शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १०२१५ - उत्प्रेषण / परमादेश

भाग: ६१ साल: २०७६ महिना: असार अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा.

माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा

आदेश मिति : २०७५।६।२२

०७०-WO-०१८९

 

विषयः उत्प्रेषण / परमादेश

 

निवेदक : कृष्णप्रसाद गौतमको छोरा ललितपुर जिल्ला देवीचौर गाउँ विकास समिति,वडा नं.५ बस्ने अधिवक्ता पुण्यप्रसाद गौतम

विरूद्ध

विपक्षी : काठमाडौं जिल्ला अदालत, बबरमहल काठमाडौंसमेत

    

कानून व्यवसायी न्याय सम्पादनको क्षेत्रमा कार्यरत रहने हुँदा र निरन्तर पेसामा रहेकाको लागि निजको परिचय खुलाउन निजको व्यावसायिक दर्ता प्रमाणपत्रको क्रमसंख्या आफैँमा पनि परिचयको मुख्य प्रमाणको रूपमा रहेको हुने ।

(प्रकरण नं.६)

सूचनाको सिद्धान्तले सूचना इन्कार गर्ने वा सूचना पाएर पनि नपाएको अभिनय गर्नेको सन्तुष्टिलाई कहिले पनि सम्बोधन गर्न नसकिने ।

सूचना सम्प्रेषण गर्ने कर्तव्य भएको निकायले सूचनाको प्रवाह गरी सूचना थाहा पाउनु पर्ने व्यक्तिसम्म इमानदारीपूर्वक पुर्‍याउन कोसिस गरेको हुनु पर्ने ।

(प्रकरण नं.८)

 

निवेदकका तर्फबाट : विद्वान्‌ वरिष्‍ठ अधिवक्ता श्री शेरबहादुर के.सी. र विद्वान्‌ अधिवक्ताहरू श्री रामचन्द्र पौडेल, श्री राजन अधिकारी

विपक्षीका तर्फबाट : विद्वान्‌ अधिवक्ता श्री लिलामणी पौडेल

अवलम्बित नजिर : 

ने.का.प.२०६६, अंक १२, नि.नं.८२८३

सम्बद्ध कानून :

जिल्ला अदालत नियमावली, २०५२

 

आदेश

न्या.अनिलकुमार सिन्हा : नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ र १०७(२) बमोजिम यस अदालतमा दर्ता हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं आदेश यसप्रकार छः

विपक्षीहरूमध्ये ठुली तामाङ तथा कान्छी तामाङले मसमेत उपर किर्ते जालसाजी मुद्दा मिति २०६६।११।५ मा दर्ता गरी मेरा नाममा जारी गरी पठाएको म्याद म आफू नभएको हुँदै नभएको ठाउँमा म्याद जारी गरी बेपत्ते तामेल भई आएको म्याद र म सम्बन्धित मुद्दा मुल्तबी राखी मुल्तबी जगाएको र मेरो स्थायी ठेगानामा म्याद जारी नगरिकन फेरी गलत ठेगानामा नै मुल्तबी म्याद जारी गरी बेपत्ता भई आएको प्रमाणबाट देखिन्छ । श्री काठमाडौं जिल्ला अदालतको च.नं.९१६४ मिति २०६९।७।२० मा राजधानी दैनिकमा पठाएको ठेगाना पनि गलत ठेगाना राखी म्याद सूचना पठाई सोही सूचनाबमोजिम २०६९।७।२५ मा पत्रिकामा प्रकाशित गरेको कुरासमेत ललितपुर देवीचौर वडा नं.५ मा म्याद सूचना जारी हुनु, गर्नुपर्नेमा ललितपुर उपमहानगरपालिका, वडा नं.५ मा जारी गरिएको म्याद सूचना र त्यसको आधारमा रीतपूर्वक म्याद सूचना मान्‍न नमिल्ने हुँदा यस्तो गलत तरिकाबाट भएको काम कारबाही र मउपर मिति २०६९।१०।११ मा भएको फैसला प्रतिवाद गर्ने मौकाबाट वञ्‍चित भएको नै मान्‍नु पर्ने हुन आउँछ । मैले प्रतिवाद गर्न नपाएको कुरा मिति २०७०।५।७ का दिन अंश मुद्दामा मचाकाजी महर्जनको वारेसनामा दाखिला गर्न लाग्दा जरिवाना छ भनी यकिन गरी नक्‍कल सारी हेर्दा जानकारी पाई अन्य उपचारको बाटो नभएको उक्त फैसला मेरो आफ्नो हकसम्म प्रतिवाद गर्ने मौका पाउन परमादेशको आदेश जारी गरिपाउँ भनी निवेदन गरेको छु । उपयुक्त आदेश जारी गरिपाऊँ ।

मुद्दा दर्ता गर्दा स्थायी ठेगानामा नगरी गलत ठेगाना राखी फिराद गरी प्रतिवाद गर्ने मौकाबाट वञ्‍चित गरेको निर्णय प्राकृतिक न्यायको सिद्धान्तको विपरीत हुँदा बदरभागी छ । बेरीतको सूचना म्याद गलत ठेगाना राखी व्यक्तिको हकहितमा असर पर्ने गरी निर्णय गर्दा सफाइको मौका दिनुपर्ने र सबुत प्रमाण बुझी प्रमाणको मूल्याङ्कन गरी निर्णयमा पुग्नुपर्नेमा गलत ठेगानामा म्याद जारी गर्दा कसरी स्वीकार गरेको हुन्छ । मिसिलसाथ भएका प्रमाण कागजले मैले कुनचाँही लिखित कागजमा किर्ते गरेँ लेख्‍न देखाउन सकेको पाइँदैन । विशेषज्ञको रायसमेत प्रकटै नगरी एक्‍कासी थाहापत्तै नहुने व्यक्तिले स्वीकार गरेको भन्‍नु गलत फैसला गरेको पाइन्छ । कुनैपनि मुद्दामा प्रतिवादीलाई गलत ठेगाना लेखी लेखाई म्याद सूचना प्रकाशित गरिन्छ भने त्यो सरासर अमान्य बदरभागी हुने कुरामा विवाद छैन । त्यस्तो कुनै सफाइको मौका नै नदिई गरेको फैसला निर्णयसमेत कानून प्रतिकूल देखिँदा देवीचौर ५ को व्यक्तिलाई ललितपुर ५ मा म्याद जारी गरी बेपत्ता बनाई पत्रिकामा पनि सोहीबमोजिम प्रकाशित गरी मलाई जानकारीबाट वञ्‍चित गरेको हुँदा मउपर जे जति आरोप लगाएको छ उक्त आरोपको खण्डन गर्ने अवसर पाउँ भनी उपस्थित भएको छु । मैले विपक्षीलाई हानि नोक्सानी पुर्‍याउने र मैले कुनै फाइदा लिने काम गरेको छैन । यदि छ भने मउपर दाबी गरी प्रमाणित गर्न गराउन सक्नु पर्दथ्यो । गलत ठेगाना लेखी म्याद जारी गर्दा उपस्थित नभएको आरोप फैसलामा लगाइएको छ । त्यसमा प्रतिवाद गर्ने मौका पाऊँ । रेखा तथा लेखा विशेषज्ञको परीक्षणसम्म पनि गराइएको छैन । कुनै प्रमाणको मूल्याङ्कन नै नगरी दोष थुपार्न पाउने होइन । विपक्षीहरूले मउपर अन्याय अत्याचार गरी प्रतिवाद गर्ने, प्रतिरक्षा गर्ने, सुनुवाइको मौका नदिएको तथ्य पुष्‍टि भएको हुँदा प्रतिवाद गरी सुनुवाइको मौका दिनु भन्‍ने आदेश जारी गरिपाऊँ । मिति २०६९।१०।११ मा मउपर भएको फैसलाको हदसम्म प्रतिवाद गर्ने मौका दिई पुनः निर्णय फैसला गर्नु भन्‍ने परमादेशको आदेश जारी गरिपाउँ भन्‍नेसमेत बेहोराको निवेदन मागदाबी ।

यसमा के कसो भएको हो ? निवेदकको मागबमोजिमको आदेश किन जारी हुन नपर्ने 

हो ? आदेश जारी हुनु नपर्ने आधार र कारण भए यो आदेशप्राप्‍त भएका मितिले बाटाका म्यादबाहेक १५ दिनभित्र लिखित जवाफ पठाउनु भनी विपक्षी नं.१ को हकमा महान्यायाधिवक्ताको कार्यालयमार्फत र विपक्षी नं.२ र ३ को हकमा आफैँ वा आफ्नो कानूनबमोजिमको प्रतिनिधिमार्फत लिखित जवाफ पठाउनु भनी यो आदेश र प्रस्तुत रिट निवेदनको प्रतिलिपिसमेत साथै राखी विपक्षीहरूलाई सूचना पठाई त्यसको बोधार्थ महान्यायाधिवक्ताको कार्यालयलाई दिई लिखित जवाफ प्राप्‍त भएपछि वा अवधि व्यतित भएपछि नियमबमोजिम पेस गर्नु भन्‍ने यस अदालतको मिति २०७०।५।२१ को आदेश ।

यसमा प्रस्तुत वादी ठुली तामाङनी प्रतिवादी पुण्यप्रसाद गौतमसमेत भएको किर्ते जालसाजीसमेत मुद्दाको फिराद दायर भई उक्त फिरादअनुसार लेखिएको विपक्षीमध्ये पुण्यप्रसाद गौतमको ठेगाना ललितपुर जिल्ला ललितपुर उपमहानगरपालिका वडा नं.५ मा म्याद जारी भई उक्त म्याद मिति २०६७।१।२४ मा म्याद तामेल भई मिसिल सामेल रहेको र उक्त कानूनको म्यादभित्र हाजिर नभएको र मिति २०६९।७।२५ मा दैनिक पत्रिका राजधानीमा पुनः यस अदालतबाट म्याद सूचना प्रकाशित भएको उक्त म्याद सूचना प्रकाशित भएको मितिले कानूनको म्यादभित्र प्रतिउत्तर लिई यस अदालतमा रिट निवेदक प्रतिवादी हाजिर भएको मिसिलबाट नदेखिएको । वादी दाबी पुग्ने ठहरी दु.दे.नं.५८०८ मिलापत्र बदर, दु.दे.नं.५७०७ दा.खा.दर्ता बदर, दु.फौ.नं.३९९१ को किर्ते जालसाजी मुद्दामा रिट निवेदक पुण्यप्रसाद गौतमलाई रू.२००।– जरिवाना हुने ठहर भएको बेहोरा उल्लिखित गरी उक्त फैसला कानूनसङ्गत भएकोले उक्त रिट निवेदन खारेज गरिपाउँ भन्‍नेसमेत बेहोराको काठमाडौं जिल्ला अदालतको लिखित जवाफ ।

विपक्षी पुण्यप्रसाद गौतमले सुकमाया तामाङ वादी र प्रतिवादी ठुली तामाङसमेत भएको अपुताली हक कायम नामसारी निर्णय बदर, जालसाजी मुद्दा दायर गर्नका लागि लिएको वारेसनामामा र फिरादमा समेत आफ्नो ठेगाना ललितपुर जिल्ला, ललितपुर उपमहानगरपालिका वडा नं.५ बस्ने भनी उल्लेख गरेका छन् । उक्त वारेसनामा र फिरादको प्रतिलिपि साथै छ । त्यस्तै उल्लिखित मुद्दा २०६६।५।११ मा फैसला भई विपक्षीको वादी दाबी खारेज हुने ठहरी फैसला भएको र विपक्षीसमेत भई किर्ते जालसाज गरी हाम्रा नामको घरजग्गाहरू भाजु लामा र जुल्फा लामाका नाममा नामसारी गराएको थाहा पाई हामीले विपक्षीसमेत उपर दायर गरेको किर्ते जालसाज मुद्दाको म्याद नबुझी उक्त मुद्दाको प्रतिवादीमध्येकी सुकमाया र सुरेश जोशीको तर्फबाट प्रतिउत्तर पनि निजैले लेखी अरूकै सही गराएको र आफ्नै जाल परिपञ्‍चबाट आफ्नै पक्षलाई घात पुर्‍याए पनि सोझो निरक्षर पक्षको फाइदा उठाई पुनः अघिल्लो मुद्दामा पुनरावेदन गर्ने विपक्षी नै हुन् । विपक्षीले नै उक्त मुद्दामा पुनरावेदन अदालतबाट झ.झि. भएपछि प्रस्तुत किर्ते जालसाज मुद्दा मुल्तबी राखिपाउँ भनी निवेदन दिएका हुन् । यस अवस्थामा उल्लिखित मुद्दाको माष्टर माइण्ड भएका विपक्षीलाई उल्लिखित सम्पूर्ण बेहोरा थाहा जानकारी थियो छ । किनकि उक्त मुद्दा पुनरावेदन अदालतबाट र सम्मानित सर्वोच्च अदालतबाट समेत अन्तिम भई बसेको छ । उक्त मुद्दाको मिसिल प्रमाणको रूपमा साथै संलग्न र पेस भएको छ । सोही साथै रहेको लगाउको मुद्दा प्रमाण मिसिलबाट विपक्षी पुण्यप्रसाद गौतमले नै अधिवक्ताको हैसियतले नक्‍कल लिई सम्मानित सर्वोच्च अदालतमा दोहोर्‍याई पाउँको निवेदनसाथ पेस गरेका छन् । अझ रमाइलो कुरा त उक्त दोहोर्‍याई पाउँ निवेदनमा निस्सा नभएपछि पछिबाट पुनः बेहोरा ढाँटी यसै अदालत दोहोर्‍याई पाउँ फाँट नं.४ मा अर्को दोहोर्‍याई पाउँ निवेदनसमेत दर्ता गराएका छन् । त्यति मात्र होइन किर्ते जालसाज मुद्दामा निजका गठमतका मानिस सुरेश जोशी र शुकमाया तामाङको तर्फबाट प्रतिउत्तर फिराएका र फिराद बेहोराउपर आपत्ति जनाई अपहेलना आचार संहिता, मानहानीसमेत भनी फिराद दायर गरेका छन् । तसर्थ विपक्षीले आफ्नै जाल तिकडमबाट म्याद नबुझेको भएपनि सम्पूर्ण बेहोरा प्रत्यक्ष आफैँले देखे, हेरे थाहा पाएका 

हुन्छन् । त्यसैले निजको नामको सूचना म्याद सार्वजनिक दैनिक पत्रिका राजधानीमा प्रकाशित गर्नु परेको हो । सो कुरा पनि मौकामा थाहा पाएका विपक्षीले हाल आएर आफू ललितपुर उपमहानगरपालिका वडा नं.५ नभई ललितपुर देवीचौर गाउँ विकास समिति, वडा नं.५ बस्ने भनी झुठ्ठा र नयाँ प्रमाण सिर्जना गरेको भएपनि निज आफैँले लेखेको उल्लिखित मुद्दाको वारेसनामा र फिराद पत्रबाट निजको खास वतन ललितपुर जिल्ला ललितपुर उपमहानगरपालिका वडा नं.५ को रहेछ भन्‍ने स्पष्ट हुन्छ । निजले उल्लिखित सम्पूर्ण बेहोरा जानी बुझी थाहा पाइकन पनि जाल तिकडम गरेका हुन् हो रहेछन् भन्‍ने कुरा उल्लिखित सुरू अपुताली हक कायम, नामसारी निर्णय बदर, जालसाजी एवं पछिका किर्ते जालसाजी, मिलापत्र बदर, दा.खा. बदर मुद्दा तथा आचार संहिता मानहानी भन्‍ने जस्ता मुद्दाको सुरू सक्‍कलै मिसिल झिकाई हेरी बुझी विपक्षीको झुठ्ठा रिट निवेदन खारेज गरी न्याय पाउँ भन्‍ने बेहोराको ठुली तामाङ र कान्छी तामाङसमेतको लिखित जवाफ ।

नियमबमोजिम पेसी सूचीमा चढी पेस हुन आएको प्रस्तुत मुद्दामा निवेदकतर्फबाट उपस्थित विद्वान्‌ वरिष्‍ठ अधिवक्ता श्री शेरबहादुर के.सी. र विद्वान्‌ अधिवक्ताहरू श्री रामचन्द्र पौडेल, श्री राजन अधिकारीले निवेदकको स्थायी वतनभन्दा फरक ठाउँमा म्याद जारी गरी बेपत्ते तामेल भएको मिलेको छैन । उक्त म्याद बेपत्ते भइसकेपछि पुनः मिति २०६९।७।२५ मा राजधानी दैनिक पत्रिकामा सूचना प्रकाशित गरेको निवेदकलाई थाहा जानकारी 

भएन । मिति २०७०।५।७ मा मचाकाजी महर्जनको अंश मुद्दामा वारेसनामा दाखेल गर्न लाग्दा जरिवाना छ भनी भनेकोले के रहेछ भनी नक्‍कल लिँदा थाहा भएकोले मुलुकी ऐन, अदालती बन्दोबस्तको २०८ नं. बमोजिमको हदम्यादसमेत समाप्त भइसकेकोले प्रतिवाद नै गर्न नपाई फैसला भएको छ । प्रतिउत्तर लगाउने म्यादलगायतका सम्पूर्ण काम कारबाही उत्प्रेषणको आदेशले बदर गरी निवेदकको प्रतिउत्तर लिई काम कारबाही अघि बढाउनु भनी परमादेश जारी गरिपाउँ भनी गर्नुभएको बहस सुनियो ।

विपक्षीहरूको तर्फबाट उपस्थित विद्वान्‌ अधिवक्ता श्री लिलामणी पौडेलले निवेदकसमेतका व्यक्तिहरूले किर्ते कागज खडा गरी हाम्रो पक्षको हक जाने कार्य गरेका हुन् । निज निवेदकले अदालतमा पेस गरेको लिखतमा घोषणा गरेको घर ठेगानामा म्याद जारी भएकोमा तामेल हुन नसकी राष्‍ट्रिय स्तरको पत्रिकामा कानून व्यवसायीको हकमा प्रमाणपत्र संख्या खुलाई म्याद सूचना प्रकाशन भएकोलाई अन्यथा भन्‍न मिल्दैन, तसर्थ रिट खारेज हुनुपर्छ भनी बहस गर्नुभयो ।

विद्वान्‌ वरिष्ठ अधिवक्ता तथा अधिवक्ताहरूको बहस, निवेदन जिकिर र लिखित जवाफसमेतको मिसिल अध्ययन गर्दा निवेदन मागबमोजिम आदेश जारी हुने हो वा होइन ? भन्‍ने विषयमा निर्णय दिनुपर्ने देखिन आयो ।

२. निर्णयतर्फ विचार गर्दा, विपक्षी ठुली तामाङसमेतले मउपर किर्ते जालसाजी मुद्दा दर्ता गरी मेरो नाममा जारी भएको म्याद आफू हुँदै नभएको ठाउँमा बेपत्ते तामेल गरेकोमा मिति २०६९।७।२५ मा राजधानी दैनिक पत्रिकामा गलत ठेगाना राखी म्याद सूचना जारी भई मेरो ललितपुर जिल्ला देवीचौर गाउँ विकास समिति, वडा नं.५ मा म्याद जारी भई तामेल हुनुपर्नेमा ललितपुर उपमहानगरपालिका, वडा नं. ५ मा तामेल गरेको र पत्रिकामा सूचना जारी गरी प्रतिवाद गर्ने, प्रतिरक्षा गर्ने सुनुवाइको मौका नदिई मलाई जरिवानासमेत हुने ठहरी भएको उक्त किर्ते जालसाजी मुद्दाबाट मेरो स्वच्छ सुनुवाइको हकमा असर पर्न गएकोले सुरू म्यादलगायतका सम्पूर्ण काम कारबाही उत्प्रेषणको आदेशले बदर गरी सुनुवाइको मौका दिनु भनी परमादेशको आदेश जारी गरिपाउँ भन्‍ने मुख्य निवेदन मागदाबी रहेको देखिन्छ । निवेदकको विरूद्धमा ठुली तामाङसमेतले किर्ते जालसाजी मुद्दाको फिराद दायर भई सोही फिरादमा उल्लिखित ठेगानामा म्याद जारी भएको हो । सो म्याद बेपत्ते भएपछि राष्‍ट्रिय स्तरको पत्रिकामा सूचना जारी भएकोमा म्यादभित्र निजले प्रतिवाद नगरेकोले म्याद समाप्‍त भएपछि फैसला भएको हो । म्यादमा हाजिर नहुने र पछि उक्त म्याद बदर गरिपाउँ भन्‍न नमिल्ने हुँदा रिट खारेज गरिपाउँ भन्‍ने लिखित जवाफ रहेको पाइन्छ ।

३. सो सन्दर्भमा हेर्दा, निवेदक पुण्यप्रसाद गौतमका नाउँमा मिति २०६६।११।०५ मा किर्ते जालसाजी मुद्दाको समाह्वान म्याद जारी हुँदा बेपत्ते तामेल भएपछि वादी ठुली तामाङसमेतलाई वतन खुलाउन आदेश भएकोमा निजले फिराद पत्रमा उल्लेख भएको वतन ललितपुर जिल्ला, ललितपुर उपमहानगरपालिका, वडा नं. ५ उल्लेख गरी मिति २०६९।७।१६ मा कागज गरी यी निवेदक कानून व्यवसायी भएको कारण कानून व्यवसायी प्रमाणपत्र संख्या उल्लेख गरी मिति २०६९।७।२५ मा राजधानी दैनिक पत्रिकामा सो समाह्वानको म्यादको बारेमा सूचना प्रकाशित गरिएको देखिन्छ ।

४. निवेदनसाथ पेस भएको प्रमाण हेर्दा निवेदक पुण्यप्रसाद गौतमले नेपाल बार काउन्सिलबाट साबिकमा अभिवक्ताको र हाल अधिवक्ताको प्रमाणपत्र नं.१२०१० लिई कानून व्यवसाय गरिआएको 

देखिन्छ । उपर्युक्तबमोजिम निजको नाउँको म्याद प्रकाशित गर्दा राजधानी दैनिकमा निजको वतनसहित प्रमाणपत्र नं. समेत उल्लेख गरी प्रकाशित गरेको देखिन्छ ।

५. वादी सुकमाया तामाङ र प्रतिवादी यी विपक्षीमध्येका ठुली तामाङबिच चलेको अपुताली हक कायम मुद्दासमेतमा यी निवेदकले आफ्नो नाममा वारेसनामा लिँदा आफ्नो वतन ललितपुर जिल्ला, ललितपुर न.पा. वडा नं. ५ भन्‍ने खुलाएको देखिएको 

छ । यी विपक्षी ठुली तामाङको लागि निवेदकको वतनको जानकारी सोही मुद्दाको वारेसनामा र फिरादपत्रबाट रहेको छ ।

६. यी निवेदक आफैँले विभिन्न समयमा विभिन्‍न वतन देखाएको पनि पाइयो । यी निवेदकले यिनै विपक्षीमध्येका ठुली तामाङ विरूद्ध दायर भएको फिराद र सोसम्बन्धी वारेसनामामा गलत वतन खुलाए होला भनी विश्वास गर्नुपर्ने कारण र आधार पनि देखिँदैन । यी निवेदक कानून व्यवसायी पनि भएकोले निजको परिचय कानून व्यवसायीको रूपमा दर्ता प्रमाणपत्रको क्रमसंख्याबाट पनि खुल्न आउँछ । कुनै वतन वा क्षेत्रमा एकै नामका एकभन्दा बढी व्यक्ति बस्न सक्ने अवस्था नकार्न सकिँदैन, त्यस्तो अवस्थामा निजको तीनपुस्ते तथा परिवारका अन्य सदस्यको नामबाट परिचय स्पष्ट गर्नुपर्ने हुन सक्छ, तर कुनै पेसागत प्रमाणपत्र लिएको व्यक्तिको परिचय खुलाउँदा निज कुन पेसामा कार्यरत रहेको हो र सो पेसासँग सम्बन्धित नियमनकारी निकायबाट दिएको प्रमाणपत्र संख्यासमेत खुलाएको अवस्थामा त्यस्तो परिचय दुई वा सोभन्दा बढी व्यक्तिहरूको पनि हुन सक्छ भन्‍ने पनि विश्‍वास गर्न सकिँदैन । कानून व्यवसाय एक सम्मानित पेसा हो, यो जनताको आस्था र विश्‍वासमा टिकेको 

हुन्छ । कानून व्यवसायीको परिचय निजको नामको अगाडि लेखिने अधिवक्ता वा वरिष्ठ अधिवक्ता आफैँमा परिचय खुलाउन पर्याप्त छ, त्यसमाथि पनि प्रमाणपत्र संख्या उल्लेख भएमा उक्त परिचय मेरो होइन भनी इन्कार गर्ने ठाउँ पनि रहँदैन । जनतालाई न्याय दिलाउन जागरूक कानून व्यवसायी अरूको विषयमा मात्र नभई आफ्नै विषयमा पनि जागरूक हुनु आवश्यक हुन्छ । सामान्य व्यक्तिको वतनमा म्याद तामेल हुनु न्यायको रोहमा आवश्यक हुन्छ । तर कानून व्यवसायी सोही न्याय सम्पादनको क्षेत्रमा कार्यरत रहने हुँदा र निरन्तर पेसामा रहेकाको लागि निजको परिचय खुलाउन निजको व्यावसायिक दर्ता प्रमाणपत्रको क्रमसंख्या आफैँमा पनि परिचयको मुख्य प्रमाणको रूपमा रहेको हुन्छ ।  

७. सार्वजनिक रूपमा जानकारी हुने गरी कानूनअनुसार पत्रिकामा प्रकाशित समाह्वानको सूचनाको बारेमा निवेदकलाई जानकारी थाहा भएन भन्‍ने निवेदकको जिकिर छ । सो सूचनामा उल्लेख भएको वतन ललितपुर जिल्ला, ललितपुर उपमहानगरपालिका, वडा नं.५ र प्रमाणपत्र नं. १२०१० नै निवेदकको प्रमाणपत्र संख्या भएको हुँदा यस्तो अवस्थामा सो सार्वजनिक रूपमा तामेल भएको समाह्वान सूचना अन्य कुनै वस्तुनिष्ठ अवस्थामा बाहेक साधारण रूपमै अमान्य गर्ने हो भने न्याय सम्पादनमा ढिलाई गर्ने तत्त्वले त्यसको फाइदा उठाउँदै जानेतर्फ पनि कानून तथा न्याय क्षेत्रमा कार्यरत व्यक्ति र निकायहरू सबै सचेत हुनु आवश्यक छ । प्रस्तुत अवस्थामा खुलाइएको निवेदकको ठेगाना ललितपुर जिल्ला, ललितपुर उपमहानगरपालिका वडा नं. ५ को सम्बन्धमा विपक्षीहरूले लिखित जवाफमा सुकमाया तामाङ वादी र प्रतिवादी ठुली तामाङसमेत भएको अपुताली हक कायम नामसारी निर्णय बदर, जालसाजी मुद्दा दायर गर्न यी निवेदकले लिएको वारेसनामामा तथा फिरादमा समेत सोही ठेगाना उल्लेख गरेको भन्‍ने जवाफ फिराएको सम्बन्धमा सो ठेगानाबारे यी निवेदकले बहसका क्रममा वस्तुनिष्ठ रूपमा सो ठेगाना के कस्तो कारणबाट आफूले अदालतसमक्ष घोषणा गरेको हो, कुन मितिदेखि कुन मितिसम्म सो वतनमा आफू बसोबास गरेको थियो र कहिलेदेखि सो ठेगाना आफूले परिवर्तन गरेको हो भन्‍नेबारे केही स्पष्ट गर्न सकेको पाइएन । मिति २०६३।१।१ मा लिएको उक्त वारेसनामा तथा २०६५ पौषमा फिराद दायर गर्दासमेत लेखिएको ठेगाना यी निवेदकले अदालतसमक्ष गरेको घोषणा हो त्यसलाई अन्यथा प्रमाणित गर्ने दायित्व यी निवेदकको हो । एक पेसागत कानून व्यवसायीले गरेको घोषणालाई अदालतले अन्यथा प्रमाणित नभएसम्म सही साँचो हो भन्‍ने नै विश्‍वास गर्दछ । त्यसमाथि पनि लामो समयसम्म प्रतिउत्तर प्राप्त नभएपछि सबैको जानकारी हुने गरी राष्ट्रिय दैनिक पत्रिकामा सार्वजनिक सूचना प्रकाशित गर्दा कानून व्यवसायीको प्रमाणपत्र संख्या पनि खुलाएपछि सो मुद्दाको वादीले प्रतिवादीहरूबाट प्रतिउत्तर प्राप्त गर्न यथासम्भव प्रयास गरेकै देखिन्छ भने यी निवेदक अदालतमा चलिरहेको मुद्दामा न्याय सम्पादन गर्नमा सहयोग गर्न उदासिन भएको पाइन्छ ।  

८. मिहिरकुमार ठाकुर विरूद्ध भेषजंग बादल भएको उत्प्रेषणको निवेदन (ने.का.प. २०६६, अंक १२ नि.नं. ८२८३) मा "मुलुकी ऐन, अदालती बन्दोबस्तको ११० नं. बमोजिम विपक्षीको नाउँमा म्याद तामेल गर्दा वा अन्य जुनसुकै कुरामा कसैको विरूद्ध चलेको कुनै कारबाहीमा जसको विरूद्ध कारबाही लक्षित छ उसले आफ्नो कुरा भन्ने मौका पाओस् र आफू विरूद्धको अभियोग वा दाबीको प्रतिवाद गर्न सकोस् भन्ने प्राकृतिक न्यायको सिद्धान्तको प्रयोजनको लागि सम्बन्धित व्यक्तिले त्यस्तो कारबाहीको सूचना पाओस् भनी उपर्युक्त किसिमको व्यवस्था गर्ने गरिएको हो" भन्‍ने सिद्धान्त प्रतिपादन भएको पाइन्छ तर सूचनाको सिद्धान्तले सूचना इन्कार गर्ने वा सूचना पाएर पनि नपाएको अभिनय गर्नेको सन्तुष्टिलाई कहिले पनि सम्बोधन गर्न सक्ने हुँदैन । सूचना सम्प्रेषण गर्ने कर्तव्य भएको निकायले सूचनाको प्रवाह गरी सूचना थाहा पाउनु पर्ने व्यक्तिसम्म इमानदारीपूर्वक पुर्‍याउन कोसिस भने गरेको हुनुपर्दछ, अन्यथा अदालती बन्दोबस्तको ११० नं. को म्याद तामेली वा मुद्दाको कारबाहीमा सूचना पुर्‍याउने कार्य अत्यन्त रूढीगत यान्त्रिक प्रक्रिया मात्रै हुन पुग्दछ भन्‍ने कुरामा दुईमत हुन सक्दैन ।

९. प्रस्तुत मुद्दामा यी निवेदकउपर परेको जालसाजी मुद्दामा यी निवेदक आफैँले मिति २०६३।१।१ मा सुकुमाया तामाङबाट यिनै विपक्षी ठुली तामाङसमेत उपर फिराद दायर गर्न लिएको वारेसनामा तथा मिति २०६५ पौषको फिरापत्रमा उल्लेख भएको वतनमा नै मिति २०६७।१।२४ मा म्याद तामेल भएको र म्यादभित्र उपस्थित नभएपछि कानून व्यवसायीको प्रमाणपत्र संख्यासमेत उल्लेख गरी परिचय फरक नपर्ने गरी जिल्ला अदालत नियमावली, २०५२ को नियम २२क (१) (क) बमोजिम मिति २०६९।७।२५ को दैनिक पत्रिका राजधानीमा पुनः म्याद सूचना प्रकाशित भएको अवस्थामा सत्यतथ्य लिई अदालतमा आई आफ्नो प्रतिरक्षा गर्नुपर्ने र न्याय सम्पादनमा सहयोग गर्नुपर्नेमा त्यसतर्फ उदासिनता देखाई लामो समयपश्‍चात्‌ उक्त मुद्दाको परिणाम स्वरूप आफूलाई प्रतिकूल प्रभाव पर्न थालेपछि मात्र उक्त मुद्दा पुनः जगाई पक्षहरूलाई लामो समय झुलाउने उद्देश्यले मात्र म्याद सूचना बदरको प्रक्रिया अख्तियार गरेको स्पष्ट देखिन्छ । ऐन नियमबमोजिमको प्रक्रिया तथा कार्यविधि अपनाई जारी भएको म्याद सम्बन्धमा उदासिनता देखाउने व्यक्तिलाई पटकपटक अवसर दिँदै जाने हो भने मुद्दाको काम कारबाही लामो समयसम्म लम्बिन गई सेवाग्राहीहरूमा न्यायिक अन्यौलता सिर्जना हुने अवस्था पर्न जान्छ । कुनै वस्तुनिष्ठ प्रमाणबाट रीत नपुर्‍याई म्याद तामेल वा जारी भएकै भए मुलुकी ऐन, अदालती बन्दोबस्तको ११० को देहाय ५ बमोजिम तथा फैसला भइसकेको अवस्थामा समेत अदालती बन्दोबस्तको २०८ बमोजिमको प्रक्रिया अपनाई कारबाही गराउनु सक्नु पर्ने सोसमेत नगरी परिचय खुल्ने सूचना पनि थाहा नपाएको जस्तो गरी बस्ने निवेदक सफाहात लिई अदालत प्रवेश गरेको अनुभूति हुँदैन । यस्तो प्रकृतिको निवेदकलाई अदालतले सहयोग गर्न सक्दैन ।   

१०. तसर्थ, निवेदकले उठाएको किर्ते जालसाजी मुद्दाको बारेमा रिट क्षेत्रबाट प्रवेश गरी पुनरावेदन सुनेको जस्तो गरी रिट क्षेत्राधिकारअन्तर्गत प्रमाण बुझ्ने, प्रमाणको मूल्याङ्कन गर्ने जस्तो कार्य उचित र रिटसम्बन्धी अवधारणाको अनुकूल हुने देखिँदैन । अतः निवेदकका नाउँमा तामेल भएको उपर्युक्त म्याद सूचनालाई वस्तुनिष्ठ तथ्य एवं प्रमाणको अभावमा बेरीतको भन्‍न नमिल्ने हुँदा प्रस्तुत रिट निवेदन खारेज हुने ठहर्छ । दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाई दिनू ।

 

उक्त रायमा सहमत छु ।

न्या. चोलेन्द्र शमशेर ज.ब.रा.

 

इजलास अधिकृत: शोभा पाठक

इति संवत् २०७५ असोज २२ गते रोज २ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु