मंगल योगी, तारा योगी, टेकराज कुमाई, यमराज रावत, जितीकुमारी बुढाथोकी, ठगेन्द्र बुढाथोकी, राधा वली, रमेश बुढाथोकी, विष्णु बुढाथोकी, सौगात डि.सी., प्रदिप खड्का, विरेन्द्र बस्नेत, सुशिल थापा, दुर्गा विष्ट, खड्गबहादुर राना, ताराप्रसाद डाँगीले खुलाइदिएको घटना विवरण कागज ।
उक्त दुर्घटनामा मसमेत घाइते भएको हुँ । उपचार खर्चसमेत सवारी धनीबाट दिलाई भराई पाउँ भन्नेसमेत एकै मिलान बेहोराको घाइतेहरू टोपबहादुर के.सी., सावित्रा वि.क. र पुष्पा बोहरासमेतले गरी दिएको छुट्टाछुट्टै कागज ।
उक्त दुर्घटनामा छोरी सरिता योगीसमेत गम्भीर घाइते भएको र निज हाल हिँड्डुल गर्न नसक्ने भएकोले घरमा नै छिन् । निजको उपचारमा लागेको बिल भरपाई यसैसाथ पेस गरेको छु । रू.६८३३।७५ को बिल भरपाईको रकम दिलाई भराई पाउँ भन्नेसमेत बेहोराको थम्मन योगीले गरेको कागज ।
मध्यपश्चिमाञ्चल फाइनान्स तुल्सीपुर दाङको नाममा रहेको र ऋणी म भएको रा. १ त ८९७ नं. को ट्याक्टर मिति २०६९।५।२२ गते जिल्ला कैलाली टिकापुर नगरपालिका वडा नं. ९ बस्ने कालु शाहीको छोरा वर्ष ३४ को धिरेन्द्र शाहीलाई उक्त ट्याक्टर ट्रलीसहित रू.१०,५०,०००।- (दश लाख पचास हजार) बुझाउने गरी भरपाई कागजसमेत गरी जिम्मामा दिएको केही रकम बुझाएको र केही रकम बाँकी रहेको थियो । उक्त ट्याक्टर मिति २०६९।५।२२ गतेदेखि निज धिरेन्द्र शाहीको जिम्मामा नै सञ्चालन गर्दै आएकोले मिति २०६९।१२।५ गते भएको दुर्घटनाको मृतकको आफन्त तथा घाइतेलाई उपचारमा लागेको सम्पूर्ण खर्च निज धिरेन्द्र शाहीबाटै नै दिलाई भराई दिनुपर्छ भन्नेसमेत बेहोराको खनान्द कुमार खड्गीले गरिदिएको कागज ।
जाहेरी दर्खास्तमा मेरो नाम दिपकनाथ योगी भए तापनि नागरिकतामा वास्तविक नाम दिनानाथ योगी हो, किरिया खर्च तथा क्षतिपूर्तिसमेत नपाएकोले सवारी धनीबाट दिलाई भराई पाउँ भनी दिनानाथ योगीले गरिदिएको कागज ।
उक्त दुर्घटनाबारे सुनी थाहा पाएको हुँ भन्नेसमेत बेहोराको फत्तबहादुर नेपाली, सर्जनकुमार प्रधान र प्रेम खड्काले गरिदिएको कागज ।
दिनानाथ योगीको जाहेरी दर्खास्त, घटनास्थल प्रकृति मुचुल्का, लास जाँच प्रकृति मुचुल्का, पोष्टमार्टम प्रतिवेदन, प्रतिवादीको बयान, घाइतेहरूको कागजसमेतका प्रमाणहरूबाट प्रतिवादी प्रदिप खत्रीले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१(२) बमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले निजलार्इ सोही ऐनको सोही दफा १६१(२) बमोजिम सजाय गरिपाउँ भन्ने अभियोग पत्र ।
मिति २०६९।१२।५ गते बिहानको करिब १० बजेतिर मैले रा.१ त ८९७ नं. को ट्याक्टर चलार्इ बालुवा, गिट्टी ल्याउनको लागि श्रीनगरतर्फ जाँदै गर्दा गाउँले भाई साजन सुनारले श्री त्रिभुवन जनता उच्च मा.वि., लुहापीङ खलंगा, सल्यानमा २०६९ को एस.एल.सी. परीक्षा दिइरहेकोले उसलाई लिन त्यहाँ पुग्दा ऊ सँगै अन्य एस.एल.सी. दिइरहेका विद्यार्थीहरू करिब १५/२० जना नचढ नचढ भन्दाभन्दै चढे । गाडी रोक्दा पनि झरेनन् । त्यहाँबाट करिब २/३ कि.मि. गइसकेपछि मैसेपानी भन्ने स्थानमा उक्त ट्याक्टरको एक्सल भाँचियो र बीचको ठूलो टायरलाई फ्याँदा गाडी पल्टियो । ट्रलीमा बसेका जति विद्यार्थीहरू ट्रली पल्टिएकाले घाइते हुन पुगे भने एकजनाको घटनास्थलमै मृत्यु हुन पुगेको हो भन्नेसमेत बेहोराको प्रतिवादी प्रदिप खत्रीले सुरू अदालतमा गरेको बयान ।
प्रतिवादी प्रदिप खत्रीबाट रू.६०,०००।– धरौट वा सो बराबरको जेथा दिए लिई पुर्पक्षको लागि तारिखमा राख्ने भन्ने सल्यान जिल्ला अदालतको आदेश ।
मिति २०६९।१२।५ गते खलंगा गा.वि.स. अन्तर्गत मैसेपानी भन्ने स्थानमा ट्याक्टर दुर्घटनामा परेकी मेरी छोरी वर्ष १९ की मिना योगीलाई मैले सल्यान अस्पतालमा मृत अवस्थामा देखेको हुँ । अन्य घाइते उपचार गरी पछि आ–आफ्नो घर गएका हुन् । उक्त ट्याक्टरको एक्सल भाँचिएको कारण दुर्घटना हुन गएको हो । निजलाई सजाय हुन पर्दैन भन्ने जाहेरवाला दिपकनाथ भन्ने दिनानाथ योगीले गरेको बकपत्र ।
उक्त ट्याक्टरमा हामी आफैँ जबरजस्ती चढेका हौं । चालकलाई सजाय गर्नुपर्ने होइन भन्नेसमेत बेहोराको घटना विवरण कागज गर्ने जितीकुमारी बुढाथोकीले गरेको बकपत्र ।
प्रतिवादी प्रदिप खत्री मेरो साथी भएको नाताले मेरो एस.एल.सी. को परीक्षापश्चात् मलाई लिन ट्याक्टर रोकेकोले अरू साथीहरूलाई नचढ भन्दाभन्दै जबरजस्ती चढेका हुन् भन्नेसमेत बेहोराको प्रतिवादीका साक्षी साजन सुनारले गरेको बकपत्र ।
मिसिल संलग्न कागज प्रमाणहरूबाट प्रतिवादीको लापरवाहीबाट घटना घट्न गएको नभई हाँकिरहेको ट्याक्टरको एक्सल भाँचिन गई सोही कारणबाट ट्याक्टरको ट्रली पल्टी दुर्घटना भएको देखिँदा प्रतिवादीको उक्त कार्य सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१(२) को नभई दफा १६१(३) को विपरीत देखिँदा ऐ. को दफा १६१(३) नं. बमोजिम प्रतिवादी प्रदिप खत्रीलाई २४ दिन कैद र रू.२०००।- जरिवानासमेत हुने ठहर्छ भन्ने सल्यान जिल्ला अदालतको मिति २०७०।२।६ को फैसला ।
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १२ मा एक प्रयोजनको सवारी अन्य प्रयोजनमा प्रयोग गर्न नहुने भन्ने कानूनी व्यवस्था रहेकोमा सोको विपरीत प्रयोग गरेबाट प्रतिवादीले गैरकानूनी कार्य गरी लापरवाही गरी कानूनको पालना नगरेको पुष्टि भएको अवस्थामा जानी जानी गरेको यस्तो लापरवाहीको कारण ट्याक्टरको एक्सल भाँचिर्इ दुर्घटना भई मृतकको मृत्यु भएकोमा लापरवाही थिएन भनी न्यून सजाय गरेको सुरू सल्यान जिल्ला अदालतको फैसला त्रुटिपूर्ण हुँदा उल्टी गरी प्रतिवादीलार्इ अभियोग माग दाबीबमोजिम सजाय गरिपाउँ भन्नेसमेत बेहोराको वादी नेपाल सरकारको पुनरावेदन अदालत तुलसीपुरमा परेको पुनरावेदन ।
चालकको लापरवाहीको कारणबाट दुर्घटना भएको नभई यान्त्रिक गडबडीको कारणबाट दुर्घटना भएको देखिँदा प्रतिवादी प्रदिप खत्रीलार्इ सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१(३) को कसुर गरेको ठहर्याई २४ दिन कैद र रू.२,०००।- जरिवाना हुने गरी सुरू सल्यान जिल्ला अदालतबाट मिति २०७०।२।६।२ मा भएको फैसला मनासिब नै देखिँदा सदर हुने ठहर्छ । वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने पुनरावेदन अदालत तुलसीपुरको मिति २०७०।११।२० को फैसला ।
प्रतिवादी प्रदिप खत्रीले एक प्रयोजनको सवारी अन्य प्रयोजनमा प्रयोग गरी ट्याक्टरको ट्रलीमा मानिसहरू राखी चलाएको कारण मिना योगीको मृत्यु भएबाट प्रतिवादीले लापरवाहीपूर्ण कार्य गरेको स्पष्ट भइरहेको अवस्थामा प्रतिवादीलार्इ अभियोग माग दाबीबमोजिम सजाय नगरी कम सजाय हुने गरी पुनरावेदन अदालत तुलसीपुरबाट भएको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी प्रतिवादीलाई अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भन्ने भन्नेसमेत बेहोराको वादी नेपाल सरकारको तर्फबाट यस अदालतमा मुद्दा दोहोर्याई हेरी पाउन परेको निवेदन ।
प्रतिवादीको ट्याक्टर सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा २ परिभाषा खण्डको देहाय (छ), (त) तथा (थ) भित्रको मालवाहक सवारी देखिन्छ । ऐ. ऐनको दफा १२ मा एक प्रयोजनको निम्ति दर्ता भएको सवारी अन्य प्रयोजनको निम्ति प्रयोग गर्न नहुने भनी स्पष्ट उल्लेख भएको
पाइन्छ । ऐ. दफा ११७ मा सवारीमा राखिने मानिस र मालसामानको हद तोक्ने व्यवस्था तथा दफा १२३ मा सवारीको अन्य भागमा मानिस राख्न नहुने भन्नेसमेत व्यवस्था रहेकोले ती व्यवस्थाहरूको पालन गरी यी प्रतिवादीउपर सवारी चलाउनु पर्ने दायित्व रहेको देखिन्छ । बेलायतको Road Traffic Act, 1991 को दफा 2A(4) मा “In determining for the purposes of sub-section (2) above the state of vehicle, regard may be had to anything attached to or carried on or in it and to the manner in which it is attached or carried भनी खतरनाक हँकाइ (driving dangeriously) भन्ने कसुरको सन्दर्भमा उल्लेख गरेको देखिन्छ । प्रस्तुत दुर्घटना प्रतिवादीको लापरवाहीबाट भएको होइन, यान्त्रिक गडबडीको कारणबाट भएको भन्ने पुनरावेदन अदालतको निर्णयाधार रहेकोमा ट्याक्टरमा ट्रली जडान भएको मिले नमिलेको र सो जोखिमयुक्त रहेको वा नरहेको जस्ता प्रत्यक्षरूपमा (patently) अवलोकन गर्न सकिने हुन्छ । यस्तो कुरामा चालकले उन्मुक्ति पाउने नभई सिर्फ ठम्याउन नसकिने (latent) को लागि मात्र चालक जिम्मेवार नहुने भन्ने सवारी कसुरको मान्य सिद्धान्तको सन्दर्भमा यी प्रतिवादीले सामान ढुवानीका लागि प्रयोग हुने ट्याक्टरको ट्रलीमा धेरै विद्यार्थीहरू राखेर ट्याक्टर चलाएको कार्यको परिणामस्वरूप भएको गम्भीर दुर्घटना यी प्रतिवादीको काबुबाहिरको परिस्थिति परी भएको नभई प्रतिवादीले unjustifiable risk of death लिई मृतकसमेतलाई deliberately put at risk मा पारेको देखिँदा पुनरावेदन अदालत तुलसीपुरबाट भएको फैसला ने.का.प.२०७१ अंक ५ पृष्ठ ७१७ मा प्रकाशित नि.नं. ९१६९ को सवारी ज्यान मुद्दा तथा ०६७-CR-००६९ को सवारी ज्यान मुद्दामा २०७१।०५।१० मा भएको फैसलाहरूमा भएको व्याख्याविपरीत समेत देखिई न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क)(ख) को अवस्था विद्यमान देखिँदा मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान गरिदिएको छ भन्ने यस अदालतको मिति २०७१।०९।१७ को आदेश ।
ठहर खण्ड
नियमबमोजिम पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदनसहितको मिसिल अध्ययन गरी पुनरावेदक वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान् उपन्यायाधिवक्ता श्री दुर्गा खड्काले मालसामान बोक्ने ट्याक्टरले क्षमताभन्दा बढी विद्यार्थीहरू बोकेको कारण एक्सल भाँचिन गई ट्रली पल्टी एक जना विद्यार्थीको मृत्युसमेत भएको घटनामा चालकको लापरवाही देखिएकोले प्रतिवादीलाई अभियोग दाबीबमोजिम नै सजाय हुनुपर्नेमा कम सजाय गरेको फैसला मिलेको छैन भन्नेसमेत बहस गर्नुभयो । प्रत्यर्थी प्रतिवादीको तर्फबाट उपस्थित विद्वान् अधिवक्ता श्री रूद्रप्रसाद पाठकले एस.एल.सी.को परीक्षा दिई घरतर्फ जान लागेका विद्यार्थीहरूलाई नचढ भन्दाभन्दै पनि प्रतिवादीको ट्याक्टरमा चढेका र ट्याक्टरको यान्त्रिक गडबडीको कारण ट्रलीसमेत पल्टी उक्त दुर्घटना हुनु चालकको काबुबाहिरको परिस्थिति भएकोले चालकले लापरवाही गरेको कारण उक्त घटना घटेको भन्न मिल्दैन । प्रतिवादी निर्दोष हुँदा निजलाई अभियोग मागबमोजिम सजाय हुनुपर्ने होइन भन्नेसमेत बहस गर्नुभयो ।
प्रस्तुत मुद्दामा प्रतिवादी प्रदिप खत्रीलाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१(२) बमोजिमको कसुरमा सोही दफाबमोजिम सजाय हुन अभियोग मागदाबी रहेकोमा प्रतिवादीले उक्त ऐनको दफा १६१(३) को कसुर गरेको ठहर्याई सोही दफाबमोजिम २४ दिन कैद र रू.२०००।- जरिवानासमेत हुने गरी सुरू सल्यान जिल्ला अदालतबाट फैसला भएको देखियो । उक्त फैसला पुनरावेदन अदालत तुलसीपुरबाट सदर भएउपर वादी नेपाल सरकारको तर्फबाट मुद्दा दोहोर्याई पाउन निवेदन परी यस अदालतबाट मिति २०७१।०९।१७ मा निस्सा प्रदान भई पुनरावेदनसरह दायर भई पेस हुन आएको देखिन आयो । प्रतिवादीले लापरवाही गरी एक प्रयोजनको सवारी साधन अर्को प्रयोजनमा प्रयोग गरी क्षमताभन्दा बढी विद्यार्थी चढाएको कारण उक्त दुर्घटना हुन पुगेको भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकिर रहेको पाइन्छ ।
अब पुनरावेदन अदालत तुलसीपुरबाट भएको फैसला मिलेको छ वा छैन ? वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्ने हो वा होइन ? भन्ने सम्बन्धमा निर्णय गर्नुपर्ने देखिन आयो ।
२. निर्णयतर्फ विचार गर्दा प्रदिप खत्री चालक भई रा. १ त ८९७ नं. को ट्याक्टर श्रीनगरतर्फ बालुवा गिट्टी ल्याउन जाँदै गर्दा सो दिनको एस.एल.सी. परीक्षा सकी श्रीनगरतर्फ जाने अधिकांश विद्यार्थीहरू सो ट्याक्टरमा बसी श्रीनगरतर्फ जाँदै गर्दाको अवस्थामा ट्याक्टरको एक्सल भाँचिन गई दुर्घटना हुँदा ट्रली फुत्किन गई सो ट्रलीमा बसेका विद्यार्थीहरू घाइते भएका र जाहेरवालाको छोरी वर्ष १९ की मिना योगीको मृत्यु भएकोले चालक प्रदिप खत्रीलाई सवारी ऐन, नियमावलीअनुसार कारबाही गरिपाउँ भन्ने जाहेरवाला दिपकनाथ भन्ने दिनानाथ योगीको जाहेरी दरखास्तको बेहोरा रहेको पाइन्छ । निजले अदालतमा बकपत्र गर्दा उक्त ट्याक्टरको एक्सल भाँचिएको कारण दुर्घटना हुन गएको हो, प्रतिवादीलाई सजाय हुनु पर्ने होइन भनी उल्लेख गरेको पाइयो । उक्त ट्याक्टरको एक्सल भाँचिई सडकमा खोस्रिएको देखिएको, ट्रली, टु चेन भाँचिई सडकको पूर्व भागमा घोप्टो परेको, मेन इन्जिनसमेत बायाँतर्फ कोल्टो परेको भन्ने घटनास्थल मुचुल्का रहेको पाइन्छ । मिति २०६९।१२।०५ गते अं. १०.०० बजेको समयमा श्रीनगर खोलाबाट गिट्टी ल्याउन जाने क्रममा लुहापिङ स्कुलमा एस.एल.सी. परीक्षा दिन आएका चालकका साथी साजन सुनारलाई लिई जानको लागि रा.१.त. ८९७ नं. को ट्याक्टर चलाई उक्त स्कुलमा गएको अवस्थामा नचढ भन्दा पनि नमानी श्रीनगरतर्फ जाने विद्यार्थीहरू समेत चढेका र श्रीनगरतर्फ जाँदै गर्दा मैसेपानी नजिक पुग्दा ट्याक्टरको ठूलो चक्काको बायाँतर्फको एक्सल भाँचिई बायाँ ठूलो टायर उछिट्टी गएकोले ट्रली फुत्किई ट्रली घोप्टिई ट्रलीमा बसेका विद्यार्थीहरू च्यापिएर घाइते भएका र घाइतेमध्ये १ जनाको मृत्यु भएको भन्ने तथ्य प्रतिवादीले अनुसन्धान तथा अदालतको बयानमा समेत स्वीकार गरेको देखिन्छ । निजको साक्षी साजन सुनारले एस.एल.सी.को परीक्षापश्चात् आफूलाई लिन ट्याक्टर रोकेकोमा अरू साथीहरूलाई नचढ भन्दाभन्दै जबरजस्ती चढेका हुन् भनी प्रतिवादीकै बयान बेहोरा समर्थन हुने गरी बकपत्र गरी दिएको देखियो । घटना विवरण कागज गर्ने जितीकुमारी बुढाथोकीले उक्त ट्याक्टरमा हामी आफैँ जबरजस्ती चढेका हौं, चालकलाई सजाय गर्नुपर्ने होइन भनी बकपत्र गरेको पाइयो ।
३. उपर्युक्तबमोजिमको तथ्यहरूबाट प्रतिवादीले चलाएको ट्याक्टरको एक्सल भाँचिन गई उक्त दुर्घटना भएको भन्ने कुरामा विवाद रहेको देखिएन । प्रतिवादीले श्रीनगर खोलाबाट गिट्टी ल्याउने प्रयोजनको लागि सो खोलातर्फ उक्त ट्याक्टर चलाई जान लागेको भन्ने निजको भनाइ अन्यथा देखिँदैन । एस.एल.सी. परीक्षा दिएका आफ्नो साथीलाई लिन स्कुलसम्म गएको कुरालाई निजको साथी साजन सुनारले समेत स्वीकार गरेको देखिन्छ । यी प्रतिवादीको मनसाय विद्यार्थीहरूलाई समेत ट्याक्टरमा चढाई आर्थिक लाभ लिने भन्ने देखिँदैन । निजले नियमित रूपमा विद्यार्थीहरूलाई ट्याक्टरमा राखी ल्याउने लैजाने गरेको भन्ने देखिन आएको छैन । आफ्नो साथीलाई ट्याक्टरमा चढाउने क्रममा श्रीनगरतर्फ जाने अन्य विद्यार्थीहरू पनि उक्त ट्याक्टरको ट्रलीमा चढेको देखिन्छ । नियमित सवारी साधन नचल्ने उक्त सडकमा श्रीनगरतर्फ जाने विद्यार्थीहरूले पैदल हिँड्नुभन्दा जुन किसिमको सवारी साधन पाइन्छ सोही साधनको उपयोग गर्नु अस्वभाविक देखिँदैन । चालकले रोक्न खोजे पनि जबरजस्ती चढ्न खोज्नु एस.एल.सी. दिने उमेरका विद्यार्थीहरूको आम प्रवृत्ति पनि हो । घाइतेमध्येकी जितीकुमारी बुढाथोकीले उक्त ट्याक्टरमा हामी आफैँ जबरजस्ती चढेका हौं, चालकलाई सजाय गर्नुपर्ने होइन भनी गरेको बकपत्रबाट पनि सो कुराको पुष्टि हुन्छ । यसरी वैकल्पिक सवारी साधनको रूपमा ट्याक्टरमा यात्रा गर्दा हुन सक्ने जोखिमतर्फ चालक र त्यस्तो साधनमा सवार हुनेसमेत सचेत र सावधान हुनुपर्दछ । तर पूर्वानुमान नगरिएको काबुबाहिरको कारण परी हुने दुर्घटनालाई मानवीय गल्ती नै हो भनी किटान गर्नु विवेकसम्मत हुँदैन ।
४. प्रतिवादीलाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१(२) को कसुर कायम गरी सोही दफाबमोजिम सजाय हुन मागदाबी लिइएको पाइयो । सो दफा १६१(२) बमोजिमको कसुर कायम हुनको लागि सवारी चलाउँदा कसैको ज्यान मर्न सक्ने ठूलो सम्भावना छ भन्ने जानी जानी वा लापरवाही गरी सवारी चलाएको कारणबाट सवारी दुर्घटना हुन गई त्यसैको कारणबाट कुनै मानिसको मृत्यु हुन गएको अवस्था हुनुपर्ने देखिन्छ । कुनै पनि वारदातमा यदि परिणामको पूर्वज्ञान हुँदाहुँदै पनि जोखिम उठाउने तत्परता देखिएको छ भने लापरवाही भएको मान्न पनि सकिन्छ । तर परिणामको इच्छा नभएको, सावधानी अवलम्बन गर्न खोज्दाखोज्दै पनि अनिच्छित परिणाम आएको अवस्थामा लापरवाही गरेको भनी बढी सजाय गर्न मनासिब हुने देखिँदैन । प्रस्तुत वारदातमा प्रतिवादीले परिणामको पूर्वज्ञान हुँदाहुँदै लापरवाही गरेको भन्ने अवस्था मिसिल प्रमाणबाट देखिन आएको छैन । ट्याक्टरको एक्सल भाँचिनु यान्त्रिक कारण हो । यान्त्रिक गडबडीको कारण सिर्जित वारदातलाई चालकको लापरवाही भन्न मिल्ने अवस्था देखिएन । जाहेरवाला स्वयंले पनि उक्त दुर्घटनामा चालकलाई सजाय हुनुपर्ने होइन भनी बकपत्र गरेको अवस्थामा प्रतिवादीले गम्भीर लापरवाही गरेको भनी कसुरदार ठहर गर्नु न्यायोचित हुने देखिएन ।
५. सवारी दुर्घटनामा चालकको लापरवाही थियो थिएन भन्ने विषय तत्कालीन परिस्थितिजन्य प्रमाणहरूको आधारमा निर्क्यौल हुने हो । विकसित मुलुकको अभ्यासलाई हेरेर हाम्रो जस्तो विकट ग्रामीण परिवेशमा घट्ने घटना, दुर्घटनाहरूको मूल्याङ्कन गर्नु यथार्थपरक दृष्टिकोण हुँदैन । विकसित मुलुकको सडक पूर्वाधार, सवारी साधनको पर्याप्तता तथा कुशल सवारी व्यवस्थापनको तुलनामा नेपालको विकट ग्रामीण क्षेत्रको स्थिति फरक छ । यो सामाजिक सन्दर्भ (social context) प्रति पनि न्याय निरूपणका सन्दर्भमा समुचित हेक्का राख्नु आवश्यक देखिन्छ । प्रस्तुत मुद्दामा खोलामा पुगी गिटी बालुवा लिने प्रयोजनको लागि चलाएको ट्याक्टरमा एस.एल.सी.को परीक्षा दिएका विद्यार्थीहरू चढ्नु संयोगसम्म देखिन्छ । बाटोमा उक्त ट्याक्टरको एक्सल भाँचिनु यान्त्रिक गडबडीको स्वभाविक परिणाम हो र ट्याक्टरको ट्रलीसमेत पल्टिई एकजना विद्यार्थीको मृत्यु हुनुका साथै अन्य विद्यार्थीहरू घाइते हुनु एउटा दुःखद् एवं अनिच्छित परिणाम हो । घटनाको समग्र परिस्थितिबाट चालकको लापरवाहीबाट मात्र वारदात घटेको भन्ने देखिन आउँदैन । त्यसैले बेलायतको Road Traffic Act, 1991 को कानूनी व्यवस्थासमेत उद्धृत गर्दै यस अदालतबाट निस्सा प्रदान गर्दा लिइएका आधारहरूसँग सहमत हुन सकिएन ।
६. अत: प्रतिवादी प्रदिप खत्रीले चलाएको रा. १ त ८९७ को ट्याक्टर बायाँ एक्सल भाँचिन गई ट्रली पल्टी यान्त्रिक गडबडीको कारणबाट दुर्घटना भएको देखिएको र चालकले जानी जानी लापरवाही गरेको कारणबाट दुर्घटना भएको भन्ने अवस्था देखिन नआएकोले सुरू सल्यान जिल्ला अदालतबाट प्रतिवादी प्रदिप खत्रीलार्इ सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१(३) बमोजिम कसुर गरेको ठहर्याई २४ दिन कैद र रू.२,०००।- जरिवाना हुने गरी भएको फैसला सदर हुने ठहर गरेको पुनरावेदन अदालत तुलसीपुरको मिति २०७०।११।२० को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । फैसलाको जानकारी महान्यायाधिवक्ताको कार्यालयलाई दिई दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाई दिनू ।
उक्त रायमा सहमत छु ।
न्या. पुरूषोत्तम भण्डारी
इजलास अधिकृतः महेश खनाल
इति संवत् २०७४ साल जेठ २२ गते रोज २ शुभम् ।