शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १०१७८ - बहुविवाह

भाग: ६१ साल: २०७६ महिना: बैशाख अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा

माननीय न्यायाधीश डा.श्री आनन्दमोहन भट्टराई

फैसला मिति : २०७४।९।७

०७३-CR-१४५३

 

मुद्दा : बहुविवाह

 

पुनरावेदक / वादी : जिल्ला डडेलधुरा शिर्ष गा.वि.स. वडा नं.७ कटाल बस्ने अमृता महरा भन्ने अम्मरा देवी महराको जाहेरीले नेपाल सरकार

विरूद्ध

प्रत्यर्थी / प्रतिवादी : जिल्ला डडेलधुरा शिर्ष गा.वि.स. वडा नं.७ कटाल बस्ने महेश महर (महरा) समेत

 

मुद्दा चलाउने हकदैया रहेको निकाय वा व्यक्तिलाई हदम्याद लाग्ने हो । कानूनमा “थाहा पाएको मितिबाट” हदम्याद कायम हुने गरी व्यवस्था भएको कुराको अर्थ अरू जो सुकैले थाहा पाएर हदम्याद सुरू हुँदैन, मुद्दा चलाउने अधिकार पाएको वा हकदैया रहेको व्यक्ति वा निकायले थाहा पाएको मितिबाट हदम्यादको गणना गर्नु पर्ने भन्ने नै हो । यसरी गणना गर्ने प्रचलन तथा यस अदालतबाट मुद्दाको रोहमा प्रतिपादित सिद्धान्तप्रतिकूल हुने गरी बहुविवाह मुद्दामा जेठी पत्नीले थाहा पाएको मितिबाट हदम्याद कायम हुन्छ भन्नु मनासिब नदेखिने ।

(प्रकरण नं.३)

 

पुनरावेदक / वादीका तर्फबाट : विद्वान्‌ उपन्यायाधिवक्ता श्री नारायणबहादुर थापा

प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : विद्वान्‌ अधिवक्ताहरू श्री भेषराज पन्त र श्री देवी कुमारी जोशी

अवलम्बित नजिर :

ने.का.प.२०६२, नि.नं.७६९४

सम्बद्ध कानून :

 

सुरू तहमा फैसला गर्ने:- 

माननीय जिल्ला न्यायाधीश श्री यज्ञराज भट्ट

कैलाली जिल्ला अदालत

पुनरावेदन तहमा फैसला गर्नेः- 

माननीय न्यायाधीश श्री रेवन्तबहादुर कुँवर

माननीय न्यायाधीश श्री नरबहादुर शाही

पुनरावेदन अदालत, दिपायल

 

फैसला

न्या. ईश्वरप्रसाद खतिवडा : न्याय प्रशासन ऐन, २०४८ तथा न्याय प्रशासन ऐन, २०७३ को दफा १२(१)(क) र (ख) बमोजिम मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्रदान भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छः-

तथ्य खण्ड

प्रतिवादी महेशकुमार महर (महरा) र मेरोबीच मिति २०६१ साल मंसिर २० गते सामाजिक परम्पराअनुसार विवाह भई हामीबाट २ छोराको जन्म भएकोमा निज श्रीमान्‌ले मिति २०७०।१२।१ गते जानकी मिश्रा महरासँग दोस्रो विवाह गरी बसेकोले कानूनबमोजिम गरिपाउँ भन्नेसमेत बेहोराको मिति २०७१।१।२३ गतेको जाहेरी दरखास्त ।

म र जाहेरवालीबीच २०६१ साल मंसिर २० गते धार्मिक परम्पराअनुसार विवाह गरी हामी दुवै जना श्रीमान्‌ श्रीमती राम्रैसँग बस्दै आई निज श्रीमतीको कोखबाट २ छोराको समेत जन्म भएको हो । यसै मुद्दाकी प्रतिवादी जानकी मिश्रा महराको माइती घर र मेरो घर एकै ठाउँमा भएका कारण बाल्यकालदेखि नै चिनजान थियो । सोही चिनजान परिचय भएका कारण हामी दुवैबीच प्रेम सम्बन्ध कायम रही २०६८ सालमा जाहेरवाली श्रीमती घरमै भएको अवस्थामा प्रतिवादी मेरी कान्छी श्रीमती जानकी मिश्रा महरासँग धनगढीमा भेटघाट भई हामी दुवै जनाले प्रेम विवाह गरी डेरा कोठा गरी ५।६ महिना धनगढीमा नै बसी सोपश्चात् २०६८ साल असोज महिनामा घरमा गएका हौँ । घरमा पुगेपश्चात् जाहेरवाली श्रीमती अमृता महर (महरा) समेत मेरो ससुराली पक्षका मान्छेहरू आई वादविवाद गरी उजुर बाजुर गर्छौं भन्ने कुरा गर्दा गाउँघरमा नै छलफल गरी दुवै श्रीमतीलाई पालनपोषण गरी राख्ने भन्ने सहमति भई जेठी श्रीमतीसमेतले सहमति जनाई मैले दुवै श्रीमतीहरूलाई साथमा ल्याई जिल्ला कैलाली धनगढी नगरपालिका वडा नं.३ विशालनगर स्थित डेरा कोठा गरी राखी कान्छी श्रीमती जानकी मिश्रा महरले गाडी चलाउँदै आई बालबच्चाहरूको पालनपोषण गर्दै आएका थियौँ । सोपश्चात् आर्थिक अवस्था न्यून भएका कारण मैले सो स्थानबाट धनगढी नगरपालिका वडा नं.३ बोराडाडी स्थित डेरा कोठा गरी बस्दै आएकोमा निज जाहेरवाली श्रीमतीसँग पछि मनमुटाव भई विभिन्न संघ संस्थाबाट मलाई जबरजस्ती कागज गर्न लगाई निज माइतीघरमा जान्छु भनी गएकीमा हाल आएर २०७१।१।२३ गते मेरा नाउँमा बहुविवाह गरेको थाहा पाएको भनी मेरो नाउँमा बहुविवाहअर्न्तगत मुद्दा दर्ता गराएकी हुन् भन्नेसमेत बेहोराको मिति २०७१।१।२९ गतेको प्रतिवादी महेशकुमार महर (महरा) को बयान कागज ।

मिति २०६७ सालको अन्तिमतिर प्रतिवादी महेशकुमार महर (महरा) ले मेरो आफन्तबाट मेरो मोबाइल नम्बर मागी मलाई फोन गरी आफ्नो परिचय दिँदा मलाई निजको बारेमा थाहा भएको हो । सोपश्चात ५।६ महिनासम्म हामी दुवै जनाको फोन सम्पर्क भई एकआपसमा प्रेम सम्बन्ध कायम भई निज श्रीमान्‌ महेशकुमार महर (महरा) ले विवाह गरौं भनी भन्दा मैले तपाइँको विवाह भएको छ, छैन भनी सोधपुछ गर्दा निजले मैले २०६१ सालमा विवाह गरेको हुँ, २ वटा छोरा छन् । जेठी श्रीमतीको चालचलन ठीक छैन निजलाई छोडपत्र दिँदैछु भनेकाले आफूहरू राजिखुसी विवाह गरेका हौँ । सोपश्चात् ५।६ महिना डेरा कोठा गरी बसी निजको घरमा जाँदा जाहेरवाली अमृता महर (महरा) समेतले वादविवाद गरेकोले गाउँमै छलफल गर्दा निज जाहेरवालीसमेतले सहमति जनाई दुवै जना मिलेर बसौंला भनी मिलापत्र गरी श्रीमान् महेशकुमार महरले दुवै श्रीमतीलाई साथमै ल्याई धनगढी नगरपालिका वडा नं.३ विशालनगर स्थित डेरा कोठा गरी पालन पोषण गरी बस्दै आएका हौँ र सोही क्रममा मैलेसमेत गाडी चलाउने काम सिकी सिडलिङ्ग जोन प्रि बोर्डिङ स्कुलको गाडी चलाउँदै आई सोही स्कुलमा अमृता महराको बच्चासमेत पढाउँदै आएका थियौँ । सोपश्चात् आर्थिक अवस्था न्यून भएका कारण डेरा कोठा सारी धनगढी नगरपालिका वडा नं.३ बोराडाडी स्थित बस्दै आएको अवस्थामा जाहेरवाली अमृता महरा डेरा कोठाबाट बाहिर गई अनैतिक सम्बन्ध राखेको अवस्थामा फेला पारेपश्चात् संघ संस्थाको दबाबमा श्रीमान्‌ महेशकुमार महराले कागज गरी पुन: डेरा कोठामा लगेपश्चात् माइतीघरमा गई बस्छु भनी महेशकुमार महर (महरा) सँग बस्दैन भनी पहाड घर जोगबुढातर्फ गई बसेकी हुन् । हाल आएर २०७१।१।२३ गते बहुविवाह गरेको कुरा थाहा पाएको भनी झुठ्ठा बेहोरा उल्लेख गरी उजुरी दिएकी हुन् भन्नेसमेत बेहोराको मिति २०७१।१।२९ गतेको प्रतिवादी जानकी भन्ने जयन्ती मिश्रा महर (महरा) ले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान कागज । 

प्रतिवादी महेशकुमार महर (महरा) ड्राईभर भई तराई पहाड आउने जाने क्रममा  जिल्ला डडेल्धुरा शिर्ष गा.वि.स. वडा नं.६ कटाल घर भई धनगढी नगरपालिका वडा नं.२ बैयाबेहडी स्थित आफन्तको घरमा बस्दै आएकी प्रतिवादी जानकी भन्ने जयन्ती मिश्रा महरासँग प्रेम सम्बन्ध कायम भई विगत २ वर्ष अगाडिदेखि विवाह गरी श्रीमान्‌ श्रीमती भई बस्दै आएको ठीक साँचो हो । हाल जानकी भन्ने जयन्ती मिश्रा महराको कोखबाट छोरासमेत जन्म भएको दुई महिना जति भयो । जाहेरवालीले प्रतिवादी महेशकुमार महराले जानकी भन्ने जयन्ती मिश्रा महरासँग दोस्रो विवाह गरेको भन्ने कुरा के कहिले थाहा भएको हो मलाई थाहा भएन । निज प्रतिवादी महेशकुमार महर (महरा) ले दोस्रो विवाह गरेको ठीक साँचो हो भन्नेसमेत बेहोराको मिति २०७१।२।२ गतेको प्रकाशबहादुर सिंहले मौकामा गरेको कागज ।

प्रतिवादी महेशकुमार महर (महरा) ड्राइभर भई तराई पहाड आउने जाने क्रममा जिल्ला डडेल्धुरा शिर्ष गा.वि.स. वडा नं.६ कटाल घर भई धनगढी नगरपालिका वडा नं.२ बैयाबेहडी स्थित आफन्तको घरमा बस्दै आएकी प्रतिवादी जानकी भन्ने जयन्ती मिश्रा महर (महरा) सँग चिनजान भई प्रेम सम्बन्ध कायम भई निजलाई छोड्न नसकी विवाह गरी कान्छी श्रीमती तुल्याई डेरा कोठा गरी राखेको थियो । विवाह विगत २ वर्षअगाडि गरेको हो । जाहेरवाली अमृता महराले सोको जानकारी के कुन मितिमा थाहा पाएको हो मलाई थाहा भएन, प्रतिवादी महेशकुमार महर (महरा) ले घरमा श्रीमती छोरा हुँदाहुँदै दोस्रो विवाह गरेको ठीक साँचो हो भन्नेसमेत बेहोराको मिति २०७१।२।२ गतेको कर्णबहादुर सिंहले मौकामा गरी दिएको कागज ।

जाहेरवाली अमृता महरा र महेशकुमार महर (महरा) बीच २०६१ सालमा विवाह भई निजहरूको वैवाहिक जीवन राम्रैसँग चलि आएको थियो । निज दुवै श्रीमान्‌ श्रीमतीको सम्बन्धबाट २ वटा छोरासमेत भइसकेको अवस्थामा प्रतिवादी महेशकुमार महर (महरा) ले सवारी चलाउने काम गर्दै आएकोमा प्रतिवादी जानकी भन्ने जयन्ती मिश्रा महर (महरा) सँग परिचय भई प्रेम सम्बन्ध कायम भई २०६८ सालमा निज जानकी भन्ने जयन्ती मिश्रा महर (महरा) सँग दोस्रो विवाह गरी कान्छी श्रीमती तुल्याई डेरा कोठा गरी राखी घरमा लगी गएको हो । सोपश्चात् जाहेरवालीले हाल आएर दोस्रो विवाह गरेको भनी बहुविवाहमा जाहेरी दिएको हो । प्रतिवादी महेशकुमार महर (महरा) र जानकी भन्ने जयन्ती मिश्रा महर (महरा) ले दोस्रो विवाह गरेको ठीक साँचो हो भन्नेसमेत बेहोराको मिति २०७१।२।२ गतेको दान सिंह धामीसमेतले गरी दिएको वस्तुस्थिति मुचुल्का कागज ।

मिसिल संलग्न आधार प्रमाणहरूबाट प्रतिवादीमध्येका महेशकुमार महर (महरा) ले आफ्नो घरमा जेठी श्रीमती हुँदाहुँदै कान्छी श्रीमतीको रूपमा अर्का प्रतिवादी जानकी भन्ने जयन्ती मिश्रा महर (महरा) सँग प्रेम गरी दोस्रो विवाह गरेका र निज प्रतिवादी जानकी भन्ने जयन्ती मिश्रा महर (महरा) ले प्रतिवादी महेशकुमार महर (महरा) को घरमा जेठी श्रीमती छन् भन्ने थाहा जानकारी हुँदाहुँदै कान्छी श्रीमती भई दोस्रो विवाह गरेको पुष्टि भई प्रतिवादी महेशकुमार महर (महरा) ले मुलुकी ऐन, बिहावारी महलको ९ नं. को र अर्का प्रतिवादी जानकी भन्ने जयन्ती मिश्रा महर (महरा) ले सोही महलको १० नं. बमोजिमको कसुर अपराध गरेको हुँदा निज दुवै प्रतिवादीहरूलाई सोही महलको १० नं. बमोजिम सजाय हुन मागदाबी लिइएको छ भन्नेसमेत बेहोराको अभियोग पत्र ।

मिति २०६८।२।१२ मा मैले जयन्ती भन्ने जानकी मिश्रा महरासँग विवाह गरी बहुविवाह गरेको र उक्त विवाह धनगढीमा नै गरेको हो । निज प्रतिवादीसँग प्रेम सम्बन्ध भई दोस्रो विवाह गरेको हो भन्नेसमेत बेहोराको प्रतिवादी महेशकुमार महर (महरा) ले सुरू अदालतमा गरेको बयान ।

निज प्रतिवादी महेशकुमार महरसँग २०६८ साल आषाढदेखि नियमित रूपमा फोन सम्पर्क भएको र सोही फोन सम्पर्कमार्फत चिनजान भई निजले मलाई महिला मान्छे पनि गाडी चलाउछन् तिमीलाई गाडी सिकाई दिन्छु भनी गाडी चलाउन सिकाएको र पछि म शिवलिङ जोन प्रि स्कुलको गाडी चलाउन सुरू गरेको र सो गाडी चलाउन सुरू गरे पूर्व निज प्रतिवादीले घरमा मेरो श्रीमती छैन, विवाह गरौं भनी मलाई विवाह प्रस्ताव राखेपछि मैले विवाह गरेकी हुँ, निजसँग २०६८ सालको माघ महिनादेखि सँगै बसेकी हुँ, निजको जेठी श्रीमती घरमा छ भन्ने कुरा मलाई थाहा थिएन । थाहा नभएका कारण आखिर एकजना केटासँग मैले विवाह गर्नुपर्छ नै भनी निजसँग विवाह गरेकी हुँ । विवाह गरिसकेपश्चात् ३।४ महिनापछि मात्र निज प्रतिवादीले मेरो घरमा अर्की श्रीमती छ, दुवैजना मिलेर बस्नुपर्छ भनेपश्चात् मात्र थाहा पाएकी हुँ भन्नेसमेत बेहोराको प्रतिवादी जानकी भन्ने जयन्ती मिश्रा महर (महरा) ले सुरू अदालतमा गरेको बयान ।

मिति मलाई याद छैन । १ वर्ष पहिले जयन्त्तीसँग यी प्रतिवादीले दोस्रो विवाह गरेका हुन्, म घरमा जेठी श्रीमती छ भन्ने कुरा जयन्तीलाई थाहा थियो, निज जयन्तीको माइती घर र मेरो घर नजिकै हो भन्नेसमेत बेहोराको जाहेरवाली अमृता भन्ने अम्मरदेवी महरले सुरू अदालतमा गरेको बकपत्र ।

एउटा केटो र यिनलाई वडा प्रहरीमा थुनेको भन्ने कुरा सुनेको हुँ, के विषयमा थुनेको हो, वडा प्रहरीलाई बुझेमा राम्ररी थाहा हुन्छ भन्नेसमेत बेहोराको प्रतिवादीहरूका साक्षी हरि रेग्मीले सुरू अदालतमा गरेको बकपत्र ।

थाहा पाएको मितिले ३ महिनाभित्र नालिस नदिए लाग्न सक्दैन भन्ने कुरा मुलुकी ऐन बिहावारीको महलको ११ नं. मा उल्लेख भएकोमा मिति २०७१।१।२३ गते अं.१०.०० बजेको समयमा प्रतिवादी महेशकुमार महरले प्रतिवादीमध्येकी जानकी भन्ने जयन्ती महरलाई दोस्रो विवाह गरी बहुविवाहको कसुर गरेको भनी जाहेरी दिने जाहेरवाली अमृता महरा भन्ने अम्मरदेवी महरले बकपत्र गर्दा करिब १ वर्षअगाडि प्रतिवादीहरूको विवाह भएको हो भनी बकपत्र गरेको देखिँदा र प्रतिवादी जयन्ती मिश्रा महरको हाल ३ महिनाको बच्चासमेत देखिँदा अनुचित विलम्ब गरी जहिलेसुकै पनि थाहा पाएको मिति कायम गरी मुद्दा दिई कसुर अपराध कायम गराउन खोज्नु न्यायोचित नहुने र हदम्यादको सिद्धान्तसमेतको बर्खिलाप हुन जाने हुँदा प्रस्तुत अभियोग पत्र हदम्यादको अभावमा खारेज हुने ठहर्छ भनी सुरू जिल्ला अदालतले मिति २०७१।४।२१ मा गरेको फैसला । 

प्रतिवादीहरूले अनुसन्धान अधिकारी र अदालतसमक्ष बहुविवाह गरेको कुरा स्वीकारी बयान गर्नुका साथै अदालत स्वयम्‌ले समेत आफ्नो फैसलामा बहुविवाह भएको कुरालाई स्वीकार गरेको, पीडित जाहेरवालीले मिति २०७१।१२।३ मा मेरा श्रीमान्‌ले बहुविवाह गरेको थाहा पाई मिति २०७१।१।२३ मा दिएको जाहेरी दरखास्त मुलुकी ऐन, विवाहवारी महलको ११ नं. मा व्यवस्था भएको म्यादैभित्रको हुँदा हदम्यादको कारण देखाई मुद्दा खारेज गरेको सुरूको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी अभियोग माग दाबीबमोजिम सजाय गरिपाउँ भन्ने वादी नेपाल सरकारको पुनरावेदन अदालत दिपायलमा दायर भएको पुनरावेदन पत्र । 

जाहेरीवालीले थाहा पाएकोलाई आधार मानी बिहावारीको ११ नं. को हदम्याद नाघेको भनी खारेज गर्ने गरेको कैलाली जिल्ला अदालतको मिति २०७१।४।२१ को फैसला फरक पर्न सक्ने देखिँदा मुलुकी ऐन, अ.बं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम प्रत्यर्थी झिकाई उपस्थित भए वा अवधि नाघेपछि नियमानुसार पेस गर्नु भन्ने मिति २०७२।१।१७ गतेको पुनरावेदन अदालत दिपायलको आदेश ।

मुलुकी ऐन विवाहवारी महलको ११ नं. मा, “यस महलको ७ नं. को कुरामा सो भए गरेको मितिले र अरूमा थाहा पाएको मितिले तीन महिनाभित्र नालिस नदिए लाग्न सक्दैन” भन्ने कानूनी व्यवस्था रहेको र कानूनले व्यवस्था गरेको हदम्यादभन्दा धेरै विलम्ब गरी जहिलेसुकै पनि थाहा पाएको मिति कायम गराई मुद्दा दिनु हदम्यादको सिद्धान्तसमेतको बर्खिलाप हुने भनी अभियोग पत्र हदम्यादको अभावमा खारेज हुने ठहर्छ भनी गरेको कैलाली जिल्ला अदालतको फैसला मिलेकै देखिँदा पुनरावेदन जिकिरसँग सहमत हुन सकिएन । यसर्थ सुरू कैलाली जिल्ला अदालतबाट मिति २०७१।४।२१ मा भएको फैसला मिलकै देखिँदा सदर हुने ठहर्छ भन्ने पुनरावेदन अदालत दिपायलबाट मिति २०७२।०२।२७ मा भएको फैसला । 

पुनरावेदन अदालत दिपायलबाट भएको फैसलामा चित्त बुझेन । २०६१ सालमा विवाह भई २ छोराहरूको जन्म भएकोमा २०७०।१२।०१ गते पति महेशकुमार महरले जयन्ती मिश्रासँग बहुविवाह गरेको भनी किटानी जाहेरी दर्खास्त परेको छ । बहुविवाह गरेकोमा प्रतिवादीहरूले स्वीकारी बयान गरेका हुँदा बहुविवाहको वारदात पुष्टि भएको छ । सरकार वादी भई चल्ने मुद्दाको अनुसन्धान तहकिकात गरी अभियोग पत्र दायर गर्ने दायित्व नेपाल सरकारको हो । जाहेरवालीले मिति २०७१।०१।२३ मा दिएको जाहेरीबाट नेपाल सरकारले बहुविवाहको वारदातको जानकारी पाएको मितिले मुलुकी ऐन विवाहवारीको महलको ११ नं. मा उल्लिखित हदम्यादभित्रै अभियोगपत्र दायर भएको 

छ । जाहेरवालीले थाहा पाएको मितिलाई हदम्याद कायम गर्ने होइन । सो सम्बन्धमा सम्मानित अदालतबाट ने.का.प. २०६३, अंक ५, नि.नं.७६९४, पृ.५५४ मा बहुविवाहमा अनुसन्धान अधिकारीले वारदातको जानकारी प्राप्त गरेको मितिले हदम्याद कायम हुने भनी सिद्धान्त प्रतिपादित भएको छ । सो सिद्धान्तविपरीत भएको सुरू अदालतको फैसला सदर गर्ने गरी भएको उच्च अदालत दिपायलको फैसला त्रुटिपूर्ण भएकोले दोहोर्‍याई हेरी प्रतिवादीलाई अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भन्ने नेपाल सरकारको निवेदन ।

यसमा विवाहवारीको महलको ११ नं. अनुसार मुद्दा चलाउने अधिकार नेपाल सरकारलाई मात्र भएको देखिएको अवस्थामा हदम्यादको आधारमा खारेज गर्ने गरी गरिएको पुनरावेदन अदालत दिपायलको मिति २०७२।०२।२७ को फैसला उक्त ११ नं. तथा मुलुकी ऐन, अ.बं.१८४ र १८५ तथा प्रमाण ऐन, २०३१ को दफा ३ र ५४ को व्याख्यात्मक त्रुटि एवं ने.का.प. २०६३, अंक ५, नि.नं.७६९४ मा प्रतिपादित सिद्धान्तसमेतको प्रतिकूल भई त्रुटिपूर्ण देखिँदा साबिक न्याय प्रशासन ऐन, २०४८ तथा न्याय प्रशासन ऐन, २०७३ को दफा १२ को उपदफा (१)(क) र (ख) बमोजिम मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्रदान गरिदिएको छ भन्नेसमेतको यस अदालतको मिति २०७३।१२।२७ को आदेश ।

ठहर खण्ड

नियमबमोजिम दैनिक पेसी सूचीमा समावेश भई आज यस इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान्‌ उपन्यायाधिवक्ता श्री नारायणबहादुर थापाले बहुविवाह नेपाल सरकार वादी भई चल्ने अनुसूची १ अन्तर्गतको मुद्दा हो । सो मुद्दामा अनुसन्धान अधिकारीले थाहा पाएको मितिले हदम्याद सुरू हुन्छ, प्रस्तुत मुद्दामा जाहेरवालीले जाहेरी दिएको मिति २०७१।१।२३ पछि मात्र अनुसन्धान अधिकारीले थाहा पाएको हुँदा सोही मितिलाई हदम्याद सुरू भएको मान्नुपर्ने हुन्छ । मुलुकी ऐन, विवाहवारीको महलको ११ नं. को मनसाय पनि सोही भएको र यस सम्बन्धमा ने.का.प.२०६३, अंक ५, नि.नं.७६९४ पृष्ठ ५५४ मा समेत सिद्धान्त प्रतिपादित भइसकेको हुँदा पुनरावेदन अदालत दिपायलबाट भएको फैसला त्रुटिपूर्ण छ । त्यसैले सो फैसला बदर गरी अभियोगदाबीबमोजिम प्रतिवादीहरूलाई सजाय हुनुपर्दछ भनी बहस गर्नुभयो । 

प्रतिवादीहरूको तर्फबाट उपस्थित विद्वान्‌ अधिवक्ताहरू श्री भेषराज पन्त र श्री देवी कुमारी जोशीले प्रस्तुत वारदातको जाहेरवाली अमृता महराले १ वर्षअगाडि प्रतिवादीहरूले विवाह गरेका हुन् भनी कैलाली जिल्ला अदालतमा बकपत्र गरेको अवस्था छ । १ वर्षअगाडि नै विवाह भएकोमा मुलुकी ऐन, विवाहवारीको महलको ११ नं. बमोजिम सो १ वर्षअगाडि थाहा पाएको मितिले ३ महिनाभित्रै अभियोग पत्र दायर हुनुपर्ने थियो । त्यतिबेला मिलेर बस्ने भनी गाउँमा सम्झौता गर्ने र पछि जाहेरी दिने कार्य भएको छ । हदम्याद नघाई परेको अभियोग दाबी खारेज गर्ने गरी भएको सुरूको फैसला सदर गर्ने गरी पुनरावेदन अदालत दिपायलबाट भएको फैसला मिलेकोले सदर हुनु पर्छ भनी बहस गर्नुभयो ।

अब यसमा निम्न प्रश्नहरूको सम्बन्धमा न्याय निरूपण हुनुपर्ने देखियो:-

(१) प्रस्तुत बहुविवाहको मुद्दामा जाहेरवालाले थाहा पाएको मितिबाट हदम्याद कायम हुने हो वा अनुसन्धान अधिकारीले थाहा पाएको मितिबाट हदम्याद सुरू हुने हो ?

(२) हदम्यादको आधारमा अभियोगपत्र खारेज गर्ने गरी सुरू कैलाली जिल्ला अदालतबाट भएको फैसला सदर गर्ने गरी पुनरावेदन अदालत दिपायलबाट भएको फैसला मिले नमिलेको के हो ?

 

२. पहिलो प्रश्नतर्फ विचार गर्दा, प्रतिवादी महेश महराले २०७१।०१।२३ मा जयन्ती मिश्रसँग दोस्रो विवाह गरेकाले सजाय गरिपाउँ भनी मिति २०७१।०१।२३ को मितिमा जाहेरी दर्खास्त परेपछि प्रस्तुत मुद्दाको उठान भएको देखिन्छ । प्रतिवादी महेश महराले जेठी श्रीमती हुँदाहुँदै २०६८।०२।१२ मा जयन्ती मिश्रसँग दोस्रो विवाह गरेको हो भनी र प्रतिवादी जयन्ती मिश्रले उक्त मितिमा महेश महरासँग विवाह भएको हो भनी अदालतसमक्ष बयान गरेको देखिएबाट बहुविवाहको वारदात भएको तथ्यमा विवाद छैन । सुरू अदालतबाट फैसला हुँदा जाहेरवालीले अदालतमा बकपत्र गर्दा प्रतिवादीहरूले करिब १ वर्षअगाडि बहुविवाह गरेका हुन् भनी उल्लेख गरेकीले १ वर्षअगाडि भएको वारदातमा वारदात भएको ३ महिनाभित्र अभियोग पत्र दायर हुनुपर्नेमा सो हदम्याद नघाई दायर भएको अभियोगपत्र खारेज हुन्छ भनी फैसला भएको पाइयो । सो फैसला सदर गर्ने गरी पुनरावेदन अदालत दिपायलबाट फैसला भएको देखिन्छ । बहुविवाहको कसुर सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ को अनुसूची १ अन्तर्गतको कसुर भएको र सो कसुरको अनुसन्धान तहकिकात गरी मुद्दा चलाउने अधिकार नेपाल सरकारमा रहेको 

देखिन्छ । मुलुकी ऐन, विवाहवारीको ११ नं. मा बहुविवाहको कुरामा थाहा पाएको मितिले ३ महिनाभित्र नालिस दिनु पर्ने कानूनी व्यवस्था रहेको देखिन्छ ।

३. बहुविवाहको कसुर भएको जाहेरवालीले थाहा पाएको मितिबाट हदम्याद गणना हुने हो वा मुद्दा चलाउने अधिकार पाएको वादी नेपाल सरकारको सम्बद्ध निकायले थाहा पाएको मितिबाट हदम्यादको गणना गर्नु पर्ने हो भन्ने प्रश्नको निरूपण यस अदालतबाट पहिले नै भइसकेको देखिन्छ । पुनरावेदक प्रतिवादी दिपक पाण्डेसमेत र प्रत्यर्थी वादी नेपाल सरकार भएको २०६२ सालको फौ.पु.इ.नं.१५ को बहुविवाह मुद्दामा यस अदालतको पूर्ण इजलासबाट मिति २०६३।०२।०४ (ने.का.प. २०६२, नि.नं. ७६९४) मा समेत सिद्धान्त प्रतिपादन भएको देखिन्छ । सो फैसलामा “सरकारवादी हुने फौजदारी मुद्दाहरूमा अनुसन्धान गर्ने अधिकारप्राप्त निकायले थाहा जानकारी पाएपछि मात्र मुद्दाको कारबाही अगाडि बढ्न सक्ने भएकोले जाहेरवालाले थाहा पाएको मितिलाई नै वादीले स्वत: थाहा पाएको भनी अनुमान गर्न नमिल्ने” तथा “जाहेरवालीले गरिदिएको लिखतबाट प्रतिवादीहरूका बीच पहिले नै विवाह भएको भन्ने आधारले बहुविवाहको मुद्दा मुलुकी ऐन, विवाहवारीको महलको ११ नं. मा व्यवस्थित हदम्याद नघाई अभियोगपत्र दायर भएको मान्न नमिल्ने” भनी व्याख्या भई सिद्धान्त कायम भएको 

छ । मुद्दा चलाउने हकदैया रहेको निकाय वा व्यक्तिलाई हदम्याद लाग्ने  हो । कानूनमा “थाहा पाएको मितिबाट” हदम्याद कायम हुने गरी व्यवस्था भएको कुराको अर्थ अरू जोसुकैले थाहा पाएर हदम्याद सुरू हुँदैन, मुद्दा चलाउने अधिकार पाएको वा हकदैया रहेको व्यक्ति वा निकायले थाहा पाएको मितिबाट हदम्यादको गणना गर्नु पर्छ भन्ने नै हो । सोहीअनुसार हदम्याद गणना गर्ने लामो न्यायिक अभ्यास कायम रहेको छ । यसरी गणना गर्ने प्रचलन तथा यस अदालतबाट मुद्दाको रोहमा प्रतिपादित सिद्धान्तप्रतिकूल हुने गरी बहुविवाह मुद्दामा जेठी पत्नीले थाहा पाएको मितिबाट हदम्याद कायम हुन्छ भन्नु मनासिब देखिँदैन ।

४. वस्तुत: सरकारवादी भई चल्ने मुद्दामा अनुसन्धान गरी मुद्दा चलाउने अधिकारप्राप्त निकायले थाहा जानकारी पाएको मितिले हदम्याद सृजना हुने कुरा प्रस्ट नै छ । प्रस्तुत मुद्दामा जाहेरी दर्खास्त दर्ता भएको मिति २०७१।०१।२३ ले ३ महिनाभित्र अर्थात्‌ मिति २०७१।०२।०७ गते अभियोग पत्र दायर भएको देखिएको छ । सो मितिअगावै मुद्दा चलाउने निकाय वा अधिकारीलाई मुद्दा चलाउनु पर्ने कारण सृजना भएको (बहुविवाह गरेको) कुराको जानकारी थियो भनी देखिने कुनै मनासिब आधार खुल्न आएको देखिएन । तसर्थ प्रस्तुत मुद्दा हदम्यादभित्रै दायर भएको देखिन आयो । यस्तो अवस्थामा हदम्यादको आधारमा खारेज गर्ने गरी सुरू कैलाली जिल्ला अदालतबाट भएको फैसला उल्टी गरी तथ्यभित्र प्रवेश गरी फैसला गर्नुपर्नेमा सुरू जिल्ला अदालतबाट भएको खारेजी फैसला सदर गर्ने गरी पुनरावेदन अदालत दिपायलबाट भएको फैसला कानून र यस अदालतबाट प्रतिपादित सिद्धान्तअनुकूल देखिएन ।

५. अत: माथि उल्लिखित तथ्य, कानून र सिद्धान्तहरूसमेतको आधारबाट हदम्यादको आधारमा मुद्दा खारेज गर्ने गरी कैलाली जिल्ला अदालतबाट मिति २०७१।०४।२१ मा भएको फैसला सदर गर्ने गरी पुनरावेदन अदालत दिपायलबाट मिति २०७२।०२।२७ मा भएको फैसला त्रुटिपूर्ण भएकोले सो फैसला उल्टी  हुन्छ । अब प्रस्तुत मुद्दाको तथ्यमा प्रवेश गरी जो जो प्रमाण बुझ्नु पर्छ बुझी प्रमाणको न्यायोचित मूल्याङ्कन गरी कानूनबमोजिम पुन: इन्साफ गर्नु भनी मिसिलसहित तारेखमा रहेका प्रतिवादीहरूलाई तारेख तोकी उच्च अदालत दिपायलमा लेखी पठाई दिने ठहर्छ । प्रस्तुत फैसला विद्युतीय अपलोड गरी दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाई दिनू ।

 

उक्त रायमा सहमत छु ।

न्या.डा.आनन्दमोहन भट्टराई

 

इजलास अधिकृत: चाणकमणि अर्याल

इति संवत् २०७४ साल पौष ०७ गते रोज ६ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु