शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १०१८३ - उत्प्रेषण

भाग: ६१ साल: २०७६ महिना: बैशाख अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री तेजबहादुर के.सी.

माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी

आदेश मिति : २०७४।९।४

०७१-WO-०८०५ 

 

मुद्दा : उत्प्रेषण

 

निवेदक : पूर्णनन्द जोशीको नाति, जयप्रसाद जोशीको छोरा डडेलधुरा जिल्ला, अमरगढी न.पा. वडा नं. ८ स्थायी ठेगाना भई हाल वन अनुसन्धान तथा सर्वेक्षण विभाग बबरमहल काठमाडौंमा कार्यरत शाखा अधिकृत मुकुन्दराज जोशी

विरूद्ध

विपक्षी : सामान्य प्रशासन मन्त्रालय सिंहदरबार, काठमाडौंसमेत

 

निजामती सेवा ऐन, २०४९ को दफा ३३(३) को कानूनी व्यवस्थाले जन्ममिति सच्याई लामो समयसम्म सेवामा नरहुन भनी मौकामा पेस भएको शैक्षिक प्रमाण पत्रलगायतका कागजातको आधारमा जुन मितिबाट पहिला अवकाश हुन्छ त्यही मितिलाई नै गणना गर्नु पर्ने विधायिकी मनसाय रहेको देखिने । सोही प्रावधानबमोजिम निजामती कर्मचारीले समेत आफ्नो जन्ममितिको विषयमा सही सूचना दिने दायित्व पूरा गर्नु पर्ने देखिने ।

कुनैपनि निजामती कर्मचारीलाई आफू सेवा प्रवेश गर्दा पेस गरेका शैक्षिक प्रमाणपत्र वा आफैँले भरेको वैयक्तिक विवरण (सिटरोल) मा उल्लिखित उमेर वा जन्ममितिलाई पछि गएर आफूअनुकूल संशोधन गर्ने र गराउने अधिकार कुनै पनि राष्ट्रसेवकलाई कानूनले प्रदान गरेको अवस्था नदेखिने ।

(प्रकरण नं.४)

 

निवेदकका तर्फबाट : विद्वान्‌ अधिवक्ताद्वय श्री खम्मबहादुर खाती र श्री सूर्यबहादुर शाह

विपक्षीका तर्फबाट : विद्वान्‌ सहन्यायाधिवक्ता श्री नारायण पौडेल

अवलम्बित नजिर : 

सम्बद्ध कानून : 

निजामती सेवा ऐन,2049

 

आदेश

न्या.तेजबहादुर के.सी.: तत्कालीन नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ र १०७(२) बमोजिम यस अदालतमा दर्ता हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं आदेश यसप्रकार रहेको छ :

म निवेदकले २०३४ सालमा महेन्द्र माध्यमिक विद्यालय खलङ्गा डडेलधुराबाट द्वितीय श्रेणीमा एस.एल.सी. पास गरी मिति २०३९ सालमा मानविकीशास्त्रमा डोटी क्याम्पसबाट सर्टिफिकेट लेबल पास गरी २०४६ सालमा बि.ए. पास गरेको 

थिएँ । मैले एस.एल.सी. पास गर्दा भूलवश मेरो जन्ममिति २०१६।०९।०२ हुन गएको र सोही सर्टिफिकेटको आधारमा मिति २०३८।८।२९ को लोक सेवा आयोगको निर्णयले जिल्ला कार्यालय सहकारी शाखा डोटीमा सहकारी सव-इन्स्पेक्टर (रा.प.अनंकित द्वितीय श्रेणी प्रशासकीय) पदमा जागिर खाएको थिएँ । मिति २०४१।०४।०१ गतेको लोक सेवा आयोगको निर्णयले रा.प. अनंकित प्रथम श्रेणीको ना.सु. प्रशासन पदमा जागिर खाएको थिएँ । यसरी जागिर खाने क्रममा मैले मिति २०४०।०१।१५ गते कर्मचारी व्यक्तिगत  विवरण सिटरोल पेस गर्दासमेत जन्ममिति २०१६।०९।०२ गते लेखेकोमा उक्त जन्ममिति भूलवश लेखिन गयो । मेरो वास्तविक जन्ममिति २०१९।०९।०२ गते हो, भूलसुधार गरिपाउँ भनी मिति २०४०।८।१८ गते महेन्द्र माध्यमिक विद्यालय, खलङ्गा, जिल्ला प्रशासन कार्यालय डडेलधुरामा निवेदन दिई मेरा सम्पूर्ण सर्टिफिकेटहरूमा भएको जन्ममिति सच्याई परीक्षा नियन्त्रण कार्यालय सानोठिमी र त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयमा समेत मेरो जन्ममिति २०१९।०९।०२ गते हुने भनी निर्णय गरी सबै प्रमाणपत्रहरूमा मिति २०१९।०९।०२ गते कायम भइसकेको अवस्था 

छ । मैले नागरिकता लिँदासमेत सोही जन्ममिति कायम हुन गएको छ । मैले हालसम्म सबै ठाउँमा पनि मेरो जन्ममिति २०१९।९।२ गते लेखाउँदै आएको छु । जन्ममिति सच्याई सकेपछि नोकरीको दौडानमा सबै ठाउँमा मैले सच्चिएको प्रमाणपत्र पेस गरेको 

छु । मैले उक्त प्रमाणपत्रको जन्ममिति सच्चिई सकेपछि २०४० सालमा कर्मचारी व्यक्तिगत  विवरण फाराम भरे तापनि मलाई कर्मचारी संकेत नम्बर दिइएको 

थिएन । अर्थात् उक्त फाराम निजामती किताबखानामा दर्ता नै भएको थिएन, दर्ता भएको भए मलाई क.सं.नं. दिनु पर्दथ्यो । दर्ता नभएकै कारणले भरेको जन्ममिति सच्याउन कोसिस गर्दा उक्त फाराम, कुनै कार्यालयमा नभेट्टिएको र निजामती किताबखानामा खोज्न लगाउँदासमेत नभेट्टिएपछि म कार्यरत रहेको क्षेत्रीय वन कार्यालय धनगढी कैलालीका कार्यालय प्रमुखले फेरी व्यक्तिगत  विवरण फाराम भर्नुहोस् भनेबमोजिम मैले मिति २०४२ सालमा प्रमाण पत्रअनुसार सिटरोल फाराम भरेको थिएँ । सोही सिटरोलको आधारमा मलाई कर्मचारी संकेत नम्बर १०४४९३ दिई हालसम्म सोही नम्बरको आधारमा मेरो विवरण अध्यावधि भएको छ । यदि पहिलेको बिग्रेको फाराम निजामती किताबखानामा दर्ता थियो भने उक्त कुराको जानकारी म कार्यरत कार्यालयमा र मलाई कर्मचारी संकेत नम्बर किन दिइएन, पछिल्लो सिटरोल फारामको आधारमा किन संकेत नम्बर दिइयो ।

यसरी मैले भरेको सिटरोल फाराम गलत भयो भनी मिति २०४२ सालमा प्रमाण पत्रअनुसार सिटरोल फाराम भर्दाभर्दै मेरो सम्पूर्ण विवरणहरूको वास्ता नगरी मलाई के भएको हो भन्ने कुरासम्म नसोधी सुनुवाइको मौकासमेत नदिई निजामती किताबखानाका महानिर्देशकज्यूले मिति २०७०।१२।४ गते मेरो जन्ममिति २०१६।०९।०२ गते कायम हुने निर्णय गर्‍यो । उक्त निर्णयको जानकारीपत्र मिति २०७०।१२।१८ गते म कार्यरत कार्यालयमा पठाई दिएको रहेछ । विभागको महानिर्देशकज्यूले निर्णय गर्दा मेरो एस.एल.सी. देखि बि.ए.सम्मका प्रमाणपत्र र नागरिकतामा उल्लिखित जन्ममिति २०१९।०९।०२ हो भन्नेसम्म नहेरी मनोमानी रूपमा निर्णय गर्दा मेरो कानूनी र संवैधानिक अधिकारको हनन् भएको 

छ । निजामती सेवा ऐन, २०४९ को दफा ३३ को उपदफा ३ मा स्पष्ट व्यवस्था के गरिएको छ भने नोकरी गर्दा पेस गरिएका प्रमाणपत्रमा उल्लिखित उमेर वा नागरिकता प्रमाणपत्रमा उल्लिखित उमेर वा भरेको वैयक्तिक नोकरी विवरण सिटरोल फाराममा उल्लिखित उमेरमध्ये जुन उमेरबाट पहिले अवकाश हुन्छ सोही आधारमा गणना हुन्छ भनी स्पष्ट रूपमा व्यवस्था गरिएकोमा कानूनको वास्ता नगरी मनमानी रूपमा मेरो प्रमाणपत्रहरूमा र नागरिकतामा उल्लिखित उमेरलाई वास्ता नगरी बिग्रिएको सिटरोल फाराम जुन सच्याउन मैले पटकपटक खोजी गर्दा नभेटिएको भनिएको थियो, सोही सिटरोल फाराम हेरी मलाई के रहेछ किन, फरक पर्‍यो भन्ने कुरा नबुझी निजामती किताबखानाले निजामती सेवा  नियमावली, २०५० को नियम १० को उपनियम ३ विपरीत महानिर्देशकको निर्णय तथ्य, कानून र संविधानविपरीत छ । उक्त निर्णयले मेरो निजामती सेवा ऐन, २०४९ को दफा ३३(३) र नेपालको अन्तरिम संविधान, २०६३ को धारा १२(च), १३, २४ बमोजिमको अधिकारको हनन् भएको छ ।

यसरी विपक्षीहरूले म निवेदकको कानूनी र संवैधानिक अधिकारको हनन् हुने गरी ऐन, नियमावली, संविधान र सर्वोच्च अदालतबाट स्थापित नजिरसमेत विपरीत मेरो शैक्षिक प्रमाणपत्र, नागरिकता र पछि भरिएको सिटरोल फाराममा उल्लिखित उमेर मिति २०१९।०९।०२ लाई नहेरी मेरो बिग्रिएको सिटरोल फाराम हेरी सिटरोल फाराम दोहोरो किन पर्‍यो भनी मलाई नबुझी, मनमानी रूपले निजामती किताबखानाले गरेको मिति २०७०।१२।४ को निर्णय र प.सं. २०६८/०६९ च.नं. ५७६४ मिति २०७०।१२।१० को जानकारी पत्रसमेत उत्प्रेषणको आदेशले बदर गरी पाउनुका साथै निवेदकको उमेर प्रमाणपत्र, नागरिकता र सच्याई भरेको मिति २०४२ को सिटरोल फारामअनुसार कायम गरी दिनु भनी परमादेशको आदेशसमेत जारी गरी मेरो संवैधानिक र कानूनी हकको संरक्षण गरिपाउँ भन्नेसमेतको मुकुन्दराज जोशीको निवेदनपत्र ।

यसमा के कसो भएको हो निवेदकको मागबमोजिमको आदेश किन जारी हुनु नपर्ने हो ? आधार र कारण खुलाई यो आदेश प्राप्त भएको मितिले बाटोको म्यादबाहेक १५ दिनभित्र विपक्षीहरूका नाममा महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्नु भनी रिट निवेदनको नक्कल साथै राखी विपक्षीहरूलाई सूचना पठाई सोको बोधार्थ महान्यायाधिवक्ताको कार्यालयलाई दिई लिखित जवाफ परेपछि वा अवधि नाघेपछि नियमबमोजिम पेस गर्नु भन्ने यस अदालतको मिति २०७२।०१।०८ गतेको आदेश ।

निजामती सेवा ऐन, २०४९ को दफा ३३ को उपदफा (३) मा अनिवार्य अवकाशको उमेर गणनाको प्रयोजनको लागि निजामती कर्मचारीको उमेर सेवामा प्रवेश गर्दा निजले पेस गरेको शिक्षण संस्थाको प्रमाणपत्रमा किटिएको जन्मदिन वा वर्षबाट हुन आएको उमेर वा नागरिकताको प्रमाणपत्रमा किटिएको जन्मदिन वा वर्षबाट हुन आएको उमेर वा निजले भरेको वैयक्तिक विवरण (सिटरोल) मा लेखिदिएको जन्ममिति वा वर्षबाट हुन आएको उमेरमध्ये जुन उमेरबाट निज पहिले अवकाश हुन्छ सोही आधारमा गणना गरिनेछ भन्ने प्रस्ट रूपमा उल्लेख भएकोले सेवा प्रवेश गर्दाको समयमा पेस गरेका शैक्षिक प्रमाणहरू र वैयक्तिक विवरण (सिटरोल) मा उल्लेख भएको जन्ममितिलाई नै आधार मान्नुपर्ने बाध्यात्मक कानूनी व्यवस्था रहेको 

छ । सेवा प्रवेश गरिसकेपछिको समयमा उपर्युक्त कुनै पनि प्रमाणमा गरे गराएको जन्ममितिको संशोधन मान्य हुन सक्ने अवस्था देखिन्न । ऐनको उपर्युक्त प्रावधानलाई यस विभागबाट कार्यान्वयन गर्ने क्रममा रिट निवेदक निजामती सेवामा प्रवेश गर्दा सुरू नियुक्ति भएपछि भरेको र बेहोराको सत्य तथ्यतामा प्रत्याभूति जनाई ल्याप्चे सहिछाप र दस्तखत गरी तथा सम्बन्धित कार्यालयबाट प्रमाणित गराई पेस गरेको वैयक्तिक विवरण (सिटरोल) र रिट निवेदक स्वयंले प्रमाणित गरी पेस गरेको त्रिभुवन विश्वविद्यालयको प्रमाणपत्र तह उत्तीर्ण गरेको प्रमाणपत्रको प्रतिलिपि र लब्धाङ्क पत्रको प्रतिलिपिमा उल्लिखित जन्ममिति वि.सं. २०१६।९।२ बाट नै अन्य प्रमाणका तुलनामा निज रिट निवेदक पहिले अवकाश हुने देखिएकोले सोहीबमोजिम नै निजको जन्ममिति २०१६।९।२ को अभिलेख कायम भई निज मिति २०७४।९।२ गतेदेख़ि उमेर अन्ठाउन्न वर्ष पूरा हुने भएकोले निजामती सेवाबाट स्वतः अवकाश हुने अवस्था रहेको छ । सबै निजामती कर्मचारीको उमेरको गणना पनि उपर्युक्त कानूनी व्यवस्थाबमोजिम कुनैपनि कर्मचारीले निजामती सेवा प्रवेश गर्दा पेस गरेका प्रमाणमा उल्लिखित जन्ममितिका आधारमा हुने भएकाले भेदभावको कुनै गुन्जायस रहेन । यस विभागको महानिर्देशकको निर्णयबाट पनि उपर्युक्त कानूनको प्रावधानको कार्यान्वयन गरिएको मात्र हो । त्यसैले रिट निवेदकको नेपालको अन्तरिम संविधान, २०६३ को धारा १८ मा उल्लिखित रोजगारीको हक प्रचलनका विरूद्ध यस विभागबाट समेत कुनै कामकारबाही भए गरेको नहुँदा रिट निवेदकको दाबी झुठो भएकोले उक्त रिट निवेदन बदरणीय छ ।

निजामती सेवा नियमावली, २०५० को नियम १०२क मा अनिवार्य अवकाशका लागि उमेर गणनासम्बन्धी व्यवस्था रहेको छ । सोहीबमोजिम कर्मचारीको अभिलेखमा जन्ममिति कायम गर्नुपर्ने प्रक्रियाअनुसार वैयक्तिक विवरण (सिटरोल) शैक्षिक प्रमाणपत्रमा उल्लिखित जन्ममितिबमोजिम नै यस विभागबाट निजको जन्ममिति वि. सं. २०१६।९।२ कायम गरिएको हो । त्यसैले रिट निवेदकको दाबीमा सत्यता नदेखिँदा रिट निवेदन बदरणीय छ ।

रिट निवेदकले निजामती सेवामा प्रवेश गर्दा भर्नु भएको वैयक्तिक विवरण (सिटरोल) मा उल्लिखित जन्ममिति र त्रिभुवन विश्वविद्यालयको प्रमाणपत्रमा उल्लेख भएको जन्ममितिबाट नै निजको जन्ममिति वि.सं. २०१६।९।२ गते यकिन गरिएको हो । साथै सोहीबमोजिम कम्प्युटर प्रणालीमा प्रविष्ट गर्न तयार गरिएको तत्कालीन समयको अभिलेख फाराममा समेत जन्ममिति वि.सं. २०१६ साल पुस २ गते उल्लेख भएको छ । निजामती किताबखानाले राखेको अभिलेख सम्बन्धित कर्मचारीले चाहेको समयमा पाउन सक्ने र पी.आई.एस. को आई. डी. खोली स्वयंले इन्टरनेटबाट आफ्नो विवरण हेर्न सकिने गरी व्यवस्था भएकोले सम्बन्धित कर्मचारीले सूचना पाइन भन्न मिल्ने अवस्था छैन । यसरी रिट निवेदकले प्रचलित कानूनको परिपालना गर्नुभन्दा निजामती सेवा ऐन, २०४९ को दफा ३७ को उपदफा (१) को स्पष्टीकरण महलको (२) अनुरूप सरकारी सेवामा बहाल रहने उद्देश्यले उमेर ढाँट्ने दुरासय राखेकोले तत्कालीन समयमा सबै निजामती कर्मचारीले भर्नुपर्ने वैयक्तिक विवरण (सिटरोल) मा स्वयंले सम्पूर्ण विवरण ठीक छ भनी सहिछाप गरेको र तत्कालीन समयमा स्वयंले बेहोरा ठिक छ भनी प्रमाणित गरी पेस गरेका शैक्षिक प्रमाणपत्रको प्रतिलिपि तथा नागरिकताको प्रमाणपत्रको प्रतिलिपिमा उल्लिखित जन्ममितिलाई नै ठिक होइन, भूलचुक भयो भनी मनगणन्ते कुरा उल्लेख गरेको देखिन्छ ।  कुनैपनि निजामती कर्मचारीलाई आफू सेवा प्रवेश गर्दा पेस गरेका प्रमाणमा वा वैयक्तिक विवरण (सिटरोल) मा उल्लिखित उमेर वा जन्ममितिलाई पछि गएर आफूअनुकूल संशोधन गर्ने र गराउने अधिकार कुनै पनि कानूनले दिएको अवस्था देखिन्न । अतः रिट निवेदकले तथ्यपूर्ण आधारविना नै उमेर घटाउन खोज्नु उमेरको हदका कारण अवकाश हुने अवधि लम्बाई सरकारी सेवामा थप अवधि बहाल रहिरहने कलुषित भावना र मनसाय रहेन भन्न सकिन्न । यसरी रिट निवेदकले गलत मनसाय र भावनाले प्रेरित भई प्रचलित कानूनविपरीतको दाबी लिई रिट निवेदन दिएको देखिएकोले उक्त रिट निवेदनमा कुनैपनि आज्ञा आदेश जारी नगरी रिट निवेदन खारेज गरी पाउन अनुरोध गर्दछु भन्नेसमेत बेहोराको निजामती किताबखाना हरिहरभवन पुल्चोकको लिखित जवाफ ।

निजामती सेवा ऐन, २०४९ को दफा ३३ को उपदफा (३) मा निजामती कर्मचारीको उमेर सेवामा प्रवेश गर्दा निजले पेस गरेको शिक्षण संस्थाको प्रमाणपत्र,  नागरिकता प्रमाणपत्र वा सिटरोलमा उल्लिखित उमेरमध्ये जुन उमेरबाट निज पहिले अवकाश हुन्छ सोही आधारमा गणना गरिने व्यवस्था छ । निवेदकले सेवामा प्रवेश गर्दाका अवस्थामा निजले पेस गरेको शैक्षिक योग्यताको प्रमाणपत्र तथा निजले पेस गरेको सिटरोल फाराममा समेत निजले आफ्नो जन्ममिति २०१६।०९।०२ उल्लेख गरेको कुरा निवेदक आफैँले स्वीकारेको देखिन्छ । आफ्नो जन्ममितिजस्तो विषयका सम्बन्धमा आफैँले भरेको सिटरोलमा गल्तीवश उक्त जन्ममिति लेखिएको स्वीकार गरेको, सेवा प्रवेशपछि आफ्नो प्रमाणपत्रहरूमा उमेर सच्चाएको कुरा आफैँ स्वीकार गरेको अवस्था देखिँदा निजामती सेवा ऐन, २०४९ को दफा ३३(३) बमोजिम निजले सेवामा प्रवेश गर्दा पेस गरेको प्रवेशिका परीक्षाको जन्ममिति तथा सिटरोल फाराममा भरेको जन्ममिति एउटै भएको देखिँदा निजामती किताबखानाबाट सोही आधारमा भएको निर्णयलाई अन्यथा भन्न मिल्ने देखिएन । निजामती सेवा ऐन, २०४९ को दफा ३३(३) को प्रावधान अध्ययन गर्दा जन्ममिति सच्याई लामो समयसम्म सेवामा नरहुन् भनी पेस भएका कागजातका आधारमा जुन पहिला अवकाश हुन्छ त्यही गणना गर्ने आशय रहेको देखिन्छ । सोही प्रावधानबमोजिम निजामती कर्मचारीले समेत आफ्नो जन्ममितिको विषयमा सही सूचना दिने र कानून पालना गर्ने दायित्व पूरा गर्नुपर्ने हुन्छ । अतः रिट निवेदनमा लिइएको जिकिरहरू उपर्युक्त कानूनी व्यवस्थाअनुरूप नदेखिँदा रिट निवेदन जिकिरबमोजिम आदेश जारी हुनु पर्ने होइन । प्रस्तुत रिट निवेदन खारेज गरिपाउँ भन्नेसमेत बेहोराको सामान्य प्रशासन मन्त्रालयको लिखित जवाफ ।

निवेदकले मिति २०४०।१।१५ मा भरेको सिटरोल फाराम तथा मिति २०४२।९।२५ मा भरेको सिटरोल फारामसहितका फाइल तथा निवेदकको जन्ममिति २०१६।९।२ कायम गर्ने गरी निजामती किताबखानाबाट भएको मिति २०७०।१२।४ को निर्णयसहितको फाइल महान्यायाधिवक्ताको कार्यालयमार्फत पेसीको दिन देखाउने गरी झिकाई नियमानुसार पेस गर्नु भन्ने यस अदालतको  मिति २०७४।०४।१७ को आदेश ।

नियमबमोजिम दैनिक पेसी सूचीमा चढी इजलाससमक्ष पेस हुन आएको प्रस्तुत रिट निवेदनमा निवेदकका तर्फबाट उपस्थित विद्वान्‌ अधिवक्ताद्वय श्री खम्मबहादुर खाती र श्री सूर्यबहादुर शाहले निवेदकले २०३४ सालमा एस.एल.सी पास गर्दा भूलवश जन्ममिति २०१६।०९।०२ लेखिन गएको र सोही सर्टिफिकेटको आधारमा मिति २०३८।८।२९ मा लोक सेवा आयोग पास गरी जिल्ला सहकारी कार्यालयमा सहकारी सब-इन्सपेक्टर (रा .प.अन. द्वितीय श्रेणी) मा जागिर खाएका थिए । जागिरको क्रममा मिति २०४०।०१।१५ गते कर्मचारी व्यक्तिगत विवरण सिटरोल फाराम भर्दासमेत भूलवश जन्ममिति २०१६।०९।०२ गते लेखिन गएको हो । निवेदकको वास्तविक जन्ममिति २०१९।०९।०२ गते हो । एस.एल.सी पास गरेको महेन्द्र माध्यमिक विद्यालय, जिल्ला प्रशासन कार्यालय डडेल्धुरामा निवेदन दिई निजले प्राप्त गरेका शैक्षिक प्रमाणपत्रहरूमा भएका जन्ममिति सच्याई परीक्षा नियन्त्रण कार्यालय सानोठिमी तथा त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयमा समेत जन्ममिति २०१९।०९।०२ गते कायम भइसकेको अवस्था छ । नागरिकताको प्रमाणपत्रमा समेत सोही जन्ममिति कायम भएको 

छ । निजको शैक्षिक प्रमाणपत्र, नागरिकतामा उल्लेख भएको जन्ममितिलाई नजरअन्दाज गरी कर्मचारी व्यक्तिगत विवरण फाराम भर्दा भूलवश लेखिन गएको जन्ममिति २०१६।०९।०२ गतेलाई नै वास्तविक जन्ममिति कायम गर्ने निर्णय गरेको निजामती किताबखानाको मिति २०७०।१२।४ गतेको निर्णय र च.नं. ५७६४ मिति २०७०।१२।१० गतेको पत्र गैरकानूनी हुँदा उत्प्रेषणको आदेशले बदर गरी निवेदकको जन्ममिति २०१९।०९।०२ गते कायम गरी दिनु भनी विपक्षीहरूको नाउँमा परमादेशसमेत जारी गरिपाउँ भनी बहस प्रस्तुत गर्नुभयो ।

विपक्षी निजामती किताबखानासमेतका तर्फबाट उपस्थित विद्वान्‌ सहन्यायाधिवक्ता श्री नारायण पौडेलले  निवेदकले  सेवा प्रवेश गर्दाका अवस्थामा निजले पेस गरेका शैक्षिक योग्यताको प्रमाणपत्र तथा निज आफैँले भरेको कर्मचारी व्यक्तिगत विवरण सिटरोल फाराममा समेत आफ्नो जन्ममिति २०१६।०९।०२ गते उल्लेख गरेको कुरा निवेदक आफैँले स्वीकार गरेको अवस्था छ । उमेर घटाई बढी अवधि जागिर खाने नियतले निवेदकले सेवा प्रवेशपश्चात् आफूले प्राप्त गरेका शैक्षिक प्रमाणपत्रमा उल्लेख भएको जन्ममिति  सच्याई पाउँ भनी निवेदन दिई कारबाही चलाएको देखिन्छ । निवेदकले सेवा प्रवेश गर्दा  पेस गरेको शैक्षिक प्रमाणपत्र, निजले सिटरोल फाराममा उल्लेख गरेको जन्ममिति २०१६।०९।०२ गते नै निजामती किताबखानाले निवेदकको जन्ममिति  कायम गर्ने गरेको निर्णयलाई अन्यथा भन्न मिल्दैन, रिट निवेदन खारेज हुनुपर्छ भनी बहस गर्नुभयो ।

अब निवेदकको मागबमोजिम आदेश जारी हुनु पर्ने हो वा होइन ? सोही सम्बन्धमा निर्णय दिनुपर्ने देखियो ।

२. निर्णयतर्फ विचार गर्दा, म निवेदकले २०३४ सालमा एस.एल.सी पास गर्दा भूलवश जन्ममिति २०१६।०९।०२ गते लेखिन गएको र सोही सर्टिफिकेटको आधारमा मिति २०३८।८।२९ मा लोक सेवा आयोग पास गरी जागिर खाएको थिएँ । जागिरको क्रममा मिति २०४०।०१।१५ गते कर्मचारी व्यक्तिगत विवरण सिटरोल फाराम भर्दासमेत भूलवश जन्ममिति २०१६।०९।०२ गते लेखिन गएको हो । म निवेदकको वास्तविक जन्ममिति २०१९।०९।०२ गते हो । आफ्नो शैक्षिक प्रमाणपत्रमा सम्बन्धित ठाउँमा सोहीबमोजिम जन्ममिति सच्याई पुनः कर्मचारी व्यक्तिगत विवरण सिटरोल फाराम भर्दा जन्ममिति २०१९।०९।०२ गते नै उल्लेख गरेको छु । सो कुरालाई नजरअन्दाज गरी भूलवश लेखिन गएको जन्ममिति २०१६।०९।०२ गतेलाई नै वास्तविक जन्ममिति कायम गर्ने निर्णय गरेको निजामती किताबखानाको मिति २०७०।१२।४ गतेको निर्णय र च.नं. ५७६४ मिति २०७०।१२।१० को पत्र गैरकानूनी हुँदा उत्प्रेषणको आदेशले बदर गरी मेरो जन्ममिति २०१९।०९।०२ गते कायम गरिपाउँ भन्ने मुख्य निवेदन दाबी रहेको देखियो । निवेदकले सेवा प्रवेश गर्दाका अवस्थामा निजले पेस गरेका शैक्षिक योग्यताको प्रमाणपत्र तथा निजले पेस गरेको कर्मचारी व्यक्तिगत विवरण सिटरोल फाराममा समेत निजले आफ्नो जन्ममिति २०१६।०९।०२ गते उल्लेख गरेको कुरा निवेदक आफैँले स्वीकार गरेको अवस्था छ । निवेदकले सेवा प्रवेशपश्चात् आफूले प्राप्त  गरेका शैक्षिक प्रमाणपत्रमा उल्लेख भएको जन्ममिति  सच्याई पाउँ भनी निवेदन दिई कारबाही चलाएको देखिन्छ । निवेदकले उत्तीर्ण गरेको प्रवेशिका परीक्षाको शैक्षिक प्रमाणपत्रमा उल्लेख भएको जन्ममिति र निजले भरेको कर्मचारी व्यक्तिगत विवरण सिटरोल फाराममा भरेको जन्ममिति २०१६।०९।०२ गते नै देखिँदा निजामती किताबखानाबाट सोही आधारमा भएको निर्णयलाई अन्यथा भन्न मिल्दैन, रिट निवेदन खारेज हुनुपर्छ भनी विपक्षीहरूको लिखित जवाफ रहेको पाइयो ।

३. निजामती सेवा ऐन, २०४९ को दफा ३३ मा अनिवार्य अवकाशसम्बन्धी व्यवस्था रहेको र सो दफाको उपदफा ३ मा "यस दफाको प्रयोजनको लागि निजामती कर्मचारीको उमेर सेवामा प्रवेश गर्दा निजले पेस गरेको शिक्षण संस्थाको प्रमाणपत्रमा किटिएको जन्म दिन वा वर्षबाट हुन आउने उमेर वा नागरिकताको प्रमाणपत्रमा किटिएको जन्म दिन वा वर्षबाट हुन आएको उमेर वा निजले भरेको वैयक्तिक नोकरी विवरण (सिटरोल) मा लेखी दिएको जन्ममिति वा वर्षबाट हुन आएको उमेरमध्ये जुन उमेरबाट निज पहिले अवकाश हुन्छ सोही आधारमा गणना गरिने छ" भनी प्रस्ट उल्लेख भएको पाइन्छ । 

४. उपर्युक्त कानूनी व्यवस्थाबमोजिम निजामती कर्मचारीको उमेरको गणना गर्दा निजले सेवा प्रवेश गर्दा कुनै शिक्षण संस्थाको शैक्षिक प्रमाणपत्र पेस गरेको भएमा सोहीबमोजिम गणना हुने र त्यस्तो प्रमाणपत्र नभएमा मात्र सिटरोलमा उल्लेख गरेको जन्ममितिबाट गणना गर्नुपर्ने भन्ने 

देखिन्छ । प्रस्तुत रिट निवेदनमा रिट निवेदक मुकुन्दराज जोशी २०३४ सालमा महेन्द्र मा.वि. खलङ्गाबाट एस.एल.सी उत्तीर्ण गरी सोही शैक्षिक प्रमाणपत्रको आधारमा मिति २०३८।०८।२९ मा लोक सेवा पास गरी निजामती सेवामा प्रवेश गरेकोमा विवाद छैन । एस.एल.सी को शैक्षिक  प्रमाणपत्रमा निजको जन्ममिति २०१६।०९।०२ गते रहेको देखिन्छ । जागिरको क्रममा मिति २०४०।०१।१५ गते कर्मचारी व्यक्तिगत विवरण सिटरोल फाराम भर्दा जन्ममिति २०१६।०९।०२ गते नै उल्लेख गरी निजामती किताबखानामा बुझाएको कुरा निज निवेदक स्वयंले नै स्वीकार गरेको देखिन्छ । निवेदक मुकुन्दराज जोशीले सेवा प्रवेश गर्दा पेस गरेका शैक्षिक प्रमाणपत्र र मिति २०४०।०१।१५ मा प्रमाणित सिटरोलको आधारमा निजको जन्ममिति २०१६।०९।०२ गते कायम गरिएको भन्ने निजामती किताबखानाको च.नं. ५७६४ मिति २०७०।१२।१० को पत्रबाट निवेदकलाई जानकारी गराएको पाइयो । जहाँसम्म एस.एल.सी पास गर्दा भूलवश जन्ममिति २०१६।०९।०२ गते हुन गए पनि वास्तविक जन्ममिति २०१९।०९।०२ गते भएकोले सोबमोजिम जन्ममिति कायम नगरी मिति २०१६।०९।०२ गते नै कायम गरेकोले निजामती किताबखानाको मिति २०७०।१२।०४ गतेको निर्णय र च.नं. ५७६४ मिति २०७०।१२।१० गतेको पत्र बदर गरिपाउँ भन्ने जिकिर छ सो सम्बन्धमा हेर्दा निवेदक २०३४ सालमा महेन्द्र मा.वि. बाट एस. एल.सी. पास गरी सोही शैक्षिक प्रमाणपत्रको आधारमा निजले मिति २०३८ ।८।२९ मा लोक सेवा पास गरी सेवा प्रवेश गरेको देखिन्छ । सेवा प्रवेश गरेको झण्डै दुई वर्षपछि अर्थात्‌ मिति २०४०।०१।१५ मा सेवा प्रवेश गर्दा पेस गरेको शैक्षिक प्रमाणपत्रमा उल्लेख भएको जन्ममिति २०१६।०९।०२ गते नै उल्लेख गरी कर्मचारी व्यक्तिगत विवरण सिटरोल फाराम भरेको पाइयो । सेवा प्रवेश गरी सिटरोल फाराम भरिसकेपछि मात्र निवेदकले महेन्द्र मा.वि., जिल्ला प्रशासन कार्यालय, परीक्षा नियन्त्रण कार्यालय, त्रिभुवन विश्वविद्यालयसमेतबाट आफ्नो जन्ममिति सच्याई नयाँ जन्ममिति कायम भएको शैक्षिक प्रमाणपत्र प्राप्त गरेकोसमेत देखिन्छ र सोहीबमोजिम पुनः २०४२ सालमा निवेदकले सिटरोल फाराम भरेको देखिएबाट निवेदकले उमेर घटाएर बढी अवधि जागिर खाने नियत राखेको 

देखियो । निजामती सेवा ऐन, २०४९ को दफा ३३(३) को कानूनी व्यवस्थाले जन्ममिति सच्याई लामो समयसम्म सेवामा नरहुन् भनी मौकामा पेस भएको शैक्षिक प्रमाण पत्रलगायतका कागजातको आधारमा जुन मितिबाट पहिला अवकाश हुन्छ त्यही मितिलाई नै गणना गर्नु पर्ने विधायिकी मनसाय रहेको 

देखिन्छ । सोही प्रावधानबमोजिम निजामती कर्मचारीले समेत आफ्नो जन्ममितिको विषयमा सही सूचना दिने दायित्व पूरा गर्नु पर्ने देखिन्छ । कुनैपनि निजामती कर्मचारीलाई आफू सेवा प्रवेश गर्दा पेस गरेका शैक्षिक प्रमाणपत्र वा आफैँले भरेको वैयक्तिक विवरण (सिटरोल) मा उल्लिखित उमेर वा जन्ममितिलाई पछि गएर आफूअनुकूल संशोधन गर्ने र गराउने अधिकार कुनै पनि राष्ट्रसेवकलाई कानूनले प्रदान गरेको अवस्था 

देखिँदैन । रिट निवेदकले तथ्यपूर्ण आधारविना नै उमेर घटाउन खोज्नु उमेरको हदका कारण अवकाश हुने अवधि लम्बाई सरकारी सेवामा थप अवधि बहाली रहिरहने कलुषित भावना र मनसाय नरहेको भन्न सकिएन । अतः मिति २०१६।०९।०२ गतेलाई नै निवेदकको जन्ममिति कायम गर्ने गरेको निजामती किताबखानाको मिति २०७०।१२।०४ को निर्णय तथा सो आधारमा प्रेषित गरेको च.नं. ५७६४ मिति २०७०।१२।१० को पत्रलाई अन्यथा भन्न मिलेन । सेवा प्रवेश गर्दा पेस गरेको शैक्षिक प्रमाणपत्रमा उल्लिखित जन्ममितिलाई निज आफैँले भरेको मिति २०४०।१।१५ को सिटरोल फारामले समेत समर्थन गरिरहेको अवस्थामा संशोधित जन्ममिति २०१९।०९।०२ गतेलाई कायम गरिपाउँ भन्‍ने निवेदकको निवेदन जिकिरसँग सहमत हुन कानूनी एवं न्यायोचित आधार रहेको देखिन आएन ।

५. तसर्थ, माथि विवेचित आधार प्रमाणबाट निवेदक मुकुन्दराज जोशीको जन्ममिति २०१६।९।२ गते कायम गरेको निजामती किताबखानाको २०७०।१२।४ गतेको निर्णय तथा सो आधारमा निवेदकलाई प्रेषित गरेको मिति २०७०।१२।१० गतेको पत्र कानूनअनुरूप नै भएको देखिँदा निवेदकको मागबमोजिमको आदेश जारी गर्न मिलेन । प्रस्तुत रिट निवेदन खारेज हुने ठहर्छ । प्रस्तुत मुद्दाको दायरीको लगतकट्टा गरी मिसिल नियमानुसार गरी बुझाई दिनू ।

 

उक्त रायमा सहमत छु ।

न्या. पुरूषोत्तम भण्डारी

 

इजलास अधिकृतः- गीता श्रेष्ठ / डल्लुराम चौधरी

इति संवत् २०७४ साल पौष १४ गते रोज ६ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु