शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १०१५७ - लिखत दर्ता बदर

भाग: ६० साल: २०७५ महिना: चैत्र अंक: १२

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ

माननीय न्यायाधीश श्री डा. आनन्दमोहन भट्टराई

फैसला मिति : २०७४।४।१५

०७३-CI-१०२१

 

मुद्दा : लिखत दर्ता बदर

 

निवेदक / वादी : नृप शमशेरकी बुहारी दिपक शमशेरकी पत्‍नी काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं.११ थापाथली हाइट उक्तिमार्ग बस्ने नीता राणासमेत

विरूद्ध

प्रत्यर्थी / प्रतिवादी : काठमाडौं जिल्ला का.म.न.पा. वडा नं.११ थापाथली हाइट उक्तिमार्ग बस्ने नृप शमशेर ज.ब.रा.समेत

 

मिलापत्रपूर्व गरिएका व्यवहारलाई मिलापत्रले संकुचित गरेको भनी व्याख्या गर्न मिल्ने होइन । अंश छोडपत्र गरी आ-आफ्नो बिक्री व्यवहार गरिसकेपछि पनि अंशियारहरू पुनः सगोलमा बस्न सक्दछन् । सगोलमा बस्ने गरी मिलापत्र हुनुपूर्व आ-आफ्नो अंशहक आफूखुसी गर्न अंशियारहरूलाई कुनै कानूनले रोकेको देखिँदैन । पछि सगोलमा बस्ने गरी भएको मिलापत्रले उक्त मिलापत्रपूर्व गरिएको कारोबार व्यवहारलाई असर पर्ने गरी पश्‍चात्‌दर्शी प्रभाव पार्ने अवस्था नरहने । 

फिराद दायर गर्नु र मिलापत्र वा फैसलाबाट हक अधिकार स्थापित हुनु अलग अलग विषय हुने ।

(प्रकरण नं.३)

 

निवेदक / वादीका तर्फबाट : 

प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : 

अवलम्बित नजिर :

सम्बद्ध कानून :

 

सुरू तहमा फैसला गर्नेः 

माननीय न्यायाधीश श्री मुरारीबाबु श्रेष्ठ

काठमाडौं जिल्ला अदालत

पुनरावेदन तहमा फैसला गर्नेः

माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान

माननीय न्यायाधीश श्री सुष्‍मलता माथेमा

पुनरावेदन अदालत, पाटन

 

फैसला

न्या.विश्वम्भरप्रसाद श्रेष्ठ : न्याय प्रशासन ऐन, २०४८ को दफा १२ बमोजिम यस अदालतमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्‍त तथ्य एवं ठहर यसप्रकार छः- 

विपक्षी नृप शमशेर ज.ब.रा. र स्व. नन्दा राणाका एक मात्र छोरा दीपक शमशेर ज.ब.रा. हुनुहुन्छ । निज दीपक शमशेर ज.ब.रा.सँग म फिरादी नीता राणाको २०२७ सालमा आफ्नो कुल रीत परम्पराअनुसार विवाह भएको हो । निज दीपक शमशेर ज.ब.रा. र म नीता राणाबाट २ सन्तानको जायजन्म भएकोमा छोरा फिरादीमध्ये दीपाल शमशेर ज.ब.रा.को २०२९ सालमा र छोरी स्वाती राणाको २०३३ सालमा जायजन्म भएको हो । छोराछोरी दुवैको विवाह भइसकेको छ । नातिनातिनाहरू भइसकेका छन् । म नीता राणाको विपक्षीमध्ये नृप शमशेर ज.ब.रा. ससुरा र दीपक शमशेर ज.ब.रा. मेरो पति हुनुहुन्छ भने म वादी दीपाल शमशेर ज.ब.रा.का निजहरू क्रमशः हजुरबुबा र बुबा हुनुहुन्छ । हाम्रो सम्पूर्ण अंश लाग्ने श्रीसम्पत्ति हजुरबुबा / ससुरा नृप शमशेर ज.ब.रा.का नाम जिम्मामा रहेको र निजले हामीलाई अंश दिन नपरोस् भनी विभिन्‍न हर्कत गर्न थाल्नुभएको तथा घरजग्गासमेत बिक्री गर्न ग्राहकसमेतको खोजी गरेको बुझिएकाले हामीले सम्मानित अदालतसमक्ष दे.नं. ५९८३ मिति २०६८।३।२३ मा अंश मुद्दाको फिराद दायर गरेको भोलिपल्टै मिति २०६८।३।२४ मा मुलुकी ऐन, अ.बं.१७१(क) नं. बमोजिम निजको नाममा दर्ता रहेको का.जि., का.म.न.पा. वडा नं. ११ को कि.नं. १०० को १-१०-२-३ घरजग्गा र ऐ. कि.नं.१०१ को जग्गा रोपनी ०-१०-१-० घरजग्गा रोक्‍का राखी पाउन निवेदन गरेकोमा सो जग्गाको स्रेस्ता बुझ्न सम्मानित अदालतबाट मिति २०६८।३।२७ मा च.नं.६१८१ को पत्र मालपोत कार्यालय, डिल्लीबजारका नाममा पत्राचार गरी मालपोत कार्यालयले सो पत्रको जवाफ स्वरूप सोही दिन च.नं.१०३४० मा जवाफ पठाउँदा साथै पठाएको स्रेस्ताको प्रतिलिपिबाट सो घरजग्गामध्ये कि.नं.१०० को घरजग्गा विपक्षीमध्ये दीपेन्द्रकुमार ठकुरीका नाममा गइसकेको भन्‍ने बुझिएकोले के रहेछ भनी बचेको कि.नं. १०१ को जग्गा रोक्‍का प्रक्रिया पूरा गरी मिति २०६८।३।३० मा मालपोत कार्यालय, डिल्लीबजार गई नक्‍कल सारी हेर्दा, दिने विपक्षी ससुरा / हजुरबुबा नृप शमशेर ज.ब.रा. र लिने विपक्षी दीपेन्द्रकुमार ठकुरी भई विपक्षी केशवप्रसाद सुवेदीलाई साधारण साक्षी राखी कथितरूपमा संरक्षक भन्‍ने उल्लेख गरी निज विपक्षीहरूकै मुख्य भूमिका र जालसाजी क्रियाकलापसँग मोल रू.२ करोड पचास लाख उल्लेख गरी र.नं.३८९०(ख) मिति २०६८।३।२३ मा कि.नं.१०० को घरजग्गा राजीनामा लिखत पारित गरी जालसाजीपूर्वक जग्गा हक हस्तान्तरण गरेको रहेछ । सोउपर हामीले जालसाजी मुद्दा दायर गरेका छौं । निज हजुरबुबा / ससुरा नृप शमशेर ज.ब.रा.८८ वर्षको वृद्ध भएको कारण होस ठेगानमा समेत नभएकोले हामी बुहारी नातिसमेतले निजलाई पालनपोषण, औषधोपचार, स्याहारसम्भारसमेत गरी आएका छौं । जुनकुरा नर्भिक अस्पताल थापाथली काठमाडौं, वीरेन्द्र सैनिक अस्पतालसमेतमा पटक-पटक औषधोपचारको लागि लगी भर्नासमेत गरेका पटकपटकका अस्पतालका रेकर्ड प्रमाणबाट पुष्टि हुन आउँछ । जुन कुरा खोजिएका बखत हामी प्रमाण पेस गर्नेछौं । विपक्षी ससुरा / हजुरबुबा नृप शमशेर ज.ब.रा.को संरक्षक भन्दै निजसँग कुनै नातासम्बन्ध नभएका ओखलढुङ्गा जिल्ला, नर्वदेश्‍वर गाउँ विकास समिति वडा नं.१ बस्ने उनाउ मानिस विपक्षी केशवप्रसाद सुवेदीलाई कथित संरक्षक भएको भन्दै हामी सगोलका बुहारी नातिको वास्तै नगरी गलत र झुट्ठा बेहोरा बनाई खडा गरी राजीनामा लिखत पारित गरी गराई लिएको हुँदा हामीलाई थाहा जानकारी नै नदिई हामी हकदार संरक्षकको सहमति, सहीछाप, रोहबरबेगर, ८८ वर्षको वृद्ध, असक्त, होस ठेगानमा नभएको मानिसबाट कुनै कागज नै हुन नसक्ने र भएको भएपनि शून्य हुने, मान्य नहुने भन्‍ने मुलुकी ऐन, लेनदेनको व्यवहारको ४० नं., अ.बं. ११, १४, २५, ८३ नं. समेतका कानूनी व्यवस्था भएकाले विपक्षीहरूले उपर्युक्त कानूनी व्यवस्था र मुलुकी ऐन, लेनदेन व्यवहारको १० र ४० नं. समेतको विपरीत काम कारबाही गरेकाले उक्त लिखत पूर्णतः बदर गरी सो लिखतको आधारमा विपक्षी दीपेन्द्रकुमार ठकुरीका नाममा रहन गएको उक्त जग्गाको दर्ता बदर गरी हाम्रा नाउँमा दर्ता कायम गरी जग्गाधनी प्रमाण पुर्जा दिलाई पाऊँ । कथम् कदाचित उक्त लिखत पूर्णतः बदर नहुने ठहरेमा मुलुकी ऐन, लेनदेन व्यवहारको १० नं. बमोजिम लगाउको अंश मुद्दामा उल्लेख गरी माग गरेको हाम्रो भागजति कि.नं. १०१ सँग मिलान हुनेगरी नरम-करम मिलाई उक्त लिखत बदर गरी सो लिखतका आधारमा भएको उक्त जग्गाको विपक्षी दीपेन्द्रकुमार ठकुरीका नामको दर्ता बदर गरी हाम्रो नाममा दर्ता कायम गरी जग्गाधनी प्रमाण पुर्जा दिलाई पाउँ भन्नेसमेत बेहोराको फिरादपत्र ।

द.नं. ३४ मिति २०६८।४।१ को जग्गा रोक्‍का राखी पाउँ भन्‍ने निवेदनमा अंश चलन मुद्दामा कि.नं. १०० क्षेत्रफल १-१०-२-३ को जग्गाको दर्ता स्रेस्ता प्राप्‍त भएको देखियो । उक्त जग्गाबाट वादीहरूको हक कि.नं. १०० लाई २ भाग गरी सो दुई भागको १ भागलाई ३ भाग गरी सो ३ भागको १ भाग जग्गा प्रतिवादीको निवेदन परेमा सोही बखत र नपरे मुद्दाको अन्तिम किनारा नभएसम्मको लागि अ.बं. १७१ (क) नं. बमोजिम रोक्‍का राखी दिइएको छ भन्‍ने मिति २०६८।४।२ को सुरू अदालतको आदेश ।

विपक्षीहरूको फिरादमा उल्लिखित नाताको विषयबाहेक सम्पूर्ण बेहोरा काल्पनिक हुन् । वादीहरूका बाबु तथा पतिले अंश भाग माग नगर्नुपर्ने कारण फिरादमा प्रस्ट छैन । र.नं. ७४०१ मिति २०३६।१२।२८ को अंश छोडपत्रको आधारमा भिन्‍न भई बसेकोले मसँग अंशमा दाबी गर्ने हकै समाप्‍त भइसकेकोले यसमा सोही बेहोरा यिनै वादीले मसमेतउपर दिएको अंश मुद्दामा म नृप शमशेरले खुलाई सकेकोले यसमा सोही बेहोरा प्रमाण लगाई पाऊँ । म मिति २०३६।१२।२८ को अंश छोडपत्रको आधारमा भिन्‍न भई बसेको हालसम्म कुनै प्रकारले होस नभएको लाटो, कान नसुन्‍नेलगायत अपाङ्गसमेत छैन । जेष्ठ नागरिक ऐन, २०६३ को दफा ६ ले स्पष्ट आफ्नो अंश भागको सम्पत्ति आफूखुस गर्न पाउने कानूनी हक भएकोले सोहीबमोजिम मेरो एकलौटी अंश भाग कसैलाई अंश दिन नपर्ने सम्पत्ति र.नं. ३८९०(ख) मिति २०६८।३।२३ मा दीपेन्द्रकुमार ठकुरीलाई राजीनामा पारित गरी दिएको लिखत हरहालतमा बदर हुनै सक्दैन । उक्त लिखत पारित गरी दिँदा म आफैँ सक्षम रहेको र कानूनले नै इच्छाएको व्यक्तिलाई संरक्षक राख्‍न पाउने अधिकार दिएको हुँदा फिरादीहरू रक्षक नभई भक्षक भएका हुँदा म नृप शमशेरलाई स्याहारसुसार गरी मसँग बसेका व्यक्तिलाई साक्षी राखेकै कारणले पनि उक्त राजीनामा पारित लिखत बदर हुने हैन । हकदैया नभएका व्यक्तिहरूले विभिन्‍न आरोप लगाउँदैमा उक्त लिखत बदर हुने हैन । अतः फिराद दाबी खारेज गरिपाउँ भन्नेसमेत बेहोराको प्रतिवादी नृप शमशेर ज.ब.रा.को प्रतिउत्तरपत्र ।

म प्रतिवादीले २०४० सालदेखि निज नृप शमशेर ज.ब.रा.को भान्सा तथा निजकै स्याहारसुसार, सेवाटहल गर्दै बस्दै आएको मानिस हुँ । उहाँ वृद्ध भए तापनि आजसम्म कुनै काम गर्दा मलाई सोधी मसँग सरसल्लाह गरी गर्ने गरेको छैन, उहाँ आफैँ सक्षम एवं स्वस्थ हुनुहुन्छ । अहिलेसम्म उहाँलाई केहीको साहारा लिनुपरेको अवस्था छैन । त्यो घरमा मैले देख्दादेखि छोरा दीपक शमशेर ज.ब.रा. र निज नृप शमशेर ज.ब.रा. अलग-अलग भान्सा गरी छुट्टीभिन्‍न भई आ-आफ्नो कारोबार आ-आफैँ गरेका छन् । म मात्र निज नृप शमशेरको सेवकको हिसाबले अह्राएको मान्‍नुपर्ने भएकोले र नृप शमशेर ज.ब.रा. सक्षम स्वस्थ हुँदा र आफैँ आफ्नो निर्णय आफैँ गर्न सक्ने हुँदा मैले उहाँलाई ललाई-फकाई कुनै काम गराउन सक्ने अवस्था छैन । मैले भनेबमोजिम नृप शमशेर ज.ब.रा.ले कुनै कार्य गर्न सक्ने अवस्था रहेन । निज नृप शमशेर ज.ब.रा.ले आफैँले निर्णय लिई आफूखुस गर्न पाउने का.जि., का.म.न.पा. वडा नं. ११ को कि.नं. १०० को १-१०-२-३ घरजग्गा सम्पत्ति हक हस्तान्तरण गरेको हुँदा सो लिखत बदर हुनुपर्ने होइन भन्नेसमेत बेहोराको प्रतिवादी केशवप्रसाद सुवेदीको प्रतिउत्तरपत्र ।

प्रतिवादीमध्येका नृप शमशेर ज.ब.रा.ले जग्गा बिक्री गर्नुपर्नेछ, म एक्लै छु । मैले छोरालाई र.नं. ७४०१ मिति २०३६।१२।२८ मा नै अंश दिई अंश छोडपत्रको लिखत पारित भइसकेको छ । मेरो छोरा / बुहारी, नाति कसैलाई सोध्नुपर्दैन । मेरो एकलौटी हकभोगको जग्गा हो भनी अंश छोडपत्रको कागजसमेत देखाउनुभएको र उक्त जग्गा तपाइँ लिनुहोस् भनी पटक-पटक मलाई प्रस्ताव गर्नुभएको र के रहेछ भनी सबै बुझ्नुपर्ने बुझी हेरी नृप शमशेर ज.ब.रा.लाई रू.२,५०,००,०००।- दिई मिति २०६८।३।२२ मा र.नं. ३८९०(ख) मार्फत मालपोत कार्यालय, डिल्लीबजार काठमाडौंबाट राजीनामा पारित गरी लिएको घरजग्गा हो । विपक्षी वादीहरूका पति / पिताले अंश बुझिलिई मालपोत कार्यालय, डिल्लीबजार काठमाडौंमा र.नं. ७४०१ मिति २०३६।१२।२८ को अंश छोडपत्रको कागज गरी दिई सोही मितिबाट भिन्‍न बसेको हुँदा विपक्षीहरू नृप शमशेरसँग एकासगोलमा बसेको भन्‍ने कुरा झुट्ठा हो । वादीहरूले नृप शमशेरलाई हेरविचार, पालनपोषण नगरेको हुँदा संरक्षक साक्षी केशवप्रसाद सुवेदीले नृप शमशेरको घरमा बसी निजको सेवा एवं संरक्षण गर्दै आएका छन् । जसले स्याहारसम्भार, पालनपोषण गर्छ । त्यहीँ व्यक्ति संरक्षक हुने कानूनी व्यवस्था 

छ । काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं.१ को कार्यालयले मिति २०६८।२।२३ मा स्थलगत सर्जमिन गरी निज नृप शमशेरलाई पालनपोषण, स्याहारसम्भार र संरक्षण गर्ने व्यक्ति केशवप्रसाद सुवेदी भएको कुरा स्पष्टरूपमा सर्जमिन मुचुल्कासहितको सिफारिस गरेको आधारबाट पनि नृप शमशेरको संरक्षक केशवप्रसाद सुवेदी भएको कुरा स्पष्ट भइरहेको अवस्था र निज नृप शमशेर हालसम्म कुनै प्रकारले होस नभएको लाटो, कान नसुन्‍नेलगायत अपाङ्गसमेत हुनुहुन्‍न । मेरो दाता नेपाल आर्मीको जर्नेलजस्तो गरिमामय पदबाट निवृत्त भएको व्यक्ति हुनुहुन्छ । त्यसैले मुलुकी ऐन, अ.बं. २४, २५ र ८३ नं. आकर्षित हुन सक्दैन । एकपटक पति तथा पिताले अंश लिइसकेपछि पिता तथा पतिसँग अंश लिनुपर्नेमा सो नगरी अरूको भागको समेत अंश दाबी गर्नु सरासर झुट्ठो भएको हुँदा मेरो हकमा राजीनामा पारित भएको जग्गा लिखत बदर हुनुपर्ने अवस्था छैन । सो विपक्षीले भनेबमोजिम जालसाजी कार्य मसमेतले गरे नभएको हुँदा विपक्षीको फिराद दाबी खारेज गरी मेरो हकमा लिखत कायम गरी न्याय इन्साफ पाउँ भन्नेसमेत बेहोराको दीपेन्द्रकुमार ठकुरीको प्रतिउत्तरपत्र ।

प्रतिवादी दीपक शमशेर ज.ब.रा.को म्यादभित्र प्रतिउत्तरपत्र नपरेको ।

प्रतिवादी दीपेन्द्रकुमार ठकुरीको द.नं. ४७६० मिति २०६८।६।१ र द.नं. २८१० मिति २०६८।५।९ को प्रतिवादी नृप शमशेर ज.ब.रा.को रोक्‍का रहेको जग्गा फुकुवा गरिपाउँ भन्‍ने निवेदनमा वादीहरूको बाबु तथा लोग्ने प्रतिवादी दीपक शमशेर ज.ब.रा.ले प्रतिवादी नृप शमशेर ज.ब.रा.लाई अंश छोडपत्र गरेको लिखतलाई बदर गरिपाउँ भन्‍ने मुद्दासमेत परी विचाराधीन रहेको देखिँदा प्रस्तुत मुद्दामा पछि ठहरेबमोजिम हुने नै हँदा प्रतिवादी नृप शमशेर ज.ब.रा.ले प्रतिवादी दीपेन्द्रकुमार ठकुरीलाई बिक्री गरेको कि.नं.१०० को जग्गामध्ये २ भागबाट तीन भागको एक भाग रोक्‍का राख्‍ने गरी मिति २०६८।४।२।२ मा भएको आदेश निवेदन मागबमोजिम बदर गर्नुपरेन भन्‍ने बेहोराको मिति २०६८।७।१८ मा सुरू अदालतको आदेश ।

उपर्युक्त विपक्षीसँगको उक्त मुद्दामा हामी वादीले प्रतिवादीमध्येका दीपेन्द्रकुमार ठकुरीको नाउँमा दर्ता रहेको का.जि., का.म.न.पा. वडा नं. ११ को कि.नं. १०० को १-१०-२-३ घरजग्गा समेत हाम्रो अंश भागमा पर्ने भनी घरजग्गा रोक्‍का राखी पाउन दिएको निवेदनमा सुरू अदालतबाट मिति २०६८।४।२ मा भएको आदेशमा दुई भागको एक भागबाट तीन भागको दुई भाग रोक्‍का राख्‍नु भन्‍ने आदेश हुनुपर्नेमा भूलवश तीन भागको एक भाग रोक्‍का राख्‍नु भन्‍ने उल्लेख भएको हुनाले जिल्ला अदालत नियमावली, २०५२ को नियम ५१ र ५२ बमोजिमको मिति २०६८।४।२ को आदेशबमोजिम रोक्‍का राख्‍न पत्र पठाई सोबमोजिम मालपोत कार्यालयबाट रोक्‍कासमेत राखिसकेको देखिन आएबाट निवेदन मागबमोजिम संशोधन गर्नुपरेन भन्नेसमेत बेहोराको मिति २०६८।९।२८ को सुरू अदालतको आदेश ।

प्रतिवादी नृप शमशेर ज.ब.रा. वृद्ध भएपनि निजको होस ठेगानामा नभएको आफूले गरेको कामको परिणाम बुझ्न नसक्ने अवस्थाको भएको भन्‍ने प्रमाणित भएको देखिँदैन । त्यसको साथै प्रतिवादी नृप शमशेर ज.ब.रा.को छोरा तथा यी वादीहरूको पति तथा पिता दीपक शमशेर ज.ब.रा. भएको अवस्थामा प्रतिवादी नृप शमशेर ज.ब.रा. ले आफ्नो नाममा रहेको घरजग्गा राजीनामा गर्दा यी वादीहरूको मन्जुरी लिनुपर्ने तथा यी वादीहरूलाई थाहा जानकारी दिनुपर्ने बाध्यात्मक कानूनी व्यवस्था भएको पाइँदैन । विवादको कि.नं. १०० को घरजग्गा प्रतिवादी नृप शमशेर ज.ब.रा.ले प्रतिवादी दीपेन्द्रकुमार ठकुरीलाई मिति २०६८।३।२३ मा राजीनामा गरी दिँदा यी वादीहरूको मन्जुरी लिनुपर्ने अवस्था नदेखिएको स्थितिमा वादी दाबीबमोजिम सो घरजग्गा राजीनामा गरेको लिखत बदर गर्नुपर्ने देखिएन । अतः प्रतिवादी नृप शमशेर ज.ब.रा.ले प्रतिवादी दीपेन्द्रकुमार ठकुरीलाई गरी दिएको मिति २०६८।३।२३ र.नं.३८९०(ख) को राजीनामाको लिखतमध्ये वादीहरूको हकजति सो राजीनामाको लिखत र सो लिखतअनुसार प्रतिवादी दीपेन्द्रकुमार ठकुरीको नामको दर्ता बदर गरिपाउँ भन्‍ने वादी दाबी पुग्न नसक्ने ठहर्छ भन्‍ने सुरू काठमाडौं जिल्ला अदालतको मिति २०६९।५।२६ को फैसला ।

प्रतिवादीमध्येका हाम्रा हजुरबुबा तथा ससुरा एवं पति तथा पिता तत्कालीन श्री ३ देवशमशेर ज.ब.रा.का सन्तान हुन् । निजहरू बाबु र छोरा गरी दुई जना मात्र हुँदा पनि निजहरूका बीचमा अंश छोडपत्रको लिखत गरी लिनुदिनु गर्नेसम्मको कुनै पनि अवस्था नदेखिएको, अंश छोडपत्र हुँदा चल अचल धनमाल लिनुदिनु नगर्नुको कुनै पनि कारण नै नभएको र अचल सम्पत्ति पनि निजहरू दुइजनाले बराबर नपारी करिब ३ खण्डको दुई खण्ड प्रतिवादीमध्येका नृप शमशेर ज.ब.रा.ले राख्‍नुको कुनै आधार पनि नदेखिएकोमा निज विपक्षीहरूले हाम्रो अंशहक मार्ने उद्देश्‍यले मात्र सो अंश छोडपत्रको लिखत खडा गरेको भन्‍ने प्रस्ट छ । त्यसैले सो लिखत अंशबन्डाको १ र २ नं. समेतका प्रचलित कानूनहरूको विपरीत हुनुका साथै सर्वोच्च अदालतबाट प्रतिपादित ने.का.प.२०५६ नि.नं.६७१० पृष्ठ ३०४ ऐ. २०६८ नि.नं.८६९६ र ८७०१ क्रमशः १५९९ र १७०७ मा प्रकाशित नजिरहरूसमेतका विपरीत भएको हुनाले सो लिखत कायम नरहने प्रस्ट छ । अंश छोडपत्रको लिखत बदर गरिपाउँ भनी हामीहरूले मुद्दा दायर गरेका र सो मुद्दामा हाम्रो दाबी कायम रहने गरी र अंश मुद्दामा सगोलमा बस्ने गरी मिति २०६९/५/५ मा मिलापत्र भइसकेकोसमेत छ, यस्तोमा मिति २०३६/१२/२८ मा अंश छोडपत्रको लिखत भएको भन्‍ने आधारमा गरेको फैसला त्रूटिपूर्ण छ ।

हामी वादीहरू प्रतिवादीमध्येका नृप शमशेर ज.ब.रा.को बुहारी र नाति एवं अर्का प्रतिवादी दीपक शमशेर ज.ब.रा.को पत्‍नी र छोरा भएको भन्‍ने कुरामा विवाद छैन । साथै निज प्रतिवादीहरू र हामी वादीहरू एकाघर सगोलमा बसेका र विवादको का.जि.,का.म.न.पा.वडा नं.११ को कि.नं.१०० को घरजग्गा पैतृक सम्पत्ति हुनुका साथै सो सम्पत्ति हाम्रो बाँकी सम्पत्तिभन्दा बढी भएको र सोमा हामीहरूको समेत भोग भएको भन्‍ने कुरामा पनि विवाद छैन । यसरी हामीहरूको समेत अंश लाग्ने उक्त घरजग्गा बिक्री गर्दा हामीहरूको मन्जुरी लिनुपर्ने, हामीहरूलाई साक्षी राख्‍नुपर्नेमा सो केही नगरी हाम्रोसमेत हक अंश लाग्ने घरजग्गा बिक्री गरेको अंशबन्डाको १, २ र ३५ नं. समेतको कानूनको प्रतिकूल छ । घरजग्गा बिक्री गरेको लिखतमा वादीहरूको मन्जुरी छ, छैन र सो लिखतले हामीहरूको हक मर्न गएको छ, 

छैन ? भन्‍ने मूल प्रश्‍नको विचार नै नगरी गरेको फैसला अ.बं.१८४क र १८५ तथा प्रमाण ऐन, २०३१ को दफा ७(ग) र ५४ समेतको विपरीत छ । प्रतिवादी नृप शमशेर ज.ब.रा.को उमेर वृद्ध भई होस ठेगान नभएको व्यक्तिको एकाघरका हामी संरक्षक हुँदाहुँदै उनाउ व्यक्तिलाई संरक्षक राखी लिखत गरिएको छ । साथै वृद्ध भएकोले होस ठेगानमा नभएको कुरा उठेपछि निज प्रतिवादीले आफू सद्दे भएको र वृद्ध भएपनि कामको परिणाम थाहा पाउन सक्छु भनी प्रतिउत्तर लगाएको अवस्थामा निजको होस ठेगानमा छ, 

छैन ? गरेका कामको परिणाम थाहा पाउन सक्ने हो, 

होइन ? भन्‍ने विषयमा प्रमाण बुझिएको छैन । हामीले अंश मुद्दाको फिराद दायर गरेकै दिन लिखत पारित गरिएको छ । घरजग्गाको मूल्य रू.६,५०,००,०००।- कायम गरिएकोमा रू.१,५०,००,०००।- लिई

उधारोमा बिक्री गरिएको छ । यसबाट पनि हाम्रो फिरादलाई असर पार्ने सोचबाट लिखत पारित गरिएको प्रस्ट छ । यस्तो दोषपूर्ण लिखत बदर गर्नुपर्नेमा नगरिएको फैसला बदर भागी छ । अतः एवं उपर्युक्त प्रकरणहरूमा वर्णित तथ्य कानून तथा स्थापित सिद्धान्तसमेतको आधारमा सुरूको फैसला उल्टी गरी वादी दाबीबमोजिम गरिपाउँ भन्‍ने पुनरावेदनपत्र । 

यसमा यी पुनरावेदक वादीका पति पिता प्रतिवादी दीपक शमशेर ज.ब.रा. र विपक्षीमध्ये नृप शमशेर राणा अर्थात् वादीका ससुरा / बाजेबीच मिति २०३६।१२।२८ मा अंश छोडपत्रको कागज भएको मालपोत कार्यालयबाट प्राप्‍त लिखत प्रतिलिपीबाट देखिन आयो । उक्त अंश छोडपत्रको लिखत जालसाजी घोषित गरिपाउँ भनी यिनै पुनरावेदक वादीले यिनै विपक्षी नृप शमशेर र दीपक शमशेरसमेतउपर जालसाज (०६८-०१९०९) मुद्दामा यी वादीले अ.बं. ९२ नं. बमोजिम मुद्दा फिर्ता लिएको सो मुद्दाको प्रमाणमा रहेको मिसिलबाट देखिन्छ । यसरी वादीका पति / पिता दिपक शमशेरले आफ्नो पिता अर्थात् विपक्षी नृप शमशेरबाट आफ्नो अंश भाग बुझी लिइसकेको पुष्टि हुन आएको अवस्थामा विपक्षी नृप शमशेर राणाले आफ्नो अंश भागमा परेको विवादित कि.नं. १०० को घरजग्गा बिक्री गर्न यी वादी पुनरावेदकहरूको मन्जुरी लिनुपर्ने अवस्था नदेखिएकोले प्रतिवादी नृप शमशेर राणा र दीपेन्द्रकुमार ठाकुरबीच खरिद बिक्री भएको र.नं. ३८९०(ख) मिति २०६८।३।२० को लिखत बदर गरिपाउँ भन्‍ने वादी दाबी पुग्‍न नसक्ने ठहर्‍याएको सुरू काठमाडौं जिल्ला अदालतको मिति २०६९।५।२६ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्‍ने पुनरावेदन अदालत, पाटनको मिति २०७०।३।६ को फैसला ।

पुनरावेदन अदालत, पाटनको फैसलामा चित्त बुझेन । बाबु र छोरा २ जना मात्र अंशियार भएकामा कुनै पनि कारणविना अंश छोडपत्रको लिखत गरी अचल सम्पत्ति पनि दुई जनाले बराबर नपारी करिब ३ खण्डको २ खण्ड प्रतिवादीमध्येका नृप शमशेरले राखी हाम्रो हक मार्ने उद्देश्यले मात्र सो अंश छोडपत्रको लिखत खडा गरेको भन्‍ने प्रस्ट छ । सो अंश छोडपत्रको लिखत अंशबन्डाको १ र २ नं. समेत कानूनी व्यवस्था, प्रतिपादित नजिर सिद्धान्तको परिप्रेक्ष्यमा त्रूटिपूर्ण     छ । मिति २०६३।१२।२८ को अंश छोडपत्रको लिखत बदर गरिपाउँ भनी दायर मुद्दामा हाम्रो दाबी कायम रहने गरी अंश मुद्दामा सगोलमा बस्ने गरी मिति २०६९।५।५ मा मिलापत्र भएको हो । यस्तो स्थितिमा हामी हालसम्म सगोलमा नै रही रहेको पुष्टि प्रमाणित रहेको अवस्थामा अंश मुद्दाको मिलापत्र हेर्दै नहेरी जालसाजी मुद्दा फिर्ता लिएको भनी तथ्य प्रमाणको ख्यालै नगरी गरेको फैसला त्रूटिपूर्ण हुँदा उल्टी गरी बदर भागी छ । 

निज प्रतिवादी र हामीहरू एकाघरमा बसेका र विवादको काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. ११ कि.नं. १०० को घरजग्गा पैतृक सम्पत्ति हुनुको साथै सो सम्पत्ति हाम्रो बाँकी पैतृक सम्पत्तिभन्दा बढी भएको हुँदा उक्त घरजग्गामा हाम्रो हक स्वतः स्थापित भएको प्रस्ट छ । हाम्रोसमेत हक भएको उक्त सम्पत्ति हाम्रो मन्जुरी नलिई थाहा जानकारी नै नदिई हामीहरूको अंश मुद्दाको फिराद परेकै दिन विपक्षीहरूले राजीनामाको लिखत गरी लिनुदिनु गरेकाले हाम्रो हकजति बदर हुनुपर्ने स्पष्‍ट 

छ । मूल पुरूष नृप शमशेरको नाममा रहेको घरजग्गाबाट पति पिता दिपक शमशेर, दिपक शमशेरबाट पुनरावेदकहरूले अंश पाउने विवादरहित छ । विपक्षी नृप शमशेर ज.ब.रा. सँग हामीहरूको सगोलता निरन्तर रहेको छ । यस्तो सगोलको घर जग्गा हक हस्तान्तरण गरेको लिखतउपर प्रचलित कानूनबमोजिम दायर भएको फिराद दाबीबमोजिम लिखत बदर गर्नुपर्नेमा वादी दाबी पुग्‍न नसक्ने गरी सुरू जिल्ला अदालतले गरेको फैसला सदर हुने ठहर्‍याई पुनरावेदन अदालत, पाटनबाट भएको फैसला त्रूटिपूर्ण हुँदा मुद्दा दोहोर्‍याई निस्सा प्रदान गरी त्रूटिपूर्ण र कानूनविपरीत भएको फैसला उल्टी गरी वादी दाबीअनुसार उक्त राजीनामाको लिखत र सो लिखतको आधारमा भएको दर्तासमेत बदर गरी हाम्रा नाममा दर्तासमेत हुने ठहर फैसला गरी इन्साफ पाउँ भन्‍ने निवेदनपत्र ।

यसमा मिति २०६९।५।५ को मिलापत्रमा वादी प्रतिवादी सगोलमा बसेको र मिति २०६८।३।२३ मा फिराद दायर गरी कि.नं. १०१ र १०० का जग्गा रोक्‍का गर्ने मागसमेत गरेको अवस्थामा कि.नं. १०० को जग्गा बिक्री भई गएको जानकारी प्राप्‍त भएपश्‍चात् प्रस्तुत लिखत बदर दर्ता बदर, जालसाजी मुद्दा हदम्यादभित्र दायर गरी विवादित जग्गामा यी फिरादीको समेत अंश भाग लाग्‍ने देखिएकोले सुरू तथा पुनरावेदन अदालत, पाटनको फैसलामा लेनदेन व्यवहारको १० नं., प्रमाण ऐन, २०३१ को दफा ३ र ५४, मुलुकी ऐन, अ.बं. १८४क र १८५ नं. को कानूनी व्यवस्थाको व्याख्यात्मक त्रूटि रहेको देखिँदा साबिक न्याय प्रशासन ऐन, तथा हाल प्रचलित न्याय प्रशासन ऐन, २०७३ को दफा १२(१)(क) र (ख) बमोजिम निस्सा प्रदान गरिएको छ । नियमानुसार पेस गर्नु भन्‍ने यस अदालतको मिति २०७३।९।२० को आदेश ।

उक्त कि.नं. १०० को क्षेत्रफल १-१०-२-३ को घर जग्गा मैले मिति २०६८।३।२३ मा र.नं. ३८९०(ख) बाट नगद रू. २,५०,००,०००।– तिरी राजीनामा पारित गरी खरिद गरी लिएको हो । विपक्षी वादीहरूका पति तथा पिताले मा.पो.का. डिल्लीबजारमा मिति २०३६।१२।२८ मा र.नं. ४७०१ को पारित अंश छोडपत्र कागज गरी सोही मितिदेखि भित्र बसेका र उक्त लिखतबाट प्राप्‍त जग्गा मिति २०५३।३।१६ मा मि.नं. ७४२ बाट दा.खा. नामसारी गरी लिई निज वादीहरू स्वयं कारणी साक्षी बसी मा.पो.का. डिल्लीबजारमा गई मिति २०६०।९।१८ मा र.नं. ७२९७ बाट शैलेन्द्रबहादुर श्रेष्ठसमेतलाई बिक्री व्यवहार गरेबाट छोरा दिपक शमशेर अंश भाग बुझी लिई छुट्टी भिन्‍न बसी अलग व्यवहार गरेको देखिन्छ । का.म.न.पा. वडा नं. ११ को कार्यालयले मिति २०६८।३।२३ गतेको स्थलगत सर्जमिनसमेतबाट निज नृप शमशेरलाई पालन पोषण स्याहार सुसार र संरक्षण गर्ने व्यक्ति केशवप्रसाद सुवेदी भएको सर्जमिन मुचुल्‍कासहित सिफारिस गरेको अवस्थामा मैले नगद तिरी राजीनामा पारित गरी लिएको हुँदा लेनदेन व्यवहारको १० नं. आकर्षित हुने अवस्थासमेत रहेको छैन । यी वादीका पति तथा पिताले २०३६।१२।२८ मा अंश छोडपत्रबाट प्राप्‍त घर जग्गा मिति २०५३।३।१६ मा नि.न. ७४२ बाट दा.खा. गरी लिएको र उक्त जग्गा मिति २०६०।९।१८ मा र.नं. ७२९७ बाट दिने दिपक शमशेर लिने शैलेन्द्रबहादुर श्रेष्ठसमेत र कारणीका साक्षी यिनै वादी निता राणा, दिपाल राणा दुवै बसी लिनुदिनु भएको अवस्था छ । लेखिएबमोजिम वादीहरूको अंश हक लाग्‍ने सम्पत्ति नभएको हुँदा सम्मानित सर्वोच्‍च अदालतको मिति २०७३।९।२० को आदेश तथा विपक्षी वादीहरूको निवेदनसमेत खारेज भागी छ । उक्त आदेश तथा निवेदनको जिकिर खारेज गरी सुरू तथा पुनरावेदन अदालतको फैसला सदर गरी न्याय इन्साफ गरिपाउँ भन्‍ने प्रत्यर्थी प्रतिवादी दिपेन्द्र कुमार ठकुरीको लिखित प्रतिवाद ।

म नृप शमशेरको एक मात्र छोरा अंशियार दिपक राणा भएको निजले मिति २०३६।१२।२८ मा अंश छोडपत्र लिखतबाट प्राप्‍त जग्गा बिक्री वितरणसमेत गरेको अवस्था छ । यी वादीहरू मेरो अंशियार नभएको, मेरो अंशियारले अंश लिई हालसम्म चित्त बुझाई बसेको र यी वादीले मलाई मुद्दा गर्ने हकदैयासमेत नभएको नरहेको अवस्था छ । मेरो आफूखुस गर्न पाउने सम्पत्ति बिक्री वितरण गरेको र सोमा कसैको हक अधिकार नभएको अंश मुद्दा मिलापत्र हुनुपूर्व नै मेरो अंश भाग मैले बेचबिखन गरेको जग्गा हो । आफ्नो अंश भागको सम्पत्ति आफूखुसी गर्न पाउने कानूनी हक भएकाले मेरो एकलौटी अंश भागको कोही कसैलाई अंश भाग दिन नपर्ने सम्पत्ति र.नं. ३८९०(ख) मिति २०६८।३।२३ मा दिपेन्द्र कुमार ठकुरीलाई रा.पा. गरिदिएको लिखत बदर हुनुपर्ने छैन । मैले यी वादीहरूको कुनै हक मेट्‍ने मार्ने कार्य नगरेको हुँदा निस्सा दिँदा लिएको आधार मुद्दामा नरहेको हुँदा निस्सा पाउने आदेश र निवेदन खारेज गरी सुरू तथा पुनरावेदन अदालत, पाटनको फैसला सदर गरी न्याय इन्साफ पाउँ भन्‍ने प्रत्यर्थी प्रतिवादी नृप शमशेर ज.ब.रा. का तर्फबाट यस अदालतमा प्रस्तुत लिखित प्रतिवाद ।

नियमबमोजिम पेसी सूचीमा चढी निर्णयार्थ इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा मिसिल संलग्‍न कागजातहरूको अध्ययन गरियो ।

यसमा प्रतिवादी नृप शमशेर ज.ब.रा. को नाममा दर्ता रहेको का.म.न.पा. वडा नं. ११ को कि.नं. १०० को घर जग्गा निज प्रतिवादीले प्रतिवादी दिपेन्द्र ठकुरीलाई मिति  २०६८/३/२३ मा राजीनामा गरिदिएको उक्त जग्गा आफूहरूको समेत अंश भाग लाग्‍ने जग्गा भएकाले सो दर्ता बदर गरी वादीहरूको नाममा कायम गरी ध.प्र.पुर्जासमेत दिलाई पाउँ भन्‍ने फिराद र वादीहरूको पति पिताले आफूबाट मिति २०३६।१२।२८ मा अंश छोडपत्रको लिखत गरिदिई भिन्‍न अलग भई बसेको र आफ्नो अंश भागको सम्पत्ति आफूखुस गर्न पाउने कानूनी हक भएकोले सोहीबमोजिम आफ्नो एकलौटी अंश भाग कसैलाई अंश दिन नपर्ने सम्पत्ति मिति २०६८।३।२३ मा दिपेन्द्र कुमार ठकुरीलाई राजीनामा गरिदिएको लिखत बदर हुनुपर्ने हैन भन्‍ने प्रतिवादी नृप शमशेर ज.ब.रा. को तथा प्रतिवादी नृप शमशेर आफैँ स्वस्थ एवं सक्षम भएको र मैले देखेदेखि नै छोरा दिपक शमशेर र निज नृप शमशेर अलग अलग भान्सा गरी आ-आफ्नो कारोबार आफैँ गरी आएकाले निज नृप शमशेरले आफूखुस गर्न पाउने कि.नं. १०० को घर जग्गा हस्तान्तरण गरेको हुँदा बदर हुनुपर्ने हैन भन्‍ने प्रतिवादी केशवप्रसाद सुवेदी र निज नृप शमशेरको एकलौटी हक भोगको कसैलाई अंश दिन नपर्ने पालन पोषण गरी बसेका व्यक्तिलाई साक्षीसमेत राखी अड्डाबाट राजीनामा पारित गरी लिएको जग्गाको लिखत बदर हुनुपर्ने अवस्था छैन भन्नेसमेत बेहोराको दिपेन्द्रकुमार ठकुरीको छुट्टाछुट्टै प्रतिउत्तर जिकिरसमेत रहेको प्रस्तुत मुद्दामा वादी दाबी पुग्‍न नसक्ने भनी सुरू काठमाडौं जिल्ला अदालतबाट भएको फैसला नै सदर गरेको पुनरावेदन अदालत, पाटनको फैसलामा चित्त नबुझी मुद्दा दोहोर्‍याई पाउँ भनी वादीहरूबाट प्रस्तुत निवेदनपत्रमा मुद्दा दोहोर्‍याई हेर्न निस्सा प्रदान भई इजलाससमक्ष पेस हुन आएको देखियो । तत्सम्बन्धमा पुनरावेदन अदालत, पाटनको फैसला मिलेको छ, 

छैन ? पुनरावेदक / निवेदकको पुनरावेदन जिकिर पुग्‍ने नपुग्ने के हो ? सोही सम्बन्धमा निर्णय दिनुपर्ने    देखियो ।

२. निर्णयतर्फ विचार गर्दा, वादी दाबीको घरजग्गा राजीनामा गरिदिने प्रत्यर्थी प्रतिवादी नृप शमशेर ज.ब.रा. को पुनरावेदन वादी निता राणा बुहारी र पुनरावेदक वादी दिपाल शमशेर ज.ब.रा. नाति भएको कुरामा विवाद भएको देखिँदैन । पुनरावेदक वादीहरूको पति तथा पिता प्रतिवादी दिपक शमशेर ज.ब.रा. ले निजको पिता प्रतिवादी नृप शमशेर ज.ब.रा. बाट मिति २०३६।१२।२८ मा अंश छोडपत्रको लिखत गरिदिएको भन्‍ने देखिन्छ । सो लिखत बदर गरिपाउँ भनी यिनै वादीहरूले यिनै प्रतिवादीमध्येका नृप शमशेर ज.ब.रा. समेतलाई प्रतिवादी बनाई काठमाडौं जिल्ला अदालतमा दायर गरेको दे.नं. ३९-०६८-०३४८२ को लिखत बदर र फौ नं. ३९-०६८-०१९०९ को जालसाजी मुद्दाको साथै यिनै वादीहरूले प्रतिवादी नृप शमशेर ज.ब.रा. र दिपक शमशेर ज.ब.रा. उपर दे.नं. ३९-०६७-०५९८३ को अंश मुद्दा दायर गरेकोमा अंश मुद्दामा वादी प्रतिवादी सगोलमा बस्ने गरी अंश छोडपत्रको लिखतमा वादी दाबी कायम हुने गरी मिति २०६९।५।५ मा मिलापत्र गरेको र जालसाजी मुद्दा सोही मितिमा यी वादीहरूको अंश मुद्दामा मिलापत्र भएकाले प्रस्तुत मुद्दाको औचित्य समाप्‍त भई अ.बं. ९२ नं. अनुसार फिर्ता पाउँ भनी निवेदन दिई फिर्ता भएको मिसिल संलग्‍न प्रमाण मिसिलहरूबाट देखिन्छ ।

३. अंश मुद्दामा मिलापत्र हुँदा काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. ११ को कि.नं. १०१ को ज.रो. ०-१०-१ र सो मा बनेको घर वादी दिपाल शमशेर प्रतिवादीहरू नृप शमशेर र दिपक शमशेर तिनै जनाको नाउँमा संयुक्त दर्ता कायम गरी वादी दाबी र प्रतिउत्तर जिकिर छाडी छोडाई मिति २०६९।५।५ मा मिलापत्र भएको पाइन्छ । सो मिलापत्रको कागजबाट यी वादीहरूका ससुरा / बाजे नृप शमशेर र पति / पिता दिपक शमशेरका बीच भएको मिति २०३६।१२।२८ को अंश छोडपत्रको कागज अमान्य वा बदर भएको बेहोरा उल्लेख भने भएको देखिँदैन । अंश छोडपत्रको लिखतबाट प्राप्‍त धन सम्पत्ति आ-आफूले बिक्री वितरण गरी व्यवहार चलाएको कुरामा विवाद रहेको पनि देखिँदैन । मिति २०६९/५/५ को मिलापत्रबाट सगोलमा रहने भन्‍ने बेहोरासमेत उल्लेख छ । मिलापत्रपूर्व गरिएका व्यवहारलाई मिलापत्रले संकुचित गरेको भनी व्याख्या गर्न मिल्ने होइन । अंश छोडपत्र गरी आ-आफ्नो बिक्री व्यवहार गरिसकेपछि पनि अंशियारहरू पुनः सगोलमा बस्न सक्दछन् । सगोलमा बस्ने गरी मिलापत्र हुनुपूर्व आ-आफ्नो अंशहक आफूखुसी गर्न अंशियारहरूलाई कुनै कानूनले रोकेको देखिँदैन । पछि सगोलमा बस्ने गरी भएको मिलापत्रले उक्त मिलापत्रपूर्व गरिएको कारोबार व्यवहारलाई असर पर्ने गरी पश्‍चात्‌दर्शी प्रभाव पार्ने अवस्था रहँदैन । अघि गरेको बिक्री व्यवहारलाई सो मिलापत्रले निस्तेज पार्न सक्दैन । फिराद दायर गर्नु र मिलापत्र वा फैसलाबाट हक अधिकार स्थापित हुनु अलगअलग विषय हो । फिराद दायर गर्दासमेत पहिले भएको अंश छोडपत्रको लिखतको कानूनी मान्यता स्थापित नै रही रहेको र मिलापत्रबाट पनि सो छोडपत्रको लिखत अमान्य बदर हुने भन्‍ने बेहोरा देखिन नआएको स्थितिमा सो अंश छोडपत्रको लिखतबमोजिम प्रतिवादी नृप शमशेर ज.ब.रा. लाई प्राप्‍त अंश हक समाप्‍त भएको मान्‍न मिल्ने 

हुँदैन । आफूले प्राप्‍त अंशहक आफूखुस गर्न पाउने र वादीहरूको सहमति मन्जुरी लिनुपर्ने देखिएन ।

४. उक्त अंश मुद्दा र जालसाजी मुद्दाको मिलापत्रको रोहबाट अब सो मुद्दाका वादीहरूले यो विवादित लिखतको घर जग्गामा अंश हक रहने, पाउने अवस्था देखिन आएन परिणामतः कि.नं. १०० को विवादित घर जग्गा प्रतिवादी नृप शमशेरको अंश हकको भन्‍ने नै देखियो । मिति २०६८।३।२३ मा अंश मुद्दा दायर गरेको र सो अंश मुद्दा दायर गरेकै दिनमा प्रतिवादी नृप शमशेरले कि.नं. १०० को घर जग्गा राजीनामा पारित गरी हक हस्तान्तरण गरेको देखिन्छ । वादीका पति पिताले २०३६।१२।२८ मा गरिदिएको अंश छोडपत्रको लिखतबाट अलग भइरहेको तथ्य वादीहरूले स्वीकार गरी सो अंश छोडपत्र लिखतलाई जालसाजी भनी दिएको मुद्दा अ.बं. ९२ नं. बमोजिम फिर्ता लिइसकेको पनि देखिन्छ ।

५. अतः विवादको कि.नं. १०० को घरजग्गा प्रतिवादी नृप शमशेर ज.ब.रा. ले प्रतिवादी दिपेन्द्रकुमार ठकुरीलाई मिति २०६८।३।२३ मा राजीनामा गरिदिँदा यी वादीहरूको मन्जुरी लिनुपर्ने अवस्था नदेखिएको भनी वादी दाबीबमोजिम सो घर जग्गा राजीनामा गरेको लिखत बदर गर्नु नपर्ने गरी वादी दाबी पुग्‍न नसक्ने ठहर्‍याएको सुरू काठमाडौं जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत, पाटनको मिति २०७०।३।६ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक वादीको पुनरावेदन जिकिर पुग्‍न सक्दैन । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाइ दिनू ।

 

उक्त रायमा सहमत छु ।

न्या.डा. आनन्दमोहन भट्टराई

 

इजलास अधिकृत : नगेन्द्र केशरी पोखरेल

इति संवत् २०७४ साल श्रावण १५ गते रोज १ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु