शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १०२०२ - लागु औषध खैरो हेरोइन

भाग: ६१ साल: २०७६ महिना: जेष्ठ अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास 

माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा

माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल

फैसला मिति : २०७४।३।२६

 

मुद्दाः लागु औषध खैरो हेरोइन

 

०७१-CR-१३४६

पुनरावेदक / प्रतिवादी : जिल्ला काठमाडौं धर्मस्थली गा.वि.स. वडा नं.५ घर भई हाल कारागार कार्यालय भीमफेदी मकवानपुरमा थुनामा रहेका सागर कार्की

विरूद्ध

प्रत्यर्थी / वादी : प्र.स.नि. रूद्रप्रसाद न्यौपानेसमेतको प्रतिवेदनले नेपाल सरकार

 

०७१-CR-१३४७

पुनरावेदक / प्रतिवादी : जिल्ला काठमाडौं धर्मस्थली गा.वि.स. वडा नं.५ घर भई हाल कारागार कार्यालय भीमफेदी मकवानपुरमा थुनामा रहेका भुवन के.सी.

विरूद्ध

प्रत्यर्थी / वादी : प्र.स.नि. रूद्रप्रसाद न्यौपानेसमेतको प्रतिवेदनले नेपाल सरकार

 

लागु औषधको सेवन तथा ओसारपसार एउटै अपराध नभई भिन्न प्रकृतिका अपराध हुन् । सेवन गर्ने गरेको तथ्य स्थापित भएको भन्ने आधारमा ओसारपसार, बिक्री वितरणको कसुर स्थापित हुने

होइन । व्यापारिक कारोबार प्रकृतिको बिक्री वितरणको उद्देश्य प्रमाणित हुन आवश्यक हुने । 

(प्रकरण नं.४)

 

पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ता श्री प्रेमबहादुर खड्का, विद्वान्‌ अधिवक्ताहरू श्री गोविन्द शर्मा बन्दी, श्री विश्वेश्वरप्रसाद गौतम, श्री शोभित अकेला बानियाँ र श्री रक्षा बस्याल

प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान्‌ सहन्यायाधिवक्ता श्री सुरेन्द्रबहादुर थापा

अवलम्बित नजिर :

सम्बद्ध कानून :

लागु औषध (नियन्त्रण) ऐन, २०३३

 

सुरू फैसला गर्ने :

माननीय न्यायाधीश श्री टेकनारायण कुँवर

मकवानपुर जिल्ला अदालत

पुनरावेदन तहमा फैसला :

माननीय न्यायाधीश श्री दिनेशकुमार कार्की

मा. न्यायाधीश श्री सत्यमोहन जोशी थारू

पुनरावेदन अदालत हेटौंडा

 

फैसला

न्या. ईश्वरप्रसाद खतिवडा : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्र पर्ने भई दायर हुन आएको प्रस्तुत मुद्दाको सक्षिप्त तथ्य र ठहर यसप्रकार छः

मिति २०६८/८/१८ गते अं. २३:०० बजेको समयमा जिल्ला मकवानपुर चुरियामाइ ३ स्थित सडकमा सवारी साधनहरू रोकी चेकजाँच गर्ने क्रममा पिसाब फेर्न ओर्लेका भुवन के.सी. समेतको तलासी गर्दा भुवन के.सी.को साथबाट लागु औषध खैरो हेरोइन २४ ग्राम फेला परेको र दुवैजनाले हामीले रक्सौलबाट खरिद गरी ल्याएको भनेको हुँदा निज प्रतिवादीहरूलाई कानूनबमोजिम कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको प्र.स.नि. रूद्रप्रसाद न्यौपानेसमेतको प्रतिवेदन ।

जिल्ला मकवानपुर चुरियामाई ३ स्थित सडकमा सवारी साधनहरू चेकजाँच गर्दा पिसाब फेर्न ओर्लेका भुवन के.सी.समेतको साथबाट लागु औषध खैरो हेरोइन २४ ग्राम बरामद भएको हो भन्नेसमेत बेहोराको बरामदी मुचुल्का ।

मिति २०६८/८/१८ गते म तथा मेरो साथी सागर कार्की काठमाडौंबाट पर्सा जिल्लाको परवानीपुर स्थित केडिया आँखा अस्पताल नजिक गई बरामद लागु औषध खैरो हेरोइन म तथा साथी सागर कार्कीले आधाआधा रकम हाली ने.रू.७,५००।- मा सोही स्थान बस्ने यकिन नाम थर वतन थाहा नभएको नरेश भन्ने व्यक्तिसँग खरिद गरी बसमा चढी काठमाडौंतर्फ जानका लागि आउँदै गर्दा जिल्ला मकवानपुर चुरियामाई ३ स्थित सडकमा आई पुगी बसबाट ओर्ली पिसाब फेर्न लाग्दा प्रहरीले म तथा मेरो साथी सागर कार्कीको शरीर खान तलासी गर्दा मैले लगाएको पाइन्टको खल्तीबाट लागु औषध खैरो हेरोइन फेला पारी म तथा साथीलाई पक्राउ गरेको हो । बरामद लागु औषध म तथा मेरो साथी सागर कार्कीले सेवन गर्नका लागि ल्याएको हो भन्नेसमेत बेहोराको प्रतिवादी भुवन के.सी.ले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान कागज ।

म तथा मेरो साथी भुवन के.सी. काठमाडौंबाट मिति २०६८/८/१८ गते वीरगन्ज नजिक परवानीपुर स्थित केडिया आँखा अस्पताल नजिक गई नरेश भन्ने व्यक्तिसँग बरामद भई आएको लागु औषध खैरो हेरोइन २४ ग्राम दुवैजनाले आधाआधा रकम हाली ने.रू.७,५००।- मा खरिद गरी बसमा चढी काठमाडौंतर्फ जानका लागी आउँदै गर्दा जिल्ला मकवानपुर चुरियामाई ३ स्थित सडकमा आई पुगी बसबाट ओर्ली पिसाब फेर्न लाग्दा प्रहरीहरू आई दुवै जनाको शरीर चेकजाँच एवं खानतलासी गर्दा भुवन के.सी.ले लगाएको पाइन्टको खल्तीबाट लागु औषध फेला पारी दुवैजनालाई पक्राउ गरेको हो । बरामद लागु औषध म तथा मेरो साथी भुवन के.सी. आफैँले सेवन गर्नका लागि ल्याएको हो भन्नेसमेत बेहोराको प्रतिवादी सागर कार्कीले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान कागज ।

प्रतिवादी भुवन के.सी. र सागर कार्कीको घर खानतलासी गर्दा लागु औषध मुद्दामा प्रमाण लाग्ने चिजवस्तु फेला नपरेको भन्नेसमेत बेहोराको घर खानतलासी मुचुल्का ।

परीक्षणको लागि पठाइएको नमूनामा हेरोइन पाइएको भन्नेसमेत बेहोराको केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाको परीक्षण प्रतिवेदन ।

मिति २०६८/८/१८ गते अन्दाजी २३:०० बजेको समयमा जिल्ला मकवानपुर चुरियामाई गा.वि.स. वडा नं. ३ स्थित सडकमा प्रहरी कर्मचारीहरूले सवारी साधनहरू रोकी चेकजाँच गर्ने क्रममा पिसाब फेर्न उत्रेका प्रतिवादी भुवन के.सी. समेतको शरीर तलासी गर्दा भुवन के.सी.को साथबाट लागु औषध खैरो हेरोइन २४ ग्राम फेला पारी पक्राउ गरेको हो भन्नेसमेत बेहोराको बुझिएका मानिसहरू रमेश लामा, उमेश बल र हेमराज क्षेत्रीले गरी दिएको घटना विवरण कागज ।

प्रतिवादीहरू भुवन के.सी. र सागर कार्कीले बरामद लागु औषध खैरो हेरोइन सेवन गर्नका लागि भनी खरिद र ओसारपसार गरी लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा (४)(च) र (छ) को कसुर गरेकोले निजहरूलाई सोही ऐनको दफा १४ (१) (छ) (१) बमोजिम सजाय गरिपाउँ भन्नेसमेत बेहोराको अभियोग मागदाबी ।

म र सागर कार्की मेरो फुपू दिदीको घर हेटौंडा सानोपोखरामा मिति २०६८/८/१८ गते आएकोमा वीरगन्ज केडिया आँखा अस्पतालमा मिति २०६८/८/१८ गते सागरको आँखा जँचाउन गएकोमा मलाई करिब २ वर्ष पहिलादेखि साथीहरूको सङ्गतमा लागु औषध सेवन गर्ने बानी परेको हुँदा उक्त आँखा अस्पताल बाहिर मैले नामथर नचिनेको व्यक्तिसँग भेट भई गफ हुँदा निजले मसँग खान ल्याएको लागु औषध खैरो हेरोइन छ, रू.७,५००।- पर्छ भनेको हुँदा हामी दुवैजना सेवन गर्ने बानी परेको साथी हुँदा दुवैजनाको आधाआधा पैसा मिलाई सेवन गर्न १५ दिनको डोजको लागि भनी लिई एक डोज हामी दुवैजनाले लिई खाई हेटौंडा आउन भनी बसमा चढी आउँदा प्रहरीले चेक जाँच गर्दा बसको सिटमुनि राखेको ठाउँबाट लागु औषध बरामद भएको हो । हामी लागु औषध खाई लठ्ठ अवस्थामा रहेको हुँदा शंका लागी प्रहरीले चेकजाँच गरेको हो । बरामद लागु औषध हामी दुवै जनाले सेवन गर्न ल्याएको हो, बिक्री वितरण गर्न ल्याएको होइन । म लागु औषध सेवन गर्ने भएर उपकार नेपाल सुधार केन्द्र टोखा काठमाडौंमा मिति २०६७/३/६ गतेबाट १०० दिन उपचारको लागि बसेकोसमेत छु । मलाई अभियोग माग दाबीबमोजिम सजाय हुनु पर्ने होइन भन्नेसमेत बेहोराको प्रतिवादी भुवन के.सी.ले सुरू अदालतमा गरेको बयान ।

साथी भुवन के.सी.को फुपूको घर हेटौंडा आउँदा मैले पहिलादेखि आँखा जचाई आएको केडिया आँखा अस्पताल परवानीपुरमा ‍२०६८/८/१८ गते गई आँखा जँचाई बाहिर आउँदा एक जना मधेस मूलका मानिससँग भेट भयो । म तथा भुवन के.सी.ले साथीहरूको सङ्गतमा करिब २ वर्ष अगाडिदेखि लागु औषध सेवन गरी आएको र निज भेट भएका मधेस मुलका मानिसले बरामद भएको लागु औषध रू.७५००।- पर्छ भनेकोले हामी दुवैजनाले बराबर पैसा हाली खरिद गरी १ डोज खाई बस चढी हेटौंडा आउन लाग्दा नशाले लठ्ठ रहेको देखी प्रहरीले चेकजाँच गर्दा हामीले खरिद गरी ल्याएको लागु औषध बसको सिटबाट बरामद गरेको हो । उक्त लागु औषध बिक्री वितरण गर्न ल्याएको होइन । सेवन गर्न ल्याएको हुँदा अभियोग माग दाबीबमोजिम सजाय पाउनु पर्ने होइन । मैले लागु‍औषध सेवन गरेकोमा उपकार नेपाल सुधार केन्द्र टोखा काठमाडौंबाट समेत उपचार गराएको छु भन्नेसमेत बेहोराको प्रतिवादी सागर कार्कीले सुरू अदालतमा गरेको बयान ।

यी प्रतिवादीहरू सागर कार्की र भुवन के.सी. कसुरदार होइन रहेछन् भन्न सकिने अवस्था हाल विद्यमान नहुँदा पछि थप प्रमाणहरू बुझ्दै जादा ठहरेबमोजिम हुने गरी विशेष अदालत ऐन, २०५९ को दफा ७(ङ) बमोजिम पुर्पक्षका लागि थुनामा राख्नु भन्नेसमेत बेहोराको सुरू अदालतबाट भएको आदेश । 

प्रतिवादीहरू दुवैजना लठ्ठ परेको, चेकजाँच गर्दा प्रतिवादी भुवन के.सी.को साथबाट लागु औषध खैरो हेरोइन बरामद भएकोले प्रतिवेदनसाथ निज प्रतिवादीहरू सागर कार्की र भुवन के.सी.लाई पक्राउ गरी पेस गरेको हो भन्नेसमेत बेहोराको प्रतिवेदक प्र.ज. सुरेन्द्र साहले सुरू अदालतमा गरेको बकपत्र ।

प्रतिवादी भुवन के.सी.ले २/३ वर्ष अगाडिदेखि साथीहरूको सङ्गतमा परी लागु औषध सेवन गरी आएका थिए । निजले आफैँले सेवन गर्न भनी लागु औषध खैरो हेरोइन लिई हिँडेको अवस्थामा पक्राउ परेका हुन् । खरिद बिक्री गर्ने काम गर्दैनन् भन्नेसमेत बेहोराको प्रतिवादी भुवन के.सी. का साक्षी मदन के.सी. ले सुरू अदालतमा गरेको बकपत्र ।

प्रतिवादी सागर कार्की २/३ वर्ष अगाडिदेखि लागु औषध सेवन गर्ने गर्दा रहेछन् । अभिभावकले थाहा पाई सुधार केन्द्रमा राखेका थिए । निज लागु औषध सेवन गर्ने मानिस हुन् । बिक्री वितरण, ओसारपसार गर्ने मानिस होइनन् भन्नेसमेत बेहोराको प्रतिवादी सागर कार्कीको साक्षी मनोज कार्कीले सुरू अदालतमा गरेको बकपत्र ।

प्रतिवादीहरू भुवन के.सी. र सागर कार्कीले अभियोग दाबीअनुसारको कसुर गरेको प्रमाणित हुन आएको देखिँदा निज प्रतिवादीहरूलाई लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४(च)(छ) को कसुरमा सोही ऐनको दफा १४(१)(ङ) र (छ) अनुसार जनही क्रमश: सेवनतर्फ १(एक) वर्ष कैद र लागु औषध खरिद सञ्जय र ओसारपसारतर्फ ८ (आठ) वर्ष कैद र रू.२०,०००।- (बीस हजार) जरिवाना हुने ठहर्छ भन्नेसमेत बेहोराको मकवानपुर जिल्ला अदालतबाट मिति २०६८/१२/२१ मा भएको फैसला ।

हामी  लागु औषध सेवन गर्ने व्यक्ति भएको र लागु औषध सेवन गरेकै अवस्थामा पक्राउ परेको कुरा प्रतिवेदन, प्रतिवेदकको बकपत्र, हाम्रो बयान र उपकार नेपाल सुधार केन्द्र, टोखाको पत्रबाट स्पष्‍ट छ । बरामद भएको लागु औषध हामीहरू दुवै जनाको सेवन प्रयोजनको लागि १२/१२ ग्राम हुने गरी ३७५०/३७५० रकम तिरी खरिद गरेका हौँ । केबल एक ठाउँबाट किनी आफ्नो घर जान हिँडेको कारणले ओसारपसार भन्न मिल्दैन । लागु औषध हेरोइन सहजै बजारमा पाइने वा नेपालमा उत्पादन हुने वस्तु 

होइन । हामी काठमाडौंमा घर बसोबास भएका सेवनकर्ताले सजिलै सधैँ काठमाडौंमा उक्त चिज नपाउने भएकोले काम विशेषले वीरगन्ज तिर जाँदा उक्त वस्तु फेला पारी सेवन गर्नको लागि न्यून मात्रामा खरिद गरी लिई घरतर्फ जाँदै गरेको अवस्थालाई खरिद बिक्री, ओसारपसारसमेत भनी मान्न मिल्दैन । हामीसँग ३५००/४००० रूपैयाँ हुनु कुनै ठूलो रकम होइन । तसर्थ, हामी सेवनकर्ता मात्र भएको सम्पूर्ण कुरा पुष्टि हुँदाहुँदै सोलाई प्रमाण नलगाई प्रमाण ऐन, २०३१ को दफा ३/५४ विपरीत भएको फैसला बदर उल्टी गरी सेवनतर्फ मात्र सजाय गरी न्याय पाउँ भन्नेसमेत बेहोराको प्रतिवादीहरू सागर कार्की र भुवन के.सी.को पुनरावेदन अदालत हेटौंडासमक्षको संयुक्त पुनरावेदन पत्र ।

यसमा बरामद भई आएको लागु औषधको परिमाण, प्रतिवादीहरूले सेवनतर्फसम्म कसुर स्वीकार गरेको अवस्था विद्यमान रहेको सन्दर्भमा प्रमाण मूल्याङ्कनको दृष्टिकोणबाट सुरूको फैसला विचारणीय देखिँदा मुलुकी ऐन, अ.बं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम प्रत्यर्थी झिकाइ नियमानुसार पेस गर्नु भन्ने पुनरावेदन अदालत हेटौंडाबाट भएको आदेश । 

पुनरावेदक / प्रतिवादीहरूले अदालत तथा अधिकारप्राप्‍त अधिकारीसमक्ष गरेको बयान, बरामदी मुचुल्कासहितका मिसिल संलग्न सबुद प्रमाणबाट लागु औषध खैरो हेरोइन खरिद गरी ओसारपसार गरी सेवनसमेत गरी लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४(च)(छ) बमोजिम कसुर गरेको देखिन आएबाट प्रतिवादी भुवन के.सी. र सागर कार्कीलाई लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४(च)र(छ) को कसुरमा सोही ऐनको दफा १४(१)(ङ) र (छ)(१) अनुसार जनही क्रमश: सेवनतर्फ एक वर्ष कैद र लागु औषध खरिद सञ्चय र ओसारपसारसमेत तर्फ ८ (आठ) वर्ष कैद र रू.२०,०००।- (बीस हजार) जरिवानासमेत हुने ठहर्‍याई मकवानपुर जिल्ला अदालतले मिति २०६८/१२/२१ मा गरेको फैसला मनासिब देखिँदा सदर हुने ठहर्छ भन्नेसमेतको पुनरावेदन अदालत हेटौंडाबाट मिति २०६९/१२/६ मा भएको फैसला ।

म लागु औषध सेवनकर्ता भएको, प्रहरीले अदालतमा बकपत्र गर्दा लठ्ठ परेको अवस्थामा पक्राउ परेको कुरा पुष्टि गरी बकपत्र गरेको, उपकार नेपाल सुधार केन्द्र काठमाडौंमा उपचार गरी सुध्रन प्रयास गरेको र उक्त केन्द्रबाट पत्राचारसमेत भएको, अदालतमा र अनुसन्धानमा समेत यथार्थ बयान गरी सहयोग गरेकोसमेतका आधारबाट सेवनकर्ता देखिँदादेखिँदै लागु औषध नियन्त्रण ऐन, २०३३ को दफा १४(१)(ङ) बमोजिम सेवनकर्ता ठहर्‍याई सजाय गरिसकेपछि पुन: एउटै बरामदीबाट दुई कसुर स्थापित गरी ऐ. को दफा १४(१)(छ)(१) बमोजिम न्यूनतम सजाय नगरी उपल्लो हदको सजाय हुने गरी भएको सुरू अदालतको फैसलालाई नै सदर गर्ने गरी भएको पुनरावेदन अदालत हेटौंडाको फैसला बदर गरी १४(१)(ङ) बमोजिम सजाय होस् भन्नेसमेत  बेहोराको प्रतिवादी सागर कार्कीको मुद्दा दोहर्‍याई हेरिपाउँ भन्ने निवेदनपत्र ।

मसमेतका प्रतिवादीहरूले प्रहरीको बयानलाई पूर्ण इन्कार गरी अदालतसमक्ष बयान गरेको अवस्था छ । कसैले कसैउपर पोल गरेको स्थिति पनि छैन । अदालतबाहिरको साबिती प्रमाण ऐन, २०३१ को दफा ९(२) विपरीत रहेको छ । घटनास्थल तथा बरामदी मुचुल्कामा सही गर्ने लक्ष्मण गोले, राकेश श्रेष्ठ र रामबहादुर खत्रीलाई बुझिएको छैन । प्रतिवेदक प्रहरीले प्रतिवादीहरू लागु औषध सेवन गरी लठ्ठ परेको अवस्थामा पक्राउ परेको भनी लेखाएको कुरालाई प्रमाणमा लिइएको छैन । लागु औषध मबाट बरामद भएको नभई बसको सिटमुनिबाट बरामद भएको अवस्थासमेतबाट मउपरको लागु औषधको अभियोग पुष्टि हुन नसक्ने हुँदा पुनरावेदन अदालतबाट लागु औषध ‍ओसारपसारमा समेत सजाय गरेको फैसला बदर गरी इन्साफ पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी भुवन के.सी. को मुद्दा दोहर्‍याई हेरिपाउँ भन्ने निवेदनपत्र ।

निवेदकहरूले मौकामा बयान गर्दा साथीले वीरगन्जमा सस्तोमा पाइन्छ भनेअनुसार सेवन प्रयोजनका लागि सस्तोमा लागु औषध खरिद गर्न गएको र पहिलो पटक कारोबार गरेको भनी ओसारपसार गरेको भन्नेसम्म उल्लेख भएको अवस्थामा सेवनसम्मको लागि प्रतिवादीहरूले खरिद र ओसारपसार गरेको देखियो । प्रतिवादीहरू परवानीपुर पर्सासम्म पुगेर लागु औषध ओसारपसार गरेको, निजहरूसँग यी प्रहरीको कसरी सम्पर्क भयो त्यसलाई खुलाउन नसकेकोले लागु औषध कारोबारीसँग प्रतिवादीहरूको गोप्य सञ्जाल रहेछ भन्ने अनुमान गर्न सकिन्छ भन्ने बेहोरा उल्लेख भई सुरूले प्रतिवादीहरूलाई कैद वर्ष ८ गरेको हकमा दुर्व्यसनमा परेकाहरूले लागु औषध खोज्दै वीरगन्ज जानु अस्वाभाविक नभएकोले पक्राउ पर्दासमेत लठ्ठिएका प्रतिवादीहरू सो खरिद गर्न परवानीपुर गएको कारणबाट मात्रै कारोबारीसँग गोप्य सन्जाल रहेको अनुमान गर्नु कानूनबमोजिमको अनुमानभित्र पर्ने देखिँदैन । अपराधको मात्राअनुसार सजाय तोक्नुपर्ने कुरा लागु औषध नियन्त्रण ऐन, २०३३ को दफा १४ मा उल्लेख भई कानूनले नै सो कुरालाई बाध्यात्मक बनाएकोमा ठोस प्रमाणबाट गोप्य सञ्जालसँग प्रतिवादीहरूको सम्पर्क रहेको कुरा पुष्टि हुन नसकेको यस्तो गोप्य सञ्जालरहितको ओसारपसारमा भएको ८(आठ) वर्षको कैद सजाय दफा १४ मा उल्लिखित अपराधको मात्रासँग नमिलेको र लागु औषध नियन्त्रण ऐन, २०३३ ले दण्ड मात्र होइन कुलतमा परेका दुर्व्यसनीको सुधार गर्ने उद्देश्यसमेत लिएको कुरा दफा १४(१)(ङ)(ज) र १९ बाट समेत स्पष्ट भएकोले ती कानूनहरूको त्रुटि गरी सुरूबाट भएको फैसलामा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) (क) (ख) को अवस्था विद्यमान देखिँदा निस्सा प्रदान गरिदिएको छ भन्ने यस अदालतबाट मिति २०७१।०७।२८ मा भएको आदेश । 

नियमबमोजिम दैनिक पेसी सूचीमा चढी यस इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको मिसिल अध्ययन गरी पुनरावेदकहरूको तर्फबाट उपस्थित हुनु भएका विद्वान्‌ अधिवक्ता श्री शोभित अकेला बानियाँ, प्रतिवादी सागर कार्कीतर्फबाट उपस्थित विद्वान्‌ वरिष्ठ अधिवक्ता श्री प्रेमबहादुर खड्का, प्रतिवादी भुवन के.सी. तर्फबाट उपस्थित विद्वान्‌ अधिवक्ताहरू श्री गोविन्द शर्मा बन्दी, श्री विश्वेश्वरप्रसाद गौतम र श्री रक्षा बस्यालले प्रतिवादीहरूबाट बरामद भएको लागु औषध सेवनको लागि खरिद गरी ल्याएको भन्ने कुरा निजहरूले मौका तथा अदालतमा बयान गर्दा उल्लेख गरेको देखिन्छ । निजहरू लागु औषधको दुर्व्यसनी रहेको भन्ने कुरा नसाले लठ्ठ परेको अवस्थामा पक्राउ परेबाट पनि पुष्टि भएको छ । निजहरूले लागु औषध खरिद सञ्चय र ओसारपसार गरको भन्ने कुरा मिसिल संलग्न कागज प्रमाणबाट प्रमाणित नभएको अवस्थामा ओसारपसारतर्फ पनि सजाय गर्ने गरेको पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण हुँदा उल्टी गरी सेवनतर्फ मात्र सजाय हुनु पर्दछ भनी बहस गर्नुभयो । प्रत्यर्थी नेपाल सरकारको तर्फबाट महान्यायाधिवक्ताको कार्यालयका विद्वान्‌ सहन्यायाधिवक्ता श्री सुरेन्द्रबहादुर थापाले प्रतिवादीहरूको सँगसाथबाट बरामद भएको लागु औषध खैरो हेरोइनको परिमाणसमेतको आधारमा निज प्रतिवादीहरूलाई लागु औषध खरिद, सञ्चय र ओसारपसारतर्फ समेत सजाय गर्ने गरेको सुरूको फैसला सदर गरी भएको पुनरावेदन अदालतको फैसला मनासिब नै हुँदा सदर हुनुपर्दछ भनी गर्नुभएको बहस सुनियो ।

प्रस्तुत मुद्दामा प्रतिवादीहरू भुवन के.सी. र सागर कार्कीले बरामद लागु औषध खैरो हेरोइन सेवन गर्नका लागि भनी खरिद र ओसारपसार गरी लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा (४)(च) र (छ) को कसुर गरेकोले निजहरूलाई सोही ऐनको दफा १४ (१) को (छ) को (१) बमोजिम सजाय गरिपाउँ भन्नेसमेतको अभियोग मागदाबी रहेकोमा प्रतिवादीहरूलाई लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४(च),(छ) को कसुरमा सोही ऐनको दफा १४(१)(ङ) र (छ) अनुसार जनही सेवनतर्फ १(एक) वर्ष कैद र लागु औषध खरिद, सञ्चय र ओसारपसारतर्फ ८ (आठ) वर्ष कैद र रू.२०,०००।- (बीस हजार) जरिवाना हुने ठहर्‍याई भएको सुरू फैसला सदर गरी भएको पुनरावेदन अदालत हेटौंडाको फैसलाउपर चित्त नबुझी प्रतिवादीद्वयको पुनरावेदन पर्न आएको देखियो ।

अब यसमा पुनरावेदन अदालतबाट भएको फैसला मिलेको छ, छैन ? प्रतिवादीहरूको पुनरावेदन जिकिर पुग्न सक्ने हो, होइन ? भन्ने सम्बन्धमा नै निर्णय गर्नुपर्ने देखियो ।

२. निर्णयतर्फ विचार गर्दा पुनरावेदक प्रतिवादी सागर कार्की र भुवन के.सी.ले मौकामा बयान गर्दा हामी दुवैजना लागु औषध खरिद गर्न काठमाडौंबाट वीरगन्ज गई दुवै जनाले आधाआधा रकम हाली वीरगन्ज केडिया आँखा अस्पतालनजिक गई नरेश भन्ने व्यक्तिसँग बरामद भएको लागु औषध खैरो हेरोइन २४ ग्राम खरिद गरी बसमा चढी काठमाडौंतर्फ आउँदै गर्दा चुरियामाइस्थित सडकमा आइपुगेपछि प्रहरीहरू आई दुवै जनाको शरीर चेकजाँच एवम् खानतलासी गर्दा भुवन के.सी.ले लगाएको पेन्टको खल्तीबाट लागु औषध फेला पारी दुवै जनालाई प्रहरीले पक्राउ गरेको हो भन्दै उक्त बरामद लागु औषध हामी दुवै जना आफैँले सेवन गर्नको लागि ल्याएको हो भनी बयान गरेको देखियो । अदालतमा बयान गर्दा करिब २ वर्ष अगाडिदेखि लागु औषध सेवन गरी आएको हुँदा दुवै जनाको बराबर पैसा हाली सेवन गर्न खरिद गरी एक डोज खाई हेटौंडा आउनलाग्दा प्रहरीले चेकजाँच गर्दा हामीले सेवन गर्न खरिद गरी ल्याएको लागु औषध बसको सिटबाट बरामद गरेको हो भनी लेखाएको पाइयो । प्रतिवादी भुवन के.सी.को पाइन्टको अगाडिको दायाँ बगलीबाट लागु औषध खैरो हेरोइन २४ ग्राम बरामद गरेको भन्ने बरामदी मुचुल्का 

देखिन्छ । बरामद भएको उक्त लागु औषध "हेरोइन" रहेको भन्ने परीक्षण प्रतिवेदनबाट पुष्टि भएको छ । प्रतिवेदक प्र.ज. सुरेन्द्र साहले अदालतमा उपस्थित भई बकपत्र गर्दा, चुरीयामाई स्थित रातोमाटे प्रहरी चौकीमा डिउटी रहेको अवस्थामा मिति २०६८/८/१८ गते राति अं.११ बजेको समयमा बस चढी आएका प्रतिवादीहरूलाई शंका लागी चेक जाँच गर्दा प्रतिवादी भुवन के.सी.को साथबाट लागु औषध खैरो हेरोइन बरामद भएको र दुवैजना प्रतिवादीहरू लठ्ठ परेको अवस्थामा रहेकोले निज प्रतिवादीहरूलाई पक्राउ गरेको हो भनी उल्लेख गरेको देखिन्छ । प्रतिवादीहरूले लागु औषध कुलतको उपचार नेपाल सुधार केन्द्र, टोखामा गराएको भन्ने मिसिल संलग्न पत्रबाट देखिएको छ । प्रतिवादीहरू लागु औषधका नियमित सेवनकर्ता रहेको भन्ने कुरामा विवाद पनि देखिँदैन ।

३. लागु औषधका दुर्व्यसनी रहेका प्रतिवादीहरू मिली सस्तो मूल्यमा खरिद गर्न  काठमाडौंबाट वीरगन्ज गई दुवैले बराबर पैसा हाली २४ ग्राम खैरो हेरोइन खरिद गरी काठमाडौं ल्याउँदै गर्दा लागु औषध बरामद गरी प्रतिवादी दुवैजना पक्राउ परेको देखियो । पुनरावेदकहरू दुवैजनाले लागु औषध (नियन्त्रण) ऐन, २०३३ ले निषेध गरेको लागु औषध सेवनको कसुर गरेको कुरा प्रमाणहरूबाट पुष्टि भएको र पुनरावेदक प्रतिवादीहरूले सेवनसम्मको कसुर स्वीकार गरी त्यसतर्फ पुनरावेदन जिकिर नै नगरेको समेतबाट पनि पुनरावेदन अदालतले प्रतिवादीहरूलाई सेवनको कसुरमा लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १४(१)(ङ) बमोजिम १(एक) वर्ष कैद सजाय गरेको फैसला सो हदसम्म मनासिब देखियो ।

४. आफूहरू लागु औषधको सेवनकर्ता भएकोले निजी सेवनका लागि ल्याएको हुँदा ओसारपसारतर्फको सजाय गरेको नमिलेको भन्ने पुनरावेदन जिकिरतर्फ विचार गर्दा प्रतिवादीहरूले अधिकारप्राप्त अधिकारीसमक्ष र अदालतमा गरेको बयानमा सेवनमा साबित भई बिक्री वितरणतर्फको कसुरमा इन्कार रहेको पाइयो । प्रतिवेदक प्रहरीले पनि यी प्रतिवादीहरू बिक्री वितरणको कसुरमा संलग्न थिए भनी तथ्ययुक्त आधार खुलाई बकपत्र गरेको 

देखिएन । लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४ को खण्ड (च) र (छ) को कसुर गरेको भनी प्रतिवादीहरूउपर दाबी लिएको देखिन्छ । उक्त खण्डहरूमध्ये खण्ड (च) ले लागु औषध खरिद गर्ने, सञ्चय गर्ने राख्ने वा ओसारपसार गर्ने कार्य निषेध गरेको देखिन्छ । खरिद बिक्रीतर्फको कसुर कायम हुन सो कुरा स्वतन्त्र प्रमाणबाट स्थापित हुनुपर्ने हुन्छ । लागु औषधको सेवन तथा ओसारपसार एउटै अपराध नभई भिन्न प्रकृतिका अपराध हुन् । सेवन गर्ने गरेको तथ्य स्थापित भएको भन्ने आधारमा ओसारपसार, बिक्री वितरणको कसुर स्थापित हुने होइन । व्यापारिक कारोबार प्रकृतिको बिक्री वितरणको उद्देश्य प्रमाणित हुन आवश्यक हुन्छ । त्यसप्रकारको कारोबारको स्थिति प्रस्तुत मुद्दाका सन्दर्भमा देखिएन ।

५. पुनरावेदक प्रतिवादीहरूले लागु औषधको कारोबार गर्ने उद्देश्यबाट बरामद भएको लागु औषध खरिद गरी राखेको भन्ने देखिँदैन । बरामद भएको लागु औषध सेवन गर्नको लागि सामान्य मूल्यमा खरिद गरेको देखिन्छ । प्रतिवादीहरू लागु औषधका नियमित सेवनकर्ता रहेको भन्ने कुरा उपकार नेपाल सुधार केन्द्र, टोखामा उपचार गराएको भन्ने मिसिल संलग्न २०६८/९/५ को जो जसलाई सम्बन्ध छ भन्ने बेहोराको पत्रबाट देखिन्छ । बरामद भएको लागु औषध सेवन प्रयोजनकै लागि राखेको भन्ने कुरा पुनरावेदकहरू लागु औषध सेवन गरी लठ्ठ परेकै अवस्थामा पक्राउ परेका र सोही अवस्थामा लागु औषध बरामद भएबाट समेत पुष्टि हुन्छ । प्रतिवादी भुवन के.सी.का साक्षी मदन के.सी.ले प्रतिवादीले लागु औषध खरिद बिक्री गर्ने काम गर्दैनन् सेवन चाहीँ गर्ने गरेको थाहा छ भनी तथा प्रतिवादी सागर कार्कीका साक्षी मनोज कार्कीले पनि निजको हकमा सोही बेहोरा मिलानको बकपत्र गरेका छन् । लागु औषधको दुर्व्यसनी प्रतिवादीहरूले निषेधित लागु औषध कारोबार गर्ने उद्देश्यबाट खरिद गरी ल्याएको भन्ने तथ्य प्रमाणित नभएकोले यी प्रतिवादीहरूको हकमा लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १४ को उपदफा (१) (छ) (१) मा उल्लेख भएअनुसारको कसुर कायम हुने देखिएन ।

६. विधायिकाबाट सेवन र ओसारपसार बीचको कसुरमा पृथक सजायको व्यवस्था गरको छ । सेवनतर्फको कसुर भएको आधारमा स्वत: खरिद बिक्रीतर्फको कसुर कायम हुँदैन । यसका लागि अभियोजन पक्षले प्रमाणद्वारा पुष्टि गर्नु पर्दछ । अभियोजन पक्षले प्रतिवादीमाथि लगाएको आरोप शङ्कारहित तवरले प्रमाणित हुन नसकेमा त्यसको लाभ अभियुक्तले पाउँदछ । प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीको साथबाट बरामद भएको लागु औषध बिक्री वितरणको लागि ओसारपसार, सञ्चय गरेको तथ्य प्रमाणबाट पुष्टि भएको देखिँदैन । प्रतिवादीले अधिकारप्राप्त अधिकारी तथा अदालतमा बयान गर्दा बरामद भएको लागु औषध बिक्री वितरण, सञ्चय, ओसारपसार प्रयोजनका लागि ल्याएको होइन, कुलतको बानी परेकोले सेवन गर्नका लागि खरिद गरी ल्याएको हो भनी जिकिर गरेको देखिन्छ । सेवन गर्नका लागि पनि कुनै न कुनै मूल्य चुकाई खरिद गर्नुपर्ने, एक ठाउँबाट अर्को ठाउँसम्म लैजानुपर्ने र सेवनका लागि आफ्नो साथमा राख्नुपर्ने कुरा स्वाभाविक 

हुन्छ । यसलाई नितान्त प्राविधिक अर्थमा हेरी संकुचित अर्थमा ग्रहण गर्नु उचित हुँदैन । व्यापारिक कारोबार प्रकृतिको खरिद, सञ्चय वा ओसारपसार भएको अवस्था देखिएमा खरिद बिक्रीतर्फको कसुर कायम हुन सक्दछ । त्यसप्रकारको स्थिति नदेखिएसम्म केवल सेवन प्रयोजनका लागि केही लागु औषध खरिद गरी एक ठाउँबाट अर्को ठाउँमा गएको कार्यलाई लागु औषध खरिद बिक्री, ओसारपसार, सञ्चय गरेको भनी कसुर ठहर गर्नु मनासिब हुँदैन ।

७. तसर्थ माथि विवेचित आधार र प्रमाणहरूबाट प्रतिवादीहरू सागर कार्की र भुवन के.सी. लाई लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४ (च) को कसुर कायम गरी सोही ऐनको दफा १४(१)(छ)(१) बमोजिम ८ (आठ) वर्ष कैद र रू.२०,०००।– (बीस हजार) जरिवाना गर्ने ठहर गरेको हदसम्म पुनरावेदन अदालत हेटौंडाको मिति २०६९/१२/६ को फैसला मिलेको नदेखिँदा सो हदसम्म उल्टी भई दफा १४(१)(छ)(१) तर्फको अभियोगदाबीबाट प्रतिवादीहरूले सफाइ पाउने ठहर्छ । सेवनतर्फ लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १४ (१) (ङ) बमोजिम प्रतिवादीहरूलाई १ (एक) वर्ष कैद सजाय गरेको हदसम्म पुनरावेदन अदालत हेटौंडाबाट भएको फैसला मनासिब देखिँदा सो हदसम्म सदर हुन्छ । अरू तपसिलबमोजिम गर्नू ।

तपसिल

माथि इन्साफ खण्डमा लेखिएबमोजिम प्रतिवादीहरू सागर कार्की र भुवन के.सी. लाई लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १४(१)(छ)(१) बमोजिम जनही ८ (आठ) वर्ष कैद र रू.२०,०००।– जरिवाना गर्ने गरी भएको हदसम्म पुनरावेदन अदालत हेटौंडाको फैसला उल्टी भई दफा १४ को (१)(छ)(१) तर्फको अभियोग दाबी पुग्न नसक्ने ठहरेको हुँदा निजहरूको नाममा कायम रहेको कैद वर्ष ८ (आठ) र रू.२०,०००।- जरिवानाको लगत कट्टा गरिदिनु भनी सुरू मकवानपुर जिल्ला अदालतमा लेखी पठाई दिनू --------------------------------------------------१  

प्रतिवादीहरू सागर कार्की र भुवन के.सी. लाई लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १४(१)(ङ) बमोजिम १ (एक) वर्ष कैद सजाय गर्ने गरी भएको पुनरावेदन अदालत हेटौंडाको फैसला सदर हुने ठहरेको र उक्त कैद अवधि भुक्तान भइसकेकोले हाल थुनामा रहेका प्रतिवादीहरूलाई तत्कालै थुनामुक्त गरिदिनु भनी मकवानपुर जिल्ला अदालतमा लेखी पठाई सकिएकोले अब थप केही गरिरहनु परेन -----२

प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाई दिनू ------------------------ ३

 

उक्त रायमा सहमत छु ।

न्या. सपना प्रधान मल्ल

 

इजलास अधिकृतः जगदीशप्रसाद भट्ट 

इति संवत् २०७४ साल आषाढ २६ गते २ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु