निर्णय नं. १०१६१ - शेषपछिको बकसपत्र लिखत बदर
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री तेजबहादुर के.सी.
माननीय न्यायाधीश श्री बमकुमार श्रेष्ठ
फैसला मिति : २०७३।८
०७३-CI-१७७१
मुद्दाः शेषपछिको बकसपत्र लिखत बदर
निवेदक / वादी : कृष्णप्रसादको छोरा जिल्ला धनुषा रघुनाथपुर गा.वि.स. वडा नं.७ घर भई हाल काठमाडौं जिल्ला का.म.न.पा. वडा नं.११ त्रिपुरेश्वर बस्ने पुरूषोत्तम प्रसाद मानन्धर
विरूद्ध
प्रत्यर्थी / प्रतिवादी : स्व. कृष्णप्रसाद मानन्धरको छोरी बुद्धकृष्ण मानन्धरको श्रीमती काठमाडौं जिल्ला का.म.न.पा. वडा नं.२९ ठमेल बस्ने उमा मानन्धरसमेत
वृद्ध र बिरामी भई रोगले सिकिस्त भएका व्यक्तिले गरिदिएको सम्पत्तिको हक हस्तान्तरणको लिखतलाई त्यस्तो लिखत गर्नु पर्नाको कारणको पृष्ठभूमिसहितको परिस्थिति, कूल सम्पत्तिको अवस्था, उक्त सम्पत्तिसँग अंशियार एवं हकवालाको आवद्धता र संलग्नताको स्थिति, सम्पत्ति हस्तान्तरण गरिदिने व्यक्तिप्रति निजका अंशियार एवं हकवालाले पालन पोषण स्याहार सम्भार एवं उचित देखरेखसहितको उपचार र साथै मृत्युपर्यन्त सद्गत एवं काजक्रिया आदिको सम्बन्धमा गरेको जिम्मेवारी एवं कर्तव्यहरू, त्यसरी हक हस्तान्तरण गरेको सम्पत्तिलाई सोको भौतिक संरचना एवं प्रकृतिबाट दुवै पक्षले भोग एवं प्रयोग गर्नमा हुने सहजता र असहजता इत्यादिसमेतलाई मध्यनजर राखेर लिखत गरिदिने व्यक्तिको उमेर र स्वास्थ्यको अवस्थासँग जोडेर नै न्यायोचित रूपमा हेर्नुपर्ने ।
(प्रकरण नं.६)
निवेदक / वादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री हरिहर दाहाल र विद्वान् अधिवक्ता श्री प्रसन्न कृष्ण दास
प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री रामचन्द्र प्रसाद वर्णवाल र अधिवक्ता श्री स्वस्तिका दुलाल
अवलम्बित नजिर :
सम्बद्ध कानून :
सुरू तहमा फैसला गर्ने:
माननीय न्यायाधीश श्री नागेन्द्रलाल कर्ण
काठमाडौं जिल्ला अदालत
पुनरावेदन तहमा फैसला गर्ने:
माननीय न्यायाधीश श्री विनोद शर्मा
माननीय न्यायाधीश श्री थीरबहादुर कार्की
पुनरावेदन अदालत, पाटन
फैसला
न्या.तेजबहादुर के.सी.: न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ख) बमोजिम पुनरावेदनको रोहबाट पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छः-
बुबा कृष्णप्रसाद मानन्धर र आमा नारायणदेवी मानन्धरबाट एक छोरा म फिरादी पुरूषोत्तमप्रसाद मानन्धर र ४ जना छोरीहरू विपक्षीहरू उमा मानन्धर, रमा मानन्धर, निलिमा मानन्धर र शुष्माकुमारी मानन्धर गरी ५ जना सन्तानहरू छौं । दिदी बहिनीहरू ४ जनाको विवाह भइसकेको छ । बुबा कृष्णप्रसाद मानन्धरको २०३५ सालमा मृत्यु भएको हो । बुबाको मृत्युपछि म फिरादी र आमा नारायणदेवी मानन्धर गरी २ अंशियार अंशबन्डा भएको छैन । आमा नारायणदेवी मानन्धर क्यान्सरको बिरामी भएकाले हेरचाह स्याहार सुसार औषधी उपचारलगायतको छोराले गर्नुपर्ने कर्तव्य गरी आएकोमा आमा क्यान्सरको बिरामीको कारण मिति २०६८।९।१५ गते मृत्यु भयो । आमाको मृत्युपश्चात् आमाको नाममा रहेको सबै सम्पत्तिहरूमा सगोलको एक मात्र अंशियार म फिरादीको एकलौटी हक रहेको आमाका नाममा रहेको सम्पत्ति नामसारी गर्न भनी मृत्युदर्ता र नाता प्रमाणपत्र लिई मालपोत कार्यालय डिल्लीबजारमा जाँदा आमाको नामको काठमाडौं जिल्ला का.म.न.पा. वडा नं. ११ कि.नं. २२०१ को क्षे.फ.०–१–२–३ को घर जग्गा मिति २०६७।१२।१७ मा शेषपछिको बकसपत्रको लिखतबाट विपक्षीहरू उमा मानन्धर, रमा मानन्धर, निलिमा मानन्धर र शुष्मा मानन्धरको नाम उल्लेख गरी मिति २०६९।१।२० मा मालपोत कार्यालय डिल्लीबजारको निर्णयले नामसारी भई गएको कुरा मिति २०६९।५।८ मा नक्कल सारी हेर्दा थाहा जानकारी हुन आयो । मेरो छोरा पुरूषोत्तम मानन्धरले मेरो हेरचाह नगरी छोरीहरूले गरेको र मेरो शेषपछि पनि धार्मिक परम्पराअनुसार गर्नुपर्ने कर्तव्य पूरा गरी बाँकी रहेको सम्पत्ति तिमी छोरीहरूले खानु भनी मा.पो.का. चाबहिलबाट शेषपछिको बकसपत्र पारित भएको रहेछ । आमा नारायणदेवी मानन्धर क्यान्सरको बिरामी परी हेरचाह स्याहार सुसार औषधी उपचारलगायत सम्पूर्ण कार्य मैले नै गरेको थिएँ । उक्त सम्पत्ति हस्तान्तरण गर्दा शेषपछिको बकसपत्र अष्टलोह दिँदा म एकाघरको छोराको मन्जुरी लिनु पर्नेमा सो नगरी विपक्षीहरू मिलेमतोमा मिति २०६७।१२।१७ मा पारित लिनुदिनु गरेको शेषपछिको बकसपत्र लिखत बदर गरिपाउँ भन्नेसमेत बेहोराको फिरादपत्र ।
विपक्षी वादीले बुबा आमाको जीवनकालमा नै हेरचाह नगरी अलग भिन्न बसेको र बुबा कृष्णप्रसादको मृत्युपश्चात् आमालाई हेरचाह, औषधी उपचार केही नगरेकोले आमालाई हामी छोरीहरूले साथैमा लगी पालन पोषण गरी क्यान्सरजस्तो बिरामी परेकोले विभिन्न हस्पिटलहरूमा लगी औषधी उपचार गराउँदै आएका थियौं । यसै अवस्थामा आमाले आफू सवलै भएको अवस्थामा हामीलाई मालपोत कार्यालय चाबहिलमा लगी आफ्नो भागमा पर्ने जति सम्पत्ति मुलुकी ऐन, अंशबन्डाको महलको १९(४) नं. बमोजिम आफूखुसी गर्न पाउने सम्पत्ति मात्र शेषपछिको बकसपत्र लिखत पारित गरिदिनु भएको हो । आमालाई तत्काल पालन पोषण गरी रहेकी म जेठी छोरी उमा मानन्धरले उक्त शे.व.को लिखतमा आमाको संरक्षकमा बसी सहीछाप गरेको हुँ । हामीले आमाको औषधी उपचार एवं पालन पोषण र हेरचाह गरेको कागजहरू पेस गरेका छौं । आमाले आफूखुसी गर्न पाउने सम्पत्ति मात्र हामीलाई शे.व. गरी दिनु भएकोले विपक्षीको हक अधिकारमा कुनै आघात नपरेकोले उक्त लिखत बदर गर्नु नपर्ने हुँदा विपक्षीको फिराद दाबी खारेज गरिपाउँ भन्नेसमेत बेहोराको उमा मानन्धर, रमा मानन्धर, निलिमा मानन्धरसमेत जना ३ को संयुक्त प्रतिउत्तर पत्र ।
विपक्षी वादी निजको बुबा आमाको जीवनकालमा नै हेरचाह नगरी अलग भिन्न बसेको र बुबा कृष्णप्रसादको २०३५ साल मङ्सिरमा मृत्यु भएको थियो । सोपश्चात् पनि निजले आमालाई हेरचाह, औषधी उपचार केही नगरेकोले छोरीहरूले आमालाई साथैमा लगी पालन पोषण गरी विभिन्न अस्पतालहरूमा लगी औषधी उपचार गराउँदै आएका थियौं । आमाको मृत्युपछि निज छोरीहरूले नै दाहसंस्कार तथा काजक्रिया गरेका हुन् । नारायणदेवी मानन्धरले हामी लेखक तथा साक्षीहरूको रोहबरमा हामी आमा छोराबीच अंशबन्डा नभए पनि छोरा पुरूषोत्तमप्रसाद मानन्धर मसँग नबसी मेरो घर व्यवहारमा सहयोग नगरी अलग बसी आएको र म बिरामी र वृद्ध अवस्थामा औषधी उपचार र स्याहार सम्भार नगरी बेवास्ता गरी अलग बसी आएको र मेरो वृद्ध अवस्थामा तिमी छोरीहरू उमा, रमा, निलिमा र शुष्मा मानन्धरले म बाँचुन्जेल स्याहार, सम्भार, स्वास्थ्य उपचार गरेको र मेरो मृत्युपश्चात् पनि हाम्रो धार्मिक परम्पराअनुसार जे जे गर्नुपर्छ गर्नेछु भनी रिझाएबापत २ अंशियारमध्येको मेरो भागमा पर्ने आधा अंश खाए भनी हाम्रो रोहबरमा दुवैजनाको मन्जुरीमा नारायणदेवीले भनेबमोजिम लिखत तयार भई अड्डामा गई रेखात्मक तथा लेखात्मक हस्ताक्षर गरेपछि हामी लेखक तथा साक्षीले दस्तखत सहीछाप गरी दिएका थियौं । सो लिखत रजिस्ट्रेसन हुने समयमा मालपोत कार्यालयबाट पढी बाची सुनाउँदा मतलब परिणामसमेत बुझिसकेपछि सहीछाप गरेको र उक्त लिखत कार्यालयबाट प्रमाणितसमेत भएको हो । निज नारायणदेवीलाई ललाई फकाई उक्त लिखत पारित नगराएकाले उक्त लिखत बदर हुनुपर्ने होइन । सो लिखत गरेपछि छोरीहरूले निज नारायणदेवी बिरामी हुँदा विभिन्न अस्पतालमा लगी उपचार गराई निजको मृत्युपश्चात् पनि निजको सद्गत गरी काजक्रियासमेत गरेका छन् । सोहीबमोजिम पारित भएको लिखतको लिखत बदर हुनुपर्ने होइन । विपक्षीको झुठ्ठा फिराद अ.बं. १८० नं. बमोजिम खारेज गरिपाउँ भन्नेसमेत बेहोराको स्वयम्भुलाल मानन्धर र चन्द्रदेव मानन्धरसमेत जना २ को प्रतिउत्तर जिकिर ।
यसमा आजै फैसला भएको फौ.नं. २२९३ को मुद्दामा वादी दाबी नपुग्ने गरी फैसला भएको हुँदा सो फैसलासमेतको आधार प्रमाणबाट प्रस्तुत मुद्दामा समेत वादी दाबी नपुग्ने ठहर्छ भन्नेसमेत बेहोराको सुरू काठमाडौं जिल्ला अदालतको मिति २०७०/२/६ गतेको फैसला ।
प्रस्तुत मुद्दामा का.जि.अ.बाट कुनै पृथक निर्णयाधार अवलम्बन नगरी आज यसै लगाउको जालसाजी मुद्दामा भएको फैसलालाई मात्र उद्धृत गरी सो फैसलाको आधारमा प्रस्तुत मुद्दामा दाबी पुग्न नसक्ने ठहर हुँदा अति अन्यायमा परी लगाउको मुद्दाको पुनरावेदनपत्रमा सम्पूर्ण कुरा विवेचना गरिसकेको हुँदा सो पुनरावेदनलाई आधार मानी पाउन यो पुनरावेदन गरेको छु । अत: उपर्युक्तानुसार सुरू अदालतबाट सूक्ष्म अध्ययन र विश्लेषण नगरी भएको फैसला अ.बं. २४, ८३, १८४क, प्रमाण ऐनको दफा ३,५४ नं. दानबकसको महलको १, २ तथा स्त्री अंश धनको महलको १, २ नं. तथा ज.प. को १७ नं. समेतको प्रतिकूल भएको हुँदा सुरू काठमाडौं जिल्ला अदालतको फैसला उल्टी गरी वादी दाबी र पुनरावेदन जिकिरबमोजिम न्याय पाउँ भन्नेसमेत बेहोराको वादीको पुनरावेदन पत्र ।
यसमा आजै यसै इजलासबाट ०७०-CS-०२३७ जालसाजी मुद्दामा प्रत्यर्थी झिकाउने आदेश भएकोले प्रस्तुत मुद्दा पनि सो मुद्दासँग अन्तरप्रभावी हुँदा अ.बं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम प्रत्यर्थी झिकाई नियमानुसार पेस गर्नु भन्ने पुनरावेदन अदालत, पाटनको मिति २०७१/७/१३ गतेको आदेश ।
वादी दाबी पुग्न नसक्ने ठहर्याई सुरू काठमाडौं जिल्ला अदालतबाट मिति २०७०।२।६ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक वादीको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने बेहोराको पुनरावेदन अदालत, पाटनबाट मिति २०७२/०२/३२ मा भएको फैसला ।
निवेदक एकासगोलका अंशियारहरू बीचमा अंशबन्डा नभएको परिस्थितिमा ७२ वर्षको आमा क्यान्सरको बिरामी रहेको अवस्थामा सगोलको अंशियार निवेदक छोरालाई संरक्षक साक्षी राखी मात्र मुलुकी ऐन, २४ नं. बमोजिम म निवेदक एकासगोलको अंशियार हुँदाहुँदै पनि संरक्षक नराखी उमा मानन्धर स्वयं संरक्षक बसी निज उमा मानन्धरको घरमा गएको समयमा मिति २०६७।१२।१७ को शेषपछिको बकसपत्र दूषित भएकोले बदर भागी छ । स्व. आमा नारायणदेवी मानन्धरले आफ्नो स्वास्थ्य स्थिति र स्वच्छाले शेषपछिको बकसपत्र गरेको भए संरक्षकको आवश्यकता नै हुँदैन थियो । एकासगोलको नजिकको हकदार म निवेदक हुँ । यस तथ्यबाट आमाको संरक्षक म निवेदकबाहेक अन्य कोही व्यक्ति हुन सक्दैन । विवाहिता दिदीहरू आमाको संरक्षक हुन नसक्ने हुँदा वादी दाबी नपुग्ने गरी पुनरावेदन अदालत पाटनबाट भएको फैसला मुलुकी ऐन अ.ब.२४ नं. र ८३ नं. तथा दानबकसको १ र २ नं. व्यवस्था र ने.का.प. २०५१, अंक ८, पृष्ठ ६०२, नि.नं. ४९९४ मा प्रतिपादित सिद्धान्तको प्रतिकूल भएकोले उक्त फैसला उल्टी गरी फिराद दाबीबमोजिम न्याय पाउँ भन्ने बेहोराको पुनरावेदक वादी पुरूषोत्तमप्रसाद मानन्धरको दोहोर्याई पाउँ भन्ने निवेदन ।
यसमा यसै लगाउको ०७२-RI-०२६८ को शेषपछिको बकसपत्र लिखत बदर मुद्दामा मुद्दा दोहोर्याउने निस्सा प्रदान भएको र सोही मुद्दासँग प्रस्तुत मुद्दा अन्तरप्रभावी भएको हुँदा प्रस्तुत मुद्दामा समेत साबिक न्याय प्रशासन ऐन, २०४८ तथा न्याय प्रशासन ऐन, २०७३ को दफा १२ (१) (क) र (ख) अनुसार मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान गरिदिएको छ भन्ने यस अदालतको मिति २०७४।२।२५ को आदेश ।
बाबु कृष्णप्रसाद मानन्धर जीवित छँदैदेखि छोरा पुरूषोत्तमप्रसाद मानन्धर अलग बसी आएको र बाबु कृष्णप्रसाद मानन्धरको मृत्यु भएपछि बिरामी आमा नारायणदेवी मानन्धरको औषधी उपचार, स्याहार र घर व्यवहार चलाउनसमेत हामी छोरीहरूले आफ्नै खर्चबाट गरी आएकोमा आमा नारायणदेवी मानन्धर र छोरा पुरूषोत्तमप्रसाद मानन्धर २ जना मात्र अंशियारहरू भएकोमा सम्पूर्ण चल अचल घर जग्गा श्री सम्पत्तिमा २ भागको १ भाग आमा नारायणदेवी मानन्धरको अंश हक भाग भएको र चल अचल श्री सम्पत्ति घर मुलुकी ऐन, अंशबन्डाको महलको १९ (४) नं बमोजिम आफूखुस गर्न पाउने निजको अंश भाग सम्पत्ति मात्र हामी छोरीहरूलाई अष्टलोहसहितका शेषपछिको बकसपत्र गरिदिनुभएको हो । हामीले आमा नारायणदेवी मानन्धरलाई ललाई फकाई शेषपछिको बकसपत्र लिखित पारित गराएका होइनौं । आमा नारायणदेवी मानन्धर आफैँ मालपोत कार्यालय चाबहिल काठमाडौंमा हामीलाई लगी सम्पूर्ण सद्धे साँचो व्यवहारबाट उक्त शेषपछिको बकसपत्र रजिस्ट्रेसन पारित गरिदिनुभएको छ । हामी छोरीहरूलाई शेषपछिको बकसपत्र गरी दिनको लागि विपक्षी पुरूषोत्तमप्रसाद मानन्धरलाई अ. ब.२४ नं. ८३ नं. बमोजिम संरक्षक राख्नु पर्ने जरूरी छैन । निज आमा नारायणदेवी मानन्धरलाई औषधी उपचार पालन पोषण स्याहार सम्भारसमेत गरी आउने जेठी छोरी म उमा मानन्धरले आमालाई संरक्षण गरी आएको हुनाले नै उक्त शेषपछिको बकसपत्र लिखतमा आमाको संरक्षकमा सहीछाप गरेको हुँ । उक्त शेषपछिको बकसपत्र लिखत हामी प्रतिवादी उमा मानन्धर र रमा मानन्धर निलिमा मानन्धर र सुष्मा कुमारी मानन्धरले मात्रै आफ्नै खर्चबाट औषधी उपचारसमेत गरे गराएको ओम अस्पताल, गंगालाल अस्पताल र वि. एण्ड वि. अस्पतालको सक्कल प्रमाण कागजातहरू फोटोहरू पेस गरेका छौं । सक्कल प्रमाण कागजको अभावमा विपक्षी वादी पुरूषोत्तमप्रसाद मानन्धरको मौखिक भनाइ नै प्रमाणको रूपमा ग्रहण गर्न मिल्दैन । अतः पुनरावेदक अंशियार भए पनि आमा मुख्य भएको र आमाको पालनपोषण, औषधी उपचार र स्याहार सम्भार पुनरावेदकले नगरेकोले आमाले आफ्नो अंश हक भागको सम्पत्ति मात्र कानूनबमोजिम शेषपछिको बकस गरिदिएको हुँदा वादी दाबी नपुग्ने गरी सुरू जिल्ला अदालतबाट भएको फैसला सदर ठहर्याई भएको पुनरावेदन अदालतको फैसला सदर गरिपाउँ भन्ने प्रतिवादीहरूको सयुक्त लिखित प्रतिवाद ।
नियमबमोजिम दैनिक पेसी सूचीमा चढी पुनरावेदकका तर्फबाट उपस्थित हुनुभएका विद्वान् वरिष्ठ अधिवक्ता श्री हरिहर दाहाल र विद्वान् अधिवक्ता श्री प्रसन्न कृष्ण दासले पुनरावेदक पुरूषोत्तम मानन्धर र निजको आमा एकासगोलका दुई अंशियार मात्र रहेकोमा निजहरूबीच अंशबन्डा भएको छैन । आमाको हेरचार पालनपोषण स्वास्थ्य उपचार पुनरावेदकले नै गर्दै आएकोमा निजको मन्जुरीबेगर थाहा जानकारी नदिई प्रत्यर्थी विवाहिता दिदी बहिनीहरू वृद्ध आमाको संरक्षक साक्षी बसी शेषपछिको बकसपत्र लिखत पारित गरी लिनुदिनु गरेको कार्य मुलुकी ऐन, अंशबन्डा महलको १९(१), स्त्री अंशधनको १ र २ नं. तथा अ.बं. २४ नं. को व्यवस्थाविपरीत भएकोले उक्त लिखत बदर हुनुपर्नेमा वादी दाबी नपुग्ने गरी सुरू जिल्ला अदालतको फैसला सदर हुने ठहर्याई पुनरावेदन अदालतबाट भएको फैसला त्रूटिपूर्ण हुँदा उल्टी गरी इन्साफ पाउँ भनी गर्नुभएको बहससमेत सुनियो ।
प्रत्यर्थीहरूका तर्फबाट रहनु भएका विद्वान् वरिष्ठ अधिवक्ता श्री रामचन्द्रप्रसाद वर्णवाल र अधिवक्ता श्री स्वस्तिका दुलालले पुनरावेदक र आमा नारायणदेवी मानन्धर दुई अंशियारको रहेकोले दुई भाग अंशमध्ये आमा नारायणदेवी मानन्धरले मुलुकी ऐन, १९ (४) बमोजिम आफूखुस गर्न पाउने आफ्नो अंश भागमा पर्ने सम्पत्ति मात्र छोरीहरूलाई पालन पोषण औषधी उपचार गरेबापत चलअचल सम्पत्ति अष्टलोहसहितको शेषपछिको बकसपत्र पारित गरिदिनु भएको हो । पुनरावेदकको अंश भागमा पर्ने सम्पत्ति शेषपछिको बकसपत्र गरिदिएको होइन । उक्त लिखतलाई सदर कायम गरेको सुरू जिल्ला अदालतको फैसला सदर ठहर्याई भएको पुनरावेदन अदालत, पाटनको फैसला मिलेकै देखिँदा सदर गरिपाउँ भनी गर्नुभएको बहससमेत सुनियो ।
उपर्युक्त तथ्य र उल्लिखित बहस जिकिरसमेत सुनी र मिसिल संलग्न कागजातहरू अध्ययन गरी हेर्दा पुनरावेदन अदालत, पाटनबाट मिति २०७२।२।३२ मा भएको फैसला मिलेको छ वा छैन ? पुनरावेदकको जिकिर पुग्न सक्छ वा सक्दैन ? भन्ने विषयमा निर्णय दिनुपर्ने देखियो ।
२. निर्णयतर्फ विचार गर्दा, म पुनरावेदक र आमा नारायणदेवी मानन्धर दुई मात्र अंशियार रहेकोमा म छोराको मन्जुरी नलिई काठमाडौ जिल्ला का.म.न.पा. वडा नं.११ कि.नं.२२०१ को क्षे.फ.०-१-२-३ को घर जग्गा मालपोत कार्यालयको मिति २०६७।१२।१७ मा आमा नारायणदेवी मानन्धरले आफ्नो अंश भागजति सम्पत्ति विपक्षी छोरीहरूको उमा मानन्धर, रमा मानन्धर, निलिमा मानन्धर र शुष्माकुमारी मानन्धरलाई शेषपछिको बकसपत्र गरी दिएको र सोबमोजिम मालपोत कार्यालयको मिति २०६९।१।२० को निर्णयले प्रतिवादीहरूको नाउँमा नामसारी भएको कुरा मिति २०६९।५।८ मा जानकारी पाएकोले उक्त शेषपछिको बकसपत्रको लिखत बदर गरिपाउँ भन्ने फिरादको मुख्य दाबी रहेकोमा बाबु आमाको जीवनकालसम्म पुरूषोत्तम मानन्धरले अलग बसी आएको बाबुको मृत्युपछि आमालाई स्याहार सुसार औषधी उपचारसमेत नगरेकोले हामी छोरीहरूले आमाको स्याहार सुसार र औषधी उपचार गरी रिझाएबापत आमाको अंश भाग पर्ने सम्पत्ति मात्र नामसारी गरिलिएको हो । पुनरावेदकको अंश भाग दिएको नहुँदा उक्त शेषपछिको बकसपत्र लिखत बदर हुनुपर्ने होइन भन्ने प्रतिउत्तर जिकिर रहेको देखिन्छ । वादी दाबी नपुग्ने गरी सुरू काठमाडौं जिल्ला अदालतबाट मिति २०७०।२।६ मा फैसला भएको रहेछ । उक्त फैसलाउपर पुनरावेदन परी सुरू जिल्ला अदालतको फैसला सदर ठहर्याई पुनरावेदन अदालतबाट मिति २०७२।२।३२ मा भएको फैसलाउपर पुनरावेदक वादीको यस अदालतमा दोहोर्याई पाउँ भन्ने निवेदन परी दोहोर्याई हेर्ने अनुमति प्राप्त भई निर्णायार्थ पेस हुन आएको देखियो ।
३. प्रस्तुत मुद्दामा बाबु कृष्णप्रसाद मानन्धर र आमा नारायणदेवी मानन्धरको १ छोरा पुरूषोत्तम मानन्धर र ४ छोरीहरू उमा मानन्धर, सुष्मा कुमारी मानन्धर, निलिमा मानन्धर र रमा मानन्धर रहेको छन् । प्रतिवादीहरू दिदी बहिनीको विवाह भइसकेको छ । बाबु कृष्णप्रसाद मानन्धरको मृत्युपश्चात् आमा नारायणदेवी मानन्धर र छोरा पुरूषोत्तम मानन्धर दुई अंशियार मात्र रहेको देखिन्छ । आमा छोराबीचमा अंश बन्डा नभएको कुरा विवाद देखिँदैन ।
४. काठमाडौ जिल्ला का.म.न.पा. वडा नं. ११ कि.नं. २२०१ क्षे.फ. ०-१-२-३ को घर जग्गा आमा नारायणदेवी मानन्धरले आफ्नो अंश भागमा पर्ने जग्गा प्रतिवादी छोरीहरू उमा मानन्धर, रमा मानन्धर, सुष्माकुमारी मानन्धर र निलिमा मानन्धरलाई शेषपछिको बकसपत्र मिति २०६७।१२।१७ मा गरी दिएको मालपोत कार्यालय काठमाडौंको मिसिल संलग्न बकस पत्र लिखतबाट देखिन्छ । सोही लिखतको आधारमा यी प्रतिवादीहरूले आमा नारायणदेवीको मृत्युपश्चात् मालपोत कार्यालयको मिति २०६९।१।२० को निर्णयले का. जि. का. म. नं. पा. कि. नं. २२०१ क्षेत्रफल ०-१-२-३ को र.नं. ४८४० को घर जग्गा प्रतिवादीहरू उमा मानन्धर, रमा मानन्धर, सुष्मा कुमारी मानन्धर र निलिमा मानन्धरका नाममा नामसारी दर्ता भएको भन्ने जग्गाधनी प्रमाण पुर्जाबाट देखिन्छ । उल्लिखित तथ्यबाट आमा छोरा दुई अंशियार मात्र एकासगोलमा रहेका र निजहरू बीचमा अंशबन्डा भई नसकेको अवस्थामा आमाले आफ्नो अंश हकजति भनी शेषपछिको लिखत पारित गरी प्रतिवादी विवाहिताहरूलाई दिएको देखियो ।
५. उपर्युक्त सन्दर्भमा उपर्युक्त दाबी र प्रतिवादमा जिकिरमा लिइएका कानूनी व्यवस्थाहरू हेर्दा मुलुकी ऐन स्त्री अंश धनको महलको १ नं.मा "कन्या सधवा वा विधवा स्वास्नी मानिसले आफ्नो आर्जनको चल अचल आफ्नो खुस गर्न पाउँछन्” भन्ने ऐ.ऐ. को २ नं. मा "भिन्न भएको कन्या, सधवा वा विधवाले आफ्नो अंश हकको अचल सम्पत्ति आफूखुस गर्न पाउँछन्" भन्ने र दानबकसको महलको १ नं. मा "आफ्नो हक पुग्ने सम्पत्ति दान वा बकस गरी दिन हुन्छ । आफ्नो खुस गर्न पाउनेबाहेक अरूमा अंशियार र हक पुग्नेहरूको मन्जुरीको लिखत नलिई वा साक्षी नराखी दानबकस गरिदिन हुँदैन" भन्ने व्यवस्था रहेको छ । यसैगरी प्रतिवादीहरूले आफ्नो प्रतिवादमा जिकिर लिएको मुलुकी ऐन, अंशबन्डाको महलको १९ (४) नं. मा "आफूखुस गर्न नपाउने अवस्थामा पनि आफ्नो हकको अंश हक जति भने आफूखुस गर्न पाउँछ" भन्ने व्यवस्था रहेको छ । स्व. नारायणदेवीले मिति २०६७।१२।१७ मा प्रतिवादी छोरीहरूलाई गरिदिएको शेषपछिको बकसपत्रको लिखतलाई उपर्युक्त कानूनी व्यवस्थाको सन्दर्भमा प्रस्तुत विवादसँग जोडेर हेर्दा, उक्त लिखत गर्दा, संरक्षक वा हकवालाको मन्जुरी हुन वा निजहरू लिखतको रोहबरमा हुन आवश्यक पर्ने नपर्ने ? एवं त्यस्तो लिखत गर्दा, संरक्षक को हुने ? हेर्दा, प्रथमतः मृतक वादी प्रतिवादीहरूकी आमा नारायणदेवी मानन्धर क्यान्सरको बिरामी भएकोले मिति २०६७।१२।१७ को शेषपछिको बकसपत्रको लिखतमा संरक्षकको रूपमा बकसको लिखत लिने नारायणदेवीको जेठी छोरी रहेकी छन् । आमा र म वादी छोराबीच अंशबन्डा भएको छैन, हामी एकासगोलमा छौं । आमाको स्याहार सम्भार र रेखदेख मैले गरेको छु । अतः आमाको संरक्षक आमासँग नै एकासगोलमा बसेको एक मात्र छोरा म वादी भएकोले मेरो मन्जुरी एवं रोहबरविना भएको उक्त लिखत कानूनविपरीत रहेको भन्ने वादीको दाबी रहेको छ । सो सन्दर्भमा हेर्दा बुबा स्व. कृष्णप्रसाद मानन्धर र आमा स्व. नारायणदेवी मानन्धरका एक मात्र छोरा यी वादी रहेका र निजहरूबीच अंशबन्डा भएको अवस्था छैन । प्रतिवादी ४ छोरीहरू सबैको विवाह भइसकेको अवस्था छ । आमा नारायणदेवी क्यान्सरको बिरामी भएकी र निजको उपचारमा वादी छोरा र प्रतिवादी छोरीहरू कम बेसी दुवैजना संलग्न रहेको अवस्था देखिन आउँछ भने मृत्युपश्चात्को दाहसंस्कार र काज क्रियाको कार्य धार्मिक आफ्ना रीतिथितिअनुसार यी वादीले गरेको अवस्था मिसिल संलग्न पेस भएका चिकित्सकीय परीक्षणका कागज एवं फोटो प्रमाणहरूबाट देखिन आउँछ । उक्त लिखत गर्दाको अवस्थामा मृतक आमा नारायणदेवीको उमेर ७२ वर्ष र क्यान्सरजस्तो कडा एवं गम्भीर रोगबाट ग्रस्त रहेकी छिन् । प्रस्तुत लिखतबाट सम्पत्ति प्राप्त गर्ने व्यक्ति दाताकी छोरीहरू रहेका छन् । यी वादीले आमा स्व.नारायणदेवी मानन्धरलाई हेरचाह स्याहार सम्भार र उपचारसमेत नगरी निज आमा आफ्ना विवाहित छोरीहरूकहाँ गई बसेकाले यी वादी स्व. नारायणदेवीको संरक्षक हुन सक्दैन भन्ने प्रतिवादीहरू जिकिर रहेको छ । मृतक आमा नारायणदेवी र वादी छोरा एकातर्फ एकासगोलमा रहेका र निजहरूबीच अंशबन्डा नभएको अवस्थामा स्व.नारायणदेवीको संरक्षक कानूनतः एकासगोलमा बसेका छोरा यी वादी नै हुने अवस्थालाई विवाद गरिरहनु पर्ने देखिन आउँदैन । प्रतिवादी छोरीहरू एकातर्फ विवाहित छन् भने अर्कोतर्फ शेषपछिको बकसपत्र लिखतबाट सम्पत्ति प्राप्त गर्ने व्यक्ति नै छोरीहरू भएको अवस्थाले दाताबाट सम्पत्ति प्राप्त गर्ने व्यक्तिलाई नै दाताको कानूनी संरक्षक हुन्छ भनेर भन्न सिद्धान्त एवं कानूनी आधारबाट पनि मिल्दैन ।
६. मुलुकी ऐन अ.बं. को २४ नं. मा "........ उमेर पुगेका भए पनि कुनै किसिको रोगले होस ठेगानमा नभएका वा बौलाएका मानिससमेतको कागज लिन वा गराउनु पर्दा उसको संरक्षक वा हकवाला नराखी कुनै कागज गराउनु हुँदैन........" भन्ने व्यवस्थाले अति वृद्ध अवस्था र सिकिस्त बिरामी भएका व्यक्तिको कागज गराउँदा पनि यो नं. बमोजिम कागज गरिदिने व्यक्तिको संरक्षक वा हकवालाको रोहबरमा गराउनुपर्ने
हुन्छ । अदालती बन्दोबस्तको महलको २४ नं. को उक्त व्यवस्था आफ्नो अंश हक र आफूखुस गर्न पाउने सम्पत्तिसँग प्रत्यक्ष रूपमा जोडिएको हुँदा कानूनका ती प्रावधानहरूसँग अ.बं. २४ नं. को व्यवस्थालाई पनि जोडेर सँगसँगै हेरिनु पर्ने हुन्छ । अंशबन्डाको १९ (४) नं. मा "आफूखुस गर्न नपाउने अवस्थामा पनि आफ्नो हकको अंशजति भने आफूखुस गर्न पाउँछ" भन्ने व्यवस्था रहेको छ । यसैगरी स्त्री अंशधनको २ नं. ले "भिन्न भएको कन्या, सधवा वा विधवाले आफ्नो अंश हकको चल अचल सम्पत्ति आफूखुसी गर्न पाउँछन्" भन्ने र साथै दान बकसको महलको १ नं. मा "आफ्नो हक पुग्ने सम्पत्ति दान वा बकस गरिदिन हुन्छ । आफ्नो खुस गर्न पाउनेबाहेक अरूमा अंशियार र हक पुग्नेहरूको मन्जुरीको लिखत नलिई वा साक्षी नराखी दान बकस गरिदिन हुँदैन" भन्ने व्यवस्था रहेका
छन् । स्त्री अंशको २ नं. ले "भिन्न नभई सगोलमा रहेको कन्या, सधवा वा विधवाले आफ्नो हक र आफूखुस गर्न पाउने सम्पत्तिजति निर्विवाद रूपले हक हस्तान्तरण गर्न नपाउने जस्तो आशय बुझिने गरी अर्थ लाग्ने भए पनि प्रथमतः आफ्नो अंश हकजति र आफूखुस गर्न पाउने सम्पत्तिलाई कुनै पनि प्रकारले हक हस्तान्तरण गर्न कुनै कानूनी बन्देज रहे भएको भनी बुझ्न हुँदैन" । उपर्युक्त सम्बन्धमा वृद्ध र बिरामी भई रोगले सिकिस्त भएका व्यक्तिले गरिदिएको सम्पत्तिको हक हस्तान्तरणको लिखतलाई त्यस्तो लिखत गर्नु पर्नाको कारणको पृष्ठभूमिसहितको परिस्थिति, कूल सम्पत्तिको अवस्था, उक्त सम्पत्तिसँग अंशियार एवं हकवालाको आबद्धता र संलग्नताको स्थिति, सम्पत्ति हस्तान्तरण गरिदिने व्यक्तिप्रति निजका अंशियार एवं हकवालाले पालन, पोषण, स्याहार, सम्भार एवं उचित देखरेखसहितको उपचार र साथै मृत्युपर्यन्त सद्गत एवं काजक्रिया आदिको सम्बन्धमा गरेको जिम्मेवारी एवं कर्तव्यहरू, त्यसरी हक हस्तान्तरण गरेको सम्पत्तिलाई सोको भौतिक संरचना एवं प्रकृतिबाट दुवै पक्षले भोग एवं प्रयोग गर्नमा हुने सहजता र असहजता इत्यादिसमेतलाई मध्यनजर राखेर लिखत गरिदिने व्यक्तिको उमेर र स्वास्थ्यको अवस्थासँग जोडेर नै न्यायोचित रूपमा हेर्नुपर्ने हुन्छ ।
७. अंशबन्डाको महलको १९ (४) नं. ले "आफ्नो हकको अंशजति आफूखुस गर्न पाउने र दान बकसको १ नं. बमोजिम "आफ्नो हक पुग्ने सम्पत्ति दान वा बकस गरिदिन हुन्छ" भन्ने कानूनी व्यवस्थालाई हक हस्तान्तरण गरिदिने व्यक्तिको उमेर र स्वास्थ्यको अवस्थासँग सम्बन्धित रहेको अदालती बन्दोबस्तको महलको २४ नं. को व्यवस्थासँग जोडेर नै हेर्नु पर्ने हुन्छ । यसरी हेर्दा आमा नारायणदेवी अति वृद्ध र रोगले सिकिस्त भएको कारणले निज पूर्ण रूपले होस र सचेत अवस्थामा रही रहने स्वस्थ अवस्थाकी नदेखिँदा निजले अंशबन्डाको महलको १९ (४) नं. र दानबकस महलको १ नं. बमोजिम आफ्नो अंश हक पुग्ने सम्पत्ति भए पनि त्यस्तो सम्पत्ति निर्वाध रूपले जुनसुकै तवरले हक हस्तान्तरण गर्न उनी स्वच्छन्द रूपले स्वतन्त्र रहे भएको देखिन्नन् । त्यस्ता अवस्थाका व्यक्तिले आफ्नो अंश हकको आफूखुस गर्न पाउने सम्पत्ति नै भए पनि जुनसुकै तवरले हक हस्तान्तरण गर्दाको समयमा मुलुकी ऐन अदालती बन्दोबस्तको महल २४ नं. बमोजिम संरक्षक वा हकवाला भने रोहबर वा साक्षीमा राख्नु पर्ने हुन्छ ।
८. अब विवादित मिति २०६७।१२।१७ को शेषपछिको बकसपत्रको लिखतलाई उपर्युक्त कानूनी व्यवस्थाको सन्दर्भमा हेर्दा, आमा दाता नारायणदेवीले का.म.न.पा. ११ को कि.नं. २२०१ को क्षेत्रफल ०-१-२-३ जग्गा र सोमा बनेको एककोठे घर शेषपछिको बकसपत्रद्वारा हक हस्तान्तरण गरी छोरीहरूलाई दिएकी र उक्त घरजग्गा आफ्नै पालामा बाबु कृष्णप्रसाद मानन्धरले जोडेको देखिन्छ । वादी छोरा पुरूषोत्तम मानन्धर र स्व. आमा नारायणदेवीबीच अंशबन्डा भएको अवस्थासमेत छैन । आफ्नै पालामा आर्जेको र वादीसँग अंश बन्डासमेत नभएको अवस्थाले उक्त जग्गा घरको आधा भागमा नारायणदेवीको समेत अंश हक लाग्नेमा कुनै विवाद देखिन्न । यस्तो सम्पत्ति अंश बन्डाको महलको १९ (४) एवं दानबकसको महलको १ नं. अनुसार आफूखुस गर्न वा प्रस्तुत लिखत गरिदिएजस्तो अष्टलोहको रूपमा दानबकससमेत गर्न नपाउने भन्ने हुँदैन ।
९. उपर्युक्त कानूनी व्यवस्था एवं तथ्यको पृष्ठभूमिमा उक्त विवादित लिखतको सम्बन्धमा विचार गर्दा स्व. आमा नारायणदेवी मानन्धरले मिति २०६७।१२।१७ मा र. न. ४८४० बाट ४ छोरीहरूलाई गरिदिएको बकसपत्रको लिखतमा उक्त कि.नं. २२०१ को क्षे. फ. ०-१-२-३ को जग्गा र सोमा बनेको एककोठे घरमा निज र छोरा यी वादी पुरूषोत्तमसमेत दुई अंशियार मात्र बस्दै आएका र हालसम्म निजहरू बीच रीतपूर्वक बन्डा नभएकोमा उक्त सम्पत्तिमा दुवैजना बराबरी अंशको हकदार भएका हुँदा एकातर्फ उक्त लिखतको आधा घर जग्गा स्व. नारायणदेवीले अंशबन्डाको १९ (४) नं. बमोजिम आफूखुस गर्न पाउने नै हुँदा उक्त कानूनी आधारमा आधा सम्पत्ति निजले बकस दिन पाउने नै देखिन आउँछ भने अर्कोतर्फ आमा नारायणदेवी लिखत गर्ने समयमा ७२ वर्षकी रहेकी र निज क्यान्सरजस्तो कडा रोगले सिथिल भएकी अवस्थामा समेत देखिन्छिन् । पेस भएका मिसिलमा संलग्न रहेका फोटो र उपचारका चिकित्सकीय कागजातहरूबाट यी वादीसमेत आमा बाचुन्जेल निजको उपचार र मरेपछि सद्गत एवं काजक्रियाको कार्यमा संलग्न रहेको देखिन्छन् । यस्तो अवस्थामा नारायणदेवीका एक मात्र छोरा यी वादी सगोलमा रहेका हुँदा निज नै नजिकको कानूनी संरक्षकबाहेक अन्य अर्थात् विवाहित छोरीहरू हुन सक्ने देखिँदैन । आमा नारायणदेवीको उमेर, रोगको प्रकृति र सोको कारणले निजको कमजोर स्वास्थ्यको स्थिति एवं वादी छोरा पनि आमा नारायणदेवीको उचित रेखदेख, स्याहार सम्भार एवं उपचारको कार्यमा संलग्न रहेको पृष्ठभूमिमा नारायणदेवीले उक्त शेषपछिको बकसपत्रको लिखत गरिदिँदा एकासगोलका एक मात्र छोरा यी वादीलाई पनि अ.बं. २४ नं. बमोजिम संरक्षकको रूपमा साक्षी राखेको भए कानूनी रूपमा बढी उपयुक्त हुने देखिन
जान्थ्यो । नारायणदेवीले उक्त लिखत गरिदिँदा सो हदसम्मको कानूनी प्रक्रिया अपनाएर पूरा गरेको पाइँदैन । साथै अर्कोतर्फ आमा नारायणदेवीको उपचारको प्रक्रियाको कार्यमा छोरा यी वादीसमेत संलग्न हुनुको साथै आमा स्वर्गे भएपछि उनीको चितामा दागबत्ति दिने, काजक्रिया गर्ने र क्रिया बस्ने कार्य यी वादीबाट नै भएको मिसिल संलग्न रहेको फोटोबाट प्रस्ट हुन आउँछ । यसको साथै आमा नारायणदेवीले छोरीहरूलाई आफ्नो हकजति शेषपछिको बकसपत्र गरिदिएको घर अति कम क्षेत्रफलको जग्गा ०-१-२-३ मा एककोठेको संरचनामा बनेको देखिन्छ । यस्तो घरमा एउटै नाता र परिवारभित्रका भए पनि मुद्दा गरेका दुवै पक्ष एउटै भर्याङको बाटो प्रयोग गरी जाने आउने गरी शान्तिपूर्वक बस्नसमेत सक्ने अवस्था हुँदैन । प्रतिउत्तर लेखको आधारबाट पैतृक सम्पत्तिको रूपमा मधेसतिर अझ पनि केही सम्पत्ति बाँकी रहेको
देखिन्छ । ती सम्पत्ति जग्गाहरूको सम्बन्धमा पनि नालेस परेका बखतमा कानूनबमोजिम हुने अवस्था बाँकी नै रही रहेको देखिन्छ । वादीकी आमा स्व. नारायणदेवीले आफूखुस गर्न पाउने आफ्नो अंश हकजतिको सम्पत्ति विवाहिता छोरीहरूलाई शेषपछिको बकसपत्र गरी दिए पनि उक्त लिखत गर्दाको समयमा निजको उमेर ७२ वर्षको वृद्ध रहेको र त्यसमा पनि निज क्यान्सरजस्तो अति कडा रोगले ग्रस्त र सिकिस्त भएको अवस्थामा सगोलका एक मात्र छोरा यी वादी निजको औषधी उपचारको कार्यमा संलग्न हुँदाहुँदै पनि उक्त लिखत गर्दा संरक्षकको रूपमा निज छोरा यी वादीलाई साक्षीसमेत नराखी वादीसमेत सँगै बस्दै आएको एककोठे एउटै मात्र निकास भएको घर जग्गा बकस गरिदिने कार्यलाई कानून एवं न्यायसम्मत मान्न मिल्ने देखिन आउँदैन । आमा नारायणदेवी मानन्धरले आफ्नो अंश हकजति आफूखुस गर्न पाउने सम्पत्ति भनी मुलुकी ऐन, अदालती बन्दोबस्त महलको २४ नं. बमोजिमको प्रक्रिया पूरा नगरी विवाहिता छोरीहरूलाई शेषपछिको बकसपत्र पारित गरी दिएको कार्य मुलुकी ऐन, अंशबन्डाको १९ (४), दान बकसको १ नं. र स्त्री अंशधनको २ नं. को विपरीत भएकोले उक्त लिखतले कानूनी मान्यता प्राप्त गर्ने बलियो आधार भएको नदेखिँदा उल्लिखित कि.नं. २२०१ को घर जग्गामा प्रतिवादी छोरीहरूलाई कानूनी हक प्राप्त हुन सक्दैन । अबः कि.नं. २२०१ को घर जग्गाको सम्बन्धमा मिति २०६७।१२।१७ मा पारित गरिदिएको शेषपछिको बकसपत्रको लिखत बदर हुने देखिन आयो ।
१०. अतः माथि विवेचित आधार र कारणबाट वादी दाबी पुग्न नसक्ने ठहर्याई सुरू काठमाडौं जिल्ला अदालतबाट मिति २०७०।२।६ मा भएको फैसला सदर हुने ठहर्याई पुनरावेदन अदालत, पाटनबाट मिति २०७२।२।३२ मा भएको फैसला मिलेको नदेखिँदा सो उल्टी भई वादी दाबीबमोजिम स्व. आमा नारायणदेवी मानन्धरले प्रतिवादी छोरीहरू उमा मानन्धर, रमा मानन्धर, सुष्माकुमारी मानन्धर र निलिमा मानन्धरलाई मिति २०६७।१२।१७ गते पारित गरिदिएको कि.नं. २२०१ को घर जग्गाको शेषपछिको बकस पत्रको लिखत बदर हुने ठहर्छ । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी अभिलेख शाखामा बुझाई दिनू ।
उक्त रायमा सहमत छु ।
न्या. बमकुमार श्रेष्ठ
इजलास अधिकृत: मनकुमारी जि.एम. वि.क.
इति संवत् २०७३ साल मङ्सिर ७ गते रोज ३ शुभम् ।