निर्णय नं. १०१३२ - जबरजस्ती करणी
प्रस्तुत मुद्दामा गोपनीयताको लागि पीडित र परिवारको सदस्यको नाममा ................. राखिएको छ ।
- सम्पादक
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा.
माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ
फैसला मिति : २०७४।११।१३
०६७-CR-०८४३
मुद्दाः जबरजस्ती करणी
पुनरावेदक / वादी : ..........को जाहेरीले नेपाल सरकार
विरूद्ध
प्रत्यर्थी / प्रतिवादी : कैलाली जिल्ला, चौमला गा.वि.स. वडा नं.२ कटानपुर बस्ने कन्थे भन्ने कर्णबहादुर साउद
कुनै व्यक्तिले आफू कुनै अपराधबाट पीडित भएको भनी जाहेरी दिन्छ र सोको आधारमा राज्यका जिम्मेवार निकायहरूबाट अनुसन्धान र अभियोजन भई सक्षम अदालतसमक्ष मुद्दासमेत दायर भइसकेको अवस्थामा अदालतमा जाहेरी दिने व्यक्ति वा पीडितले प्रतिकूल बकपत्र गर्छ भने सोको आधारमा मात्र उक्त अपराध घटेको थिएन भनी निष्कर्षमा पुग्न
नमिल्ने ।
घटना घटेको समय व्यतित हुँदै जाँदा प्रतिवादीउपरको आक्रोश विस्तारै मत्थर हुँदै जाने, प्रतिवादी र पीडितहरू एउटै समाजमा बस्नुपर्ने, आर्थिक तथा सामाजिक कारण तथा कतिपय अवस्थामा पीडितलाई पर्याप्त मात्रामा सुरक्षा प्रदानसमेत गर्न नसक्दा पीडितले अदालतमा प्रतिकूल बकपत्र गर्न सक्छ तर पीडितले प्रतिकूल बकपत्र गर्यो भन्दैमा अपराधीलाई आपराधिक दायित्वबाट उन्मुक्ति दिन नमिल्ने ।
(प्रकरण नं.५)
पुनरावेदक / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री नारायण रिमाल
प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : विद्वान् वैतनिक अधिवक्ता श्री शोभा कार्की
अवलम्बित नजिर :
ने.का.प.२०६१, नि.नं.७४११, पृ.८९३
ने.का.प.२०७४, अंक ५, नि.नं.९८१२
सम्बद्ध कानून :
सुरू तहमा फैसला गर्ने :
मा. जिल्ला न्या. श्री नारायणप्रसाद धिताल
कैलाली जिल्ला अदालत
पुनरावेदन तहमा फैसला गर्नेः
मा.का.मु.मुख्य न्या. श्री गोविन्दकुमार श्रेष्ठ
माननीय न्यायाधीश रामप्रसाद खनाल
पुनरावेदन अदालत दिपायल, डोटी
फैसला
न्या.चोलेन्द्र शमशेर ज.ब.रा.: न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः
मेरो श्रीमती ................लाई मिति २०६६।३।४ गते आफ्नो कोठामा सुतिरहेको अवस्थामा ऐ. राति २३:०० बजेको समयमा गाउँकै कन्थे भन्ने कर्णबहादुर साउदले जबरजस्ती करणी गरेको हुँदा निजलाई आवश्यक कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको जाहेरी दरखास्त ।
कैलाली जिल्ला चौमाला गा.वि.स. वडा नं.३ झिल स्थित उत्तरमा १० मिटर टाढा जमुनाको रूख तथा जमिन, दक्षिण नरजिते साउदको कच्ची घर, पूर्वमा २० मिटर टाढा बुद्धी साउदको कच्ची घर, पश्चिममा अं. २ मिटर टाढा कृष्णप्रसाद वस्तीको खेत जमिन यति चार किल्लाभित्र माथिल्लो तलामा जाँदा विना ढोकाको खुल्ला पाली कोठामा विछ्यान लगाई मिति २०६६।३।४ गते .............. सुतिरहेको अवस्थामा प्रतिवादी कर्ण साउदले जबरजस्ती करणी गरेको भनी देखाइएको घटनास्थल मुचुल्का ।
म मिति २०६६।३।४ गते साँझको खाना खाएर कोठामा सुतिरहेको अवस्थामा ऐ. राति ११ बजेको समयमा प्रतिवादी कन्थे भन्ने कर्णबहादुर साउदले मेरो मेक्सी र पेटीकोट माथि गरी मेरो मुख थुनी १५।२० मिनेटसम्म करणी गरी रहेको अवस्थामा मैले हो-हल्ला गरी चिच्याउँदा निज कोठाबाट भागी गएको थियो भन्नेसमेत बेहोराको शान्ति रावलले मौकामा गरेको कागज ।
मैले मिति २०६६।३।४ गते मादक पदार्थ रक्सी सेवन गरी निजको कोठामा सुतिरहेको अवस्थामा गई निजलाई मैले करणी गर्दा कुनै प्रतिकार गरेकी थिइनन् भन्नेसमेत बेहोराको कर्णबहादुर साउदले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान कागज ।
मिति २०६६।३।४ गते निज पीडित आफ्नो घरको माथिल्लो तलाको पालीमा सुतिरहेको अवस्थामा हाल प्रहरी हिरासतमा रहेको प्रतिवादी कर्णबहादुर साउदले निज सुतेको स्थानमा गई निज ..............लाई करणी गरी रहेको अवस्थामा पीडितले रोई कराई गर्दा जाहेरवाला र निजकै सासुसमेतले थाहा पाउँदा उक्त स्थानबाट भागी गएको थियो भन्नेसमेत बेहोराको गगन सिंह विष्ट, विरमा देवी रावल, कृष्णप्रसाद वस्तीसमेतले गरेको करिब एकै मिलानको कागज ।
मिति २०६६।३।४ गते निज पीडित ...........लाई हाल प्रहरी हिरासतमा रहेको प्रतिवादीले सुतिरहेको अवस्थामा जबरजस्ती करणी गर्दा निजले हो-हल्ला गर्दा उक्त स्थानबाट भागी फरार रहेको भन्ने कुरा मिति २०६६।३।५ गते सुनी थाहा पाएको थिएँ भन्नेसमेत बेहोराको रामबहादुर वि.क. समेतले गरेको वस्तुस्थिति मुचुल्का ।
आफ्नै कोठामा सुती रहेकी ..............लाई निजको हात मुख च्यापी बलसमेत प्रयोग गरी निजको मन्जुरीविना करणी गरी प्रतिवादी कन्थे भन्ने कर्णबहादुर साउदले मुलुकी ऐन जबरजस्ती करणी महलको १ नं., ३(३) नं. विपरीतको कसुर अपराध गरेको पुष्टि भएकाले निजलाई सो कसुर अपराधमा सोही महलको ३(३) नं.बमोजिम सजायको मागदाबी र सोही महलको १० नं.अनुसार पीडित ...............लाई प्रतिवादी कन्थे भन्ने कर्णबहादुर साउदबाट मनासिब क्षतिपूर्ति भराई पाउनेसमेतको दाबी लिइएको छ भन्नेसमेत बेहोराको अभियोग पत्र ।
जाहेरवालाको पत्नी निद्रामा मस्त रहेको समयमा मैले करणी गरी आफ्नो घरतर्फ लागेको हुँ । पछि निजले आफ्नो योनिमा वीर्य जस्तो पदार्थ देखी आफ्नी सासुलाई हाम्रो घरमा को मान्छे आएको थियो र म सुतेको कोठामा को गएको थियो भनी जानकारी लिँदा म गएको जानकारी दिएपछि आफूलाई करणी गरी गएको कुरा सासुसँग भनेकोमा सोही आधारमा हर्क रावल घरमा आइपुगेपछि सो बेहोरा बताई जाहेरी दिन लगाएकी हुन् भन्नेसमेत बेहोराको प्रतिवादी कन्थे भन्ने कर्णबहादुर रावलले सुरू अदालतमा गरेको बयान ।
पीडित भनिएकी .................लाई निजका पति ................ले तथा पीडितकी सासुले घरमा राम्रो व्यवहार नगरी घरमा सधैँ कुटपिट गरी निकाल्ने गरी रहेका थिए, त्यसैमा प्रतिवादी कन्थे भन्ने कर्णबहादुर साउद र हर्क रावलको झगडा रहने हुनाले श्रीमतीलाई हर्क रावलले झुठ्ठा आरोप लगाई कर्णबहादुरसँग लागेको बात लगाई झुठ्ठा जाहेरी दिएको हो । कागज गर्नेले पनि अनुमानकै भरमा कागज लेखी दिएका हुन् । पीडित शान्ति रावललाई निजका श्रीमान्ले घरबाट निकाल्ने बहाना बनाएको हो, जबरजस्ती करणी भए गरेको केही होइन भन्नेसमेत बेहोराको प्रतिवादीका साक्षी हरी सिंह साउदले सुरू अदालतमा गरेको बकपत्र ।
पीडित ..............लाई प्रतिवादी कन्थे भन्ने कर्णबहादुर साउदले जबरजस्ती करणी गरेको छैन, जबरजस्ती करणी गर्यो भनी ३।४ दिनपछि हल्ला मात्र सुनेको हुँ भन्नेसमेत बेहोराको वस्तुस्थिति मुचुल्काका टेकराज ओझाले सुरू अदालतमा गरेको बकपत्र ।
उक्त राति मैले चोर आयो भनेर कराएकी पनि होइन, सासुलाई प्रतिवादीले मलाई जबरजस्ती करणी गरेको हो भनेकी पनि होइन, सासुले प्रहरीमा उक्त कागज किन लेखाएकी हुन् उनलाई थाहा होला भन्नेसमेत बेहोराको वादीका तर्फबाट कागज गर्ने ...............ले सुरू अदालतमा गरेको बकपत्र ।
प्रतिवादी कर्णबहादुर साउदले जबरजस्ती करणी गरेको हो होइन मलाई थाहा भएन, गाउँले मान्छेले भनेर मैले थाहा पाएको हो भन्नेसमेत बेहोराको मौकामा कागज गर्ने ..................ले सुरू अदालतमा गरेको बकपत्र ।
प्रतिवादीले मौकामा अनुसन्धान अधिकारी र अदालतसमक्ष आई बयान गर्दा आफूले शान्तिलाई करणी गरेको तर निज निद्रामा हुँदा हो-हल्ला नभएको भनी करणी गरेको कुरा स्वीकार गरी बयान गरेको देखिन्छ । पीडितको कागज बुझिएकी विरमासमेतको भनाइ र प्रतिवादीको साबिती बयानसमेतबाट घरमा सुतेकी शान्तिलाई निजले करणी गरेको होइन भनेको कारणले मात्र प्रतिवादीले अपराधबाट उन्मुक्ति पाउन नसक्ने हुँदा जबरजस्ती करणीको महलको १ नं. विरूद्धको कसुर अपराधमा सोही ऐनको ३(३) नं.बमोजिम घटनाको अवस्थासमेतलाई दृष्टिगत गर्दा ६(छ) वर्ष कैदको सजाय ऐ.ऐ.१० नं. बमोजिम रू.२५,०००।- क्षतिपूर्तिसमेत भराई पाउने र झुठ्ठा बकपत्र गर्ने शान्ति तथा विरमालाई जनही रू.५००।- जरिवानासमेत ठहर्छ भनी सुरू कैलाली जिल्ला अदालतबाट मिति २०६६।११।१० मा भएको फैसला ।
पीडित शान्ति रावलले अनुसन्धानको क्रममा उठेका कागज प्रमाण झुठ्ठा हुन् । प्रतिवादीले मलाई करणी गरेको होइन भनी अदालतमा बकपत्र गरेको र पीडितको सासु जो प्रत्यक्षदर्शी छन् निजले करणी गरेको होइन भनी भनेको अवस्थामा मैले पीडितलाई करणी गरेको होइन । वादी नेपाल सरकार भए पनि पीडित शान्ति रावल नै हुन्, पीडितले नै अदालतमा आई स्वतन्त्रपूर्वक करणी गरेको होइन भनिसकेपछि सुरू अदालतले अनुमानकै भरमा कैद सजाय गर्ने गरी गरेको फैसला न्यायसङ्गत नभई आत्मनिष्ठ भएकाले उक्त फैसला बदर गरी मलाई कैदबाट छुट्कारा दिलाई पाउँ भन्ने प्रतिवादी पुनरावेदक कर्णबहादुर साउदको पुनरावेदन अदालत दिपायलमा परेको पुनरावेदन पत्र ।
पीडित भनिएकी शान्ति रावलले नै आफूलाई प्रतिवादीले करणी गरेको होइन भनी स्पष्टसाथ बकपत्र गरी रहेको अवस्थामा पीडितलाई अभियोग दाबीबमोजिम जबरजस्ती करणी गरेको ठहर गर्नु न्यायको मर्मविपरीत हुन जाने हुन्छ । पीडकलाई दण्ड सजाय दिने न्यायको एउटा पक्ष हो भने पीडितले राहत वा उपचार पाउनु पर्ने अर्को पक्ष हो । पीडितले नै आफ्नो सतित्व हरण भएको होइन छैन भनी कुनै प्रकारको उपचार नै खोजेको छैन भने त्यस्तो अवस्थामा निजमाथि जबरजस्ती करणी भएको र निजको सतित्व हरण भएको हो भनी ठहर गर्दा निजको सामाजिक मर्यादा हरण हुने र कानूनबमोजिम प्राप्त गर्न सकिने अन्य सुविधा एवं कानूनी हक अधिकारसमेतबाट वञ्चित हुने अवस्था रहन्छ । अतः उल्लिखित तथ्यगत स्थिति र साक्षी प्रमाणको मूल्याङ्कनबाट अभियोग दाबीबमोजिम जबरजस्ती करणी भएको ठहर्याई प्रतिवादीलाई जबरजस्ती करणीको महलको १ नं. को कसुर अपराधमा सोही ऐनको ३(३) नं.बमोजिम ६(छ) वर्ष कैद र क्षतिपूर्तिसमेत भराई दिने ठहर्याएको सुरू कैलाली जिल्ला अदालतको फैसला मनासिब नदेखिँदा उल्टी भई प्रतिवादीले अभियोग दाबीबाट सफाइ पाउने ठहर्छ भन्ने पुनरावेदन अदालत दिपायलबाट मिति २०६७।५।२० मा भएको फैसला ।
जाहेरवालाले किटानी रूपमा प्रतिवादीले पीडितलाई जबरजस्ती करणी गरेको भनी जाहेरी दरखास्त दिएका र उक्त किटानी जाहेरी दरखास्त मिसिल संलग्न अन्य आधार प्रमाणहरूबाट पुष्टि भइरहेको अवस्थामा जाहेरवाला कामको सिलसिलामा भारतमा गएको कारणले गर्दा बकपत्रसम्मको लागि सुरू अदालतमा उपस्थित हुन नसकेको अवस्थालाई ठूलो प्रमाण मानी प्रतिवादीलाई सफाइ दिने गरी भएको पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण छ । प्रतिवादीले अदालतसमक्ष कसुर गरेकोमा साबित रही बयान गरेका छन् । सो स्वीकारोक्तिको विपक्षमा ठहर भएको फैसला आफैँमा त्रुटिपूर्ण छ । साथै मौकामा बुझिएकी विरमादेवीले बकपत्रमा जबरजस्ती करणी गरेको गाउँलेले भनेर थाहा पाएको भनी लेखाएकी, टेकराज ओझाले बकपत्रको स.ज.८ मा प्रतिवादीले जबरजस्ती करणी गरेको भनी सुनेको हो भनी लेखाएकासमेतका आधार प्रमाण र पीडितको उमेर तथा शारीरिक परीक्षणसमेतबाट उक्त वारदात स्थापित भएको अवस्थालाई नजरअन्दाज गरी भएको उक्त फैसलामा मुलुकी ऐन, जबरजस्ती करणीको महलको १ नं.को व्याख्यात्मक त्रुटिसमेत हुँदा उक्त फैसला त्रुटिपूर्ण भएकोले बदर गरी प्रतिवादीलाई अभियोग माग दाबीबमोजिम सजाय हुनुपर्छ भन्नेसमेत बेहोराको नेपाल सरकारको तर्फबाट यस अदालतमा पर्न आएको पुनरावेदन पत्र ।
यसमा प्रतिवादीले अदालतमा समेत करणी गरेको भन्नेमा साबिती बयान गरेको, जाहेरवालालाई उपस्थित नगराइएको, जाहेरीमा र अभियोग पत्रमा पीडितको उमेर १५ वर्ष भनी उल्लेख भएको सन्दर्भमा प्रतिवादीलाई सफाइ दिने गरी मिति २०६७।५।२० मा पुनरावेदन अदालत दिपायलबाट भएको फैसला प्रमाणको मूल्याङ्कनको रोहमा फरक पर्न सक्ने देखिँदा मुलुकी ऐन, अदालती बन्दोबस्तको २०२ नं. बमोजिम प्रत्यर्थी झिकाई नियमानुसार पेस गर्नु भन्ने यस अदालतको मिति २०७४।५।११ को आदेश ।
नियमबमोजिम पेसी सूचीमा चढी निर्णयको लागि यस इजलासमा पेस हुन आएको प्रस्तुत मुद्दामा वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान् उपन्यायाधिवक्ता श्री नारायण रिमालले जाहेरवालाले किटानी रूपमा प्रतिवादीले पीडितलाई जबरजस्ती करणी गरेको भनी जाहेरी दिएको अवस्था छ भने प्रतिवादीले पनि अदालतमा गरेको बयानमा आफूले पीडित निद्रामा रहेको अवस्थामा करणी गरेको भनी स्वीकार गरेको छ । पीडितको उमेर तथा शारीरिक परीक्षणसमेतबाट उक्त वारदात स्थापित भएको अवस्थालाई नजरअन्दाज गरी प्रतिवादीलाई सफाइ दिने गरी भएको पुनरावेदन अदालत दिपायलको फैसला त्रुटिपूर्ण भएकोले उल्टी गरी प्रतिवादीलाई अभियोग मागदाबीबमोजिम सजाय गरिनुपर्छ भनी बहस गर्नुभयो । त्यसैगरी प्रतिवादीको तर्फबाट उपस्थित विद्वान् वैतनिक अधिवक्ता श्री शोभा कार्कीले पीडितले नै अदालतमा आई प्रतिवादीले मलाई करणी गरेको होइन भनी बकपत्र गरिसकेको अवस्थामा प्रतिवादीलाई जबरजस्ती करणीजस्तो गम्भीर अपराधमा कसुरदार ठहर गर्न मिल्दैन । प्रतिवादीलाई अभियोग दाबीबाट सफाइ दिने गरी भएको पुनरावेदन अदालत दिपायलको फैसला कानूनबमोजिम भएकोले सदर हुनुपर्छ भनी बहस गर्नुभयो ।
उपर्युक्त तथ्य र बहस जिकिर रहेको प्रस्तुत मुद्दामा सुरू कैलाली जिल्ला अदालतको फैसलालाई उल्टी गरी प्रतिवादीलाई अभियोग दाबीबाट सफाइ दिने गरी भएको पुनरावेदन अदालत दिपायलको फैसला मिलेको छ वा छैन ? भन्ने सम्बन्धमा निर्णय गर्नुपर्ने देखियो ।
२. निर्णयतर्फ विचार गर्दा मेरो श्रीमती शान्ति रावललाई मिति २०६६।३।४ गते राति आफ्नो कोठामा सुतिरहेको अवस्थामा कन्थे भन्ने कर्णबहादुर साउदले जबरजस्ती करणी गरेको हुँदा निजलाई आवश्यक कारबाही गरिपाउँ भन्ने बेहोराको जाहेरी दरखास्तबाट अनुसन्धान प्रारम्भ भएको प्रस्तुत मुद्दामा प्रतिवादी कर्णबहादुर साउदलाई मुलुकी ऐन, जबरजस्ती करणी महलको १ नं. र ३(३) नं.विपरीतको कसुर अपराधमा सोही महलको ३(३) नं.बमोजिम सजाय गरी र सोही महलको १० नं.अनुसार पीडितलाई प्रतिवादीबाट मनासिब क्षतिपूर्ति भराई पाउँ भन्ने अभियोग मागदाबी रहेको देखिन्छ । उपर्युक्त अभियोग मागदाबी रहेकोमा सुरू कैलाली जिल्ला अदालतले प्रतिवादी कर्णबहादुर साउदलाई जबरजस्ती करणीको महलको १ नं. विरूद्धको कसुर अपराधमा सोही ऐनको ३(३) नं.बमोजिम ६(छ) वर्ष कैद र सोही महलको१० नं. बमोजिम प्रतिवादीबाट पीडितलाई रू.२५,०००।- क्षतिपूर्ति भराउने ठहर्याई फैसला गरेको रहेछ भने पुनरावेदन अदालत दिपायलले सुरू कैलाली जिल्ला अदालतको फैसला उल्टी गरी प्रतिवादीले अभियोग दाबीबाट सफाइ पाउने ठहर्याएको देखिन्छ । पुनरावेदन अदालत दिपायलको उक्त फैसलामा चित्त नबुझाई वादी नेपाल सरकारले यस अदालतमा प्रस्तुत पुनरावेदन पत्र दायर गरेको देखिन्छ ।
३. प्रस्तुत मुद्दामा प्रतिवादीले पीडितलाई राति आफ्नै कोठामा सुतिरहेको अवस्थामा जबरजस्ती करणी गरेको भनी किटानी जाहेरी परेको देखिन्छ भने पीडितले मौकामा गरेको कागजमा राति सुतिरहेको अवस्थामा करणी गरेको, सुरूमा आफ्नो श्रीमान् सोची केही नबोलेको तर पछि आफ्नो श्रीमान् नभएको थाहा पाई हो-हल्ला गरेको भनी प्रस्ट रूपमा उल्लेख गरेको देखिन्छ । त्यसैगरी त्यस दिन उक्त घरमा रहेकी पीडितकी सासु विरमादेवी रावलले प्रतिवादी उक्त दिन आफ्नो घरमा आएको, जाहेरवाला हर्क रावल छ, छैन भनी सोधेको, आफूलाई बिँडी पनि खान दिएको र बुहारी सुतेको कोठामा गई बुहारी सुतेको मौका छोपी जबरजस्ती करणी गरेको भनी मौकाको कागजमा उल्लेख गरेको देखिन्छ । प्रतिवादीले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयानमा समेत उक्त दिन आफूले मादक पदार्थ सेवन गरी पीडितको कोठामा पीडित सुतिरहेको अवस्थामा गई करणी गर्दा कुनै प्रकारको प्रतिकार गरेकी थिइन् भन्ने बेहोराको बयान गरेको देखिन्छ भने सुरू अदालतमा गरेको बयानमा पनि आफूले पीडितलाई करणी गरेको र करणी गर्दाको अवस्थामा पीडित मस्त निद्रामा रहेकोले निजलाई थाहा नभएको भनी उल्लेख गरेको देखिन्छ । जसबाट पीडितलाई आफूले करणी गरेको भनी स्वयं प्रतिवादीले अनुसन्धान अधिकारी तथा अदालतसमक्ष स्वीकार गरेको पाइयो । अतः प्रस्तुत मुद्दाको तथ्यहरूको विश्लेषण गरी हेर्दा यी प्रतिवादी रातिको समयमा मादक पदार्थ सेवन गरी पीडितको घरमा गई पीडितको श्रीमान् भएको झुक्यानमा पारी पीडितलाई करणी गरेको देखिन्छ ।
४. कुनै व्यक्तिले कसैलाई निजको सहमति बिना करणी गर्छ भने त्यो जबरजस्ती करणी हुन्छ । जबरजस्ती करणी हो वा होइन भनी हेर्नको लागि करणी गर्दा दुवै पक्षको सहमति थियो वा थिएन भनी हेर्नुपर्ने हुन्छ र त्यसरी दिइने सहमति कुनै पनि प्रकारको डर, धम्की, दबाब, प्रभाव वा झुक्यानमा नपारी स्वतन्त्र किसिमबाट दिइएको हुनुपर्छ । यसै सम्बन्धमा मुलुकी ऐन, जबरजस्ती करणीको महलको दफा १ (ख) मा डर, त्रास, धाक देखाई वा करकाप, अनुचित प्रभाव, झुक्यानमा पारी वा जोर जुलुम गरी वा अपहरण गरी वा शरीर बन्धक राखी लिएको मन्जुरीलाई मन्जुरी मानिने छैन भनी व्यवस्था गरेको देखिन्छ । यसरी कुनै व्यक्तिले कसैलाई तथ्यको भ्रममा पारी करणी गर्छ भने पनि त्यसलाई सहमतिमा भएको करणी भनी मान्न मिल्दैन । प्रस्तुत मुद्दामा प्रतिवादीले पीडितलाई करणी गरेको तथ्यमा कुनै विवाद छैन । स्वयं प्रतिवादीले नै अधिकारप्राप्त अधिकारी तथा सुरू अदालतमा उक्त कुरालाई स्वीकार गरेको छ । प्रतिवादीले आफ्नो बयानमा आफूले करणी गर्दा पीडितले कुनै प्रकारको प्रतिकार नगरेको भनी उल्लेख गरेको भए तापनि रातिको समयमा पीडितले प्रतिवादीलाई आफ्नो श्रीमान् ठानी प्रतिकार नगरेको देखिन्छ । रातिको समयमा आफू सुतेको कोठामा आएको मान्छेलाई पीडितले आफ्नो श्रीमान् ठान्नु स्वभाविक नै
हो । अर्को व्यक्तिलाई आफ्नो श्रीमान् ठानी प्रतिकार नगरेको कारणले पीडितले करणीको लागि सहमति दिएकी थिइन् भनी अर्थ गर्न मिल्दैन । रातिको समयमा अर्काको श्रीमतीको कोठामा गई आफू नै श्रीमान् भएको भ्रम पारी पीडितलाई झुक्यानमा पारी करणी गरिन्छ भने त्यसलाई जबरजस्ती करणी नै मान्नु पर्ने हुन्छ । यी प्रतिवादीले पीडितलाई जबरजस्ती करणी गरेको नै देखिन्छ ।
५. प्रस्तुत मुद्दामा पीडितले सुरू अदालतमा प्रतिवादीले आफूलाई जबरजस्ती करणी गरेको होइन भनी बकपत्र गरेकोले अभियोग मागदाबीबाट सफाइ पाउनु पर्छ भनी पुनरावेदन जिकिर लिएको देखिन्छ भने पुनरावेदन अदालत दिपायलले पनि सोही आधारमा प्रतिवादीलाई अभियोग दाबीबाट सफाइ दिने ठहर्याएको देखिन्छ । सो सम्बन्धमा विचार गर्दा प्रतिवादीले आफूलाई जबरजस्ती करणी गरेको होइन भनी पीडितले सुरू अदालतमा प्रतिकूल (Hostile) बकपत्र गरेको भए तापनि मौकामा गरेको कागजमा प्रतिवादीले आफूलाई जबरजस्ती करणी गरेको भनी उल्लेख गरेको देखिन्छ । कुनै व्यक्तिले आफू कुनै अपराधबाट पीडित भएको भनी जाहेरी दिन्छ र सोको आधारमा राज्यका जिम्मेवार निकायहरूबाट अनुसन्धान र अभियोजन भई सक्षम अदालतसमक्ष मुद्दासमेत दायर भइसकेको अवस्थामा अदालतमा जाहेरी दिने व्यक्ति वा पीडितले प्रतिकूल बकपत्र गर्छ भने सोको आधारमा मात्र उक्त अपराध घटेको थिएन भनी निष्कर्षमा पुग्न मिल्दैन । निश्चय नै पीडितको बकपत्रले अपराधको सम्बन्धमा निर्णय गर्नको लागि महत्त्वपूर्ण भूमिका खेल्छ तर पीडितले अदालतमा आएर आफ्नो भनाइ परिवर्तन गर्यो भन्दैमा अन्य सबुद प्रमाणहरूबाट अपराध घटेको पुष्टि हुँदाहुँदै प्रतिवादीलाई अभियोग दाबीबाट सफाइ दिने गरी निष्कर्षमा पुग्नु न्यायसङ्गत हुन सक्दैन । घटना घटेको समय व्यतित हुँदै जाँदा प्रतिवादीउपरको आक्रोश विस्तारै मत्थर हुँदै जाने, प्रतिवादी र पीडितहरू एउटै समाजमा बस्नुपर्ने, आर्थिक तथा सामाजिक कारण तथा कतिपय अवस्थामा पीडितलाई पर्याप्त मात्रामा सुरक्षा प्रदानसमेत गर्न नसक्दा पीडितले अदालतमा प्रतिकूल बकपत्र गर्न सक्छ तर पीडितले प्रतिकूल बकपत्र गर्यो भन्दैमा अपराधीलाई आपराधिक दायित्वबाट उन्मुक्ति दिन मिल्दैन । यस अदालतबाट पनि यसअघि विभिन्न मुद्दाहरूमा पीडितले प्रतिकूल बकपत्र गरेको आधारमा मात्र प्रतिवादीलाई सफाइ दिन नमिल्ने भनी व्याख्या भइसकेको अवस्था छ । यसै सम्बन्धमा नेपाल सरकार वि. श्याम माझी (ने.का.प.२०६१, नि.नं.७४११, पृ.८९३) भएको मुद्दामा यसै अदालतको संयुक्त इजलासबाट फौजदारी मुद्दामा अभियुक्तले अपराध गरेको भन्ने तथ्यगत सबुदहरूको आधारहरूमा निर्णय गर्ने कुरा हो । अपराधीलाई बचाइदिने नियतले पीडितले प्रतिकूल बकपत्र दिँदैमा ऐनको व्यवस्था निष्क्रिय हुने गरी जबरजस्ती करणीको महलको १०. नं. आकर्षित नहुने गरी निर्णय गर्नु न्यायसङ्गत नहुने भनी व्याख्या भएको देखिन्छ । त्यसैगरी कुमार गुरूङ वि. नेपाल सरकार (ने.का.प.२०७४,अंक ५, नि.नं.९८१२) भएको मुद्दामा पनि यस अदालतबाट हाम्रो समाजमा सामाजिक र पारिवारिक स्थितिको कारणले प्रतिवादीलाई सजायबाट उन्मुक्ति दिने नियतले स्वयम् पीडितलगायत कसैले अदालतमा आई मौकाको बयानविपरीत इन्कारी बयान दिन सक्ने स्थितिलाई ध्यानमा राखी न्यायकर्ता त्यसतर्फ सजग हुनुपर्छ । मिसिल संलग्न प्रमाणहरूको विश्लेषण गरी प्रतिवादीले कसुर गरेको हो वा होइन भनी निष्कर्षमा पुग्नुपर्छ । निरपराध ठहर हुने गरी कसैले प्रतिवादीका हकमा बयान दिएको आधारबाट मात्र प्रतिवादीलाई उन्मुक्ति दिन नमिल्ने भनी व्याख्या गरेको देखिन्छ । यस अवस्थामा पीडितले नै अदालतमा आई प्रतिवादीले मलाई करणी गरेको होइन भनी बकपत्र गरिसकेको अवस्थामा प्रतिवादीलाई जबरजस्ती करणीजस्तो गम्भीर अपराधमा कसुरदार ठहर गर्न मिल्दैन भन्ने पुनरावेदन जिकिरसँग यो इजलास सहमत हुन सकेन ।
६. अतः माथि विवेचित कारण र आधारमा प्रतिवादी कर्णबहादुर साउदउपर पीडितलाई जबरजस्ती करणी गरेको भनी किटानी जाहेरी परेको, पीडितले मौकामा अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयानमा प्रतिवादीले आफूलाई जबरजस्ती करणी गरेको भनी उल्लेख गरेको तथा स्वयम् प्रतिवादीले अधिकारप्राप्त अधिकारी तथा अदालतसमक्ष गरेको बयानमा आफूले पीडित निदाएको समयमा गई जबरजस्ती करणी गरेको भनी स्वीकार गरेको अवस्थासमेतबाट यी प्रतिवादीले पीडितलाई जबरजस्ती करणी गरेको पुष्टि हुन आएको तथा पीडितले आफ्नो उमेर १७ वर्ष भनी अदालतमा खुलाएको अवस्थामा प्रतिवादी कर्णबहादुर साउदलाई अभियोग मागदाबीबाट सफाइ दिने ठहर्याएको पुनरावेदन अदालत दिपायलको मिति २०६७।५।२० को फैसला मिलेको नदेखिँदा उल्टी भई यी प्रतिवादी कर्णबहादुर साउदलाई मुलुकी ऐन जबरजस्ती करणीको महलको १ नं. र ३(३) नं. विपरीतको कसुरमा सोही महलको ३(४) नं बमोजिम ५ वर्ष कैद र पीडितलाई प्रतिवादीबाट रू.२५,०००।- क्षतिपूर्ति भराइदिने ठहर्छ । सो ठहर्नाले अरू तपसिलबमोजिम गर्नू ।
तपसिल
माथि इन्साफ खण्डमा लेखिएबमोजिम प्रतिवादी कर्णबहादुर साउदलाई ५ वर्ष कैद र प्रतिवादीबाट पीडितलाई रू.२५,०००।- क्षतिपूर्ति हुने ठहरेकोले प्रतिवादी थुनामा बसेको अवधि कट्टा गरी बाँकी कैद असुल गर्नु तथा प्रतिवादीबाट पीडितलाई रू.२५,०००।- क्षतिपूर्ति कानूनबमोजिम भराइदिनु भनी सुरू कैलाली जिल्ला अदालतमा लेखी पठाउनू ।
विशेष प्रकृतिका मुद्दाहरूको कारबाहीमा पक्षहरूको गोपनीयता राख्नेसम्बन्धी कार्यविधि निर्देशिका‚ २०६४ बमोजिम जबरजस्ती करणी मुद्दामा पीडितको परिचयात्मक विवरण गोप्य राख्नुपर्नेमा प्रस्तुत मुद्दामा सुरू अनुसन्धानदेखि नै पीडितको नाम र अन्य विवरणहरू गोप्य राखेको नदेखिँदा आगामी दिनहरूमा निर्देशिकाले निर्दिष्ट गरेको पीडितहरूको नाम र अन्य परिचयात्मक विवरण गोप्य राखी मुद्दाको अनुसन्धान‚ अभियोजन र सुनुवाइ गर्नु भनी सम्बन्धित प्रहरी कार्यालय‚ सरकारी वकिल कार्यालय र अदालतमा लेखी पठाउनू ।
प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाई दिनू ।
उक्त रायमा सहमत छु ।
न्या. विश्वम्भरप्रसाद श्रेष्ठ
इजलास अधिकृत: सन्देश श्रेष्ठ
इति संवत् २०७४ फागुन १३ गते रोज १ शुभम् ।