निर्णय नं. १०१५३ - अंश चलन
सर्वोच्च अदालत,संयुक्त इजलास
माननीय न्यायाधीश श्री सारदाप्रसाद घिमिरे
माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ
फैसला मिति : २०७३।५।२९
०७२-CI-०८९१
मुद्दाः अंश चलन
पुनरावेदक / प्रतिवादी : कुलबहादुर के.सी.की बुहारी, उत्तमबहादुर के.सी.की श्रीमती का.जि.का.म.न.पा. वडा नं.३३ पुतलीमार्ग बस्ने मिरा के.सी.
विरूद्ध
प्रत्यर्थी / वादी : कुलबहादुर के.सी.की बुहारी, उद्धवबहादुर के.सी.की श्रीमती का.जि.का.म.न.पा. वडा नं. ३३ बस्ने कौशिला थापा के.सी. समेत
केबल अंश मुद्दाको फिराद दायर गरी तारेख गुजारी अंशसम्बन्धी प्रश्न सम्बन्धमा कुनै कारबाही नै अगाडि नबढेको अंश मुद्दाकै आधारमा सो मितिलाई मानो छुट्टिएको मान्न मिल्ने हुँदैन । मानो छुट्टिएको मिति कायम हुन या त मानो छुट्टिएको लिखत रजिस्ट्रेसन भएको हुनुपर्ने या त कुनै मुद्दा परी त्यस मुद्दामा अंशियारहरूबीच बन्डा हुनुपर्ने सम्पत्तिको तायदाती माग गर्ने आदेश हुँदा मानो छुट्टिएको मिति यकिन भएको हुनुपर्ने ।
पहिलो मुद्दामा कुनै आदेश नै नभएको र सो मुद्दा परेपछिसमेत एकासगोलमा बसेको भन्ने वादी प्रतिवादीहरूको व्यवहारबाट देखिएको अवस्थामा पहिलो मुद्दाको फिराद परेको दिनलाई मानो छुट्टिएको मिति कायम गर्न नमिल्ने ।
(प्रकरण नं.५)
पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री ईश्वरीप्रसाद भट्टराई तथा श्री विष्णुमाया भुसाल
प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री गोपी शर्मा सुवेदी
अवलम्बित नजिर :
सम्बद्ध कानून :
सुरू फैसला गर्नेः
मा. जिल्ला न्यायाधीश श्री कृष्णबहादुर थापा
काठमाडौं जिल्ला अदालत
पुनरावेदन तहमा फैसला गर्नेः
माननीय न्यायाधीश श्री टीकाबहादुर हमाल
माननीय न्यायाधीश श्री प्रकाशचन्द्र गजुरेल
पुनरावेदन अदालत, पाटन
फैसला
न्या. सारदाप्रसाद घिमिरे : पुनरावेदन अदालत, पाटनको मिति २०६९/९/५ को फैसलाउपर प्रतिवादीको तर्फबाट मुद्दा दोहोर्याई हेरिपाउँ भन्ने निवेदन परी यस अदालतबाट न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) बमोजिम दोहोर्याई हेर्ने निस्सा प्रदान भई पुनरावेदनको रोहमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः-
ससुरा बाजे कुलबहादुर के.सी.का दुई श्रीमतीहरूमध्ये जेठी भागवत दास खत्री क्षेत्री र कान्छी पुष्पा के.सी हुनुहुन्थ्यो । कान्छी सासू बज्यै पुष्पा के.सी. बाट दुईजना छोराहरूको जन्म भएकोमा जेठा विपक्षी मिरा के.सी.का पति उत्तमबहादुर के.सी र कान्छो विपक्षी हाम्रा पति पिता उद्धवबहादुर के.सी. हुनुहुन्छ । जेठी बज्यै सासूबाट कुनै सन्तानको जायजन्म भएको थिएन । ससुरा बाजे कूलबहादुरको मिति २०३० सालमा तथा निजकी कान्छी श्रीमती पुष्पा के.सी. को २०५२ सालमा र जेठी श्रीमती भागवतदास खत्री क्षेत्रीको २०६२ सालमा कालगतिले निधन भइसकेको र कूलबहादुरको जेठो छोरा तथा हाम्रा जेठाजु एवं ठूलोबुबा उत्तमबहादुर के.सी.को पनि मिति २०५२/११/१ मा मृत्यु भइसकेको हुँदा विपक्षी पति पिता एवम् जेठानी ठूली आमाले हामीलाई इज्जत आमदअनुसार खान लाउन नदिई घरबाट निकाला गरेको हुँदा र पैतृक सम्पत्ति विपक्षी पति पिता उद्धव के.सी. र विपक्षी जेठानी ठूलीआमा मिरा के.सी. को नाममा रहेको हुँदा विपक्षीहरूबाट सम्पूर्ण चल अचल सम्पत्तिको तायदाती फाँटवारी माग गरी सो सम्पत्तिलाई २ भाग लगाई २ भागमध्ये विपक्षी पति पिताको भागलाई पुन: ४ भाग गरी सोमध्ये ३ भाग अंश पाउँ भन्नेसमेत बेहोराको फिराद दाबी ।
विपक्षीले आफ्नो फिराद पत्रमा उल्लेख गरेको नाताका सम्बन्धमा विवाद गर्ने ठाउँ छैन । विपक्षीमध्येकी कौशिला थापा के.सी र म उद्धवबहादुर के.सी. का बीच रीत परम्पराअनुसार विवाह भई हाम्रो दाम्पत्य सम्बन्धबाट २ छोरीहरूको जन्म भएको र पिता कुलबहादुर के.सी को २०३० सालमा निधन भएपछि दुईवटी आमा भागवत दास खत्री र पुष्पा के.सी. तथा जेठो दाजु उत्तमबहादुर के.सी.समेतको संयुक्त परिवार थियो । पिताजीको पहिले नै मृत्यु भएपछि बुबाको नाममा रहेको जग्गा पहिला आमाहरूको नाममा नामसारी रहेको र आमा पुष्पा के.सी र दाजु उत्तमबहादुर के.सी. को पनि निधन भएपछि उक्त सम्पत्ति जेठी आमा भागवतदास क्षेत्री खत्रीको नाममा रहेको थियो । निजको पनि २०६२ सालमा आफ्नै कालगतिले निधन भएपछि भाउजु सहप्रतिवादी मिरा के.सी. समेतको नाममा भएको थियो । विपक्षीलाई मैले खान लाउन नदिई घरबाट निकाला नगरेको हुँदा पैतृक सम्पत्तिमा बन्डा गरी दुई भागको एक भाग मैले प्राप्त गर्ने नै हुँदा सो प्राप्त गरेपछि श्रीमती एवम् छोरीहरूलाई अंश दिन मन्जुर रहेको भन्नेसमेत बेहोराको प्रतिवादी उद्धवबहादुर के.सी.को प्रतिउत्तर पत्र ।
विपक्षीको फिराद पत्रको कथन झुठ्ठा, कपोलकल्पित, आधारहीन, गैरजिम्मेवारीपूर्ण र दु:ख दिने मनसायबाट उत्प्रेरित भई फिराद पत्र दर्ता भएको छ । विपक्षीहरूले निजकै पति उद्धवबहादुर के.सी.बाट अंश पाउने हो म बाट होइन । मबाट अंशबापत पाउने चल अचल सम्पत्ति मेरो जिम्मामा छैन । मेरा नाममा भएको सम्पत्ति मैले आफ्नो निजी प्रयासबाट आर्जन गरेको र सो सम्पत्ति बन्डा नलाग्ने हुनाले विपक्षीको फिराद पत्र मेरो हकमा खारेज गरिपाउँ भन्ने बेहोराको प्रतिवादी मिरा के.सी.को प्रतिउत्तर पत्र ।
यसमा नाता सम्बन्ध र अंशियारमा कुनै विवाद नरहेकोले प्रतिवादीहरूबाट वादीले अंश पाउने नै देखिँदा फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरिदिएको छ । वादी प्रतिवादीहरूबाट सम्पूर्ण चल अचल सम्पत्तिको तायदाती फाँटवारी लिई पेस गर्नु भन्ने सुरू अदालतको आदेशानुसार माग भएको तायदाती फाँटवारी वादी प्रतिवादी दुवै पक्षबाट पेस भई सुरू मिसिल संलग्न रहेको छ ।
वादी प्रतिवादीहरू सगोलको अंशियारहरू भएको र वादीहरूले प्रतिवादीवाट अंश पाउनु पर्ने देखिँदा फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरी दिएको छ । प्रतिवादी मिरा के.सी.ले पेस गरेको तायदाती फाँटवारीमा उल्लिखित कि.नं.२४५ को घर जग्गा र वादीले मिति २०६८/११/२८ को निवेदनसाथ देखाएको कि.नं. ५९९, ३६०९, १०७७, २२१९ र १५३३ को जग्गाको दर्ता स्रेस्ताले मिले भिडेसम्मको सम्पूर्ण जग्गाको २ भाग गरी त्यसको १ भाग वादीहरूको बाबु पति उद्धव के.सी.को १ भाग छुट्याई सो १ भागको ४ भाग गरी त्यसबाट ३ भाग सम्पत्ति अंश प्रतिवादीहरूबाट वादीलाई दिलाई भराई दिने ठहर्छ भन्ने सुरू काठमाडौं जिल्ला अदालतको मिति २०६८/११/२८ को फैसला ।
विपक्षी वादी कौशिला थापा मसँग २०५७ सालतिर मानो छुट्टिएका हुन् । तायदातीमा देखाएका जग्गामध्ये कि.नं.३६०९ को जग्गा मेरो आफ्नै बहिनी नानी मैया थापाबाट हालैको बकसपत्र गरी लिएको हुँदा बन्डा नलाग्ने सम्पत्ति हो । कि.नं.२२१९, १५३३ र १०७७ को जग्गा विपक्षीहरूसँग मानो छुट्टिई भिन्न भएपछि खरिद गरेको हो । कि.नं.५९९ को जग्गा मेरा श्रीमान्को मृत्युपछि श्रीमान्को सञ्चयकोष तथा सुविधाबाट खरिद गरी लिएको हुँदा उक्त सम्पत्तिको स्रोत एवं दर्ता स्रेस्ता नै नबुझी सुरूले गरेको फैसला त्रूटिपूर्ण हुँदा उल्टी गरी मेरो सुरू प्रतिउत्तर जिकिरबमोजिम गरिपाउँ भन्ने प्रतिवादी मिरा के.सी.ले पुनरावेदन अदालत, पाटनमा पेस गरेको पुनरावेदन पत्र ।
यसमा पुनरावेदक प्रतिवादीले कि.नं.३६०९ समेतको जग्गा आफ्नै बहिनी माया थापासँग हालैको बकसपत्र गरी लिनु भएकोमा सो जग्गासमेत बन्डा लाग्ने गरी भएको सुरू फैसला अंशबन्डाको १८ नं. को सन्दर्भमा फरक पर्न सक्ने हुनाले छलफलको निम्ति २०२ नं. बमोजिम प्रत्यर्थी झिकाई पेस गर्नु भन्ने पुनरावेदन अदालत, पाटनको मिति २०६९/६/२५ को आदेश ।
पुनरावेदीकाको नाममा रहेका सर्लाही हरिवन गा.वि.स. वडा नं.९ (ग) को कि.नं. ५९९, मकवानपुर हेटौंडा न.पा. वडा नं.८क को कि.नं.१५३३, २२१९ र ऐ. वडा नं.७ को कि.नं.१०७७ को जग्गाहरू सगोलमा रहे बसेको अवस्थामा पुनरावेदिका / प्रतिवादीका नाममा राजीनामाको माध्यमबाट प्राप्त भएको
देखिन्छ । सो जग्गा निजी आर्जनको भनी दाबी गर्ने प्रतिवादीले सोको प्रमाण दिन सकेको पनि नपाइँदा उपर्युक्त जग्गाहरूलाई निजको निजी आर्जनबाट प्राप्त भएको सम्पत्ति भनी मान्न सकिएन । त्यसैगरी हेटौंडा न.पा.को कि.नं. ३६०९ को ०-१०-० जग्गा बहिनी नानी मैया थापाबाट २०५३ सालमा हालैदेखिको बकसपत्रबाट प्राप्त गरेको सम्पत्ति बन्डा नलाग्ने सम्पत्ति हो भनी लिएको जिकिरतर्फ हेर्दा प्रतिवादीले तायदाती पेस गर्दा आफ्ना नाममा रहेको उपर्युक्त जग्गा निजी आर्जनको भई बन्डा नलाग्ने भनी सोको प्रमाणसमेत देखाई तायदाती पेस गर्न सकेको
पाइँदैन । तसर्थ काठमाडौं जिल्ला अदालतले गरेको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्ने पुनरावेदन अदालत, पाटनको मिति २०६९/९/५ को फैसला ।
म पुनरावेदिका २०५७ साल चैत्र २७ गते विपक्षीका पति एवं पिताउपर अंश मुद्दा दायर गरी मानो छुट्टिई अलग बस्दै आएकी छु । मेरो जिम्मामा बन्डा लाग्ने सम्पत्ति कि.नं. २४५ बाहेक अन्य कुनै सम्पत्ति नरहेको भनी मैले सुरू प्रतिउत्तरपत्रमा उल्लेख गरेको र सोही बेहोरा तायदाती फाँटवारीमा समेत उल्लेख गरेकी थिएँ । विपक्षीहरूसँग मानो छुट्टिई अलग भएपश्चात मैले विभिन्न स्रोतबाट प्राप्त गरेको सम्पत्ति विपक्षीहरूले मुद्दा फैसला हुँदाकै दिन दिएको निवेदनका आधारमा जग्गाको स्रेस्ता, क्षेत्रफल तथा स्रोतसमेत यकिन नगरी मलाई नसुनाई नदेखाई विना जानकारी मेरो निजी आर्जनको सम्पत्तिसमेत बन्डा लाग्ने गरी भएको फैसला त्रूटिपूर्ण छ । विपक्षीले देखाएको मेरा नाउँको कि.नं.३६०९ को जग्गा मेरी बहिनी नानीमैया थापासँग हालैको बकसपत्रबाट प्राप्त गरी लिएको अंशबन्डाको १८ नं. बमोजिम बन्डा नलाग्ने सम्पत्ति हो । त्यसैगरी कि.नं. २२१९, १५३३ र १०७७ का जग्गाहरू मैले लिलाम सकार गरी लिएको बन्डा नलाग्ने जग्गा हो । साथै कि.नं. ५९९ को जग्गा मेरा पतिको सञ्चयकोष तथा अन्य सुविधाबाट खरिद गरेको हुँदा सो जग्गासमेत बन्डा लाग्ने सम्पत्ति होइन । मेरा नाउँमा कुनै पैतृक सम्पत्ति नामसारी भएर आएकोसमेत नदेखिएको अवस्थामा सोतर्फ केही नबुझी सुरू अदालतबाट भएको फैसला सदर गर्ने गरी पुनरावेदन अदालतबाट भएको फैसला त्रूटिपूर्ण भएकाले सो फैसला बदर गरी मेरो प्रतिउत्तर जिकिरबमोजिम न्याय पाउँ भन्ने मिरा के.सी.को यस अदालतमा परेको मुद्दा दोहोर्याई हेरिपाउँ भन्ने निवेदनपत्र ।
अंशियारहरूबीच मिति २०५७/१२/२७ मा अंश मुद्दा परेकोमा सो मुद्दा दायर भएको मितिलाई मानो छुट्टिएको मिति कायम नगरेको साथै २०५३ सालमा बकसपत्रबाट प्रतिवादीले प्राप्त गरेको जग्गासमेतमा बन्डा लाग्ने भनी पुनरावेदन अदालत, पाटनबाट भएको फैसलामा मुलुकी ऐन, अंशबन्डाको १८ र ३० नं. तथा प्रमाण ऐन, २०३१ को दफा ३, ५४ एवं मुलुकी ऐन, अ.बं. को १८४क नं. समेतको व्याख्यात्मक त्रूटि विद्यमान रहेको देखिँदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) बमोजिम मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान गरिदिएको छ भन्ने यस अदालतबाट मिति २०७२/८/३ मा भएको आदेश ।
विपक्षी पुनरावेदिकाले हामीहरूलाई अंशजस्तो नैसर्गिक अधिकारबाट वञ्चित गर्न मुद्दा दायर गरेकी हुन् । यस अदालतबाट मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान हुँदा लिएका आधार पुष्टि गर्ने प्रमाण विपक्षीसँग छैन । प्रस्तुत मुद्दामा दोहोर्याई पाउने निवेदन पर्नुअगावै सुरू तथा पुनरावेदन अदालतको फैसलाबमोजिम फैसला कार्यान्वयनसमेत भइसकेको हुँदा सुरू तथा पुनरावेदन अदालतबाट भएको फैसला सदर गरिपाउँ भन्ने वादीहरूको तर्फबाट पेस हुन आएको लिखित प्रतिवाद ।
यसमा यिनै पुनरावेदक मिरा के.सी.वादी भई चलेको ०५८ सालको दे.नं.४४४९ को अंशबन्डाको मिसिल काठमाडौं जिल्ला अदालतबाट झिकाई लगाउका मुद्दाहरू साथै राखी पेस गर्नु भन्ने यस अदालतबाट मिति २०७३/३/८ मा भएको आदेश ।
नियमबमोजिम दैनिक पेसी सूचीमा चढी पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक / प्रतिवादीका तर्फबाट उपस्थित विद्वान् अधिवक्ता श्री ईश्वरीप्रसाद भट्टराई तथा श्री विष्णुमाया भुसालले पुनरावेदकसँग भएको कि.नं.२४५ को जग्गा मात्र पैतृक हो । सोबाहेकका अन्य जग्गा २०५७ सालमा अंश मुद्दा दायर भई मानो छुट्टिएपछि बकसपत्र र राजीनामाबाट प्राप्त भएका हुन् । राजीनामाबाट प्राप्त जग्गासमेत लिलाम भएको जग्गा माइती दाजु राजु के.सी.ले सकार गरी बहिनीलाई दिएको हुँदा सोसमेत बन्डा हुनुपर्ने होइन । साथै वादीहरूले फिरादपत्रमा हेटौंडाको जग्गा नदेखाई काठमाडौंको जग्गा मात्र देखाएकोमा बकसपत्रबाट पाएको र निजी आर्जनको जग्गासमेत बन्डा लाग्ने गरी सुरू तथा पुनरावेदन अदालतबाट भएको फैसला त्रूटिपूर्ण हुँदा बकसपत्रबाट पाएको तथा निजी आर्जनको जग्गा बन्डा नलाग्ने ठहर हुनुपर्छ भन्नेसमेत बहस गर्नुभयो ।
प्रत्यर्थी / वादीहरूका तर्फबाट विद्वान् अधिवक्ता श्री गोपी शर्मा सुवेदीले पुनरावेदकले अंश मुद्दा दायर गरेको भएपनि सोपश्चात् प्रतिवादीहरू एकासगोलमा बसेका छन् । पुनरावेदकले दाबी गरेको जग्गाहरू निजी आर्जनबाट खरिद गरेको नभई एकासगोलमा बसी संयुक्त प्रयासबाट खरिद गरेको सम्पत्ति भएकाले सुरू तथा पुनरावेदन अदालतले उक्त सम्पत्ति बन्डा लगाउने गरी फैसला गरेको हुँदा सो फैसला सदर हुनुपर्छ भन्नेसमेत बहस गर्नुभयो ।
उपर्युक्तानुसारको बहस सुनी प्रस्तुत मुद्दाको मिसिल अध्ययन गरी हेर्दा पुनरावेदक / प्रतिवादीका नाउँमा रहेको जग्गासमेत बन्डा लाग्ने गरी सुरू काठमाडौं जिल्ला अदालतबाट भएको फैसला सदर हुने ठहर्याई पुनरावेदन अदालत, पाटनबाट भएको फैसला मिलेको छ छैन र पुनरावेदक / प्रतिवादी मिरा के.सी.को पुनरावेदन जिकिर पुग्न सक्छ सक्दैन भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने देखिन आयो ।
यसमा विपक्षीहरूले खान लाउन नदिई घरबाट निकाला गरेको हुँदा र पैतृक सम्पत्ति विपक्षी पति / पिता उद्धवबहादुर के.सी र विपक्षी जेठानी ठूली आमा मिरा के.सी.को नाममा रहेकोले सम्पूर्ण सम्पत्तिलाई २ भाग लगाई २ भागमध्ये विपक्षी पति / पिताको भागलाई पुनः४ भाग गरी सोमध्ये ३ भाग अंश दिलाई पाउँ भन्ने वादीको दाबी भएकोमा पैतृक सम्पत्ति २ भागको १ भाग मैले प्राप्त गरेपछि वादीहरूलाई अंश दिने हो भन्ने प्रतिवादीमध्येका उद्धव के.सी.को प्रतिउत्तर जिकिर तथा मसँग अंशबापत पाउने चल अचल पैतृक सम्पत्ति मेरो जिम्मामा नभएकाले विपक्षीले मबाट अंश पाउने होइन भन्ने मिरा के.सी. को प्रतिउत्तर जिकिर रहेको देखिन्छ । तायदाती फाँटवारीमा उल्लिखित कि.नं.२४५ को घर जग्गा तथा वादीले निवेदनसाथ देखाएको कि.नं. ५९९, ३६०९, १०७७, २२१९ र १५३३ को जग्गाबाट २ भागको १ भाग वादीका पति / पिताको १ भाग छुट्याई सो १ भागको ४ भाग गरी त्यसबाट ३ भाग सम्पत्ति वादीले प्रतिवादीबाट छुट्याई लिन पाउने ठहर्याई सुरू अदालतले गरेको फैसला सदर हुने ठहर्याई पुनरावेदन अदालतबाट भएको फैसलामा चित्त नबुझाई प्रतिवादीमध्येकी मिरा के.सी.को तर्फबाट यस अदालतमा मुद्दा दोहोर्याई हेरी पाउँ भन्ने निवेदन परी मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान भई पुनरावेदनको रोहमा निर्णयार्थ यस इजलाससमक्ष पेस हुन आएको देखियो ।
२. उपर्युक्तानुसारको तथ्यगत अवस्था रहेको प्रस्तुत मुद्दामा निर्णयतर्फ विचार गर्दा वादीले देखाएको पुस्तेवारी तथा अंशियारहरूमा प्रतिवादीले अन्यथा भनेको नदेखिँदा वादी प्रतिवादीहरू एकासगोलका अंशियार रहे भएकोमा विवाद देखिएन । पुनरावेदकले वादीहरूका पति / पिताउपर २०५७ साल चैत्र २७ मा यी पुनरावेदिकाले अंश मुद्दा दायर गरेको हुँदा सोही मिति नै मानो छुट्टिएको मिति कायम हुनुपर्छ भन्ने पुनरावेदन जिकिर रहेको र प्रस्तुत मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान हुँदा सो प्रश्नलाई समेत आधार लिएको देखिएकोले सर्वप्रथम वादी प्रतिवादीहरूका बीचमा मानो छुट्टिएको मिति कहिले कायम हुने भन्ने सम्बन्धमा निर्णयमा पुग्नु मनासिब दखिएको छ ।
३. यस सम्बन्धमा प्रमाणमा आएको यिनै पुनरावेदिका वादी भई चलेको संवत् २०५७/०५८ सालको दे.दा.नं. १३२२/४४४९ को अंश चलन मुद्दाको मिसिल हेर्दा सो मुद्दामा मानो छुट्टिएको मिति कायम गरी अंशको तायदाती फाँटवारी माग भएको देखिँदैन । सो मुद्दामा “वादीले यस अदालतबाट तोकिएको तारेख गुजारेको र थाम्ने थमाउने म्यादसमेत बाँकी नरहेको र अंशबन्डाको ३२ नं.को कानूनी व्यवस्थाबमोजिम मुद्दा डिसमिस गर्न नमिल्ने भएकाले बाँकी कारबाहीका लागि मुद्दा जगाई माग्न आएमा उसै बखत बाँकी कारबाही किनारा गर्ने गरी हाल प्रस्तुत मुद्दा अंशबन्डाको २२ नं. बमोजिम फैसला गरिदिएको छ” भनी मिति २०५९/५/१९ मा फैसला भएको देखिन्छ । यसरी उक्त मुद्दामा वादी मिरा के.सी. आफैँले तारेख गुजारी बसेको कारणबाट मुद्दाको बाँकी कारबाही अगाडि बढ्न नसकी मुद्दा तामेलीमा रहेको देखिन्छ । वादी आफैँले तारेख गुजारी बसेका कारण मुद्दाको कारबाही अगाडि बढ्न नसकी कुनै कारबाही नभएको मुद्दाको कारणबाट मानो छुट्टिएको मिति कायम गर्न मिल्ने देखिएन ।
४. मुलुकी ऐन अंशबन्डाको ३० नं.मा “अंशबन्डा गर्दा साक्षी राखी कानूनबमोजिम बन्डा छुट्याई बन्डापत्रको कागज खडा गरी लिने दिनेको र साक्षीको समेत सहिछाप गरी रजिस्ट्रेसन गर्नु पर्नेमा सो गरी राख्नुपर्दछ । सोबमोजिम नभएको बन्डा सदर हुँदैन” भन्ने व्यवस्था भएको पाइन्छ । यसरी उक्त कानूनी व्यवस्थाअनुसार रीतपूर्वकको बन्डापत्रको लिखत खडा गरी रजिस्ट्रेसन नभएसम्म अंशबन्डा भएको मान्न सकिने अवस्था रहँदैन । बन्डापत्र नभएको अवस्थामा या त मानो छुट्टिएको रीतपूर्वकको लिखत हुनुपर्ने वा अदालतमा मुद्दा परी सो मुद्दाको रोहबाट अंशको तायदाती फाँटवारी माग भई मानो छुट्टिएको मिति कायम भएको हुनुपर्ने हुन्छ । मुलुकी ऐन, अंशबन्डाको ३२ नं. मा “... अंश मुद्दामा वादीले तारेख गुजारे पनि मुद्दा डिसमिस नगरी ठहरेबमोजिम फैसला गर्नु पर्दछ” भन्ने कानूनी व्यवस्था भएको पाइन्छ । सोही कानूनी व्यवस्थाबमोजिम वादी यी पुनरावेदिका मिरा के.सी. र प्रतिवादी भगवती दासी खत्रीसमेत भएको उक्त १३२२/४४४९ को अंश चलन मुद्दामा वादीले अदालतबाट तोकिएको तारेख गुजारेका कारण तायदाती फाँटवारी माग गर्नेलगायतका सबै काम बाँकी नै रहेको देखिन्छ ।
५. प्रस्तुत मुद्दामा पुनरावेदिकाले आफ्नो प्रतिउत्तरपत्रमा विपक्षी वादी र आफूसँगै बस्दै आएका र आपसी सल्लाहअनुसार वादी कौशलालाई वैदेशिक रोजगारीको लागि खर्चको जोहो गरी विदेश पठाएको भनी उल्लेख गरेको देखिन्छ । साथै वादी कौशिला थापा के.सी.ले यी पुनरावेदिकालाई खर्च रकमसमेत पठाइरहेको मिसिलबाट देखिन आएको छ । वस्तुतः पुनरावेदकले २०५७/१२/२७ मा जिल्ला अदालतमा अंश मुद्दा दायर गरेकोमा सो मुद्दा यिनै पुनरावेदकले तारेख गुजारेको कारण तामेलीमा रहन गई सो मुद्दाबाट मानो छुट्टिएको मितिको निर्धारण एवम् अंश प्राप्त गर्न सक्ने नसक्ने सम्बन्धमा कुनै निष्कर्षमा पुग्न सकेको देखिएको छैन । यसरी केबल अंश मुद्दाको फिराद दायर गरी तारेख गुजारी अंशसम्बन्धी प्रश्न सम्बन्धमा कुनै कारबाही नै अगाडि नबढेको अंश मुद्दाकै आधारमा सो मितिलाई मानो छुट्टिएको मान्न मिल्ने हुँदैन । मानो छुट्टिएको मिति कायम हुन या त मानो छुट्टिएको लिखत रजिस्ट्रेसन भएको हुनुपर्ने या त कुनै मुद्दा परी त्यस मुद्दामा अंशियारहरूबीच बन्डा हुनुपर्ने सम्पत्तिको तायदाती माग गर्ने आदेश हुँदा मानो छुट्टिएको मिति यकिन भएको हुनुपर्ने हुन्छ । पहिलो मुद्दामा कुनै आदेश नै नभएको र सो मुद्दा परेपछिसमेत एकासगोलमा बसेको भन्ने वादी प्रतिवादीहरूको व्यवहारबाट देखिएको अवस्थामा पहिलो मुद्दाको फिराद परेको दिनलाई मानो छुट्टिएको मिति कायम गर्न नमिल्ने हुँदा मानो छुट्टिएको मिति सम्बन्धमा यस अदालतबाट भएको मुद्दा दोहोर्याई हेर्ने आदेश र प्रतिवादीको पुनरावेदन जिकिर मनासिब देखिन आएन ।
६. पुनरावेदक / प्रतिवादीले आफ्नो नाममा दर्ता भएको निजी सीप स्रोतबाट कमाएको सम्पत्तिसमेत बन्डा गर्ने गरी सुरू तथा पुनरावेदन अदालतले गरेको फैसला मिलेको छैन भन्ने पुनरावेदन जिकिरतर्फ हेर्दा वादी प्रतिवादीहरूका बीचमा प्रस्तुत मुद्दाको फिराद परेको अघिल्लो दिन अर्थात् मिति २०६७/३/२८ मानो छुट्टिएको मिति कायम भएको देखियो । प्रस्तुत मुद्दाको फिराद दायर हुनुभन्दा अगाडिसम्म वादी प्रतिवादीहरू एकासगोलमा रहे बसेको दुवै पक्षको व्यवहारबाट पुष्टि भएको र पुनरावेदकले आफ्नो निजी आर्जनको भनी दाबी गरेका सर्लाही जिल्ला हरिवन गा.वि.स. वडा नं.९ (ग) को कि.नं. ५९९ तथा मकवानपुर जिल्ला हेटौंडा न.पा. वडा नं. ७ को कि.नं. १०७७ र ऐ. वडा नं. ८क को कि.नं. २२१९ र १५३३ का जग्गाहरू सगोलमा रहेको अवस्थामा खरिद गरेको देखिन्छ । अंशियारहरू एकासगोलमा रहे बसेको अवस्थामा खरिद गरेका जग्गाहरू आफ्नो निजी आर्जनबाट खरिद गरेको हो भन्ने कुराको पुष्टि नभएसम्म सो सम्पत्ति सगोलको मान्नु पर्ने हुन्छ । प्रमाण ऐन, २०३१ को दफा ६ को (क) मा अन्यथा प्रमाणित नभएसम्म एकाघरसँगका अंशियारहरूमध्ये जुनसुकै अंशियारका नाममा रहेको सम्पत्ति सगोलको सम्पत्ति हो भनी अदालतले अनुमान गर्नेछ भन्ने कानूनी व्यवस्थाअनुसार पनि उक्त सम्पत्ति सगोलको सम्पत्ति हो भन्ने अनुमान गर्नुपर्ने हुन्छ ।
७. पुनरावेदक / प्रतिवादीले विवादित कित्ता नं.५९९, १०७७, २२१९ र १५३३ का जग्गाहरू निजी आर्जनको भएकाले अंशबन्डाको १८ नं.बमोजिम बन्डा नलाग्ने सम्पत्ति हो भनी जिकिर लिएको देखिएपनि उक्त जग्गाहरू आफूले निजी ज्ञान, सीप तथा प्रयासबाट खरिद गरेको हो भन्ने कुरालाई पुष्टि हुने गरी सवुत प्रमाण पेस गर्न सकेको देखिँदैन । मुलुकी ऐन अंशबन्डाको १८ नं. मा भएको कानूनी व्यवस्था हेर्दा “मानो नछुट्टिई सँग बसेका अंशियार छन् भने जुनसुकै अंशियारले सगोलको सम्पत्तिबाट वा सगोलको खेती, उद्योग, व्यापार व्यवसायबाट बढे बढाएको सगोलको आर्जन र लेनदेन व्यवहारको ८ नं.बमोजिम लगाएको ऋण सबै अंशियारलाई भाग लाग्छ । सोबाहेक कुनै अंशियारले आफ्नो ज्ञान वा सीप वा प्रयासबाट निजी आर्जन गरेको वा कसैबाट निजी तवरले दान वा बकस पाएको वा कसैको अपुताली परेको वा स्त्री अंशधनको ५ नं. बमोजिम पाएकोमा त्यस्तो आर्जन वा पाएको सम्पत्ति सो आर्जन गर्ने वा पाउने अंशियारको निजी ठहरी आफूखुसी गर्न पाउँछ । बन्डा गर्न कर लाग्दैन । अंश नभएपनि मानो छुट्टिई भिन्न बसेका वा रजिस्ट्रेसन नगरी खती उपति आफ्नो आफ्नो गरी आफ्नो हिस्सासँग मात्र राखी खानु पिउनु गरेकोमा एकै ठाउँमा भएपनि मानो छुट्टिएको भिन्न भएको ठहर्छ” भन्ने व्यवस्था भएको पाइन्छ । एकासगोलका परिवारका सदस्यका नाउँमा रहेको सम्पत्ति कसैले आफ्नो निजी आर्जनको भई अंशबन्डाको १८ नं. बमोजिम बन्डा नलाग्ने हो भनी जिकिर लिएमा त्यस्तो सम्पत्ति आफ्नो निजी ज्ञान, सीप तथा प्रयासबाट आर्जन गरेको भन्ने सबुत प्रमाण पनि निजैले पेस गरी प्रमाणित गर्नु पर्दछ । यसरी प्रमाणित नभएसम्म त्यस्तो सम्पत्ति एकासगोलको मान्नुपर्ने हुन्छ । यस अवस्थामा कि.नं.५९९,१०७७,२२१९ र १५३३ का जग्गाहरू सगोलको सम्पत्ति ठहर्याई बन्डा गर्ने ठहर्याएको सुरू र पुनरावेदन अदालतको फैसलालाई अन्यथा भन्न सकिने अवस्था छैन ।
८. अब पुनरावेदक मिरा के.सी.ले निजकी बहिनी नानीमैया थापाबाट हालैको बकसपत्रबाट प्राप्त गरेको कि.नं.३६०९ को जग्गा निजी आर्जनको भई अंशबन्डाको १८ नं. बमोजिम बन्डा हुनु नपर्ने भन्ने पुनरावेदन जिकिर सम्बन्धमा विचार गर्दा सुरू र पुनरावेदन अदालतले उक्त कि.नं.३६०९ को जग्गासमेत सगोलको भएको भन्ने आधारमा बन्डा हुने ठहर गरेको देखिन्छ । मकवानपुर जिल्ला हेटौंडा न.पा. कि.नं. ३६०९ को ०-१०-० जग्गा पुनरावेदक / प्रतिवादी मिरा के.सी.ले बहिनी नानीमैया थापाबाट २०५३/११/२७ मा हालैदेखिको बकसपत्रबाट प्राप्त गरेको मिसिल संलग्न उक्त लिखतबाट देखिएको छ । उक्त लिखतको बेहोरा हेर्दा उक्त कि.नं.३६०९ को जग्गा पुनरावेदककी बहिनी नानीमैया थापाले रिझबापत हालैको बकसपत्र गरी दिएको भन्ने जनिएको
देखिन्छ । अंशबन्डाको १८ नं. बमोजिम समान पुस्तामा रहेका अंशियारहरूले आफ्नो निजी प्रयासबाट प्राप्त गरेको सम्पत्ति पैतृक मान्न सकिँदैन । त्यस्तो सम्पत्तिउपर अन्य अंशियारको हक स्थापित हुन सक्दैन । विवादमा आएको सो कि.नं.३६०९ क्षेत्रफल ०-१०-० को जग्गा पुनरावेदिकाले हालैको बकसपत्रबाट प्राप्त गरेको देखिँदा उक्त जग्गा यी पुनरावेदिका मिरा के.सी.को निजी आर्जनको देखिएकाले बन्डा लाग्ने देखिन आएन । यसरी पुनरावेदकले आफ्नो निजी प्रयासबाट आफ्नो हक स्थापित गरेको सम्पत्तिउपर समान पुस्ताका अन्य अंशियारको हक नलाग्ने भई अंशबन्डा गर्न नपरी निजी आर्जनको सम्पत्ति ठहर गर्नुपर्नेमा सो सम्पत्तिसमेत सगोलको ठहर्याई बन्डा लाग्ने ठहर्याएको सुरू फैसला सदर गरेको पुनरावेदन अदालतको फैसला सो हदसम्म मनासिब देखिएन ।
९. अतः उपर्युक्त विवेचना गरिएका आधार प्रमाणहरूबाट वादी प्रतिवादीबीच फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरी सो मितिसम्मको वादी प्रतिवादीले पेस गरेको तायदातीमा उल्लिखित सम्पत्तिमध्ये कित्ता नं.५९९, १०७७, २२१९ र १५३३ का जग्गाहरू सगोलामा रहेबसेको अवस्थामा अंशियारमध्येकी यी पुनरावेदिकाका नाममा राजीनामाको माध्यमबाट खरिद गरी प्राप्त गरेको देखिएको र निजले सो जग्गा निजी आर्जनको भन्ने पुष्टि हुने प्रमाण पेस गर्न सकेको नदेखिँदा उक्त कित्ता नं. ५९९, १०७७, २२१९ र १५३३ का जग्गाहरूबाट वादीले अंश पाउने ठहर्याई सुरू काठमाडौं जिल्ला अदालतबाट भएको फैसला सदर हुने ठहर्याएको पुनरावेदन अदालत, पाटनको मिति २०६९/९/५ को फैसला सो हदसम्म मिलेकै देखिँदा उक्त फैसलालाई अन्यथा गरिरहन नपरी सदर हुन्छ । हेटौंडा न.पा.को कि.नं. ३६०९ को ०-१०-० जग्गा पुनरावेदकले बहिनी नानीमैया थापाबाट २०५३ सालमा हालैदेखिको बकसपत्रबाट प्राप्त गरेको निजी आर्जनको भई बन्डा नलाग्ने हुँदा सो जग्गा बन्डा नलाग्ने ठहर गर्नु पर्नेमा बन्डा लाग्ने ठहर गरेको सुरू जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत, पाटनको मिति २०६९/९/५ को फैसला सो हदसम्म मिलेको नदेखिँदा केही उल्टी भई मिरा के.सी. का नाउँमा रहेको उक्त कि.नं.३६०९ को जग्गा बन्डा नलाग्ने ठहर्छ । अरूमा तपसिलबमोजिम गर्नू ।
तपसिल
माथि ठहर खण्डमा उल्लेख भएबमोजिम पुनरावेदन अदालत, पाटनको फैसला केही उल्टी भई पुनरावेदक / प्रतिवादी मिरा के.सी.का नाउँको हेटौंडा न.पा.को कि.नं. ३६०९ को ०-१०-० जग्गा बन्डा नलाग्ने ठहरी फैसला भएको हुँदा उक्त कि.नं.३६०९ को जग्गाबाहेक अन्य जग्गाहरूको हकमा सुरू काठमाडौं जिल्ला अदालतको फैसलाको तपसिल खण्ड १ मा लेखिएबमोजिम बन्डा छुट्याई दिनु भनी फैसलाको प्रतिलिपिसहित सुरू काठमाडौ जिल्ला अदालत तहसिल शाखामा लेखी पठाइदिनू ...............१
वादीले सुरूमा राख्नुपर्ने कोर्ट फी रू.३०,८९५/- दाखिला नगरी सुविधा प्राप्त गरेको देखिँदा उक्त कोर्ट फी वादीहरूबाट नियमानुसार असुल गरी लिनु भनी सुरू काठमाडौं जिल्ला अदालत तहसिल शाखामा लेखी पठाइदिनू..................२
माथि ठहर खण्डमा पुनरावेदक / प्रतिवादी मिरा के.सी.का नामको कि.नं.३६०९ को जग्गा बन्डा नलाग्ने र अन्य जग्गा बन्डा लाग्ने ठहरी फैसला भएकाले सो बन्डा लाग्ने ठहरेबमोजिमको बिगोको कोर्ट फी मात्र वादीहरूले प्रतिवादीहरूबाट भराई पाउने हुँदा वादीहरूले प्रतिवादीहरूको यसै सरहदभित्रको जेथा देखाई कोर्ट फी असुल गरिपाउँ भनी ऐनका म्यादभित्र दरखास्त दिए कुनै दस्तुर नलिई प्रतिवादीहरूबाट वादीलाई उक्त कोर्ट फी नियमानुसार गरी भराइदिनु भनी सुरू काठमाडौं जिल्ला अदालतमा लेखी पठाइदिनू .........३
प्रतिवादीमध्येका मिरा के.सी.ले पुनरावेदन अदालत, पाटनमा पुनरावेदन गर्दा मिति २०६९/३/५ मा सोको आधा रू.१५,४४७/५० धरौटी राखेको देखिँदा सो धरौटी रकम फिर्ता पाउँ भनी म्यादभित्र निज मिरा के.सी.को निवेदन पर्न आए सो रकम निजलाई फिर्ता दिनु भनी पुनरावेदन अदालत, पाटनमा लेखी पठाइ दिनू ..................४
प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाई दिनू..........५
उक्त रायमा सहमत छु ।
न्या. विश्वम्भरप्रसाद श्रेष्ठ
इजलास अधिकृतः दुर्गाप्रसाद खनाल
इति संवत् २०७३ साल भदौ २९ गते रोज ४ शुभम् ।