निर्णय नं. ४३४५ - अंश

निर्णय नं. ४३४५ ने.का.प. २०४८ अङ्क ८
संयुक्तइजलास
माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ
माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल
सम्वत् २०४७ सालको दे.पु.नं. ५६५
फैसला भएको मिति : २०४८।८।६।६ मा
पुनरावेदक/प्रतिवादी : धादिङ जिल्ला भूमेस्थान गा.पं. वडा नं. ८ बस्ने श्यामबहादुर घर्ती क्षेत्री
विरुद्ध
विपक्षी/वादी : ऐ.ऐ.बस्ने धनबहादुरको संरक्षक भई मुद्दा गर्ने रुपबहादुर थापा
मुद्दा : अंश
(१) अनुमति प्राप्त गरी मुद्दा दर्ता भइसकेपछि सो सम्बन्धमा अहिले आएर संरक्षक हुनै नसक्ने व्यक्तिले फिराद दर्ता गराएको भन्न प्रासंगिक नहुनुको अतिरिक्त यस विषयको अध्याय नटुंगिसकेको मान्नु पर्ने ।
(प्रकरण नं. १०)
(२) आफ्नो हक हितको सुरक्षा आफैं गर्न नसक्ने व्यक्तिहरुको सुरक्षाको लागि नै अ.बं. ८३ नं. को प्रावधान भएको ।
(प्रकरण नं. ११)
पुनरावेदक, प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री पन्नामान तुलाधर, विद्वान अधिवक्ता श्री रक्षबहादुर क्षेत्री
विपक्षी, वादीतर्फबाट : विद्वान अधिवक्ता श्री बच्चुसिं खड्का
फैसला
न्या.ओमभक्त श्रेष्ठ
१. श्री मध्यमाञ्चल क्षे.अ.को मिति २०४६।९।९।१ को आदेश उपर पुनरावेदनको अनुमति प्राप्त भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ ।
२. पिता मेखबहादुरको जेठी श्रीमती पट्टिको छोरा विपक्ष श्यामबहादुर जन्मिएपछि निज पिताले जेठी श्रीमती चन्द्रकुमारी आफ्ना कालगतिले परलोक भएपछि मेरो आमालाई पिताले २०१० सालमा विवाह गरी म जन्मिएपछि पिता २०११ सालमा परलोक हुनुभएकोले जेठो बाबु कृष्णबहादुरको घरमा बसी आएको आमा माली पनि २०१६ सालमा अन्यत्र पोइल जानु भएबाट २०१६ सालदेखि मामा कृष्णबहादुरको घरमा गई बसेको मेरो विवाह समेत मामाले गरी दिनु भएको, २०३२।३३ सालमा जग्गा नापी सर्भे हुँदा घरको मुख्य विपक्ष श्यामबहादुर भई बसेको विपक्षको नाउँमा नापी दर्ता समेत गराएको हुनाले २०४३ साल देखि मामाको घर छोडी जहान बच्चा समेत लिई घर आउँदा घरमा बस्न खान समेत नदिएकोले मैले पाउने २ भागको १ भाग अंश दिनु होस भनी विपक्षलाई भन्दा अंश दिन्न भनी म लाटो लठेप्रो बोल्न नजान्नेलाई खान बस्न नदिएकोले निज धनबहादुरको एकाघरको उमेर पुगेको मानिस कोही नभएको हुँदा रेखदेख मैले गरी आएका हुँदा अ.बं. ८३ नं. बमोजिम संरक्षक भई दुई भागको एक भाग अंश पाउँ भन्ने समेत फिराद दावी ।
३. २०११ सालमा बाबु परलोक भएपछि पैत्रिक घर भत्की बस्ने ठाउँ नभई कान्छी आमा माली हामी दाजु भाइ माहिला बाबु कृष्णबहादुरको घरमा बसी (साविक पेज नं. ४३१) आएका थियौं । गाउँका मान्यजनहरु समेत भई कान्छी आमा माथि भएको अवस्थामा फिरादी र म बीच भएको श्रीसम्पत्तिको नरम गरम मिलाई २०१८ साल माघमा व्यवहारिक रुपमा बण्डा भएको थियो । २०३३ सालमा जग्गा सर्भे नापी हुँदा आफ्नो भागको आफ्नो नाममा नापी गरी दर्ता गरी ज.ध.प्र.पुर्जा लिएको थिएँ । पैत्रिक सम्पत्ति मेरो र श्रीमतीको नाउँमा दर्ता गरेको नभई २०१८ सालको बण्डा बमोजिम भाइ धनबहादुरको नाममा नापी भइसकेको हुँदा वादी धनबहादुरलाई अंश दिनु पर्ने छैन भन्ने समेत प्रतिउत्तर जिकिर रहेछ ।
४. एकाघरसंगका अंशियारहरु मध्ये जुनसुकै अंशियारको नाममा रहेको सम्पत्ति सगोलको सम्पत्ति हो भनी अदालतले अनुमान गर्ने भन्ने प्रमाण ऐनमा उल्लेख भएको र प्रतिवादीका साक्षी दलबहादुर घर्ती क्षेत्रीले वादी प्रतिवादी बीच अंशबण्डा भएको छैन भनी बकपत्र गरी दिएको समेत देखिँदा वादीले प्रतिवादीबाट २ भागको १ भाग अंश पाउने ठहर्छ भन्ने समेत मिति २०४५।४।३० को धादिड्ड जि.अ.को फैसला ।
५. लठेब्रो वादीलाई पाल्ने रुपबहादुरले अदालतको अनुमति लिई गरेको फिराद अ.बं. ८३ नं. को अनुशरण नभएको भन्न नमिल्ने र वादी प्रतिवादी अंशियार भएकोमा विवाद नरहेको, प्रतिवादीले अंश भएको देखिने प्रमाण पुर्याएको देखिन नआएको समेतबाट वादी दावी अनुसार २ भागको १ भाग अंश प्रतिवादीबाट वादीले पाउने ठहराएको शुरु अदालतले गरेको फैसला सदर हुने ठहर्छ भन्ने मिति २०४६।१।१२ को वागमती अं.अ.को फैसला ।
६. वादी प्रतिवादी अंशियार भएकोमा विवाद नरहेको भाइ भाइ बीच बण्डा भएको तथ्ययुक्त आधार प्रमाण पुग्न आएको समेत देखिएन । अ.बं. ८३ नं. को सम्बन्धमा प्रतिवादीले प्रतिउत्तर फिराउँदा आधार प्रमाण देखाएर विरोध गरेको वा सो समयमा जिल्ला अदालतको आदेश बदर गराउनेतर्फ प्रतिवादीले कुनै कारवाही गरेको देखिएन । धादिङ्ग जि.अ.ले रुपबहादुरले फिराद दिन पाउने अनुमति दिएको देखिँदा अब आएर सो सम्बन्धमा प्रश्न उठाई विद्वान अधिवक्ताले गर्नु भएको बहससंग सहमत हुन सकिएन । तसर्थ शुरु अदालतबाट वादीलाई अंश दिलाउने ठहराएको फैसला सदर गरेको बा.अं.अ.को फैसलामा न्या.प्र.सु. ऐन, २०३१ को दफा १३(४) अन्तर्गतको कानुनी त्रुटि विद्यमान रहेको नदेखिँदा पुनरावेदनको अनुमति प्रदान गरी रहनु परेन भन्ने म.क्षे.अ.को मिति २०४६।९।९।१ को आदेश ।
७. म.क्षे.अ.बाट मिति २०४६।९।९ मा अनुमति प्रदान नगरी भएको आदेश अ.बं. ८३ नं. र अंश बण्डाको ३० नं. को कानुनको गलत व्याख्या र गम्भीर कानुनी त्रुटि भएको हुँदा पुनरावेदनको अनुमति पाउँ भनी प्रतिवादी श्यामबहादुर घर्ती क्षेत्रीको यस अदालतमा पर्न आएको निवेदनपत्र ।
८. यसमा धनबहादुर लठेब्रो भएको हुँदा निजको हकमा संरक्षक भई अ.बं. ८३ नं. को आधारमा रुपबहादुरले प्रस्तुत मुद्दा दायर गरेको देखिन्छ । बक्क लाटा लाटीको हकमा मुद्दा मामिला सम्बन्धी अन्य कुनै काम कारवाही गर्न पर्ने भएमा अड्डाको अनुमति लिई ती मानिसहरुको एकाघरसंग बसेका सो¥ह वर्ष नाघेको हकवालाले गर्न पाउने छ एकाघरका हकवाला नभएमा निजलाई रेखदेख वा संरक्षण गर्ने व्यक्तिले अड्डाको अनुमति लिई सो व्यक्तिको तर्फबाट मुद्दा मामिला सम्बन्धी काम कारवाही गर्न पाउने कानुनी व्यवस्था अ.बं. ८३ नं. मा उल्लेख भएको पाइन्छ । एकाघर सगोलका हकवालाको अभावमा मात्र त्यस्ता व्यक्तिहरुको संरक्षण गर्ने व्यक्तिबाट त्यस्ता व्यक्तिहरुको हकको संरक्षण हुन सक्ने कानुनी व्यवस्थाको मनसाय रहेको, तर प्रस्तुत मुद्दाको धनबहादुर वादी बक्क लाटो नभई लठेब्रोसम्म भएको भन्ने कुरा फिरादमा नै उल्लेख रहेको, साथै धनबहादुरको एकासगोलकी श्रीमती निजको साथमा नै रहे भएको कुरालाई वादीले अन्यथा भन्न नसकेको धन (साविक पेज नं. ४३२) बहादुरको संरक्षक भई रुपबहादुरले प्रस्तुत मुद्दा दायर गरेको स्थिति अवस्थामा दावी बमोजिम प्रतिवादीबाट एकभाग अंश पाउने ठहराएको फैसला उपर पुनरावेदनका अनुमति दिन इन्कार गरेको म.क्षे.अ.को आदेशमा अ.बं. ८३ नं. को त्रुटि देखिँदा न्या.प्र.सु.ऐन, २०३१ को दफा १३(५)(ख) र दफा ७ अनुसार पुनरावेदनको अनुमति दिइएको छ भन्ने यस अदालत संयुक्तइजलासबाट मिति २०४६।१२।९ मा भएको आदेश ।
९. नियम बमोजिम इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीतर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री पन्नामान तुलाधर, विद्वान अधिवक्ता श्री रक्षबहादुर क्षेत्रीले वादी बक्का लाटो होइन लठेब्रोसम्म हो, रुपबहादुर, धनबहादुरको संरक्षक होइन । धनबहादुरको एकाघरकी श्रीमती संरक्षक छँदा छँदै रुपबहादुरले धनबहादुरको संरक्षक भई फिराद दिने हकदैया नै छैन । अतः यस अदालतबाट मिति २०४६।१२।९ मा भएको ओदश बमोजिम इन्साफ हुनुपर्छ भनि गर्नु भएको बहस र वादीतर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री बच्चुसिंह खड्काले रुपबहादुरले धनबहादुरको तर्फबाट अंशमा नालिश दिन अनुमति पाउँ भनी धादिङ जि.अ.मा मिति २०४४।३।१४ मा निवेदन दिई सोही अदालतबाट मिति २०४४।४।२१ मा फिराद गर्न अनुमति पाई फिराद गरेको हो । अनुमतिको आदेश बदर गराउन प्रतिवादीले कुनै कारवाही गरेको देखिएन । प्रतिउत्तर फिराउँदा रुपबहादुर संरक्षक हुन नसक्ने भनी आधार प्रमाण देखाएर विरोध उठाएको भए शुरु अदालतले नै अ.बं. ८३ नं. बमोजिम रुपबहादुर संरक्षक हुन सक्ने नसक्नेतर्फ निपटारा गरिन्थ्यो होला । अब आएर त्यस विषयमा प्रश्न उठाउन नै मिल्दैन भनी गर्नु भएको बहस समेत सुनियो ।
१०. मध्यमाञ्चल क्षेत्रीय अदालतबाट भएको आदेश मनासिब बेमनासिब के रहेछ भनी निर्णयतर्फ विचार गर्दा यसमा वादी प्रतिवादी दुई दाजु भाइ भएको कुरामा विवाद देखिएन । भाइ भाइ बीच बण्डा भएको तथ्ययुक्त आधार प्रमाण पुग्न आएको समेत देखिँदैन । जहाँसम्म अ.बं. ८३ नं. बमोजिम धनबहादुरको संरक्षक भई रुपबहादुरले फिरादपत्र दिन सक्ने नसक्ने भन्ने प्रश्न छ, पहिलो चरणमा रुपबहादुरको धादिङ जिल्ला अदालतमा निवेदन परी सो निवेदन उपर कारवाही भई धादिङ जिल्ला अदालतबाट सम्बन्धित भुमेस्थान गाउँ पञ्चायत कार्यालय बुझी सो गा.पं.बाट मिति २०४४।४।८ को पत्रको आधारमा समेत रुपबहादुरको फिराद दिन पाउने अनुमति प्राप्त गरी प्रस्तुत मुद्दा दायर भएको देखिन्छ । त्यस बखत रुपबहादुर, धनबहादुरको संरक्षक हुन सक्ने व्यक्ति होइन र निजको संरक्षक भई फिराद दर्ता गर्ने अनुमति पाउन पर्ने होइन भनी फिराद दर्ता गर्न अनुमति प्राप्त आदेश उपर प्रारम्भिक उजूरी प्रतिवादीले गर्न सकेको देखिँदैन । यसरी अनुमति प्राप्त गरी मुद्दा दर्ता भइसकेपछि सो सम्बन्धमा अहिले आएर संरक्षक हुनै नसक्ने व्यक्तिले फिराद दर्ता गराएको भन्न प्रासंगिक नहुनुको अतिरिक्त यस विषयको अध्याय नै टुड्डी सकेको मान्नु पर्ने हुन आउँछ ।
११. अब दोश्रो चरणतर्फ विचार गर्दा प्रतिवादीले प्रतिउत्तरपत्र फिराउँदा समेत यो यस आधारमा र यो यस प्रमाण देखाएर खण्डन गर्न सकेको समेत नपाइनुको साथै फिरादपत्रमा श्रीमती छ तापनि हाल गर्भवती भएकी भनी उल्लेख गरेकोलाई पनि प्रतिवादीले खण्डन गर्न सकेको नदेखिएको साथै आफ्नो हक हितको सुरक्षा आफैं गर्न नसक्ने वादी जस्तो व्यक्तिहरुको सुरक्षाको लागि नै अ.बं. ८३ नं. को प्रावधान भएको र वादीको आफ्नो फिराद अ.बं. ८३ नं. अन्तर्गत नै दिएको देखिँदा मिति २०४६।९।९ मा मध्यमाञ्चल क्षेत्रीय अदालतले अनुमति प्रदान नगरेको आदेशलाई अन्यथा भन्न नमिली पुनरावेदक प्रतिवादीतर्फका विद्वान अधिवक्ताको बहस जिकिरसंग सहमत हुन सकिएन । शुरु धादिङ जिल्ला अदालतको इन्साफ सदर गरेको वागमती अञ्चल अदालतको फैसला मनासिब ठहर्छ । मिसिल नियम बमोजिम बुझाई दिनु ।
उक्त रायमा म सहमत छु । न्या.लक्ष्मणप्रसाद अर्याल
इतिसम्वत् २०४८ साल मार्ग ६ गते रोज ६ शुभम् ।
(साविक पेज नं. ४३३)