शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १०११९ - जबरजस्ती करणी

भाग: ६० साल: २०७५ महिना: माघ अंक: १०

प्रस्तुत मुद्दामा गोपनीयताको लागि पीडित र परिवारको सदस्यको नाममा ................. राखिएको छ ।

                                               - सम्पादक

 

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री सारदाप्रसाद घिमिरे

माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल

फैसला मिति : २०७३।१२।१६

०६७-CR-१२९७

 

मुद्दाः जबरजस्ती करणी

 

पुनरावेदक / प्रतिवादी : सुर्खेत जिल्ला वीरेन्द्र नगर नगरपालिका वडा नं. १ बस्ने भिमबहादुर थापाको छोरा होमराज थापा

विरूद्ध

प्रत्यर्थी / वादी : सुनिता के.सी. को जाहेरीले नेपाल सरकार

 

पर्याप्त रक्तस्राव भएको र करणी भएको वा नभएको यकिनसाथ भन्न नसकिने भनी योनि झिल्ली नरहेको र रक्तस्राव भएको भन्ने पुष्टि भइरहेको अवस्थामा करणीबाट रहेको वीर्य रगतसँगै बगेर जान सक्ने भई वीर्य फेला नपर्न सक्ने हुँदा वीर्य फेला नपरेको कारणलाई मात्र आधार बनाई जबरजस्ती करणी जस्तो गम्भीर प्रकृतिको अपराधबाट अभियुक्तलाई सफाइ दिनु न्यायोचित हुने नदेखिने ।

(प्रकरण नं.५)

जबरजस्ती करणी मुद्दामा सामान्यतया प्रत्यक्षदर्शी साक्षीको उपस्थिति 

हुँदैन । पीडित नै घटनाको आधारभूत गवाह हो । निजले अनुसन्धान अधिकारी तथा अदालतसमक्ष व्यक्त गरेको कुरालाई प्रमाण ऐन, २०३१ को दफा १० (क)(ख) बमोजिम प्रत्यक्ष र निर्णायक प्रमाणको रूपमा लिनुपर्ने ।

(प्रकरण नं.६)

मौकामा पीडितले व्यक्त गरेको र अदालतमा बकपत्रमा देखिएको सामान्य फरकलाई प्रधानता दिई कसुरजन्य अवस्था र परिस्थितिको मूल्याङ्कन नगरी वारदात नै स्थापित नभएको ठहराई कसुर अपराधबाट छुट हुने गरी सफाइ दिनु त्रुटिपूर्ण हुन जाने ।

(प्रकरण नं.९)

 

पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान्‌ अधिवक्ता श्री लवकुमार मैनाली

प्रत्यर्थी / वादीका तर्फबाट : 

अवलम्बित नजिर :

ने.का.प.२०६४, नि.नं.७८८०, अंक ९

ने.का.प.२०६५, अंक १, नि.नं.७९२३

सम्बद्ध कानून :

प्रमाण ऐन, २०३१

 

सुरू तहमा फैसला गर्नेः

मा. जि. न्यायाधीश श्री रामेश्वरनाथ अमात्य

बाँके  जिल्ला अदालत

पुनरावेदन तहमा फैसला गर्नेः 

माननीय न्यायाधीश श्री रमेश पोखरेल 

मा. न्यायाधीश श्री सत्यमोहन जोशी थारू

पुनरावेदन अदालत, नेपालगञ्ज

 

फैसला

न्या. सपना प्रधान मल्ल : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यस अदालतमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः

जिल्ला बाँके, नेपालगञ्‍ज नगरपालिका वडा नं. ५ स्थित पूर्वमा दिपक शाहीको घर, पश्‍चिम बाटो, उत्तर पुष्पलाल चोकबाट बसपार्क रोड, दक्षिण नाम थाहा नभएको मानिसको घडेरी यति चार किल्लाभित्र रहेको भीमलाल पौडेलको घरमा जीवनाथ पौडेलले सञ्‍चालन गरेको हाम्रो गाउँले होटलको कोठा नं. २०७ मा होमराज थापाले जबरजस्ती करणी गरेको भन्‍नेसमेत बेहोराको मिति २०६३/१०/६ को घटनास्थल मुचुल्का ।

मिति २०६३/१०/६ गते होमराज थापाले मलाई कोठा चाहियो बहिनी छन् भनेकोले कोठा नं. २०७ को चाबी लिई बसेका हुन् । होमबहादुर थापाले के गरे ? कोठामा थाहा भएन । ...................ले केही जानकारी पनि गराएकी थिइनन् भन्‍नेसमेत बेहोराको मिति  २०६३/१०/६ को जीवनाथ पौडेलको घटना विवरण कागज ।

यसमा म मामाको घरमा बसी पढ्ने हुँदा हाल म जन्डिसको बिरामी भएकोले घरमा औषधी उपचार गर्न आउँदा तिर्थकुमारी चालिसेले चिनेको होमराज थापाको साथमा लगाएकीले मलाई खाना खाएर जाउली भनी नेपालगञ्‍ज ल्याई हाम्रो मनकामना कोल्ड स्टोर अर्थात् गाउँले होटलमा कोठामा राखी चुकुल लगाई जबरजस्ती करणी गरेपश्‍चात् दाँत ब्रस गरी आउँछु भनी होमराज तल गएपछि कोठाबाट भागी जाहेरी गर्न आएकी छु निजउपर जबरजस्ती करणी महलअन्तर्गत कारबाही गरिपाउँ भन्‍नेसमेत बेहोराको मिति २०६३/१०/७ को जाहेरवाला ...................को जाहेरी दरखास्त । 

मेरो बहिनीलाई होमराज थापाले खाना खाएर जाउली भनी गाउँले होटलमा लगी जबरजस्ती करणी गरेको भन्‍ने सुनी थाहा पाएको हुँ निजले जबरजस्ती गरेको हुन् निजलाई हदैसम्म कारबाही होस् भन्‍ने 

...................को घटना विवरण कागज । 

पीडित ...................को योनि झिल्ली जाँच गर्दा नरहेको देखियो । शरीरमा संघर्ष चिह्न नभेटिएको, पीडितलाई करणी भए नभएको यकिन भन्‍न नसकिने, योनिभित्र पुरूष वीर्य नभेटिएको भन्‍नेसमेत बेहोराको भेरी अञ्‍चल अस्पतालको मिति २०६३/१०/८ को पत्र ।

प्रतिवादी होमराज थापाले पीडित ...................लाई करणी गरेको भन्‍ने निजले प्रहरी लिई आएपछि मात्र थाहा पाएको हुँ, करणी गरे नगरेकोबारे थाहा भएन भन्‍ने मित्रलाल पोख्रेल र भरत खड्‍कासमेतको एकै मिलानको मिति २०६३/११/५ को बेग्ला बेग्लै घटना विवरण कागज ।

अभियुक्त होमराज थापाले पीडित .................. लाई हाम्रो गाउँले होटलमा ल्याई जबरजस्ती करणी गरी मुलुकी ऐन, जबरजस्ती करणीको महलको १ नं. को कसुर अपराध गरेकोले निजलाई जबरजस्ती करणीको महलको ३ नं. को देहाय ४ बमोजिम सजाय हुनका साथै निज फरार रहेकोले निजको नाउँमा वारेन्ट जारी हुन र जबरजस्ती करणीको महलको १० नं. बमोजिम हुनसमेत माग दाबी लिएको छ भन्‍नेसमेत बेहोराको मिति २०६३/११/९ को अभियोग दाबी ।

पीडितको भेजिनल स्वाव परीक्षण गरी हेर्दा “Intact device-seal impression not clear” भन्‍नेसमेत बेहोराको Central Police Forensic Science Laboratory को मिति  २०६३/११/२३ को प्रतिवेदनसमेतको पत्र ।

मिति २०६३।१०।३ गते म सुर्खेत बसपार्कको काउण्टरमा ड्‍युटीमा थिएँ । सो समयमा तिर्थकुमारीसँग कहाँ जान लाग्नु भयो ? भनी सोधेको थिएँ । त्यसपछि ...................लाई जन्डिस भएको छ, नेपालगञ्‍ज झारफुक गरी निको गराइन्छ भनी भनेकोले जान लागेको भन्नु भयो । त्यसपछि निजहरू बसमा चढी गएका थिए । म उक्त दिन नेपालगञ्‍ज आएको छैन र होटलमा कोठा लिई बसेको पनि छैन । मैले जाहेरवालीलाई होटलमा राखी जबरजस्ती करणी गरेको होइन भन्‍नेसमेत बेहोराको प्रतिवादी होमराज थापाले सुरू अदालतसमक्ष गरेको इन्कारी बयान ।

यसमा मिसिल संलग्न रहेका तत्काल प्राप्त प्रमाणबाट प्रतिवादी कसुरदार होइन रहेछन् भन्‍ने देखिन नआउँदा आरोपित जबरजस्ती करणीको महलको १ नं. को कसुरमा सोही ऐनको महलको ३ नं. को देहाय (४) को कसुरमा कारबाही हुने र पछि बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी हाल प्रतिवादी होमराज थापालाई अ.बं. ११८ को देहाय (५) (१०) नं. अनुसार रू.१०,०००।- नगद वा सो बराबरको जेथा जमानत दिए धरौट तारेखमा राखी पुर्पक्ष गर्ने र सो दिन नसके थुनामा राख्‍न पठाइदिनु भन्‍नेसमेत बेहोराको सुरू बाँके जिल्ला अदालतको मिति  २०६४/३/११ को आदेश । 

मिति २०६३।१०।६ गते बिहानदेखि दिनभरी होमराजलाई सुर्खेत बसपार्कमा देखेको 

थिएँ । होमराजले ...................सँग तिम्रो विवाह आर्मीसँग भएको भनी सोध्दा निजहरूबीच भनाभन भएको होमराजले बताएका थिए । दुःख दिने नियतले जाहेरवालीले होमराज थापालाई झुट्ठा आरोप लगाएकी हुन् भन्‍ने प्रतिवादीको साक्षी विमला थापाले मिति  २०६४/६/३ गते सुरू अदालतमा गरेको बकपत्र ।

मिति २०६३।१०।६ गते म बर्दिया आउन सुर्खेतबाट हिँडेकोमा प्रतिवादी होमराज सुर्खेत, रेडियो नेपालको बाटोमा भेट भएको थियो । मेरो मामाको छोरी तिर्थकुमारीको प्रतिवादीसँग चिनजान 

रहेछ । प्रतिवादीले नेपालगञ्ज जान लागेको हुँ भनेकोले बहिनीलाई नेपालगञ्‍जसम्म लगिदिनुहोस् भनेकीले निजले म घरसम्म पुर्‍याई दिउँला भनी भनेका थिए । सुर्खेतबाट नेपालगञ्‍ज आएपछि खाना खाएर जाउँला भनी मलाई होमराजले गाउँले होटलमा लगी ढोकाको चुकुल लगाई चक्‍कु देखाई मेरो कपडा फुकाली करणी गरेको भन्‍नेसमेत बेहोराको जाहेरवालीले सुरू अदालतमा गरेको मिति २०६४/१०/२८ को बकपत्र ।

जाहेरवालीको शारीरिक परीक्षण प्रतिवेदन हेर्दा करणी भएको हो, होइन यकिनसाथ भन्‍न नसकिने, हाइमन जाली नभएको, योनिभित्र वीर्य नरहेको भन्‍नेसमेत उल्लेख भएको र विशेषज्ञको प्रतिवेदनबाट करणीको वारदात भएको कुरा नै स्थापित हुन सकेको छैन । प्रतिवादीले आफू अन्यत्र रहेको भनी गरेको बयान निजको साक्षीबाट समर्थित हुन आएको छ । जाहेरी दरखास्तबाट जाहेरवालीको बकपत्र आफैँमा प्रमाण होइन, उक्त बकपत्र अन्य सबुद प्रमाणबाट समर्थित हुनुपर्दछ भनी सर्वोच्च अदालतबाट सिद्धान्त प्रतिपादन भएको छ । जाहेरी अन्य सबुद प्रमाणबाट समर्थित हुन नआएको अवस्थामा जाहेरीको भरमा मात्र अभियुक्तलाई कसुरदार ठहर्‍याउन न्यायोचित नहुने हुँदा अभियोग दाबी नपुग्ने ठहर्छ । अभियुक्तले अभियोगबाट सफाइ पाउने ठहर्छ भन्‍ने बाँके जिल्ला अदालतको मिति २०६५।९।२९ को फैसला ।

निज प्रतिवादीले सुर्खेतबाट आउने क्रममै पीडितलाई म राम्रोसँग नेपालगञ्‍ज पुर्‍याई दिन्छु भनी पीडितको आफन्तलाई विश्‍वास दिलाई सँगसँगै एउटै बसमा आउँदा निज प्रतिवादीले योजना बनाई नेपालगञ्‍ज आएपछि खाना खाएर जाउली भनी पीडित ट्वाइलेट गएको अवस्थामा पीडितको झोलासमेत होटलको कोठामा लगी राखेको र निज पीडित उक्त झोला लिन कोठामा आउने बित्तिकै ढोकाको चुकुल लगाई जबरजस्ती करणी गरी सकेपश्‍चात् निज तल ब्रस गरेर आउँछु भनी कोठाबाट बाहिर निस्केर भागेकाले निजलाई कारबाही गरिपाउँ भनी मौकामै किटानी जाहेरी दिएकी । सो कुरालाई समर्थित गर्दै बकपत्र गरेको अवस्था, स्वास्थ्य जाँच प्रतिवेदनले जबरजस्ती करणी भएको कुरालाई पुष्टि गरिरहेको अवस्थामा त्यसतर्फ समेत कुनै दृष्टि नदिई भएको फैसलाको न्यायिक मनको अभाव रही त्रुटिपूर्ण देखिँदा सो फैसला बदर गरी सुरू अभियोग माग दाबीबमोजिम सजाय गरिपाउँ भन्‍ने बेहोराको वादी नेपाल सरकारको पुनरावेदन अदालत, नेपालगञ्‍जमा दायर पुनरावेदन पत्र ।

घटनाको तत्कालपछि परेको जाहेरीमा प्रतिवादीउपर पीडितले किटानी पोल गरेको, प्रतिवादीले जबरजस्ती करणी गरेका हुन् भनी पीडितले अदालतमा बकपत्र गरेको, जाहेरीवालीले आफूउपर पोल गर्नुपर्ने युक्तिसँग कारण खुलाउन नसकेको अवस्थामा प्रतिवादीलाई आरोपित कसुरबाट सफाइ दिने गरेको सुरू बाँके जिल्ला अदालतको मिति २०६५।९।२९ को फैसला फरक पर्न सक्ने हुँदा अ.बं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम प्रत्यर्थी झिकाई नियमानुसार पेस गर्नु भन्‍ने पुनरावेदन अदालत, नेपालगञ्‍जको मिति २०६६।१०।१७ को आदेश ।

यसमा अनुसन्धानमा बुझिएका बसपार्क रोड स्थित हाम्रो गाउँले होटलका मालिक जीवनाथ पौडेललाई बुझ्नु पर्ने हुँदा पुनरावेदन सरकारी वकिल कार्यालय, नेपालगञ्‍जमार्फत झिकाई बकपत्रको लागि नियमानुसार पेस गर्नु भन्‍ने पुनरावेदन अदालत, नेपालगञ्‍जको मिति २०६७।४।३१ को आदेशानुसार पत्राचार गरिएकोमा हाल निज जिल्लाबाहिर गएकाले उपस्थित गराउन नसकिएको भन्‍ने बेहोराको पुनरावेदन सरकारी वकिल कार्यालयको मिति  २०६७/५/२७ को जानकारी पत्र मिसिल सामेल रहेको ।

जाहेरीवालीको किटानी बकपत्रसमेतका मिसिल प्रमाणबाट निज प्रतिवादी होमराज थापाले जाहेरी तथा अभियोग दाबीबमोजिम पीडित ...................लाई जबरजस्ती करणीको कसुर अपराध गरेको पुष्टि भई निज प्रतिवादीले मुलुकी ऐन, जबरजस्ती करणीको महलको १ नं. को कसुर अपराध गरेको ठहर्छ, सो ठहर्नाले निज प्रतिवादीलाई जबरजस्ती करणीको ३(४) नं. बमोजिम ५ वर्ष कैद हुने र ऐ. को १० नं. बमोजिम पीडित जाहेरवालीलाई प्रतिवादीबाट रू.१०,०००।- क्षतिपूर्तिसमेत भरी पाउने ठहर गरी प्रतिवादीले अभियोग दाबीबाट सफाइ पाउने ठहर गरेको सुरू बाँके जिल्ला अदालतको मिति २०६५।९।२९ को फैसला मिलेको नदेखिँदा उल्टी हुने भन्‍ने बेहोराको मिति २०६७।७।२९ को पुनरावेदन अदालत, नेपालगञ्‍जको फैसला ।

पुनरावेदन अदालत नेपालगञ्‍जको फैसलामा चित्त बुझेन । घटनास्थल मुचुल्कामा अपराधसँग सम्बन्धित प्रमाणमा लाग्ने कुनै वस्तु वीर्य, रगत जस्ता जबरजस्ती करणी हुँदा देखिनुपर्ने प्रमाणहरू फेला परेको अवस्था छैन । सो कागज पीडितको रोहबरमा भएको पनि छैन । निज पीडित भनिएकी ...................को तत्कालै स्वास्थ्य परीक्षण भएको र प्रयोगशाला रिपोर्टमा “Sperm cells not seen” समेत भनी उल्लेख भएको तथ्यबाट पनि जबरजस्ती करणी नभएको स्पष्ट छ । मिति २०६३।१०।८ को मेडिकल बोर्डको रिर्पोटसमेतलाई प्रमाणमा नलिई आफैँ मनोगत अर्थ लगाई जाहेरी दिएपछि घटना घटेकै हो भनी अपराधसँग सम्बन्धित प्रमाण नभेटिए पनि अनुमानको आधारमा भएको फैसला त्रुटिपूर्ण छ । उक्त होटलवालाले म पुनरावदेक होमराज थापा भन्ने व्यक्ति नै आएको भनी कागज नगरिदिएको र होटलमा बसेको कुनै प्रमाण पेस गरेको अवस्था पनि छैन । घटना घटेको कुनै प्रत्यक्ष र वस्तुनिष्ठ प्रमाण नहुनुका साथै दिनको बिहानै भएको भनिएको घटनामा अन्य व्यक्तिलाई कुनै जानकारी नहुनुबाट पनि घटना घटेको अवस्था नै छैन । पीडितले घटनाको बारेमा जाहेरी दरखास्तमा र अदालतसमक्ष बकपत्र गर्दा फरक बेहोरा लेखाई दिएकोतर्फ कुनै ध्यान दिइएको छैन । पीडितको योनिको Swab बाट कुनै पुरूष वीर्य नपाइनु, कोठामा रगत, वीर्यजस्ता प्रमाण नदेखिनु नभेटिनु, पीडितलाई १२ घण्टाभित्रै शारीरिक परीक्षण गर्दा जबरजस्ती करणी भएको भन्ने कुनै प्रमाण फेला नपरेको अवस्थामा मनोगत व्याख्या गरी भएको फैसला त्रुटिपूर्ण छ । करणी गरेको भनिएकी पीडितको भनाइबाहेक अन्य वस्तुनिष्ट प्रमाणबाट करणी भएको देखिएको छैन । शंकाको भरमा मात्र कुनै पनि व्यक्तिलाई सजाय ठहर गर्न मिल्ने होइन । उल्लिखित घटनामा मेरो संलग्नता भएको भनी कहीँकतै स्वीकार गरेको छैन । प्रत्यक्षदर्शी कोही छैन । मेरो साक्षीले म उक्त कथित घटना र समयको अवस्थामा सुर्खेतमा रहेको अवस्थाको बकपत्र गरी पुष्टि गरेको अवस्थामा सो प्रमाणलाई नजरअन्दाज गरी वस्तुनिष्ट प्रमाणको ख्यालै नगरी भएको पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी बाँके जिल्ला अदालतको फैसला सदर कायम गरिपाउँ भन्ने पुनरावेदक प्रतिवादी होमराज थापाको पुनरावेदन अदालत, नेपालगञ्‍जमार्फत यस अदालतमा दायर पुनरावेदन पत्र । 

नियमबमोजिम पेसी सूचीमा चढी निर्णयार्थ इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा मिसिल कागजात अध्ययन गरी पुनरावेदक प्रतिवादीका तर्फबाट उपस्थित विद्वान्‌ अधिवक्ता श्री लवकुमार मैनालीले जाहेरवालाले जाहेरी दिएपछि अदालतमा समेत आई बकपत्र गरिदिए पनि अन्य मौकाका व्यक्तिले अदालतमा आई बकपत्र गरिदिएको र मेडिकल रिपोर्ट तथा अन्य प्रमाणले यी जाहेरवालालाई जबरजस्ती करणी भएको भन्ने जाहेरीको बेहोरालाई समर्थन गरेको छैन । घटनास्थल प्रकृति मुचुल्कामा पनि करणीको शारीरिक अवस्थाबारे केही खुलाइएको छैन । होटलको जीवनाथ पौडेलले घटना विवरण कागज गरिदिए पनि अदालतमा आई बकपत्र गरिदिएका छैनन् । होटलमा बस्ने अन्य कोही कसैले बकपत्र गरिदिएको पनि 

छैन । जाहेरी र जाहेरवालाले अदालतसमक्ष गरिदिएको बकपत्र बेहोरामा नै फरक छ । धम्की दिएको र हार गुहार मागेको कोही नभएको कुरा उल्लेख गरेको बेहोरा होटलवालाले दिएको बयानसँग समेत मिलेको छैन । जबरजस्ती करणी भएको भन्ने अन्य कुनै प्रमाणले पुष्टि नगरी रहेको अवस्थामा जाहेरवालाको बयान बकपत्रलाई मात्र आधार मानी कसुरदार ठहर गरिएको प्रतिपादित न्यायिक सिद्धान्तसमेत विपरीत हुँदा पुनरावेदन अदालत नेपालगञ्‍जबाट भएको फैसला उल्टी गरी मेरो पक्षले सफाइ पाउनुपर्छ भनी गर्नु भएको बहससमेत सुनियो ।

यसमा प्रतिवादी होमराज थापाले पीडित ...................लाई नेपालगञ्‍ज स्थित हाम्रो गाउँले होटलमा ल्याई जबरजस्ती करणी गरी फरार रहेकाले निजलाई जबरजस्ती करणीको महलको ३ को देहाय ४ र १० नं. बमोजिम सजाय मागदाबी गरेकोमा सुरू बाँके जिल्ला अदालतबाट निजलाई अभियोग दाबीबाट सफाइ दिने गरी भएको फैसलाउपर वादी नेपाल सरकारको पुनरावेदन अदालत नेपालगञ्‍जमा पुनरावेदन दायर भई उक्त फैसला मिलेको नदेखिँदा उल्टी गरी निज प्रतिवादीलाई जबरजस्ती करणीको ३(४) नं. बमोजिम ५ वर्ष कैद हुने र ऐ. को १० नं. बमोजिम पीडित जाहेरवालीले प्रतिवादीबाट रू.१०,०००।- क्षतिपूर्तिसमेत भरी पाउने ठहर भई भएको फैसलामा चित्त नबुझी प्रतिवादीको यस अदालतमा पुनरावेदन पत्र दायर हुन आएको रहेछ । तत्सम्बन्धमा पुनरावेदन अदालत, नेपालगञ्‍जको फैसला मिलेको छ, छैन ? पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्ने नपुग्ने के हो ? सोही सम्बन्धमा निर्णय दिनुपर्ने देखियो ।

२. निर्णयतर्फ विचार गर्दा, यसमा जाहेरवाला पीडित ...................ले मिति २०६३।१०।६ गते आफूलाई प्रतिवादी होमराज थापाले होटलमा खाना खाने निहुँमा लगी जबरजस्ती करणी गरेकाले कारबाही गरिपाउँ भनी दिएको जाहेरी दरखास्तका आधारमा प्रस्तुत मुद्दाको उठान भएको रहेछ । निज होमराज थापाउपर जबरजस्ती करणीमा कारबाहीको लागि पीडित ................... ले किटानी जाहेरी दिएकी र सोही जाहेरी बेहोरालाई समर्थन हुने गरी क्रमबद्ध घटना विवरणसहित सुरू अदालतमा आई बकपत्रसमेत गरिदिएको पाइन्छ ।

३. निज प्रतिवादी होमराज थापाले आफ्नो होटलमा कोठा लिई साथमा पीडित ................... समेत रहेको घटना विवरण खुलाई होटल सञ्चालक जीवनाथ पौडेलले मिति २०६३।१०।६ गते अनुसन्धानको क्रममा गरिदिएको कागजले समेत पुष्टि गरेको छ ।

४. प्रतिवादीका साक्षी विमला थापाले निज घटना घटेको दिन सुर्खेत बसपार्कमा नै रहेको र नेपालगञ्‍ज नगएको बेहोरा खुलाई बकपत्र गरिदिएको भएपनि निज पीडित ...................सँग निजको पूर्वचिनजान रहेको बेहोरा निजको बयान बेहोराबाट देखिन्छ । चिनजान भएको नाताले सँगसाथ लागी गएको भन्ने बेहोरा र घटनास्थल मुचुल्का तथा मौकामा कागज गरिदिने व्यक्तिहरूको बेहोराबाट प्रतिवादी होमराज थापाले उक्त होटलमा लगी नराखेको र कोठा लिई नबसेको भन्ने भनाई विश्‍वसनीय देखिएन वारदात भएको दिन पीडित बसपार्कमा आई टिकट काटी नेपालगञ्‍ज गएको भन्ने पुनरावेदककै बयान बेहोराले पनि घटनाक्रमलाई पुष्टि गरिरहेको देखिन्छ । घटनाको लगत्तै घटनाबारे उजुरी गरेको अवस्था र परिस्थितिमा अमुक ठाउँमा उजुरी नगरिएको भन्ने आधारमा मात्र उजुरीको गाम्भीर्य कम हुन सक्ने होइन ।

५. पीडितको उमेर १६ वर्ष मात्र रहेको 

छ । कुनै १६ वर्षको केटीले विनाकारण आफूमाथि जबरजस्ती करणी गरेको भनी किटानी जाहेरी दिने र अदालतमा आई बकपत्रसमेत गरिदिएको कुरालाई सामान्य झोसपोल मात्र हो भन्नु न्यायोचित हुँदैन । जाहेरवालाको उजुरीबमोजिम अनुसन्धानको क्रममा निज पीडित ................... को स्वास्थ्य परीक्षण हुँदा योनि झिल्ली जाँच गर्दा करणीको स्पष्ट संकेतबारे उल्लेख नगरेको भए तापनि पर्याप्त रक्तस्राव भएको र करणी भएको वा नभएको यकिन साथ भन्न नसकिने भनी योनि झिल्ली नरहेको र रक्तस्राव भएको भन्ने पुष्टि भइरहेको अवस्थामा करणीबाट रहेको वीर्य रगतसँगै बगेर जान सक्ने भई वीर्य फेला नपर्न सक्ने हुँदा वीर्य फेला नपरेको कारणलाई मात्र आधार बनाई जबरजस्ती करणी जस्तो गम्भीर प्रकृतिको अपराधबाट अभियुक्तलाई सफाइ दिनु न्यायोचित हुने देखिँदैन । 

६. जबरजस्ती करणी मुद्दामा सामान्यतया प्रत्यक्षदर्शी साक्षीको उपस्थिति हुँदैन । पीडित नै घटनाको आधारभूत गवाह हो । निजले अनुसन्धान अधिकारी तथा अदालतसमक्ष व्यक्त गरेको कुरालाई प्रमाण ऐन, २०३१ को दफा १० (क)(ख) बमोजिम प्रत्यक्ष र निर्णायक प्रमाणको रूपमा लिनुपर्ने हुन्छ । पीडितले घटनाक्रमका बारेमा दिएको जाहेरी दरखास्त अदालतमा आई गरिदिएको बकपत्र, घटना विवरण कागजमा खुलाइएको बेहोराबीच खासै विरोधाभास रहेको पनि देखिँदैन ।

७. कानूनी रूपमा हेर्दा पनि जबरजस्ती करणी हुनको लागि पुरूष वीर्य योनिमा स्खलन भई योनिको वरिपरि वीर्य वा सोको दाग लागेकै हुनुपर्ने अनिवार्यतासमेत रहेको देखिँदैन । यस सम्बन्धमा अर्जुनबहादुर पाण्डे विरूद्ध नेपाल सरकार भएको जबरजस्ती करणी (ने.का.प. २०६५, अंक १, निर्णय नं. ७९२३) मुद्दामा समेत सिद्धान्त प्रतिपादन भइरहेको देखिन्छ । प्रस्तुत मुद्दामा पीडितले प्रतिवादी होमराज थापालाई नै छानेर अभियोग लगाउनु पर्ने आधार र कारण पनि देखिँदैन । प्रतिवादीको सम्बन्धमा निजले व्यक्त गरेको कुराबाट प्रतिवादीउपर कुनै दुराग्रह व्यक्त गरेको पनि देखिन्न । यसरी सहज र स्वभाविक रूपले प्रतिवादीले निजउपर गरेको काम र व्यवहारको सम्बन्धमा व्यक्त गरेको भनाइलाई अविश्वसनीय मान्नुपर्ने कारण देखिन आएको छैन । चक्‍कु देखाई डर त्रासमा बलात्कार गर्दा आवाज आई कराएकै हुनुपर्छ भन्‍न मिलेन ।

८. पीडितले दिएको किटानी जाहेरी बेहोरालाई समर्थन गरी अदालतमा गरिदिएको बकपत्र घटना विवरण कागज, अनुसन्धानका क्रममा बुझिएका मानिसहरूले लेखाई दिएको बेहोराबाट प्रत्यक्षदर्शी नभएपनि जबरजस्ती करणीको वारदात घटेको भन्ने कुरा स्पष्ट रूपमा स्थापित भइरहेको देखियो ।

९. मौकामा पीडितले व्यक्त गरेको र अदालतमा बकपत्रमा देखिएको सामान्य फरकलाई प्रधानता दिई कसुरजन्य अवस्था र परिस्थितिको मूल्याङ्कन नगरी वारदात नै स्थापित नभएको ठहराई कसुर अपराधबाट छुट हुने गरी सफाइ दिनु त्रुटिपूर्ण हुन जाने हुन्छ ।

१०. पीडितको उमेर, अवस्था र परिस्थितिको कारणले परीक्षण प्रतिवेदनमा जबरजस्ती करणी भएको भन्ने कसुर देखिने प्रमाण भेटिएन भनेकै आधारमा मात्र सजायबाट छुट हुने आधार बन्नु हुँदैन । पीडितको उमेर १६ वर्ष मात्र रहेको अवस्था देखिएको छ । करणीअघि वा पछि रजस्वलाका कारण करणीको संकेत देखिने प्रमाण नष्ट हुने सम्भावनालाई पनि अन्यथा मान्न सकिँदैन । अनुसन्धानको क्रममा निज पीडित ................... को स्वास्थ्य परीक्षण हुँदा योनि झिल्ली जाँच गर्दा नरहेको देखिएको र पर्याप्त रक्तस्राव भएको र करणी भएको वा नभएको यकिनसाथ भन्न नसकिने भनी मिसिलसाथ रहेको भेरी अञ्चल अस्पतालको प्रतिवेदनबाट पनि निज पीडित युवतीको योनि झिल्ली नरहेको र पर्याप्त रगत लागेको प्रमाणित भई पर्याप्त रक्तस्राव भएको अवस्थामा वीर्य रगतसँगै बगेर जान सक्ने भई वीर्य फेला नपर्न पनि सक्ने अवस्था हुने हुँदा र वीर्य फेला नपरे जबरजस्ती करणी गरेको नहुने कुरा जबरजस्ती करणीको महलको १ नं. ले परिकल्पना नगरेको कानूनी अवस्था भई पीडित ................... ले अदालतमा आई गरेको किटानी बकपत्रसमेतका मिसिल संलग्न प्रमाणबाट निज प्रतिवादी होमराज थापाले जाहेरी तथा अभियोग दाबीबमोजिम पीडित सुनिता के.सी. लाई जबरजस्ती करणीको कसुर अपराध गरेको पुष्टि भई निजलाई सजाय गरेको पुनरावेदन अदालतको फैसला मिलेकै देखिँदा अन्यथा गर्नपर्ने देखिएन ।

११. तसर्थ, अभियोग दाबीबाट सफाइ पाउने ठहर गरी सुरू बाँके जिल्ला अदालतको मिति २०६५।९।२९ को फैसला मिलेको नदेखिँदा उल्टी गरी निज प्रतिवादी होमराज थापाले जाहेरी तथा अभियोग दाबीबमोजिम पीडित ................... लाई जबरजस्ती करणीको कसुर अपराध गरेको पुष्टि भई निजलाई मुलुकी ऐन, जबरजस्ती करणीको महलको १ नं. को कसुर अपराध गरेको ठहर्‍याई सोही महलको ३(४) नं. बमोजिम ५ वर्ष कैद हुने र ऐजनको १० नं. बमोजिम पीडित जाहेरवालीलाई प्रतिवादीबाट रू.१०,०००।- क्षतिपूर्तिसमेत भरी पाउने ठहर गरी पुनरावेदन अदालत, नेपालगञ्‍जबाट मिति २०६७।७।२९ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । बलात्कार जस्तो गम्भीर र संवेदनशील मुद्दामा गोपनियताको सम्‍मान र संरक्षण गर्नुपर्ने भनी २०६३ को रिट नं. ३५६१ (ने.का.प. २०६४, नि.नं. ७८८०, भाग ४९, अंक ९) मा सिद्धान्तसमेत प्रतिपादन भई निर्देशिकासमेत जारी भई गोपनियता उल्लङ्घन भएमा विभागीय कारबाही र अवहेलनामा मुद्दा चलाउने व्यवस्थासमेत रहेकोमा प्रस्तुत मुद्दामा सोतर्फ ध्यान नदिई लापरवाही गरी मुद्दा दायर भएको देखिँदा आइन्दा यस्तो गल्ती नगर्नु भनी प्रस्तुत मुद्दासँग सम्बन्धित  अनुसन्धानकर्तालाई ध्यानाकर्षण गराउनू । पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाई दिनू ।

 

उक्त रायमा सहमत छु ।

न्या. सारदाप्रसाद घिमिरे

 

इजलास अधिकृतः नगेन्द्रकेशरी पोखरेल

इति संवत् २०७३ साल चैत्र १६ गते रोज ४ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु