निर्णय नं. ४३३९ - उत्प्रेषण

निर्णय नं. ४३३९ ने.का.प. २०४८ अङ्क ८
संयुक्तइजलास
माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय
सम्वत् २०४७ सालको रिट नं. १२६८
आदेश भएको मिति : २०४८।७।२५।२ मा
निवेदक : जि.खोटाङ विजयखर्क गा.पं. वार्ड नं. ९ भैरमपुरटोल बस्ने माधवप्रसाद पोखरेल
विरुद्ध
विपक्षी : श्री कोशी अञ्चल प्रहरी कार्यालय, धरानसमेत
विषय : उत्प्रेषण
(१) विद्यालय जस्तो पवित्र स्थानमा शुद्ध आचरण र उच्च मनोबल राखी कर्तव्यनिष्ठ रही विद्यार्थीलाई शिक्षा दीक्षाको ज्ञानस्मरण गराउनु पर्नेमा विद्यार्थीको अगाडि अश्लील शब्दप्रयोग गर्ने र राती विद्यार्थीकै कोठामा अनुचित यौन सम्पर्क राखी नैतिक आचरण तथा अनुशासनहिन कार्य गरेको प्रमाणित भई निवेदकलाई प्रहरी नियमावली, २०३३ बमोजिम अभियोग लगाई स्पष्टीकरण माग गरी अञ्चल प्रहरी कार्यालयले भविष्यमा सरकारी नोकरीको लागि अयोग्य नठहरिने गरी गरेको निर्णयलाई पुनरावेदन तहमा सदर गरी गरेको निर्णय प्रहरी नियमावली, २०३३ बमोजिम नै देखिएकोले यसमा निवेदकको माग बमोजिम कुनै कानुनी त्रुटि गरेको भएको नदेखिने ।
(प्रकरण नं. १२)
विपक्षीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री बलराम के.सी. (साविक पेज नं. ४११)
आदेश
न्या.गजेन्द्रकेशरी बास्तोला
१. नेपालको संविधान, २०१९ को धारा १६।७१ अन्तर्गत दायर भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त विवरण यस प्रकार रहेछ ।
२. म.प्र.ज.लक्ष्मी राउतसंग अनुचित तथा अनैतिक सम्बन्ध कायम गरेको, विद्यालयमा अश्लील शब्द प्रयोग गरेको र पूर्व कारवाही लुकाउने प्रयास गरेको अभियोग लगाई श्री अञ्चल प्रहरी कार्यालय धरानको प्रहरी उपरीक्षक श्री बलेन्द्रबहादुर सिंहज्यूले मिति ०४६।५।२८।४ मा मलाई सरकारी नोकरीको लागि अयोग्य नठहरिने गरी प्र.ज.पदबाट हटाउनु भएको थियो ।
३. उपरोक्त निर्णयमा चित्त नबुझेकोले कानुनको म्यादभित्र श्री प्रहरी नायब महानिरीक्षक पूर्वाञ्चल क्षेत्रीय प्रहरी कार्यालय विराटनगरमा पुनरावेदन गरेकोमा शुरु कारवाहीलाई नै सदर गरी पुनरावेदन खारेज गरेको व्यहोरा २०४६।१२।१४ मा जानकारी भयो ।
४. म उपर गरिएको कारवाही गैरकानुनी एवं पूर्वाग्रही भएको व्यहोरा म प्र.ज.लक्ष्मी र मलाई गरिएको कारवाही एउटै नभएर अलग अलग निर्णय गरेको व्यहोराबाट पनि प्रष्ट हुन्छ । प्राकृतिक न्याय सिद्धान्त बमोजिम स्पष्टीकरणको मौका दिनु मात्र पर्याप्त होइन, स्पष्टीकरणलाई पनि फैसला गर्दा आधार बनाइनु पर्छ । स्वतन्त्र तवरले बकपत्र नगराइएको हुँदा प्रमाण ऐन, ०३१ बमोजिम साक्षी प्रमाण, प्रमाणमा लिन मिल्दैन । पुनरावेदनमा पनि सो कुरा विचार नगरी त्रुटि गरियो ।
५. अतः प्रत्यर्थीको दोषपूर्ण एवं त्रुटिपूर्ण कारवाही निर्णयबाट निवेदकको नेपालको संविधान, २०१९ धारा १०(१), धारा ११(२)(ङ) र (३) एवं १५ द्वारा प्रदत्त हक कुण्ठित भएको तथा प्रहरी ऐन, २०१२ तथा नियम बमोजिम प्राप्त कानुनी हकहरु समेत अपहरित भयो तसर्थ उत्प्रेषणको आदेश जारी गरी प्रत्यर्थी कारवाही निर्णय बदर गरी परमादेश वा उपयुक्त आदेश पुर्जी जारी गरी मेरो नोकरी यथास्थानमा पदस्थापन गरी अवकाश अवधिभरको तलब भत्ता दिलाई पाउँ भन्ने समेत व्यहोराको रिटनिवेदन जिकिर ।
६. यसमा विपक्षीहरुबाट लिखितजवाफ मगाई आएपछि वा अवधि नाघेपछि नियम बमोजिम पेश गर्नु भन्ने यस अदालत एक न्यायाधीशको इजलासको मिति २०४७।२।१५ को आदेश ।
७. माधवप्रसाद पोखरेलले विद्यालय जस्तो पवित्र स्थानमा रहेर म.प्र.ज.लक्ष्मी राउतसंग यौन सम्बन्ध कायम गर्ने गरेको भन्ने विद्यालयका अन्य केही स्टाफहरुबाट बुझिएको र मिति २०४६।५।२४ गते राती ९:३० बजे विद्यालयका क्याम्प कमाण्डर लगायत अन्य केही स्टाफ समेत भई बेड चेक गर्दा लक्ष्मी राउतको कोठामा सुतेको फेला परेको हो । निजलाई स्पष्टीकरण माग गर्दा म.प्र.ज.लक्ष्मी राउतसंग अनुचित कार्यमा संलग्न भएको कुरालाई स्वीकार गरी स्पष्टीकरण पेश गरेको छ । माधव र लक्ष्मी दुवैजना सावित भएको र मौकामा देख्ने कर्मचारी प्र.ह.समेतले पोल गरी किटानीसाथ कागज गरी दिएको आधार प्रमाणबाट आफ्नो पदको जिम्मेवारी अनुसारको आचरण नगरेको कुरा निर्विवाद छ ।
८. यस कार्यालयबाट अधिकार प्राप्त अधिकारीले प्रहरी फोर्सको अनुशासन, मर्यादा कायम राख्नको लागि प्रहरी नियमावली, २०३३ बमोजिम भविष्यमा सरकारी नोकरीको लागि सामान्यतः अयोग्य नठहरिने गरी मिति २०४६।५।२८ मा गरेको निर्णय न्यायसंगत छ । रिटनिवेदन खारेज गरी पाउँ भन्ने समेत व्यहोराको कोशी अञ्चल प्रहरी कार्यालय धरानको लिखितजवाफ ।
९. निवेदक प्रहरी सेवामा बहाल रहँदा पूर्व क्षेत्रीय दिपेन्द्र प्रहरी विद्यालयमा शिक्षा दिने काममा खटाइएकोमा निज र म.प्र.ज.लक्ष्मी राउतले बराबर अनुशासनहीनता कार्य गरेकोमा दीपेन्द्र प्रहरी विद्यालयमा पेश गरेको स्पष्टीकरण समेतबाट देखिएकोले प्र.ज. (साविक पेज नं. ४१२) माधवप्रसाद पोखरेलले प्रहरी नियमावली, २०३३ को परिच्छेद ९ को नियम ९.५ को देहाय (ङ) अनुसार आफ्नो पदको जिम्मेवारी अनुसार आचरण नगरेको । म.प्र.ज.उपर भएको पूर्व कारवाही छुपाउने प्रयास गरी तालुक कार्यालयमा जाने पत्र लुकाउने समेत गरेकोले निजलाई प्रहरी सेवामा राख्न उपयुक्त नदेखिएकोले प्र.नि., २०३३ को परिच्छेद ९ को नियम ९.१०, उपनियम १ को देहाय (ख) को अधिकार प्रयोग गरी प्र.ज.माधव पोखरेललाई ऐ.नियमावलीको नियम ९.५ को देहाय (ङ) को कसूर गरेकोमा प्रहरी नियमावली, २०३३ को परिच्छेद ९ को नियम ९.१ को देहाय (च) बमोजिम भविष्यमा सरकारी नोकरीको लागि अयोग्य नठहरिने गरी नोकरीबाट बर्खास्त गरिएको छ भन्ने कोशी अञ्चल प्रहरी कार्यालयको निर्णय पर्चा रहेको ।
१०. उक्त निर्णय उपर निवेदकको पुनरावेदनमा सम्बन्धित सबै मिसिल कागजात अध्ययन गर्दा विद्यार्थीकै कोठामा अनुचित यौन सम्पर्क समेत राखी नैतिक आचरण तथा अनुशासनहीन कार्य गरेको प्रमाणित भई कोशी अञ्चल प्रहरी कार्यालयले गरेको निर्णय मनासिब देखिएकोले शुरु निर्णय सदर गरी पुनरावेदन खारेज गरिएको व्यहोरा अनुरोध छ भन्ने समेत व्यहोराको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरको तर्फबाट प्राप्त भएको लिखितजवाफ ।
११. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी इजलास समक्ष पेश भएको प्रस्तुत मुद्दामा निवेदकको वारेस श्री पुष्पलालको रोहवरमा तथा लिखितजवाफ तर्फबाट विद्वान सहन्यायाधिवक्ता श्री बलराम के.सी.ले निवेदकलाई प्रहरी नियम बमोजिम अभियोग लगाई स्पष्टीकरण माग गरी गरेको कारवाही निर्णय उपर निवेदकको पुनरावेदन तहबाट समेत निर्णय भई गरेको अञ्चल प्रहरी कार्यालय धरान समेतको काम कारवाही नियम बमोजिम नै हुँदा रिटनिवेदन खारेज हुनुपर्दछ भन्ने समेत गर्नु भएको बहस सुनियो ।
१२. यसमा निर्णयतर्फ विचार गर्दा निवेदक माधवप्रसाद पोखरेललाई अञ्चल प्रहरी कार्यालय धरानबाट मिति २०४६।५।२८ मा सरकारी नोकरीको लागि अयोग्य नठहरिने गरी प्र.ज.पदबाट हटाइएको निर्णयलाई सदर गरी पूर्वाञ्चल क्षेत्रीय प्रहरी कार्यालय विराटनगरबाट मिति २०४६।१२।१४ मा गरेको निर्णय त्रुटिपूर्ण हुँदा उत्प्रेषणको आदेशद्वारा बदर गरी पाउँ भन्ने समेत रिटनिवेदन जिकिर देखिन्छ । तर निवेदकलाई प्रहरी नियम बमोजिम अभियोग लगाई स्पष्टीकरण माग गरेको देखिन्छ । त्यसपछि मात्र अञ्चल प्रहरी कार्यालय धरानबाट मिति २०४६।५।२८ मा निवेदकलाई सरकारी नोकरीको लागि अयोग्य नठहरिने गरी प्र.ज.पदबाट हटाइने गरी निर्णय भएको पाइन्छ । सो निर्णय उपर निवेदकले पूर्वाञ्चल क्षेत्रीय प्रहरी कार्यालयमा गरेको पुनरावेदनमा प्रहरी नियमावली, २०३३ को नियम ९–११ बमोजिम को.अं.प्र.का. धरानबाट प्राप्त हुन आएको प्र.ज.माधवप्रसाद पोखरेलको पुनरावेदनमा सम्बन्धित सबै मिसिल कागजात अध्ययन गर्दा निज प्र.ज.माधवप्रसाद पोखरेल २०४६।५।२४ गते साँझ म.प्र.ज.लक्ष्मी राउतसंग विद्यार्थीकै कोठामा अनुचित यौन सम्पर्क राखेको कुरामा स्वयं सावित भई स्पष्टीकरण पेश गरेको र कागज समेत गरी दिएको सो सावितीलाई उक्त विद्यालयका सम्पूर्ण कर्मचारीले पुष्ट्याई गरी कागज गरेको समेत देखिएकोले निर्णयतर्फ विचार गर्दा विद्यालय जस्तो पवित्र स्थानमा शुद्ध आचरण र उच्च मनोबल राखी कर्तव्यनिष्ठ रही विद्यार्थीलाई शिक्षादीक्षाको ज्ञान स्मरण गराउनु पर्नेमा विद्यार्थीको अगाडि अश्लील शब्द प्रयोग गर्ने र राती विद्यार्थीकै कोठामा अनुचित यौन सम्पर्क राखी नैतिक आचरण तथा अनुशासनहीन कार्य गरेको प्रमाणित भई कोशी अञ्चल प्रहरी कार्यालय धरानले बर्खास्त गरेको निर्णय मनासिब देखिएकोले उक्त कार्यालयको शुरु निर्णयलाई सदर गरी प्र.ज.माधवप्रसाद पोखरेलको पुनरावेदन खारेज गरी यो निर्णय गरी दिएँ भन्ने समेत निर्णय गरेको देखिन्छ । यसरी निवेदकलाई (साविक पेज नं. ४१३) प्रहरी नियमावली, २०३३ बमोजिम अभियोग लगाई स्पष्टीकरण माग गरी कोशी अञ्चल प्रहरी कार्यालयले मिति २०४६।५।२८ मा निवेदकलाई भविष्यमा सरकारी नोकरीको लागि अयोग्य नठहरिने गरी गरेको निर्णयलाई पूर्वाञ्चल क्षेत्रीय प्रहरी कार्यालय विराटनगर समेतबाट पुनरावेदन तहमा सोही निर्णयलाई सदर गरी गरेको निर्णय प्रहरी नियमावली, २०३३ बमोजिम नै देखिएकोले यसमा निवेदकको माग बमोजिम कुनै कानुनी त्रुटि गरे भएको नदेखिएकोले रिटनिवेदन खारेज हुने ठहर्छ । फाइल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु । न्या.केदारनाथ उपाध्याय
इतिसम्वत् २०४८ साल कार्तिक २५ गते रोज २ शुभम् ।