शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १०१६८ - करार भंग गरेकाले मेरो सम्पत्ति फिर्ता दिलाई क्षतिपूर्तिसमेत दिलाई पाऊँ

भाग: ६१ साल: २०७६ महिना: बैशाख अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा. 

माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा 

फैसला मिति : २०७५।८।१७

०६८-CI-०४४६

 

मुद्दाः करार भंग गरेकाले मेरो सम्पत्ति फिर्ता दिलाई क्षतिपूर्तिसमेत दिलाई पाऊँ

 

पुनरावेदक / वादी : सिराहा जिल्ला, रामनगर मिर्चैया गा.वि.स.वडा नं.४ बस्ने अरूणशंकर साह

विरूद्ध

विपक्षी / प्रतिवादी : सिराहा जिल्ला स्थित नेपाल बैंक लिमिटेड शाखा कार्यालय, लाहानसमेत

 

बैंकमा कुनै सम्पत्ति (चल / अचल) धितो राखी कर्जा / ऋण लिँदा बैंक र व्यक्तिबीच गरिएको सर्तनामा र तमसुकमा उल्लिखित सावाँ रूपैयाँको ब्याज चुक्ता गर्नेबारे समय सीमा निर्धारण गरी सर्त बन्देज तोकिएको हुन्छ र सो सर्तबमोजिम सावाँ ब्याज चुक्ता भएपछि मात्र बैंकमा धितो राखिएको सम्पत्ति फिर्ता हुने ।

(प्रकरण नं.४)

धितो फिर्ता नगर्ने वा फिर्ता गर्न असमर्थ पक्षबाट करार पालन नभएको आधारमा धितो फिर्ता पाउने अधिकार भएको पक्षले हानि नोक्सानी भराई लिन पाउने नै हुन्छ । यस्तो हानि नोक्सानी वास्तविक हुनु पर्ने र वास्तविक हानि नोक्सानीका लागि बजार मूल्य नै सर्वोत्तम मूल्याङ्कनको आधार हुन सक्ने । 

(प्रकरण नं.८)

 

पुनरावेदक / वादीका तर्फबाट : विद्वान्‌ अधिवक्ता श्री राजु कटुवाल

विपक्षी / प्रतिवादीका तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ता श्री कुमार रेग्मी

अवलम्बित नजिर :

सम्बद्ध कानून :

 

सुरू तहमा फैसला गर्नेः

मा. जिल्ला न्यायाधीश श्री भुपेन्द्रप्रसाद राई

सिराहा जिल्ला अदालत

पुनरावेदन तहमा फैसला गर्नेः

मा. मुख्य न्या. श्री अली अकवर मिकरानी

माननीय न्यायाधीश श्री तेजबहादुर के.सी.

पुनरावेदन अदालत राजविराज

 

फैसला

न्या. अनिलकुमार सिन्हा : साबिक न्याय प्रशासन ऐन, २०४८ हाल न्याय प्रशासन ऐन, २०७३ को दफा १२(१)(क) बमोजिम यस अदालतमा पर्न आएको निवेदनमा दोहोर्‍याई हेर्ने अनुमति प्रदान भई पुनरावेदनको रोहमा दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः

मैले विपक्षी नेपाल बैंक लिमिटेड लाहान शाखा सिराहासँग देहायबमोजिमको सुनचाँदीको गहना धितो राखी देहायका मितिहरूमा देहायबमोजिमको रकम कर्जा लिएको थिएँ ।

(क) सामाज वा वस्तुको नामः सुनको गरगहना

ऋणीको नाम कर्जा लिएको रकम कर्जा लिएको मिति कर्जा नं.

अरूणशंकर साह रू.६,१००।- २०५८।१०।११ ६४।७४२

अरूणशंकर साह रू.९,२००।- २०५९।१।४ ६५।०९

अरूणशंकर साह रू.६,५००।- १।१६ ६५।४८

अरूणशंकर साह रू.८,४००।- २।१५ ६५।१६९

अरूणशंकर साह रू.७,९००।- २।१६ ६५।१७६

अरूणशंकर साह रू.१५,९००।- २।२१ ६५।२२९

अरूणशंकर साह रू.१३,६००।- ३।५ ६५।३२३

अरूणशंकर साह रू.८,६००।- ४।६ ६।४०७

अरूणशंकर साह रू.१५,१००।- ४।१२ ६५।४३१

अरूणशंकर साह रू.७,५००।- ४।२६ ६५।५०१

अरूणशंकर साह रू.२३,६००।- ५।२ ६५।५६५

अरूणशंकर साह रू.१२,६००।- ५।१७ ६५।६९१

अरूणशंकर साह रू.१०,५००।- ५।१९ ६५।७०८

अरूणशंकर साह रू.८,८००।- ६।७ ६५।८४७

अरूणशंकर साह रू.२०,०००।- ६।१५ ६५।८८८

अरूणशंकर साह रू.२२,७००।- ७।८ ६५।९६८

अरूणशंकर साह रू.१०,०००।- ७।११ ६५।९८४

अरूणशंकर साह रू.११,८००।- ८।१७ ६५।११८६

अरूणशंकर साह रू.१२,७००।- ८।१८ ६५।११९१

 

 

(ख) सामान वा वस्तुको नामः चाँदी

अरूणशंकर साह रू.४,४००।- २०५८।१२।१ ६४।८५३

अरूणशंकर साह रू.४,४००।- १२।१५ ६४।९३२

अरूणशंकर साह रू.४,७००।- २०५९।१।१६ ६४।४७

अरूणशंकर साह रू.८,१००।- २।१४ ६५।१६३

अरूणशंकर साह रू.१२,३००।- २।२१ ६५।२१८

अरूणशंकर साह रू.५,६००।- २।३० ६५।२९२

अरूणशंकर साह रू.१०,०००।- ४।५ ६५।३९७

अरूणशंकर साह रू.१०,५००।- ४।१९ ६५।४५७

अरूणशंकर साह रू.४,४००।- ४।२६ ६५।५०२

अरूणशंकर साह रू.१०,५००।- ५।२ ६५।५६४

अरूणशंकर साह रू.५,६००।- ५।४ ६५।५८९

अरूणशंकर साह रू.१०,०००।- ५।१७ ६५।६९२

अरूणशंकर साह रू.१२,६००।- ५।२५ ६५।७६२

अरूणशंकर साह रू.१२,६००।- ६।३ ६५।८१५

अरूणशंकर साह रू.१४,७००।- ६।७ ६५।८४८

अरूणशंकर साह रू.१६,८००।- ६।१५ ६५।८८७

अरूणशंकर साह रू.११,२००।- ७।८ ६५।९६७

अरूणशंकर साह रू.१०,५००।- ७।११ ६५।९८५

अरूणशंकर साह रू.११,९००।- ८।१५ ६५।११७७

अरूणशंकर साह रू.१०,५००।- ८।१७ ६५।११८५

 

 

कर्जाको ब्याज चुक्ता गर्नुभन्दा पहिले मिति २०५९।८।१८ मा अन्दाजी राति ११:१२ बजेको समयमा सशस्त्र माओवादी विपक्षी नेपाल बैंक लिमिटेड लाहान शाखा सिराहाको कार्यालयमा हमला गरी बैंकको नगद र गरगहनासमेत लुटेर लगेछन् । मैले राखेको गहनासमेत लुटियो भने बैंकको कर्मचारीबाट सुनेपछि ब्याज चुक्ता गर्न जाँदा नेपाल बैंक लिमिटेड केन्‍द्रीय कार्यालयको सार्वजनिक सूचनाअनुसार बैंकमा राखेको धितो कर्जा लिँदाको बखत तमसुकमा कायम भएको मोल बराबरको रकम मात्र पाउने कर्जाको सावाँ ब्याज कट्टा गर्न निर्देशन भएको छ भनी भनिएको रहेछ । राष्ट्रिय वाणिज्य बैंक लाहान शाखाले सुन र चाँदीको प्रचलित दरमा सुन र चाँदीको मूल्य नदिने भनी मलाई तमसुकमा त्यसबेला तोकिएको मूल्यको हिसाबले ब्याज कटाई मूल्य निर्धारण गर्ने नीति भएकोले सोहीअनुसार भुक्तानी लिन आउने भनी पठाएको पत्रको फोटोकपी र बैंकसँग भएको मेरो करार भंग गरेकोले करार ऐन, २०५६ को दफा ८९ को (२) र (घ) तथा लेनदेन व्यवहारको ४० नं.को म्यादभित्रै फिराद गरेको छु । करार ऐन, २०५६ को दफा ३५, ३६ र ८२ अनुसार विपक्षीलाई करारको दायित्व बहन नगरेको हुँदा उक्त ऐनको दफा ८३ अनुसार देहायबमोजिम विपक्षीबाट सुनचाँदी र हर्जानासमेत दिलाई भराई पाऊँ । सुन चाँदी नदिए भरी भराउको दिनमा बजार भाउले हुने सुनचाँदीको मूल्य दिलाई भराई पाउँ र करार ऐन, २०५६ को दफा ८२(२)(क) बमोजिम करार भंग भएको मितिदेखिको ब्याज विपक्षीले असुलउपर गर्न नपाउने गरी माथि उल्लिखित मैले धितो राखेको ५३४ ग्राम सुन र २९ किलो १५० ग्राम चाँदी दिए सोही सुन र चाँदी नदिए सुन प्रतिग्राम रू.१०६७।५० ले ५३४ ग्राम सुनको हुने मूल्य रू.५,७०,०४५।– र चाँदी प्रतिग्राम रू.१९।६० पैसाले २९ किलो १५० ग्राम चाँदीको हुने मूल्य रू.५,७१,३४०।– सुनको ज्याला प्रतिग्राम रू.४०।– ले हुने रू.२१,३६०।–, चाँदीको ज्याला प्रतिग्राम रू.५०।– पैसाको दरले हुने रू.१४,५७५।-, सुनको जर्तिको हुने रू.२८,७२९।– मुद्दा गर्दा भएको खर्च रू.१०,०००।– समेत जम्मा क्षतिपूर्ति रू.१२,१६,०४९।– मध्ये विपक्षी नेपाल बैंक लिमिटेडसँग लिएको कर्जा रू.४,२२,८००।– कट्टा गरी बाँकी क्षतिपूर्ति हुने रू.७,९३,२४९।– क्षतिपूर्ति र करार विपक्षीहरूको भंग गरेकोले करार भङ्ग गरेको मितिदेखिको ब्याज विपक्षीले असुलउपर गर्न नपाउने गरी, भरी भराउको दिनमा बजार भाउले हुने सुनचाँदीको मूल्य दिलाई भराई पाउँ र मैले बुझाएको कोर्ट फीसमेत भराई पाउँ भन्नेसमेत बेहोराको मिति २०६१।८।१३ को फिराद दाबी ।

विपक्षी फिरादीको फिराद दाबीअनुसार हामी प्रतिवादी नेपाल बैंक लिमिटेड केन्द्रीय कार्यालय र लाहान शाखाले करार ऐन, २०५६ को दफा ३६ र ८२ को उल्लङ्घन गरेको होइन । दाबीबमोजिम दफा ८३ अनुसार हामीले क्षतिपूर्ति दिनुपर्ने होइन । धितो धरौट राखिएको सो सुनचाँदीको गहनाहरू चोरिएमा वा नासिएमा सोको प्रचलित बजार मूल्यमा हिसाब गरी बैंकले भुक्तानी दिनुपर्नेछ भन्‍ने सम्बन्धित तमसुक लिखतमा कुनै पनि सर्त राखी कर्जा प्रवाह भएको गरिएको छैन । विपक्षी फिरादीले यसै विषयमा श्री पुनरावेदन अदालत राजविराजमा दर्ता गराएको २०६० सालको दे.ठा.नं.५७।२७३ ऋण धितो फिर्ता करार परिपालना मुद्दा अ.बं.१८० नं.बमोजिम खारेज भएको र विपक्षी फिरादी जस्तै यस लाहान शाखाका अर्का ऋणी रामनारायण गुप्‍ताको यसै विवादका विषयमा वाणिज्य बैंकहरूलाई निर्देशन र नियन्त्रण गर्ने नेपाल राष्ट्र बैंक सुपरीवेक्षण विभाग काठमाडौंको मिति २०६०।१२।१० का पत्रसमेतको आधारमा विपक्षीसँग भनिएको भए गरेको कुनै पनि करार यस बैंकले उल्लङ्घन नगरेको हुँदा विपक्षीको गैरकानूनी दाबीबाट फुर्सद पाउँ भन्‍नेसमेत बेहोराको नेपाल बैंक लिमिटेड शाखा कार्यालय, लाहान र नेपाल बैंक लिमिटेड प्रधान कार्यालय केन्द्रीय कार्यालय भूगोलपार्कको मिति २०६१।१०।१८ को प्रतिउत्तर जिकिर ।

धितो रहेका सुनचाँदीहरू डाँका लागेको कारणबाट सुनचाँदीहरू नै फिर्ता दिन नसक्ने 

देखिन्छ । तसर्थ, बैंकसँगको कर्जा राफ साफ गर्न आउँदाको दिनसम्मको बैंकले कर्जा र सोको ब्याज हिसाब गरी कानूनबमोजिम लिन पाउने नै हुँदा सो दिनको सुनचाँदीको प्रचलित बजार भाउ मूल्यबमोजिम दर भाउअनुसार वादीले दिलाई भराई पाउने ठहर्छ । क्षतिपूर्तिको हकमा दाबी नपुग्ने ठहर्छ भन्नेसमेत बेहोराको सिराहा जिल्ला अदालतको मिति २०६३।९।१८ को फैसला ।

विपक्षी बैंकसँगको कर्जा राफ साफ गर्न आउँदाको दिनसम्मको बैंकले कर्जा र सो ब्याज हिसाब गरी कानूनबमोजिम वादीबाट लिन पाउने र वादीले विपक्षी बैंकबाट क्षतिपूर्ति नपाउने भनी ठहर्‍याएको हदसम्म सुरू सिराहा जिल्ला अदालतको फैसला त्रुटिपूर्ण हुँदा सो हदसम्म सुरूको फैसला बदर गरी सुरू वादी दाबीबमोजिम हुने गरी इन्साफ गरिपाउँ भन्नेसमेत बेहोराको वादीको तर्फबाट पुनरावेदन अदालत राजविराजमा दायर भएको पुनरावेदनपत्र ।

वादीले वाणिज्य बैंक ऐन, २०३१ अन्तर्गतको काम कारोबारको सिलसिलामा बैंकमा सुनचाँदी गहनाहरू धितो राखी कर्जा लिएको सो कर्जा वादीले बैंकलाई जुन दिनमा चुक्ता गर्दछन् सो दिनमा उक्त सुनचाँदीको गहनाको बजार मूल्यबमोजिमको दरभाउअनुसारको रकम वादीलाई प्रतिवादी बैंकले दिलाई भराई पाउने ठहर्छ भन्‍ने फैसलाको बुँदासम्ममा चित्त बुझेन । करार भनिएको तमसुक लिखतमा वादीले सो धितो सुनचाँदीको गहना निखन्‍न आउँदाको दिनमा कर्जाको हिसाब गर्दा सो सुनचाँदी गहनाको प्रचलित बजार दरभाउको आधारमा हिसाब गरी सो वस्तु निखन्‍न दिने वा फिर्ता दिने भन्‍ने कुनै सर्त रहेको छैन । दुई पक्षबीच भएको धितोसम्बन्धी करारमा उल्लेख नै नभएको र बैंकले स्वीकार नै नगरेको कुरामा बैंकलाई करारीय दायित्व भनी सो दायित्व बोकाउन नमिल्ने हुँदा सो हदसम्म सुरूको फैसला बदर गरी हक इन्साफ पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी नेपाल बैंक लिमिटेड शाखा कार्यालय लाहानसमेतको तर्फबाट पुनरावेदन अदालत राजविराजमा परेको पुनरावेदनपत्र ।

बैंकको कर्जा राफ साफ गर्न आउँदाको दिनसम्म बैंकले कर्जा र सोको ब्याज हिसाब गरी कानूनबमोजिम लिन पाउने हुँदा सो दिनको सुनचाँदीको प्रचलित बजार मूल्यबमोजिम दरभाउअनुसार वादीले दिलाई भराई पाउने र क्षतिपूर्तिको हकमा दाबी नपुग्ने ठहर्‍याएको सुरू सिराहा जिल्ला अदालतको मिति २०६३।९।१८ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । वादी प्रतिवादी दुवैको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्‍ने बेहोराको पुनरावेदन अदालत राजविराजबाट मिति २०६६।१।३० मा भएको   फैसला ।

करार ऐन, २०५६ को दफा ८० मा भएको व्यवस्थाबमोजिम करारको सर्त पूरा गरेको अवस्थामा अर्को पक्षले त्यस्तो काममा सहयोग गर्नु पर्ने दायित्व हुन्छ । विपक्षी बैंकमा धितो रहेको सुन चाँदीमध्ये केही सुन चाँदीहरू डकैती भएको थाहा पाउना साथ मौखिक र मिति २०६०।१०।११ का दिन मैले विपक्षी बैंकमा उपस्थित भई आफूले बुझाउनु पर्ने रकम बुझाई सुन फिर्ता पाउन रकम बुझाउनका लागि गएको कुरा विपक्षी बैंकले समेत आफ्नो प्रतिउत्तरमा समेत स्वीकार गरेको छ । बैंकमा डाँका परेपछि विपक्षीको साथमा राखेको हाम्रो धितोको सुनचाँदी सोही समयदेखि छैन, विपक्षीसँग साथमा र सुरक्षणमा नै नरहेको केवल तरल दायित्व मात्र बाँकी रहेको कुरामा प्रतिवादीलाई मैले ब्याज बुझाउनु पर्ने औचित्य छैन । सुन वा चाँदी विना कुनै खर्च विना कुनै मेहनत गहना बन्‍न सक्दैन भन्‍ने कुरा निर्विवाद छ । म वादीले फिरादमा गहना बनाउन लागेको खर्च त्यसमा गएको जर्ती र कानूनी उपचारको खर्चसमेत जोडी क्षतिपूर्तिको माग गरेको छु, जुन कुरालाई पुनरावेदन अदालतले पनि निर्णयाधारमा अवलम्बन गरेको भएपनि त्यसतर्फ न्यायिक मनको कन्जुस्याईं गरी गहना बनाउन लागेको खर्चलाई विपक्षी बैंकले पनि अस्वीकार नगरेको भएपनि, करार ऐन, २०५६ को दफा ८३(३) बमोजिम वास्तविक क्षतिको रूपमा म वादीले विपक्षीबाट क्षतिपूर्ति भराई लिन पाउने कुरामा समेत कुनै विवाद नभएपनि म वादीको फिराद दाबीबमोजिम माग गरिएको क्षतिपूर्ति विपक्षीबाट म वादीलाई नभराई दिने सिराहा जिल्ला अदालतको फैसलालाई नै सदर गर्ने गरेको पुनरावेदन अदालत राजविराजको मिति २०६६।१।३० को फैसलामा प्रमाण ऐन, २०३१ को दफा ३ र ५४ तथा करार ऐन, २०५६ को दफा ३६ र ८३ को गम्भीर कानूनी त्रुटिपूर्ण छ । अत: वादी दाबीबमोजिम विपक्षी बैंकसँगको कर्जा राफ साफ गर्न आउँदा मुद्दा गर्नु परेको मितिदेखि कर्जा राफ साफ गर्न आउने मिति तकको कुनै ब्याज नलिनु र फिराद मागदाबीअनुसार क्षतिपूर्ति दिई ऋण राफ साफ गर्न आएको दिनको प्रचलित बजार भाउअनुसार सुनचाँदीको मूल्यअनुसार हरहिसाब गरी वादीको सुरक्षणबापतको सुनचाँदीको मूल्य कायम गरी वादीको ऋणबापतको रकम राफ साफ गरी फिराद मागदाबीबमोजिम ठहर न्याय निसाफ पाउँ भन्नेसमेत बेहोराको निवेदक वादी अरूणशंकर साहको यस अदालतमा पर्न आएको निवेदनपत्र ।

यसमा वादीले प्रतिवादी बैंकबाट लिएको ऋण चुक्ता गर्न र राखेको धितो फिर्तासमेत गर्न मिति २०६०।१०।११ मा नै निवेदन दिएको देखिनाले सो मितिपछि समेतको ब्याज भराउने गरी भएको फैसलामा करार ऐन, २०५६ को दफा ८२ र ८३ एवं प्रमाण ऐन, २०३१ को दफा ३ र ५४ समेतको त्रुटि देखिन आएकोले न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) बमोजिम मुद्दा दोहोर्‍याई हेर्न निस्सा प्रदान गरिदिएको छ । नियमबमोजिम गरी पेस गर्नु भन्‍ने यस अदालतको मिति २०६८।६।६ को आदेश ।

नियमबमोजिम पेसी सूचीमा चढी पेस हुन आएको प्रस्तुत मुद्दामा निवेदक / वादीको तर्फबाट उपस्थित विद्वान्‌ अधिवक्ता श्री राजु कटुवालले सुनचाँदी बनाउँदा लागेको खर्च त्यसमा गएको जर्तीसमेत जोडी मेरो पक्षले करार ऐन, २०५६ को दफा ८२ र ८३ अनुसार विपक्षी बैंकबाट मागदाबीबमोजिम क्षतिपूर्ति पाउनु पर्छ भनी बहस गर्नुभयो ।

विपक्षी नेपाल बैंक लि.को तर्फबाट उपस्थित विद्वान्‌ वरिष्ठ अधिवक्ता श्री कुमार रेग्मीले निवेदकले धितो सुरक्षणबापत बैंकमा राखेको सुनचाँदीको गहना मिति २०५९।८।१८ मा बैंकबाट लुटिएको अवस्थामा बैंकले एकतर्फी करार उल्लङ्घन गरेको भनी भन्‍न मिल्दैन । करार उल्लङ्घन नभएको अवस्थामा करार ऐन, २०५६ को दफा ८२ र ८३ को कानूनी प्रावधान आकर्षित हुन सक्दैन । क्षतिपूर्तिको हकमा वादी दाबी नपुग्ने ठहर गरी सुरू जिल्ला अदालतको फैसलालाई सदर गर्ने पुनरावेदन अदालत राजविराजको फैसला सदर हुनुपर्छ भनी बहस गर्नुभयो ।

उपरोक्तानुसारको विद्वान्‌ कानून व्यवसायीहरूको बहस जिकिरसमेत सुनी मिसिल अध्ययन गरी हेर्दा सुरू जिल्ला अदालतको फैसला सदर हुने ठहर्‍याएको पुनरावेदन अदालत राजविराजको फैसला मिलेको छ, छैन ? निवेदक वादीको पुनरावेदन जिकिर पुग्न सक्छ वा सक्दैन भन्‍ने विषयमा निर्णय दिनुपर्ने देखिन आयो ।

२. निर्णयतर्फ विचार गर्दा, बैंकको कर्जा राफ साफ गर्न आउँदाको दिनसम्म बैंकले कर्जा र सोको ब्याज हिसाब गरी कानूनबमोजिम लिन पाउने हुँदा सो दिनको सुनचाँदीको बजार मूल्यबमोजिम दरभाउअनुसार वादीले दिलाई भराई पाउने र क्षतिपूर्तिको हकमा दाबी नपुग्ने ठहर्‍याएको पुनरावेदन अदालत राजविराजको फैसलामा चित्त नबुझाई वादीको मुद्दा दोहोर्‍याई हेरिपाउँ भनी निवेदन पेस भई मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्रदान भई पेस हुन आएको पाइयो । 

३. यी निवेदक वादीले प्रतिवादी नेपाल बैंक लिमिटेड कार्यालय लाहानमा सुनचाँदी गहना धितो राखी विभिन्‍न मितिमा विभिन्‍न कर्जा शीर्षकअन्तर्गत कर्जा लिएको र मिति २०५९।८।१८ मा उक्त बैंकमा रहेकोसमेत नगद र ती गरगहनासमेत अज्ञात समूहबाट लुटिएको कुरामा विवाद रहेको पाइँदैन । पुनरावेदक वादीले मूल रूपमा करार ऐन, २०५६ को दफा ३५, ३६, ८२, ८३ बमोजिमको दाबी लिएको देखिन्छ । दफा ३५ मा कस्तो करारलाई धितो वा धरौटीसम्बन्धी करार मान्‍ने भन्‍ने व्यवस्था गरिएको र दफा ३६ मा करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक जुन ऋणको लागि धितो राखिएको हो सो ऋण चुक्ता भएपछि वा जुन कामको लागि धरौटी लिएको हो सो काम सम्पन्‍न भएपछि त्यस्तो धितो वा धरौट धितो राख्‍ने व्यक्तिलाई फिर्ता दिनुपर्ने व्यवस्था रहेको छ । यस्तै दफा ८२ को व्यवस्था करार उल्लङ्घनसँग सम्बन्धित भएको र त्यसरी उल्लङ्घन भएको अवस्थामा त्यसको क्षतिपूर्तिको लागि दफा ८३ मा व्यवस्था गरिएको छ ।

४. पुनरावेदक वादीले प्रतिवादी नेपाल बैंक लि.बाट कर्जा लिएको रूपैयाँको सावाँ ब्याज चुक्ता गरी हिसाब फरफारक गरेको अवस्थासमेत छैन । सामान्यतः बैंकमा कुनै सम्पत्ति (चल / अचल) धितो राखी कर्जा / ऋण लिँदा बैंक र व्यक्तिबीच गरिएको सर्तनामा र तमसुकमा उल्लिखित सावाँ रूपैयाँको ब्याज चुक्ता गर्नेबारे समय सीमा निर्धारण गरी सर्त बन्देज तोकिएको हुन्छ र सो सर्तबमोजिम सावाँ ब्याज चुक्ता भएपछि मात्र बैंकमा धितो राखिएको सम्पत्ति फिर्ता हुन्छ । कर्जा लिएकोमा सावाँ ब्याज नबुझाएसम्म तमसुक तथा सर्तनामामा उल्लेख भएअनुसार ब्याज कर्जा लिने व्यक्ति (ऋणी) ले नै बुझाउने दायित्व तमसुक कागजले नै निर्धारण गर्ने गर्छ ।

५. प्रतिवादी नेपाल बैंकबाट वादीले धितो राखी कर्जा लिएको तमसुकमा “बजारको परिस्थितिले धितो राखेको आजको मोल (दर) घट्न गएमा जुनसुकै बखत बैंकले मागेको समयभित्र थप मार्जिन तुरून्त बुझाउनु पर्ने छ, नबुझाए धितो राखेको माल बिक्री हुनेछ र सो बिक्रीबाट असुल भई नपुग हुन आएको जति रकम घर-घरानाबाट वा अरू जायजेथाबाट उपर गरिने छ पछि कुनै कुराको उजुर वाजुर गर्न पाउने छैन” भन्‍ने उल्लेख भएको 

देखिन्छ । यस्तो बेहोराबाट बैंकमा धितो राखेको सामान / वस्तुको मोल दर भाउ घटबढ हुने कुरालाई वादीले स्वीकार गरेको पाइन्छ । धितो राखेको सुनचाँदीको मूल्य धितो राख्दा कायम भएको मूल्य नै अन्तिम नहुने कुरा धितोको सर्तबाट देखिन आउँछ ।

६. प्रतिवादी बैंकले वादीको सुनचाँदीको गहना धितोमा राखेको र सर्तबमोजिम वादीले लिएको कर्जाबापतको सावाँ र ब्याज चुक्ता गरेको अवस्थामा र सो धितो राखेको गहना फिर्ता गर्न नसकेको अवस्थामा गरगहनाको तत्कालको प्रचलित दरभाउअनुसार मूल्य पाउने नै देखिन्छ ।

७. जहाँसम्म धितोमा राखिएको सुनचाँदीलगायतका गहनाको जर्तीसमेत प्रतिवादी बैंकबाट भरी भराउ गरी क्षतिपूर्ति पाउँ भन्‍ने प्रश्‍न छ, सोतर्फ विचार गर्दा प्रतिवादी नेपाल बैंक लि. लाहानले राखेको धितो सुनचाँदी डकैती भई मिति २०५९।८।१८ मा लुटिएको अवस्था छ । सामान्य अवस्थामा जुन ऋणको लागि धितो राखिएको हो र ऋणसम्बन्धी करारअनुरूप सावाँ ब्याज चुक्ता भएपछि धितोको सम्पत्ति फिर्ता गर्नुपर्ने करार ऐन, २०५६ को दफा ३६ मा व्यवस्था छ । तर उपर्युक्त परिस्थितिमा धितोको सम्पत्तिको अस्तित्व नै नरहेको स्थितिमा सोको सट्टामा बैंकले रकम दिने हो । सो धितो वा धितोबापतको मूल्य वादीले ऋण र बक्यौता राफ साफ चुक्ता गरेको अवस्थामा पाउने हो । 

८. पक्षहरूले आफूले गरेको करारको लिखतबमोजिम सर्तहरूको पारस्परिक परिपालना गर्नुपर्ने हुन्छ । यहाँ लिखतको प्रकृति हेर्दा ऋणीले धितोमा सम्पत्ति राख्‍ने, सो धितो राखेपश्‍चात् ऋणीले ऋण रकम पाउने, ऋणीले लिखतबमोजिम सावाँ ब्याज भुक्तानी गर्नु पर्ने र सावाँ ब्याज चुक्ता भएपछि धितो फुकुवा भई सम्पत्ति फिर्ता पाउने प्रकृतिबाट सर्त रहेको छ । यस अर्थ तथा प्राथमिकतामा हेर्दा यी वादी पुनरावेदकले आफूले ऋण सावाँ ब्याज तिर्न गएको भन्‍ने दाबी लिए पनि आफूले बक्यौता रकम चुक्ता गरेको देखिँदैन । सावाँ चुक्ता नभएसम्म ब्याज बढ्नु स्वभाविक प्रक्रिया हो । ऋण बक्यौता चुक्ता गरी धितो फुकुवा वा फिर्ता माग गर्नु र धितो डकैती भएकै कारण अस्तित्वमा छैन भन्‍ने विश्‍वास राखी ऋण बक्यौता चुक्ता नगर्नु फरक फरक अवस्थाहरू हुन् । पारस्परिक रूपमा कबुल भएका सर्तहरूमा प्राथमिकतामा हेर्दा बक्यौता ऋण चुक्ता हुनु प्रथम चरणको कार्य देखिन्छ भन्‍ने सो सम्पन्‍न भएपछि धितो फिर्ता लिने अधिकार सृजना हुन्छ । यस अवस्थामा धितो फिर्ता नगर्ने वा फिर्ता गर्न असमर्थ पक्षबाट करार पालना नभएको आधारमा धितो फिर्ता पाउने अधिकार भएको पक्षले हानि नोक्सानी भराई लिन पाउने नै हुन्छ । यस्तो हानि नोक्सानी वास्तविक हुनु पर्ने र वास्तविक हानि नोक्सानीका लागि बजार मूल्य नै सर्वोत्तम मूल्याङ्कनको आधार हुन सक्ने हुन्छ । यसरी यी वादीले बजार मूल्यअनुसार आफूले धितो राखेको सुनचाँदीको मूल्य दाबी गरी करारलाई स्वीकार गरी रहेको अवस्थामा आफ्नो दायित्व पूरा गर्नुअगावै प्रतिवादीबाट करार उल्लङ्घन भयो भनी करार ऐन, २०५६ को दफा ८२ र ८३ को कानूनी व्यवस्थाबमोजिम क्षतिपूर्ति / हर्जाना पाउने अवस्था सृजना भएको मान्‍न मिल्न देखिँदैन । वादीले राखेको धितो सुनचाँदीको बजार मूल्यअनुसार पाउँ भनी करारलाई स्वीकार गरी बसेको अवस्थामा लिखतबमोजिम ब्याज नतिर्ने भनी करारीय दायित्वबाट वादीले उन्मुक्ति पाउन सक्ने भन्‍ने करार वा लिखतको व्यवस्था नभएको र यसरी आपसमा समायोजन (Set-off) गर्ने कानूनी आधारको अभावमा बैंकसित भएको लिखतबमोजिम ऋण चुक्ता नभएसम्मको ब्याज तिर्ने पर्ने दायित्व वादीउपर नै रहन्छ । 

९. यसर्थ माथि विवेचित आधार कारणबाट बैंकसँगको कर्जा राफ साफ गर्न आउँदाको दिनसम्मको बैंकले कर्जा र सोको ब्याज हिसाब गरी कानूनबमोजिम लिन पाउने नै हुँदा सो दिनको सुनचाँदी र त्यसबाट बनेका गहनाको प्रचलित बजार मूल्यबमोजिम दरभाउअनुसार वादीले दिलाई भराई पाउने ठहर्छ । क्षतिपूर्तिको हकमा दाबी नपुग्ने ठहर्छ भन्‍ने सुरू सिराहा जिल्ला अदालतको फैसलालाई सदर हुने ठहर्‍याई पुनरावेदन अदालत राजविराजबाट मिति २०६६।१।३० मा भएको फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक वादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाई दिनू । 

 

उक्त रायमा सहमत छु ।

न्या. चोलेन्द्र शमशेर ज.ब.रा.

 

इजलास अधिकृत: शिवकुमार पोखरेल

इति संवत् २०७५ साल मंसिर १७ गते रोज २ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु