निर्णय नं. १०१४७ - कर्तव्य ज्यान
सर्वोच्च अदालत, संयुक्त इजलास
सम्माननीय का.मु.प्रधानन्यायाधीश श्री ओमप्रकाश मिश्र
माननीय न्यायाधीश श्री बमकुमार श्रेष्ठ
फैसला मिति : २०७५।५।१०
०७४-CR-०९८१
मुद्दा : कर्तव्य ज्यान
पुनरावेदक / प्रतिवादी : हरिनारायण चौधरीको छोरा सुनसरी जिल्ला, सोनापुर गा.वि.स. वडा नं. ३ घर भई हाल कारागार कार्यालय झुम्का सुनसरीमा थुनामा रहेका अनिलकुमार चौधरी
विरूद्ध
प्रत्यर्थी / वादी : लक्ष्मी सहनी राजवंशीको जाहेरीले नेपाल सरकार
आत्मरक्षाको जिकिर निरपेक्ष रूपमा प्राप्त हुने सुविधा वा उन्मुक्तिको विषय
होइन । आफ्नो जिउ ज्यानमा उत्पन्न भएको खतराबाट उम्किन हरसम्भव प्रयास गर्दा पनि सम्भव नभई आफ्नो जिउज्यान नै नरहने स्थितिको सृजना भएमा त्यसबाट बच्ने उद्देश्यले उचित बल (reasonable force) प्रयोग गर्नेसम्मको छुट कानूनले प्रदान गरेको पाइने ।
आफ्नो जिउ ज्यान नै जाने अवस्था नभई खतरा टरिसकेको अवस्थामा उल्टै आफ्नै जीवनरक्षार्थ भाग्न लागेको मृतकलाई साङ्घातिक रूपमा पछाडिबाट पटक-पटक धारिलो हतियार प्रहार गरेको कार्यलाई आत्मरक्षाको संज्ञा दिन नमिल्ने र मृतकउपरको यत्रोविघ्नको नृशंस प्रहारलाई आत्मरक्षाको सिद्धान्तले स्वीकृतिसमेत नदिने ।
(प्रकरण नं.६)
पुनरावेदक / प्रतिवादीका तर्फबाट :
प्रत्यर्थी / वादीका तर्फबाट :
अवलम्बित नजिर :
ने.का.प.२०६१, अंक ६, नि.नं.७३९९
सम्बद्ध कानून :
सुरू तहमा फैसला गर्ने :
मा. जिल्ला न्यायाधीश श्री गोपाल भट्टराई
सुनसरी जिल्ला अदालत
पुनरावेदन तहमा फैसला गर्ने :
मा. न्यायाधीश श्री कुमारप्रसाद पोखरेल
माननीय न्यायाधीश श्री विदुरविक्रम थापा
पुनरावेदन अदालत, विराटनगर
फैसला
न्या.बमकुमार श्रेष्ठ : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम प्रतिवादीको तर्फबाट पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छ ।
सुनसरी जिल्ला इटहरी ८ स्थित पूर्वमा पुनम होटल, पश्चिममा प्रेमबहादुर विष्टको खाली जग्गा, उत्तर दक्षिण अनामनगर सडकबाट बसपार्क जाने पक्की सडक बाटो यति चार किल्लाभित्र रहेको पुनम सहनीले सञ्चालन गरेको पुनम होटल एण्ड लजअगाडि सडक पेटीको भागमा रगतको भल बगेको सोही स्थानमा रगत र केशसमेत लागेको फलामकै बिँड भएको १ फिट १ इन्च लामो फलामको दाउ रहेको, सोही स्थानमा पुनम सहनीले लगाएको गुलाबी रंगको म्याजिक चप्पल रहेको, सो चप्पलमा रगतको छिटाहरूसमेत लागेको चप्पल १ जोडी रहेको, सो चप्पल भएकै स्थानमा सेतो रंगको सर्टमा प्रयोग हुने टाँक १ र अंग्रेजी लभ लेखिएको पिङ्क रंगको १ जोडी लेडिज चप्पल र कालोमा हरियो रातो रंगको पोतेको माला चुँडिएको अवस्थामा रहेको १ थान, काँसको फुटेको चुरा २ टुक्रा हरियो रंगको, उक्त होटलको गेटदेखि ३ मिटर उत्तरमा कालो छालाको पुरूष मानिसले लगाउने दाहिने खुट्टाको जुत्ता १ थान रहेको, सोही स्थानमा मितिः ०७०।७।१८ गते बेलुका १८:३० बजेको समयमा पुनम होटल एण्ड लज सञ्चालन गर्ने वर्ष ४२ कि पुनम सहनीलाई सुनसरी सोनपुर ३ बस्ने वर्ष ४० को अनिल चौधरीले धारिलो हतियार दाउले प्रहार गरी मरणसान्न घाइते बनाएको र सो स्थानबाट उल्लिखित सामानहरू बरामद गरिएको भन्ने घट्नास्थल मुचुल्का कागज ।
सुनसरी जिल्ला, इटहरी ८ स्थित सुनसरी जिल्ला, इटहरी १ स्थित पूर्वमा रामबाबु फलफूल पसल, पश्चिममा लामा होटल, उत्तरमा इटहरी नगरपालिकाको पोखरी, दक्षिणमा पूर्व पश्चिम लोकमार्ग यति चार किल्लाभित्र रहेको इलाका प्रहरी कार्यालय इटहरीको हाताभित्र मिति २०७०।७।१८ गते बेलुकी १८.३० बजेको समयमा इटहरी ८ स्थितमा रहेको पुनम होटल एण्ड लजका सञ्चालिका विराटनगर ७ मोरङ घर भएका वर्ष ४२ की पुनम सहनीलाई सोही होटल लजअगाडि पेटीमा धारिलो हतियार फलामको दाउले प्रहार गरी सख्त घाइते भएको र तत्काल उपचारको लागि धरान घोपा लगेकोमा निजको मृत्यु भएको र सो घटनामा संलग्न सुनसरी जिल्ला सोनापुर ३ बस्ने वर्ष ४० को अनिल चौधरीलाई पक्राउ गरी यस कार्यालयमा ल्याएकोमा निज अभियुक्तले लगाएको सेतो रंगको सेन्डो भेस्टमा समेत रगतका छिर्काहरू लागेको टाटाहरू देखिएकोले सबुत-प्रमाण लाग्ने भएकोले उक्त सेन्डो भेस्ट १ थान, निजले लगाइरहेको रगतका छिटाहरू लागेको अवस्थाको बाहुला वाला नाइलनको सेतो रंगको हल्का धर्का भएको सर्ट १ थानसमेत बरामद गरिएको भन्ने उल्लिखित बरामदी मुचुल्का ।
सुनसरी, इटहरी ८ बस्ने रामदेव सहनी मेरा पिता हुन् । मेरी आमा पुनम सहनीको नाममा उक्त बसपार्कमा पुनम गेस्ट हाउस एण्ड बार सञ्चालन गरी आमा पुनम सहनी, छोरीहरू लक्ष्मी सहनी, सरस्वती सहनी तथा धर्मकी छोरी सुनिता सहनी र एक छोरा श्रवण सहनीको जीविका गर्दै आउनुभएको थियो, छोरीहरूमध्येका धर्मकी छोरी सुनिता सहनीलाई आजभन्दा तीन वर्ष अगाडि सुनसरी जिल्ला सोनपुर ३ बस्ने अनिलकुमार चौधरीले प्रेम विवाह गरेको र एक वर्ष दिनको छोरीसमेत भइसकेको छ, बिहेपछि मात्र निज अनिल चौधरीको जेठी श्रीमती रहेको थाहा भयो, सोही विषयलाई लिएर श्रीमान् श्रीमतीबीचमा झैझगडा हुने गर्दथ्यो, त्यसपछि एक महिनाअघिदेखि निज सुनिता सहनी माइतीमै बस्दै आएको र निज अनिलकुमार चौधरीको गाउघरमै गई एक अर्कालाई बाधा अवरोध नगर्ने आ-आफ्नो गरी खाने बस्ने भनी सम्झौता गरी आमा पुनम सहनीले छोरी सुनिता सहनीलाई लिएर माइतीमै बसिरहेकोमा निज अनिल चौधरीले फोन गरी बारम्बार मेरो श्रीमतीलाई छुटाइदिने म तँलाई सिध्याइदिन्छु भन्दै धम्की दिने गरी आएकोमा मिति २०७०।७।१८ गते अं. १८.३० बजेको समयमा आफ्नो पसल इटहरी ८ स्थितको आफ्नो पुनम होटल एण्ड लजको अगाडि बसी आफ्नी नातिनी अपेक्षा सहनीलाई खेलाइरहेको अवस्थामा निज अनिल चौधरीले के कहाँबाट मादक पदार्थ सेवन गरी आई खेलाइरहेको नातिनी भगाउन खोजेको अवस्थामा निज आमाले देखी नातिनीलाई नलैजानुहोस् भन्दा तँ सासूलाई आज नमारी छाड्दिन भनी के कहाँबाट निजले लुकाई लिएर आएको फलामको मासु काट्ने धारिलो कट्टीले आमाको छाती, गर्धन, निधारलगायतमा प्रहार गरी घाइते बनाई लडाएकोमा तत्काल घाइतेलाई उपचारको लागि धरान घोपामा लगी उपचार गराउँदा गराउँदै आमाको मृत्यु भएको हुँदा निज अनिलकुमार चौधरीउपर कारबाही गरिपाउँ भन्ने बेहोराको मृतक पुनम सहनीकी छोरी लक्ष्मी सहनी राजवंशीले दिएको मिति २०७०।७।१७ को जाहेरी दरखास्त ।
मृतक पुनम सहनीको कपाल रगतले भिजेको, घाँटीको दाहिनेपट्टि अं.७ से.मी. लामो र पछाडिको भागमा १३ से.मी. लामो धारिलो हतियारले काटेको गम्भीर चोट भएको, चिउँडो मुनि पिल्सिएको, गालामा र दाहिने कुममा समेत छाला पिल्सिएको घाउ भएको, अवस्थामा रहेको भन्ने उल्लिखित धरान घोपाको मिति २०७०।७।१९ को लास जाँच मुचुल्का कागज ।
मेरो घर सुनसरी, सोनपुर ३ मा पर्छ, मेरा दुईवटा श्रीमतीहरूमध्ये जेठी श्रीमती बिमला देवी चौधरीसँग २०५५ सालमा मागी विवाह गरेको र निज हालसमेत घरैमा २ वटा छोराहरूसँगै बस्छिन्, दोस्रो कान्छी श्रीमती सुनसरी इटहरी ८ स्थितमा पुनम होटल सञ्चालन गरी बस्ने पुनम सहनीकी माइली
छोरी सुनिता सहनीसँग मैले ४ वर्षअगाडि प्रेम विवाह गरेको र हाल १ वर्षकी छोरीसमेतको जायजन्म भइसकेको अवस्था छ, म कान्छी श्रीमतीसँग २०७० सालको जेष्ठ महिनादेखि काठमाडौंको पेप्सीकोला खहरे चौकमा चियानास्ताको पसल सञ्चालन गरी बस्दै आएको थियौं । यस्तैमा मिति २०७०।७।८ गते हामी तिहार मनाउनको लागि भनी काठमाडौंबाट घर आएका थियौं । काठमाडौंबाट आएपछि सोही दिन मेरी श्रीमती सुनिता चौधरीले अहिले म माइतीमै बस्दै गर्छु भनेकोले मैले इटहरी ८ स्थित सासू पुनम सहनीको होटलमै श्रीमती र छोरीलाई छाडी म सोनापुर घरमा गएको थिएँ । म घरमै रहेको अवस्थामा मिति २०७०।७।१० गते राति अं. २०.३० बजेको समयमा सासूले ९८१७३४८४०४ बाट मेरो ९८१२३५५२७० नम्बरको मोबाइलमा फोन गरी नातिनी अपेक्षा चौधरी खाटबाट लडी खुट्टा भाँचिएको छ, भन्नुभएकोले म तत्कालै मोटर साइकलमा इटहरी सासूकोमा आउँदा छोरीको खुट्टा केही नभएको, तर सासूले मलाई गाली गलौज गरेकोले मैले आफ्नी श्रीमती र छोरीसमेतलाई साथमा लिई घर लिएर गएको थिएँ, सोही रातिको अं. १.३० बजेको समयमा श्रीमती सुनीता चौधरी छोरीलाई लिएर माइती इटहरीमा आइबसेकी थिइन्, सो सम्बन्धमा मिति ०७०।७।११ गते सासू, श्रीमतीलगायतसँग छलफल गर्दा श्रीमती मसँग नबस्ने माइतीमै बस्ने, छोरी पनि श्रीमतीले नै राख्ने, भेट्न मन लाग्दा छोरीलाई भेट्न पाउने भन्ने सहमति भएको
थियो । सोहीबमोजिम श्रीमती छोरीलाई लिएर माइतीमै बस्दै आइरहेकी थिइन् । यस्तैमा मेरी छोरीलाई दाजुहरूलाई टीका लगाइदिनको लागि घर लगिदिनु भन्नको लागि मिति २०७०।७।१८ गते बेलुकी म श्रीमती भएको ठाउँ इटहरी आई छोरीलाई अगाडिको पसलबाट फ्रूटी किनी दिई छोरीलाई खुवाई छोरीलाई त्यहीँ छाडी आउँछु भनी छोरीलाई समाउन खोज्दा मेरो सासू र जेठी सासू लक्ष्मी सहनी राजवंशीले मलाई सोही होटल अगाडि गेटनिर धकल-पकल गरी लडेँ
सोही समयमा सासू पुनम सहनीले होटलभित्रैबाट फलामको दाउ जस्तो धारिलो हतियार लिई म लडेकै अवस्थामा मलाई प्रहार गर्दा मैले छेक्दा मेरो बायाँ हातको चोरी औंला काटिई गम्भीर चोट भयो, मैले दाहिने हातले सासूको हातबाट उक्त फलामको दाउ खोसी सासू होटलभित्र भागी पस्न लाग्दा पछाडिको घाँटीमा दाहिंने साइडमा २ पटक प्रहार गरेँ । सासू सोही स्थानमा रगत पच्छे भई सडक पेटीमा लड्न गयो, म भाग्दै गर्दा प्रहरीले पक्राउ गरेको हो र सोही चोटबाट गम्भीर घाइते भएको मेरो सासू आमा पुनम सहनीलाई तत्काल उपचारको लागि धरान घोपामा लगी उपचार हुँदाहुँदैको अवस्थामा मृत्यु भएको हो, निज सासूलाई मैले दाउले प्रहार गरेको चोटको कारणबाट नै मृत्यु भएको हो तर सो समयमा निज सासूलाई मार्ने मनसायले साथमा हतियार बोकेर गएको होइन भन्नेसमेत बेहोराको प्रतिवादी अनिलकुमार चौधरीले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान कागज ।
(Cause of death is due to shock as a result of chop wounds) उल्लिखित मृतक पुनम सहनीको लास पोस्टमार्टम रिपोर्ट ।
मिति ०७०।७।१८ गते साँझ म मेरो धर्मकी आमा पुनम सहनीको पुनम होटल एण्ड लजमा थिएँ, मैले प्रतिवादी सुनसरी, सोनपुर ३ बस्ने अनिलकुमार चौधरीसँग आजभन्दा ५ वर्ष पहिला प्रेम विवाह गरेको र हामीहरूबाट एक छोरीसमेतको जायजन्म भइसकेको छ । वारदात हुनुभन्दा ५ दिनअगाडि मात्र म माइतीमा आएकी थिएँ, यस्तैमा उल्लिखित वारदातको साँझ होटलमा आमा पुनम सहनी माछा तार्ने काम गर्दै हुनुहुन्थ्यो । मेरो पति अनिलकुमार चौधरी होटलमा आई छोरी एक छिन दिनु भनी माग्दा निजलाई छोरी दिएकोमा निजले लैजान खोजेकोले छोरी लान आँटेको भनी आमाले ढोकाबाहिरबाट कराउँदै हुनुहुन्थ्यो । पछि हल्लाखल्ला बन्द भएको र बच्चा रूँदै गरेकोले म मसला पिस्न छाडी बाहिर हेर्न जाँदा पेटीमा आमा रगत पच्छे भई लडेको र निधार गर्धन तथा छातीमा तथा शरीरका भागहरूमा जत्रतत्र काटिएको, आमा रगतपच्छे भएर लडेको अवस्थामा निज अनिलकुमार चौधरीले मलाई छाड्दिन भन्दै फलामको धारिलो हतियार दाउले प्रहार गर्न लाग्दै गरेकोले मैले होहल्ला गरेपछि निज उक्त दाउ घट्नास्थलमै छाडी भागेको
हो । मेरी आमाको तत्कालै उपचारको लागि धरान घोपामा लगी उपचारको क्रममा साँझ १९.३० बजेको समयमा मृत्यु भएको हो । निज पति अनिल चौधरीले पटक-पटक मेरी आमालाई ज्यान मार्ने भनी धम्क्याउने गरेको भनी आमाले भन्ने गरेकी थिइन् र सो वारदात समयमा पनि मेरो पतिले आमालाई काटी मार्ने मनसाय, नियतले काटेको कारणबाट मेरो आमाको मृत्यु भएको हो भन्ने बेहोराको मृतकको छोरी सुनितादेवी चौधरीले गरेको घटना विवरण कागज ।
मिति ०७०।७।१८ गते अं.१८.३० बजेको समयमा सुनसरी इटहरी न.पा.वडा नं.८ स्थित पुनम होटल एण्ड लजमा मानिसहरूको होहल्ला सुनी के भएको रहेछ भनी उक्त स्थानमा जाँदा उक्त होटलको अगाडि सडक पेटीमा निज पुनम सहनी घाँटीमा दाहिनेपट्टि धारिलो हतियारले प्रहार गरी गम्भीर चोट भई सोही चोटबाट निस्केको रगतको भलमा लत्पतिएर बेहोस भई लडिरहेको, घटनास्थलमा रातो कालो भएको पछाडि भिर्ने रूक स्याक झोला र सोही घटनास्थल छेउमा पुरूष मानिसले लगाउने कालो छालाको दाहिने खुट्टाको जुत्तासमेत रहेको देखेका हौं, को-कसले वारदात घटाएको हो भन्ने बुझ्दा तत्काल के कहाँबाट धारिलो हतियार दाउसमेत बोकी आएका निज पुनम सहनीकी माइली छोरी सुनिता सहनीको पति अनिलकुमार चौधरीले पूर्वयोजना बनाई सुनियोजित रूपले आई सासू पुनम सहनीलाई मार्ने नै नियतले घाँटीमा पटकपटक प्रहार गरी मरणासन्न घाइते बनाई बेहोस अवस्थामा ढलेपछि मर्यो भनी घटनास्थलबाट भागी गएकोमा पछि प्रहरीले पक्राउ गरेको थाहा हुन आएको हो भन्नेसमेतको बुझिएका मानिसहरू शमशेर बहादुर गिरी, प्रेमबहादुर विष्ट, योगप्रसाद सुवेदी, रमेश बराल र रविन आचार्यको वस्तुस्थिति मुचुल्का कागज ।
प्रतिवादी अनिलकुमार चौधरीले मुलुकी ऐन ज्यानसम्बन्धीको महलको १ नं. विपरीतजन्य कसुर अपराध गरेको स्पष्ट हुन आएको हुँदा निज प्रतिवादीलाई सोही ऐनको १३(१) नं. बमोजिमको सजाय गरिपाउँ भन्नेसमेतको अभियोग माग दाबी ।
मेरी सासूले मलाई फोन गरी छोरी बिरामी छन् आउनु भनेकीले २०७०।८।१० गते ससुराली
गएँ । छोरीलाई लिई मेरो घरमा राति गई हामी हाम्रो घरमा सुतेको अवस्थामा राति १.३०बजे नै मेरी श्रीमती माइत गई सकिछन् । त्यसपछि मेरी श्रीमतीले निजकी आमालाई साथमा लिई २०७०।७।११ मा सि.आर.पी. प्रहरीमा कुटपिट गरेको कुरा जाहेरी दिएकी रहिछन् । प्रहरीमा छलफल हुँदा मेरी श्रीमती मसँग जान नमानेपछि मैले छोरी लैजान्छु भन्दा मलाई दिएनन् । बेलाबेलामा भेट गर्ने सहमति भयो । म ससुरालीमा छोरी भेट्न भनी २०७०।७।१८ मा जाँदा सासूले मलाई अपशब्दले गाली गरिन् । मैले छोरी काखमा लिई बसेको थिएँ, मलाई मेरी सासू र जेठी सासूले हतियारले प्रहार गरे, म भुइँमा लडेँ, त्यसैबेला पुनः हतियारले प्रहार गर्दा मैले छेक्दा मेरो देब्रे हातको चोर औंलामा काटियो । मलाई पुनः प्रहार गर्दा मैले सो हतियार खोसेँ, मलाई फेरी जेठी सासूले प्रहार गर्दा आफूले आत्मरक्षाको लागि सासूबाट खोसेको हतियारले सासूलाई हातमा प्रहार गरेको थिएँ, निजलाई घाँटीमा लाग्न गई घाइते भएकी थिइन् । म त्यहाँबाट कहीँ नगई बसेँ । प्रहरीले मलाई त्यहीँबाट पक्राउ गरेका हुन् । भोलिपल्ट सुन्दा निजको मृत्यु भइसकेको रहेछ मार्ने मनसाय
थिएन । आफूमाथि प्रहार हुँदा आत्मरक्षाको लागि मैले हिर्काएको हुँ भन्नेसमेतको प्रतिवादी अनिलकुमार चौधरीले अदालतसमक्ष गरेको बयान ।
२०७०।८।१३ का आदेशानुसार निज प्रतिवादी हालसम्म मुद्दा पुर्पक्षका लागि कारागार कार्यालय झुम्कामा थुनामा रहेका रहेछन् ।
तपाइँको घरनजिक पुनम सहनीलाई मारेको छ भनी साथीहरूले सुनाएकाले घटनास्थलमा जाँदा उपचारार्थ निजलाई लगिसकेको रहेछ, अनिल चौधरीले कट्टीले घाँटी टाउकोमा काटेको भन्ने सुनेको भन्ने वस्तुस्थितिका योगप्रसाद सुवेदीको बकपत्र ।
प्रतिवादी अनिलकुमार चौधरीले पुनम सहनीलाई घाँटीमा ३/४ ठाउँमा र शरीरको विभिन्न ठाउँमा दाउ प्रहार गरेको मैले देखेको र हो भन्ने वस्तुस्थितिका शमशेरबहादुर गिरीको र प्रेमबहादुर विष्टको बकपत्र ।
प्रतिवादीले बारम्बार मेरो आमालाई नमारी छाड्दिन भनी फोनबाट धम्की दिँदै आएको, सोही रिसइवीका कारण मासु काट्ने दाउ कट्टीले गर्धन, छातीलगायत शरीरको विभिन्न भागमा प्रहार गरी कर्तव्य गरी मारेको हो भन्ने जाहेरवाली लक्ष्मी सहनी राजवंशीले गरेको बकपत्र ।
सासूले प्रतिवादीलाई मासु काट्ने दाउ लिएर वार गरायो । सासूबाट रोक्दा अनिल चौधरीको हातको औंला काटिएको, अर्कोपटक वार गर्न आउँदा एक्कासी उठेको रिसले आफूले खोसी लिएको दाउले सासूको शरीरमा जत्रतत्र काटी अपराध गरेको हो, आफ्नो जीवन रक्षाको लागि बाध्य भएर प्रतिवादीले खुकुरी प्रहार गरेको हो भन्ने प्रतिवादीका साक्षी अशोककुमार चौधरीको बकपत्र ।
प्रतिवादीकी सासू पुनम सहनीको मृत्यु यिनै प्रतिवादीले हतियार प्रहार गरी लागेको चोटबाट भएको भन्ने पुष्टि भएकाले प्रतिवादी अनिलकुमार चौधरीले ज्यानसम्बन्धीको १ नं. विपरीत कसुर गरेको ठहरी निजलाई ऐ. का १३(१) बमोजिम सर्वस्वसहित जन्म कैद हुने ठहर्छ भन्ने बेहोराको मिति २०७१।११।१९ मा सुरू सुनसरी जिल्ला अदालतबाट भएको फैसला ।
मैले ज्यान लिने नियतले रिसइवीको कारण खुकुरी प्रहार गरेको नभई मलाई जेठी सासू लक्ष्मी सहनी राजवंशीले धकल-पकल गरेपछि म भुइँमा लडेपछि सासू मृतक पुनम सहनीले होटलभित्रबाट फलामको दाउ हतियारले म लडेकै अवस्थामा प्रहार गरेपछि मेरो बायाँ हातको चोर औंला काटेको र तत्कालै उक्त हतियार नखोसेको भए मलाई जेठी सासू र सासू मिलेर ज्यानै मार्ने थिएँ । मैले खोसेको हतियारले तत्कालै उठेको रिस थाम्न नसकी २ पटक प्रहार गरेको हो भनी बयान गरेकोमा सो बयान कागजलगायत मेरो साक्षीको बकपत्रसमेतको मूल्याङ्कन नगरी हतियार प्रतिवादीको हातमा आइसकेपछि प्रतिवादीको भनाइअनुसार आत्मरक्षाको लागि प्रहार गरे भन्ने मिल्ने भनी गरेको फैसला प्रत्यक्ष त्रूटि भई बदरभागी छ । किनभने उक्त घटना तत्काल उठेको रिसबाट भएको हो । त्यसकारण ज्यानसम्बन्धीको १३(१) नं.आकर्षित हुने अवस्था छैन । प्रस्तुत मुद्दाको घटनाक्रमबाट ज्यानसम्बन्धी महलको ७(१) नं.आकर्षित हुने अवस्था छ । अतः सुरूको फैसला बदर गरी न्यायिक फैसला गरिपाउँ भन्नेसमेत बेहोराको प्रतिवादी अनिलकुमार चौधरीको पुनरावेदन पत्र ।
यसमा प्रतिवादी अनिलकुमार चौधरीलाई ज्यानसम्बन्धीको १३(१) नं. को कसुर गरेको ठहर्याई सुरू सुनसरी जिल्ला अदालतले मिति २०७१/११/१९ मा गरेको फैसला मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(१) नं. र सोही महलको ७(१) नं. को व्याख्यासम्बन्धी प्रश्न विद्यमान भई सुरू फैसला फरक पर्न सक्ने देखिँदा छलफलका निमित्त मुलुकी ऐन, अ.बं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम पुनरावेदन सरकारी वकिल कार्यालय विराटनगरलाई पेसीको सूचना दिई नियमानुसार पेस गर्नु भन्ने मिति २०७३/१/८ मा पुनरावेदन अदालत, विराटनगरबाट भएको आदेश ।
यसमा मिसिल संलग्न प्रमाणबाट यी प्रतिवादीले दाउ जस्तो जोखिमी हतियारले प्रहार गरी आफ्नी सासू पुनम सहनीलाई कर्तव्य गरी मारेको देखिँदा निजलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(१) नं. बमोजिम सर्वस्वसहित जन्मकैदको सजाय गर्ने गरी भएको सुरू सुनसरी जिल्ला अदालतको मिति २०७१/११/१९ को फैसला मिलेकै देखिँदा सदर हुन्छ । मैले आत्मरक्षाका लागि हतियार प्रहार गरेको हुँ भन्नेसमेत प्रतिवादीको पुनरावेदन जिकिर पुग्न नसक्नेसमेत ठहर्छ । तर पूर्वतैयारी र योजनाविहीन अवस्थामा मृतकको हातमा भएको हतियार खोसी प्रहार गर्दा मानिस मर्न गएको अवस्था हुँदा सुरू अदालतले मुलकी ऐन अ.बं. १८८ नं. बमोजिम कैद वर्ष पन्ध्रको सजाय हुन भनी राय व्यक्त गरेकालाई संशोधन गरी सोही ऐनबमोजिम प्रतिवादीलाई १०(दश) वर्षको सजाय गर्नु मनासिब देखिन्छ भन्ने पुनरावेदन अदालत, विराटनगरको मिति २०७३।२।५ गतेको फैसला ।
मउपर मृतक एकजना मात्रले मार्ने उद्देश्यले प्रहार गरेको नभई जाहेरवाली तथा अन्य मृतकका छोरीहरूसमेतले मलाई धारिलो हतियार लिई ममाथि प्रहार गरेको तर मैले छल्दा उम्की मृतकको हातबाट हतियार खोसेको र मृतक पुनः अर्को हतियार लिन घरभित्र पस्न लाग्दा मृतक तथा अन्य सहयोगीलाई तर्साउन तथा मेरो आत्मरक्षाका लागि मृतकलाई प्रहार गरेको भनी मैले सुरू अदालत तथा पुनरावेदन गर्दासमेत उल्लेख गरेको र सो कुरालाई मिसिल संलग्न कागजबाट प्रस्ट भइरहेको अवस्थामा ज्यानसम्बन्धी महलको ७(१) नं. बमोजिम सजाय हुनुपर्नेमा सोविपरीत मलाई अन्याय पर्ने गरी भएको फैसला त्रूटिपूर्ण हुँदा बदर गरिपाउँ भन्नेसमेत बेहोराको प्रतिवादी अनिलकुमार चौधरीले यस अदालतसमक्ष गरेको पुनरावेदन जिकिर ।
नियमबमोजिम दैनिक पेसी सूचीमा चढी पेस हुन आएको प्रस्तुत मुद्दामा प्रतिवादी अनिलकुमार चौधरीले मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं. विपरीत कसुरअपराध गरेको हुँदा निज प्रतिवादीलाई सोही ऐनको १३(१) नं. बमोजिम सजाय गरिपाउँ भन्ने अभियोग दाबी रहेको देखियो ।
यसमा प्रतिवादी अनिलकुमार चौधरीले आफ्नै सासू पुनम सहनीलाई धारिलो हतियार प्रहार गरी सोही चोटको कारण मृत्यु भएको हुँदा मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(१) नं. बमोजिम सर्वस्वसहित जन्मकैद हुने ठहर्याई सजायको हकमा अ.बं. १८८ नं. बमोजिम १५ (पन्ध्र) वर्ष कैद सजाय हुन राय व्यक्त गरी मिति २०७१/११/१९ मा फैसला भएको देखियो । सो फैसलाउपर चित्त नबुझी प्रतिवादी अनिलकुमार चौधरीको तर्फबाट पुनरावेदन परेकोमा पुनरावेदन अदालत, विराटनगरबाट सुरू सुनसरी जिल्ला अदालतबाट भएको फैसला सदर हुने ठहर्याई सजायको हकमा अ.बं. १८८ नं. बमोजिम १० (दश) वर्ष कैद सजाय हुन राय व्यक्त भएको देखिन्छ ।
मिसिल अध्ययन गरी हेर्दा मउपर मृतकलगायत जाहेरवाली तथा अन्य मृतकका छोरीहरूसमेतले धारिलो हतियार लिई प्रहार गरेको अवस्थामा मृतकले लिएको हतियार खोसी सोही हतियारले आत्मरक्षाका लागि मृतकलाई प्रहार गरेको हुँदा मुलुकी ऐन, ज्यानसम्बन्धी महलको ७(१) नं. बमोजिम सजाय हुनुपर्ने भन्ने प्रतिवादीको मुख्य पुनरावेदन जिकिर रहेको परिप्रेक्ष्यका सन्दर्भमा मूलतः निम्न प्रश्नहरूका सम्बन्धमा निर्णय गर्नुपर्ने देखियोः
(१) यी प्रतिवादीकै कर्तव्यबाट मृतक पुनम सहनीको मृत्यु भएको हो होइन ?
(२) प्रतिवादीले मृतकलाई मार्नुपर्नेसम्मको रिसइवी वा मनसाय थियो, थिएन ?
(३) प्रतिवादीले आत्मरक्षाको क्रममा गरेको कार्यबाट सो वारदात घटेको हो, होइन ? र प्रस्तुत घटनाक्रमलाई दृष्टिगत गर्दा पुनरावेदन जिकिरअनुसार ज्यानसम्बन्धी महलको ७(१) नं. आकर्षित हुन सक्छ, सक्दैन ?
(४) सुरू तथा पुनरावेदन अदालतले यी प्रतिवादीलाई ज्यानसम्बन्धी महलको १३(१) नं. बमोजिम सर्वस्वसहित जन्मकैद गर्ने गरी भएको फैसला मिलेको छ, छैन ?
(५) घटनाको अवस्था तथा परिस्थितिसमेतका आधारमा अ.बं. १८८ नं.को प्रयोग गरी कम सजाय गर्नुपर्नेसम्मको अवस्था छ, छैन ?
२. पहिलो प्रश्नतर्फ विचार गर्दा, यी प्रतिवादी र मृतक पुनम सहनीबीच ज्वाइँ सासूको नाता रहेको तथ्यमा विवाद देखिएन । प्रतिवादीले अधिकारप्राप्त अधिकारीसमक्ष बयान गर्दा आफ्नो कान्छी श्रीमती अर्थात् मृतक पुनम सहनीकी छोरी सुनिता सहनीसँग राम्रो सम्बन्ध हुन नसकेको कारण निज माइत बस्न थालेकी र वारदात मिति २०७०/७/१८ गतेका साँझ ६:३० बजेतिर श्रीमती तथा छोरीलाई भेट गर्न सासूको होटलमा गई छोरीलाई काखमा लिएर खेलाउँदै गरेको अवस्थामा प्रतिवादीको जेठी सासू लक्ष्मी सहनी र सासू पुनम सहनीसँग वादविवाद झगडा भएको, सोही क्रममा सासूले घरभित्रबाट दाउ लिएर आई आफूलाई प्रहार गर्दा आफ्नो बायाँ हातको चोरी औंला काटिएकोले दायाँ हातले मृतक सासूको हातको दाउ खोसी सासू होटलभित्र पसी भाग्न लाग्दा पछाडिबाट घाँटीको दाहिने साइडमा दुइपटक प्रहार गरेको भनी बयान गरेको देखिन्छ । त्यसैगरी यी प्रतिवादीले अदालतसमक्ष बयान गर्दा मैले छोरीलाई काखमा लिएको अवस्थामा मलाई मेरी सासू र जेठी सासूले हतियारले प्रहार गरे, म भुइँमा लडेँ, पुनः हतियारले प्रहार गर्दा मेरो देब्रे हातको चोर औंला काटियो, फेरि पनि प्रहार गर्दा मैले सो हतियार खोसी आत्मरक्षाको लागि सासूबाट खोसेको हतियारले सासूलाई नै हातमा प्रहार गर्न खोज्दा घाँटीमा लागेको हो भनी बयान गरेको देखियो । प्रतिवादीको उक्त बयान, घटनास्थल मुचुल्का, घाउ जाँच केस फाराम, मृतकको मृत्यु To Shock as a result of Multiple Chop Wounds भन्ने शव परीक्षण प्रतिवेदन तथा चश्मदिद गवाह प्रतिवादीकी पत्नी सुनिता सहनी एवं मौकामा बुझिएका शमशेर बहादुर गिरी र प्रेमबहादुर विष्टसमेतले गरेको बकपत्रसमेतबाट यी प्रतिवादी अनिलकुमार चौधरीले प्रहार गरेको धारिलो हतियारको चोटको कारण मृतक पुनम सहनीको मृत्यु भएको तथ्यमा विवाद देखिएन ।
३. दोस्रो प्रश्नतर्फ विचार गर्दा मनसाय तत्त्वको निर्धारण वा पहिचान निजले गरेको कार्यको आधारमा समेत मापन हुन सक्ने विषय हो । यी प्रतिवादीले अदालतसमक्ष बयान गर्दासमेत आफूले श्रीमतीलाई कुटपिट गरेको विषयमा सासु र श्रीमतीले मिति २०७०।०७।११ मा प्रहरीमा जाहेरी दिएको र दुई पक्षबीच छलफल भई बच्चालाई भेट्न दिने सहमति भएको भन्ने उल्लेख गरेको देखिन्छ । सोपश्चात् पनि यी प्रतिवादीले मृतकलाई फोनबाट नमारी छाड्दिन भनी धम्की दिने गरेको भन्ने कुरा जाहेरवाली लक्ष्मी सहनीको बकपत्रसमेतबाट
देखिन्छ । उक्त घटनाक्रमहरूबाट प्रतिवादी र मृतकहरूका बीच कटुतापूर्ण सम्बन्ध रहेको आधार स्पष्ट हुन्छ । मृतककी छोरी सुनिता सहनी र यी प्रतिवादीबीच सुमधुर सम्बन्ध नभएको कारण प्रतिवादीकी श्रीमती आफ्नो छोरीसहित मृतक आमाको घरमा बस्ने गरेको, कटुतापूर्ण सम्बन्ध हुँदाहुँदै पनि यी प्रतिवादी मृतककै घर, होटलमा आएको, प्रतिवादीकै कथनअनुसार पनि मृतक पुनम सहनीले लिएको हतियार प्रतिवादीले खोसिसकेपछि निशस्त्र रूपमा रहेकी आफ्नै सासु पुनम सहनीलाई घाँटी जस्तो संवेदनशील अंगमा मासु काट्ने दाउ (कट्टी) ले पटकपटक प्रहार गरेको कार्यबाटै मृतकप्रति यी प्रतिवादीको रिसइवी र मार्ने मनसाय प्रकट रूपमा नै रहेको देखिन आयो ।
४. तेस्रो प्रश्नतर्फ विचार गर्दा, यी प्रतिवादीले अधिकारप्राप्त अधिकारी एवं अदालतसमक्ष गरेको बयानलाई नै आधार मान्दा सासू पुनम सहनीले दाउले यी प्रतिवादीलाई हान्न खोज्दा सोही हतियार खोसी मृतकलाई हानेको भन्ने देखिन्छ । उक्त कथनबाट समेत वारदातमा एउटा मात्र हतियारको प्रयोग भएको र सो हतियारसमेत यी प्रतिवादीले खोसी आफ्नो हातमा आइसकेको तथा मृतकभित्रतर्फ भाग्न लाग्दाको अवस्थामा घाँटीको पछाडिको भागमा प्रतिवादीले काटेको भन्ने देखियो । पुनम सहनीले लिएको हतियार यी प्रतिवादीले खोसी आफ्नो हातमा लिइसकेको र मृतक आफ्नो जिउज्यान बचाउन घरभित्र भाग्न लागेको अवस्थालाई मध्यनजर गर्दा त्रासदीपूर्ण अवस्था समाप्त भई मृतकबाट यी प्रतिवादीको जिउज्यानमाथि कुनै खतरा बाँकी रहेको भन्ने देखिँदैन । त्यसका अलावा घटनास्थल प्रकृति मुचुल्काबाट पुनम होटेल एण्ड लजअगाडि सडक पेटीको भागमा रगतको भल बगेको र सोही ठाउँमा दाउसमेत फेला परेको छ । अर्थात् घटना घटेको खुला ठाउँबाट सासूले हतियार लिएर आएको देखी सोबाट बच्न निज प्रतिवादी भागेर जोगिन सक्ने अवस्थासमेत रहे भएको देखियो ।
५. उल्लिखित घटनाक्रमहरूबाट सासूले प्रहार गरेको भनिएको हतियारबाट यी प्रतिवादीको हातको औंलासम्म काटिएको र सोपश्चात् यी प्रतिवादीले सासूको हातबाट हतियार खोसी आफ्नो हातमा लिएको भन्ने देखियो । प्रस्तुत वारदात घरबाहिर खुला सडकमा भएको अवस्था छ । खुल्ला ठाउँ भएका कारण भाग्न उम्कन सक्ने अवस्था मात्र नभई मानिसको प्रशस्त आवतजावत हुने बस्तीबीचको सडकमा भएको सो घटनामा तत्काल अन्य व्यक्तिको सहयोग प्राप्त गर्न सक्ने वा हारगुहार गर्न सक्ने वा भाग्न उम्कन सक्ने पर्याप्त सम्भावना र अवसरसमेत प्रतिवादीलाई रहेभएकै देखिन्छ ।
६. आत्मरक्षाको जिकिर निरपेक्ष रूपमा प्राप्त हुने सुविधा वा उन्मुक्तिको विषय होइन । आफ्नो जिउ ज्यानमा उत्पन्न भएको खतराबाट उम्किन हरसम्भव प्रयास गर्दा पनि सम्भव नभई आफ्नो जिउज्यान नै नरहने स्थितिको सृजना भएमा त्यसबाट बच्ने उद्देश्यले उचित बल (reasonable force) प्रयोग गर्नेसम्मको छुट कानूनले प्रदान गरेको हो । आफ्नो जिउज्यान नै जाने अवस्था नभई खतरा टरिसकेको अवस्थामा उल्टै आफ्नै जीवनरक्षार्थ भाग्न लागेको मृतकलाई साङ्घातिक रूपमा पछाडिबाट पटक-पटक धारिलो हतियार प्रहार गरेको कार्यलाई आत्मरक्षाको संज्ञा दिन मिल्दैन र मृतकउपरको यत्रोविघ्नको नृशंस प्रहारलाई आत्मरक्षाको सिद्धान्तले स्वीकृतिसमेत दिँदैन । आत्मरक्षाको जिकिर प्रमाणित गर्नेभार सो जिकिर लिने प्रतिवादीमा नै रहन्छ । प्रस्तुत सन्दर्भमा प्रतिवादीले अदालतसमक्ष बयान गर्दा आत्मरक्षाको जिकिर लिए तापनि मनसायपूर्वक निर्मम रूपमा गरिएको अपराधमा आत्मरक्षाको जिकिर सान्दर्भिक र प्रासङ्गिक हुनसक्ने अवस्था पनि रहँदैन ।
७. तेस्रो प्रश्नतर्फ विचार गर्दा माथि उल्लिखित एवं विवेचित आधार प्रमाणहरूबाट प्रतिवादी अनिलकुमार चौधरीले दाउ जस्तो जोखिमी हतियारले घाँटीसमेतमा प्रहार गरी आफ्नै सासू पुनम सहनीलाई कर्तव्य गरी मारेको देखिँदा यी प्रतिवादीलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(१) नं. बमोजिम सर्वस्वसहित जन्मकैदको सजाय गर्ने ठहर्याएको सुनसरी जिल्ला अदालतको मिति २०७१/११/१९ को फैसला सदर हुने ठहर गरेको पुनरावेदन अदालत, विराटनगरको मिति २०७३।२।५ को फैसला मिलेकै देखिँदा सदर ठहर्छ ।
८. कसुर गर्दाको अवस्था र परिस्थितिसमेतलाई विचार गरी यी प्रतिवादीलाई के कति सजाय गर्नुपर्ने हो भन्ने चौथो प्रश्नतर्फ विचार गर्दा, मुलुकी ऐन, अ.बं.१८८ नं. को प्रयोग विवादित तथ्य, घटनाक्रम, कसुर हुँदाको अवस्था, परिस्थिति, कसुरदारको मनसाय, भवितव्य हो कि भनी सन्देह गर्नुपर्ने अवस्था, कसुरदारले न्यायिक प्रक्रियामा पुर्याएको सहयोगलगायतका विविध सन्दर्भहरूलाई मूल्याङ्कन गरी निरूपण गरिने अदालतको स्वविवेकाधिकारको विषय हो । यो कानूनको प्रयोग हुन मृतकको मृत्युको लागि कुनै न कुनै रूपमा मृतक दोषी रहेको देखिनु र प्रतिवादीले गरेको वारदातप्रति समाजले प्रतिवादीप्रति पनि थोरै भए पनि सहानुभूति देखाउनु पर्ने अवस्था मिसिलबाट स्पष्ट हुनुपर्छ । यो कानूनी व्यवस्था अपराध र सजायबीच सन्तुलन कायम गरी पूर्ण न्याय गर्ने मनसायले विधायिकाले न्यायपालिकालाई दिएको विशिष्ठ अधिकार हो । यो अधिकारको प्रयोग गर्दा सर्वोच्च अदालतले विभिन्न मुद्दा र विभिन्न समयमा निश्चित मापदण्ड र आधारहरूको (शान्ति वि.क. वि. नेपाल सरकार, ने.का.प. २०६१ असोज, नि.नं. ७३९९) सृजना र व्याख्या गरेकोसमेत पाइन्छ ।
९. प्रस्तुत सन्दर्भमा पूर्वतैयारी र योजना विहीन अवस्थामा आफ्नै छोरीलाई काखमा राखेको अवस्थामा यी प्रतिवादीलाई सासू पुनम सहनीले दाउ (फलामको धारिलो हतियार) लिई प्रहार गर्न खोजेको अवस्थामा मृतकको हातमा भएको सोही हतियार खोसी पुनम सहनीलाई प्रहार गर्दा मृत्यु हुन गएको घटनाको अवस्था र परिस्थितिलाई मध्यनजर गर्दा यी प्रतिवादी अनिलकुमार चौधरीलाई ज्यानसम्बन्धी महलको १३(१) नं. बमोजिम सर्वस्वसहित जन्मकैद गर्दा इन्साफको रोहमा चर्को पर्न जाने चित्त (Conscience) ले देखिएकोले मुलुकी ऐन, अ.बं. १८८ नं. बमोजिम १०(दश) वर्ष मात्र सजाय गर्दा अपराध र सजायबीच सन्तुलन कायम भई न्यायको मक्सद पूरा हुने अवस्था देखिँदा यी प्रतिवादीलाई १०(दश) वर्ष मात्र कैद सजाय हुने भनी पुनरावेदन अदालत, विराटनगरबाट व्यक्त भएको रायसमेत मनासिब देखिँदा सदर हुने ठहर्छ । अरूमा तपसिलबमोजिम गर्नू ।
तपसिल
माथि ठहर खण्डमा लेखिएबमोजिम प्रतिवादी अनिलकुमार चौधरीलाई ज्यानसम्बन्धी महलको १३(१) नं. बमोजिम सर्वस्वसहित जन्मकैद गर्दा इन्साफको रोहमा चर्को पर्न जाने देखिएकोले मुलुकी ऐन, अ.बं. १८८ नं. बमोजिम १०(दश) वर्ष मात्र कैद सजाय हुने ठहरेकाले सोअनुरूपको लगत राखी फैसला कार्यान्वयन गर्नु भनी सुरू सुनसरी जिल्ला अदालतमा लेखी पठाउनू ----------------------------------------१
फैसलाको जानकारी प्रतिवादी अनिलकुमार चौधरीलाई दिनू --------------------------------------------------२
प्रस्तुत मुद्दाको दायरी लगत कट्टा गरी मिसिल अभिलेख शाखामा बुझाई दिनू ----------------------------------३
उक्त रायमा सहमत छु ।
का.मु.प्र.न्या.ओमप्रकाश मिश्र
इजलास अधिकृत : ठाकुरप्रसाद खरेल
इति संवत् २०७५ साल भाद्र १० गते रोज १ शुभम् ।