निर्णय नं. १०१४० - अंश चलन
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ
माननीय न्यायाधीश श्री तेजबहादुर के.सी.
फैसला मिति : २०७५।३।१०
मुद्दा : अंश चलन
०७२-CI-०७३३
पुनरावेदक / प्रतिवादी : धर्मलालकी बुहारी, वैकुण्ठलालकी श्रीमती, काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. २० कोहिटी टोल बस्ने पदम जोशीसमेत
विरूद्ध
प्रत्यर्थी / वादी : धर्मलाल जोशीको छोरा काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं.२० कोहिटी टोल बस्ने माधवलाल जोशी
०७२-CI-०७३५
पुनरावेदक / वादी : धर्मलाल जोशीको छोरा काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं.२० कोहिटी टोल बस्ने माधवलाल जोशी
विरूद्ध
प्रत्यर्थी / प्रतिवादी : धर्मलाल जोशीकी बुहारी, वैकुण्ठलाल जोशीकी श्रीमती काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं.२० कोहिटी टोल बस्ने पदम जोशीसमेत
ऋण लिई घर बनाएकोमा सगोलका अन्य अंशियारसमेतले उक्त ऋणको भार बेहोरेको कुनै प्रमाणबाट नदेखिई रहेको अवस्थामा सो घर सगोलको आर्जनको सम्पत्ति भनी बन्डा लाग्ने भनी अर्थ गर्न न्यायको रोहबाट उपयुक्त नदेखिने ।
(प्रकरण नं.१०)
वादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री सविता बराल एवं विद्वान् वरिष्ठ अधिवक्ता श्री बालमुकुन्द श्रेष्ठ
प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री बालकृष्ण न्यौपाने एवं विद्वान् अधिवक्ता श्री हेमकुमार श्रेष्ठ
अवलम्बित नजिर :
ने.का.प.२०६९, अंक ३, नि.नं.८७८८
सम्बद्ध कानून :
सुरू तहमा फैसला गर्ने :
माननीय न्यायाधीश श्री खडानन्द तिवारी
काठमाडौं जिल्ला अदालत
पुनरावेदन तहमा फैसला गर्ने :
माननीय न्यायाधीश श्री बाबुराम रेग्मी
माननीय न्यायाधीश श्री शिवराज अधिकारी
पुनरावेदन अदालत पाटन
फैसला
न्या. विश्वम्भरप्रसाद श्रेष्ठ : साबिक न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) बमोजिम दर्ता भई हाल न्याय प्रशान ऐन, २०७३ को दफा १२(१) को खण्ड (क) बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्र रही निर्णयार्थ यस इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः
मूल पुरूष स्व.धर्मलाल जोशीका ४ सन्तानमा जेठो स्व.वैकुण्ठलाल जोशी, माहिलो द्वारिकालाल जोशी, विवाहिता छोरी पार्वती जोशी मल्ल र कान्छा छोरा म फिरादी माधवलाल जोशी
हौं । विपक्षीमध्येकी पदम जोशी वैकुण्ठलालको श्रीमती भाउजू र द्वारिकालाल जोशी भाई नाताका हुन् । बुबा आमा तथा दाजु वैकुण्ठलाल जोशीको मृत्यु भइसके पनि बुबा र हामी दाजु भाइबीच हालसम्म अंशबन्डा भएको छैन । हामी सबै काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं.२० कोहिटी टोलस्थित कि.नं. ५३० को घर जग्गामा नै बसी आएका छौँ । मिति २०४२/४/९ गते स्थानीय भद्रभलादमीको रोहबरमा मानो छुट्टिई २०४६ सालमा खानेपानीको धारा र २०५४ सालमा टेलिफोनको लाइन छुट्टाछुट्टै लिई भिन्दै बस्दै आएका थियौं । अंश छुट्याई दिनुहोस् भनी विपक्षीलाई पटकपटक भन्दा नमानेको हुँदा बाध्य भई फिराद गर्न आएको छु । मिति २०४२/४/९ लाई मानो छुट्टिएको मिति कायम गरी सम्पूर्ण सम्पत्ति विपक्षी भतिजा वीरेन्द्रलाल जोशीसमेतको जिम्मामा हुँदा सम्पूर्ण सम्पत्तिको फाँटवारी लिई सो सम्पत्तिलाई ३ भाग लगाई फिरादीको १ भाग छुट्याई चलनसमेत चलाई पाउँ भन्नेसमेत बेहोराको वादी माधवलाल जोशीको मिति २०६७/११/१२ को फिराद पत्र ।
नाता पुस्तेवारीमा विवाद नभए पनि प्रतिवादीमध्येका द्वारिकालाल जोशीसमेतको मिलोमतोमा प्रस्तुत फिराद परेको हो । हालसम्म पनि सँगै बसी एकै चुलोमा खाना खाने विपक्षीले सगोलमा बसी बढे बढाएको सम्पत्ति दबाउन छिपाउन तथा आफूलाई फाइदा तथा मलाई हानि नोक्सानी पुर्याउन मिति २०४२/४/९ लाई मानो छुट्टिएको मिति कायम गर्न निकै कसरत गरेको देखिन्छ । दाबीबमोजिम २०४२ सालमा मानो छुट्टिएको भन्ने कुरा झुट्टा
हो । साथै अंशभाग लेउ भनी विपक्षीले उच्चारणसमेत गर्नु भएको छैन र अंश बन्डा गर्नुपर्नेसम्मको घटना वा परिस्थिति हालसम्म परेकोसमेत छैन । विपक्षीका दाजु मेरा पति वैकुण्ठलालको मिति २०६७/६/९ मा परलोक भएको ६ महिना नपुग्दै बदनियतपूर्वक विपक्षीले प्रस्तुत अंश मुद्दा दायर गरेको हुँदा सो कुरा मलाई मान्य छैन भन्नेसमेत बेहोराको प्रतिवादी पदम जोशीको प्रतिउत्तरपत्र ।
नाता पुस्तेवारीमा विवाद नभएको र भद्रभलादमीको रोहबरमा नै मिति २०४२/४/९ मा मानो छुट्टिएको हुँदा सो मितिलाई मानो छुट्टिएको मिति कायम गरी अंशबन्डा भएमा मेरो मन्जुरी छ भन्नेसमेत बेहोराको प्रतिवादी द्वारिकालाल जोशीको प्रतिउत्तर पत्र ।
वादी प्रतिवादीहरू मिति २०४२ सालदेखि मानोसम्म छुट्टिई बसेकोसम्म जानकारी छ । निजहरूबिच अंशबन्डा भएको छैन । पुरानो एउटा घर छ । वादीले त्यही घरबाट अंश पाउनु पर्छ भन्नेसमेत बेहोराको वादीको साक्षी चिनियामान शाक्यले अदालतमा उपस्थित भई गरी दिएको बकपत्र ।
वादी र प्रतिवादी २५/२६ वर्ष अघिदेखि मानो छुट्टिएर बसेका छन् अंशबन्डा भएको छैन भन्नेसमेत बेहोराको प्रतिवादी द्वारिकालाल जोशीको साक्षी शंकरबहादुर कर्माचार्यले अदालतमा उपस्थित भई गरिदिएको बकपत्र ।
वादी / प्रतिवादी सगोलमा छन् भन्नेसम्म थाहा छ, अन्य कुरा थाहा भएन भन्नेसमेत बेहोराको प्रतिवादी पदम जोशीको साक्षी शिसुराज बज्राचार्यले अदालतमा उपस्थित भई गरी दिएको बकपत्र ।
वादी र प्रतिवादीहरूबीच अंशबन्डा भएको छैन । सम्पूर्ण सम्पत्तिलाई ३ भाग लगाई ३ भागको १ भाग मेरो पिता बैकण्ठलाल जोशीको हुने हुँदा पिताको भागलाई २ भाग लगाई १ भाग मैले पनि अंश पाउनु पर्छ भन्नेसमेत बेहोराको अ.बं.१३९ नं. बमोजिम बुझिएका वीरेन्द्रलाल जोशीको बयान ।
मिति २०४२/४/९ मा मानो छुट्टिएको मिति कायम गरी तायदाती फाँटवारी माग्नु पर्नेमा फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरी फाँटवारी माग गर्ने गरी भएको आदेश बेरीतको हुँदा मुलुकी ऐन, अ.बं. १७ नं. बमोजिम बदर गरिपाउँ भनी प्रतिवादी द्वारिकालाल श्रेष्ठले गरेको निवेदनको कैफियत प्रतिवेदनमा उक्त आदेश मिलेकै देखिँदा परिवर्तन गरी रहन परेन । कानूनबमोजिम गर्नु भन्नेसमेत पुनरावेदन अदालत पाटनबाट भएको मिति २०६९/३/२४ को आदेश मिसिल संलग्न रहेको ।
तायदातीमा उल्लिखित जग्गाहरूमध्ये काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं.२० कि.नं. ५३० को घर जग्गा मात्र वादी प्रतिवादीबीच बन्डा लाग्ने देखिन आएकोले सो घरजग्गालाई नरमगरम मिलाई ३ भाग गरी ३ भागको १ भाग अंश वादीले छुट्याई चलनसमेत चलाई लिन पाउने ठहर्छ भन्ने काठमाडौं जिल्ला अदालतको मिति २०६९।१०।२८ को फैसला ।
कि.नं. ५३० को घर जग्गाबाट मसमेतका अंशियारले अंश पाउने र पुनरावेदक वीरेन्द्रलाल जोशीको निजी आर्जनको कि.नं. ८४० को घर जग्गा भएको हदसम्म सुरू काठमाडौं जिल्ला अदालतको फैसलामा चित्त बुझ्यो । सोबाहेक कि.नं. ६४०, कि.नं. ८१६, कि.नं. ९४९ र कि.नं. ५० को घर जग्गा बन्डा नलाग्ने गरी मिति २०६९।१०।२८ मा भएको फैसला तथ्य, प्रमाण कानून र कानूनी सिद्धान्तसमेतको प्रतिकूल भई चार कित्ता घर जग्गाको हकमा बदर भागी हुँदा उक्त फैसला बदर गरी उक्त चार कित्ता घर जग्गामा हामी पुनरावेदक पदम जोशी र वीरेन्द्रलाल जोशीको अंश हक कायम हुने ठहर गरी सुपथ इन्साफ पाउँ भनी पुनरावेदक पदम जोशी र वीरेन्द्रलाल जोशीको तर्फबाट पुनरावेदन अदालत पाटनमा परेको पुनरावेदन पत्र ।
वीरेन्द्रलाल जोशीको नाम दर्तामा रहेको ललितपुर जिल्ला ललितपुर उपमहानगरपालिका वडा नं. २(ञ) को कि.नं. ८४० को क्षे.फ. ०-५-०-० जग्गामा बनेको घर जग्गा बन्डा नलाग्ने गरी भएको सुरू काठमाडौं जिल्ला अदालतको फैसला सो हदसम्म उल्टी गरी उक्त जग्गामा बनेको घर जग्गाबाट समेत अंश भाग पाउँ भनी पुनरावेदक / प्रतिवादी द्वारिकालाल जोशीले पुनरावेदन अदालत पाटनमा पेस गरेको पुनरावेदनपत्र ।
प्रतिवादी वीरेन्द्रलाल जोशीको नाम दर्तामा रहेको ललितपुर जिल्ला ललितपुर उपमहानगरपालिका वडा नं. २(ञ) को कि.नं. ८४० को जग्गासम्म निजले बकसपत्रबाट प्राप्त गरेकोमा निजले उक्त जग्गामा मिति २०६२/५/२२ मा ललितपुर जिल्ला ललितपुर उपमहानगरपालिकाबाट नक्सा पास गरी सगोलको सम्पत्तिबाट घर निर्माण गरेको हुँदा सो सम्पत्तिसमेत बन्डा गरिपाउँ भनी पुनरावेदक / वादी माधवलाल जोशीले पुनरावेदन अदालत पाटनमा पेस गरेको पुनरावेदनपत्र ।
वादी प्रतिवादी दुवै पक्षको पुनरावेदन परेको देखिएकोले सो पुनरावेदनहरू अ.बं. २०२ नं. को प्रयोजनार्थ परस्पर सुनाई नियमानुसार पेस गर्नु भनी पुनरावेदन अदालत पाटनबाट मिति २०७०/१०/९ मा भएको आदेश ।
प्रस्तुत मुद्दामा नाता सम्बन्धमा कुनै विवाद देखिएन । विधिवत् रूपमा अंशबन्डा नभएको तथ्यमा वादी प्रतिवादीहरूका बीचमा मुख मिलेकै देखिन आयो । अब कुन कुन घर जग्गाहरू बन्डा हुने र कुन कुन घर जग्गाहरू बन्डा नहुने भन्ने सम्बन्धमा विचार गर्दा, वादी प्रतिवादीहरूको सगोलको बन्डा लाग्ने पैतृक सम्पत्ति साबिकमा धर्मलाल जोशी र निजको शेषपछि हाल प्रतिवादीमध्येकी पदम जोशीको नाउँमा नामसारी भई आएको कि.नं. ५३० र त्यसमा बनेको पुरानो घर मात्रै हो भन्ने देखिएको अवस्थामा वादी / प्रतिवादीहरूका नाउँमा भएका अन्य घर जग्गाहरूलाई अंशबन्डा लाग्ने सगोलको सम्पत्ति हो भन्न पनि मिलेन । २०४९ सालदेखि २०६० सालसम्म विभिन्न मितिमा वादी / प्रतिवादीहरूका परिवारका नाममा विभिन्न लिखतहरूको माध्यमबाट विभिन्न कित्ता जग्गाहरू प्राप्त गरेको देखिन आउँछ । सो प्राप्त गरेका लिखतहरू अन्यथा नभएसम्म सो लिखतबाट प्राप्त गरेका जग्गाहरूलाई अंशबन्डाको महलको १८ नं. ले बकस पाएको र निजी आर्जन गरेको मान्नु पर्ने देखिन आएकोले सुरू काठमाडौं जिल्ला अदालतले मिति २०६९/१०/२८ मा गरेको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ भनी पुनरावेदन अदालत पाटनबाट मिति २०७०/११/१ मा भएको फैसला ।
प्रतिवादी वीरेन्द्रलाल जोशीले ललितपुर जिल्लाको ललितपुर उपमहानगरपालिका वडा नं. २(ञ) को कि.नं. ८४० को जग्गा बकसपत्रबाट प्राप्त गरेको भए तापनि निजले उक्त जग्गामा मिति २०६२।५।२२ मा ललितपुर उपमहानगरपालिकाबाट नक्सा पास गरी घर बनाएको हो । सो घर निजले पैतृक कि.नं. ५३० को घरजग्गालाई मिति २०६२।३।१९ मा नेपाल दुरसञ्चार कम्पनी लिमिटेडमा दृष्टिबन्धक राखी सापटी लिई बनाएको अवस्था छ । सो घर जग्गा बन्डा नलाग्ने गरी गरेको फैसला अ.बं. १८४क., १८५ नं. तथा प्रमाण ऐन, २०३१ को दफा ३ एवं दफा ५४ को प्रतिकूल भई बदर भागी छ । उक्त कि.नं. ८४० को क्षेत्रफल ०-५-०-० मा बनेको घर जग्गा बन्डा नलाग्ने गरी भएको काठमाडौं जिल्ला अदालतको मिति २०६९।१०।२८ को फैसलालाई नै सदर गर्ने गरी भएको पुनरावेदन अदालत पाटनको मिति २०७०।११।०१ को फैसला सो हदसम्म त्रुटिपूर्ण भएकोले न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा (१) को खण्ड (क) को अवस्था विद्यमान हुँदा प्रस्तुत मुद्दा दोहोर्याई पाउँ भन्ने बेहोरासमेतको वादी माधवलाल जोशीले मिति २०७२।७।२३ मा यस अदालतमा दायर गरेको निवेदन-पत्र ।
बद्रिमाया जोशीले विन्दुदेवी सापकोटाबाट मिति २०५८/४/१८ मा राजीनामा गरी लिएको साबिक काठमाडौं टंकेश्वरी वडा नं. ९(क) कि.नं.२७८ कित्ताकाट गरी कायम हुन आएको कि.नं.३२९, क्षेत्रफल ०-५-०-० जग्गा नै हालको काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. १३, कि.नं. ५० को जग्गा हो । सो कि.नं. ५० मा घरसमेत छ । मिति २०५८/४/१८ को र.नं. ३५० को राजीनामाको लिखतमा सो जग्गा मात्र रहेको
छ । साथै कमलदेवी जोशीको नाममा रहेको काठमाडौं जिल्ला, मनमैजु गा.वि.स. वडा नं. १क, कि.नं. ६४० को जग्गा कमलदेवीले बुद्धलक्ष्मीबाट खरिद गरी लिँदा जस्ताको छानो भएको टहरा भएको र.नं.९०९७ मिति २०४९/११/२७ को लिखतबाट देखिनेमा हाल उक्त जग्गामा ढलान गरेको पक्की घर रहेको छ । यसरी उक्त जग्गाहरूमा सगोलको अंशियारहरूको आय स्रोतबाट घर निर्माण गरिएको हो । साथै उल्लिखित कि.नं. ५० र सोमा बनेको घरसमेत बद्रिमाया जोशीले आफ्ना छोराहरू धीरेन्द्रलाल र रघुबरलाललाई मिति २०६४/५/९ मा हालैदेखिको बकसपत्रबाट हक हस्तान्तरण गरेको हो । काठमाडौं जिल्ला, मनमैजु गा.वि.स. वडा नं. १क, कि.नं. ८१६ कमलदेवी जोशीले हरिप्रसाद तिवारीबाट सगोलमा रहँदाका अवस्थामा खरिद गरी लिएको हो । काठमाडौं जिल्ला अदालत एवं पुनरावेदन अदालत पाटनले फिरादको अघिल्लो दिन अथवा मिति २०६७/११/११ लाई मानो छुट्टिएको मिति कायम गरेको छ । यसरी मानो छुट्टिएको मितिअगावै प्राप्त सम्पत्ति र निर्माण भएको घर बन्डा लाग्ने ठहर गर्नुपर्ने हो । उल्लिखित जग्गा र घर बन्डा नलाग्ने गरी भएको फैसला सो हदसम्म नमिलेकोले पुनरावेदन अदालत, पाटनबाट सुरू फैसला सदर हुने ठहर गरी भएको फैसलामा न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा (१) को खण्ड (क) र (ख) को अवस्था विद्यमान हुँदा प्रस्तुत मुद्दा दोहोर्याई हेरी हाम्रो सुरू प्रतिउत्तर जिकिरबमोजिम हुने गरी इन्साफ पाउँ भन्ने बेहोरासमेतको प्रतिवादी पदम जोशीसमेतको यस अदालतमा मिति २०७२।७।२३ मा दायर भएको निवेदनपत्र ।
काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. १३ कि.नं. ५० को जग्गा धीरेन्द्रलाल जोशी एवं रघुबरलाल जोशीले आमा बद्रिमायाबाट बकसपत्र पाएको भनी बन्डा नलाग्ने भने पनि सो जग्गा वादीसमेतको सगोलको अंशियार बद्रिमायाले २०५८ सालमा बिन्दुदेवीबाट राजीनामा गराई लिएकी हुन् । वीरेन्द्रलाल जोशीको नाउँमा दर्ता रहेको कि.नं. ८४० को जग्गामा सगोलको जग्गा धितोमा राखी ऋण लिई घर बनाएको अवस्था छ । कि.नं. ५३० को जग्गामा मात्र बन्डा हुने ठहर्याई भएको पुनरावेदन अदालत पाटनको मिति २०७०।११।०१ को फैसलामा मुलुकी ऐन, अंश बन्डाको महलको १८ नं. र ३० नं. तथा प्रमाण ऐन, २०३१ को दफा ३ र ५४ को त्रुटि रहेको देखिँदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) अनुसार मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान गरिएको छ । विपक्षी झिकाई नियमानुसार पेस गर्नु भन्ने बेहोरासमेतको मिति २०७२।०६।२१ मा यस अदालतबाट भएको आदेश ।
ठहर खण्ड
नियमबमोजिम दैनिक पेसी सूचीमा चढी यस इजलाससमक्ष निर्णयार्थ पेस हुन आएको प्रस्तुत मुद्दाको मुद्दा दोहोर्याई हेरिपाउँ निवेदनसहितको मिसिल अध्ययन गरी हेरियो । पुनरावेदक प्रतिवादीहरू पदम जोशी एवं वीरेन्द्रलाल जोशीका तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ता श्री बालकृष्ण न्यौपाने एवं विद्वान् अधिवक्ता श्री हेमकुमार श्रेष्ठले रीतपूर्वकको प्रमाणको अभावमा फिराद परेको अघिल्लो दिन मिति २०६७।११।११ लाई मानो छुट्टिएको मिति कायम गरिएको छ । सो मितिभन्दा अघि एकासगोलको अंशियारहरूका नाममा खरिद गरिएको सम्पत्ति र सगोलमै रहँदा सगोलकै आर्जनबाट निर्माण गरेको घर निजी प्रमाणित नभएसम्म बन्डा लाग्ने नै हो । सगोलको अंशियारहरूको आय स्रोतबाट घर निर्माण गरिएकोमा त्यस्तो घर निजी आर्जनबाट निर्माण गरिएको हो भन्न सकिने विश्वासलायक प्रमाण पेस नभएको अवस्थामा सगोलका अंशियारहरूबीच भाग लाग्ने नै हुँदा पुनरावेदन अदालत पाटनबाट मिति २०७०।११।०१ मा भएको फैसला कि.नं.५० को घर जग्गा, कि.नं. ६४० को घरजग्गा, कि.नं. ८१६ को जग्गा एवं कि.नं. ९४९ को जग्गा बन्डा नहुने ठहर भएको हदसम्म त्रुटिपूर्ण हुँदा सो हदसम्म बदर गरिपाउँ भनी बहस गर्नुभयो ।
यसैगरी पुनरावेदक वादी माधवलाल जोशीका तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ता श्री सविता बराल एवं विद्वान् वरिष्ठ अधिवक्ता श्री बालमुकुन्द श्रेष्ठले विपक्षी वीरेन्द्रलाल जोशीले ललितपुर जिल्ला ललितपुर उपमहानगरपालिका वडा नं. २(ञ) कि.नं. ८४० को जग्गा बकसपत्रबाट प्राप्त गरेको भए तापनि निजले उक्त जग्गामा मिति २०६२।५।२२ मा नक्सा पास गरी घर बनाएको हुन् । सो घर सगोलको रूपैयाँ लगानी भई निर्माण गरिएको हो । निजले कि.नं.५३० को पैतृक घर जग्गालाई नेपाल दुरसञ्चार कम्पनी लिमिटेडमा दृष्टिबन्धक राखी घर बनाउन सापटी लिएका हुन् । कि.नं.८४० मा भएको घरसमेत बन्डा लाग्नु पर्नेमा सोमा बनेको घर जग्गा बन्डा नलाग्ने गरी काठमाडौं जिल्ला अदालतबाट भएको फैसला सदर हुने ठहर गरी पुनरावेदन अदालत पाटनबाट भएको फैसला सो हदसम्म त्रुटिपूर्ण हुँदा सो हदसम्म बदर गरिपाउँ भनी बहस गर्नुभयो ।
अंश छुट्याई दिनुहोस् भनी विपक्षीलाई पटकपटक भन्दा नमानेको हुँदा सम्पूर्ण सम्पत्तिको फाँटवारी लिई सो सम्पत्तिलाई ३ भाग लगाई फिरादीको १ भाग अंश छुट्याई चलनसमेत चलाई पाउँ भन्ने वादीदाबी रहेछ । वादी दाबीबमोजिम २०४२ सालमा मानो छुट्टिएको भन्ने कुरा झुट्टा भएको र बदनियतपूर्वक मुद्दा दायर गरिएको हुँदा मलाई मान्य छैन भन्ने प्रतिवादी पदम जोशीको प्रतिउत्तर जिकिर रहेछ । नाता पुस्तेवारीमा विवाद नभएको र भद्र भलादमीहरूको रोहबरमा नै मिति २०४२।४।९ मा मानो छुट्टिएको हुँदा सो मितिलाई मानो छुट्टिएको मिति कायम गरी अंश बन्डा भएमा मेरो मन्जुरी छ भन्ने प्रतिवादी द्वारिकालाल जोशीको प्रतिउत्तर जिकिर रहेछ । प्रतिवादीबाट पेस भएको तायदातीमा उल्लिखित जग्गाहरूमध्ये विवादित कि.नं. ५३० को घर जग्गा मात्र वादी प्रतिवादीबीच बन्डा लाग्ने देखिन आएकोले सो घरजग्गालाई नरमगरम मिलाई ३ भाग गरी सो ३ भागको १ भाग अंश वादीले प्रतिवादीबाट छुट्याई चलनसमेत चलाई लिन पाउने ठहर गरी काठमाडौं जिल्ला अदालतबाट फैसला भएको
रहेछ । सुरू काठमाडौं जिल्ला अदालतको सो फैसलाउपर वादी माधवलाल जोशी, प्रतिवादीहरू पदम जोशी तथा वीरेन्द्रलाल जोशी र द्वारिकालाल जोशीको तर्फबाट पुनरावेदन अदालत पाटनमा छुट्टाछुट्टै तीन पुनरावेदन परेको रहेछ । पुनरावेदन अदालत पाटनले सुरू फैसला सदर हुने ठहर गरी फैसला गरेको
रहेछ । पुनरावेदन अदालत पाटनको सो फैसलाउपर वादी माधवलाल जोशी र प्रतिवादीहरू पदम जोशीसमेतको तर्फबाट यस अदालतमा मुद्दा दोहोर्याई हेरिपाउँ भन्ने निवेदन परी मुद्दा दोहोर्याउने निस्सा प्रदान भई पुनरावेदनको लगतमा दर्ता भई पेस हुन आएको पाइयो ।
अब, पुनरावेदन अदालत पाटनको फैसला मिलेको छ वा छैन, पुनरावेदकहरूको पुनरावेदन जिकिर पुग्न सक्ने हो वा होइन भन्ने विषयमा निर्णय दिनु पर्ने देखियो ।
२. निर्णयतर्फ विचार गर्दा, हामी वादी प्रतिवादीबीच मिति २०४२।०४।०९ मा स्थानीय भद्र भलादमीको रोहबरमा मानो छुट्टिएको तर अंश बन्डा हुन बाँकी नै रहेको हुँदा सो मितिलाई मानो छुट्टिएको मिति कायम गरी विपक्षीहरूबाट तायदाती फाँटवारी लिई सम्पूर्ण सम्पत्तिलाई ३ भाग लगाई ३ भागमध्ये म फिरादीको १ भाग अंश छुट्याई चलनसमेत चलाई पाउँ भन्ने फिराद दाबी रहेको देखिन्छ । मानो छुट्टिएको मिति २०४२।४।९ भन्ने वादी दाबी रहे पनि सुरू काठमाडौं जिल्ला अदालतबाट फिराद परेको अघिल्लो दिन मिति २०६७।११।११ लाई मानो छुट्टिएको मिति तोकी आदेश भएउपर प्रतिवादी द्वारिकालाल जोशीको तर्फबाट पुनरावेदन अदालत पाटनमा १७ नं.को निवेदन परेकोमा सो आदेश सदर हुने आदेश भएको देखिएबाट मानो छुट्टिएको मिति २०६७।११।११ कायम भएको देखियो ।
३. कानूनतः वादी प्रतिवादीबीच मानो छुट्टिएको मिति फिराद परेको अघिल्लो दिन मिति २०६७।११।११ कायम भएको देखिए पनि धर्मलाल जोशीका तीन छोराहरू स्व.वैकुण्ठलाल, द्वारिकालाल र माधवलाल एकै घरको अलग अलग कोठामा बसी जीविका चलाइआएको पाइन्छ । “काठमाडौं महानगरपालिका वडा नं.२० कोहिटी टोल स्थित कि.नं.५३० को घर जग्गामा हामी ३ जना दाजुभाइ वैकुण्ठलाल जोशी, द्वारिकालाल जोशी र माधवलाल जोशीका साथै आ-आफ्नो परिवार सन्तानहरू चुल्हो छुट्टिँदै घरका कोठाहरू हकभोग गर्दै बसी जीविका चलाई आइरहेको छौँ । हाल विद्युत् उपभोग गर्ने विषयमा एउटै मीटर बुबा स्व.धर्मलाल जोशीका नाममा रहेकोबाट सवमिटर राखी बाल्दा पनि विद्युत शुल्क तिर्ने विषयमा विवाद भई समस्या उत्पन्न भएको छ । तसर्थ, हामी ३ जना घरका अंशियारको नाममा छुट्टाछ्ट्टै विद्युत् प्राधिकरणबाट विद्युत् लाइन मीटर जडान गर्न यस २० वडा कार्यालयबाट सिफारिस पाउँ” भनी यी तीनै मूल अंशियारहरू वैकुण्ठलाल जोशी, द्वारिकालाल जोशी र माधवलाल जोशीले मिति २०६३।११।२७ मा काठमाडौं महानगरपालिका वडा नं.२० को वडा सचिवसमक्ष दिएको निवेदन सुरू मिसिल संलग्न प्रमाण कागजबाट देखिन्छ । यस निवेदन बेहोराबाट वादी प्रतिवादीहरू कि.नं.५३० को घर जग्गामा अलग अलग कोठामा बसी आआफ्नो व्यवहार चलाउँदै आएको देखियो ।
४. वादी प्रतिवादीबीच पुस्तेवारीमा विवाद देखिँदैन । सुरू मिसिल संलग्न प्रतिवादीमध्येका द्वारिकालाल जोशीको प्रतिउत्तर पत्र, मुलुकी ऐन, अ.बं. १३९ नं. बमोजिम बुझिएका वीरेन्द्रलाल जोशीको इजलाससमक्ष भएको बयान र अंश बन्डा भएको देखिने कुनै प्रमाण कागजको अभावसमेतबाट अंशियारहरूबीच अंश बन्डा भएको देखिन आएन । वादी प्रतिवादीहरूबीच रीतपूर्वकको अंश बन्डा नभएको देखिएकोले निज अंशियारहरूबीच अंश बन्डा गर्नुपूर्व विवादित जग्गाहरू बन्डा लाग्ने नलाग्ने कुन प्रकृतिको हो सोको यकिन गर्नु पर्ने देखिन आयो ।
५. सुरू मिसिल संलग्न प्रमाण कागज हेर्दा मूल पुरूष धर्मलाल जोशीको २०३१ सालमा मृत्यु भएको र निजकी पत्नी नारायणदेवी जोशीको मिति २०५७।१२।०१ मा मृत्यु भएको पाइन्छ । स्व. धर्मलाल र नारायण देवीका ३ छोराहरू जेठा वैकुण्ठलाल जोशी, माहिला द्वारिकालाल जोशी र कान्छा माधवलाल जोशी प्रस्तुत मुद्दाका ३ मूल अंशियारहरू रहेको पाइन्छ । जेठा छोरा वैकुण्ठलाल जोशीको मिति २०६७।६।९ मा मृत्यु भएको पाइन्छ । विवादित जग्गाहरूमध्ये स्व. वैकुण्ठलाल जोशीकी पत्नी पदम जोशीका नाममा काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. २० कि.नं.५३० को घर जग्गा र निजहरूका छोरा वीरेन्द्रलाल जोशीको नाममा ललितपुर जिल्ला, ललितपुर उपमहानगरपालिका साबिक वडा नं. २(ञ) को कि.नं.८४० को घर जग्गा रहेको पाइन्छ । त्यस्तै दोस्रा मूल अंशियार द्वारिकालाल जोशीकी पत्नी बद्रिमाया जोशीको नाममा काठमाडौं जिल्ला, स्वयम्भू डल्लु ९(ख) को कि.नं.९४९ को जग्गा र निजहरूका छोराहरू रघुबरलाल जोशी र धीरेन्द्रलाल जोशीको नाममा संयुक्त दर्ताको हाल काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. १३ को कि.नं. ५० को घर जग्गा रहेको पाइन्छ । त्यस्तै तेस्रा मूल अंशियार माधवलाल जोशीकी पत्नी कमलदेवी जोशीका नाममा काठमाडौं जिल्ला, मनमैजु गा.वि.स. वडा नं.१(क) को कि.नं. ६४० को घर जग्गा र ऐ. कि.नं. ८१६ को जग्गा रहेको पाइन्छ ।
६. विवादित कि.नं.५३० को घर जग्गातर्फ विवेचना गर्दा, काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं.२० कि.नं.५३० को घर जग्गा प्रतिवादी पदम जोशीसमेत स्ववासी भई निजका पति अंशियारमध्येका वैकुण्ठलाल जोशीबाट नामसारी भई मिति २०६७।०७।१२ मा प्रतिवादी पदम जोशीको नाममा आएको देखिन्छ । सो कि.नं.५३० को घरजग्गा पैतृक सम्पत्तिको रूपमा कायम रहेको कुरा प्रतिवादी निज पदम जोशीले सुरू मिसिल संलग्न तायदाती फाँटवारीमा उल्लेख गरेको पाइन्छ । निज प्रतिवादी पदम जोशीले पेस गरेको तायदाती फाँटवारीमा नै सो कि.नं.५३० को घर जग्गा पैतृक भई बन्डा हुनुपर्ने सम्पत्ति भएको भन्ने बेहोरा उल्लेख भएबाट उक्त कि.नं.५३० को घर जग्गा सगोलको अबन्डा रहेको पैतृक सम्पत्ति देखिन आयो ।
७. निज पदम जोशीका छोरा वीरेन्द्रलाल जोशीको नाममा ललितपुर जिल्ला, ललितपुर उपमहानगरपालिका वडा नं. २(ञ) को कि.नं. ८४० को जग्गा रहेको देखिन्छ । सो जग्गा निज वीरेन्द्रलालले मिति २०५९।२।२३ मा चन्द्रबहादुर कंसाकार र हिकमतबहादुर कंसाकारबाट हालैदेखिको बकसपत्रबाट आधाहक हिस्सा र बाँकी आधा हक हिस्सा मिति २०६०।५।१८ मा जयन्ती जोशीबाट हालैदेखिको बकसपत्रको लिखतबाट प्राप्त गरेको देखिन्छ । अब उल्लिखित कित्ता नं. ८४० को जग्गा निजमा हालैदेखिको बकसपत्र भई आएकोमा सोसमेत बन्डा लाग्ने हो वा होइन भन्नेतर्फ विचार गर्दा, मुलुकी ऐन अंशबन्डाको महलको १८ नं. मा मानो नछुट्टिई सँगै बसेका अंशियार छन् भने जुनसुकै अंशियारले सगोलको सम्पत्तिबाट वा सगोलको खेती, उद्योग, व्यापार व्यवसायबाट बढे बढाएको सगोलको आर्जन र लेनदेन व्यवहारको महलको ८ नम्बरबमोजिम लगाएको ऋण सबै अंशियारलाई भाग लाग्छ । सोबाहेक कुनै अंशियारले आफ्नो ज्ञान वा सीप वा प्रयासबाट निजी आर्जन गरेको वा कसैबाट निजी तवरले दान वा बकस पाएको वा कसैको अपुताली परेको वा स्त्री अंश धनको महलको ५ नम्बरबमोजिम पाएकोमा त्यस्तो आर्जन वा पाएको सम्पत्ति सो आर्जन गर्ने वा पाउने अंशियारको निजी ठहरी आफूखुसी गर्न
पाउँछ । बन्डा गर्न कर लाग्दैन । अंश नभए पनि मानो छुट्टिई भिन्न बसेका वा रजिस्ट्रेसन नगरी खती उपति आफ्नो आफ्नो गरी आफ्नो हिस्सासँग मात्र राखी खानु पिउनु गरेकोमा एकै ठाउँमा भएपनि मानो छुट्टिई भिन्न भएको
ठहर्छ । त्यस्तो कमाएको धन लाएको ऋण आफ्नो आफ्नो हुन्छ भन्ने कानूनी व्यवस्था रहेको देखिन्छ । यस कानूनी व्यवस्थाअनुसार कुनै अंशियारले आफ्नो ज्ञान, सीप वा प्रयासबाट निजी आर्जन गरेको, कसैबाट निजी तवरले दान वा बकस पाएको वा कसैको अपुताली परेको वा स्त्री अंश धनको महलको ५ नम्बरबमोजिम पाएकोमा त्यस्तो आर्जन वा पाएको सम्पत्ति सो आर्जन गर्ने वा पाउने अंशियारको निजी ठहरी आफूखुसी गर्न पाउने देखिन आयो ।
८. यसै सम्बन्धमा ने.का.प.२०६९ साल, अंक ३, भाग ५४, नि.नं. ८७८८, वादी वुद्धिलाल महर्जन र प्रतिवादी सानुमाया महर्जनसमेत भएको अंश चलन मुद्दामा बकसपत्रको लिखत गर्दा राजीनामासरह रकम लेनदेन भएको, अन्य अंशियारलाई अंश हकबाट वञ्चित गर्न मात्र बकसपत्र शब्द लेखिएको र दाताले प्राप्तकर्तालाई बकस दिनुपर्ने कुनै कारण तथा औचित्य नरहेको कुरा सो लिखतमा उल्लिखित सम्पत्ति बन्डा लागोस् भन्ने पक्षले प्रमाण दिई सो प्रमाणित भएमा बकसपत्र लेखिएको सम्पत्ति पनि बन्डा हुन सक्ने भन्ने न्यायिक सिद्धान्त प्रतिपादन भएको देखिन्छ । उक्त सिद्धान्तका आधारमा बकसपत्र लिखतबाट हक प्राप्त गर्ने व्यक्तिका नामको सम्पत्ति अन्य अंशियारले पनि हाम्रो अंशहक लाग्ने हो भन्ने दाबी गर्दा सो दाबी कर्ताले नै प्रमाण पुर्याउनु पर्ने देखिन आउँछ । प्रस्तुत मुद्दामा पुनरावेदकहरूबाट कि.नं.८४० को जग्गामा त्यस्तो प्रमाण पुर्याएको अवस्था देखिन आएन ।
९. अब विवादित कि.नं.८४० मा बनेको घर बन्डा लाग्ने वा नलाग्नेतर्फ विवेचना गर्दा, वीरेन्द्र लाल जोशीले २०६२ सालमा घरको नक्सा पास गरेको र मिति २०६२।३।१९ मा कि.नं.५३० लाई दृष्टिबन्धकमा राखी ऋण लिएको देखिन्छ । मिति २०६२।०३।१९ को दृष्टिबन्धकीको लिखत हेर्दा वीरेन्द्रलाल जोशीले नेपाल टेलिकमबाट ७ वर्षको तलब सापटीबापत ने.रू. ४,९९,५२०।– (चार लाख उनान्सय हजार पाँच सय बीस रूपैयाँ) ऋण सापटी लिएको र सो ऋणको किस्ता प्रत्येक महिना कम्पनीबाट निजले पाउने मासिक तलबको रकमबाट कट्टा गरी चुक्ता गर्ने बेहोरा उल्लेख भएको पाइन्छ । सो ऋणको साँवा र ब्याज तिर्ने दायित्व अरू अंशियारहरूले बेहोरेको वा तिरे बुझाएको देखिन आउने कुनै प्रमाण कागज मिसिल संलग्न रहेको देखिन आएन ।
१०. त्यस्तै निज वीरेन्द्रलाल जोशीले मिति २०६२।०५।०२ मा कर्मचारी सञ्चयकोषलाई गरी दिएको धितो बन्धकको कागजबमोजिम निजको नाममा रहेको कि.नं.८४० लाई कर्मचारी सञ्चयकोषको नाममा जेथा जमानी दिई ने.रू.९,००,०००।– (नौ लाख रूपैयाँ) ऋण लिएको देखिन
आउँछ । जसअन्तर्गत निजले कर्मचारी सञ्चयकर्ता घर सापटी कार्यक्रमअन्तर्गत पहिलो किस्तामा ने.रू.३,७९,०००।- (तीन लाख उनासी हजार रूपैयाँ) र दोस्रो किस्तामा ने.रू. ५,२१,०००।- (पाँच लाख एक्काइस हजार रूपैयाँ) लिएको देखिन आउँछ । यसरी ऋण लिई घर बनाएकोमा सगोलका अन्य अंशियारसमेतले उक्त ऋणको भार बेहोरेको कुनै प्रमाणबाट नदेखिई रहेको अवस्थामा सो घर सगोलको आर्जनको सम्पत्ति भनी बन्डा लाग्ने भनी अर्थ गर्न न्यायको रोहबाट उपयुक्त देखिएन ।
११. विवादित कि.नं. ५० को घर जग्गातर्फ विचार गर्दा, साबिक काठमाडौं टंकेश्वरी वडा नं. ९(क) कि.नं.२७८ को ०-५-२-२ को जग्गामध्ये पूर्व उत्तरतर्फबाट ०-५-०-० जग्गा विन्दुदेवी सापकोटाबाट मूल अंशियारमध्येका द्वारिकालाल जोशीकी पत्नी बद्रिमाया जोशीले र.नं.३५० मिति २०५८।०४।१८ मा राजीनामा पारित गरी लिएको पाइन्छ । उक्त साबिक कि.नं.२७८ को जग्गा कित्ता काट भई साबिक कि.नं.३२९ कायम रहेकोमा हाल काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं.१३ कि.नं.५० को जग्गा रहेको पाइन्छ । प्रस्तुत मुद्दाको सुरू मिसिल संलग्न Hotel Malla को January 25, 1991 को पत्र हेर्दा निज बद्रिमायाका छोरामध्येका धीरेन्द्रलाल जोशी उक्त होटलमा September 1, 1989 देखि January 25, 1991 सम्म Dining Hall Cashier को रूपमा काम गरेको पाइन्छ । त्यस्तै सुरू मिसिल संलग्न Embassy of Japan को December 25, 2012 को पत्रानुसार निज धीरेन्द्रलाल जोशी October 11, 1990 देखि Embassy of Japan मा Assistant Administrative Officer भई स्थायी कर्मचारीको रूपमा काम गरी आएको देखिन्छ । त्यस्तै Embassy of Japan कै December 25, 2012 को पत्रअनुसार यी धीरेन्द्रलाल जोशीले August 1, 2001 (मिति २०५८।०४।१७) अथवा बद्रिमाया जोशीले कि.नं.५० राजीनामा गरी लिँदाको अघिल्लो दिनमा ने.रू.३,६४,०००।- (तीन लाख चौसठ्ठी हजार रूपैयाँ) बराबरको Provident fund निकालेको बेहोरा उल्लेख भएको देखिन आउँछ ।
१२. यी अंशियारहरू छुट्टी भिन्न भएको नदेखिए पनि अलग अलग कोठामा बसेको देखिएको र यसरी अलग अलग बसेकै अवस्थामा आआफ्नो मिहिनेत परिश्रमबाट आआफ्ना नाममा सम्पत्तिहरू आर्जन गरी आआफ्नो व्यवहार आआफ्नो ढंगबाट गरी आइरहेको देखियो । यसरी अलग बसी आफ्नो निजी ज्ञान, सीप र कामबाट कमाएको सम्पत्ति लगानी गरी बद्रिमाया जोशीले राजीनामाबाट हक प्राप्त गरी लिएको काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं.१३ को कि.नं.५० को जग्गा अन्य अंशियारको श्रम, पसिनाबाट आर्जन गरेको सम्पत्ति हो भनी अदालतले अनुमान गर्न मिल्ने अवस्था भएन ।
१३. अब विवादित कि.नं.५० मा बनेको घर बन्डा लाग्ने वा नलाग्ने सम्बन्धमा हेर्दा, सुरू मिसिल संलग्न Embassy of Japan को December 25, 2012 को पत्र र Council for Technical Education & Vocational Training, Balaju School of Engineering and Technology को 24 June 2011 को पत्र, रघुबरलाल जोशीको नाममा निजले Federal Republic of Germany मा advanced training scholarship पाएकोसमेतका पत्रहरू सुरू मिसिल संलग्न रहेको देखिएबाट रोजगारीको लागि धीरेन्द्रलाल जोशी जापानी राजदुतावासमा र रघुबरलाल जोशी इलेक्ट्रीकल ट्रेनरको रूपमा नोकरी गरिआएको देखिन आउँछ । यस्तै सुरू मिसिल संलग्न कागज प्रमाण हेर्दा धीरेन्द्र लाल जोशी र रघुबर लाल जोशीले कि.नं. ५० लाई निरूपण बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा मिति २०६७।८।२७ मा धितोबन्धक राखी धितोबन्धकीको कागज गरी ने.रू.५०,००,०००।- (पचास लाख रूपैयाँ) ऋण / कर्जा लिएको देखिन्छ । माथि उल्लेख भएका प्रमाणहरूको विवेचना गर्दा, दुवैजनाको निजी ज्ञान, सीप, प्रयासबाट निजी आर्जन गरी घर जोडेको देखिन आउँछ । यस्तो आर्जन गरेको सम्पत्ति सो आर्जन गर्नेहरूको निजी नै देखिन आउँछ, यस परिप्रेक्ष्यमा उक्त कि.नं. ५० मा बनेको घर बन्डा गर्न मिल्ने देखिन आएन ।
१४. उल्लिखित कि.नं.५० को घर जग्गामा यस्तो पैतृक सम्पत्ति र सबै अंशियारको लगानी परेको भन्ने पुष्टि गर्ने प्रमाण आउन सकेको अवस्था पनि छैन । उक्त कि.नं. ५० निज बद्रिमाया जोशीले आफ्ना छोराहरू धीरेन्द्रलाल र रघुबरलाललाई मिति २०६४।५।९ मा हालैदेखिको बकसपत्रबाट हक हस्तान्तरण गरिदिएको देखिन्छ । यस परिप्रेक्ष्यमा उक्त कि.नं.५० बद्रिमाया जोशीको निजी आर्जनको सम्पत्ति देखिन आएकोले निजले उक्त घर जग्गा निजका छोराहरू धीरेन्द्रलाल जोशी एवं रघुबरलाल जोशीलाई हालैदेखिको बकसपत्रबाट हक हस्तान्तरण गरेको कार्यलाई अन्यथा भन्न मिल्ने देखिएन ।
१५. अब विवादित काठमाडौं जिल्ला, स्वयम्भू डल्लु ९(ख) कि.नं. ९४९ तर्फ विचार गर्दा, सुरू मिसिल संलग्न प्रमाण कागजबाट सो कित्ता प्रतिवादीमध्येका मूल अंशियार द्वारिकालाल जोशीकी पत्नी बद्रिमाया जोशीले हरिनारायण महर्जनबाट २०५२ सालमा हालैदेखिको बकसपत्रबाट प्राप्त गरेको र सो कित्ता जग्गा हाल चमति जग्गा एकीकरण आयोजनाको नाममा रहेको देखिन्छ । अब सो कित्ता बकसपत्रको लिखतबाट हकहस्तान्तरण भई आएकोमा सो लिखतमा उल्लिखित सम्पत्ति बन्डा लागोस् भन्ने पक्षले प्रमाण दिई सो प्रमाणित भएमा बकसपत्र लेखिएको सम्पत्ति पनि बन्डा हुन सक्ने देखिन
आउँछ । प्रस्तुत मुद्दामा कि.नं. ९४९ समेत बन्डा लागोस् भन्ने जिकिर लिने पुनरावेदक पक्षले उक्त कि.नं. ९४९ पनि बन्डा लाग्ने हो भनी पुष्टि हुनेसम्मको कुनै प्रमाण प्रस्तुत गर्न सकेको देखिँदैन । यस्तो अवस्थामा उल्लिखित कि.नं. ९४९ मुलुकी ऐन, अंशबन्डाको महलको १८ नं. बमोजिम सो बकस पाउने व्यक्तिको निजी नै देखिन आउँछ ।
१६. अब, तेस्रो अंशियार वादी माधवलाल जोशीकी पत्नी कमलदेवी जोशीका नाममा रहेका कि.नं.६४० को घरजग्गा र कि.नं.८१६ को जग्गातर्फ विचार गर्दा, निजका नाममा रहेको काठमाडौं जिल्ला, मनमैजु गा.वि.स. वडा नं. १क, कि.नं. ६४० को घरजग्गा निजलाई बुद्धलक्ष्मी श्रेष्ठ (राना) बाट मिति २०४९।११।२७ मा र ऐ. कि.नं. ८१६ को जग्गा हरिप्रसाद तिवारीबाट मिति २०५६।७।२९ मा हालैदेखिको बकसपत्रको लिखतबाट हक प्राप्त भई निजको नाममा दर्ता रहेको देखिन्छ ।
१७. विवादित कि.नं.६४० र कि.नं.८१६ को जग्गातर्फ विचार गर्दा, यी दुवै कित्ता जग्गा कमलदेवी जोशीमा हकहस्तान्तरण भई आएको लिखतमा हालैदेखिको बकसपत्र भनी उल्लेख भएको
देखिन्छ । प्रस्तुत मुद्दामा यी कित्ता जग्गाहरू कि.नं.६४० र कि.नं.८१६ समेत बन्डा लागोस् भन्ने जिकिर लिने पुनरावेदक पक्षले यी कित्ता पनि बन्डा लाग्ने हुन् भनी पुष्टि हुनेसम्मको कुनै प्रमाण प्रस्तुत गर्न सकेको देखिँदैन । यस्तो अवस्थामा यी उल्लिखित कि.नं.६४० र कि.नं.८१६ मुलुकी ऐन, अंशबन्डाको महलको १८ नं. बमोजिम बकसपत्रद्वारा हक प्राप्त गर्ने व्यक्तिको निजी नै हुने देखिन आउँछ ।
१८. अब कि.नं.६४० मा बनेको घर बन्डा लाग्ने वा नलाग्नेतर्फ विचार गर्दा, सबै अंशियारहरू पैतृक जग्गा कि.नं.५३० मा बनेको घरको अलग अलग कोठामा बसी आआफ्नो जीविका आआफ्नै किसिमले चलाई आएको देखियो । यसरी अंशियारहरूले अलग अलग कोठामा बसी आआफ्नो मिहिनेत परिश्रमबाट पछि सम्पत्तिहरू आर्जन गरेको देखिई रहेको र सगोलको बन्डा लाग्ने पैतृक सम्पत्ति उल्लिखित कि.नं.५३० को घर जग्गा मात्रै हो भन्ने देखिएको अवस्थामा उल्लिखित कि.नं.६४० मा बनेको घरको निर्माणमा कुनै पैतृक सम्पत्ति वा सबै अंशियारहरूको लगानी परेको छ भन्ने सहज अनुमान अदालतले गर्न सक्ने अवस्था रहेन । कि.नं.६४० मा बनाएको घरलाई पनि निजी आर्जनबाटै जोडेको सम्पत्ति मान्नुपर्ने देखियो ।
१९. अत: माथि विवेचित तथ्य, कानूनी व्यवस्था, आधार प्रमाण र कानूनी सिद्धान्तसमेतबाट कि.नं. ५३० को घरजग्गा मात्र वादी र प्रतिवादीहरूबीच बन्डा लाग्ने ठहर गरेको सुरू काठमाडौं जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत पाटनको मिति २०७०।११।१ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । तसर्थ, वादी र प्रतिवादीहरू दुवै पक्षले लिएको पुनरावेदन जिकिर पुग्न सक्दैन । दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाई दिनू ।
उक्त रायमा सहमत छु ।
न्या. तेजबहादुर के.सी.
इजलास अधिकृतः कृति थापा
इति संवत् २०७५ साल आषाढ १० गते रोज १ शुभम् ।