निर्णय नं. १०१४६ - कर्तव्य ज्यान

सर्वोच्च अदालत, संयुक्त इजलास
सम्माननीय का.मु.प्रधानन्यायाधीश श्री गोपाल पराजुली
माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत
फैसला मिति : २०७४।२।३१
०७१-CR-०४४३
मुद्दाः कर्तव्य ज्यान
पुनरावेदक / प्रतिवादी : तनहुँ जिल्ला व्यास नगरपालिका वडा नं. २ बस्ने पूर्णचन्द्र ढकालको छोरा दिवश ढकाल
विरूद्ध
प्रत्यर्थी / वादी : तनहुँ जिल्ला जामुने गा.वि.स. वडा नं. ३ बस्ने रामबहादुर रानाभाटको जाहेरीले नेपाल सरकार
शव परीक्षण गर्दा "घाँटीको भित्री भागको जाँच गर्न टाउको खोली गिदी बाहिर निकाल्ने र छाती खोली सबै अङ्ग बाहिर निकाल्नै पर्ने मुख्य पूर्वसर्त हुन् ।" यसरी गर्नुको कारण घाँटीको भित्री नरम तन्तु तथा हड्डी वा कुरकुरे हड्डीमा भएका चोट जिउँदै भएका हुन् वा होइनन् भनी निर्क्यौल गर्न सकिने ।
(प्रकरण नं.१३)
पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री कृष्णप्रसाद सापकोटा, प्रा.डा.श्री रजितभक्त प्रधानाङ्ग, अधिवक्ता श्री नवराज थपलिया
प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता श्री रेवती त्रिपाठी र विद्वान् उपन्यायाधिवक्ता श्री सोमकान्ता भण्डारी
अवलम्बित नजिर :
ने.का.प.२०६६, अंक ४, पृ.४५९, नि.नं.८११५
सम्बद्ध कानून :
सुरू तहमा फैसला गर्नेः
मा. जिल्ला न्या. श्री अजयराज उपाध्याय
तनहुँ जिल्ला अदालत
पुनरावेदन तहमा फैसला गर्नेः
माननीय न्यायाधीश श्री डिल्लीराज आचार्य
माननीय न्यायाधीश श्री महेशप्रसाद पुडासैनी
पुनरावेदन अदालत, पोखरा
फैसला
का.मु.प्र.न्या.गोपाल पराजुली : साबिक न्याय प्रशासन ऐन, २०४८ र प्रचलित न्याय प्रशासन ऐन, २०७३ को दफा ९ बमोजिम यस अदालतमा पुनरावेदन दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ ।
म र मेरो श्रीमती अन्जना ढकाल मिति २०६९।०८।१७ गते बेलुकी सँगै सुतेकोमा भोलिपल्ट बिहान अन्दाजी ०४.३० बजेको समयमा म उठी निजलाई बोलाउँदा निज नबोलेकीले हेर्दा बेहोस भएको देखी तत्काल घर परिवारलाई खबर गरी उपचारको लागि लैजाँदा मृत्यु भएकोले कानूनबमोजिम गरिपाउँ भन्नेसमेत बेहोराको मिति २०६९।८।१८ गतेको दिवश ढकालको जाहेरी ।
जिल्ला तनहुँ व्यास नगरपालिका वडा नं. २ स्थित चार किल्लाभित्र रहेको पूर्णचन्द्र ढकालको घरको पहिलो तलाको पश्चिमपट्टि रहेको १४×१५ को बैठक कोठा, कोठाको चारैतर्फ मानिस बस्नको लागि लोबेड बिच्छाइएको, कोठाको बीच भागमा रहेको कार्पेटमाथिको गलैचामा मृतक अन्जना ढकाल र निजको श्रीमान् दिवश ढकाल सुतेकोमा अन्जनालाई मिति २०६९।८।१८ गते बिहान बेहोस देखी उपचारको लागि बिस्तारासहित उठाइ लगेको र कोठामा भएको टेबुलमा अ. १ लिटर पानी अट्ने गुलाबी रंगको प्लाष्टिकको बोतलमा १ गिलास जति पानी रहेको बोतलसमेत बरामद गरिएको भन्ने बेहोराको मिति २०६९।८।१८ गतेको घटनास्थल मुचुल्का ।
जिल्ला तनहुँ व्यास नगरपालिका वडा नं. १० स्थित दमौली अस्पतालको शव गृहमा मृतक अन्जना ढकालको लास उत्तर टाउको दक्षिण खुट्टा भएर उत्तानो अवस्थामा रहेको, मृतकको निधार माथिको हाड केही उठेको जस्तो देखिएको, तल्लो ओठमा दाँतको डाम रहेको, ओठ निलो देखिएको भन्नेसमेत बेहोराको मिति २०६९।८।१८ गतेको लास जाँच मुचुल्का ।
मेरो छोरी अन्जना ढकाल आफैँ मरेको नभई निजलाई ज्वाई दिवश ढकालले कर्तव्य गरी मारेकोमा पूर्ण विश्वास लागेको कारण निजलाई कानूनबमोजिम कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको मिति २०६९।८।१८ गतेको रामबहादुर रानाभाटको किटानी जाहेरी ।
मृतक अन्जना ढकालको मृत्यु भौतिक चोटपटकको कारणबाट strangulation भई भएको हुन सक्ने देखिन्छ भन्नेसमेत बेहोराको शव परीक्षण प्रतिवेदन ।
म र श्रीमती अन्जना ढकाल दुईजना बीच प्रेम सम्बन्ध भएपछि दुवैको घर परिवारको सहमतिमा विवाह भएको हो । म काठमाडौंमा मास्टर डिग्री अध्ययन गर्दैछु । श्रीमती घरमा बसेर आर्दश बोर्डिङ स्कुलमा पढाउने गर्दथिन् । निजमा पेटसम्बन्धी र प्रेसर लोको समस्या थियो, चेकजाँच गराउँदा आत्तिनु पर्दैन भनी डा. को राय रहेको र डाक्टरको सल्लाहअनुसार औषधी सेवन गदै आएकी थिइन् । मिति २०६९।८।१७ गते म र श्रीमती राति बैठक कोठाको भुइँमा बिस्तारा लगाएर सँगै सुतेका थियौ । मैले ढोकाको चुक्कुल लगाएको थिएँ । निज राति १ बजेर ३।४ मिनेट जाँदाको समयमा एकपटक उठेर बोतलमा रहेको पानीसमेत खाई सुतेकी थिइन्, म एै. १८ गते बिहान अ. ०४.३० बजेको समयमा उठी श्रीमतीलाई बोलाउँदा नबोलेपछि म आत्तिएर आमासमेतका घर परिवार तथा छरछिमेकीलाई खबर गरेँ । स्वास्थ्यकर्मीसमेत ल्याई चेकजाँच गराइएको र पछि रत्नहरी अस्पतालमा लगिएकोमा निजको मृत्यु भइसकेको भन्ने कुरा थाहा भएको र अस्पताल लैजानुअगाडि निज श्रीमती बिरामी भएको भन्ने कुरा निजको माइती पक्षलाई तत्काल फोनमार्फत खबर गरिएको थियो । निजलाई कोही कसैले कर्तव्य गरी मारे मराएको नभई निजको मृत्यु अचानक हुन गएको हो, गण्डकी अस्पताल पोखराबाट गरिएको शव परीक्षण रिपोर्ट के कसरी आयो ? मलाई थाहा छैन भन्ने बेहोराको मिति २०६९।८।२६ गतेको अभियुक्त दिवश ढकालको अनुसन्धानसमक्ष भएको बयान ।
अन्जना ढकाल र दिवश ढकालको प्रेम सम्बन्ध भई विवाह भएको हो, निजहरूको घर परिवारसँगको सम्बन्ध राम्रै थियो, मृतक आदर्श बोर्डिङ स्कुलमा पढाउने गर्दथिन्, निज पेट तथा प्रेसर लोबाट समय समयमा बिरामी हुने गरेको र निजले पढाउँदै गरेको स्कुलमा गत श्रावण महिनामा बेहोससमेत भएकी थिइन्, अन्य ठुलो बिरामी भएको थाहा छैन । मिति २०६९।८।१७ गते पनि निज विद्यालयमा पढाएर आई घर परिवार सँगसँगै बसी खाना बनाई खाई केही समय सँगै बसी टि.भी. समेत हेरी श्रीमान् श्रीमतीसँगै बैठक कोठामा एउटै बिस्तारामा सुतेको अवस्थामा १८ गते बिहान अ.४.३० बजे दिवश ढकाल उठ्दा अन्जनालाई बेहोस अवस्थामा देखी तत्काल घर परिवार तथा छिमेकीहरूसमेतलाई खबर गरी तत्काल स्वास्थ्यकर्मीसमेबाट जँचाई, माइती पक्षसमेतलाई खबर गरी रत्नहरी अस्पताल दमौलीमा लगिएको
हो । निजलाई हामीले देख्दा कुनै चोट निलडाम नभएको सामान्य अवस्थामा मृत्यु भएको जस्तो देखिन्थो, निज अन्जना ढकाल सुतेकै अवस्थामा अचानक बेहोस हुन गई मृत्यु हुन गएकी हुन् निजलाई निजको श्रीमान् दिवश ढकालले कर्तव्य गरी मारेको भन्ने कुरामा विश्वास लाग्दैन भन्ने एकै मिलानको अखिलेस सिंह, दयाराम पाण्डे, नन्दन श्रेष्ठ, पूर्णचन्द्र ढकाल, कमला अधिकारी, बालकुमारी ढकाल, सम्सेर पुरी, कृष्णचन्द्र पाण्डे, भिमकुमारी हमाल, ताराराम श्रेष्ठ र सतिसप्रसाद अधिकारीले गरेको कागज ।
अन्जु ढकाल र दिवश ढकालको प्रेम सम्बन्ध भएर विवाह भएको हो, अन्जनालाई घरमा भित्राएपछि निजको घर परिवार तथा श्रीमान् दिवशसमेतले हेला गर्ने, विभिन्न लाञ्छना लगाउने, दाइजो सम्बन्धमा विवाद निकाल्ने, श्रीमतीलाई हेला गरेको कारण दिवश ढकाल श्रीमतीलाई नलिई आफू एक्लै हिँड्ने, घुम्ने, अन्जनालाई बेहोस अवस्थामा बिस्तारामा फेला पारेपछि पनि माइती पक्षलाई खबर नगर्ने, श्रीमतीको मृत्युप्रति बेवास्था देखाएका, मृतक अन्जनाको लास हेर्दा मुन्टो लुलो, ओठमा चोट, योनिबाट पिसाब निस्केको तथा शव परीक्षण रिपोर्टमा घाँटीको भागमा भित्री चोट देखिँदा निजको मृत्यु आफैँ नभई निजको श्रीमान् दिवश ढकालसमेतले कर्तव्य गरी मारेको हो भन्ने एकै मिलानको सम्झना रानाभाट, रामबहादुर अधिकारी, मनोजकुमार लोहनी, बेचुमाया रानाभाट, पशुपती रानाभाट, दुर्गाबहादुर रानाभाट तथा मिना रानाभाटको कागज ।
प्रतिवादी दिवश ढकालले मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं. तथा १३(३) अनुसार कसुर गरेको हुँदा निजउपर सोही ऐन र महलको १३(३) नं. अनुसार सजाय गरिपाउँ भन्नेसमेत बेहोराको अभियोग पत्र माग दाबी रहेछ ।
हामीबीच प्रेम सम्बन्ध भई गत २०६८।६।३० गते हाम्रो हिन्दू परम्पराअनुसार दुवैतर्फको सहमतिमा हामीले विवाह गरेका हौं । योबीचमा हाम्रो कुनै पनि किसिमको नराम्रो थिएन श्रीमती अञ्जनाको माइतीपट्टि पनि राम्रै सम्बन्ध थियो । गत मङ्सिर ११ गते मैले तीर्थ यात्रा गर्न जाने निर्णय गरी उनलाई पनि लाने भनेको थिएँ तर उनी स्कुलमा पढाउने भएकाले उनको छुट्टी नमिलेपछि म मात्र तीर्थ यात्रा गएर १६ गते घर आएको थिए, मङ्सिर १७ गते बेलुका श्रीमती र आमा मिलेर खाना बनाउनुभयो र हामी सबै बसी खाना खायौं । खाना खाएपछि हामी टि.भी. कोठामा टि.भी. हेरी बस्यौं । आमा र अञ्जनाले धुप बाट्नुभयो र केही समयपछि भाञ्जा, आमा र बुबा सुत्न आ–आफ्नो कोठातिर लाग्नुभयो । त्यसपछि पनि म र भान्जा सँगै बसेर टि.भी. हेरी बेलुकी १०.१५ तिर कोठा बन्द गरी हामी टी.भी. कोठामै सुतेका हौं । रातिबीचमा १ बजेतिर अञ्जना पानी खान उठेकी थिइन् । उनले पानी खाएर सुतिन्, त्यतिबेला म पनि ब्युँझिएको थिएँ र मैले “के भयो ?” भन्दा “केही भएको छैन” पानी खान उठेको भनेकी थिइन् । उनको जहिले पनि मोबाइलमा आलार्म राख्ने गरेकी थिइन् । त्यो दिन पनि आलार्म लगाएकी रहिछिन् र बिहान ४.३० बजे आलार्म बजेपछि म ब्युँझिए तर उनी उठिनन् । निकै बेर मोबाइल बजेपछि मैले “सानु सानु” भनेर बोलाएँ, चलाएँ, त्यति गर्दा पनि उनी नउठेपछि मैले ढोकाको चुक्कुल खोलेर परिवारलाई बोलाएँ त्यसपछि मैले आफूलाई सम्हाल्न सकिन र आमाले मलाई लिएर बस्नुभयो र बाबु र घर छिमेकी मिलेर उनलाई रत्नहरी अस्पतालमा
लानुभयो । त्यो बीचमा विश्वास मेडिकल हलको दाइलाई बोलाएर हेर्न लगाउँदा उहाको सबै चेक गरिसकेपछि प्राण छैन भनेपछि हामीले हस्पिटल लगेका हौं । उनी पहिले पनि बेला बेलामा बेहोस हुने गरेकी थिइन् । उनको प्रेसर पनि लो थियो र उनलाई रक्तश्राव पनि हुने गरेको थियो । मैले श्रीमती अञ्जनालाई कर्तव्य गरी नमारेको हुँदा अभियोग दाबीबमोजिम सजाय हुनुपर्ने होइन भनी प्रतिवादी दिवश ढकालले सुरू अदालतमा गरेको बयान ।
बुझिएका प्रहरीमा कागज गर्ने वादीको साक्षी नन्दन श्रेष्ठ, सम्झना रानाभाट, बेचुमाया रानाभाट, घटना विवरणका मानिस ताराराज श्रेष्ठ प्रहरीमा कागज गर्ने मिना रानाभाट कृष्ण चन्द्रपाण्डे, दयाराज पाण्डे, पशुपति रानाभाट, मनोजकुमार लोहनी, सतिस अधिकारी, कमला अधिकारी, भिमकुमारी हमाल, सम्सेर पुरी, बालकुमारी ढकाल, दुर्गाबहादुर रानाभाट, पूर्णचन्द्र ढकाल, रामबहादर अधिकारी, जाहेरवाला रामबहादुर रानाभाट तथा प्रतिवादीको साक्षी दुर्गा विलास भट्टराई, निर्मला श्रेष्ठ, सन्तोष श्रेष्ठ, भगवती श्रेष्ठ र भरतमणी रेग्मीसमेतको बकपत्र मिसिल सामेल रहेको ।
अदालतका आदेशानुसार निज प्रतिवादी दिवश ढकालको अंश रोक्का भएको मुचुल्का मिसिल सामेल रहेको ।
अदालतका आदेशानुसार झिकाइएको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराबाट प्राप्त राय प्रतिवेदन मिसिल सामेल रहेको ।
प्रतिवादी दिवश ढकालले अधिकारप्राप्त अधिकारी एवम् यस अदालतमा कसुरमा पूर्ण इन्कार रही बयान गरेको, निजका साक्षी एवम् वादीका साक्षीसमेतले प्रतिवादीको इन्कारी बयानलाई समर्थन हुने गरी बकपत्र गर्नुको साथै घटना देख्ने, देखी जाने साक्षीसमेत कोही नभएको र जाहेरवालाले शंकासम्म गरेकोसमेतका मिसिल संलग्न प्रमाणहरूबाट शंकाको आधारमा मात्र प्रतिवादीलाई सजाय गर्नु न्यायशास्त्रविपरीत हुनेहुँदा वादीको अभियोग मागदाबीबाट प्रतिवादी दिवश ढकालले सफाइ पाउने ठहर्छ भन्नेसमेत बेहोराको सुरू तनहुँ जिल्ला अदालतको मिति २०७०।०१।१० मा भएको फैसला ।
सुरूको फैसलामा चित्त बुझेन । सुरू जिल्ला अदालतको फैसला गर्दा लिएका आधारहरू न्यायसङ्गत र विवेकपूर्ण छैनन् । मृतक अन्जना ढकाल र प्रतिवादी दिवश ढकाल एउटै कोठामा सुतेको अवस्थामा मृत्यु भएको हुँदा निजको मृत्यु स्वाभाविक नभई दिवश ढकालको कर्तव्यबाट भएकोमा पूर्ण विश्वास लाग्छ भन्ने किटानी जाहेरीलाई जाहेरवालाले अदालतमा आई गरेको बकपत्रबाट पुष्टि भएको छ । लास जाँच मुचुल्काबाट देखिएको मृतकको निधारको हड्डीमा चोट परेको कारण हड्डी माथि उठेको तथा नशामा चोट परेको कारण घाँटी लुलो तथा घुम्ने अवस्थामा रहेको र घाँटी थिचिएको कारण निस्सासिएर पिसाब बाहिर आएको, ओठमा समेत दाँतको दाग देखिएको समेतका तथ्यहरूलाई शव परीक्षण प्रतिवेदनले समेत पुष्टि गरेको अवस्था छ । Hyoid bone देव्रेपट्टिबाट भाँचिएको र रगत जमेको, तल्लो ओठमा निलो दाग साथै खोस्रिएको, छातीको माथिल्लो भागको छाला रातो देखिएकोबाट मृतकलाई भौतिक चोट छाडिएको प्रस्ट देखिएको छ । घाँटी अठ्याएको कारण श्वास प्रश्वासमा अवरूद्ध भई मृत्यु भएको (Physical injuries may due to strangulation) भन्ने विशेषज्ञले मृत्युको कारण स्पष्ट लेखाइदिएको देखिन्छ । भिसेरा परीक्षणबाट अन्य कुनै किटनाशक विषादी प्रयोग गरेकोसमेत देखिएको अवस्था
छैन । मृतक प्रतिवादीसँग ओछ्यानमा सुत्दासम्म कुनै रोग वा चोटपटक लागेको कुरा कहीँकतैबाट खुलेको छैन । प्रतिवादीले लो प्रेसर भएको कारण ओछ्यानमा सुतेकै ठाउँमा मृत्यु भएको भए मृतकको Hyoid bone भाँचिने, निधारको हड्डी उठ्ने गरी चोट, छातीमा रगत जम्ने चोट कसरी लागेको हो सो विवादास्पद कुराहरूमा मृतकसँगै कोठा थुनी सुतेका प्रतिवादीले खुलाउन सकेको अवस्था छैन । लास प्रकृति मुचुल्का र शव परीक्षण प्रतिवेदन प्रतिकूलको प्रतिवादीको इन्कारी बयानलाई आधार लिई भएको फैसला त्रूटिपूर्ण हुँदा बदरभागी छ । माथि उल्लिखित आधार प्रमाणबाट कुनै चोटपटक नलागेको स्वास्थ्य अवस्थामा सुतेकी मृतकको शरीरमा विभिन्न चोटपटक लागेको अवस्था र मृत्युको कारण strangulation भनी दिएको विशेषज्ञको रायविपरीत प्रतिवादी दिवश ढकाललाई आरोपित कसुर (अपराध) बाट सफाइ दिने गरी सुरू जिल्ला अदालतको मिति २०७०।१।१० को त्रूटिपूर्ण फैसला बदर गरी सुरू अभियोग पत्र मागदाबीबमोजिम हुन सम्मानित अदालतसमक्ष सादर अनुरोध गरिन्छ भन्नेसमेत बेहोराको वादी नेपाल सरकारको पुनरावेदन अदालत, पोखरामा परेको पुनरावेदनपत्र ।
शव परीक्षण प्रतिवेदनबाट Possible cause of death seems to be physical injuries may be due to strangulation भन्ने तथा बायाँतर्फको Hyoid bone fracture with blood clots भन्नेसमेत उल्लेख भएको, घटनास्थल लास जाँच मुचुल्काबाट घाँटी घुमाउँदा घुम्ने देखिएको, प्रतिवादी र मृतक एउटै बिस्तारामा सुतेको भन्ने प्रतिवादीको भनाइ रहेको तथा जाहेरवालाको किटानी बकपत्रसमेतका आधारमा सुरूको फैसला प्रमाण मूल्याङ्कनको रोहमा फरक पर्न सक्ने देखिँदा मुलुकी ऐन, अ.बं. २०२ नं. तथा पुनरावेदन अदालत, नियमावली, २०४८ को नियम ४७ बमोजिम प्रत्यर्थीलाई झिकाई आएपछि वा उपस्थित हुने समयावधि व्यतित भएपछि नियमानुसार पेस गर्नु भन्नेसमेत बेहोराको मिति २०७०।६।९ मा पुनरावेदन अदालत, पोखराबाट भएको आदेश ।
मृत्युको कारणको सम्बन्धमा उल्लिखित आधार, २०६९।८।१८ को पोस्टमार्टम रिपोर्टबाट देखिएको मृतकको तल्लो ओठमा निल डाम तथा Hyoid bone fracture समेतका अवस्थाको अन्तरसम्बन्धका सम्बन्धमा चिकित्सा शास्त्रीय विज्ञानका आधारमा के कसो हो ? प्रमाण ऐन, २०३१ बमोजिम तत्काल स्वास्थ्य परीक्षण गर्ने चिकित्सकहरू डा. सचित गुरूङ र डा. अमित तुलाचनको बकपत्र गर्नु गराउनु पर्ने देखिँदा मिसिल संलग्न उल्लिखित मितिको पोस्टमार्टम रिपोर्ट र यस आदेशको प्रतिलिपिसमेत
साथै राखी पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पठाई सम्बन्धित चिकित्सकहरूलाई बकपत्र प्रयोजनार्थ निश्चित दिन र समय तोकी तारेखमा रहेका पक्षलाई समेत सोही दिनको तारेख दिँदै बकपत्रको लागि इजलाससमक्ष पेस गर्नू । साथै प्रस्तुत आदेशको प्रतिलिपिसहित बकपत्रसम्बन्धी कार्यको लागि पुनरावेदन सरकारी वकिल कार्यालय पोखरालाई जानकारी दिनु भन्नेसमेत बेहोराको मिति २०७०।१२।१६ मा भएको आदेश ।
आदेशानुसार डा. अमित तुलाचन र डा. सञ्चित गुरूङले इजलाससमक्ष गरेको बकपत्र मिसिल सामेल रहेको ।
एउटै बिछ्यौनामा सुतेकी श्रीमतीको मृत्युको कारणका सम्बन्धमा श्रीमान् अर्थात् पतिको अनभिज्ञता र आरोपित कसुरको अस्वीकार्यता न्यायको रोहमा मनासिब देखिन आएन । वारदातको प्रकृति, घाँटीको हड्डी (Hyoid bone) बाँयातर्फ भाँच्चिएको अवस्था र उक्त हड्डीमा रगत जमेको भन्नेसमेतका मृतक अञ्जना ढकालको शरीरमा लागेका चोट निलडामहरू र मृत्युकोसम्बन्धमा भएको शव परीक्षण प्रतिवेदन (Autopsy report) मा औंलाइएको बेहोरालाई सम्बन्धित चिकित्सकहरूले गरिदिएको बकपत्रको बेहोराले पुनर्पुष्टि गरिदिएकोसमेतका वस्तुगत एवम् परिस्थितिजन्य प्रमाणहरूका आधारमा प्रतिवादी दिवश ढकालले आफ्नै श्रीमती अञ्जना ढकालको घाँटी अँठ्याई (Manual strangulation) हत्या गरेको देखिन आयो । तसर्थ प्रतिवादी दिवश ढकाललाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १।१३ नं. को कसुरमा सोही महलको १३(३) नं. बमोजिम सर्वश्वसहित जन्मकैदको सजाय हुने ठहर्छ । अभियोग दाबीबाट प्रतिवादी दिवश ढकाललाई सफाइ दिने गरेको सुरू तनहुँ जिल्ला अदालतको मिति २०७०।१।।११ को फैसला नमिलेकोले उल्टी हुन्छ भन्ने पुनरावेदन अदालत, पोखराबाट मिति २०७१।५।१८ मा भएको फैसला ।
एउटै कोठामा सँगै सुतेकी श्रीमती बिहान ४.३० बजे उठी श्रीमतीलाई हेर्दा श्रीमती नबोलेको नचलेको कारण बुबालाई बोलाई देखाएको र बुबाले स्वास्थ्यकर्मी छिमेकी दया पाण्डेलाई बोलाई देखाएपछि तुरून्तै हस्टिपल लगेको र सोही बेहोराको जाहेरी दरखास्त दिएको हो । म अन्जनासँग प्रेम गरी पछि विवाह गरेको र सँगै घरमा बसेको श्रीमती स्कुलको शिक्षिका भएको र घरबाटै स्कुल जाने आउने
गर्दथिन् । यस्तो अवस्थामा श्रीमतीलाई मैले मारेको भनी लिइएको दाबी केबल छोरी मरेपछि ससुरालीघरमा आएको आवेग रिस र कुण्ठा मात्रै हो । मैले कर्तव्य गरी श्रीमतीलाई मार्नुपर्ने कुनै कारण नै छैन । सँगै सुतेको आधारमा मैले मारेको भनी जबरजस्ती व्याख्या गरी मलाई कसुर ठहर गर्ने गरी भएको पुनरावेदन अदालतको फैसला त्रूटिपूर्ण छ । श्रीमतीको Autopsy Report मा Hyoid Bone भाचिएको हातमा रगतका कोशिका जमेको भन्नेसम्मका परीक्षणलाई आधार लिई कसुर ठहर गर्न मिल्ने होइन मलाई Manual strangulation (Throttling) बाट मेरो श्रीमतीको हत्या गरेको भनी कसुर ठहर गरिएको कुरा स्वयं लास जाँच प्रकृति मुचुल्का र Autopsy Report बाट समेत पुष्टि हुन नसकेको र विशेषज्ञको बयानमा मृत्युको कारण घाँटी थिचिएर हो भनी बकपत्र गरेकोलाई आधार लिइएको छ । श्रीमतीको मृत्यु भइसकेपछि बसमा राखी पोखरा Autopsy मा लैजाँदासमेत Hyoid Bone Fracture हुनेतर्फ कुनै विवेचना नगरी कसुर ठहर गर्न मिल्ने होइन । फौजदारी मुद्दामा कसुर प्रमाणित हुन कुनै एक प्रमाण मात्र अन्तिम र निर्णायक हुन
सक्दैन । प्रत्येक प्रमाणलाई अर्को स्वतन्त्र र बलियो प्रमाणले पुष्टि गरेको हुनुपर्दछ । प्रस्तुत मुद्दामा जाहेरवाला र चिकित्सकको बकपत्रलाई अन्य स्वतन्त्र र वस्तुनिष्ठ प्रमाणबाट पुष्टि नगरी भएको फैसला Principles of corroboration समेत विपरीत छ । कसुर ठहर गर्न शंकारिहत तरिकाबाट अभियोजन पक्षले पुष्टि गर्नुपर्दछ भनी सम्मानित सर्वोच्च अदालतबाट केयौं मुद्दामा प्रतिपादित सिद्धान्तविपरीत मलाई कसुर ठहर गर्ने गरी भएको पुनरावेदन अदालतको फैसला कानून र न्यायको सिद्धान्तविपरीत भएकोले उल्टी गरी सफाइ पाउँ भन्ने प्रतिवादीको यस अदालतमा पर्न आएको पुनरावेदन पत्र ।
यसमा मृतकको शव परीक्षणको आधार शंकास्पद रहेको अवस्थामा त्यसलाई प्रमाणमा लिई प्रतिवादी विरूद्धको अभियोग दाबी पुग्ने ठहराएको पुनरावेदन अदालत, पोखराको फैसला फरक पर्ने देखिँदा मुलुकी ऐन, अ.बं.२०२ नं. बमोजिम विपक्षी झिकाई आएपछि वा अवधि नाघेपछि नियमानुसार पेस गर्नु भन्ने यस अदालतको मिति २०७२।११।३ को आदेश ।
यसमा शव परीक्षण गर्ने चिकित्सक डा. सचिता गुरूङ (Medico Legal Subject) मा कुनै योग्यता नभएको र डा. अमित तुलाचनको विशेषज्ञताको जेनरल हेल्थ साइन्सअन्तर्गत भएको भनी शव परीक्षणकर्ताको बकपत्रमा उल्लेख भएको देखिँदा मृतकको शव परीक्षण प्रतिवेदन (Autopsy Report) अभियोग पत्र र शव परीक्षण गर्ने चिकित्सकद्वयको पुनरावेदन अदालतमा भएको बकपत्रको प्रतिलिपि साथै राखी मृतकको मृत्युको कारण भनिएको Hyoid Bone मृत्यु हुनुभन्दा अघि वा पछि कहिले भाँचिएको हो ? सोको साथै मृत्युको अन्य उल्लेखनीय कारण भए सोसमेतको विषयमा विधि विज्ञानसम्बन्धी विशेषज्ञ चिकित्सकको बोर्ड गठन गरी स्पष्ट राय यथाशीघ्र उपलब्ध गराई दिनु हुन भनी त्रि.वि.वि. चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगञ्जमा लेखी पठाई राय प्राप्त भएपछि कानूनबमोजिम गरी पेस गर्नु भन्ने यस अदालतको मिति २०७३।१०।२६ को आदेश ।
नियमबमोजिम पेसी सूचीमा चढी पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदनसहितको सुरू मिसिल अध्ययन गरियो ।
प्रतिवादी दिवश ढकालको तर्फबाट रहनुभएका विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री कृष्णप्रसाद सापकोटा, प्रा.डा.श्री रजितभक्त प्रधानाङ्ग, अधिवक्ता श्री नवराज थपलियाले जाहेरवालाले जाहेरी दर्खास्तमा को कसले कसरी मारेको हो भन्ने विषयमा नै स्पष्ट किटान गर्न नसकी ‘’दिवश ढकालले मारेको हुन सक्दछ’’ मात्र भनेका छन् । शव परीक्षण प्रतिवेदनमा चिकित्सकहरूले पनि सम्भवतः घाँटी दबाएको कारणले मृत्यु भएको हुन सक्दछ भनी लेखेका
छन् । “घाँटी दबाएरै मारिएकी हुन” भनी भन्न सकेकाछैनन् । अनुमान र आशंकाको भरमा लेखिएको शव परीक्षण प्रतिवेदनको बेहोरा र चिकित्सकहरूको बकपत्रलाई आधार मानेर प्रतिवादीलाई दोषी ठहर गर्नु अन्यायपूर्ण हुन जान्छ । लास जाँचका लागि स्थानीय अस्पताल हुँदै पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा लैजाने क्रममा हुनुपर्ने सावधानीको अभावमा घाँटीको हाँड (Hyoid Bone) भाच्चिन सक्ने अवस्थालाई पनि स्मरण गर्नुपर्ने अवस्था छ । प्रतिवादी आरोपित कसुरमा पूर्ण इन्कारी छन् । यस्तो अवस्थामा केबल चिकित्सकहरूको अनिश्चयात्मक रायलाई आधार मानेर मात्र दोषी ठहर गरी पुनरावेदन अदालतबाट भएको फैसला उल्टी गरी प्रतिवादीलाई सफाइ हुनुपर्दछ भनी गर्नुभएको बहस सुनियो ।
प्रत्यर्थी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान् सहन्यायाधिवक्ता श्री रेवती त्रिपाठी र विद्वान् उपन्यायाधिवक्ता श्री सोमकान्ता भण्डारीले राति स्वस्थ रूपमा आफैँसँग सुतेकी श्रीमतीको मृत्यु भएको छ । मृत्युको कारणको सम्बन्धमा कुनै विश्वासनीय आधार बताउन सकेका छैनन् । शव परीक्षण प्रतिवेदनले घाँटीको हाड (Hyoid bone) भाँच्चिएको भन्ने उल्लेख भएको छ । ओठमा चोट रहेको छ । मुख तथा ओठ निलो रहेको छ । छातीमा रातो डाम रहेको
छ । यी सबै आधारमा प्रतिवादी दिवश ढकालले श्रीमती अञ्जना ढकालको घाँटी दबाइ हत्या गरेको भन्ने कसुर ठहर गरी पुनरावेदन अदालतबाट भएको फैसला सदर होस भनी गर्नुभएको बहस सुनियो ।
मिसिल अध्ययन गरी विद्वान्हरूले गर्नुभएको बहस सुनी अभियोग दाबीबमोजिम प्रतिवादी दिवश ढकाललाई कसुर ठहर गरी पुनरावेदन अदालत, पोखराबाट भएको फैसला मिलेको छ, छैन ? भन्ने सम्बन्धमा निर्णय गर्नुपर्ने देखिन आयो ।
२. निर्णयतर्फ विचार गर्दा मेरो छोरी अन्जना ढकाल आफैँ मरेको नभई निजलाई ज्वाइँ दिवश ढकालले कर्तव्य गरी मारेकोमा पूर्ण विश्वास लागेकोले निजलाई कानूनबमोजिम कारबाही गरिपाउँ भन्ने किटानी जाहेरीबाट प्रस्तुत मुद्दाको अनुसन्धान भएको र प्रतिवादी दिवश ढकालले मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं. तथा १३(३) अनुसार कसुर गरेको हुँदा निजउपर सोही महलको १३(३) नं. अनुसार सजायको अभियोग पत्र माग दाबी रहेकामा सुरू जिल्ला अदालतबाट प्रतिवादीले सफाइ पाउने ठहर भएउपर वादी नेपाल सरकारबाट पुनरावेदन दायर भएकामा पुनरावेदन अदालत, पोखराबाट प्रतिवादीलाई अभियोग दाबीबमोजिम कसुर ठहर गरी भएको फैसलाउपर प्रतिवादीको यस अदालतमा पुनरावेदन पर्न आएको रहेछ ।
३. श्रीमतीको Autopsy Report मा Hyoid Bone भाँचिएको, हातमा रगतका कोशिका जमेको भन्नेसम्मका परीक्षणलाई आधार लिई कसुर ठहर गर्न मिल्ने होइन । मलाई Manual strangulation (Throttling) बाट मेरो श्रीमतीको हत्या गरेको भनी कसुर ठहर गरिएको कुरा स्वयं लास जाँच प्रकृति मुचुल्का र Autopsy Report बाट समेत पुष्टि हुन नसकेको र श्रीमतीको मृत्यु भइसकेपछि बसमा राखी पोखरा Autopsy का लागि लैजाँदासमेत Hyoid Bone Fracture हुनेतर्फ कुनै विवेचना नगरी कसुर ठहर गर्न मिल्ने होइन भन्ने प्रतिवादीको मुख्य पुनरावेदन जिकिर रहेको देखियो ।
४. साँझ सबै परिवार टि.भी. हेरी बेलुकी १०.१५ तिर कोठा बन्द गरी हामी टी.भी. कोठामै सुतेका हौं । राति बीचमा १ बजेतिर अञ्जना पानी खान उठेकी थिइन् । उनले पानी खाएर सुतिन्, त्यतिबेला म पनि ब्युँझिएको थिएँ र मैले के भयो ? भन्दा “केही भएको छैन” पानी खान उठेको भनेकी थिइन् । उनको जहिले पनि मोबाइलमा घण्टी राख्ने गरेकी थिइन् । त्यो दिन पनि घण्टी लगाइकी रहिछिन् र बिहान ४.३० बजे घण्टी बजेपछि म ब्युँझिएँ, उनी उठिनन् । निकै बेर मोबाइल बजेबछि मैले “सानु सानु” भनेर बोलाएँ, चलाएँ, त्यति गर्दा पनि उनी नउठेपछि मैले ढोकाको चुक्कुल खोलेर परिवारलाई बोलाएँ त्यसपछि मैले आफूलाई सम्हाल्न सकिन र आमाले मलाई लिएर बस्नुभयो । त्यो बीचमा विश्वास मेडिकल हलको दाइलाई बोलाएर हेर्न लगाउँदा उहाँले सबै चेक गरिसकेपछि प्राण छैन भनेपछि हामीले हस्पिटल लागेका हौं । उनि पहिले पनि बेला बेलामा बेहोस हुने गरेकी थिइन् । उनको प्रेसर पनि लो थियो र उनलाई रक्तश्राव पनि हुने गरेको थियो । मृतकका हात गोडा छाम्दा चिसा भइसकेका थिए । नजिकै घर रहेका चिकित्साकर्मी (CMA सम्मको अध्ययन गरेका) दयाराम पाण्डेसमेतका छरछिमेकीहरूलाई बोलाई केहीपछि दमौली स्थित रत्नहरी अस्पतालमा लैँजादा अञ्जना ढकालको मृत्यु भइसकेको जानकारी भयो । मैले श्रीमती अञ्जनालाई कर्तव्य गरी मारेको नहुँदा अभियोग दाबीबमोजिम सजाय हुनुपर्ने होइन भनी प्रतिवादी दिवश ढकालले अनुसन्धान र अदालतसमक्ष बयान गरेको देखिन्छ ।
५. जिल्ला तनहुँ व्यास नगरपालिका वडा नं. १० स्थित दमौली अस्पतालको शव गृहमा मृतक अन्जना ढकालको लास उत्तर टाउको दक्षिण खुट्टा भएर उत्तानो अवस्थामा रहेको, मृतकको निधार माथिको हाड केही उठेको जस्तो देखिएको, तल्लो ओठमा दाँतको डाम रहेको, ओठ निलो देखिएको भन्नेसमेत बेहोराको मिति २०६९।८।१८ गतेको लास जाँच मुचुल्का र मृतक अन्जना ढकालको मृत्यु भौतिक चोटपटकको कारणबाट strangulation भई भएको हुन सक्ने देखिन्छ भन्नेसमेत बेहोराको शव परीक्षण प्रतिवेदन देखिन्छ । मृतक अञ्जना ढकालको शव परीक्षण प्रतिवेदन (Autopsy Report) मा
घाँटीको हड्डी बायाँतर्फ भाँचिई रगत जमेको (Hyoid bone fracture-left side with blood clots)
दुवै हत्केलामा रक्तकणहरू जमेका (Bluish dislocation in both palms)
छातीको माथिल्लो भागमा रगतको धब्बा (Red patches over interior upper chest region)
तल्लो ओठमा सानो चोट (Small wound in lower lip)
कडापन (Rigor Mortis)
अञ्जना ढकालको शवलाई मौकामा संयुक्त रूपमा परीक्षण गर्ने चिकित्सहरू डा. द्वय श्री अमित तुलाचन र श्री सच्चित गुरूङगले पोस्ट मार्टम रिपोर्टमा मृत्युको कारणका सम्बन्धमा दिएको रायमा “मृत्युको सम्भावित कारण शारीरिक चोटपटकसहित घाँटी थिचिएर मरेको हुनसक्ने (‘’Possible cause of death seems to be physical injuries, may be strangulation...’’) देखिन्छ‘’ भन्ने रहेको छ ।
६. अदालतको आदेशअनुसार उपस्थित भई निजहरूले बकपत्र गर्दा मृतक अञ्जना ढकालको शव परीक्षण आफूहरूले गरेको र शव परीक्षण प्रतिवेदनमा उल्लेख भएको बेहोरा ठिक साँचो हो भन्दै डा. अमित ढकालको बकपत्रमा मृतक अञ्जना ढकालको शरीर चिसो थियो । जिउ दरो थियो । छातीको माथिल्लो भागमा रातो दाग थियो । दुवै हातमा निलो दाग थियो । बाहिरबाट हेर्दा ओठको तल्लोभागमा घाउ र निलडाम थियो । पिसाब बाहिर आएको थियो । मृत्युको कारण घाँटी थिचिएर (Strangulation) हो । अन्यथा प्रमाणित नभएसम्म हायोड हड्डी भाँचिनुको कारण घाँटी दबाएर नै हो (Fracture of Hyoid bone is due to manual strangulation if proven otherwise) आफैँ झुन्डिएको केशमा यो हड्डी भाँचिने सम्भावना कम हुन्छ । तर म्यानुएल स्ट्रयाङगुलेसनमा यो हड्डी भाँचिने सम्भावना बढी हुन्छ, जसलाई घाँटी दबाइएको अर्थात् थ्रोटिलङ (Throttling) पनि भनिन्छ । लास परीक्षणका लागि अस्पतालमा ल्याउने बाटोमा खाल्डा खुल्टी भएको र अन्य लापरबाहीको कारणले यो हड्डी भाँचिने सम्भावना न्यून हुन्छ भनी बकपत्र गरेको पाइन्छ । त्यस्तै डा. सच्चित गुरूङले अञ्जना ढकालको घाँटीको हड्डी अर्थात् Hyoid bone देब्रेपट्टि भाँचिएको थियो । त्यसको वरिपरि रगत पनि जमेको थियो । घाँटीमा दबाएको अर्थात् Strangulations भएको कारणले मृत्यु भएको सम्भावना देख्छु । अञ्जना ढकालको मृत्यु सम्भवतः Strangulation का कारणले भएको हो । दबाइएको अर्थात् strangulation को कारणले नै हायोड बोन भाँच्चिएको हो भनी बकपत्र गरेको देखियो ।
७. विशेषज्ञ डाक्टरहरूको उपर्युक्त बकपत्रलाई मुख्य आधार मानी पुनरावेदन अदालतबाट यी प्रतिवादीलाई कसुरदार ठहर गरेको देखियो ।
८. विशेषज्ञहरूको उपर्युक्त मृत्युको कारण घाँटी थिचिएर हो भन्ने बकपत्र नै Autopsy Report विपरीत भएको भन्ने पुनरावेदन जिकिर रहेकोमा यस अदालतबाट मिति २०७३।१०।२६ मा मृतक अन्जना ढकालको Hyoid bone निजको मृत्यु हुनुअघि वा पछि कहिले भाँचिएको हो विशेषज्ञ टोली गठन गरी Autopsy Report परीक्षण गरी जवाफ पठाउनु भन्ने आदेशानुसार चिकित्साशास्त्र विज्ञान अध्ययन प्रतिष्ठान महाराजगञ्जबाट पूर्ण रूपमा शव परीक्षण नै नगरिएको र सही ढंङ्गले पनि नगरिएको शव परीक्षण प्रतिवेदनबाट मृत्युको कारण यकिन गर्न सकिँदैन ।
९. Manual Strangulation मा कुनै व्यक्ति मारिएमा पाइने लक्षणमध्ये Hyoid bone fracture पनि एक लक्षण हो तर सो हड्डी कमजोर प्रकृतिको हुने हुँदा Dissection तथा बाहिर निकाल्ने क्रममा चोट पर्न सक्ने कारणले गर्दा भित्र नै छामेर पहिले हेर्नु पर्दछ वा X-ray गर्नुपर्दछ भनी सबै अन्वेषण (Research) तथा सन्दर्भ सामग्री (References) हरूमा उल्लेख गरिएको हुन्छ ।
१०. Hyoid bone फुट्ने गरी परेको चापबाट घाँटीको छालामा, छालामुनिको बोसो तथा मासुका तन्तुहरूमा समेत धेरै चोट रक्तश्राव भएका लक्षणहरू देखिन्छन् । यस्ता लक्षणहरू हेर्नका लागि घाँटीको भागलाई सुख्खा (Blood less) बनाई हेर्नुपर्दछ भनी सबै Autopsy सँग सम्बन्धित guideline हरूले भनेका हुन्छन् । यदि त्यसो नगरिएमा घाँटीमा प्रशस्त रक्तनलीहरू हुने भएकोले शव परीक्षण अर्थात् Dissection कै क्रममा पनि रक्तश्राव देखिने भएकोले पहिले भएको हो कि परीक्षणको क्रममा भएको हो छुट्याउन नसकिने हुन्छ ।
११. शव परीक्षण प्रतिवेदनमा भएको Special Examination भन्ने शीर्षकअन्तर्गत के कसरी त्यो परीक्षण गरियो र के कस्ता लक्षण देखिए भनी उल्लेख गरेको भए जिउँदैमा भाँच्चिएको हो कि भनी तर्क गर्न बढी बल मिल्ने थियो । त्यसैगरी छातीमा देखिएका patch वा थेग्लाहरूको चोट भन्ने अर्थ लगाउन गलत हुन्छ । जसको कारण मृत्युपछि मृत शरीरमा देखिने Artefact हरू धेरै हुन्छन् । जुन चोट वा artefact के हो भनी छुट्याउन Dissection गरेर हेरेमा मात्र स्पष्ट हुन्छ ।
१२. प्रस्तुत शव परीक्षण प्रतिवेदनमा Manual strangulation का बाहिरी सम्भावित लक्षणहरू केही नदेखिएको, प्रकृति मुचुल्कामा पनि त्यस्ता लक्षण नदेखिएको र देखिएको भनिएको Hyoid bone fracture पनि सही तरिकाले अवलोकन र अभिलेखीकरण नभएका कारणले अन्जना ढकालको मृत्युको कारण यकिन गर्न नसकिएको भनी चिकित्सक बोर्डबाट जवाफ आएको देखियो ।
१३. चिकित्सक बोर्डको उपर्युक्त रायबाट मृतक अन्जनाको शव परीक्षण गर्दा गरिनुपर्ने सबै अङ्गहरूको छुट्टाछुट्टै अवलोकन गरी अभिलेखीकरण गरिएको पाइएन । "घाँटीको भित्री भागको जाँच गर्न टाउको खोली गिदी बाहिर निकाल्ने र छाती खोली सबै अङ्ग बाहिर निकाल्नै पर्ने मुख्य पूर्वसर्त हुन् ।" यसरी गर्नुको कारण घाँटीको भित्री नरम तन्तु तथा हड्डी वा कुरकुरे हड्डीमा भएका चोट जिउँदै भएका हुन् वा होइनन् भनी निर्क्यौल गर्न सकिने भन्ने देखियो ।
१४. मृतकको निधारमाथिको हाड केही उठेको जस्तो देखिएको, तल्लो ओठमा दाँतको डाम रहेको ओठ निलो देखिएको भन्ने लास जाँच (प्रकृति) मुचुल्कामा मृतक अन्जना ढकालको भौतिक चोटपटकको कारण Strangulation भई मृत्यु हुन सक्ने भन्ने शव परीक्षण प्रतिवेदन र शव परीक्षण गर्ने विशेषज्ञ डाक्टरको समेतबाट आशंकाजनित रूपमा (Manual Strangulation) बाट मृत्यु भएको हुनसक्ने बेहोराको बकपत्र गरेको देखियो । मेडिकल बोर्डको जवाफमा शव परीक्षण गर्दा गरिनुपर्ने सबै अङ्गको अवलोकन पूरा गरी अभिलेखिकरण प्रस्तुत Case मा गरेको पाइएन भन्ने रायबाट शव परीक्षण गर्ने विशेषज्ञहरूले शव परीक्षण गर्दा अपनाइनु पर्ने चिकित्सकीय मापदण्ड अनुरूप नभई सतही रूपमा गरिएको शव परीक्षणलाई पुष्टि गर्नका लागि विशेषज्ञहरूबाट बकपत्र गरिएको रहेछ भन्ने मान्नुपर्ने देखिन आयो ।
१५. यी प्रतिवादीउपर छोरी अन्जना के.सी.लाई मारेकोमा पूर्ण विश्वास लाग्छ भन्ने किटानी जाहेरी दरखास्तसमेतका आधारमा अभियोग दाबी लिइएकोमा प्रतिवादीले अनुसन्धान अधिकारी र अदालतसमक्ष बयान गर्दा सँगै सुतेकी श्रीमती बिहान मोबाइलको घण्टी बजेर प्रतिवादी उठी श्रीमतीलाई बोलाउँदा नबोलेकी र चलाई हेर्दा नचलेकोले आमा बुबालाई बोलाई छिमेकीको सहयोगमा अस्पताल पुर्याई मृत्यु भएको थाहा भयो भनी घटनाको तथ्यलाई बयानमा व्यक्त गरेको देखिन्छ । प्रतिवादीको इन्कारी बयानलाई अभियोजन पक्षबाट लास जाँच मुचुल्का र शव परीक्षण गर्ने डाक्टरहरूको बकपत्रलाई आधार मानी अभियोग पुष्टि गरी दाबी लिइएकामा सो दाबीलाई पुनरावेदन अदालत, पोखराबाट आशंका जनाई विशेषज्ञहरूले गरिदिएको बकपत्रलाई मात्र आधार लिई प्रतिवादीको बयानतर्फ विवेचना नै नगरी कसुर ठहर गरेको देखियो । यस अदालतको आदेशानुसार विशेषज्ञ टोलीबाट मिति २०७३।११।११ मा दिइएको चिकित्सकीय रायमा मृतक अन्जना के.सी. को मृत्युको कारण यकिन गर्न नसकिएको भनी दिइएको रायबाट यी प्रतिवादीको कर्तव्यबाट अन्जना के.सी. को मृत्यु भएको भन्ने तथ्य शंकारहित तवरबाट पुष्टि हुन आएन । केबल अभियोग लगाउनु कसुर स्थापित गर्ने आधार हुन सक्दैन । फौजदारी मुद्दामा शंकाको भरमा कसैलाई कसुरदार ठहर्याउन नमिल्ने भनी सर्वोच्च अदालत पूर्ण इजलासबाट नेपाल सरकार वि. अजय राईसमेत, कर्तव्य ज्यान मुद्दा (ने.का.प. २०६६, अंक ४, पृष्ठ ४५९, नि.नं. ८११५) मा प्रतिपादित सिद्धान्तसमेतका आधारमा यी प्रतिवादीलाई कसुर ठहर गरेको पुनरावेदन अदालत, पोखराको फैसला मिलेको देखिन आएन ।
१६. तसर्थ प्रतिवादी दिवश ढकाललाई अभियोग दाबीबाट सफाइ दिने गरी सुरू तनहुँ जिल्ला अदालतबाट भएको फैसला उल्टी गरी अभियोग दाबीबमोजिम सर्वश्वसहित जन्मकैदको फैसला हुने ठहर्याई पुनरावेदन अदालत, पोखराबाट मिति २०७१।५।१८ मा भएको फैसला उल्टी भई प्रतिवादी दिवश ढकालले अभियोग दाबीबाट सफाइ पाउने ठहर्छ । अरूमा तपसिलबमोजिम गर्नू ।
तपसिल
माथि इन्साफ खण्डमा लेखिएबमोजिम प्रतिवादी दिवश ढकालले अभियोग दाबीबाट सफाइ पाउने ठहरेकोले निजलाई मिति २०७४।३।१ को च.नं. ५३८४ को पत्रबाट थुनामुक्त गरिदिनु भनी कारागार कार्यालय तनहुँमा पत्राचार गरिसकेको हुँदा थप केही गरी रहनु परेन ...........................................................१
पुनरावेदन अदालत, पोखराको फैसलाबमोजिम प्रतिवादी दिवश ढकालको नाउँमा राखेको कैदको लगत कायम राख्न पर्ने नहुँदा लगत कट्टा गरिदिनु भनी सुरू जिल्ला अदालतमा लेखी पठाइ दिनू .............२
फैसलाको जानकारी महान्यायाधिवक्ताको कार्यालयलाई दिई दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाइ दिनू ...................................३
उक्त रायमा मेरो सहमति छ ।
न्या. प्रकाशमान सिंह
इजलास अधिकृत : ईश्वरीप्रसाद भण्डारी
इति संवत् २०७४ साल जेष्ठ ३१ गते रोज ४ शुभम् ।