निर्णय नं. १०१५५ - नामसारी हक कायम
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री हरिकृष्ण कार्की
माननीय न्यायाधीश डा.श्री आनन्दमोहन भट्टराई
फैसला मिति : २०७५।४।१७
०७३-CI-१३८९
मुद्दाः नामसारी हक कायम
पुनरावेदक / वादी : जिल्ला चितवन गा.वि.स. खैरहनी वडा नं. ४ मगनी घर भई हाल खैरहनी नगरपालिका वडा नं. ८ बस्ने महारूद्र उप्रेतीको छोरा खडानन्द उप्रेती
विरूद्ध
प्रत्यर्थी / प्रतिवादी : जिल्ला काभ्रेपलाञ्चोक गा.वि.स. भुम्लुटार वडा नं. २ बस्ने महारूद्र उप्रेतीको छोरा गृवराज उप्रेती
भिन्न भएका तर हेरचाहमा संलग्न नभएका प्रतिवादीले अपुताली सम्पत्तिमा बराबर हक कायम हुनुपर्छ भन्ने तर्क अपुतालीको भन्दा अंशबन्डाको कानूनसँग सामिप्यता
राख्दछ । अपुतालीको हक सबै जीवित अंशियारमा सर्न सक्ने पनि होइन । अपुतालीको सम्बन्धमा एक पटक हक छाडी कागज गरिदिने र स्याहार सम्भार नगर्नेलगायतका आफ्नो कर्तव्य निर्वाह नगर्ने तर मरेपछि मर्ने व्यक्तिसँग केबल नाता र हकदार हुनुको आधार देखाएर अपुतालीको सम्पत्ति दाबी गर्ने र त्यस्तो सम्पत्तिमा हक प्राप्त गर्न खोज्नुलाई स्वाभाविक मान्न मिल्दैन । त्यस्तो कार्यलाई कारोबारको पवित्रता र निश्चितता, विबन्धन, सदाचार, असल नियत र नैतिकताको बन्धनले छेक्ने ।
(प्रकरण नं.४)
पुनरावेदक / वादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री शम्भु थापा र विद्वान् अधिवक्ता श्री अन्जु शर्मा (बर्मा)
प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री हरिहर दाहाल र विद्वान् अधिवक्ता श्री युवराज भण्डारी
अवलम्बित नजिर :
सम्बद्ध कानून :
प्रमाण ऐन, २०३१
सुरू तहमा फैसला गर्ने:-
माननीय न्यायाधीश श्री लेखनाथ ढकाल
चितवन जिल्ला अदालत
पुनरावेदन तहमा फैसला गर्नेः
माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी
माननीय न्यायाधीश श्री सरिता शर्मा
पुनरावेदन अदालत, हेटौंडा
फैसला
न्या. हरिकृष्ण कार्की : न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) बमोजिम मुद्दा दोहोर्याई पाउनको लागि निस्सा प्राप्त भई पुनरावेदनको रूपमा पेस हुन आएको प्रस्तुत मुद्दाको तथ्य र ठहर यसप्रकार रहेको छः-
तथ्य खण्ड
महारूद्र तथा गंगालक्ष्मीको गर्भबाट जेठो विपक्षी प्रतिवादी गृवराज र कान्छो म फिरादी खडानन्द र छोरी योगमायाको जन्म भएकोमा छोरीको विवाह भई हामीबीचमा २०४४ सालमा अंशबन्डा भइसकेको छ । पिता र मातासमेतको देहान्त भएको र विपक्षी गृवराज काभ्रेपलाञ्चोक भुम्लुटार बसेका तथा म २०३२ सालदेखि आमासँगै चितवन खैरहनीमा बसी आएको छु । चितवन खैरहनी वडा नं. १/क कि.नं. ११२० को ०-४-० जग्गा आमाको अंश भागमा परेको थियो । २०४७ सालमा विपक्षी दाजु र निजका छोरा प्रकाशराज उप्रेती चितवन आई कुराकानी गरी हालसम्म आमाको पालन पोषण तिमीले गरेका छौं । आमाको शेषपछि सो जग्गा तिमीले नै खानु भनी निजका छोरालाई साक्षी राखी कागजसमेत गरेका थिए । आमाको २०६४ साल असोजमा मृत्यु भयो । आमाको काजक्रियालगायतका सबै कार्य मैले गरेकाले उल्लिखित सम्पत्ति मेरा नाउँमा नामसारी गरिपाउँ भनी मालपोत कार्यालयमा निवेदन दिएकोमा हक बेहकको प्रश्न उठेकाले अदालतबाट हक कायम गरी ल्याउनु भनी मिति २०६९|४|११ मा निर्णय भएकाले सो निर्णय सुनी पाएको मितिले म्यादभित्रै यो फिराद लिई उपस्थित भएको छु । तसर्थ आमा गंगालक्ष्मीलाई २०३२ सालदेखि सँगै राखी पालन पोषण गरी उपचार, तिर्थव्रत र दानपुण्यसमेतका कार्य म फिरादीले गरेकाले र आमाको मृत्युपश्चात् पनि काजक्रियासमेतको सम्पूर्ण खर्च म आफैँले बेहोरेको हुँदा आमाको नाउँको कि.नं. ११२० को ०-४-० जग्गा म फिरादीका नाउँमा एकलौटी दा.खा. नामसारी हक कायम गरिपाउँ भन्नेसमेत बेहोराको फिराद पत्र ।
वादीको दाबी झुठ्ठा हो । आमालाई पालन पोषण, बिरामी हुँदा औषधी उपचार र मृत्युपश्चात् काजक्रियामा लागेको सम्पूर्ण खर्च हामी दुवै दाजुभाइले गरेको हो । आमा गंगालक्ष्मी, छोरी योगमाया मैनालीको रेखदेख र संरक्षण बस्दै आउँदा मिति २०६४|६|४ मा चितवनको देवघाटमा देहावसान भएको र आमा वैष्णव धर्मावलम्बी भएको हुँदा छोरी योगमाया र हामी वादी प्रतिवादी दुवै दाजुभाइले काजक्रिया गरेको हुँदा आमाको नाउँको कि.नं. ११२० को ०-४-० जग्गामा वादीको एकलौटी हक नलाग्ने भई म प्रतिवादीको पनि बराबर हक लाग्ने हुँदा सोहीअनुसार गरी विपक्षीको झुठ्ठा दाबीबाट फुर्सद दिलाई पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी गृवराज उप्रेतीको प्रतिउत्तरपत्र ।
अदालतको आदेशले नामसारीको मिसिल मालपोत कार्यालय चितवनबाट प्राप्त भई मिसिल सामेल भएको ।
अदालतको आदेशले वादीका साक्षी भरतप्रसाद उप्रेतीले आमा गंगालक्ष्मीको पालन पोषण र काजक्रियासमेतका कार्य वादीले गरेकोले आमाको नाउँको जग्गा वादीको नाउँमा दर्ता हुनुपर्ने हो भन्ने र प्रतिवादीका साक्षी शेखरराज उप्रेतीले आमाको सम्पत्ति दुवै छोराले पाउने हुन् भनी गरेको बकपत्र मिसिल सामेल रहेको ।
वादीले आफ्नो दाबीबमोजिम आमाको नाउँको सम्पत्ति एकलौटी खान पाउने कुनै तथ्ययुक्त र विश्वसनीय आधार प्रस्तुत गर्न सकेको पाइँदैन । मुलुकी ऐन, अपुतालीको महलको ३ नं. र १० नं. ले गरेको व्यवस्थाबमोजिम भिन्न भएकी आमाको मृत्युपछि निजको अंश अपुताली हक वादीले मात्र एकलौटी रूपमा खान पाउने नदेखिँदा गंगालक्ष्मीको मृत्युपछि निजको अंशहकको जग्गाको २ भागको १ भाग नरमकरम मिलाई वादीको नाउँमा दा.खा. नामसारी हक कायम हुने ठहर्छ । विवादित कि.नं. ११२० को क्षे. ०-४-० पूरै जग्गा एकलौटी दा.खा. नामसारी हक कायम गरिपाउँ भन्ने वादी दाबी भने पुग्न सक्दैन भन्ने सुरू चितवन जिल्ला अदालतको मिति २०७०।१।३० को फैसला ।
आमा गंगालक्ष्मीको अंश भागमा परेको दाबीको कि.नं. ११२० को ज.वि. ०-४-० कठ्ठा र कि.नं. २०१ को ज.वि. ०-४-० जग्गा २०४७ सालमा विपक्षी र निजको छोरा प्रकाश चितवनमा आई म फिरादी र स्वर्गीय आमासँग कुराकानी सरसल्लाह गरी आमाको जीवन रहेसम्म उक्त सम्पत्ति आमाले र आमाको शेषपछि तिमीले खानु भनी मिति २०४७।१२।४ मा घरसारको कागज गरी दिएकोमा हाल आएर आमाको शेषपछि बाँकी रहेको उक्त कि.नं. ११२० को जग्गामा विपक्षीले दाबी गर्न विबन्धनको सिद्धान्तसमेतले नमिल्ने हुँदा उक्त जग्गा मेरो एकलौटी नहुने आधा आधा हुने भनी भएको फैसलामा मुलुकी ऐन, अ.बं. १८४क नं. १८५ नं. तथा प्रमाण ऐन, २०३१ को दफा ३ र ३४ समेतको गम्भीर त्रूटि भएको हुँदा सुरू फैसला उल्टी गरी वादी दाबीबमोजिम न्याय पाउँ भन्नेसमेत बेहोराको वादी खडानन्द उप्रेतीको पुनरावेदन पत्र ।
प्रतिउत्तरसाथ पेस गरेको मिति २०४७।१२।४ को कागज अ.बं. ७८ नं. बमोजिम नसुनाई गरिएको सुरूको फैसला कार्यविधि र प्रमाण मूल्याङ्कनको रोहमा विचारणीय भई फरक पर्न सक्ने देखिँदा अ.बं. २०२ नं. तथा पुनरावेदन अदालत, नियमावली, २०४८ को नियम ४७ बमोजिम छलफलका लागि प्रत्यर्थी झिकाई नियमानुसार गरी पेस गर्नु भन्ने पुनरावेदन अदालत, हेटौंडाको मिति २०७०।८।२८ गतेको आदेश ।
मिति २०४७।१२।४ को घरसारको लिखत देखाउँदा देखेँ । उक्त लिखतमा भएको सहीछाप र बेहोरा गृवराज उप्रेतीको हो । तर उक्त लिखत पारित नभएको हुँदा हक जाने होइन भन्नेसमेत बेहोराको प्रत्यर्थी प्रतिवादीका वारेस प्रकाशराज उप्रेतीले अ.बं. ७८ नं. बमोजिम गरेको बयान ।
यी वादी प्रतिवादी र निजको आमा भिन्नभिन्न बसेको भन्ने देखिएको, वादी प्रतिवादीबीचमा भएको कागज घरायसी कागज भई रजिस्ट्रेसन भएको नदेखिएको र उक्त लिखतमा अंश लिई अलग बसेकी आमाको कुनै मन्जुरी लिएको वा साक्षी राखेको नदेखिएको, वादी प्रतिवादीको आमा अलग बसिरहेको अवस्थामा निजले आफ्नो अंशभागको जग्गा यो यसले खाने भनी कुनै लिखत गरिदिएको भन्ने नदेखिएको अवस्थामा अंश लिई अलग बसेकी आमाको नाउँको अपुताली सम्पत्ति भिन्न रहेका दुवै छोराहरूको बराबरी हक रहने नै हुँदा गंगालक्ष्मीको मृत्युपछि निजको अंशहकको जग्गाको २ भागको १ भाग वादीको नाउँमा दा.खा. नामसारी हक कायम हुने ठहर्याई भएको सुरू जिल्ला अदालतको मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्ने पुनरावेदन अदालत, हेटौंडाको फैसला ।
पिता महारूद्र र माता गंगालक्ष्मी उप्रेतीका तीन सन्तानमध्ये जेठा विपक्षी गृवराज उप्रेती, कान्छो म निवेदक खडानन्द उप्रेती र छोरी योगमाया हौं । बहिनी योगमायाको विवाह भइसकेको छ भने पिता महारूद्रको २०२३ सालमा मृत्यु भएको छ । २०४४/१०/७ मा हामी दुई दाजुभाइ र आमाबीचमा अंशबन्डा भएको हो । हामी आमा छोरा २०३२ सालदेखि नै चितवनमा बस्दै आएका थियौं भने विपक्षी दाजु काभ्रेमा बस्नु भएको
हो । अंशबन्डा हुँदा दाजुको नाउँमा काभ्रेको सबै सम्पत्ति र चितवनमा समेत १० कठ्ठा जमिन भएकोमा २०४७ सालमा उक्त जमिन बेच्नु भएको हो । २०४७ सालमा दाजु गृवराज र उहाँको छोरा प्रकाशराज चितवन आई आमाको स्याहार सम्भार र हेरचाह तिमीले गरेकाले आमाको नाउँको कि.नं. ११२० र २०१ को जग्गा आमाको शेषपछि तिमी नै खानु भनी दाजुले आफ्नो छोरालाई साक्षी राखी घरयासी कागजसमेत गरिदिनु भएको अवस्था छ । विपक्षी दाजुका वारेसले पुनरावेदन अदालत, हेटौंडामा गरिदिएको सनाखत कागजको सवाल जवाफ ३ बाट समेत सो कुरा पुष्टि हुन्छ । एक पटक हक छाडी कागज गरिदिएको अवस्था पुन: दाबी गर्नु विबन्धनको सिद्धान्तले समेत दिँदैन । आमाको हेरचाह र पालन पोषण मैले गरेको भन्ने कुरा मिति २०६८/९/२७ को खैरहनी नमुना गा.वि.स. को सर्जमिन, २०६३ सालसम्मको मतदाता नामावली र विपक्षी गृवराजले गरेको मृत्यु दर्ताको कागजमा आमाको निधन चितवनमा भएको भन्ने बेहोरासमेतबाट पुष्टि हुन्छ । लिखतमा एकलौटी हक कायम भएको अवस्था नरहेकोले उक्त लिखत रजिस्ट्रेसन गर्नु पर्ने अवस्था आउँदैन । मुलुकी ऐन, अपुतालीको महलको ११ नं., १५ नं. समेतबाट सो कुरा पुष्टि हुन आउँछ । विपक्षी गृवराजले गरिदिएको लिखत शेषपछिको लिखत नभएको र दाजुले आफ्नो हक छाडी कागज गरिदिएको अवस्थामा म एक मात्र हकदार रहेको अवस्था छ । यस्तो अवस्थामा अपुतालीको २० नं. बमोजिमको हदम्यादभित्र हक कायम गराउनु आवश्यक हुँदैन । विपक्षीले पालनपोषण र हेरचाह चितवनमा बहिनी र म निवेदकले गरेको भनी फिराद दाबी र प्रतिउत्तर पत्रमा उल्लेख गरेबाट निजले हेरचाह गरेको हैन भन्ने कुरा पुष्टि हुन आएको छ । तसर्थ चितवन जिल्ला अदालतको फैसला सदर गर्ने गरी पुनरावेदन अदालत, हेटौंडाबाट भएको फैसला त्रूटिपूर्ण हुँदा उल्टी गर्ने प्रयोजनार्थ मुद्दा दोहोर्याउने अनुमति पाउँ भन्ने निवेदकको निवेदन जिकिर ।
यसमा विवादित जग्गा गंगालक्ष्मीको नामको भन्नेमा विवाद नभएको, प्रतिवादीले मिति २०४७/१२/४ मा आफ्नै छोरालाई साक्षी राखी आफ्नो आमाको शेषपछि निजको नामको सम्पूर्ण जग्गा एकलौटी दर्ता गरी खानु भनी स्वेच्छाले परित्याग गरिसकेकोमा उक्त कागजलाई प्रमाणमा नलिई दुईभागको एक भाग मात्र वादीको हक कायम हुने ठहर्याएको पुनरावेदन अदालत, हेटौंडाको मिति २०७१/२/४ को फैसलामा मुलुकी ऐन, अपुतालीको २, ३, १० र १५ नं. को व्याख्यात्मक त्रूटि हुनाको साथै यस अदालतबाट ने.का.प. २०४७ अंक ७, नि.नं. ४१८० मा प्रतिपादित सिद्धान्तविपरीत हुने देखिँदा न्याय प्रशासन ऐन, २०४८ र न्याय प्रशासन ऐन, २०७३ को दफा १२ को उपदफा (१) को खण्ड (क) (ख) को आधारमा प्रस्तुत मुद्दा दोहोर्याई हेर्ने निस्सा / अनुमति प्रदान गरिदिएको छ । नियमानुसार पेस गर्नु भन्ने बेहोराको यस अदालतबाट मिति २०७३/११/११ को आदेश ।
मिति २०४७/१२/४ को लिखत रजिस्ट्रेसन पारित भएको होइन । सो लिखतमा आमा गंगालक्ष्मीको संलग्नता रहेको छैन । यस्तो अवस्थामा विपक्षीको आमाको सम्पूर्ण जग्गामा हक कायम गरिपाउँ भन्ने हकदैया प्राप्त हुँदैन । विपक्षीले आमालाई पालन पोषण गरेको भन्ने तथ्यलाई प्रमाणसहित पेस गर्न सकेको छैन । आमाले विपक्षीलाई आफ्नो हकको सम्पत्ति एकलौटी खानु भनी कुनै लिखत गरेको अवस्थासमेत छैन । अपुतालीको २ नं. बमोजिम हामी दुई भाइ अपुतालीको बराबर हकदार भएको अवस्था छ । आमालाई बहिनी योगमायाले पालन पोषण गरेकोले आमाले २०५२/४/४ मा कि.नं. २०१ को जग्गा शेषपछिको बकस पत्र गरिदिनु भएकोमा सो बदर गरी २०६४/४/२० मा सोही जग्गा हालैको बकसपत्र गरिदिनु भएको हो । बाँकी रहेको कि.नं. ११२० को जग्गा कसैको नाउँमा लिखत नगरिदिएको अवस्थामा उक्त जग्गामा दुवै दाजुभाइको बराबर हक लाग्ने हो । मैले २०४७/१२/४ मा गरिदिएको लिखतमा आमाको पालन पोषण र हेरविचार गरी आएको बेहोरासमेत उल्लेख नभएको र आमाले पालन पोषण गरेको भन्ने कुरा पनि अभिव्यक्त नगरेकोले विपक्षीको मात्र एकलौटी हक कायम हुने अवस्था होइन । तसर्थ पुनरावेदन अदालत, हेटौंडाबाट भएको फैसला मिलेकै देखिँदा सदर होस् भन्ने विपक्षी गृवराज उप्रेतीको लिखित प्रतिवादको बेहोरा ।
ठहर खण्ड
नियमबमोजिम दैनिक पेसी सूचीमा चढी पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादीको तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ता श्री शम्भु थापा र विद्वान् अधिवक्ता श्री अन्जु शर्मा (बर्मा) ले वादी प्रतिवादीका बीचमा मिति २०४४/१०/७ मा अंशबन्डा भई प्रतिवादी काभ्रे जिल्लामा र वादी खडानन्द र आमा गंगालक्ष्मी चितवनमा बसेको अवस्था हो । प्रतिवादी गृवराजले छोरा प्रकाशराजलाई साक्षी राखी मिति २०४७/१२/४ मा आमाको नाउँको कि.नं. ११२० समेतका जग्गामा कुनै दाबी नगर्ने भनी कागज गरिसकेको र सो कागज सद्दे हो भनी अदालतमा वारेस रहेका निजका छोरा प्रकाशराजले सनाखतसमेत गरेको अवस्थामा पुन: विबन्धनको सिद्धान्तविपरीत आधा सम्पत्तिमा दाबी गर्न मिल्ने हुँदैन । मतदाता नामावलीमा आमा गंगालक्ष्मीको नाउँ चितवनमा रहेको, खैरहनी नमुना गा.वि.स.को कार्यालयले गरेको सर्जमिन र सिफारिसमा आमाको पालनपोषण खडानन्दले गरेको भन्ने देखिएको अवस्था छ । मुलुकी ऐन, अपुतालीको महलको ११ नं. ले पालनपोषण गर्नेले अपुताली पाउने व्यवस्था गरेको अवस्था छ । अपुतालीको २० नं. प्रस्तुत विवादको सन्दर्भमा आकर्षित
हुँदैन । तसर्थ सुरू जिल्ला तथा पुनरावेदन अदालतबाट आमाको अपुताली सम्पत्तिमा दुवै पक्षको बराबर हक लाग्ने भनी भएको फैसला उल्टी गरी पुनरावेदक वादीको एकलौटी हक कायम गरी दा.खा. नामसारी हुने गरी फैसला गरिपाउँ भनी गर्नुभएको बहससमेत सुनियो । प्रत्यर्थी प्रतिवादी गृवराज उप्रेतीको तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ता श्री हरिहर दाहाल र विद्वान् अधिवक्ता श्री युवराज भण्डारीले २०४४ सालमा भएको बन्डापत्रमा आमाको अपुताली कसले खाने भन्ने सन्दर्भमा कुनै बेहोरा उल्लेख भएको
छैन । मिति २०४७/१२/४ मा भएको कागज रजिस्ट्रेसन पनि नभएको र आमाको सहमतिसमेत नभएकोले प्रमाणमा लिन मिल्ने होइन । आमाले २०५२ सालमा आफ्नो नाउँको २ कित्ता जग्गामध्ये कि.नं. २०१ को जग्गा बहिनी योगमायाको नाममा शेषपछिको बकसपत्र गरिदिएकिमा पछि सो बकसपत्र बदर गरी हालैको बकसपत्र गरिदिएबाट छोरीले पालन पोषण गरेको भन्ने देखिन आउँछ । आमाको काजक्रिया दुवै भाइले गरेको र गा.वि.स.को सिफारिससमेत दुवै भाइको नाउँमा भएको अवस्था रहेकोले सुरू जिल्ला अदालत तथा पुनरावेदन अदालतबाट भएको फैसला मिलेकै देखिँदा सदर होस् भनी गर्नुभएको बहससमेत सुनियो ।
आमा गंगालक्ष्मी र म खडानन्द २०३२ सालदेखि चितवनमा बसेका र दाजु विपक्षी गृवराज काभ्रेमा बसी आएकामा मिति २०४४/१०/७ मा हामीहरूबीचमा अंशबन्डा भई दाजुको नाउँमा चितवन र काभ्रे तथा आमा तथा मेरो नाउँमा चितवनमा अंशबन्डाको जग्गा रहेको थियो । दाजुको नाउँको जग्गा निजले २०४७ सालमा नै बेचबिखन गरेका र काभ्रेमा बसेका हुन् । मिति २०४७/१२/४ मा विपक्षी दाजु र निजको छोरा प्रकाशराजले आमाको नाउँमा चितवनमा रहेको जग्गामा आमाको शेषपछि कुनै दाबी नगर्ने भनी कागज गरिदिएका र आमालाई मैले पालन पोषण र हेरचाह गरी काजक्रिया गर्दा लागेको खर्चसमेत भुक्तान गरेको अवस्थामा आमाको अपुताली जग्गामा मेरो एकलौटी हक कायम हुने हुँदा मेरो नाममा नामसारी हक कायम गरिपाउँ भन्ने फिराद दाबी रहेको देखियो । आमालाई प्रतिवादीले नभई बहिनी योगमायाले पालन पोषण गरेकी हुन् । आमाको नाउँमा रहेको जग्गा आमाको मृत्युपश्चात् हकदारका रूपमा रहेका हामी दुवै दाजु भाइले आधा आधा खान पाउने हो । मिति २०४७/१२/४ मा गरिदिएको कागज रजिस्ट्रेसन नभएको र आमाको सहमतिमा नभएको अवस्थामा प्रमाणमा लिन मिल्ने होइन । तसर्थ आमाको अपुतालीको जग्गामा दुवै दाजुभाइको बराबर हक कायम गरिपाउँ भन्ने प्रतिवादीको प्रतिउत्तर रहेको प्रस्तुत मुद्दामा सुरू चितवन जिल्ला अदालतबाट उक्त अपुतालीको जग्गामा दुवै वादी प्रतिवादीको बराबर हक कायम हुने ठहरी भएको फैसलालाई सदर गर्ने गरी पुनरावेदन अदालत, हेटौंडाबाट भएको फैसलाउपर चित्त नबुझाई वादीले आमाको अपुताली जग्गामा एकलौटी हक कायम हुनुपर्छ भनी प्रस्तुत निवेदन गरी निस्सा प्राप्त भई पुनरावेदनको रूपमा दर्ता हुन आएको देखियो ।
अब, सुरू जिल्ला अदालतको फैसला सदर गर्ने गरी भएको पुनरावेदन अदालत, हेटौंडाको फैसला मिलेको छ वा छैन ? र पुनरावेदक वादीको पुनरावेदन जिकिर पुग्न सक्ने हो वा होइन ? सोही विषयमा निर्णय दिनुपर्ने देखिन आयो ।
२. निर्णयतर्फ विचार गर्दा, पुनरावेदक वादी खडानन्द उप्रेती, प्रत्यर्थी प्रतिवादी गृवराज उप्रेती र आमा गंगालक्ष्मीबीचमा मिति २०४४/१०/७ मा अंशबन्डा भएको र अंशबन्डापश्चात् वादी खडानन्द र आमा गंगालक्ष्मी चितवनमा र प्रतिवादी गृवराज काभ्रेमा बसेको भन्ने सम्बन्धमा विवाद देखिएन । २०४७ सालमा चितवनमा रहेको आफ्नो अंशभागको जग्गासमेत प्रतिवादी गृवराजले बेचबिखन गरेको भन्ने फिराद दाबीसमेतबाट देखिन्छ । मिति २०४७/१२/४ मा प्रतिवादी गृवराजले आफ्नो छोरा प्रकाशराज उप्रेतीलाई साक्षी राखी चितवनमा आफ्नो आमाको नाउँमा रहेको २ कित्ता जग्गा पुनरावेदक वादी खडानन्द उप्रेतीलाई दिने गरी आफ्नो हक छाडी दिएको
देखिन्छ । उक्त लिखतमा चितवन जिल्ला खैरहनी गा.वि.स. वडा नं. १क. को कि.नं. ११२० र ऐ. चैनपुर गा.वि.स. वडा नं. ७ख. को कि.नं. २०१ को जग्गा आमा गंगालक्ष्मी उप्रेतीको शेषपछि उल्लिखित जग्गामा मैले कुनै किसिमको दावा खिचोला गरी मैले पनि पाउनु पर्ने जग्गा हो भनी खिचोला गर्ने छैन । आमाको शेषपछि तिमी भाइ खडानन्द उप्रेतीले बाँकी रहेको सम्पूर्ण जग्गा आफ्नो नाउँमा एकलौटी दा.खा. दर्ता गरी खानु, पछि कुनै खिचोला गर्ने छैन गरेमा यसै कागजलाई आधार मानी कानूनबमोजिम गरिलिनु भन्ने बेहोरा उल्लेख गरी कागज गरिदिएको देखिन्छ । उक्त कागज बेहोरा र कागजमा भएको सहिछाप गृवराज उप्रेतीको नै भएको भनी वारेस रहेका निजको छोरा प्रकाशराजले पुनरावेदन अदालत, हेटौंडामा मिति २०७१/०१/०७ मा गरिदिएको सनाखत कागजबाट देखिन्छ । यसबाट उक्त मिति २०४७/१२/४ को लिखतको सम्बन्धमा विवाद रहेको देखिन आउँदैन ।
३. एकपटक स्वेच्छाले आफ्नो हक लाग्ने जग्गा लिन्न भनी हक छाडी विश्वास दिलाई कागज गरिसकेको अवस्थामा उक्त कागज बेहोराको प्रतिकूल हुने गरी सोही जग्गामा हक कायम गरिपाउँ भनी पुन: दाबी गर्नु विबन्धनको सिद्धान्तविपरीत हुन जान्छ । प्रमाण ऐन, २०३१ को दफा ३४(१) मा “कुनै व्यक्तिले लेखेर, बचनले वा आचरणद्वारा कुनै व्यक्तिलाई कुनै कुरा यस्तो हो भन्ने विश्वासमा पारी वा त्यसो विश्वासमा पर्न दिई सो व्यक्तिबाट कुनै काम गराएमा वा हुन दिएमा निज र सो व्यक्तिका बीचमा चलेको कुनै मुद्दामा सो कुरा त्यस्तो होइन वा थिएन भनी निजले खण्डन गर्न पाउने छैन” र ऐ. ३४(२) मा “उपदफा (१) मा उल्लेख भएका कुराहरू सो उपदफामा उल्लेख भएका व्यक्तिहरूबाट मुद्दासम्बन्धी विषय वस्तुमा कुनै प्रकारको हक प्राप्त गर्ने व्यक्तिलाई समेत लागू हुनेछ” भन्ने व्यवस्था गरेको देखिन्छ । प्रस्तुत मुद्दामा समेत प्रतिवादी गृवराज उप्रेतीले वादी खडानन्दलाई आमाको नाउँको शेषपछि बाँकी रहेको जग्गामा कुनै दाबी नगर्ने भनी स्पष्टरूपमा कागज गरेको अवस्था छ । यसबाट वादीलाई विश्वासमा पारी एकपटक कागज गरी दिइसकेको अवस्थामा उक्त कागजमै भएको बेहोराको प्रतिकूल हुने गरी पुन: दाबी गर्नु विबन्धनको सिद्धान्तविपरीत रहेको देखिन आयो ।
४. वादी खडानन्द उप्रेती, प्रतिवादी गृवराज उप्रेती र निजहरूको आमा गंगालक्ष्मी मिति २०४४/१०/७ मा छुट्टिभिन्न भई अलग अलग बसेकोमा विवाद देखिँदैन । छुट्टिभिन्न पछि प्रतिवादी गृवराज काभ्रे जिल्लामा बसोबास गरेको र २०४७ सालमा आफ्नो भागमा परेको चितवन जिल्लाको जग्गासमेत बेचबिखन गरेको देखिन आउँछ । प्रतिवादीले आफ्नो भागको चितवनमा रहेको जग्गासमेत बेचबिखन गरेको र आफू काभ्रेमा बसेको स्थितिमा आमाको आवश्यकतामा हेरचाह गर्ने दायित्व आफूले ग्रहण गर्न नसक्ने ठानी आमाको हेरचाह वादी खडानन्दले गरोस् भन्ने मनसायले आफ्नो छोरालाई साक्षी राखी मिति २०४७/१२/४ मा कागज गरिदिएको देखिन्छ । उक्त कुरा कागजमा भएको आमा गंगालक्ष्मीको शेषपछि उल्लिखित जग्गामा कुनै किसिमको दावा खिचोला नगर्ने भन्ने बेहोराबाट स्पष्ट हुन्छ । खैरहनी नमुना गाउँ विकास समितिबाट मिति २०६८/९/२७ मा भएको सर्जमिन र खैरहनी नमुना गा.वि.स. बाट भएको सोही मितिको सिफारिससमेतबाट मृतक आमाको पालनपोषण खडानन्द उप्रेतीले गरेको भन्ने देखिएबाट वादी खडानन्द र आमा गंगालक्ष्मी चितवनमा छुट्टाछुट्टै बसी आएको भए पनि आमा गंगालक्ष्मी वादी खडानन्दकै रेखदेख हेरचाहमा रहेको देखिन आउँछ । भिन्न भएका तर आमाको हेरचाहमा संलग्न नभएका प्रतिवादीले आमाको अपुताली सम्पत्तिमा बराबर हक कायम हुनुपर्छ भन्ने तर्क अपुतालीको भन्दा अंशबन्डाको कानूनसँग सामिप्यता राख्दछ । अपुतालीको हकजस्तो सबै जीवित अंशियारमा सर्न सक्ने पनि होइन । अपुतालीको सम्बन्धमा एक पटक हक छाडी कागज गरिदिने र स्याहार सम्भार नगर्नेलगायतका आफ्नो कर्तव्य निर्वाह नगर्ने तर मरेपछि मर्ने व्यक्तिसँग केबल नाता र हकदार हुनुको आधार देखाएर अपुतालीको सम्पत्ति दाबी गर्ने र त्यस्तो सम्पत्तिमा हक प्राप्त गर्न खोज्नुलाई स्वाभाविक मान्न मिल्दैन । त्यस्तो कार्यलाई कारोबारको पवित्रता र निश्चितता, विबन्धन, सदाचार, असल नियत र नैतिकताको बन्धनले छेक्ने हुन्छ । ती छेकवारहरू निरर्थक हुने गरी अपुतालीको महललगायतका कानूनले मद्दत गरेको र प्रतिवादीले ती कानूनको आधार लिन सकेकोसमेत देखिँदैन ।
५. प्रतिवादीले २०४७/१२/४ को लिखत रजिस्ट्रेसन नभएको अवस्थामा उक्त लिखतलाई प्रमाणमा लिन मिल्दैन भनी जिकिर लिएको देखिन्छ । मिति २०४७/१२/४ को कागजबाट जग्गा हस्तान्तरण गरेको नभई आमाको शेषपछि दाबी खिचोला नगर्ने गरी वादीलाई विश्वास दिलाई आफूले हक छाडिदिएको अवस्था रहेको र आमाको मृत्युपश्चात् जग्गा बाँकी रहेमा मात्र खान पाउने भन्ने उल्लेख भएको अवस्था हुँदा सो कागजलाई रजिस्ट्रेसन नभएको अवस्थामा प्रमाणमा लिन हुँदैन भन्न मिल्दैन । आफ्नो हाल हक नपुग्ने पछि लाग्न सक्ने हकमा आफूले दाबी गर्ने छैन भनी भएको यस्तो लिखत मुलुकी ऐन, रजिस्ट्रेसनको महलको १ नं. बमोजिम पारित हुन सक्ने अवस्थाको समेत देखिँदैन ।
६. वादी प्रतिवादी समान हकवाला भए पनि प्रतिवादी गृवराज उप्रेतीको स्थायी वतन काभ्रे जिल्लाको भुम्लुटार भएको र प्रतिवादीले आमालाई स्याहार सम्भार हेरचाह गरेको भन्ने जिकिर लिएकोसमेत देखिँदैन । अर्कोतर्फ पुनरावेदक वादी खडानन्द र आमा गंगालक्ष्मीको वतन चितवन जिल्लाको खैरहनी रहेको र पुनरावेदक वादीले फिराद दाबीमा नै आमालाई आफूले हेरचाह गरेको भन्ने जिकिर लिएको
देखिन्छ । उक्त कुरालाई प्रतिवादीले मिति २०४७/१२/४ मा गरिदिएको कागजबाट समेतबाट पुष्टि भएको देखिन्छ । मतदाता नामावली हेर्दासमेत मृतक आमा गंगालक्ष्मीको नाम चितवनमा रहेको देखिन आउँछ । खैरहनी नमुना गाउँ विकास समितिबाट मिति २०६८/९/२७ मा भएको सर्जमिनबाट समेत मृतक आमाको पालनपोषण खडानन्द उप्रेतीले गरेको भन्ने देखिन्छ भने खैरहनी नमुना गा.वि.स.बाट भएको सोही मितिको सिफारिसमा समेत खडानन्दले नै मृतक आमाको पालनपोषण गरेको भन्ने बेहोरा देखिन आउँछ । प्रतिवादीले बहिनी योगमायाले पालेको भने पनि सो कुरा अन्य प्रमाणद्वारा पुष्टि हुन आउँदैन । यस्तो अवस्थामा मृतक आमा वादी खडानन्दकै हेरचाहमा रहेकी र निजले नै आमाको पालन पोषण हेरचाह गरेको हो भनी मान्नु पर्ने हुन्छ । आमाको हेरचाह वादी खडानन्दले नै गरेको अवस्थामा मुलुकी ऐन, अपुतालीको महलको २ नं. र ११ नं. बमोजिम समेत आमाको अपुताली सम्पत्तिमा निजको एकलौटी हक कायम हुने नै देखिन्छ ।
७. तसर्थ माथि विवेचित आधार, कारण र प्रमाणसमेतका आधारमा सुरू जिल्ला अदालतबाट जिल्ला चितवन खैरहनी गा.वि.स. वडा नं. १/क कि.नं. ११२० को जग्गामध्ये २ भागको १ भाग जग्गामा वादी खडानन्द उप्रेती हक कायम हुने ठहरी भएको फैसला सदर गर्ने गरी पुनरावेदन अदालत, हेटौंडाबाट भएको मिति २०७१/२/४ को फैसला नमिलेको हुँदा उल्टी भई आमा गंगालक्ष्मीको नाउँको उक्त कि.नं. ११२० को ०-४-० जग्गामा पुनरावेदक वादी खडानन्द उप्रेतीको एकलौटी हक कायम भई दा.खा. नामसारीसमेत हुने ठहर्छ । अरूमा तपसिलबमोजिम गर्नुहोला ।
तपसिल
माथि ठहर खण्डमा लेखिएबमोजिम सुरू जिल्ला अदालतको फैसला सदर गर्ने गरेको पुनरावेदन अदालत, हेटौंडाको फैसला उल्टी भई आमा गंगालक्ष्मीको नाउँको जिल्ला चितवन खैरहनी गा.वि.स. वडा नं. १/क कि.नं. ११२० को ०-४-० जग्गा पुनरावेदक वादी खडानन्द उप्रेतीको नाउँमा एकलौटी हक कायम दा.खा. नामसारी हुने ठहरेकोले उक्त कि.नं. ११२० को ०-४-० जग्गा पुनरावेदक वादी खडानन्द उप्रेतीको नाउँमा दा.खा. नामसारी गरिदिन लेखिपठाउनु भनी सुरू जिल्ला अदालतमा पठाउनू ........................१
पुनरावेदक वादी खडानन्द उप्रेतीले फिराद गर्दा सुरू जिल्ला अदालतमा र.नं. ५३९ मिति २०६९/४/१९ मा राखेको कोर्ट फी रू.८,७७०/-, निज वादी खडानन्द उप्रेतीले पुनरावेदन अदालत, हेटौंडामा पुनरावेदन गर्दा र.नं. १५७ मिति २०७०/४/७ मा राखेको कोर्ट फी रू.१२१५/५० र निज वादी खडानन्द उप्रेतीले सर्वोच्च अदालतमा दोहोर्याई पाउँ भन्ने निस्सा पाई पुनरावेदन रूपमा दर्ता गर्दा र.नं. २९१४१ मिति २०७३/१२/१० मा राखेको कोर्ट फी रू.९३७/- समेत गरी जम्मा कोर्ट फी रू.१०,९२२/५० मात्र भराई पाउँ भनी प्रतिवादीको यसै सरहदको जेथा देखाई ऐनको अवधिभित्र दरखास्त दिए वादीबाट केही दस्तुर नलिई प्रतिवादीबाट उक्त रकम वादीलाई भराई दिनु भनी सुरू जिल्ला अदालतमा लेखी पठाई दिनू ....................२
प्रस्तुत आदेशलाई कम्प्युटर प्रणालीमा अपलोड गरी मिसिल नियमानुसार गरी अभिलेख शाखामा बुझाइ दिनू ............................................................३
नक्कल माग्ने सरोकारवालालाई नियमानुसार नक्कल दिनू ............................................................४
उक्त रायमा सहमत छु ।
न्या.डा. आनन्दमोहन भट्टराई
इजलास अधिकृत:- विष्णुप्रसाद आचार्य
इति संवत् २०७५ साल श्रावण १७ गते रोज ५ शुभम् ।