शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १०१८९ - कर्तव्य ज्यान

भाग: ६१ साल: २०७६ महिना: जेष्ठ अंक:

सर्वोच्च अदालत‚ संयुक्त इजलास

माननीय न्यायाधीश श्री दीपककुमार कार्की

माननीय न्यायाधीश श्री  अनिलकुमार सिन्हा

फैसला मिति : २०७५।८।२४

०७१-CR-१५७६

 

मुद्दा : कर्तव्य ज्यान

 

पुनरावेदक / प्रतिवादी : गगनदेव ठाकुरको छोरा जिल्ला पर्सा, गा.वि.स. हरपतगंज वडा नं.३ घर भई कारागार कार्यालय पर्सामा थुनामा रहेका ओमनारायण ठाकुर

विरूद्ध

प्रत्यर्थी / वादी : प्रेमकुमार शर्मा ठाकुरसमेतको जाहेरीले नेपाल सरकार

 

मौखिकरूपमा बोलेको कुरा मृतकले होस छँदै बोलेबमोजिम लिपिबद्ध गरेको हो भनी स्वतन्त्र प्रमाणबाट पुष्टि गराउन सकेमा प्रमाणग्राह्य हुने ।

मरणासन्‍न वक्तव्य प्रमाणमा लिन र त्यसको विश्‍वसनीयता कायम गर्न सो कागज गर्दा अस्पतालमा कार्यरत व्यक्ति वा अन्य स्वतन्त्र व्यक्तिको रोहबर र सो व्यक्ति अदालतमा आई बकपत्र गरी पुष्टि गर्नुपर्ने ।

(प्रकरण नं.९)

अचेत मानिसले सबै जानकारीहरू सविस्तार लेखाएको भन्‍ने कुरालाई स्वाभाविकरूपमा लिन नसकिने ।

(प्रकरण नं.१०)

 

पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ता प्राध्यापक डा. श्री रजित भक्त प्रधानाङ्ग, वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद सापकोटा र अधिवक्ता श्री प्रकाश निरौला

प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान्‌ नायब महान्यायाधिवक्ता श्री पदमप्रसाद पाण्डेय

अवलम्बित नजिर :

ने.का.प.२०७२, अंक २, नि.नं.९३५४

ने.का.प.२०७१, अंक १, नि.नं.९१०७

सम्बद्ध कानून :

प्रमाण ऐन, २०३१

 

सुरू तहमा फैसला गर्ने :

माननीय न्यायाधीश श्री सुदर्शनराज पाण्डे

पर्सा जिल्ला अदालत

पुनरावेदन तहमा फैसला गर्नेः

माननीय न्यायाधीश श्री तिलप्रसाद श्रेष्ठ

माननीय न्यायाधीश श्री विनोदप्रसाद शर्मा

पुनरावेदन अदालत हेटौंडा

 

फैसला

न्या. अनिलकुमार सिन्हा : न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्र पर्ने प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ :

तथ्य खण्ड

एक वर्षअगाडि मेरो आमा बुबाले मलाई जिल्ला पर्सा हरपतगंज गा.वि.स. वडा नं.३ निवासी ओमनारायण ठाकुरसँग जातीय परम्पराअनुसार मागी विवाह गरी दिएकोमा घर आएपछि सासू, ससुरा श्रीमान्‌समेतले दाइजोको कमी भयो भनी दैनिकरूपमा शारीरिक तथा मानसिक यातना दिँदै आएका थिए । म र श्रीमान्‌बीचको शारीरिक सम्पर्कबाट पेटमा ७ महिनाको गर्भ रहेको अवस्थामा मिति २०६७।३।२८ गते बिहान ०६:०० बजेको समयमा निज पति ओमनारायण ठाकुर, ससुरा गगनदेव ठाकुर, सासू झुनझरी देवी, देवर श्रीनारायण ठाकुर र नन्द मनिषा कुमारीसमेतका घर परिवारले मलाई आफ्नै घरभित्र मेरो शरीरमा मट्टितेल छर्की आगो लगाई दिएकोले मेरो अनुहारमुनि पुरै शरीरको भाग जलेको अवस्थामा तत्काल छरछिमेकका मानिसहरूले भनेअनुसार सासू ससुराले उपचारको लागि भारत रक्सौलको डंकन अस्पतालमा ल्याई उपचारको लागि भर्ना गराएकोमा सोही आगोको पोलाइबाट मेरो पेटमा भएको ७ महिनाको बच्चा छोरा मिति २०६७।३।२९ गते राती ९:०० बजे डंकन अस्पतालमा मृत अवस्थामा जन्मिएको थियो । सो घटनाबारे दाइ भाउजूले थाहा पाई म भएको ठाउँमा आएपछि सासू ससुरा मलाई छाडी भागेकोले थप उपचारको लागि दाई भाउजूले वीरगन्ज स्थित नारायणी उपक्षेत्रीय अस्पतालमा ल्याएकोमा सो अस्पतालमा पनि उपचार हुन नसक्ने भनी चिकित्सकले भनेको हुँदा दाइ भाउजूको सहारामा अन्य ठाउँमा उपचारको लागि जाने तरखरमा छु । मेरो शरीर जली घाइते भई तत्काल अचेत अवस्थामा भए पनि हाल उपचारपश्चात् घटनाबारे खुलाई लेखाई दिएकी छु । मेरो शरीर तथा हातसमेत जलेकोले सही छाप गर्न सक्दिन भन्नेसमेत बेहोराको घाइते सिमादेवी ठाकुरले मिति २०६७।०३।३० मा गरेको घटना विवरण कागज ।

म निवेदकको नन्द जिल्ला पर्सा, हरपतगंज गा.वि.स. वडा नं.३ बस्ने वर्ष २२ की सिमादेवी ठाकुरलाई मिति २०६७।३।२८ गते बिहान निजकै पति ओमनारायण ठाकुरसमेतका घर परिवारले आगो लगाई दिई घाइते अवस्थामा भारत स्थित डंकन अस्पतालमा उपचारको लागि ल्याएको छ भनी जानकारी पाई मिति २०६७।३।२९ गते अस्पताल आइपुग्दा ७ महिनाको गर्भवती नन्द सिमादेवीको अस्पतालमा घाइते अवस्थामा उपचार भइरहेको, निजको सासू ससुरा सोही ठाउँमा रहेको, के भयो भन्दा घटनाबारे बताउन नमानेको र साँझपख सासू एकाएक गायब भएको, नन्दको शरीर पुरै जलेकोले पीडाबाट गर्भमा भएको ७ महिनाको बच्चा छोरा मिति २०६७।३।२९ गते राति मृत अवस्थामा जन्मिएको, ससुरा पनि मिति २०६७।३।३० गते बिहानै अस्पतालबाट बिरामीको पुर्जासमेत लिई गायब भएको हुँदा घाइते नन्दलाई थप उपचारको लागि सो अस्पतालबाट वीरगन्ज स्थित नारायणी उपक्षेत्रीय अस्पतालमा ल्याई उपचार भइरहेकोले मृत बच्चाको लास जिम्मा पाउँ भन्नेसमेत बेहोराको सविता देवीको निवेदनपत्र ।

जिल्ला पर्सा वीरगन्ज उपमहानगरपालिका वडा नं.३ स्थित पूर्व पश्चिम उत्तर दक्षिण चारैतिर नारायणी उपक्षेत्रीय अस्पतालको पर्खाल यति चार किल्लाभित्र रहेको नारायणी उपक्षेत्रीय अस्पतालको शव गृहमा उत्तर टाउको दक्षिण खुट्टा रही उत्तानो अवस्थामा सिमादेवीको मृतक पुरूष जातक बच्चाको नाङ्गो लास रहेको, लासको दुवै आँखा बन्द, घाँटी छाती, पेट सामान्य बायाँ हातको पाखुरामा छाला खुइलिएको भन्नेसमेत बेहोराको ७ महिनाको पुरूष जातक बच्चाको लास जाँच मुचुल्का ।

मृतक छोरा जातक बच्चाको मृत्यु आगोले जली भएको भन्ने बेहोराको शव परीक्षण प्रतिवेदन ।

म जाहेरवालाको बहिनी जिल्ला पर्सा, हरपतगंज ३ निवासी ७ महिनाको गर्भवती भएकी वर्ष २२ की सिमादेवी ठाकुरलाई निजकै पति ओमनारायण ठाकुरसमेतका घर परिवारले आगो लगाई जलाई घाइते बनाई भागी फरार भएको, सोही आगोको पोलाइको कारणबाट मिति २०६७।३।२९ गते राति निजको गर्भमा रहेको ७ महिनाको बच्चा मृत अवस्थामा जन्मिएकोमा मेरो भाउजू सविता देवीले निवेदन दिई सद्‌गतको लागि उक्त बच्चाको लास जिम्मा लिइसकेको, सो मितिमा घाइते बहिनीले घटना विवरण कागजसमेत गरी दिई घाइतेलाई नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार हुन नसकी थप उपचारको लागि भारत पटना स्थित मेडिकल कलेजमा लगी उपचार गराई रहेको अवस्थामा मिति २०६७।४।१३ गते निज बहिनी सिमादेवी ठाकुरको मृत्यु भएकोले ७ महिनाको गर्भवती भएकी मेरी बहिनीको शरीरमा आगो लगाई जलाई कर्तव्य गरी मारेकोले निज ओमनारायण ठाकुरसमेतका घर परिवारलाई खोजतलास पक्राउ गरी कारबाही गरी मृतक बहिनीको लास कानूनबमोजिम सदगतको लागि जिम्मा पाउँ भन्नेसमेत बेहोराको मिति २०६७।०४।१५ को प्रेमकुमार शर्मा लोहारको जाहेरी दरखास्त ।

जि.पर्सा वीरगन्ज उपमहानगरपालिका वडा नं.३ स्थित पूर्व पश्चिम उत्तर दक्षिण नारायणी उपक्षेत्रीय अस्पतालको चारैतर्फ पर्खाल यति चार किल्लाभित्र रहेको नारायणी उपक्षेत्रीय अस्पतालको शव गृहमा सिमादेवी ठाकुरको पश्चिम टाउको पूर्व खुट्टा रही उत्तानो अवस्थामा मृतक लास रहेको, सो लासलाई निलो रङ्गको कपडाले बेरेको अवस्थामा रहेको, सो कपडा हटाई हेर्दा पहेँलो प्लाष्टिकभित्र बरफ र मृतक लास रहेको प्लाष्टिक खोली हेर्दा मृतकको टाउकोको कपालबाहेक अन्य शरीरका सबै अङ्गहरू आगोले जलेको, दुवै आँखा अर्ध खुल्ला, दाँत चार वटा देखिएको, दुवै हात सिधा, दुवै खुट्टा सिधा, कपालको रङ्ग कालो, लासको शरीर आगोले जलेर सबै ठाउँमा घाउजस्तो रहेको भन्नेसमेत बेहोराको मृतक सिमादेवीको लासजाँच मुचुल्का ।

मृतक सिमादेवीको मृत्यु आगोले जलेको कारणबाट भएको भन्ने बेहोराको पोष्टमार्टम प्रतिवेदन ।

मिति २०६७।३।२८ गते बिहान मेरो सौतेनी आमा झुनझरी देवीले श्रीमती सिमादेवीको शरीरमा मट्टितेल छर्की दिएको र मैले सलाई कोरी शरीरमा आगो लगाई दिएको, बुबा गगनदेव ठाकुर, भाइ श्रीनारायण ठाकुर र बहिनी मनिषा कुमारीसमेतले घेरछेक गरी भाग्न उम्कन नदिई आगो लगाई जलाई घाइते बनाई बेहोस भएकीले बुबा र सौतेनी आमाले तिमीहरू भाग प्रहरी आउन सक्छ, हामी बुढाबुढी उपचार गर्ने बहानामा भारत रक्सौलतर्फ लान्छौं, मर्‍यो भने त्यतैतिर फाली दिन्छौं भनेकोले म तथा भाइ बहिनी तत्काल भागी फरार भई बसेकोले श्रीमतीलाई भारत डंकन अस्पतालमा लगी उपचार गराई रहेको बेलामा जाहेरवाली सविता देवीसमेत आई पुगेकोले सौतेनी आमा र बुबा आँखा छली भागी फरार भएको, श्रीमतीको पेटमा भएको बच्चा मिति २०६७।३।२९ गते मृत अवस्थामा जन्मिएको र श्रीमतीको पनि उपचार हुँदाहुँदै मिति २०६७।४।१३ गते मृत्यु भएको कुरा पछि सुनी थाहा पाएको हुँ । श्रीमतीलाई मार्नु मराउनु पर्ने कारण दाइजो हो भन्नेसमेत बेहोराको प्रतिवादी ओमनारायण ठाकुरको बयान कागज ।

जिल्ला पर्सा, हरपतगंज गा.वि.स. वडा नं.३ स्थित पूर्व उपेन्द्र यादवको घर, पश्चिम राममणी यादवको घर, उत्तर बाटो तथा दक्षिण राममणी यादवको खाली जग्गा यति चार किल्लाभित्रमा खपडाको छाना माटोको देवाल भएको ओमनारायण ठाकुरको घर रहेको । सो घरको पश्चिमतर्फको उत्तर साइडमा ढोका भएको कोठाभित्र निज ओमनारायण ठाकुरसमेतले गर्भवती सिमादेवीलाई मिति २०६७।३।२८ गते बिहान ०६:०० बजेको समयमा आगो लगाई जलाएको भन्ने घटनास्थल मुचुल्का ।

यी प्रतिवादी ओमनारायण ठाकुर मेरै गाउँ बस्ने छिमेकी हुन् । निज प्रतिवादी तथा निजको श्रीमतीबीच झै-झगडा भइरहन्थ्यो । मिति २०६७।३।२८ गते बिहान ०६:०० बजेको समयमा ओम नारायण ठाकुरको श्रीमती गर्भवती सिमादेवीको शरीरमा आगो लाग्यो भनी सुनी तत्काल घटनास्थलमा गई निज सिमादेवीलाई आगोले जली घाइते अवस्थामा देखेको हो । सो आगोको पोलाइको कारणबाट मिति २०६७।३।२९ गते पुरूष जातक बच्चा मृत अवस्थामा जन्मिएको र सोही चोटपीडाबाट निज सिमादेवीको मिति २०६७।४।१३ गते मृत्यु भएको सुनेको हो भन्नेसमेत बेहोराको अनुसन्धानको क्रममा बुझिएको वस्तुस्थिति मुचुल्का ।

प्रेमकुमार शर्मा लोहारको जाहेरी, लासजाँच मुचुल्का, घटनास्थल मुचुल्का, पक्राउ प्रतिवादीको बयान कागज, शव परीक्षण प्रतिवेदन, घटना विवरण कागज तथा स्थलगत वस्तुस्थिति मुचुल्कासमेतबाट मिति २०६७/३/२८ गते ६:०० बजेको समयमा प्रतिवादीहरू ओमनारायण ठाकुरसमेतले सिमादेवी ठाकुरको शरीरमा आगो लगाई दिएको कारण निजको गर्भमा रहेको बच्चा मृत अवस्थामा जन्मिएको र सोही आगोले पोलेको चोट पीडाबाट सिमादेवी ठाकुर र निजको गर्भमा रहेको बच्चाको समेत मृत्यु भएकोले निज प्रतिवादीहरूको उक्त कार्य मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं. अनुसारको कसुर अपराध हुँदा प्रतिवादीहरू ओमनारायण ठाकुर, गगनदेव ठाकुर, झुनझरी देवी ठाकुर, श्रीनारायण ठाकुर र मनिषा ठाकुरलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको १ नं. विपरीत १३ नं. को देहाय (३) तथा २८ नं. अनुसारको कसुरमा सोही महलको १३ नं. को देहाय (३) र २८ नं. बमोजिम सजाय गरिपाउँ भन्नेसमेत बेहोराको अभियोगपत्र । 

सिमादेवी श्रीमती हुन् । खाना पकाउने निहुँमा मेरो निजको सामान्य बोलचाल भएको थियो । सोही रिसइवीले आफैँ आगो लगाई उपचारको क्रममा मृत्यु भएको हो । जाहेरी बेहोरा झुठा हो । घटनास्थल मुचुल्काबारे थाहा भएन । अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान बेहोरा झुठ्ठा हो । मैले कुनै कसुर अपराध नगरेकोले अभियोग दाबीबाट सफाइ पाउनु पर्छ भन्नेसमेत बेहोराको प्रतिवादी ओमनारायण ठाकुरले सुरू अदालतमा गरेको बयान । 

सुरू अदालतबाट जारी भएको ७० दिने म्यादी पुर्जीको म्यादभित्र प्रतिवादी गगनदेव ठाकुर, झुनझरी देवी ठाकुर, श्रीनारायण ठाकुर र मनिषा ठाकुर हाजिर नभई सुरू म्यादै गुजारी बसेको । 

बच्चा ७० प्रतिशत र आमा चाहीँ ९० प्रतिशत जलेको हुँदा निज मृतकको मृत्यु जलेर भएको हो भन्नेसमेत बेहोराको डा. रणवीर सिंहको बकपत्र । 

वस्तुस्थिति मुचुल्काका मानिसहरू सत्रोधन शुक्लाले मृतकले आगो सल्काउँदा (खाना पकाउनको लागि) अचानक आगो लागी उनले लगाएको कपडामा टिपी सम्पूर्ण शरीरमा आगो लागेको भन्ने कुरा मृतकले नै भनेबाट थाहा पाएको थिएँ । प्रतिवादीहरूले कर्तव्य गरी मृतकको ज्यान मारेको होइन भनी र अर्का महेन्द्र राउत अहिरले वारदातको दिन बिहान सिमादेवी कराउन थालिन् । म छिमेकी भएकोले निज कहाँ गई के भयो भनी सोध्दा खाना बनाउन लाग्दा आगो मेरो कपडामा परेको हो भनी बताएकी थिइन् । प्रतिवादी र मृतकका बीच राम्रो सम्बन्ध थियो । यसैगरी हिसोरीलाल प्रसाद तेलीले मृतक र प्रतिवादीबीच एकदम राम्रो सद्‌भाव र मेलमिलाप थियो, झै-झगडा केही थिएन भनी र प्रतिवादीका साक्षी संदिपप्रसाद वर्णवालले मृतकले भनेअनुसार निजले लगाएको कपडामा आगोले टिपेकोले त्यस्तो घटना घटेको हो प्रस्तुत घटनामा प्रतिवादीहरू निर्दोष छन् भनी गरेको बकपत्र मिसिल सामेल रहेको । 

प्रतिवादी ओमनारायण ठाकुरले मेरो बहिनीलाई दाइजोको लागि कुनै किसिमको यातना दिएको होइन । विवाहदेखि नमरेसम्म सम्बन्धमा राम्रो थियो । जाहेरी दरखास्तको बेहोरा झुठ्ठा हो । मेरो बहिनीको मृत्यु खाना पकाउने बेलामा आगो लागी उपचारको क्रममा मृत्यु भएको हो । प्रतिवादीलाई सजाय हुनुपर्ने होइन भन्नेसमेत बेहोराको जाहेरवाला प्रेमकुमार शर्मा लोहारले सुरू अदालतमा गरेको  बकपत्र । 

प्रतिवादीहरू ओमनारायण ठाकुर, ससुरा गगनदेव ठाकुर, सासू झुनझरी देवी, देवर, नन्द मनिषा देवीसमेतले मिति २०६७/३/२८ गते बिहान ६:०० बजे मट्टितेल छर्की शरीरमा आगो लगाई दिएको सोही पीडाबाट सात महिनाको गर्भ पतन भएको हो । समाजको मान्छेले थाहा पाई प्रहरीले समाती लान्छ भन्ने डरबाट उपचार गर्न लगेको र सोही क्रममा अस्पतालको इमरजेन्सी कक्षमा सवितादेवी तथा प्र.ना.नि. सलाम सिंह र प्र.ह. टल्के थिङ्ग तथा ड्युटीमा रहेको नर्सलगायतको रोहबरमा मिति २०६७/३/३० गते सिमादेवीले भनेबमोजिमको घटना विवरण कागज लेखिएको ठीक हो भन्नेसमेत बेहोराको घटना विवरण कागज गर्ने प्र.ना.नि. सलाम सिंह तामाङले गरेको बकपत्र । 

प्रतिवादी ओमनारायण ठाकुरले मृतक सिमादेवीलाई मट्टितेल छर्की आगो लगाई दिएको कारणबाट निजको मृत्यु भई निजको पेटमा रहेको बालकसमेतको मृत्यु भएको पुष्टि भएकोले निज प्रतिवादीलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ तथा १३ नं. को देहाय (३) अनुसारको कसुरमा सोही महलको १३ नं. को देहाय (३) अनुसार सर्वस्वसहित जन्मकैद तथा सोही महलको २८ नं. अनुसार थप ४(चार) वर्ष कैदसमेत हुने ठहर्छ भन्नेसमेत बेहोराको सुरू पर्सा जिल्ला अदालतबाट मिति २०७१/१/७ मा भएको फैसला । 

मृतक सिमादेवीको मृत्यु आगो लागेर भएको देखिँदैमा स्वतः सो आगो मसमेतले लगाएको हो भन्ने स्थापित हुने होइन र स्थापित भएको पनि छैन । मृतक सिमादेवीकी भाउजूले बकपत्र नै गर्न नआएकोले निजले दिएको निवेदन र निज रोहबरमा बसेको भनेको कागजसमेत प्रमाण ऐन, २०३१ को दफा १८ बमोजिम प्रमाणयोग्य नरहेको प्रस्ट छ । विपक्षीका साक्षी एवं मृतकका दाजु भनिएका जाहेरवाला स्वयंले सुरू अदालतमा आई बकपत्र गर्दा मृतक र म पुनरावेदकबीच सम्बन्ध राम्रो रहेको, विवाहपश्चात् दाइजो इत्यादि केही नमागेको, खाना बनाउने बेलामा आगो लागेको, आगो लागेपछि निजका पतिसमेतले उपचारको लागि अस्पताल लगेको, मृतक अस्पताल पुग्ने बित्तिकै आफू पुगेको र मृतकको मृत्यु नभएसम्म सँगै रहेको, मृतकले अस्पतालमा कुनै पनि किसिमको बयान नगरेको, पटना अस्पतालमा मृत्यु भई उतै दाहसंस्कार गरेको भन्नेसमेत बेहोराहरू लेखाएका छन् । जाहेरवालाले गरेको सो बकपत्रबाट मसमेतले आगो लगाएको भन्ने सुरू जाहेरी बेहोरा र सोही आधारमा भएको अनुसन्धान तथा अभियोजन नितान्त झुठ्ठा र बनावटी छ भन्ने प्रस्ट हुँदाहुँदै जाहेरवालाले गरेको बकपत्रबाट मृतकको मृत्यु प्रतिवादीसमेतले आगो लगाएको कारणबाट नभएको भन्ने खण्डन हुन नसकेको भन्दै म पुनरावेदकलाई कर्तव्य ज्यान जस्तो गम्भीर प्रकृतिको अभियोगमा शंकारहित प्रमाणबेगर कसुरदार ठहर्‍याई सजाय गर्ने गरी भएको सुरू अदालतको फैसला प्रमाण मूल्याङ्कनसमेतको दृष्टिले त्रुटिपूर्ण हुँदा उल्टी गरिपाउँ भन्नेसमेत बेहोराको पुनरावेदक प्रतिवादी ओमनारायण ठाकुरले पुनरावेदन अदालत हेटौंडामा दिएको पुनरावेदनपत्र । 

मृतकहरू आमा तथा पुरूष जातक बच्चाको मृत्यु आगोमा जलेको कारण भएको कुरा शव परीक्षण प्रतिवेदनबाट समेत प्रमाणित भइरहेको, प्रतिवादी अनुसन्धान अधिकारीसमक्ष बयान गर्दा आफूसमेतले मट्टितेल छर्की आगो लगाएको कुरामा साबित भई बयान गरेको, अदालतमा इन्कार रहे पनि अनुसन्धान अधिकारीसमक्ष भएको बयानलाई अन्यथा प्रमाणित गर्न नसकेको, स्वयं मृतकले आफू मर्नुभन्दा अगाडि उपचारको क्रममा रहँदा आफूलाई यी प्रतिवादीसमेतले आगो लगाएको भनी कागज गरिदिएको देखिएको तथा मृतकले गरिदिएको उक्त कागज बेहोरालाई अनुसन्धान अधिकृतले अदालतमा उपस्थित भई बकपत्र गरी प्रमाणित गरिदिएकोसमेत देखिएको अवस्थामा प्रतिवादी ओमनारायण ठाकुरलाई अभियोग माग दाबीबमोजिम मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(३) अनुसार सर्वस्वसहित जन्मकैद र सोही महलको २८ नं अनुसार थप ४ वर्ष कैद सजाय हुने ठहर्‍याएको पर्सा जिल्ला अदालतको मिति २०७१।१।७ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्नेसमेत बेहोराको पुनरावेदन अदालत हेटौंडाबाट भएको मिति २०७१।१२।०३ को फैसला ।

घटना विवरणको कागजमा मिति २०६७।३।३० गते दिनको ३ बजेतिर यस नारायणी अस्पतालमा ल्याई इमर्जेन्सीमा उपचार गराएपश्‍चात् कागज गराएको भन्‍ने बेहोरा उल्लेख गरिएको छ तर उक्त कागज तयार पार्ने मध्येका प्र.ना.नि. सलाम सिंह तामाङले आफ्नो बकपत्रको स.ज.११ मा दिनको अं. १२ बजे कागज भएको थियो भनी खुलाउनु भएको बेहोराले उक्त घट्ना विवरणको कागज सही नभई जाहेरवालाहरूको मिलेमतोमा झुठोरूपमा तयार पारिएको प्रमाणित भएको छ । जाहेरवालाले बकपत्र गर्दा जाहेरी बेहोरा मैले लेखाएको होइन मलाई पढेर सुनाइएको होइन नपढी सहिछाप गरेको हुँ भनी जाहेरी बेहोरा खण्डित हुनेगरी जाहेरवालाले जाहेरी बेहोरा मेरो होइन भनी सम्मानित अदालतलाई भनिरहेको अवस्थामा सोही जाहेरीलाई आधार लिई मलाई कर्तव्य गरेको ठहराइएको छ । वादीका साक्षीहरूसमेतले म पुनरावेदक निर्दोष रहेको भनी बकपत्र गरेको कुरालाई प्रमाणमा लिइएको छैन । मृतकको कागज अस्पतालमा भएको छ सो अस्पतालका डाक्टर वा नर्ससमेतका कुनै कर्मचारीलाई रोहबरमा राखिएको छैन । मरणासन्न वक्तव्य प्रमाणमा लिन र त्यसको विश्‍वसनीयता गर्दा सो कागज गर्दा अस्पतालमा कार्यरत व्यक्तिको रोहबरमा र सो व्यक्ति अदालतमा आई बकपत्र गरी पुष्टि गर्नु पर्ने भनी सर्वोच्च अदालतबाट भुपाल मान थापाको जाहेरीले नेपाल सरकार विरूद्ध मुरारी धमलासमेत भएको कर्तव्य ज्यान मुद्दामा (संवत् २०६८-CR-०८८६) निर्णय भएको छ । यसै सन्दर्भमा सम्मानित अदालतबाट महेश पटेल कुर्मी विरूद्ध नेपाल सरकार भएको जबरजस्ती करणी मुद्दा (ने.का.प.२०७१ अंक १ पृष्ट ७० नि.नं. ९१०७) मा “अनुसन्धान तहकिकातको क्रममा तयार भएको लिखतमा उल्लेख भएको कुरा सो कुरा व्यक्त गर्ने व्यक्तिहरू अदालतमा आई बकपत्र गरेको नदेखिएकोले प्रमाण ऐन, २०३१ को दफा १८, ५४ एवं २३(७) बमोजिम अकाट्य निश्चयात्मक र विश्वसनीय प्रमाणको रूपमा ग्रहण गर्न नमिल्ने” भनी सिद्धान्त प्रतिपादित भएको छ । यस्तै प्रकारले सम्मानित सर्वोच्च अदालतबाट यस सम्बन्धमा विभिन्‍न नजिर सिद्धान्तहरू प्रतिपादित भइरहेको अवस्थामा उक्त नजिर सिद्धान्तसमेतलाई नजर अन्दाज गरी मलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) नं.अनुसार सर्वस्वसहित जन्म कैद र सोही महलको २८ नं.अनुसार थप ४ वर्ष कैद हुने ठहर्‍याई गरेको फैसलालाई सदर कायम हुने ठहर्‍याई गरेको पुनरावेदन अदालत हेटौंडाको फैसला कानूनविपरीत एवं सम्मानित अदालतबाट प्रतिपादित विभिन्‍न नजिर सिद्धान्तविपरीत भएकोले उक्त फैसला बदर उल्टी गरी अभियोग दाबीबाट पूर्णरूपमा सफाइ पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी ओम नारायण ठाकुरले यस अदालतमा दायर गरेको पुनरावेदनपत्र ।

 यसमा जाहेरवाला प्रेमकुमार शर्माले आफ्नो सुरू जाहेरी बेहोरालाई खण्डन हुने गरी अदालतसमक्ष बयान गरेको देखिएको, मृत्युकालीन घोषणा गर्दाको अवस्थामा उपस्थित भनिएकी सवितादेवी ठाकुरको अदालतसमक्ष बकपत्र भएको नदेखिएको तथा ज्यानसम्बन्धीको १३(३) नं. तथा २८ नं. बमोजिम कसुर कायम गरी २८ नं.बमोजिम हुने सजायलाई “थप सजाय” भनी उल्लेख गरेकोसमेत देखिँदा प्रमाणको मूल्यांकन एवं कानूनको व्याख्यासमेतका दृष्टिले पुनरावेदन अदालत हेटौंडाको मिति २०७१।१२।०३ को फैसला फरक पर्नसक्ने देखिँदा छलफलका लागि मुलुकी ऐन अदालती बन्दोबस्तको २०२ नं. बमोजिम महान्यायाधिवक्ताको कार्यालयलाई जानकारी दिई नियमानुसार गर्नु भन्‍ने यस अदालतको मिति  २०७४।०५।२७ को आदेश ।

ठहर खण्ड

नियमबमोजिम पेसी सूचीमा चढी इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदकतर्फबाट रहनु भएका विद्वान्‌ वरिष्ठ अधिवक्ता प्राध्यापक डा. श्री रजित भक्त प्रधानाङ्ग, वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद सापकोटा र अधिवक्ता श्री प्रकाश निरौलाले मेरो पक्ष अदालतसमक्षको बयानमा आरोपित कसुरमा पूर्ण रूपमा इन्कारी छन् । निजको इन्कारी बयानलाई जाहेरवाला मृतकका दाजु प्रेमकुमार शर्मा ठाकुरले अदालतसमक्ष उपस्थित भई मेरो पक्षको र मृतकका बीच सम्बन्ध राम्रो रहेको, विवाहपश्चात् दाइजो केही नमागेको, खाना बनाउने क्रममा आगो लागेपछि मेरो पक्षले नै उपचारको लागि पीडितलाई अस्पताल लगेका हुन् भनी गरिदिएको बकपत्रले समर्थन र पुष्टि भइरहेको छ । मौकामा घटनाको बारेमा जानकारी दिने सविता देवी घटनाका प्रत्यक्षदर्शी होइनन् । डा.रणवीर सिंहले बकपत्रमा मृतकको देब्रे औंला बाँकी थियो भनेका छन् । मृतकको घटना विवरण कागजको बेहोरामा हातका औंला नभएकोले ल्याप्चे लगाउन मिलेन भन्‍ने भएकोले उक्त कागज मृतक मरिसकेपछि तयार भएको स्पष्ट छ । त्यस्तै उक्त घटना विवरण कागजमा ३ बजे अस्पतालमा ल्याएको भनिएको छ, घटना विवरण कागज गर्ने प्र.ना.नि.सलाम सिंह तामाङले कागज १२ बजेतिर गरिएको हो भनी बकपत्र गरेका छन् । यसबाट पनि मिति २०६७।०३।३० मा भएको भनिएको कागज मृतकको मृत्युपछि बनाइएको स्पष्ट छ । घटना घटेपछि प्रहरीलाई तुरून्त खबर गर्नुपर्नेमा मरिसकेपछि मात्र जाहेरी परेको छ । कर्तव्यको चिह्न छैन, ९० प्रतिशत burn अवस्थाको मानिस अचेत हुन्छ, अचेत मानिसले अभियोजन पक्षद्वारा दाबी लिइएबमोजिमका जानकारी वा जवाफ दिनसक्ने अवस्थामै हुन 

सक्दैन । मृत्युकालीन घोषणा अस्पतालमा भएको भनिएको छ तर त्यहाँ कार्यरत कुनै पनि चिकित्सक वा नर्सलाई रोहबरमा राखिएको छैन । एक जना प्र.ना.नि. सलाम सिंहको मात्र सहिछाप भएकोले मृतकको मृत्युपछि मुद्दा सृजना गर्न कागज तयार भएको भन्‍ने स्पष्ट छ । मिति २०६७।०४।१३ गते मृत्यु भएको छ भने ऐ. १५ गते अर्थात् मृत्यु भएको २ दिनपछि जाहेरी परेको छ । सुरू एवं पुनरावेदन अदालतको फैसलामा मृत्युकालीन घोषणालाई मात्र आधार लिइएको छ सो कागजमा रोहबरमा रहेको भनिएकी मृतककी भाउजू सविता देवीलाई अदालतमा उपस्थित गराई बकपत्र गराउन सकेको छैन । पुनरावेदन अदालत हेटौंडाबाट साक्षी संरक्षणसम्बन्धी कानून नभएकोले साक्षीहरूलाई डर, धाक, धम्कीमा पारी अनुचित प्रभावमा पारेको हुन सक्ने भनी अनुमानको आधारमा फौजदारी न्यायको आधारभूत सिद्धान्तको विपरीत फैसला भएको छ । प्रतिवादी र मृतक विवाह हुनुपूर्व नै एक अर्काले मन पराई विवाह गरेको हो । निजहरू बीच राम्रो सम्बन्ध थियो भनी छिमेकी सत्रोधन शुक्ला र महेन्द्र राउतले बकी लेखाइदिएका छन् । खाना पकाउने बेला अचानक कपडामा आगो लागेको भनी मृतकले भनेकी हुन् भनी सत्रोधन शुक्ला र महेन्द्र राउतले स्पष्टरूपमा बकी लेखाइदिएको समेतका प्रमाणबाट मृतकको मृत्यु कर्तव्यबाट नभई मृतक आफैँको बेहोसीपनले गर्दा भएको दुर्घटना भन्ने देखिइरहेको छ । मेरो पक्ष पुनरावेदक प्रतिवादीले कसुरमा पूर्ण इन्कार रही बयान गरेका छन् । निजको इन्कारी बयान जाहेरवालासमेतका वादीका साक्षी एवं मेरो पक्षका साक्षीहरूले बकपत्र गरी पुष्टि र समर्थित भइरहेको अवस्थामा त्यसतर्फ मूल्याङ्कन नगरी अदालत स्वयं वादी भई गम्भीर कानूनी त्रुटिपूर्ण फैसला भएको छ । पुनरावेदन अदालत हेटौंडाबाट भएको फैसला सर्वोच्च अदालतबाट महेश पटेल कुर्मी विरूद्ध नेपाल सरकार भएको जबरजस्ती करणी मुद्दा (ने.का.प. २०७१, अंक १, पृष्ठ ७० नि.नं. ९१०७), भुपालमान थापाको जाहेरीले नेपाल सरकार विरूद्ध मुरारी धमलासमेत भएको कर्तव्य ज्यान मुद्दा (संवत् ०६८-CR-०८८६, निर्णय मिति २०७१।११।२५।२), नेपाल सरकार विरूद्ध मगरे खाँसमेत भएको लागु औषध मुद्दा (ने.का.प २०६६, अंक १० पृष्ठ १६६७ नि.नं. ८२४३), भुवाने बस्नेत क्षेत्री विरूद्ध श्री ५ को सरकार भएको ज्यान मुद्दा (ने.का.प. २०३१ अंक ३ पृष्ठ ८७ नि.नं. ५१८), नेपाल सरकार विरूद्ध मनकुमारी नेपालीसमेत भएको कर्तव्य ज्यान मुद्दा (ने.का.प. २०६८ अंक १२ पृष्ठ १९६५ नि.नं. ८७२६), Hendrik Otto विरूद्ध नेपाल सरकार भएको जबरजस्ती करणी मुद्दा (ने.का.प. २०६९ अंक ८ पृष्ठ १३३७ नि.नं. ८५३५), नन्दादेवी जोशी विरूद्ध नेपाल सरकार मुद्दा कर्तव्य ज्यान (ने.का.प. २०६९ अंक १ पृष्ठ १३० नि.नं. ८७६०) र नेपाल सरकार विरूद्ध यज्ञबहादुर थापासमेत भएको कर्तव्य ज्यान (ने.का.प. २०६९ अंक ३ पृष्ठ १७१ नि.नं. ८७६४) मुद्दाहरूमा प्रतिपादित नजिर सिद्धान्तहरूसमेतको विपरीत हुँदा पुनरावेदन अदालत हेटौंडाको फैसला बदर उल्टी गरी मेरो पक्षले पूर्ण रूपमा सफाइ पाउनु पर्दछ भनी बहस प्रस्तुत गर्नुभयो ।

वादी नेपाल सरकारका तर्फबाट उपस्थित विद्वान्‌ नायब महान्यायाधिवक्ता श्री पदमप्रसाद पाण्डेयले पीडित सिमादेवी ठाकुरले होस छँदै भनेको कुरा उल्लेख गरी जाहेरी परेको छ । प्रमाण ऐन, २०३१ को दफा ११ बमोजिम मरेको व्यक्तिले होस छँदै व्यक्त गरेको कुरा प्रमाणमा लिन हुन्छ । कसैको दबाबबाट जाहेरी नदिएको भन्‍ने जाहेरवालाको बकपत्रबाट देखिएको छ । प्रतिवादीले अधिकारप्राप्त अधिकारीसमक्ष साबिती बयान गरेका छन् । निजलाई डर त्रास देखाई कुटपिट गरी बयान गराएको भए सो कुरा अदालतमा बयान गर्दा व्यक्त गर्नु पर्ने र अदालतमा बयान गर्दा सो कुरा उल्लेख छैन । मौकामा भएको साबिती बयान खण्डन हुने अन्य वस्तुनिष्ठ प्रमाण छैन । साबिती अन्य प्रमाणबाट समर्थित भएको छ । नारायणी उपक्षेत्रीय अस्पतालको इमर्जेन्सी कक्षमा प्रहरी नायब निरीक्षक सलाम सिंह तामाङसमक्ष मृतक सिमादेवी ठाकुरको Dying declaration अर्थात् घटना विवरणको कागज भएको छ । उक्त कागजमा  प्रतिवादीहरूले के कसरी आफूलाई आगो लगाइदिए भन्ने स्पष्टरूपमा खुलाइदिएको अवस्था छ । उक्त कागजमा मृतककी भाउजू सविता देवीलाई रोहबरमा राखिएको छ । प्रहरी नायब निरीक्षक सलाम सिंह तामाङले मौकामा भएको घटना विवरण कागज पुष्टि हुने गरी अदालतमा उपस्थित भई बकपत्र गरिदिएका छन् । “मृतकले आफ्नो मृत्युको कारण अस्पतालको बेडमा व्यक्त गरेको कुरालाई टिपोट गर्ने प्रहरी कर्मचारी अदालतमा उपस्थित भई बकपत्र गरिदिएको अवस्थामा मृतकले आफ्नो मृत्युको सम्बन्धमा व्यक्त गरेको कुरालाई प्रमाणमा लिन नमिल्ने भन्न नमिल्ने” भनी  ने.का.प २०६४ अंक ११ नि.नं.७८९८ कान्छामान मगरको जाहेरीले नेपाल सरकार विरूद्ध अम्बरबहादुर आले मगर भएको कर्तव्य ज्यान मुद्दामा सिद्धान्त प्रतिपादित भएको छ । प्रस्तुत मुद्दामा कागज तयार गर्ने प्रहरी नायब निरीक्षक सलाम सिंह तामाङले अदालतमा उपस्थित भई बकपत्र गरी प्रतिवादीको कर्तव्यबाट मृतकको मृत्यु भएको पुष्टि भएकोले यी पुनरावेदक प्रतिवादीलाई अभियोग दाबीबमोजिम सजाय गर्ने गरेको सुरू अदालतको फैसलालाई सदर कायम हुने ठहर्‍याई भएको पुनरावेदन अदालत हेटौंडाको फैसला मिलेको छ सदर कायम हुनुपर्दछ भनी बहस प्रस्तुत गर्नुभयो ।

विद्वान्‌ कानून व्यवसायीहरू एवं नायब महान्यायाधिवक्ताले गर्नुभएको बहस बुँदा र सुरू, रेकर्ड र पुनरावेदनसहितको मिसिल संलग्न कागज प्रमाणहरू एवं बहसका क्रममा प्रस्तुत भएका नजिरहरूको अध्ययन गरी निर्णयतर्फ विचार गर्दा पुनरावेदन अदालत हेटौंडाले गरेको फैसला मिलेको छ छैन ? पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्छ वा

सक्दैन ? भन्‍ने विषयमा निर्णय दिनुपर्ने देखिन आयो । 

यसमा प्रतिवादी ओमनारायण ठाकुरसमेतले मृतक सिमादेवीलाई मट्टितेल छर्की आगो लगाई दिएको कारणबाट निजको मृत्यु भई निजको पेटमा रहेको बालकसमेतको मृत्यु भएकोले प्रतिवादी ओमनारायण ठाकुरलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १ तथा १३ (३) नं. बमोजिमको कसुरमा सोही महलको १३ (३) नं. अनुसार सर्वस्वसहित जन्मकैद तथा सोही महलको २८ नं. अनुसार ४ वर्ष थप कैदसमेत हुने ठहर्‍याई पर्सा जिल्ला अदालतबाट भएको फैसलालाई सदर कायम गरी पुनरावेदन अदालत हेटौंडाबाट भएको फैसलामा चित्त नबुझाई उक्त फैसलाउपर प्रतिवादी ओमनारायण ठाकुरको तर्फबाट यस अदालतमा पुनरावेदन पर्न आएको देखियो । 

२. निर्णयतर्फ विचार गर्दा, सासू, ससुरा तथा श्रीमान्‌समेतले दाइजो कमी भयो भनी दैनिकरूपमा शारीरिक एवं मानसिक यातना दिँदै आएका थिए । म र श्रीमान्‌को शारीरिक सम्बन्धबाट ७ महिनाको गर्भ रहिसकेकोमा मिति २०६७।०३।२८ गते बिहान ६.०० बजेको समयमा पति ओमनारायण ठाकुर, ससुरा गगनदेव ठाकुर, सासू झुनझरी देवी, देवर श्रीनारायण ठाकुर र नन्द मनिषा कुमारीसमेतले मेरो शरीरमा मट्टितेल छर्की आगो लगाइदिएकाले छिमेकीहरूले भनेबमोजिम सासू ससुराले भारतको रक्सौलको डंकन अस्पतालमा ल्याई उपचारको लागि भर्ना गराएका थिए । सोही आगोको पोलाइबाट मेरो पेटको ७ महिनाको छोरा डंकन अस्पतालमा 

जन्मियो । सासू ससुरा मलाई छाडी भागी गएको अवस्थामा मेरो दाजु भाउजूले उपचारका लागि अन्यत्र लगी जाने तरखरमा छु भन्‍ने मृतक सिमादेवी ठाकुरको घटना विवरण कागजको आधारमा निज मृतकको दाजु प्रेमकुमार शर्मा ठाकुरले प्रतिवादीहरूले मेरी बहिनीलाई बहिनीको भनाइबमोजिमको परिवन्दबाट आगो लगाई मारेकोले प्रतिवादीहरूलाई कारबाही गरिपाउँ भनी दिएको जाहेरी दरखास्तबाट अनुसन्धान तहकिकात सुरू भई प्रतिवादीहरू ओमनारायण ठाकुर, गगनदेव ठाकुर, झुनझरी देवी ठाकुर, श्रीनारायण ठाकुर र मनिषा ठाकुरलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको १ नं. विपरीत १३ नं. को देहाय (३) तथा २८ नं. अनुसारको कसुरमा सोही महलको १३ नं. को देहाय (३) र २८ नं. बमोजिम सजाय गरिपाउँ भनी अभियोगपत्र दायर भएको देखिन्छ ।

३. प्रतिवादीहरू गगनदेव ठाकुर, झुनझरी देवी ठाकुर, श्रीनारायण ठाकुर तथा मनिषा ठाकुरसमेतको कर्तव्यबाट मृतक सिमादेवीको मृत्यु भएको बेहोरा उल्लेख गरी निजहरूउपरसमेत सजायको माग दाबी लिई अभियोगपत्र दायर भएकोमा निजहरू मौकामा फरार रही अदालतबाट जारी भएको म्यादमा समेत हाजिर नभई यद्यपि फरार नै रहेको देखिँदा निजहरूका हकमा सुरू अदालतबाट अ.बं. १९० नं. बमोजिम मुद्दा मुलतबीमा राखेको देखिँदा त्यसतर्फ केही बोलिरहनु परेन ।

४. पुनरावेदक / प्रतिवादी ओमनारायण ठाकुरले मिति २०६७।०३।२८ गते बिहान मेरो सौतेनी आमा झुनझरी देवीले श्रीमती सिमादेवीको शरीरमा मट्टितेल छर्किदिएको र मैले सलाई कोरी शरीरमा आगो लगाई दिएको, बुबा गगनदेव ठाकुर, भाइ श्रीनारायण ठाकुर र बहिनी मनिषा कुमारीसमेतले घेरछेक गरी भाग्न उम्कन नदिई आगो लगाई, जलाई, घाइते बनाई, बेहोस भएकीले बुबा र सौतेनी आमाले तिमीहरू भाग प्रहरी आउन सक्छ हामी उपचार गर्ने बहानामा भारत रक्सौलतर्फ लान्छौं भनेकोले हामीहरू भागी फरार भएका हौं । पेटमा भएको बच्चा र श्रीमतीको उपचारकै क्रममा मृत्यु भएको भन्‍ने सुनी थाहा पाएको हुँ । श्रीमतीलाई मार्नु पर्ने कारण दाइजो हो भनी अनुसन्धान अधिकारीसमक्ष कसुरमा साबित भई बयान गरेको भन्‍ने देखिन्छ । 

५. अदालतसमक्ष बयान गर्दा घरमा बस्दा खाना बनाउने सम्बन्धमा केही बोलचालसम्म भएको हो, त्यसैकारणले हामी बिहान सौच गर्न बाहिर गएको बेला मेरो श्रीमतीले आफैँले स्वयं शरीरमा आगो लगाइसकेपछि हल्ला सुनी दौडेर आई उपचारका लागि भारत रक्सौलको डंकन अस्पतालमा लगेका थियौ । ससुरालीका मानिसहरू आई मलाई गालीगलौज र बन्दुकसमेत देखाएकोले भागी गएको हुँ । भारत भएकोले म केही बोल्न सकिन । त्यसपछि श्रीमतीलाई कहाँ लगे कसरी उपचार गराए मलाई थाहा भएन । मृतक सिमादेवीको कागज बेहोरा र जाहेरी दरखास्त झुट्ठा

हो । मैले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान गलत हो । प्रहरीले आफैँले लेखी तयार पारेको कागजमा जबरजस्ती सही गर्न लगाएका हुन् भनी कसुरमा पूर्ण इन्कार रही बयान गरेको देखिन्छ ।

६. मृतक सिमादेवीको लास जाँच मुचुल्काबाट निजको सबै अङ्गहरू आगोले जलेको देखिएको, मृतकको भाउजू सविता देवीले गरिदिएको कागज तथा जाहेरवाला प्रेमकुमार शर्मा लोहारले दिएको जाहेरीबाट पनि मृतकको शरीरभरी आगो लागेको उल्लेख भएको देखिएको, वस्तुस्थिति मुचुल्काका मानिसहरूले पनि मृतकलाई आगो लगाएको सुनेको भनी लेखाएको, गर्भमा रहेको पुरूष जातक बच्चा मृत अवस्थामा जन्मेपछि गरिएको शव परीक्षण प्रतिवेदन तथा मृतक सिमादेवीको शव परीक्षण प्रतिवेदनबाट निजहरूको मृत्यु आगोले जलेको कारण भएको भनी उल्लेख भएको, बच्चा ७० प्रतिशत र आमाचाहीँ ९० प्रतिशत जलेको हुँदा निज मृतकको मृत्यु जलेर भएको हो भनी डा. रणवीर सिंहले बकपत्र गरिदिएकोसमेतबाट मृतक सीमादेवी र निज घाइते अवस्थामा रहँदा मृत अवस्थामा जन्मेको पुरूष जातक बच्चाको मृत्यु आगोले जलेको कारणबाट भएकोमा विवाद रहेन ।

७. अब प्रस्तुत मुद्दामा मृतक सिमादेवीको मृत्यु दुर्घटनावश आफैँ आगो लागी वा आफैँले आगो लगाई जलेको कारणबाट भएको हो वा यी पुनरावेदक ओमनारायण ठाकुरसमेतका प्रतिवादीहरूले आगो लगाई जलाइदिएको कारणबाट भएको हो भन्ने प्रस्तुत मुद्दामा निर्णयको मुख्य विषयवस्तु देखिन आएको छ । 

८. यसमा लोग्ने ओमनारायणसमेतले मलाई भाग्न उम्कन नदिई आगो लगाई घाइते भएपछि भारत रक्सौलको डंकन अस्पतालमा उपचार गराउँदैको अवस्थामा पेटमा रहेको ७ महिनाको बच्चा मृत अवस्थामा जन्मेको र मलाई मेरो दाजु भाउजूले थप उपचारका लागि वीरगन्ज स्थित नारायणी अस्पतालमा ल्याउनु भएको हो भनी मृतक सिमादेवीले मृत्युकालीन घोषणाको रूपमा गरेको घटना विवरण कागज (Dying declaration) को आधारमा मृतकका दाजु प्रेमकुमार शर्मा ठाकुरको जाहेरी दरखास्तबाट प्रस्तुत मुद्दाको उठान भएको देखिन्छ । मृतकको घटना विवरण कागज नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जको इमर्जेन्सी कक्षमा प्र.ना.नि.सलाम सिंह तामाङसमक्ष मृतककी भाउजू सविता देवीको रोहबरमा भएको भन्‍ने देखिएको छ । सामान्यतया मृत्युकालीन घोषणालाई प्रमाण ऐन, २०३१ को दफा ११ ले प्रमाणमा लिन हुने हुन्छ तर यसको लागि त्यस्तो व्यक्तिले होस छँदै व्यक्त गरेको हुनु आवश्यक छ । मिति २०६७।०३।३० गते भएको भनिएको उक्त कागजको बेहोरामा मेरो हातका औंलाहरू जलेकोले सहीछाप लगाउन सक्दिन भन्‍ने उल्लेख गरेको भनिएको छ । पोष्टमार्टम रिपोर्ट तयार पार्ने नारायणी उपक्षेत्रीय अस्पतालमा कार्यरत डा.रणवीर सिंहले बच्चा ७० प्रतिशत जलेको र आमाको शरीर ९० प्रतिशत जलेको कारणबाट दुवैको मृत्यु भएको हो र ५० प्रतिशत जल्यो भने मानिसको मृत्यु हुनसक्ने भनी आफ्नो बकपत्रमा लेखाइदिएको देखिन्छ ।  

९. वादी पक्षले प्रस्तुत मुद्दामा दाबी गरेको मुख्य आधार प्रमाण मृत्युकालीन घोषणा अर्थात् मृतकको मृत्यु हुनुपूर्वको उपर्युक्त घटना विवरण कागज नै 

हो । त्यस्तो कागज लिखित वा मौखिक दुवै स्वरूपमा हुनसक्दछ । लिखितरूपमा छ भने त्यसमा भएको हस्ताक्षर सही हो र सो होस छँदै व्यक्त गरेको हो भनी प्रमाणित गर्ने भार वादीको हुने भए जस्तै मौखिकरूपमा बोलेको कुरा मृतकले होस छँदै बोलेबमोजिम लिपिबद्ध गरेको हो भनी स्वतन्त्र प्रमाणबाट पुष्टि गराउन सकेमा प्रमाणग्राह्य हुन्छ । सो मिति २०६७।०३।३० मा बनेको भनिएको कागजमा अस्पतालमा कार्यरत डाक्टर, नर्ससमेतका कुनै पनि कर्मचारीलाई रोहबरमा राखिएको छैन । निजहरू रोहबरमा नभएको वा राख्न नपर्ने कारण कतै खुल्दैन । मरणासन्‍न वक्तव्य प्रमाणमा लिन र त्यसको विश्‍वसनीयता कायम गर्न सो कागज गर्दा अस्पतालमा कार्यरत व्यक्ति वा अन्य स्वतन्त्र व्यक्तिको रोहबर र सो व्यक्त अदालतमा आई बकपत्र गरी पुष्टि गर्नुपर्ने मान्यता रहँदै आएको छ । सर्वोच्च अदालतबाट भुपालमान थापाको जाहेरीले नेपाल सरकार विरूद्ध मुरारी धमलासमेत भएको कर्तव्य ज्यान मुद्दा (ने.का.प.२०७२,अंक २ नि.नं.९३५४) मा मृत्युकालीन कथन अन्यथा प्रमाणित नभएसम्म स्वतः प्रमाणयोग्य हुने र अस्पतालको नर्सलगायत अन्य व्यक्तिको रोहबरमा लेखिएको लिखत प्रमाणमा लिइने व्याख्या भएको छ । तर माथि उल्लिखित रूपमा रोहबरमा कोही स्वतन्त्र व्यक्ति नहुनु, रोहबरमा बस्ने व्यक्ति अदालतमा पेस हुन नसक्नु, दिउँसो ३ बजे अस्पतालमा इमरजेन्सीमा भर्ना भएका ती मृतकसँग १२ बजे नै सोही अस्पतालमा बयान लिएको भन्‍ने प्र.ना.नि.सलाम सिंह तामाङको बकपत्रमा उल्लेख 

छ । उक्त कागजलाई स्वाभाविकरूपमा बनेको लिखत हो भन्‍नेमा शंका उत्पन्‍न भएको छ । त्यस्तै महेश पटेल कुर्मी विरूद्ध नेपाल सरकार भएको जबरजस्ती करणी मुद्दा (ने.का.प.२०७१ अंक १ पृष्ट ७० नि.नं. ९१०७) मा “अनुसन्धान तहकिकातको क्रममा तयार भएको लिखतमा उल्लेख भएको कुरा सो कुरा व्यक्त गर्ने व्यक्तिहरू अदालतमा आई बकपत्र गरेको नदेखिएकोले प्रमाण ऐन, २०३१ को दफा १८, ५४ एवं २३(७) बमोजिम अकाट्य निश्चयात्मक र विश्वसनीय प्रमाणको रूपमा ग्रहण गर्न नमिल्ने” भनी सिद्धान्त प्रतिपादित भएको देखिन्छ ।

१०. कागज गर्ने भनिएका प्र.ना.नि.सलाम सिंह तामङ के कसरी अस्पतालमा पुगेका हुन् ? उक्त 

घटनाको जानकारी निजलाई कसरी मिति २०६७।०३।३० मा हुन आयो ? उक्त २०६७।०३।३० को सो कागजका आधारमा जाहेरी मिति २०६७।०४।१५ सम्म पनि कुनै कारबाही नगर्नुको तात्पर्य तथा ‌औचित्य के हो ? यी सबै प्रश्‍न अनुत्तरित छन् । निज प्र.ना.नि. सलाम सिंहले अदालतमा बकपत्र गर्दा उक्त लिखत गराउँदा प्र.ह.टिल्के सिंह र ड्युटीमा रहेकी नर्सलगायतको रोहबरमा कागज लेखिएको भनी उल्लेख गरेपनि यी भनाइलाई पुष्टि गराउन अदालतमा कसैलाई पनि उपस्थित गराउन सकेको पाइएन । ड्युटीमा रहेको भनिएकी नर्सको परिचय पनि कतै खुल्दैन भने सो कागजमा रोहबरमा रहेकी भनिएको मृतककी भाउजू सविता देवीलाई पनि वादीले अदालतमा उपस्थित गराई बकपत्र गराउन सकेको देखिएन । घटना विवरण कागज गर्दाको अवस्थामा मृतक ९० प्रतिशत जलेको देखिएको छ । ९० प्रतिशत  जलेको अवस्थाको मानिस चेत नभएको हुन्छ भन्ने डाक्टरको बकपत्रबाट देखिएको छ । अचेत मानिसले सबै जानकारीहरू सविस्तार लेखाएको भन्‍ने कुरालाई स्वाभाविकरूपमा लिन सकिने अवस्थासमेत 

देखिएन । उक्त लिखत तयार भएको समय तथा अस्पतालमा भर्ना भएको समय सम्बन्धमा अध्ययन गर्दा पनि घटना विवरण कागजमा मिति २०६७।०३।३० गते दिनको ३ बजे नारायणी उपक्षेत्रीय अस्पतालमा भर्ना भएको उल्लेख छ भने सो घटना विवरण कागज गर्ने प्र.ना.नि.सलामसिंह तामाङले मिति २०६७।०३।३० गते दिनको १२ बजे कागज तयार भएको हो भनी बकी लेखाइदिएको छ । अस्पतालमा नै ३ बजेको समयमा पुर्‍याइएकी सिमादेवी ठाकुरबाट प्र.ना.नि सलाम सिंह तामाङले अस्पतालमा १२ बजे ड्युटीका नर्स र प्र.ह.टिल्के सिंहको उपस्थितिमा कागज तैयार भएको भन्‍ने बकपत्र गर्नु तर सो तथ्य प्रमाणित गर्न ती उपस्थित मानिसहरूबाट त्यसबाट सम्पुष्टि गराउन नसक्नुका कारण सो लिखत विश्‍वासयोग्य 

देखिएन । सो हुँदा मृतकले गरेको भनिएको मृत्युकालीन घोषणा स्वरूपको घटना विवरण कागज प्रकारान्तरले सत्य साँचो नभएको भन्‍ने देखिन आएको छ । यस स्थितिमा सो कागज निजले भनेबमोजिम गरेको नभई मृत्यु भइसकेपछि प्रस्तुत मुद्दा दायर गर्ने प्रयोजनार्थ तयार भएको हो भन्‍ने पुनरावेदकका तर्फबाट रहनु भएका विद्वान्‌ कानून व्यवसायीहरूको बहस जिकिर सान्दर्भिक देखिन आयो । सो कागजलाई शंकारहित रूपमा प्रमाणमा ग्रहण गर्न सकिने देखिएन ।

११. यसका अतिरिक्त वस्तुस्थिति मुचुल्काका मानिसहरू सत्रोधन शुक्लाले मृतकले खाना पकाउनको लागि आगो सल्काउँदा अचानक उनले लगाएको कपडामा आगोले टिपी सम्पूर्ण शरीरमा आगो लागेको भन्ने कुरा मृतकले नै भनेबाट थाहा पाएको थिएँ । प्रतिवादीहरूले कर्तव्य गरी मृतकको ज्यान मारेको होइन भनी र अर्का महेन्द्र राउत अहिरले वारदातको दिन बिहान सिमादेवी कराउन थालिन् म छिमेकी भएकोले निज कहाँ गई के भयो भनी सोध्दा खाना बनाउन लाग्दा आगो मेरो कपडामा परेको हो भनी बताएकी थिइन् । प्रतिवादी र मृतकका बीच राम्रो सम्बन्ध थियो भनी बकपत्र गरेको देखिन्छ । यसै गरी हिसोरीलाल प्रसाद तेलीले मृतक र प्रतिवादीबीच एकदम राम्रो सद्‍भाव र मेलमिलाप थियो, झै-झगडा केही थिएन भनी र प्रतिवादीका साक्षी संदिपप्रसाद वर्णवालले मृतकले भनेअनुसार निजले लगाएको कपडामा आगोले टिपेकोले त्यस्तो घटना घटेको हो प्रस्तुत घटनामा प्रतिवादीहरू निर्दोष छन् भनी गरेको बकपत्रबाट प्रतिवादीको अदालतसमक्षको इन्कारी बयान थप पुष्टि हुन आएको छ । यी कागज गर्ने व्यक्तिहरू तत्कालका साक्षीसरहका व्यक्ति भएको र मृतक होस ठेगानामा हुँदै व्यक्त गरेको भन्‍ने देखिएको छ, यी तथ्य अन्यथा प्रमाणित भएको छैन ।

१२. प्रतिवादीले अदालतसमक्ष गरेको इन्कारी बयान, वादी पक्षका साक्षी मृतकका दाजु जाहेरवाला प्रेमकुमार शर्मा ठाकुरले प्रतिवादी ओमनारायण र मृतकको विवाह हुँदादेखि नमरून्जेलसम्म सम्बन्ध राम्रो थियो, विवाहपश्‍चात् दाइजो इत्यादि केही मागेको थिएन, जाहेरी बेहोरा मैले लेखाएको होइन, मलाई पढेर सुनाइएको पनि होइन, मृतकले घाइते अवस्थामा कुनै पनि बयान दिएको छैन, घटना विवरण कागज झुट्ठा हो । मृतक अस्पतालमा पुग्ने बित्तिकै म पुगेको हुँ र मृतकको मृत्यु नभएसम्म म सँगै थिएँ भनी गरेको बकपत्रबाट समेत प्रस्तुत मुद्दाको अभियोगपत्र स्वतन्त्र, निष्पक्ष एवं सूक्ष्म अनुसन्धानपश्‍चात् स्वाभाविक रूपमा तैयार भएको हो भनी विश्‍वास गर्न सकिएन ।

१३. जहाँसम्म अधिकारप्राप्त अधिकारीसमक्ष कसुरमा साबित रही बयान गरेको भन्ने वादी पक्षको दाबी छ, मौकामा गरेको प्रतिवादीको साबिती बयानलाई साक्षीसमेतका ठोस एवं वस्तुनिष्ठ प्रमाणबाट शंकारहित तवरबाट पुष्टि गराउनु पर्ने हुन्छ । अनुसन्धानका क्रममा कागज गर्ने आफ्नै साक्षीहरूले अदालतमा आई अभियोग दाबीलाई खण्डन हुने गरी बकी लेखाइदिएको तथा शंकास्पद घटना विवरण कागज बनाइएको देखिएबाट अनुसन्धान सूक्ष्म, स्वतन्त्र एवं निष्पक्षरूपमा भएको विश्वास गर्न सकिँदैन । यस अवस्थामा अनुसन्धानमा संलग्न कर्मचारी आफैँले प्रतिवादीको हस्ताक्षर गराएको होइन भन्‍न सकिने अवस्था देखिएन । यसरी मौकामा भएको प्रतिवादीको साबिती बयान वादीको कुनै पनि प्रमाण एवं साक्षीबाट समर्थन हुन नसकेबाट शंकास्पद अभियोग र प्रमाणका आधारमा यी प्रतिवादीलाई दोषी ठहर गर्न पर्याप्त आधार प्रमाण रहेको पाइएन ।

१४. माथि दफा दफामा विवेचित तथ्यहरूबाट वादी पक्षले अभियोग दाबीअनुरूप यी पुनरावेदक प्रतिवादी ओमनारायण ठाकुरले आफ्नी श्रीमती मृतक सिमादेवीलाई कसुर गरी मारेको भन्‍ने निःसन्देहात्मक रूपमा पुष्टि हुने प्रमाण पेस गर्न नसकेको अवस्थामा पुनरावेदक प्रतिवादीलाई ज्यानसम्बन्धीको १३(३) नं. तथा २८ नं. बमोजिम कसुर कायम गरी २८ नं.बमोजिम हुने सजायलाई “थप सजाय” भनी उल्लेख गरी सुरू पर्सा जिल्ला अदालतबाट भएको फैसलालाई सदर कायम गर्ने गरी भएको पुनरावेदन अदालत हेटौंडाको मिति २०७१।१२।०३ को फैसला प्रमाणको मूल्याङ्कन एवं कानूनको व्याख्यासमेतका दृष्टिले त्रुटिपूर्ण देखिन आयो ।

१५. तसर्थ उपर्युक्त विवेचित तथ्य, प्रमाण र आधारमा पुनरावेदन अदालत हेटौंडाको मिति २०७१।१२।०३ को फैसला मिलेको नदेखिँदा उक्त फैसला उल्टी भई पुनरावेदक प्रतिवादी ओमनारायण ठाकुरले अभियोग दाबीबाट सफाइ पाउने ठहर्छ । अरूमा तपसिलबमोजिम गर्नू ।

तपसिल

माथि इन्साफ खण्डमा लेखिएबमोजिम पुनरावेदन अदालत हेटौंडाको फैसला उल्टी भई पुनरावेदक प्रतिवादी ओमनारायण ठाकुरले अभियोग दाबीबाट सफाइ पाउने ठहरेकाले निजको हकमा सुरू पर्सा जिल्ला अदालतमा राखेको लगत कट्टा गर्नु भनी सुरू पर्सा जिल्ला अदालतमा लेखी पठाउनू .................१

थुनामा रहेका पुनरावेदक प्रतिवादी ओमनारायण ठाकुरलाई थुना मुक्त गर्न संक्षिप्त आदेश भइसकेको देखिँदा सो सम्बन्धमा केही गर्नु परेन ...................२

यस अदालतमा प्राप्‍त हुन आएको सुरू, रेकर्ड र भए प्रमाण मिसिलसमेत सम्बन्धित अदालतमा पठाइ    दिनू ............................................................३

फैसलाको विद्युतीय प्रति इन्ट्रानेटमा अपलोड गरी दर्ता दायरीको लगत कट्टा गरी मिसिल अभिलेख शाखामा बुझाई दिनू ...................................................४

 

उक्त रायमा सहमत छु ।

न्या. दीपककुमार कार्की

 

इजलास अधिकृत : चिन्तामणि शर्मा

इति संवत् २०७५ साल मंसिर २४ गते रोज २ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु