शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १०१३९ - कर्तव्य ज्यान

भाग: ६० साल: २०७५ महिना: फागुन अंक: ११

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री विश्‍वम्भरप्रसाद श्रेष्‍ठ

माननीय न्यायाधीश श्री तेजबहादुर के.सी.

फैसला मिति : २०७५।१।१३

०७४-CR-०४०५

 

मुद्दा: कर्तव्य ज्यान

 

पुनरावेदक / प्रतिवादी : जिल्ला भोजपुर बोया गाउँ विकास समिति वडा नं. ७ बस्ने निमतेम्बा शेर्पा

विरूद्ध

प्रत्यर्थी / वादी : पेमलमु शेर्पाको जाहेरीले नेपाल सरकार

 

ज्यानसम्बन्धी मुद्दाहरूमा आवेशको अवस्थालाई अपराधको गाम्भीर्य घटाउने परिस्थितिको रूपमा लिइने हुँदा यस्तो हत्यालाई मनसायप्रेरित हत्याको वर्गमा राखेर हेरिएको पाइँदैन । यस्तो हत्यामा प्रतिवादीमा पीडितउपर आक्रमण गर्ने उत्तेजना भने तत्काल जागृत भएको 

हुन्छ । आवेशको उत्तेजनामा गरिने कार्यमा कर्ताले त्यसबाट उत्पन्‍न हुने परिणामको ख्याल नगर्ने र त्यस सम्बन्धमा कुनै सोच विचारसमेत नगर्ने हुँदा आवेशको अवस्थालाई तत्कालीन भावावेश र उत्तेजनाको रूपमा लिनुपर्ने हुन्छ । यस्तो आवेश वा त्यस्तो उत्तेजना मृतकको क्रियाकलापबाट वा निजसँग अन्योन्याश्रित क्रियाकलापबाट प्रतिवादीको मानसिकतामा तत्काल सिर्जित गराउने ।

(प्रकरण नं.६)

 

पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान्‌ अधिवक्ता श्री किरण कुमारी गुप्‍ता

प्रत्यर्थी / वादीका तर्फबाट : 

अवलम्बित नजिर :

सम्बद्ध कानून :

 

सुरू तहमा फैसला गर्नेः

मा. जिल्ला न्यायाधीश श्री अम्बरराज पौडेल

भोजपुर जिल्ला अदालत

पुनरावेदन तहमा फैसला गर्नेः-

माननीय न्यायाधीश श्री रामचन्द्र यादव

माननीय न्यायाधीश श्री केदार पौडेल

पुनरावेदन अदालत धनकुटा

 

फैसला

न्या.विश्वम्भरप्रसाद श्रेष्ठ : पुनरावेदन अदालत धनकुटाको मिति २०७०/८/९ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम प्रतिवादीको तर्फबाट यस अदालतमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्‍त तथ्य एवं ठहर यसप्रकार छः

मिति २०६८।१२।१८ गते बेलुका १९:०० बजेको समयमा मृतक, प्रतिवादी, जाहेरवालालगायतका स-परिवार बसी खाना खाइरहेको अवस्थामा प्रतिवादीले एक टुक्रा मात्र मासु खाएर अन्य 

फालिदिए । मृतकले किन फालेको भनी अगेनाबाट अगुल्टो झिकी प्रतिवादीको खुट्टामा हिर्कायो । प्रतिवादीले मादक पदार्थ सेवन गरेको सुरमा चिरपट दाउराले मृतकको बायाँपट्टिको गालामा हाने मृतक भुइँमा ढले केही समयपछि मृतक लाक्पानुरू शेर्पाको घरमा गएछ । सोही समयमा नै निजको मुखबाट रगत निस्कन थालेपछि मिति २०६८।१२।१९ गते उपचारको लागि जिल्ला अस्पताल भोजपुरमा लगी उपचारको क्रममा मिति २०६८।१२।२१ गते बिहान २ बजेको समयमा मृत्यु भएको हुँदा कानूनबमोजिम गरी कारबाही गरी पाउँ भनी मिति २०६८।१२।२१ गते पेमालमु शेर्पाले दिएको जाहेरी दरखास्त । 

भोजपुर जिल्ला अस्पतालमा मृतक पेमाछिरी शेर्पा मृत अवस्थामा रहेको भन्ने बेहोराको घटनास्थल लास जाँच मुचुल्का । 

भोजपुर जिल्ला बोया गा.वि.स. वडा नं. ७ स्थित घटनास्थलमा रगतजस्तो रातो देखिने टाटाहरू देखिएको ठीक साँचो हो भन्नेसमेत बेहोराको बरामदी मुचुल्का । 

मिति २०६८।१२।१८ गते दाजु लाक्पानुरू शेर्पाले खाना खान मलाई बोलाएकोले खाना खाई सामान्य जाँड खाई बेलुकी १७:०० बजेको समयमा छिमेकीको घरबाट आफ्नो घरमा फर्किएँ । १९:०० बजेको समयमा खाना खाने क्रममा एक टुक्रा मासु मात्र खाएँ र अन्य सबै कुकुरलाई दिएँ । मृतक छोराले किन फालेको भनी मलाई कराई दाउराले दाहिने खुट्टामा हिर्कायो । मैले रिस थाम्न नसकी रिसको आवेगमा आएर चिरपट दाउराले अनुहारलगायतका भागमा हिर्काएँ, रगताम्मे भई भुइँमा लड्यो मिति २०६८।१२।१९ गते उपचार गर्न भोजपुर जिल्ला अस्पतालमा 

लग्यौँ । उपचारको क्रममा मिति २०६८।१२।२१ गते बिहान २ बजेको समयमा मृतकको मृत्यु भएको भनी प्रतिवादी निमतेम्बा शेर्पाले मिति २०६९।०१।०३ गते अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान । 

प्रतिवादीले मादक पदार्थ सेवन गरी निजको छोरालाई कुटपिट गरी घाइते बनाएको कुरा घटना भएको भोलिपल्ट बिहान भोजपुर अस्पतालबाट एम्बुलेन्स बोलाएपछि थाहा पाएको हुँ । उपचारको क्रममा मिति २०६८।१२।२१ गते बिहान २ बजेको समयमा मृत्यु भएको हो । निज अभियुक्तलाई कानूनबमोजिम कारबाही गरिपाउँ भनी बुझिएका मानिसहरू दालाक्पा शेर्पा र कृष्णधन तामाङले प्रायः एकै मिलान हुने गरी गरिदिएको कागज । 

मिति २०६८।११।१८ मेरो घर पैंचो कार्यक्रम भएकोले प्रतिवादीलगायतका स-परिवारलाई बोलाई खाना नास्तासमेत खाई बेलुकी अन्दाजी १७:०० बजेको समयमा घर फर्की घरमा प्रतिवादीले खाना खाने क्रममा खाना कुकुरले जुठो लगाएको कारण प्रतिवादीले खाना फालेको सुरमा निहुँ खोजी खाना फालेपछि मृतकले किन खाना फालेको भनी बुबा प्रतिवादी निमतेम्बा शेर्पालाई हिर्काएपछि प्रतिवादी रिसको आवेगमा आई दाउराले अनुहारलगायतका भागमा हिर्काई घाइते बनाएपछि मृतक मेरो घरमा 

आयो । निजको आमाले, बाबुले छोरालाई हिर्काएको भनी बताएकोले मैले थाहा पाएको हुँ । मिति २०६८।१२।१९ गते जिल्ला अस्पताल भोजपुरमा उपचार गर्न लगी उपचारको क्रममा मिति २०६८।१२।२१ गते मृत्यु भएको हो भनी बुझिएका मानिस लाक्पानुरू शेर्पाले गरिदिएको कागज । 

बुबा प्रतिवादीले खाना खाने क्रममा एक टुक्रा मासु खाई अन्य खाना मासु फाली कुकुरले खान थालेपछि मृतक दाजुले प्रतिवादी बुबालाई कराउँदै लठ्ठीले बुबाको खुट्टामा प्रहार गरेपछि बुबाले पनि दाउराले मृतक दाजुलाई हिर्काउनु भयो । दाजुको मुखबाट रगत बगी रहेको थियो । दाजु र आमा बडाबाको घर गएकोले र राति त्यहीँ सुती भोलिपल्ट उपचारको लागि भोजपुर जिल्ला अस्पताल लगी उपचारको क्रममा मिति २०६८।१२।२१ गते दाजुको मृत्यु भएछ भनी बुझिएका मानिस निमलमु शेर्पाले गरिदिएको कागज । 

मृतकको मृत्यु Subdural Hemorrhage को कारण भएको भन्नेसमेत बेहोराको शव परीक्षण प्रतिवेदन । 

प्रतिवादीले आफ्नो छोरा पेमाछिरी शेर्पालाई मिति २०६८।१२।१८ गते बेलुका खाना खाने क्रममा खाना कुकुरले जुठो लगाएकोले प्रतिवादीले खाना फालिदिएको हुँदा सो देखेर मृतकले कराउँदा प्रतिवादीले मातेको सुरमा लठ्ठीले कुटपिट गरेको कारण मृतक घाइते भई उपचार गर्न मिति २०६८।१२।१९ गते भोजपुर जिल्ला अस्पतालमा लगेको र उपचारको क्रममा मिति २०६८।१२।२१ गते मृत्यु भएको भन्ने सुनेको हुँ, भनी तिर्थबहादुर तामाङसमेतले प्रायः एकै मिलान हुने गरी लेखाई दिएको वस्तुस्थिति मुचुल्का । 

पेमछिरी शेर्पाको मृत्यु प्रतिवादीले छोडेको चोटकै कारण भएको तथ्य प्रमाणित भएको, मृतकलाई मार्नु पर्नेसम्मको इवी प्रतिवादीसँग नरही प्रतिवादीलाई तत्काल उठेको रिस थाम्न नसकी निजले आफ्नै छोरालाई दाउराले प्रहार गरी घाइते बनाएको र उक्त चोटकै कारण निजको मृत्यु भएको भन्ने सबुद प्रमाणबाट देखिएको र प्रतिवादीले गरेको उक्त कार्य मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं. विपरीत १४ नं. द्वारा परिभाषित कसुरजन्य अपराध भएकोले निज प्रतिवादी निमतेम्बा शेर्पालाई ऐ.महलको १४ नं. बमोजिम सजाय गरिपाउँ भन्नेसमेत बेहोराको अभियोग पत्र । 

मिति २०६८।१२।१८ गते बेलुका मेरो दाजु लाक्पानुरू शेर्पाको घरबाट जाँड खाई घर आएको बेला मृतक छोराले जाँड खाई किन मातेको भनी मेरो खुट्टामा लठ्ठीले हिर्काएपछि मैले पनि मृतक छोरालाई लठ्ठीले हिर्काएपछि छोरा दाजुको घरमा गएर सुतेछ । भोलिपल्ट मृतक छोरा बिरामी भएको थाहा पाई गई हेर्दा मृतक छोराको गाला सुन्निएको थियो उपचार गराउन भोजपुर जिल्ला अस्पतालमा लगी उपचारको क्रममा मिति २०६८।१२।२१ गते मृत्यु भएको हो मैले मार्ने नियतले कुटपिट नगरेकोले अभियोग मागदाबीबाट सफाइ पाउँ भनी प्रतिवादी निमतेम्बा शेर्पाले सुरू अदालतमा गरेको बयान । 

मृतकको शव परीक्षण प्रतिवेदनको External तथा Internal परीक्षणको महलमा हेर्दा उल्लेखनीय घा चोट नभई गालामा ५×२ से.मी. खुलिएको र २×२ से.मी. को लामो सुनिएको भन्नेसम्म उल्लिखित भएको प्रस्तुत मुद्दामा मृतकलाई चोट छाडेपश्चात् भोलिपल्ट प्रतिवादीसमेत भई उपचारको लागि ल्याएको मृतकको मृत्यु Hamorrhage बाट भएको मृतकको शरीरका भागहरूमा घा चोट नरहेको भन्ने कुरा उल्लेख हुनुको साथै जाहेरवाला वस्तुस्थिति मुचुल्काका मानिसहरू एवं मौकामा कागज गर्ने मानिसहरूले गरेको बकपत्र, प्रतिवादीको बयानसमेत मिसिल संलग्न सबुत प्रमाणसमेतका आधारमा हेर्दा वादी दाबीबमोजिमको कसुर देखिन आएन । प्रस्तुत वारदात ज्यानसम्बन्धी ६ नं. विपरीतको देखिन जाँदा प्रतिवादी निमतेम्ब शेर्पालाई ऐ. ६ नं. को देहाय २ नं. बमोजिम रू. ५००।- (पाँच सय मात्र) जरिवाना र कैद वर्ष २ हुनेमा कैद वर्ष १ (एक) र जरिवाना रू. ५००।- (पाँच सय मात्र) हुने ठहर्छ भन्नेसमेत बेहोराको सुरू भोजपुर जिल्ला अदालतको मिति २०६९/७/२२ को फैसला । 

भोजपुर जिल्ला अदालतले प्रतिवादीउपर कसुर ठहर गरेको कानून ज्यानसम्बन्धीको महलको ६(२) नं. प्रस्तुत मुद्दामा आकर्षित हुन सक्दैन । किनकि ज्यानसम्बन्धीको महलको ६(२) ले “आवेशको अवस्था” लाई समेट्दैन । उक्त नं. मा उल्लिखित “केही कुरा गर्दा” भन्ने शब्दावलीले आवेशमा आएको अवस्थामा ठूलो चिरपट लिएर टाउकोको भागमा प्रहार गरेको अवस्था अर्थात् कुटपिटको अवस्थालाई जनाउन सक्दैन । सर्वोच्च अदालतबाट प्रतिपादित नजिरहरूबाट समेत प्रस्तुत मुद्दामा ज्यानसम्बन्धीको महलको १४ नं. अनुसारकै सजाय गर्नु पर्नेमा ६(२) बमोजिम सजाय गरेको भोजपुर जिल्ला अदालतको फैसला त्रुटिपूर्ण एवं बदरयोग्य रहेको छ । अतः उपर्युक्त आधार प्रमाणहरूबाट प्रत्यर्थी प्रतिवादीलाई अभियोग मागदाबी ज्यानसम्बन्धीको महलको १४ नं. बमोजिम सजाय गर्नु पर्नेमा अभियोग मागदाबीभन्दा कम ज्यानसम्बन्धीको महलको ६(२) नं. बमोजिम मात्र सजाय गरेको भोजपुर जिल्ला अदालतको फैसला त्रुटिपूर्ण एवं बदरभागी रहेकोले उक्त फैसला उल्टी गरी प्रत्यर्थी प्रतिवादीहरूलाई अभियोग मागदाबीबमोजिम सजाय गरिपाउँ भन्नेसमेत बेहोराको वादी नेपाल सरकारको तर्फबाट पुनरावेदन अदालत धनकुटामा परेको पुनरावेदन पत्र । 

यसमा प्रतिवादीले अधिकारप्राप्त अधिकारी तथा अदालतसमक्ष समेत बयान गर्दा आफूले रिसको कारण दाउराले छोराको अनुहारमा हानेको र सोही चोटका कारण छोराको मृत्यु भएको भन्ने तथ्यमा साबित भई बयान गरिरहेको अवस्थामा प्रस्तुत वारदातलाई भवितव्यको वारदात मानी प्रतिवादीलाई ज्यानसम्बन्धी महलको ६(२) बमोजिम सजाय गर्ने गरी सुरू अदालतबाट भएको फैसला मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १४ नम्बरको कानूनी व्यवस्था तथा सो सम्बन्धमा सम्मानित सर्वोच्च अदालतबाट भएको व्याख्यासमेतको रोहमा फरक पर्न सक्ने देखिँदा अ.बं. २०२ नम्बर तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम विपक्षी झिकाई नियमानुसार गरी मुद्दा पेस गर्नु भन्ने पुनरावेदन अदालत धनकुटाको मिति २०७०/२/५ गतेको 

आदेश । 

यसमा जिल्ला भोजपुर, बोया गा.वि.स. वडा नं. ७ बस्ने मृतक प्रेमछिरी शेर्पाको मिति २०६८/१२/२१ मा भोजपुर जिल्ला अस्पतालमा भएको शव-परीक्षण प्रतिवेदनमा मृतकको मृत्युको कारणमा Subdural hemorrhage भनी उल्लेख गरेकोमा Subdural hemorrhage के कारणले भएको हो सो सम्बन्धमा प्रस्ट उल्लेख भएको नदेखिँदा उक्त शव-परीक्षण गर्ने भोजपुर जिल्ला अस्पतालका चिकित्सकलाई पुनरावेदन सरकारी वकिल कार्यालय धनकुटामार्फत बकपत्रको लागि झिकाई नियमानुसार पेस गर्नु भन्ने पुनरावेदन अदालत धनकुटाको मिति २०७०/४/१७ गतेको आदेश । 

मृतक प्रेमछिरी शेर्पाको पोष्टमार्टम रिपोर्ट मैले नै तयार गरेको हुँ । मृतकको देब्रे गालामा पिल्सिएको घाउ ५ से.मी.×२ से.मी. थियो । मुखको बायाँपट्टि ओठको छेउमा निलडाम २ से.मी.×१ से.मी. को 

थियो । भित्री चोटमा Left far ictal bone माथितिर २ से.मी.×२ से.मी. देखिएको Left temporal region मा करिब २०० ml Subdural Hematoma तथा (रगत जमेको) तथा Cerebral Contusion पाइएको    थियो । Subdural hemorrhage टाउकोमा चोट लागेको कारणले भएको हो भन्नेसमेत बेहोराको मृतकको शव परीक्षण गर्ने चिकित्सक डा. जोशनलाल बज्राचार्यले अदालतमा मिति २०७०/४/१० मा गरेको बकपत्र । 

मिसिल संलग्न प्रमाण कागजबाट सुरू भोजपुर जिल्ला अदालतबाट प्रतिवादी निमतेम्बा शेर्पालाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको ६(२) नं. अनुसार कैद र जरिवाना हुने ठहर्‍याएको मिति २०६९/७/२२ को फैसला मिलेको नदेखिँदा उल्टी भई निज प्रतिवादीलाई दाबीबमोजिमको कसुरमा ज्यानसम्बन्धी महलको १४ नं. बमोजिम १० वर्ष कैद हुने ठहर्छ भन्‍नेसमेत बेहोराको पुनरावेदन अदालत, धनकुटाको मिति २०७०/८/९ को फैसला । 

पुनरावेदन अदालत, धनकुटाको फैसलामा चित्त बुझेन । मृतक मेरो छोरो हो । आफ्नो थालको मासु फालेको भनी मलाई खुट्टामा हानेकोले मैले दाउराको चिरपटले छोरालाई हानेको कारण छोराको मृत्यु भएको भनी अनुसन्धान अधिकारी एवं अदालतमा समेत साबित भई बयान गरेको छु । यस्तो अवस्था विद्यमान हुँदा ज्यानसम्बन्धी महलको ६(२) नं. अनुसार मलाई सजाय गर्दासमेत न्यायको मक्सद पूरा हुने हुँदा मेरो पुनरावेदन जिकिरबमोजिम न्याय इन्साफ पाउँ भन्‍नेसमेत बेहोराको प्रतिवादीको यस अदालतमा परेको पुनरावेदन पत्र । 

नियमबमोजिम दैनिक मुद्दा पेसी सूचीमा चढी निर्णयार्थ आज यस इजलाससमक्ष पेस भएको प्रस्तुत मुद्दामा पुनरावेदक / प्रतिवादीको तर्फबाट उपस्थित विद्वान्‌ अधिवक्ता श्री किरणकुमारी गुप्‍ताले मृतकलाई मार्नुपर्ने कुनै कारण नरहेको, निजसँग पूर्वरिसइवी नरहेको साथै रिसको आवेगमा प्रहार गरेको चिरपटबाट मृत्यु भएको भनी मेरो पक्षले अदालतमा समेत साबित भई बयान गरेको हुँदा पुनरावेदन अदालत, धनकुटाको फैसला उल्टी गरी पुनरावेदन जिकिरबमोजिम न्याय इन्साफ गरिपाउँ भन्‍नेसमेत बेहोराको बहस प्रस्तुत गर्नुभयो । 

विद्वान्‌ अधिवक्ताको बहस बुँदालाई समेत मध्यनजर राखी मिसिल संलग्न प्रमाण कागजको अध्ययन गरी हेर्दा प्रस्तुत मुद्दामा पुनरावेदन अदालत, धनकुटाको मिति २०७०/८/९ को फैसला मिलेको छ, छैन ? पुनरावेदन जिकिरबमोजिम हुनुपर्ने हो वा     होइन ? सोही विषयमा निर्णय दिनुपर्ने देखियो । 

२. निर्णयतर्फ विचार गर्दा पेमाछिरी शेर्पाको मृत्यु प्रतिवादीले छाडेको चोटकै कारण भएको तथ्य प्रमाणित भएको, मृतकलाई मार्नुसम्मको इवी प्रतिवादीसँग नरही तत्काल उठेको रिस थाम्न नसकी निजले आफ्नै छोरालाई दाउराले प्रहार गरी घाइते बनाई सोही चोटका कारण निजको मृत्यु भएको हुँदा निज प्रतिवादीलाई ज्यानसम्बन्धी महलको १४ नं. बमोजिम सजाय गरिपाउँ भन्‍नेसमेत बेहोराको अभियोग दाबी भएको प्रस्तुत मुद्दामा प्रतिवादी निमतेम्बा शेर्पालाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको ६(२) नं. बमोजिम १ वर्ष कैद र पाँच सय जरिवाना ठहर्‍याएको सुरूको फैसलालाई उल्टी गरी प्रतिवादीलाई दाबीबमोजिमको कसुरमा १० वर्ष कैद सजाय गरी पुनरावेदन अदालत धनकुटाबाट भएको फैसलामा चित्त नबुझाई प्रतिवादी निमतेम्बा शेर्पाको प्रस्तुत पुनरावेदन परी निर्णयार्थ पेस भएको पाइयो । 

३. मिति २०६८/१२/१८ गते बेलुका अन्दाजी ७:०० बजेको समयमा जाहेरवाली, मृतक छोरा र प्रतिवादी निमतेम्बा शेर्पासहितका परिवारहरू बसी खाना खान लाग्दा प्रतिवादी निमतेम्बाले एक चौटा मासु मात्र खाई अरू खाना फालेबाट छोरा पेमछिरीले खाना फालेको विषयमा किन फालेको भनी अगेनाको अगुल्टो झिकी हिर्काउँदा प्रतिवादीले आवेशमा आई चिरपट दाउराले छोराको मुखमा हिर्काउँदा निज ढले र पछि निजकै काका लाक्पा नुरू शेर्पाको घरमा गएकोमा रगत छादी बेहोस भएकोमा सोको भोलिपल्ट बिहान एम्बुलेन्समा राखी जिल्ला अस्पताल भोजपुरमा प्रतिवादीसहित भई उपचारको लागि लगेकोमा मिति २०६८/१२/२१ गते छोराको मृत्यु भएको भन्‍ने जाहेरी देखियो । तत्काल बुझिएका मानिस दालाक्पा शेर्पा, कृष्‍णधन तामाङ, ताक्पानुरू शेर्पा, निलम शेर्पासमेतका मानिसहरूले जाहेरीमा उल्लिखित घटना विवरणलाई समर्थन हुने गरी लेखाइदिएका छन् । मृतकको मृत्यु Subdural hemorrhage का कारणबाट भएको भन्‍ने लास जाँच प्रतिवेदनबाट देखिन्छ । प्रतिवादीले अधिकारप्राप्‍त अधिकारी एवं अदालतमा बयान गर्दा बरामद भएको लाठीले बायाँ गालामा प्रहार गरेको सोही चोटको कारण मृतक छोराको मृत्यु भएको हो भनी साबित भई बयान गरेको देखिन्छ । 

४. ज्यानसम्बन्धी महलको ६ नं. को कानूनी व्यवस्था हेर्दा संयोगवश केही काम कुरा गर्दा लाग्न गएको अर्थात् कुनै पूर्वज्ञान जानकारी नभई परिणामको अनभिज्ञता रहेको अवस्थामा परी मृत्यु भएकोलाई आकर्षित हुने हो । प्रस्तुत मुद्दामा काठको चिरपटले टाउकोमा प्रहार गरी भित्री भागहरू दख्‍खल हुने गरी प्रहार गरेको मिसिल संलग्न प्रमाणबाट देखिँदा संयोगवश भएको मान्‍न मिल्ने देखिएन ।

५. मुलुकी ऐन, ज्यानसम्बन्धीको १४ नं. हेर्दा, ज्यान मार्नाको मनसाय रहेनछ, ज्यान लिनुपर्नेसम्मको इवी पनि रहेनछ, लुकी चोरीकन हानेको पनि रहेनछ, उसै मौकामा उठेको कुनै कुरामा रिस थाम्न नसकी जोखिमी हतियारले हानेको वा विष खुवाएमा बाहेक साधारण लाठा, ढुङ्गा, लात, मुक्‍का इत्यादिले हान्दा सोही चोट पिरले ऐनका म्यादभित्र ज्यान मरेमा दश वर्ष कैद गर्नुपर्छ भन्‍ने स्पष्‍ट कानूनी व्यवस्था रहेको  पाइन्छ । यस नं. बमोजिम सजाय हुने कसुर वारदात कायम हुन निम्न सात अवस्था र तत्व विद्यमान रहेको हुनुपर्छः

१) ज्यान मार्ने मनसाय नभएको, २) ज्यान लिनुपर्नेसम्मको इवी पनि नरहेको, ३) लुकी चोरीकन पनि नहानेको, ४) साधारण लाठा, ढुङ्गा, लात, मुक्‍का इत्यादिले हानेको, ५) विष नख्वाएको, ६) जोखिमी हतियारले नहानेको र ७) उसै मौकामा उठेको कुनै कुरा रिस थाम्न नसकी हानेको । 

 

६. ज्यानसम्बन्धी मुद्दाहरूमा आवेशको अवस्थालाई अपराधको गाम्भीर्य घटाउने परिस्थितिको रूपमा लिइने हुँदा यस्तो हत्यालाई मनसायप्रेरित हत्याको वर्गमा राखेर हेरिएको 

पाइँदैन । यस्तो हत्यामा प्रतिवादीमा पीडितउपर आक्रमण गर्ने उत्तेजना भने तत्काल जागृत भएको हुन्छ । आवेशको उत्तेजनामा गरिने कार्यमा कर्ताले त्यसबाट उत्पन्‍न हुने परिणामको ख्याल नगर्ने र त्यस सम्बन्धमा कुनै सोच विचारसमेत नगर्ने हुँदा आवेशको अवस्थालाई तत्कालीन भावावेश र उत्तेजनाको रूपमा लिनुपर्ने हुन्छ । यस्तो आवेश वा त्यस्तो उत्तेजना मृतकको क्रियाकलापबाट वा निजसँग अन्योन्याश्रित क्रियाकलापबाट प्रतिवादीको मानसिकतामा तत्काल सिर्जित गराएको हुन्छ । 

७. प्रस्तुत मुद्दामा ज्यान मार्नको मनसाय, ज्यान लिनुपर्नेसम्मको इवी र लुकी चोरीकन हानेको पनि मिसिल संलग्न प्रमाणबाट देखिँदैन । प्रस्तुत वारदात पूर्वनियोजित हत्याको वारदात होइन । प्रस्तुत वारदात प्रतिवादीले मासु फालेको निहुँमा मृतकले प्रतिवादीलाई अगुल्टोले हिर्काएकोले प्रतिकार स्वरूप उसै मौकामा उठेको रिस थाम्न नसकी आवेशमा आइ चिरपटले प्रहार गरेको र सो कारणबाट मृतकको मृत्यु भएको मिसिल संलग्न प्रमाणबाट देखिँदा प्रस्तुत वारदात ज्यानसम्बन्धी महलको १४ नं. अन्तर्गतको कसुर देखिन आयो । प्रस्तुत वारदात न त पूर्वनियोजित न त भवितव्य नै परेको अवस्था छ । पूर्व रिसइवीले मार्नुपर्ने नियत नभए पनि तत्काल उठेको रिसबाट आवेशमा आई प्रहार गरेको देखिँदा प्रस्तुत वारदात आवेश प्रेरित हत्या (Provocation Homicide) को श्रेणीभित्र पर्ने नै देखियो । 

८. अतः माथि विवेचित आधार प्रमाणबाट प्रतिवादी निमतेम्बा शेर्पालाई ज्यानसम्बन्धी महलको १४ नं. बमोजिम १० वर्ष कैदको सजाय हुने ठहर्‍याएको पुनरावेदन अदालत, धनकुटाको मिति २०७०/८/९ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक / प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाई दिनू । 

 

उक्त रायमा सहमत छु ।

न्या. तेजबहादुर के.सी.

 

इजलास अधिकृत:- विद्याराज पौडेल

इति संवत् २०७५ साल वैशाख १३ गते रोज ५ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु