निर्णय नं. १०१३५ - जालसाजी
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश केदारप्रसाद चालिसे
माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत
फैसला मिति : २०७५।६।१९
०६८-CR-११५४
मुद्दा : जालसाजी
पुनरावेदक / वादी : जिल्ला दाङ, नारायणपुर गाउँ विकास समिति वडा नं. २ ठुटेटाटी बस्ने नारायणी दाहाल
विरूद्ध
प्रत्यर्थी / प्रतिवादी : जिल्ला दाङ, नारायणपुर गाउँ विकास समिति वडा नं. २ ठुटेटाटी घर भई हाल दाङ जिल्ला, मानपुर गाउँ विकास समिति वडा नं. ९ बस्ने माधवप्रसाद दाहालसमेत
जालसाजी हुनका लागि जसका विरूद्ध जालसाज कार्य गरिन्छ, उसलाई थाहा नदिई वा नहुने गरी गरिने प्रक्रिया हो । तर प्रस्तुत मुद्दामा पुनरावेदक वादी आफैँ स्वयमले आफ्नो नाममा रहेको जग्गालाई स्वतः स्फूर्तरूपमा आफ्नो इच्छानुसार नातिलाई सम्बन्धित मालपोत कार्यालयको रोहबरमा गई सनाखत भई रजिस्ट्रेसन पारित गरी दिएको तथ्यलाई हाल आएर मलाई झुक्याई बढी जग्गा र हालैको बकसपत्र पारित गरिलिए भन्ने मुख्य पुनरावेदक वादीको जिकिर भएको पाइन्छ, जुन तथ्य किर्ते कागजको ३ नं. अनुसार जालसाज भन्न मिल्ने अवस्था नदेखिने ।
(प्रकरण नं.५)
पुनरावेदक / वादीका तर्फबाट :
प्रत्यर्थी / प्रतिवादीका तर्फबाट :
अवलम्बित नजिर :
ने.का.प.२०५१, अंक ३, पृ.२०५
सम्बद्ध कानून :
सुरू फैसला गर्नेः
मा.जि.न्यायाधीश श्री महम्मद जुनैद आजाद
दाङ जिल्ला अदालत
पुनरावेदन तहमा फैसला गर्नेः
मा. मुख्य न्यायाधीश श्री विश्वनाथ जोशी
माननीय न्यायाधीश श्री शेषराज शिवाकोटी
पुनरावेदन अदालत, तुलसीपुर, दाङ
फैसला
न्या.केदारप्रसाद चालिसे : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ (१) (ग) बमोजिमपर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छ:-
म फिरादीले मेरो अंशबापतको जग्गा जमिन आफ्ना नाउँमा भएकोले सोही जग्गाको आयस्रोतबाट जीवन गुजारा गरिरहेकोमा विपक्षी नाति माधवप्रसाद दाहाल बारम्बार मेरो सामु आई मसँग हजुरआमा तपाइँको हेरविचार गर्छु, तपाइँको नाउँमा भएको जग्गामध्ये मलाई २/४ कट्टा शेषपछिको बकसपत्र गरिदिनुहोस् भनी अनुरोध गरेकाले इन्कार गर्न नसकी मेरो नाउँमा रहेको जग्गामध्ये दाङ नारायणपुर १ ख कि.नं. ७३८ को ०-३-१७ को जग्गा शेषपछिको बकसपत्र गरी दिनको लागि मन्जुर भएकोमा म आँखा नदेख्ने ७९ वर्षकी वृद्ध लेखपढ गर्न नजान्ने अशक्त महिला भएकीले निज विपक्षी नाति माधव दाहालको विश्वासमा परी अर्को विपक्षी प्रेमबहादुर बस्नेतले पनि नातिलाई शे.व. गरिदिनुस् म साक्षी बसिदिन्छु भनी विश्वासमा परी उल्लिखित जग्गा मालपोत कार्यालयमा गई विपक्षी माधव दाहालको नाउँमा शे.व. गरिदिएको थिएँ । यसरी निज माधवलाई शेषपछिको बकसपत्र गरिदिएपछि निज र निजको परिवारले मलाई पालन पोषण नगरी अब हामीले तिमीलाई यो घरमा राख्न सक्दैनौं बस्न पनि दिदैनौं जहाँ जान्छ्यौं जाउ भनेकाले किन यसो भन्छौं भन्दा तिम्रो नाउँका सबै जग्गा मैले हा.व.द्वारा आफ्नो नाउँमा गराई सकेको छु भनी जवाफ दिएकाले मिति २०६५ साल वैशाख १५ गते जिल्ला मालपोत कार्यालय दाङमा गई नक्कल सारी हेर्दा अन्यायी माधव दाहाल र प्रेमबहादुर बस्नेतले मलाई झुक्याई शेषपछिको बकसपत्रको लिखत लेख्नु पर्नेमा हालैको बकसपत्रको लिखत खडा गरी मेरो नाउँमा रहेको दाङ नारायणपुर वा.नं. १ कि.नं. ४३, ५४, ७३४, ७६६, ७४०, ७४२ र १३८ को सम्पूर्ण जग्गा मलाई झुक्याई लिखतमा शेषपछिको लेखिएको छ भनी अन्यायी माधव र प्रेमबहादुरले जाल प्रपञ्च र षड्यन्त्र गरी मेरो सम्पूर्ण जग्गालाई हालैको बकसपत्रद्वारा जालसाजीपूर्ण तवरबाट मेरो हक टुटाएकाले माधव दाहालको नाउँमा मिति २०६३।९।१३ मा गएको र.नं. २४९३ नं. को पारित हालैको बकसपत्रको लिखतलाई जालसाजी घोषित गरी निष्क्रिय तुल्याई अन्यायीहरूलाई सजाय जरिवानासमेत गरिपाउँ भन्ने फिरादपत्र ।
विपक्षी आफैँले मलाई मेरो वृद्ध अवस्था भयो । तैंले मेरो हेरचाह सुसार गरिस् तसर्थ मेरो नाममा रहेको विभिन्न कित्ताहरूको ज.वि. २-११-० हालैको बकसपत्र गरिदिन्छु । मालपोत कार्यालय दाङमा हिँड् जाऔं भनी पटकपटक भन्दै आएबमोजिम मैले बज्यैको इच्छालाई इन्कार गर्न नसकि साथै गई मिति २०६३।९।१३ मा र.नं. २४९३ को हालैको बकसपत्र रजिस्ट्रेसन पारित गरिदिनु भएको हो । प्रतिवादीमध्येको म प्रेमबहादुर बस्नेतले बजै नातिको बीचमा हालैको बकसपत्र लिँदा दिँदा जालसाजी गर्नुपर्ने कुनै कारण र अर्थ रहँदैन । विपक्षी आफूले मैले नातिलाई हेरचाह गरेबापत मेरो नाममा रहेको जग्गा हालैको बकसपत्रद्वारा दिन लागेको छु संयोगले तपाइँसँग भेट भयो । उक्त लिखतमा साक्षी बसी दिनुहोस् भनी अनुरोध गरेकोले किनारामा साक्षी बसी सहिछाप गरिदिएको हुँ । यी विपक्षीले मसमेतलाई जालसाज षड्यन्त्र गरेमा मलाई समेत प्रतिवादी बनाई दायर भएको फिराद झुठ्ठा भएको प्रस्ट देखिन्छ । विपक्षी झुठ्ठा फिराद दाबीबाट फुर्सद दिलाई पाउँ भन्ने संयुक्त प्रतिउत्तरपत्र ।
जग्गा बकसपत्र गरिलिने दिने दुवै मन्जुरी भई राजीखुसीबाट उक्त जग्गा हा.व. पास भएको
हो । प्रतिवादी माधवप्रसाद दाहालले आफ्नो घरमा राखी औषधी उपचार तथा सेवा गरेबापत खुसीराजीबाट वादीले प्रतिवादीलाई उक्त जग्गा बकसपत्र गरिदिनु भएको हो । जालसाज कार्य कुनै भएको होइन भन्नेसमेत बेहोराको प्रतिवादीका साक्षी कमला न्यौपानेले गरेको बकपत्र ।
वादी बिरामी भएको हुँदा प्रतिवादीहरूले औषधी उपचार गर्न अस्पताल लग्ने भनी बुढी आँखा नदेख्ने मानिसलाई झुक्याएर मालपोत कार्यालय, दाङमा लिई वादीसँग भएको सम्पूर्ण सम्पत्तिलाई आफ्नो नाउँमा बकसपत्र गरी गराई जालसाजी कार्य गरेका हुन् भन्नेसमेत बेहोराको वादीका साक्षी चुके थारूले गरेको बकपत्र ।
मालपोत कार्यालय दाङबाट पारित र.नं.२४९३ मिति २०६३।९।१३ को हा.व. को प्रमाणित प्रतिलिपि मिसिल सामेल रहेको ।
फिरादीको हक मेटिने कार्य झुक्यानबाट भएको देखिएकाले फिरादीको फिरादी दाबी पुग्ने ठहर्छ । मुलुकी ऐन किर्ते कागजको १० नं. बमोजिम प्रतिवादी माधवप्रसाद दाहाललाई रू.२००।- जरिवाना हुने र प्रतिवादी प्रेमबहादुर बस्नेतले ऐ. को १४ नं. बमोजिम रू.१००।– जरिवाना हुने ठहर्छ भन्ने दाङ देउखुरी जिल्ला अदालतको मिति २०६६।३।११ को फैसला ।
आफ्नो नाममा रहेको जग्गालाई विपक्षी बज्यैले म नाति माधवप्रसाद दाहाललाई निजको सेवा र हेरचाह गरेबापत स्वतः स्फूर्ति रूपमा इच्छानुसार आफैँले मालपोत कार्यालय दाङबाट रजिस्ट्रेसन पारित गरी दिएको हालैको बकसपत्रको लिखत जालसाजीपूर्वक भएको होइन । हाल गलत नियत भएको मानिसहरूको गफलतमा परी जालसाजी गरेको भनी दिएको झुठ्ठा एवं काल्पनिक फिरादका आधारमा मिसिल संलग्न कागज प्रमाणको विवेचना नै नगरी उक्त लिखतलाई जालसाज ठहर्याई हामीलाई सजाय गर्ने गरेको सुरू फैसला त्रुटिपूर्ण हुँदा बदर उल्टी गरिपाउँ भन्ने प्रतिवादीहरूको पुनरावेदन अदालत तुलसीपुर दाङमा गरेको संयुक्त पुनरावेदन जिकिर ।
यसमा यसै लगाउको दे.पु.नं. १२६ को हालैको बकसपत्र बदर मुद्दामा विपक्षी झिकाउने आदेश भएकोले यस मुद्दामा पनि अ.बं.२०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम विपक्षी झिकाई पेस गर्नु भन्ने पुनरावेदन अदालत तुलसीपुरको आदेश ।
लिखत पारित गरी दिँदा सो लिखतका साक्षीहरू कारणीहरूमध्ये प्रतिवादी २ जनाले मात्रै जालसाज गरेको र अन्य व्यक्तिहरू सो कार्यमा समावेश नभएको भन्नेसमेतको भनाइलाई आधार मानेर प्रतिवादीमध्येका माधवप्रसाद दाहाल र प्रेमबहादुर बस्नेतले जालसाज गरेको ठहर्याएको सुरू दाङ देउखुरी जिल्ला अदालतको मिति २०६६।३।११ को फैसला मिलको नदेखिँदा उल्टी हुने ठहरी उक्त मिति २०६३।९।१३ को लिखत जालसाजी हो भन्ने वादी दाबी नपुग्ने ठहर्छ भन्ने मिति २०६८।१०।४ मा पुनरावेदन अदालत तुलसीपुरबाट भएको फैसला ।
अधिकारप्राप्त निकायबाट पारित भएको लिखत बदर गर्ने हो भने कानूनी प्रक्रियाकै अवमान्यता हुन जान्छ भन्ने निर्णय आधारलाई दृष्टिगत गर्दा साधिकार निकायबाट भएका गलत काम कारबाहीहरू पनि कानूनअनुरूप नै हुन्छन् र साधिकार निकाय र पदाधिकारीहरूले गल्ती नै गर्दैनन् भन्ने तर्कले चुनौती दिएको छ भने मानिसले गल्ती गर्दछ जसले गल्ती गर्दैन कि त्यो भगवान हो कि पशु हो” भन्ने प्रसिद्ध दार्शनिक भनाइलाई खिल्ली उडाएको छ । गल्ती, कर्म, कमजोरी जुनसुकै निकाय वा पदाधिकारीबाट पनि हुन सक्छ भन्ने मान्यताको आधारमा तहतह अदालत निकाय र पदाधिकारीको व्यवस्था गरिएको हुन्छ । सर्वस्वीकार्य र स्थापित मान्यतालाई दृष्टिगत नै नगरी गरेको पुनरावेदन अदालत दाङको फैसला मनोगत र काल्पनिक भई बदर भागी छ । एक कित्ता जग्गा शे.व. गरी दिन मन्जुरी गरेकोले निवेदिकाको सम्पूर्ण जग्गा हालैदेखिको बकसपत्र पारित गराई लिनेमा विपक्षी दुईजना मात्र प्रत्यक्ष संलग्न भएकोले न्यायिक र व्यावहारिक दृष्टिकोणले निजहरूलाई मात्र प्रस्तुत मुद्दामा विपक्षी बनाएको हुँ । सुरू दाङ देउखुरी जिल्ला अदालतको मिति २०६६।३।११ को फैसलाअनुसार विपक्षीले म पुनरावेदिकालाई झुक्याई मालपोत कार्यालय दाङबाट र.नं. २४९३, मिति २०६३।९।१३ मा पारित गराएको हालैको बकसपत्र लिखतलाई जालसाज घोषित गरी निष्क्रिय तुल्याई विपक्षीहरूलाई मुलुकी ऐन किर्ते कागजको महलबमोजिम सजाय एवम् जरिवानासमेत गरी म एक असक्त वृद्धाको संरक्षण गरिपाउँ भन्ने बेहोराको नारायणी दाहालको यस अदालतमा पर्न आएको पुनरावेदनपत्र ।
यसमा यसै लगाउको मुद्दा नं. ०६८-CI-१२७६ को हालैको बकसपत्र बदर मुद्दामा विपक्षी झिकाउने आदेश भएको र प्रस्तुत मुद्दा पनि उक्त मुद्दासँग अन्तरप्रभावी देखिएको हुँदा सोही आधार प्रमाणबाट यस मुद्दामा पनि अ.बं.२०२ नं. को प्रयोजनार्थ विपक्षीहरूलाई झिकाई आएपछि वा अवधि नाघेपछि नियमानुसार गरी पेस गर्नु भन्ने मिति २०७१।१०।१५ मा यस अदालतबाट भएको आदेश ।
नियमबमोजिम दैनिक मुद्दा पेसी सूचीमा चढी पेस हुन आएको प्रस्तुत मुद्दामा मलाई झुक्याई शेषपछिको बकसपत्रको लिखत लेख्नु पर्नेमा हालैको बकसपत्रको लिखत खडा गरी मेरो नाउँमा रहेको दाङ नारायणपुर वा.नं. १ कि.नं. ४३, ५४, ७३४, ७६६, ७४०, ७४२ र १३८ को सम्पूर्ण जग्गा मलाई झुक्याई लिखतमा शेषपछिको लेखिएको छ भनी अन्यायी माधव र प्रेमबहादुरले जाल प्रपञ्च र षड्यन्त्र गरी मेरो सम्पूर्ण जग्गालाई हालैको बकसपत्रद्वारा जालसाजीपूर्ण तवरबाट मेरो हक टुटाएकाले माधव दाहालको नाउँमा मिति २०६३।९।१३ मा गएको र.नं. २४९३ नं. को पारित हालैको बकसपत्रको लिखतलाई जालसाजी घोषित गरी निष्क्रिय तुल्याई अन्यायीहरूलाई सजाय जरिवानासमेत गरिपाउँ भन्ने फिराद दाबी । विपक्षी आफैँले मलाई मेरो वृद्ध अवस्था भयो । तैंले मेरो हेरचाह सुसार गरिस् तसर्थ मेरो नाममा रहेको विभिन्न कित्ताहरूको ज.वि. २-११-० हालैको बकसपत्र गरिदिन्छु । मालपोत कार्यालय दाङमा हिँड जाऔं भनी पटकपटक भन्दै आएबमोजिम मैले बज्यैको इच्छालाई इन्कार गर्न नसकी साथै गई मिति २०६३।९।१३ मा र.नं. २४९३ को हालैको बकसपत्र रजिस्ट्रेसन पारित गरिदिनु भएको हो । प्रतिवादीमध्येको म प्रेमबहादुर बस्नेतले बज्यै नातिको बीचमा हालैको बकसपत्र लिँदादिँदा जालसाजी गर्नुपर्ने कुनै कारण र अर्थ
रहँदैन । विपक्षी आफूले मैले नातिलाई हेरचाह गरेबापत मेरो नाममा रहेको जग्गा हालैको बकसपत्रद्वारा दिन लागेको छु संयोगले तपाइँसँग भेट भयो । उक्त लिखतमा साक्षी बसी दिनुहोस् भनी अनुरोध गरेकोले किनारामा साक्षी बसी सहिछाप गरिदिएको हुँ । यी विपक्षीले मसमेतलाई जालसाज षड्यन्त्र गरेमा मलाई समेत प्रतिवादी बनाई दायर भएको झुठ्ठा फिराद दाबीबाट फुर्सद दिलाई पाउँ भन्ने संयुक्त प्रतिउत्तरपत्र ।
फिरादीको हक मेटिने कार्य झुक्यानबाट भएको देखिएकाले फिरादीको फिरादी दाबी पुग्ने
ठहर्छ । मुलुकी ऐन किर्ते कागजको १० नं. बमोजिम प्रतिवादी माधवप्रसाद दाहाललाई रू. २००।- जरिवाना हुने र प्रतिवादी प्रेमबहादुर बस्नेतले ऐ. को १४ नं. बमोजिम रू. १००।– जरिवाना हुने ठहर्छ भन्ने दाङ देउखुरी जिल्ला अदालतको मिति २०६६।३।११ को फैसलाउपर प्रतिवादीको पुनरावेदन परी लिखत पारित गरिदिँदा सो लिखतका साक्षीहरू कारणीहरूमध्ये प्रतिवादी २ जनाले मात्रै जालसाज गरेको र अन्य व्यक्तिहरू सो कार्यमा समावेश नभएको भन्नेसमेतको भनाइलाई आधार मानेर प्रतिवादीमध्येका माधवप्रसाद दाहाल र प्रेमबहादुर बस्नेतले जालसाज गरेको ठहर्याएको सुरू दाङ देउखुरी जिल्ला अदालतको मिति २०६६।३।११ को फैसला मिलेको नदेखिँदा उल्टी गरी मिति २०६३।९।१३ को लिखत जालसाजी हो भन्ने वादी दाबी नपुग्ने ठहर्छ भन्ने मिति २०६८।१०।४ मा पुनरावेदन अदालत तुलसीपुरबाट भएको फैसलाउपर वादीको यस अदालतमा प्रस्तुत पुनरावेदन पर्न आएको देखियो ।
अब पुनरावेदन अदालतको फैसला मिलेको छ छैन ? पुनरावेदन जिकिर पुग्ने हो होइन ? सो सम्बन्धमा निर्णय दिनुपर्ने देखिन आयो ।
२. निर्णयतर्फ विचार गर्दा यसमा वादी नारायण दाहाल र प्रतिवादी बज्यै नाति नाताका रहेकोमा कुनै विवाद देखिँदैन । यी वादी आफैँले अधिकारप्राप्त निकाय मालपोत कार्यालय दाङमा गई प्रतिवादी माधवप्रसाद दाहाललाई मिति २०६३।९।१३ गतेका दिन र.नं. ख २४९३ को हालैदेखिको बकसपत्र लिखत रजिस्ट्रेसन पारित गरिदिएको पाइन्छ । मालपोत कार्यालयमा लिखत पारित गरिदिँदा विभिन्न चरणमा सनाखतसमेत गराउने प्रचलन रहेको
देखिन्छ । हक छाडी दिने व्यक्तिलाई सो लिखतका सम्बन्धमा सो लिखतबाट हुने परिणामको सम्बन्धमा जानकारी गराएर मात्र हक हस्तान्तरण गरी दिने प्रचलन रहेको पाइन्छ ।
३. असहाय वृद्ध लेखपढ गर्न नजान्ने रोगी फिरादी भएकोमा निजको कोही संरक्षक नराखी ३ कठ्ठा जग्गाको भनी २-११-० जग्गा हालैको बकसपत्र लिएकोले फिरादीको हक मेट्ने झुक्यानबाट भएको भनी सुरू अदालतबाट मिति २०६३।९।१३ को हालैदेखिको बकसपत्र लिखतलाई जालसाज ठहर्याएको देखिन्छ । जबकि यी प्रत्यर्थी वादीले सुरू दाङ देउखुरी जिल्ला अदालतसमक्ष मिति २०६५।६।१६ मा फिराद दायर गर्दा संरक्षक नराखी आफैँ फिराद दायर गरेको देखिन्छ । मानसिक रूपमा स्वस्थ मानिसले आफ्नो नाममा दर्ता रहेको आफ्नो हकसमेतको अचल सम्पत्ति बकसपत्र गरी दिएकोलाई जालसाजीबाट पारित गरी दिएको भन्न नमिल्ने भनी बलदेब महतो कोइरीसमेत विरूद्ध चन्द्रेश्वर महतोसमेत भएको जालसाजी मुद्दामा (ने.का.प.२०५१, अंक ३, पृष्ठ २०५) मा यस अदालतबाट सिद्धान्तसमेत प्रतिपादित भएको देखिन्छ ।
४. मुलुकी ऐन किर्ते कागजको महलको दफा ३ मा अर्काको हक मेट्ने, हदम्याद तारेख जाने वा कुनै तरहसँग नोक्सान पार्ने इत्यादि जुनसुकै मतलबले होस नगरे नभएको झुट्टा कुरा गरे भएको हो भनी वा मिति अङ्क वा बेहोरा फरक पारी सहिछाप गरी गराई कागज बनाए वा बनाउन लगाएमा समेत जालसाजी गरेको ठहर्छ भन्ने कानूनी व्यवस्था भएको पाइन्छ ।
५. जालसाजी हुनका लागि जहिले पनि जसका विरूद्ध जालसाज कार्य गरिन्छ । उसलाई थाहा नदिई वा नहुने गरी गरिने प्रक्रिया हो । तर प्रस्तुत मुद्दामा पुनरावेदक वादी आफैँ स्वयम्ले आफ्नो नाममा रहेको जग्गालाई स्वतः स्फूर्तरूपमा आफ्नो इच्छानुसार नातिलाई सम्बन्धित मालपोत कार्यालयको रोहबरमा गई सनाखत भई रजिस्ट्रेसन पारित गरी दिएको तथ्यलाई हाल आएर मलाई झुक्याई, बढी जग्गा र हालैको बकसपत्र पारित गरी लिए भन्ने मुख्य पुनरावेदक वादीको जिकिर भएको पाइन्छ । जुन कुरा तथ्य किर्ते कागजको ३ नं. अनुसार जालसाज भन्न मिल्ने अवस्था देखिँदैन ।
६. अतः प्रतिवादीमध्येका माधवप्रसाद दाहाल र प्रेमबहादुर बस्नेतले जालसाज गरेको ठहर्याएको सुरू दाङ देउखुरी जिल्ला अदालतको मिति २०६६।३।११ को फैसला उल्टी गरी मिति २०६३।९।१३ को लिखत जालसाजी हो भन्ने वादी दाबी नपुग्ने ठहर्याई पुनरावेदन अदालत तुलसीपुरबाट मिति २०६८।१०।४ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । वादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रस्तुत मुद्दाको दायरी लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाई दिनू ।
उक्त रायमा सहमत छु ।
न्या. प्रकाशमान सिंह राउत
इजलास अधिकृत: जयराम श्रेष्ठ
इति संवत् २०७५ साल असोज १९ रोज ६ शुभम् ।