शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १०२२० - मिलापत्र बदर टिप्पणी आदेश बदर

भाग: ६१ साल: २०७६ महिना: असार अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री हरिकृष्ण कार्की

माननीय न्यायाधीश श्री ईश्‍वरप्रसाद खतिवडा

फैसला मिति : २०७५।६।१७

०६८-CI-०९३६

 

मुद्दाः- मिलापत्र बदर टिप्पणी आदेश बदर

 

पुनरावेदक / प्रतिवादी : पर्सा जिल्ला, बागेश्‍वरी गा.वि.स. वडा नं.४ बस्ने सुदिपकुमार मिश्रको पत्‍नी विभाकुमारीदेवी मिश्र

विरूद्ध

प्रत्यर्थी / वादी : पर्सा जिल्ला, बहुअरी पिडरी गा.वि.स. वडा नं.५ बस्ने राजेन्द्र राउत अहिर

 

दर्ता गर्ने कार्य हक स्थापना गर्ने कार्य भएकोले रोक्‍का रहेको अवस्थामा भएको दर्तालाई कानूनबमोजिमको दर्ता मान्‍न नमिल्ने हुँदा गैरकानूनी कार्यबाट कानूनी हक सिर्जना भएको मान्‍न नमिल्ने ।

(प्रकरण नं.५)

आफूले ऋण खाई धितोबन्धक राखी रोक्‍का रहेको जग्गालाई कुनै बेहोराले हक हस्तान्तरण गर्दै जाने र धनीले सो कार्यलाई बदर गराउन नपाउने हो भने आर्थिक व्यवहार नै असुरक्षित मात्रै होइन कपटपूर्ण व्यवहारले प्रश्रय पाउने ।

(प्रकरण नं.६)

 

पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ताद्वय श्री दुर्गा उप्रेती र श्री विनोद नेपाल

प्रत्यर्थी / वादीका तर्फबाट : 

अवलम्बित नजिर : 

सम्बद्ध कानून :

 

सुरू तहबाट फैसला गर्नेः-

माननीय न्यायाधीश श्री अजयराज उपाध्याय

पर्सा जिल्ला अदालत

पुनरावेदन तहबाट फैसला गर्नेः-

माननीय न्यायाधीश श्री मोहनप्रसाद घिमिरे

माननीय न्यायाधीश श्री मोहनरमण भट्टराई

पुनरावेदन अदालत हेटौंडा

 

फैसला

न्या. हरिकृष्ण कार्की : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) (ग) बमोजिम पेस हुन आएको प्रस्तुत मुद्दाको तथ्य र ठहर यसप्रकार रहेको छः-

विपक्षीमध्येका सुदिपकुमार मिश्रले म वादीसँग रू.१,००,०००।– घर व्यवहार चलाउनको लागि कर्जा लिनु भई सो रूपैयाँमा सयकडा १० प्रतिशतका दरले २०६४ साल माघ मसान्तभित्रमा सावाँ ब्याज बुझाउने भाखा राखी आफ्नो नाम दर्ताको जिल्ला पर्सा गा.वि.स. बागेश्‍वरी तित्रौना वडा नं.४ कि.नं. १२८ को ज.बि. ०,२८३५ वर्ग मिटर जग्गा धितो बन्धक राखी मिति मिति २०६३/१२/२८ गतेमा दृष्‍टिबन्धक लिखत पारित गरी दिनुभएकोमा भाखाभित्र सावाँ ब्याज नदिएपछि निजउपर यसै पर्सा जिल्ला अदालतमा लेनदेन मुद्दा दायर गरी मैले आफ्नो सावाँ ब्याजसमेत भराई पाउने ठहरी मिति २०६६/०२/१६ मा फैसलासमेत भएको अवस्थामा प्रतिवादीहरूले मेरो साँवा ब्याजसमेत पचाउने नियत राखी आपसमा दे.नं. ९०१ को अंश मुद्दा दायर गरी आपसमा अंश लिनु दिनु गरी मिति २०६५/०८/०१ गतेमा मिलापत्र गराई सो मिलापत्रमा मैले दृष्टिबन्धक गराई लिएको जग्गासमेत पारी सो मिलापत्रको आधारमा मालपोत कार्यालय, पर्साबाट दा.खा. टिप्‍पणी आदेश गराई प्रतिवादीमध्येका विभाकुमारीको नाममा दर्ता गराई प्रतिवादी विभाकुमारीले लिएको कुरा नक्‍कल सारी थाहा पाएकोले प्रतिवादीहरूले मिति २०६५/०८/०१ मा गरेको मिलापत्र तथा सो मिलापत्रको आधारमा भएको विभाकुमारीको नामको दा.खा. दर्तासमेत बदर गरी प्रतिवादी विभाकुमारीकै नाममा स्रेस्ता कायम गरिपाउँ भन्‍ने वादीको फिरादपत्र ।  

म प्रतिवादी विभाकुमारीले आफ्नो अंश हकको लागि पर्सा जिल्ला अदालतमा अंश मुद्दा दायर गरी सो मुद्दामा अंश लिनु दिनु गरी मिलापत्र गरेको र सो मिलापत्रको आधारमा आफ्नो नाममा जग्गा दा.खा. दर्ता गराई लिएकोमा हामी अंशियारबिच भएको अंशको मिलापत्र बदर गराई माग्न पाउने वादीलाई हकदैयासमेत नभएको हुँदा मालपोत कार्यालय पर्साको दा.खा. निर्णयसमेत बदर हुनुपर्ने होइन भन्‍ने प्रतिवादी विभाकुमारीको प्रतिउत्तरपत्र । 

प्रतिवादीमध्येका सुदिपकुमार मिश्रले सुरू अदालतबाट जारी भएको म्यादमा हाजिर नभई प्रतिउत्तर फिराउने सुरू म्यादै गुजारी बसेका रहेछन् ।

प्रतिवादीहरू सुदिपकुमार मिश्र र विभाकुमारीले लोग्ने स्वास्नीको हैसियतले आपसमा अंश मुद्दा गरी साधिकार प्राप्‍त निकायबाट गरेको मिलापत्रलाई चुनौती गर्ने हकदैया यी वादी राजेन्द्र राउत अहिरलाई कानूनले दिएको नदेखिएको अवस्था हुँदा प्रतिवादीहरूले यस अदालतबाट मिति २०६५/०८/०१ मा गराई लिएको मिलापत्र र सो मिलापत्रको आधारमा मालपोत कार्यालय, पर्साबाट भएको दा.खा. टिप्‍पणी आदेश बदर गरिपाउँ भन्‍ने वादीको फिराद दाबी हकदैयाको अभावमा अ.बं. १८० नं. बमोजिम खारेज हुने ठहर्छ भन्‍ने सुरू पर्सा जिल्ला अदालतबाट मिति २०६७/०१/०५ मा भएको   फैसला ।

दृष्टिबन्धक गराई रोक्‍का रहेको जग्गा फुकुवा नगराई रोक्का रहिरहेको अवस्थामा प्रतिवादीहरू लोग्ने स्वास्नी भई आपसमा दे.नं. ९११ को अंश मुद्दा दर्ता गराई सो रोक्‍का रहेको जग्गा प्रत्यर्थी / प्रतिवादी विभाकुमारीको अंश भागमा लिई दिई मिति २०६५/०८/०१ मा पर्सा जिल्ला अदालतबाट मिलापत्र गरी सो मिलापत्रको आधारमा प्रतिवादी विभाकुमारीले मालपोत कार्यालय पर्साबाट दा.खा. टिप्‍पणी आदेश गराई लिएको कुरा थाहा पाई प्रत्यर्थी / प्रतिवादीहरूको सो काम कारबाही जग्गा मिच्नेको ९ नं. को प्रतिकूल भई जग्गा मिच्नेको १८ नं. र अ.बं.८६ नं. तथा लेनदेन व्यवहारको ४० नं. बमोजिम दायर गरेको प्रस्तुत मुद्दाबाट सबुत प्रमाण बुझी निर्णय गर्नुपर्नेमा सो नगरी प्रस्तुत मुद्दाका वादी पुनरावेदक राजेन्द्र राउत अहिर प्रतिवादीहरूको नाता पुस्ताको भित्रको नदेखिएको र दे.नं. ९११ को अंश मुद्दामा वादी वा प्रतिवादीको रूपमा यी वादी रहे भएको देखिँदैन भनी कपोलकल्पित तथा निराधार मनगढन्ते तर्क प्रस्तुत गरी भएको फैसला लेनदेन व्यवहारको ४० नं. समेतको गम्भीर त्रुटिपूर्ण हुँदा बदर गरी इन्साफ पाउँ भन्‍ने पुनरावेदक वादीको पुनरावेदनपत्र ।

पुनरावेदक / वादीले दृष्‍टिबन्धक पारित गरी लिई रोक्‍का रहेको कि.नं.१२८ को जग्गालाई मिलापत्र गरी दाखिल खारेज गरी बिक्रीसमेत गरेको अवस्थामा वादी दाबी खारेज गर्ने गरेको सुरूको फैसला मुलुकी ऐन, जग्गा मिच्नेको महलको ९ नं. को व्यवस्थाको सन्दर्भमा फरक पर्न सक्ने देखिँदा अ.बं.२०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ नं. बमोजिम प्रत्यर्थी झिकाई पेस गर्नु भन्‍ने पुनरावेदन अदालत हेटौंडाबाट मिति २०६७/१०/२४ मा भएको आदेश ।

रोक्‍का रहेको जग्गा फुकुवा नहुँदै मिलापत्र गरी हक हस्तान्तरण गरेको मिलेको नदेखिँदा पर्सा जिल्ला अदालतबाट मिति २०६७/०१/०५ को फैसला उल्टी भई दाबीको जग्गाको हदसम्म मिति २०६५/८/१ गतेको मिलापत्र र सो आधारमा भएको टिप्‍पणी आदेश बदर हुने ठहर्छ भन्‍ने पुनरावेदन अदालत हेटौंडाबाट मिति २०६८/०३/३१ मा भएको फैसला ।

म विभाकुमारीले आफ्नो अंश हकबापत मिलापत्र गरी प्राप्‍त गरेको जग्गा मैले आफ्नो अंश दा.खा. दर्ता गराई निलमदेवी ब्राह्मणीलाई मालपोत कार्यालय पर्साबाट र.नं. ६८२५(ख) मिति २०६६/०१/२७ मा हालैको बकसपत्र लिखतसमेत गरी दिएकोमा सो लिखतसमेत कानूनसम्मत किसिमबाट भएको हुँदा हकदैयाविहीन अवस्थामा दायर भएको फिराद नै खारेज गर्ने गरी भएको पर्सा जिल्ला अदालतको फैसला कानूनसम्मत हुँदाहुँदै मेरो अंश हकको कुरालाई असर पार्ने गरी भएको पुनरावदन अदालत हेटौंडाबाट भएको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी सुरू पर्सा जिल्ला अदालतको फैसला कायम गरिपाउँ भन्‍ने पुनरावेदक / प्रतिवादी विभाकुमारी देवी मिश्राको यस अदालतमा परेको पुनरावेनपत्र । 

नियमबमोजिम आजको दैनिक पेसी सूचीमा चढी इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदन पत्रसहितको सुरू तथा रेकर्ड मिसिलसमेत अध्ययन गरी पुनरावेदकको तर्फबाट उपस्थित विद्वान् अधिवक्ताद्वय श्री दुर्गा उप्रेती र श्री विनोद नेपालले प्रतिवादी विभाकुमारीले आफ्नो अंश हकबापत मिलापत्र गरी प्राप्‍त गरेको जग्गा मैले आफ्नो अंश दा.खा. दर्ता गराई निलम देवी ब्राह्मणीलाई मालपोत कार्यालय पर्साबाट र.नं. ६८२५(ख) मिति २०६६/१/२७ मा हालैको बकसपत्र लिखतसमेत गरी दिएकोमा सो लिखतसमेत कानूनसम्मत किसिमबाट भएको हुँदा हकदैयाविहीन अवस्थामा दायर भएको फिराद नै खारेज गर्ने गरी भएको पर्सा जिल्ला अदालतको फैसला कानूनसम्मत छ । प्रतिवादीको अंश हकमा नै असर पार्ने गरी पुनरावेदन अदालत हेटौंडाबाट भएको फैसला त्रटिपूर्ण हुँदा बदर गरी सुरू अदालतको फैसला कायम गरिपाउँ भनी गर्नुभएको बहस सुनियो । 

उपर्युक्त बहस जिकिर सुनी पुनरावेदन अदालत हेटौंडाबाट मिति २०६८/०३/३१ मा भएको फैसला मिलेको छ वा छैन तथा पुनरावेदक / प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्छ वा सक्दैन भन्‍ने विषयमा निर्णय दिनुपर्ने देखिन आयो ।

२. निर्णयतर्फ विचार गर्दा, म वादीसँग घर व्यवहार चलाउनको लागि विपक्षीमध्येका सुदिपकुमार मिश्रले रू.१,००,०००।– (एक लाख) कर्जा लिई निजले आफ्नो नाम दर्ताको दाबीको कि.नं.१२८ को जग्गा धितो बन्धक राखी मिति २०६३/१२/२९ मा दृष्‍टिबन्धक लिखत पारित गरी दिएपश्‍चात्‌ आपसमा अंश मुद्दा गरी उक्त जग्गा अंश मुद्दाको मिलापत्रमा पारी सो मिलापत्रको आधारमा मालपोत कार्यालय पर्साबाट दाखिल खारेज टिप्पणी आदेश गराई प्रतिवादी विभाकुमारीको नाममा दर्ता गराएकोले पर्सा जिल्ला अदालतबाट मिति २०६५/०८/०१ मा भएको मिलापत्र र सोको आधारमा भएको मालपोत कार्यालय पर्साको मिति २०६६/११/२३ गतेको दा.खा. निर्णयसमेत बदर गरिपाउँ भन्‍ने मुख्य फिराद दाबी देखियो । हामी अंशियारबिच अंश मुद्दा चली सो अंश मुद्दामा भएको मिलापत्र बदर गराई पाउने हकदैया वादीलाई नहुँदा हकदैयाविहीन फिराद खारेज गरिपाउँ भन्‍ने प्रतिउत्तर जिकिर भएको प्रस्तुत मुद्दामा हकदैयाको अभावमा अ.बं.१८० नं. बमोजिम फिराद खारेज हुने ठहरी सुरू पर्सा जिल्ला अदालतबाट मिति २०६७/०१/०५ मा भएको फैसलाउपर वादीको पुनरावेदन परी पर्सा जिल्ला अदालतबाट मिति २०६७/०१/०५ मा भएको फैसला उल्टी भई दाबीको जग्गाको हदसम्म मिति २०६५/०८/०१ गतेको मिलापत्र र सो आधारमा भएको टिप्पणी आदेश बदर हुने ठहर्‍याई पुनरावेदन अदालत हेटौंडाबाट मिति २०६८/०३/३१ मा भएको फैसलाउपर प्रतिवादीको यस अदालतमा पुनरावेदन परी निर्णयार्थ पेस हुन आएको देखियो । 

३. वादी दाबीबमोजिमको जग्गा प्रतिवादीमध्येका सुदिपकुमार मिश्रले वादी राजेन्द्र राउत अहिरसँग रू.१,००,०००।– घर व्यवहार चलाउन कर्जा लिई आफ्नो नाम दर्ताको जिल्ला पर्सा गा.वि.स. बागेश्‍वरी तित्रौना वडा नं.४ कि.नं.१२८ को ज.वि. ०,२८३५ वर्गमिटर जग्गा दृष्‍टिबन्धक राखी मिति २०६३/१२/२९ मा दृष्‍टिबन्धक लिखत पारित गरी दिएको आधारमा सो जग्गा रोक्‍का भएको विषयमा विवाद देखिएन ।

४. प्रतिवादी सुदिपकुमार मिश्रले दाबीको जग्गा वादी राजेन्द्र राउत अहिरसँग ऋण लिई मिति २०६३/१२/२९ मा र.नं. २५३०(ख) बाट दृष्‍टिबन्धक पारित गरी दिई दाबीको जग्गा रोक्‍का रहेको देखिन्छ । प्रतिवादी विभाकुमारीसमेतले आफ्नो पति पिता प्रतिवादीमध्येका सुदिपकुमार मिश्रलाई विपक्षी बनाई दे.नं. ९११ को अंश मुद्दा दिई मिति २०६५/०८/०१ मा उक्त दृष्‍टिबन्धक लिखतमा उल्लिखित जग्गा प्रतिवादी विभाकुमारीको अंश भागमा पर्ने गरी मिलापत्र गराई सो मिलापत्रको आधारमा मालपोत कार्यालय पर्साबाट दा.खा. टिप्पणी आदेश गराई आफ्नो नाममा आएपश्‍चात्‌ निलमदेवीलाई मालपोत कार्यालय पर्साबाट र.नं. ६८२५(ख) मिति २०६६/०१/२७ मा हालैको बकसपत्र लिखत पारित गरिदिएको देखियो ।

५. मुलुकी ऐन, जग्गा मिच्नेको महलको ९ नं. मा “कानूनबमोजिम रोक्‍का भएको जग्गा फुकुवा नभई आफ्नो हक पुग्ने भए पनि अर्कालाई केही बेहोराले दिन र लिनेले पनि जानी जानी लिन हुँदैन । दिए लिएको भए बदर हुन्छ" । भन्‍ने स्पष्‍ट कानूनी व्यवस्था रहेको पाइन्छ । उपर्युक्त कानूनी व्यवस्थाअनुसार जग्गा मिच्नेको ९ नं.ले रोक्‍का रहेको जग्गाको हक हस्तान्तरण गर्न नपाइने व्यवस्था गरेको पाइन्छ । दर्ता गर्ने कार्य पनि हक स्थापना गर्ने कार्य भएकोले रोक्‍का रहेको अवस्थामा भएको दर्तालाई कानूनबमोजिमको दर्ता मान्‍न नमिल्ने हुँदा गैरकानूनी कार्यबाट कानूनी हक सिर्जना भएको मान्‍न मिल्ने अवस्था देखिन 

आएन । यसरी प्रस्तुत मुद्दामा दाबीको जग्गा रोक्‍का भइरहेको अवस्थामा मिलापत्रको आधारमा विभाकुमारीको नाममा दर्ता भई निलमदेवीलाई हालैको बकसपत्र गरी दिएको अवस्थामा सो भए गरेको कार्यलाई कानूनसङ्गत भएको भनी मान्‍न मिल्ने अवस्था देखिएन ।

६. प्रतिवादीमध्येका सुदिपकुमार मिश्रले दाबीको जग्गा धितोबन्धक राखी वादीसँग ऋण खाएको र मिति २०६३/१२/२९ मा दृष्‍टिबन्धक गरिदिएको अवस्था भई वादी दाबीलाई स्वीकार गरी प्रतिवाद नगरी बसेको अवस्था देखिन्छ भने निजले वादीलाई सोको सावाँ ब्याज बुझाई सो जग्गा फुकुवा गराउन सकेको अवस्थासमेत देखिँदैन । यसरी आफूले ऋण खाई धितोबन्धक राखी रोक्‍का रहेको जग्गालाई कुनै बेहोराले हक हस्तान्तरण गर्दै जाने र धनीले सो कार्यलाई बदर गराउन नपाउने हो भने आर्थिक व्यवहार नै असुरक्षित मात्रै होइन कपटपूर्ण व्यवहारले प्रश्रय पाउनेसमेत रहन्छ । साथै दृष्टिबन्धक पारित गराई लिनुको औचित्य र प्रयोजन नै समाप्‍त हुन पुग्दछ । तसर्थ आफूले दिएको ऋणको प्रत्याभूतिको लागि दाबीको जग्गा दृष्टिबन्धक गरी रोक्‍का राखेको अवस्थामा प्रतिवादीहरूले आपसमा अंश मुद्दा गरी सो जग्गासमेत प्रतिवादीमध्येकी विभाकुमारीको अंश भागमा पर्ने गरी मिलापत्र गरी आफ्नो नाउँमा आएपश्‍चात्‌ निलमदेवीलाई हालैको बकसपत्र गरिदिएको अवस्थामा दाबीको जग्गामा हुने स्वामित्व परिवर्तनबाट वादीलाई प्रत्यक्ष असर पर्ने हुँदा त्यस्तो विषयमा वादीलाई दाबीको मिलापत्र टिप्पणी आदेश बदर गरी पाउन मागदाबी गर्ने अधिकार मुलुकी ऐन अ.बं. ८२ नं.ले प्रदान गरेकै देखिँदा अ.बं.८२ नं. बमोजिम वादीलाई फिराद गर्ने हकदैया नभएको भनी अ.बं.१८० नं. बमोजिम खरेज गर्ने गरेको सुरू फैसला मिलेको देखिन आएन । तसर्थ रोक्का रहेको जग्गा फुकुवा नहुँदै मिलापत्र गरी हक हस्तान्तरण गरेको मिलेको नदेखिँदा पर्सा जिल्ला अदालतबाट मिति २०६७/१/५ मा भएको फैसला उल्टी भई दाबीको जग्गाको हदसम्म मिति २०६५/८/१ मा भएको मिलापत्र र सोको आधारमा भएको टिप्पणी आदेश बदर हुने ठहर्‍याई पुनरावेदन अदालत हेटौंडाबाट मिति २०६८/३/३१ मा भएको फैसला मिलेको देखिँदा अन्यथा गर्नुपर्ने अवस्था देखिएन ।

७. अतः माथि उल्लिखित विवेचित आधार र कारणहरूसमेतबाट हकदैयाको अभावमा मुलुकी ऐन, अ.बं.१८० नं. बमोजिम फिराद खारेज हुने ठहरी सुरू पर्सा जिल्ला अदालतबाट मिति २०६७/१/५ मा भएको फैसला उल्टी भई दाबीको जग्गाको हदसम्म मिति २०६५/८/१ गतेको मिलापत्र र सो आधारमा भएको टिप्पणी आदेश बदर हुने ठहर्‍याई पुनरावेदन अदालत हेटौंडाबाट मिति २०६८/३/३१ मा भएको फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक / प्रतिवादी विभाकुमारी देवी मिश्रको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल अभिलेख शाखामा बुझाई दिनू ।

 

उक्त रायमा सहमत छु ।

न्या. ईश्वरप्रसाद खतिवडा

 

इजलास अधिकृत: लोकबहादुर हमाल

इति संवत् २०७५ साल असोज १७ गते रोज ४ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु