निर्णय नं. १०२१७ - अंश

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री दीपककुमार कार्की
माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत
फैसला मिति : २०७५।३।२६
०७२-CI-०९४५
मुद्दाः अंश
पुनरावेदक / वादी : कैलाली जिल्ला धनगढी नगरपालिका वडा नं.१ बस्ने गोपालबहादुर थापा
विरूद्ध
प्रत्यर्थी / प्रतिवादी : कैलाली जिल्ला धनगढी नगरपालिका वडा नं.१ बस्ने समिना थापासमेत
कसैले कसैको सेवा, सुश्रुसा, पालनपोषण, दुःख समस्यामा पर्दा सहयोग गरेकोमा रिझबापत दाताले खुसीले आफ्नो हक पुग्ने सम्पत्ति त्यस्तो सेवा सुश्रुसा, पालनपोषण, सहयोग गर्ने व्यक्तिलाई नि:शुल्क दिएको बकस वास्तविक अर्थमा बकस
मानिने । यसरी पाएको बकस नै पाउनेको निजी ठहरी आफूखुसी गर्न पाउने भन्ने अंशबन्डाको महलको भावना र मर्म हुने ।
वास्तविक बकस पाएको भन्ने कुराको पुष्टि विश्वसनीय कागज प्रमाणहरूबाट हुनुपर्ने ।
बकस पाएको कुरामा अदालत सन्तुष्ट हुने खालको कुनै प्रमाण पेस गर्न नसकेको अवस्थामा विवादको सम्पत्तिलाई निजी आर्जनको सम्पत्ति मान्न नमिल्ने ।
(प्रकरण नं.३)
पुनरावेदक / वादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री बालकृष्ण न्यौपाने
प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ताद्वय श्री शम्भु नेपाल र श्री श्रुतिकुमारी रेग्मी
अवलम्बित नजिर :
सम्बद्ध कानून :
प्रमाण ऐन, २०३१
सुरू तहमा फैसला गर्नेः
माननीय जिल्ला न्यायाधीश श्री विष्णु सुवेदी
कैलाली जिल्ला अदालत
पुनरावेदन तहमा फैसला गर्नेः
मा.का.मु.मुख्य न्या.श्री ईश्वरप्रसाद खतिवडा
मा. न्यायाधीश श्री भानुभक्त शर्मा न्यौपाने
पुनरावेदन अदालत दिपायल
फैसला
न्या. दीपककुमार कार्की : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम यसै अदालतको अधिकारक्षेत्रको भई ऐजन ऐनको दफा १२(१)(क) र (ख) बमोजिम दोहोर्याई पाउँ भन्ने निवेदन दर्ता भई निस्सा प्रदान भएअनुसार पुनरावेदनको रोहमा दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार रहेको छः-
हामी वादी प्रतिवादीका स्व.बाजे लालबहादुर थापाको छोरा बुबा शेरबहादुर थापा र आमा सुकमाया थापाका २ जना छोरामा जेठो म फिरादी गोपालबहादुर थापा र कान्छो भाइ बलराम थापा मात्र हौं । म फिरादीको श्रीमती बिना थापा र मबाट १ छोरी अम्बिका र २ छोरामा जेठो विजय र कान्छो संजय थापा हुन् । छोरी अम्बिकाको विवाह भइसकेको छ । मेरो भाइ बलराम थापाको श्रीमती समिना थापा हुन् । निजको एक मात्र छोरा शिशिर थापा र २ छोरीको जायजन्म भएको हो । बुबा / आमा र भाइको कालगतिले मृत्यु भइसकेको छ । यी बाहेक अन्य अंशियारहरू छैनन् । जिल्ला कैलाली धनगढी नगरपालिका स्थित मिलन चोकमा हाम्रो बुबाले ४ बिगाहा ऐलानी जग्गा कटान गरी दर्ता स्रेस्ता भएको सम्पत्ति नै हाम्रो पुर्ख्यौली सम्पत्ति हो । २०६५ सालमा जग्गा दर्ता खुलेकाले नगर विकास समितिले सूचना प्रकाशित गरेपश्चात् विपक्षी बुहारीले मलाई खबर गरी म धनगढी आई पुगे र बुहारीकै नाममा भएपनि जग्गा दर्ता गर्नका लागि नगर विकास समितिमा मन्जुरीनामाको कागजसमेत गरी दिए । मैले मन्जुरीनामा दिँदा उक्त पुर्खौली सम्पत्ति ४ बिगाहबाट घटेर १-५-१७१/२ मात्र बाँकी रहेको थियो । उक्त मन्जुरीनामाको गलत प्रयोग गरी विपक्षीले मेरो अंश हक मार्ने र एकलौटी खाने उद्देश्यले विभिन्न व्यक्तिहरूलाई जग्गा बेचबिखन गरी जम्मा ०-७-१२ जग्गामात्र आफ्नो नाममा दर्ता गराएकी हुँदा मैले थाहा पाएर धनगढी आई मेरो मन्जुरी बिना किन बिक्री गर्यौ भन्दा मेरो सम्पत्ति म जेसुकै गरौं भन्ने बचन दिएर मलाई अंशबापतको जग्गा दिन इन्कार गरेकीले बेचबिखन गरेको जग्गाको हकमा छुट्टै फिराद गर्ने र हालसम्म बचेको सम्पूर्ण सम्पत्तिको २ भागको १ भाग अंश दिलाई भराई पाउँ भन्नेसमेत बेहोराको फिराद दाबी ।
विपक्षी फिरादीले उल्लेख गरेको पुस्तेवारीबाहेक अन्य सम्पूर्ण बेहोरा झुठ्ठा हो । हाम्रो सासू / बज्यै नाताकी सुकमाया थापाको नाउँमा दर्ता स्रेस्ता रहेको निजले आफूखुस गर्न पाउने जग्गा सासू / बज्यैको जीवित छउन्जेल सेवा, औषधी उपचार, तिर्थव्रत गराएको र मृत्युपश्चात् दाहसंस्कार, काजक्रियासमेत हामीले आफ्नै रकमबाट गराएकोले अपुतालीको ११ नं. बमोजिम हक पुगी सो सम्पत्तिलाई नामसारी गराउने प्रक्रिया थाल्दा यी वादीले आफ्नो हक नभएकोले समिना थापाको नाउँमा एकलौटी गराएमा मन्जुरी छ भनी कागज गरी दिएका हुन् । फिरादीको हामीमाथि अंश पाउँ भन्ने हकदैया नै नभएको हुँदा फिराद खारेज भागी छ । वादी दाबीबमोजिम हामी वादी प्रतिवादीको कुनै पुर्ख्यौली सम्पत्ति नभएको प्रस्ट नै छ । सासू ससुराको स्वर्गवासपछि हाम्रो बन्डा गर्नुपर्ने कुनै पुर्ख्यौली सम्पत्ति नै नहुँदा मैले फिरादीलाई कुनै अंश दिनुपर्ने होइन । हाम्रो बन्डा गर्नुपर्ने अचल सम्पत्ति नभएको र २०५९।१।७ गते चल सम्पत्ति हातहातै बुझी लिई छुट्टी भिन्नभिन्न बसी अलग अलग कारोबार गरी आएकाले मेरो पतिले आफूले आर्जन गरी कमाएको सम्पत्ति बन्डा लाग्ने होइन । झुठ्ठा फिराद दाबीबाट फुर्सद दिलाई पाउँ भन्नेसमेत बेहोराको प्रतिउत्तरपत्र ।
यी दुवै पक्ष अंशियार हुन् । अंशबन्डा भएको छैन । शेरबहादुर थापाका २ छोरा गोपालबहादुर थापा र बलराम थापा हुन् । स्व.बलराम थापाकी श्रीमती समिना थापा भएकाले फिरादीले प्रतिवादी समिना थापाबाट अंश पाउनु पर्ने हो भन्नेसमेत बेहोराको वादीका साक्षी अर्जुन श्रेष्ठले सुरू अदालतमा गरेको बकपत्र ।
फिरादीले उल्लेख गरेको पुस्तेवारी ठीक
छ । यी वादी प्रतिवादीहरूका बिचमा मिति २०५९।१।७ गते अंशबन्डा भइसकेको छ । वादी प्रतिवादीकी आमा सुकमाया थापाको नाममा दर्ता भएको जग्गा बाचुन्जेल पालनपोषण सेवा गरी निजको मृत्युपश्चात् समिना थापाले काजक्रिया दाहसंस्कार सबै गरेकीले आफ्नो नाममा नामसारी गराएकी हुन भन्नेसमेत बेहोराको प्रतिवादीका साक्षी शान्ति बस्नेतले सुरू अदालतमा गरेको बकपत्र ।
वादीले तायदाती फाँटवारीमा उल्लेख गरेको निजी आर्जनको बन्डा नलाग्ने भनी दाबी लिएको सम्पत्ति बकसपत्रबाट प्राप्त गरेकोमा बकसपत्रको पेटबोली तथा कैफियत महलमा उल्लिखित बेहोरा एवं प्रकृतिबाट अंशियारहरूबिच बन्डा गर्नुपर्ने सम्पत्ति देखिन गएको र प्रतिवादीले तायदाती फाँटवारीमा बन्डा नलाग्ने निजी आर्जनको सम्पत्ति भनी उल्लेख गरेको सम्पत्तिको स्रोत र प्रकृतिबाट पनि निजी आर्जनको नठहरी बन्डा गर्नुपर्ने सम्पत्ति देखिन
गयो । वादी प्रतिवादीहरूबिच नाता पुस्ता र अंशियार सङ्ख्यामा विवाद रहन नगएको र निजहरूबिच रीतपूर्वक बन्डापत्रसमेत पारित हुन नसकेको विद्यमान स्थितिमा तायदाती फाँटवारीमा उल्लिखित ऋणको हकमा साहुको नालेस परेका बखत कानूनबमोजिम हुने नै हुँदा फाँटवारीमा उल्लिखित सम्पत्तिबाट २ भागको १ भाग सम्पत्ति वादीले अंश छु्ट्याई लिन पाउने ठहर्छ भनी कैलाली जिल्ला अदालतको फैसला ।
सुरूको फैसलामा चित्त बुझेन । म वादी गोपालबहादुर थापाले चन्द्रबहादुर रंजितकारको व्यावहारिक काममा सहयोग गरी रिझाएबापत निजको नामको कि.नं. ६६५ को क्षेत्रफल ०–३–१, ऐ को कि.नं.७१३ को ०-१-० र ऐ. को कि.नं.५५ को ०-०-२ जग्गा हालैको बकसपत्रबाट र.नं.३९९० मिति २०४९।१०।२८ मा पारित गरी पाएको सम्पत्ति निजी तवरले दानबकस पाएको हुँदा उक्त सम्पत्ति निजी ठहरी आफूखुसी गर्न पाउँछ, बन्डा गर्न कर लाग्दैन भन्ने मुलुकी ऐन, अंशबन्डाको महलको १८ नं. मा भएको कानूनी व्यवस्थाविपरीत सगोलको पैतृक बन्डा लाग्ने सम्पत्ति हो भन्ने तथ्य कहीँकतैबाट स्थापित हुन नसकेको सम्पत्तिमा सगोलका अंशियारमा बन्डा लाग्ने गरी भएको सुरू फैसला ने.का.प.२०५२ को पृष्ठ ६१० नि.नं.६०४० मा प्रकाशित नजिरसमेतको विपरीत हुँदा कैलाली जिल्ला अदालतबाट मेरो बकसपत्रबाट पाएको कि.नं.६६५, ७१३ र ५५ का जग्गा बन्डा गर्ने गरेको हदसम्म मिति २०७०।३।९ को फैसला बदर गरिपाउँ भन्नेसमेत बेहोराको वादी गोपालबहादुर थापाले पुनरावेदन अदालत दिपायलमा दायर गरेको पुनरावेदन पत्र ।
सुरूको फैसलामा चित्त बुझेन । वादी काठमाडौं बस्ने र हामी प्रतिवादीहरू धनगढी कैलाली बस्ने हुँदा हामीहरूका बिचमा बन्डा गर्ने अचल सम्पत्ति नभएकाले चल सम्पत्ति हातहातै लिई बसेकोले हाम्रो घर व्यवहार र मानो चुलो अलग भएको अवस्था स्थापित भएको छ । त्यसैगरी गोपालबहादुर थापाले धनगढी नगर विकासको जग्गा दर्ता गर्दा निज काठमाडौंमा नै बसोबास गरी आएको र उक्त जग्गा एकलौटी दर्ता गराई प्रमाणपुर्जा लिएमा मन्जुर छ भनी मन्जुरीनामा दिएको अवस्थामा हामी वादी प्रतिवादीहरू एकआपसमा पहिल्यै मानो छुट्टिई निज काठमाडौंमा बस्ने गरेको कुरामा विवाद छैन । घर व्यवहार मानो चुलो अलग भएपछि आफ्नो स्वआर्जनको कमाइबाट प्राप्त गरेको धनगढी नगर विकास समितिबाट मिति २०६६।२।२१ गते र.नं.७९०३ बाट प्राप्त गरेको धनगढी नगरपालिका २ घ कि.नं. ४७० को ज.बि.०-४-१२ र मिति २०६६।२।२१ गते र.नं.८२९७ बाट प्राप्त गरेको कि.नं.३५७ ज.बि.०-३-११ जग्गा राजीनामा गरी लिएकोले सो सम्पत्ति बन्डा लाग्ने होइन । वादी गोपालबहादुर थापाले आफ्नो नाममा रहेको कैलाली जिल्ला रतनपुर गाउँ विकास समिति वडा नं.६ कि.नं.३५५ को ज.बि.३-४-१ पूरै कित्ता जग्गा मिति २०४७।१।५ को र.नं.२७३७, २७३८, २७३९, २७४० बाट ४ जना व्यक्तिलाई बिक्री गरेर काठमाडौं गएको कुरा हाल मालपोत कार्यालय कैलालीबाट नक्कल लिँदा थाहा पाएकोले सो प्रमाण लगाई पाऊँ । हामीले दुःख गरी कमाएको पैसाले नगर विकासबाट खरिद गरेको जग्गामा बन्डा नलाग्ने हुँदा सो हदसम्म सुरू फैसला बदर गरिपाउँ भन्नेसमेत बेहोराको प्रतिवादी शिशिर थापा र समिना थापाले पुनरावेदन अदालत दिपायलमा दायर गरेको पुनरावेदनपत्र ।
यसमा सुरू कैलाली जिल्ला अदालतको फैसलाउपर चित्त नबुझाई वादी प्रतिवादीको दोहोरो पुनरावेदन परेको देखिँदा अदालती बन्दोबस्तको महलको २०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ को प्रयोजनार्थ वादी गोपालबहादुर थापाको पुनरावेदनको जानकारी प्रतिवादी समिना थापासमेतलाई र प्रतिवादी समिना थापासमेतको पुनरावेदनको जानकारी वादी गोपालबहादुर थापालाई दिई निजहरू हाजिर हुन आए वा सो अवधि नाघेपछि नियमानुसार गरी पेस गर्नु भन्ने पुनरावेदन अदालत दिपायलबाट मिति २०७०।१०।१२ मा भएको आदेश ।
तायदाती फाँटवारीमा उल्लेख भएका सम्पत्ति (घर, जग्गा) वादी प्रतिवादीका बिच अंशबन्डा लाग्ने सगोलको सम्पत्ति देखिएकोले सोबाट २ भागको १ भाग अंश वादीले छुट्याई लिन पाउने ठहर गरेको सुरू कैलाली जिल्ला अदालतको मिति २०७०।३।९ को फैसला मनासिब हुँदा सदर हुने ठहर्छ । तायदाती फाँटवारीमा देखाइएको ऋणका हकमा साहूको नालेस परेका अवस्थामा ठहरेबमोजिम हुने नै भएकोले अहिले सोतर्फ थप विवेचना गरी रहन परेन । वादी गोपालबहादुर थापा तथा प्रतिवादी समिना थापासमेतको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने पुनरावेदन अदालत दिपायलबाट मिति २०७१।३।३ मा भएको फैसला ।
पुनरावेदन अदालत दिपायलको फैसलामा चित्त बुझेन । विपक्षी प्रतिवादी म निवेदकको भाइ बुहारी तथा भतिजा नाताका व्यक्ति हुन् । यस्तो अंशियार नाता सम्बन्धमा म निवेदकले चन्द्रबहादुर रंजितकारबाट र.नं.३९९० मिति २०४९।१०।२८ मा हालैदेखिको बकसपत्रबाट प्राप्त साबिकको कि.नं.६६५ को क्षे.फ.०-३-१ ऐ. को कि.नं.७१३ को ०-१-० र ऐ. को कि.नं.५५ को ०-०-२ हालको कि.नं.१४६ को जग्गा बन्डा हुने हैन । सुरू र पुनरावेदन अदालत दिपायलले सो सम्पत्ति बन्डा गर्ने गरेको मिलेको छैन । म निवेदकले चन्द्रबहादुरलाई रिझाएबापतमा पाएको बकसपत्र लिखत बेहोराको सम्पत्ति निजी आर्जनको हो । "पैतृक सम्पत्तिको योगदान रहेको भन्ने तथ्य कहीँकतैबाट स्थापित हुन नसकेको सम्पत्तिमा कसैले आफ्नो निजी आर्जनबाट जोडेको सम्पत्तिलाई सगोलको सम्पत्ति मान्न नसकिने निजी आर्जनको सम्पत्तिमा सो आर्जन गर्ने अंशियारको निजी ठहरी आफूखुस गर्न पाउँछ भन्ने अंशबन्डाको १८ नं. मा स्पष्ट कानूनी व्यवस्था रहेको हुँदा त्यस्तो सम्पत्तिमा अन्यलाई अंश हक नलाग्ने दाजु भाउजूको स्वआर्जनको सम्पत्तिमा बहिनीले पैतृक सम्पत्तिसरह दाबी गर्न नमिल्ने" भन्ने ने.का.प.२०६७ पृष्ट १६६२ कि.नं.८४७५ मा नजिर कायम छ । बन्डा गरिएका माथि उल्लिखित जग्गा विपक्षीसमेतको अंश हक लाग्ने पैतृक स्रोतको सम्पत्ति हैन । सुरू र पुनरावेदन अदालत दिपायलको फैसला सो नजिरको विपरीत भई सो हदसम्म बदर भागी छ भन्नेसमेत बेहोराको वादी गोपालबहादुर थापाले यस अदालतमा दायर गरेको मुद्दा दोहोर्याई पाउँको निवेदनपत्र ।
यसमा बकसपत्रको लिखतबाट प्राप्त भएको सम्पत्तिसमेत बन्डा लाग्ने ठहर्याई पुनरावेदन अदालत दिपायलबाट मिति २०७१।३।३ मा भएको फैसलामा अंशबन्डाको १८ नं. को व्याख्यात्मक त्रुटि देखिनुका साथै ने.का.प.२०५२ नि.नं.६०४० पृष्ठ ६१० र ने.का.प.२०५३ नि.नं.६२६५ पृष्ठ ७०६ मा प्रतिपादित सिद्धान्तसमेतको त्रुटि विद्यमान देखिँदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) र (ख) को आधारमा मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान गरिदिएको छ भन्ने यस अदालतबाट भएको आदेश ।
नियमबमोजिम दैनिक पेसी सूचीमा चढी निर्णयार्थ इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदकको तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ता श्री बालकृष्ण न्यौपानेले साबिकको कि.नं.६६५, ७१३ र ५५ को हालको कि.नं.१४६ जग्गा वादी गोपालबहादुर थापाले चन्द्रबहादुर रंजितकारबाट हालैदेखिको बकसपत्रबाट प्राप्त गरेको निजी आर्जनको जग्गा बन्डा हुनुपर्ने होइन । सुरू तथा पुनरावेदन अदालतबाट बन्डा ठहर्ने गरी भएको फैसला उल्टी गरी बन्डा नहुने ठहर हुनुपर्दछ भनी बहस गर्नुभयो । यसैगरी विपक्षीका तर्फबाट उपस्थित विद्वान् अधिवक्ताद्वय श्री शम्भु नेपाल र श्री श्रुतिकुमारी रेग्मीले वादी गोपालबहादुर थापाका नाउँमा जग्गाहरू बन्डा हुनुपर्ने सगोलको जग्गा भएको हुँदा उक्त जग्गा बन्डा लाग्ने गरी सुरू तथा पुनरावेदन अदालतबाट भएको फैसला सदर कायम हुनुपर्दछ भनी गर्नुभएको बहससमेत सुनियो ।
दुवैतर्फका विद्वान् कानून व्यवसायीले गर्नुभएको बहस सुनी पुनरावेदन पत्रलगायतका मिसिल संलग्न कागज प्रमाणहरूको अध्ययन गरी पुनरावेदन अदालत दिपायलबाट भएको फैसला मिलेको छ, छैन र पुनरावेदकको पुनरावेदन जिकिरबमोजिम हुनु पर्ने हो वा होइन ? भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने देखिन आयो ।
निर्णयतर्फ विचार गर्दा हामी वादी प्रतिवादीका स्व.बाजे लालबहादुर थापाको छोरा बुबा शेरबहादुर थापा र आमा सुकमाया थापाका २ जना छोरामा जेठो म फिरादी गोपालबहादुर थापा र कान्छो भाइ बलराम थापा मात्र हौं । म फिरादीको श्रीमती बीना थापा र मबाट १ छोरी अम्बिका र २ छोरामा जेठो विजय र कान्छो संजय थापा हुन् । छोरी अम्बिकाको विवाह भइसकेको छ । मेरो भाइ बलराम थापाको श्रीमती समिना थापा
हुन् । निजको एक मात्र छोरा शिशिर थापा र दुई छोरी हुन् । बुबा / आमा र भाइको कालगतिले मृत्यु भइसकेको छ । यी बाहेक अन्य अंशियारहरू छैनन् । मैले दिएको मन्जुरीनामाको गलत प्रयोग गरी विपक्षीले मेरो अंश हक मार्ने र एकलौटी खाने उद्देश्यले विभिन्न व्यक्तिहरूलाई जग्गा बेचबिखन गरी जम्मा ०-७-१२ जग्गा मात्र आफ्नो नाममा दर्ता गराएकी हुँदा हालसम्म बचेको सम्पूर्ण सम्पत्तिको २ भागको १ भाग अंश दिलाई भराई पाउँ भन्ने फिराद दाबी र वादी दाबीबमोजिम हाम्रो बन्डा गर्नुपर्ने कुनै पुर्ख्यौली सम्पत्ति नहुँदा मैले फिरादीलाई कुनै अंश दिनुपर्ने होइन । झुठ्ठा फिराद दाबीबाट फुर्सद दिलाई पाउँ भन्ने प्रतिउत्तर जिकिर रहेको प्रस्तुत मुद्दामा सुरू अदालतबाट तायदाती फाँटवारीमा उल्लिखित ऋणको हकमा साहुको नालेस परेका बखत कानूनबमोजिम हुने नै हुँदा फाँटवारीमा उल्लिखित सम्पत्तिबाट २ भागको १ भाग सम्पत्ति वादीले अंश छु्ट्याई लिन पाउने ठहर गर्ने गरी भएको फैसला सदर हुने ठहरी पुनरावेदन अदालतबाट भएको फैसलामा चित्त नबुझाई वादी गोपालबहादुर थापाको तर्फबाट दोहोर्याई पाउँको निवेदन परेकोमा निस्सा प्रदान भई पुनरावेदनको रोहमा प्रस्तुत मुद्दा निर्णयार्थ पेस हुन आएको रहेछ ।
यी पुनरावेदक वादी गोपालबहादुर थापाले यस अदालतमा दिएको दोहोर्याई पाउँ भन्ने निवेदनमा सुरू तथा पुनरावेदन अदालतबाट आफ्नो नाउँको कि.नं.६६५, कि.नं.७१३ र कि.नं.५५ को जग्गासमेत बन्डा हुने गरी फैसला भएकोमा उल्लिखित जग्गाहरू आफूले चन्द्रबहादुर रंजितकारबाट हालैदेखिको बकसपत्रको लिखतबाट प्राप्त निजी आर्जनको जग्गा हुँदा बन्डा हुनु पर्ने होइन भनी जिकिर लिएको
देखिन्छ । यस अदालतबाट बकसपत्रको लिखतबाट प्राप्त भएको सम्पत्तिसमेत बन्डा लाग्ने ठहर्याई पुनरावेदन अदालत दिपायलबाट मिति २०७१/३/३ मा भएको फैसलामा अंशबन्डाको १८ नं. को व्याख्यात्मक त्रुटि देखिनुका साथै ने.का.प. २०५२ नि.नं.६०४० पृष्ठ ६१० र ने.का.प. २०५३ नि.नं.६२६५ पृष्ठ ७०६ मा प्रतिपादित सिद्धान्तसमेतको त्रुटि विद्यमान देखिएको भनी प्रस्तुत मुद्दा दोहोर्याई हेर्ने गरी निस्सा प्रदान भएको देखिन्छ । उल्लिखित सन्दर्भमा प्रस्तुत मुद्दामा मूलतः निम्न प्रश्नहरूको विवेचना गरी हेर्नुपर्ने देखियो ।
(१) साबिक कि.नं. ६६५, ७१३ र ५५ हालको कि.नं.१४६ को जग्गा वादीको निजी आर्जन ठहर्ने सम्पत्ति हो वा सगोलको बन्डा हुने सम्पत्ति हो ?
(२) पुनरावेदन अदालत दिपायलको फैसला मिलेको छ वा छैन ?
२. अब, पहिलो प्रश्नतर्फ विचार गर्दा मिसिल संलग्न कागज प्रमाणहरूबाट साबिकको कि.नं.६६५, ७१३ र ५५ को हालको कि.नं.१४६ को जग्गा वादी गोपालबहादुर थापाले चन्द्रबहादुर रंजितकारलाई व्यावहारिक काममा सहयोग गरी रिझाएबापत र.नं.३९९० मिति २०४९/१०/२८ को हालैदेखिको बकसपत्र लिखतको माध्यमद्वारा प्राप्त गरेको
देखिन्छ । आफूले हालैदेखिको बकसपत्रको माध्यमबाट प्राप्त जग्गा भएकोले मुलुकी ऐन, अंशबन्डाको महलको १८ नं. बमोजिम निजी आर्जनको हुँदा बन्डा हुनु पर्ने होइन भन्ने वादीको जिकिर रहेको देखिन्छ । मुलुकी ऐन, अंशबन्डाको महलको १८ नं. मा "मानो नछुट्टिई सँग बसेका अंशियार छन् भने जुनसुकै अंशियारले सगोलको सम्पत्तिबाट वा सगोलको खेती, उद्योग, व्यापार व्यवसायबाट बढे बढाएको सगोलको आर्जन र लेनदेन व्यवहारको महलको ८ नम्बरबमोजिम लगाएको ऋण सबै अंशियारलाई भाग लाग्छ । सोबाहेक कुनै अंशियारले आफ्नो ज्ञान वा सीप वा प्रयासबाट निजी आर्जन गरेको वा कसैबाट निजी तवरले दान वा बकस पाएको वा कसैको अपुताली परेको वा स्त्री अंशधनको महलको ५ नम्बरबमोजिम पाएकोमा त्यस्तो आर्जन वा पाएको सम्पत्ति सो आर्जन गर्ने वा पाउने अंशियारको निजी ठहरी आफूखुसी गर्न पाउँछ । बन्डा गर्न कर लाग्दैन । अंश नभए पनि मानो छुट्टिई भिन्न बसेका वा रजिस्ट्रेसन नगरी खती उपति आफ्नो आफ्नो गरी आफ्नो हिस्सासँग मात्र राखी खानु पिउनु गरेकोमा एकै ठाउँमा भएपनि मानो छुट्टिई भिन्न भएको ठहर्छ । त्यस्तो कमाएको धन लाएको ऋण आफ्नो आफ्नो हुन्छ" भनी उल्लेख भएको देखिन्छ ।
३. कसैले कसैको सेवा, सुश्रुसा, पालनपोषण, दुःख समस्यामा पर्दा सहयोग गरेकोमा रिझबापत दाताले खुसीले आफ्नो हक पुग्ने सम्पत्ति त्यस्तो सेवा सुश्रुसा, पालनपोषण, सहयोग गर्ने व्यक्तिलाई नि:शुल्क दिएमा त्यसरी पाएको बकसलाई वास्तविक अर्थमा बकस पाएको मानिन्छ । यसरी पाएको बकस नै पाउनेको निजी ठहरी आफूखुसी गर्ने पाउने भन्ने उक्त अंशबन्डाको महलको भावना र मर्म हो । तर व्यवहारमा रकम लिनु दिनु गरेर पनि हालैदेखिको बकसपत्र दिने गरिएको पाइन्छ । यस्तो प्रचलन हाम्रो देशमा व्यापक रूपमा प्रयोगमा रहेको पाइन्छ । यस स्थितिमा यी पुनरावेदक वादीले हालैदेखिको बकसपत्रको माध्यमद्वारा कुनै जग्गा प्राप्त गरेकै आधारमा उक्त जग्गा वास्तविक बकसको मूल्य मान्यताअनुसार पाएको भएको भनी अर्थ गर्न मिल्ने देखिँदैन । यस्तोमा हालैदेखिको बकसपत्र प्राप्त गर्नेले कुन रूपबाट बकस पाएको हो भन्ने कुराले अंशबन्डाको १८ नं. को प्रयोजनको लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अवस्था रहन्छ । प्रस्तुत मुद्दामा पुनरावेदक वादी गोपालबहादुर थापाले चन्द्रबहादुर रंजितकारलाई सहयोग गरी रिझाएबापत हालैदेखिको बकसपत्रको लिखतमार्फत विवादको जग्गा प्राप्त गरेको भनी जिकिर लिएपनि दाता चन्द्रबहादुर रंजितकारको के कस्तो व्यावहारिक काममा के कस्तो सहयोग गरी रिझबापत उक्त जग्गा प्राप्त गरेको हो बकसपत्र लिखतको कैफियत महलमा स्पष्ट रूपमा खुलाएको देखिँदैन । पुनरावेदक वादीले चन्द्रबहादुर रंजितकारबाट प्राप्त गरेका जग्गाहरू वास्तविक बकस पाएको भन्ने कुराको पुष्टि विश्वसनीय कागज प्रमाणहरूबाट हुनुपर्दछ । प्रस्तुत मुद्दामा पुनरावेदक वादीले वास्तविक बकस पाएको कुरामा अदालत सन्तुष्ट हुने खालको कुनै प्रमाण पेस गर्न नसकेको अवस्थामा विवादको उल्लिखित सम्पत्तिलाई निजको निजी आर्जनको सम्पत्ति मान्न मिल्ने देखिएन ।
४. यी पुनरावेदक वादीले विवादको जग्गा दाता चन्द्रबहादुर रंजितकारबाट र.नं ३९९० मिति २०४९/१०/२८ को हालैदेखिको बकसपत्रको लिखतबाट प्राप्त गरेको देखिन्छ । यी वादीले यिनै प्रतिवादीउपर प्रस्तुत अंश मुद्दा मिति २०६७/६/१७ मा दिएको देखिँदा उक्त विवादको जग्गा अंश मुद्दा पर्नुभन्दा अगावै पुनरावेदक वादीले हालैदेखिको बकसपत्रबाट प्राप्त गरेको देखिन आयो । प्रमाण ऐन, २०३१ को दफा ६(१) मा "सगोलको कुनै अंशियारको नाउँमा रहेको सम्पत्ति अन्यथा पुष्टि नभएसम्म सगोलको हो भनी अदालतले अनुमान गर्नेछ" भन्ने उल्लेख भएको देखिन्छ । सोही ऐनको दफा २९ अनुसार अदालतले अनुमान गरेको कुराको खण्डन गर्ने दायित्व त्यस्तो खण्डन गर्न चाहने पक्षउपर रहन्छ भनी उल्लेख गरेको देखिन्छ । यी पुनरावेदक वादी गोपालबहादुर थापाले विवादित कि.नं.१४६ को सम्पत्ति सगोलको सम्पत्ति होइन भनी वस्तुनिष्ठ र विश्वसनीय प्रमाणद्वारा पुष्टि गर्न सकेको देखिएन ।
५. यसैगरी यिनै वादी गोपालबहादुर थापाका नाउँमा रहेको कैलाली जिल्ला रतनपुर गाउँ विकास समिति वडा नं. ६ कि.नं.३५५ को ३-४-१ विगाहा जग्गा र.नं.२७३७, २७३८, २७३९ र २७४० मिति २०४७/१/१५ को लिखतबाट विभिन्न व्यक्तिहरूका नाउँमा हक हस्तान्तरण गरेको मिसिल संलग्न जग्गाधनी दर्ता स्रेस्ताको प्रतिलिपिबाट देखिन्छ । यी पुनरावेदक वादीले अंश मुद्दाको फिराद २०६७/६/१७ मा दायर गरेकोमा उक्त मितिभन्दा अगावै निजले निजको नाउँको जग्गा बिक्री गरेबाट प्राप्त रकम के कुन काममा खर्च भयो देखाउन र भन्न सकेको देखिँदैन । यस्तो अवस्थामा बिक्री भएका जग्गाबाट प्राप्त रकम लिखतको नामाकरण जेसुकै भएपनि साबिक कि.नं.६६५, ७१३ र ५५ हालको कि.नं.१४६ जग्गा खरिद गरी लिन नै प्रयोग भएको मान्नुपर्ने देखियो । तसर्थ वादी गोपालबहादुर थापाले चन्द्रबहादुर रंजितकारबाट हालैदेखिको बकसपत्रमार्फत प्राप्त गरेको निजको नाउँको साबिक कि.नं.६६५, ७१३ र ५५ हालको कि.नं.१४६ जग्गालाई निजको निजी आर्जनको सम्पत्ति मान्न मिल्ने देखिएन ।
६. दोस्रो प्रश्नको हकमा हेर्दा, माथि प्रकरणहरूमा विवेचना गरिएका आधार, कारण र अवस्थाहरूबाट वादी गोपालबहादुर थापाले चन्द्रबहादुर रंजितकारबाट हालैदेखिको बकसपत्रमार्फत प्राप्त गरेको साबिक कि.नं.६६५, ७१३ र ५५ हालको कि.नं.१४६ जग्गा निजको निजी आर्जनको सम्पत्ति पुष्टि भएको नदेखिँदा उल्लिखित जग्गा सगोलको सम्पत्ति मानी यी वादी प्रतिवादीहरूबिच बन्डा हुनुपर्ने देखिन आयो । यस स्थितिमा पुनरावेदन अदालत दिपायलको फैसला अन्यथा नदेखिँदा यस अदालतबाट मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान गर्दा अंशबन्डाको १८ नं. को व्याख्यात्मक त्रुटि देखिएको भनी लिएका आधार तथा नजिर सिद्धान्तसँग सहमत हुन सकिएन ।
७. अतः माथि विवेचित आधार, कारण र प्रमाणहरूबाट फाँटवारीमा उल्लिखित सम्पत्तिबाट २ भागको १ भाग सम्पत्ति वादीले अंश छुट्याई लिन पाउने ठहर्याई सुरूले गरेको फैसला सदर हुने ठहर्याई पुनरावेदन अदालत दिपायलबाट मिति २०७१/३/३ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । दायरीबाट मुद्दाको लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाई दिनू ।
उक्त रायमा सहमत छु ।
न्या. प्रकाशमान सिंह राउत
इजलास अधिकृतः सुरथप्रसाद तिमल्सिना
इति संवत् २०७५ साल आषाढ २६ गते रोज ३ शुभम् ।