शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १०१७२ - जबरजस्ती करणी

भाग: ६१ साल: २०७६ महिना: बैशाख अंक:

प्रस्तुत मुद्दामा गोपनीयताको लागि पीडित र परिवारको सदस्यको नाममा ................. राखिएको छ ।

                                               - सम्पादक

 

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री केदारप्रसाद चालिसे

माननीय न्यायाधीश श्री सारदाप्रसाद घिमिरे

फैसला मिति : २०७३।५।२३

०७१-CR-०९८९

 

मुद्दा : जबरजस्ती करणी

 

पुनरावेदक / वादी : परिवर्तित नाम थर वतन संकेत ६६ वेलवा ४ को जाहेरीले नेपाल सरकार

विरूद्ध

प्रत्यर्थी / प्रतिवादी : जिल्ला बर्दिया वेलवा गाउँ विकास समिति वडा नं. ९ बस्ने गोपाल राना

 

पीडितले प्रतिवादीले आफूलाई जबरजस्ती करणी गरेको हो भन्दैमा जबरजस्ती करणी ठहर हुन सक्ने अवस्था हुँदैन । सो कुरा मिसिल संलग्न स्वतन्त्र सबुद प्रमाणबाट तथ्यगत रूपमा पुष्टि हुन सक्नु पर्दछ । जबरजस्ती करणी मुद्दामा पीडितको कागज बेहोरा सबुदको रूपमा रहने भए तापनि अकाट्य प्रमाणको रूपमा भने लिन मिल्ने अवस्था हुँदैन । त्यस्तो बकपत्रमा उल्लेख भएका कुराहरू विश्वसनीय पनि देखिनु पर्ने ।

(प्रकरण नं.३)

कन्याजाली फाटेको भन्ने तथ्यले जबरजस्ती करणी गरेको तथ्य स्थापित गर्न सहयोग पुग्ने भएपनि अन्य स्वतन्त्र प्रमाणहरूबाट सो कुरा पुष्टि नभएसम्म कन्याजाली फाटेकै आधारमा जबरजस्ती करणी भएको भनी निष्कर्षमा पुगी हाल्न मनासिब नहुने । 

(प्रकरण नं.६)

 

पुनरावेदक / वादीका तर्फबाट : 

प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : 

अवलम्बित नजिर :

सम्बद्ध कानून :

 

सुरू तहमा फैसला गर्ने :-

माननीय न्यायाधीश श्री धन सिंह महरा

बर्दिया जिल्ला अदालत

पुनरावेदन तहमा फैसला गर्ने :- 

मा.निमित्त मुख्य न्या.श्री प्रकाशकुमार ढुंगाना

मा. न्यायाधीश श्री अवधविहारी प्रसाद सिन्हा

पुनरावेदन अदालत, नेपालगञ्‍ज

 

फैसला

न्या.केदारप्रसाद चालिसे : न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) र (ख) बमोजिम मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्रदान भई पुनरावेदनको रोहमा दर्ता भएको प्रस्तुत मुद्दाको संक्षिप्‍त तथ्य र ठहर यसप्रकार छ :- 

जिल्ला बर्दिया बेलवा गाउँ विकास समिति वडा नं. ९ स्थित पूर्वमा आँपको रूख, पश्चिममा लखनाचोकदेखि राजागाउँतर्फ जाने बाटो, उत्तरमा जिवराज शर्माको फुसले छाएको गोठ र दक्षिणमा भूमीसरा डि.सी.को घर यति चार किल्लाभित्र परिवर्तित नाम संकेत नं. ६६ बेलवा ४ को टाएलले छाएको घर, उक्त घरको तल्लो तलाको पश्चिम उत्तर मोहडा भएको कोठामा जाहेरवालीको छोरीलाई गोपाल रानाले जबरजस्ती करणी गरेको र घटनास्थलमा खाटमा रहेको बिस्तरा यत्रतत्र छरिएको, खुम्चिएको, ढोका छेउमा फितामा झंकार लेखिएको कालो रंगको र तला रातो रंगको पुरानो दुईवटा चप्पल फेला परेको भन्नेसमेत बेहोराको घटनास्थल मुचुल्का ।

म जाहेरवालाकी छोरी वर्ष १७ की नाम परिवर्तित संकेत नं. ६६ बेलवा ५ लाई घरमा कोही नभएको अवस्थामा मिति २०६९।१२।२१ गते दिउँसो अन्दाजी १५:०० बजेको समयमा गाउँकै गोपाल रानाले जबरजस्ती करणी गरेको हुँदा निजलाई कानूनबमेजिम कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको नाम परिवर्तित संकेत नं. ६६ बेलवा ४ को जाहेरी दरखास्त ।

मिति २०६९।१२।२१ गते दिउँसो अन्दाजी १५:०० बजेको समयमा म घरमा एक्लै केराउ केलाउँदै गरेको अवस्थामा प्रतिवादी गोपाल रानाले मेरो मोबाइल तिम्रो घरमा चार्जमा लगाएको छु । मोबाइल देउ भनेपछि म मोबाइल लिन कोठाभित्र गएको समयमा निज प्रतिवादी गोपाल राना पनि कोठाभित्र प्रवेश गरी ढोका लगाई जबरजस्ती करणी गरी तत्काल घटनास्थलबाट भागी गएकोले निजलाई कानूनबमोजिम हदैसम्मको कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको पीडित नाम परिवर्तित संकेत नं. ६६ बेलवा ५ ले गरिदिएको घटना विवरण कागज ।

प्रतिवादी गोपाल रानाको स्वास्थ्य परीक्षण गर्दा निजको शरीरमा करणी गरेको लक्षण नभएको भन्नेसमेत बेहोराको स्वास्थ्य परीक्षण प्रतिवेदन ।

नाम परिवर्तित संकेत नं. ६६ बेलवा ५ को स्वास्थ्य परीक्षण गर्दा निजको शरीरमा जबरजस्ती करणी गरेको लक्षण नभएको साथै निजको कन्याजाली फाटेको छ भन्नेसमेत बेहोराको स्थास्थ्य परीक्षण प्रतिवेदन ।

मिति २०६९।१२।२१ गते दिउँसो अन्दाजी १५:०० बजेको समयमा म जाहेरवालीको घरमा आफ्नो चार्जमा राखेको मोबाइल लिन भनी गएको थिएँ । घरमा जाहेरवालीकी छोरी परिवर्तित नाम थर संकेत नं. ६६ बेलवा ५ एक्लै केराउ केलाउँदै गरेकी थिइन् । मेरो मोबाइल तिम्रो घरमा चार्जमा लगाएको छु मोबाइल देउ भनेपछि परिवर्तित नाम र वतन संकेत नं. ६६ बेलवा ५ मोबाइल लिन कोठाभित्र गएको समयमा म पनि कोठाभित्र प्रवेश गरी ढोका लगाई निजलाई समाती करणी गर्न देउ भनी अनुमति मागेँ । निजले केही नबोलेपछि मैले स्तन समाई, चुम्मन गरी विस्तारामा ढलाई निजको योनिमा आफ्नो लिङ्ग राखी करणीको कार्य गर्ने क्रममा निजको भाइ धर्मराज शर्मा कोठाभित्र प्रवेश गर्दा निजले मैले करणी गर्न लागेको देखेपछि म तत्काल सो स्थानबाट आफ्नो चप्पल छोडी भागेको 

हुँ । मैले जबरजस्ती नभई सहमतिले करणी गर्न लागेको हुँ भन्नेसमेत बेहोराको प्रतिवादी गोपाल रानाले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।

मिति २०६९।१२।२१ गते वारदात हुँदाको अवस्थामा म आफ्नै घरमा बसिरहेको थिएँ । सोही दिन अन्दाजी १५:०० बजेको समयमा प्रतिवादी गोपाल रानाले जाहेरवालाको घरमा मोबाइल चार्जमा राख्न दिएको मोबाइल लिने बहाना बनाई घरमा कोही नभएको अवस्थामा जाहेरवालाकी छोरी परिवर्तित संकेत नं.६६ बेलवा ५ लाई जबरजस्ती करणी गरे भन्‍ने कुरा सुनी थाहा पाएको हुँ । पछि बुझ्दै जाँदा प्रतिवादी गोपाल रानाले आफूले लगाएको चप्पल घटनास्थलमै छोडी भागी गएको हुँदा निज प्रतिवादी गोपाल रानाले जबरजस्ती करणी गरेकै हुनु पर्छ । निजलाई कानूनबमोजिम कारबाही होस् भन्नेसमेत बेहोराको शान्ति डि.सि., मानबहादुर बुढाथोकी, रूद्रबहादुर शाही र ठेरीप्रसाद वि.क.समेतले गरिदिएको एकै मिलानको छुट्टाछुट्टै घटना विवरण कागज । 

मिति २०६९।१२।२१ गते वारदात हुनुभन्दा केही समयअगाडि म बाख्रा चराउन घरनजिकै खेतबारीमा गएको थिएँ । चप्पल चुँडिएकोले चप्पल बनाउन भनी घरमा आउँदा भित्र कोठामा आवाज सुनी के हो भनी कोठाभित्र गई हेर्दा प्रतिवादी गोपाल रानाले मेरो दिदी परिवर्तित संकेत नं.६६ बेलवा ५ लाई खाटमा ढाली नग्न बनाई निजमाथि चढी हल्लिरहेको देखेपछि मैले निज प्रतिवादी गोपाल रानालाई समात्न खोज्दा निज चप्पल सोही स्थानमा छोडी भागी गएको हो भन्नेसमेत बेहोराको ............... ले गरिदिएको घटना विवरण कागज ।

प्रतिवादी गोपाल रानाले पीडित संकेत नं. ६६ बेलवा ५ लाई जबरजस्ती करणी गरेकाले निज प्रतिवादीलाई मुलुकी ऐन, जबरजस्ती करणीको महलको १ नं. को कसुर अपराधमा सोही महलको ३(४) नं. बमोजिम सजाय गरी ऐ. महलको १० नं. बमोजिम प्रतिवादीबाट पीडितलाई क्षतिपूर्तिसमेत दिलाई भराई पाउँ भन्नेसमेत बेहोराको अभियोग मागदाबी । 

मैले पीडितलाई जबरजस्ती करणी गरेको नभई निजको सहमतिबाट करणी गरेको हुँदा मलाई अभियोग दाबीबमोजिमको सजाय हुनुपर्ने होइन भन्नेसमेत बेहोराको प्रतिवादी गोपाल रानाले सुरू बर्दिया जिल्ला अदालतमा गरेको बयान । 

मिति २०६९।१२।२१ गते प्रतिवादी गोपाल राना आफ्नो मोबाइल लिन भनी मेरो घरमा आई मसँग मोबाइल मागेकोमा मैले कोठामा रहेको निजको मोबाइल लिएर निज प्रतिवादीलाई दिन लाग्दा निज प्रतिवादीले मलाई समाती कोठामा लगी मेरो सुरूवाल जबरजस्ती खोली ममाथि चढी मलाई जबरजस्ती करणी गरेका हुन् भन्नेसमेत बेहोराको पीडित नाम परिवर्तित संकेत नं. ६६ बेलवा ५ ले सुरू बर्दिया जिल्ला अदालतमा गरेको बकपत्र । 

घटना भएको कुरा मलाई मेरो छोराले भनेपछि थाहा पाई मैले इलाका प्रहरी कार्यालय बाँसगढीमा उजुरी गरेपछि इलाका प्रहरी कार्यालय बाँसगढीले गुलरियामा पठाई दियो र गुलरिया आएपछि छोरीको स्वास्थ्य परीक्षण भई जिल्ला प्रहरी कार्यालय बर्दियामा जाहेरी दिएकी हुँ भन्नेसमेत बेहोराको जाहेरवाली परिवर्तित नाम संकेत नं. ६६ बेलवा ४ ले सुरू बर्दिया जिल्ला अदालतमा गरेको बकपत्र । 

प्रतिवादी गोपाल राना पीडित मेरो दिदीमाथि चढी, एक हातले दिदीको मुख छोपी दिदीमाथि हल्ली रहेको मैले देखी थाहा पाएको हुँ । त्यस्तो अवस्थामा देखेपछि मैले ढोका लगाई निजलाई समातेँ । निजले आफ्नो चप्पल छोडी मबाट फुत्की जंगलतिर गएका हुन् भन्नेसमेत बेहोराको वादीका साक्षी ............... ले सुरू बर्दिया जिल्ला अदालतमा गरेको बकपत्र । 

पीडित र प्रतिवादी दुवैबीच राम्रो हेलमेल सम्पर्क थियो । एक अर्काको घरमा आउने जाने पनि गर्दथे । यी सबै कारणबाट केटाकेटीबीच मन मिली करणी भएको हुनुपर्दछ भन्नेसमेत बेहोराको प्रतिवादीका साक्षी पदम डाँगीले सुरू बर्दिया जिल्ला अदालतमा गरेको बकपत्र । 

प्रतिवादीले पीडितलाई निजको मन्जुरी लिएर नै करणी गरेको र जबरजस्तीसँग करणी गर्न सक्ने अवस्था परिस्थिति, ठाउँ, समयसमेत भएको नदेखिँदा जबरजस्ती करणीको अपराध भएको देखिन नआएकाले वादीको प्रतिवादीउपर अभियोग दाबी पुग्न सक्तैन । अभियोग दाबी पुग्न नसकेकाले प्रतिवादी गोपाल रानाले अभियोग दाबीबाट सफाइ पाउने ठहर्छ भन्‍ने सुरू बर्दिया जिल्ला अदालतको फैसला । 

सुरूको फैसलामा चित्त बुझेन । मिति २०६९।१०।२१ गते दिउँसो जाहेरवालीको छोरीलाई गोपाल रानाले जबरजस्ती करणी गरेका हुन् भनी दिइएको किटानी जाहेरी, पीडित स्वयंले मौकामा कागज गर्दा यी प्रतिवादीले निजलाई जबरजस्ती करणी गरेको भनी लेखाएको, वारदातका चस्मदिद पीडितका भाइले सो वारदात प्रत्यक्ष देखेको भनी मौकामा कागज गरेको, वारदातस्थलमा प्रतिवादीको चप्पल भेटिएको तथा पीडितको कन्याजाली च्यातिएको भन्‍ने शारीरिक परीक्षण रिपोर्टसमेतका प्रमाणबाट पीडितलाई प्रतिवादीले जबरजस्ती गरेको भन्‍ने पुष्टि भएको अवस्थामा केवल प्रतिवादीले सहमतिले करणी गरेको हुँ भनी बयानमा लेखाएका आधारमा प्रतिवादीलाई आरोपित कसुरबाट सफाइ दिएको सुरू फैसला त्रुटिपूर्ण भएकोले बदर गरी प्रतिवादीलाई अभियोग मागदाबीबमोजिम सजाय गरिपाउँ भन्नेसमेत बेहोराको वादी नेपाल सरकारले पुनरावेदन अदालत नेपालगञ्‍जमा दायर गरेको पुनरावेदनपत्र । 

यसमा पीडितले अदालतमा आई बकपत्र गर्दा प्रतिवादी गोपाल रानाले आफूलाई जबरजस्ती करणी गरेको हो भनी सम्पूर्ण घटना विवरण उल्लेख गर्दै बकपत्र गरी दिएको र निज पीडितलाई करणी गरेको कुरामा प्रतिवादीसमेत अधिकारप्राप्त अधिकारी एवं अदालतमा समेत साबित रहेको समेत अवस्थामा निजलाई सफाइ दिने गरी सुरू बर्दिया जिल्ला अदालतबाट मिति २०७०।३।२० मा भएको फैसला फरक पर्न सक्ने देखिँदा अ.बं.२०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम प्रत्यर्थी झिकाई नियमानुसार पेस गर्नु भन्‍ने पुनरावेदन अदालत, नेपालगञ्‍जको आदेश । 

यसमा जाहेरवालीको छोरी वर्ष १७ की संकेत नं. ६६ बेलवापुरलाई प्रतिवादी गोपाल रानाले जबरजस्ती करणी गरेकोले कारबाही गरिपाउँ भन्‍ने जाहेरी देखिन्छ । पीडितले अनुसन्धान तथा सुरू अदालतमा बकपत्र गर्दासमेत प्रतिवादीले जबरजस्ती करणी गरेको भनी किटान गरेको देखिए पनि वारदात देख्ने निज पीडितको भाइले वारदात भएको देखिसकेपछि मात्र घटना प्रकाशित भएको 

देखिन्छ । पीडितको भाइले देख्ताको अवस्थामा प्रतिवादी र पीडित नग्न अवस्थामा करणी लिनु दिनु गरिरहेको हुँदा पीडितको लुगा खोल्दा वा पीडितलाई पल्टाउँदा हल्ला खल्ला वा संघर्ष गरेको कुनै संकेत वा प्रमाण देखिन आउँदैन । पीडितकै घरमा दिउँसोको समयमा झ्याल ढोका पनि नथुनी घटना भएकोमा पीडित रोइकराई गरेको भन्‍ने तथ्य कहीँकतैबाट नदेखिएको साथै पीडितको स्वास्थ परीक्षण प्रतिवेदनबाट पनि कन्याजाली च्यातिएको भन्‍नेबाहेक कुनै संघर्षका घा खत चिह्न देखिँदैन । कन्याजाली च्यातिएबाट करणी गर्दा जबरजस्ती गरेको भन्‍ने पुष्टि हुने नहुँदा पीडितसँग प्रतिवादीले जबरजस्ती करणी गर्‍यो भन्‍ने कुनै स्वतन्त्र प्रमाण मिसिल सामेल देखिन नआएबाट प्रतिवादीलाई सफाइ दिने गरेको सुरू बर्दिया जिल्ला अदालतको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्‍ने पुनरावेदन अदालत नेपालगञ्‍जको फैसला ।

पुनरावेदन अदालत नेपालगञ्जबाट भएको फैसलामा चित्त बुझेन । जाहेरवाली पीडितले आफ्नो मौकाको जाहेरी बेहोरा र कागजलाई समर्थन गर्दै अदालतमा बकपत्रसमेत गरेको स्थितिमा उक्त जाहेरी र कागजलाई प्रमाणमा लिएको छैन । घटनाको प्रत्यक्षदर्शी ............... ले मौकामा कागज गर्दा बाख्रा चराउन गएको अवस्थामा चप्पल चुँडिएकोले घरमा आई सुत्ने कोठामा ढोका खोल्दा विपक्षी गोपाल रानाले दिदीलाई जबरजस्ती करणी गरेको देखी हल्ला गर्दा विपक्षी छाडी भागी गएको हो भनी उल्लेख गरेको देखिन्छ । पीडितको शारीरिक परीक्षणमा कन्याजाली च्यातिएको भन्ने उल्लेख भई जबरजस्ती करणी भएको तथ्य स्थापित भएको छ । "सबै अवस्थाको जबरजस्ती करणीको वारदातमा पीडितको Human capture हुनै पर्ने भन्न नमिल्ने, साथै पीडितको योनिमा पुरूष वीर्य हुनै पर्छ भन्न नमिल्ने, जबरजस्ती करणी हुन योनिमा लिङ्गले Touch गरेमा पनि हुने" (ने.का.प.२०६३, अंक २, नि.नं ७६५२, पृष्ठ २३२) र "जबरजस्ती करणीजस्तो अपराधमा अन्य मुद्दामा जस्तो गणितीय हिसाबबाट हेर्नु पर्दा पनि नारीको अस्मितामा गम्भीर आँच आउने विषय भएकाले अदालतले संवेदनशील रूपमा विचार गर्नु पर्ने" (ने.का.प.२०६१ अंक १० नि.नं. ७६११ पृष्ठ १२५१, बमबहादुर कठायत वि. विष्णु साहको जाहेरीले नेपाल सरकार मुद्दाः जबरजस्ती करणी) भनी सम्मानित अदालतबाट प्रतिपादित नजिर सिद्धान्तहरूको आधारमा समेत उक्त फैसला त्रुटिपूर्ण हुँदा प्रतिवादीले सफाइ पाउने ठहर्‍याई भएको फैसला बदर गरी प्रतिवादीलाई अभियोग मागदाबीबमोजिम सजाय गरिपाउँ भन्नेसमेत बेहोराको वादी नेपाल सरकारले यस अदालतमा दायर गरेको मुद्दा दोहोर्‍याई हेरिपाउँ भन्ने निवेदनपत्र ।

यसमा वारदात भएकोमा विवाद नभएको तथा प्रस्तुत वारदात प्रतिवादीले जबरजस्तीसाथ करणी गरेको भनी पीडितले अदालतमा उपस्थित भई बकपत्रसमेत गरेको प्रमाणको न्यायिक मूल्याङ्कन नगरी प्रतिवादीलाई अभियोग दाबीबाट सफाइ दिएको पुनरावेदन अदालत, नेपालगञ्जको मिति २०७१/१/१४ को फैसलामा अ.बं. १८४क नं., १८५ नं. तथा प्रमाण ऐन, २०३१ को दफा ३, १० तथा १८ समेतको त्रुटि देखिँदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा (१) (क) बमोजिम प्रस्तुत मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्रदान गरिएको छ । नियमबमोजिम पेस गर्नु भन्ने यस अदालतबाट आदेश भई जारी भएको सूचना म्यादमा प्रतिवादी गोपाल राना यस अदालतमा हाजिर हुन आएको देखिएको । 

नियमबमोजिम दैनिक पेसी सूचीमा चढी निर्णयार्थ इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा निवेदन पत्रसहितका मिसिल संलग्न प्रमाण कागजातहरूको अध्ययन गरियो । 

यसमा प्रतिवादी गोपाल रानाले पीडित संकेत नं. ६६ बेलवा ५ लाई जबरजस्ती करणी गरेकाले निज प्रतिवादीलाई मुलुकी ऐन, जबरजस्ती करणीको महलको १ नं. को कसुरमा सोही महलको ३(४) नं. बमोजिम सजाय गरी ऐ. महलको १० नं. बमोजिम प्रतिवादीबाट पीडितलाई क्षतिपूर्तिसमेत दिलाई भराई पाउँ भन्‍ने अभियोग मागदाबी रहेको 

देखिन्छ । प्रस्तुत मुद्दामा सुरू बर्दिया जिल्ला अदालतबाट प्रतिवादी गोपाल रानाले अभियोग दाबीबाट सफाइ पाउने ठहर्‍याई भएको फैसला सदर हुने गरी पुनरावेदन अदालत नेपालगञ्जबाट फैसला भएकोमा उक्त फैसलामा चित्त नबुझाई पुनः वादी नेपाल सरकारको यस अदालतमा मुद्दा दोहोर्‍याई पाउँको निवेदन परी मुद्दा दोहोर्‍याउने निस्सा प्रदान भई आज निर्णयार्थ पेस हुन आएको देखियो ।

यसमा पुनरावेदन अदालत नेपालगञ्जबाट भएको फैसला मिलेको छ, छैन ? र निवेदकको निवेदन जिकिरबमोजिम हुनु पर्ने हो होइन ? भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने देखिन आयो ।

निर्णयतर्फ विचार गर्दा पीडितले मौकामा र अदालतमा बकपत्र गर्दा आफूलाई प्रतिवादीले जबरजस्ती करणी गरेको भनी लेखाएको पाइन्छ । प्रतिवादीले अधिकारप्राप्त अधिकारी र अदालतमा करणी भएको कुरालाई स्वीकार गरे तापनि पीडितको मन्जुरीले करणी गरेको हो, जबरजस्ती करणी गरेको होइन भनी कसुरमा इन्कार रही बयान गरेको 

देखिन्छ । सुरू बर्दिया जिल्ला अदालतबाट फैसला गर्दा वारदातलाई सहमतिमा भएको करणीको रूपमा ठहर गरी प्रतिवादीलाई अभियोग दाबीबमोजिमको कसुरबाट सफाइ दिने गरी फैसला भएको देखिन्छ । सोही फैसला नै पुनरावेदन अदालत नेपालगञ्जबाट समेत सदर भएको देखियो । 

सुरू अदालतबाट प्रतिवादीलाई सफाइ दिने गरी फैसला गर्दा लिइएका आधार कारणहरूतर्फ हेर्दा "....चिच्याउन गुहार माग्नलाई मुख थुनेकाले नसकेको भन्ने भनाइ पीडितको छ तर मुख पनि थुन्ने, कपडा पनि खोल्ने, पीडितका हातखुट्टा पनि चल्न नदिने किसिमको कार्य पीडितसरहकै शारीरिक बनावट भएका प्रतिवादीबाट सम्भव देखिँदैन । मुख थुन्नको लागि बढी दबाबको आवश्यकता पर्ने र त्यस्तो दबाब दिँदा मुखमा, गालामा निलडाम पनि पर्ने भएकोले त्यस्तो निलडाम इत्यादि केही पनि देखिएको छैन । करणी भएको थाहा पाएपछि आमाले त्यस्तो कार्य किन गरिस् भनेर गाली गर्नु भएको थियो भनी पीडितले आफ्नो स.ज.२५मा बकी लेखी दिएबाट पनि पीडितको पनि करणी लिनु दिनुमा सहमति भएको ठानी निजको आमाले गाली गरेको देखियो । आफूभन्दा जेठी निजकै घरमा गएर झ्याल ढोकासमेतको वास्ता नगरी हल्लाखल्लासमेत केही नगरी करणी भएको, करणी हुँदा पीडितले कुनै प्रतिकार नगरी चुपचाप पल्टिरहेकोमा निजको भाइ अचानक घरभित्र पसी करणी गरिरहेको देखिसकेपश्चात् आमासमेतले गाली गरेको कारण आफूलाई प्रतिवादीले जबरजस्ती करणी गरेको भनी विश्वास दिलाउनको लागि मात्र यो मुद्दाको कारबाही अगाडि बढाएको भन्ने तथ्य सम्पूर्ण मिसिल प्रमाणबाट देखिन आएको छ । प्रतिवादीले पीडितलाई मन्जुरी लिएर नै करणी गरेको र जबरजस्तीसँग करणी गर्न सक्ने अवस्था, परिस्थिति, ठाउँ, समयसमेत भएको नदेखिँदा जबरजस्ती करणीको अपराध भएको देखिन नआएकोले वादीको प्रतिवादीउपरको अभियोग दाबी पुग्न सक्दैन.." भनी उल्लेख भएको देखिन्छ । 

जबरजस्ती करणी आफैँमा यौनजन्य जघन्य अपराध हो । यस्तो अपराध नारीको अस्मिता, इज्जत, प्रतिष्ठा र आत्मसम्मानसँग गाँसिएको हुन्छ । यस्तो अपराधमा दोषीले सजायबाट उन्मुक्ति पाउने अवस्था रहनु हुँदैन भने निरपराधीलाई पनि सजायको भागिदार बन्ने अवस्था सृजना हुन दिनु हुँदैन । तसर्थ यस्तो अपराध सहमति वा जबरजस्ती कुन रूपबाट भएको हो भन्ने कुरा मिहिन रूपमा प्रमाणहरूको विवेचना गरी निष्कर्षमा पुग्नु पर्ने हुन्छ । प्रतिवादीउपरको अभियोग मागदाबी, सुरू अदालतबाट फैसला गर्दा लिइएका उल्लिखित आधार कारण र वादी नेपाल सरकारले दोहोर्‍याई पाउँ भनी दिएको निवेदनमा लिएका जिकिरसमेतलाई मनन गर्दा देहायको विषयहरू प्रस्तुत मुद्दामा विचारणीय भई निरूपण गर्नु पर्ने देखियो ।  

क) प्रस्तुत वारदात जबरजस्ती करणीको वारदात हो वा मन्जुरीसाथ करणीको वारदात हो ?

ख) कन्याजाली च्यातिँदैमा जबरजस्ती करणीको वारदात स्थापित हुन्छ हुँदैन ?

 

२. सर्वप्रथम पहिलो प्रश्नतर्फ विचार गर्दा जबरजस्ती करणीको महलको १ नं. मा जबरजस्ती करणीको परिभाषा गरेको पाइन्छ । उक्त नं. मा भएको व्यवस्था हेर्दा "कसैले कुनै महिलालाई निजको मन्जुरी नलिई करणी गरेमा वा सोह्र वर्षभन्दा कम उमेरकी बालिकालाई निजको मन्जुरी लिई वा नलिई करणी गरेमा निजले जबरजस्ती करणी गरेको ठहर्छ" भन्ने उल्लेख भएको देखिन्छ । उक्त परिभाषालाई दृष्टिगत गर्दा कसैले कुनै महिलालाई निजको मन्जुरी नलिई करणी गरेमा र सोह्र वर्षभन्दा कम उमेरकी बालिकालाई मन्जुरी लिई वा नलिई करणी गरेमा जबरजस्ती करणी हुने देखियो । उल्लिखित कानूनी व्यवस्थाबाट सोह्र वर्षभन्दा बढी उमेरकी महिलालाई निजको मन्जुरी लिएर करणी लिनुदिनु भएकोमा त्यस्तो कार्य जबरजस्ती करणीको कसुर अपराधअन्तर्गत नपर्ने देखियो । अब, उल्लिखित कानूनी व्यवस्थाको सन्दर्भमा मिसिल संलग्न तथ्यहरूलाई विश्लेषण गरी प्रस्तुत वारदात जबरजस्ती वा मन्जुरी कस्तो वारदात हो भनी हेर्दा पीडितको मौकाको कागज र अदालतमा गरेको बकपत्रबाट प्रतिवादीको उमेर १७ र पीडितको उमेर १९ वर्ष भई पीडित र प्रतिवादी एकै गाउँको एउटै स्कुलमा पढ्ने वयस्क अवस्थाका केटा र केटी भएको देखिन्छ । त्यसैगरी पीडितभन्दा प्रतिवादी कान्छो उमेरको भएको पनि देखिन आउँछ । पीडितको जन्ममिति २०५१/१/१७ मा भएको भन्ने मिसिल संलग्न जन्मदर्ताको प्रमाणपत्रबाट देखिँदा निजको उमेर वारदात हुँदाको अवस्थामा १६ वर्षभन्दा बढी नै रहेको देखिन आउँछ । पीडितले मौकामा गरेको कागजमा मलाई जबरजस्ती समातेपछि मैले यो के गरेको छोड भनी कराउँदै बाहिर आउन खोजेपछि निजले झन् मेरो शरीरमा आफ्नो हातले बेसरी कस्दै मेरो स्तन समाई कोठाको उत्तर साइडमा रहेको खाटमा ढाली मेरो हात खुट्टा चलाउन नदिने गरी अचेटी शरीरको भाग खाटको विस्तरामा र खुट्टा भुइँमा भएका कारण मैले प्रतिकार गर्न सकिन । म कराएको सुनिदिने पनि घरनजिकै कोही थिएन । निजले ममाथि जबरजस्ती करणीको कार्य गर्दा मेरो हातको पाखुरासमेतमा निजको नङले कोतारिएको छ भनी उल्लेख गरेको देखिन्छ । पीडितले अदालतमा गरेको बकपत्रको सवाल जवाफ नं. ५ मा प्रतिवादी गोपाल राना आफ्नो चार्ज गर्न भनी राखेको मोबाइल लिन आएका थिए । निज प्रतिवादीले मसँग आफ्नो मोबाइल मागे र मैले मोबाइल निजलाई दिन जाँदा निजले मलाई समाती घरको कोठामा लगी ढोका लगाई मेरो सुरूवाल जबरजस्ती खोली ममाथि चढी मलाई जबरजस्ती करणी गर्‍यो । मैले चिच्याउन कराउन खोज्दा निज प्रतिवादीले मेरो मुख थुनी कराउन दिएन र म कराउनसमेत सकिन भनी उल्लेख गरेको 

देखिन्छ । पीडितभन्दा उमेरले कान्छो देखिएको प्रतिवादी एक्लैले पीडितमाथि जबरजस्ती करणीको कर्तुत गर्न लागेको अवस्थामा स्वभाविक रूपमा प्रतिकार गर्न सक्ने अवस्था रहन्छ । प्रतिवादी एक्लैले पीडितको मुख थुन्ने, बोल्न कराउन नदिने, हातखुट्टा चलाउनै नसक्ने गरी अचेटी राख्ने र प्रतिवादीले नै पीडितको सुरूवाल तथा पेन्टीसमेत खोल्ने कार्य गरेको भन्ने पीडितको भनाई स्वभाविक देखिँदैन । पीडितको सहमति विना उल्लिखित कार्य प्रतिवादी एक्लैले एकै पटकमा गर्न सक्ने अवस्था देखिँदैन । पीडितको स्वास्थ्य परीक्षण गरी पठाएको पत्रमा पीडितको स्वास्थ्य (शरीरमा) जबरजस्ती करणी गरेको चिह्न लक्षणहरू पाइँदैन भनी उल्लेख भएबाट पीडितको पाखुरामा प्रतिवादीको नङले कोतरिएको भन्ने भनाई पनि पुष्टि हुन आएको देखिँदैन ।

३. पीडितको भाइ जो वारदात घटना भएको देख्ने प्रत्यक्षदर्शीको रूपमा रहेका छन् निजले मौकामा कागज गर्दा प्रतिवादी गोपाल रानाले मेरो दिदी परिवर्तित संकेत नं.६६ बेलवा ५ लाई खाटमा ढाली नग्न बनाई निजमाथि चढी हल्लिरहेको देखेको भनी भनेको देखिन्छ । अदालतमा बकपत्र गर्दा म बाख्रा गोठाले गएकोले मेरो चप्पल चुडिँएकोले सो जोडाउन घर आउँदा भान्सा कोठातर्फ जाँदा खत्राकखुत्रुक आवाज आएकोले अर्को कोठामा गई हेर्दा गोपाल रानाले मेरो दिदीको माथि चढी एक हातले दिदीको मुख छोपी दिदीमाथि हल्लिरहेको देखी थाहा पाएको हुँ भनी बकपत्र गरेको देखिन्छ । निजले बकपत्र गर्दा प्रतिवादीले पीडितलाई करणी गरिरहँदा पीडितले प्रतिवादीको हात आफ्नो मुखबाट हटाई कराउन, प्रतिवादीबाट उम्कनको लागि भरमग्दुर प्रयास गरिरहेको अवस्थामा देखेको भनी भन्न सकेको देखिँदैन । निजै ............... ले गरेको बकपत्रको सवाल जवाफ नं. ९ मा मेरो घरको वरिपरि मानबहादुर बुढाको घर छ, भावना डि.सि., साइली अन्टी, जेठी माइजूहरूको घर छन् भनी सवाल जवाफ नं. ११ मा म त्यहाँ पुग्दा करणी कार्य गरिरहेका थिए भनी, बकपत्रको सवाल जवाफ नं. १६ मा ढोका ढेपेको मात्र थियो, चुकुल लगाएको थिएन भनी र सवाल जवाफ १७ मा घरअगाडि सार्वजनिक बाटो छ भनी उल्लेख गरेको देखिन्छ । निज ............... को उल्लिखित भनाइहरूबाट पीडितलाई प्रतिवादीले करणी कार्य गरिरहेको देखेको, ढोकाको चुकुल नलगाई ढेपेको अवस्थामा मात्र रहेको, वारदातस्थल वरिपरि अरू मानिसहरूको घरसमेत भएको भन्ने देखिएको साथै पीडितलाई प्रतिवादीले समाती घरको कोठामा लगी ढोका लगाई निजको सुरूवाल जबरजस्ती खोल्ने काम गर्नुभन्दा अगाडि नै प्रतिवादीले मेरो मुख थुनी बोल्न कराउन दिएन भनी पीडितले भन्न सकेको अवस्था नदेखिएको र पीडितलाई प्रतिवादीले करणी गर्नुभन्दा तत्काल अगाडिको अवस्थामा हारगुहार गरी चिच्याउँदा कराउँदा अरू मानिसहरूले सुन्न सक्ने अवस्था हुँदाहुँदै पनि पीडितले कराएको हारगुहार गरेको भन्ने पनि देखिएको छैन । पीडितले प्रतिवादीले आफूलाई जबरजस्ती करणी गरेको हो भन्दैमा जबरजस्ती करणी ठहर हुन सक्ने अवस्था हुँदैन । सो कुरा मिसिल संलग्न स्वतन्त्र सबुद प्रमाणबाट तथ्यगत रूपमा पुष्टि हुन सक्नु पर्दछ । जबरजस्ती करणी मुद्दामा पीडितको कागज बेहोरा सबुदको रूपमा रहने भए तापनि अकाट्य प्रमाणको रूपमा भने लिन मिल्ने अवस्था हुँदैन । त्यस्तो बकपत्रमा उल्लेख भएका कुराहरू विश्वसनीय पनि देखिनु पर्दछ । प्रत्यक्षदर्शीको रूपमा रहेका पीडितका भाइ ............... को अनुसन्धान तथा अदालतमा गरेको कागज बेहोरा, पीडितको मौकाको भनाइ र अदालतको बकपत्र बेहोरासमेतलाई विचार गर्दा घटना वारदातको प्रकृति जबरजस्तीसँग करणी गरेको प्रकृतिको देखिन आउँदैन । 

४. यसैगरी प्रतिवादीउपर नाम परिवर्तित संकेत नं. ६६ बेलवा ४ ले म जाहेरवालीको छोरी वर्ष १७ की नाम परिवर्तित संकेत नं. ६६ बेलवा ५ लाई गाउँकै प्रतिवादी गोपाल रानाले जबरजस्ती करणी गरेको हुँदा निजलाई सजाय गरिपाउँ भनी जाहेरी दिएको 

देखिन्छ । निज जाहेरवालीले अदालतमा बकपत्र गर्दा किटानी गरी यी प्रतिवादीले मेरो छोरीलाई जबरजस्ती करणी गरेको भनी भन्न नसकी घटना मैले आफूले देखेको नभई छोराले भनी थाहा पाएको हुँ भनी उल्लेख गरेको देखिन्छ । प्रतिवादीको साक्षी पदम डाँगीले दुवै एउटै विद्यालयमा पढ्ने, कक्षा ९ मा पीडित भनिएकी र कक्षा ८ मा प्रतिवादी गोपाल राना पढ्ने गरेको, यी दुवैबीच हेलमेल सम्पर्क भई एकअर्काको घरमा आउने जाने पनि गर्दथे । यी सबै कारणबाट केटा केटीबीच मन मिली करणी भएको हुनुपर्दछ । अगलबगलमा मानिसहरू बसेका छन्, सावर्जनिक बाटो छ, त्यस्तो अवस्थामा जबरजस्ती करणी भए हल्ला गुहार सुनिनु पर्दछ सो केही सुनिएन भनी प्रतिवादीको इन्कारी बयान समर्थित हुने गरी बकपत्र गरिदिएको देखिन्छ । 

५. करणी भन्ने बित्तिकै या त करणी लिनु दिनु गर्ने पक्षहरूबीचको सहमतिमा हुन्छ या त जबरजस्ती रूपमा नै हुने हुन्छ । त्यस्तो करणी सहमति वा जबरजस्ती के कस्तो रूपमा भएको हो भन्ने छुटयाउने आधार भनेको वारदातको पृष्ठभूमि, अवस्था, प्रकृति र परिस्थितिलगायतका तथ्यगत कुराहरू नै हुन । प्रतिवादीले मौकामा तथा अदालतमा बयान गर्दा जबरजस्ती करणी गरेको कुरामा इन्कार रही पीडितको मन्जुरीमा करणी गरेको भनी बयान गरेको देखिएको, पीडितले घटना विवरण कागज र अदालतमा बकपत्र गर्दा प्रतिवादीले आफूलाई जबरजस्ती करणी गरेको हो भनी बताए पनि निजको मौकाका कागज र अदालतको बकपत्र बेहोराबाट जबरजस्ती करणी गरेको भन्ने निजको भनाई विश्वसनीय देखिन नआएको, पीडितले अदालतमा गरेको बकपत्रमा त्यस्तो कार्य किन गरिस् भनेर मलाई आमाले गाली गर्नु भएको भनी उल्लेख गरेबाट पीडितकै मन्जुरीले करणी लिनुदिनु गर्ने कार्य भएको भन्ने कुरालाई पुष्टि गरिरहेको, पीडितले प्रतिवादीबाट उम्कन हारगुहार गर्न सक्ने अवस्था रहँदारहँदै पनि सो गरेको नदेखिएको, चस्मदिद गवाहको रूपमा रहेका पीडितका भाइ ............... ले आफू घरमा आउँदा पीडितमाथि प्रतिवादी चढी हल्लिरहेको, करणी गरिरहेको देखेको भनी भनेको, त्यसबखत पीडितले प्रतिवादीको पासबाट भाग्न उम्कन हारगुहार गर्न प्रयासरत रहेको भनी भन्न सकेको नदेखिएको लगायतका तथ्यगत अवस्थालाई मध्यनजर गर्दा प्रस्तुत मुद्दाको वारदात जबरजस्ती करणीको वारदात नभई मन्जुरीसँग करणी गरेको वारदात मान्नु पर्ने अवस्थाको देखिन आयो । 

६. अब, दोस्रो प्रश्न कन्याजाली च्यातिँदैमा जबरजस्ती करणीको वारदात स्थापित हुन्छ हुँदैन ? भन्ने सम्बन्धमा हेर्दा पीडितको कन्याजाली फाटेको छ भनी पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदनमा उल्लेख भएको देखिन आउँछ । करणी भएकै कारणबाट पनि कन्याजाली फाट्न सक्ने र कन्याजाली फाट्ने कुरा करणी मात्र नभएर अन्य शारीरिक कारणबाट पनि हुन सक्ने भनी मेडिकल जुरिसप्रुडेन्समा उल्लेख भएको पाइन्छ । स्वास्थ्य परीक्षण रिपोर्टमा पीडितको कन्याजाली करणी गरेको कारणबाट फाटेको हो वा अन्य कारणबाट फाटेको हो भनी खुलाउन सकेको देखिँदैन । कन्याजाली फाटेको भन्ने तथ्यले जबरजस्ती करणी गरेको तथ्य स्थापित गर्न सहयोग पुग्ने भएपनि अन्य स्वतन्त्र प्रमाणहरूबाट सो कुरा पुष्टि नभएसम्म कन्याजाली फाटेकै आधारमा जबरजस्ती करणी भएको भनी निष्कर्षमा पुगी हाल्न मनासिब हुँदैन । तसर्थ पीडितको शारीरिक परीक्षण प्रतिवेदनमा पीडितको कन्याजाली फाटेको भन्ने उल्लेख भए तापनि सो कन्याजाली प्रतिवादीले जबरजस्ती करणी गरेकै कारण फाटेको हो भनी यकिनसाथ नखुलाइएको र कन्याजाली फाटैकै कारणले मात्र जबरजस्ती करणीको वारदात स्थापित हुन सक्ने अवस्थासमेत नहुने भएकोले पुनरावेदकले पुनरावेदन गर्दा जिकिर लिए जस्तो पीडितको कन्याजाली फाटेको भन्ने आधारमा मात्र प्रतिवादीले पीडितलाई जबरजस्ती करणी गरेको हो भनी निष्कर्षमा पुग्न मनासिब हुने देखिएन ।

७. पीडितको शारीरिक परीक्षण प्रतिवेदनमा हेर्दा पीडितको स्वास्थ्य (शरीरमा) जबरजस्ती करणी गरेको चिह्न लक्षणहरू नदेखिएको, निजको योनि वरिपरि एवं शरीरको अन्य भागमा संघर्षका चिह्नहरू, निलडाम, घाउ चोट, कोतरिएको दाग नभएको, निजले लगाएको कपडाहरूमा एवं योनि वरिपरि कुनै पुरूष व्यक्तिको वीर्य लागेको नदेखिएको भन्ने उल्लेख भएको देखिन्छ । प्रतिवादी गोपाल रानाको स्वास्थ्य परीक्षणमा जबरजस्ती करणीको लक्षण र चिह्नहरू कुनै नभएको, निजको कपडामा योनि रस नलागेको, लिङ्ग कोतरिएको, खोस्रिएको र रगडिएको नदेखिएको, संघर्षका लक्षणहरू नभएको भनी उल्लेख भएको देखिन्छ । वारदात मिति २०६९/१२/२१ मा भएको देखिन्छ भने स्वास्थ्य परीक्षणको लागि अस्पताल मिति २०६९/१२/२३ मा गएको देखिन्छ । दुई दिनभित्रै कुनै घाउ चोट वा दाग लागेको भए हराइहाल्ने अवस्था पनि हुँदैन । पीडितले मौका तथा अदालतमा गरेको कागजमा प्रतिवादीले आफूलाई जबरजस्ती करणी गरेको, करणी गर्ने कार्य खटियामा भयो, पूरा काम भयो र स्खलनसमेत भएको हो । भाइ आएपछि मात्र प्रतिवादी भागेको हो भनी लेखाएको देखिन्छ । प्रतिवादी र पीडित वयस्क उमेरका महिला पुरूष देखिएको, निजहरूको मानसिक अवस्था पनि ठिक रहेको देखिएको, पीडित शारीरिक रूपमा कमजोर रहेको भन्ने पनि नदेखिएको अवस्थामा एउटा वयस्क उमेरको पुरूषले जबरजस्ती करणी गर्न खोज्दा वयस्क उमेरकै मानसिक र शारीरिक रूपमा सक्षम महिलाले स्वभाविक रूपमा आफ्नो सतित्व रक्षाको खातिर केही न केही प्रतिवाद गर्न सक्ने र प्रतिवादका क्रममा जबरजस्ती करणीका संघर्षका कुनै न कुनै चिह्नहरू प्रतिवादी र पीडितमा देखिनु पर्ने कुरालाई अस्वभाविक मान्न सकिँदैन । पीडितको मानसिक र शारीरिक अवस्था प्रतिवाद गर्न सक्ने अवस्थाको रहँदारहँदै त्यस्तो कुनै संघर्षका चिह्नहरू नदेखिनुले अभियोग दाबी खण्डित हुने नै अवस्था देखिन्छ । जबरजस्ती करणीको अपराध पुष्टि हुन संघर्षको चिह्नहरूको अनिवार्यता नभएको कुरालाई स्वीकार गर्न सकिन्छ तर त्यस्तो अवस्था वारदातको अवस्था र प्रकृतिले निर्धारण गर्ने कुरा हो । प्रस्तुत मुद्दाको सन्दर्भमा वारदातको परिस्थिति र घटनाक्रमलाई विश्लेषण गर्दा प्रतिवादी र पीडितमा जबरजस्ती करणी हुँदाका संघर्षका कुनै न कुनै चिह्नहरू हुनै पर्ने अवस्थाको देखिन्छ । पीडितले प्रतिवादीको नङले आफ्नो पाखुरामा कोतरेको भने पनि त्यस्तो कोतरेको भन्ने कुरा स्वास्थ्य परीक्षण प्रतिवेदनबाट देखिएको छैन । यस अवस्थामा पुनरावेदक वादी नेपाल सरकारको तर्फबाट लिएको पुनरावेदन जिकिर मनासिब देखिन आएन ।  

८. अतः माथि विवेचित आधार, कारण र प्रमाणहरूसमेतबाट सुरू बर्दिया जिल्ला अदालतबाट प्रतिवादीलाई अभियोग दाबीबमोजिमको कसुरबाट सफाइ दिने ठहर गरेको फैसला सदर गरेको पुनरावेदन अदालत नेपालगञ्जको मिति २०७१/१/१४ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न   सक्दैन । मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाई दिनू ।

 

उक्त रायमा सहमत छु ।

न्या. सारदाप्रसाद घिमिरे

 

इजलास अधिकृत : नगेन्द्रकुमार कालाखेती

इति संवत् २०७३ साल भाद्र २३ गते रोज ५ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु