निर्णय नं. १०२१६ - निषेधाज्ञा / परमादेश

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री दीपककुमार कार्की
माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा
फैसला मिति : २०७६।२।२७
०७१-RB-०२८३
मुद्दाः निषेधाज्ञा / परमादेश
पुनरावेदक / प्रत्यर्थी : का.जि.का.म.न.पा. वडा नं. १६ बालाजु औद्योगिक क्षेत्र स्थित नेबिको प्रा.लि.को अख्तियारप्राप्त प्रमुख कार्यकारी अधिकृत श्री होमनाथ न्यौपाने
विरूद्ध
विपक्षी / निवेदक : का.जि.का.म.न.पा. वडा नं. २२ कर्पोरेट अफिस भई जिल्ला सुनसरी दुहवी न.पा.वडा नं. ४ स्थित पशुपति बिस्कुट इण्डष्ट्रिज प्रा.लि.
निवेदकले माग नगरेको उपचार वा माग गरेभन्दा बढी उपचार वा सहुलियत अदालतले प्रदान गर्न नसक्ने ।
विवादको विषय मै केन्द्रित रही फैसला वा आदेश गर्नुपर्ने विषय न्याय र कानूनका मान्य सिद्धान्त नै हुन् । व्यापक जनहितका विषयमा अदालतले Judicial Activism देखाई निवेदकले नउठाएको वा माग नगरेको विषयमा समेत प्रवेश गरी माग गरेभन्दा बढी पनि आदेश गर्न सकिने भए तापनि दुई कम्पनीका बिचको विवादमा निवेदकले माग गरेभन्दा बढी उपचार दिनु वा माग गरेभन्दा फरक विषयमा प्रवेश गरी फैसला वा आदेश गर्न नमिल्ने ।
(प्रकरण नं.५)
पुनरावेदक / प्रत्यर्थीका तर्फबाट :
विपक्षी / निवेदकका तर्फबाट : विद्वान् अधिवक्ता श्री भेषराज न्यौपाने
अवलम्बित नजिर :
सम्बद्ध कानून :
पेटेन्ट डिजाइन र ट्रेडमार्क ऐन, २०२२
प्रतिस्पर्धा प्रवर्धन एवम् बजार संरक्षण ऐन, २०६३
उपभोक्ता संरक्षण ऐन, २०५४
सार्वजनिक खरिद ऐन, २०६३
पुनरावेदन तहमा फैसला गर्नेः
मा. न्यायाधीश श्री नारायणप्रसाद दाहाल
माननीय न्यायाधीश श्री द्वारिकामान जोशी
पुनरावेदन अदालत पाटन
आदेश
न्या. दीपककुमार कार्की : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम पुनरावेदन अदालत पाटन, ललितपुरको मिति २०७१।११।१९ को फैसलाउपर पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः-
यस प्रा.लि.ले मिति २०३०/३/११ मा जिल्ला सुनसरी, तत्कालीन दुहवी गा.वि.स., वडा नं.७ हाल दुहवी नगरपालिका, वडा नं.४ मा उद्योग स्थापना गरी यस प्रा.लि. को उद्देश्यबमोजिम बिस्कुट तथा कन्फेक्सनरी उत्पादन गर्ने गरी विपक्षी विभागबाट उद्योग दर्ता प्रमाणपत्र र कम्पनी दर्ता प्रमाणपत्र नं. ५९५/०३० बाट प्रमाणपत्र लिएका छौं । सो उद्देश्यबमोजिमको कार्य गरिरहेका छौं । यस प्रा.लि.को उद्देश्यबमोजिम बिस्कुट उत्पादन गर्ने कार्यमा र आफ्नो उत्पादन गुणस्तर र बजारीकरणलाई सुरक्षित गर्न, लगानीलाई सुरक्षित गर्ने उद्देश्यले उद्योग विभागमा पेटेन्ट डिजाइन र ट्रेडमार्क दर्ता गरी प्रमाणपत्र पाउँ भनी निवेदन दिएकोमा विपक्षी उद्योग विभागले औद्योगिक सम्पत्ति बुलेटिनमा कानूनबमोजिम दाबी विरोधको सूचना प्रकाशित गरी उक्त सूचनाबमोजिम कसैको दाबी विरोध नपरेकोसमेत र कानूनी आधार प्रमाणबाट वर्ग ३० अन्तर्गत High Energy बिस्कुटको पेटेन्ट डिजाइन र ट्रेडमार्क ऐन, २०२२ को दफा १८ बमोजिम पेटेन्ट डिजाइन र ट्रेडमार्क प्रमाणपत्र प्राप्त गरेका छौं । सो प्रमाणपत्र प्राप्त गरिसकेपछि कानूनबमोजिम तथा गुणस्तरमा ध्यान दिँदै नियमित रूपमा व्यापार व्यवस्थापन गरी आएको छ । यस बिस्कुटले आम जनमानस तथा संघसंस्थामा ख्याति कमाएको छ । यस प्रा.लि.ले आविष्कार गरेको High Energy बिस्कुटको पेटेन्ट दर्ता गरी मिति २०६५/६/२९ मा पेटेन्ट दर्ताको प्रमाणपत्र प्राप्त गरेको साथै यसै प्रा.लि.को नाउँमा पशुपति HIGH ENERGY ट्रेडमार्क दर्ता मिति २०६६/११/१३ मा प्रमाणपत्र प्राप्त भएको छ ।
यसरी ख्याति (Good Will) कमाएको र बजारीकरणबाट प्रतिस्पर्धा गर्न नसकेको र बेग्लै ट्रेडमार्क दर्ता गर्न नसकेको कारणबाट विपक्षी नेबिको प्रा.लि.ले ट्रेडमार्क डिजाइन हुबहु नक्कल गरी बजारमा ल्याउने भएको कारणबाट र विपक्षी नेबिकोले यस प्रा.लि.को हुबहु (Same to Same) उस्तै व्यापार, लोगो रङ्ग लगाई उद्योग विभागमा ट्रेडमार्क दर्ता गरिपाउँ भनी निवेदन दिएको र विपक्षी विभागले मिति २०६९/३/२९ गतेको औद्यौगिक सम्पत्ति बुलेटिनमा सूचना प्रकाशित गरिएकोमा सोउपरमा यस प्रा.लि.ले मिति २०६९/६/१५ मा नेबिकोको ट्रेडमार्क दर्ता गर्न नमिल्ने हुँदा खारेज गरिपाउँ, विपक्षी नेबिकोले ट्रेडमार्क हुबहु नक्कल गरी बजारमा ल्याउन लागेको र प्रा.लि.को ख्यातिमा असर पुर्याएको हुँदा कारबाही गरिपाउँ भनी मिति २०६९/६/१५ द.नं. ७५ मा विपक्षी विभागमा उजुरीसमेत दिएका छौं । सो निवेदनउपर विपक्षी विभागले कारबाही नगरी उदासिनता देखाइरहेको अवस्था छ । साथै मिति २०६९/८/५ मा यस निवेदक प्रा.लि.ले विपक्षी विभागमा पेटेन्ट डिजाइन र ट्रेडमार्क ऐन, २०२२ बमोजिम पेटेन्ट गरिएको हाई इनर्जी बिस्कुट र सोको ट्रेडमार्क हाम्रो मन्जुरी सहमति बिना उत्पादन प्रयोग गर्न पाउने अधिकार विपक्षी नेबिको प्रा.लि.लाई नभएको प्रस्ट छ । हाम्रो सहमति मन्जुरी बिना अनधिकृत तवरबाट विपक्षीले हाई इनर्जी बिस्कुट उत्पादन गरेको तथ्य मिति २०६९/६/२६ मा विपक्षी विभागले औद्योगिक सम्पत्ति बुलेटिनमा प्रकाशन गरेको सूचनाबाट प्रमाणित भएकोले विचाराधीन उजुरी निवेदनमा हामी निवेदकको वादी दाबी पुग्ने अवस्था विद्यमान छ । तर नेबिको प्रा.लि.ले हाल पनि हाम्रो पेटेन्ट अधिकारको उल्लङ्घन गरी हाई इनर्जी बिस्कुट उत्पादन गर्न लागेको तथ्य प्रमाणमा पेस गरेको र्यापरबाट पुष्टि हुन्छ भने ट्रेडमार्क दर्ता नै नगरी नगराई हाम्रो रजिस्टर्ड ट्रेडमार्कसँग मिल्दो जुल्दो र्यापर प्रयोग गरी हाई इनर्जी बिस्कुट बिक्री वितरण तथा अनधिकृत तवरबाट उत्पादित बिस्कुट आपूर्तिका लागि सार्वजनिक निकायको बोलपत्र प्रक्रियामा सहभागी भई आएकोले पुनः यो निवेदन पेस गरेका छौं । यसरी विपक्षीले उत्पादन गरेको बिस्कुट तथा प्रयोग गरेको र्यापर सम्बन्धमा उद्योग विभागमा मुद्दा विचाराधीन रहेकै बखत नेपाली सेनाको हाई इनर्जी बिस्कुट आपूर्तिसम्बन्धी बोलपत्रमा नेबिको प्रा.लि.बाट अनधिकृत रूपमा उत्पादन गरिएको तथा हामी निवेदकको रजिस्टर्ड ट्रेडमार्क (र्यापर) को नक्कल गरी बनाइएको र्यापर (उद्योग विभागमा दर्ता नै नभएको) प्रयोग गरी नमुना बिस्कुट पेस भएकोले सो र्यापरमा प्याक गरिएको नमुना बिस्कुटमा श्री पशुपति बिस्कुट इन्डष्ट्रिज प्रा.लि.को एकाधिकार रहेको बेहोरा नेपाली सेना खाद्य र परिवहन जंगी अड्डा काठमाडौंलाई जानकारी पठाइदिनुहुन अनुरोध गर्दछौं भनी हाल नेबिको प्रा.लि.ले गरेको कसुरका सम्बन्धमा हाम्रो निवेदन उद्योग विभागमा विचाराधीन रहेको अवस्थामा समेत निजले सो गैरकानूनी कार्यलाई निरन्तरता दिई आएको हुँदा निजको सो गैरकानूनी कार्य तत्काल नरोकिए हामी निवेदकलाई अपुरणीय क्षति हुन जाने र विपक्षीको गैरकानूनी तथा अनधिकृत कार्यले प्रोत्साहन प्राप्त गरी ऐन नियमको देखादेखि उल्लङ्घन भई कानूनी शासनको अन्त्य हुनाको साथै विपक्षीले अनधिकृत तवरबाट गैरकानूनी फाइदा आर्जन गर्ने अवस्था हुँदा उद्योग विभागमा विचाराधीन उजुरी निवेदनको अन्तिम किनारा नभएसम्म हाई इनर्जी बिस्कुटको उत्पादन बिक्री वितरण आपूर्ति नगर्नु नगराउनु गरेमा पेटेन्ट डिजाइन र ट्रेडमार्क ऐन, २०२२ को दफा ११ र १९ बमोजिम यस्तो उत्पादन र सोसँग सम्बन्धित सम्पूर्ण मालसामान जफत हुनेछ भन्नेसमेत बेहोराको अन्तरकालीन आदेश नेबिको प्रा.लि.का नाउँमा जारी गरी औद्योगिक सम्पत्तिको संरक्षण गरिपाउँ भनी निवेदन दर्ता भएकोमा सोको विवरण विपक्षी विभागले मिति २०६९/८/५ च.नं. २९१ मा श्री नेपाली सेना खाद्य परिवहन विभाग जंगी अड्डा काठमाडौंमा जानकारीसमेत गराएको अवस्था छ ।
तसर्थ यस प्रा.लि.को ख्याति बजार हिस्सामा असर पुर्याउने नियत विपक्षीले राखेको र विपक्षी विभागले लामो समयसम्म विपक्षी नेबिकोले ट्रेडमार्क दर्ताको लागि दिएको निवेदन र सोउपर यस प्रा.लि.को दाबी विरोध सम्बन्धमा कुनै निर्णय नगरी रहेको हालको अवस्थामा विपक्षी नेबिकोले ट्रेडमार्क पेटेन्ट डिजाइनको प्रमाणपत्र नै प्राप्त नगरेको र अवैधानिक तवरबाट बिभिन्न संघसंस्था, सार्वजनिक निकायमा टेण्डर बोलपत्रमा सहभागी हुने, सो अनधिकृत र्यापर ट्रेडमार्क डिजाइन प्रयोग गरी विपक्षी नेबिकोले आफ्नो उत्पादन बजारमा बिक्री वितरण गर्ने प्रबल सम्भावनाको अवस्था रहेकोले सो भएमा प्रस्तुत निवेदनसमेत निष्प्रयोजन हुने तथा सुविधा र सन्तुलनको दृष्टिले समेत यस प्रा.लि.को ख्याति, गुणस्तर र बजार हिस्सामा निवेदकलाई प्रतिकूल असर तथा अपुरणीय क्षति पुग्ने हुँदा तत्काल यस निवेदनको अन्तिम टुङ्गो नलागेसम्म विपक्षी नेबिकोले प्रमाण खण्डमा पेस गरेको र्यापर (ट्रेडमार्क) बमोजिमको हाई इनर्जी बिस्कुटको र्यापर प्रयोग गरी कुनैपनि सार्वजनिक निकायमा संघसंस्थामा High Energy बिस्कुट आपूर्तिको टेण्डर बोलपत्रमा सहभागी नहुनु तथा उक्त बिस्कुट बजारमा बिक्री वितरण नगर्नु नगराउनु भनी विपक्षीहरूका नाउँमा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ३३(क) बमोजिम अन्तरिम आदेश जारी गरी विपक्षीहरूबाट लिखत जवाफ माग गरी निषेधाज्ञाको आदेश जारी गरी विभागमा विपक्षी नेबिकोले दिएको निवेदन र यस प्रा.लि.ले दिएको दाबी विरोधको उजुरी सम्बन्धमा यथाशीघ्र निर्णय गर्नु भनी विपक्षीहरूका नाउँमा परमादेशको आदेश जारी गरिपाउँ भन्नेसमेत बेहोराको पशुपति बिस्कुट इन्डष्ट्रिज प्रा.लि. को तर्फबाट अख्तियार प्राप्त ऐ.ऐ. का अध्यक्ष बसन्तकुमार चौधरीको निवेदन ।
यसमा के कसो भएको हो ? निवेदकको मागबमोजिमको आदेश किन जारी हुनु नपर्ने हो ? आदेश जारी हुनु नपर्ने कुनै आधार र कारण भए सबुत प्रमाणसहित म्याद सूचना पाएका मितिले बाटाका म्यादबाहेक १५ दिनभित्र विपक्षी नं.१ का हकमा विशेष सरकारी वकिल कार्यालय काठमाडौंमार्फत र विपक्षी नं. २ का हकमा आफैँ वा आफ्नो कानूनबमोजिमको प्रतिनिधिमार्फत लिखित जवाफ पेस गर्नु भनी यो आदेश र निवेदनको प्रतिलिपि साथै राखी विपक्षीहरूका नाउँमा म्याद सूचना जारी गर्नू । अन्तरिम आदेशको माग सम्बन्धमा दुवै पक्ष राखी छलफल गरी अन्तरिम आदेश जारी हुने नहुने भनी आदेश गर्न उपयुक्त हुने हुँदा मिति २०७१/९/१४ को पेसी तारेख तोकी विपक्षीहरूलाई सूचना दिनु र सो मितिसम्म विवादमा रहेको र्यापर प्रयोग नगर्नु नगराउनु भनी प्रत्यर्थीको नाउँमा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ३३(क) बमोजिम अन्तरिम आदेश जारी गरिदिएको
छ । आदेशको जानकारी विपक्षीहरूलाई दिनू भन्नेसमेत बेहोराको मिति २०७१/९/२ को पुनरावेदन अदालत पाटनको आदेश ।
अन्तरिम आदेश जारी नगर्दा रिट निवेदकलाई अपूरणीय क्षति पुग्ने स्थित पनि नदेखिएको र रिट निवेदकले उठाएका सबै विषयमा अन्तिम आदेश हुँदाका बखत सम्बोधन हुने नै हुँदा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ३३क. बमोजिम अन्तरिम आदेश जारी गर्न पर्ने अवस्था नदेखिँदा मिति २०७१/९/२ मा जारी भएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिनु पर्ने देखिएन भन्नेसमेत बेहोराको मिति २०७१/९/१४ को पुनरावेदन अदालत पाटनको आदेश ।
नेबिको प्रा.लि.ले वर्ग ३० मा बिस्कुटमा प्रयोग गर्ने गरी "नेबिको हाई इनर्जी बिस्कुट" नामक ट्रेडमार्क दर्ताका लागि मिति २०६५/८/१२ मा यस विभागमा आवेदन दिएकोमा सो आवेदनमा यस विभागबाट मागबमोजिमको ट्रेडमार्क दर्ता प्रयोजनार्थ दाबी विरोधका लागि औद्योगिक बुलेटिनमा प्रकाशित गरिएकोमा पशुपति बिस्कुट इण्डष्ट्रिज प्रा.लि.ले विपक्षी नेबिको प्रा.लि.ले पशुपति बिस्कुट इन्डष्ट्रिज प्रा.लि.का नाउँमा वर्ग ३० मा दर्ता रहेको "पशुपति हाई इनर्जी बिस्कुट" नामक ट्रेडमार्कसँग मिल्दोजुल्दो नाम राखी साथै पशुपति बिस्कुट इन्डष्ट्रिज प्रा.लि.ले आविस्कार गरी दर्ता गराएको High Energy Biscuits को पेटेन्टसँग मिल्ने नाम राखी "नेबिको हाई इनर्जी बिस्कुट" नामक ट्रेडमार्क दर्ताका लागि आवेदन गरेकाले सो ट्रेडमार्क दर्तामा रोक लगाई पाउँ भनी यस विभागमा उजुरी परेको र सो उजुरी सम्बन्धमा नेबिको प्रा.लि.सँग लिखित प्रतिक्रिया माग गरी विपक्षीबाट लिखित प्रतिक्रियासमेत पेस भइसकेकाले सो उजुरी विचाराधीन अवस्थामा रहेको छ । यस विभागबाट नेबिको प्रा.लि.लाई "नेबिको हाई इनर्जी बिस्कुट" नामक ट्रेडमार्क प्रयोग गरी बिस्कुट उत्पादन गर्न कुनै अधिकार प्रदान नगरिएको साथै "नेबिको हाई इनर्जी बिस्कुट" नामक ट्रेडमार्क निजका नाउँमा दर्ता गर्न मिल्ने नमिल्ने सम्बन्धमा उजुरी परी सो उजुरीउपर कुनै निर्णयसमेत भई नसकेको अवस्थामा विपक्षी रिट निवेदकले यस विभागमा विचाराधीन रहेको उजुरीको निर्णयमा प्रभाव पार्ने उद्देश्यबाट रिट निवेदन दर्ता गराएको पाइन्छ । तसर्थ नेबिको प्रा.लि.ले वर्ग ३० मा दर्ता माग गरेको "नेबिको हाई इनर्जी बिस्कुट" नामक ट्रेडमार्क दर्ता गर्न मिल्ने नमिल्ने सम्बन्धमा पेटेन्ट, डिजाइन र ट्रेडमार्क ऐन, २०२२ को प्रक्रिया पूरा गरी यस विभागबाट कानूनबमोजिम निर्णय हुने नै हुँदा सो सम्बन्धमा सम्मानित अदालतबाट रिट आदेश जारी गरी रहनु पर्ने अवस्था नरहेकाले विपक्षीको रिट निवेदन खारेज गरिपाउँ भन्नेसमेत बेहोराको नेपाल सरकार, उद्योग मन्त्रालय, उद्योग विभागका तर्फबाट ऐ. का महानिर्देशक महेश्वर न्यौपानेको लिखित जवाफ ।
कुनै पेटेन्ट दर्ताको लागि पेटेन्टवालाले कुनै नयाँ Invention / Creation (आविष्कार / सिर्जना) हुनुपर्नेमा विपक्षीले दर्ता गरेको पेटेन्ट "High Energy Biscuits" उक्त कम्पनीको आविष्कार नभएकोले रिट निवेदक कम्पनीको पेटेन्ट ऐनको दफा ६(१)(ख) प्रतिकूल रहेको छ । उक्त दर्ता ऐनको दफा ६(२) बमोजिम उद्योग विभागबाट कारबाही हुनुपर्ने अवस्था विद्यमान छ । यस सम्बन्धमा उद्योग विभागमा मिति २०६८/८/२५ मा निवेदन गरे तापनि विपक्षीको के कस्तो प्रभावका कारणले हो हालसम्म कारबाही भएको छैन । WFP ले सिफारिस (Prescribe) गरेको High Energy Biscuits सम्बन्धमा रिट निवेदनमा स्पष्ट पारिएको छैन । High Energy Biscuits को प्रयोग भोकमरी, प्राकृतिक विपत्ति तथा युद्धको अवस्थामा खाद्यान्न अभावमा पीडितलाई खुवाउन WFP ले Invention / Creation गरेको बिस्कुट हो । यो बिस्कुट WFP अन्तर्गत विश्वमा भोकमरी, प्राकृतिक विपत्तिलगायत युद्धको अवस्थामा सर्वसाधारणहरूलाई उपलब्ध गराउने कार्य गर्दछ । यो बिस्कुटको विशेषता थोरै परिमाणले लामो समयसम्म शरीरलाई शक्ति प्रदान गर्दछ । यस तथ्यलाई रिट निवेदनमा लुकाउन खोजिएको स्पष्ट देखिन्छ । उल्लिखित तथ्यको आधारमा समेत विपक्षीले दर्ता गरेको कथित Patent निवेदकको Invention / Creation नभएको अवस्थामा विपक्षीलाई रिट निवेदन गर्ने हकदैयासमेत नभएको प्रस्ट छ ।
बजारमा उपलब्ध सेवा तथा वस्तुको खरिद बिक्रीको एकाधिकार रोक्नको लागि राज्यले विभिन्न कानूनको निर्माण तथा कार्यान्वयन गरेको
छ । विशेषगरी सार्वजनिक स्रोतको उपयोग गरी खरिद गरिने सेवा तथा वस्तुहरू प्रतिस्पर्धाको माध्यमबाट उच्च गुणस्तरको र उपयुक्त मूल्यमा खरिद गर्नको लागि निश्चित प्रक्रिया पूरा गर्नुपर्ने गरी कानूनमा व्यवस्था गरिएकोमा उक्त व्यवस्थाहरूलाई छल्ने उद्देश्यका साथ विपक्षीले बोलपत्र प्रक्रियामा सहभागी हुनबाट वञ्चित हुने गरी मागसहितको रिट आफ्नो एकाधिकार प्राप्त गर्ने उद्देश्यका साथ निर्देशित भएकोले रिट निवेदन उपभोक्ता संरक्षण ऐन, २०५४ को दफा ८ प्रतिकूल भएकोले खारेजभागी छ । सार्वजनिक निकायहरूले सार्वजनिक स्रोतको प्रयोग गरी खरिद गर्ने सेवा वा वस्तु खरिद प्रक्रिया खुला रूपमा बोलपत्र आह्वान गरी गर्नुपर्ने तथा उक्त प्रक्रियामा सहभागी हुन विना भेदभाव समान अवसर प्रदान गर्नुपर्ने सार्वजनिक खरिद ऐन, २०६३ को दफा ९ प्रतिकूल रिट निवेदकले हामीलाई प्रतिस्पर्धामा सहभागी हुनबाट रोक्ने माग गरी परेको रिट निवेदन उल्लिखित कानूनी व्यवस्था प्रतिकूल भएकोले खारेज गरिपाउँ भन्नेसमेत बेहोराको नेबिको प्रा.लि.को अख्तियार प्राप्त होमनाथ न्यौपानेको लिखित जवाफ ।
निवेदक कम्पनीको नाउँमा दर्ता भएको पेटेन्ट विवरणमा उल्लिखित कुनै पदार्थ वा पदार्थ समूहको बनावट, सञ्चालन वा प्रसारको नयाँ उपाय वा तरिकासम्बन्धी वा कुनै नयाँ सिद्धान्त वा फर्मुलाद्वारा पत्ता लगाइएको कुनै उपयोगी आविष्कारको कुनै कुरा प्रयोग गरी हाई इनर्जी बिस्कुट उत्पादन गर्न पाउने निवेदक कानूनतः एक्लो कम्पनी रहेको देखिन्छ । निज कम्पनीबाहेक अरू कसैले निजको पेटेन्ट प्रयोग गरी कुनैपनि नाउँमा उत्पादन गर्न कानूनतः निषेधित भएको हुँदा आफ्नो नाउँमा दर्ता भएको पेटेन्टमा कम्पनीको एकाधिकार हुने कुरा पेटेन्ट डिजायन र ट्रेडमार्क ऐन, २०२२ स्पष्ट छ । निवेदक पशुपति बिस्कुट इण्डस्ट्रिज (प्रा.लि.) कानून एवम् सर्वोच्च अदालतद्वारा प्रतिपादित सिद्धान्तबाट संरक्षित हुँदाहुँदै विपक्षी उद्योग विभागले २०६९/०६/२६ मा दर्ता भएको निवेदनमा हालसम्म पनि निर्णय नगरेको कुरा लिखित जवाफमा समेत स्वीकार गरेको देखिन्छ । लामो समयसम्म निर्णय नगरिदिएकोबाट निवेदकको व्यावसायिक क्षमता, उत्पादन र त्यसको गुणस्तर, बजार विस्तारको अभिवृद्धिमा समेत प्रतिकूल असर पर्न गई अवाञ्छित एवम् गैरकानूनी क्रियाकलापबाट कानूनविपरीत बजारमा अस्वस्थ र गैरकानूनी प्रतिस्पर्धातर्फ बजार उन्मुख हुन जानेतर्फ सचेत हुनुपर्ने देखिनु पर्नेमा विभागको अनिर्णयबाट सो कुरालाई प्रोत्साहित गरेको देखियो ।
तसर्थ, विपक्षी नेबिकोले ट्रेडमार्क दर्ताको लागि दिएको निवेदन र निवेदकको दाबी विरोधमा परेको उजुरी सम्बन्धमा विपक्षी उद्योग विभागले निर्णय नगरेकोबाट निवेदकको व्यावसायिकतामा अवरोध आउने आशंका रहेको हुँदा विपक्षीको नाउँमा निषेधाज्ञा जारी गरी नेबिकोले ट्रेडमार्क दर्ताको लागि दिएको निवेदन र निवेदकले दिएको दाबी विरोधका उजुरीसमेतमा अविलम्ब निर्णय गर्नु भनी विपक्षी उद्योग विभागको नाउँमा परमादेशको आदेश जारी हुने ठहर्छ भन्ने बेहोराको पुनरावेदन अदालत पाटनबाट मिति २०७१।११।१९ मा भएको फैसला ।
World Food Program (WFP) ले High Energy Biscuit को आविष्कार गरेको हो । WFP को विद्युतीय सञ्जाल (web side) मा यसको समिश्रण (composition) को विवरण दिएको छ । High Energy Biscuit मा सम्मिश्रण हुनुपर्ने आवश्यक तत्त्व (ingredients) र सोमा हुने पौष्टिक तत्त्वसमेत खुलाई WFP ले विद्युतिय सञ्जालमार्फत विपक्षीको ट्रेडमार्क दर्ता हुनुभन्दा अघिदेखि नै विश्वव्यापी रूपमा जानकारी गराई आएको छ ।
ट्रेडमार्कको सम्बन्धमा प्रयुक्त शब्द दर्तावाला आफैँले खोदेको (coin) गरेको शब्द वा सामान्य प्रचलनमा रहेका शब्दहरू हुन् भन्ने बेहोरा महत्त्वपूर्ण हुन्छ । सामान्य जनजीवनमा प्रयोग हुने तथा शब्दकोश (dictionary) मा अर्थ दिएको वा परिभाषित गरिएको शब्द वा शब्द संयोजनमा कुनै व्यक्तिको एकाधिकार हुन सक्दैन । त्यसैगरी सामान्य व्यापारिक प्रचलनमा आउने जस्तैः कुर्सी, टेबल, घर, चाउचाउ, पर्दा, कार्पेट जस्ता शब्दहरूमा कुनै व्यक्तिको एकाधिकार रहन सक्दैन ।
पुनरावेदन अदालत पाटनको फैसलामा सबैभन्दा आपत्तिजनक बेहोरा उद्योग विभागमा निर्णयार्थ पठाउने आदेश भएको छ, अर्कोतर्फ निर्णय गर्ने निकाय वा अधिकारी आफ्नो विवेक प्रयोग गरी स्वतन्त्र र न्यायिक विवेक प्रयोग गर्न नपाइने गरिएको छ । फैसलाको प्रकरण नं.१५ मा ऐनको दफा २(ग) ले ट्रेडमार्कको परिभाषा गरिएको र दफा १६ ले दर्तावाला कम्पनीबाहेक अन्यले नक्कल वा प्रयोग गर्न निषेध गरेको भनिएको छ । उक्त कानूनी व्यवस्थानुसार विपक्षीले हाई इनर्जी बिस्कुटको ट्रेडमार्क मिति २०६५।६।२९ मा दर्ता भएकोले प्रमाण पत्रमा उल्लेख भएबमोजिमको कम्पनीबाहेक अन्यलाई प्रयोग गर्न बन्देज गरिएको भनिएको छ । यसप्रकार पुनरावेदन अदालतले तल्लो / सम्बन्धित निकायमा फैसला गर्न पठाउने गरी परमादेश जारी गर्ने तर सो निकायलाई आफ्नो इच्छानुसार निर्णय गर्न निर्देशन गरी फैसलामा गम्भिर त्रुटि गरिएको छ ।
फैसलामा प्रतिस्पर्धा प्रवर्द्धन तथा बजार संरक्षण ऐन, २०६३ को उद्देश्य र भावनाको प्रतिकूल उद्योग विभागबाट निर्णय नभएको भनिएको छ । फैसलामा उल्लिखित बेहोराले नै उक्त कानून प्रतिकूल फैसला भएको प्रस्ट हुन्छ फैसला उक्त ऐनको के कस्तो भावना र उद्देश्य प्रतिकूल भएको हो खुलाइएको
छैन । यसबाट समेत सतहीरूपमा फैसला गरिएको प्रस्ट हुन्छ । उक्त फैसलामा एकातर्फ ट्रेडमार्क दर्ताको विवादको निरूपण गर्ने निकाय उद्योग विभाग भएको स्वीकार गरिएको छ र अर्कोतर्फ उक्त निकायलाई प्रचलित कानून, कानूनी सिद्धान्त, पछिल्लो समयमा विकसित अवधारणा र बजारको सिद्धान्तअनुरूप निर्णय गर्नसक्ने वातावरण समाप्त गरिएको छ । निष्पक्ष निर्णय गर्न नसक्ने गरी विषाक्त गर्ने कार्य भएको छ ।
पुनरावेदन अदालत पाटनको फैसलाको प्रकण नं.१३ मा विपक्षीबाहेक अन्य कसैले पनि हाई इनर्जी बिस्कुट उत्पादन गर्न नपाउने विपक्षीको एकाधिकार रहेको भनिएको छ । यसैगरी प्रकरण नं.१४ मा सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ८५(३) बमोजिम विपक्षीसँग खरिद गर्न सक्ने भनिएको छ । फैसलाको यस बेहोराले नेपाल राज्यभित्र अन्य कसैले पनि हाई इनर्जी गुणको बिस्कुट उत्पादन, बिक्री वितरण र आपूर्ति गर्न नपाउने र विपक्षी एकल उत्पादकको हैसियतले बिना प्रतिस्पर्धा बिक्री वितरण गर्नपाउने भनी न्यायिक घोषणा (Judicial declaration) गर्नेकार्य भएको छ । यस अवधारणालाई मान्ने हो भने ट्रेडमार्क वा पेटेन्ट दर्ता भएको वस्तु वा सेवा नेपालमा एकभन्दा बढी हुन नसक्ने अवस्था उत्पन्न हुन्छ ।
प्रस्तुत विवाद विपक्षीको ट्रेडमार्क पुनरावेदकले प्रयोग गर्न खोजेको वा समान प्रकृतिको ट्रेडमार्क दर्ता गर्न खोजेको भन्ने विषय होइन । उक्त विवाद उद्योग विभागको क्षेत्राधिकारको विषय हो । पुनरावेदकले दर्ता गर्नको लागि पेस गरेको ट्रेडमार्क दर्ता हुनसक्ने वा नसक्ने ठहर गर्न पुनरावेदन अदालतको रिट क्षेत्राधिकार प्रयोग गरेको होइन । यस अवस्थामा निवेदकले अदालतमा विवाद नै पेस नगरेको विषयमा हाई इनर्जी बिस्कुटमा विपक्षीको एकाधिकार संरक्षण उद्योग विभागले गरिदिनु भनी नितान्त निजी विवादमा न्यायिक सक्रियता देखाइएको छ । यसबाट स्वतन्त्र न्यायपालिका, निष्पक्ष निर्णयको मर्यादा उल्लङ्घन भएको छ । पक्षभन्दा अदालत बढी निवेदक भएको छ । यस फैसलाले गोरूभन्दा गाडा अगाडि (cart before the bull) भन्ने उखानलाई चरितार्थ गरेको
छ । फैसला प्रमाण ऐन, २०३१ को दफा ३, ५४ र मुलुकी ऐन अ.बं.१८४क, १८५ नं. प्रतिकूल छ । अतः माथि प्रकरणहरूमा वर्णित कानून, सिद्धान्त एवं तथ्यहरूको आधारमा निषेधाज्ञा जारी गर्ने र फैसला गर्दा आधार लिएको फैसलाको प्रकरण नं.१२, १३, १४, १५, १८, १९, २० को हदसम्मको फैसला उल्टी गरी न्याय पाउँ भन्ने बेहोराको यस अदालतमा चढाएको पुनरावेदन पत्र ।
यसमा प्रतिस्पर्धा प्रवर्द्धन तथा बजार संरक्षण ऐन, २०६३ को भावनाविपरीत पुनरावेदन अदालत पाटनले निवेदक कम्पनीको नाममा दर्ता भएको पेटेन्ट विवरणमा उल्लिखित कुनै पदार्थ वा पदार्थ समूहको बनावट, सञ्चालन वा प्रसारको नयाँ उपाय वा तरिकासम्बन्धी कुनै नयाँ सिद्धान्त वा फर्मुलाद्वारा पत्ता लगाएको कुनै उपयोगी आविष्कारको कुनै कुरा प्रयोग गरी हाई इनर्जी बिस्कुट उत्पादन गर्न पाउने निवेदक कानूनतः एक्लो कम्पनी रहेको भनी फैसलामा उल्लेख गरेको देखिँदा पुनरावेदन अदालत पाटनबाट परमादेशको आदेश जारी गर्ने गरी मिति २०७१/११/१९ मा भएको फैसला फरक पर्न सक्ने देखिँदा मुलुकी ऐन, अ.बं.२०२ नं. एवम् सर्वोच्च अदालत नियमावली, २०७३ को नियम ६७ बमोजिम विपक्षी झिकाई आएपछि वा अवधि व्यतित भएपछि नियमानुसार पेस गर्ने भन्ने बेहोराको यस अदालतबाट मिति २०७५।१।३ मा भएको आदेश ।
नियमबमोजिम पेसी सूचीमा चढी निर्णयार्थ इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदकका तर्फबाट High Energy बिस्कुट उत्पादन गर्न विपक्षी निवेदकको एकाधिकार कायम गर्ने गरी उद्योग विभागलाई निर्णय गर्नु भनी जारी गरेको पुनरावेदन अदालत पाटनको आदेश कानूनतः नमिल्ने, कुनै अमुक कम्पनीको मात्र बजारमा एकाधिकार सिर्जना हुने गरी गरिएको फैसला प्रतिस्पर्धा प्रवर्द्धन तथा बजार संरक्षण ऐन, २०६३ को विपरीत रहेको
छ । High Energy बिस्कुटको फर्मुला World Food Program (WFP) ले आफ्नो Web Site मा यसको सम्मिश्रण (composition) को विवरण दिएको हुनाले उक्त Composition सबैले प्रयोग गर्न सक्ने अवस्था छ । Trade mark को सम्बन्धमा High Energy भन्ने शब्दहरू गुण वा विशेषण बोध गराउने शब्दहरू हुन र उक्त शब्दमा ट्रेडमार्क एकाधिकार हुन नसक्ने भएको हुँदा विपक्षी पशुपति बिस्कुट इन्डष्ट्रिजको एकाधिकार रहने गरी उद्योग विभागका नाउँमा जारी गरेको पुनरावेदन अदालतको आदेश बदर हुनुपर्छ भन्ने मुख्य जिकिर रहेको देखियो ।
प्रत्यर्थी पशुपति बिस्कुट इन्डष्ट्रिज प्रा.लि.को तर्फबाट उपस्थित विद्वान् अधिवक्ता भेषराज न्यौपानेले पशुपति बिस्कुट इण्डष्ट्रिज प्रा.लि.ले पेटेन्ट र ट्रेडमार्क अधिकार लिई उत्पादन गरिरहेको High Energy बिस्कुटको हुबहु Composition र Trademark प्रयोग गरी अर्को बिस्कुट उत्पादन गर्न विपक्षीहरूलाई कानूनतः अधिकार नरहेको र पेटेन्ट डिजाइन र ट्रेडमार्क ऐन, २०२२ को दफा ४, ५, ६ र ७ ले पेटेन्ट र ऐ. दफा १६ ले ट्रेडमार्कको अनधिकृत प्रयोगबाट दर्ता गराउने कम्पनीलाई संरक्षण प्रदान गरेको हुँदा सोहीबमोजिम कानूनी प्रक्रिया पूरा गरी उचित निर्णय लिनका लागि निर्णय गर्ने निकाय उद्योग विभागलाई परमादेश जारी गर्ने गरी भएको पुनरावेदन अदालत पाटनको फैसला उचित भएको र यसै सन्दर्भमा अख्तियार प्राप्त निकाय उद्योग विभागले विवादित विषयमा निर्णयसमेत गरी सकेको अवस्था रहेको हुँदा पुनरावेदन अदालत पाटनको फैसला सदर हुनुपर्छ भनी गर्नुभएको बहससमेत सुनियो ।
यसमा पशुपति बिस्कुट इण्डष्ट्रिज प्रा.लि.ले मिति २०३०।३।११ मा उद्योग स्थापना गरी बिस्कुट उत्पादन गर्दै आएको छ । सोहीअनुसार यस उद्योगबाट उत्पादन हुने High Energy बिस्कुटको पेटेन्ट डिजाइन र ट्रेडमार्क ऐन, २०२२ को दफा १८ बमोजिम उद्योग विभागमा दर्ता गरी प्रमाण पत्रसमेत प्राप्त गरेका छौं । यस प्रा.लि.ले आविष्कार गरेको High Energy बिस्कुटको मिति २०६५।६।२९ मा पेटेन्ट दर्ताको प्रमाणपत्र प्राप्त गरेको र पशुपति High Energy ट्रेडमार्क दर्ता मिति २०६६।११।१३ मा प्रमाण पत्र प्राप्त गरी उत्पादन गर्दै आएका छौं । यही क्रममा विपक्षी नेबिको प्रा.लि.ले यस प्रा.लि.को हुबहु (same to same) उस्तै व्यापार, लोगो रङ्ग लगाई उद्योग विभागमा ट्रेडमार्क दर्ता गरिपाउँ भनी निवेदन दिएको र विपक्षी विभागले मिति २०६९।३।२९ गते सूचना प्रकाशित गरेकोमा सोउपरमा यस प्रा.लि.ले विपक्षी नेबिकोले ट्रेडमार्क हुबहु नक्कल गरी बजारमा ल्याउन लागेकोले ट्रेडमार्क दर्ता गर्न नमिल्ने हुँदा खारेज गरिपाउँ भनी विपक्षी विभागमा २०६९।६।१५ मा उजुरी दर्ता गराएकोमा उक्त विभागबाट कुनै निर्णय नहुँदा विपक्षी नेबिको प्रा.लि.ले ट्रेडमार्क पेटेन्ट डिजाइनको प्रमाणपत्र नै प्राप्त नगरेको अवस्थामा सार्वजनिक निकायमा टेण्डर बोलपत्रमा सहभागितासमेत जनाएको हुँदा यस प्रा.लि.को ख्याति, गुणस्तर र बजार हिस्सामा निवेदकलाई प्रतिकूल असर पर्ने हुँदा निषेधाज्ञाको आदेश जारी गरी विभागमा विपक्षी नेबिकोले दिएको निवेदन र यस प्रा.लि.ले दिएको दाबी विरोधको उजुरी सम्बन्धमा यथाशीघ्र निर्णय गर्नु भनी विपक्षीहरूका नाउँमा परमादेशको आदेश जारी गरिपाउँ भन्ने निवेदक पशुपति बिस्कुट इन्डष्ट्रिज प्रा.लि.को निवेदन परेकोमा पुनरावेदन अदालत पाटनले विपक्षी नेबिकोले ट्रेडमार्क दर्ताको लागि दिएको निवेदन र निवेदकको दाबी विरोधमा परेको उजुरी सम्बन्धमा विपक्षी उद्योग विभागले निर्णय नगरेकोबाट निवेदकको व्यावसायिकतामा अवरोध आउने आशंका रहेको हुँदा विपक्षीको नाउँमा निषेधाज्ञा जारी गरी नेबिकोले ट्रेडमार्क दर्ताको लागि दिएको निवेदन र निवेदकले दिएको दाबी विरोधका उजुरीसमेतमा अविलम्ब निर्णय गर्नु भनी विपक्षी उद्योग विभागको नाउँमा परमादेश जारी हुने गरी भएको आदेशउपर विपक्षी नेबिको बिस्कुटको तर्फबाट पुनरावेदन परेको रहेछ ।
नेबिको बिस्कुटको तर्फबाट High Energy Biscuit को आविष्कार World Food Program (WFP) ले गरेको हो र उसले आफ्नो web site मा यसको सम्मिश्रण (composition) को विवरण दिएको छ । विपक्षीले यसको फर्मुला पत्ता लगाएको होइन । High Energy Biscuit मा सम्मिश्रण हुनुपर्ने आवश्यक तत्त्व (ingredients) र सोमा हुने पौष्टिक तत्त्वसमेत खुलाई WFP ले विद्युतीय सञ्जालमार्फत विपक्षीको ट्रेडमार्क दर्ता हुनुभन्दा अघिदेखि नै विश्वव्यापी रूपमा जानकारी गराई आएको हुँदा उक्त सम्मिश्रण प्रयोग गरी नयाँ बिस्कुट उत्पादन गर्न कानूनत नमिल्ने होइन । ट्रेडमार्कको सम्बन्धमा प्रयुक्त शब्दहरू गुणबोधक शब्दहरू भएको हुँदा र सामान्य जनजीवनमा प्रयोग हुने शब्दहरू भएको हुँदा र दर्तावाला आफैँले खोदेको (coin गरेको) शब्द नभएको हुँदा उक्त पेटेन्ट र ट्रेडमार्कमा विपक्षी पशुपति बिस्कुटको मात्र एकाधिकार रहन सक्दैन भन्ने जिकिरसहितको पुनरावेदन रहेको देखियो । यसमा पुनरावेदन अदालत पाटनबाट भएको आदेश मिलेको छ छैन भनी निर्णय दिनुपर्ने देखिन आयो ।
२. निर्णयतर्फ विचार गर्दा कुनै पनि औद्योगिक उत्पादनको पेटेन्ट र ट्रेडमार्कका सम्बन्धमा प्रचलित कानूनले के कसरी नियमित गरेको छ पेटेन्ट र ट्रेडमार्कको दर्ता प्रक्रिया, यसको संरक्षण कसरी गरिएको छ र के कुन निकायलाई के कस्तो जिम्मेवारी तथा अधिकार प्रदान गरिएको छ भनी हेर्नुपर्ने देखिन आयो । यस सम्बन्धमा विद्यमान कानून पेटेन्ट डिजाइन र ट्रेडमार्क ऐन, २०२२ रहेको र उक्त ऐनले पेटेन्ट डिजाइन र ट्रेडमार्कका सम्बन्धमा समयोचित कानूनी व्यवस्था गर्न उक्त ऐन आएको प्रस्ट गरेको छ । उक्त ऐनको दफा ३(१) कुनै पेटेन्टउपर अधिकार प्राप्त गर्न चाहने व्यक्तिले सो पेटेन्ट आफ्नो नाममा दर्ता गराउनु पर्छ । दफा ४ ले पेटेन्टउपर अधिकारप्राप्त गर्न विभागमा दरखास्त दिनुपर्ने दफा ५ ले दफा ४ बमोजिमको दरखास्त दाखिल भएपछि विभागले अवश्यक देखेमा विशेषज्ञहरूको सल्लाहसमेत लिई दरखास्तमा लेखिएको पेटेन्ट नयाँ आविष्कार भएको हो होइन र सर्वसाधारणलाई उपयोगी छ छैन भन्ने कुराको जाँचबुझ र अध्ययन गरी सो पेटेन्ट दर्ता गर्न हुने वा नहुने कुराको यकिन गर्नेछ भन्ने उल्लेख भएको त्यसैगरी ट्रेडमार्कको हकमा दफा १६ ले कसैले आफ्नो बन्द व्यापार वा कारोबारको ट्रेडमार्क दफा १८ बमोजिम विभागमा दर्ता गराई सो ट्रेडमार्कउपर यस ऐनबमोजिमको हक प्राप्त गर्न सक्नेछ । दफा १७ मा ट्रेडमार्क दर्ताको निमित्त विभागमा दरखास्त दिनुपर्ने । दफा १८(१) मा दफा १७ बमोजिम ट्रेडमार्कको दर्ताको निमित्त कसैको दरखास्त परेमा सो ट्रेडमार्कका सम्बन्धमा आवश्यक जाँचबुझ गरी कसैको दाबी विरोध भए त्यस्तो दाबी विरोध गर्न मनासिब मौका दिई कसैको दाबी विरोध पर्न आएमा सोउपर समेत छानबिन गरी दर्ता गर्न उपयुक्त ठहरिएमा सो ट्रेडमार्क दरखास्तवालाको नाममा दर्ता गरी अनुसूची २ (ग) बमोजिमको प्रमाणपत्र दिनु पर्छ । तर त्यस्तो ट्रेडमार्कबाट कुनै व्यक्ति वा संस्थाको प्रतिष्ठामा धक्का पर्ने वा सर्वसाधारण जनताको सदाचार वा नैतिकता वा राष्ट्रिय हितमा नराम्रो असर पर्ने वा अरू कसैको ट्रेडमार्कको ख्यातिमा धक्का पर्ने सम्भावना छ भन्ने लागेमा वा सो ट्रेडमार्क पहिले अरू कसैको नाममा दर्ता भइसकेको देखिएमा सो ट्रेडमार्क दर्ता गरिने छैन भन्ने व्यवस्था गरेको देखिन्छ । त्यसैगरी उक्त ऐनको दफा २ (घ) ले विभाग भन्नाले नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकिदिएको विभाग सम्झनु पर्छ र त्यस्तो नतोकिएसम्म उद्योग विभागलाई सम्झनु पर्छ भन्ने व्यवस्था गरेको देखिन्छ ।
३. यसरी कानूनबमोजिम कुनै कम्पनी वा उद्योगले आफ्नो पेटेन्ट र ट्रेडमार्क उद्योग विभागमा दर्ता गरेपश्चात् उक्त पेटेन्ट र ट्रेडमार्कमा उक्त कम्पनीको अधिकार सुनिश्चित हुन जाने, पेटेन्ट र ट्रेडमार्क उक्त कम्पनी वा उद्योगको Intangible Property मानिने र यी विषय कुनै पनि कम्पनी वा उद्योगको परिचायक हुने तथा उक्त प्रतिष्ठानको ख्याति वा प्रतिष्ठासँग समेत जोडिएको हुने हुन्छ । अत: पेटेन्ट र ट्रेडमार्क कुनै एक प्रतिष्ठानको स्वामित्वमा आएपछि वा प्रतिष्ठानले दर्ता गराएपछि सोही पेटेन्ट र ट्रेडमार्क पुन: अर्को कम्पनीले दर्ता गराउन नपाउने अवस्थालाई कानूनले नै निर्दिष्ट गरेको देखिन आउँछ । त्यसैगरी पेटेन्ट र ट्रेडमार्क दर्ता गर्ने गराउने, त्यसको लागि निवेदन लिने तथा उक्त पेटेन्ट र ट्रेडमार्क पहिले नै दर्ता भइसकेको अवस्था छ छैन हेर्ने र त्यस सम्बन्धमा कसैको दाबी विरोधसहितको उजुरी लिने र दर्ता प्रक्रियामा दाबी विरोध पर्न आएमा जाँचबुझ गरी उचित निर्णय गरी निकासा दिने निकाय कानूनले नै स्पष्ट पारेको हुन्छ । र नेपालको सन्दर्भमा उक्त कार्यका लागि सम्बन्धित कानून पेटेन्ट डिजाइन र ट्रेडमार्क ऐन, २०२२ रहेको र अधिकारप्राप्त निकाय उद्योग विभाग रहेको प्रस्ट भएको छ । अब यस मुद्दाको मूल अन्तरवस्तुलाई निर्क्यौल गर्दा पेटेन्ट र ट्रेडमार्क प्रयोग कसरी हुने वा कसले गर्ने भन्ने नभई निर्णय गर्ने निकायले reasonable समयावधिमा निर्णय गरोस् भन्नका लागि आदेश जारी होस् भन्ने रिट निवेदकको उपचार माग र विपक्षी रिट निवेदकलाई अवाञ्छित हित हुने तथा बजारमा एकाधिकार सिर्जना हुने गरी भएको आदेश त्रुटिपूर्ण भएको भन्ने पुनरावेदन जिकिर रहेको देखिन्छ । ट्रेडमार्क ऐनले ट्रेडमार्कको सम्बन्धमा उद्योग विभागले निर्णय गर्नुपर्ने गरी जिम्मेवारी तोकेको अवस्था छ । र निर्णय गर्दा अपनाउनु पर्ने कार्यविधि तथा बुझ्नु पर्ने विषयसमेत निर्दिष्ट गरेको हुँदा कानूनी व्यवस्थाबमोजिम जिम्मेवार निकायले नै उचित निर्णय दिनुपर्ने देखिन आउँछ ।
४. जिम्मेवार निकायले उचित समयावधिमा निर्णय नगर्दा कुनै व्यक्ति वा संस्थाको संवैधानिक वा कानूनी हक अधिकार हनन् हुन पुगेको अवस्थामा रिट निवेदन लिई अदालत आउन सकिने हुन्छ । यसमा निर्णय भएपश्चात् निर्णयमा चित्त नबुझी निर्णयउपर पुनरावेदनको रोहमा अदालतमा आउनु एउटा पाटो हुन्छ भने निर्णय नै नगरेको अवस्थामा कानूनबमोजिम उचित समयावधिमा निर्णय होस् भन्ने अर्को पाटो हुन्छ । अख्तियार प्राप्त निकायले अकर्मण्यता देखाई निर्णय नगर्दा हुन सक्ने क्षतिका लागि उपचार माग गर्दै अदालतमा आउनु र अदालतबाट उचित आदेश जारी गरी पाउनु पनि कानून प्रदत्त हक नै हुन्छ । अत: उद्योग विभागले समयमै निर्णय नगर्दा उचित समयमा विवादित विषयको निरूपण होस् भनी रिट निवेदन लिई पुनरावेदन अदालतमा निवेदक आएको विषय स्वाभाविक र सहज नै देखिन्छ । उक्त विभागले गरेको निर्णयउपर चित्त नबुझेको खण्डमा सम्बन्धित न्यायिक निकायमा पुनरावेदन गर्न सकिने व्यवस्थासमेत पेटेन्ट डिजाइन र ट्रेडमार्क ऐन, २०२२ को दफा २७ ले गरेको छ । उक्त दफाले यस ऐनबमोजिम विभागको आदेशमा चित्त नबुझ्ने व्यक्तिले ३५ दिनभित्र पुनरावेदन अदालतमा पुनरावेदन गर्न सक्नेछ भन्ने व्यवस्था गरेको छ । सो हुँदा कानूनी रूपमा पेटेन्ट र ट्रेडमार्कको दर्ता सम्बन्धमा विवाद सिर्जना वा दर्ता प्रक्रियामा दाबी विरोध पर्न आएमा त्यस सम्बन्धमा अख्तियारी प्राप्त निकायले नै निर्णय दिनुपर्ने देखिन आउँछ ।
५. अब पुनरावेदकले उठाएको विषय विपक्षी पशुपति बिस्कुटको बजार एकाधिकार कायम हुने गरी भएको आदेश त्रुटिपूर्ण छ । उक्त आदेश प्रतिस्पर्धा प्रवर्धन एवम् बजार संरक्षण ऐन, २०६३ को दफा ४, उपभोक्ता संरक्षण ऐन, २०५४ को दफा ६ र ७ र सार्वजनिक खरिद ऐन, २०६३ को दफा ४ प्रतिकूल छ । रिट निवेदकले मागेभन्दा बढी विपक्षीको बजारमा एकाधिकार सिर्जना गर्ने गरी उपचार प्रदान गर्ने गरी परमादेश जारी गरिएको छ भन्ने रहेको छ । यस सम्बन्धमा आफ्नो अधिकारको हनन् कति भएको र त्यसको पुनर्बहालीका लागि के कति उपचारको आवश्यक हुने हो उक्त विषय उपचारको माग गरी आउने पक्षको नै हुने हुन्छ । निवेदकले माग नगरेको उपचार वा माग गरेभन्दा बढी उपचार वा सहुलियत अदालतले प्रदान गर्न सक्दैन । विवादको विषयमै केन्द्रित रही फैसला वा आदेश गर्नुपर्ने विषय न्याय र कानूनका मान्य सिद्धान्त नै हुन् । व्यापक जनहितका विषयमा अदालतले Judicial Activism देखाई निवेदकले नउठाएको वा माग नगरेको विषयमा समेत प्रवेश गरी माग गरेभन्दा बढी पनि आदेश गर्न सकिने भए तापनि दुई कम्पनीका बिचको विवादमा निवेदकले माग गरेभन्दा बढी उपचार दिनु वा माग गरेभन्दा फरक विषयमा प्रवेश गरी फैसला वा आदेश गर्न मिल्ने
हुँदैन । उल्लिखित ऐनको व्यवस्थाको प्रतिकूल आदेश भएको हो वा होइन भन्ने सम्बन्धमा हेर्दा प्रतिस्पर्धा प्रवर्द्धन एवम् बजार संरक्षण ऐन, २०६३ को दफा ४ ले प्रभुत्वशाली हैसियत भएको कुनै प्रतिष्ठानले आफूले वा आफ्ना सम्बद्ध निकायमार्फत कुनै वस्तु वा सेवाको उत्पादन वा वितरण गर्दा प्रतिस्पर्धा नियन्त्रण गर्ने उद्देश्यले त्यस्तो हैसियत दुरूपयोग गर्न गराउन नहुने भन्ने विषय उल्लेख गरेको, उपभोक्ता संरक्षण ऐन, २०५४ को दफा ६ ले उपभोक्ताको अधिकारको संरक्षण तथा संवर्द्धनको बारेमा दफा ७ ले माग, आपूर्ति वा मूल्यमा प्रतिकूल प्रभाव पार्न नहुने भन्ने विषयलाई व्यवस्थित गरेको देखिन्छ । उक्त ऐनका व्यवस्थाले बजारमा प्रतिस्पर्धा कायम गर्ने, प्रोत्साहन गर्ने, बजारलाई कसैले नियन्त्रणमा राखी एकाधिकार सिर्जना हुने अवस्थालाई निराकरण गर्ने तथा उपभोक्ताको हक अधिकारको संरक्षण गर्ने तथा बजारमा माग आपूर्ति वा मूल्यमा प्रतिकूल प्रभाव पार्न नहुने विषयलाई व्यवस्थित गरी बजारलाई नियन्त्रित गर्न नदिइने तथा उपभोक्ताको हक अधिकारको संरक्षणको व्यवस्था गरेको विषयलाई अन्यथा भन्न मिलेन । तथापि पुनरावेदन अदालत पाटनबाट भएको आदेशमा पुनरावेदकले जिकिर लिए जस्तो उक्त ऐनको व्यवस्थाको प्रतिकूल भएको अवस्था छ छैन भनी हेर्दा उक्त आदेशको कुनै पनि प्रकरण, वाक्य वा वाक्यांशले पुनरावेदकले जिकिर लिए जस्तो निवेदक पशुपति बिस्कुट इ. प्रा.लि. लाई बजारमा एकाधिकार सिर्जना गर्ने, अन्य प्रतिस्पर्धीलाई बजारमा आउनबाट रोक लगाउने र निवेदकले माग गरेको भन्दा फरक विषयमा आदेश गरेको अवस्था देखिन आएन ।
६. पुनरावेदन अदालतको परमादेशको आदेश विपक्षी उद्योग विभागले विवादित विषयमा उचित समयमा निर्णय गरी निकासा दिनु भन्नेसम्म रहेको र निषेधाज्ञाले रिट निवेदकलाई हानि हुने सम्भावना रहेको हुँदा उक्त विभागबाट पेटेन्ट र ट्रेडमार्क सम्बन्धमा निर्णय नहुँदासम्म विपक्षी नेबिको प्रा.लि. लाई उक्त ट्रेडमार्क प्रयोगमा ल्याउन निषेध गर्नु भन्ने रहेको देखिन्छ । पुनरावेदन अदालत पाटनको आदेशले रिट निवेदक वा विपक्षी कसैको पनि हक अधिकारलाई सिर्जना गर्ने वा हक अधिकार मेटाउने आदेश भएको देखिन आएन । अधिकारप्राप्त निकायलाई उचित समयमा विवादित विषयमा निर्णय निकासा दिनु भन्ने हदसम्मको आदेश कानूनी रूपले त्रुटिपूर्ण छ भन्न मिल्ने अवस्था देखिन आएन ।
७. सोहीबमोजिम विवादित विषय नेबिको प्रा.लि. ले ट्रेडमार्क दर्ताको लागि दिएको निवेदन र निवेदनको दाबी विरोधमा पशुपति बिस्कुट इ. प्रा.लि. बाट परेको उजुरी सम्बन्धमा उद्योग विभागबाट मिति २०७२।७।१२ मा निर्णय निकासा भइसकेको समेत बहसका क्रममा पेस हुन आएको उद्योग विभागको मिति २०७२।७।१२ को निर्णय पर्चाको प्रतिलिपिबाट देखिएको हुँदा प्रस्तुत मुद्दाको मूल अन्तरवस्तुको नै निवारण भइसकेको अवस्था देखिन आएको छ । पक्ष विपक्षको उद्योग विभागमा परेको निवेदन तथा दाबी विरोधको सम्बन्धमा निर्णय भएपश्चात् चित्त नबुझ्ने पक्षले कानूनबमोजिम पुनरावेदनका लागि अदालतसम्म आउने बाटो खुला नै रहेको देखिँदा पुनरावेदन अदालत पाटनबाट मिति २०७१।११।१९ मा भएको फैसला अन्यथा मान्नु पर्ने अवस्था देखिन आएन । पुनरावेदन जिकिर पुग्न नसकी फैसला सदर हुने ठहर्छ । फैसलाको विद्युतीयप्रति अपलोड गरी दायरी लगत कट्टा गरी मिसिल अभिलेख शाखामा बुझाइ दिनू ।
उक्त रायमा सहमत छु ।
न्या. अनिलकुमार सिन्हा
इजलास अधिकृत : महेन्द्रप्रसाद पौड्याल
इति संवत् २०७६ जेष्ठ २७ गते रोज २ शुभम् ।