शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १०११४ - उत्प्रेषण / परमादेश

भाग: ६० साल: २०७५ महिना: माघ अंक: १०

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा.

माननीय न्यायाधीश श्री विश्‍वम्भरप्रसाद श्रेष्ठ

आदेश मिति : २०७५।५।१८

०६८-WO-०९५८

 

विषयः उत्प्रेषण / परमादेश

 

निवेदक : दोलखा जिल्ला, फस्कु गाउँ विकास समिति, वडा नं.८ बस्ने रामकाजी बस्नेतको श्रीमती धनकुमारी बस्नेतसमेत

विरूद्ध

विपक्षी : महान्यायाधिवक्ताको कार्यालय, रामशाहपथ, काठमाडौंसमेत

 

अभियोजनको जिम्मेवारी संविधानले महान्यायाधिवक्तालाई सुम्पेको निजले अधिकार प्रत्यायोजन गरी मातहतका अधिकृतहरूलाई दिन सक्ने गरी संविधानले नै जिम्मेवारी सुम्पेको हुँदा त्यसो गर्नु सामान्यतया उसको अन्तिम जिम्मेवारी भएपनि संविधान र कानूनबमोजिम गर्नुपर्ने अभियोजन नगरेको, भेदभावपूर्ण व्यवहार गरी न्यायको स्वच्छताको उल्लङ्घन भएको वा दण्डहीनताको पक्षपोषण भएको अभियोजनसम्बन्धी अधिकारको सदुपयोग नभएको र निर्णय गर्ने अधिकारीले गरेको निर्णय प्रवृत्त भावनाबाट गरेको हो, होइन भनी न्यायिक पुनरावलोकनको रोहमा अभियोजनसम्बन्धी निर्णयउपर नै प्रश्न उठेमा अदालतले त्यसको पुनरावलोकन हुनै नसक्ने भन्न संविधानले अङ्गिकार गरेको न्यायिक पुनरावलोकनको सिद्धान्तले नमिल्ने । प्रस्तुत मुद्दामा मुद्दा चल्ने वा नचल्ने निर्णय गर्ने अधिकारीले तत्काल संकलित सबुत प्रमाणको विवेचना गरी मुद्दा नचल्ने निर्णय गरेकोलाई अन्यथा भन्‍नुपर्ने देखिन नआउने ।

(प्रकरण नं.६)

महान्यायाधिवक्तालाई प्राप्‍त संवैधानिक अधिकार उक्त संविधानको धारा १३५(६) बमोजिम प्रत्यायोजन गरी जिल्ला न्यायाधिवक्तालाई दिएको देखिन्छ । सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ को दफा १७(२) र १८ बमोजिम व्यावसायिक उन्मुक्तिको अधिकारअन्तर्गत निर्णय गरेको देखिन्छ । सरकारी वकिललाई संकलित सबुत प्रमाणको आधारमा मुद्दा चल्ने वा नचल्ने निर्णय गर्ने अधिकार रहेको   देखिन्छ । सो अधिकारअन्तर्गत मुद्दा नचल्ने भनी जिल्ला न्यायाधिवक्ताले गरेको निर्णय अन्यथा भनिरहनु पर्ने नदेखिने ।

(प्रकरण नं.७)

 

निवेदकका तर्फबाट : विद्वान्‌ अधिवक्ता श्री टिकाध्वज खड्का

विपक्षीका तर्फबाट : विद्वान्‌ सहन्यायाधिवक्ता श्री संजीवराज रेग्मी, विद्वान्‌ अधिवक्ताहरू श्री विजय मिश्र श्री भरतकुमार लकाई

अवलम्बित नजिर :

स.अ.बुलेटिन.२०५५, अंक ४, पृ.२

सम्बद्ध कानून :

नेपालको अन्तरिम संविधान, २०६३

सरकारी मुद्दासम्बन्धी ऐन, २०४९

 

आदेश

न्या. चोलेन्द्र शमशेर ज.ब.रा.: नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ र १०७(२) बमोजिम यस अदालतमा दर्ता हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं आदेश यसप्रकार छः

मेरा पति रामकाजी बस्नेत दोलखा जिल्ला, फस्कु गाउँ विकास समिति, वडा नं.९ स्थित पसल सञ्‍चालन गर्नु हुन्थ्यो र म सधैँ साँझ खाना पुर्‍याई साँझ पसलमै बसी नजिकै रहेको घरमा बिहान आउने र घरायसी कार्यमा संलग्न हुने गर्दथेँ । सदाझैँ मिति २०६८।९।२० को साँझ ८ बजेतिर म पतिको लागि खाना लिई पसल गई खाना खाएपश्‍चात् सुत्‍न लागेको समय अं. ९ बजे दोलखा जिल्ला, फस्कु गाउँ विकास समिति, वडा नं.६ मा घर भई वडा नं.९ बस्ने नारायण भन्‍ने  गिताध्वज कार्की र ऐ.ऐ.वडा नं.८ बस्ने रामकृष्ण बस्नेत पसलमा आई मेरा पति रामकाजी बस्नेतलाई केही काम छ भनी बोलाई लगेका थिए । उहाँलाई पसलबाट लगेको १ घण्टाजति पछि अर्थात् लगभग १० बजे राति उहाँ फर्की आउनु भएपछि मैले यति राती तपाइँलाई उनीहरूले कहाँ, किन लगे र के भने भनी सोधनी गर्दा उहाँले आफूलाई उनीहरूले हाडी माइला भन्‍ने जयबहादुर बस्नेतको बुहारीलाई हातपात गरेको आरोप लगाई आफूहरूलाई रू.२,००,०००।- दिने हो भने कुरा मिलाइदिने अन्यथा तिम्रो ज्यानसमेत जान सक्छ भनी छाडेको कुरा बताउनु भयो ।

भोलिपल्ट बिहान लगभग ५ बजे म पसलबाट घरतिर जाँदै गर्दा ५०/६० मिटर जति टाढा पुगेपछि पसलमा डाङडुङको आवाज आएको थियो र मैले मेरा पतिले पसल खोल्दा आवाज आएको होला भनी घरतर्फ लागेँ । घर पुगिसकेपछि अन्दाजी बिहानको ७.०० बजेतिर पसल नजिकै हो-हल्ला सुनी के भएको रहेछ भनी हेर्दा हाडी माइला भन्‍ने जयबहादुर बस्नेत हाम्रो पसलमा वरपर घुम्दै, उफ्रँदै आज यहाँ रगतको खोला बग्छ । एकछिनपछि थाहा पाउँछौ भन्दै कराउँदै गरेको देखेँ र केहीछिनपछि निज त्यहाँबाट फर्केर गएको देखी म आफ्नो नियमित घरायसी कार्यमा लागेँ ।

यत्तिकैमा अं. बिहान १०.०० बजेतिर दोलखा जिल्ला, फस्कु गाउँ विकास समिति, वडा नं.४ घर भएका अ.हे.व.दीपक बस्नेतले मलाई फोन गरी तपाइँको पति बेहोस अवस्थामा पसल नजिकैको चौतारामा भएकोले तुरून्त आउनु भन्‍नु भएकोले म तत्काल उक्त स्थानमा पुग्दा मेरा पति रामकाजी बस्नेत मृत अवस्थामा भेटेँ उहाँको मृत शरीरमा हेर्दा घाँटी, गर्दन, तिघ्रालगायतका ठाउँमा निलडाम, गुप्‍ताङ्ग (लिङ्ग) मा समेत चोट मलद्वारबाट दिसा निस्केको र कानमा समेत चोट तथा कानको प्वालबाट रगतसमेत निस्केको अवस्था देखियो ।

यसरी मेरा पति रामकाजी बस्नेतको मृत्यु हुनुपूर्व ५/७ वर्षअगाडि नारायण भन्‍ने गिताध्वज कार्कीले ने.क.पा. माओवादीमा संलग्न भई धम्की, चन्दा असुलीलगायत गैरकानूनी काममा संलग्न हुँदै आएको र मेरा पतिले पटकपटक चन्दा दिँदै आउनु भएपनि भने जति नपाएको भनी मेरा पतिलाई मारी छाड्ने र टाउको हातमा लिएर हिँड्ने भन्‍ने गरेको, मृत्यु भएका मेरा पतिको मृत्यु भएको अघिल्लो दिन साँझ मात्र मेरा पतिलाई कपोलकल्पित र झुठ्ठा अभियोग लगाउने प्रयत्‍न गरी नगद रू.२,००,०००।- माग गरेको र उक्त रकम नदिए ज्यानसमेत जान सक्छ भनेको तथा मृत्यु भएको बिहान हाडी माइलो भन्‍ने जयबहादुर बस्नेतसमेत आज यहाँ रगतको खोलो बग्छ, केहीछिनपछि थाहा हुन्छ भनी कराउँदै र उफ्रँदै हिँडेको तथा मेरा मृतक पतिको शरीरमा जतासुकै निलडाम र चोटपटक भएको र अघिल्लो दिन सामान मगाउन पठाउन भनी छुट्याएर राखिएको नगद रू.८०,०००।- र उहाँले लगाउने गरेको डेढ तोलाको बेरूवा सुनको औंठीसमेत फेला नपरेकोले उहाँलाई दोलखा जिल्ला, फस्कु गाउँ विकास समिति, वडा नं.६ घर भई ऐ.ऐ.बस्ने रामकृष्ण बस्नेतसमेतले मेरो पतिको कर्तव्य गरी हत्या गरेकोले कारबाही गरिपाउँ भनी जिल्ला प्रहरी कार्यालय दोलखामा मिति २०६८।९।२३ मा किटानी जाहेरी दिएको थिएँ ।

जिल्ला सरकारी वकिल कार्यालय, दोलखामा सरकारी वकिल महानन्द दाहालसमक्ष गई हामी निवेदकहरूले हामीले किटानी जाहेरीमा उल्लेख गरेबमोजिमका अभियुक्तहरू नारायण भन्‍ने  गिताध्वज कार्की, हाडी माइलो भन्‍ने जयबहादुर बस्नेत र रामकृष्ण बस्नेतले नै मेरा पति रामकाजी बस्नेतको कर्तव्य गरी हत्या गरेको भन्‍ने कुरा मालाकार रूपमा रहेको सम्बद्ध प्रमाणहरूद्वारा पुष्टि भइरहेको अवस्थामा किन मुद्दा नचल्ने भनी निर्णय गरियो भनी सोधनी गर्दा उहाँले तपाइँको पतिको मृत्यु अभियुक्तहरूको कुटपिटबाट नभई विष सेवनबाट भएको रहेछ त्यसैले मुद्दा नचल्ने निर्णय गरिएको बताउनु भयो र हामीले उक्त निर्णय तथा प्रहरी प्रतिवेदनलगायतका सम्पूर्ण कागजातहरूको नक्‍कल माग्दा कागजात संलग्न मिसिल निकासाको लागि पुनरावेदन सरकारी वकिल कार्यालय पठाएकोले दिन नसकिने भनी उहाँले गरेको निर्णयको प्रतिलिपि दिनुभयो ।

सरकारी वकिल महानन्द दाहालले मुद्दा नचल्ने गरी गरेको निर्णयको प्रतिलिपि अध्ययन गर्दा उहाँले आफ्नो निर्णयमा मृतक रामकाजी बस्नेतको मृत्यु Post mortem report मा देखिएको Internal तथा External चोटबाट नभई घटनास्थलमा फेला परेको Ratil, Neuron लेखिएको बट्टाभित्रको पदार्थ र मृतकको र्‍याल पुछेको कपडामा समेत सोही पदार्थ फेला परेको र उक्त पदार्थको परीक्षणमा Phosphine Gas को Positive test आएकोले मृतकको मृत्यु कोही कसैको कर्तव्यबाट नभई Phosphine Gas नामक विषको सेवन आफैँले गरी भएकोले अभियुक्तउपर मुद्दा नचल्ने निर्णय गरिएको उल्लेख गरेको रहेछ ।

मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३ नं.को देहाय २ अनुसार "विष खुवाई ज्यान मारेमा विष खुवाउनेलाई जन्मकैद गर्नुपर्ने व्यवस्था गरेको छ भने ऐ.ऐ.को देहाय ३ बमोजिम लाठा, ढुङ्गा र साधारण हतियारको प्रयोग गरी वा अन्य गैह्र कुरा गरी ज्यान मारेमा ज्यानमारालाई सर्वस्वसहित जन्मकैद हुनेसमेत" व्यवस्था गरेको छ । यसैगरी सरकारवादी मुद्दासम्बन्धी ऐन, २०४९ को दफा १८ ले "ज्यानसम्बन्धी मुद्दा सरकारवादी हुने र सरकारवादी मुद्दाको अनुसन्धान तथा तहकिकात प्रहरीले गर्ने र अनुसन्धान गरी प्रहरीले राय प्रतिवेदन बुझाएपछि सरकारी वकिलले अभियोजनको लागि अभियोगपत्र दायर गर्नुपर्ने" व्यवस्था गरेको छ । उक्त कानूनी प्रावधानले स्पष्टसँग सरकारी मुद्दाको अभियोजनको जिम्मा सरकारी वकिललाई दिएको अवस्थामा निजले प्रतिवादीका विरूद्ध अभियोग दर्ता नगरी आफ्नो कर्तव्यबाट पन्छन मिल्दैन ।

विपक्षीद्वारा मेरा पति रामकाजी बस्नेतको हत्यामा संलग्न अभियुक्तहरूलाई किटानी जाहेरी, सम्बद्ध प्रमाणहरू समेतको आधारमा अभियोग दर्ता गरी मुद्दा चलाउनु पर्नेमा सरकारवादी मुद्दासम्बन्धी ऐन, २०४९ को दफा १७(२) बमोजिम सरकारी वकिलले मिति २०६८ माघ १३ गते मुद्दा नचलाउने गरी गरेको निर्णय माथि उल्लिखित सम्मानित सर्वोच्च अदालतद्वारा प्रतिपादित सिद्धान्त विरूद्ध भई नेपालको अन्तरिम संविधान, २०६३ को धारा १२ द्वारा प्रदत्त हाम्रो स्वतन्त्रताको हक तथा २४ द्वारा प्रदत्त न्यायसम्बन्धी हकको हनन भएकोले संविधानको धारा ३२ तथा १०७(२) अन्तर्गत सम्मानित अदालतको शरणमा आएका छौं । विपक्षी नं.२ ले कानूनको गलत प्रयोग गरी आफूलाई प्राप्‍त अधिकारको अनुचित प्रयोग गरी सम्पूर्ण तथ्य र घटनाबाट पुष्टि भइरहेको ज्यान जस्तो जघन्य अपराधको मुद्दालाई बिना उचित कारण र आधार चल्न नसक्ने गरी किटानी जाहेरी परी देख्‍ने सुन्‍ने मानिसले समर्थन गरी दिएको अवस्थामा सरकारवादी मुद्दासम्बन्धी ऐन, २०४९ को दफा १८ तथा ऐ.ऐ.नियमावलीको नियम १३ बमोजिम मुद्दा चलाई दोषीलाई कारबाही गर्न उद्दत हुनुपर्नेमा विपक्षी नं.२ ले कानूनले सुम्पेको न्यूनतम जिम्मेवारीसमेत पूरा नगरेकोले निजले मिति २०६८।१०।१३ मा गरेको निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरी मुद्दाको अनुसन्धानलगायतका कारबाही अगाडि बढाई जाहेरीमा उल्लेख गरेबमोजिम मुलुकी ऐन, ज्यानसम्बन्धीको महलअनुसार अभियोग लगाई मुद्दा चलाउनु भन्‍ने परमादेशलगायत जो चाहिने आज्ञा आदेश जारी गरी अग्राधिकार प्रदान गरी न्याय पाउँ भन्‍नेसमेत बेहोराको रिट निवेदन मागदाबी ।

यसमा के कसो भएको हो ? निवेदकको मागबमोजिमको आदेश किन जारी हुन नपर्ने हो ? जारी हुनु नपर्ने भए यो आदेशप्राप्‍त भएका मितिले बाटाका म्यादबाहेक १५ दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्नु भनी यो आदेश र रिट निवेदनको एकप्रति नक्‍कल साथै राखी विपक्षी नं.१, २, ३ र ४ लाई सूचना पठाई त्यसको बोधार्थ महान्यायाधिवक्ताको कार्यालयमा पठाई दिनू । विपक्षी नं.५, ६ र ७ का हकमा आफैँ वा कानूनबमोजिमको प्रतिनिधिमार्फत लिखित जवाफ पठाउनु भनी रिट निवेदनको एकप्रति नक्‍कल साथै राखी सूचना पठाई लिखित जवाफ परेपछि वा अवधि नाघेपछि नियमानुसार पेस गर्नू । साथै प्रस्तुत विवादको विषयको गम्भीर्यलाई दृष्टिगत गर्दा चाँडो किनारा हुनु पर्ने प्रकृतिको देखिएकोले अग्राधिकार प्रदान गरिदिएको छ, नियमानुसार गर्नु भन्‍ने यस अदालतको मिति २०६९।१।१२ को आदेश ।

यसमा सरकारवादी मुद्दा चलाउने वा नचलाउनेसम्बन्धी निर्णय गर्दा कानूनतः गृह मन्त्रालयको कुनै महत्त्वपूर्ण भूमिका रहने नहुँदा गृह मन्त्रालयको हकमा प्रस्तुत रिट निवेदन खारेज भागी छ । अतः रिट निवेदन खारेज गरिपाउँ भन्‍नेसमेत बेहोराको नेपाल सरकार, गृह मन्त्रालयका तर्फबाट यस अदालतमा पर्न आएको लिखित जवाफ ।

जिल्ला सरकारी वकिल कार्यालय दोलखाबाट प्रस्तुत कर्तव्य ज्यान मुद्दामा तत्काल कसैउपर मुद्दा नचलाउने गरी मिति २०६८।१०।१३ मा निर्णय गरी सो निर्णयसहितको मिसिल पुनरावेदन सरकारी वकिल कार्यालयमा प्राप्‍त भई उक्त कार्यालयबाट समेत जिल्ला सरकारी वकिल कार्यालयको निर्णय मनासिब ठहर्‍याई भएको निर्णयसहितको मिसिल यस कार्यालयमा प्राप्‍त भएको यस कार्यालयबाट जाहेरवालीले लेखेको बेहोरा र बुझिएका कुमार पाण्डेसहित मिति २०६८ पौष २८ को कागज बेहोरा लेखाउने व्यक्तिहरूको भनाइका तथ्यहरूले मात्र रामकाजी बस्नेतलाई यी अनुसन्धानमा बयान गर्ने जयबहादुर बस्नेत, कान्छा बस्नेत, नारायण विक्रम कार्कीउपर कर्तव्य गरी मारेको अभियोगमा मुद्दा चलाउन प्रमाणको अभाव भएकै कारण महान्यायाधिवक्ताबाट मुद्दा नचलाउने निर्णय गरिएको छ ।

नेपालको अन्तरिम संविधान, २०६३ को धारा १३५(२) मा महान्यायाधिवक्ताको काम, कर्तव्य, अधिकारअन्तर्गत नेपाल सरकारको हकहित वा सरोकार निहित रहेको मुद्दामा महान्यायाधिवक्ता वा निजको मातहतको अधिकृतहरूबाट नेपाल सरकारको प्रतिनिधित्व गरिनेछ । यस संविधानमा अन्यथा लेखिएबाहेक कुनै अदालत वा न्यायिक अधिकारीसमक्ष नेपाल सरकारको तर्फबाट मुद्दा चलाउने वा नचलाउने भन्‍ने कुराको अन्तिम निर्णय गर्ने अधिकार महान्यायाधिवक्तालाई हुनेछ र धारा १३५(६) मा महान्यायाधिवक्ताले यो धाराबमोजिम आफ्नो काम कर्तव्य र अधिकार तोकिएको सर्तको अधीनमा रही प्रयोग र पालना गर्ने गरी मातहतका अधिकृतलाई सुम्पन सक्नेछ भन्‍ने प्रावधानअनुरूप जिल्ला न्यायाधिवक्ताहरूलाई मुद्दा चलाउने नचलाउनेसम्बन्धी अधिकार प्रत्यायोजन भए जिल्ला न्यायाधिवक्ताले मुद्दा नचलाउने गरी निर्णय गरेपश्‍चात् पुनरावेदन सरकारी वकिल कार्यालय पाटनसमक्ष निकासाको लागि पठाएकोमा सो कार्यालयसमेतबाट मुद्दा नचल्ने निर्णय भई अन्तिम निकासाको लागि यस कार्यालयसमक्ष फाइल प्राप्‍त भएको र महान्यायाधिवक्ताज्यूबाट प्रस्तुत मुद्दा चल्न नसक्ने गरी मिति २०६८।१२।२१ मा निर्णय भई अन्तिम भएको हुँदा र नेपाल सरकारको हकहित वा सरोकार निहित रहेको मुद्दा चल्ने नचल्ने सम्बन्धमा महान्यायाधिवक्ताको संवैधानिक अधिकार हो र यसमा कसैले प्रश्‍न उठाउन पाउँदैन भन्‍ने सम्बन्धमा सम्मानित अदालतबाट प्रतिपादित निम्न लिखित कानूनी सिद्धान्तहरू समेतका आधारमा प्रस्तुत रिट निवेदन खारेज गरिपाउँ भन्‍नेसमेत बेहोराको महान्यायाधिवक्ताको कार्यालयको लिखित जवाफ ।

विपक्षी धनकुमारी बस्नेतले जिल्ला प्रहरी कार्यालय दोलखामा जाहेरी दरखास्त दिएपश्‍चात् सोही जाहेरीको आधारमा आवश्यक अनुसन्धान तहकिकातको कार्य सुरू भई अनुसन्धानबाट संकलित तथ्य प्रमाणहरूबाट मृतक रामकाजी बस्नेतलाई कोही कसैको कुटपिट गरेको नभई निज मृतक मृत्युपूर्व घटनास्थलमा बसी वाक-वाक गरी रहेको अवस्थामा जितबहादुर तामाङ र नारायण नेपालीले देखी तत्कालै सि.एम.ए. दीपक बस्नेतलाई बोलाई निजको उपचार गराउँदागराउँदै उपचारकै क्रममा निजको मृत्यु भएको भनी घटनास्थलमा तत्काल उपस्थित व्यक्तिहरूले मौकामा उल्लेख गरिदिएको र मृतकको शव परीक्षणपश्‍चात् डाक्टरले दिएको मेडिकल रिपोर्टमा Cause of death from ingestion of compound releasing phosphine gas in stomach भन्‍ने उल्लेख भएको, त्यसैगरी Post Mortem Report मा मृतकको शरीरको बाहिरी तथा भित्री भागमा चोट पटक नदेखिएको, घटनास्थलमा (मृतकको घर) बाट Ratil Neuron लेखिएको बट्टाभित्र विषादी पदार्थ भेटिएको, बाल्टिनमा रहेको दुधजस्तो सेतो पदार्थको परीक्षणबाट Phosphine gas positive test देखिएको, Phosphine gas विषादी पदार्थ भएको देखिएकोले जिल्ला प्रहरी कार्यालय दोलखाले अनुसन्धानबाट मृतकलाई कसैले कर्तव्य गरी मारेको नभई निज मृतक आफैँले Phosphine gas नामक विष सेवन गरी आत्महत्या गरेको अनुसन्धानबाट प्रस्ट खुलेको आधारमा जिल्ला सरकारी वकिलको कार्यालय दोलखाबाट केवल कर्तव्य ज्यान मुद्दामा तत्काल कोही कसैउपर मुद्दा नचलाउने गरी मिति २०६८।१०।१३ मा निर्णय गरी निर्णयसहितको अनुसन्धानका सम्पूर्ण मिसिल पुनरावेदन सरकारी वकिलको कार्यालयमा पठाई उक्त कार्यालयसमेतबाट मृतकको आफ्नै घरमा विषादी हालिएको बाल्टिन, गिलास तथा विषादी र विषादीको बट्टा भेटिनु साथै मृतकको भिसेरा रिपोर्टमा Phosphine gas positive भनी परीक्षण भई आएको, साथै मृत्युको कारण From ingestion of compound releasing phosphine gas in stomach भनी उल्लेख भई आउनुबाट जाहेरवालीले जाहेरीमा उल्लेख गरेजस्तो निजको पति रामकाजी बस्नेतको मृत्यु कुनै पनि कुटपिट, सांघातिक हमला, यातना वा कर्तव्यबाट नभई आत्महत्याबाटै भएको भन्‍ने अनुसन्धानको क्रममा मिसिल संलग्न कागजातबाट देखिन आएको र निजको मृत्युमा कसैको कुनै संलग्नता वा शंकासम्म नभएको अवस्थामा जिल्ला सरकारी वकिलको कार्यालय दोलखाबाट मुद्दा नचलाउने र मलाई हाजिर जमानीमा छाड्ने भनी २०६८।१०।१३।६ मा निर्णय भएको अवस्था छ । उक्त घटनाको सम्बन्धमा लिखित जवाफवाला पूर्णत: निर्दोष छु, निरपराध छु । जाहेरी दरखास्त आफैँमा प्रमाण होइन, तसर्थ जाहेरी दरखास्तपछि राज्यको तर्फबाट भएको अनुसन्धानको क्रममा सम्पूर्ण सत्य तथ्य बेहोरा खुली आएकोले मिति २०६८।१०।१३ को निर्णय बदर हुनु पर्ने होइन ।

मृतक तथा निजका परिवारका कुनै सदस्यसँग मेरो पूर्वरिसइवी तथा लेनदेनसमेत केही पनि रहेको छैन । रामकाजीको मृत्यु दिउँसो भएको र घटनास्थलमा धेरै मानिसहरू व्यापार गरी बस्ने सानो बजार, बोर्डिङ स्कुल तथा बसपार्कसमेत रहेको छ उक्त घटना कोही कसैको कर्तव्यबाट भए गरेको भए उक्त स्थान वरपरका व्यक्तिहरूको जानकारीमा रहन सक्ने अवस्था हुन्थ्यो । घटनाको सम्बन्धमा सो अवस्थाको विद्यमानता रहेको अनुसन्धानबाट पाइएको छैन । उक्त घटना घटेको भनिएको समयमा म घटनास्थलमा समेत रहेको थिइन । निजको मृत्यु विषादी सेवनबाटै भएको हुनुपर्छ अघिल्लो दिनको घटनाले बेइज्जत हुने भो भनी डराई वा आत्मग्लानीको कारण आफ्नै दोकानमा रहेको विषादी सेवन गरेको हुनुपर्छ । उक्त सत्य तथ्य बेहोरा मैले अनुसन्धानको क्रममा दिएको बयानमा पनि उल्लेख गरी लेखी लेखाएको हुँदा म निर्दोष, निरपराध छु, रिट जारी हुन सक्ने अवस्था छैन ।

मृतकको तत्काल उपचार गर्ने सि.एम.ए.दीपक बस्नेतलगायत घटनास्थल आसपासका कुमार पाण्डेसमेतका मानिसहरूले मृतकलाई कर्तव्य गरी मारेको थाहा छैन भनी किटानी कागज गरी दिएका 

छन् । मृतकको लास जाँच प्रकृति मुचुल्का एवं Autopsy Report मा मर्नेसम्मको भित्री वा बाहिरी चोटपटक पनि नदेखिएको, मृतकको घरबाट विषादी हालेको बाल्टिन, गिलास, विषादीको बट्टा बरामद भई आएको उक्त बरामदी वस्तु र मृतकको शरीरको भित्री अङ्ग पेटको मासुको टुक्रा भिसेरा नमुना परीक्षणको लागि पठाउँदा The stomach with It contents and the sample no 5, 6, 7 and 8 have shown positive test for organo phosphorus insecticide भन्‍ने उल्लेख भई आएको देखियो । उक्त भिसेरा रिपोर्टको परीक्षण स्वयं Central police forensic science laboratory बाट प्राप्‍त भएको अवस्था छ । त्यसैगरी मृतकको Autopsy Report मा Pending till visceral report उल्लेख भई जाँचपश्‍चात् Cause of death मा from ingestion of compound relating phosphine in stomach उल्लेख भई आएको अवस्थामा जाहेरी दरखास्तबाहेक अन्य कुनै पनि प्रमाणबाट कर्तव्य गरी मारेको भन्‍ने पुष्टि नभएको र मृतक आफैँले आत्मग्लानीबाट विषादी सेवन गरी आत्महत्या गरेकोले मुद्दा पुष्टि नभएको र मृतक आफैँले आत्मग्लानीबाट विषादी सेवन गरी आत्महत्या गरेकोले मुद्दा चलाउन न्यायसङ्गत नदेखिँदा मुद्दा नचलाइएको र सरकारवादी भई चल्ने मुद्दा चलाउने वा नचलाउने भन्‍ने सम्बन्धमा निर्णय गर्ने अधिकार कानून र संविधानले महान्यायाधिवक्तालाई नै प्रदान गरेकोले उक्त निर्णय बदर हुन सक्दैन । रिट निवेदन खारेज गरिपाउँ भन्‍ने एकै मिलान बेहोराको रामकृष्ण बस्नेत भनिएको कान्छा बस्नेत, गिताध्वज भन्‍ने नारायण विक्रम कार्की र जयबहादुर बस्नेतसमेतको लिखित जवाफ ।

धनकुमारी बस्नेतको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी गिताध्वज भन्‍ने नारायण विक्रम कार्कीसमेत भएको कर्तव्य ज्यान मुद्दाको सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ को दफा ७ बमोजिम अनुसन्धान कार्य सम्पन्‍न गरी पक्राउमा परेका दोलखा जिल्ला, फस्कु गाउँ विकास समिति, वडा नं.८ बस्ने वर्ष ५७ को हाँडी माइलो भन्‍ने जयबहादुर बस्नेत, ऐ.ऐ.बस्ने वर्ष ३८ को रामकृष्ण बस्नेत र ऐ.ऐ.वडा नं.६ बस्ने वर्ष ५१ को गिताध्वज भन्‍ने नारायणविक्रम कार्कीउपर मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(३) नं.बमोजिम सजाय हुन भनी सरकारी मुद्दासम्बन्धी ऐनको दफा १७(१) बमोजिम प्रस्तावित रायसहित मिति २०६८।१०।११ मा जिल्ला सरकारी वकिल कार्यालय दोलखामा पेस गरी सकेकोले यस कार्यालयलाई प्रतिवादी बनाउनु पर्ने नै होइन । मिति २०६८।१०।११ मा मिसिल मानिससमेत जिल्ला सरकारी वकिल कार्यालय दोलखामा पेस गरेपश्‍चात् जिल्ला सरकारी वकिल कार्यालय दोलखाको च.नं.२४० मिति २०६८।१०।१३ को पत्रसाथ निज प्रतिवादीहरूलाई हाजिर जमानीमा छाडिदिनु भन्‍ने निर्णय पर्चा प्राप्‍त हुन आएको हुँदा निज प्रतिवादीहरूलाई मिति २०६८।१०।१३ का दिनमा हाजिर जमानीमा छाडिएको बेहोरासमेत सादर अनुरोध छ भन्‍नेसमेत बेहोराको जिल्ला प्रहरी कार्यालय दोलखाका तर्फबाट यस अदालतमा पर्न आएको लिखित जवाफ ।

प्रस्तुत मुद्दामा रामकृष्ण बस्नेतसमेतले मेरा पति रामकाजी बस्नेतलाई कर्तव्य गरी मारेको भनी धनकुमारी बस्नेतको जाहेरी दरखास्त पर्न आएपश्‍चात् अनुसन्धान तहकिकात सुरू भएको प्रस्तुत मुद्दामा अनुसन्धान कार्यबाट संकलित मिसिल संलग्न कागजातहरूबाट निज रामकाजी बस्नेतलाई कोही कसैले कुटपिट गरेको नदेखिएको, निज घटनास्थलमा बसी वाकवाक गरिरहेको अवस्थामा नारायण नेपाली र जितबहादुर तामाङले देखी तत्काल सि.एम.ए.दीपक बस्नेतलाई बोलाई निजको उपचार गराउँदागराउँदै मृत्यु भएको, Doctor ले Cause of death from ingestion of compound releasing phosphine gas in stomach मा उल्लेख भएको Post Mortem Report मा मृतकको Internal and external चोट नदेखिएको, घटनास्थलमा Ratil, neuron लेखिएको बट्टाभित्र तरल पदार्थ भेटिएको, बाल्टिनमा रहेको पदार्थ परीक्षणबाट phosphine gas of positive test देखिएकोले मृतक रामकाजी बस्नेतलाई जाहेरवालाले जाहेरीमा उल्लिखित व्यक्तिहरूले कर्तव्य गरी मारेको नभई phosphine gas नाम गरेको विषादी आफैँले सेवन गरी आत्महत्या गरेको भन्‍ने अनुसन्धानबाट स-प्रमाण पुष्टि भएको आधारमा यस कार्यालयबाट तत्काल कोही कसैउपर मुद्दा नचलाउने गरी मिति २०६८।१०।१३ मा निर्णय गरिएको हो ।

मृतक रामकाजी बस्नेतले प्रतिवादीमध्येका जयकुमार बस्नेतको बुहारी ज्ञानु बस्नेतलाई जबरजस्ती करणी गर्ने उद्देश्यले हातपात गरेको कारणबाट प्रतिवादीहरू र मृतकका बीचमा बनाएको देखिए तापनि निजहरूले मृतकलाई कुटपिट यातना वा अन्य कर्तव्यजन्य कार्य गरेको भन्‍ने मिसिल संलग्न प्रमाणबाट नदेखिएको, प्रतिवादी जयकुमार बस्नेतको बुहारी ज्ञानु बस्नेतले मृतक रामकाजी बस्नेतलाई हातपात गरेको तथ्य उल्लेख गरी कागज गरिएको देखिएको, ज्ञानु बस्नेतलाई हातपात गरेको भन्‍ने विषय मृतक रामकाजी बस्नेतसँग छलफलसम्म भएको हो निजलाई कुटपिट यातना दिने काम गरेका छैनौं, कर्तव्य गरी मारे मराएको होइन भनी प्रतिवादीहरू गिताध्वज भन्‍ने नारायण कार्की, जयकुमार बस्नेत, रामकृष्ण बस्नेतले अधिकारप्राप्‍त अधिकारीसमक्ष इन्कारी बयान गरेको देखिन्छ । मृतकको उपचार गर्ने सि.एम.ए. दीपक बस्नेतलगायत घटनास्थल आसपासका कुमार पाण्डेसमेतका मानिसले यी मृतकलाई प्रतिवादीहरूले कर्तव्य गरी मारेको भन्‍ने थाहा छैन भनी कागज गरेको देखिन्छ । मृतकको लास प्रकृति मुचुल्का एवं Autopsy Report मा मर्नेसम्मको चोटपटक भएको नदेखिएको, मृतकको घरबाट विषादी हालिएको बाल्टिन, गिलास तथा विषादीको बट्टा बरामद भएकोले उक्त बरामद वस्तु र मृतकको भिसेरा नमुना परीक्षणको लागि पठाउँदा The stomach with it content and the samples no.5, 6, 7 and 8 have shown positive test for phosphate gas. The sample no.4 has shown positive test for organo phosphorus insecticide भन्‍ने उल्लेख भई आएको देखिएको । मृतकको Autopsy report मा pending till visceral report उल्लेख भई जाँचपश्‍चात् Cause of death मा from ingestion of compound releasing phosphine in stomach उल्लेख भएको देखिएको । मृतक रामकाजी बस्नेतले प्रतिवादी जगतकुमार बस्नेतको बुहारी ज्ञानु बस्नेतलाई जबरजस्ती करणी गर्ने उद्देश्यले दमै गाउँ भन्‍ने स्थानमा हातपात गरेको विषयमा प्रतिवादीहरू र मृतकबीचमा छलफल हुनु र मिति २०६८।१०।२१ मा मृतकको कोठाबाट विषादीको बट्टा, बाल्टिन, गिलास बरामद हुनु र सोही विषादीको कारणबाट मृतकलाई प्रतिवादीहरूले कर्तव्य गरी मारेको कुरा प्रमाणित हुन नआएको र मृतक आफैँले विषादी सेवन गरी आत्महत्या गरेको अनुसन्धानबाट संकलित कागजातहरूबाट देखिएको अवस्थामा केवल जाहेरी दरखास्तलाई मात्र आधार बनाई मुद्दा चलाउनु न्यायसङ्गत नदेखिएकै कारण मुद्दा नचलाउने निर्णय भएको हो । रामकाजी बस्नेतको मृत्यु विषादीको कारण खुल्न आएको भएपनि कुनै व्यक्तिले खान दिए वा खुवाएको भन्‍ने तथ्यसमेत स्थापित नभएको हुँदा जाहेरवालाले लेखेको बेहोरा र बुझिएका कुमार पाण्डेसहितको मिति २०६८ पौष २८ को कागज बेहोरा लेखाउन व्यक्तिहरूको भनाइका तथ्यहरूले मात्र रामकाजी बस्नेतलाई यी अनुसन्धानमा बयान गर्ने जयबहादुर बस्नेत, कान्छा बस्नेत, नारायण विक्रम कार्कीउपर कर्तव्य गरी मारेको अभियोगमा अनुसन्धानबाटै संकलित कागजातबाट मुद्दा चलाउन प्रमाणको अभाव भएकै कारण मुद्दा नचलाउने निर्णय गरिएको हुँदा प्रस्तुत रिट निवेदन खारेज गरिपाउँ भन्‍ने जिल्ला सरकारी वकिल कार्यालय दोलखाको लिखित जवाफ ।

नियमबमोजिम पेसी सूचीमा चढी पेस हुन आएको प्रस्तुत निवेदनमा निवेदकको तर्फबाट उपस्थित विद्वान्‌ अधिवक्ता टिकाध्वज खड्काले विपक्षीहरू नारायण कार्की भन्‍ने गिताध्वज कार्कीसमेत उपर किटानी जाहेरी परेको छ । मौकामा कागज गर्ने व्यक्तिहरूले चन्दा नदिएमा ज्यान मार्ने धम्की दिएको भनी कागज गरिदिएका छन् । मृतकको शरीरमा घाउ चोट लागेको छ । वारदातको दिनमा विपक्षीहरू मृतकको पसलमा आई पसलबाट लगेको र १ घण्टापछि मृतक पसलमा आएको हुँदा किन उनीहरूले लगेको भनी निवेदकले मृतकलाई सोध्दा जयबहादुर बस्नेतको बुहारीलाई हातपात गरेको आरोप लगाई २ लाख रूपैयाँ दिए कुरा मिलाइदिने भनी भनेको र अर्को दिन बिहान पसलमै निजलाई कुटपिट गरी मारेकोले कारबाही गरिपाउँ भनी दिएको जाहेरी दरखास्तउपर प्रहरी कार्यालयबाट मुद्दा चलाउने रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएकोमा जिल्ला सरकारी वकिल कार्यालयबाट मुद्दा नचलाउने गरी भएको निर्णय संविधान र कानूनविपरीत छ । संवैधानिक अधिकारको गलत व्याख्या गरी मुद्दा नचलाउने निर्णय गर्न मिल्दैन । तत्काल प्राप्‍त प्रमाणको आधारमा मुद्दा चलाउनु भनी विपक्षीहरूको नाउँमा परमादेश जारी हुनुपर्छ भनी बहस प्रस्तुत गर्नुभयो ।

विपक्षी सरकारी निकायको तर्फबाट उपस्थित विद्वान्‌ सहन्यायाधिवक्ता श्री संजीवराज रेग्मीले निवेदकले दिएको जाहेरी दरखास्तको आधारमा अनुसन्धान प्रारम्भ गरी मृतकले विष सेवन गरी मृत्यु भएको देखिन आएकोले मुद्दा नचलाउने निर्णय भएको हो । उक्त निर्णय नेपालको अन्तरिम संविधान, २०६३ को धारा १३५(२) बमोजिम महान्यायाधिवक्तालाई मुद्दा चलाउने वा नचलाउने भन्‍ने कुराको अन्तिम निर्णय गर्ने अधिकार रहेको र सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ को दफा १७(२) बमोजिम जिल्ला सरकारी वकिलले मुद्दा नचलाएको विषयमा रिट क्षेत्रबाट बोल्न मिल्ने देखिँदैन रिट निवेदन खारेज हुनुपर्छ भनी बहस प्रस्तुत गर्नुभयो ।

विपक्षी जयबहादुर बस्नेत, रामकृष्ण बस्नेत र नारायण कार्की भन्‍ने गिताध्वज कार्कीको तर्फबाट उपस्थित विद्वान्‌ अधिवक्ता श्री विजय मिश्र, विद्वान्‌ अधिवक्ता श्री भरतकुमार लकाइले मृतकको घर कोठाबाट विषादी बरामद भएको छ । RATIL NUVAN लेखिएको प्लास्टिकको बट्टा बरामद भएको छ । आफूले गरेको गलत क्रियाकलापको प्रायश्चितको लागि मृतकले विष सेवन गरेका हुन् । आफैँले आत्महत्या गरेको विषयलाई कुटपिट गरी कर्तव्य गरी मारेको भनी दिएको जाहेरीकै भरमा मुद्दा चलाउन मिल्ने हुँदैन । महान्यायाधिवक्तालाई संविधानले दिएको अधिकार प्रयोग गरी मुद्दा नचल्ने भनी गरेको निर्णय कानूनबमोजिम हुँदा रिट खारेज हुनुपर्छ भनी गर्नुभएको बहससमेत सुनियो ।

निवेदनसहितको मिसिल अध्ययन गरी विद्वान्‌ कानून व्यवसायीहरूको बहस सुनी निवेदन मागबमोजिम आदेश जारी हुनुपर्ने हो, होइन ? भन्‍ने विषयमा निर्णय दिनुपर्ने देखिन आयो ।

२. निर्णयतर्फ विचार गर्दा मेरा पति रामकाजी बस्नेतको हत्यामा नारायण कार्की भन्‍ने गिताध्वज कार्की, हाडी माइलो भन्‍ने जयबहादुर बस्नेत र रामकृष्‍ण बस्नेतसमेत संलग्न भएको भनी किटानी जाहेरी दिएकोमा किटानी जाहेरीसमेतका सम्बद्ध प्रमाणहरूको आधारमा अभियोग दर्ता गरी मुद्दा चलाउनु पर्नेमा सरकारी मुद्दासम्बन्धी ऐन,२०४९ को दफा १७(२) बमोजिम सरकारी वकिलले मिति २०६८।१०।१३ मा मुद्दा नचलाउने गरी भएको निर्णय सम्मानित अदालतबाट प्रतिपादित सिद्धान्तविपरीत भई सरकारी वकिललाई संविधानले दिएको अधिकारको अनुचित प्रयोग गरी सम्पूर्ण तथ्य र घटनाबाट पुष्टि भएको ज्यान जस्तो जघन्य कसुरका प्रतिवादीहरूलाई उन्मुक्ति दिने उचित कारण र आधार बिना मुद्दा चल्न नसक्ने गरी गरेको निर्णय उत्प्रेषणको आदेशले बदर गरी उक्त कर्तव्य ज्यान मुद्दाको अनुसन्धानलगायतको कामकारबाही अगाडि बढाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलअनुसार अभियोग लगाई मुद्दा दायर गर्नु भनी विपक्षीहरूका नाउँमा परमादेश जारी गरिपाउँ भन्‍ने निवेदन भएकोमा रामकृष्ण बस्नेतसमेतले मेरा पति रामकाजी बस्नेतलाई कर्तव्य गरी मारेको भनी धनकुमारी बस्नेतको जाहेरी दरखास्त पर्न आएपश्‍चात् अनुसन्धान तहकिकात सुरू भएको प्रस्तुत मुद्दामा अनुसन्धान कार्यबाट संकलित मिसिल संलग्न कागजातहरूबाट निज रामकाजी बस्नेतलाई कोही कसैले कुटपिट गरेको नदेखिएको, निज घटनास्थलमा बसी वाकवाक गरिरहेको अवस्थामा नारायण नेपाली र जितबहादुर तामाङले देखी तत्काल सि.एम.ए.दिपक बस्नेतलाई बोलाई निजको उपचार गराउँदागराउँदै मृत्यु भएको, Doctor ले Cause of death from ingestion of compound releasing phosphine gas in stomach मा उल्लेख भएको Post Mortem Report मा मृतकको Internal and external चोट नदेखिएको, घटनास्थलमा Ratil, neuron लेखिएको बट्टाभित्र तरल पदार्थ भेटिएको, बाल्टिनमा रहेको पदार्थ परीक्षणबाट phosphine gas of positive test देखिएकोले मृतक रामकाजी बस्नेतलाई जाहेरवालाले जाहेरीमा उल्लिखित व्यक्तिहरूले कर्तव्य गरी मारेको नभई phosphine gas नाम गरेको विषादी आफैँले सेवन गरी आत्महत्या गरेको भन्‍ने  अनुसन्धानबाट स-प्रमाण पुष्टि भएको आधारमा तत्काल कोही कसैउपर मुद्दा नचलाउने गरी मिति २०६८।१०।१३ मा निर्णय गरिएको हो नेपालको अन्तरिम संविधान,२०६३ को धारा १३५(२) बमोजिम कुनै अदालत वा न्यायिक अधिकारीसमक्ष नेपाल सरकारको तर्फबाट मुद्दा चलाउने वा नचलाउने भन्‍ने कुराको अन्तिम निर्णय गर्ने अधिकार महान्यायाधिवक्तालाई भएको र सोही संविधानको धारा १३५(६) मा आफ्नो काम, कर्तव्य र अधिकार तोकिएको सर्तको अधीनमा रही प्रयोग र पालना गर्ने गरी मातहतका अधिकृतहरूलाई सुम्पन सक्ने छ भन्‍ने प्रावधानअनुसार जिल्ला न्यायाधिवक्ताहरूलाई मुद्दा चलाउने नचलाउनेसम्बन्धी अधिकार प्रत्यायोजन भएबमोजिम जिल्ला न्यायाधिवक्ताले मुद्दा नचलाउने गरेको निर्णय संविधान र कानूनबमोजिम भएकोले रिट खारेज हुनुपर्छ भन्‍ने लिखित जवाफ देखिन्छ ।

३. सो सन्दर्भमा हेर्दा, मृतक रामकाजी बस्नेतलाई विपक्षीहरू नारायण कार्की भन्‍ने गिताध्वज कार्कीसमेतले कर्तव्य गरी मारेको भनी जाहेरवाला धनकुमारी बस्नेतले जिल्ला प्रहरी कार्यालय दोलखामा मिति २०६८।९।२३ मा किटानी जाहेरी दरखास्त दिएको देखिन्छ । सो जाहेरी दरखास्त दिएपछि अनुसन्धानको प्रक्रिया प्रारम्भ भई प्रहरी प्रतिवेदनसहित जिल्ला सरकारी वकिल कार्यालय दोलखामा पठाएकोमा जिल्ला सरकारी वकिल कार्यालय दोलखाबाट मृतक रामकाजी बस्नेतको शव परीक्षण प्रतिवेदनमा Internal तथा External चोटपटकबाट नभई घटनास्थलमा फेला परेको Ratil Nuvan भन्‍ने लेखिएको बट्टाभित्रको पदार्थ र मृतकको र्‍याल पुछेको कपडामा समेत सोही पदार्थ फेला परेको र उक्त पदार्थ Phosphine gas को Positive taste भएको भन्‍ने परीक्षण प्रतिवेदनबाट देखिएकोले निजको मृत्यु कोही कसैको कर्तव्यबाट नभई Phosphine gas नामक विष आफैँले सेवन गरी भएको हुँदा मुद्दा नचल्ने भनी मिति २०६८।१०।१३ मा निर्णय भएको देखिन्छ ।

४. निजको मृत्युका सम्बन्धमा मिसिल संलग्न कागजातहरू हेर्दा मृतकको भिसेरा नमूना परीक्षणमा The stomach withit content have shown positive test for phosphorus gas. The Sample no.4 has shown positive test for organo Phosphorus insecticide भन्‍ने उल्लेख भई आएको देखिन्छ । त्यसैगरी मृतकको Autospy report मा Pending till visceral report उल्लेख भई जाँचपश्‍चात् Cause of death मा from ingestion of compound releasing Phosphine in stomach उल्लेख भएको देखिन्छ । यसरी भिसेरामा विषादी पाइएको र सोही विषादीको बट्टा मृतकको घरबाट बरामद भएको देखिन्छ । मृतकको मृत्यु सम्बन्धमा मृतककी श्रीमती धनकुमारी बस्नेतले दिएको जाहेरीमा मृतकको लासजाँच मुचुल्का पोष्‍टमार्टम प्रतिवेदनबाट चोटपटक लागेको तथ्य स्थापित हुन सकेको अवस्था देखिँदैन । मृतक रामकाजी बस्नेतको मृत्यु विषादीको कारण भएको भन्‍ने तथ्य स्थापित हुन आयो । यी मृतक चौतारोमा टुसुक्‍क बसी वाक्‍क वाक्‍क गरेको देखी सि.एम.ए. दीपक बस्नेतलाई बोलाई जाँच गराउँदागराउँदैको अवस्थामा निजको मृत्यु भएको भन्‍ने प्रत्यक्षदर्शी नारायण नेपालीले अनुसन्धानको क्रममा कागज गरिदिएको देखिन्छ । यसरी प्रत्यक्षदर्शी तथा निजको उपचारमा संलग्न दीपक बस्नेतसमेतले मृतकको शरीरमा कुनै चोटपटक भएको नदेखेको भनी अनुसन्धानका क्रममा कागज गरिदिएकोसमेतका प्रमाणहरूबाट मृतक रामकाजी बस्नेतको मृत्यु यी विपक्षीहरूसमेतको कर्तव्यबाट नभई विष सेवनबाट भएको पुष्टि हुन आयो ।

५. तत्काल प्राप्‍त प्रमाणबाट मृतकको मृत्यु कोही कसैको कर्तव्यबाट नभई Phosphine gas नामक विषादी मिसिएको पदार्थ आफैँले सेवन गरी आत्महत्या गरेको पुष्टि हुन आएको देखियो । यस्तो अवस्थामा संकलित कागजातबाट मुद्दा चलाउन प्रमाणको अभाव भएको कारण मुद्दा नचलाउने निर्णय गरेको देखिन्छ । नेपालको अन्तरिम संविधान, २०६३ को धारा १३५(२) मा "नेपाल सरकारको हक, हित वा सरोकार निहित रहेको मुद्दामा महान्यायाधिवक्ता वा निजको मातहतका अधिकृतहरूबाट नेपाल सरकारको प्रतिनिधित्व गरिनेछ । यस संविधानमा अन्यथा लेखिएदेखिबाहेक कुनै अदालत वा न्यायिक अधिकारीसमक्ष नेपाल सरकारको तर्फबाट मुद्दा चलाउने वा नचलाउने भन्‍ने कुराको अन्तिम निर्णय गर्ने अधिकार महान्यायाधिवक्तालाई 

हुनेछ ।" त्यसैगरी उपधारा (६) मा "महान्यायाधिवक्ताले यो धाराबमोजिम आफ्नो काम, कर्तव्य र अधिकार तोकिएको सर्तको अधीनमा रही प्रयोग र पालन गर्ने गरी मातहतका अधिकृतलाई सुम्पन सक्नेछ ।" भन्‍ने संवैधानिक व्यवस्था गरेको 

देखिन्छ । उक्त संवैधानिक व्यवस्थाबमोजिम जिल्ला न्यायाधिवक्ताले उक्त कर्तव्य ज्यान मुद्दा नचलाएको देखिन आयो । यसै सन्दर्भमा यस अदालतबाट अख्तियार दुरूपयोग अनुसन्धान आयोग विरूद्ध नरेन्द्रबहादुर चन्द मुद्दा भ्रष्टाचार स.अ.क २०५८ फौ.वि.नं.९५ नि.मि. २०५९।२।१३ मा "जिल्ला न्यायाधिवक्ताले पदीय हैसियतमा संविधानको धारा ११०(२) र (५) बमोजिम महान्यायाधिवक्ताद्वारा प्रत्यायोजित अभियोग र प्रतिरक्षासम्बन्धी काम, कर्तव्य र अधिकारअनुरूप सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ को दफा १७(२) र १८ बमोजिम व्यावसायिक उन्मुक्तिको अधिकारअन्तर्गत गरेको निर्णयउपर अदालतबाट न्यायिक पुनरावलोकन हुने जस्तो गरी त्यस्तो सरकारवादी मुद्दा चल्ने वा नचल्ने तथा कुन ऐनको कुन दफा लगाउनु पर्ने भन्‍ने संविधानको धारा ११०(२) को महान्यायाधिवक्ताको अन्तिम निर्णय गर्न पाउने अधिकारको विषयमा प्रवेश गरी हस्तक्षेप गर्न मिल्नेसमेत देखिँदैन" भनी सिद्धान्त प्रतिपादित भएको पाइन्छ । त्यसैगरी बद्रीबहादुर कार्की वि. अख्तियार दुरूपयोग अनुसन्धान आयोग भएको उत्प्रेषण (सर्वोच्च अदालत बुलेटिन, २०५५, अंक ४ पृष्ठ २) मुद्दामा "संविधानले महान्यायाधिवक्तालाई प्राप्‍त राय सल्लाह दिने अधिकार श्री ५ को सरकारको प्रतिनिधित्व गर्ने अधिकार, जुनसुकै अदालत, कार्यालय वा पदाधिकारीसमक्ष उपस्थित हुने अधिकार, संसद्‌मा उपस्थित हुन पाउने अधिकार, अभियोजन वा प्रतिरक्षाको अधिकारलगायत संविधान र कानूनबमोजिम प्राप्‍त अधिकार प्रयोग गर्दा एउटा व्यावसायिक व्यक्ति वा निकायले प्राप्‍त गर्ने अधिकार, सुविधा वा उन्मुक्ति सबै प्राप्‍त हुनेछन्" भनी सिद्धान्त प्रतिपादन भएका छन् ।

६. अभियोजनको जिम्मेवारी संविधानले महान्यायाधिवक्तालाई सुम्पेको निजले अधिकार प्रत्यायोजन गरी मातहतका अधिकृतहरूलाई दिन सक्ने गरी संविधानले नै जिम्मेवारी सुम्पेको हुँदा त्यसो गर्नु सामान्यतया उसको अन्तिम जिम्मेवारी भएपनि संविधान र कानूनबमोजिम गर्नुपर्ने अभियोजन नगरेको, भेदभावपूर्ण व्यवहार गरी न्यायको स्वच्छताको उल्लङ्घन भएको वा दण्डहीनताको पक्षपोषण भएको अभियोजनसम्बन्धी अधिकारको सदुपयोग नभएको र निर्णय गर्ने अधिकारीले गरेको निर्णय प्रवृत्त भावनाबाट गरेको हो, होइन भनी न्यायिक पुनरावलोकनको रोहमा अभियोजनसम्बन्धी निर्णयउपर नै प्रश्न उठेमा अदालतले त्यसको पुनरावलोकन हुनै नसक्ने भन्न संविधानले अङ्गीकार गरेको न्यायिक पुनरावलोकनको सिद्धान्तले मिल्दैन । प्रस्तुत मुद्दामा मुद्दा चल्ने वा नचल्ने निर्णय गर्ने अधिकारीले तत्काल संकलित सबुत प्रमाणको विवेचना गरी मुद्दा नचल्ने निर्णय गरेकोलाई अन्यथा भन्‍नुपर्ने देखिन आएन ।

७. यसरी महान्यायाधिवक्तालाई प्राप्‍त संवैधानिक अधिकार उक्त संविधानको धारा १३५(६) बमोजिम प्रत्यायोजन गरी जिल्ला न्यायाधिवक्तालाई दिएको देखिन्छ । सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ को दफा १७(२) र १८ बमोजिम व्यावसायिक उन्मुक्तिको अधिकारअन्तर्गत निर्णय गरेको देखिन्छ । सरकारी वकिललाई संकलित सबुत प्रमाणको आधारमा मुद्दा चल्ने वा नचल्ने निर्णय गर्ने अधिकार रहेको देखिन्छ । सो अधिकारअन्तर्गत प्रस्तुत मुद्दामा मुद्दा नचल्ने भनी दोलखा जिल्लाका जिल्ला न्यायाधिवक्ताले गरेको निर्णय अन्यथा भनिरहनु पर्ने देखिएन ।

८. अनुसन्धानबाट संकलन भएका प्रमाणहरूबाट मृतक रामकाजी बस्नेतको मृत्यु कसैको कर्तव्यबाट भएको भन्‍ने तथ्य नै पुष्टि हुनसकेको छैन । मृतक व्यापारी भएका सामानको भारी बोकी लग्ने महिलालाई बाटोमा दुर्व्यवहार गरेको बारेमा छलफल गर्ने भनी आवाज उठेको भन्‍ने पनि बुझिएका व्यक्तिहरूबाट व्यक्त भएका छन् । मृतकको घरमा फेला परेको विषादीको बट्टा दराजमा रहेको र विषादी मिलाइएको गन्ध आएको बाल्टिनसमेत रहेको छ । विषादीको बट्टा मृतकको घरकोठामा दराजबाट फेला परेको भन्‍ने बरामदी मुचुल्काबाट देखिन्छ । मृतक चौतारासम्म पुगेको र सोही स्थानमा प्रत्यक्षदर्शी व्यक्ति नारायण नेपालीले भेट्दा पनि आफूलाई कसैले कर्तव्य गरी मारेको भन्‍ने कुनै कुरा व्यक्त गरेको पनि देखिन आएको छैन । अतः मृतकको मृत्यु कुनै अन्य व्यक्तिबाट हुन गएको प्रमाणबाट नदेखिएको अवस्थामा संवैधानिक र कानूनबमोजिम विपक्षी जिल्ला सरकारी वकिलको कार्यालय दोलखाले मुद्दा नचलाउने गरी गरेको निर्णय गैरकानूनी देखिन आएन ।

९. तसर्थ प्रस्तुत मुद्दामा अनुसन्धानबाट संकलित सबुत प्रमाणको मूल्याङ्कन गरी मुद्दा नचलाउने निर्णय गर्दा बदनियत लिई मुद्दा नचलाउने निर्णय गरेको पनि देखिन आएन । यस्तो अवस्थामा जिल्ला सरकारी वकिलको कार्यालयबाट मिति २०६८।१०।१३ मा मुद्दा नचलाउने भनी गरेको निर्णयलाई सदर गरी महान्यायाधिवक्ताबाट मिति २०६८।१२।२१ मा भएको निर्णय संविधान र कानूनविपरीतको नदेखिँदा उत्प्रेषणको आदेशले बदर गरिरहनु पर्ने देखिएन । प्रस्तुत रिट निवेदन खारेज हुने ठहर्छ । दायरीको लगत काटी मिसिल नियमानुसार बुझाई दिनू ।

 

उक्त रायमा सहमत छु ।

न्या. विश्वम्भरप्रसाद श्रेष्ठ

 

इजलास अधिकृत: शोभा पाठक 

इति संवत् २०७५ साल भदौ १८ गते रोज २ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु