शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १०१२४ - बगैंचा जग्गा मोही लगत कट्टा

भाग: ६० साल: २०७५ महिना: माघ अंक: १०

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री ईश्‍वरप्रसाद खतिवडा

माननीय न्यायाधीश श्री तेजबहादुर के.सी.

फैसला मिति : २०७४।१२।५

०६९-CI-००६३

 

मुद्दाः बगैंचा जग्गा मोही लगत कट्टा

 

पुनरावेदक / वादी : जिल्ला बारा, कलैया न.पा. वडा नं.५ बस्ने भवानी शंकर अग्रवालको मु.स. गर्ने शारदा देवी अग्रवाल

विरूद्ध

प्रत्यर्थी / प्रतिवादी : जिल्ला बारा, कलैया न.पा. वडा नं.३ बस्ने स्व. बागड मियाँ धुनियाको छोरा अब्दुल रब मन्सुर

    

भूमिसम्बन्धी ऐन, २०२१ को दफा २(ङ) मा घरबारीको परिभाषा गर्दा घरसँग जोडिएको वा फरक रहेको गोठ, भकारी, इनार, पोखरी, ग्यारेज, तबेला, फलफूलको बगैंचा, तरकारी बारीजस्ता चीजलाई घरबारीको दायराभित्र राखेको देखिन्छ । "फलफूलको बगैंचा" भन्ने शब्द अगाडि र पछाडि प्रयुक्त शब्द हेर्दा सो शब्दको अगाडि "तबेला" र पछि तरकारी बारी भन्ने शब्दको प्रयोग भएको देखियो । विधायिकाले परिभाषा गरेको "फलफूल बगैंचा" अन्तर्गत आफू बसोबास गरेको घरसँग जोडिएको घडेरीसरहको जग्गामा रहेको फलफूलको रूखहरूलाई बगैंचा भनी अर्थ गरेको पाइन्छ । यसबाट घर र करेसावारीसँग जोडिएको केही सीमित जग्गाको फलफूलको बगैंचालाई मात्र सम्झनु पर्ने ।

घरबारी भन्ने बित्तिकै घर रहेको वा घर बनाउन योग्य रहेको घडेरीसरहको जग्गा घरसँग जोडिएको बारी, बगैंचा आदिलाई सम्झनु पर्ने हुँदा घरबारीमा ठूलो क्षेत्रफलको फलफूलको बगैंचासमेत पर्दछ भनी विधायिकाको मनसायविपरीत गएर भूमिसम्बन्धी ऐन, २०२१ को दफा २(ङ) मा उल्लिखित घरबारीको परिभाषालाई व्याख्या गर्न र सम्झन नहुने ।

(प्रकरण नं.४)

 

पुनरावेदक / वादीका तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ताद्वय श्री प्रेमबहादुर खड्का र श्री बालकृष्ण न्यौपाने

प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : विद्वान्‌ अधिवक्ताहरू श्री हरि फुँयाल, श्री नारायणप्रसाद देवकोटा, श्री मिलन राई र श्री केदारप्रसाद दाहाल

अवलम्बित नजिर :

सम्बद्ध कानून :

भूमिसम्बन्धी ऐन, २०२१

 

सुरू तहमा फैसला गर्ने:- 

श्री राजाराम थापा

भूमि सुधार कार्यालय, बारा

पुनरावेदन तहमा फैसला गर्ने:- 

माननीय न्यायाधीश श्री मोहनरमण भट्टराई

माननीय न्यायाधीश श्री बिदुरबिक्रम थापा

पुनरावेदन अदालत, हेटौंडा

 

फैसला

न्या. तेजबहादुर के.सी.: तत्कालीन न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क)  बमोजिम मुद्दा दोहोर्‍याई हेर्ने अनुमति प्राप्‍त भई पुनरावेदनको रोहमा पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार रहेको छः-

मेरो नाउँ दर्ताको जिल्ला बारा, गा.वि.स. ब्रह्मपुर वडा नं. १ कि. २१६ को ज.वि. १-२-५ जग्गामा नापी पूर्वदेखि नै पिताले बगैंचा लगाई भोगचलन गरी आइरहेकोमा उक्त बगैंचाको फलफूल रेखदेख गर्ने कार्य विपक्षीका पितालाई दिएकोमा नापी हुँदा किसानको महलमा विपक्षीको पिता बागड मियाँले उक्त जग्गा सत्यनारायण माडवारीको हो भनी नक्सा भएको छ । पिता सत्यनारायणको शेषपछि उक्त जग्गा म वादी निवेदकका नाउँमा दाखिल खारेज नामसारी भई एकलौटी भोगचलन गरी आएको छ । उक्त जग्गामा बगैंचा भएकोले भूमिसम्बन्धी ऐन, २०२१ को दफा २(ङ) को कानूनी व्यवस्थाले बगैंचालाई घरबारीमा वर्गीकरण गरी ऐ. ऐनको दफा २५ को उपदफा ५ ले घरबारीको जग्गा कमाउने मोही हक प्राप्त नहुने भनी किटानी कानूनी व्यवस्था रहे भएबाट उक्त बगैंचा जग्गाको मोही बागड मियाँका नाउँको मोही लगत कट्टा गरिपाउँ भन्नेसमेत बेहोराको भवानी शंकर अग्रवालको मिति २०६१।१०।१२ को निवेदन दाबी ।

वादी दाबीको उक्त जग्गाको मोही लगत कट्टा हुनु पर्ने होइन छैन । उक्त जग्गाको दर्तावाला मोही मेरो पिता बागड मियाँ धुनिया भएको कुरा पिताको १ नं. लगत र ३ नं. प्रमाणपत्रले पुष्टि गरी राखेको छ । उक्त जग्गा पिताको मृत्युपश्चात् मैले नै जोत आवाद गरी कुतबालीसमेत विपक्षी वादीलाई बुझाउँदै आएको हुँदा वादी दाबीबमोजिम मोही लगत कट्टा हुनु पर्ने होइन भन्नेसमेत बेहोराको बागड मियाँ धुनियाको छोरा अब्दुल रब मन्सुरको मिति २०६२/३/२० को लिखित जवाफ ।

वादी दाबीको जिल्ला बारा, गा.वि.स. ब्रह्मपुरी वडा नं. १ को कि.नं. २६१ को ज.वि. १-२-५ जग्गा सर्वे नापी हुँदाको बखत विपक्षीको पिता बागड मियाँ धुनियाँले सर्वे नापीमा आफ्नो नाम किसान महलमा दर्ता गराई जोत आवाद गरी आएकोमा भूमि सुधार लागू भएका बखत मोहीको १ नं. लगत वादीका पिता सत्यनारायण माडवारीको नाउँमा भई जग्गा जोत आवाद गरी आएको र सो जग्गाको मोहियानी हकको प्रमाणपत्रसमेत प्राप्त गरी सकेको र वादीले पनि मोही स्वीकार गरी आएको देखिन्छ । हाल आएर वादीले बगैंचा भएको जग्गाको मोही लगत कट्टा गरिपाउँ भन्ने दाबी लिएको भए पनि यसै स्वरूपको निर्मला देवी उपाध्याय पौडेल पुनरावेदक वादी र जगरनाथ महरा चमार प्रत्यर्थी प्रतिवादी भएको संवत् २०५८ सालको दे.पु.नं. ७९५६ को मोही लगत कट्टा मुद्दामा सम्मानित श्री सर्वोच्च अदालतबाट नजिर प्रतिपादितसमेत भइसकेको र उक्त दाबीको जग्गा स्व. मोही बागड मियाँ धुनियाँको पत्नी इदनी धुनियाइनको नाउँमा मोही नामसारी हुने ठहरी आजै फैसला भएको हुँदा यसमा वादीको मागदाबीबमोजिम मोही लगत कट्टाको माग दाबी पुग्न सक्दैन, खारेज हुने ठहर्छ भन्ने बेहोराको भूमि सुधार कार्यालय बाराको मिति २०६५/५/१६ को निर्णय ।

निवेदनमा उल्लिखित कित्ता नं. २६१ को जग्गाको मोही विपक्षीका पिता बागड मियाँ धुनियाँ होइनन् । उक्त जग्गा म पुनरावेदकको पति तथा ससुराको पालादेखि नै अर्थात् सर्वे नापीभन्दा अघिदेखि नै आँपको बगैंचाको रूपमा प्रयोग हुँदै आएको हो । विपक्षीले जग्गा जोत कमोद गरेको भन्ने वस्तुनिष्ठ आधार प्रमाण निवेदनसाथ गुजार्न नसक्नुको साथै विपक्षीले साल सालैको बाली बुझाएको भरपाइको निस्सा प्रमाणहरू आफ्नो लिखित जवाफसाथ पेस गर्नसमेत नसकेकोले निज विपक्षीले सो जग्गा मोहीको हैसियतले जोत कमोद नगरेको भन्ने प्रस्ट छ । यस अवस्थामा विपक्षीको लिखित जवाफलाई मात्र मूल आधार मानी प्रमाणको न्यायिक मूल्याङ्कन नै नगरी भएको सुरू निर्णय मुलुकी ऐन, अ.बं. १८४(क), १८५ र १८९ तथा प्रमाण ऐन, २०३१ को दफा ३ र ५४ को प्रत्यक्षतः प्रतिकूल हुनुको साथै श्री सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तसमेतको विपरीत भएकोले सुरू भूमि सुधार कार्यालय, बाराको मिति २०६५/५/१६ को फैसला बदर गरी सुरू निवेदन मागदाबीबमोजिम मोही लगत कट्टा गरिपाउँ भन्नेसमेत बेहोराको भवानी शंकर अग्रवालको मु. स. गर्ने शारदा देवी अग्रवालको पुनरावेदन पत्र ।

विवादको कि.नं.२६१ को विवरणमा बगैंचा भनी जग्गाधनी दर्ता प्रमाण पुर्जामा जनिएको 

देखियो । भूमिसम्बन्धी ऐन, २०२१ को दफा २५(५)(क) अनुसार घरबासको जग्गा कमाउने व्यक्तिलाई मोही हक प्राप्त हुने छैन भन्ने कानूनी व्यवस्था रहेको देखिन्छ । ऐ. ऐनको दफा २(ङ) अनुसार फलफूल बगैंचालाई पनि घरबासको परिभाषाभित्र राखेको देखिन आयो । यी तथ्य र प्रमाणहरूको विश्लेषण र मूल्याङ्कनको रोहमा सुरू फैसला फरक पर्न सक्ने देखिँदा छलफलको लागि मुलुकी ऐन, अ.बं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम प्रत्यर्थी प्रतिवादीलाई झिकाई नियमबमोजिम पेस गर्नु भनी मिति २०६६/९/२४ मा पुनरावेदन अदालत हेटौंडाबाट भएको आदेश ।

विपक्षीले दाबीको जग्गा बगैंचा भएको जिकिर लिए पनि सो जग्गा बगैंचा होइन । दाबीको जग्गा आवादीलायक भई मोहीको हैसियतले जोत कोड आवाद गर्दै आई मोहीको दायित्व र कर्तव्यको पालना गरी आइरहेको कुरा कुत धरौटी राखेको भरपाइले समेत प्रस्ट छ । मोही भएको कुराको पुष्टि भरपाइलगायत १ नं. लगत, ३ नं. प्रमाणपत्र, फिल्डबुकसमेतले पुष्टि भई राखेको र भूमिसम्बन्धी ऐन, २०२१ को दफा २५(५)(क) ले घरबारीको जग्गामा सम्म मोही नलाग्ने व्यवस्था गरेको देखिन्छ । घरबारी भन्नाले बगैंचा पनि स्वतः पर्छ भन्न सकिने व्यवस्था उक्त ऐनले गरेको देखिँदैन । यसरी उल्लिखित आधार प्रमाण र सम्मानित सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तसमेतका आधारमा विपक्षीको पुनरावेदन जिकिर बदर गरी सुरू भूमि सुधार कार्यालय, बाराको मिति २०६५/५/१६ को निर्णय सदर गरिपाउँ भन्नेसमेत बेहोराको अब्दुल रब मंसुरको लिखित प्रतिवाद ।

यसमा दे.पु.नं.११५९ को मोही नामसारी मुद्दामा आज यसै इजलासबाट वादीको जग्गाको इदनी धुनियाइनका नाममा मोही नामसारी भई मोही प्रमाणपत्रसमेत पाउने ठहर्‍याई सुरू भूमि सुधार कार्यालय बाराले गरेको फैसला सदर हुने ठहर्‍याई आज यसै इजलासबाट फैसला भएको हुनाले यस मुद्दामा पनि सोही मुद्दामा उल्लेख भएका बुँदाका आधारमा मोही लगत कट्टा गरिपाउँ भन्ने वादी दाबी पुग्न नसक्ने गरी सुरू भूमि सुधार कार्यालय, बाराले गरेको निर्णय मिलेको देखिँदा सदर हुने ठहर्छ भन्ने पुनरावेदन अदालत हेटौंडाले मिति २०६७।९।२ मा गरेको फैसला ।

पुनरावेदन अदालतले गरेको फैसलामा चित्त बुझेन, विपक्षीका पिता बागड मियाँ धुनिया मोही होइनन् । २ नं. अनुसूची बिना मोही कायम हुन 

सक्तैन । फिल्डबुक वा मोठ स्रेस्तामा नाम लेखिनु नै पर्याप्त हुँदैन । बारा जिल्ला, गा.वि.स. ब्रम्हपुरी वडा नं.१ को कि.नं.२६१ को क्षेत्रफल १-२-५ जग्गा बैंकले लिलाममा सकार गरी सो बैंकको मिति २०६८।०५।१९ को निर्णयबमोजिम म निवेदिकाको नाममा दा.खा. भई आएको छ । विपक्षीले मोही हक पाउन सक्ने अवस्था नै छैन । यस्तो अवस्थामा कि.नं.२६१ को जग्गामा प्रतिवादीको मोही हक कायम हुने ठहर्‍याएको पुनरावेदन अदालत हेटौंडाको त्रुटिपूर्ण फैसला उल्टी गरी मोहियानी हकको लगत कट्टा गरिपाउँ भन्ने वादीको यस अदालतमा पर्न आएको पुनरावेदनपत्र ।

यसमा दाबीको कि.नं.२६१ को जग्गामा बगैंचा रहेको र बगैंचा भएका उक्त जग्गा घरबारी जग्गा भई मोही नलाग्ने भन्ने वादीको कथन रहेको छ । भूमिसम्बन्धी ऐन, २०२१ को दफा २(ङ) बमोजिम "घरबारी" भन्नाले "मानिस बसोबास गर्ने घर र सो घरले चर्चेको जग्गा सम्झनुपर्छ र सो शब्दले घरसँग जोडिएको वा फरक रहेको गोठ, भकारी, इनार, पोखरी, ग्यारेज, तवेला, फलफूलको बगैंचा, तरकारी बारी, बाँसघारी, खरबारी, खेलकुद वा मनोरञ्‍जन गर्ने ठाउँ र सोसरहको अरू कुनै काममा लगाइएको जग्गालाई समेत जनाउँछ" भन्ने तथा ऐ.दफा २५(५)(क) मा घरबारीको जग्गा कमाउने व्यक्तिलाई मोहीको हक प्राप्त हुने छैन भन्नेसमेत कानूनी व्यवस्था रहेको परिप्रेक्ष्यमा कि.नं.२६१ को बगैंचा भएको जग्गाको मोही लगत कट्टा नगर्ने ठहर गरेको पुनरावेदन अदालत हेटौंडाको फैसलामा उक्त भूमिसम्बन्धी ऐन, २०२१ को दफा २(ङ) तथा दफा २५(५)(क) व्याख्यात्मक त्रुटि विद्यमान रहेको देखिँदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) बमोजिम प्रस्तुत मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्रदान गरिएको छ भन्ने यस अदालतको मिति २०६९।०२।३२ को आदेश ।

नियमबमोजिम पेसी सूचीमा चढी निर्णयार्थ यस इजलाससमक्ष पेस भएको प्रस्तुत मुद्दाको पुनरावेदन पत्रसहितको मिसिल कागजातहरू अध्ययन गरी पुनरावेदकका तर्फबाट उपस्थित विद्वान्‌ वरिष्ठ अधिवक्ताद्वय श्री प्रेमबहादुर खड्का र श्री बालकृष्ण न्यौपानेले बारा जिल्ला, ब्रम्हपुरी गा.वि.स. वडा नं.१ को कि.नं.२६१ को ज.वि.१-२-५ जग्गामा आँपको बगैंचा भएकोले त्यस्तो जग्गामा भूमिसम्बन्धी ऐन, २०२१ को दफा २(ङ) ले घरबारीको रूपमा परिभाषित गरिएको र त्यस्तो घरबारीको जग्गा भूमिसम्बन्धी ऐन, २०२१ को दफा २५ को उपदफा (५) को खण्ड (क) बमोजिम मोही हक लाग्न सक्दैन । उक्त कानूनी व्यवस्थाको प्रतिकूल तथा मिसिल संलग्न प्रमाणहरूको समुचित मूल्याङ्कन नगरी मोही लगत कट्टा नहुने ठहर्‍याएको पुनरावेदन अदालतको त्रुटिपूर्ण फैसला उल्टी गरी मोही लगत कट्टा गरिपाउँ भनी बहस गर्नुभयो ।

प्रत्यर्थी प्रतिवादीका तर्फबाट उपस्थित विद्वान्‌ अधिवक्ताहरू श्री हरि फुँयाल, श्री नारायणप्रसाद देवकोटा, श्री मिलन राई र श्री केदारप्रसाद दाहालले प्रत्यर्थी प्रतिवादी अब्दुल रब मन्सुरका बाबु बागड मियाँ मन्सुर कि.नं.२६१ नं. को जग्गाका मोही हुन् । निजका बाबुको मृत्युपछि भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६ (१) बमोजिम निजका पत्नी इदनी धुनियाईनका नाममा नामसारी हुन्छ । कि.नं.२६१ को जग्गा घरबाट टाढा रहेको कृषि उत्पादनको महत्त्व राख्ने भएकोले आँप बगैंचाको विषयमा भूमिसम्बन्धी ऐन, २०२१ को दफा २५(५)(क) लागू हुँदैन । खेतीयोग्य जग्गालाई बगैंचा हो भनी नामाकरण गर्न मिल्दैन । भूमि सुधार कार्यालय बारा र पुनरावेदन अदालतको फैसला सदर गरिपाउँ भनी बहस गर्नुभयो ।

विद्वान्‌ कानून व्यवसायीहरूको उपर्युक्तबमोजिमको बहस जिकिरसमेत सुनी पुनरावेदन अदालत हेटौंडाको फैसला मिलेको छ, छैन ? पुनरावेदन जिकिर पुग्न सक्ने हो, होइन ? सो सम्बन्धमा निर्णय गर्नुपर्ने देखियो ।

२. निर्णयतर्फ विचार गर्दा, भूमिसम्बन्धी ऐन, २०२१ को दफा २५ को देहाय (५) मा बगैंचा जग्गामा मोहियानी हक लाग्दैन भन्ने उल्लेख भए पनि सो कानूनी व्यवस्थाविपरीत दाबीको कि.नं.२६१ को जग्गामा मोही कायम हुने ठहर्‍याएको पुनरावेदन अदालत हेटौंडाको फैसला उल्टी गरिपाउँ भन्ने पुनरावेदकको पुनरावेदन जिकिर रहेको देखिन्छ । मिति २०२२।०८।२१ मा तयार भएको फिल्डबुक उतार हेर्दा बारा जिल्ला, ब्रम्हपुरी गा.वि.स. वडा नं. १ को कि.नं.२६१ को ज.वि.१-२-५ जग्गाको किसानको नाम, थर, वतन महलमा बगर मियाँ धुनियाको नाम उल्लेख भएको देखिन्छ । वि.सं.२०२१ सालमा तयार गरेको मोहीको १ नं. लगतमा जग्गा कमाउनेको नाम बागड मियाँ भन्ने उल्लेख भएको पाइन्छ । सोही जग्गा बागड मियाँ धुनियाले भूमिसम्बन्धी ऐन, २०२१ को दफा २५ अनुसार मोहियानी हकको प्रमाणपत्र प्राप्त गरेको मिसिल संलग्न मोहियानी हकको प्रमाणपत्रको प्रतिलिपिबाट देखियो । विवादित कि.नं.२६१ को जग्गा बगैंचा भएकोले सो जग्गामा मैले हक प्राप्त गर्नु पर्दछ भन्ने पुनरावेदन जिकिर रहेको हुँदा सोमा मोहियानी हक लाग्न सक्ने नसक्ने भन्ने  सम्बन्धमा विचार गर्नु पर्ने देखियो ।

३. मुलुकको आर्थिक विकासमा द्रुततर गति ल्याउन भूमिबाट निष्क्रिय पुँजी र जनसंख्याको भार  अर्थ व्यवस्थाको अन्य क्षेत्रमा लगाउन र कृषियोग्य भूमिको न्यायोचित वितरण र कृषिसम्बन्धी आवश्यक ज्ञान र साधन सुलभ गराई भूमिमा आस्रित वास्तविक किसानहरूको जीवनस्तरमा सुधार ल्याउन र कृषि उत्पादनमा अधिकतम वृद्धि गर्न, प्रोत्साहन प्रदान गरी सर्वसाधारण जनताको सुविधा र आर्थिक हित कायम राख्ने उद्देश्यले भूमिसम्बन्धी ऐन, २०२१ आएको देखिन्छ । यसैगरी भूमिसम्बन्धी ऐन, २०२१ को दफा २(ङ) ले गरेको  "घरबारी" जग्गाको परिभाषामा घरबारी भन्नाले मानिस बसोबास गर्ने घर र सो घरले चर्चेको जग्गा सम्झनु पर्दछ । सो शब्दले घरसँग जोडिएको वा फरक रहेको गोठ, भकारी, इनार, पोखरी, ग्यारेज, तवेला, फलफूलको बगैंचा, तरकारी बारी, बाँसबारी, खरबारी, खेलकुद वा मनोरञ्‍जन गर्ने ठाउँ र सोसरहको अरू कुनै काममा लगाएको जग्गालाई समेत जनाउँछ भन्ने उल्लेख भएको देखिन्छ । भूमिसम्बन्धी ऐन, २०२१ को दफा २५ को उपदफा (५) (क) मा घरबारीको जग्गा कमाउने व्यक्तिलाई मोहीको हक प्राप्त हुने छैन भन्ने कानूनी प्रावधान रहेको देखियो ।

४. अब वादी दाबीको जिल्ला बारा, गा.वि.स. ब्रम्हपुरी वडा नं.१ को कि.नं.२६१ को १-२-५ बगैंचा जग्गा भूमिसम्बन्धी ऐन, २०२१ को दफा २(ङ) ले परिभाषित गरेको "घरबारी" को जग्गाभित्र पर्छ वा पर्दैन भनी विचार गर्नुपर्ने देखियो । पुनरावेदक वादीले दाबीको कि.नं.२६१ को जग्गा मोहियानी हक नलाग्ने घरबारी जग्गा हो भनी फिल्डबुक उतार गर्दा वा अनुसूची १ को फाराम भर्दाको अवस्थामा कहीँ उल्लेख गरेको एवं सो सम्बन्धमा कतै दाबी उजुर गरेको मिसिलबाट देखिँदैन । प्रतिवादीका बाबु बागड मियाँले उक्त कि.नं. २६१ को जग्गाको मोहीको प्रमाणपत्र प्राप्त गरेकोमा वादीले स्वीकार गरी बसेको देखिन्छ । वादीले विवादित कि.नं.२६१ को जग्गामा २०२२ सालदेखि नै आँपको बगैंचा रहेको तथ्य पुनरावेदनपत्रमा उल्लेख गरेको पाइन्छ । भूमिसम्बन्धी ऐन, २०२१ को दफा २(ङ) मा घरबारीको परिभाषा गर्दा घरसँग जोडिएको वा फरक रहेको गोठ, भकारी, इनार, पोखरी, ग्यारेज, तबेला, फलफूलको बगैंचा, तरकारी बारी जस्ता चीजलाई घरबारीको दायराभित्र राखेको देखिन्छ । "फलफूलको बगैंचा" भन्ने शब्द अगाडि र पछाडि प्रयुक्त शब्द हेर्दा सो शब्दको अगाडि "तबेला" र पछि तरकारी बारी भन्ने शब्दको प्रयोग भएको देखियो । विधायिकाले परिभाषा गरेको "फलफूल बगैंचा" अन्तर्गत आफू बसोबास गरेको घरसँग जोडिएको घडेरीसरहको जग्गामा रहेको फलफूलको रूखहरूलाई बगैंचा भनी अर्थ गरेको पाइन्छ । यसबाट घर र करेसाबारीसँग जोडिएको केही सीमित जग्गाको फलफूलको बगैंचालाई मात्र सम्झनु पर्ने हुन्छ । घरबारीको जग्गाअन्तर्गत ज.वि. १-२-५ को जग्गाको फलफूलको बगैंचा पर्दछ भनी अर्थ गर्न 

मिल्दैन । घरबारी भन्ने बित्तिकै घर रहेको वा घर बनाउन योग्य रहेको घडेरीसरहको जग्गा घरसँग जोडिएको बारी, बगैंचा आदिलाई सम्झनु पर्ने हुँदा घरबारीमा ठूलो क्षेत्रफलको फलफूलको बगैंचासमेत पर्दछ भनी विधायिकाको मनसायविपरीत गएर भूमिसम्बन्धी ऐन, २०२१ को दफा २(ङ) मा उल्लिखित घरबारीको परिभाषालाई व्याख्या गर्न र सम्झन हुँदैन । यसप्रकार पुनरावेदक वादीको कि.नं.२६१ को ज.वि.१-२-५ जग्गामा रहेको आँपका बगानलाई फलफूलको बगैंचा भनी घरबारीको परिभाषाभित्र विधायिकाले राखेको भन्न मिल्ने अवस्था रहँदैन । घरबारीसँग जोडिएको वा सोबाट केही पृथक रहे पनि सानो क्षेत्रफलमा रहेको थोरै र सीमित फलफूलका बोट भएको फलफूलको बगैंचालाई मात्र घरबारीको परिभाषाभित्रको बगैंचाको रूपमा समेटेको भन्न मिल्ने देखिन आउँछ ।

५. यस सम्बन्धमा पुनरावेदक वादी निर्मलादेवी उपाध्याय (पौडेल) प्रत्यर्थी प्रतिवादी जगन्नाथ महरा भएको संवत् २०५८ सालको दे.पु.नं. ७९५६ को मोही लगत कट्टा मुद्दामा भूमिसम्बन्धी ऐन, २०२१ को दफा २५(५)(क) ले घरबारीको जग्गामा मोही नलाग्ने व्यवस्था गरेको देखिन्छ । घरबारी भन्नाले बगैंचा पनि स्वतः पर्छ भन्न सकिने व्यवस्था उक्त ऐनले गरेको देखिँदैन । स्रेस्ताबाट आवादी देखिएको र हाल जग्गा प्रतिवादीले कमाएको भन्ने देखिएपछि त्यस्तो जग्गामा मोही लाग्दैन भन्न न्यायसङ्गत हुँदैन भनी फलफूल बगैंचाको प्रकृति र व्याख्यासहित श्री सर्वोच्च अदालतबाट सिद्धान्तसमेत प्रतिपादन  भएको पाइन्छ । श्री सर्वोच्च अदालतबाट प्रतिपादित उपर्युक्त सिद्धान्तका आधारमा पनि दाबीको बढी क्षेत्रफलको कि.नं. २६१को ज.वि. १-२-५ लाई घरबारीअन्तर्गतको फलफूलको बगैंचाको दायराभित्र राखी अर्थ गर्नु पर्ने अवस्था देखिन आउँदैन ।

६. उपर्युक्त प्रतिपादित सिद्धान्तबाट घरबारीभित्र बगैंचा स्वतः नपर्ने हुँदा कि.नं.२६१ को जग्गामा मोहियानी हक लाग्ने हुँदा प्रतिवादीको बाबु बागड मियाँ धुनियाका नामको मोहियानी हक बागड मियाँकी पत्नी इदनी धुनियाइनका नाममा कानूनतः मोही नामसारी हुने अवस्था देखिन आउँदा निजका नाउँमा मोही नामसारी नहुने ठहर्‍याई पाउँ भन्ने पुनरावेदन जिकिर एवं सोही बेहोराको पुनरावेदकतर्फका कानून व्यवसायीको बहसका बुँदा तथा निस्सा प्रदान गर्दा लिइएका आधारसँग सहमत हुन सकिएन ।

७. अतः माथि विवेचित आधार र कारणसमेतबाट कि.नं.२६१ को जग्गाको मोहियानी हक बागड मियाँ धुनियाको  मृत्युपश्चात् निजकी पत्नी इदनी धुनियाइनले मोही नामसारी गरी मोहीको प्रमाणपत्र पाउने भई बगैंचा जग्गा मोही लगत कट्टा गरिपाउँ भन्ने निवेदकको मागदाबी पुग्न नसक्ने ठहर्‍याएको सुरू भूमि सुधार कार्यालय बाराको मिति २०६५।०५।१६ मा भएको फैसला सदर हुने ठहर्‍याएको पुनरावेदन अदालत हेटौंडाको मिति २०६९।९।२ गतेको फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक वादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । फैसलाको प्रति अपलोड गरी दायरीबाट प्रस्तुत मुद्दाको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाई दिनू । 

 

उक्त रायमा सहमत छु ।

न्या. ईश्वरप्रसाद खतिवडा

 

इजलास अधिकृत:- गीता श्रेष्ठ / डल्लुराम चौधरी 

इति संवत् २०७४ साल चैत्र ५ गते रोज २ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु