शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १०१७६ - कर्तव्य ज्यान

भाग: ६१ साल: २०७६ महिना: बैशाख अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री हरिकृष्ण कार्की

माननीय न्यायाधीश डा.श्री आनन्दमोहन भट्टराई

फैसला मिति : २०७५/५/५

०७५-RC-००२६

 

मुद्दाः- कर्तव्य ज्यान

 

पुनरावेदक / वादी : आशिष सुनारको जाहेरीले नेपाल सरकार

विरूद्ध

विपक्षी / प्रतिवादी : धादिङ जिल्ला, भुमेस्थान गा.वि.स. वडा नं.३ बस्ने ध्रुवबहादुर सुनार

 

प्रतिवादीलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सर्वस्वसहित जन्म कैद हुने ठहरे पनि केही नेपाल कानूनलाई संशोधन, एकीकरण, समायोजन र खारेज गर्ने ऐन, २०७४ को दफा ३९ (२)(क) मा कुनै कसुरको सजाय साबिक ऐनमा मुलुकी अपराध संहितामा लेखिएको भन्दा बढी रहेछ भने संहितामा लेखिएको हदसम्म मात्र सजाय हुनेछ भन्ने कानूनी व्यवस्था भएको परिप्रेक्ष्यमा मुलुकी अपराध (संहिता) ऐन, २०७४ मा सर्वस्वसहित जन्मकैदको कानूनी व्यवस्था नभएको र ऐ. को दफा १७७ (२) मा ज्यान मर्ने कसुर गर्ने गराउने व्यक्तिलाई जन्मकैदको सजाय मात्र हुने भनी कानूनी व्यवस्था रहेभएको देखिएकोले प्रतिवादीलाई जन्मकैदको मात्र सजाय हुने ।

(प्रकरण नं.४)

 

पुनरावेदक / वादीका तर्फबाट : 

विपक्षी / प्रतिवादीका तर्फबाट : 

अवलम्बित नजिर :

सम्बद्ध कानून :

 

सुरू तहमा फैसला गर्ने:-

माननीय न्यायाधीश श्री रमेशराज पोखरेल

धादिङ जिल्ला अदालत

पुनरावेदन तहमा फैसला गर्नेः-

माननीय न्यायाधीश श्री टेकराज नेपाल

माननीय न्यायाधीश श्री विदुर विक्रम थापा

पुनरावेदन अदालत पाटन

 

फैसला

न्या. हरिकृष्ण कार्की : न्याय प्रशासन ऐन, २०७३ को दफा १० बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्रको भई साधकको रोहमा पेस हुन आएको प्रस्तुत मुद्दाको तथ्य र ठहर यसप्रकार रहेको छः-

धादिङ जिल्ला, भुमेस्थान गा.वि.स.वडा नं.३ स्थित पूर्वमा सन्तबहादुर सुनारको घर, पश्‍चिममा बुद्धिमान सुनारको घर, उत्तरमा कृष्णबहादुर सुनारको खेतबारी, दक्षिणमा कच्ची बाटो, यति चार किल्लाभित्र कृष्णबहादुर सुनारको घर रहेको, उक्त घरभित्र प्रतिवादी ध्रुवबहादुर सुनारले मृतक कृष्णबहादुर सुनारको घाँटी रेटी घाइते बनाई भागेको अवस्थामा फेला पारी निजले समाई राखेको रगतजस्तो रातो पदार्थ लागेको काठको बिँड भएको फलामको छुरा प्रहरीले रीतपूर्वक बरामद गरी लिई गएको भन्‍ने बेहोराको बरामदी मुचुल्का ।

जिल्ला धादिङ भुमेस्थान गा.वि.स. वडा नं.३ स्थित पुर्वमा सन्तबहादुर सुनारको घर, पश्चिममा बुद्धिमान सुनारको घर, उत्तरमा कृष्णबहादुर सुनारको खेतबारी, दक्षिणमा कच्ची बाटो, यति चार किल्लाभित्र कृष्णबहादुर सुनारको घर, उक्त घरमा कृष्णबहादुर सुनारलाई निजकै छोरा ध्रुवबहादुर सुनारले धारिलो हतियार छुराले घाँटीमा रेटी घाइते बनाएको घटनास्थल रहेको भन्‍ने बेहोरासमेतको घटनास्थल प्रकृति

मुचुल्का ।

मिति २०७१/०६/२१ गतेका दिन बेलुका अं.०८:२० बजेको समयमा जिल्ला धादिङ भुमेस्थान गा.वि.स. वडा नं.३ बस्ने वर्ष ५५ को कृष्णबहादुर सुनारलाई निजकै छोरा ध्रुवबहादुर सुनारले धारिलो हतियार छुराले घाँटीमा रेटी घाइते बनाई भागी गएकोमा निजलाई खोजतलास गरी पक्राउ गरी घटनामा प्रयोग भएको छुरासमेत बरामद गरी बरामदी मुचुल्का र घटनास्थल प्रकृति मुचुल्कासमेत तयार पारी यसै प्रतिवेदनसाथ पेस गरेको छु भन्‍ने बेहोरासमेतको प्रहरी प्रतिवेदन ।

मिति २०७१/०६/२१ गते बेलुका मेरो काका नाता पर्ने कृष्णबहादुर सुनारलाई निजकै छोरा ध्रुवबहादुर सुनारले धारिलो हतियार छुराले घाँटी रेटी घाइते बनाएकोमा निजको उपचारको क्रममा मृत्यु भएको हुँदा निजलाई कानूनबमोजिम कडाभन्दा कडा कारबाही गरिपाउँ भन्‍ने बेहोरासमेतको आशिक सुनारको जाहेरी दरखास्त ।

जिल्ला काठमाडौं काठमाडौ महानगरपालिका वडा नं.१४ बल्खुस्थित बयोधा अस्पतालको इमरजेन्सी वार्डको १ नं. बेडमा मृतक कृष्णबहादुर सुनारको लास रहेको, उक्त लासको अनुहारमा रगत लागी घाँटीको अगाडिको भागमा धारिलो हतियारले काटेकोजस्तो प्वाल घाउ रही रगत लतपतिएको, लिङ्ग र मलद्वार सामान्य रहेको भन्‍ने बेहोरासमेतको लास जाँच प्रकृति मुचुल्का ।

घटनास्थलबाट बरामद भई आएको Insecticide नामक विषको बट्टा र घटनामा प्रयोग भएको रगतजस्तो रातो पदार्थ लागेको कर्दजस्तो देखिने चुपी (छुरा) मलाई देखाउँदा हेरी उक्त कर्दजस्तो देखिने चुपी (छुरा)ले नै मैले बुबाको घाँटीमा रेटी घाइते बनाएको हतियार हो र विषको बट्टा आमाले आबेगमा आई सेवन गरेको विषको बट्टा यही नै हो भनी प्रतिवादी ध्रुवबहादुर सुनारले गरी दिएको सनाखत कागज ।

बरामद भई आएको रगतजस्तो रातो पदार्थ लागेको कर्द जस्तो देखिने हतियार चुपी (छुरा) र विषको बट्टा परीक्षणको लागि पठाइएको पत्र ।

मृतक कृष्णबहादुर सुनार मेरो कान्छो ससुरा हुन् मिति २०७१/०६/२१ गतेका दिन प्रतिवादी ध्रुवबहादुर सुनारले मृतकलाई धारिलो हतियार चुपी (छुरा) ले घाँटीमा रेटी घाइते बनाई मैले बुबालाई काटेको हो भन्दै हिँडेपछि थाहा पाई गई हेर्दा मृतकको घाँटी काटी घाइते भएको देखेको हो निज प्रतिवादीले पहिलादेखि नै मृतक कृष्णबहादुर सुनारलाई काट्छु मार्छु भनेर हिँड्ने गरेकोसमेत सुनेको हुँ निज प्रतिवादीले आफ्नो बुबालाई कर्तव्य गरी मारेको हुँदा निजलाई कडाभन्दा कडा कारबाही होस् भन्‍ने बेहोराको रामकुमार सुनारले गरी दिएको कागज ।

मृतक कृष्णबहादुर सुनार र प्रतिवादी ध्रुवबहादुर सुनार मेरो छिमेकी मानिस हुन् निजहरूलाई मैले राम्ररी चिन्दछु मिति २०७१/०६/२१ गतेका दिन म आफ्नो खेत तसर्पुमा पानी लगाएर घरतर्फ फर्की आउँदा कृष्णबहादुर सुनारलाई निजको छोरा ध्रुव सुनारले धारिलो हतियारले घाँटी रेटी घाइते बनाएको भन्‍ने सुनी थाहा पाई हतार हतारमा गई हेर्दा बाटोमा कृष्णबहादुर सुनारलाई उपचारको लागि लैजाँदै गरेको अवस्थामा देखेको हो पछि निजको उपचारको क्रममा मृत्यु भएको हो निज प्रतिवादी ध्रुवबहादुर सुनारले नै आफ्नो बुबा कृष्णबहादुर सुनारलाई धारिलो हतियार प्रहार गरी मारेको हो भन्‍ने बेहोरासमेतको गोविन्द प्रसाद पौडेलले गरी दिएको कागज ।

मिति २०७१/०६/२१ गतेका दिन जिल्ला धादिङ भुमेस्थान गा.वि.स. वडा नं.३ बस्ने वर्ष ३५ को ध्रुवबहादुर सुनारले आफ्नै बुबा कृष्णबहादुर सुनारलाई सुतिरहेको अवस्थामा धारिलो हतियार चुपी (छुरा) ले घाँटी रेटी घाइते बनाएकोमा निजको उपचारको क्रममा मृत्यु भएको सुनी थाहा पाएको हो । निज प्रतिवादी गाउँघरमा बस्दाको बखत आफ्नो बुबा, आमा र श्रीमतीलाई कुटपिट गर्ने गरेकोसमेत थियो निज प्रतिवादीले आफ्नो बुबाको ज्यान लिने मनासयले घाँटी रेटी घाइते बनाएकै हो सोही कारणबाट निजको मृत्यु भएको हो भन्‍ने बेहोरासमेतको बुझिएका विकास वि.क. समेतले गरी दिएको घटना विवरण कागज ।

म मृतकको छोरी हुँ म दशैंको समयमा टिका लगाउन माइती घर आएको अवस्थामा मिति २०७१/०६/२१ गतेका दिन बेलुका अं.०८:२० बजेको समयमा प्रतिवादी दाजु ध्रुवबहादुर सुनारले बुबा कृष्णबहादुर सुनारलाई धारिलो हतियार चुप्पी (छुरा) ले घाँटी रेटी घाइते बनाएको मसमेतले देखेको हो । बुबालाई घाइते देखेर आमा विन्दा सुनार अब म पनि बाँच्दिन भनी घरमा धानमा हाल्न भनी राखेको विषादी औषधी सेवन गरिराखेको अवस्थामा मैले आमाको हातबाट खोस्दा मेरो अनुहारको भागमा समेत पर्न गई म र आमा बेहोस भएको हौं । आमा हालसम्म उपचारकै क्रममा छन् र बुबाको उपचारको क्रममा मृत्यु भएको हो भन्नेसमेतको बट्टई सुनारसमेतले गरी दिएको घटना विवरण कागज ।

बुबा कृष्णबहादुर सुनारले गाउँका स्वास्नी मानिस दिदी बहिनीहरू एवं छोरीहरूसँग समेत नाजायज सम्बन्ध राख्ने गरेको गाउँघरका मानिसहरूबाट समेत बुझेकोले मैले यस विषयमा बुबालाई बारम्बार सम्झाई बुझाई गर्दा पनि बुबाले सो कुरा नसुनी उल्टै मलाई हप्काई दप्काई गर्ने गरेको, मेरो कुरा नसुनेकोले मलाई रिस उठी २०७१/०६/२१ गतेका दिन बेलुका बुबालाई घरमा एक्लै भएको मौकामा चुप्पी (छुरा) ले घाँटीमा रेटी घाइते बनाएकोमा उपचारको क्रममा बुबाको मृत्यु भएको हो भनी प्रतिवादी ध्रुव सुनारले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।

बुबालाई ज्वरो आएकोले महादेव वेसीमा औषधि लिन आई घर फर्कने क्रममा बाटोमा दाजु ध्रुवबहादुर सुनारले बुबा कृष्णबहादुर सुनारको घाँटी रेटी घाइते बनाएको हल्ला सुनेकोमा घरभन्दा केही तल चौतारोमा बुबालाई उपचारको लागि अस्पताल लान लागेको देखी म बेहोस भएको हुँ । बुबाको सोही दिन उपचारको क्रममा मृत्यु भएको हो भनी बुझिएकी वसन्ती सुनारले गरी दिएको कागज । 

मृतक मेरो श्रीमान्‌ र प्रतिवादी छोरा हुन् । निज प्रतिवादीले पहिलादेखि नै घर परिवारमा हैरानी दिने बितण्डा गर्ने गर्दै आएकोमा मिति २०७१/०६/२१ गते कोजाग्रत पुर्णिमा दिन म जाहेरवालाको घरमा गएको अवस्थामा मान्छे मार्‍यो भन्‍ने हल्ला सुनी घरमा आउँदा श्रीमान्‌लाई रगताम्य अवस्थामा देखेको हो । निज नबाँच्ने अवस्था देखी मैले पतेरालाई छर्न ल्याएको विषादी औषधी सेवन गर्न लागेको अवस्थामा विषको बट्टा खोस्न थाल्दा छोरीको शरीरमा पनि परेको थियो । घरमा सुतिरहेको आफ्नै बुबालाई घाँटीमा रेटी हत्या गर्ने निज प्रतिवादी ध्रुवबहादुर सुनारउपर कारबाही गरिपाउँ भनी मृतकको श्रीमती विन्दा सुनारले गरिदिएको कागज ।

मृतक कृष्णबहादुर सुनारको मृत्यु Sharp force injury to neck the presence of blunt force head injury कारण भएको भन्‍ने शव परीक्षण प्रतिवेदन ।  

प्रतिवादी ध्रुवबहादुर सुनारले आफ्नै घरमा सुतिरहेका बुबा कृष्णबहादुर सुनारलाई धारिलो हतियार छुराले घाँटी रेटी घाइते भएकोमा सोही चोट पीडाको कारण उपचारको क्रममा निज कृष्णबहादुर सुनारको मृत्यु भएको देखिँदा प्रतिवादीको उल्लिखित कार्य मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं. ले परिभाषित १३(१) नं.अनुसारको कसुरजन्य कार्य भए गरेको देखिँदा निज प्रतिवादी ध्रुवबहादुर सुनारलाई सोही महलको १३(१) नं. बमोजिम सजाय गरिपाउँ भन्‍ने अभियोग पत्र । 

मेरो बुबा मृतक कृष्णबहादुर सुनारले निजको छोरी मेरो बहिनी शान्तिलाई पटकपटक जबरजस्ती करणी गरेको भनेको र मृतक बाबुले पटकपटक बहिनीलाई आफ्नो गुप्ताङ्ग समाउन लगाएको मैले नै देखेको र त्यसरी मृतक बाबु कृष्णबहादुर सुनारले बहिनीलाई जबरजस्ती करणी गर्ने गरेको र त्यस्तो दुर्व्यवहार गर्ने बाबुलाई मारिदिनु भनी बहिनीले पनि पटकपटक मलाई भनेको हुँदा त्यसमा मलाई अत्यन्तै रिस उठिरहेको हुँदा मैले बाध्यतावश बुबालाई छातीमा छुरा प्रहार गरी मारेको हुँ । सोही चोटबाट निज बाबु कृष्णबहादुर वि.क.को मृत्यु भएको हो भन्‍ने प्रतिवादी ध्रुवबहादुर सुनारले यस अदालतमा गरेको बयान ।

यी प्रतिवादी कसुरमा साबित रहेको र मौकामा कागज गर्ने मानिसहरूले समेत यी प्रतिवादीले कर्तव्य गरी छुरी हानी मृतकको मृत्यु भएको हो भनी लेखाइदिएको समेतका मिसिल संलग्न कागज प्रमाणहरूको आधारमा प्रतिवादी ध्रुवबहादुर सुनारलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३ (१) नं. बमोजिम सर्वस्वसहित जन्मकैद हुने ठहर्छ भन्नेसमेत बेहोराको सुरू धादिङ जिल्ला अदालतबाट भएको मिति २०७१/०९/३० को फैसला ।

सो फैसला साधक सदरको लागि पुनरावेदन अदालत पाटनमा प्राप्त भई साधकका रूपमा दर्ता हुन आएको ।

प्रतिवादी ध्रुवबहादुर सुनारले अभियोग दाबीबमोजिमको कसुर अपराध गरेको हुनाले निजलाई अभियोग माग दाबीबमोजिम सर्वस्वसहित जन्मकैदको सजाय हुने ठहर्‍याई सुरू धादिङ जिल्ला अदालतबाट भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्नेसमेत बेहोराको पुनरावेदन अदालत पाटनको मिति २०७२/०९/०६ को फैसला ।

सो फैसला साधक जाँचको लागि यस अदालतमा प्राप्‍त हुन आई यस अदालतको मिति २०७५/०४/०१ को आदेशानुसार साधक दायर हुन आएको ।

नियमबमोजिम साप्‍ताहिक तथा दैनिक पेसी सूचीमा चढी पेस हुन आएको प्रस्तुत मुद्दामा मिसिल अध्ययन गरी हेर्दा, पुनरावेदन अदालत पाटनबाट भएको फैसला मिलेको छ वा छैन ?  तथा उक्त फैसला साधक सदर हुन्छ वा हुँदैन ? भन्‍ने विषयमा निर्णय दिनुपर्ने देखिन आयो । 

यसमा प्रतिवादी ध्रुवबहादुर सुनारले मिति २०७१/०६/२१ गते बेलुकी अं.८:२० बजेको समयमा आफ्नै घरमा बुबा कृष्णबहादुर सुनारलाई धारिलो हतियार छुराले घाँटीमा रेटी घाइते बनाएको र उपचारको क्रममा निजको मृत्यु भएकोले प्रतिवादीलाई ज्यानसम्बन्धी महलको १३ (१) नं. बमोजिम सजाय गरिपाउँ भन्‍ने अभियोग दाबी रहेको देखिन्छ । सुरू अदालतबाट अभियोग दाबीअनुसार सजाय हुने ठहरी फैसला भई पुनरावेदन अदालतबाट साधक जाँच हुँदा सुरू फैसला सदर हुने ठहरी फैसला भएको पाइयो । सो फैसलासमेत अन्तिम साधक जाँचका लागि यस अदालतमा दायर हुन आई आज यस इजलाससमक्ष पेस हुन आएको छ । 

२. निर्णयार्थ विचार गर्दा, यसमा यी प्रतिवादीउपर मिति २०७१/०६/२२ गते किटानी जाहेरी परेको देखिन्छ भने प्रतिवादीले मिति २०७१/०७/०२ गते अधिकारप्राप्‍त अधिकारीसमक्ष तथा मिति २०७१/०७/१७ गते सुरू धादिङ जिल्ला अदालतसमक्ष बयान गर्दासमेत आफूले मृतक पितालाई छुरा प्रहार गरी मारेको, आफूले रोपेको छुराको प्रहारबाट पिता कृष्णबहादुर सुनारको मृत्यु भएको, आफूले बाध्यतावश गरेको अपराधको सजाय भोग्न तयारै छु भनी कसुर अपराधमा पूर्णरूपमा साबित रही बयान गरिदिएको पाइन्छ । यी प्रतिवादीको साथबाट रगत लागेको छुरा बरामद भएको भन्‍ने बरामदी मुचुल्काबाट देखिन आउँछ । वारदात भएको भनिएको घरको कोठाभित्र हेर्दा रगतजस्तो रातो पदार्थ भुइँमा र यत्रतत्र देखिएको, आफ्नो लोग्नेलाई प्रहार गरेकोमा आवेशमा आई यी प्रतिवादीको आमा विन्दा सुनार र बहिनी बटई सुनारले घरमा रहेको बारीमा हाल्ने Insecticide नामक विषादी सेवन गरी लडिरहेको भन्‍ने र उक्त विषादीको बट्टासमेत जफत गरिएको भन्‍ने घटनास्थल प्रकृति मुचुल्काबाट देखिन आएको छ । लास जाँच मुचुल्कामा लासको अनुहारमा रगत लागी अगाडिको भागमा धारिलो हतियारले काटेको नयाँ घाउ रही रगत लतपतिएको, घाँटीमा ५ इन्च गोलाइ २ इन्च फराकिलो गहिरो ठूलो घाउ रहेको भन्नेसमेत देखिन आउँछ । मिसिल संलग्न मृतकको शव परीक्षण प्रतिवेदनको मृत्युको कारण महलमा Sharp force injury to neck the presence of blunt force head injury भन्‍ने उल्लेख छ । शव परीक्षण प्रतिवेदनमा उल्लिखित बेहोरा, बरामदी मुचुल्का र घटनास्थल प्रकृति मुचुल्का, लास जाँच मुचुल्कासमेतका वस्तुगत प्रमाणहरूबाट जाहेरी दरखास्तको बेहोरा, प्रतिवादीको साबिती बयान बेहोरा तथा यी प्रतिवादीले मृतकको घाँटीमा छुराले प्रहार गरेको र सोही कारणबाट निजको मृत्यु भएको भन्‍ने तथ्य स्पष्‍ट रूपमा समर्थित हुन आएको छ । मृतककी पत्‍नी विन्दा सुनार, मृतककी छोरी बटई सुनार, शान्ति सुनारसमेतले अनुसन्धानको सिलसिलामा गरिदिएको कागजसमेतबाट प्रतिवादीको बयान बेहोरा तथा उल्लिखित तथ्य पुष्‍टि हुन आउँछ । साथै मृतकको खराब आचरण रहेको र सम्झाउँदा पनि नमानेकोले रिस उठी प्रहार गरेको भन्‍ने प्रतिवादीकै बयान बेहोराबाट र धारिलो वस्तुले घाँटीजस्तो संवेदनशील अंगमा प्रहार गरेको देखिन आएकोबाट यी प्रतिवादीले मनसायपूर्वक नै मृतकलाई प्रहार गरी हत्या गरेको स्थापित भएको छ ।

३. मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं.ले कानूनबमोजिम बाहेक कसैले कुनै मानिसको ज्यान मार्न, मार्न लगाउन वा मार्नको उद्योग गर्न हुँदैन भन्‍ने व्यवस्था गरेको छ । त्यस्तै मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(१) ले धार भएको वा नभएको जोखिमी हतियार गैह्रले हानी, रोपी, घोची, ज्यान मारेमा ज्यानमारा ठहर्छ, सर्वस्वसहित जन्म कैदको सजाय गर्नुपर्दछ भन्‍ने व्यवस्था गरेको छ । प्रतिवादीको बयान मृतकको शव परीक्षण प्रतिवेदनसमेतका मिसिल संलग्न प्रमाणबाट प्रतिवादी ध्रुवबहादुर सुनारले मार्ने मनसायले नै आफ्नो बुबा कृष्णबहादुर सुनारलाई प्रहार गरेको र सोही चोटका कारण उपचारका क्रममा निजको मृत्यु भएको देखिएकोले निज प्रतिवादीले अभियोग दाबीबमोजिमको कसुर अपराध गरेको पुष्‍टि हुन आएको देखिन्छ । त्यसैले प्रतिवादी ध्रुवबहादुर सुनारलाई अभियोग दाबीबमोजिम कसुरदार ठहर गरी मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(१) नं. बमोजिम सर्वस्वसहित जन्मकैदको सजाय हुने ठहर्‍याई सुरू धादिङ जिल्ला अदालतबाट भएको फैसलालाई सदर हुने ठहर्‍याई पुनरावेदन अदालत पाटनबाट भएको फैसला साधकको रोहबाट जाँच गर्दा मिलेकै देखिन आएको छ । 

४. अतः माथि विवेचित आधार प्रमाणहरूबाट प्रतिवादी ध्रुवबहादुर सुनारलाई अभियोग दाबीबमोजिम मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(१) नं. बमोजिम सजाय हुने ठहर्‍याई सुरू धादिङ जिल्ला अदालतबाट मिति २०७१/०९/३० मा भएको फैसला सदर हुने ठहर्‍याई पुनरावेदन अदालत पाटनबाट मिति २०७२/०९/०६ मा भएको फैसला मिलेकै देखिएकोले साधक सदर हुने ठहर्छ । साथै केही नेपाल कानूनलाई संशोधन, एकीकरण, समायोजन र खारेज गर्ने ऐन, २०७४ को दफा ३९ (२)(क) मा कुनै कसुरको सजाय साबिक ऐनमा मुलुकी अपराध संहितामा लेखिएको भन्दा बढी रहेछ भने संहितामा लेखिएको हदसम्म मात्र सजाय हुनेछ भन्ने कानूनी व्यवस्था भएको परिप्रेक्ष्यमा मुलुकी अपराध (संहिता) ऐन, २०७४ मा सर्वस्वसहित जन्म कैदको कानूनी व्यवस्था नभएको र ऐ. को दफा १७७ (२) मा ज्यान मर्ने कसुर गर्ने गराउने व्यक्तिलाई जन्मकैदको सजाय मात्र हुने भनी कानूनी व्यवस्था रहेभएको देखिएकोले प्रस्तुत मुद्दामा पनि यी प्रतिवादी ध्रुवबहादुर सुनारलाई जन्मकैदको मात्र सजाय हुने ठहर्छ । अरू तपसिलबमोजिम गर्नू ।

तपसिल

सुरू र पुनरावेदन अदालतको फैसलाअनुसार यी प्रतिवादीका नाममा कायम भएको सर्वस्वको लगत कट्टा गरी सर्वस्व गर्ने प्रयोजनका लागि निजको अंश भाग जाय जेथा रोक्का रहेभएको भए सोसमेत फुकुवा गरी जन्मकैदको मात्र लगत राखी असुलउपर गर्नु र सोहीअनुसारको जानकारी प्रतिवादीलाई दिनु भनी सुरू धादिङ जिल्ला अदालतमा लेखी पठाइ दिनू ---१

प्रस्तुत मुद्दाको दायरी लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाइ दिनू -------------------------१

 

उक्त रायमा सहमत छु ।

न्या.डा.आनन्दमोहन भट्टराई

 

फैसला मितिः २०७५/०५/०५/०३

इजलास अधिकृत:- यदुराज शर्मा

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु