निर्णय नं. १०१३७ - बैंकिङ कसुर
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री मीरा खडका
माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा
फैसला मिति : २०७४।६।२२
०७१-RB-०१२१
मुद्दा:- बैंकिङ कसुर
पुनरावेदक / प्रतिवादी : मकवानपुर, हेटौंडा नगरपालिका वडा नं.११ घर भई हाल कारागार कार्यालय भिमफेदी मकवानपुरमा थुनामा रहेको अर्जुनप्रसाद विडारी
विरूद्ध
प्रत्यर्थी / वादी : चतुरमान घलानको जाहेरीले नेपाल सरकार
वस्तुतः चेक अनादर व्यक्ति व्यक्तिबीच चेक काटी लिनु दिनु गरेको कारोबारसँग सम्बन्धित रहेको देखिन्छ । यसमा चेक दिनेको खातामा पर्याप्त रकम नभएको कारणबाट चेक धारकले चेकमा उल्लेख भएको रकम सम्बन्धित बैंकबाट भुक्तानी पाउन नसकी चेक अनादर हुन जाने ।
(प्रकरण नं.५)
बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को दफा ३(ग) मा भएको व्यवस्थाअनुसार चेकमा उल्लिखित रकम आफ्नो खातामा नभएको जानी जानी चेक काटी दिएको आधारमा मात्र बैंकिङ कसुर मान्न सकिने अवस्था नदेखिने ।
बैंकिङ कसुर हुनको लागि आफ्नो खातामा पर्याप्त रकम छैन भन्ने जानकारी हुँदाहुँदै चेक काटिएको हुनुपर्ने र चेकमा उल्लिखित रकम निजको खातामा मौज्दात नभए पनि उक्त चेकअनुसारको रकमको भुक्तानी लिएको दिएकोसमेत हुनुपर्ने हुन्छ । चेक काटिएको रकमको भुक्तानी लिँदा दिँदा बैंकका कर्मचारीसमेत संलग्न हुने हुँदा बैंकका कर्मचारी संलग्न नभएको अवस्थामा एकतर्फी चेक काटिएको आधारमा मात्र बैंकिङ कसुर हुन सक्ने देखिँदैन । "भुक्तानी लिन दिन हुँदैन" भन्ने बेहोराले भुक्तानी लिने र दिने दुवै पक्षलाई जिम्मेवार बनाउन खोजेको देखिने ।
(प्रकरण नं.६)
पुनरावेदक / प्रतिवादीका तर्फबाट :
प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता श्री सुरेन्द्र थापा
अवलम्बित नजिर :
ने.का.प.२०७२, अंक ८, नि.नं.९४५२
सम्बद्ध कानून :
बैंकिङ कसुर तथा सजाय ऐन, २०६४
सुरू फैसला गर्ने न्यायाधीश :
माननीय न्यायाधीश श्री जीवनहरि अधिकारी
माननीय न्यायाधीश श्री सरिता शर्मा
पुनरावेदन अदालत हेटौंडा
फैसला
न्या. मीरा खड्का : पुनरावेदन अदालत हेटौंडाको मिति २०७१।३।३१ को फैसलाउपर प्रतिवादीको तर्फबाट तत्कालीन न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ख) बमोजिम पुनरावेदन परी पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ ।
जिल्ला मकवानपुर हटिया गा.वि.स. वडा नं.६ कित्ता नं.५०६ ज.बि. ०-१२-३ मेरो हक भोगको जग्गा मिति २०६९।९।२७ गते दत्तराम दाहालसमेत मिली अर्जुनप्रसाद बिडारीको नाउँमा रजिस्ट्रेसन पास गराई दत्तराम दाहालको सिद्धार्थ बैंकमा रहेको खाताको रू.४,७०,०००।- को बाउन्स चेक दिएको हुँदा कानूनबमोजिम कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको चतुरमान घलानको जाहेरी दरखास्त ।
दत्तराम दाहालको यस बैंकमा कायम रहेको खाता नं.०१७१५०३८३८१ मा मिति २०६९।१२।२१ गते रू.१६८६।०३ रकम रहेको, मिति २०६९।१०।३ गते चतुरमान घलानले भुक्तानी पाउने गरी खिचिएको चेक खातामा पर्याप्त मौज्दात नरहेको कारणले बाउन्स भएको हो भन्नेसमेत बेहोराको सिद्धार्थ बैंकको पत्र ।
पक्राउ परेका नवराज बुढाथोकी, शेखर घिमिरे, अर्जुनप्रसाद विडारी र मदन कार्की जाहेरीमा उल्लेख भएका व्यक्तिहरू हुन् भन्नेसमेत बेहोराको चतुरमान घलानको सनाखत कागज ।
म मालपोत कार्यालयमा लेखापढी गर्दै आएको छु । मिति २०६९।९।२७ गते दत्तराम दाहाल, अर्जुनप्रसाद विडारी, नवराज बुढाथोकी र जाहेरवाला चतुरमान घलानलगायतका व्यक्तिहरू आई दत्तराम दाहालले उल्लिखित जग्गा चतुरमान घलानबाट अर्जुनप्रसाद बिडारीको नाउँमा रजिस्ट्रेसन राजीनामा दोहोरो कागज लेखिदिनु भनेकाले मैले लेखिदिएको
हो । निजहरूले चेकमार्फत लेनदेन भयो भनी पास गरेका हुन् । म लेखनदास भएको कारण लेखेको हुँ, बैंकिङ कसुर अपराध र ठगी गर्ने कार्यमा मेरो कुनै भूमिका छैन भन्नेसमेत बेहोराको शेखर घिमिरेको बयान ।
चन्द्रबहादुर स्याङ्तान र तिलक स्याङ्तानले हाम्रो साथीको हर्नामाडीमा जग्गा छ, धितो राखेर रकम निकाल्नु पर्यो भनेकाले मैले कागजात माग गर्दा चतुरमान घलानको नाउँमा रहेको कागज ल्याएका र जग्गाको कारोबार गर्ने मैले चिनेका नवराज गिरीलाई भनी निजमार्फत उक्त जग्गा अर्जुनप्रसाद बिडारीको नाउँमा रजिस्ट्रेसन पास गराई स्कूल रोडमा दत्तराम दाहालले सिद्धार्थ बैंकको चेक दिएका हुन् । उक्त जग्गा रजिस्ट्रेसन कागज लेख्ने काम शेखर घिमिरेले गरेका हुन् । दत्तराम दाहाल, नवराज गिरी, मदन कार्की, अर्जुनप्रसाद बिडारीसमेतको संलग्नतामा उक्त काम भएको हो । सो काम गरेबापत तेल हाल्न भनी रू.६,०००।- पाएकोमा सोबाट खर्च गरी बाँकी रहेको म र तिलक स्याङ्तानले १/१ हजार लिएका हौं भन्नेसमेत बेहोराको नवराज बुढाथोकी बयान ।
मदन कार्कीमार्फत दत्तराम दाहालसँग मेरो चिनजान भएको हो । निजले मलाई रू.१,३०,०००।- दिनु, तपाइँको नाउँमा जग्गा पास गराई दिन्छु । १ महिनामा ब्याजसहित दिने र सो काम गरेबापत रू.५०,०००।- समेत दिनेछु भनेकाले उक्त जग्गा मेरो नाउँमा पास गराई अरूण फाइनान्समा राखी दत्तराम दाहालले रकम निकालेका हुन् । सो जग्गाबापत दत्तराम दाहालले जाहेरवालालाई रू.४,७०,०००।- को चेक काटी दिएका हुन् । सो चेक बाउन्स भएको कुरा पछि थाहा पाएको हुँ । सो बेला म, मदन कार्की, नवराज गिरी, नवराज बुढाथोकीसमेत थियौं भन्नेसमेत बेहोराको अर्जुनप्रसाद बिडारीको बयान ।
दत्तराम दाहाल मेरो साडु भाइ नाताका
हुन् । निजले जग्गाको कारोबार गर्ने कुरा जानकारी थियो । निजले अर्जुनप्रसाद बिडारीलाई केही रकम दिनु जग्गा पास गरी दिन्छु भनेको कुरा अर्जुनले भन्दा मैले दिए हुन्छ भनेको हुँ, पछि चतुरमान घलानको जग्गा अर्जुनप्रसाद बिडारीको नाउँमा पास गरी जग्गाधनीलाई रू.४,७०,०००।- को बाउन्स चेक दिएको कुरा जानकारी भएको हो भन्नेसमेत बेहोराको मदन कार्कीको बयान ।
ऋणी चतुरमान घलान धनी अर्जुनप्रसाद बिडारी भई र.नं.१५६९ (क) मिति २०६९।९।२७ को रजिस्ट्रेसन दर्ताअनुसार उक्त ०-१२-३ जग्गाको न्यूनतम मूल्याङ्कन एवं लिखत पारित भएको रकम रू.१२,००,०००।- र राजश्व दस्तुर रू.३६,०००।- रहेको अभिलेखबाट देखिएको भन्नेसमेत बेहोराको मालपोत कार्यालय मकवानपुरको पत्र ।
जाहेरवाला चतुरमान घलानको साबिक हटिया गा.वि.स. वडा नं.६ को कि.नं.५०६ ज.बि.०-१२-३ जग्गा दृष्टिबन्धक गर्ने भनी दत्तराम दाहाल, अर्जुनप्रसाद बिडारी, नवराज बुढाथोकी, मदन कार्की, नवराज गिरी र शेखर घिमिरेसमेतको मिलोमतोमा अर्जुनप्रसाद बिडारीको नाममा रजिस्ट्रेसन पास गराई दत्तराम दाहालको सिद्धार्थ बैंकमा रहेको खातामा रकम नभएको रू.४,७०,०००।- चेक दिई बैंकिङ कसुर र ठगी गरेका हुन् भन्नेसमेत बेहोराको गणेश बानियासमेतको कागज ।
प्रतिवादी दत्तराम दाहालले बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को दफा ३ को (ग) मा उल्लिखित कसुर गरेको देखिँदा निजलाई सोही ऐनको दफा १५(१) बमोजिम र उक्त कसुर गर्न सघाउ पुर्याउने प्रतिवादीहरू शेखर घिमिरे, नवराज बुढाथोकी, अर्जुनप्रसाद विडारी, मदन कार्की, नवराज गिरी, तिलकबहादुर स्याङ्तान र चन्द्र लोलाई सोही ऐनको दफा १५(६) को कसुरमा दफा १५(१) अनुरूप १५(६) बमोजिम सजाय गरिपाउँ भन्नेसमेत बेहोराको अभियोगपत्र माग दाबी ।
मैले अभियोग दाबीबमोजिम कसुर गरेको छैन, म लेखापढी व्यवसायीको हैसियतले काम गर्ने मानिस हुँ । मेरा चिनजानका व्यक्ति हरि न्यौपानेले राजीनामा लिखत लेखी दिनु पर्यो भनेकाले लिखत तयार गरी मालपोत कार्यालय प्रमुखको सामुन्ने लिखत पास भएको हो । सो काम गरेबापत चतुरमान घलानबाट रू.५००।– पारिश्रमिक पाएको हो । दिने र लिनेको बीचमा चेकको कारोबार भए नभएको सम्बन्धमा मलाई थाहा छैन । मैले अभियोग दाबीबमोजिमको कसुर नगरेकोले सफाइ पाउँ भन्ने बेहोराको प्रतिवादी शेखर घिमिरेले गरेको बयान ।
चतुरमानले मलाई मेरो नाउँको जग्गा आज अर्कैको नाउँमा पास गर्दैछु । तिमी साक्षी बसी देउभन्दा साक्षीमा बसी दिएको हुँ । म चतुरमानलाई मात्र
चिन्दछु । उक्त जग्गा राजीनामा भएपछि चेक बाउन्स भयो, पैसा नभएको चेक दिएछ भनी मलाई फोनमार्फत थाहा भएको हो । अभियोग दाबीबमोजिम कसुर नगरेकोले सफाइ पाउँ भन्ने बेहोराको प्रतिवादी नवराज बुढाथोकीले गरेको बयान ।
प्रतिवादीमध्येका दत्तराम दाहाल मेरो चिनजानका व्यक्ति हुन् । निजले चतुरमान घलानलाई चेक दिएकोसम्म देखेको हुँ, कुन कारोबारको चेक हो मलाई थाहा भएन । चेक बाउन्स भएको कुरा पक्राउ परेपछि मात्र थाहा पाएको हुँ । जाहेरी बेहोरा एवं अभियोग झुठा हुँदा सफाइ पाउँ भन्ने बेहोराको प्रतिवादी अर्जुनप्रसाद विडारीले गरेको बयान ।
कुनै पनि कागजहरूमा लिनादिनामा म साक्षी छैन । जग्गा धितो राखी रकम निकाल्ने कुरा मलाई जानकारी भएको भन्ने कुरा झुठा हो । राजीनामा पास भएको र चेक बाउन्स भएको भन्ने कुरा मैले पछि थाहा पाएको हुँ । अभियोग दाबीबमोजिम कसुर नगरेकोले सफाइ पाउँ भन्ने बेहोराको प्रतिवादी मदन कार्कीले गरेको बयान ।
जग्गा लेनदेन गर्दासमेत मदन कार्कीलाई थाहा थिएन । चतुरमान घलानलाई समेत मदन कार्कीले चिन्नु भएको छैन । जग्गा कसको हो, कसलाई बेचबिखन गरेको हो, सो सम्बन्धमा मदन कार्कीलाई थाहा नभएको हुँदा अभियोग दाबीबाट सफाइ पाउनु पर्दछ भन्ने बेहोराको प्रतिवादी मदन कार्कीको साक्षी लक्ष्मी कार्कीले गरेको बकपत्र ।
यी प्रतिवादीहरूको मिलेमतोमा रकम नभएको बैंक चेक दिएकाले कानूनबमोजिम सजाय हुनुपर्ने हो, मलाई रकम नभएको चेक दत्तराम दाहालले दिएको हो र सो चेकमा दत्तराम दाहालको सहिछाप थियो । नवराज बुढाथोकीको चेकमा हस्ताक्षर छैन, दत्तरामलगायत सबै जना संलग्न देखिएकाले प्रतिवादी बनाएको हो भन्ने बेहोराको जाहेरवाला चतुरमान घलानले गरेको बकपत्र ।
चेक कसले कसलाई दिए मलाई थाहा छैन । घटना सम्बन्धमा चतुरमान घलानबाट सुनेको हुँ । साक्षी बसिदिनु भन्दा साक्षी बसी दिएको हुँ भन्ने बेहोराको मौकामा कागज गर्ने गणेश बानियाले गरेको बकपत्र ।
जग्गा पास गर्दा जाहेरवालाले साक्षी बस्नु भनेकाले साक्षी बसेको हुँदा नवराज बुढाथोकीलाई प्रतिवादी बनाएको हो । प्रतिवादी नवराज बुढाथोकी निर्दोष हुँदा सफाइ पाउनु पर्ने हो भन्ने बेहोराको प्रतिवादी नवराज बुढाथोकीका साक्षी सिता गोलेले गरेको बकपत्र ।
अर्जुनप्रसाद विडारीले जाहेरवाला चतुरमान घलानलाई चेक दिएको नभई दत्तरामले दिएको हो, उक्त चेक दत्तरामले किन दिएका हुन् थाहा छैन । उक्त चेक दिएको खाता अर्जुनप्रसाद विडारीको होइन, त्यसैले निजलाई सजाय हुनुपर्ने होइन । मेरा श्रीमान् अर्जुनप्रसाद विडारीले रजिस्ट्रेसन पास गर्दाका दिन घरबाट रू.७,००,०००।- लिएर जानु भएको थियो भन्ने बेहोराको प्रतिवादी अर्जुनप्रसाद विडारीका साक्षी अन्जना विडारीले यस गरेको बकपत्र ।
प्रतिवादी शेखर घिमिरेले लेखापढीसम्म गरेका हुन् । अभियोग दाबीबाट सफाइ पाउनु पर्ने हो भन्ने बेहोराको प्रतिवादी शेखर घिमिरेका साक्षी पुर्णप्रसाद अर्यालले गरेको बकपत्र ।
दत्तरामले दस्तखत गरी जग्गा दृष्टिबन्धकबापत चतुरमानलाई उक्त बाउन्स भएको चेक दिएका हुन् । लिखत मैले देखेको छैन भन्ने बेहोराको मौकामा कागज गर्ने तोकबहादुर मोक्तानले गरेको बकपत्र ।
प्रतिवादीहरू दत्तराम दाहाल, नवराज गिरी, तिलकबहादुर स्याङ्तान र चन्द्र लोले म्याद गुजारी बसेका ।
प्रतिवादीमध्येका दत्तराम दाहालले आफ्नो खाता नं.०१७१५०३८३८१ मा रकम नभएको अवस्थामा जाहेरवाला चतुरमान घलानलाई रू. ४,७०,०००।- को चेक दिई चेक बाउन्स भएको देखिएको हुँदा निजलाई बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को दफा ३ (ग) अनुसारको कसुरमा निजलाई सोही ऐनको दफा १५(१) बमोजिम रू.४०००।- (चार हजार) जरिवाना र अन्य प्रतिवादीहरू शेखर घिमिरे, नवराज बुढाथोकी, अर्जुनप्रसाद विडारी, मदन कार्की, नवराज गिरी, तिलकबहादुर स्याङ्तान र चन्द्र लोले बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को दफा १५(६) को कसुर गरेको हुँदा निजहरूलाई सोही ऐनको दफा १५(६) बमोजिम जनही रू.२०००।- (दुई हजार) जरिवाना हुने ठहर्छ भन्नेसमेत बेहोराको पुनरावेदन अदालत हेटौंडाको मिति २०७१।३।३१ को फैसला ।
पुनरावेदन अदालतको फैसलामा चित्त बुझेन । मैले जाहेरवालालाई बाउन्स भएको चेक दिएको हैन । सो चेक बुझिलिन जाहेरवालालाई कुनै कर पनि गरेको वा विश्वास दिलाएको छैन । खातामा रकम भएको कुरासमेत जानकारी गराएको अवस्था छैन । मैले खातामा रकम भएको कुरासमेत जानकारी गराएको अवस्था छैन । उक्त चेक दत्तराम दाहालले जाहेरवालालाई दिँदा मेरो के भूमिका रहेको थियो सो कुरा जाहेरीमा उल्लेख गरिएको छैन । बैंक खाता मेरो नाममा रहेको पनि छैन । मेरो कुन कार्यले बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को दफा १५(६) को कसुर भयो सो कुरा जाहेरीमा उल्लेख नभएको अवस्थामा त्यस्तो हचुवाको भरमा परेको जाहेरीलाई आधार मानी मैले अभियोग दाबीअनुसारको कसुर गरेको भनी जरिवाना गरेको फैसला मिलेको छैन । मौकामा कागज गर्ने गणेश बानियाँसमेतका मानिसहरूले जाहेरवालालाई रकम नभएको बैंक खाताको चेक दिएको देखेको नभई सुनी थाहा पाएको भनी बयान गरेको अवस्था रहेको
छ । अतः मलाई बैंकिङ कसुरको अपराध गरेको ठहर्याई सजाय गरेको पुनरावेदन अदालत हेटौंडाको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी अभियोग दाबीबाट सफाइ पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी अर्जुनप्रसाद विडारीको तर्फबाट यस अदालतमा परेको पुनरावेदनपत्र ।
बैंकको खातामा रकम मौज्दात नभएको जानी जानी चेक काटी दिएको कसुरमा संलग्न मतियार भनी बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को दफा १५(१) बमोजिम पुनरावेदकलाई रू. २,०००।– जरिवाना गर्ने गरी पुनरावेदन अदालत हेटौंडाबाट फैसला भएको देखिन्छ । विनिमय अधिकारपत्र ऐन, २०३४ को दफा १०७क मा समेत बैंकमा रकम मौज्दात नभएको चेक काटी दिनेलाई सजायको व्यवस्था भएको पाइन्छ । यस्तो कसुरमा विनिमेय अधिकारपत्र ऐन, २०३४ नै आकर्षित हुने भनी यस अदालतबाट पुनरावेदक वादी नेपाल सरकार प्रत्यर्थी प्रतिवादी दुर्गा कार्की भएको बैंकिङ कसुर मुद्दामा (नेकाप २०७२, मङ्सिर, नि.नं.९४५२) प्रतिपादित न्यायिक सिद्धान्तसमेतको आधारमा प्रतिवादीलाई कसुरदार ठहर्याएको पुनरावेदन अदालत हेटौंडाको मिति २०७१।३।३१ को फैसला फरक पर्न सक्ने देखिँदा मुलुकी ऐन, अदालती बन्दोबस्तको २०२ नं. बमोजिमको प्रयोजनार्थ महान्यायाधिवक्ताको कार्यालयलाई सूचना दिई नियमानुसार गरी पेस गर्नु भन्ने यस अदालतको संयुक्त इजलासको मिति २०७३।१०।१० को आदेश ।
नियमबमोजिम आजको दैनिक मुद्दा पेसी सूचीमा चढी निर्णयार्थ इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको सुरू एवं रेकर्ड मिसिल संलग्न कागजातहरूको अध्ययन गरी प्रत्यर्थी वादी नेपाल सरकारको तर्फबाट विद्वान् सहन्यायाधिवक्ता श्री सुरेन्द्र थापाले बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को दफा ३(ग) ले आफूले काटेको चेकलाई खाम्ने रकम आफ्नो खातामा नभएको जानी जानी चेक काटी भुक्तानी लिने दिने कार्यलाई स्पष्टरूपमा बैंकिङ कसुरको रूपमा परिभाषित गरेको छ । जाहेरवालालाई दत्तराम दाहालले रू.४,७०,०००।- को चेक काटी दिएका हुन् । सो चेक बाउन्स भएको पछि थाहा भएको हो भनी अनुसन्धान अधिकारीसमक्ष बयानसमेत गरेको अवस्थामा पुनरावेदक प्रतिवादीसमेतलाई बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को दफा १५(६) को कसुरमा सोही दफा १५(६) बमोजिम जरिवाना गरेको पुनरावेदन अदालत हेटौंडाको फैसला सदर हुनुपर्छ भनी प्रस्तुत गर्नुभएको बहस जिकिरसमेत सुनियो ।
यसमा दत्तराम दाहालले बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को दफा ३(ग) मा उल्लिखित कसुर गरेकोले निजलाई सोही ऐनको दफा १५(१) बमोजिम तथा उक्त कसुर गर्नमा सघाउ पुर्याउने यी पुनरावेदक प्रतिवादी अर्जुनप्रसाद विडारी, शेखर घिमिरे, नवराज बुढाथोकी, मदन कार्की, तिलकबहादुर स्याङतान, चन्द्र लो तथा नवराज गिरीलाई सोही ऐनको दफा १५(६) को कसुरमा सोही दफाबमोजिम सजाय गरिपाउँ भन्ने अभियोग मागदाबी भएको प्रस्तुत मुद्दामा प्रतिवादी दत्तराम दाहाललाई सोही ऐनको दफा ३(ग) को कसुरमा ऐ. दफा १५(१) बमोजिम रू.४,०००।- जरिवाना हुने र अन्य प्रतिवादीहरूलाई ऐ. दफा १५(६) को कसुरमा सोही नं. बमोजिम जनही रू.२,०००।- जरिवाना हुने ठहर्याई पुनरावेदन अदालत हेटौंडाले गरेको फैसलाउपर प्रतिवादीमध्येका अर्जुनप्रसाद विडारीको तर्फबाट प्रस्तुत पुनरावेदन परेको रहेछ ।
उल्लिखित तथ्य, पुनरावेदन जिकिर एवं विद्वान् सहन्यायाधिवक्ताले प्रस्तुत गर्नुभएको बहससमेतको सन्दर्भमा पुनरावेदन अदालत हेटौंडाको फैसला मिलेको छ छैन ? र प्रतिवादीको प्रस्तुत पुनरावेदन जिकिर पुग्न सक्ने हो होइन ? भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने देखियो ।
२. अब, निर्णयतर्फ विचार गर्दा यसमा प्रतिवादी दत्तराम दाहालले आफ्नो नाउँमा सिद्धार्थ बैंकमा रहेको खाता नं. ०१७१५०३८३८१ उल्लेख गरी जाहेरवाला चतुरमान घलानलाई भुक्तानी पाउने गरी रू.४,७०,०००।- चेक काटी दिएको तर चेकमा उल्लेख गरिएको रकम नभएको, सो नं.को खातामा रू.१६८६।०३ मात्र रहेकोले उक्त चेक बाउन्स भएको तथ्य सिद्धार्थ बैंकको पत्रसमेतबाट देखिएको हुँदा प्रतिवादी दत्तराम दाहालले चतुरमान घलानलाई सिद्धार्थ बैंकमा रहेको खाता नं. ०१७१५०३८३८१ बाट भुक्तानी पाउने गरी रू.४,७०,०००।- को चेक दिएको र सो खातामा पर्याप्त रकम नभई चेक बाउन्स भएको तथ्यमा कुनै विवाद रहेको देखिँदैन ।
३. चेक बाउन्स भएकोले प्रतिवादी दत्तराम दाहाललाई बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को दफा ३(ग) को कसुरमा निजलाई ऐ. ऐनको दफा १५(१) बमोजिम र उक्त कसुर गर्न सघाउ पुर्याउने यी पुनरावेदक प्रतिवादीहरू अर्जुनप्रसाद विडारी, शेखर घिमिरे, नवराज बुढाथोकी, मदन कार्की, नवराज गिरी, तिलबहादुर स्याङ्तान र चन्द्र लोलाई ऐ. ऐनको दफा १५(६) को कसुरमा ऐ. ऐनको दफा १५(६) बमोजिम सजाय गरिपाउँ भनी अभियोग मागदाबी लिएकोमा प्रतिवादीहरूलाई अभियोग दाबीअनुसार नै जरिवाना हुने ठहर्याई पुनरावेदन अदालतले फैसला गरेको देखिन्छ ।
४. वादी नेपाल सरकारले प्रतिवादीहरूउपर अभियोग दाबी लिएको बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को दफा ३ग मा "कसैले पनि बैंक तथा वित्तीय संस्थामा आफूले काटेको चेकलाई खाम्ने रकम आफ्नो खातामा नभएको जानी जानी चेक काटी भुक्तानी लिन दिन हुँदैन" भन्ने व्यवस्था रहेको
पाइन्छ । उक्त व्यवस्थाबाट केवल आफ्नो बैंक खातामा खाम्ने रकम छैन भनी जान्दाजान्दै चेक काट्दैमा बैंकिङ कसुर हुन नसक्ने, त्यसरी काटिएको चेकबाट भुक्तानी लिने दिनेसम्मको कार्य सम्पन्न हुनुपर्ने देखिन्छ । सामान्यतः आफ्नो बैंक खातामा के कति रकम मौज्दात छ वा छैन भन्ने कुराको हेक्का चेक काट्ने व्यक्तिलाई हुनुपर्दछ । कुनै कारणवश सो कुरा यकिन हुन नसकी वा तथ्यको भ्रममा परी वा झुक्यानमा परी खातामा मौज्दात रहेको रकमभन्दा बढी रकमको चेक काटिन सक्दछ । बैंकिङ कसुर कायम हुन त्यस्तो चेकको रकम भुक्तानी दिने र लिने कार्य अनिवार्यरूपमा सम्पन्न भएको हुनुपर्दछ । खातामा मौज्दात रहेको रकमभन्दा बढी रकम भुक्तानी पाउने गरी चेकसम्म काटिएको तर सो चेकबाट रकम लिनु दिनु नभएको, बैंकले रकम अपर्याप्त रहेको भनी चेक धारकलाई चेक फिर्ता गरिएको कार्यलाई उक्त कानूनी व्यवस्थाको परिप्रेक्ष्यमा बैंकिङ कसुर मान्न मिल्ने देखिँदैन ।
५. बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ आउनुपूर्व नै लागू भएको विनिमेय अधिकारपत्र ऐन, २०३४ को दफा १०७क मा "बैंकमा आफ्नो निक्षेप छैन वा निक्षेपभए पनि पर्याप्त छैन भन्ने जानी जानी कुनै व्यक्तिले चेक काटी कसैलाई हस्तान्तरण गरेमा र त्यसरी हस्तान्तरण गरिएको चेक भुक्तानीको लागि सम्बन्धित बैंकसमक्ष प्रस्तुत गर्दा पर्याप्त निक्षेप नभएको कारणबाट बैंकबाट चेक अनादर भएमा चेक काट्ने व्यक्तिबाट चेकमा उल्लिखित रकम र ब्याजसमेत धारकलाई भराई चेक काट्ने व्यक्तिलाई तीन महिनासम्म कैद वा तीन हजार रूपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ” भन्ने व्यवस्था भएको पाइन्छ । आफ्नो खातामा पर्याप्त रकम छैन भनी जान्दा जान्दै चेक काटेको र चेक धारकले सम्बन्धित बैंकबाट भुक्तानी पाउन नसकेको अवस्थालाई चेक अनादरको रूपमा विनिमय अधिकारपत्र ऐन, २०३४ को दफा १०७क मा रहेको उपर्युक्त व्यवस्थाले चित्रण गरेको देखिन्छ । वस्तुतः चेक अनादर व्यक्ति व्यक्तिबीच चेक काटी लिनु दिनु गरेको कारोबारसँग सम्बन्धित रहेको देखिन्छ । यसमा चेक दिनेको खातामा पर्याप्त रकम नभएको कारणबाट चेक धारकले चेकमा उल्लेख भएको रकम सम्बन्धित बैंकबाट भुक्तानी पाउन नसकी चेक अनादर हुन जाने हुन्छ ।
६. यसरी बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को दफा ३(ग) मा भएको व्यवस्थाअनुसार चेकमा उल्लिखित रकम आफ्नो खातामा नभएको जानी जानी चेक काटी दिएको आधारमा मात्र बैंकिङ कसुर मान्न सकिने अवस्था देखिँदैन । बैंकिङ कसुर हुनको लागि आफ्नो खातामा पर्याप्त रकम छैन भन्ने जानकारी हुँदाहुँदै चेक काटिएको हुनुपर्ने र चेकमा उल्लिखित रकम निजको खातामा मौज्दात नभए पनि उक्त चेक अनुसारको रकमको भुक्तानी लिएको दिएकोसमेत हुनुपर्ने हुन्छ । चेक काटिएको रकमको भुक्तानी लिँदा दिँदा बैंकका कर्मचारीसमेत संलग्न हुने हुँदा बैंकका कर्मचारी संलग्न नभएको अवस्थामा एकतर्फी चेक काटिएको आधारमा मात्र बैंकिङ कसुर हुन सक्ने देखिँदैन । "भुक्तानी लिन दिन हुँदैन" भन्ने बेहोराले भुक्तानी लिने र दिने दुवै पक्षलाई जिम्मेवार बनाउन खोजेको देखिन्छ ।
७. तथ्यगत रूपमा हेर्दा प्रस्तुत मुद्दामा प्रतिवादी दत्तराम दाहालले जाहेरवाला चतुरमान घलानलाई रू.४,७०,०००।- को सिद्धार्थ बैंकमा रहेको खाता नं. ०१७१५०३८३८१ को चेक काटी दिएको तर सो चेकअनुसार मौज्दात रकम नभएकोले चेक अनादर भएको देखिन्छ । पर्याप्त मौज्दात रकम नभएपनि चेक धारकले उक्त रकम बैंकबाट भुक्तानी लिएको वा पाएको भन्ने देखिँदैन । यसरी चेक अनुसारको रकम भुक्तानी लिनु दिनु गरेको क्रिया नै नभएको अवस्थामा प्रतिवादीहरूले बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को ३(ग) तथा दफा १५(छ) को कसुर गरेका रहेछन् भनी उक्त कानूनी व्यवस्थाको सन्दर्भमा मान्न मिल्ने देखिएन ।
८. आफूले काटेको चेकलाई खाम्ने रकम आफ्नो खातामा नभएको जानी जानी चेक काटी बैंक तथा वित्तीय प्रणालीमा असर पार्ने गरी भुक्तानी लिने दिने कार्यमात्र बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गत पर्ने, व्यक्ति व्यक्तिबीच भएको विनिमय कारोबार चेक काट्ने व्यक्तिको खातामा पर्याप्त रकम नभएको कारण सम्बन्धित बैंकबाट चेक अनादरसम्म भएको अवस्थामा बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गत नपरी अभियोग पत्र खारेज हुने भनी यस अदालतको संयुक्त इजलासबाट नेपाल सरकार वि. दुर्गा कार्की भएको ०६८-CR-०७२३ को बैंकिङ कसुर मुद्दामा (ने.का.प.२०७२, अंक ८, नि.नं. ९४५२) सिद्धान्तसमेत प्रतिपादन भएको देखिन्छ ।
९. विनिमेय अधिकार पत्र ऐन, २०३४ को दफा १०७क मा भएको कानूनी व्यवस्था एवं यस अदालतबाट प्रतिपादित सिद्धान्तसमेतको सन्दर्भमा प्रस्तुत मुद्दामा प्रतिवादीहरूले गरेको कसुर बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गतको नदेखिई विनिमय अधिकार पत्र ऐन, २०३४ को दफा १०७क अन्तर्गतको देखिँदा बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को दफा ३ग को कसुर गरेको मानी दायर गरिएको अभियोपत्र एवं सो अभियोगपत्र मागबमोजिम प्रतिवादीलाई सजाय गर्ने गरेको पुनरावेदन अदालत हेटौंडाको फैसला मिलेको रहेछ भनी मान्न मिल्ने देखिएन ।
१०. अतः उपर्युक्त आधार कारणबाट बैंकिङ कसुर तथा सजाय ऐन,२०६४ को दफा १५(६) को कसुरमा सोही नं. बमोजिम पुनरावेदक प्रतिवादी अर्जुनप्रसाद विडारीलाई जरिवाना गरेको पुनरावेदन अदालत हेटौंडाको मिति २०७१।३।३१ को फैसला मिलेको नदेखिँदा उल्टी भई अभियोगपत्र नै खारेज हुने ठहर्छ । पुनरावेदन नगर्ने प्रतिवादीहरू दत्तराम दाहालसमेतका अन्य प्रतिवादीहरू शेखर घिमिरे, नवराज बुढाथोकी, मदन कार्की, नवराज गिरी, तिलबहादुर स्याङतान र चन्द्र लोसमेतको हकमा मुलुकी ऐन अ.बं. २०५ नं. बमोजिम प्रस्तुत अभियोग दाबी खारेज हुने ठहर्छ । अरूमा तपसिलबमोजिम गर्नू ।
तपसिल
माथि ठहर खण्डमा उल्लेख भएबमोजिम पुनरावेदन गर्ने प्रतिवादी अर्जुनप्रसाद विडारी तथा मुलुकी ऐन अ.बं. २०५ नं. बमोजिम पुनरावेदन नगर्ने अन्य प्रतिवादीहरू दत्तराम दाहाल, शेखर घिमिरे, नवराज बुढाथोकी, मदन कार्की, नवराज गिरी, तिलबहादुर स्याङतान र चन्द्र लोको हकमा समेत अभियोगपत्र खारेज हुने ठहरेकोले सो सम्बन्धमा पुनरावेदन अदालत हेटौंडाले राखेको जरिवानाको लगत कायम नरहने हुँदा सो लगत कट्टा गर्नु भनी सुरूमा लेखी पठाउनू .....................१
दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाई दिनू ...........................१
उक्त रायमा सहमत छु ।
न्या. ईश्वरप्रसाद खतिवडा
इजलास अधिकृतः उदवीर नेपाली
इति संवत् २०७४ साल असोज २२ गते रोज १ शुभम् ।