शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १०१९३ - मानव बेचबिखन तथा ओसारपसार

भाग: ६१ साल: २०७६ महिना: जेष्ठ अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री केदारप्रसाद चालिसे

माननीय न्यायाधीश श्री डम्बरबहादुर शाही 

फैसला मिति : २०७५।१०।१७

 

मुद्दा : मानव बेचबिखन तथा ओसारपसार

 

०७१-CR-०७३३

पुनरावेदक / प्रतिवादी : पूर्व घर भारत सुगौली भई हाल जिल्ला पर्सा, वीरगन्ज उपमहानगरपालिका, वडा नं. १२ घर भई हाल कारागार कार्यालय भिमफेदी मकवानपुरमा थुनामा रहेको राजकुमार सोनार

विरूद्ध

प्रत्यर्थी / वादी : परिवर्तित नाम मन्जरी साहसमेतको जाहेरीले नेपाल सरकार

 

०७१-CR-१३०५

पुनरावेदक / वादी : परिवर्तित नाम मन्जरी साहसमतेको जाहेरीले नेपाल सरकार

विरूद्ध

प्रत्यर्थी / प्रतिवादी : पूर्व घर भारत सुगौली भई हाल जिल्ला पर्सा, वीरगन्ज उपमहानगरपालिका, वडा नं. १२ घर भई हाल कारागार कार्यालय, भिमफेदी मकवानपुरमा थुनामा रहेको राजकुमार सोनार

 

सुरूवातदेखि अन्तसम्म एक जना व्यक्ति मात्र संलग्न रही पीडितलाई विदेश लैजाने र बिक्री गर्ने कार्य गरेकोले प्रत्येक चरणबापत छुट्टाछुट्टै कसुर कायम गर्ने अवस्था हुँदैन । कसुरको पूर्णता विदेशमा लगी बिक्री गरेपछि हुने भएको र सो कार्य गर्ने व्यक्ति एउटै भएको अवस्थामा कसुर गर्दाको चरण चरणको आधारमा छुट्टाछुट्टै सजाय गर्ने कार्य तर्क र न्यायसङ्गत नदेखिने ।

(प्रकरण नं.१०)

 

वादीका तर्फबाट : विद्वान्‌ उपन्यायाधिवक्ता श्री अर्जुनप्रसाद कोइराला

प्रतिवादीका तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ताद्वय श्री शम्भु थापा र श्री मो. शेष अब्वास र अधिवक्ता श्री मधुर पाठक

अवलम्बित नजिर :

सम्बद्ध कानून :

प्रमाण ऐन, २०३१

मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४

 

सुरू तहमा फैसला गर्ने :

मा. जिल्ला न्यायाधीश श्री टेकनारायण कुँवर

मकवानपुर जिल्ला, अदालत

पुनरावेदन तहमा फैसला गर्ने :

माननीय न्यायाधीश श्री हरिकुमार पोखरेल

माननीय न्यायाधीश श्री तिलप्रसाद श्रेष्ठ

पुनरावेदन अदालत, हेटौंडा

 

फैसला

न्या. केदारप्रसाद चालिसे : न्याय प्रशासन ऐन, २०४८ तथा २०७३ को दफा ९(१) बमोजिम दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र निर्णय यसप्रकार छः-

म तथा मेरो बहिनीसमेत २ जना पहिला विवाह गरी गौना नभएको घर भारत सुगौली जाँदा भेट भएका प्रतिवादी राजकुमार सोनारले मेरो साथीको मोबाइलमा फोन गरी मसँग विवाह गरी दिल्लीमा लगी तिमीहरूलाई राम्रो जागिर लगाई दिने भनी विभिन्‍न प्रलोभनमा पारी पटक-पटक फोन गरी मिति २०६८।१०।७ गते बिहान वीरगन्ज बोलाई रेलबाट हामी दुवैजनालाई भारतको दिल्ली पुर्‍याई एकजना बंगाली आइमाइकहाँ लगी जिम्मा लगाई निज राजकुमारले छाडी आएकोमा पछि बुझ्दा हामीलाई एक / एक लाख रूपैयाँमा बिक्री गरेको थाहा भएपछि आँखा छली भागी प्रहरीमार्फत नेपाल आई यो जाहेरी दिएका छौं । निज राजकुमार सोनारलाई पक्राउ गरी कानूनबमोजिम गरिपाउँ भन्नेसमेत बेहोराको नाम परिवर्तित मञ्‍जरी साह र सीमा साहको संयुक्त जाहेरी दरखास्त । 

म तथा मेरी बहिनी सीमा साहलाई निज प्रतिवादी राजकुमार साह सोनारले विभिन्‍न प्रलोभनमा पारी जागिर लगाई दिने, मीठो खान र राम्रो ठाउँमा बस्न पाइने एवं घरमा आमाबाबुसमेतलाई सुख हुने जस्ता प्रलोभनमा पारी मिति २०६८।१०।७ गते वीरगन्जबाट दिल्लीसमेत पुर्‍याई बिक्री गरेपछि हामीलाई झुक्याई भागी आएका हुन्‌ । प्रतिवादी राजकुमार सोनारलाई कारबाही हुनुपर्छ भन्नेसमेत बेहोराको नाम परिवर्तित मञ्‍जरी साह र सीमा साहको बयान कागज । 

उल्लिखित पीडितहरूको बयान मिति २०६८।१०।२२ मा सुरू अदालतबाट प्रमाणित  भएको । 

जिल्ला मकवानपुर, हेटौंडा नगरपालिका वडा नं. ६ मा बस्ने मञ्‍जरी साह र सीमा साह मिति २०६८।१०।७ गते हराएकाले खोजतलास गर्दा गराउँदा राजकुमारले विभिन्‍न प्रलोभनमा पारी ललाई फकाई भारतको रक्सौलमा बिक्रीसमेत गरेको भन्‍ने खुल्न आई पीडितलाई उद्धार गरी ल्याई ऐ. १८ गते माइती नेपालमा आएको हुँदा कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको माइती नेपाल शाखा कार्यालय, हेटौंडाको पत्र ।

निज प्रतिवादी राजकुमार सोनारलाई अन्य मानिसहरूसँग राखी सनाखत गराउँदासमेत मैले चिनेको भारतमा पुर्‍याई बिक्री गर्ने मानिस हुन्‌ भनी पीडितले गरेको सनाखत कागज ।

जाहेरवालाहरूले प्रतिवादी राजकुमार सोनारलाई मेरो फो.नं. ९८०६९९३७६८ नं. दिएका रहेछन्‌ । निजले सोही नं. मा फोन गरी जाहेरवालालाई बोलाई दिनुभन्दा मैले निजहरूलाई फोन दिँदा निजहरूले धेरै बेरसम्म गफ गर्ने गरेका थिए । प्रतिवादीलाई चिन्दिन । जाहेरवालाहरू छिमेकी हुन्‌ । निजहरूलाई चिन्दछु । मिति २०६८।१०।७ गतेदेखि निजहरू हराएका थिए । निजहरू आएपछि राजकुमारले भारतको कोठीमा लगेर बिक्री गरेको भनी पीडितहरूले बताएका हुन्‌ भन्नेसमेत बेहोराको शान्ती गुरूङको कागज ।

जाहेरवालाहरू मञ्‍जरी साह र सीमा साह दुवैजना हाल नाम थाहा भएका प्रतिवादी राजकुमार सोनारले विभिन्‍न प्रलोभनमा पारी भारतको वेश्यालयमा लगी बिक्री गरेका रहेछन्‌ भन्‍ने कुरा पीडितले भागी आएर भनेपछि थाहा पाएको हुँ भन्नेसमेत बेहोराको घटना विवरणका मुरलीमायाँ थापामगर, वसन्ती गुरूङ, यामकुमारी परियारसमेतको घटना विवरण कागज । 

पीडित जाहेरवालाहरू मेरो पूर्व घर भारतको सुगौली जाँदा आउँदा भेट भएपछि निजहरूलाई पटक-पटक फोन गरी विवाह गर्ने बहानामा बोलाई मिति २०६८।१०।७ गते वीरगन्जबाट दिल्ली पुर्‍याई निजहरूलाई वेश्यालयमा लगी तत्काल रू.५०,०००।- लिएको र बाँकी रू.१,५०,००४।- पछि लिने सर्तमा रू.२,००,०००।- मा निजहरू दुवैजनालाई वेश्यालयमा बेची हिँडेको हुँ । पछि निजहरू कसरी फर्की आउन सफल भए थाहा भएन भन्नेसमेत बेहोराको प्रतिवादी राजकुमार सोनारले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।

प्रतिवादी राजकुमार सोनारले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ३(१) विरूद्धको कार्य गरी सोही ऐनको ४(१) को (क) र (ख) को कसुर गरेको सिद्ध हुन आएकोले निज पक्राउ परेका प्रतिवादी राजकुमार सोनारलाई सोही ऐनको दफा १५(१) को (क) र (ङ) (१) तथा दफा १५ (२) (ख) बमोजिम सजाय गरी दफा १७ बमोजिम पीडितलाई क्षतिपूर्तिसमेत भराई दफा २२ बमोजिम नैतिक पतन देखिने कसुर गरेको ठहर गरिपाउँ भन्नेसमेत बेहोराको अभियोगपत्र । 

जाहेरवालामध्ये एउटा मेरो भाउजू नाता पर्ने भएको हुँदा पहिला चिनजानको मानिस हुन्‌ । निजले मेरो फोन नं. लिएकी र कहिलेकाहीँ फोन गर्ने गरेकी थिइन्‌ । मिति २०६८।१०।७ गते पनि निजले मलाई फोन गरी वीरगन्ज आएको, तपाईं एकछिन आउनु होस्‌ भनी मलाई बसपार्कमा बोलाएकी हुँदा मैले नाता पर्ने मानिस हुन्‌ किन बोलाएकी रहिछिन्‌ भनी म आफ्नो काम छोडी बसपार्क जाँदा दुईजना आएका रहेछन्‌ । कहाँ जान लाग्नु भएको भन्दा हामी घर छोडी आएको, हामीलाई बस्न मिलाई दिनुपर्‍यो भन्दा मैले बस्ने ठाउँ छैन । मेरो घरमा छोरी जन्मेको छ, तपाईंहरू अन्यत्र गई बस्नु होस्‌ भनी म आई आफ्नो काम गरी बसेको हुँ । निजहरू त्यसपछि कहाँ गए मलाई थाहा भएन । त्यसको बेलुका निजको दाइले मलाई फोन गरी सोध्नुभयो । मैले वीरगन्ज आएका थिए, कहाँ गए थाहा भएन भनेँ । भोलिपल्ट, पर्सिपल्टसमेत फोन गरेर मलाई भेट्नसमेत गएँ । मैले बसपार्कमा भेट भएकोसम्मको कुरा भनिदिएँ । जाहेरवालाहरूलाई को को भई के कसरी भारत पुर्‍याए मलाई थाहा छैन । मैले निजहरूलाई भारत लगी बिक्री गरेको छैन ५  दिनपछि जाहेरवालाहरूका बुबाले रू.३,००,०००।- देउ, म छाडी दिन्छु भनेका थिए, म निर्दोष छु, किन पैसा दिने भनी भनेको थिएँ । सोही रिसइवीसमेत राखी मउपर यो मुद्दा लगाएको हो । अभियोग दाबीबमोजिम सजाय हुनुपर्ने होइन भन्नेसमेत बेहोराको प्रतिवादी राजकुमार सोनारले सुरू अदालतमा गरेको बयान । 

म बहिनीको घर विदेश भारतको सुगौली जाँदा निज प्रतिवादी राजकुमार सोनारसँग चिनजान भएको हो । चिनजान भएपछि फोनमा हामी दुवैजनाको गफ भयो । फोन गर्दा तिमीलाई म राम्रो काम लगाई दिन्छु । राम्रो पैसा आउँछ भनेर फोनद्वारा मलाई फकाएका थिए । तिमी आइनौ भने मरी दिन्छु, तिमी र म भएर सँगै काम गरौं भनी फकाएपछि हामी घरबाट मिति २०६८।१०।७ गते बिहान ५.०० बजे हेटौंडा आई गाडी चढी वीरगन्ज पुग्यौं । वीरगन्जबाट भारत रक्सौलमा गाडी चढी भारतको नयाँदिल्ली पुग्यौं । त्यसपछि हामी नयाँदिल्लीको स्टेशनमा बसिरहँदा निज प्रतिवादीले नचिनेको आईमाई लिएर आयो र तिमीहरूलाई मैले लिएर आएको मानिसले काममा लगाई दिन्छ भनेर फकायो । ती अपरिचित महिलाले हामीलाई घरमा लगी खान र बस्न दिइन्‌ । भोलिपल्ट ती महिला मर्निङवाकमा घुम्न गएको बेला हामी त्यहाँबाट भागी प्रहरी चौकीमा गयौं । भएको सम्पूर्ण बेहोरा 

भन्यौं । प्रहरीले माइती भारतलाई सम्पर्क गराई हामी माइती भारतमा पुग्यौं । माइती भारतले माइती भैरहवालाई सम्पर्क गरी माइती भैरहवा हुँदै हामीलाई माइती नेपाल हेटौंडामा बुझाएको हो भन्नेसमेत बेहोराको जाहेरवाला मञ्‍जरी साहले सुरू अदालतमा गरेको बकपत्र । 

प्रतिवादी राजकुमार सोनारले जिल्ला मकवानपुर, हेटौंडा नगरपालिका-६ बस्ने कान्छीमाया गुरूङको मोबाइलमा फोन गरी पीडितहरूलाई फोनबाट नै ललाई फकाई जागिर लगाई दिन्छु भनी वीरगन्ज बोलाएको रहेछ । निज पीडितहरू जागिर पाउने आशाले राजकुमार सोनार भएको ठाउँ वीरगन्ज गएछन्‌ । वीरगन्ज पुगेपछि राजकुमारले पीडितहरूलाई इन्डिया पास गराएछ । इन्डिया पुगेपछि पीडितहरूलाई प्रहरी तथा माइती नेपालले उद्धार गरी नेपाल फर्काएको भन्‍ने कुरा निज पीडितहरूले भनेबाट थाहा पाएको हुँ । पीडितहरू मेरो छिमेकी हुन्‌ भन्नेसमेत बेहोराको घटना विवरणमा कागज गर्ने मानिस मुरलीमाया थापामगरले सुरू अदालतमा गरेको बकपत्र ।

पीडितहरूले राजकुमार सोनारसँग मोबाइलबाट कुराकानी गर्दा निज राजकुमार सोनारले मासिक रू.२५,०००।- आउने जागिर दिउँला, आउ भनी बोलाएपछि निज पीडितहरू राजकुमार सोनार भएका ठाउँमा गएका हुन्‌ । पीडितहरूलाई माइती नेपाल संस्थाले उद्धार गरेको भन्‍ने कुरा पीडितहरूले फर्की आएपछि भनेबाट थाहा पाएको हुँ भन्नेसमेत बेहोराको घटना विवरणमा कागज गर्ने मानिस यामकुमारी परियारले सुरू अदालतमा गरेको बकपत्र । 

प्रतिवादीहरूले जाहेरवालाहरूलाई ललाई फकाई दिल्ली पुर्‍याएको छैन । निज प्रतिवादी दिल्ली पनि गएको छैन । मिति २०६८।१०।१० गते निज प्रतिवादी आफ्नै घरमा थिए । सोही दिन ११.०० बजे प्रहरी आई निजलाई पक्राउ गरेको हो । निज प्रतिवादी चेलिबेटी बेचबिखन गर्ने खालको व्यक्ति होइनन्‌ । निज निर्दोष छन्‌ । निजले अभियोग मागदाबीबमोजिम काम नगरेको हुनाले निजलाई सजाय हुनुपर्ने होइन भन्नेसमेत बेहोराको प्रतिवादीका साक्षी रामचन्द्र सोनार र लालबाबुसमेतले सुरू अदालतमा गरेको बकपत्र । 

यसमा प्रतिवादी राजकुमार सोनारले गरेको मौकाको साबिती बयान अन्यथा प्रमाणित भएको नपाइएको, सो साबिती बयानबाट पीडितको जाहेरी बेहोरा सिलसिलेवार रूपमा समर्थन भएको देखिएकोसमेतका आधार प्रमाणबाट प्रतिवादीले पीडितलाई फकाई बिक्री गर्ने उद्देश्यले भारतको दिल्लीमा लगी बिक्री गरेको देखिँदा प्रतिवादीले आरोपित कसुर गरेको शंकारहित तवरबाट पुष्टि हुन आएकोले निजले अभियोग दाबीको कसुर गरेको 

ठहर्छ । त्यसैले निज प्रतिवादीलाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा १५(१)(क) बमोजिम मानिस बेचेकोमा हुने सजाय अर्थात्‌ २० (बीस) वर्ष कैद र रू.२,००,०००।- (दुई लाख रूपैयाँ) जरिवाना तथा दफा १५(१)(ङ)(१) अनुसार छुट्टै थप सजायको रूपमा १४ (चौध) वर्ष कैद र रू.१,००,०००।- (एक लाख रूपैयाँ) जरिवानासमेत जोडिने गरी जम्मा ३४ (चौंतीस) वर्ष कैद र रू.३,००,०००।- (तीन लाख रूपैयाँ) जरिवाना हुने तथा ऐनको दफा २२ बमोजिम नैतिक पतन देखिने फौजदारी कसुर गरेकोसमेत ठहरी प्रतिवादीबाट पीडितहरूलाई जनही रू.३,००,०००।- (तीन / तीन लाख रूपैयाँ) क्षतिपूर्ति भराई दिने ठहर्छ भन्नेसमेत बेहोराको सुरू मकवानपुर जिल्ला अदालतबाट मिति २०६९।३।१९ गते भएको फैसला । 

म पुनरावेदक प्रतिवादीले अनुसन्धान अधिकृतसमक्ष गरेको बयान मेरो स्वेच्छाविपरीतको हो । मैले कसुरमा इन्कार रही अदालतमा बयान गरेको छु । मैले पीडितलाई दिल्ली लिई गएकै 

छैन । जाहेरवालीमध्ये एकजना मेरो भाउजू नाता पर्ने भएकीले मलाई फोन गरी भेट्न बोलाएकीले वीरगन्ज बसपार्कसम्म गएको हुँ । जाहेरवालीहरूको कथन झुट्टा र नाटकीय छ । मैले नै निजहरूलाई दिल्ली पुर्‍याएको र बेचेको भनी मनगढन्ते आरोप लगाएका हुन्‌ । निजहरूलाई कसैले कोठीमा बिक्री गरेको भए उनीहरू यति सहज रूपमा भागेर फिर्ता आउन सक्ने अवस्थै हुन्‍न । यस्तो झुटो जाहेरीको आधारमा मलाई दोषी करार हुने गरी भएको सुरू फैसला बदरभागी छ । जहाँसम्म मानव बेचबिखनमा २० वर्ष कैद र २ लाख रूपैयाँ जरिवाना र किन्‍ने बेच्ने वा वेश्यावृत्तिमा लगाउने उद्देश्यले मानिस विदेश लैजानेमा १४ वर्ष कैद र १ लाख रूपैयाँ जरिवानासमेत जम्मा ३४ वर्ष कैद र ३ लाख रूपैयाँ जरिवाना हुने ठहर गरी पीडितहरूलाई जनही तीन लाख रूपैयाँ क्षतिपूर्ति भराई दिने ठहर्‍याएको प्रश्न छ, उक्त फैसला कानूनसम्मत छैन । दण्ड सजायको महलको ६ नं. ले प्रस्ट रूपमा जन्मकैदको सजाय गर्दा २० वर्ष कैद गर्नुपर्छ भनी उल्लेख गरेको छ । कैदको सजाय गर्दा २० वर्षभन्दा बढी कैदको सजाय गर्न नहुने कानूनी व्यवस्थाको विपरीत पटकैपिच्छेको कामको सजाय जोड्न मिल्ने होइन । न्यायको मनसायविपरीत मलाई यति ठूलो कैदको सजाय हुने ठहर्‍याएको सुरू फैसला त्रुटिपूर्ण छ । त्यसैले सुरू फैसला उल्टी गरिपाउँ भन्नेसमेत बेहोराको पुनरावेदक प्रतिवादीको पुनरावेदन अदालत हेटौंडामा परेको पुनरावेदनपत्र ।

यसमा प्रतिवादीलाई भारतमा लगी मानव बेचबिखन गरेको ठहर्‍याई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा १५(१)(क) अनुसार सजाय भइसकेकोमा सोही ऐनको देहाय (ङ) अनुसार १४ वर्ष थप सजाय गरेको सन्दर्भमा त्यसरी थप सजाय गर्ने प्रस्ट कानूनी व्यवस्था नदेखिएको सन्दर्भमा कानून व्याख्याको दृष्टिकोणबाट सुरूको फैसला विचारणीय भई फरक पर्न सक्ने देखिँदा छलफलको निमित्त मुलुकी ऐन, अ.बं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ को प्रयोजनार्थ पुनरावेदन सरकारी वकिल कार्यालय, हेटौंडालाई जानकारी दिई नियमानुसार गरी पेस गर्नु भन्‍ने पुनरावेदन अदालत हेटौंडाको मिति २०७०।४।२२ को आदेश । 

यसमा माइती नेपाल रोकथाम गृह हेटौंडाबाट मिति २०६८।१०।१२ को पत्रमा माइती इन्डियामार्फत उद्धार गरी माइती नेपाल आवधिक गृह भैरहवामा ल्याइदिई मिति २०६८।१०।१८ मा यस रोकथाम गृहमा ल्याइदिनु भएको भन्नेसमेत बेहोरा उल्लेख भएको पाइएकोले के कस्तो बेहोराले यहाँको रोकथाम गृहमा परिवर्तित नाम मञ्‍जरी र सीमा साहलाई बुझाउन ल्याएको रहेछ त्यस्तो कुनै पत्र भए त्यसको आधिकारिक प्रमाणित प्रतिलिपि माइती नेपाल रोकथाम गृह हेटौंडाबाट झिकाई नियमानुसार पेस गर्नु भन्‍ने पुनरावेदन अदालत हेटौंडाको मिति २०७०।१०।१४ को आदेश । 

यसमा Maiti India को Maiti Nepal Transit Home Bhairahawa लाई लेखेको १७-३-२०१४ को पत्र के कुन पत्रको जवाफमा प्राप्त भएको हो सो पत्र सक्‍कलै माइती नेपालबाट झिकाउनू । साथै मिति २०६८।१०।६ देखि २०६८।१०।९ सम्मको प्रतिवादी राजकुमार सोनारको मोबाइल नं. ९८०८६-३९८६८ को Call detail सम्बन्धित दूर सञ्चार कम्पनीबाट झिकाई प्रतिवादी राजकुमारले बयानमा उल्लेख गरेको पीडितले मोबाइलमा फोन गरेको भनेको मोबाइल नं. प्रतिवादी राजकुमारबाट कागज गराई खुलाउन लगाउनु भन्‍ने पुनरावेदन अदालत हेटौंडाबाट मिति २०७१।३।२४ मा भएको आदेश । 

पीडितले मलाई फोन गरेको भनेको मोबाइल नं. ९८०६९९३७६८ हो भन्नेसमेत बेहोराको प्रतिवादी राजकुमार सोनारले गरेको कागज । 

यसमा पुनरावेदकले पुनरावेदन साथमा प्रमाणको लागि भनी माइती नेपाल, भैरहवा शाखा संयोजक शान्ति लामाले प्रमाणितसाथ सिफारिस गरिएको Ref.No. १९०. १२५/०६९/०७० को पत्रलाई जालसाजी भनी मकवानपुर जिल्ला अदालतमा मुद्दा दायर भई विचाराधीन रहेको छ भनी जाहेरवालातर्फका विद्वान्‌ कानून व्यवसायीले बहसको क्रममा भन्‍नु भएकोले प्रस्तुत मुद्दा पेसीमा नै चढाई सो जालसाजी मुद्दाको मिसिल पेसीको दिन फिर्ता लाने गरी मकवानपुर जिल्ला अदालतबाट झिकाई नियमानुसार पेस गर्नु भन्‍ने पुनरावेदन अदालत हेटौंडाको मिति २०७१।६।२८ को आदेश । 

प्रतिवादीले यी पीडितहरूलाई भारतको दिल्लीमा लगी बिक्री गरी मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ३ को उपदफा (१) विरूद्धको कसुर गरेको ठहराएको हदसम्म सुरू मकवानपुर जिल्ला अदालतको फैसलालाई अन्यथा भन्‍न सकिने अवस्था रहेन । तसर्थ प्रतिवादीउपर मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ३(१) को विपरीत दफा ४(क) को कसुरमा सोही ऐनको दफा १५(१) को खण्ड (क) बमोजिम बीस वर्ष कैद र रू.२,००,०००।- (दुई लाख रूपैयाँ) जरिवाना हुने ठहर्‍याएको हदसम्म सुरू मकवानपुर जिल्ला अदालतबाट मिति २०६९।३।१९ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । 

प्रतिवादीलाई सुरू मकवानपुर जिल्ला अदालतबाट मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा १५(१) को खण्ड (ङ) (१) तथा १५(२)(ख) बमोजिम थप कैद सजाय र जरिवाना गरेको सन्दर्भमा विचार गर्दा यी पीडितहरूलाई फरक फरक व्यक्तिले विदेश लगेको र बिक्री गरेको नभई एकैजना प्रतिवादीले विदेश लगी बिक्री गरेको देखिएको छ । बेचबिखन कार्यको प्रारम्भदेखि अन्तसम्म एकैजना व्यक्ति मात्र संलग्न रही अपराधको विभिन्‍न चरणमा निरन्तरता रहेको स्थितिमा अपराधको प्रत्येक चरणलाई छुट्टाछुट्टै कसुर कायम गरी ती प्रत्येक चरणबापत हुने छुट्टाछुट्टै सजायलाई एकैठाउँमा जोडी सजाय गर्दा न्यायसङ्गत हुने देखिँदैन । तसर्थ प्रतिवादीलाई सुरू मकवानपुर जिल्ला अदालतबाट मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा १५(१) को खण्ड (ङ) (१) तथा १५(२)(ख) बमोजिम थप कैद सजाय र जरिवाना गरेको मिलेको नदेखिँदा सो हदसम्म केही उल्टी हुने ठहर्छ । क्षतिपूर्तिका हकमा मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा १७(१) मा कसुरदारलाई भएको जरिवानाको पचास प्रतिशत बराबरको रकममा नघट्ने गरी पीडितलाई क्षतिपूर्ति भराइदिनु पर्ने व्यवस्था रहेको सन्दर्भमा प्रस्तुत मुद्दामा माथि उल्लेख भएअनुसार प्रतिवादीलाई रू.२ लाख जरिवाना हुने ठहरेकोले सुरू जिल्ला अदालतबाट रू.३,००,०००।- का दरले भराई दिने ठहर्‍याएको पनि सो हदसम्म उल्टी हुने भई सोही दफा १७(१) बमोजिम पीडित मञ्‍जरी साह र सीमा साहले जनही रू.१,००,०००।- (एक लाख रूपैयाँ) का दरले क्षतिपूर्ति पाउने ठहर्छ । साथै ऐ. ऐनको दफा २२ बमोजिम नैतिक पतन देखिने फौजदारी कसुर गरेको ठहर्‍याएको हदसम्म सुरू फैसला सदर हुने ठहर्छ । आरोपित कसुरबाट सफाइ पाउँ भन्‍ने प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्‍ने मिति २०७१।८।९ मा पुनरावेदन अदालत हेटौंडाबाट भएको फैसला ।

म प्रतिवादीले यी जाहेरवालीलाई बिक्री वितरणको उद्देश्यले भारत लगेको तथा निजलाई भारतको दिल्लीमा बिक्री वितरण गरेको छैन । म सो समयमा नेपालमा नै आफ्नो घरमा रही बसी आएको छु, म नेपालमा नै रहेको कुरा मैले हाम्रो साहारा बचत तथा ऋण सहकारी संस्था लि. वीरगन्ज–११ मा दैनिक रूपमा राखेको बचत खाताबाट पुष्टि भएको 

छ । यसको साथसाथै कुवेर बचत तथा ऋण सहकारी संस्था लि. मा दैनिक रूपमा राखेको बचत खाताबाट पनि पुष्टि भएको छ । यदि मैले यी जाहेरवालीहरूलाई विदेश लगेको भए मैले नेपालमा बसी उक्त सहकारीमा पैसा राख्न सक्ने अवस्था नै हुने थिएन । निज जाहेरवालीको झुट्टा कथनबाहेक उक्त घटना घटेको वस्तुनिष्ठ कुनै किसिमको प्रमाण नभएको अवस्थामा केवल जाहेरवालीहरूको झुट्टा बेहोराको कथनको आधारबाट मलाई दोषी करार हुने गरी भएको फैसला बदरभागी भएको प्रस्ट देखिएको छ । 

यी जाहेरवालीको भनाइअनुरूप यी जाहेरवालीहरू उक्त वेश्यालयबाट भागी भारतीय प्रहरीसमक्ष आई भारतीय प्रहरीले माइती भारतमा बुझाएको र माइती भारतले भैरहवा माइती नेपालमा बुझाएको भन्‍ने कथनलाई हेर्दा उक्त कथन सम्पूर्ण रूपमा झुट्टा एवम् फरेवी भएको प्रस्ट छ । किनभने पुनरावेदन अदालत हेटौंडामा मैले पुनरावेदन गरी माइती नेपाल हेटौंडासमेतलाई झिकाई सो संस्थाले जाहेरवालीहरूलाई माइती इन्डियाले उद्धार गरिएको हो भनी जुन प्रमाण कागज पेस गर्नु भएको छ, सो कागज प्रमाणमा उल्लेख भएको Date (गते) र यी जाहेरवालीहरूलाई माइती इन्डियाले उद्धार गरेको भनी माइती नेपाल भैरहवाले उल्लेख गरेको गते बाझिएको अवस्था छ । माइती नेपाल हेटौंडाले पेस गरेको कागज पत्रअनुसार माइती इन्डियाले यी जाहेरवालीहरूलाई 8 January 2012 मा उद्धार गरिएको भन्‍ने उल्लेख छ । जबकि जाहेरवालीले जाहेरीमा मिति २०६८।१०।१० मा  कोठीबाट भागी प्रहरीमा गएको भनी उल्लेख गरेको छ । हाल माइती नेपाल हेटौंडाले पेस गरेको माइती भैरहवाको पत्रमा मिति २०६८।१०।१६ गतेका दिन बुझेको हो भन्‍ने बुझिन्छ । सो पेस गरेको प्रमाणअनुसार 8 January 2012, नेपाली समयानुसार २०६८।९।२४ गते र माइती भैरहवाको पत्रमा उल्लेख भएको मिति २०६८।१०।१६ को अङ्ग्रेजी समय 30 January 2012 हुन्छ । यसरी जाहेरवालीको मुख्य प्रमाण भनेको माइती इन्डिया हो । सो प्रमाण कागजबाट नै मैले निज जाहेरवालीहरूलाई बिक्री नगरेको पुष्टि प्रमाण भइरहेको अवस्था हुँदाहुँदै सो कुरालाई अनदेखा गरी पुनरावेदन अदालत हेटौंडाले थप कैद सजाय र जरिवानाको हकमा मात्र उल्टी हुने गरी कसुर २० वर्ष कैद र १ लाख जरिवाना हुने ठहर गरी भएको फैसला स.अ. बुलेटिन २०६७ चैत्र २ वर्ष १९, अङ्क, २४ पूर्णाङ्क ४५०, राजु तामाङ विरूद्ध श्री ५ को सरकार, ने.का.प. २०४६, अंक ४, पृ. ३९०, नि.नं. ३७८८, जमुना लालको जाहेरीले श्री ५ को सरकार विरूद्ध सलिम मियासमेत, ने.का.प. २०४६, अङ्क १०, नि.नं. ३९५८, पृ. १०१९, कमलप्रसाद श्रेष्ठ विरूद्ध श्री ५ को सरकार, ने.का.प. २०५१, अङ्क ४, नि.नं. ४८९१, पृ. २४०, शान्ता तामाङको जाहेरीले नेपाल सरकार  विरूद्ध रविन्द्र सिलवाल, ने.का.प. २०६६, अङ्क २, नि.नं. ८०७३, पृ.२२७ मा प्रतिपादित नजिर सिद्धान्तविपरीत भएको हुँदा फैसला बदर भागी भएको प्रस्ट देखिएको छ  भन्‍ने राजकुमार सोनारको यस अदालतमा पर्न आएको पुनरावेदनपत्र ।

मानव बेचबिखन तथा ओसारपसार आधुनिक युगमा दासत्व झल्काउने खालको मानवता विरूद्ध र मानवअधिकार प्रतिकूलको जघन्य अपराध (Heinous Crime) हो । यस्तो संगठित अपराधलाई नियन्त्रण गर्नका लागि अन्तर्राष्ट्रिय स्तरमा समेत विभिन्‍न मानकहरू (Standards) को विकास भएको छ जसमध्ये कतिपयमा नेपाल पक्षसमेत रहेको छ । यसै पृष्ठभूमिमा नेपालमा विधायिकाले विशेष कानूनको रूपमा मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को तर्जुमा गरी कठोर दण्डसजायको व्यवस्था गरेको छ । प्रस्तुत ऐन बदर वा संशोधन नभएसम्भ प्रत्येक न्यायकर्ताले सोका प्रावधानहरूको पालना बाध्यात्मक (Binding) रूपमा गर्नुपर्दछ । तदनुरूप ऐनको दफा १५(२) (ख) मा किन्‍ने वा बेच्ने वा कुनै प्रकारको फाइदा लिई वा नलिई वेश्यावृत्तिमा लगाउने र वेश्यावृत्तिमा लगाउने अर्थात् दफा ४(२) (ख) बमोजिम कसुर गर्ने व्यक्ति एउटै भएमा पीडितलाई किने वा बेचेबापत र ओसारपसारको कसुरबापत छुट्टाछुट्टै सजाय तोकिएको छ । सोही आधारमा वादी नेपाल सरकारको दफा १५ (१) (क), १५(१) (ङ) (१) र १५(२) (ख) को मागदाबी लिएको देखिन्छ । विधायिकाले व्यवस्था गरेबमोजिम यी फरक कसुरमा बेग्लाबेग्लै सजाय गर्नु न्यायकर्ताका लागिसमेत अनिवार्य र बाध्यात्मक हुनेमा ऐनले नदिएको स्वविवेकीय अधिकारको प्रयोग गरी सुरू फैसलासमेत केही उल्टी गर्दै निज प्रतिवादी राजकुमार सोनारलाई ऐनको दफा १५(१) (क) बमोजिममात्र सजाय गर्ने गरी भएको पुनरावेदन अदालत, हेटौंडाको फैसलामा मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ४(२) (ख), दफा १५(१) (ङ)(१) र १५(२) (ख) को प्रयोग एवं व्याख्यामा गम्भीर कानूनी त्रुटि विद्यमान देखिँदा उक्त फैसला बदरभागी छ ।   

क्षतिपूर्ति हकमा हेर्दा सुरू मकवानपुर जिल्ला अदालतले निज प्रतिवादीबाट पीडितद्वयलाई जनही रू.३ लाखको दरले क्षतिपूर्तिसमेत भराई दिने गरी भएको फैसलालाई समेत पुनरावेदन अदालत, हेटौंडाले केही उल्टी गर्दै ऐनको दफा १७ (१) मा कसुरदारलाई भएको जरिवानाको ५० प्रतिशतमा नघट्ने गरी पीडितलाई क्षतिपूर्ति भराई दिनुपर्ने व्यवस्था रहेको सन्दर्भमा प्रतिवादीलाई रू.२ लाख जरिवाना हुने ठहरेकोले सुरू जिल्ला अदालतबाट रू.३ लाखको दरले पीडितहरूलाई प्रतिवादीबाट क्षतिपूर्ति भराई दिने ठहर्‍याएको पनि सो हदसम्म उल्टी भई निज पीडित मञ्‍जरी साह र सीमा साहले जनही रू.१ लाखको दरले क्षतिपूर्ति पाउने ठहर गरेको छ । यस सम्बन्धमा ऐनको मनसाय जरिवानाको कम्तीमा ५० प्रतिशत भनिएकोमा पुनरावेदन अदालत, हेटौंडाले ५० प्रतिशत मात्र भनी गलत रूपमा बुझेको देखिन्छ । ऐनको दफा १७(१) को मक्सद न्यायकर्ताले पीडितलाई क्षतिपूर्ति भराउँदा जरिवानाको कम्तीमा ५० प्रतिशतमा नघटोस् र पीडितलाई पर्न गएको असरको मात्रा र प्रतिवादीको आर्थिक हैसियतलाई समेत अनुमान गरेर सोभन्दा बढीसमेत भराई दिन सकोस् भन्‍ने 

हो । यस्तोमा प्रतिवादीको कार्यबाट पीडितद्वयलाई पर्न गएको क्षतिलाई न्यून आंकलन (Under Valuation) गरी पीडितलाई प्राप्त हुन सक्ने क्षतिपूर्तिलाई न्यून गर्ने गरी भएको पुनरावेदन अदालत, हेटौंडाको फैसलामा ऐ. ऐनको दफा १७(१) व्याख्यात्मक त्रुटि उपस्थित रहेको देखिँदा उल्लिखित फैसला बदरभागी रहेको छ । 

अतः उपर्युक्त आधार कारणबाट प्रस्तुत मुद्दामा सुरू मकवानपुर जिल्ला अदालतको फैसलालाई केही उल्टी गर्दै प्रतिवादीउपर भएको कैद, जरिवानाको सजाय र क्षतिपूर्तिलाई आत्मनिष्ठ रूपमा कम गर्ने गरी भएको पुनरावेदन अदालत हेटौंडाको फैसला कानून व्याख्या, न्यायको मान्य सिद्धान्त एवं अन्तर्राष्ट्रिय अभ्याससमेतको प्रतिकूल रहेको देखिँदा सुरू अभियोग दाबीबमोजिम नै निज प्रतिवादीलाई सजाय दिलाई पीडितहरूलाई क्षतिपूर्ति भराई पाउन सम्मानित अदालतसमक्ष सादर अनुरोध गरिन्छ भन्‍ने वादी नेपाल सरकारको यस अदालतमा पर्न आएको पुनरावेदनपत्र ।    

यसमा प्रतिवादी राजकुमार सोनारलाई मानव बेचबिखन तथा ओसारपसार ऐन, २०६४ को दफा १५(१) (क) र १५(१) (ङ) (१) बमोजिम सजाय गर्दा ठूलो सजायमा सानो सजाय गाभिने हो वा जोडिने हो भन्‍ने व्याख्याको प्रश्‍न सन्‍निहित रहेको र वादीको पुनरावेदनको जानकारी पुनरावेदक प्रतिवादीलाई दिई पुनरावेदक प्रतिवादीको पुनरावेदनको हकमा वादी नेपाल सरकारलाई दिई मुलुकी ऐन, अ.बं. २०२ नं. को प्रयोजनार्थ वादी नेपाल सरकारलाई पेसीको सूचना दिई नियमानुसार पेस गर्नु भन्‍ने बेहोराको मिति २०७३।११।२० मा यस अदालतबाट भएको आदेश । 

नियमबमोजिम पेसी सूचीमा चढी पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादी राजकुमार सोनारको तर्फबाट उपस्थित विद्वान्‌ वरिष्ठ अधिवक्ताद्वय श्री शम्भु थापा र श्री मो. शेष अब्वास र अधिवक्ता श्री मधुर पाठकले यी प्रतिवादी र पीडितबीच चिनाजान छैन, निजहरूलाई मानव ओसारपसार गरी बिक्री वितरणको लागि लगिएको भनिएकोमा भारतबाट आफैँ फर्की आएका हुन् । निजहरूलाई कसैले उद्धार गरी फर्काएको होइन ।  बुझिएका व्यक्ति प्रत्यक्ष देख्‍ने नभई जाहेरवालाहरूको भनाइबाट थाहा पाएको भन्‍ने हुँदा प्रमाणयोग्य छैन । माइती नेपालका पत्रहरू फरक फरक छन । अनुसन्धानको क्रममा लिएको कल डिटेल मिति २०६८।१०।६ देखि २०६८।१०।१० सम्मको मात्र देखिन्छ । कलडिटेल लिएको भनिएको मोबाइल प्रतिवादीको नभई अन्य व्यक्तिको भएको भन्‍ने पुष्टि भएको छ । यस्तो अवस्थामा प्रतिवादीलाई हदैसम्मको सजाय हुने गरी भएको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी अभियोग दाबीबाट सफाइ हुनुपर्छ भनी गर्नुभएको बहससमेत सुनियो । पुनरावेदक वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान्‌ उपन्यायाधिवक्ता श्री अर्जुनप्रसाद कोइरालाले जाहेरवालाहरूले यी प्रतिवादीलाई किटानी गरी जाहेरी दरखास्त दिएका छन् । जाहेरवालाहरूले अदालतमा बयान गरी जाहेरी प्रमाणित गरेका छन् । सो कुरा प्रमाणमा लिन 

मिल्छ । माइती नेपाल शाखा कार्यालय हेटौंडाबाट प्राप्त पत्रमा निजहरूलाई उद्धार गरी मिति २०६८।१०।१८ गते माइती नेपालमा बुझाएको भनी पत्राचार भएको 

देखिन्छ । प्रतिवादीले मौकामा बयान गर्दा कसुरमा साबित रही बयान गरेको देखिन्छ । अदालतमा बयान गर्दा कसुरमा इन्कार रही बयान गरे तापनि के कुन कारण परिवन्दले अनुसन्धानको क्रममा भएको बयानमा कसुर स्वीकार गरेको भनी लेखाउन सकेको देखिँदैन । तसर्थ प्रतिवादीलाई थप सजाय गर्ने ठहर्‍याएको सुरू मकवानपुर जिल्ला अदालतको फैसला सदर हुनुपर्छ भनी गर्नुभएको बहससमेत सुनियो । 

२. सो सन्दर्भमा हेर्दा प्रतिवादी राजकुमार सुनारले जाहेरवालाहरू परिवर्तित नाम मञ्जरी साह र सीमा साहलाई मानव बेचबिखन तथा ओसारपसार गर्ने उद्देश्यले भारतको दिल्लीमा पुर्‍याई वेश्यालयमा लगी बेचबिखन गरेकोले मानव बेचबिखन तथा ओसारपसार  (नियन्त्रण) ऐन, २०६४ को दफा ३(१) विरूद्धको कार्य गरी सोही ऐनको दफा ४(१) को (क) र (ख) को कसुर गरेको पुष्टि हुन आएकोले निजलाई सोही ऐनको दफा १५(१) को (क) (ङ) (१) तथा दफा १५(२) (ख) बमोजिम सजाय गरी सोही ऐनको दफा १७ बमोजिम पीडितलाई क्षतिपूर्तिसमेत भराई दफा २२ बमोजिम नैतिक पतन देखिने कसुर गरेको ठहर गरिपाउँ भन्‍ने अभियोग दाबी भएकोमा सुरू जिल्ला अदालतबाट प्रतिवादीले पीडितलाई फकाई बिक्री गर्ने उद्देश्यले भारतको दिल्लीमा लगी बिक्री गरेको देखिँदा निजलाई सोही ऐनको दफा १५(१) (क) बमोजिम मानव बेचेकोमा हुने सजाय २० वर्ष कैद र रू.२,००,०००।– जरिवाना तथा सोही ऐनको दफा १५(१) (ङ) (१) अनुसार छुट्टै थप सजायको रूपमा जम्मा १४ वर्ष कैद र रू.१,००,०००।– समेत जोडिने गरी जम्मा ३४ वर्ष कैद र रू.३,००,०००।– जरिवाना हुने र सोही ऐनको दफा २२ बमोजिम नैतिक पतन देखिने फौजदारी कसुर गरेको ठहरी प्रतिवादीबाट पीडितहरूलाई जनही रू.३,००,०००।– क्षतिपूर्ति भराई दिने ठहर्‍याई भएको फैसलाउपर प्रतिवादीको पुनरावेदन अदालत हेटौंडामा पुनरावेदन परी पुनरावेदन अदालत हेटौंडाबाट सुरू फैसला केही उल्टी भई प्रतिवादीलाई सोही ऐनको दफा १५ (१) को खण्ड (क) बमोजिम २० वर्ष कैद र रू.२,००,०००।– जरिवाना हुने र पीडितहरूलाई जनही रू.१,००,०००।– क्षतिपूर्ति भराई दिने र दफा २२ बमोजिम नैतिक पतन देखिने फौजदारी कसुर ठहर्‍याएको हदसम्म सदर हुने ठहरी भएको फैसलाउपर वादी नेपाल सरकार र प्रतिवादी राजकुमार सोनारको पुनरावेदन परी पेस भएको पाइयो । 

३. प्रतिवादी राजकुमार सोनारले अभियोग दाबीबाट सफाइ पाउँ भन्‍ने पुनरावेदनतर्फ विचार गर्दा म तथा मेरी बहिनीसमेतलाई प्रतिवादी राजकुमार सोनारले साथीको मोबाइलमा फोन गरी आफूसँग विवाह गरी दिल्लीमा लगी राम्रो जागिर लगाई दिने भनी विभिन्‍न प्रलोभन देखाई पटकपटक फोन गर्ने गरेको र मिति २०६८।१०।७ गते बिहान वीरगन्जमा बोलाई रेलबाट दुवै जनालाई दिल्ली पुर्‍याई एकजना बंगाली आईमाई कहाँ लगी जिम्मा लगाई छाडी भागेकोले पछि बुझ्दा हामीहरूलाई एक एक लाख रूपैयाँमा बिक्री गरेको थाहा पाई भागी प्रहरीमार्फत नेपाल आई जाहेरी दिएका छौं भनी दिएको जाहेरी दरखास्तबाट प्रस्तुत मुद्दाको सुरूवात भएको देखिन्छ । यी प्रतिवादीलाई पीडित जाहेरवालाहरूले किटानी जाहेरी दिई सोही बेहोराको बयान गरी मिति २०६८।१०।२२ मा सुरू अदालतबाट बयान प्रमाणित गराएको अवस्था 

देखिन्छ । त्यसैगरी पीडितहरू अदालतमा उपस्थित भई आफ्नो जाहेरी बेहोरा र बयान बेहोरालाई समर्थन गरी बकपत्र गरेको देखिन्छ । प्रतिवादीले कसुर नगरेको भए यी पीडितहरूले प्रतिवादीलाई मानव बेचबिखन जस्तो गम्भीर कसुरमा आरोप लगाई जाहेरी दरखास्त दिनु पर्ने कुनै कारण हुने थिएन । 

४. मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ३ मा “मानव बेचबिखन र ओसारपसार गर्न नहुनेः  (१) कसैले पनि मानव बेचबिखन र ओसारपसार गर्नु गराउनु हुँदैन । (२) कसैले उपदफा (१) बमोजिमको कार्य गरेमा यस ऐनबमोजिमको कसुर गरेको मानिनेछ” । 

दफा ४ मा “मानव बेचबिखन र ओसारपसार गरेको मानिनेः- (१) कसैले देहायको कुनै कार्य गरेमा मानव बेचबिखन गरेको मानिनेछः-

(क) कुनै पनि उद्देश्यले मानिस बेच्ने वा किन्‍ने,

(ख) कुनै प्रकारको फाइदा लिई वा नलिई वेश्यावृत्तिमा लगाउने,

(ग) प्रचलित कानूनबमोजिम बाहेक मानिसको अङ्ग झिक्ने,

(घ) वेश्यागमन गर्न ।

(२) कसैले देहायको कुनै कार्य गरेमा मानव बेचबिखन ओसारपसार गरेको मानिनेछः-

(क) किन्‍ने वा बेच्ने उद्देश्यले मानिसलाई विदेशमा लैजाने,

(ख) वेश्यावृत्तिमा लगाउने वा शोषण गर्ने उद्देश्यले कुनै प्रकारले ललाई फकाई, प्रलोभनमा पारी, झुक्याई, जालसाजी गरी, प्रपञ्‍च मिलाई, जबरजस्ती गरी, करकापमा पारी, अपहरण गरी, शरीर बन्धक राखी, नाजुक स्थितिको फाइदा लिई, बेहोस परी, पद वा शक्तिको दुरूपयोग गरी, अभिभावक वा संरक्षकलाई प्रलोभनमा पारी, डर, त्रास, धाक, धम्की दिई वा करकापमा पारी कसैलाई बसिरहेको घर, स्थान वा व्यक्तिबाट छुटाई लग्ने वा आफूसँग राख्‍ने वा आफ्नो नियन्त्रणमा लिने वा कुनै स्थानमा राख्‍ने वा नेपालभित्रका एक ठाउँबाट अर्को ठाउँमा वा विदेशमा लैजान वा अरू कसैलाई दिने” भन्‍ने कानूनी व्यवस्था रहेको देखिन्छ । यी प्रतिवादीले पीडितहरूलाई ललाई फकाई भारतको दिल्लीसम्म पुर्‍याई बिक्री गरेको भन्‍ने किटानी जाहेरी र पीडितहरूलाई सनाखत गराउँदा बिक्री गर्ने व्यक्ति यिनै हुन भनी यी प्रतिवादी राजकुमार सुनारलाई सनाखत गरी कागज गरेको देखिन्छ । मौकामा कागज गर्ने मुरलीमाया थापामगरले अदालतमा बकपत्र गर्दा प्रतिवादी राजकुमार सोनारले पीडितहरूलाई फोनबाट नै ललाई फकाई वीरगन्ज बोलाई वीरगन्जबाट दिल्लीसम्म पास गराएछ भनी लेखाएको देखिन्छ । त्यसैगरी अनुसन्धान कागज गर्ने यामकुमारी परियारले अनुसन्धानमा गरेको कागजलाई समर्थन गरी बकपत्र गरेको देखिन्छ ।

 

५. माइती इन्डियाको ८ जनवरी २०१२ को पत्रमा पीडितहरू माइती इन्डियाको सम्पर्कमा गएका माइती नेपालको ट्रान्जिट गृह भैरहवामा पठाएको भन्‍ने देखिन्छ । माइती इन्डिया र माइती नेपालका पत्रहरूका सम्बन्धमा माइती नेपाल हेटौंडाको मिति २०७१।४।१४ को पत्रबाट थप स्पष्ट गराएको 

देखिन्छ । प्रमाण ऐन, २०३१ को दफा १४ मा “नियमित रूपमा राखिएका खाता, वही, किताब वा अन्य स्रेस्तामा जनिएका कुराहरू प्रमाणमा लिन हुने व्यवस्था गरेकोले माइती नेपाल संस्थाले राखेको अभिलेख र लेखाइलाई प्रमाणमा लिन मिल्ने नै देखिन्छ ।

६. प्रमाण ऐन, २०३१ को दफा ९(२) मा फौजदारी मुद्दामा कुनै अभियुक्तले निजलाई लगाइएको अभियोगको सम्बन्धमा अदालतबाहेक अन्यत्र व्यक्त गरेको कुरा अदालतले देहायबमोजिम ठहराएमा प्रमाणमा लिन हुन्छ भन्ने व्यवस्था भएको पाइन्छ :–

(१) सो कुरा व्यक्त गर्दा अभियुक्त सचेत अवस्थामा र आफूले भनेको र गरेको कुरा बुझ्न सक्ने अवस्थामा थियो ।

(२) निजलाई बाध्य गरी वा निज वा अरू कसैलाई यातना दिई वा यातना दिने धम्की दिई वा निजलाई आफ्नो इच्छाविरूद्ध सो कुरा व्यक्त गर्ने स्थितिमा पारी सो कुरा व्यक्त गरेको  होइन ।

(३) सो अभियोगबारे कुनै सार्वजनिक अधिकारीले गर्ने कारबाहीको सम्बन्धमा यस्तो धम्की वा विश्वास पर्ने आश्वासन दिएको थिएन जसबाट निजले सो कुरा असत्य रूपमा व्यक्त गर्ने सम्भावना थियो र जुन धम्की वा आश्वासन कार्यान्वित गर्नसक्ने अधिकार र शक्ति सो अधिकारीलाई थियो भन्ने कुरा निजले युक्तिसङ्गत रूपमा विश्वास गरेको थियो ।

 

७. प्रमाण ऐन, २०३१ को दफा ९(२) को उल्लिखित व्यवस्थाअनुसार प्रतिवादीलाई भय, त्रासमा पारी वा प्रलोभन, अनुचित प्रभावमा पारी सही गराएको अवस्थामा अभियुक्तले अदालतबाहेक अन्यत्र व्यक्त गरेको कुरा प्रमाण नलाग्ने हुन्छ । अभियुक्तले अधिकारप्राप्त अधिकारीसमक्ष बयान गर्दा अभियुक्त सचेत अवस्थामा थियो निजलाई यातना, धम्की र प्रलोभन दिएको थिएन भन्‍ने प्रत्याभूति वादीले प्रमाणित गर्नुपर्दछ । मुद्दाको एक पक्ष सरकारको प्रतिनिधि अनुसन्धान अधिकारीले आफ्नो विपक्षलाई कब्जामा राखी व्यक्त गराइएका अभिव्यक्तिलाई अदालतले सहजै विश्वास गरी प्रमाणको रूपमा ग्रहण गर्न नहुने भन्‍ने नै प्रमाण ऐन, २०३१ को दफा ९(२) को आशय हो । अभियुक्तलाई पक्राउ गरेको २४ घण्टा  (बाटोको म्यादबाहेक) भित्र मुद्दा हेर्ने अधिकारीसमक्ष उपस्थित गराउनु पर्ने, थुनामा राखी अनुसन्धान गर्नु पर्ने उचित कारण भए मुद्दा हेर्ने अधिकारीको अनुमति लिएर मात्र हिरासतमा राख्‍न सक्ने, म्याद थपका लागि अदालतमा पेस गरिँदा अभियुक्तलाई सशरीर न्यायाधीशसमक्ष उपस्थित गराउनु पर्ने, त्यस बेलासम्म खडा भएका लिखतमा अदालतले प्रमाणित गरी दिने र अभियुक्तसँग सोधपुछ गर्दा अनुचित प्रभावमा पारी इच्छा विरूद्ध बयान गराएको भए सो कुरा म्याद थपेकै समयमा व्यक्त गर्न सक्ने, यातना दिएको भए तत्कालै घा जाँच वा स्वास्थ्य परीक्षण गराउन अस्पताल पठाइने कार्यविधि सुनिश्चित छ । अदालतबाहेक अन्यत्र अभियुक्तले व्यक्त गरेका कुरा प्रमाणमा ग्रहण गर्दा सतर्कता अपनाउनु अवश्य पर्दछ । तर, अन्य स्वतन्त्र प्रमाणले कसुर गरेको पुष्टि भइरहेको अवस्था छ र प्रतिवादीले अधिकारप्राप्त अधिकारीसमक्षको आफ्नो कथन इच्छा विरूद्धको हो भनी लिएको जिकिरलाई विश्‍वास गर्न सकिने आधार नदेखाइएको अवस्थामा सो कथन प्रमाण शून्य हुन्छ भन्‍ने होइन । प्रमाण ऐन, २०३१ को दफा ९(२) मा वर्णित अवस्थाको विद्यमानतामा प्रतिवादीको बयान गराएको भन्‍ने देखिँदैन । प्रतिवादीको अधिकारप्राप्त अधिकारीसमक्षको कथन पीडितहरूको कागज, बकपत्र तथा बुझिएका मानिसहरूको बकपत्रसमेतबाट पुष्टि भइरहेको अवस्थामा त्यस्तो बयानलाई प्रमाणमा लिन मिल्ने नै देखिन्छ ।

८. निःसन्देह फौजदारी मुद्दामा प्रमाण ऐन, २०३१ को दफा २५ ले प्रमाणको भार वादीमा रहने कुरा हो । प्रतिवादीलाई आफू विरूद्धको कारबाहीमा चुपचाप बस्ने हक अवश्य छ । तर, वादीबाट पेस भएका प्रमाणहरूबाट प्रतिवादीउपरको दाबी पुष्टि भइरहेको खण्डमा वादीबाट पेस भएका प्रमाणको खण्डन गरी आफ्नो निर्देषिताको प्रमाण पुष्टि गर्ने दायित्व पनि सोही प्रमाण ऐनको दफा २७(१) द्वारा प्रतिवादीमा रहने कानूनी व्यवस्था रहेको छ ।

९. मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ९ मा "प्रमाणको भार" शीर्षकअन्तर्गत  “प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिलाई यस ऐनअन्तर्गतको कसुर गरेको अभियोग लागेकोमा सो कसुर आफूले गरेको छैन भन्‍ने कुराको प्रमाण निजले नै पुर्‍याउने पर्नेछ” भन्‍ने कानूनी व्यवस्था रहेको देखिन्छ । यी प्रतिवादीले आफूले कसुर नगरेकोले अभियोग दाबीबाट सफाइ पाउनु पर्छ भन्‍ने कुराको प्रमाण पुर्‍याउनु पर्ने दायित्व यी प्रतिवादीमा रहेकोले निजले पीडितहरूलाई भारतको दिल्लीमा पुर्‍याई बेचबिखन गरेको होइन भन्‍ने कुराको वस्तुनिष्ठ प्रमाण पुर्‍याउनु पर्ने हुन्छ । यी प्रतिवादीले अनुसन्धानको क्रममा पीडित जाहेरवालाहरूलाई  पटकपटक फोन गरी विवाह गर्ने बहाना बनाई बोलाई मिति २०६८।१०।७ गते वीरगन्जबाट भारतको दिल्ली पुर्‍याई निजहरूलाई वेश्यालयमा लगी तत्‍काल रू.५०,०००।– लिएको र बाँकी रू.१,५०,०००।– पछि लिने सर्तमा रू.२,००,०००।-  मा बेची हिँडेको हुँ भनी कसुर स्वीकार गरी बयान गरेको सो बयानलाई पीडितहरूले गरिदिएको कागज, निजहरूले गरेको बकपत्र, माइती नेपालको पत्रसमेतबाट पुष्टि भइरहेकोमा प्रतिवादीले अदालतमा बयान गर्दा स्वेच्छा विरूद्धको हो भन्दैमा के कुन परिवन्द वा कारणले आफूले कसुर स्वीकार गरी बयान गरेको भनी खुलाउन सकेको देखिँदैन । प्रतिवादीले अदालतमा कसुरमा इन्कार रही गरेको बयानको आधारमा मात्र निर्दोष रहेछन् भनी मान्‍न मिल्ने देखिएन । प्रतिवादीका साक्षी रामचन्द्र साह सोनारले प्रतिवादी मिति २०६८।१०।१० मा घरमा थियो भन्‍ने भनाइतर्फ हेर्दा मिति २०६८।१०।७ मा वीरगन्जबाट भारतको दिल्ली गएको भन्‍ने पुष्टि भएको अवस्थामा मिति २०६८।१०।१० गते दिल्लीबाट निजको घर वीरगन्जमा नै फर्की आउन नसक्ने अवस्था 

देखिँदैन । यस्तो अभिव्यक्ति प्रतिवादीको निर्दोषिताको आधार मान्‍न मिल्ने अवस्था हुँदैन ।

१०. त्यसैगरी यी प्रतिवादीले छुट्टाछुट्टै कसुर गरेकोले छुट्टाछुट्टै कसुर कायम गरी सजाय हुनुपर्नेमा मानव बेचबिखनतर्फ मात्र सजाय हुने ठहर्‍याएको पुनरावेदन अदालत हेटौंडाको फैसला बदर गरी सुरू फैसलाबमोजिम गरिपाउँ भन्‍ने वादी नेपाल सरकारको पुनरावेदन जिकिरतर्फ हेर्दा यी पीडितहरूलाई फरक फरक व्यक्तिले ललाई फकाई विदेश भारतमा पुर्‍याई फरक फरक व्यक्तिले बेचबिखन गरेको नभई एकै व्यक्तिले नेपालबाट ललाई फकाई भारतको दिल्लीमा लगी बिक्री गरिएको देखिन्छ । प्रस्तुत वारदातको सुरूवातदेखि अन्तसम्म एक जना व्यक्ति मात्र संलग्न रही पीडितलाई विदेश लैजाने र बिक्री गर्ने कार्य गरेकोले प्रत्येक चरणबापत छुट्टाछुट्टै कसुर कायम गर्ने अवस्था हुँदैन । कसुरको पूर्णता विदेशमा लगी बिक्री गरेपछि हुने भएको र सो कार्य गर्ने व्यक्ति एउटै भएको अवस्थामा कसुर गर्दाको चरण चरणको आधारमा छुट्टाछुट्टै सजाय गर्ने कार्य तर्क र न्यायसङ्गत देखिँदैन । त्यसैगरी यी प्रतिवादीले पीडितहरूलाई वीरगन्जबाट भारतको दिल्लीसम्म पुर्‍याएको देखिएको निजले वेश्यावृत्तिमा लगाएको तथ्य प्रमाणित भएको अवस्था नभएकोले उक्त ऐनको दफा १५(२) (ख) को सजाय आकर्षित हुने अवस्था नदेखिएकोले निजलाई थप सजाय गरी रहनु पर्ने देखिएन ।

११. तसर्थः प्रतिवादीलाई मानव बेचबिखन तथा ओसासपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ३ को उपदफा (१) विपरीतको कसुर गरेकोले निजलाई सोही ऐनको दफा ४(क) को कसुरमा सोही ऐनको दफा १५(१) को खण्ड (क) बमोजिम २० (बीस) वर्ष कैद र रू.२,००,०००।– (दुई लाख रूपैयाँ) जरिवाना हुने र सोही ऐनको दफा १७(१) बमोजिम पीडित परिवर्तित नाम मञ्‍जरी साह र सीमा साहलाई जनही रू.१,००,०००।– (एक लाख रूपैयाँ) का दरले क्षतिपूर्ति भराई पाउने तथा सोही ऐनको दफा २२ बमोजिम प्रतिवादीले नैतिक पतन देखिने कसुर गरेको ठहर्‍याई पुनरावेदन अदालत हेटौंडाबाट मिति २०७१।८।९ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । वादी प्रतिवादीको दुवैको पुनरावेदन जिकिर पुग्न सक्दैन । दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाई दिनुहोला ।

 

उक्त रायमा सहमत छु ।

न्या. डम्बरबहादुर शाही

 

इजलास अधिकृत : जगतबहादुर पौडेल

इति संवत् २०७५ साल माघ १७ गते रोज ५ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु