निर्णय नं. १०२१३ - निर्णय दर्ता बदरसमेत

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र
माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ
फैसला मिति : २०७४।७।२७
०६४-CI-०९७०
मुद्दा: निर्णय दर्ता बदरसमेत
पुनरावेदक / वादी : काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं.२३ बसन्तपुर बस्ने सूर्यमाया कर्माचार्यको मु.स. गर्ने जयन्द्र कर्माचार्य
विरूद्ध
प्रत्यर्थी / प्रतिवादी : जिल्ला भक्तपुर, भक्तपुर नगरपालिका वडा नं. १२ बस्ने कुमार खाइतूसमेत
संविधान प्रदत्त कुनै पनि मौलिक हक परित्याग गर्न नमिल्ने ।
मौलिक हकबाहेकका हक सम्बन्धित व्यक्तिले परित्याग गरेको कुराको जानकारी राख्दछ र सो कुरा कानूनद्वारा निषेधित छैन वा सार्वजनिक नैतिकता विरूद्ध छैन भने त्यस्तो अवस्थामा कानून प्रदत्त हक छाड्न सक्ने ।
अर्काको चल अचल सम्पत्तिलाई उनाउ व्यक्तिको हो भनी लेखाई दिने अधिकार नै नराख्ने व्यक्तिले कुनै सरकारी कार्यालयमा गएर लेखाई दिएकै आधारमा कुनै सम्पत्तिमा कानूनबमोजिम हक स्थापित भएको व्यक्तिको हक समाप्त नहुने ।
(प्रकरण नं.७)
पुनरावेदक / वादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री बद्रीबहादुर कार्की, श्री शम्भु थापा, श्री पन्नामान तुलाधर, श्री इन्द्र खरेल र अधिवक्ताहरू श्री लक्ष्मीप्रसाद अधिकारी र देवेन्द्र झा
प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री बाबुराजा जोशी, श्री श्यामप्रसाद खरेल, श्री हरिहर दाहाल तथा विद्वान् अधिवक्ता श्री मेघराज भट्ट
अवलम्बित नजिर :
ने.का.प.२०६०, अंक १२, नि.नं.७१६६
सम्बद्ध कानून :
सुरू फैसला गर्ने :
मा.न्या. श्री सुष्मलता माथेमा
भक्तपुर जिल्ला अदालत
पुनरावेदन तहमा फैसला गर्ने:
मा.न्या. श्री लक्ष्मणमणी रिसाल
मा.न्या. श्री आत्माराम भट्टराई
पुनरावेदन अदालत पाटन
फैसला
न्या.विश्वम्भरप्रसाद श्रेष्ठ : न्याय प्रशासन ऐन, २०४८ को दफा १२ बमोजिम मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान भई यस इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार रहेको छ:
ससुरा भैरवबहादुर कर्माचार्यको नाममा नाप नक्सा भएको भक्तपुर जिल्ला, सिपाडोल गा.वि.स. वडा नं. ९ कि.नं. १०९ को क्षेत्रफल ४-१-०, ऐ. कि.नं. १२८ को क्षेत्रफल ०-४-० र ऐ. कि.नं. १३१ को क्षेत्रफल १-१४-० जग्गाको मोही गणेशलाल सिल्पकार भएकोमा सो जग्गामध्ये कि.नं. १०९ र १२८ को जग्गा मोहीले मिति २०३८।११।११ मा जोत छोडपत्र गरिदिएकाले मैले र विपक्षी डिल्लीबहादुरले भोगचलन गरी आएका थियौं । साबिक कि.नं. ८३ मध्येको जग्गाबाट भिड्ने मेरो आधा हक लाग्ने जग्गालाई विपक्षी डिल्लीबहादुर कर्माचार्यले प्रतिवादी कुमार खाइतूको जग्गा हो भनी मिति २०४६।१२।१९ मा मन्जुरी गरिदिएकाले म फिरादीको आधा हक मेटिने गरी विपक्षी कुमार खाइतूको नाउँमा दर्ता गर्ने गरी मालपोत कार्यालयबाट मिति २०४६।१२।२० मा भएको निर्णयसमेत बदर गरी कि.नं. १०९ को जग्गाको पश्चिमतर्फको क्षेत्रफल २-०-२ र कि.नं. १२८ को उत्तरतर्फको ०-२-० जग्गा मुलुकी ऐन जग्गा पजनीको १७ नं. र जग्गा मिच्नेको १८ नं. को आधारमा मेरो नाउँमा दर्ता गरिपाउँ भन्नेसमेत बेहोराको सुर्यमाया कर्माचार्यले भक्तपुर जिल्ला अदालतमा दायर गरेको फिराद पत्र ।
पिता भैरवबहादुर कर्माचार्यको नाउँमा नापी भएको भक्तपुर सिपाडोल गा.वि.स. वडा नं. ९ कि.नं. १०९, १२८, र १३१ को जग्गाहरूको मोही गणेशलाल शिल्पकार हुनुहुन्थ्यो । वहाँले जोत कमोद गर्न नसकेकोले मिति २०३८।११।११ मा जोत छोडपत्र गरिदिनुभएको छ । सोही मितिमा जग्गाधनीलाई कुत बुझाउनु भनी आमा तेजमाया कर्माचार्यले विपक्षीहरूलाई कबुलियत गरिदिनु भए तापनि विपक्षीले जग्गा नकमाई हामीले नै भोगचलन गरी आएका छौँ । उक्त जग्गा दर्ता गरी जग्गाधनी प्रमाण पुर्जा लिन भूमिसुधार कार्यालय, भक्तपुरमा मिति २०४६।१२।१२ मा विपक्षीले निवेदन दिएको, मिति २०४९।१२।१९ मा निजका नाममा दर्ता गरिदिन मैले मन्जुरी छोडपत्र गरेको छैन । मैले जानीजानी छोडपत्र गरेको छैन । आफ्नो हक भोगको जग्गा विपक्षीले के-कुन तरिकाले दर्ता गरी जग्गाधनी प्रमाणपुर्जा लिएका हुन थाहा भएन । मेरो एकलौटी हक भएको जग्गा कुमार खाइतूले दर्ता गर्न पाउने पनि
होइन । दाबी गर्न पाउने पनि होइन । वादी दाबी खारेज गरी मुद्दाबाट अलग फुर्सद गरिपाउँ भन्नेसमेत बेहोराको प्रतिवादी डिल्लीबहादुर कर्माचार्यले भक्तपुर जिल्ला अदालतमा पेस गरेको प्रतिउत्तर पत्र ।
दाबीको जग्गा हाल साबिक भिडाई दर्ता गर्न बाँकी भएकोले मेरो नाउँको साबिक रै.प. भएको न.नं. १४४ को जग्गासँग भिडाई दर्ता गर्नको लागि सिपाडोल गा.वि.स.बाट मिति २०४६।१२।१२ मा सिफारिस प्राप्त गरी जग्गा दर्ताका लागि निवेदन दिई मालपोत कार्यालयको आदेशानुसार डिल्लीबहादुर कर्माचार्यले मिति २०४६।१२।१९ मा फिल्डबुकमा मेरो पिताको नाम लेखिए तापनि पिताको जग्गा होइन भनी लिखित उजुरी दिएकोले मिति २०४६।१२।२० को निर्णयअनुसार मेरो नाममा दर्ता भई उक्त जग्गा मैले भोगचलन गरी आएको छु । कि.नं.१२८ को जग्गामा राजमार्गको सिमा रेखामा परिसकेको छ । वादीले देखाएको साबिक न.नं.का जग्गाहरू कि.नं.१३१ मा भिडाई दर्ता गरिसकेको र विपक्षीहरूले उक्त कि.नं.१०९, १२८ र कि.नं.१३१ को जग्गा दर्ता गर्ने सिलसिलामा दिएको निवेदनमा नै उक्त जग्गा म प्रतिवादीलगायतका अन्य व्यक्तिका नाममा दर्ता भइसकेको भनी मिति २०५४।०९।२९ मा नै मोठ भिडाइदिएको कारण दर्ता भइसकेको थाहा पाउन विपक्षीले पुन: आफ्नो नाउँमा साबिक नै नभएका र भएको साबिक कि.नं. १३१ मा दर्ता भइसकेको हुँदा कि.नं.१०९ र १२८ म प्रतिवादीको जग्गा भन्ने पुष्टि भइरहेको र केबल मोहीले फिल्डबुकमा अर्का व्यक्तिलाई जग्गाधनी देखाउँदैमा वास्तविक म जग्गाधनीको हक नजाने र निज मोही गणेशलालले मलाई नै कुत बुझाउन छोडी मैले कमाई आएको जग्गा विपक्षीको नभएको हुँदा फिराद दाबी नपुग्ने गरी दाबीको जग्गा मेरो ठहर्याई इन्साफ गरिपाउँ भन्नेसमेत बेहोराको कुमार खाइतूले भक्तपुर जिल्ला अदालतमा दिएको प्रतिउत्तर पत्र ।
वादीले विवादित जग्गा प्रतिवादी कुमार खाइतूका नाममा स्रेस्ता कायम भएको जानकारी मिति २०५४।९।२९ मा नै प्राप्त गरिसकेकोमा सो कुरा नदेखाई नक्कल सारेको आधारमा फिराद गर्न आएको र निजले पेस गरेको लगतअनुसार मालपोत कार्यालयबाट भैरवबहादुर कर्माचार्यको नाममा बिर्ता लगत मात्र प्राप्त हुन आएको तथा वादीले हकको स्रोत भनी देखाएको लगतको क्षेत्रफलसमेत ठुलो अनुपातमा फरक परी सो साबिक लगतसँग नभिडेको देखिँदा वादी दाबी पुग्न नसक्ने ठहर्छ भन्नेसमेत बेहोराको भक्तपुर जिल्ला अदालतबाट भएको फैसला ।
म पुनरावेदक वादीले मिति २०५४।०९।२९ मा नै थाहा पाएको कथन आधारहीन र बेप्रमाणको छ भने अर्कोतर्फ ससुरा भैरवबहादुरको नाउँमा बिर्ता लगत मात्र पेस गरेको भन्ने जुन कुरा उल्लेख भएको छ, त्यो तथ्यलाई अदालत स्वयंले बङ्ग्याएको छ । म फिरादीले आफ्नो फिरादसाथ मिति २०२२।१२।१६ को रै.प.८३ नं.को रसिदको प्रतिलिपि पेस गरेको छु । स्व. भैरवबहादुर कर्माचार्यको नाउँमा मिति २०२२।१२।१६ को रै.प.८३ नं.को प्रतिलिपिलाई किर्ते वा अपरिपक्व भएको भन्ने कुरा प्रमाणित हुनुपर्यो वा रसिदको जग्गा अन्यत्र दा.खा. भइसकेको भन्ने देखिनुपर्यो । सो पनि छैन भने अर्कोतर्फ रै.प. नभएको जग्गा भए २०२४ सालमा कसरी तत्कालीन जि.प.मा गएर बाली दाखिला भयो ? मोही गणेशलाल सिल्पकारले मिति २०३३।११।११ मा स्व. सासू तेजमायालाई छोडपत्र गरी दिएको जग्गा विवादित लगतभित्रको जग्गा नभए कुन लगतबाट भिड्ने हो ? भन्ने प्रश्नहरू अनुत्तरित रहनुको अतिरिक्त विपक्षीको रै.प. भएको कुन लगत हो ? साबिकको लगत कति नं. को हो ? जग्गा कसले जोत कमोद गरेको हो ? यदि विपक्षीको जग्गा हुँदो हो त विपक्षीले किन आफ्नो नाउँमा नापी नक्सा गराएनन् ? वा नापीमा तत्काल दाबी विरोध एवं संशोधन किन गराएनन् ? आदि यथार्थ तथ्यहरू र तत्सम्बन्धी प्रमाणहरूको मूल्याङ्कन नगर्नु तथा स्वयं प्रतिवादीले अ.बं. ७८ नं. बमोजिम देख्न सुन्न पाउँ भनेको प्रमाणलाई समेत विपक्षीलाई नदेखाई नसुनाई भक्तपुर जिल्ला अदालतले प्रमाणको सही मूल्याङ्कन र विवेचना नगरी गरेको फैसला बदर गरिपाउँ भन्नेसमेत बेहोराको पुनरावेदन अदालत पाटनमा परेको सुर्यमाया कर्माचार्यको पुनरावेदन पत्र ।
प्रत्यर्थी कुमार खाइतूले मिति २०३८।११।११ मा मोहीको कबुलियतनामा गरिदिएको कागजको प्रतिलिपि फिरादसाथ पेस भएको देखिनाले वादी दाबी नपुग्ने ठहर्याएको फैसला फरक पर्नसक्ने हुनाले छलफलको लागि प्रत्यर्थीलाई झिकाउनु भन्नेसमेत बेहोराको पुनरावेदन अदालत पाटनको आदेश ।
मिति २०३८।११।११ मा कुमार खाइतूले तेजमायालाई गरिदिएको भनेको सक्कलै लिखत वादी पुनरावेदकबाट दाखिल गराई अ.बं.७८ नं. बमोजिम प्रतिवादी पक्षलाई सुनाई नियमानुसार पेस गर्नु भन्ने पुनरावेदन अदालत पाटनबाट भएको आदेश ।
सूर्यमायाको मुद्दा सकार गर्ने जयन्द्रबहादुर कर्माचार्यको वारेस केशव कर्माचार्यले पेस गरेको मिति २०३८।११।११ को कुमार खाइतूले तेजमायालाई गरिदिएको सक्कल कागज सद्दे साँचो हो भन्नेसमेत बेहोराको प्रतिवादी डिल्लीबहादुर कर्माचार्यले पुनरावेदन अदालत पाटनमा गरेको अ.बं. ७८ नं. बमोजिमको बयान ।
मिति २०३८।११।११ को कुमार खाइतूले तेजमाया कर्माचार्यलाई गरिदिएको भनेको कागजमा भएको सहिछाप कुमार खाइतूको हो । तर उक्त कागजमा निजलाई झुक्याई सहिछाप गराएको हो भन्नेसमेत बेहोराको प्रतिवादी कुमार खाइतूको वारेसले पुनरावेदन अदालत पाटनमा गरेको अ.बं.७८ नं. बमोजिमको बयान ।
मिति २०३८।११।११ को लिखतमा भएको सहिछाप कुमार खाइतूको हो । सो लिखतसम्बन्धी कुनै जालसाज गरिएको छैन भन्नेसमेत बेहोराको सुर्यमायाको मुद्दा सकार गर्ने जयन्द्रबहादुर कर्माचार्यको वारेस केशव कर्माचार्यले पुनरावेदन अदालत पाटनमा गरेको अ.बं.७८ नं. बमोजिमको बयान ।
प्रतिवादीमध्येका डिल्लीबहादुर कर्माचार्यले मिति २०४६।१२।२२ मा प्रतिवादी कुमार खाइतूको नाउँमा दर्ता गर्दाकै अवस्थामा विवादित जग्गा आफ्ना बाबुको हकको जग्गा होइन । प्रतिवादीका नाउँमा दर्ता गरिदिए हुन्छ भनी मन्जुरी दिई अड्डामा आई सनाखतसमेत गरिदिएको पाइन्छ । हाल यस अदालतमा सो मन्जुरीनामा देखाउँदासमेत आफूले गरिदिएको सद्दे लिखत हो भन्नुभएको छ । वादीको लगत हेर्दा जग्गा १-०-१-० देखिन्छ । जबकि प्रतिवादीको नं. १४४ को १६ नं. चुपीगाल भन्ने जग्गा २ खला गरी ४-८-० देखिन्छ भने नापीमा कि.नं.१०९ र १२८ को जग्गा क्षेत्रफल ४-५-० देखिन्छ । वादीको लगतको क्षेत्रफल नै स्वाभाविक देखिँदैन । फिल्डबुकमा मोहीले नाम लेखाइदिँदैमा कसैको हक सृष्टि हुँदैन । जहाँसम्म मिति २०३८।११।११ को लिखत छ, त्यो मोहीको विषयमा भए पनि भूमिसम्बन्धी ऐन, २०२१ को दफा २५ बमोजिम भएको कबुलियत होइन । तेजमायाको नाममा जग्गाधनी कायम भएको अवस्था पनि देखिँदैन । त्यस्तो लिखत जालसाजी होइन भनी बयान गरे पनि सो लिखत कानूनी मान्यता प्राप्त लिखत नभएको अवस्थामा जालसाजी हो होइन भनी बोलिरहन आवश्यक पनि देखिँदैन । विबन्धनको हकमा विचार गर्दा पनि लगत प्रमाणले भिड्ने कुरामा कसैले घरसारमा केही लेखिदिँदैमा हक सर्ने वा समाप्त हुने देखिँदैन । आफ्नै गा.वि.स. भित्रको जग्गा सम्बन्धमा गा.वि.स.ले गरेको सिफारिस दूषित हुन्छ भन्न पनि मिल्दैन । भैरवबहादुरको साख्य छोराले बाबुको हकको जग्गा होइन भनी अड्डामा गरेको सनाखत कागजको कुरा सुर्यमायाको हकमा पनि लागू हुने देखिन्छ । मन्जुरी लिखतलाई वादीले चुनौती दिन सक्नु पर्दछ । तसर्थ वादी दाबी पुग्न नसक्ने ठहर्याई भएको फैसला सदर हुने ठहर्छ भन्नेसमेत बेहोराको पुनरावेदन अदालत पाटनबाट भएको फैसला ।
स्व. लालसिंह र स्व. ससुरा भैरवबहादुरको नाउँको १६ नं. चुपीगाल मौजाको ६-०-० बाट भिड्ने विवादका जग्गाहरू २०२१ सालको नापीमा जग्गाधनी भैरवबहादुर र जोताहामा गणेश सिल्पकारको नाउँमा नाप नक्सा भएको कुरा पुनरावेदन अदालतको फैसलाले स्वीकार गरेकै छ । उक्त जग्गा विपक्षी कुमार खाइतूको हक भोगको भए २०२१ सालको नापीमा उपस्थित भई आफ्नो नाउँमा लेखाउनु पर्नेमा लेखाएको छैन । नापी दर्ता भएको जग्गा दर्ता गरी जग्गाधनी प्रमाणपुर्जा लिई दा.खा. नामसारी गर्न प्रचलित कानूनले कुनै म्याद सीमा तोकेको छैन । यस्तोमा मिति २०५३।१२।२९ सम्म नामसारीको कारबाही नउठाएका र मिति २०५५।०५।१६ मा मात्र फिराद गर्न आएको भन्नेसमेत आधारमा मलाई हराउने गरी भएको फैसलामा कानून तथा यस अदालतबाट प्रतिपादित नजिरसमेतको त्रुटि रहेको छ । विपक्षी डिल्लीबहादुर र मबिचमा २०४३ सालमै रीतपूर्वक बन्डापत्र पारित भई छुट्टिइसकेको अवस्था छ । यस्तोमा २०४६ सालमा आएर जग्गाको सम्बन्धमा निजले व्यक्त गरेको कुरा मेरो विरूद्धमा प्रमाणमा लाग्ने होइन । जग्गाको क्षेत्रफलको सम्बन्धमा भैरवबहादुरको पिता लालसिंहको नाउँमा १६ नं. चुपीगाल मौजाको ६-२-०-० रहेकोमा लालसिंहका ३ छोराहरूले भैरवबहादुरको नाउँको १-०-० रोपनीसमेतको हिसाब मूल्याङ्कन गरी कि.नं. १०९, १२८ का जग्गा भैरवबहादुरको नाउँमा जग्गाधनी जनिई नाप नक्सा भएकोले क्षेत्रफलसमेत मिलिरहेकै अवस्थामा क्षेत्रफलसमेत नभिडेको भनी गरिएको फैसला त्रुटिपूर्ण रहेकोले मुद्दा दोहोर्याई हेरिपाउँ भन्नेसमेत बेहोराको सुर्यमाया कर्माचार्यको मु.स. गर्ने जयन्द्र कर्माचार्यको यस अदालतमा परेको निवेदन ।
यसमा नापीको फिल्डबुकमा मोही गणेशलालले जग्गाधनी भैरवबहादुर भनी लेखाइदिएको अवस्था र मिति २०३८।११।११ मा कुमार खाइतूले वादीलाई जग्गाधनी मानी कबुलियत लिखत गरिदिएको अवस्थामा त्यस्तो लिखतबाट निरूपण नगरी गरेको पुनरावेदन अदालतको फैसलामा अ.बं.७८ र १८४ नं. को तथा प्रमाण ऐन, २०३१ को दफा ५४ को व्याख्यात्मक त्रुटि देखिँदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) बमोजिम मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान गरिदिएको छ भन्नेसमेत बेहोराको यस अदालतबाट भएको आदेश ।
वादीले साबिकको क्षेत्रफल ६-२-० भनी झुठा बेहोरा उल्लेख गरी पुनरावेदन गरेको हो । निजले मालपोत कार्यालयमा दर्ता माग गर्दा पनि १-०-१-० उल्लेख गरी माग गरेकाले अदालतलाई भ्रममा राख्ने नियतले त्यसरी उल्लेख गरेको देखिन्छ । डिल्लीबहादुरले मालपोत कार्यालयमा उपस्थित भई सनाखत गरेको अवस्था छ । विपक्षीहरूले पुनरावेदन अदालतमा पुनरावेदन गर्दा पनि छुट्टी भिन्न भइसकेको भन्ने उल्लेख गरेको छैन । घरको मुख्य व्यक्ति डिल्लीबहादुर नै हुन् । विवादसँग सम्बन्धित प्रमाणको मूल्याङ्कन गरी वादी दाबी नपुग्ने ठहर गरेको सुरू अदालतको फैसला सदर गरेको पुनरावेदन अदालतको फैसला सदर हुनुपर्दछ भन्नेसमेत बेहोराको कुमार खाइतूको यस अदालतमा परेको लिखित प्रतिवाद ।
विवादित कि.नं. १०९ र १२८ को जग्गा साबिकमा सोही प्रमाणपत्र भए नभएको के हो ? मोही लगत कायम भएको वा कट्टा भएको के हो ? मिसिल विवरण पठाउनु भनी भूमि सुधार कार्यालय, भक्तपुरमा लेखी पठाउनु भन्नेसमेतको मिति २०७१।१०।२६ को यस अदालतको आदेशानुसार भूमि सुधार कार्यालयलाई पत्राचार गर्दा उक्त कार्यालयबाट मोही प्रमाणपत्र रेकर्डबाट नदेखिएको, १ नं. पारिवारिक लगतको फोटोकपी पठाइएको, मोही लगत कट्टा भएको रेकर्डबाट नदेखिएको भन्नेसमेतको बेहोरा उल्लेख भई आएको पत्र मिसिल संलग्न रहेको देखियो ।
नियमबमोजिम पेसी सूचीमा चढी इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको मिसिल संलग्न सम्पूर्ण कागज अध्ययन गरियो । पुनरावेदकको तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री बद्रीबहादुर कार्की, श्री शम्भु थापा, श्री पन्नामान तुलाधर, श्री इन्द्र खरेल र अधिवक्ताहरू श्री लक्ष्मीप्रसाद अधिकारी र देवेन्द्र झाले विवादित जग्गाको साबिक मोही फिल्डबुकमा गणेशलाल सिल्पकार भएकोमा विवाद छैन । विपक्षी कुमार खाइतूले समेत सो कुरा इन्कार गरेको छैन । २०२८ सालमा मोही गणेशलालले मोही छोडपत्र गरिदिएको र सो अवस्थामा दर्तावाला भैरवबहादुर परलोक भइसकेकोले निजकी श्रीमती तेजमाया कर्माचार्यलाई मोही हक छोडपत्र गरिदिएको अवस्था छ । प्रत्यर्थी डिल्लीबहादुर कर्माचार्यले कुमार खाइतूलाई कि.नं. १०९ र १२८ को जग्गा कमाउनको लागि गरिदिएको कबुलियतलाई अन्यथा प्रमाणित गराई बदर गराउनसमेत नसकेको स्थितिमा हाल आएर कबुलियत विरूद्ध चुनौती गर्न विबन्धनको सिद्धान्तसमेतले रोक्छ । नापी दर्ता भएको जग्गा दर्ता गरी दा.खा. नामसारी गर्न प्रचलित कानूनले कुनै सीमा नतोकेको हुँदा जहिलेसुकै दर्ता माग गर्न सकिने
हुन्छ । यस्तो स्थितिमा बन्डा भइसकेका डिल्लीबहादुर कर्माचार्यले गरेको कागजसमेतको आधार लिई भएको फैसला त्रुटिपूर्ण छ । यस अदालतबाट मुद्दा दोहोर्याई हेर्न प्रदान भएको निस्सा आदेश पनि त्यसैतर्फ लक्षित भएको देखिँदा तदनुरूप पुनरावेदन अदालतको फैसला उल्टी होस् भनी बहस प्रस्तुत गर्नुभयो ।
प्रत्यर्थी कुमार खाइतूको तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री बाबुराजा जोशी, श्री श्यामप्रसाद खरेल, श्री हरिहर दाहाल तथा विद्वान् अधिवक्ता श्री मेघराज भट्टले वादीले पेस गरेको लगत हेर्दा वादीको जग्गा १-०-१-० देखिएको छ । जबकि प्रतिवादी कुमार खाइतूले पेस गरेको लगतमा १६ चुपीगाल भन्ने जग्गा ४-८-० देखिन्छ भने नापीमा कि.नं. १०९ र १२८ को जग्गाको क्षेत्रफल ४-१-० देखिएको हुँदा क्षेत्रफल भिडेको छैन । ऐन, कानूनले प्रस्ट प्रमाणित भइरहेको कुरामा विबन्धन लाग्ने पनि होइन । पुनरावेदकले उल्लेख गरेको कबुलियतनामा भूमिसम्बन्धी ऐन, २०२१ को दफा २५ बमोजिमको रीतपूर्वकको समेत नभएको र पुनरावेदककै अंशियार हकवालाले उल्लिखित जग्गाहरू कुमार खाइतूको हो भनी अड्डामा सनाखतसमेत गरिदिएको अवस्था भएकोले उल्लिखित तथ्य प्रमाणको आधारहरूबाट हेर्दा पुनरावेदन अदालतको फैसला सदर हुनुपर्छ भनी बहस प्रस्तुत गर्नुभयो ।
उपर्युक्तबमोजिमको तथ्य एवं बहस जिकिर रहेको प्रस्तुत मुद्दामा पुनरावेदन अदालत पाटनबाट भएको फैसला मिलेको छ वा छैन ? पुनरावेदक वादीको पुनरावेदन जिकिर पुग्न सक्ने हो वा होइन ? सोही सम्बन्धमा निर्णय दिनुपर्ने देखिन आयो ।
२. निर्णयतर्फ विचार गर्दा, ससुरा भैरवबहादुर कर्माचार्यको नाममा नाप नक्सा भएको मेरो आधा हक लाग्ने कि.नं.१०९ र १२८ को जग्गालाई विपक्षी डिल्लीबहादुर कर्माचार्यले विपक्षी कुमार खाइतूको जग्गा हो भनी मन्जुरी गरिदिएकोले कुमार खाइतूको नाममा जग्गा दर्ता गर्ने गरेको मालपोत कार्यालय, भक्तपुरको मिति २०४६।१२।२० निर्णयले मेरो आधा हक गुमेकोले उक्त निर्णय बदर गरी उल्लिखित दुवै कित्ता जग्गा मेरा नाउँमा दर्ता गरिपाउँ भन्ने फिराद दाबी रहेको तथा दाबीको जग्गा वादीका ससुरा भैरवबहादुरको जग्गा हो भनी वादीले देखाए तापनि वास्तविक जग्गाधनी म प्रतिवादी नै हुँ । वादी र प्रतिवादीमध्येका डिल्लीबहादुरले हालसम्म पनि कहिल्यै सो जग्गा भोगचलन नगरेको र मेरै नाउँमा रही मैले नै भोगचलन गरी आएको फिराद दाबी नपुग्ने ठहर्याई पाउँ भन्ने कुमार खाइतूको प्रतिउत्तरपत्र रहेको छ । प्रस्तुत मुद्दामा सुरूले वादी दाबी पुग्न नसक्ने ठहराई गरेको फैसलाउपर वादीको तर्फबाट पुनरावेदन परी पुनरावेदन अदालतबाट सुरू फैसला सदर गर्ने गरी फैसला भएकोले सोउपर मुद्दा दोहोर्याउने निवेदन परी यस अदालतबाट दोहोर्याउने निस्सा भई पेस पुनरावेदनको रोहमा पेस हुन आएको देखियो ।
३. भैरवबहादुर कर्माचार्य र तेजमायाको २ छोरा भएकोमा जेठो महन्त र निजको श्रीमती वादी सूर्यमाया कर्माचार्य भएको तथा कान्छो छोरा डिल्लीबहादुर कर्माचार्य भएको तथ्यमा विवाद देखिँदैन । विवादित कि.नं.१०९ र १२८ को जग्गाको भूमि सुधार कार्यालय, भक्तपुरबाट प्राप्त मोहीको १ नं. लगतको प्रतिलिपिबाट जग्गावालाको महलमा भैरवबहादुर कर्माचार्य भन्ने उल्लेख भएको देखिएको छ । तर उक्त जग्गाहरू निज भैरवबहादुरको मृत्युपश्चात् कानूनबमोजिम निजको हक खाने व्यक्तिहरूको नाममा नामसारी भए गराएको अवस्था देखिएको
छैन । उक्त जग्गाहरू मालपोत कार्यालय भक्तपुरको मिति २०४६।१२।२० को निर्णयबाट प्रतिवादीहरूमध्येका कुमार खाइतूको नाममा दर्ता भएको मिसिल संलग्न उक्त निर्णयको टिप्पणी आदेशको प्रतिलिपिबाट देखिन्छ । सो जग्गाहरू कुमार खाइतूको नाममा दर्ता भएको कुरा वादी सुर्यमाया कर्माचार्यले मिति २०५५।४।१८ मा मालपोत कार्यालयको निर्णयको प्रतिलिपि लिई थाहा पाएको भनी फिराद दाबी गरेको देखिन्छ । मुलुकी ऐन जग्गा पजनीको १७ नं. को कानूनी व्यवस्था हेर्दा “...एकाको हकको जग्गा अर्काले दर्ता गराएकोमा थाहा पाएको मितिले छ महिनाभित्र र अरू कुरामा भए गरेको मितिले दुई वर्षभित्र नालिस नदिए लाग्न सक्दैन" भन्ने उल्लेख भएको देखिन्छ । उक्त कानूनी व्यवस्थाअनुसार आफ्नो हकको जग्गा अरू कसैले दर्ता गराएको रहेछ भने सो कुरा थाहा पाएको मितिले ६ महिनाभित्र सो दर्ता बदरको लागि मुद्दा दायर गर्नुपर्ने देखिन्छ । यी वादीले प्रस्तुत मुद्दाको फिराद मिति २०५५।५।१६ मा भक्तपुर जिल्ला अदालतमा दायर गरेको देखिन्छ । छुट जग्गा दर्ताको सम्बन्धमा यी वादीसमेत भई चलेको कारबाहीका क्रममा नै यी वादी सुर्यमाया कर्माचार्यले सो कि.नं. १०९ र १२८ को जग्गाहरू कुमार खाइतूको नाममा दर्ता भएको जानकारी पाएकोले हदम्यादको आधारमा फिराद खारेज भएको देखिन्छ । तर सो निवेदनको सम्बन्धमा चलेको कारबाहीमा यी वादीले निवेदन दिएपश्चात् उपस्थित रहेको देखिँदैन । यसका साथै यसै प्रकृतिको विवादमा यस अदालतबाट इश्वरी भोमी वि. गणेशलाल खड्गी (ने.का.प. २०६०, चैत्र महिना, नि.नं. ७१६६) भएको दर्ता बदरसमेत मुद्दामा “एकाको हक भोगको जग्गा कसैले आफ्नो नाममा दर्ता गराउँछ भने त्यस्तो दूषित दर्ता बदर गराउन हदम्याद बाधक हुन सक्दैन" भनी सिद्धान्त प्रतिपादन भएको देखिन्छ । उपर्युक्त कानूनी व्यवस्था र यस अदालतबाट प्रतिपादित सिद्धान्तसमेतलाई मध्यनजर गर्दा यी वादीले दायर गरेको फिरादपत्रलाई हदम्याद नघाई परेको भनी मान्न मिलेन । हदम्यादभित्र नै परेको देखियो ।
४. अब विवादको कि.नं. १०९ र १२८ को जग्गामा वादीको हक लाग्ने हो वा होइन ? सो सम्बन्धमा हेर्दा उक्त कि.नं. का जग्गाहरू २०२१ सालको नापीमा वादीका ससुरा भैरवबहादुर कर्माचार्यको नाममा नापी भएको देखिन्छ । सो नापीका सम्बन्धमा प्रतिवादी कुमार खाइतूले कहीँकतै कुनै उजुर बाजुर गरेको जिकिर लिन सकेका छैनन् । मिसिलसाथ रहेको नापी शाखा भक्तपुरको मिति २०४६।१२।५ को फिल्डबुक उतारको प्रतिलिपिमा कि.नं.१०९ र १२८ को जग्गाको जग्गाधनी महलमा भैरवबहादुर कर्माचार्य र किसानको महलमा गणेशलाल सिल्पकार उल्लेख भएको देखिन्छ । मिति २०३८।११।११ मा फिल्डबुकमा उल्लिखित मोही गणेशलाल सिल्पकारले कि.नं.१०९ र १२८ को जग्गाको मोही हक घरायसी लिखत गरी छोडिदिएको भन्ने पेस छ । सोही मितिमा प्रतिवादी कुमार खाइतूले भैरव कर्माचार्यको श्रीमती तेजमाया कर्माचार्यबाट विवादित कि.नं.१०९ र १२८ का जग्गाहरू जोत कमोद गर्न भनी कबुलियत गरी लिई कबुलियतनामाको कागज गरिदिएको देखिन्छ । उक्त मिति २०३८।११।११ को कागजको सम्बन्धमा मुलुकी ऐन अ.बं. ७८ नं. बमोजिम प्रतिवादी कुमार खाइतूको बयान गराउनु भनी पुनरावेदन अदालत पाटनबाट भएको आदेशानुसार निज प्रतिवादीले बयान गर्दा सो कागजमा भएको सहिछाप निज प्रतिवादीको भएको कुरालाई स्वीकार गरेको देखिन्छ । सो कागजमा झुक्याई सहिछाप गराएको भनी निजको जिकिर भए पनि सो सम्बन्धमा कानूनी उपचार खोज्ने कार्य निज प्रतिवादीबाट भएको मिसिल संलग्न कागज प्रमाणाबाट देखिएको छैन । उक्त जग्गा यी प्रतिवादी कुमार खाइतूको नै भएको भए आफ्नै नाम दर्ताको जग्गा अरूबाट जोत कमोद गर्ने भनी कबुलियतनामा गरी लिनुपर्ने कुनै कारणसमेत देखिँदैन ।
५. मोहीको १ नं. लगतमा पनि कि.नं.१०९ र १२८ को जग्गाको जग्गाधनी भैरवबहादुर कर्माचार्यको नाम उल्लेख छ । वस्तुतः २०२१ सालमा नापी हुँदा फिल्डबुकमा जग्गाधनीको नाम तथा मोहीको १ नं. लगतमा जग्गाधनीको नाम उल्लेख भएको तथ्यमा कुनै विवाद देखिएन । प्रतिवादी कुमार खाइतूको जग्गा भएको भए नापीकै समयमा फिल्डबुकमा नाम हुनु पर्ने तथा तत्काल जग्गाको स्रोत देखिने अन्य कुनै प्रमाण पेस गर्नुपर्ने हुन्छ । प्रतिवादीले विवादित कि.नं.१०९ र १२८ को जग्गा हाल साबिक गरी दर्ता गरिपाउँ भनी मिति २०४६।१२।१२ मा मालपोत कार्यालय भक्तपुरमा निवेदन दिएको देखिन्छ । सो छुट जग्गा दर्ता गर्न साबिक लगत नं.१४४(क) को प्रतिलिपि पेस गरेका छन् । लगत किताब सक्कलै भिडाई हेर्दा १४४ पछि १४४(क) थपेको देखिन्छ । सो लगतमा २ खलागरी १६/१३ नं. चपिगल भन्ने उल्लेख छ । क्रमसंख्याबिचमा थपी लगत खडा गर्ने कार्यले सो लगतको विश्वसनीयतामा भर गर्न सकिने आधार
छैन । लगत किताबमा यसरी बिचमा १४४(क) थप गरी उल्लेख गरेको लगत साबिकमा यो यस लगतबाट आएको देखिने प्रमाण पनि पेस भएको छैन ।
६. वास्तविक जग्गाधनीका एक छोरा प्रतिवादी डिल्लिबहादुर कर्माचार्यले विवादित जग्गा यी प्रतिवादी कुमार खाइतूकै हो दर्ता गरिदिए हुन्छ भनी भनी विना कारण मालपोत कार्यालय भक्तपुरमा निवेदन दिई सनाखत गर्ने कार्य गर्दैमा वास्तविक जग्गाधनीका अन्य हकदारको सो जग्गामा रहेको हक स्वतः समाप्त हुन सक्दैन । जग्गाको दर्ता स्रेस्ता खडा गर्न सहयोगी हुने नापीकै समयमा तयार भएको फिल्डबुकमा उल्लिखित बेहोरा तथा तत्काल मोहीको लगत उतारमा उल्लिखित बेहोरामा जग्गाधनीको नाम भैरवबहादुर कर्माचार्य भनी लेखिएको सो महत्त्वपूर्ण प्रमाणलाई अनदेखा गरी प्रतिवादी कुमार खाइतूको जग्गा हो भनी बिना आधार कुनै अंशियारले भन्दैमा सोही कार्यले मात्र स्वतः प्रतिवादी कुमार खाइतूको जग्गा हो भनी मान्न मिल्दैन । मौखिक भनाइले मात्र जग्गाको हक कायम हुने होइन । साबिक लगत, फिल्डबुक, मोही लगत जस्ता यो विवाद पर्नुभन्दा धेरै पहिले खडा भएका सरकारी कार्यालयका अभिलेखमा रहेका यी प्रमाण नै जग्गाको स्वामित्व निर्धारणको लागि महत्त्वपूर्ण प्रमाण हुने हुन्छ । वादीले पेस गरेको साबिक लगत नं. ८३ को जग्गा अन्यत्र रहेको छ वा भिडी दर्ता भइसकेको छ भनी प्रतिवादीले प्रमाण दिन सकेको छैन । साबिक लगतमा उल्लिखित क्षेत्रफल नयाँ नापी हुँदा नरघटी नरबढी भइरहने हुन्छ र सो कार्यले मान्यता नपाउने भन्न मिल्दैन । साबिकका स्रेस्ता प्रमाणहरूबाट समेत विवादित दाबीको कि.नं.१०९ र १२८ को जग्गाहरू भैरवबहादुर कर्माचार्यको नाम दर्ताको भएको तथ्य पुष्टि हुन आएको छ ।
७. भैरवबहादुर कर्माचार्य र निजको श्रीमती तेजमाया कर्माचार्यको क्रमशः मिति २०३८।११।११ र २०४४।१०।२२ मा मृत्यु भइसकेको मिसिल साथ पेस भएको निजहरूको मृत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपिबाट देखिन्छ । निजहरूको दाम्पत्य जीवनबाट दुई छोराहरू जन्म भएकोमा जेठा महन्तबहादुर कर्माचार्य र कान्छो डिल्लीबहादुर कर्माचार्य रहेकोमा महन्तबहादुर कर्माचार्यको २०३२ सालमा आफ्नै कालगतिले मृत्यु भएको फिराद दाबीबाट देखिन्छ । यी वादी सुर्यमाया कर्माचार्य महन्तबहादुर कर्माचार्यको श्रीमती भएको कुरा मिसिल संलग्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले मिति २०४७।१२।२० मा नाता प्रमाणित गरी दिएको पत्रबाट देखिन्छ । यसरी भैरवबहादुर कर्माचार्यको हक खाने वादी सुर्यमाया कर्माचार्य र प्रतिवादी डिल्लीबहादुर कर्माचार्य रहेकोमा विवाद देखिएन । जहाँसम्म डिल्लीबहादुर कर्माचार्यले मालपोत कार्यालय भक्तपुरमा गई उक्त जग्गा कुमार खाइतूको हो भनी निवेदन दिई सनाखतसमेत गरिदिएको अवस्था छ । अब आफ्नो हक अधिकार व्यक्तिले परित्याग गर्न पाउने हो वा होइन भन्ने सम्बन्धमा विचार गर्दा संविधान प्रदत्त कुनै पनि मौलिक हक परित्याग गर्न मिल्ने देखिँदैन । तर मौलिक हकबाहेकका हकको सन्दर्भमा भने सम्बन्धित व्यक्तिले हक परित्याग गरेको कुराको पूर्ण समक्ष र जानकारी राख्दछ र सो कुरा कानूनद्वारा निषेधित छैन वा सार्वजनिक नैतिकता विरूद्ध छैन भने त्यस्तो अवस्थामा कानून प्रदत्त हक छाड्न नसक्ने भन्न मिल्दैन । प्रस्तुत विवादमा विवादित जग्गा आफ्नो नभई प्रतिवादी कुमार खाइतूको हो भनी प्रतिवादी डिल्लिबहादुर कर्माचार्यले सम्बन्धित मालपोत कार्यालयमा निवेदन दिनुका साथै सो निवेदन सनाखतसमेत गरिदिएको देखियो । उक्त छोडपत्र गर्दा वादीले प्रतिवादी डिल्लिबहादुर कर्माचार्यलाई मन्जुरनामा गरेको पाइँदैन । आफूले जानी जानी उक्त छोडपत्र नगरेको जिकिर प्रतिवादी डिल्लिबहादुर कर्माचार्यले लिए पनि सो छोडपत्र बदर गराउनेतर्फ कुनै कानूनी प्रक्रिया अवलम्बन गरेकोसमेत नदेखिएकोले निजले गरेको छोडपत्र अरू हकवालाको हकमा पनि आकर्षित हुन सक्दैन । कुनै पनि व्यक्तिले आफ्नो हकसम्मको सम्पत्तिमा हक छाड्न सक्ने अधिकार राख्दछ । अर्काको चल अचल सम्पत्तिलाई उनाउ व्यक्तिको हो भनी लेखाई दिने अधिकार नै नराख्ने व्यक्तिले कुनै सरकारी कार्यालयमा गएर लेखाई दिएकै आधारमा कुनै सम्पत्तिमा कानूनबमोजिम हक स्थापित भएको व्यक्तिको हक समाप्त हुन्छ भनी मान्न मिल्दैन । हाम्रो कानूनी व्यवस्थाले पनि यस्तो क्रियालाई स्वीकार गरेको अवस्था छैन ।
८. प्रतिवादी डिल्लीबहादुर कर्माचार्यले मिति २०४६।१२।१९ मा मालपोत कार्यालय भक्तपुरमा दिएको निवेदन र गरेको सनाखतबाट निजको हक लाग्ने जग्गा मात्र जाने हुन्छ । त्यसबाट सो निवेदनमा सहमति नजनाएको र सो सम्बन्धमा कुनै जानकारी नै नराख्ने यी वादीको हक लाग्ने सम्पत्तिसमेत प्रतिवादी कुमार खाइतूको नाममा नामसारी गर्ने गरी मालपोत कार्यालय भक्तपुरको मिति २०४६।१२।२० को टिप्पणी आदेश र मिति २०४६।१२।२२ को निर्णय वादी सुर्यमाया कर्माचार्यको हकसम्म कानूनबमोजिम भएको देखिएन । विवादको कि.नं.१०९ र १२८ को जग्गामा वादी सुर्यमाया कर्माचार्यको आधा हक लाग्ने देखिएकोले पुनरावेदन अदालतको फैसला सो हदसम्म कायम रहन सक्ने देखिएन ।
९. तसर्थ माथि विवेचित आधार, कारण, प्रमाण र यस अदालतबाट प्रतिपादित सिद्धान्तसमेतबाट कि.नं. १०९ र १२८ को जग्गामध्ये आधी जग्गामा सुर्यमाया कर्माचार्यको हक पुग्ने देखिएकोले मिति २०४६।१२।२० मा मालपोत कार्यालय भक्तपुरले उक्त कि.नं. का सम्पूर्ण जग्गा प्रतिवादी कुमार खाइतूको नाममा दर्ता गर्ने गरी गरेको निर्णय कानूनविपरीत भएकोले सो निर्णय बदर गर्नुपर्नेमा फिराद दाबी खारेज गर्ने गरी भएको भक्तपुर जिल्ला अदालतको फैसलालाई सदर गरेको पुनरावेदन अदालत पाटनको मिति २०६२।४।२३ को फैसला मिलेको नदेखिँदा उल्टी भई विवादको कि.नं.१०९ र १२८ को जग्गामध्ये नरम गरम मिलाई आधा जग्गासम्मको हकमा मालपोत कार्यालय भक्तपुरको मिति २०४६।१२।२० को निर्णय तथा प्रत्यर्थी प्रतिवादी कुमार खाइतूको नाउँमा भएको दर्तासमेत बदर भई वादीको नाउँमा दर्ता हुने ठहर्छ । अरूमा तपसिलबमोजिम गर्नू ।
तपसिल
माथि ठहर खण्डमा उल्लेख भएबमोजिम कि.नं.१०९ र कि.नं.१२८ को जग्गाबाट आधा जग्गाको दर्ता बदर भई वादी सुर्यमाया कर्माचार्यको नाममा दर्ता हुने ठहरेकोले नरम गरम मिलाई आधा जग्गा पुनरावेदक वादी सुर्यमाया कर्माचार्यको नाममा दर्ता गरी दिन सम्बन्धित मालपोत कार्यालयमा लेखी पठाउनु भनी भक्तपुर जिल्ला अदालतमा लेखी पठाउनू .......................१
वादीले फिराद गर्दा राखेको कोर्ट फी रू.३,५३०।, पुनरावेदन अदालतमा पुनरावेदन गर्दा राखेको थप १५% ले हुने रू.५३०।– र यस अदालतम मुद्दा दोहोर्याई हेर्ने अनुमति प्रदान भएपछि राखेको थप १५% ले हुने रू.५३०।– समेत प्रतिवादीबाट भराई पाउँ भनी वादीले ऐनको म्यादभित्र दरखास्त दिएमा केही दस्तुर नलिई वादीलाई भराइदिनु भनी तत् तत् अदालतमा लेखी पठाई प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल अभिलेख शाखामा बुझाइ दिनू .....२
उक्त रायमा सहमत छु ।
न्या. ओमप्रकाश मिश्र
इजलास अधिकृत: रामु शर्मा
इति संवत् २०७४ साल कार्तिक २७ गते रोज २ शुभम् ।