निर्णय नं. १०१२१ - आवेशप्रेरित हत्या कर्तव्य ज्यान
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री हरिकृष्ण कार्की
माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान
फैसला मिति : २०७४।९।४
०७२-CR-०८८७
मुद्दाः आवेशप्रेरित हत्या कर्तव्य ज्यान
पुनरावेदक / वादी : पूर्णबहादुर खत्रीको जाहेरीले नेपाल सरकार
विरूद्ध
प्रत्यर्थी / प्रतिवादी : दाङ जिल्ला, सैघा गा.वि.स. वडा नं.६ बस्ने दिपक खत्री
फौजदारी अपराध हुनको लागि आपराधिक कार्य (Actus reus) र आपराधिक मनसाय (Mens rea) हुनै पर्दछ । आपराधिक कार्यमा आपराधिक मनसाय (Mens rea) को कुन प्रकृतिको विद्यमानता रहेको छ भन्ने कुरा सजाय निर्धारणमा महत्त्वपूर्ण हुन्छ । मानसिक तत्त्वको स्वरूपको आधारमा नै अपराधको गाम्भीर्य मापन गरी दायित्व बहन गराउने गरिन्छ । अनिच्छित तथा अन्जानमा भएको कामको लागि गम्भीर कसुर मानी दण्डित गरिनु न्याय र कानूनका मान्य सिद्धान्तको विपरीत हुने । मानसिक शक्तिको प्रयोग गरेर गरेको कामको लागि कर्ता जिम्मेवार हुन्छ तर अन्जानमा वा अनिच्छित रूपमा गरिएको कामको लागि कर्तालाई कम जिम्मेवार तुल्याउने कानूनी व्यवस्था मुलुकी ऐनको ज्यानसम्बन्धी महलको ५ र ६ नं. मा रहेको छ । कर्ताको नियन्त्रणभन्दा बाहिरको परिस्थितिमा आकस्मिक रूपमा घटना घट्न गएको अवस्थामा भवितव्य हुने ।
(प्रकरण नं.२)
आवेशप्रेरित हत्यामा तत्कालै उठेको रिसको कारण मौकामा प्रहार गरी हत्या गरेको हुँदा त्यसमा मनसाय तत्त्वको अभाव रहन्छ । आवेशमा उत्तेजित अवस्था कुन हदसम्म थियो भनी गणितीय हिसाबले यकिन गर्न नसकिने भए पनि प्रतिवादी र मृतकबीचको सम्बन्ध र व्यवहार, मानवीय संवेदनशीलता, कुनै खास घटना वा परिस्थिति जस्ता कुरालाई आँकलन गर्न सकिन्छ । आवेशको उत्तेजना मृतकको क्रियाकलापबाट अचानक उत्पन्न भई त्यसको प्रभावले अभियुक्तले क्षणिकरूपमा आत्मनियन्त्रण गुमाएको अवस्था हुनुपर्ने ।
आवेशप्रेरित हत्यामा पीडितको कुनै कार्यबाट प्रतिवादी उत्तेजित भई आवेशमा आई आत्मनियन्त्रण गुमाई पीडितको कार्यको प्रतिक्रियाको रूपमा तत्कालीन अवस्थामा नै पीडितउपर हमला गरेको र सोही कारणबाट पीडितको मृत्यु भएको हुन्छ । यस्तो अवस्थामा प्रतिवादीले आंशिक प्रतिरक्षाको जिकिर लिन र प्रमाणित भएमा सो सुविधा प्राप्त हुन सक्ने ।
(प्रकरण नं.३)
भवितव्यलाई आकस्मिक घटना वा दुर्घटनाको रूपमा लिइन्छ । यसलाई दुर्घटनाको रूपमा लिइने हुँदा भवितव्य हुनलाई घट्न पुगेको घटना घटाउनेसम्मको कुनै कारण तथा रिसइवी नभएको देखिनु पर्ने, आफूले गरेको कामबाट कुनै दुष्परिणाम आउन सक्ने अवस्था तथा सम्भावना नरहेको देखिनु पर्ने, त्यस्तो दुष्परिणामको इच्छा तथा पूर्वज्ञानसमेत नभएको हुनुपर्ने साथै वैध काम वैध साधनको प्रयोग गरी पर्याप्त सावधानी अपनाई गरेको पनि पुष्टि हुनुपर्दछ । भवितव्य हत्यामा प्रतिवादीले मानिसउपर ताकेर प्रहार गरेको नभई सावधानीपूर्वक कुनै कार्य गर्दा दुर्भाग्यवश वा भवितव्यवश मानिसलाई लाग्न गई सो कारणबाट मानिसको मृत्यु भएको
हुन्छ । त्यस्तो अवस्थामा ज्यानसम्बन्धीको महलको ५ नं. आकर्षित हुने र प्रतिवादीले सोअन्तर्गतको सुविधा प्राप्त गर्न सक्ने ।
(प्रकरण नं.४)
पुनरावेदक / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री नारायण ढकाल
प्रत्यर्थी / प्रतिवादीका तर्फबाट :
अवलम्बित नजिर :
ने.का.प.२०४१, अंक ९, नि.नं.२११४
सम्बद्ध कानून :
प्रमाण ऐन, २०३१
सुरू तहमा फैसला गर्ने:-
माननीय न्यायाधीश श्री विश्वमङ्गल आत्रेय
दाङ देउखुरी जिल्ला अदालत
पुनरावेदन तहमा फैसला गर्नेः
माननीय न्यायाधीश श्री रत्नबहादुर बागचन्द
मा. न्यायाधीश श्री अनिता मानन्धर जोशी
पुनरावेदन अदालत तुलसीपुर
फैसला
न्या. हरिकृष्ण कार्की : तत्कालीन न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा (१) को खण्ड (क) र (ख) बमोजिम पुनरावेदन अदालत तुलसीपुरको मिति २०७१/०८/०८ को फैसलाउपर वादी नेपाल सरकारको तर्फबाट पर्न आएको निवेदनमा मुद्दा दोहोर्याउने अनुमति प्राप्त भई पुनरावेदनको रोहमा दर्ता भई पेस हुन आएको प्रस्तुत मुद्दाको तथ्य र ठहर यसप्रकार रहेको छः-
जिल्ला दाङ सैघा गा.वि.स. वडा नं. ६ स्थित वल्दी भन्ने स्थानमा पूर्व श्री सिद्धार्थ प्रा.वि.बल्दी स्कुल, पश्चिम श्रीधर खत्रीको बारी, उत्तर जोखबहादुर रागुमगरको बारी, दक्षिण श्री सिद्धार्थ प्रा.वि. वल्दी स्कुलको अफिस कोठा यति ४ किल्लाभित्र रहेको मृतक श्रीधर खत्रीको लासको अनुहार, टाउको, मेरूदण्डको भाग, दायाँ बायाँ हातको हत्केला, बायाँ खुट्टालगायतमा घाउ चोट कोतरिएको निलडाम देखिएको, पछाडिपट्टि तालुमा गम्भीर चोट देखिएको, बायाँ खुट्टाको पञ्जामा पोलिएको जस्तो चोट र छाला खोल्सिएको, दायाँ आँखा फुटेको, दुवै कानबाट रगत बगेको, बायाँ आँखामाथि काटिएको अं.२ इन्च टाउकोको तालुमा अं.३ इन्चजतिको गहिरो घाउ र टाउकोको भागमा अं.२ इन्चको गोलाकार घाउचोट देखिएको, छातीको भागमा ४/५ ठाउँमा निलडाम देखिएको भन्ने घटनास्थल लास जाँच प्रकृति
मुचुल्का ।
म जाहेरवालाको भाइ श्रीधर खत्रीले अत्यधिक मात्रामा मादक पदार्थ सेवन गरी घरमा पटकपटक झगडा गरी श्रीमती र छोराहरूलाई कुटपिट गर्ने गर्दथे र मिति २०७०/७/१७ गतेको राति १०.०० बजेतिर निज श्रीधर खत्रीले मादक पदार्थ सेवन गरी घरमा आई जेठो छोरा दीपक खत्रीलाई काट्छु मार्छु भनेपछि बुबा र छोराबीच हात हालाहाल भई कुटपिट भएकोले अनुसन्धान गरी कानूनबमोजिम गरिपाउँ भन्ने बेहोराको पूर्णबहादुर खत्रीको जाहेरी दरखास्त ।
Skull fracture Ĉ generalized scalp hematoma, # Trachea- peritracheal Hematoma. Multiple Fracture ribs Ĉ hemothorax. Massive intracranial hemorrhage मृत्युको कारण Head injury (Craniocerebral injury) भन्ने उल्लेख रहेको शव परीक्षण प्रतिवेदन । बुबा श्रीधर खत्री पहिलेदेखि नै अत्यधिक मात्रामा मादक पदार्थ सेवन गर्ने घरमा आउने झगडा गर्ने आमा खमीसरा खत्रीलाई शारीरिक तथा मानसिक यातना कुटपिटसमेत दिने बानी थियो र मिति २०७०/७/१७ गतेको अं.१० बजे रातितिर बाबुले के कुन ठाउँबाट अत्यधिक मात्रामा मादक पदार्थ सेवन गरी आई घरमा आमा र भाइलाई गाली गरी आमालाई कुटपिट गर्न लागेका थिए र सोही अवस्थामा म गाउँबाट काम गरी घरमा जाँदा बुबा तिहारको समयमा यस्तो नगर्नुहोस् भनी सम्झाउँदा बुबाले हँसिया उठाई प्रहार गर्न खोज्दा मैले छेकी बाबुलाई धकेली दिएँ र बाबुले उठी झम्टन खोजेपछि मैले हात मुक्काले अनुहार टाउकोलगायतको भागमा कुटपिट गरी म सुत्न गएँ र मिति २०७०/७/१८ गते अं. ४.०० बजेको समयमा बाबु मृत अवस्थामा फेला परेका थिए । बाबुको मृत्यु मेरो कुटपिटबाट भएको हो भन्नेसमेत बेहोराको प्रतिवादी दीपक खत्रीले अनुसन्धान अधिकारीसमक्ष गरेको बयान कागज ।
मिति २०७०/७/१७ गतेको राति अं.१०.००बजेको समयमा श्रीधर खत्रीले के कुन ठाउँबाट मादक पदार्थ सेवन गरी घरमा आई झगडा गर्दा प्रतिवादी दीपक खत्रीले यस्तो नगर्नुहोस् बुबा भन्दा झगडा हुँदाको अवस्थामा दीपक खत्रीले धकलपकल तथा कुटपिट गर्दा श्रीधर खत्रीको मृत्यु भएको भन्ने सुनेको हुँ कानूनबमोजिम हुनुपर्दछ भन्ने मानबहादुर खत्री र बलबहादुर रावतको करिब एकै मिलानको घटना विवरण कागज ।
श्रीधर खत्रीले पहिलेदेखि मादकपदार्थ सेवन गरी घर परिवारमा झगडा गर्ने र मिति २०७०/७/१७ गतेको राति अं.१०.०० बजेतिर बुबा श्रीधर खत्रीले के कुन ठाउँबाट मादक पदार्थ सेवन गरी घरमा आई आमालाई कुटपिट गर्न लागेको र मलाई गाली गरी रहेको अवस्थामा दाजु दीपक खत्री गाउँबाट आउँदा बुबाले कुटपिट गर्न लागेको देखेपछि बुबा यस्तो नगर्नुहोस् भन्दा दाजुसँग पनि झगडा गर्नु भयो र दाजुले बुबालाई धकेली दिँदा नजिकै रहेको सिलौटामा टाउको ठोकियो र पछि दाजुले लात्तामुक्काले कुटपिट गर्नुभयो र यसरी कुटपिट गरेपछि उपचारको लागि कहिँकतै लगेको होइन भन्ने बसन्त खत्रीको कागज ।
मिति २०७०/७/१७ गते अं.१०.०० बजे राति श्रीधर खत्रीले मादक पदार्थ सेवन गरी घरमा आई झगडा हुँदा निजको छोरा दीपक खत्रीले यस्तो नगर बुबा भनी सम्झाउँदा बाबुले काट्छु मार्छु भनेपछि दीपक खत्रीले धकेली दिँदा नजिकै रहेको ढुङ्गाको सिलौटामा टाउको ठोक्किन पुगी चोट लागेको र हात मुक्काले समेत कुटपिट गरेको सुनेको हुँ भन्ने सरस्वती रावतको घटना विवरण कागज ।
मृतक श्रीमान् पहिलेदेखि नै अत्यधिक मात्रामा मादक पदार्थ सेवन गरी घरमा आई मलाई कुटपिट गरी शारीरिक तथा मानसिक यातना दिने बानी थियो र निजको कुटपिटबाट मेरो दाँतसमेत झारी दिएको थियो र मिति २०७०/७/१७ गते राति अं. १०.०० बजेतिर पनि गाउँबाट अत्यधिक मात्रामा मादकपदार्थ सेवन गरी घरमा मलाई कुटपिट गर्न लागेको थियो र सोही अवस्थामा छोरा दीपक खत्री गई यस्तो नगर्नुहोस् बुबा भनी सम्झाउँदाको अवस्थामा उल्टै नजिकै रहेको हँसिया उठाई प्रहार गर्न खोज्दा छोराले धकेली दिएको र जसले गर्दा ढुङ्गाको सिलौटामा ठोक्किन पुगी टाउकोमा चोट लाग्यो । श्रीमान् पुनः झम्टन लाग्दाको अवस्थामा हातमुक्काले अनुहार टाउकोलगायतको भागमा कुटपिट गरेको थियो र मिति २०७०/७/१८ गतेको अं.४.०० बजेको समयमा मृत अवस्थामा फेला परेको हो भन्ने बेहोराको खमीसरा खत्रीको घटना विवरण कागज ।
मृतकले श्रीमतीलाई कुटपिट गर्न लागेको अवस्थामा प्रतिवादी दीपक खत्रीले छुट्याउन खोज्दा मृतकले हँसिया उठाई प्रहार गर्न लागेकोमा कुटपिट भई प्रतिवादी दिपक खत्रीको कुटपिटको कारण श्रीधर खत्रीको मृत्यु भएको हो भनी मौकामा कागज गर्ने अधिकांश मानिसहरूले लेखाइदिएकोसमेतका आधार र प्रमाणहरूबाट प्रतिवादी दीपक खत्रीले आवेशमा आई आफ्नै बाबु श्रीधर खत्रीलाई कुटपिट गरी मारेको भन्ने देखिँदा प्र. दीपक खत्रीलाई मु.ऐन ज्यानसम्बन्धीको महलको १ र १४ नं. को कसुरमा सोही मलको ऐ.१४ नं. बमोजिम सजाय गरिपाउँ भन्नेसमेत बेहोराको अभियोगपत्र ।
मिति २०७०/७/१७ गते म गाउँबाट घरमा आउँदा बुबा भाइ र आमासँग झगडा गरेर गाई लिन जान्छु भनी वनतिर जानु भएको रहेछ । पछि साँझ ९ बजेतिर गाउँबाट घर आउँदा आमासँग झगडा गरेको देखेर यसो गर्न हुन्न भनी सम्झाउँदा उल्टै मलाई काट्छु भनी हँसियाले हान्न लाग्नु भयो अनि मैले बुबालाई हातले दुई पटक हानेको हुँ । मैले हानेपछि उहाँ सिलौटामा ठोक्किन जानु भएको हो । म त्यसपछि आफ्नो विस्तरामा सुत्न गएको हुँ । पछि बिहान बुबा मृत अवस्थामा हुनुहुन्थ्यो । बुबाको मृत्यु के कसरी भयो थाहा भएन भन्नेसमेत बेहोराको प्रतिवादी दीपक खत्रीले सुरू दाङ देउखुरी जिल्ला अदालतसमक्ष गरेको बयान ।
मृतक श्रीधर खत्री उक्त दिन नसा पानी सेवन गरी आएका रहेछन् । आफ्नो घरमा आई आफ्ना श्रीमती जहान परिवारलाई तथानाम गाली गलौज गर्न लागेपछि किन यसरी गाली गरेको भन्दा रक्सीले मातिएका भाइ श्रीधर लड्न गई टाउकोमा ढुंगा पर्न गई चोट लागी निजको मृत्यु हुन गएको हो । मृतक श्रीधर खत्रीलाई कसैले हानेर मारेको होइन भन्नेसमेत बेहोराको जाहेरवाला पूर्णबहादुर खत्रीले गरेको बकपत्र ।
मिति २०७०/७/१७ गते मृतक श्रीधर खत्री हामीसँग झगडा गर्दै थिए । त्यही समयमा प्रतिवादी दीपक खत्री मेरो छोरा आई झगडा नगर्नुस् भन्दा प्रतिवादी दीपक खत्रीलाई तँ तेरी आमासँग पोइला जा भनेपछि प्रतिवादी रिसाई हातले २/३ मुक्का मुखमा हानेका हुन् । निजले मार्ने उद्देश्यले हानेका होइनन् । मुक्का हान्दा मृतक श्रीधर खत्री सिलौटामा पर्न गएका हुन् । त्यसपछि हामी सबै सुत्न गएका हौँ । त्यस रात मैले राति उठी ३/४ पटक पानी खुवाएको हुँ । बिहान उठ्दा निजको मृत्यु भएको थियो । छोरा दीपक खत्रीले मृतक श्रीधर खत्रीलाई मार्छु भनी हानेको होइन भन्नेसमेत बेहोराको वादीका साक्षी खमिसरा खत्रीले गरेको बकपत्र ।
दुई पक्षबीच भएको भनाभन वा धकेलाधकेलबाट यी प्रतिवादीले सामान्य २/३ थप्पड मात्र हानेको भन्ने कुरा पुष्टि भएको अवस्थामा यी प्रतिवादीले आवेशमा आएर सो कार्य गरेको भन्ने स्थिति देखिएन । यी प्रतिवादीको मृतकको ज्यान लिने इविलाग, मनसाय रहे भएको नदेखिएको र निजले गरेको कर्तव्यबाट मानिस मर्ला जस्तो पनि नदेखिएकोले प्रस्तुत मुद्दामा वारदात ‘भवितव्य’ हो भनी भन्नु पर्ने भएकोले प्रतिवादी दीपक खत्रीलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको ५ नं. मा उल्लिखित कसुरमा ऐ.ऐ.को ६ को देहाय २ नं. बमोजिम १(एक) वर्ष कैदको सजाय हुने ठहर्छ भन्ने सुरू दाङ देउखुरी जिल्ला अदालतको मिति २०७०।११।६ को फैसला ।
प्रतिवादीलाई मृतक मर्नसक्ने अवस्थाको थाहा जानकारी हुँदाहुँदै आवेशमा आई कुटपिट वा पटकपटक चोट छोडी सोही चोटको कारणबाट मृतकको मृत्यु भएको भन्ने पुष्टि भइरहेकोमा प्रतिवादीलाई अभियोगबमोजिम सजाय नगरी न्यून सजाय गरेको सुरू दाङ देउखुरी जिल्ला अदालतको फैसला त्रुटिपूर्ण हुँदा उक्त फैसला बदर गरी प्रतिवादीलाई अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भन्नेसमेत बेहोराको वादी नेपाल सरकारको पुनरावेदनपत्र ।
सुरू अदालतबाट भवितब्यको वारदात ठहर्याइसकेपछि मुलुकी ऐन ज्यानसम्बन्धीको ६ नं. को देहाय २ नं. बमोजिम न्यूनतम सजाय गर्नु पर्नेमा नगरी १ वर्ष कैद गर्ने ठहर्याई भएको सुरू दाङ देउखुरी जिल्ला अदालतको उक्त फैसला प्रमाण ऐन, २०३१ को दफा १८, २५, २७ तथा दफा ५४ को प्रतिबन्धात्मक वाक्यांश र सम्मानित सर्वोच्च अदालतबाट स.अ.बुलेटिन २०६० पूर्णाङ्क २६३ पृष्ठ ११ मा प्रतिपादित नजिर सिद्धान्तसमेतको प्रतिकूल हुँदा बदर गरी घटनाको स्थितिसमेतलाई मध्यनजर गरी इन्साफ दिलाई पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी दिपक खत्रीको पुनरावेदनपत्र ।
मृतकको शव परीक्षण प्रतिवेदनबाट मृतकको टाउकोमा चोट देखिनुका साथै करङ (Ribs) समेत भाँचिएको भन्ने उल्लेख भएको परिप्रेक्ष्यमा सुरू दाङ देउखुरी जिल्ला अदालतको मिति २०७०/११/०६ को फैसला विचारणीय देखिँदा अ.बं. २०२ नं. को प्रयोजनार्थ दुवै पक्षलाई जानकारी दिई नियमानुसार पेस गर्नु भन्ने पुनरावेदन अदालत तुलसीपुरबाट भएको आदेश ।
प्रतिवादी दीपक खत्रीले मुलुकी ऐन ज्यानसम्बन्धी महलको ५ नं. मा उल्लिखित कसुरसम्म गरेको ठहर्याई सुरू दाङ देउखुरी जिल्ला अदालतबाट मिति २०७०/११/६/२ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक वादी नेपाल सरकार र प्रतिवादी दुवै पक्षको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने पुनरावेदन अदालत तुलसीपुरको मिति २०७१।८।८ को फैसला ।
प्रस्तुत मुद्दामा मलाई अत्यधिक रिस उठी थाम्न नसकी २, ३ पटक हातले हानेको हुँ भनी प्रतिवादीले मौका र अदालतमा गरेको बयान, प्रत्यक्षदर्शी खमिसरा खत्रीले मृतकलाई सम्झाउन लाग्दा उल्टै छोरालाई तँ आमासँग पोइला जा भनी भनेकाले छोराले मुखमा हिर्काएको भनी गरेको मौकाको कागज र अदालतको बकपत्रसमेतका कागज, प्रमाणबाट प्रतिवादीले उसै मौकामा एक्कासी उठेको रिस थाम्न नसकी आवेशमा आई मृतक बाबुउपर हात छाडेको र सोही चोटका कारण निजको मृत्यु भएको, शव परीक्षणमा मृतकको शरीरमा एकभन्दा बढी घाउचोट परेको देखिएको अवस्थामा प्रतिवादीलाई भवितव्यतर्फ कसुरदार ठहर्याएको सुरू अदालतको फैसला सदर गर्ने पुनरावेदन अदालत तुलसीपुरको फैसला प्रमाण मापन एवं विश्लेषणको रोहमा त्रुटिपूर्ण हुँदा दोहोर्याई हेर्ने अनुमति प्रदान गरी सो फैसला बदर गरी प्रतिवादीलाई अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भन्ने वादी नेपाल सरकारको निवेदनपत्र ।
यसमा प्रतिवादीले हातले २/३ पटक प्रहार गर्दा मृतक लड्न गई सिलौटामा टाउको ठोक्किएको थियो । सोही कारण मृतक पिताको मृत्यु भएको हो भनी गरेको मौका तथा अदालतसमक्षको बयान बेहोरामा देखिन्छ । प्रत्यक्षदर्शी खमिसरा खत्रीले बकपत्र गर्दा मृतकलाई प्रतिवादीले सम्झाउन लाग्दा मृतकले उल्टै दुर्वाच्य बोलेकोले प्रतिवादीले मृतकका मुखमा हिर्काएको हो भन्ने बेहोरा लेखाएको पाइन्छ । शव परीक्षण प्रतिवेदनमा मृतकको शरीरमा एकभन्दा बढी घाउचोट परेको देखिएको छ । यसरी मृतकलाई प्रतिवादीले प्रहार गर्दा सिलौटामा ठोकिएको कारणबाट मृत्यु भएको साथसाथै निजलाई अरू पनि धैरै चोटपटक लागेको भन्ने तथ्य प्रत्यक्षदर्शीको बकपत्र तथा शव परीक्षण प्रतिवेदनसमेतबाट देखिइरहेको अवस्थामा प्रतिवादीलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको ५ नं. बमोजिमको कसुर ठहर गरेको पुनरावेदन अदालत तुलसीपुरको फैसलामा मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १४ नं. तथा प्रमाण ऐन, २०३१ को दफा ३ र ५४ समेतको व्याख्यात्मक त्रुटि विद्यमान देखिँदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) बमोजिम प्रस्तुत मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान गरिएको छ भन्ने यस अदालतको मिति २०७२/०६/१४ को आदेश ।
प्रत्यर्थी प्रतिवादी दिपक खत्रीले यस अदालतबाट जारी भएको म्याद आफैँले बुझी लिएकोमा म्यादभित्र हाजिर हुन नआई गुजारी बसेको ।
नियमबमोजिम साप्ताहिक तथा दैनिक पेसी सूचीमा चढी निर्णयार्थ पेस हुन आएको प्रस्तुत मुद्दामा प्रत्यर्थी प्रतिवादीले यस अदालतबाट जारी भएको म्याद आफैँले बुझी लिएकोमा म्यादभित्र हाजिर हुन नआई गुजारी बसेको हुँदा पुनरावेदक वादी नेपाल सरकारका तर्फबाट उपस्थित विद्वान् उपन्यायाधिवक्ता श्री नारायण ढकालले मृतकले अत्यधिक मादक पदार्थ सेवन गरी आमा, भाइ र मसमेतलाई मार्छु, काट्छु, पहिले घरमा झगडा गरिरहने गरेको र वारदातको दिन मृतक बाबुलाई झगडा नगर्न भनी सम्झाउँदा बाबुले नजिकैको हँसिया उठाई प्रहार गर्न खोज्दा मैले हँसिया समाती धकेल्दिँदा नजिकै रहेको ढुङ्गाको सिलौटामा टाउको ठोक्किन पुगी चोट लागेको भनी प्रतिवादीले बयान गरेको, शव परीक्षण प्रतिवेदनमा विभिन्न चोट निलडाम देखिएको हुँदा अभियोग दाबीबमोजिम आवेशप्रेरितमा सजाय गर्नु पर्नेमा सुरूले भवितव्य ठहर्याई गरेको फैसला सदर गरेको पुनरावेदन अदालत तुलसीपुरको फैसला प्रमाण मापन एवं विश्लेषणको रोहमा त्रुटिपूर्ण हुँदा सो फैसला बदर गरी प्रतिवादीलाई अभियोग दाबीबमोजिम सजाय हुने गरी फैसला हुनुपर्दछ भनी बहस प्रस्तुत गर्नुभयो ।
उपर्युक्त तथ्य र बहस जिकिर भएको प्रस्तुत मुद्दामा सुरू, रेकर्ड र पुनरावेदनसहितको सक्कल मिसिल अध्ययन गरी हेर्दा, प्रस्तुत मुद्दामा प्रतिवादीको कुटपिटको कारण मृतकको मृत्यु भएको हो भन्ने लेखिदिएसमेतका आधार प्रमाणबाट प्रतिवादी आवेशमा आई आफ्नै बाबु श्रीधर खत्रीलाई कुटपिट गरी मारेको भन्ने देखिँदा मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ र १४ नं. को कसुरमा सोही मलहको ऐ १४ नं. बमोजिम सजाय गरिपाउँ भन्ने अभियोग माग दाबी रहेकोमा सुरू अदालतबाट प्रतिवादीलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको दफा ५नं. को कसुरमा ऐ. ६(२) नं. बमोजिम एक वर्ष कैद सजाय हुने ठहर्याएकोमा सोउपर वादी प्रतिवादी दुवैतर्फबाट पुनरावेदन गरेकोमा पुनरावेदन अदालत तुलसीपुरबाट सुरू फैसला सदर हुने ठहर्याई भएको फैसलाउपर वादी नेपाल सरकारको मुद्दा दोहोर्याई पाउँ भनी निवेदन परी अनुमति प्राप्त भई प्रस्तुत मुद्दा पेस हुन आएको देखियो ।
उल्लिखित तथ्य भएको प्रस्तुत मुद्दामा पुनरावेदन अदालत तुलसीपुरबाट मिति २०७१।८।८ मा भएको फैसला मिलेको छ वा छैन, यी पुनरावेदक वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्ने हो वा होइन ? भन्ने सम्बन्धमा निर्णय दिनु पर्ने देखिन आयो ।
२. सो सन्दर्भमा हेर्दा, यसमा निर्णयतर्फ विचार गर्दा, प्रस्तुत मुद्दाको वारदात आवेशप्रेरित हत्याको हो वा भवितव्य ज्यानको हो ? भन्ने प्रश्नको निरूपण गर्नु पर्ने देखिन्छ । मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १४ नं. मा "ज्यान मार्नाको मनसाय रहेनछ, ज्यान लिनुपर्नेसम्मको इवी पनि रहेनछ, लुकी चोरीकन हानेको पनि रहेनछ उसै मौकामा उठेको कुनै कुरामा रिस थाम्न नसकी जोखिमी हतियारले हानेको वा विष खुवाएकोमा बाहेक साधारण लाठा, ढुङ्गा, लात, मुक्का इत्यादि हान्दा सोही चोट पीरले ऐनका म्यादभित्र ज्यान मरेमा दश वर्ष कैद गर्नुपर्छ ।" भन्ने कानूनी व्यवस्था रहेको छ । त्यसै गरी मुलुकी ऐन ज्यानसम्बन्धी महलको ५ नं. मा “ज्यान लिने इविलाग वा मनसाय नभई कसैले आफूले गरेको कर्तव्यले मानिस मर्ला भन्ने जस्तो नदेखिएको कुनै कुरा गर्दा त्यसैद्वारा केही भई कुनै मानिस मर्न गएको भवितव्य ठहर्छ" भन्ने कानूनी व्यवस्था रहेको छ भने ऐ. ६(२) नं. मा "होस नपुर्याई वा हेलचक्र्याँई गरी कुनै काम गर्दा भवितव्य परेकोमा पाँच सय रूपैयाँसम्म जरिवाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुन्छ" भन्ने कानूनी व्यवस्था रहेको छ । फौजदारी अपराध हुनको लागि आपराधिक कार्य (Actus reus) र आपराधिक मनसाय (Mens rea) हुनै पर्दछ । आपराधिक कार्यमा आपराधिक मनसाय (Mens rea) को कुन प्रकृतिको विद्यमानता रहेको छ भन्ने कुरा सजाय निर्धारणमा महत्त्वपूर्ण हुन्छ । मानसिक तत्त्वको स्वरूपको आधारमा नै अपराधको गाम्भीर्य मापन गरी दायित्व बहन गराउने गरिन्छ । अनिच्छित तथा अन्जानमा भएको कामको लागि गम्भीर कसुर मानी दण्डित गरिनु न्याय र कानूनका मान्य सिद्धान्तको विपरीत हुन्छ । मानसिक शक्तिको प्रयोग गरेर गरेको कामको लागि कर्ता जिम्मेवार हुन्छ तर अन्जानमा वा अनिच्छित रूपमा गरिएको कामको लागि कर्तालाई कम जिम्मेवार तुल्याउने कानूनी व्यवस्था मुलुकी ऐनको ज्यानसम्बन्धी महलको ५ र ६ नं. मा रहेको छ । कर्ताको नियन्त्रणभन्दा बाहिरको परिस्थितिमा आकस्मिक रूपमा घटना घट्न गएको अवस्थामा भवितव्य हुने देखिन्छ । प्रस्तुत मुद्दामा प्रतिवादी दिपक खत्रीले आफ्ना बाबु श्रीधर खत्रीलाई मार्ने मनसाय, इबिलाग केही नरहेको र आफूले गरेको कार्यबाट आफूलाई जन्म दिने बाबुको मृत्यु होला भन्ने अवस्थाको पूर्वानुमान गरेको र निजले गरेको कार्यबाट मर्न सक्ने अवस्था रहेकोसमेत देखिँदैन । मेरो भाइ श्रीधर खत्रीले अत्यधिक रक्सी सेवन गरी श्रीमती तथा छोराहरूलाई कुटपिट गरी घरमा झैझगडा गर्ने गर्दथे । मिति २०७०/०७/१७ गते राति १०.०० बजेतिर मृतकले मादक पदार्थ सेवन गरी घरमा आई जेठो छोरासँग झगडा हुँदा बाबु छोराबीच सामान्य कुटपिट भएको र बिहान ४ बजेतिर निज भाइको मृत्यु भएको भन्ने कुरा घर परिवारबाट थाहा पाएको हुँ भन्ने मृतकका भाई पूर्णबहादुर खत्रीको जाहेरी दरखास्त रहेको छ । मृतकले मादक पदार्थ सेवन गरी आमा र भाइलाई गाली गरी आमालाई कुटपिट गर्न लागेको देखी यस्तो नगर्नु होस् भनी सम्झाउँदा बुबाले हँसिया उठाई प्रहार गर्न खोज्दा हातले २, ३ पटक हानी धकेली दिँदा नजिकै रहेको सिलौटामा ठोक्किएको र सोही कारणबाट मृतक पिताको मृत्यु भएको हो भनी मौका तथा अदालतसमक्ष बयान गरेको देखिन्छ । जाहेरवाला पूर्णबहादुर खत्रीले मृतक रक्सी सेवन गरेर लडी मरेको हो, कोही कसैले हानेर मारेका होइनन् भनी तथा मृतक रक्सी सेवन गरी सधैँ झगडा गर्नु हुन्थ्यो, मिति २०७०।७।१७ गते राति छोरा दिपकले सम्झाउन लाग्दा तँ आमासँग पोइला जा भनी भनेकाले हातले मुखमा हान्दा सिलौटामा लडेको र उठेर आफ्नै ओछ्यानमा सुतेकोमा बिहान उठेर हेर्दा मरेको अवस्थामा देखेको भनी अदालतमा बकपत्र गरेको देखिन्छ ।
३. आवेशप्रेरित हत्यामा तत्कालै उठेको रिसको कारण मौकामा प्रहार गरी हत्या गरेको हुँदा त्यसमा मनसाय तत्त्वको अभाव रहन्छ । आवेशमा उत्तेजित अवस्था कुन हदसम्म थियो भनी गणितीय हिसाबले यकिन गर्न नसकिने भए पनि प्रतिवादी र मृतकबीचको सम्बन्ध र व्यवहार, मानवीय संवेदनशीलता, कुनै खास घटना वा परिस्थितिजस्ता कुरालाई आँकलन गर्न सकिन्छ । आवेशको उत्तेजना मृतकको क्रियाकलापबाट अचानक उत्पन्न भई त्यसको प्रभावले अभियुक्तले क्षणिकरूपमा आत्मनियन्त्रण गुमाएको अवस्था हुनुपर्दछ । ज्यानसम्बन्धी महलको १४ नं. अनुसार मार्नुपर्नेसम्मको रिसइवी, मनसाय नभएको, जोखिमी हतियार प्रयोग नभएको, सामान्य मनस्थिति नभई मानसिक उद्वेगद्वारा अकस्मात उत्तेजित हुन आई रिसको झोँकमा आफूसँग भएका वा वरपर रहेका वस्तुले हान्दा मरेको हुनु अवस्थामा आवेशप्रेरित हत्या हुन सक्ने व्यवस्था गरेको देखिन्छ । आवेशप्रेरित हत्यामा पीडितको कुनै कार्यबाट प्रतिवादी उत्तेजित भई आवेशमा आई आत्मनियन्त्रण गुमाई पीडितको कार्यको प्रतिक्रियाको रूपमा तत्कालीन अवस्थामा नै पीडितउपर हमला गरेको र सोही कारणबाट पीडितको मृत्यु भएको हुन्छ । यस्तो अवस्थामा प्रतिवादीले आंशिक प्रतिरक्षाको जिकिर लिन र प्रमाणित भएमा सो सुविधा प्राप्त हुनसक्छ ।
४. भवितव्यलाई आकस्मिक घटना वा दुर्घटनाको रूपमा लिइन्छ । यसलाई दुर्घटनाको रूपमा लिइने हुँदा भवितव्य हुनलाई घट्न पुगेको घटना घटाउनेसम्मको कुनै कारण तथा रिसइवी नभएको देखिनु पर्ने, आफूले गरेको कामबाट कुनै दुष्परिणाम आउन सक्ने अवस्था तथा सम्भावना नरहेको देखिनु पर्ने, त्यस्तो दुष्परिणामको इच्छा तथा पूर्वज्ञानसमेत नभएको हुनुपर्ने साथै वैध काम वैध साधनको प्रयोग गरी पर्याप्त सावधानी अपनाई गरेको पनि पुष्टि हुनुपर्दछ । भवितव्य हत्यामा प्रतिवादीले मानिसउपर ताकेर प्रहार गरेको नभई सावधानीपूर्वक कुनै कार्य गर्दा दुर्भाग्यवश वा भवितव्यवश मानिसलाई लाग्न गई सो कारणबाट मानिसको मृत्यु भएको हुन्छ । त्यस्तो अवस्थामा ज्यानसम्बन्धीको महलको ५ नं. आकर्षित हुने र प्रतिवादीले सोअन्तर्गतको सुविधा प्राप्त गर्न सक्ने हुन्छ । भवितव्यलाई आकस्मिक घटना वा दुर्घटनाको रूपमा लिइन्छ । यसै सन्दर्भमा पुनरावेदक वादी तत्कालीन श्री ५ को सरकार, प्रत्यर्थी प्रतिवादी गोपालबहादुर विष्ट भएको (ने.का.प. २०४१ अंक ९ नि.नं.२११४) कर्तव्य ज्यान मुद्दामा यस अदालतको संयुक्त इजलासबाट मिति २०४१।८।१९ मा "एउटा कार्य गर्दा अर्को परिणाम हुन गई मृतकको मृत्यु हुन गएको अवस्थालाई भवितव्य कायम गरी गरेको मध्यमाञ्लच क्षेत्रीय अदालतको निर्णयलाई अन्यथा भन्न सकिने स्थिति नहुने ।" भनी सिद्धान्त प्रतिपादन भएको छ ।
५. प्रतिवादी दिपक खत्रीले गरेको कार्यबाट मृतक बुबाको मृत्यु होला भन्ने पूर्वानुमान गर्न सक्ने अवस्था रहेको पनि देखिँदैन । आफूलाई हँसियाले प्रहार गर्दा सामान्य रूपमा हातले हानी धकेली दिएको अवस्थामा मृतक बाबु अकस्मात ढुङ्गाको सिलौटामा लड्न गई लागेको चोटको कारण मृत्यु भएको अवस्था छ । मृतकको मृत्युको कारण Head Injury भन्ने शव परीक्षण प्रतिवेदन, मृतकले पहिलेदेखि नै मादक पदार्थ सेवन गरी श्रीमतीलाई कुटपिट गर्ने, घर परिवारमा अशान्ति मच्चाउने गरेकोमा मिति २०७०।७।१७ गते राति पनि गाउँबाट मादक पदार्थ सेवन गरी आई झगडा गर्न लाग्दा दिपक खत्रीले यस्तो नगर्नुहोस् भनी सम्झाउँदा उल्टै हात हालेपछि धकेल्दिँदा र कुटपिट हुँदा मृत्यु भएको हो भन्ने बलबहादुर रावत, मानबहादुर खत्री, बसन्त खत्री, खमीसरा खत्रीसमेतको घटना विवरण कागज, जाहेरवालाले प्रतिवादीले नै हानेको चोटको कारणले मृतकको मृत्यु भएको भनी किटानीसाथ उल्लेख गर्न नसकेको र अदालतको बकपत्रमा रक्सी सेवन गरेर आई लडेर मरेको भनी बकपत्र गरेको, मौकामा कागज गरिदिने मानिसहरूले पनि प्रतिवादीले नै बाबुलाई आवेशमा आई हानी मारेको भनी उल्लेख गर्न नसकेको, चश्मदिद साक्षीको रूपमा रहेकी मृतककी श्रीमती खमिसरा खत्रीले मृतक रक्सी खाएर आउनु भएको, प्रतिवादी छोराले सम्झाउन लाग्दा उल्टै छोरालाई आमासँग पोइल जा भनेको, छोराले हान्दा आफैँ सिलौटामा ठोक्किन गई मृत्यु भएको हो भनी अदालतमा बकपत्र गरेको देखिन्छ । यसरी मिसिल संलग्न प्रमाण कागजातबाट प्रतिवादी दिपक खत्रीले आवेशमा आई हानेको चोटको कारणबाट मृतक श्रीधर खत्रीको मृत्यु भएको भन्ने पुष्टि हुन सकेको देखिँदैन । प्रमाण ऐन, २०३१ को दफा २५ अनुसार दाबी प्रमाणित गर्ने भार वादी पक्षमा रहने
हुन्छ । प्रतिवादी दिपक खत्रीको चोटको कारण मृतक श्रीधर खत्रीको मृत्यु भएको नभई मृतकले अत्यधिक रक्सी खाएको अवस्था हुँदा बाबु छोराबीच धकेलाधकेल हुँदा लडेर ढुङ्गाको सिलौटामा ठोक्किएर टाउकोमा चोट लागेको कारणबाट मृतक श्रीधर खत्रीको मृत्यु भएको भन्ने जाहेरवाला पूर्णबहादुर खत्री र घटना विवरण कागज गर्ने खमिसरा खत्रीको बकपत्रबाट देखिएको र सो कुरालाई Autopsy Report बाट पनि पुष्टि हुन आएको देखिएको, कुनै हतियार प्रयोग भएको पनि नदेखिएको, मार्ने मनसायसमेत नरहेको अवस्थामा आकस्मिक रूपमा भएको कार्य मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १४ नं. मा परिभाषित कसुरभित्रको आवेशप्रेरित हत्याअन्तर्गतको नदेखिई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको ५ नं. मा परिभाषित कसुरभित्रको देखियो । यस अवस्थामा प्रतिवादीलाई अभियोग दाबीबमोजिम मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १४ नं. बमोजिम सजाय नगरी मुलुकी ऐन, ज्यानसम्बन्धी महलको ५ नं. को कसुरमा ऐ.६(२) नं. बमोजिम १ (एक) वर्ष कैद सजाय गर्ने गरी भएको सुरू फैसला सदर गर्ने गरी पुनरावेदन अदालत तुलसीपुरबाट भएको फैसलालाई अन्यथा मान्नु पर्ने देखिएन ।
६. तसर्थ माथि विवेचित आधार कारणसमेतबाट मृतक श्रीधर खत्रीको मृत्यु लडेर सिलौटामा ठोक्किएर भएको भन्ने जाहेरवाला तथा मौकाका मानिसहरूको बकपत्रबाट देखिएको र सो कुरालाई Autopsy Report बाट पनि पुष्टि हुन आएको देखिएको, कुनै हतियार प्रयोग भएको पनि नदेखिएको, मार्ने मनसायसमेत नरहेको अवस्थामा मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १४ नं. मा परिभाषित कसुरभित्रको आवेशप्रेरित हत्याअन्तर्गतको कसुरबाट भएको नदेखिई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको ५ नं. मा परिभाषित कसुरभित्रको भवितव्य ज्यानअन्तर्गतको कसुरबाट भएको देखिएकाले प्रतिवादी दिपक खत्रीलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको ५ नं. को कसुरमा ऐ.६(२) नं. बमोजिम १ (एक) वर्ष कैद सजाय गर्ने गरी सुरू दाङ देउखुरी जिल्ला अदालतबाट मिति २०७०।११।६ मा भएको फैसला सदर गर्ने गरी पुनरावेदन अदालत तुलसीपुरबाट मिति २०७१।८।८ मा भएको फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्तैन । फैसलाको जानकारी महान्यायाधिवक्ताको कार्यालयलाई दिई प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाई दिनू ।
उक्त रायमा सहमत छु ।
न्या. टंकबहादुर मोक्तान
इजलास अधिकृत : शिवलाल पाण्डेय
इति संवत् २०७४ साल पौष ४ गते रोज ३ शुभम् ।