निर्णय नं. १०११८ - मानव बेचबिखन तथा ओसारपसार
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री सारदाप्रसाद घिमिरे
माननीय न्यायाधीश डा. श्री आनन्दमोहन भट्टराई
फैसला मिति : २०७४।८।१३
०६९-CR-०८५६
मुद्दा: मानव बेचबिखन तथा ओसारपसार
पुनरावेदक / प्रतिवादी : नुवाकोट जिल्ला गाउँखर्क गा.वि.स. वडा नं.४ घर भई हाल, कारागार शाखा, नुवाकोटमा थुनामा रहेका नुर्वु भन्ने याङ्गचेन तामाङ
विरूद्ध
प्रत्यर्थी / वादी : परिवर्तित नाम नुवाकोट २ र ३ को जाहेरीले नेपाल सरकार
वादी पक्षको यो दायित्व विधायिकी कानूनले आफ्नो निर्दोषिता प्रमाणित गर्ने भार प्रतिवादीमा सारेको कारणले सीमित हुने वा समाप्त हुने होइन । यस अवस्थामा पनि वादी पक्षले आफ्नो अनुसन्धानको आधारमा आफूले तयार र दायर गरेको अभियोगपत्रमा प्रतिवादीको के कुन कार्य कुन कानूनले निषेध गरेको आपराधिक कार्य हो, विधायिकी कानूनले त्यस्तो कसुर स्थापित हुन चाहिने भनी निर्धारण गरेका अपराधका तत्त्वहरू (Constituent elements of crime) को विद्यमानता र आवश्यक छ भने तिनीहरूको संयोजनात्मकता (Concurrency) अनिवार्य रूपमा उल्लेख गरेको हुनुपर्ने ।
कानूनले निषेध गरेको आपराधिक कार्य, कार्य गरेको अवस्थामा कानूनले निर्धारण गरेको तहको मनसायको संयोजन र सो कार्य गर्दा प्रतिवादीलाई कुनै छुट वा प्रतिरक्षा उपलब्ध थिएन भनी अभियोगपत्रमा स्पष्ट रूपमा दाबी लिइएको हुनुपर्ने ।
आपराधिक कार्य (Conduct element), आवश्यक मनसाय (Fault element) र वैध प्रतिरक्षाको अभाव (Absence of valid defense) को स्पष्ट उल्लेख गरी कसुर स्थापित गर्न र कानूनबमोजिम सजाय गर्न मागदाबी लिइएको अभियोगपत्र रहेको अवस्थामा विधायिकी कानूनले निर्दोषिताको प्रमाणित गर्ने भार प्रतिवादीमा राखेको भएमा प्रतिवादीले आफूले सफाइको जिकिर लिन्छ भने उसले आफ्नो निर्दोषिता आफैँले प्रमाणित
गर्नुपर्ने ।
वादीले लिएको दाबीमा नै कानूनले अपराध हुनको लागि अनिवार्य रूपमा चाहिने आवश्यक तत्त्व (Mandatory constituent elements of crime) भनी उल्लेख गरेका तत्त्वहरूको आधार प्रमाणसहित उल्लेख नगरी ती तत्त्वहरूलाई स्थापित नगरी केवल कसुर गरिएकाले सजाय गरिपाउँ भन्नेसम्म दाबी लिएको र अपराधका सम्पूर्ण आवश्यक तत्त्वहरूको संयोजनात्मक उपस्थिति (Concurrent presence) नभएको अवस्थामा प्रतिवादीमा प्रमाणको भार रहेको भन्ने कानूनी व्यवस्थाको आधारमा वादीको पूरा नगरेको दायित्व प्रतिवादीले पूरा गर्नुपर्ने भनी अर्थ गर्न नमिल्ने ।
(प्रकरण नं.८)
पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ताद्वय श्री मोतिलाल श्रेष्ठ र श्री बद्री पाठक
प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री दशरथ पंगेनी
अवलम्बित नजिर :
सम्बद्ध कानून :
मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४
सुरू तहमा फैसला गर्नेः
माननीय न्यायाधीश श्री पदमराज भट्ट
नुवाकोट जिल्ला अदालत
पुनरावेदन तहको फैसला गर्नेः
माननीय न्यायाधीश श्री टीकाबहादुर हमाल
माननीय न्यायाधीश श्री सत्यराज गुरूङ
पुनरावेदन अदालत पाटन
फैसला
न्या.डा.आनन्दमोहन भट्टराई : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम पुनरावेदन अदालत पाटनको फैसलाउपर प्रतिवादीको तर्फबाट यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको तथ्य र ठहर यसप्रकार छः-
मिति २०६८।०२।१२ गते नुवाकोट जिल्ला गाउँखर्क गा.वि.स. वडा नं.४ बस्ने याङ्गचेन तामाङ, म र गाउँकै बहिनी नाता पर्ने नाम परिवर्तित नुवाकोट ३ समेत भई मकै गोडी रहेको अवस्थामा निज प्रतिवादी याङ्गचेन तामाङले तिमीहरू किन गाउँमा दुःख गरी बस्छौ ? काम गरी खान पुग्दैन । यहाँ नबस म तिमीहरूलाई इण्डिया भारतमा लगी होटलमा काम लगाई दिन्छु भनी म बट्टार बजार गई बस्छु तिमीहरू १४ गते आउनु भनी ललाई फकाई गरी हामीलाई भारतमा बिक्री गर्ने उद्देश्यले बोलाएको हुँदा निज प्रतिवादीलाई पक्राउ गरी कानूनी कारबाही गरिपाउँ भन्ने बेहोराको संयुक्त जाहेरी दरखास्त ।
मिति २०६८।०२।१२ गते म मेरो दिदीको बारीमा मकै गोड्न भनी गएको अवस्थामा हाल नाम परिवर्तित नुवाकोट २ र मलाई गाउँको मैले चिनेकी छिरिङ भन्ने तोक लामाको छोरी प्रतिवादी याङ्गचेन तामाङ हामीले काम गरेको ठाउँमा आई तिमीहरूलाई यहाँ गाउँमा काम गरेर खान पुग्दैन । म तिमीहरूलाई भारतमा लगी होटलमा काम लगाई दिन्छु । तिमीहरू दुवैजना मसँग हिडँ । यो कुरा घरपरिवारलाई नभन्नु भनेकोले निजको कुराप्रति विश्वास लागी निजको पूर्वसल्लाहअनुसार सो दिन म नुवाकोट २ को घरमा सुती मिति २०६८।०२।१४ गते बिहान हामीहरू दुवैजना सातबीसेबाट गाडी चढी बट्टार बजारमा आई याङ्गचेन तामाङलाई खोजतलास गरी पर्खी बसेको अवस्थामा प्रहरी कर्मचारीहरू आई सोधपुछ गर्दा म र मेरो साथीलाई निज प्रतिवादीले ललाई फकाई भारतमा लगी बिक्री गर्न लागेको कुरामा मलाई पूर्ण विश्वास लाग्यो भनी नाम परिवर्तन नुवाकोट ३ ले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान कागज ।
मिति २०६८।०२।१२ गते बिहान बहिनी नाता पर्ने नाम परिवर्तन नुवाकोट ३ हाम्रो मकै बारीमा मकै गोड्न भनी गएकोमा हामीहरू दुवैजना मकै गोडी रहेको अवस्थामा मेरै गाउँकै मैले चिनेकी तोक लामा तामाङको छोरी याङ्गचेन तामाङ हामी भएको स्थानमा आई म तिमीहरूलाई भारतमा लगी राम्रो होटलमा काम लगाई दिन्छु भनी रू.३००।- बस भाडासमेत दिई तिमीहरू मिति २०६८।०२।१४ गते बट्टार बजार आउनु तर यो कुरा घर परिवारलाई नभन्नु भनी गएको हुँदा हामीले निजको विश्वासमा परी सोहीबमोजिम हामी दुवैजना सातबीसेको बस चढी बट्टार बजारमा ओर्लिई निज याङ्गचेनलाई खोजतलास गरी बसी रहेको अवस्थामा प्रहरी कर्मचारीहरू आई सोधपुछ गर्दा म र मेरो साथीलाई ललाई फकाई भारतमा लगी बिक्री गर्न लागेको कुरा मलाई पूर्ण विश्वास लाग्यो भनी अर्का जाहेरवाली नाम परिवर्तन नुवाकोट २ ले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान कागज ।
म सानै छँदा मेरो आमाको मृत्यु भएको हुँदा बाबु तोक लामा तामाङको साथ बस्दै आउने क्रममा मेरो घरको आर्थिक अवस्था ज्यादै कमजोर भएको कारण मेरै गाउँको दावा देण्डुव शेर्पाले आजभन्दा १० वर्षअगाडि भारतको हिमाञ्चल प्रदेश भावनगरमा आफ्नो कपडा पसलमा राखी निजको घरमा काम गर्दै आएकोमा निज घरधनी दावा देण्डुको श्रीमती आफ्नो घर नुवाकोट गाउँखर्क आउने क्रममा म पनि निजको साथमा लागी गाउँ आएको थिएँ । सो क्रममा गाउँको हाल नाम परिवर्तन २ र ३ सँग गाउँमा पटकपटक सहर जाने क्रममा कुराकानी भइरहेको थियो । यसै क्रममा म फेरी आफूले काम गरेको स्थान भारतको हिमाञ्चल प्रदेश जाने सोच बनाई मैले मिति २०६८।०२।१२ गते जाहेरवालीहरू मकै गोडी रहेको स्थानमा गई म पहिले काम गरेको स्थानमा जाँदैछु । तिमीहरू पनि जाने भए म तिमीहरूलाई सहर लगी राम्रो काम लगाई दिन्छु, गाउँमा जस्तो घाँस दाउरा मेलापात गर्नु पर्दैन, मीठो खान पाइन्छ भनी बताएपछि निजहरू खुसी भए सोपश्चात् मैले निजहरूलाई म तिमीहरू भन्दा पहिला नै बट्टार बजारमा गई बस्छु । तिमीहरू दुवैजना सातबीसेबाट बस चढी बट्टार आउनु भनी निजहरूलाई बस भाडा भनी रू.३००।- दिएकी हुँ । सो कुरा दुवैजनालाई आफ्नो घर परिवारमा नभन्नु र तिमीहरू मध्ये नुवाकोट ३ ले आमाको मोबाइल पनि साथमा लिई आउनु भनी बताई उक्त दिन म आफ्नो दिदीको घर बट्टारमा आई बसे । सोहीअनुसार मिति २०६८।०२।१४ गते बट्टार बजार गई मैले निज जाहेरवालीहरूलाई पर्खिरहेकोमा निजहरूलाई अवेरसम्म पनि नदेखेपछि बट्टार काउन्टरमा गई सातबीसेबाट आउने बस आयो कि आएन भनी सोध्दा आइसक्यो भनेपनि मैले जाहेरवालीहरूलाई खोजतलास गर्दा फेला नपरेपछि म फर्की दिदीकोमा गई बसेको अवस्थामा मलाई प्रहरीले पक्राउ गरेको हो । मैले निज जाहेरवालीहरू नाम परिवर्तन नुवाकोट २ र ३ लाई ललाई फकाई प्रलोभनमा पारी भारतमा लगी काममा लगाई दिने भनी फकाएकी हुँ भनी प्रतिवादी नुर्वु भन्ने याङ्गचेन तामाङले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको
बयान ।
प्रतिवादी याङ्गचेन तामाङले जाहेरवालीहरूलाई भारतमा पुर्याई बेचबिखन गर्ने मनसायले ललाई फकाई गरी बट्टार बजारमा बोलाएकोमा मलाई पूर्ण विश्वास लाग्दछ भन्नेसमेत बेहोरामा बुझिएका रामबहादुर तामाङसमेतका मानिसले गरिदिएको कागज ।
मिसिल संलग्न किटानी जाहेरी दरखास्त, जाहेरवालीहरूको बयान कागज, प्रतिवादी नुर्वु भन्ने याङ्गचेन तामाङले गरेको बयान, बुझिएका मानिसहरू समेतको कागजसमेतको आधार प्रमाणबाट मानव बेचबिखन तथा ओसार पसार (नियन्त्रण) ऐन, २०६४ को दफा ३ को (१) नं. को विपरीत ऐ. ४(२)(ख) नं. को कसुर अपराधमा ऐ.ऐन १५(१)(ङ)(२) बमोजिम सजाय र ऐ. १७(१) नं. अनुसार क्षतिपूर्तिसमेत भराई दिलाई पाउँ भन्नेसमेत बेहोराको अभियोग मागदाबी ।
भारतको हिमाञ्चल कितोर जिल्ला भावनानगरमा मेरी मम्मी बस्नुहुन्छ । म त्यहीँ मम्मीकहाँ १० वर्ष बसेँ । हाल गाउँमा आएको थिएँ । यत्तिकैमा नाम परिवर्तन नुवाकोट २ र ३ जाहेरवालीहरूले हाम्रो यहाँ जबरजस्ती विवाह गर्न लागेका छन् । हामीलाई पनि तिमीसँगै काममा लगाई देउ भने, मैले काममा लगाउन सक्दिन भनेँ, म बट्टार दिदीको घरमा आउँदा हामीलाई पनि जसरी भएपनि लैजानु पर्यो । हामीहरू बट्टारसम्म जसरी भएपनि आउँछौं भने । उनीहरूलाई बट्टारमा मैले भेटेको होइन । गाउँमा केटीहरू हराएका छन् भनी प्रहरीले मलाई पक्राउ गरी ल्याएको हो । मैले नाम परिवर्तन नुवाकोट २ र ३ लाई फकाएको होइन, छैन । जाहेरी झुठ्ठा हो । म निर्दोष भएकाले झुठ्ठा जाहेरी दिनेलाई नै सजाय गरिपाउँ भन्ने बेहोराको प्रतिवादी याङ्गचेन तामाङले अदालतसमक्ष गरेको बयान ।
प्रतिवादीले जाहेरवालीहरूलाई बोलाएको होइन । ऊ सोझी गाउँले काम गर्ने महिला भएको हुँदा अरूहरूले नै उसलाई फसाउन झुठ्ठा आरोप लगाएको हो भनी प्रतिवादीको साक्षी काजीमान तामाङले अदालतसमक्ष गरेको बकपत्र ।
जाहेरवाला नुवाकोट २ र ३ ले याङ्गचेन तामाङले हामीलाई भारतमा राम्रो काम लगाई दिन्छु भनी फकाई आफू १ दिनअगावै बट्टारमा बसी, हामीलाई बाटो खर्चसमेत रू.३००।- छोडेकी
हुन् । बट्टारमा याङ्गचेन तामाङसँग भेट भएको थियो । जाहेरी दरखास्तको बेहोरा ठिक हो भनी अदालतसमक्ष गरेको बकपत्र ।
प्रतिवादी याङ्गचेन तामाङले अभियोग दाबीअनुसारको कसुर अपराध गरेको देखिँदा निजलाई मानव बेचबिखन तथा ओसार पसार (नियन्त्रण) ऐन, २०६४ को दफा १५(१)(ङ)(२) बमोजिम १० वर्ष कैद र रू.१,००,०००।- (एक लाख) जरिवाना भई ऐ.ऐनको दफा १७ बमोजिम पीडितहरूलाई रू.५०,०००।- (पचासहजार) प्रतिवादीबाट क्षतिपूर्तिसमेत भराई दिने ठहर्छ भन्ने मिति २०६८।८।२८ को सुरू नुवाकोट जिल्ला अदालतको फैसला ।
अधिकारप्राप्त अधिकारीसमक्षको मेरो साबिती बयान मेरो स्वेच्छाबाट लेखिएको नभई मलाई पढी बाँची नसुनाई प्रहरीले आफूखुसी लेखी सहिछाप गराएको हो । अदालतसमक्षको मेरो बयानलाई सुरू अदालतले बेवास्ता गरेको छ । स्वयं जाहेरवालीहरूले सातबीसेबाट गाडी चढी बट्टार बजारसम्म आफूहरू मात्र आएको र प्रतिवादीलाई नभेटेको कुरा स्वीकार गरेबाट म निर्दोष रहेको कुरा पुष्टि हुन्छ । मैले जाहेरवालीहरूलाई फकाएको भनी लगाएको आरोप निराधार छ । निजहरू आफैँ मलाई काम लगाई दिनु पर्यो भनी फकाउन आएका र मैले निजहरूलाई काम लगाउन सक्दिन भनेको कारणबाट निजहरू मसँग रिसाई मेरो विरूद्ध भारतमा काम लगाई दिन्छु भनी फकायो भनी जाहेरी दिएका हुन् । जाहेरी दरखास्तको बेहोरा झुठ्ठा हो भन्ने कुरा निज जाहेरवालीहरूले अदालतमा आई गरेको बकपत्रबाट पनि स्पष्ट हुन्छ । मिति २०६८/७/४ का दिन म याङ्गचेन तामाङलाई बट्टार बजारमा भेटेको भनी स.ज.२ र ३ मा उल्लेख गरेका छन् भने जाहेरी दरखास्त र अदालतको प्रमाणित बयानमा बट्टार बजारमा नभेटेको भनी लेखाएका
छन् । जाहेरवालीहरूलाई मैले ललाई फकाई ल्याएको भए निजहरू मसँगै आउने थिए । गाउँखर्कबाट बट्टार बजारसम्म आइपुग्दा बाटोमा रहेको प्रहरी चौकीमा खबर पनि नगरेको, बजार आई पुगेपछि पनि निजहरू आफैँले खबर नगरी होटल मालिकले खबर गरी प्रहरीलाई जिम्मा लगाएको भनी निजहरूको बयानमा उल्लेख भएबाट निजहरू घरबाट सल्लाह नगरी भागी आएको र अवगालबाट बच्न निजहरूले मेरो विरूद्ध जाहेरी दिएको हुँदा सुरू नुवाकोट जिल्ला अदालतको फैसला फौजदारी कानूनका आधारभूत सिद्धान्त, प्रमाण ऐन, २०३१ को दफा २५ र सम्मानित सर्वोच्च अदालतबाट प्रतिपादित नजिरसमेतको विपरीत हुँदा सो फैसला बदर गरी अभियोग दाबीबाट सफाइ पाउँ भन्नेसमेत बेहोराको प्रतिवादीको पुनरावेदन अदालत पाटनको पुनरावेदनपत्र ।
पुनरावेदिका प्रतिवादीले पीडितहरूलाई बिक्री गर्ने उद्देश्यले नेपालभित्रको एक ठाउँबाट अर्को ठाउँमा लगेको भन्ने तथ्य स्थापित हुनेसम्मको वस्तुनिष्ठ प्रमाण अभियोजन पक्षबाट पेस हुन नसकेको अवस्थामा पुनरावेदिकालाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा १५(१)(ङ)(२) बमोजिम सजाय गर्ने गरेको सुरूको फैसला प्रमाण मूल्याङ्कनको क्रममा फरक पर्नसक्ने देखिएकोले छलफलको लागि प्रत्यर्थी झिकाई नियमानुसार पेस गर्नु भन्ने मिति २०६९।४।१६ को पुनरावेदन अदालत पाटनको आदेश ।
प्रतिवादी नुर्वु भन्ने याङ्गचेन तामाङले आरोपित कसुर गरेको देखिँदा सुरू नुवाकोट जिल्ला अदालतको मिति २०६८।८।२८ को फैसला मिलेकै देखिँदा सुरू फैसला सदर हुने ठहर्छ भन्ने मिति २०६९।०८।१२ को पुनरावेदन अदालत पाटनको फैसला ।
म प्रतिवादी र जाहेरवालीहरू एकै गाउँको भएकाले गाउँमा भेटघाट भएको, जाहेरवालीहरूले नै तिम्रो जस्तै काम लगाई देउ भनी जिद्दी गरेको र बट्टार बजार आउँदा एकदिनअघि आएको, बट्टारमा जाहेरवालीहरूलाई नभेटेको भनी मैले स्वीकार गरेको कुरालाई जाहेरवालीहरूलाई बट्टारमा भेट्ने सल्लाह भएको तथ्य पुष्टि भएको भनी एकतर्फी रूपमा मेरो विरूद्धमा प्रमाण लगाइएको छ । जाहेरवालीहरूले नै गाउँबाट आफूहरू मात्र बट्टार बजार आएको र बट्टार बजारमा म प्रतिवादीलाई नभेटेको भनी लेखाएको, बुझिएका मानिस इमानसिंह तामाङले नुवाकोट २ र ३ बट्टार बजारमा फेला पारेको हुँ अरू थाहा छैन भनी अदालतमा गरेको बकपत्रले स्पष्ट पारेको छ । जाहेरी दिने र अदालतमा जाहेरवालीहरूको बकपत्र गराउने कार्यभन्दा वादी पक्षले अन्य प्रमाण गुजार्न नसकेको अवस्थामा पनि नुवाकोट जिल्ला अदालतबाट मिति २०६८।०८।२८ गते मलाई आरोपित कसुरमा दोषी ठहर गरी मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा १५(१)(ङ)(२) बमोजिम १०(दश) वर्ष कैद र रू.१,००,०००।- (एकलाख) जरिवाना, ऐ.ऐनको दफा १७ बमोजिम पीडितहरूलाई रू.५०,०००।- (पचास हजार) प्रतिवादीबाट क्षतिपूर्ति भराई दिने ठहर्छ भनी भएको फैसलाउपर मेरो पुनरावेदन अदालत पाटनसमक्ष पुनरावेदन परी उक्त अदालतबाट समेत सुरू सदर हुने ठहराई मिति २०६९।०८।१२ गते भएको फैसला फौजदारी कानूनको आधारभूत सिद्धान्त, प्रमाण ऐन, २०३१ को दफा २५, सम्मानित सर्वोच्च अदालतबाट मानव बेचबिखन तथा ओसारपसार मुद्दामा प्रतिपादित नजिरसमेतको विपरीत भएकोले पुनरावेदन अदालत पाटनबाट सुरू सदर गर्ने गरी भएको फैसला बदर गरी अभियोग दाबीबाट म प्रतिवादीले सफाइ पाउँ भन्नेसमेत बेहोराको यस अदालतमा दायर हुन आएको प्रतिवादी नुर्वु भन्ने याङ्गचेन तामाङको पुनरावेदन पत्र ।
पुनरावेदक प्रतिवादी र पीडितहरूबीच नुवाकोट जिल्लाको बट्टार बजारमा भेटसम्म भएको नदेखिएको अवस्थामा समेत प्रतिवादीले पीडितहरूलाई बिक्री गर्ने उद्देश्यले नेपालभित्रको एक ठाउँबाट अर्को ठाउँमा लगेको भन्ने आधारमा निजलाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा १५(१)(ङ)(२) बमोजिम सजाय गर्ने गरेको पुनरावेदन अदालत पाटनको मिति २०६९।०८।१२ को फैसला प्रमाण मूल्यांकनको रोहमा फरक पर्नसक्ने देखिँदा मुलुकी ऐन, अ.वं.२०२ नं. को प्रयोजनार्थ महान्यायाधिवक्ताको कार्यालयलाई आदेशको जानकारी दिई नियमानुसार पेस गर्नु भन्ने मिति २०७३।९।३ को यस अदालतको आदेश ।
नियमबमोजिम दैनिक पेसी सूचीमा पेस हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदन पत्रसहितको मिसिल अध्ययन गरियो । पुनरावेदक प्रतिवादी नुर्वु भन्ने याङ्गचेन तामाङको तर्फबाट उपस्थित विद्वान् अधिवक्ताद्वय श्री मोतिलाल श्रेष्ठ र श्री बद्री पाठकले जाहेरवालाहरूलाई प्रतिवादीले काममा लगाइदिन्छु भनी बट्टार बजारमा बोलाएको भनी किटानी जाहेरीको बेहोरा र प्रतिवादीले पीडितहरूलाई काममा मात्र लगाउन बट्टार बजार बोलाएको भन्नेसम्म मौकाको बयान कागज रहेको छ । पीडितहरू आफैँ बट्टार बजार आएका छन् । पीडितहरूलाई प्रतिवादीले गाउँबाट लिएर आएको र बट्टारमा प्रतिवादीले भेट गरेको भन्ने मिसिल प्रमाणबाट प्रमाणित छैन । प्रतिवादीले पीडितहरूलाई यौन शोषण गर्ने उद्देश्यले नै फकाएको हो भन्ने प्रमाणित वादी पक्षले गर्न सकेको पाइँदैन । बोलाएको ठाउँ बट्टारमा प्रतिवादी र पीडित सँगै पक्राउ परेको नपाएकोले प्रतिवादीले आरोपित कसुरबाट सफाइ पाउनु पर्दछ भनी बहस गर्नुभयो ।
वादी नेपाल सरकारको तर्फबाट विद्वान् उपन्यायाधिवक्ता श्री दशरथ पंगेनीले जाहेरवालीहरूको किटानी जाहेरी र सो बेहोरालाई समर्थन हुने गरी अदालत र मौकामा प्रतिवादीले काम लगाइदिन्छु भनी फकाई बट्टारमा रू.३००।- खर्च दिई बोलाएको र प्रतिवादीले मौकामा पीडितहरूलाई काम लगाइदिन्छु भनी खर्चसमेत दिई बट्टारमा बोलाएको भनी साबित भई गरेको बयान बेहोरालगायतका प्रमाणलाई आधार लिई सुरू जिल्ला अदालतबाट भएको फैसलालाई सदर गर्ने गरी पुनरावेदन अदालत पाटनबाट भएको फैसला सदर हुनुपर्छ भनी गर्नुभएको बहससमेत सुनियो ।
उक्त बहससमेत सुनी सुरू नुवाकोट जिल्ला अदालतबाट प्रतिवादी याङ्चेन तामाङलाई आरोपित कसुर गरेको ठहराई भएको फैसलालाई पुनरावेदन अदालत पाटनले सुरू सदर गर्ने गरी गरेको फैसला मिलेको छ वा छैन ? र प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्छ वा सक्दैन ? भन्ने सम्बन्धमा निर्णय गर्नुपर्ने देखियो ।
२. निर्णयतर्फ विचार गर्दा परिवर्तित नुवाकोट २ र ३ ले प्रतिवादी नुर्वु भन्ने याङचेन तामाङउपर दिएको किटानी जाहेरीबाट उठान भएको प्रस्तुत मुद्दामा प्रतिवादी नुर्वु भन्ने याङचेन तामाङउपर मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ३(१) क विपरीत ऐ.४(२)(ख) नं. को कसुर अपराधमा ऐ.ऐ. १४(१)(ङ)(२) बमोजिम सजाय र ऐ.१७(१) नं. अनुसार क्षतिपूर्तिसमेत भराई पाउँ भन्ने बेहोराको अभियोग माग दाबी रहेकोमा सुरू नुवाकोट जिल्ला अदालतले आरोपित कसुरमा निज प्रतिवादीलाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा १५(१)(ङ)(२) बमोजिम १०(दश) वर्ष कैद र रू.१,००,०००।- (एक लाख) जरिवाना भई ऐ.ऐनको दफा १७ बमोजिम पीडितहरूलाई रू.५०,०००।- (पचास हजार) प्रतिवादीबाट क्षतिपूर्ति भराई पाउने ठहर्याई भएको फैसलाउपर प्रतिवादीको पुनरावेदन अदालत पाटनसमक्ष पुनरावेदन परी उक्त अदालतले सुरू नुवाकोट जिल्ला अदालतको फैसलालाई नै सदर गर्ने गरी भएको फैसलाउपर प्रतिवादी नुर्वु भन्ने याङ्गचेन तामाङको यस अदालतमा पुनरावेदन पत्र दायर हुन आएको देखियो ।
३. म पुनरावेदक प्रतिवादी र जाहेरवालीहरू एकै गाउँको भएको र निजहरूले नै मलाई काम लगाई देउ भनी जिद्दी गरी बट्टार आएका, बट्टारमा निजहरूलाई मैले नभेटेको अवस्थामा बट्टारमा भेट्ने सल्लाह भएको तथ्य पुष्टि भएको भनी प्रमाणमा लगाई आरोपित कसुर ठहराई सुरू नुवाकोट जिल्ला अदालतको फैसलालाई पुनरावेदन अदालत पाटनबाट सदर गर्ने गरी भएको फैसला कानून तथा प्रतिपादित नजिर सिद्धान्तविपरीत भएकाले उक्त फैसला उल्टी गरी अभियोग मागदाबीबाट सफाइ पाउँ भनी पुनरावेदन जिकिर लिएको देखियो ।
४. यस सम्बन्धमा प्रस्तुत मुद्दाको मिसिल संलग्न कागजात हेर्दा प्रतिवादी नुर्वु भन्ने याङ्गचेन तामाङले मौकामा अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयानमा जाहेरवालीहरूलाई काममा लगाई दिन्छु भनी बट्टारमा बोलाएको हो भनी साबित भएपनि अदालतसमक्ष गरेको बयानमा प्रहरीमा भएको बयान मेरो स्वइच्छाले भएको होइन । जाहेरवालीहरूले नै जसरी पनि काममा लगाई देउ बट्टार बजारमा आउँछौ भनेका हुन् । जाहेरवालीहरूलाई बट्टारमा मैंले भेटेको होइन भनी आरोपित कसुरमा इन्कार रही बयान गरेको देखियो । निजको बेहोरालाई समर्थन हुने गरी निजको साक्षी काजीमान तामाङले प्रतिवादीले जाहेरवालीहरूलाई बोलाएको होइन । निजलाई फसाउन झुठ्ठा आरोप लगाएको हो भनी अदालतसमक्ष बकपत्र गरेको देखियो ।
५. जाहेरवालाहरूको मौकाको जाहेरी बेहोरा हेर्दा प्रतिवादी नोर्वु भन्ने याङ्चेन तामाङ र हामी जाहेरवालाहरू समेत मकै गोडी रहेको अवस्थामा प्रतिवादीले भारतमा लगी होटलमा काम लगाइदिन्छु, म बट्टार बजार गई बस्छु तिमीहरू आउनु भनी ललाई फकाई गरी हामीलाई भारतमा बिक्री गर्ने उद्देश्यले बोलाएको हुँदा कारबाही गरिपाउँ भन्ने उल्लेख गरेको देखिन्छ । निजहरूले उक्त बेहोरा प्रमाणित गर्ने क्रममा अदालतमा आई बयान गर्दा प्रतिवादीले भारतमा लगी राम्रो होटलमा काम लगाई दिन्छु भनी रू.३००।- बस भाडासमेत दिई तिमीहरू बट्टार बजार आउनु भनी गएको, निजको विश्वासमा परी हामी दुवैजना बस चढी बट्टार बजारमा ओर्ली प्रतिवादीलाई खोजतलास गरी बसी रहेको अवस्थामा प्रहरी आई सोधपुछ गर्दा भारतमा लगी बिक्री गर्न लागेकोमा विश्वास लाग्यो । निज प्रतिवादीसँग बट्टारमा भेट भएन भन्ने उल्लेख गरेको देखिन्छ । तर निज जाहेरवालाहरूले यसरी मौकाको जाहेरी बेहोरा र अदालतमा प्रमाणित गरेको बयानमा समेत आफूहरूले प्रतिवादीलाई बट्टारमा भेट नगरेको भन्ने उल्लेख गरेकोमा सोको विपरीत अदालतसमक्ष गरेको बकपत्रमा प्रतिवादीसँग बट्टारमा भेट भएको थियो भनी बकपत्र गरेबाट जाहेरवालीहरूको उक्त जाहेरीको बेहोरा र अदालतमा गरेको बकपत्रमा गरेको भनाइमा एकरूपता रहेको पाइँदैन । यसबाट जाहेरी बेहोरा र अदालतको बयान शंकास्पद देखिन आयो । प्रमाण ऐन, २०३१ को दफा १८ बमोजिम जाहेरवालीहरूको उक्त भनाईलाई ठोस प्रमाण मान्न सकिएन ।
६. प्रस्तुत मुद्दाको घटनाक्रम हेर्दा जाहेरवालीहरूलाई प्रतिवादीले काममा लगाई दिन्छु भनी जाहेरवालीहरू बट्टारमा आएको भन्नेसम्म देखिन्छ । प्रतिवादीले जाहेरवालीहरूलाई बोलाएको भनिएको ठाउँ बट्टारमा प्रतिवादी र जाहेरवालाहरू सँगै पक्राउ परेको भन्नेसमेत देखिएको छैन । मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) सम्बन्धी ऐन, २०६४ को दफा ३ को उपदफा (१) मा मानव बेचबिखन र ओसारपासार गर्नु गराउनु नहुने कुरा उल्लेख छ भने ४(२)(ख) मा “वेश्यावृत्तिमा लगाउने वा शोषण गर्ने उद्देश्यले कुनै प्रकारको ललाई फकाई, प्रलोभनमा पारी झुक्याई, जालसाज गरी, प्रपञ्च मिलाई, जबरजस्ती गरी, कारकापमा पारी, अपहरण गरी, शरीर बन्धक राखी, नाजुक स्थितिको फाइदा लिई, बेहोस पारी, पद वा शक्तिको दुरूपयोग गरी, अभिभावक वा संरक्षकलाई प्रलोभनमा पारी, डर त्रास, धाक धम्की दिई वा करकापमा पारी, कसैलाई बसिरहेको घर स्थान वा व्यक्तिबाट छुटाई लग्ने वा आफूसँग राख्ने वा आफ्नो नियन्त्रणमा लिने वा कुनै स्थानामा राख्ने वा नेपालभित्रको एक ठाउँबाट अर्को ठाउँमा वा विदेशमा लैजाने वा अरू कसैलाई दिने” भन्ने व्यवस्था रहेको
देखिन्छ । साथै, ऐ. कसुर अपराधमा ऐ.ऐनको दफा १५(१)(ङ) मा “नेपालभित्रको एक ठाउँबाट अर्को ठाउँमा लैजानेलाई दश वर्ष कैद र पचास हजार रूपैयाँदेखि एक लाख रूपैयाँसम्म जरिवाना” हुने व्यवस्था रहेको देखिन्छ ।
७. प्रस्तुत मुद्दामा विधायिकी कानूनले प्रमाणको भार प्रतिवादीमा राखेको हुँदा सो अवस्थामा वादी प्रतिवादीको प्रमाण पुर्याउने के कस्तो दायित्व रहने हो भन्ने सन्दर्भमा विचार गर्दा फौजदारी मुद्दामा सामान्यतया आफ्नो अभियुक्तको कसुर अपराध प्रमाणित गर्ने प्रमाणको भार वादी पक्षमा
रहन्छ । जसले दाबी गर्छ उसैले प्रमाणित गर्नुपर्छ भन्ने फौजदारी विधिशास्त्रको सामान्य सिद्धान्त रहेको
छ । यो सिद्धान्तलाई प्रमाण, २०३१ को दफा २५ ले स्वीकार गरेको छ । तर कतिपय विशेष अवस्थामा फौजदारी मुद्दामा पनि प्रमाणको भार प्रतिवादीमा सार्न सकिने वा प्रतिवादीमा रहने (Shifting of burden of proof to the accused person) गरी विधायिकी कानून बन्न सक्ने कुरालाई फौजदारी विधिशास्त्रले स्वीकार गरेको पाइन्छ । खासगरी आफूसँग कब्जा (Possession) मा रहेको वस्तुको वैधता प्रमाणित गर्ने तथा मुद्दाको प्रकृतिअनुसार वादी पक्षलाई कसुर प्रमाणित गर्न अत्यन्त कठिन हुने प्रकृतिका यौनजन्यलगायतका अन्य अपराधमा प्रमाणको भार प्रतिवादीमा रहने गरी कानून निर्माण हुनसक्ने कुरालाई फौजदारी विधिशास्त्रले स्वीकार गरेको
छ । यही सिद्धान्तको आधारमा मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ९ ले प्रचलित कानूनमा जनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिलाई यस ऐनअन्तर्गतको कसुर गरेको अभियोग लागेकोमा सो कसुर आफूले गरेको छैन भन्ने कुराको प्रमाण निजले नै पुर्याउनु पर्नेछ भन्ने व्यवस्था गरी अभियोग लागेको कसुर आफूले गरेको छैन भन्ने कुराको प्रमाण प्रतिवादीले पुर्याउनु पर्ने व्यवस्था गरिएको छ ।
८. सरकारवादी फौजदारी मुद्दाको अनुसन्धान तहकिकात गरी सो आधारमा आफ्नो अभियुक्तको अभियोग निर्धारण गर्ने र अदालतमा मुद्दा दायर गर्ने दायित्व सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ ले वादी पक्षलाई दिएको छ । वादी पक्षको यो दायित्व विधायिकी कानूनले आफ्नो निर्दोषिता प्रमाणित गर्ने भार प्रतिवादीमा सारेको कारणले सीमित हुने वा समाप्त हुने होइन । यस अवस्थामा पनि वादी पक्षले आफ्नो अनुसन्धानको आधारमा आफूले तयार र दायर गरेको अभियोगपत्रमा प्रतिवादीको के कुन कार्य कुन कानूनले निषेध गरेको आपराधिक कार्य हो, विधायिकी कानूनले त्यस्तो कसुर स्थापित हुन चाहिने भनी निर्धारण गरेका अपराधका तत्त्वहरू (Constituent elements of crime) को विद्यमानता र आवश्यक छ भने तिनीहरूको संयोजनात्मकता (Concurrency) अनिवार्य रूपमा उल्लेख गरेको हुनुपर्दछ । अभियोगपत्रमा अपराधका तत्त्वहरूको उल्लेखन वास्तविक अर्थमा प्रतिवादीलाई प्रतिरक्षाको लागि सुनुवाइको मौका उपलब्ध गराउनु पर्दछ भन्ने प्राकृतिक न्यायको सिद्धान्तसँग पनि सम्बन्धित रहेको छ । कुन कानूनले निषेध गरेको आपराधिक कार्य, कार्य गरेको अवस्थामा कानूनले निर्धारण गरेको तहको मनसायको संयोजन र सो कार्य गर्दा प्रतिवादीलाई कुनै छुट वा प्रतिरक्षा उपलब्ध थिएन भनी अभियोगपत्रमा स्पष्ट रूपमा दाबी लिइएको हुनुपर्छ । आपराधिक कार्य (Conduct element), आवश्यक मनसाय (Fault element) र वैध प्रतिरक्षाको अभाव (Absence of valid defense) को स्पष्ट उल्लेख गरी कसुर स्थापित गर्न र कानूनबमोजिम सजाय गर्न मागदाबी लिइएको अभियोगपत्र रहेको अवस्थामा विधायिकी कानूनले निर्दोषिताको प्रमाणित गर्ने भार प्रतिवादीमा राखेको भएमा प्रतिवादीले आफूले सफाइको जिकिर लिन्छ भने उसले आफ्नो निर्दोषिता आफैँले प्रमाणित गर्नुपर्ने हुन्छ । तर वादीले लिएको दाबीमा नै कानूनले अपराध हुनको लागि अनिवार्य रूपमा चाहिने आवश्यक तत्त्व (Mandatory constituent elements of crime) भनी उल्लेख गरेका तत्त्वहरूको आधार प्रमाणसहित उल्लेख नगरी ती तत्त्वहरूलाई स्थापित नगरी केवल कसुर गरिएकाले सजाय गरिपाउँ भन्नेसम्म दाबी लिएको र अपराधका सम्पूर्ण आवश्यक तत्त्वहरूको संयोजनात्मक उपस्थिति (Concurrent presence) नभएको अवस्थामा प्रतिवादीमा प्रमाणको भार रहेको भन्ने कानूनी व्यवस्थाको आधारमा वादीको पूरा नगरेको दायित्व प्रतिवादीले पूरा गर्नुपर्ने भनी अर्थ गर्न मिल्दैन । यदि निरपेक्ष रूपमा अर्थ गर्ने हो भने वादीको त्रुटिको दुष्परिणाम प्रतिवादीमा सर्ने हुन्छ, जुन विधायिकी मसनाय होइन ।
९. प्रस्तुत मुद्दामा प्रतिवादी नुर्वु भन्ने याङ्गचेन तामाङउपर मानव बेचबिखन ऐन, २०६४ को दफा ३(१) र ४(२)(ख) को कसुर गरेको आरोप लगाइएको भए तापनि प्रतिवादीले पीडितहरूलाई वेश्यावृत्तिमा लगाउने वा शोषण गर्ने उद्देश्यले ललाई फकाई वा झुक्याई, जालसाज प्रपञ्च मिलाई के कार्य गर्यो वा उक्त दफा (२) (ख) को कुन कार्य के कारण हुन गयो भन्ने अभियोगपत्रमा स्पष्ट खुल्न सकेको छैन, पीडितहरूको विरोधाभाषजन्य भनाइको अलावा अपराध कार्य पुष्टि हुने कुनै प्रमाण पेस हुन सकेको
छैन । यी प्रतिवादीले पीडितहरूलाई बट्टार ल्याएको भन्ने छैन । बट्टारमा निजहरू भेट भएको भन्नेसम्म पनि छैन । प्रतिवादी आफैँ २२ वर्षीय महिला
देखिन्छिन् । आफू भारतको हिमाञ्चल प्रदेश भावनगरमा कपडा पसलमा काम गर्ने र कामको सिलसिलामा घर आएको भन्नेसम्म छ । अर्को शब्दमा निजको आफ्नै अवस्था दिनहिन र दयनीय छ । निजले विगतमा मानव बेचबिखन वा ओसारपसार गर्यो भन्ने आरोप पनि छैन र मिसिल संलग्न कुनै साक्षी प्रमाण वा कागजबाट सो पुष्टि हुन सकेको अवस्था पनि
छैन । यस स्थितिमा मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ ४(२)(ख) को कुन अवस्था वा तत्त्व विद्यमान थियो भन्ने कुरा स्पष्ट खुलाउन नसकेको अवस्थामा प्रमाणको भार प्रतिवादीमा रहने भन्ने मात्र कुराले स्वच्छ सुनुवाइको कुनै सिद्धान्त नै अनुशरण गर्न नै नपर्ने जस्तो गरी प्रतिवादीलाई सजाय गर्न मिल्ने देखिएन । प्रतिवादीको कसुर प्रारम्भिक रूपमा (Prima facie) पुष्टि नै हुन नपर्ने गरी फगत प्रतिवादीले आफ्नो निर्दोषिता पुष्टि गर्न नसकेको भनी प्रमाणको भार सरेको भनी निर्णय निष्कर्षमा पुग्दा न्याय मर्न जान्छ ।
१०. अतः उल्लिखित आधार कारणहरूबाट प्रतिवादी नोर्वु भन्ने याङ्गचेन तामाङले पीडितहरूलाई ललाई फकाई वेश्यावृत्तिमा लगाउन वा शोषण गर्ने उद्देश्य राखी पीडितहरूलाई नोकरी गर्न भनी विदेश लान लागेको हो भन्ने तथ्य मिसिलबाट वादी पक्षले स्थापित गरी प्रमाणित गर्न नसकेको अवस्थामा प्रतिवादीलाई मानव बेचबिखन ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा १५(१)(ङ)(२) बमोजिम १०(दश) वर्ष कैद र रू.१,००,०००।- (एक लाख) जरिवाना, सोही ऐनको दफा १७ बमोजिम पीडितहरूलाई रू.५०,०००।- (पचास हजार) प्रतिवादीबाट क्षतिपूर्ति भराई पाउने ठहराई सुरू नुवाकोट जिल्ला अदालतको मिति २०६८।८।२८ गतेको फैसलालाई सदर गर्ने गरी पुनरावेदन अदालत पाटनबाट मिति २०६९।८।१२ गते भएको फैसला मिलेको नदेखिँदा उल्टी भई प्रतिवादी नोर्वु याङ्गचेन तामाङले आरोपित कसुरबाट सफाइ पाउने ठहर्छ । अरू तपसिलबमोजिम गर्नू ।
तपसिल
माथि ठहर खण्डमा लेखिएबमोजिम प्रतिवादी नोर्वु भन्ने याङ्गचेन तामाङले आरोपित कसुरबाट सफाइ पाउने ठहरी फैसला भएकोमा आज यस इजलासबाट निजलाई थुनामुक्त गरी दिनु भनी छुट्टै आदेश भएकोले केही गरी रहन परेन ।
प्रतिवादी नोर्वु भन्ने याङचेन तामाङले अभियोग दाबीबाट सफाइ पाउने ठहरेकाले सुरू नुवाकोट जिल्ला अदालतको मिति २०६८।८।२८ को फैसलाले निजका नाउँमा राखेको १० वर्ष कैद र रू.१ लाख जरिवाना र क्षतिपूर्तिको लगत कायम नरहने हुँदा उक्त लगत कट्टा गर्नु भनी सुरू नुवाकोट जिल्ला अदालतमा लेखी पठाउनू ।
फैसलाको प्रतिलिपिसहितको जानकारी महान्यायाधिवक्ताको कार्यालयलाई पठाई प्रस्तुत मुद्दाको दायरी लगत कट्टा गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाई दिनू ।
उक्त रायमा सहमत छु ।
न्या. सारदाप्रसाद घिमिरे
इजलास अधिकृतः डिल्लीराम प्रसाई
इति संवत् २०७४ साल मंसिर १३ गते रोज ४ शुभम् ।