निर्णय नं. १०१९७ - अपहरण तथा शरीर बन्धक

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री हरिकृष्ण कार्की
माननीय न्यायाधीश श्री डम्बरबहादुर शाही
फैसला मिति : २०७५।१०।७
०७२-CR-००७३
मुद्दाः अपहरण तथा शरीर बन्धक
पुनरावेदक / प्रतिवादी : बाँके जिल्ला, उदयपुर गा.वि.स. वडा नं. ६ घर भई हाल कारागार कार्यालय दैलेखमा थुनामा रहेको राम प्रवेश कुमार लोनिया मगर
विरूद्ध
प्रत्यर्थी / वादी : माधवराम कहारको जाहेरीले वादी नेपाल सरकार
फौजदारी कसुरमा अभियोग दाबी प्रमाणित गर्दा प्रतिव्यक्ति प्रतिप्रमाणबाट पुष्टि हुनुपर्दछ । अपहरण तथा शरीर बन्धक जस्तो गम्भीर प्रकृतिको फौजदारी कसुरमा प्रतिवादीउपरको अभियोग दाबी शंकारहित तवरबाट पुष्टि हुनुपर्दछ अन्यथा शंकाको सुविधा अभियुक्तले पाउने ।
(प्रकरण नं.५)
पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् वैतनिक अधिवक्ता श्री देवी घिमिरे
प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री बाबुराम अधिकारी
अवलम्बित नजिर :
सम्बद्ध कानून :
प्रमाण ऐन, २०३१
सुरू तहमा फैसला गर्ने :
माननीय जिल्ला न्यायाधीश श्री कृष्णकमल अधिकारी
बाँके जिल्ला अदालत
पुनरावेदन तहमा फैसला गर्ने :
माननीय न्यायाधीश श्री कृष्णप्रसाद बास्तोला
माननीय न्यायाधीश श्री रामकृष्ण खनाल
पुनरावेदन अदालत नेपालगञ्ज
फैसला
न्या. हरिकृष्ण कार्की : तत्कालीन न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः-
म प्रतिवादी सोहन घरूक वादी भएको लेनदेन मुद्दामा मैले निजलाई रू.६०,०००।- दिनु पर्नेमा मिति २०६६/१/२८ गते म तथा छोरा गणेश कहार र श्रीमतीसमेत आएकोमा मालपोत कार्यालय, बाँकेमा हामी काममा रहेका अवस्थामा राम प्रवेश कुमार लोनिया मगर तथा कैलास लोनियाले मेरो छोरालाई मोटरसाइकलमा हाली अपहरण गरी लिएकाले कानूनबमोजिम गरिपाउँ भन्नेसमेत बेहोराको माधव कहारको जाहेरी दरखास्त ।
मिति २०६६/१/२८ गते म मेरो घरमा काम भएकोले घरमा नै थिएँ । मैले माधवराम कहारको छोरा अपहरण भएको भन्ने सुनेको हुँ भन्नेसमेत बेहोराको छोटे पासीको घटना विवरण कागज ।
मिति २०६६/१/२८ गतेका दिनमा म मालपोत कार्यालय, बाँकेमा गएको अवस्थामा एकजना केटा र कैलास लोनियाले बच्चालाई मोटरसाइकलमा राखी लिएका हुन् । पछि माधवराम कहारको बच्चा भनी थाहा पाएको हुँ भन्नेसमेत बेहोराको गंगाराम काँदुको घटना विवरण कागज ।
मिति २०६६/१/२८ गतेका दिन काम विशेषले म मालपोत कार्यालय, बाँकेमा गएको अवस्थामा कैलास लोनिया र एकजना मानिसले बच्चालाई मोटरसाइकलको बीचमा राखी लिई जाँदै थिएँ । को कसलाई हो चिनिन । पछि जाहेरवालाको छोरा हराएको भन्ने थाहा पाएको हुँ । जाहेरवालाको छोरा गणेश कहारलाई निजहरूले अपहरण गरेका हुन् होइनन् यकिन भन्न सक्दिन भन्नेसमेत बेहोराको धनीराम लोधको घटना विवरण कागज ।
मेरो मोबाइलमा फोन आएपश्चात् जाहेरवालासँग भारतीय रूपैयाँ मागेका छन् । रू.४,००,०००।- नदिए बच्चा मारी दिने भनेका छन् र रू.दुई लाख सोहन घरूकले बच्चा अपहरण गरेबापत दिएका छन् भनी फोनमा मलाई भनेका छन् भनी मैले जाहेरवालालाई भनेको हुँ भन्नेसमेत बेहोराको त्रिभुवन घरूकको बयान ।
मिति २०६६/१/२८ गते म खर लिन बेतहनी गा.वि.स. मा गएको थिएँ । गणेश कहारलाई मैले अपहरण गरेको होइन भन्नेसमेत बेहोराको कैलास लोनियाको बयान ।
यसमा मेरो सम्पत्ति खाने नियतले छोरा रवि भन्ने गणेश कहारलाई त्रिभुवन घरूक, सोहन घरूक, राम प्रवेश कुमार लोनिया मगर र कैलास लोनियासमेतको मिलेमतोमा निजहरूले नै अपहरण गरेका हुन् भन्नेसमेत बेहोराको रूपरानी कहारको घटना विवरण कागज ।
यसमा जाहेरीमा उल्लिखित त्रिभुवन घरूक, सोहन घरूक, राम प्रवेश कुमार लोनिया मगर र कैलास लोनियासमेतको मिलेमतोमा रवि कहार भन्ने गणेश कहारलाई अपहरण गरेका हुन् भन्नेसमेत बेहोराको रामबहादुर नाउँ, रामफेरन यादव र झल्लर पासीको घटना विवरण कागज ।
मिति २०६६/१/२८ गतेका दिन जाहेरवाला तथा बच्चा मेरो ल फर्ममा आएका हुन् । पछि बच्चा अपहरण भएको थाहा पाएको हुँ, को कसले अपहरण गरे थाहा भएन भन्नेसमेत बेहोराको फलबहादुर गौतमको घटना विवरण कागज ।
प्रतिवादी त्रिभुवन घरूकले टेलिफोनबाट कसैले आफूसँग सोहन घरूकले दुई लाख दिइसकेको बताउँदै रकम मागेको भन्ने उल्लेख गरेको, कैलास लोनियाले आफू वारदातमा संलग्न नभई अन्यत्र थिएँ भने तापनि सो पुष्टि नभएको र प्रत्यक्षदर्शीहरूले कैलास लोनियासमेतले बालकलाई मोटरसाइकलमा हाली लगेको प्रत्यक्ष देखेका हौं भनी गरेका कागजसमेतका आधार प्रमाणले प्रतिवादीहरूले जाहेरवालाबाट रकम असुल गर्ने नियतले जाहेरवालाको छोरा वर्ष १३ को गणेश कहारलाई अपहरण गरी बन्धक बनाई राखेको तथ्य सप्रमाण पुष्टि हुन आयो । अतः प्रतिवादीहरू त्रिभुवन घरूक, कैलास लोनिया, राम प्रवेश कुमार लोनिया मगर र सोहन घरूकले मुलुकी ऐन, (संशोधनसहित) अपहरण गर्ने तथा शरीर बन्धक लिनेको महलको १ र २ नं. को कसुर गरेको सिद्ध हुन आएकोले निजहरूलाई सोही ऐनको सोही महलको ३ नं. बमोजिम सजाय गरी सो ७ नं. बमोजिम थप सजाय हुन र फरार रहेका सोहन घरूक र राम प्रवेश कुमार लोनिया मगरका नाउँमा म्याद जारी भई सोही ऐनको सोही महलको १२ नं. बमोजिम पीडितलाई क्षतिपूर्तिसमेत दिलाई पाउँ साथै प्रतिवादी कैलास लोनिया प्रहरी प्रतिवेदनले वादी नेपाल सरकार प्रतिवादी कैलास लोनिया भएको हातहतियार खरखजाना मुद्दामा जिल्ला प्रशासन कार्यालय, बाँकेको थुनछेक आदेशले पुर्पक्षका निमित्त थुनामा रहेको हुँदा झिकाई बयान गराई पाउँ भन्नेसमेत बेहोराको अभियोग मागदाबी ।
मैले फोनमार्फत रू.५,००,०००।- माग गरेको नभई मेरो मोबाइल ९६४८१८८३१५ नं. को इण्डियन मोबाइलमा भारतको टिपरी लखीमपुरबाट फोन आएको र फोनमार्फत मलाई सोधपुछ गर्दा रवि भन्ने गणेश कहारको म जिजा (भिनाजु) नाताको हुँ भन्दा त्यसो भए त्यहाँ गएर रू.५,००,०००।- लिएर २४ घण्टाभित्र भारतको सीतापुर टिपरी लखीमपुरमा आउनु मेरो मोबाइल नम्बर आएको छ । सोही मोबाइलमा कन्टेक अर्थात् फोन गर्नु, बच्चा सोहन घरूकले अपहरण गराएको हो, रू.४,००,०००।– चार लाखभन्दा कम लिँदैन भनी फोनमा मैले नचिनेको मानिसले कुरा गरेको हुँदा सोही कुरा जाहेरवाला माधवराम कहारसमक्ष गई भनेको र सोहन घरूकलाई किन बच्चा अपहरण गराएको भन्दा कसैलाई भने मारी दिन्छु भनेका
थिए । तसर्थ मैले जाहेरवालालाई फोन गरेको नभई मेरो मोबाइलमा आएको समाचार भनी दिएको हुँदा जाहेरी बेहोरा झुठ्ठा हो । ममाथि किन जाहेरी दिए सो कुरा ईश्वरलाई थाहा होला, सायद मेरो सासूको जग्गाको विषयलाई लिएर दिएको पनि हुन सक्दछ भन्नेसमेत बेहोराको प्रतिवादी त्रिभुवन घरूकले सुरू अदालतमा गरेको बयान ।
मिति २०६६/१/२८ गते म राप्ती पारी गएको थिएँ, मैले अपहरण गरेको होइन, अपहरण गराएको भन्ने कुरा सरकारी वकिल कार्यालयमा आई थाहा पाएको हुँ, हालसम्म मैले मोटरसाइकल चलाएको पनि छैन र मेरो मोटरसाइकल पनि छैन । मैले अपहरण गरेको छैन भन्नेसमेत बेहोराको प्रतिवादी कैलास लोनियाले सुरू अदालतमा गरेका बयान ।
त्रिभुवन घरूकले जाहेरवालाको छोरा गणेशलाई अपहरण गरेको होइनन् । जाहेरी झुठ्ठा
हो । मिति २०६६/१/२८ मा बहराईच जिल्ला, भारतमा थिएँ । म पनि मेरो ससुरालीमा आगो लाग्दा भेट्न जाँदा निज पनि त्यहीँ काठ जम्मा गर्दै गरेका देखेको थिएँ । निजको घर पनि आगो लागेको थियो । निज त्रिभुवनको घर बहराईचमा नै छ भन्नेसमेत बेहोराको प्रतिवादी त्रिभुवन घरूकको साक्षी नन्कु घरूकले सुरू अदालतमा गरेको बकपत्र ।
मिति २०६६/१/२८ गते म मेरो घर बसेको थिएँ । उक्त बिहान ७ बजे प्रतिवादी कैलाससँग मेरो घरको अगाडि भेट भएको थियो । निज गाडा लिएर घरपारी खर ल्याउन गएको थिए र भोलिपल्ट बिहान मात्र फर्केको थिए भन्नेसमेत बेहोराको प्रतिवादी कैलास लोनियाको साक्षी मेवालाल लोनियाले सुरू अदालतमा गरेको बकपत्र ।
प्रतिवादीमध्येका सोहन घरूकसँग मेरो लेनदेन चलेको थियो । म जग्गा बिक्री गरी पैसा बुझाउनको लागि मालपोत कार्यालय, बाँकेमा वर्ष १३ को गणेश कहारलाई सँगै घरबाट ल्याई आएको
थिएँ । मैले मालपोत कार्यालयमा सहिछाप गर्ने क्रममा मेरो छोरालाई प्रतिवादी सोहन घरूक, त्रिभुवन घरूक, कैलास लोनिया, राम प्रवेश कुमार लोनिया मगरसमेतले मोटरसाइकलमा हालेर अपहरण गरी लिई गएका हुन् भन्नेसमेत बेहोराको जाहेरवाला माधवराम कहारले सुरू अदालतमा गरेको बकपत्र ।
कैलास लोनिया, त्रिभुवन घरूक, सोहन घरूक, राम प्रवेश कुमार लोनिया मगरसमेत भई मेरो छोरालाई मोटरसाइकलमा हाली मालपोत कार्यालय अगाडिको सडकबाट मिति २०६६।१।२८ गते दिउँसो अं.३:३० बजेको समयमा अपहरण गरी लगेका हुन् भन्नेसमेत बेहोराको घटना विवरण कागजका रूपरानी कहारले सुरू अदालतमा गरेको बकपत्र ।
जाहेरवालाको छोरालाई प्रतिवादी सोहन घरूकले अपहरण गरेका होइनन् । उक्त दिन दिउँसो २ बजे म घरमा फर्केर आएको छु । सोहन घरूक मेरा छिमेकी भएकाले सदाझैं उक्त दिन पनि मेरो भेटघाट भएको थियो । जाहेरवालाको छोरा अपहरण गर्नमा सोहन घरूकको सहभागिता छैन भन्नेसमेत बेहोराको प्रतिवादी सोहन घरूकको साक्षी ईन्दल घरूकले सुरू अदालतमा गरेको बकपत्र ।
म कैलास लोनियालाई गाउँकै भएकाले चिन्दछु, अन्यलाई चिन्दिन । मैले अपहरण गरेको
होइन । म १ वर्ष ९ महिनाबाट भारतको दिल्लीमा
छु । घरमा तँलाई मुद्दा परेको छ भन्ने फोन गएपछि ३ दिन पहिला म नेपाल आएको हुँ भन्नेसमेत बेहोराको प्रतिवादी राम प्रवेश कुमार लोनिया मगरले सुरू अदालतमा गरेको बयान ।
यसमा यी प्रतिवादी तत्कालप्राप्त प्रमाणहरूबाट अभियोग दाबीका कसुरदार रहेछन् भनी विश्वास गर्न सकिने मनासिब र पर्याप्त आधारहरूको विद्यमानतामा पछि थप सबुद प्रमाणहरू बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी हाललाई प्रतिवादी राम प्रवेश कुमार लोनिया मगरलाई अ.बं.११८ नं. को दफा २ ले थुनामा राखी मुद्दाको पुर्पक्ष गर्नुपर्ने अवस्था देखिँदा कानूनबमोजिम सिधा खर्च उपलब्ध गराई अ.बं.१२१ नं. को थुनुवा पुर्जीसहित थुनामा राख्न निजलाई सम्बन्धित कारागार कार्यालयमा पठाई
दिनू । प्रतिवादीले बयानमा दिएका साक्षीहरूसमेत प्रमाण ऐन, २०३१ अन्तर्गत परीक्षण गरी बुझ्नु भन्ने मिति २०६७/११/५ को सुरू जिल्ला अदालतको आदेश ।
मिति २०६६/१/२८ मा म मेरो घरमा थिएँ । राम प्रवेश कुमार लोनिया मगर २/४ महिना अगाडिबाट भारत दिल्लीमा नौकरी गर्न गएका थिए, भेटघाट
भएन । अपहरण गरी लिएका होइनन् भन्नेसमेत बेहोराको प्रतिवादी राम प्रवेश कुमार लोनिया मगरका साक्षी मुरली चौहान लोनियाले सुरू अदालतमा गरेको बकपत्र ।
मैले बच्चा हराएका छन् भन्ने सुनेको हुँ । को कसले कहाँबाट अपहरण गरी कहाँ लगे सो मलाई थाहा भएन भन्नेसमेत बेहोराको घटना विवरणका मानिस गंगाराम कादुले सुरू अदालतमा गरेको बकपत्र ।
प्रतिवादीहरू त्रिभुवन घरूक, कैलास लोनिया, राम प्रवेश कुमार लोनिया मगर र सोहन घरूकलाई मुलुकी ऐन, अपहरण गर्ने तथा शरीर बन्धक लिनेको १ र २ नं. को कसुरमा निजहरूलाई ऐ. ३ नं. बमोजिम १० वर्ष कैद र ऐ. ७ नं. बमोजिम २ वर्ष थप गरी जनही १२ वर्ष कैद र प्रतिवादीहरूबाट दामासाहीले वारदात मितिदेखि कार्यान्वयन नहुँदासम्म दैनिक रू.५००।- का दरले पीडितलाई क्षतिपूर्ति दिलाई दिने गरी भएको सुरू बाँके जिल्ला अदालतको मिति २०६८।६।४ को फैसला ।
प्रतिवादीहरू त्रिभुवन घरूक, कैलास लोनिया, राम प्रवेश कुमार लोनिया मगर, सोहन घरूकउपर मुलुकी ऐन, अपहरण गर्न तथा शरीर बन्धक लिनेको महलको १ र २ नं. बमोजिम सजाय हुन र ऐ. १२ नं. बमोजिम पीडितलाई क्षतिपूर्तिसमेत दिलाई पाउन मागदाबी लिई अभियोग पत्र दायर भएकोमा बाँके जिल्ला अदालतबाट प्रतिवादीहरूलाई अभियोग माग दाबीबमोजिम १२ वर्ष कैद सजाय हुने र प्रतिवादीहरूबाट पीडितलाई क्षतिपूर्ति भराई दिने ठहर गरी फैसला भएकोमा निज प्रतिवादीहरू त्रिभुवन घरूक कैलास लोनिया, राम प्रवेश कुमार लोनिया मगर र सोहन घरूकलाई अभियोग माग दाबीबमोजिम कसुरमा हुने जरिवानाको सजायसमेत गरिपाउँ भन्नेसमेत बेहोराको पुनरावेदन अदालत नेपालगञ्जमा वादी नेपाल सरकारको तर्फबाट परेको पुनरावेदन पत्र ।
प्रतिवादीहरूमध्ये म कैलास लोनिया मोटरसाइकल चलाउन नजान्ने मोटरसाइकल नभएको व्यक्ति हुँ । साथै मिति २०६६/१/२८ गते खर लिन वेतहनी गा.वि.स. मा गएको हुँदा गणेश कहारलाई मैले अपहरण गरेको होइन भनी अधिकारप्राप्त अधिकारी तथा अदालतमा मैले इन्कारी बयान गरेको अवस्थामा मसमेतलाई कसुरदार ठहर गरी भएको बाँके जिल्ला अदालतको फैसला त्रुटिपूर्ण हुँदा सो फैसला बदर गरिपाउँ भन्ने प्रतिवादी कैलास लोनिया र म प्रतिवादी राम प्रवेश कुमार लोनियाले अपहरण गरेको होइन, छैन म १ वर्ष ९ महिनादेखि भारतको दिल्लीमा थिएँ, मलाई मुद्दा परेको छ भन्ने सुनी ३ दिन पहिला मात्र नेपाल आएको हुँ भनी कसुरमा पूर्ण इन्कारी बयान गरेको अवस्थामा मसमेतलाई दोषी ठहर गरी सुरू जिल्ला अदालतबाट भएको फैसला त्रुटिपूर्ण हुँदा उक्त फैसला बदर गरी अभियोग दाबीबाट सफाइ पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी कैलास लोनिया र राम प्रवेश कुमार लोनिया मगरको तर्फबाट पुनरावेदन अदालत नेपालगञ्जमा परेको संयुक्त पुनरावेदन पत्र ।
मेराउपर किटानी जाहेरी नपरेको अवस्थामा केवल सहअभियुक्तले गरेको पोलको आधारमा मात्र भएको सुरू जिल्ला अदालतको फैसला त्रुटिपूर्ण हुँदा सो फैसला बदर गरी अभियोग मागदाबीबाट सफाइ पाउने गरी हक इन्साफ पाउँ भन्नेसमेत बेहोराको सोहन घरूकको तर्फबाट पुनरावेदन अदालत नेपालगञ्जमा परेको पुनरावेदन पत्र ।
मेरो फोनमा अपरिचित व्यक्तिको फोन आउनु र मैले निज जाहेरवालालाई सो कुराको सूचना गर्नुबाहेक मैले अन्य के कसुर गरेँ भन्ने मिसिलबाट खुल्न सकेको छैन । मैले सो कुरा घटना घटिसकेपछि थाहा पाएको हुँ । मेरो मोबाइलमा फोन आएबाहेक मैले अन्य कसुर नगरेको अवस्थामा मसमेतलाई कसुरदार ठहर गरी भएको सुरू जिल्ला अदालतको फैसला त्रुटिपूर्ण हुँदा उक्त फैसला बदर गरी न्याय इन्साफ गरिपाउँ भन्नेसमेत बेहोराको प्रतिवादी त्रिभुवन घरूकको तर्फबाट पुनरावेदन अदालत नेपालगञ्जमा परेको पुनरावेदन पत्र ।
यसमा यसै लगाउका ०६८-CS-००८८ समेतका पुनरावेदनमा पुनरावेदक / वादी नेपाल सरकारलाई झिकाउने आदेश भइसकेको देखिएको र प्रस्तुत ०६८-CS-०१९१ मा पुनरावेदक / वादी नेपाल सरकारको पुनरावेदन परेको देखिँदा प्रस्तुत पुनरावेदनको जानकारी अ.बं.२०२ नं. को प्रयोजनार्थ थुनामा रहेका प्रस्तुत मुद्दाका प्रत्यर्थी प्रतिवादीहरूलाई दिई लगाउका पुनरावेदनहरू साथै राखी नियमानुसार पेस गर्नु भन्ने पुनरावेदन अदालत नेपालगञ्जको मिति २०६९/९/१ को आदेश ।
प्रतिवादीमध्येका सोहन घरूकले जाहेरवालाका बीचमा लेनदेनसम्बन्धी विवाद परेकोमा सो कुरालाई लिएर उक्त मिति २०६६/१/२८ का दिन जाहेरवाला र प्रतिवादी सोहन घरूक मालपोत कार्यालय बाँकेमा गएको र निज जाहेरवालाको साथमा निज अपहरित नाबालकसमेत गएकोमा निज नाबालक अपहरित भएको भन्ने कुरालाई निज प्रतिवादी सोहन घरूकले अन्यथा भन्न सकेको देखिँदैन । सोही दिनमा नै प्रतिवादीहरू कैलास लोनिया र राम प्रवेश कुमार लोनिया मगरले पीडित नाबालक गणेश कहारलाई मोटरसाइकलमा राखी लगी फोनबाट फिरौतीसमेत माग गरी नदिएमा अपहरित बालकको ज्यान मारी दिने धम्कीसमेत दिएको भन्ने कुरा मिसिल संलग्न प्रमाणहरूबाट देखिन आई निज प्रतिवादीहरू त्रिभुवन घरूक, कैलास लोनिया, राम प्रवेश कुमार लोनिया मगर र सोहन घरूकले अभियोग दाबीबमोजिमको कसुर गरेको ठहर्याई निज प्रतिवादीहरूलाई मुलुकी ऐन, अपहरण गर्ने तथा शरीर बन्धक लिनेको महलको ३ नं. बमोजिम १० वर्ष कैद र ऐ. को ७ नं. बमोजिम २ वर्ष थप कैद गरी जनही १२ वर्ष कैद सजाय हुने र प्रतिवादीहरूबाट दामासाहीले वारदात मितिदेखि कार्यान्वयन नहुँदासम्म दैनिक रू.५००।- का दरले पीडितले क्षतिपूर्ति भरी पाउने ठहर्याई बाँके जिल्ला अदालतबाट मिति २०६८/६/४ मा फैसला भएकोमा निज प्रतिवादीहरूलाई उक्त अपहरण गर्ने तथा शरीर बन्धक लिनेको महलको ३ नं. बमोजिम जरिवानासमेत गर्नु पर्नेमा सो गरेको नदेखिँदा सो हदसम्म र प्रतिवादीहरूबाट दामासाहीले वारदात मितिदेखि पीडित नाबालक अपहरणमुक्त भई नआएसम्म दैनिक रू.५००।- का दरले पीडितलाई भराई दिनु पर्नेमा सो नगरेको हदसम्म सो फैसला केही उल्टी भई निज प्रतिवादीहरूलाई अभियोग दाबीबमोजिम मुलुकी ऐन, अपहरण तथा शरीर बन्धक लिनेको महलको १ र २ नं. बमोजिमको कसुर गरेको देखिँदा ऐ. ऐन को ३ नं. बमोजिम जनही १० वर्ष कैद र ऐ. को ७ नं. बमोजिम २ वर्ष थप कैद गरी जनही १२ वर्ष कैद र ऐ. ऐनको दफा ३ बमोजिम जनही रू.५,००,००।- जरिवाना हुने ठहर्छ । साथै सोही ऐनको १२ नं. बमोजिम अपहरित व्यक्ति अपहरणमुक्त भई नआएसम्म दैनिक रू.५००।- का दरले प्रतिवादीहरूबाट दामासाहीले पीडितले क्षतिपूर्ति भरी पाउने ठहर्छ । सफाइ पाउनु पर्ने भन्नेसमेतको प्रतिवादीहरूको पुनरावेदन जिकिर पुग्न सक्तैन भन्नेसमेत बेहोराको पुनरावेदन अदालत नेपालगञ्जको मिति २०७०।११।०५ को फैसला ।
प्रस्तुत मुद्दामा प्रमाण ऐन, २०३१ को दफा २५ अनुसार वादी पक्षले अभियोग दाबी शंकारहित तवरले पुष्टि गर्न सकेको छैन । वादी पक्षको साक्षी र घटना विवरणका मानिसहरूलाई अदालतमा उपस्थित गराई बकपत्र गराउन सकेको छैन । घटना विवरणका मानिसहरूमध्ये छोटे पासीले मिति २०६६।१।२८ गते म मेरो घरमा काम भएकाले घरमा नै थिएँ । मैले माधव कहारको छोरा अपहरण भएको भन्ने सुनी थाहा पाएको हुँ । को कसले अपहरण गरे भन्ने थाहा भएन । मलाई जाहेरवालाले के कससँग जग्गा लेनदेन गरे थाहा भएन मैले देखेको पनि छैन । निजले के कसरी देखेको भनी खुलाएका हुन् थाहा छैन भनी लेखाई दिएका छन् भने धनिराम लोधले जाहेरवालाको छोरा गणेश कहारलाई निजहरूले अपहरण गरेको हुन् होइनन् यकिन भन्न सक्दिन भनी लेखाई दिएका छन् । त्यसैगरी गंगाराम कादुले प्रतिवादी कैलास लोनियासमेतले अपहरण गरी लिएका हुन् होइनन् भन्न सक्दिन भनी बकपत्र लेखाई दिएका छन् । प्रस्तुत मुद्दामा प्रत्यक्षदर्शीको अभाव छ । स्वयं माधवराम कहार र निजका पत्नी रूपरानीसमेत प्रत्यक्षदर्शी होइनन् । बुझिएका व्यक्तिहरू अदालतसमक्ष आई बकपत्रसमेत गरेका छैनन् । यस्तो अवस्थामा म पुनरावेदक प्रतिवादीले अपहरण गरेको भनी कसुरदार ठहर गरी सुरू जिल्ला अदालतबाट भएको फैसला केही उल्टी हुने ठहर्याई पुनरावेदन अदालत नेपालगञ्जबाट भएको फैसला त्रुटिपूर्ण रहेको हुँदा उक्त फैसला उल्टी गरी अभियोग मागदाबीबाट सफाइ दिलाई पाउँ भन्नेसमेत बेहोराको निज पुनरावेदक प्रतिवादी राम प्रवेश कुमार लोनिया मगरको तर्फबाट यस अदालतमा पर्न आएको पुनरावेदन पत्र ।
यसमा प्रमाणको समुचित मूल्याङ्कन नगरी भएको पुनरावेदन अदालत नेपालगञ्जको मिति २०७०।११।५ को फैसला प्रमाण मूल्याङ्कनको रोहमा फरक पर्न सक्ने देखिएकोले मुलुकी ऐन, अ.बं. २०२ नं. बमोजिम प्रत्यर्थी झिकाई आए वा अवधि व्यतित भएपछि नियमानुसार गर्नु भन्ने यस अदालतको मिति २०७४।७।१४ को आदेश ।
नियमबमोजिम साप्ताहिक तथा दैनिक पेसी सूचीमा चढी निर्णयार्थ पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादी राम प्रवेश कुमार लोनिया मगरको तर्फबाट उपस्थित हुनु भएका विद्वान् वैतनिक अधिवक्ता श्री देवी घिमिरेले वादी पक्षबाट यी पुनरावेदक प्रतिवादीउपरको अभियोग दाबी शंकारहित तवरले पुष्टि गर्न सकेको अवस्था छैन । वादी पक्षले साक्षी र घटना विवरणका मानिसहरूलाई अदालतमा उपस्थित गराई बकपत्र गराउनसमेत नसकेको अवस्थामा यी पुनरावेदक प्रतिवादीलाई सजाय गर्ने गरी सुरू बाँके जिल्ला अदालतबाट भएको फैसला केही उल्टी हुने ठहर्याई पुनरावेदन अदालत नेपालगञ्जबाट भएको फैसला त्रुटिपूर्ण भएको हुँदा उक्त फैसला उल्टी भई यी पुनरावेदक प्रतिवादीले अभियोग दाबीबाट सफाइ पाउनु पर्दछ भनी बहस गर्नुभयो । त्यसैगरी प्रत्यर्थी वादी नेपाल सरकारको तर्फबाट उपस्थित हुनु भएका विद्वान् उपन्यायाधिवक्ता श्री बाबुराम अधिकारीले मिसिल संलग्न कागज प्रमाणहरूबाट यी पुनरावेदक प्रतिवादीले अभियोग दाबीबमोजिमको कसुर गरेको पुष्टि हुन आएको अवस्थामा सुरू जिल्ला अदालतबाट भएको फैसला केही उल्टी हुने ठहर्याई पुनरावेदन अदालत नेपालगञ्जबाट भएको फैसला मनासिब रहेको हुँदा सदर गरिनुपर्दछ भनी प्रस्तुत गर्नु भएको बहससमेत सुनियो ।
उल्लिखित बहस जिकिर र तथ्य भएको प्रस्तुत मुद्दामा पुनरावेदन अदालत नेपालगञ्जबाट भएको फैसला मिलेको छ वा छैन ? पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्ने हो वा होइन ? भन्ने विषयमा निर्णय दिनु पर्ने देखिन आयो ।
यसमा प्रतिवादी राम प्रवेश कुमार लोनिया मगरसमेतले मुलुकी ऐन, (संशोधनसहित) अपहरण गर्ने तथा शरीर बन्धक लिनेको महलको १ र २ नं. को कसुर गरेकोले निजहरूलाई सोही ऐनको सोही महलको ३ नं. बमोजिम सजाय गरी सो ७ नं. बमोजिम थप सजाय हुन र फरार रहेका सोहन घरूक र प्रवेश लोनियाका नाउँमा म्याद जारी भई सोही ऐनको सोही महलको १२ नं. बमोजिम पीडितलाई क्षतिपूर्तिसमेत दिलाई पाउँ भन्ने अभियोग मागदाबी भएकोमा यी पुनरावेदक प्रतिवादी राम प्रवेश कुमार लोनिया मगरसमेतलाई मुलुकी ऐन, अपहरण गर्ने तथा शरीर बन्धक लिनेको १ र २ नं. को कसुरमा निजहरूलाई ऐ. ३ नं. बमोजिम १० वर्ष कैद र ऐ. ७ नं. बमोजिम २ वर्ष थप गरी जनही १२ वर्ष कैद र प्रतिवादीहरूबाट दामासाहीले वारदात मितिदेखि कार्यान्वयन नहुँदासम्म दैनिक रू.५००।- का दरले पीडितलाई क्षतिपूर्ति दिलाई भराई पाउने ठहर्याई सुरू बाँके जिल्ला अदालतबाट मिति २०६८।६।४ मा फैसला भएको देखियो । सो फैसलाउपर वादी र प्रतिवादी दुवै पक्षको तर्फबाट पुनरावेदन अदालत नेपालगञ्जमा पुनरावेदन परेकोमा सुरू जिल्ला अदालतको फैसला केही उल्टी हुने ठहर्याई पुनरावेदन अदालत नेपालगञ्जबाट मिति २०७०।११।५ मा फैसला भएको देखियो । सो फैसलाउपर प्रतिवादीमध्येका राम प्रवेश कुमार लोनिया मगरको तर्फबाट यस अदालतमा पुनरावेदन पर्न आएको देखियो ।
प्रतिवादीहरू कैलास लोनिया, सोहन घरूक, त्रिभुवन घरूकले पुनरावेदन अदालत नेपालगञ्जबाट मिति २०७०।११।५ मा भएको फैसलामा चित्त बुझाई यस अदालतमा पुनरावेदन गर्न आएको नदेखिँदा सो सम्बन्धमा केही बोली रहन परेन ।
२. निर्णयतर्फ विचार गर्दा म पुनरावेदक प्रतिवादीउपरको अभियोग दाबी वादी पक्षले शंकारहित तवरबाट पुष्टि गर्न नसकेको अवस्थामा मलाई कसुरदार ठहर गरी सुरू जिल्ला अदालतबाट भएको फैसला केही उल्टी हुने ठहर्याई पुनरावेदन अदालत नेपालगञ्जबाट भएको फैसला त्रुटिपूर्ण रहेको हुँदा उक्त फैसला उल्टी गरी अभियोग दाबीबाट सफाइ दिलाई पाउँ भन्ने पुनरावेदक प्रतिवादी राम प्रवेश कुमार लोनिया मगरको मुख्य पुनरावेदन जिकिर रहेको देखिन्छ ।
३. जाहेरवाला माधवराम कहारले मौकामा जाहेरी दरखास्त दिँदा धनिराम लोध, गंगाराम काँदु र छोटे पासीसमेतका व्यक्तिहरूले कैलास लोनिया र राम प्रवेश कुमार लोनिया मगरले मोटरसाइकलमा राखी कसको नाबालक बच्चालाई उठाई लगेको देखेका हौं भन्दा थाहा पाएको हो भन्ने बेहोरा जाहेरी दरखास्तमा उल्लेख गरेको देखिन्छ । घटना विवरण कागजका मानिसहरू छोटे पासी, फलबहादुर गौतम, धनीराम लोधको र गंगाराम काँदुले घटना विवरण कागजको बेहोरा लेखाउँदा यी पुनरावेदक प्रतिवादी राम प्रवेश कुमार लोनिया मगरको नामसमेत उल्लेख गर्न सकेको देखिँदैन । उल्लिखित घटना विवरण कागजका मानिसहरूले घटना विवरण कागजमा कैलास लोनिया र एक जना मानिसले बच्चालाई मोटरसाइकलको बीचमा राखी लगेका थिए भनी लेखाएको देखिएको छ । त्रिभुवन घरूकले अनुसन्धानको क्रममा बयान गर्दा यी पुनरावेदक प्रतिवादी राम प्रवेश कुमार लोनिया मगरको उक्त वारदातमा संलग्नता रहेको बारेमा थाहा नभएको भनी उल्लेख गरेको देखिन्छ ।
४. यी पुनरावेदक प्रतिवादी राम प्रवेश कुमार लोनियाले मिति २०६६।११।२ मा सुरू अदालतमा उपस्थित भई बयान गर्दा म कैलास लोनियालाई गाउँकै भएकाले चिन्दछु, अन्यलाई चिन्दिन । मैले जाहेरवालाको छोरालाई अपहरण गरेको होइन । म १ वर्ष ९ महिनादेखि भारतको दिल्लीमा छु । घरमा तँलाई मुद्दा परेको छ भन्ने फोन गएपछि ३ दिन पहिला म नेपाल आएको हुँ भनी आरोपित कसुरमा इन्कार रही बयान गरेको देखिन्छ । निज प्रतिवादीको उक्त इन्कारी बयानलाई समर्थन हुने गरी निज प्रतिवादीको साक्षी मुरली चौहान लोनियाले प्रतिवादी राम प्रवेश कुमार लोनिया २/४ महिना अगाडिदेखि भारत दिल्लीमा नोकरी गर्न गएका थिएँ । निजले जाहेरवालाको छोरा गणेश कहारलाई अपहरण गरेका होइनन् भनी सुरू अदालतमा उपस्थित भई बकपत्र गरेको देखिन्छ । त्यसैगरी घटना विवरण कागजका मानिस गंगाराम कादुले मैले बच्चा हराएका छन् भन्ने सुनेको हुँ । को कसले कहाँबाट अपहरण गरी कहाँ लगे सो मलाई थाहा भएन भनी सुरू अदालतमा उपस्थित भई बकपत्र गरेको देखिन्छ ।
५. प्रमाण ऐन, २०३१ को दफा २५ बमोजिम प्रस्तुत मुद्दाको अभियोग दाबी प्रमाणित गर्ने दायित्व वादी पक्षमा रहेको हुन्छ । वादी पक्षले यी पुनरावेदक प्रतिवादीउपरको अभियोग दाबी वस्तुनिष्ठ प्रमाणबाट पुष्टि गर्न सकेको देखिँदैन । फौजदारी कसुरमा अभियोग दाबी प्रमाणित गर्दा प्रतिव्यक्ति प्रतिप्रमाणबाट पुष्टि हुनुपर्दछ । अपहरण तथा शरीर बन्धक जस्तो गम्भीर प्रकृतिको फौजदारी कसुरमा प्रतिवादीउपरको अभियोग दाबी शंकारहित तवरबाट पुष्टि हुनुपर्दछ अन्यथा शंकाको सुविधा अभियुक्तले पाउने फौजदारी न्यायको मान्य सिद्धान्त रहेको छ ।
६. यी पुनरावेदक प्रतिवादीउपरको अभियोग दाबी शंकारहित तवरबाट प्रमाणित गर्न नसकेको अवस्थामा निज प्रतिवादी राम प्रवेश कुमार लोनिया मगरलाई मुलुकी ऐन, अपहरण गर्ने तथा शरीर बन्धक लिनेको १ र २ नं. को कसुरमा निजलाई ऐ. ३ नं. बमोजिम १० वर्ष कैद र ऐ. ७ नं. बमोजिम २ वर्ष थप गरी १२ वर्ष कैद र निज प्रतिवादीसमेतबाट दामासाहीले वारदात मितिदेखि कार्यान्वयन नहुँदासम्म दैनिक रू.५००।- का दरले पीडितलाई क्षतिपूर्ति दिलाई दिने ठहर गरी सुरू बाँके जिल्ला अदालतबाट मिति २०६८।६।४ मा भएको फैसला केही उल्टी हुने ठहर्याई पुनरावेदन अदालत नेपालगञ्जबाट मिति २०७०।११।५ मा भएको फैसला मनासिब रहेको देखिएन ।
७. अत: माथि विवेचित आधार, कारण र प्रमाणहरूबाट पुनरावेदन अदालत नेपालगञ्जबाट मिति २०७०।११।५ मा भएको फैसला मिलेको नदेखिँदा उल्टी भई यी पुनरावेदक प्रतिवादी राम प्रवेश कुमार लोनिया मगरले अभियोग मागदाबीबाट सफाइ पाउने ठहर्छ । अरूमा तपसिलबमोजिम गर्नू ।
तपसिल
माथि इन्साफ खण्डमा लेखिएबमोजिम पुनरावेदन अदालत नेपालगञ्जबाट मिति २०७०।११।५ मा भएको फैसला उल्टी भई पुनरावेदक प्रतिवादी राम प्रवेश कुमार लोनियाले अभियोग मागदाबीबाट सफाइ पाउने ठहरी फैसला भएको र मिति २०७५।१०।७ मा भएको संक्षिप्त आदेशबाट पुनरावेदक प्रतिवादी राम प्रवेश कुमार लोनिया थुनामुक्त भइसकेको देखिँदा केही गरी रहनु परेन ----------------------------------------१
फैसलाको प्रतिलिपिसहितको जानकारी महान्यायाधिवक्ताको कार्यालयलाई दिनू -------------२
प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी अभिलेख शाखामा बुझाई दिनू -----३
उक्त रायमा सहमत छु ।
न्या. डम्बरबहादुर शाही
इजलास अधिकृत: गोपी विश्वकर्मा
इति संवत् २०७५ साल माघ ७ गते रोज २ शुभम् ।