निर्णय नं. १०१४१ - अंशचलन
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा
माननीय न्यायाधीश डा.श्री आनन्दमोहन भट्टराई
फैसला मिति : २०७५।६।१०
मुद्दा : अंशचलन
०७०-CI-०००३
पुनरावेदक / प्रतिवादी : ध्रुवमान सिंह बस्न्यातको छोरा काठमाडौं जिल्ला, शेष नारायण गा.वि.स. वडा नं. ४ बस्ने प्रल्हादमान सिंह बस्न्यात
विरूद्ध
प्रत्यर्थी / वादी : काठमाडौं जिल्ला, शेष नारायण गा.वि.स. वडा नं. ४ घर भई हाल कीर्तिपुर नगरपालिका वडा नं. ८ बस्ने आइस्था भन्ने योगिना बस्न्यातको हकमा संरक्षक भई तेज बहादुर बुढाथोकीको छोरी प्रल्हादमान सिंह बस्न्यातको पत्नी अनिता बस्न्यात
०६९-CI-१२८२
पुनरावेदक / प्रतिवादी : इन्द्रमान सिंह बस्न्यातको बुहारी ध्रुवमान सिंह बस्न्यातको पत्नी का.जि. शेषनारायण गा.वि.स. वडा नं. ४ बस्ने मैया बस्न्यातसमेत
विरूद्ध
प्रत्यर्थी / वादी : काठमाडौं जिल्ला, शेष नारायण गा.वि.स. वडा नं. ४ घर भई हाल कीर्तिपुर नगरपालिका वडा नं. ८ बस्ने आइस्था भन्ने योगिना बस्न्यातको हकमा संरक्षक भई तेज बहादुर बुढाथोकीको छोरी प्रल्हादमान सिंह बस्न्यातको पत्नी अनिता बस्न्यात
कुनै लिखतलाई अविभाज्य हो वा पृथकीय हो भनी छुट्याउनु परेको अवस्थामा सो लिखतको स्वरूप, त्यसबाट असर पर्ने पक्षहरूको संख्या र स्वीकार्यता जस्ता समग्र पक्षमा विचार गरिनु पर्दछ । यो केवल प्राविधिक वा यान्त्रिक विषय मात्रै होइन । खासगरी अंश भरपाई गरेको सन्दर्भमा हेर्दा एउटा अंशियारले निजका समान तहका अंशियारहरूसँग मिलेमतो गरी अन्य अंशियारको हक हितमा असर पुर्याउने गरी व्यवहार गरेको देखिन्छ भने त्यसबाट असर परेका र दाबी गर्न आएका पक्षहरूको हकमा सम्म लिखत बदर गर्न कानूनी बाधा नदेखिने ।
(प्रकरण नं.६)
वादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री सुनिल रंजन सिंह
प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री शम्भु थापा र विद्वान् अधिवक्ता श्री जगदिश चन्द्र पाण्डे
अवलम्बित नजिर :
सम्बद्ध कानून :
बालबालिकासम्बन्धी ऐन, २०४८
सुरू तहमा फैसला गर्ने:
माननीय न्यायाधीश श्री लेखनाथ घिमिरे
काठमाडौं जिल्ला अदालत
पुनरावेदन तहमा फैसला गर्ने :
माननीय न्यायाधीश श्री एकराज आचार्य
माननीय न्यायाधीश श्री रामचन्द्र यादव
पुनरावेदन अदालत पाटन
फैसला
न्या. ईश्वरप्रसाद खतिवडा : तत्कालीन न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) बमोजिम पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छः-
विपक्षीहरू ध्रुवमानसिंह बस्न्यात र मैयाँ बस्न्यात हामी फिरादीको हजुरबुबा, हजुरआमा तथा सासू । ससुरा र प्रल्हादमानसिंह बस्न्यात पति तथा बुबा हुन् भने यशोदा बस्न्यात र राधा बस्न्यात नन्द तथा फुपू दिदीहरू हुन् । प्रभाकर बस्न्यात हामीहरूको देवर तथा काका नाताको हुनुहुन्छ । यशोदा बस्न्यात, राधा बस्न्यात र प्रभाकर बस्न्यात अविवाहित
हुनुहुन्छ । हालसम्म हामीहरू र विपक्षीहरूबीच अंशबन्डा नभएको र हामीहरूलाई विपक्षीहरू मिली खान लाउन नदिई घरबाट निकाला गरेबाट फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरी बन्डा गर्नुपर्ने सम्पत्तिको फाँटवारी विपक्षीहरूसँग माग गरी विवाह खर्च परसारी ६ भाग लगाई सोमध्ये एक भाग छुट्याई सो एक भागलाई पुनः ३ भाग लगाई सोबाट २ भाग छुट्याई चलनसमेत चलाई पाउँ भन्नेसमेत बेहोराको फिराद दाबी ।
विपक्षीहरूको पति पिता प्रल्हादमानसिंह बस्न्यातले आफ्नो सम्पूर्ण अंश हकबापत नगद बुझी लिई मिति २०६१/६/६ गते भिन्न भइसकेको हुँदा निजै प्रल्हादमान सिंह बस्न्यातबाट विपक्षी वादीहरूले अंश पाउने हो । हामीबाट विपक्षी वादीले अंश लिन पाउने होइन भन्नेसमेत बेहोराको प्रतिवादी मैयाँ बस्न्यात, यशोदा बस्न्यात, राधिका बस्न्यात, प्रभाकर भनिएको प्रभातमानसिंह बस्न्यात र ध्रुवमानसिंह बस्न्यातको संयुक्त प्रतिउत्तर जिकिर ।
म मिति २०६१/६/६ देखि आफ्नो अंश लिई छुट्टी भिन्न भई बसेको हुँदा मेरा नाउँमा दर्ता भएको सम्पत्तिबाट विपक्षी वादीलाई अंश छुट्याई दिन मेरो मन्जुरी नै छ भन्नेसमेत प्रतिवादी प्रल्हादमानसिंह बस्न्यातको प्रतिउत्तर जिकिर ।
वादी र प्रतिवादीहरूका साक्षीहरूले आ-आफ्ना पक्षको मिलान हुने गरी गरेको बकपत्र मिसिल सामेल रहेको ।
वादी अनिता तथा प्रतिवादीमध्येका प्रल्हादमानसिंह बस्न्यात पति पत्नी नाताको व्यक्ति रहेकोमा विवाद छैन । वादीले छोरीको समेत अंश दाबी गरी फिराद दायर गरेको अवस्था भए तापनि नाबालिका छोरीको तर्फबाट मुद्दा गर्ने अनुमति वादीले लिएको नपाइँदा फिरादपत्रमा नाबालिका छोरीको नाम उल्लेख गर्दैमा त्यसतर्फ अदालतबाट अहिले नै बोल्न मिल्ने अवस्था भएन । वादी स्वयंको हकमा लिएको दाबीको सन्दर्भमा वादी प्रल्हादमान सिंह तथा प्रतिवादी अनिता बस्न्यात भएको फौ.नं.२३७८ को सम्बन्ध विच्छेद मुद्दामा वादी दाबीबमोजिम वादी प्रतिवादीबीचको लोग्ने स्वास्नीको सम्बन्ध विच्छेद भई प्रतिवादीले कानूनबमोजिम पाउने अंशसमेत छुट्टयाई लिन पाउने ठहर भई आजै यसै इजलासबाट फैसला भएको देखिँदा प्रस्तुत मुद्दाबाट पुनः दोहोरो पर्ने गरी अंशतर्फ बोल्न मिल्ने अवस्था भएन । नाबालिका छोरीको हकमा कानूनबमोजिमको प्रक्रिया पुर्याई फिराद दायर भएको नपाइँदा त्यसतर्फको वादी दाबी पुग्न सक्दैन भन्नेसमेत बेहोराको सुरू काठमाडौं जिल्ला अदालतको मिति २०६८।३।२ को फैसला ।
सुरू जिल्ला अदालतले मेरी सानी छोरीको हकमा संरक्षक भनी फिराद दायर भएपछि निजको हकमा के कस्तो कानूनी प्रक्रिया पुर्याउनुपर्ने हो सो सम्बन्धमा अदालतबाट केही नबोली एकै पटक फैसला हुँदा नाबालिका छोरीको हकमा प्रक्रिया पूरा नगरी फिराद दायर भएको देखिँदा त्यसतर्फ बोल्न मिलेन भनी गरेको फैसलाले नाबालिक छोरीको हकमा अन्यायपूर्ण फैसला भएको छ । त्यसैगरी मेरा श्रीमान्ले आफूले पाउनुपर्ने अंश भागभन्दा धेरै कम मोल बिगो स्वीकार गरी हामी आमा छोरीलाई सबै अंशियार बराबर अंश पाउने हकबाट वञ्चित गर्ने प्रपञ्चबाट अंश बुझेको भरपाई भएको हुँदा सबै अंशियारले सामाजिक न्यायअनुसार अंश दिलाई पाउँ भन्ने वादीको पुनरावेदन अदालत पाटनमा परेको पुनरावेदनपत्र ।
पुनरावेदकले प्रत्यर्थी प्रतिवादीहरूउपर प्रस्तुत अंश मुद्दा दिएकोमा लगाउको सम्बन्ध विच्छेद मुद्दाबाट सो मुद्दामा प्रतिवादी कायमै नभएका अंशियारबाट समेत अंश पाउने ठहरी फैसला भएको र बालबालिकासम्बन्धी ऐन, २०४८ को दफा ५१ ले आफ्नो नाबालक छोरीको हकमा आमा यी पुनरावेदकले संरक्षक भई अंशमा दाबी गर्न पाउनेमा मुद्दा गर्न अनुमति नलिएको भन्ने आधारमा छोरीले अंश नपाउने ठहराएको सुरू काठमाडौं जिल्ला अदालतको मिति २०६८।३।२ को फैसला फरक पर्ने देखिँदा छलफलका लागि अ.बं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम प्रत्यर्थीहरूलाई झिकाई पेस गर्नु भन्ने पुनरावेदन अदालत पाटनको मिति २०६९।१।१४ को आदेश ।
बालबालिकासम्बन्धी ऐन, २०४८ को दफा २३(२) र ५१ को व्यवस्थाबाट नाबालकको हकमा अनुमति लिन नपर्ने भन्ने कानूनी व्यवस्था नरहेकोमा विपक्षीले मुलुकी ऐन, अ.बं. ८३ नं. बमोजिम छोरीको हकमा अनुमतिको निवेदन नदिई अंशमा दाबी गर्न मिल्दैन । विपक्षी वादीको पति प्रल्हादमानसिंह बस्न्यातले म लिखित जवाफ प्रस्तुतकर्ता ध्रुवमानसिंह बस्न्यातसँग मिति २०६१।६।६ मा अंश भरपाईको लिखत गरी छुट्टिसकेको अवस्थामा निजबाट अंश पाउनुपर्ने अवस्था विद्यमान रहेकोमा मलाई समेत विपक्षी बनाई प्रस्तुत मुद्दा दायर भएको हुँदा विपक्षीको पुनरावेदन जिकिर खारेज गरिपाउँ भन्ने प्रत्यर्थी / प्रतिवादी ध्रुवमानसिंह बस्न्यातले पुनरावेदन अदालतमा पेस गरेको लिखित प्रतिवाद ।
बालबालिकासम्बन्धी ऐन, २०४८ को दफा २३(२) र ५१ को व्यवस्थाबाट नाबालकको हकमा अनुमति लिन नपर्ने भन्ने होइन । विपक्षीले मुलुकी ऐन, अ.बं. ८३ नं. बमोजिम छोरीको हकमा अनुमतिको निवेदन नदिई अंशमा दाबी गर्न मिल्दैन । विपक्षी वादीका पति प्रल्हादमानसिंह बस्न्यातले ध्रुवमानसिंह बस्न्यातसँग मिति २०६१।६।६ मा अंश भरपाईको लिखत गरी छुट्टी सकेको अवस्थामा निजबाट अंश पाउनुपर्ने अवस्था विद्यमान रहेकोमा हामीलाई समेत विपक्षी बनाई प्रस्तुत मुद्दा दायर भएको हुँदा विपक्षीको पुनरावेदन जिकिर खारेज गरिपाउँ भन्ने प्रतिवादी मैयाँ बस्न्यात, यसोदा बस्न्यात, राधिका बस्न्यात र प्रभातमानसिंह बस्न्यातले पुनरावेदन अदालत पाटनमा पेस गरेको लिखित प्रतिवाद ।
वादी नाबालिका आइस्था भन्ने योगिना बस्न्यातको हकमा वादी दाबी पुग्न नसक्ने ठहराई सुरू काठमाडौं जिल्ला अदालतबाट मिति २०६८।३।२ गते भएको फैसला केही उल्टी भई सम्पूर्ण सम्पत्तिलाई ६ भाग लगाई सोको १ भागलाई पुनः ३ भाग गरी सोको १ भाग पुनरावेदक वादी आइस्था भन्ने योगिना बस्न्यातले अंश पाई चलनसमेत पाउने ठहर्छ भन्ने पुनरावेदन अदालत पाटनको मिति २०६९।७।१६ को फैसला ।
प्रस्तुत अंश चलन मुद्दामा सुरू काठमाडौं जिल्ला अदालतले वादी दाबी नपुग्ने गरी फैसला गरेकोमा पुनरावेदन अदालत पाटनसमक्ष विपक्षीको पुनरावेदन परेकोमा सुरू जिल्ला अदालतको फैसला उल्टी गरी छोरी आइस्था भन्ने योगिना बस्न्यातको हकमा अंश दिलाउनु पर्ने भएमा म पुनरावेदक एवम् विपक्षीहरूसँग मुलुकी ऐन अंशबन्डाको महलको २०, २१, २२, २३ नं. बमोजिम तायदाती फाँटवारी माग गरी सोको प्रक्रिया पूरा गरी मात्र फैसला गर्नु पर्नेमा पुनरावेदन अदालत, पाटनबाट तायदाती फाँटवारी माग नगरी अंश दिलाई दिने गरी भएको फैसला उल्लिखित कानूनको विपरीत हुँदा उक्त फैसला उल्टी हुने प्रस्ट
छ । यसैगरी वादी म पुनरावेदक प्रल्हादमान सिंह बस्न्यात, प्रतिवादी विपक्षी अनिता बुढाथोकी बस्न्यात भएको सम्बन्ध विच्छेद मुद्दामा विपक्षी अनिता बुढाथोकीलाई छुट्टी भिन्न भइसकेका मेरा पितासमेतबाट अंश दिलाई दिने गरी फैसला भएकोमा सो फैसला गर्नुभन्दा अगाडि निजहरूलाई उक्त मुद्दामा अ.बं. १३९ नं. बमोजिम बुझी तायदाती फाँटवारी माग गरी अंश लाग्ने नलाग्ने के हो सोबमोजिम फैसला गर्नु पर्नेमा सो मुद्दामा समेत निज पितासमेतलाई प्रतिवादीसरह कायम नभएबाट समेत छुट्टी भिन्न भइसकेका व्यक्तिहरूको सम्पत्ति बन्डा गर्न मिल्दैन ।
अतः म पुनरावेदक पिता ध्रुवमान सिंह बस्न्यातसँग छुट्टी भिन्न भइसकेको हुँदा विपक्षीहरूले आफ्नो अंश भाग मबाट मात्र प्राप्त हुने हुँदा छुट्टी भिन्न भइसकेका अन्य अंशियारसँग अंश पाउने ठहर गरेको पुनरावेदन अदालत पाटनको मिति २०६९।७।१६ को फैसला अ.बं. १८४क, प्रमाण ऐन, २०३१ को दफा ३, ५४, नं., अंश बन्डाको १, ३० नं. समेतको विपरीत हुँदा पुनरावेदन अदालत पाटनको उक्त फैसला बदर गरिपाउँ भन्ने प्रल्हादमान सिंह बस्न्यातको यस अदालतमा परेको पुनरावेदनपत्र ।
प्रस्तुत अंश चलन मुद्दामा सुरू काठमाडौं जिल्ला अदालतले वादी दाबी नपुग्ने गरी फैसला गरेकोमा नाबालक छोरी आइस्था भन्ने योगिना बस्न्यातको हकमा अंश दिलाउनु पर्ने भएमा हामीबाट अंशबन्डाको २०, २१, २२ र २३ नं. बमोजिम तायदाती फाँटवारी माग गरी प्रक्रिया पूरा गरेर मात्र अंश दिलाउने फैसला गर्नु पर्नेमा सो नगरी एकै चोटी अंश दिलाउने ठहर गरेको फैसला कानूनविपरीत
छ । लगाउको सम्बन्ध विच्छेद मुद्दामा समेत हामीलाई प्रतिवादीसरह कायम गरेको छैन । अतः नाबालक छोरीको अंशभाग छुट्याउने गरी भएको पुनरावेदन अदालतको फैसला बदर गरी सुरू काठमाडौं जिल्ला अदालतको फैसला कायम गरिपाउँ भन्ने प्रतिवादीहरू मैया बस्न्यात, यशोदा बस्न्यात, राधिका बस्न्यात, प्रभातमान सिंह बस्न्यात र ध्रुवमान सिंह बस्न्यातको यस अदालतमा परेको पुनरावेदन पत्र ।
प्रतिवादी प्रल्हादमान सिंहसँग वादी अनिता बस्न्यातको सम्बन्ध विच्छेद भइसकेको अवस्था छ । अंशबन्डाको १० नं. ले नाबालकले अंश लिई भिन्न बस्न पाउने व्यवस्था गरेको देखिँदैन । पुनरावेदन अदालत पाटनको फैसलाले वादी दाबीबमोजिम नाबालकको अंश छुट्याउँदा निजको अंश निजको संरक्षकले चलाउन नपाउने गरी सम्पत्ति संरक्षकतर्फ कुनै कुरा बोलेको पनि देखिँदैन । मिति २०६१।६।६ को बन्डापत्र प्रतिवादीहरूको हकमा कायम रहेको तर वादीको हकमा बदर भएको देखिन्छ तर प्रस्तुत बन्डापत्र लिखत यस प्रकारले पृथकीय (separable) हुने किसिमको लिखत नभई अविभाज्य (Non-divisible) लिखत देखिन्छ । यी सब कारणबाट पुनरावेदन अदालत पाटनको मिति २०६९।७।१६ को फैसला फरक पर्ने देखिँदा मुलुकी ऐन, अदालती बन्दोबस्तको २०२ नं. बमोजिम विपक्षी झिकाई आए वा अवधि नाघेपछि नियमानुसार पेस गर्नु भन्ने यस अदालतको मिति २०७२।१२।३ को आदेश ।
वादी प्रतिवादीहरूबीच अंशियार र नातामा विवाद देखिएन । अत: वादी प्रतिवादीबीच फिराद परेको मितिको अघिल्लो दिनलाई मानो छुटिएको मिति कायम गरी सो मितिसम्म बन्डा गर्नु पर्ने चल अचल सम्पत्तिको फाँटवारी अंशबन्डाको २०, २१, २२, २३ नं. बमोजिम वादी प्रतिवादीबाट तायदाती पेस गर्न लगाई पेस भएको फाँटवारी एक अर्कालाई सुनाई दर्ता स्रेस्ता बुझी नपुग कोर्ट फी वादीबाट दाखिला गर्न लगाई नियमानुसार गरी पेस गर्नु भन्ने यस अदालतको मिति २०७५।२।९ को आदेश ।
वादी प्रतिवादीले पेस गरेको तायदाती फाँटवारी र प्रतिक्रिया मिसिल सामेल रहेको ।
नियमबमोजिम दैनिक पेसी सूचीमा चढी इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीहरूका तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ता श्री शम्भु थापा र विद्वान् अधिवक्ता श्री जगदिश चन्द्र पाण्डेले प्रतिवादी प्रल्हादमान सिंह बस्न्यातसँग वादी अनिता बस्न्यातको सम्बन्ध विच्छेद भइसकेको छ । नाबालक बच्चालाई खान लाउन दिने कर्तव्य बाबुको हुन्छ । खान लाउन नदिए मात्र अंश दिनुपर्ने अवस्था आउँछ । नाबालकले अंशको इच्छा व्यक्त गर्न सक्दैन । उमेर पुगेपछि अंशमा बाबुसँग दाबी गर्न सक्ने र नाबालकको अंश हक बाबुसँग सुरक्षित रहनेमा सम्बन्ध विच्छेद भइसकेकी वादी संरक्षक भई नाबालकको हकमा अंश दाबी गर्न कानूनी र व्यावहारिक दुवै हिसाबले न्यायोचित नहुँदा पुनरावेदन अदालतले नाबालकको अंश हक छुट्टाउने गरी गरेको फैसला त्रुटिपूर्ण हुँदा बदर हुनुपर्छ भनी बहस प्रस्तुत गर्नुभयो ।
प्रत्यर्थी वादीका तर्फबाट उपस्थित विद्वान् अधिवक्ता श्री सुनिल रंजन सिंहले नाबालकको लागि आमा स्वतः प्राकृतिक संरक्षक हुन्छिन् । उमेर नपुगेकाको हकमा आमा संरक्षक भई मुद्दा गर्न पाउने कुरामा विवाद गर्नुपर्ने देखिँदैन । आमाको वैवाहिक स्थितिले नाबालक छोरीको संरक्षक बन्नमा प्राकृतिक आमालाई कुनै कानूनले रोकेको छैन । प्रतिवादीहरूको आपसी मिलाउबाट वादी र नाबालकको अंश हक मार्ने नियतले अंश छोडपत्र गरेको मिसिलको तथ्यबाट प्रस्ट हुन्छ । सो लिखतलाई प्रल्हादमानले स्वीकार गरेको हुँदा निजको हकमा लिखत बदर हुनु नपर्ने अवस्थासमेत हुँदा नाबालिका वादीले अंश पाउने ठहर गरेको पुनरावेदन अदालत पाटनको फैसला न्यायपूर्ण हुँदा सदर हुनुपर्छ भनी बहस प्रस्तुत गर्नुभयो ।
अब प्रस्तुत मुद्दामा पुनरावेदन अदालत पाटनको मिति २०६९।७।१६ को फैसला मिलेको छ, छैन र प्रतिवादीहरूको पुनरावेदन जिकिर पुग्ने हो वा होइन ? सोही सम्बन्धमा निर्णय दिनुपर्ने देखियो ।
२. निर्णयतर्फ विचार गर्दा, विपक्षीहरू सासु, ससुरा, पति तथा नन्दहरू मिली खान लाउन नदिई घरबाट निकाला गरेकाले सगोलको सम्पूर्ण सम्पत्तिलाई ६ भाग लगाई प्रल्हादमान सिंह बस्न्यातको १ भागलाई ३ भाग गरी सोबाट २ भाग अंश छुट्टयाई चलनसमेत चलाई पाउँ भन्ने आइस्था भन्ने योगिना बस्न्यातको हकमा संरक्षक भई आफ्नो हकमा समेत अनिता बस्न्यातको फिराद दाबी परेको देखियो । म २०६१।६।६ देखि अंश लिई छुट्टी भिन्न भएकोले मेरो भागबाट अंश दिन मन्जुर छु भन्ने प्र. प्रल्हादमान सिंहको प्रतिउत्तर तथा वादीका पति पिताले अंशबापत नगदै बुझिलिई छुट्टी भिन्न भइसकेकोले हामीले अंश दिनुपर्ने होइन भन्ने अन्य प्रतिवादीहरूको प्रतिउत्तर जिकिर रहेको पाइयो । वादी अनिता बस्न्यातले सम्बन्ध विच्छेद मुद्दाबाट अंश पाउने ठहर भइसकेको र नाबालक छोरीको हकमा कानूनी प्रक्रिया पूरा नगरी फिराद दायर गरेकोले वादी दाबी पुग्न नसक्ने गरी भएको सुरू फैसला केही उल्टी गरी सम्पूर्ण सम्पत्तिबाट ६ भागको १ भागबाट ३ भाग गरी सोको १ भाग अंश नाबालक वादी आइस्था भन्ने योगिना बस्न्यातले पाउने ठहर्याई भएको पुनरावेदन अदालत पाटनको मिति २०६९।७।१६ को फैसलाउपर प्रतिवादीहरूको यस अदालतमा पुनरावेदन परी प्रस्तुत मुद्दा पेस हुन आएको पाइयो ।
३. यस अदालतबाट प्रत्यर्थी झिकाउने आदेश हुँदा अंशबन्डाको १० नं. ले नाबालकले अंश लिई भिन्न बस्न पाउने व्यवस्था नगरेको, पुनरावेदनको फैसलामा संरक्षकले नाबालकको सम्पत्ति चलाउन नपाउने गरी सम्पत्तिको संरक्षकतर्फ कुनै कुरा नबोलेको र मिति २०६१।६।६ को बन्डापत्र प्रतिवादीको हकमा कायम रहेको तर वादीको हकमा बदर भएकोमा यस्तो लिखत पृथकीय (Separable) हुने किसिमको नभई अविभाज्य (Non-divisible) रहेको सन्दर्भमा पुनरावेदन अदालतको फैसला फरक पर्न सक्ने भन्ने आधार लिएको देखियो ।
४. मिसिल अध्ययन गरी हेर्दा, वादी अनिता बुढाथोकी (बस्न्यात) को प्रतिवादीमध्येका प्रल्हादमान सिंह बस्न्यातसँग मिति २०५९।३।९ मा विवाह भएकोमा मिति २०६०।११।१५ मा निजहरूबाट छोरी आइस्था भन्ने योगिना बस्न्यातको जन्म भएको देखिन्छ । वादी अनिता बुढाथोकी बस्न्यातले मिति २०६६।१०।२१ मा अंश मुद्दाको फिराद दिँदा नाबालक छोरी आइस्था बस्न्यातको संरक्षक भई आफ्नो हकमा समेत भन्ने उल्लेख गरेको देखिन्छ । छोरीको जन्म भएपछि घर परिवारसँग सम्बन्ध बिग्रेको भनी वादीले फिरादमा उल्लेख गरेको देखिन्छ । यसपछि मिति २०६१।६।६ मा वादीका पति प्रल्हादमान सिंह बस्न्यातले २ लाख नगद बुझी अंश भरपाई लिखत गरेउपर वादीको अंशबन्डा लिखत बदर, माना चामल र जालसाजीसमेतका मुद्दा परेको र नाबालक छोरी आमा अनिता बुढाथोकी बस्न्यातको संरक्षकत्वमा रहेको भन्ने मिसिलबाट देखिन्छ ।
५. प्रतिवादी प्रल्हादमान सिंह बस्न्यातले सम्बन्ध विच्छेद गरिपाउँ भनी गाउँ विकास समितिमा मिति २०६५।२।३० मा निवेदन दिँदा मिति २०५९।१२।२० देखि नै अनिता बुढाथोकी बस्न्यातले घरमा झगडा गरी माइती पक्ष घरमा ल्याई पटक पटक धम्की दिने गरेको र मिति २०६०।१।८ देखि महिला समूहका मानिससमेत जम्मा भई घर घेराउ गरेकोमा मिति २०६१।९।१७ देखि निज अनिताले घर नै छोडी माइती गई बसेको भनी उल्लेख गरेको
देखिन्छ । मिति २०६१।६।६ मा भएको अंश भरपाई लिखत हुनुभन्दा अगाडिबाट नै वादी अनिता र प्रतिवादी पक्षबीच मनमुटाव र विवाद परेको तथ्य स्थापित भएको देखिन्छ । कागज प्रमाणबाट नाबालिका छोरी आमाकै संरक्षकत्वमा रहेको कुरामा सन्देह गर्नुपर्ने अवस्था देखिँदैन । नाबालक छोरीको अंश बाबुसँग रहने हो, आमा संरक्षक भई अंश दाबी गर्न मिल्दैन भन्ने प्रतिवादीहरूको पुनरावेदन जिकिर र बन्डापत्र लिखत अविभाज्य (Non-divisible) भएकोले प्रतिवादीको हकमा कायम रहने र वादीको हकमा मात्र बदर हुन नसक्ने भन्ने प्रत्यर्थी झिकाउँदा लिएको आधारको सन्दर्भमा हेर्दा वादी र प्रतिवादीहरूबीच विवाद परेपछि नै नगद बुझी अन्य सम्पत्तिमा हक छाडेको भन्ने सो बन्डापत्रसमेतका लिखतबाट देखिएको छ । बन्डापत्र लिखतमा २ लाख नगद बुझी अन्य सम्पत्तिमा दाबी नगर्ने भन्ने उल्लेख भएको अवस्थाबाट पनि मिति २०६१।६।६ को अंश बुझेको भरपाई लिखत वादी अनितासमेतलाई अंश प्राप्त गर्ने हकबाट वञ्चित गर्ने अभिप्रायबाट भएको देखिन्छ । नाबालिका छोरीको अंश भागसमेत बाबुसँगै रहन्छ भन्ने कुरा कुनै कानूनमा आधारित देखिँदैन । अन्यथा प्रमाणित भएको अवस्थामा बाहेक सामान्यतयाः नाबालकको प्राकृतिक संरक्षक निजको आमा नै हुने र निजको सर्वोत्तम हितको रक्षा आमाबाट नै हुने हुन्छ । केवल पतिसँग सम्बन्ध विच्छेद गरेको कारणबाट आफ्ना नाबालक छोराछोरीको संरक्षक हुन पाउने अधिकार र दायित्व समाप्त भएको सम्झन मिल्दैन । प्रस्तुत मुद्दाको सन्दर्भमा हेर्दा नाबालिका छोरी जन्मेदेखि नै आमाको पालन पोषण र संरक्षकत्वमा रहेको देखिएको छ । यस अवस्थामा नितान्त प्राविधिक कुराको तर्क गरी अंश पाउने नैसर्गिक हकबाट नाबालिका वादीलाई वञ्चित गर्नु सर्वथा अनुचित हुन्छ । बालबालिकासम्बन्धी ऐन, २०४८ को दफा २३, दफा ५१ मा रहेका प्रावधानतर्फ दृष्टिगत गर्दा नाबालकको सम्पत्तिसम्बन्धी हकको संरक्षण र प्रचलनका लागि निजको प्राकृतिक संरक्षकको रूपमा रहेकी आमाले आवश्यक कानूनी उपाय अपनाउन सक्ने नै देखिन्छ । यसका लागि मुलुकी ऐन, अ.बं. ८३ नं. बमोजिम अनुमति प्राप्त गर्नुपर्ने अनिवार्यता देखिँदैन ।
६. अंश भरपाई लिखत अविभाज्य हो वा पृथकीय हो भन्ने सन्दर्भमा पनि केही कुरा उल्लेख गर्नु पर्ने हुन आएको छ । कुनै लिखतलाई अविभाज्य हो वा पृथकीय हो भनी छुट्याउनु परेको अवस्थामा सो लिखतको स्वरूप, त्यसबाट असर पर्ने पक्षहरूको संख्या र स्वीकार्यता जस्ता समग्र पक्षमा विचार गरिनु पर्दछ । यो केवल प्राविधिक वा यान्त्रिक विषय मात्रै होइन । खासगरी अंश भरपाई गरेको सन्दर्भमा हेर्दा एउटा अंशियारले निजका समान तहका अंशियारहरूसँग मिलेमतो गरी अन्य अंशियारको हक हितमा असर पुर्याउने गरी व्यवहार गरेको देखिन्छ भने त्यसबाट असर परेका र दाबी गर्न आएका पक्षहरूको हकमा सम्म लिखत बदर गर्न कानूनी बाधा देखिँदैन । अदालतले इन्साफ गर्दा वादीको दाबीमा सीमित रहनु पर्ने, वादीले गरेको दाबीभन्दा बढी पाउने गरी फैसला गर्न नहुने न्यायिक मान्यताअनुसार पनि अंश भरपाई लिखतलाई अविभाज्य नभएर पृथकीय लिखत मानेर बदर गर्नु स्वभाविक देखिन्छ । तसर्थ प्रत्यर्थी झिकाउने आदेश गर्दा उल्लेख गरिएका आधारहरूसँग सहमत हुन सकिएन ।
७. अतः माथि विवेचित आधार कारणबाट सुरू काठमाडौं जिल्ला अदालतको फैसला केही उल्टी गरी तायदातीमा उल्लिखित सम्पूर्ण सम्पत्तिलाई ६ भाग लगाई सोको १ भागलाई पुनः ३ भाग गरी सोको १ भाग आइस्था भन्ने योगिना बस्न्यातले अंश छुट्टयाई चलनसमेत चलाई पाउने ठहर्याएको पुनरावेदन अदालत पाटनको मिति २०६९।७।१६ को फैसला मनासिब हुँदा सदर हुने ठहर्छ । प्रतिवादीहरूको पुनरावेदन जिकिर पुग्न सक्दैन । दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाई दिनू ।
उक्त रायमा सहमत छु ।
न्या.डा.आनन्दमोहन भट्टराई
इजलास अधिकृत:- ढाकाराम पौडेल
इति संवत् २०७५ साल असोज १० गते रोज ४ शुभम् ।