निर्णय नं. १०१४४ - कर्तव्य ज्यान
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत
माननीय न्यायाधीश श्री तेजबहादुर के.सी.
फैसला मिति : २०७५।२।२२
०७०-CR-१२५८
मुद्दाः- कर्तव्य ज्यान
पुनरावेदक / वादी : गीता सुनारसमेतको जाहेरीले नेपाल सरकार
विरूद्ध
प्रत्यर्थी / प्रतिवादी : जिल्ला गोरखा, नाम्जुङ्ग गा.वि.स. वडा नं.२ घर भई काठमाडौं जिल्ला का.म.न.पा. वडा नं.१६ वस्ने विष्णु काप्रीसमेत
जो जसको क्रियाबाट भएपनि व्यक्तिको ज्यान गएको अवस्थामा अनुसन्धान फितलो र कमजोर भएकै कारण कसुरदारले उन्मुक्ति पाउने, पीडितले न्याय नपाउने तथा निर्दोषले सजायको भागी हुनुपर्ने कुनै पनि विषय कानूनी राज्यमा स्वीकार्य हुन सक्दैन । यसतर्फ न्यायका सरोकारवाला सबै सचेत भई अपराधको सूचना, अनुसन्धान, अभियोजन र सुनुवाइ तथा सुनुवाइपश्चात्का कार्यान्वयन पक्ष सबै तहमा कानून र कानूनका मान्य सिद्धान्तहरूको उचित प्रयोग र व्यवस्थापन गर्नु आवश्यक पर्ने ।
हिरासतमा रहेका व्यक्तिको आधारभूत मानव अधिकारको संरक्षण हुने गरी यातना दिन, कुटपिट गर्न, अमानवीय व्यवहार गर्न नहुने र मानवोचित व्यवहार गर्नुपर्नेलगायतका फौजदारी कसुरको अनुसन्धानसम्बन्धी कानूनी एवं सैद्धान्तिक मान्यतालाई आत्मसात गर्न नसकेको, त्यसअनुरूप प्रहरी कर्मचारीलाई तालिम दिन नसकेको, निर्देशन र नियन्त्रणसम्बन्धी व्यवस्थापकीय पक्ष उत्तरदायी हुन नसकी अझै पनि पुरातन विधि र प्रक्रियाबाटै कसुरको अनुसन्धान गर्ने पद्धति रहेको आभास हुने ।
ठगीको आरोप लागेका सानु सुनारलाई निजको व्यक्तिगत अधिकार, स्वास्थ्य स्थिति र अवस्थाको ख्यालै नगरी हिरासतमा गरिएका व्यवहारसमेतबाटै निज मृत्युको मुखसम्म पुगेको यथार्थ अवस्था देखिएकोले दोषीले सजाय, निर्दोषले सफाइ तथा पीडितले न्याय पाउने सुनिश्चितता हुने गरी अनुसन्धान, प्रमाण सङ्कलन, अभियोजन र अभियोजनलाई समर्थन गर्ने प्रमाण जुटाउनको लागि आधुनिक अनुसन्धान पद्धतिको प्रयोग कानून र तथ्यको विश्लेषण एवं मानव अधिकारको संरक्षण गर्न सक्ने अपराध अनुसन्धानसम्बन्धी तालिम प्राप्त दक्ष जनशक्ति रहने छुट्टै प्रहरी समूह गठन गर्नेतर्फ सम्बन्धित अनुसन्धान निकाय र अभियोजन पक्षको ध्यानाकर्षण गराउने ।
(प्रकरण नं.१५)
पीडितको मृत्यु भइसकेको अवस्थामा निजको हकवालालाई पर्न गएको मानसिक कष्ट र क्षतिसमेतलाई न्यायको रोहमा एउटा विशिष्ट अवस्थामा न्यायको मान्य सिद्धान्त र अन्तरनिहित अधिकारअन्तर्गत पनि अदालतले पीडितलाई उचित क्षतिपूर्ति भराई दिन उपयुक्त आदेश गर्न सक्ने ।
हिरासतमा रहेका व्यक्तिको मृत्यु भएको र फितलो तथा कमजोर अनुसन्धानको कारण कसुरदारले उन्मुक्ति पाएकै आधारमा पीडितले क्षतिपूर्तिसहितको पूर्ण न्याय पाउने हकबाट वञ्चित हुनु न्यायोचित मान्न सकिँदैन । पीडितलाई न्यायको अनुभूति गराउन राज्यले केही जिम्मेवारी लिनै पर्ने हुन्छ । प्रतिवादीले सजाय भोग्ने विषय पीडकको अनिवार्य दायित्व हो भने पीडितले क्षतिपूर्ति पाउने विषय पीडितलाई न्यायको अनुभूति गराउने परिपूरणको एउटा माध्यम हो । क्षतिपूर्ति पीडकबाट भराउन नसकिने अवस्थामा त्यसको दायित्व राज्यले लिनुपर्ने कुरा लोक कल्याणकारी राज्य तथा नागरिकप्रति उत्तरदायी सरकारको दायित्व पनि हो । यसबाट नागरिकले राज्य हाम्रो अभिभावक हो भन्ने महसुस गर्न सक्ने ।
पीडितको मृत्यु भइसकेको अवस्थामा निजमा आश्रित निजका परिवारले राज्यका तर्फबाट केही न केही राहत अनुभूति गर्न पाउनु पर्छ । प्रस्तुत मुद्दामा कमजोर अनुसन्धान भएको भन्ने कुरा राष्ट्रिय मानव अधिकार आयोग र स्वयं प्रहरी संगठनबाट गठित समितिका प्रतिवेदनबाटै प्रस्ट देखिन्छ । यस अवस्था र परिवेशमा हिरासतमै रहेका व्यक्तिको मृत्यु भएकोमा पीडितका आश्रित प्रति संरक्षकत्वको भूमिकाबाट राज्य पन्छिन वा विमुख रहन मिल्ने देखिँदैन । तसर्थ मृतकको नजिकको हकवालालाई बैंक खाता खोल्न लगाई सो खातामार्फत पीडित राहत कोष वा त्यस्तै प्रकारको सरकारी कोषबाट राहत स्वरूप सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत उचित क्षतिपूर्ति उपलब्ध गराउनु भनी नेपाल सरकार गृह मन्त्रालयको नाममा निर्देशात्मक आदेशसमेत जारी हुने ।
(प्रकरण नं.१६)
पुनरावेदक / वादीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता श्री खेमराज ज्ञवाली
प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री शम्भु थापा र शेरबहादुर के.सी. तथा विद्वान् अधिवक्ता श्री रामचन्द्र पौडेल र श्री नरेन्द्र भट्ट
अवलम्बित नजिर :
सम्बद्ध कानून :
सुरू तहमा फैसला गर्ने:
माननीय न्यायाधीश श्री बालेन्द्र रूपाखेती
काठमाडौं जिल्ला अदालत
पुनरावेदन तहमा फैसला गर्नेः
मा. जिल्ला न्या.श्री राजेन्द्रप्रसाद राजभण्डारी
माननीय न्यायाधीश श्री प्रकाशचन्द्र गजुरेल
पुनरावेदन अदालत पाटन
फैसला
न्या. प्रकाशमान सिंह राउत : तत्कालीन न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) बमोजिम मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान भई पुनरावेदनको रोहमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छः-
कृष्णबहादुर वि.क., सानु सुनार र राम तण्डुकारसमेत भई अनाथालय खोल्न भनी रू.२५,०००।- ठगी गरेको र ठगी गर्ने व्यक्तिहरूको खोजतलासका क्रममा काठमाडौं जिल्ला का.म.न.पा.वडा नं.१४ कलंकी खसीबजार एरियामा फेला पारी स्थानीय मानिसहरूले कुटपिट गरेकोले छुटाएर बुझाउन ल्याएको छु भनी निवेदनसहित बुझाएको हुँदा निजहरूको स्वास्थ्य जाँचको लागि यसै पत्रसाथ पठाइएको भन्नेसमेत बेहोराको मिति २०६७।२।९ गतेको वीर अस्पताललाई लेखेको पत्र ।
मिति २०६७।२।९ गते दिनको अं. १३.३० बजेको समयमा मेरो पति सानु सुनारलाई ठगी गरेको भनी केही मानिसहरूले कुटपिट गरी खसी बजारमा प्रहरीलाई बुझाएको भन्ने फोनमार्फत थाहापाई कलंकी आई बुझ्दा एकजना मानिसले ठगी गरेको आरोप लगाई अन्य व्यक्तिहरूको सहयोगमा कुटपिट गरी प्रहरीमा बुझाएको भनेको हुँदा खसी बजारस्थित प्रहरीलाई बुझ्दा कालिमाटी पठाएको भन्ने जानकारी पाई यस कार्यालयमा आई बुझ्दा विरूद्ध खण्डका प्रतिवादी विष्णु काप्रीसमेत भई कुटपिट गरी गम्भीर घाइते भएकोले वीर अस्पतालमा लगी उपचार भइरहेको भन्ने थाहा पाई गई हेर्दा गम्भीर चोट लागि उपचार भइरहेको देखेको हुँ । विरूद्ध खण्डका प्रतिवादीसमेतलाई ठगी गरेको भन्ने निहुँमा कुटपिट गरेको र ठगी गरेको भए कानूनबमोजिम कारबाही हुनु पर्नेमा काठमाडौं जिल्ला का.म.न.पा. वडा नं.१४ कलंकी खसी बजारस्थित सडकमा बोलाई मरणासन्न हुने गरी के कुन हतियार प्रयोग गरी कुटपिट गरी ज्यानमार्ने उद्योग गरेका हुन् अनुसन्धान गरी कानूनबमोजिम कारबाही गरिपाउँ भन्ने जाहेरवाला गिता सुनारको मिति २०६७।२।१० गतेको जाहेरी दरखास्त ।
प्रतिवादी विष्णु काप्रीको खोजतलासको क्रममा काठमाडौं जिल्ला का.म.न.पा. वडा नं.१६ बालाजु माछा पोखरीस्थित हिँडिरहेको अवस्थामा फेला पारी आवश्यक कारबाहीको लागि यसै प्रतिवेदन साथ दाखिला गरिएको भन्नेसमते बेहोराको मिति २०६७।२।१० गतेको पक्राउ प्रतिवेदन ।
कुटपिट भई उद्दार गरी यस कार्यालयमा दाखिला हुन आएका सानु सुनारसमेतको उपचार भइरहेको, पक्राउ परेको प्रतिवादी विष्णु काप्रीउपर अनुसन्धान भइरहेको र जाहेरीमा अन्य स्थानीय मानिसहरूसमेत भई कुटपिट गरेको भनी उल्लेख भएको हुँदा तहाँ कार्यालयबाट प्रहरी अधिकृतको टोली खटी गई वास्तविक कुटपिट गर्ने व्यक्तिहरू पत्ता लगाई फेला परेमा पक्राउ गरी दाखिला गराउन हुन भन्नेसमेत बेहोराको महानगरीय प्रहरी बिट कलंकीलाई मिति २०६७।२।११ गते लेखेको पत्र ।
घाइते सानु सुनारको वीर अस्पतालमा उपचारको क्रममा मिति २०६७।२।११ गते दिनको अं. १५.०० बजेको समयमा मृत्यु भएको भनी सम्बन्धित चिकित्सकद्वारा जानकारी गराएको हुँदा कानूनबमोजिम गरिपाउँ भन्नेसमेत बेहोराको मिति २०६७।२।११ गतेको प्रहरी प्रतिवेदन ।
काठमाडौं जिल्ला का.म.न.पा. वडा नं.१४ स्थित कलंकी बल्खुको रिङरोड पक्की सडकको उत्तर छेउ सडक पेटीमा रहेको फलामको बिजुलीको पोल भएको स्थानमा बा.१.ज.५४४८ नं. को ट्याक्सीमा यात्रा गरी आएको कृष्णबहादुर वि.क., राम भन्ने स्याम तण्डुकार र सानु सुनारलाई प्रतिवादी विष्णु काप्रीले ठगी गर्ने व्यक्तिहरू हुन् भनी हो हल्ला गरेपछि भेला भएका मानिसहरूको भीडले कुटपिटसमेत गरी घाइते बनाएको भनी स्थानीय मानिसहरूसमेतले देखाई दिएबमोजिम लेखिएको घट्नास्थल ४ किल्लासहितको विवरण ठीक छ भन्नेसमेत बेहोराको मिति २०६७।२।१४ गतेको घटनास्थल मचुल्का ।
विपक्षी सानु सुनारसमेत भई मलाई विभिन्न प्रलोभनमा पारी अनाथालयको लागि भनी मसँग रू.२५,०००।– लिएको र पुनः मिति २०६७।२।९ गते निजहरूले नै रू.२,००,०००।– माग गर्न आएकोमा घरमा गई दिने कुराकानी भई बुझ्दै जाँदा ठगिएको यकिन भई निजहरूको खोजतलास गर्ने क्रममा घरमा रकम लिन आउने कुरा ल्याण्ड लाइनबाट फोन गरेको हुँदा उक्त २५,०००।– उठाउने सोची पैसा लिन आउनु भनी खसी बजारमा बोलाई निज बा.१ ज.५८४८ नं. को ट्याक्सी चढी कलंकी बजारमा आएकोले मैले ठग ठग भनी बताएपछि स्थानीय मासिनहरूले निज कृष्ण वि.क., सानु सुनार र राम तण्डुकारलाई कुटपिट गर्न थालेपछि छुट्याई यस कार्यालयमा आवश्यक कारबाहीको लागि बुझाउन ल्याएको छु, निजहरूले अनाथालयको लागि भनी रकम ठगी गरेको यकिन भएको हुँदा कानूनबमोजिम कारबाही चलाई उक्त ठगिएको रकमसमेत दिलाई भराई पाउँ भन्ने विष्णु काप्रीको मिति २०६७।२।९ गतेको निवेदन ।
तत्काल नाम थाहा भएका विष्णु काप्रीले हार गुहार गरी हो हल्ला गरेपछि भेला जम्मा भएका मानिसले खसी बजारबाट लखेट्दै एमाले पार्टी कार्यालय सडक छेउमा उक्त ट्याक्सी रोकी घेरा हाली भेला जम्मा भएका मानिसहरूले ट्याक्सी चढी आएका पछि नाम थरसमेत खुल्न आएका सानु सुनार, कृष्ण वि.क.र ट्याक्सी चालक राम तण्डुकार तीनै जनालाई कुटपिट गरी रहेको अवस्थामा स्थानीय बिट कलंकीबाट तत्काल प्रहरी पुगी उद्दार गरी बिटमा लगी मानिसहरूको भिडभाड बढेको हुँदा महानगरीय प्रहरी वृत्त कालिमाटीतर्फ लैजान लागेको देखेको हुँ भन्नेसमेत बेहोराको मिति २०६७।२।१४ गतेको घट्ना मुचुल्का विवरण कागज ।
मिति २०६७।२।९ गतेको घट्ना घट्नुभन्दा करिब १ हप्ता अगाडि साथी सानु सुनारले फोन गरी एक जना मान्छे खोज, अनाथालय खोल्ने राम्रो कमाइ हुन्छ भनेकोले लोभमा परी निज विष्णु काप्रीसँग कुरा गरी अनाथालय खोली व्यापार गर्ने, अन्य कमाइसमेत हुन्छ भन्दा सहमति जनाएकोमा मिति २०६७।२।७ गते नै साथी तयार भएको कुरा जानकारी गराई कलंकीमा विष्णु काप्रीसँग सानु सुनारलाई भेट गराई जावलाखेल स्थित होटलमा गई सानु सुनारले १ जना धैरै पैसावाला साहु छ लिई आउँछु भनी गई एक जना मधेसी मूलको व्यक्ति लिई आएकोले चिनजान भई भोलि भेट्ने भनी सबैजना घर कोठातर्फ गयौं, निज सानु सुनारले भोलि तास खेली निज साहुको पैसा जित्नुपर्छ भनेको, भोलिपल्ट ऐ. ८ गते कलंकीमा सबै जना भेटी सोही ठाउँमा गई तास खेल्दा म र विष्णु काप्रीले आफूसँग भएको रकम निज साहुले जित्यो, छुट्ने बेला आजको थोरै पैसा साहुलाई जिताइदिएको हुँदा भोलि १० लाख जित्ने कुरा भई ऐ. ९ गते दिउँसो १२ बजेतिर विष्णु काप्रीले २ लाख लिई आएको छु भनी भनेकोले तत्काल सानु सुनार, मसमेत ट्याक्सी चढी जाँदा ट्याक्सी रोकी भनाभन हुन लागेकाले निजले ठग ठग भनी कराउन थाली ७।८ जना व्यक्तिहरूको भिड आई मलाई र सानु सुनार र चालकसमेतलाई बाहिर निकाली भुइँमा लडाई कुटपिट गर्न थाले, केही समयपछि प्रहरी बिटमा बुझाई प्रहरीले सोधपुछ गरी दिनको अं.१६.०० बजेको समयमा कालिमाटी प्रहरीमा ल्याई बुझाएको हो । तत्काल सोधपुछ गरी हिरासतमा राखेको, केही समयपछि मुद्दा फाँटमा समेत लगी सोधपुछ गर्ने क्रममा विष्णु काप्री र निजको श्रीमतीसमेत भएकोले मोबाइल तथा हामीसँग भएको र २२,५००।– रकम दिन्छौं भन्दा नमानेको हुँदा पुनः हिरासतमा राखेको हो । सो समयमम्म कुनै गाह्रो नभएको र राति करिब २२.०० बजेको समयमा सानु सुनार अचानक सिकिस्त बिरामी भई प्रहरीले राती नै अस्पतालमा लगेका हुन्, मसमेतलाई कलंकी तथा कालिमाटीसमेतमा प्रहरी कोही कसैले कुटपिट गरेको छैन, निज विष्णु काप्रीसमेतले बोलाई अन्य मानिससमेत लगाई कुटपिट गरेका हुन्, प्रयोग गरेको हतियारबारेमा थाहा भएन, कुटपिट गर्ने व्यक्तिहरूसमेत म चिन्दिन भन्नेसमेत बेहोराको प्रत्यक्षदर्शी कृष्णबहादुर वि.क.को मिति २०६७।२।१४ गतेको कागज ।
मैले चलाउने गरेको बा.१ ज. ५४४८ नं. का ट्याक्सी मिति २०६७।२।९ गते दिनको अं. १३.०० बजेको समयमा कलंकीमा बसिरहेको अवस्थामा २ जना व्यक्तिले बल्खुसम्म जाने भनी चढी खसी बजारमा पुग्दा १ जना सडक पेटीमा उभिएर बसेका व्यक्तिलाई देखी ट्याक्सीमा चढ्ने व्यक्तिले रोक्न भनेपछि दुवै पक्षबीच विवाद भई चोर चोर, ठग ठग भनी हल्ला गर्दा अन्य मानिसहरूले दोडँदै आई लखेटेपछि केही पर पुगेपछि पक्राउ गरी कुटपिट गरेका हुन्, सो क्रममा म तथा ट्याक्सीमा आएका २ जनासमेत घाइते भएका थिए, निज सडकमा उभिएका व्यक्तिसमेत सोही ठाउँमा थिए, निज व्यक्ति विष्णु काप्री रहेछन् र अन्य व्यक्ति कृष्ण वि.क.र सानु सुनारसमेत रहेछन् भने कुटपिट गर्ने समूहबाट छुटाई मसमेतलाई उद्दार गरी बिटमा लगेपछि थाहा भएको हो । त्यसपछि कालिमाटी प्रहरीमा ल्याई बुझाएको हो । तत्काल सोधपुछ गरी हिरासतमा राखेको, केही समयपछि मुद्दा फाँटमा समेत लगी सोधपुछ गर्ने क्रममा विष्णु काप्री र निजको श्रीमतीसमेत भएकोले सानु सुनारले मोबाइल र रकम रू.२२,५००।– रकम दिन्छौ भन्दा नमानेको हुँदा पुनः हामीहरूलाई हिरासतमा राखेको हो । सो समयसम्म कुनै गाह्रो नभएको र बेलुका खाना खाई बसेकोमा राति करिब २२.०० बजेको समयमा सानु सुनार अचानक सिकिस्त बिरामी भई ढलेको हुँदा अन्य थुनुवाहरूले जुत्ता र मोजासमेत सुघाएको, केही समयपछि पनि ठीक नभएकोले प्रहरीले राति नै अस्पतालमा लगेका हुन्, मैले पछि मात्र निजहरूलाई चिनेको हो । मसमेतलाई कलंकी तथा कालिमाटीसमेतमा प्रहरी कोही कसैले कुटपिट गरेको छैन, निज विष्णु काप्रीसमेतले ठग ठग भनी कराएपछि उपस्थित भिडले हातपात एवं कुटपिट गरेका हुन् भन्नेसमेत बेहोराको प्रत्यक्षदर्शी राम भन्ने श्याम तण्डुकारको मिति २०६७।२।१४ गतेको कागज ।
मिति २०६७।२।९ गते करिब दिनको १६.०० बजेको समयमा हिरासतमा ल्याएका सानु सुनारसमेत ३ जनालाई ठगी गरेको सम्बन्धमा सोधपुछको लागि ल्याएको भन्ने सुनेको, राति खान खाई हिरासत कक्षमा नै बसिरहेको अवस्थामा करिब २२.०० बजेको समयमा निज ३ जनामध्ये सानु सुनारले मुखबाट फिज निकाली भुइँमा ढलेको हुँदा हामीहरूले जुराफ सुगाएकोमा केही समय ठीक भई, ड्युटीवालाले समेत हेर्दा ठीक भएकोले छाडी दिएको, पुनः केही समयपछि ढलेको हुँदा ड्युटीवालाले बाहिर निकाली पानीसमेत खान दिई झन् बेहोस होला जस्तो देखी तत्काल उपचारको लागि पठाएको, निजलाई हिरासत तथा क्वाटरगार्डसमेतमा कुटपिट तथा गाली गलौज गरी अमानवीय व्यवहार गरेको छैन भन्नेसमेत बेहोराको हिरासतमा रहेका थुनुवाहरू संगम भण्डारीसमेतले मिति २०६७।२।१५ गते गरिदिएको कागज ।
म जाहेरवालाको बाबु वर्ष ४६ का सानु सुनारलाई कलंकी खसी बजार स्थित बिटबाट प्रतिवादी विष्णु काप्रीले जाहेरी दिएकोले मिति २०६७।२।९ गते दिनको अं. १.४२ बजेको समयमा पक्राउ गरी कालिमाटीस्थित प्रहरी कार्यालयमा ल्याएको भन्ने थाहा पाई आई भेट्न खोज्दा भेट्न नदिई त्यही कार्यालयको प्रहरीहरूले लाठी, मुक्का र लात्ताले हिकाई रहेकोले आमाले नकुट्न भन्दा आमालाई समेत कुट्न खोजेले बुझ्दा नगद रू.२५,०००।– ठगी गरेको भनी बताएकोले तत्काल रू.२२,५००।– दिई बाँकी ल्याइदिन्छु भनी आमा जानुभएपछि बुबालाई भित्र लगी कुटपिट एवं यातना दिई मरणासन्न अवस्थामा पुर्याई वीर अस्पतालमा लगी बेहोस अवस्थामा उपचार भइरहेको भन्ने थाहा पाई गई बुझ्दा कुटपिट गरेको र उपचारको क्रममा ऐ. ११ गते मृत्यु भएकोले कालिमाटी प्रहरी कार्यालयबाट कुटपिट गरी सोही पीडाले बुबाको मृत्यु भएको हुँदा निज अभियुक्त प्रहरीसमेतलाई कारबाही गरी हदैसम्मको कारबाही गरी लाससमेत सतगतगर्न जिम्मा पाउँ साथै कुटपिट गर्न लगाउने विष्णु काप्रीसमेतलाई कानूनबमोजिम कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको मनोज सुनारको जाहेरी दरखास्त ।
काठमाडौं जिल्ला महाराजगन्ज स्थित शिक्षण अस्पताल शव गृहमा रहेको मृतक वर्ष ४६ का सानु सुनारको लासमा रहेको कपडा हटाई हेर्दा टाउकोको बीच भागबाट बायाँतर्फ टाउकोको अगाडि भागबाट पछाडिसम्म उपचारको क्रममा टाँका लगाएको घाउ, नाकको दुवै प्वालबाट रगत बगेको, छातीको दायाँ बायाँतर्फ निलो कालो देखिने निल डाम रहेको, लिङ्गबाट तरल पदार्थ बगेको, दुवै खुटृामा निलडाम, बायाँ गोडाको गोली गाँठो नजिक सानो घाउ भएको, पछाडि पिठ्युमा निलो कालो, जस्तो डाम रहेको, अन्य शारीरिक अवस्था सामान्य रहेको लासको अन्य शारीरिक विवरण ठीक छ भन्नेसमेत बेहोराको मिति २०६७।२।१५ गतेको लास जाँच मचुल्का ।
मनोज सुनारको जाहेरी दरखास्त पाना २ यसै पत्रसाथ संलग्न राखी पठाइएको छ, वारदातस्थल ताहाँ कार्यालयअन्तर्गत पर्ने भएको हुँदा उल्लिखित घट्ना सम्बन्धमा सूक्ष्म रूपमा सत्य तथ्य बेहोराको अनुसन्धान कार्य अगाडि बढाउनु हुन भन्नेसमेत बेहोराको महानगरीय प्रहरी परिसर काठमाडौंको मिति २०६७।२।१५ गतेको पत्र ।
घाइते सानु सुनारको उपचारको क्रममा मिति २०६७।२।११ गते दिनको करिब १५.०० बजेको समयमा वीर अस्पताल काठमाडौंमा नै मृत्यु भएको र मृतकका छोरा मनोज सुनारले कुटपिटबाट बुबा सानु सुनारको मृत्यु भएको र मृतक बुबालाई कुटपिट गर्ने कार्यमा श्री महानगरीय प्रहरी वृत्त कालिमाटी काठमाडौंका प्रहरी कर्मचारीहरू समेत संलग्न रहेकाले कुटपिट गर्ने व्यक्तिहरूको नामसमेत खुलाई कानूनबमोजिम कारबाही गरिपाउँ भनी मजकुर श्री महानगरीय प्रहरी परिसर, हनुमानढोका काठमाडौंमा जाहेरी दरखास्त दिएअनुसार मजकुर कार्यालयबाट सूक्ष्म रूपमा सत्य तथ्य बुझी अनुसन्धान कार्य अगाडि बढाउन हुन भनी पत्रसाथ जाहेरी दरखास्तलगायतका मिसिल कागजातहरू यस कार्यालयमा पठाएको हुँदा त्यसतर्फ समेत अनुसन्धान कार्य गर्नुपर्ने भएको हुँदा तपाइँलाई निम्न प्र.क. समेत यसै पत्र साथ खटाइएको छ । कमान्डमा गरिएको बोर्ड गठन टोलीसमेतसँग समन्वय गरी मृतक सानु सुनारलाई प्रहरी कर्मचारीले कुटपिट गरेको सम्बन्धमा सूक्ष्म एवं गहन रूपमा बुझी कुटपिट गरेको पाइएमा के कुन कार्यालयका के कुन दर्जाका प्रहरी कर्मचारीले कुटपिट गरेको हो, तीनपुस्ते विवरणसहितको नामावली खुलाई मिति २०६७।२।१९ गतेभित्र अनिवार्य रूपमा पेस गर्नु हुन भन्नेसमेत बेहोराको प्र.ना.नि. ईश्वरीप्रसाद तिवारीलाई मिति २०६७।२।१७ गते खटाएको पत्र ।
मृतक सानु सुनारको टाउकोमा गम्भीर चोट लागी सोही चोटका कारण मृत्यु भएको भन्नेसमेत बेहोराको फोरेन्सिक मेडिसिन विभाग, शिक्षण अस्पताल, महाराजगन्ज, काठमाडौंको शव परीक्षण प्रतिवेदन ।
मिति २०६७।२।४ गते मेरो काठमाडौं जिल्ला बालाजुस्थित पसलमा एकजना श्याम वि.क. भनी नाम बताउने व्यक्ति आई अनाथालयको कुरा गरी धेरै तरकारी तथा मसलासमेत चाहिने हुँदा दिन सक्नुहुन्छ भने कुरा गर्छु भनेकोले व्यापार हुने सोची सहमत भई निजले फोन नं. समेत लिई गएको, पुनः ऐ. ५ गते निज व्यक्ति नै पसलमा आएको खबर पाई पसलमा आई गफगाफ गर्दा कलंकीमा भएकोले बालाजु नसरून्जेलसम्म दिन सक्नुपर्छ भनेकोले हुन्छ भनेको, ऐ. ६ गते फोन गरी कलंकी खसी बजारमा निज श्याम वि.क.ले बोलाएकोले गई भेटी अनाथालय जाऔं भनी जाने क्रममा बाटामा मगर थरको व्यक्तिसँग भेट भई गफगाफ गर्दा साहुले आफ्नो बहिनीलाई बलात्कार गरेकोले आत्महत्या गरी मरेको हुँदा निजसँग बदला लिन निज व्यक्ति तास खेल्ने हुँदा धनी पनि भएकोले तास खेल्दा जिताउँछु, मलाई सहयोग गर्नुस् भनेकोले सहमतिमा ट्याक्सीमा मानभवनतर्फ गई ऐ. लजमा बस्ने क्रममा निज मगरले साहुलाई लिई आई गफ गर्दा आज खेल्न मुड नभएको, भोलि खेल्ने भनेकोले भोलि बोलाउनको लागि रक्सीसमेत खुवाउन भनी मसँग रू.३,५००।– लिई निज साहुलाई दिई भोलि भेट्ने सल्लाह गरी ऐ. ७ गते तीनै जनाले कलंकीमा भेटी जावलाखेल स्थित हङकङ गेष्ट हाउसमा बसी हामी तीनजना एकापट्टि हुने सल्लाह गरी म र श्याम वि.क.को रकम मिसाई तास खेल्दा हामीले रू.३०,००,०००।– जितेको रकम साहुजीको मुखियाले रकम लिई आउने यो रकम निज साहुलाई दिउँ भन्दा मैले इन्कार गरेपनि श्याम भन्नेले टेन्सन लिनु पर्दैन भनेको हुँदा दिई घरमा फर्की श्रीमतीसँग कुरा गर्दा ठगिएको यकिन भई निज व्यक्तिहरूसँग कुरा गर्दा उक्त रकम लिन रू.२,००,०००।– देखाउनु पर्छ लिई आउनु भनेकोले ठगिएको कुरा गर्दा कुनै प्रवाह गर्नु पर्दैन भनेका थिए, सो क्रममा श्यामसमेतले पैसा ठीक भयो भएन भनी फोनमा सोध्ने गरेका थिए त्यसपछि मिति २०६७।२।९ गते कलंकीमा भेटौं भनी म र श्रीमती कलंकीस्थित प्रहरी बिटमा खबर गरी २ जना प्रहरी सादा पोशाकमा पठाई दिएकोले भेट गर्ने ठाउँमा निजहरू ट्याक्सीमा चढी आई पुगेकोले ट्याक्सीबाट ओर्लनभन्दा नमानेकोले तानातान भई ट्याक्सी अगाडि बढाउन लागेको हुँदा ठग ठग भनी कराउँदा केही व्यक्तिहरूले चालक तथा अन्य २ जनासमेतलाई हातपात गरी लछार पछारसमेत गरेको हुन् सोही समयमा प्रहरी आई उद्दार गरी नियन्त्रणमा लिई कलंकी बिटमा लगी प्रहरीले मलाई र उक्त बा.१ज.५४४८ नं.को ट्याक्सीमा आएका व्यक्तिहरूसमेतलाई सामान्य सोधपुछ गरी प्रहरी कार्यालय कालिमाटीमा ल्याएको हो, सोही समयमा कालिमाटीमा निवेदन दिई सोही विषयमा छलफल भई भएको नगद रू.२२,५००।– र मोबाइलसमेत दिने भनेकोले नमानी भोली कुरा गरौंला भनी गए । निजहरूको सक्कली नाम सानु सुनार, कृष्ण वि.क. र चालक राम भन्ने श्याम तण्डुकार भन्ने कुरा प्रहरीलाई सोधपुछका क्रममा बताएका र भोलिपल्ट निजहरूमध्ये सानु सुनार बिरामी परी उपचारको क्रममा लगेको भन्ने थाहा भएको हो भन्नेसमेत बेहोराको प्रतिवादी विष्णु काप्रीको मिति २०६७।२।२१ गतेको बयान ।
मसमेतको टोली खटिई गई वास्तविकता बुझ्ने क्रममा ड्युटीमा रहँदाको अवस्थामा खटिएका प्र.स.नि. मधुसुदन विष्ट, प्र.ज. कृष्णप्रसाद खतिवडा, प्र.ज. रोशन विष्टसमेत भई पक्राउ परेको सानु सुनार, कृष्णबहादुर वि.क. र राम भन्ने श्याम तण्डुकारसमेतलाई सामान्य हातपात गरेको, स्थानीय मानिसहरूसमेतले कुटपिट गरेको बुझिन आएको हुँदा सोहीबमोजिमको प्रतिवेदन लेखी पेस गरेको छु कानूनबमोजिम गरिपाउँ भन्नेसमेत बेहोराको मिति २०६७।२।२५ गतेको प्र.ना.नि. ईश्वरीप्रसाद तिवारीसमेतको प्रतिवेदन ।
गिता सुनारसमेतको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी विष्णु काप्रीसमेत भएको ज्यानमार्ने उद्योगबाट कर्तव्य ज्यान मुद्दामा परिणत भएको ज्यान मुद्दाको अनुसन्धानको क्रममा उपस्थित गराउनु भनिएका प्र.स.नि. मधुसुदन विष्ट, प्र.ज. कृष्णप्रसाद खतिवडा, प्र.ज. रोशन विष्टसमेतलाई उपस्थित गराइएको भन्ने महानगरीय प्रहरी वृत्त प्रशासन शाखा, कालिमाटीको पत्र ।
मिति २०६७।२।९ गते विहान अं.१०.०० बजे देखिको ड्युटी भएकोमा ऐ. १४.०० बजेको समयमा कलंकीबाट प्र.ना.नि.प्रकाश पराजुलीले तत्काल नाम थाहा भएका सानु सुनारसमेत ३ जनालई ठगी गरी हिँड्ने हुन् भनी प्रतिवादी विष्णु काप्रीसमेत आएका थिए, निजहरूको बारेमा टिपोट गरी गार्ड कमाण्डर प्र.ह. शिवहरी बस्नेतलाई हिरासतमा राख्न आदेश दिएको ऐ. २२.०० बजेको समयमा निजहरूमध्ये सानु सुनार बिरामी परेको भन्ने जानकारी पाई उपचारको लागि वीर अस्पतालमा पठाई प्र.नि. पुष्करबहादुर चन्दलाई जानकारी गराएको हुँ, सोपश्चात् सिटी स्क्यान गर्ने कार्यसमेत गराई टाउकोको अप्रेसन गर्नुपर्ने भएकोले रकमसमेतको व्यवस्था गराई अप्रेसनसमेत भएको थियो । सो कुरासमेत जानकारी गराएको थिएँ, पक्राउ परी आएका सानु सुनार, कृष्णबहादुर वि.क. र राम भन्ने श्याम तण्डुकारसमेतलाई हातपात एवं कुटपिट गरेको छैन, थुनामा समेत अन्य कोही कसैले कुटपिट गरेको छैन, उपचारको क्रममा ऐ. ११ गते मृत्यु भएको भन्ने थाहा पाएको हो । हिरासतमा २ पटक लडेको र सोही कारण टाउकोमा ठोकिएको र थुनुवाहरूले छारे रोग भनी मोजासमेत सुँघाएका भन्नेसमेत थाहा छ, मृतकको टाउको चोट हिरासतमा लड्दा भएको र निलडाम भिडले कुटपिट गर्दा भएको हुनुपर्छ भन्नेसमेत बेहोराको प्रतिवादी मधुसुदन विष्टको बयान कागज ।
मिति २०६७।२।९ गते राष्ट्रपतिको सवारी भएकोले कलंकी चोकमा ड्युटी भएको र सवारी सकिएपछि बिटमा गई बसिरहेको अवस्थामा लुटेरा भाग्यो भन्ने हल्ला सुनी कमाण्डर प्र.ना.नि.प्रकाश पराजुलीले गाडी निकाल्न भनेकोले बल्खुतर्फ बढ्ने क्रममा जाम भएको विस्तारै जाँदै गर्दा तीनजना व्यक्ति र ट्याक्सीसमेत प्रहरीले नियन्त्रणमा लिएको रहेछ, सोपश्चात् तीनै जनालाई गाडीमा राखी बिटमा ल्याएको हो । सो समयमा मानिसहरूको आक्रोशित भिड भएकोले चोर, ठगलाई कुटपिट गर्नुपर्छ बाहिर निकाल भनी हल्ला खल्ला गरेकोले सोही समयमा सवारी आउन लागेकोले तत्काल ड्युटीमा गई सवारी क्रस भएपछि कलंकी बिटमा आई आफ्नो गाडीमा पक्राउमा परेका सानु सुनार कृष्ण वि.क. र राम भन्ने श्याम तण्डुकारसमेतलाई गाडीमा राखी कालिमाटी कार्यालयमा ल्याई प्र.स.नि. मधुसुदन विष्टलाई बुझाएको निजहरूलाई मैले कुटपिट गरेको छैन, अन्य प्रहरी कर्मचारी तथा स्थानीय मानिसहरूसमेतले कुटपिट गरेको देखिन भन्नेसमते बेहोराको प्रतिवादी कृष्णप्रसाद खतिवडाको बयान ।
मिति २०६७।२।९ गते म सि.आर.भि. ड्युटी कलंकी चोकमा चालक कृष्ण खतिवडा र कमाण्डर प्र.ना.नि.प्रकाश पराजुलीसमेत थिए, उक्त दिन राष्ट्रपतिको सवारी भएकोले ऐ. दिन बिहान अं. ११.३० बजेको सवारी सकिएपछि कलंकी बिटमा गई पुनः फिर्ता सवारीको लागि सोही ठाउँमा ड्युटी गई सवारी सकिएपछि कलंकी बिटमा नै आएकोमा ठगी गर्ने भनी ३ जना तत्काल नाम थाहा भएका सानु सुनार, कृष्णबहादुर वि.क. र राम भन्ने श्यामबहादुर तण्डुकार र बा.१ ज. ५४४८ नं. को ट्याक्सीमा समेत पक्राउ गरी राखेका रहेछन्, निजहरूलाई प्र.ना.नि.प्रकाश पराजुलीको आदेशअनुसार सोही सि.आर.भि.गाडीमा राखी कालिमाटी ल्याउने समयसम्म म तथा अन्य कोही कसैले कुटेको छैन, प्र.ना.नि.प्रकाश पराजुलीले ट्याक्सी चलाई ल्याई कालिमाटी ल्याई डि.अ.प्र.स.नि. मधुसुदन विष्टलाई गाडी तथा मानिससमेत बुझाएकोले सबैजना फर्की गएको हो, बुझ्दा ठगिएको भनिएका निज प्रतिवादी विष्णु काप्रीले ठग भनी हल्ला गर्दा भेला भएका मानिसहरूले निज सानु सुनारसमेतलाई कुटपिट गरेको रहेछ, निजले समेत सामान्य हातपात गरेको हुनुपर्छ, प्रहरी हिरासतमा समेत निज लडेकोले सोसमेतका कारणले निजको मृत्यु भएको हुनुपर्छ भन्नेसमेत बेहोराको प्रतिवादी रोशन विष्टको बयान कागज ।
मिति २०६७।२।९ गते गार्डमा नै बसिरहेको अवस्थामा दिनको करिब १४.३० बजेको समयमा तत्कालीन प्र.स.नि. मधुसुदन विष्टले ३ जना व्यक्ति ठगी केसको कलंकी सि.आर.भि.ले पक्राउ गरी ल्याएको भनी हिरासतमा राख्न दिएकोले निज सानु सुनार, कृष्णबहादुर वि.क. र राम भन्ने श्याम तण्डुकारलाई सामान्य चेकजाँच गरी क्वाटरगार्ड हिरासतमा राखेकोमा ऐ. २२.०० बजेको समयमा ड्युटीवाला प्र.ज. तिलक सोमैले उठाई सानु सुनार बिरामी भएको भनी बताएकोले उठी हेर्दा थुनुवाहरूले उठाई छारे रोग जस्तो देखी जुराफ सुँघाउदा उठेको पुनः भुइँमा लड्न गएकोले हेर्दा फिँज काढी थर थर कामिरहेको देखी ड्युटी अधिकृतलाई जानकारी गराई मोबाइल गाडीमा उपचारको लागि पठाई पछि टाउकोको अप्रेशनसमेत गर्नु पर्ने भएकोले खर्च आवश्यक पर्न गई क्वाटरगार्डमा नै भएको र १२,०००।– डि.अ.लाई दिएको, निजलाई मैले जिम्मा लिएपछि मैले तथा अन्य कोही कसैले हातपात गरेको छैन, बाहिरबाट हेर्दा कपडा खोली नहेरेको हुँदा कुनै चोट पटक थियो, थिएन थाहा भएन तर निज हिरासतभित्रै लडेको हुँदा लड्दा लागेको चोट, ठक्करबाट र ठगिएका भनिएका विष्णु काप्रीसमेतले पक्राउ गर्ने क्रममा भिडभाडले कुटपिट गर्दा हिरासतभित्र आएपछि सोही चोटहरूको कारणले मृत्यु भएको हुनुपर्छ भन्नेसमेत बेहोराको बुझिएका क्वाटरगार्ड कमाण्डर प्र.ह. शिवहरी बस्नेतको मिति २०६७।२।२७ गतेको कागज ।
मिति २०६७।२।९ बिहान करिब १०.३० बजेको समयमा कार्यालयमा आइपुग्दा प्रतिवादी विष्णु काप्री र निजकै श्रीमतीसमेत आई ठगी गर्ने व्यक्ति आउँदै छ, सहयोग चाहियो भनेकोले राष्ट्रपतिको सवारी भएकोले हेर्दै गर्नुस् भनी केही समयपछि प्रहरी जवान तोयानाथ सुवेदीलाई पठाएकोमा तत्काल मानिसहरू ठग, चोर भन्दै कराएको र मानिसहरूको भिड देखिएकोले तत्काल एउटा मोटरसाइकलमा लिफ्ट मागी अगाडि गई बा.१ज.५४४८ नं. को ट्याक्सीलाई रोकी केही व्यक्तिहरूले ट्याक्सी चालक तथा सो ट्याक्सीमा आएका २ जना व्यक्तिहरू समेतलाई कुटपिट गरेको देखेको, त्यसपछि कलंकीको सि.आर.भि.समेत पुगी उद्दार गरी सोही सि.आर.भि.गाडीमा २ जनालाई र चालकसहित उक्त ट्याक्सी प्र.ना.नि.प्रकाश पराजुलीले कलंकी बिटमा लगी राखेका हुन्, बुझ्दा निजहरूमध्ये कृष्ण वि.क. र सानु सुनारले विष्णु काप्रीसँग रू.२५,०००।– ठगी गरेको र निज सानु सुनारसमेतले तासमा हारजित भएको भनी बताएकोले तत्काल फिर्ता सवारी भएकोले कार्यालयमा नै राखी निज तीनैजना र ट्याक्सीसमेत कालिमाटी वृत्तमा पठाइएकोमा, नियन्त्रणमा लिएपश्चात् कुटपिट गरेको देखिन । पछि थाहा पाउँदा सोही दिन राति निजहरूमध्ये सानु सुनार हिरासतमा २ पटकसम्म ढली मुखबाट फिँज काढेकोले वीर अस्पतालमा उपचारको क्रममा ऐ. ११ गते मृत्यु भएको भन्ने थाहा पाएको हो । मैले कोही कसै प्रहरी कर्मचारीहरूले कुटपिट गरेको देखिन भन्नेसमेत बेहोराको बुझिएका मानिस महानगरीय प्रहरी बिट, कलंकीमा कार्यरत प्र.स.नि. राजेश गिरीसमेतले गरिदिएको कागज ।
मिति २०६७।२।९ गते राति २२.०० बजेदेखि भोलिपल्ट बिहानको राति २०.०० बजेसम्म क्वाटरगार्डमा ड्युटी भएकोले ड्युटीमा बसिरहेको अवस्थामा राति अं. २२.०० बजेको समयमा ड्युटी बुझ्दा अघिल्लो ड्युटीका चेतराम सोमैले सबै ठीक भएको तर १ जना सानु सुनार छारे रोगको लक्षण देखिई ढलेकोले अन्य थुनुवाले जुराफ सुँघाई केही ठीक भएको भनी भनेका थिए, केही समयपछि पुनः सानु सुनार मुखमा फिँज काढी थरथर काम्दै भुइँमा लडेकोले तत्काल गार्ड कमाण्डर शिवहरी बस्नेतलाई जानकारी गराई बाहिर निकाली पानी खान दिई तत्काल डि.अ.लाई जानकारी गराई केही समयपछि नै उपचारको लागि वीर अस्पतालमा लगिएको
हो । उपचारको क्रममा ऐ. ११ गते सानु सुनारको मृत्यु भएको भन्ने कुरा थाहा पाएको हो । सानु सुनारलाई हिरासतमा कुटपिट एवं हातपात गरेको छैन, आफैँ लडेका कारण टाउको भित्ता तथा भुइँमा ठोकिएको थियो भन्नेसमेत बेहोराको बुझिएका प्र.ज. तिलक बहादुर सोमैको कागज ।
मिति २०६७।२।९ गते फर्पिङमा राष्ट्रपतिको सवारी भएकोले सवारी गएको करिब १०।१५ मिनेटपछि ठग भाग्यो भन्दै केही मानिसहरू दौडँदै गएको र केही समयपछि सि.आर.भि. कलंकीले गाडीमा राखी ल्याउने क्रममा मसमेत सोही गाडीमा आएको निजहरूलाई प्र.स.नि. राजेश गिरीसमेतले बिटमा लगी राखेका हुन्, ट्याक्सी भने प्र.ना.नि. प्रकाश पराजुलीले रातो रङको बा.१ज. ५४४८ नं. को ट्याक्सी र ट्याक्सी चालक राम भन्ने श्याम तण्डुकारलाई ल्याई राखेको हो । पछि थाहा पाउँदा ट्याक्सीका अन्य २ जना कृष्णबहादुर वि.क. र सानु सुनारले रू.२५,०००।– ठगी गरेको भन्नेसमेत सुनेको हुँ अन्य कुनै चासो दिइन, केही समयपछि मानिसहरूको भिड आएकोले सवारीसमेत भएको हुँदा भिड हटाई सवारी गएपश्चात् प्र.ना.नि. प्रकाश पराजुलीलाई स्युचाटार अफिसमा पुर्याई दिन पहिला निज पक्राउ परेका व्यक्तिहरूलाई कालिमाटी पुर्याई स्युचाटारसम्म पुर्याउने कुरा भएपछि सोही गाडीमा बसी कालिमाटीमा निजहरूलाई बुझाई स्युचाटारसम्म पुर्याएको हो, निज पक्राउ परेको व्यक्तिहरूलाई मैले कुटपिट एवं हातपातसमेत गरेको छैन, अन्यले कुटपिट गरेकोसमेत देखेको छैन, पछि बुझ्दा मात्र विष्णु काप्रीले ठग ठग भनेपछि भेला जम्मा भएका मानिसहरूले कुटपिट गरेको भन्ने थाहा भयो । प्रहरी हिरासतमा समेत मृतक सानु सुनार छारे रोग लागेको लक्षण देखिई २ पटकसमेत लडेको भन्ने थाहा पाएको हो भन्नेसमेत बेहोराको बुझिएका प्र.स.नि. विजय शाहीसमेतले मिति २०६७।२।३० गते गरिदिएको कागज ।
मिति २०६७।२।९ गते फर्पिङमा राष्ट्रपतिको सवारी भएकोले सवारी गएको केही समयपछि मानिसहरू ठग भन्दै गरेको आवाज सुनी हेर्दा ठग भन्दै कराएको र ट्याक्सीसमेत बल्खुतर्फ गएको देखी मसमेत सोतर्फ जाँदा कुटपिट गरेकोसमेत देखेको, सोपश्चात् चालक कृष्ण खतिवडाले चलाएको गाडीमा कुटपिट गरिएका व्यक्तिहरू तत्काल नाम थाहा भएका सानु सुनार र कृष्ण वि.क.लाई राखी प्र.स.नि. राजेश गिरीले बिटमा ल्याई राखेको, अर्का टयाक्सीवालालाई ट्याक्सीसहित मैले ल्याएको, केही समयपछि मानिसहरूको भिड भई सम्झाएको हो, पुनः फिर्ता सवारी भएकोले सवारी सकिएपछि कलंकी बिटबाट प्र.स.नि. राजेश गिरीले निज ३ जना व्यक्तिहरूलाई कालिमाटी पुर्याई दिन भनेको हुँदा सोही सि.आर.भि. गाडीमा राखी ट्याक्सी चालकलाई सोही मैले चलाएको ट्याक्सीमा राखी कालिमाटी प्रहरी कार्यालयमा ल्याई तत्कालका डि.अ.प्र.स.नि. मधुसुदन विष्टलाई बुझाई सोही गाडीमा स्युचाटारबाट सवारी ड्युटीमा आएका प्र.स.नि. विजय शाहीसमेतलाई स्युचाटार पुर्याई कलंकी चोकमा आई बसेको हो, निजहरूलाई प्रहरीले पक्राउ गरेपश्चात् कुटपिट गरेको मैले देखी पछि बुझ्दा मृतक सानु सुनार हिरासतमा लडेको भन्नेसमेत सुनेको हुँ भन्नेसमेत बेहोराको बुझिएका प्र.ना.नि. प्रकाश पराजुलीले गरिदिएको कागज ।
प्रतिवादी विष्णु काप्रीले आफनो ठगी भएको रकम उठाउन गलत बाटो प्रयोग गरी अन्य मानिसहरूलाई समेत उक्साई सुरू गरेको कुटपिटको शृङ्खलाले प्रहरी हिरासतसम्म निरन्तरता पाएको अवस्थामा प्रतिवादीहरूबाट भएको कुटपिटको कार्यले नै मृतक सानु सुनारको मृत्यु भएको हुन आएको देखिएको हुँदा प्रतिवादीहरूले मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १, १३ नं. अनुसारको कसुर गरेको देखिएको र यो यस प्रतिवादीको चोटबाट मृतकको मृत्यु भएको भन्ने यकिन हुन सक्ने अवस्था नदेखिँदा पक्राउ प्रतिवादीहरू विष्णु काप्री, मधुसुदन विष्ट, रोशन विष्ट र कृष्णप्रसाद खतिवडालाई सोही महलको १३(३) नं. अनुसार सजाय गरी पाउन माग दाबी लिइएको अभियोग पत्र ।
मैले मृतक सानु सुनारलाई कुटपिट गरेको तथा प्रहरीमा बुझाएको होइन । मृतकले मलाई विभिन्न बहानामा ठगी गरेको रकम तथा पुन ठगी गर्ने बहानाका सम्बन्धमा प्रहरीलाई जानकारी गराई निज मृतकसमेत आएको बखत सादा पोसाकका प्रहरीलाई इसारा गर्दा प्रहरीले नै निजलाई लिई प्रहरी कार्यालयमा लगेकोमा निज सकुशल नै थिए । मैले ठग ठग भनी कराएको तथा स्थानीय व्यक्तिहरूले कुटपिट गरेका होइनन् । प्रहरी हिरासतमा यातना दिएका कारण मृत्यु भएको भन्ने राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन तथा विभिन्न पत्रपत्रिकामा समेत समाचार प्रकाशित भएको छ । म निर्दोष छु भन्नेसमेत बेहोराको प्र.विष्णु काप्रीले अदालतमा गरेको बयान ।
मेरो कलंकीमा सवारी डियुटी रहेकोले कलंकी बिटमा आउँदा ३ जनालाई समातेर ल्याई राखेकोमा कलंकीदेखि मसमेतले गाडीमा राखेर कालीमाटी प्रहरीमा सकुशल बुझाएको हो । अन्य मलाई केही थाहा भएन मैले कसुर अपराध गरेको छैन भन्नेसमेत बेहोराको प्र.रोशन विष्टले अदालतमा गरेको बयान ।
म महानगरीय प्रहरी वृत्त कालीमाटीको ड्युटी अधिकृत भएकोले त्यहाँ बुझाउन ल्याएका सानु सुनारसमेतका व्यक्तिहरूलाई बुझी लिई सकुशल गार्ड कमाण्डर तथा हिरासत व्यवस्थापकको जिम्मा लगाएकोमा सानु सुनार बिरामी परेको खबर गरेपछि उपचारको लागि लग्न र उपचार खर्चको व्यवस्था गरेको हुँ । निजको उपचारको क्रममा मृत्यु भएको भन्ने कुरा पछि थाहा पाएको हुँ । निजलाई गार्ड कमाण्डर तथा हिरासत व्यवस्थापकसमक्ष बुझाउँदा बाहिरी कुनै चोट पटक थिएन । कुटपिट भएको सम्बन्धमा मलाई केही थाहा भएन भन्नेसमेत बेहोराको प्र.मधुसुधन विष्टले अदालतमा गरेको बयान ।
म कलंकी एरियामा भ्यान चलाउने चालक हुँदा भ्यानमा राखेर निजसमेतलाई लगेको हो । कुटपिटका सम्बन्धमा मलाई केही थाहा भएन । म निर्दोष छु भन्नेसमेत बेहोराको प्र.कृष्णप्रसाद खतिवडाले अदालतमा गरेको बयान ।
वादीतर्फका साक्षी जाहेरवाली गिता सुनार, जाहेरवाला मनोज सुनार, प्रकाश पराजुली, विजयकुमार साही, शिवहरी बस्नेत, तिलकबहादुर सोमै मगर, राजेश गिरी, भद्रबहादुर थापा, केशव अर्याल, विशेषज्ञ डा.हरिहर वस्ती र डा. मनोज श्रेष्ठ, प्रतिवेदकहरू ईश्वरीप्रसाद तिवारी, गुप्तबहादुर क्षेत्री, प्रमोद श्रेष्ठ र बुझिएका राम भन्ने श्याम तण्डुकार तथा प्रतिवादीका साक्षी शिवराम सिंखडा, ललितबहादुर श्रेष्ठ, जनक जोशी र सुनिल गुरूङले गरेको बकपत्र मिसिल सामेल रहेछ ।
सानु सुनारको मृत्यु भएको सम्बन्धमा गठन भएको छानबिन समितको प्रतिवेदन प्रतिलिपि मिसिल सामेल रहेछ ।
प्रतिवादी मुधुसुदन विष्टको संलग्नताको प्रकृति तथा तत्काल उपचारको प्रबन्ध गरेकोसमेतका समग्र अवस्थालाई विचार गर्दा ज्यानसम्बन्धी महलको ६ नं. को देहाय ४ को आधारमा प्रतिवादी मधुसुदन विष्टलाई रू.५००।– जरिवाना र एक वर्ष कैद हुने र अन्य प्रतिवादीहरूले सफाइ पाउने भन्ने सुरू काठमाडौं जिल्ला अदालतको मिति २०६८।३।१५ को फैसला ।
अनुसन्धान र तहकिकातबाट जे जति परिणाम आउँछ सो सीमित विषय वस्तुमा आधारित न्याय इन्साफ हुनु पर्नेमा भविष्यमा हुने नै छ भनी परमादेश प्रकृतिबाट हुन गएको फैसला मिलेको
छैन । अभियोग दाबीबमोजिम मैले कुनै आपराधिक कार्य नगरेको तथ्य मिसिल संलग्न वस्तुनिष्ठ प्रमाण एवं गवाहबाट पुष्टि हुँदाहुँदै लाग्दै नलाग्ने कानून प्रयोग गरी म पुनरावेदकलाई कैद सजाय जरिवानासमेत हुने ठहर्याई भएको फैसला उल्टी गरी सफाइ पाउँ भन्ने प्रतिवादी मधुसुदन विष्टको पुनरावेदन अदालत पाटनमा परेको पुनरावेदन जिकिर ।
मृतक सानु सुनारलाई कलंकी बिटमा ल्याई राखी सकेपछि कालीमाटीमा जिम्मा लगाएको हुँदा प्रतिवादीहरूको मिलेमतोमा कुटपिट भएको अवस्था पुष्टि भएको, पक्राउ गर्दाको अवस्थामा मृतकको शरीरमा कुनै चोट नदेखिएको पक्राउपश्चात् निजको स्वास्थ्य परीक्षणसमेत मौकामा भएको देखिँदैन । टाउकोमा लागेको चोट लडेर लाग्न सक्ने अवस्था छैन भनी Autopsy Report दिने डा.ले बकपत्रमा लेखाई दिएकोसमेतबाट निज सानु सुनारको कर्तव्य गरी मारेको प्रस्ट हुँदाहुँदै प्रतिवादीहरूलाई सफाइ दिने गरी भएको त्रुटिपूर्ण फैसला बदर गरी अभियोग मागदाबीबमोजिम गरिपाउँ भन्ने वादी नेपाल सरकारको पुनरावेदन अदालतमा परेको पुनरावेदन जिकिर ।
यसमा सुरूको फैसलामा नबुझी वादी नेपाल सरकार र प्रतिवादी मधुसुदन विष्टले पुनरावेदन गरेको देखिँदा अ.बं. २०२ नं. को प्रयोजनको लागि पुनरावेदन गर्ने पक्षलाई परस्पर सुनाई जानकारी गराई प्रत्यर्थी प्रतिवादी विष्णु काप्री, रोशन विष्ट र कृष्णप्रसाद खतिवडालाई सूचना म्याद जारी गरी पेस गर्नु भन्ने पुनरावेदन अदालतको मिति २०६८।११।१४ को आदेश ।
मृतक सानु सुनारको कसको कुटाइबाट घाइते भई टाउकोमा लागेको चोटको कारणबाट निजको मृत्यु भएको हो भन्ने अनुसन्धानबाट पुष्टि भएको नपाइँदा सुरू काठमाडौं जिल्ला अदालतबाट प्रतिवादी मधुसुदन विष्टलाई ज्यानसम्बन्धीको ६ नं. देहाय ४ को आधारमा रू.५००।– जरिवाना र १(एक) वर्ष कैद हुने ठहर्याई मिति २०६८।०३।१५ मा भएको फैसला नमिलेकोले सो हदसम्म उक्त फैसला केही उल्टी भई निज प्रतिवादी मधुसुदन विष्टले समेत आरोपित कसुरबाट सफाइ पाउने ठहर्छ भन्ने पुनरावेदन अदालत पाटनको मिति २०६९।६।२ को फैसला ।
पुनरावेदन अदालतको फैसलामा चित्त बुझेन । मिति २०६७।२।९ गते दिनको १३.४० बजे मृतक सानु सुनार पक्राउ परेको, सो क्रममा निजलाई कुटपिट भएको र वीर अस्पतालमा उपचारको क्रममा २०६७।०२।११ मा निजको मृत्यु भएको तथ्य स्थापित भएको छ । लास प्रकृति मुचुल्काबाट निजको ढाड, पिठ्यूँ र पैतलामा समेत निलडाम रहेको
देखिन्छ । मृत्युको कारणमा Blunt force head injury भनी उल्लेख छ । प्रतिवादी विष्णु काप्रीको मौकाको बयानबाट मृतकसँग हात तानातान र हात हालाहाल भएको र पक्राउ गरी प्रहरी कार्यालयमा बुझाएको भन्ने देखिन्छ । प्रतिवादी मधुसुदन विष्ट ड्युटी अफिसर रहेको र मृतकलाई जिम्मा बुझेपछि निजलाई पैतालादेखि टाउकोसम्म यत्रतत्र जिउमा कुटपिट गरेको कारण निजको उपचारको क्रममा मृत्यु भएको तथ्य विभागीय जाँचबुझ प्रतिवेदनबाट समेत देखिन्छ । तथ्यविपरीत मृतक छारे रोगले लडेर टाउकोमा चोट लागी मृत्यु भएको भन्ने भनाइ प्रमाणबाट पुष्टि नभएको अवस्थामा पक्राउ गरी कब्जामा लिएको मान्छेको कुटपिटबाट मृत्यु भएकोमा त्यसको जिम्मेवारी लिनुपर्नेमा सोउपर विचार नगरी प्रतिवादीहरूलाई सफाइ दिने गरी भएको पुनरावेदन अदालतको फैसलामा गम्भीर कानूनी त्रुटि भएको हुँदा सो फैसला उल्टी गरी प्रतिवादीहरूलाई अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भन्ने वादी नेपाल सरकारको यस अदालतमा परेको मुद्दा दोहोर्याई पाउँ भन्ने निवेदन पत्र ।
मृतक सानु सुनारको प्रहरी हिरासतमा रहेको अवस्थामा नै मृत्यु भएको पाइन्छ । मृतकको शरीरको विभिन्न भागमा चोट देखिएबाट निजको मृत्यु कर्तव्यबाट भएको देखिएको अवस्थामा प्र.स.नि. मधुसुदन विष्टलाई ज्यानसम्बन्धी महलको ६(४) नं. बमोजिम रू.५००।– जरिवाना र एक वर्ष कैद हुने गरी काठमाडौं जिल्ला अदालतबाट भएको फैसला सो हदसम्म केही उल्टी गरी निजलाई सफाइ दिएको फैसलामा ज्यानसम्बन्धी महलको १३(३) तथा प्रमाण ऐन, २०३१ को दफा ५४ को व्याख्यामा गम्भीर त्रुटि भएको देखिँदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) बमोजिम मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान गरिदिएको छ भन्ने यस अदालतको मिति २०७०।११।०९ को आदेश ।
नियमबमोजिम दैनिक पेसी सूचीमा चढी इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको मिसिल कागजात अध्ययन गरी पुनरावेदक वादी नेपाल सरकारका तर्फबाट उपस्थित विद्वान् सहन्यायाधिवक्ता श्री खेमराज ज्ञवालीले मृतकको मृत्यु कुटपिटकै कारण भएको तथ्यमा विवाद छैन । प्रतिवादी बिष्णु काप्रीले यी मृतकलाई ठगी गरेको आरोप लगाएपश्चात् विष्णु काप्रीलगायतका व्यक्तिबाट कुटपिट भई प्रहरीमा बुझाइसकेपछि अन्य प्रतिवादीहरूको संलग्नतामा पुनः हिरासतमै कुटपिट गरेका कारण अशक्त भई उपचारको क्रममा मृतक सानु सुनारको मृत्यु भएको पुष्टि भएको हुँदा पुनरावेदन अदालतको फैसला उल्टी गरी अभियोग दाबीबमोजिम नै सजाय हुनुपर्छ भनी बहस प्रस्तुत गर्नुभयो ।
प्रत्यर्थी प्रतिवादी मधुसुदन विष्टका तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ता श्री शम्भु थापा र शेरबहादुर के.सी. तथा विद्वान् अधिवक्ता श्री रामचन्द्र पौडेलले विष्णु काप्रीसमेतले ठग ठग भनेपछि मृतक सानु सुनारमाथि गम्भीर कुटपिटपश्चात् प्रहरी प्रकाश पराजुलीको समूहले उद्दार गरेको अवस्थामा प्रहरी हिरासतमा कुटपिट भएको भन्ने आधार देखिँदैन । भिडमा को कसले पिटेको भन्ने पहिचान पनि हुँदैन । हिरासत शाखामा यी प्रतिवादी मधुसुदन विष्ट कार्यरत छैनन् । ड्युटी अफिसरले कुटपिट गर्न आदेश दिएको अवस्था पनि छैन र कुटपिटमा सहभागी नै नभएको व्यक्तिलाई कसुरदार ठहर गरी सजाय गर्न मिल्दैन । मृतकको कलेजोमा खराबी भएको कारण मृत्यु भएको भन्ने शव परीक्षण प्रतिवेदनमा उल्लेख छ । तसर्थ प्रतिवादी मधुसुदन विष्टले सफाइ पाउने गरी भएको पुनरावेदन अदालतको फैसला मनासिब हुँदा सदर हुनुपर्छ भनी बहस प्रस्तुत गर्नुभयो ।
प्रतिवादी विष्णु काप्रीका तर्फबाट उपस्थित विद्वान् अधिवक्ता श्री नरेन्द्र भट्टले प्रस्तुत वारदातमा क-कसले मृतकलाई कुटपिट गरेको भनी अनुसन्धानबाट प्रस्ट खुलेको छैन । हचुवाको भरमा मृतकउपर ठगीमा जाहेरी परेकै कारण निजले नै कुटपिट गरेको र प्रहरीलाई समेत लगाई कुटपिट गराएको भन्ने निराधार आरोप यी प्रतिवादीलाई लगाइएको छ । प्रस्तुत मुद्दामा यी प्रतिवादी आफ्नै पीडित रहेको अवस्था छ । प्रहरीले राम्रो हालतमा नै पक्राउ गरी हिरासतमा लिएकोमा ठगीका जाहेरवालालाई अभियुक्त बनाई मुद्दा चलाउनु न्यायिक मान्यताविपरीत समेत हुँदा यी प्रतिवादी विष्णु काप्रीसमेतलाई सफाइ दिएको फैसला मनासिब हुँदा सदर हुनुपर्छ भनी गर्नुभएको बहससमेत सुनियो ।
उल्लिखित बहस जिकिर र तथ्य रहेको प्रस्तुत मुद्दामा प्रतिवादी मधुसुदन विष्टसमेतलाई सफाइ दिने गरी पुनरावेदन अदालत पाटनबाट मिति २०६९।६।२ मा भएको फैसला मिलेको छ, छैन र वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्ने हो वा होइन ? सोही सम्बन्धमा निर्णय दिनुपर्ने देखियो ।
२. निर्णयतर्फ विचार गर्दा, प्रतिवादी विष्णु काप्रीले आफ्नो ठगी भएको रकम उठाउन गलत बाटो प्रयोग गरी अन्य मानिसहरूलाई उक्साई सुरू गरेको कुटपिटको शृङ्खलाले प्रहरी हिरासतसम्म निरन्तरता पाएको अवस्थामा प्रतिवादीहरूबाट भएको कुटपिटको कार्यले नै मृतक सानु सुनारको मृत्यु भएको देखिँदा मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ र १३ नं. को कसुरमा प्रतिवादीहरू विष्णु काप्री, मधुसुदन विष्ट, रोशन विष्ट र कृष्णप्रसाद खतिवडालाई सोही महलको १३(३) नं. बमोजिम सजाय गरिपाउँ भन्ने वादी नेपाल सरकारको अभियोग दाबी रहेकोमा प्रतिवादीमध्येका मधुसुदन विष्टलाई ज्यानसम्बन्धी महलको ६ नं. को देहाय ४ बमोजिम रू.५००।– जरिवाना र १(एक) वर्ष कैद हुने र अन्य प्रतिवादीहरू विष्णु काप्री, कृष्णप्रसाद खतिवडा र रोशन विष्टले अभियोग दाबीबाट सफाइ पाउने ठहर्याई भएको सुरू काठमाडौं जिल्ला अदालतको मिति २०६८।३।१५ को फैसलाउपर वादी नेपाल सरकार र प्रतिवादी मधुसुदन विष्टको पुनरावेदन अदालत पाटनमा पुनरावेदन परेकोमा सो अदालतबाट सुरू फैसला केही उल्टी गरी सबै प्रतिवादीहरूले अभियोग दाबीबमोजिम सफाइ पाउने ठहर गरी भएको मिति २०६९।६।२ को फैसलाउपर वादी नेपाल सरकारको यस अदालतमा मुद्दा दोहोर्याई पाउँ भन्ने निवेदन परी सो निवेदनउपर यस अदालतबाट मिति २०७०।११।९ मा निस्सा प्रदान भई प्रस्तुत मुद्दा पुनरावेदनको रोहमा यस इजलाससमक्ष निर्णयार्थ पेस हुन आएको पाइयो ।
३. यसमा यस अदालतबाट मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान हुँदा मृतकको विभिन्न भागमा चोट देखिँदा मृतकको मृत्यु कर्तव्यबाटै भएको देखिएकोमा प्रतिवादीहरूलाई सफाइ दिने गरी भएको पुनरावेदन अदालतको फैसलामा कानूनको गम्भीर त्रुटि भएको भन्ने आधार लिएको देखिन्छ । प्रस्तुत मुद्दाको मिसिल अध्ययन गरी हेर्दा, मिति २०६७।२।९ गते दिनको अं.१३.३० बजेको समयमा सानु सुनारलाई ठगी गरेको भनी केही मानिसहरूले कुटपिट गरी कलंकी खसी बजारमा प्रहरीलाई बुझाएको छ भन्ने फोनमार्फत थाहा पाई कलंकी आई बुझ्दा एक जना व्यक्तिले मलाई ठगी गरेको भनी अन्य व्यक्तिहरूको सहयोगमा कुटपिट गरी प्रहरीमा बुझाएको भनेकोले खसी बजार स्थित प्रहरीलाई बुझ्दा कालिमाटी पठाएको भन्ने जानकारी पाइ यस कार्यालय बुझ्दा निज विरूद्द खण्डका प्रतिवादी विष्णु काप्रीसमेत भई कुटपिट गरी गम्भीर घाइते भई वीर अस्पतालमा लगी उपचार भइरहेको छ भन्ने थाहा पाई हेर्दा गम्भीर चोट लागी उपचार भइरहेको देखेकोले विरूद्ध खण्डका प्रतिवादीउपर ज्यान मार्ने उद्योगमा कारबाही गरिपाउँ भन्ने गीता सुनारको मिति २०६७।०२।१० गते जाहेरीले प्रस्तुत मुद्दाको उठान भई उपचारको क्रममा सानु सुनारको मिति २०६७।२।११ गते दिनको अं.१५.०० बजे मृत्यु भएको भन्ने प्रहरी प्रतिवेदनपश्चात् प्रस्तुत मुद्दाको अनुसन्धान सुरू भएकोमा कालिमाटी प्रहरीमा पक्राउ भएका सानु सुनारलाई भेट्न खोज्दा भेट्न नदिएको र त्यही कार्यालयका प्रहरीले लाठी, मुक्का, लात्ताले हिर्काई रहेकोले आमाले नकुट्नु भन्दा आमालाई समेत कुट्न खोजेकोले प्रहरीले हिरासतमा लिएपछि समेत मरणासन्न हुनेगरी कुटपिट गरेको हुँदा सोही पीडाले मृतकको मृत्यु भएको भन्ने मृतकको छोरा मनोज सुनारको जाहेरी परेको मिसिलबाट देखिन्छ । लासजाँच मुचुल्कामा छातीको दायाँ बायाँतर्फ निलो कालो देखिने निलडाम रहेको, दुवै खुट्टामा निलडाम, बायाँ गोडाको गोली गाँठो नजिक सानो घाउ भएको, पछाडि पिठ्युँमा निलो कालो जस्तो डाम रहेको भन्ने देखिन्छ भन्ने मृतकको शव परीक्षण प्रतिवेदनबाट टाउकोमा गम्भीर चोट लागी सोही चोटका कारण मृत्यु भएको भन्ने मिसिलबाट देखिन आउँछ ।
४. अभियोग दायर भएका प्रतिवादीमध्ये विष्णु काप्रीले आफूलाई सानु सुनारले ठगी गरेको भन्ने जरियाबाट निजसमेतको समूहबाट कुटपिट भएको र प्रहरीले सानु सुनुसारलाई हिरासतमा लिइसकेपछि पनि लगातार कुटपिट भएको कारणबाटै मृतकको मृत्यु भएको भन्ने आधारमा अन्य प्रतिवादीहरू मधुसुदन विष्ट, रोशन विष्ट र कृष्णप्रसाद खतिवडासमेतका प्रहरी कर्मचारीउपर समेत अभियोग दायर भएको
देखिन्छ । प्रतिवादी विष्णु काप्रीले मलाई विभिन्न आर्थिक प्रलोभनमा पारी रू.२५,०००।- लिई ठगी गरेको थाहा भएकोले निजलाई प्रहरीको सहयोगमा पक्राउ गर्ने उद्देश्यले सादा पोसाकका दुई जना प्रहरीसमेत लिई ठगी गर्ने व्यक्तिहरूलाई कलंकीमा बोलाई पक्राउ गर्ने क्रममा मेरो र सानु सुनारको हात तानातान र भनाभन भएको हो । सोही समयमा मैले ठग भनी चिच्याउन थालेपछि केही व्यक्तिहरूको भीड आई हात हालाहाल एवं लछार पछार भएको हो । ती व्यक्तिहरूलाई म चिन्दिन, वतनसमेत थाहा छैन भनी अनुसन्धानको क्रममा बयान गरेको
देखिन्छ । अदालतसमक्ष बयान गर्दा आफूले कुटपिट नगरेको प्रहरीले चौकीमा लगी कुटपिट गर्दै थिए, पछि कुटपिट भयो भएन थाहा भएन भनी बयान गरेको पाइन्छ ।
५. प्रतिवादी मधुसुदन विष्टले अनुसन्धानको क्रममा बयान गर्दा मिति २०६७।०२।०९ गते बिहान १० बजेदेखि ड्युटी अफिसरको ड्युटी भएकोमा ऐ. १४.०० बजे कलंकीबाट प्र.ना.नि. प्रकाश पराजुलीले तत्काल नाम थाहा भएका सानु सुनारसमेत ३ जनालाई ठगी गरी हिँड्ने हुन् भनी ल्याएको र सो बखत प्रतिवादी विष्णु काप्रीसमेत आएका थिए, निजहरूको बारेमा टिपोट गरी गार्ड कमाण्डर प्र.ह. शिवहरी बस्नेतलाई हिरासतमा राख्न आदेश दिएको हो । ऐ. २२.०० बजे निजहरूमध्ये सानु सुनार बिरामी परेकोले उपचारको लागि वीर अस्पताल पुर्याएको हो । निज सानु सुनार हिरासतमा दुई पटकसम्म लडेको र सोही कारण टाउको ठोकिएको र थुनुवाले छारे रोग भनी मोजासमेत सुँघाएको भन्ने थाहा छ । मृतकको चोट हिरासतमा लड्दा भएको हो र निलडाम भीडले कुटपिट गर्दा भएको हुनुपर्छ भनी लेखाएको पाइन्छ । प्रतिवादी कृष्णप्रसाद खतिवडा प्रहरीको चालक भएको र सानु सुनार, कृष्ण वि.क. र राम भन्ने श्याम तण्डुकारलाई ट्याक्सीसहित प्रहरीले नियन्त्रणमा लिएकोमा आक्रोशित भीडले ठग भनी बाहिर निकाल भनी हल्ला खल्ला गरेकोले गाडीमा हाली ड्युटी अफिसर मधुसुदन विष्टलाई बुझाएको हो । आफूले कुटपिट गरेको छैन भनी बयान गरेको देखिन्छ भने अर्का प्रतिवादी रोशन विष्टले समेत सोही मिलानको बयान गरेको देखिन्छ ।
६. प्रस्तुत वारदातमा प्रहरी हिरासतमै प्रहरीद्वारा कुटपिट भएको घटना भनी राष्ट्रिय मानव अधिकार आयोगबाट र प्रहरी उपरीक्षक यादवराज खनालसमेतको समितिबाट छानबिन भई प्रतिवेदनसमेत प्रस्तुत भएको भन्ने मिसिलबाट देखिएको छ । राष्ट्रिय मानव अधिकार आयोगद्वारा दिइएको अनुसन्धान प्रतिवेदनमा ठगीको सूचना पाएपछि बिना पक्राउ पुर्जी सानु सुनारसमेतलाई पक्राउ गरेको, केही समय प्रहरी बिटमा राखी महानगरीय प्रहरी वृत्त कालिमाटी लगी करिब १ बजे बुझाएको र निज सानु सुनारको मृत्यु प्रहरीद्वारा गरिएको कुटपिटबाट भएको र सो कुटपिटको घटनामा प्रहरी बिट कलंकीका प्रमुख तथा केही जवानहरू, महानगरीय प्रहरी वृत्त, कालिमाटी लैजाँदा खटिएका प्रहरी अधिकृत तथा जवानहरू र सो वृत्तका केही प्रहरीसमेत संलग्न रहेको र हिरासतमा राखिएको अवस्थामा दिइएको यातनाका कारण गम्भीर चोट लागेको पाइयो भन्नेसमेत बेहोरा उल्लेख गरेको पाइयो । महानगरीय प्रहरी आयुक्तको कार्यालयको च.नं.१०४८ मिति ०६७।१०।१२ को पत्रसाथ संलग्न रहेको सो कार्यालयबाट गठित छानबिन बोर्डको प्रतिवेदनमा सानु सुनारलाई पक्राउ गर्ने अवस्थामा भीडले कुटपिट गरेको, र निजलाई नियन्त्रणमा लिएपछि पनि सामान्य कुटपिट भएको, हिरासतमा अकस्मात ढली मुखबाट र्याल फिँज निकालेको भन्ने उल्लेख गर्दै प्रहरीका कमी कमजोरीबारे पनि केही कुरा औंल्याएको
पाइन्छ । सानु सुनारलगायतका व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेपश्चात् आफूले निभाउनुपर्ने व्यावसायिक जिम्मेवारी बहन गरेको नपाइएको, कुटपिटबाट उद्दार गरिसकेपछि तत्काल स्वास्थ्य परीक्षण गर्न अस्पताल लैजानुपर्नेमा आफ्नो कार्यालयमा लगी थुनेको, हिरासतमा राख्नुपूर्व स्वास्थ्य परीक्षण गर्नुपर्नेमा सो नगरिएको, कार्यालय प्रमुखको रिपोर्टिङ र कमाण्ड कन्ट्रोलमा समेत फितलोपन देखिएको भन्ने कुराहरूलाई समेत इंकित गरेको पाइन्छ ।
७. मिसिल संलग्न जाहेरी दरखास्त, घटनास्थल तथा मौकामा कागज गर्ने व्यक्तिहरूले गरिदिएको कागज तथा बकपत्र, प्रतिवादीहरूले मौका र अदालतमा गरेको बयान, लास प्रकृति मुचुल्का, शव परीक्षण प्रतिवेदन, आयोग तथा अनुसन्धान गर्ने निकायका प्रतिवेदनसमेतको समग्र मूल्याङ्कन तथा विश्लेषण गर्दा, मृतक सानु सुनारको मृत्यु टाउकोमा परेको चोट (Blunt force head injury) बाट भएको भन्ने देखिन्छ । यस सम्बन्धमा मृत्युको कारणबारे डा.हरिहर वस्तीले एक पटक लड्दा शरीरको एकापट्टि वा लडेकोपट्टि चोट हुन्छन् तर विभिन्न विपरीत दिशामा चोट रहेको देखिन्छ । प्रस्तुत मृतकको सम्बन्धमा लम्बाकार प्रसस्त निलडाम छातीमा, ढाडमा, काखीमा, पैतलामा समेत भएकोले छारे रोगबाट अचानक बेहोस भई लडेर भएको भनी भन्न नसकिने हुन्छ भनी बकपत्र गरेको देखिँदा सो चोट प्रहरी हिरासत भन्दा अगाडिको ठग ठग भनेर सडकमा जम्मा हुन पुगेको भीडको कुटपिटबाट भएको हो वा प्रहरी हिरासतको कुटपिटबाट भएको हो वा लडेर भएको हो भन्ने सम्बन्धमा प्रभावकारी अनुसन्धान गरी स्पष्ट गरिएको देखिएन ।
८. वारदातको प्रकृति हेर्दा, मृतकलाई हिरासतमा लिनु अगावै पनि कुटपिट भएको देखिनेमा के कस्तो घाउ चोट लागेको र को-कसले चोट छाडेको भन्ने खुलेको पाइँदैन । हिरासतमा समेत कुटपिट गरेको भनी जाहेरवालाले जिकिर लिएकोमा सोलाई पुष्टि हुने गरी को-कसले कुटपिट गरेको भनी अनुसन्धानको क्रममा खुलाउन सकेकोसमेत देखिँदैन । हिरासतमा मृतक छारे रोगले दुई पटकसम्म लडेको र लडेका बखत चोट लागी उपचारको लागि अस्पताल लगेको हो भनी प्रहरी कर्मचारीसमेत रहेका प्रतिवादीबाट दाबी गरेपनि सो पुष्टि हुने गरी वस्तुनिष्ठ प्रमाण मिसिल संलग्न रहेको पाइँदैन । यस अवस्थामा मृतकको मृत्यु को कसको कर्तव्यबाट भएको हो भन्ने सम्बन्धमा अनुसन्धानले स्पष्ट तथ्यगत आधार नदेखाएबाट अनुसन्धान फितलो रहेको देखियो ।
९. वादी पक्षले आफ्नो पुनरावेदन जिकिरमा प्रतिवादीहरूलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सजायको माग दाबी लिएको देखिन्छ । यस अभियोग दाबीबमोजिमको कसुर स्थापित हुनको लागि हत्या मनसाय प्रेरित हुनुपर्छ । सो मनसाय पूरा गर्ने योजना, रिसइवी र सोबमोजिमको कार्य प्रमाणबाट पुष्टि हुनुपर्छ । प्रस्तुत वारदात घट्नुको पछाडि ठगीको आरोप, कुटपिट, पक्राउसमेतका कारक तत्त्व विद्यमान रहे पनि ज्यान मार्नेसम्मको मनसाय, योजना, उद्देश्य, सो परिणामको ज्ञान र परिणामको चाहाना रहेको भन्ने तथ्य स्थापित भएको पाइँदैन । यस अवस्थामा मृतकको मृत्यु भएको देखिए पनि मुलुकी ऐन, ज्यानसम्बन्धीको १३(३) नं. बमोजिम यिनै प्रतिवादीहरूकै कर्तव्यबाट मृतकको मृत्यु हुन गएको भन्ने मिसिल संलग्न प्रमाणबाट पुष्टि हुन सकेको देखिएन ।
१०. प्रतिवादीमध्येका मधुसुदन विष्टलाई भवितव्यमा सजाय गरी अन्य प्रतिवादीहरूलाई सफाइ दिएको सुरूको फैसला केही उल्टी गरी सबै प्रतिवादीहरूलाई अभियोग दाबीबाट सफाइ दिएको पुनरावेदन अदालतको फैसला मिले नमिलेको सम्बन्धमा विचार गर्दा, प्रतिवादी विष्णु काप्री आफू ठगिएकोले सानु सुनारसमेतलाई पक्राउ गराउने हेतुले कलंकीमा बोलाएको र सादा पोशाकका प्रहरीकै सहयोगमा पक्राउ गराई ठगीमा जाहेरीसमेत दिएको अवस्था र निज पक्राउ पर्नुपूर्व नै ठग ठग भनेर सडकमा जम्मा हुन पुगेको भीडले कुटपिट गरी चोट लागेको भन्ने भनाइ भएपनि हिरासतमा लिइसकेपछि नै उपचारको क्रममा मृत्यु भएको देखिँदा विष्णु काप्री दोषी हुन् भन्ने देखिन आएन । प्रतिवादी कृष्णप्रसाद खतिवडा प्रहरीको गाडी चालक रहेको र प्र.रोशन विष्ट प्रहरी जवानको रूपमा कलंकी प्रहरी बिटमा कार्यरत रहेको देखिन्छ । प्र.कृष्णप्रसाद खतिवडाले मृतकसमेतलाई गाडीमा राखी कालिमाटी प्रहरी कार्यालयसम्म लगेको देखिनुका साथै निजले कुटपिट गरेको भन्ने खुल्दैन । प्र.रोशन विष्टसमेत मृतक सानु सुनारसमेतका व्यक्ति पक्राउ पर्दा सँगै गाडीमा गएको र बाटोमा कुटपिट गरेको भन्ने देखिँदैन । निजहरू मौका र अदालतमा समेत कसुरमा इन्कार रहेका छन् । यी प्रतिवादी मृतकलाई हिरासतमा राखेको कालिमाटी प्रहरी परिसरमा बेलुका बसी केरकारमा संलग्न रहेको भन्ने अवस्था पनि
छैन । यस अवस्थामा निजहरूको कुटपिटबाट नै मृतकको मृत्यु भएको भन्ने स्वतन्त्र प्रमाणको अभावमा यी प्रतिवादीहरू कृष्णप्रसाद खतिवडा र रोशन विष्ट कसुरदार हुन् भनी भन्न सकिने अवस्था देखिँदैन ।
११. अब प्रतिवादी मधुसुदन विष्टलाई सुरूले भवितव्यतर्फ सजाय गरेकोमा पुनरावेदन अदालतबाट सफाइ दिएको देखिन्छ । यी प्रतिवादी मधुसुदन विष्ट वारदातको समयमा ड्युटी अफिसर रहेको
देखिन्छ । यी मधुसुदन विष्टले मृतकलाई कुटपिट गरेको हो भनी जाहेरवाला तथा मौकामा कागज गर्ने व्यक्तिले खुलाएको पाइँदैन । मृतक सानु सुनार हिरासतमा छारे रोगका कारण दुईपटकसम्म लडी सोही क्रममा चोट लागेको र उपचारको लागि वीर अस्पताल लगेको भनी बुझिएका व्यक्तिहरूले बकपत्र गरिदिएको
देखिन्छ । यी प्रतिवादीले मृतकलाई कुटपिट गर्दा नै भवितव्य पर्न गएको भन्ने मिसिलबाट देखिएको छैन । निजको कसुरमा संलग्नता प्रस्ट देखिने गरी अनुसन्धानबाट नदेखिएको अवस्थामा यी प्रतिवादी ड्युटी अफिसर भएकै कारण ज्यान जस्तो फौजदारी कसुरमा कसुरदार ठहर गर्न न्यायोचित देखिएन ।
१२. अतः माथि विवेचित आधार प्रमाणबाट मृतकको मृत्यु कुटपिटबाट भएको जस्तो देखिए पनि मृतकको शरीरमा परेको कुटपिटको चोट घाउ प्रहरी हिरासतभन्दा अगाडिको ठग ठग भनेर सडकमा जम्मा भएको भीडको कुटपिटबाट भएको हो वा प्रहरी हिरासतमा रहँदाको कुटपिटबाट भएको हो वा छारे रोगले लडेर टाउकोमा चोट लागेर हुन पुगेको हो वा प्रहरीको छानबिन समिति बोर्डले प्रतिवेदनमा उल्लेख गरे जस्तै हिरासतमा रहँदा अकस्मात ढली मुखबाट र्याल फिज निकालेको भन्ने जस्ता प्रस्तुत मुद्दामा अन्तरनिहित रहेका महत्त्वपूर्ण सवल तथ्यहरूमा सूक्ष्म, प्रभावकारी, गहिरो अनुसन्धान नगरिएको, अनुसन्धान अत्यन्त फितलो र कमजोर देखिएको तथा सोही आधारमा अभियोजन भएपनि उल्लिखित प्रतिवादीहरूकै कुटपिटको कारण मृतकको मृत्यु भएको हो भन्ने विश्वसनीय र बलियो प्रमाणको अभावमा सुरू काठमाडौं जिल्ला अदालतले प्रतिवादी मधुसुदन विष्टलाई ज्यानसम्बन्धी महलको ६ नं. को देहाय ४ बमोजिम रू.५००।– जरिवाना र १ वर्ष कैद गर्ने र अन्य प्रतिवादीहरूले सफाइ पाउने गरी गरेको मिति २०६८।०३।१५ को फैसला केही उल्टी गरी प्रतिवादी मधुसुदन विष्टसमेतका प्रतिवादीहरूले अभियोग दाबीबाट सफाइ पाउने ठहर्याई पुनरावेदन अदालत पाटनबाट मिति २०६९।६।२ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन ।
१३. साथै मुलुकमा शान्ति सुरक्षा अमनचयन कायम गरी नागरिकका आधारभूत मानव अधिकारको संरक्षण र सम्बर्द्धन गर्नु राज्यको दायित्वभित्र पर्ने विषय हुन् । राज्यले जुनसुकै बेहोराबाट होस् नागरिकलाई आफ्नो नियन्त्रणमा लिएपश्चात् सो व्यक्तिका आधारभूत मानव अधिकारको संरक्षण गर्नुपर्छ भन्नेमा कुनै विवाद हुन सक्दैन । कुनै पनि व्यक्तिलाई जथाभावी पक्राउ, थुनछेक वा शारीरिक यातना नदिइने वा क्रूर र अपमानजनक व्यवहार वा सजाय नगरिने संयुक्त राष्ट्र संघीय मानव अधिकारसम्बन्धी विश्वव्यापी घोषणा पत्रमा नै उल्लेख भएका विषय हुन् । व्यक्तिको बाँच्न पाउने वैयक्तिक स्वतन्त्रता र सुरक्षाको अधिकारलाई मानव अधिकारसम्बन्धी विभिन्न अन्तर्राष्ट्रिय दस्ताबेजहरूले सुनिश्चित गरेको अवस्था छ । नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी प्रतिज्ञापत्र १९६६, रोम विधान १९९८, यातना तथा अन्य क्रूर अमानवीय वा अपमानजनक व्यवहार वा सजाय विरूद्धको महासन्धि, १९४९ तथा सोसँग सम्बन्धित जेनेभा महासन्धि र आलेखलगायत यस सम्बन्धमा घोषित थुनुवाप्रति गरिने व्यवहारका आधारभूत सिद्धान्तहरू, १९९० समेतका अन्तर्राष्ट्रिय दस्ताबेजलाई नेपालले पनि अवलम्बन गरी आएको छ ।
१४. नेपालको संविधानले नागरिकलाई स्वतन्त्रताको हक, न्यायसम्बन्धी हक र यातना विरूद्धका हकको प्रत्याभूति गरेको छ । यसअन्तर्गत पक्राउ परेका वा थुनामा परेको व्यक्तिलाई शारीरिक तथा मानसिक यातना नदिने र निजसँग निर्मम अपमानजनक र अमानवीय व्यवहार नगरिने कुराको ग्यारेन्टी संविधानले नै गरेको छ । प्रहरी वा अनुसन्धान निकायबाट अपराध अनुसन्धानको सिलसिलामा व्यक्तिका आधारभूत मानव अधिकारको संरक्षणतर्फ उचित व्यवस्थापन भएको छ, छैन ? सोको अनुगमन गर्ने जिम्मेवारी महान्यायाधिवक्तालाई प्रदान गरेको सन्दर्भमा प्रत्येक सरकारी वकिलको त्यसतर्फ ध्यान जानु आवश्यक पनि छ । अपराधको समुचित अनुसन्धान भएको नपाइए निर्देशन दिन सक्ने अधिकारसमेत सरकारी वकिललाई कानूनले नै प्रदान गरेको छ । प्रहरीले शान्ति सुरक्षा अमनचयन कायम गर्नको लागि अपराध हुन नदिन अपनाउनुपर्ने पूर्व सावधानी र अपराधको अनुसन्धान गर्दा पीडित र अभियुक्त दुवैका आधारभूत अधिकारतर्फ सचेत हुन प्रहरी संगठनलाई समेत कानूनले निर्देशित गरेकै हुन्छ ।
१५. प्रस्तुत वारदातमा प्रहरी कार्मचारीकै संलग्नतामा पक्राउ गरिएको र प्रहरीकै हिरासतमा गइसकेपछि मृतकको मृत्यु हुन गएको तथ्य स्थापित भएको छ । जो जसको क्रियाबाट भएपनि व्यक्तिको ज्यान गएको अवस्थामा अनुसन्धान फितलो र कमजोर भएकै कारण कसुरदारले उन्मुक्ति पाउने, पीडितले न्याय नपाउने तथा निर्दोषले सजायको भागी हुनुपर्ने कुनै पनि विषय कानूनी राज्यमा स्वीकार्य हुन सक्दैन । यसतर्फ न्यायका सरोकारवाला सबै सचेत भई अपराधको सूचना, अनुसन्धान, अभियोजन र सुनुवाइ तथा सुनुवाइपश्चातका कार्यान्वयन पक्ष सबै तहमा कानून र कानूनका मान्य सिद्धान्तहरूको उचित प्रयोग र व्यवस्थापन गर्नु आवश्यक पर्छ । यस मुद्दामा अनुसन्धानको क्रममा प्रहरी कर्मचारीले व्यक्तिको वैयक्तिक स्वतन्त्रता र मानव अधिकारप्रति सचेत भई कार्य गरेको अनुभूति हुने गरी अनुसन्धान गरेको देखिँदैन । हिरासतमा रहेका व्यक्तिको आधारभूत मानव अधिकारको संरक्षण हुने गरी यातना दिन, कुटपिट गर्न, अमानवीय व्यवहार गर्न नहुने र मानवोचित व्यवहार गर्नुपर्नेलगायतका फौजदारी कसुरको अनुसन्धानसम्बन्धी कानूनी एवं सैद्धान्तिक मान्यतालाई आत्मसात गर्न नसकेको, त्यसअनुरूप प्रहरी कर्मचारीलाई तालिम दिन नसकेको, निर्देशन र नियन्त्रणसम्बन्धी व्यवस्थापकीय पक्ष उत्तरदायी हुन नसकी अझै पनि पुरातन विधि र प्रक्रियाबाटै कसुरको अनुसन्धान गर्ने पद्धति रहेको आभास हुन पुगेको
छ । ठगीको आरोप लागेका सानु सुनारलाई निजको व्यक्तिगत अधिकार, स्वास्थ्य स्थिति र अवस्थाको ख्यालै नगरी हिरासतमा गरिएका व्यवहारसमेतबाटै निज मृत्युको मुखसम्म पुगेको यथार्थ अवस्था देखिएकोले दोषीले सजाय, निर्दोषले सफाइ तथा पीडितले न्याय पाउने सुनिश्चितता हुने गरी अनुसन्धान, प्रमाण सङ्कलन, अभियोजन र अभियोजनलाई समर्थन गर्ने प्रमाण जुटाउनको लागि आधुनिक अनुसन्धान पद्धतिको प्रयोग कानून र तथ्यको विश्लेषण एवं मानव अधिकारको संरक्षण गर्न सक्ने अपराध अनुसन्धानसम्बन्धी तालिमप्राप्त दक्ष जनशक्ति रहने छुट्टै प्रहरी समूह गठन गर्नेतर्फ सम्बन्धित अनुसन्धान निकाय र अभियोजन पक्षको ध्यानाकर्षण गराइएको छ ।
१६. साथै प्रस्तुत मुद्दामा सानु सुनार हिरासतमा रहेको अवस्थामा मृत्यु भएको कुरामा विवाद छैन । राज्यका तर्फबाट कसुरको यथोचित अनुसन्धान हुन नसकेको कारण कसुरदारले सजाय पाउन नसक्नुमा पीडित पक्षको कुनै दोष वा भूमिका रहेको देखिँदैन । कसुरदारले सजाय नपाएबाट पीडितले न्याय पाएको महसुस गर्न नसक्नु र पीडितले राज्यबाट कुनै सहानुभूतिसमेत प्राप्त गर्न नसक्नु उचित र न्यायोचित हुँदैन । नेपालको संविधानको धारा २१ मा अपराध पीडितको हकलाई सुनिश्चित गर्दै अपराधबाट पीडितलाई क्षतिपूर्तिसहितको न्याय पाउने हकको सुनिश्चितता गरेको पाइन्छ । २०७५ भाद्र १ बाट लागू हुने गरी मिति २०७४।६।३० मा नै जारी भएको फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ४१ मा समेत कुनै कसुरको परिणाम स्वरूप पीडितको जिउ ज्यान, सम्पत्ति वा इज्जतमा कुनै क्षति पुगेमा त्यस्तो क्षतिबापत अदालतले कसुरदारबाट मनासिब क्षतिपूर्ति भराइ दिनुपर्ने व्यवस्थालाई समेत आत्मसात गरेको पाइन्छ । पीडितको मृत्यु भइसकेको अवस्थामा निजको हकवालालाई पर्न गएको मानसिक कष्ट र क्षतिसमेतलाई न्यायको रोहमा एउटा विशिष्ट अवस्थामा न्यायको मान्य सिद्धान्त र अन्तरनिहित अधिकारअन्तर्गत पनि अदालतले पीडितलाई उचित क्षतिपूर्ति भराई दिन उपयुक्त आदेश गर्न सक्ने नै हुन्छ । प्रस्तुत मुद्दामा हिरासतमा रहेका व्यक्तिको मृत्यु भएको र फितलो तथा कमजोर अनुसन्धानको कारण कसुरदारले उन्मुक्ति पाएकै आधारमा पीडितले क्षतिपूर्तिसहितको पूर्ण न्याय पाउने हकबाट वञ्चित हुनु न्यायोचित मान्न सकिँदैन । पीडितलाई न्यायको अनुभूति गराउन राज्यले केही जिम्मेवारी लिनै पर्ने हुन्छ । प्रतिवादीले सजाय भोग्ने विषय पीडकको अनिवार्य दायित्व हो भने पीडितले क्षतिपूर्ति पाउने विषय पीडितलाई न्यायको अनुभूति गराउने परिपूरणको एउटा माध्यम हो । क्षतिपूर्ति पीडकबाट भराउन नसकिने अवस्थामा त्यसको दायित्व राज्यले लिनुपर्ने कुरा लोक कल्याणकारी राज्य तथा नागरिकप्रति उत्तरदायी सरकारको दायित्व पनि हो । यसबाट नागरिकले राज्य हाम्रो अभिभावक हो भन्ने महसुस गर्न सक्दछन् । पीडितको मृत्यु भइसकेको अवस्थामा निजमा आश्रित निजका परिवारले राज्यका तर्फबाट केही न केही राहत अनुभूति गर्न पाउनु पर्छ । प्रस्तुत मुद्दामा कमजोर अनुसन्धान भएको भन्ने कुरा राष्ट्रिय मानव अधिकार आयोग र स्वयं प्रहरी संगठनबाट गठित समितिका प्रतिवेदनबाटै प्रस्ट देखिन्छ । यस अवस्था र परिवेशमा हिरासतमै रहेका व्यक्तिको मृत्यु भएकोमा पीडितका आश्रित प्रति संरक्षकत्वको भूमिकाबाट राज्य पन्छिन वा विमुख रहन मिल्ने देखिँदैन । तसर्थ मृतकको नजिकको हकवालालाई बैंक खाता खोल्न लगाई सो खातामार्फत पीडित राहत कोष वा त्यस्तै प्रकारको सरकारी कोषबाट राहत स्वरूप सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत उचित क्षतिपूर्ति उपलब्ध गराउनु भनी नेपाल सरकार गृहमन्त्रालयको नाममा निर्देशात्मक आदेशसमेत जारी गरिदिएको छ । प्रस्तुत फैसलाको जनाउ महान्यायाधिवक्ताको कार्यालयमार्फत गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय र जाहेरवालासमेतलाई दिई दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाई दिनू ।
उक्त रायमा सहमत छु ।
न्या. तेजबहादुर के.सी.
इजलास अधिकृत : ढाकाराम पौडेल
इति संवत् २०७५ साल जेठ २२ गते रोज ३ शुभम् ।