निर्णय नं. १०२२९ - जिउ मास्ने बेच्ने

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत
माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी
फैसला मिति : २०७५।१०।२१
०६६-CR-००९२
मुद्दाः जिउ मास्ने बेच्ने
पुनरावेदक / वादी : नारायण साह रौनियारको जाहेरीले नेपाल सरकार
विरूद्ध
प्रत्यर्थी / प्रतिवादी : सप्तरी जिल्ला पकरी गा.वि.स. वडा नं.२ बस्ने राजेन्द्र मण्डलसमेत
वारदातको अन्तरालपछि पीडितले अदालतमा आएर पहिलेको भनाइ बेहोराविपरीत हुने गरी बकपत्र गरेपनि सोभन्दा अगाडि अपहरणबाट निजको उद्धार गरेको कागज, किटानी जाहेरी, पीडितको मौकाको प्रमाणित बयान, प्रतिवेदकको बकपत्र तथा मौकामा बुझिएका व्यक्तिहरूको कागजको बेहोरालाई नै निष्प्रभावी हुने गरी मुद्दाको सबल तथ्यको समग्रतामा विचार नगरी पीडितले अदालतसमक्ष गरेको बकपत्रलाई न्याय निरूपणको एक मात्र आधारको रूपमा ग्रहण गर्नु तर्कसङ्गत नहुने ।
(प्रकरण नं.४)
पुनरावेदक / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री गंगाप्रसाद पौडेल
प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री महादेवप्रसाद यादव, श्री सुरेन्द्रकुमार खड्का तथा विद्वान् अधिवक्ताहरू श्री कमलप्रसाद खनाल र श्री हरि फुयाल
अवलम्बित नजिर :
ने.का.प.२०६६, अंक ६, नि.नं.८१६६
सम्बद्ध कानून :
जिउ मास्ने बेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३
सुरू तहमा फैसला गर्नेः
मा. जिल्ला न्यायाधीश श्री टेकराज नेपाल
सप्तरी जिल्ला अदालत
पुनरावेदन तहमा फैसला गर्नेः
माननीय न्यायाधीश श्री अलिकवर मिकरानी
माननीय न्यायाधीश श्री निर्मलकुमार ढुङ्गाना
पुनरावेदन अदालत राजविराज, सप्तरी
फैसला
न्या.प्रकाशमान सिंह राउत : तत्कालीन न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्र भई पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः-
मिति २०६२ साल कार्तिक १० गते म आफू घरमा नभई व्यापारको लागि भैरहवा गएको मौका पारी मेरो वर्ष ८ को नाबालक छोरा चन्दनकुमार गुप्ता अन्य छिमेकी केटाहरूसँग अस्पतालको दक्षिण ढोका हनुमान नगरको रोडदेखि दक्षिण र प.वि. स्कूल जाने बाटोदेखि पश्चिममा रहेको पेट्रोल पम्पमा खेलिरहेको अवस्थामा नामालुम के कहाँको के कुन नाम गरेको मानिसले छोरालाई बोलाई फकाई आफूले ल्याएको मोटरसाइकलमा बसाई नामालुम कुन ठाउँमा लगी बेपत्ता पारेकाले छोरा चन्दनकुमारको पत्ता लगाई निज अपराधीउपर कानूनबमोजिम गरिपाउँ भन्ने नारायणप्रसाद गुप्ताको हुलिया निवेदन ।
जिल्ला सप्तरी राजविराज नगरपालिका वडा नं. ८ स्थित पूर्व पश्चिम राजविराज हनुमाननगर पक्की सडक उत्तरमा पेट्रोल पम्प दक्षिणमा सगरमाथा अञ्चल अस्पतालको गेट यति ४ किल्लाभित्रमा भएको पेट्रोल पम्पको अगाडि खुला स्थानबाट मिति २०६२।७।१० गते नारायण गुप्ता रौनियारको छोरा वर्ष १० को चन्दनकुमार गुप्तालाई अपहरण गरी लगी बेपत्ता बनाएको भन्ने घटनास्थल मुचुल्का ।
जिल्ला सप्तरी पकरी गा.वि.स. वडा नं. २ मा घर भई राजविराज नगरपालिका वडा नं. ९ मा डेरा गरी बस्ने राजेन्द्र मण्डलउपर मिति २०६२।७।१० गतेमा अपहरित वर्ष १० को चन्दनकुमार गुप्तालाई अपहरण गर्ने गराउने कार्यमा संलग्न रहेको आशङ्का भएको वारदातपश्चात् भागी हिँडेकामा हाल डेरामा आएको हुँदा सोधपुछ अनुसन्धानको लागि दाखेल गरेको भन्ने प्र.स.नि. हिरालाल यादवको प्रतिवेदन ।
अपहरित वर्ष १० को चन्दनकुमार गुप्तालाई भारतको जोगवनी स्थित सिमराहमल भन्ने स्थानमा अपहरण गर्नेमध्येका रणवीर यादवको दिदीको घरमा पुर्याई लुकाई राखेको छ भनी घटनामा संलग्नमध्येका राजेन्द्र मण्डलबाट बुझिन आएकोले भारतीय काउन्टर चार्टसँग सम्पर्क राखी अपहरणमुक्त गरी जाहेरवालालाई इलाका प्रहरी कार्यालय रानीमा सम्पर्क राख्न पठाएको पत्र ।
भारत अररिया सिमराह स्थित विजयकुमार यादवको घरमा लुकाई राखेको अवस्थामा जिल्ला सप्तरी राजविराज नगरपालिका वडा नं.८ बस्ने नारायण रौनियारको छोरा चन्दनकुमार गुप्तालाई भारतीय प्रहरीको सहयोगमा मुक्त गराई पठाएको भन्ने इ.प्र.का. रानीको पत्र ।
मिति २०६२।७।१० गते राजविराज हनुमाननगर रोडको दक्षिण पेट्रोल पम्प नजिकमा खेलिरहेको मेरो छोरा चन्दनकुमार गुप्तालाई तत्काल अपरिचित व्यक्तिले अपहरण गरी लगेकोमा हाल बुझ्दा जिल्ला सप्तरी विषहरिया-१ मा घर भई राजविराज नगरपालिका वडा नं.९ मा डेरा गरी बस्ने लक्ष्मण यादवलगायत अन्य रणवीर यादव, विरेन्द्र यादव, नवलकिशोर यादव, अजय यादव, इन्द्रनारायण दास र अवधेश भन्ने विजयकुमार यादवसमेतको साथ सहयोग संलग्नतामा बिक्री गर्ने उद्देश्यले छोरा चन्दनकुमार गुप्तालाई अपहरण गरी भारतको विभिन्न स्थानमा पुर्याएको भन्ने हाल पक्राउ परेका प्रतिवादी राजेन्द्र मण्डलबाट खुल्न आएको हुँदा निज प्रतिवादीहरूलाई खोज तलास पक्राउ गरी कानूनबमोजिम कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको नारायणप्रसाद रौनियारको मिति २०६२।७।२४ को जाहेरी दरखास्त ।
मिति २०६२।७।१० गते दिउसो ३:३०/४ बजेतिर म साथीहरूसँग खेलिरहेको अवस्थामा तत्काल मैले नचिनेको पछि नाम खुल्न आएका भारत डंगमारा बस्ने रणवीर यादव नामको मानिस रिक्सा लिएर आई मलाई बोलाई घुम्न जाउँ भनी मलाई रिक्सामा राखेर कुनौली मोड हुँदै क्याम्पस नजिक पुर्याएपछि त्यहाँ रहेको ३५६२ नं. को मोटरसाइकलमा चढाई रणवीरले उक्त मोटरसाइकल चलाई मलाई बिचमा र पछाडि तत्काल नाम थाहा नभएका लक्ष्मण यादव बसेर सखडा मन्दिर छेउ रहेको नवलकिशोर र अजय भन्नेको औषधी पसलमा पुर्याए । त्यहाँबाट मोटरसाइकलमा राखी इन्डियाको डंगमारा भन्ने ठाउँमा पुगेपछि वलाहा पलार भन्ने टोलको रणवीरको दाजु भन्ने गरेको राजेन्द्र दुसाधको घरमा सो राति राखी भोलिपल्ट त्यहाँबाट फकिर्ना चौक भन्ने ठाउँमा यात्रा पुर्याउँदा राजेन्द्र मण्डल भन्नेसँग भेट भई मलाई राजेन्द्रको जिम्मामा राजेन्द्र मण्डलको दिदीको घरमा एक दिन राखेपछि रणवीर र राजेन्द्र मण्डलले त्यहाँबाट लिएर भारतकै सिम्राहा बजारमा पुर्याए । रणवीर यादवको मौसीको घर अवधेश भन्ने विजयकुमार यादवको घरमा लगी ७/८ दिनसम्म त्यहाँ राखे । यस्तैमा मिति २०६२।७।२३ गते बिहान त्यहाँबाट राजेन्द्र मण्डल जोगवनी जान्छु भनेर गएका थिए । पछि निज पक्राउ परी मेरो बुबाले मलाई लुकाएको ठाउँ पत्ता लगाउनु भएछ । मिति २०६२।७।२३ गते राति उक्त अवधेश भन्ने विजयकुमार यादवको घरबाट मलाई भारतीय प्रहरीको सहयोगमा छुटाई घरमा लिएर आउनु भएको हो । रणवीर यादव, राजेन्द्र मण्डल र अवधेश भन्ने विजयकुमारले मेरो बारेमा कुरा गर्दा इन्द्रनारायणको नाम भनी निजसँग टेलिफोनमा कुरा भएको भनी कुरा गर्दा सुनेको हुँ । अपहरण गरी लगेको दिन नवल किशोरको औषधी पसलमा पुर्याएर त्यहाँ १५/२० मिनेट राख्दा मेरो बारेमा थाहा जानकारी अजय र नवलकिशोरलाई रणवीर र लक्ष्मण यादवले दिएको र मलाई इन्डिया लगेर बेच्ने कुरा सुनेको हुँ । मलाई किन अपहरण गरी लगेका हुन् थाहा छैन भन्ने पीडित चन्दनकुमार गुप्ताले प्रहरीमा गरेको बयान कागज ।
मिति २०६२ साल कार्तिक १० गते दिउसो राजविराज ८ मा पर्ने राजविराज हनुमाननगर रोडको पेट्रोल पम्पबाट मलाई तत्काल अपरिचित हाल थाहा पाएअनुसार भारत डंगमारा बस्ने रणवीर यादव भन्ने मानिसहरूले अपहरण गरी लगेपछि क्याम्पस छेउमा रणवीर यादवसँग भेट गरी ३५६२ नं. को मोटरसाइकलमा राखेर मलाई सखडा लैजाँदा रणवीर यादवले मोटरसाइकल हाँकी मलाई बिचमा राखी मोटरसाइकलको पछाडि बसेर भारतको डंगमारासम्म पुर्याउने लक्ष्मण यादव हुन् । निजलाई स्पष्ट
चिनेँ । सनाखत गरेँ । रणवीर यादवको मौसीको घरमा पुर्याई २०६२।७।२३ गते बिहानसम्म सोही ठाउँमा मलाई रेखदेख गरी बस्ने राजेन्द्र मण्डल हुन् । अर्का मानिस पहिलेदेखि नै मैले देखे चिनेको हाम्रा घर छिमेकी इन्द्रनारायण दास हुन् । मलाई अपहरण गर्दा र अपहरण भएको समय अवधिमा मैले अन्यत्र निजलाई देखेको थिइन । अपहरण गर्न गराउनमा निजको के कस्तो संलग्नता छ म खुलाई भन्न सक्दिन भन्नेसमेत बेहोराको पीडित चन्दनकुमार गुप्ताको प्रहरीमा भएको सनाखत कागज ।
मिति २०६२।७।१० गते दिउसो अन्दाजी ३:०० बजेतिर म आफ्नो डेरा राजविराज तित्रीगाछी पेट्रोल पम्पतर्फ जाँदै गर्दा पक्राउ परेका प्रतिवादी लक्ष्मण यादव ३५६२ नं. को मोटरसाइकल सडक छेउमा स्टेन लगाई रणवीर यादव र विरेन्द्र यादव सोही नजिक एकआपसमा कुरा गरिरहेका थिए । मसँग भेट भई निजहरूले जाहेरवालाको छोरालाई अपहरण गर्ने तयारी गर्दै रहेको कुरा थाहा पाई मलाई भन्दा मलाई चिन्दिन म लिएर जान्न भनी आफ्नो डेरातर्फ गएँ । त्यसको केही समयपछि जाहेरवालाको छोरालाई अपहरण गरी लगेको थाहा पाएँ । मिति २०६२।७।११ गते बिहानै दिदीको घर फकिर्ना गएकोमा फकिर्ना चौकमा विरेन्द्र यादव र अर्को मोटरसाइकलमा जाहेरवालाको छोरा चन्दनकुमारलाई मोटरसाइकलमा बिचमा राखी पछाडि विजय यादव बसी आई विरेन्द्र यादवले मलाई पनि चढ् भनेकोले विरेन्द्र यादवले हाँकेको मोटरसाइकलको पछाडि राखेर रणवीर यादवको सानो बुबा अवधेश भन्ने विजयकुमारको घरमा बच्चालाई पुर्याई त्यहीँ राखेको हो । चन्दनकुमारलाई मैलै निगरानीमा राखेको हो । खर्चको कमी भएकोले मिति २०६२।७।२३ गते बिहान जोगवनी हुँदै आफ्नो डेरामा आउँदा प्रहरीले मलाई पक्राउ गरी सोधपुछ गर्दा मैलै चन्दनकुमार राखेको स्थान बताई दिएपछि भारतीय प्रहरीको सहयोगमा उक्त चन्दनकुमारलाई राजविराज लिएर आएका
हुन् । इन्द्र नारायण दासको निजहरूसँग आवतजावत भएकोले अपहरणबारे इन्द्र नारायणको समेत केही हात हुनुपर्छ । के कस्तो संलग्नता छ खुलाउन सक्दिन । लक्ष्मण यादव, अजय यादव र इन्द्र नारायणसँग मेरो फोनमा कुरा भएको छैन भन्नेसमेत बेहोराको प्रतिवादी राजेन्द्र मण्डलले प्रहरीमा गरेको बयान ।
मिति २०६२।७।१० गते बेलुकी जाहेरवालाको छोरा चन्दनकुमार गुप्तालाई अपहरण गरी लगेको भन्ने कुरा ऐ.११ गते बिहान हल्ला सुनी चाल पाएको हुँ । कसले के उद्देश्यले अपहरण गरी लगेका हुन् मलाई थाहा छैन । जाहेरवालाको छोरालाई मेरो साथ सहयोगमा अपहरण गराएको छैन । किन जाहेरवालाले मउपर जाहेरी दिएका हुन् थाहा छैन । नाबालक बच्चालाई कसैले सिकाएर वा कसरी मसमेत भई मोटरसाइकलमा राखी लिएर गएको बताएका भए निजै जानुन् भन्नेसमेत बेहोराको प्रतिवादी लक्ष्मण यादवले प्रहरीमा गरेको बयान कागज ।
जाहेरवालाको छोरा चन्दनकुमार गुप्ता खेल्न गएको ठाउँदेखि हराएको भन्ने कुरा मिति २०६२।७।१७ गते बेलुकी सुनी थाहा पाएको र त्यो दिनदेखि हराएको बच्चा मिति २०६२।७।२३ मा भारत फारविसगञ्ज सिमराहा भन्ने ठाउँमा भारतीय प्रहरीको सहयोगमा फेला परेको भनी मिति २०६२।७।२४ गते जाहेरवालासमेतले आफ्नो घरमा ल्याएको थाहा पाएको हुँ । निज चन्दनकुमारलाई को कसले के उद्देश्यले अपहरण गरी लगी उक्त स्थानमा पुर्याएका हुन् म आफूले नदेखेको हुँदा खुलाई भन्न सक्दिन । निज बच्चालाई जाहेरी दरखास्तमा अपहरण गर्ने गराउने कार्यमा मेरो कुनै साथ सहयोग संलग्नता छैन । जाहेरवाला नारायण रौनियार र मेरो नजिकमा किराना पसल भएकोले व्यापारिक प्रतिस्पर्धाको सिलसिलामा निजसँग मेरो बोलचाल थिएन । सायद यही पूर्वाग्रहले मलाई फसाउन मेरो नाम पोल गरेको हुनुपर्छ । रणवीर यादव र वीरेन्द्र यादवलाई मैले चिनेको छैन । निजहरूसँग मेरो कुनै साँठगाँठ सम्बन्ध छैन । मेरो पसलमा सामान किन्न सयौँ मानिस आउँछन् । बाटोको छेउमा पसल र बरन्डासमेत भएकोले बटुवा र छेउमा औषधी पसल र क्लिनिक भएकोले बिरामीहरू पनि आएर बस्छन् । त्यसैगरी उल्लिखित मानिसहरू आएर बसेको भए म जान्दिन भन्नेसमेत बेहोराको प्रतिवादी इन्द्रनारायणले प्रहरीमा गरेको बयान कागज ।
अपहरणपश्चात् भारतमा ५/७ दिनसम्म
राखे । घरमा फोन सम्पर्क गराई दिनुहोस् भन्दा बोर्डर सिल छ भने । मलाई विजय कुमार यादव र रणवीर यादवले सखडा पुर्याई औषधी पसलमा राखी भारततर्फ बिक्री गर्ने कुरा गर्ने मानिस नवल किशोर यादव हुन् भनी पीडित चन्दनकुमार गुप्ताले गरेको सनाखत कागज ।
प्रतिवादी राजेन्द्र मण्डलले अपहरण भएको चन्दनकुमार गुप्तालाई लिएर २०६२ सालको लक्ष्मी पूजाको दिन बिहान हाम्रो घरमा गएको हुँदा निजलाई चिनेको हुँ । उक्त दिनको २ बजेतिर मेरा साढुभाइको छोरा विरेन्द्र यादवको साथी रणवीर यादव विरेन्द्रको गाउँले विरेन्द्र यादव र कृष्ण यादव नामका युवक मेरो घरमा गएका हुन् । बच्चालाई रूवेर राजेन्द्र मण्डल बसेका हुन् । हाम्रो काकाको छोरा हो । त्यतिकै ल्याएको ८/१० दिन राखी दिनुहोस् भनेर साढु दाइको छोरा विरेन्द्र यादवले भनेकोले मैले उक्त बच्चालाई मेरो साथमा राखेको हो । मैले अपहरण गरेको होइन भन्नेसमेत बेहोराको प्रतिवादी विरेन्द्र कुमार यादवले प्रहरीमा गरेको बयान कागज ।
मिति २०६२।७।१० गते मेरो छोरा चन्दनकुमार गुप्तालाई अपहरण गर्नेमध्येका हाल पक्राउ परेका प्रतिवादी राजेन्द्र मण्डलको बयानअनुसार छोरा अपहरण गर्ने मानिसहरू इन्द्रनारायण दासकोमा आउने जाने गरेको भनी बताएकोले निज इन्द्रनारायण दाससमेत उक्त वारदातमा संलग्नता रहेको विश्वास लाग्छ । अन्य जाहेरीमा उल्लिखित प्रतिवादीहरू पनि अपहरण कार्यमा छन् भन्नेसमेत बेहोराको चन्दनकुमारको आमा मुन्ना देवी गुप्ताको कागज ।
मिति २०६२।७।१० गते मेरो छोरा चन्दनकुमार गुप्ता अपहरण भएकोले खोजी कार्यमा सहयोग गरिदिनु पर्यो भनी जाहेरवाला नारायण गुप्ता २०६२।७।१२ गते मेरै घरमा गएका हुँदा निजसँगै खोजी कार्यको लागि भारतस्थित डंगमारासम्म गएको हुँ । उक्त बच्चा अपहरणमा मेरो कुनै साथ संलग्नता छैन भन्नेसमेत बेहोराको प्रतिवादी नवल किशोर यादवले प्रहरीमा गरेको बयान ।
मिति २०६२।७।१० गते जाहेरवालाको बच्चा चन्दनकुमार गुप्ता अपहरण भई खोजतलास गर्दै जाँदा जिल्ला सप्तरी पकरी गा.वि.स. वडा नं.२ मा घर भई राजविराज ९ मा डेरा गरी बस्ने राजेन्द्र मण्डलसमेतको संलग्नता भएको खुल्न आएपछि प्रहरीमा खबर गरी निज पक्राउ परेपछि अन्य अपहरणमा संलग्न मानिसहरूको नामसमेत खुल्न आएको हुँदा दोषीउपर कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको बुझिएका विजयकुमार गुप्ताको कागज ।
मिति २०६२।७।१० गते म र चन्दनकुमार गुप्तासमेत खेलिरहेको स्थानमा एकजना तराईबासी जस्तो मानिस आई चन्दनकुमार गुप्तालाई अपहरण गरी लगेको थाहा पाएको हो । अपहरण गर्नेमा भारत डंगमारा बस्ने रणवीर यादवको संलग्नता रहेको भन्ने सुनी थाहा पाएको हो भन्नेसमेत बेहोराको बुझिएका अर्जुनकुमार गुप्ताको कागज ।
मिति २०६२।७।१० गते जाहेरवालाको छोरा चन्दनकुमार गुप्ता खेलिरहेको ठाउँमा एकजना मानिसले रिक्सामा चढाई लगेको भन्ने थाहा पाई खोजतलास पत्ता लगाउँदै जाँदा निज बच्चालाई भारत डंगमारा बस्ने रणवीर यादवसमेतले अपहरण गरी लगी भारतमा लुकाई राखेको अवस्थामा प्रहरीको सहयोगमा अपहरणमुक्त गरी ल्याएको हो भन्नेसमेत बेहोराको बुझिएका अजित कुमार मिश्रको कागज ।
मिति २०६२।७।१० गते जाहेरवालाको छोरा चन्दनकुमार गुप्तालाई एकजना तराईबासी मानिसले रिक्सामा चढाई लगेकोमा खोजतलास गर्न सखडातर्फ जाँदा बच्चालाई इन्डिया टपाइसकेको भन्ने जानकारी हुन आई अपहरण गर्ने सम्बन्धमा बुझ्दा भारत डंगमारा बस्ने रणवीर यादवसमेतको साथ संलग्नता रहेको बुझिएको हुँदा अपहरण गर्नेमा अन्य को-को थिए जाहेरवाला र पीडित बच्चा नै जानुन् भन्नेसमेत बेहोराको बुझिएका इन्द्र सागर गुप्ताको कागज ।
मिति २०६२।७।१० गते राजविराज हनुमाननगर सडक पेट्रोल पम्प नजिकमा खेलिरहेको जाहेरवालाको छोरा चन्दनकुमार गुप्तालाई एकजना मानिसले क्याम्पसमा नाचगान छ हेर्न जाऔँ भनी रिक्सामा चढाई लगेकोमा निज बच्चा घर फर्की नआएपछि खोज तलास गर्दै जाँदा निजलाई भारत डंगमारा बस्ने रणवीर यादवले अपहरण गरी लगी हाल पक्राउ परेको विजय कुमारको घरमा लुकाई राखेको अवस्थामा प्रहरीको सहयोगद्वारा बच्चालाई मुक्त गरी ल्याएको हो भन्नेसमेत बेहोराको बुझिएका शत्रुधनप्रसाद गुप्ताको कागज ।
मिति २०६२।७।१० गते जाहेरवालाको छोरा चन्दनकुमार अपहरण भई खोजतलास गर्दै जाँदा अपहरण गर्ने एक जना भारत डंगमारा घर भएका रणवीर यादव र अर्का राजेन्द्र मण्डल भएको बुझिएकोले कानूनबमोजिम कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको बुझिएका शुभाषचन्द्र झाको कागज ।
मिति २०६२।७।१० गते जाहेरवालाका छोरा चन्दनकुमार अपहरण भई खोजतलास गर्दै जाँदा अपहरण गर्नेमध्येका राजेन्द्र मण्डल पक्राउ परी निजले प्रहरीमा बयान गर्दा बच्चालाई अपहरणपश्चात् भारत बस्ने विजयकुमार यादवको घरमा लुकाई राखेको भन्ने बुझिन आएको र अपहरण गर्ने अन्य भारत डंगमारा बस्ने रणवीर यादवलगायतको संलग्नता भएको हुँदा कारबाही होस् भन्नेसमेत बेहोराको बुझिएका दीपेन्द्र चौधरीको कागज ।
मिति २०६२।७।१० गते जाहेरवालाको छोरा चन्दनकुमार गुप्तालाई अपहरण गर्ने मुख्य मानिस भारत डंगमारा बस्ने रणवीर यादव भएको र राजेन्द्र मण्डलको पनि संलग्नता भएको पाइएको हुँदा घटनामा संलग्न प्रतिवादीहरूलाई कडा कारबाही होस् भन्ने बुझिएका सत्यनारायण यादवको कागज ।
मिति २०६२।७।१० गते अपहरण भएका जाहेरवालाको छोरा चन्दनकुमार गुप्तालाई ३५६२ नं. को मोटरसाइकलमा राखी भारत डंगमारा बस्ने रणवीर यादवले सखडा हुँदै भारततर्फ लगेको भन्ने बुझिन आई खोजतलास गर्दै जाँदा हाल पक्राउ परेका राजेन्द्र मण्डलसमेतको अपहरणमा संलग्नता भएको खुल्न आएको हुँदा दोषीउपर कारबाही गरिपाउँ भन्ने बुझिएका माधवप्रसाद साहको कागज ।
मिति २०६२।७।१० गते जाहेरवालाको छोरा चन्दनकुमार गुप्तालाई अपहरण गरी ल्याएका हुन् र त्यस काण्डमा को कसको संलग्नता छ हाल पक्राउ परेका प्रतिवादी र पीडित चन्दनकुमार नै जानुन् भन्नेसमेत केही व्यक्तिहरूको भनाइ भएको र पक्राउ परेका प्रतिवादी इन्द्रनारायण दास निर्दोष छन् भन्नेसमेत बेहोराको केही व्यक्तिहरूको भनाइ भएको मिति २०६२।८।१४ को वस्तुस्थिति मुचुल्का ।
जाहेरवालाको छोरा चन्दनकुमार गुप्तालाई पूर्वयोजनाअनुसार मिति २०६२।७।१० गते अपहरण गरी भारतमा लगी जाहेरवालासँग पैसा माग्ने पैसा नदिए बिक्री गर्ने उद्देश्यले प्रतिवादी रणवीर यादवले मोटरसाइकलमा चढाई बिचमा चन्दनकुमार गुप्तालाई राखी पछाडि प्रतिवादी लक्ष्मण यादव बसी प्रतिवादीहरू राजेन्द्रकुमार मण्डल वरही विरपुर बस्ने विरेन्द्र यादव, रम्पुरा मलहनिया बस्ने वीरेन्द्र यादव, कृष्ण यादवले भारत विहार सिमराहा टोल औरहीमा अवधेश भन्ने विजयकुमार यादवको घरमा बच्चालाई लगी राखेको र जाहेरवालासँग विभिन्न समयमा टेलिफोनमा कुरा गरी रकम मागेकोमा त्यो रकम जाहेरवालाले दिन नसकी प्रतिवादीहरूले बच्चालाई बिक्री गर्न खोजेकोमा बिक्री गर्न नपाउँदै प्रहरीद्वारा पक्राउ गरी पीडित बच्चासहित नेपाल फर्की आएको कुरा मौकाको किटानी दरखास्त, प्र.स.नि. हिरालालको प्रतिवेदन, पीडित बच्चा चन्दनकुमार गुप्ताको बयान कागज, बुझिएका मुन्ना देवीलगायत अन्य व्यक्तिहरू तथा वस्तुस्थिति मुचुल्काका, व्यक्तिहरूको कागजबाट पुष्टि भएकोले प्रतिवादीहरू रणवीर यादव, राजेन्द्रकुमार मण्डल, विरेन्द्र यादव, (वरही विरपुर बस्ने) विरेन्द्र यादव (रम्पुरा मलहनिया बस्ने) लक्ष्मण यादव, कृष्ण यादवसमेत ६ जनाले जिउ मास्ने बेच्ने कार्य नियन्त्रण ऐन, २०४३ को दफा ४(ख) बमोजिमको कसुर गरेको हुँदा सो कसुरमा यी प्रतिवादीहरूलाई सोही ऐनको दफा ८(२) बमोजिम सजाय गरी पाउन र अन्य प्रतिवादीहरू नवलकिशोर यादव, अजय यादव, विजयकुमार यादव, जंगली यादव र इन्द्रनारायण दाससमेत ५ जनाले सोही ऐनको दफा ४(घ) बमेाजिमको कसुर गरेकोमा सोही ऐनको दफा ८(४) नं. बमोजिम सजाय गरिपाउँ भन्ने अभियोगपत्र ।
जाहेरवाला नारायण साह रौनियार र पीडित चन्दनकुमार गुप्ता मेरो छिमेकी भएकोले चिनजान
छ । लेनदेन झै-झगडाले बोलचाल आजसम्म भएको छैन । जाहेरवालाको छिमेकी भएको नाताले निजको छोरा गाउँघरमा नदेखेपछि सबैले बच्चा खोजतलास गरेको हुँदा मैले थाहा पाएँ । बच्चाको अपहरण भएको हो तर सो बच्चालाई कहिले कसले कुन उद्देश्यले कहाँ लगेको हो मलाई थाहा छैन र कुन परिबन्दबाट बच्चा अपहरण भई कहाँबाट उद्धार गरी ल्याएका हुन् त्यो पनि मलाई थाहा छैन । मेरो संलग्नता नै नभएको घटनामा मेरो नाम उल्लेख गरिदिएको जाहेरी बेहोरा साँचो होइन । पीडितले आफ्नो मन ज्ञानले त्यस्तो बयान गरेको नभई कसैले सिकाएर मेरो नाम बोलेको हुनुपर्छ । निजको बाबुको नाम पनि नारायण साह भएको हुँदा उसले टेलिफोनमा त्यो सुनेको हुनुपर्छ । प्रतिवादी राजेन्द्रकुमार मण्डललाई मैले कहिल्यै नचिनेको हुँदा नचिनेको मानिसले किन त्यस्तो बयान कागज गरे त्यो म भन्न सक्दिन । अपहरणको घटनामा मेरो कुनै संलग्नता नभएको हुँदा अभियोग दाबीबमोजिम सजाय पाउनु पर्ने होइन भन्नेसमेत बेहोराको प्रतिवादी इन्द्रनारायण दासले सुरू अदालतमा गरेको बयान ।
जाहेरवाला, पीडित र अन्य प्रतिवादीहरूसँग मेरो कहिल्यै चिनजान छैन । जाहेरीमा उल्लिखित मिति समयमा म आफ्नो गाउँघरमा नै लक्ष्मी पूजाको समय हुँदा घरमै छु । पीडितले किन मेरो नाम लेखाए त्यो उनै जानुन् । प्रतिवादी राजेन्द्र मण्डलसमेतलाई मैले नचिनेको हुँदा मेरो नाम उल्लेख गरिदिएको कुनै पनि कागज साँचो होइन । मैले त्यस्तो अपराधजन्य कसुर नगरेको हुँदा अभियोग दाबीबमोजिम सजाय पाउनु पर्ने होइन भन्नेसमेत बेहोराको प्रतिवादी लक्ष्मण यादवले सुरू अदालतमा गरेको बयान ।
जाहेरवाला, पीडित र कुनै पनि प्रतिवादीसँग मेरो कहिल्यै पनि चिनजान छैन । उक्त अपराधको घटना सम्बन्धमा मलाई केही पनि थाहा छैन । देखाइएको वारदात समयमा म आफ्नै गाउँघर पकरीमा छु । अधिकारप्राप्त अधिकारीसमक्षको बयान मैले भनेको नभई मलाई प्रहरीले यत्रतत्र कुटपिट गरी आफैँले लेखी तयार पारेको कागजमा सही गराएका
हुन् । मैले अपहरणको कसुर नगरेको हुँदा सजाय पाउनु पर्ने होइन भन्नेसमेत बेहोराको प्रतिवादी राजेन्द्र मण्डलले सुरू अदालतमा गरेको बयान ।
जाहेरीमा उल्लिखित मिति समयमा म आफ्नै गाउँघर लालापट्टीमा छु । जाहेरवाला, पीडित र अन्य प्रतिवादीहरूसँग चिनजान नभएको हुँदा घटनाको बारेमा मलाई केही थाहा छैन । पीडित चन्दनकुमारले मेरो नाम पोल गरी गरेको कागज झुट्टा हो । प्रहरीमा भएको बयान मेरो नभई उनीहरूले नै तयार पारी मलाई सही गराएका हुन् । मैले अभियोग दाबीबमोजिमको कसुर नगरेको हुँदा सजाय पाउनु पर्ने होइन भन्नेसमेत बेहोराको प्रतिवादी नवलकिशोर यादवले सुरू अदालतसमक्ष गरेको
बयान ।
जाहेरवाला, पीडित र अन्य प्रतिवादीहरू कसैसँग पनि मेरो चिनजान नाता छैन । अधिकारप्राप्त अधिकारीसमक्ष मैले भन्दै नभनेको कुरा लेखी जबरजस्ती कुटपिट गरी हात फ्याक्चर गराई बयानमा सही गराएका हुन् । म त्यस्तो बच्चा अपहरणको घटनामा कहिल्यै संलग्न नहुँदा मेरो नाम प्रतिवादी राजेन्द्र मण्डलसमेतले आफ्नो बयानमा उल्लेख गरी दिएको कागज बेहोरा साँचो होइन । मैले कसुर नगरेको हुँदा अभियोग दाबीबमोजिम सजाय पाउनु पर्ने होइन भन्नेसमेत बेहोराको प्रतिवादी अवधेश भन्ने विजयकुमार यादवले सुरू अदालतमा गरेको बयान ।
सुरू अदालतको आदेशानुसार फरार रहेका प्रतिवादीहरू रणवीर यादव, विरेन्द्र यादव, विरेन्द्र यादव, कृष्ण यादव, अजय यादव र जंगली यादवमध्ये प्रतिवादी रणवीर यादव र प्रतिवादी जंगली यादव भारतीय नागरिक भएको र प्रतिवादीहरू विरेन्द्र यादव र अजय यादव नामको ७० दिने म्यादी पुर्जी मिति २०६२।९।२६ मा र प्रतिवादी विरेन्द्र यादव र प्रतिवादी कृष्ण यादवका नामको ७० दिने म्यादी पुर्जी मिति २०६२।११।१२ मा तामेल भएकोमा म्यादभित्र अदालतमा उपस्थित नभई म्यादै गुजारी बसेका
रहेछन् ।
प्रतिवादीहरूको साक्षीहरूको बकपत्र भई मिसिल सामेल रहेको ।
वस्तुस्थिति मुचुल्काका मानिस जितेन्द्र साहसमेतको बकपत्र भई मिसिल सामेल रहेको ।
मेरो छोरा चन्दनकुमार गुप्तालाई बिक्री गर्ने उद्देश्यले मोटरसाइकलमा बसाई रणवीर यादव र इन्द्र नारायण दाससमेतले भारतमा लगेका हुन् । भारतबाट रणवीर यादवले ३ लाख आइ सी लिएर आउनु भनेका थिए । अपहरण कार्यमा रणवीर यादव, इन्द्रनारायण दास र हाटी टोल बस्ने विरेन्द्र यादव संलग्न छन् । अपहरण कार्यमा लक्ष्मण यादवको कुनै संलग्नता छैन भन्नेसमेत बेहोराको जाहेरवाला नारायण शाह रौनियारले सुरू अदालतमा गरेको बकपत्र ।
प्रहरीमा कागज गर्ने व्यक्ति मुन्नीदेवी शाहसमेतको बकपत्र भई मिसिल सामेल रहेको ।
मलाई अपहरण गर्ने रणवीर यादव र सहयोग गर्ने इन्द्रनारायण दास हुन् । यिनै दुई जनालाई मात्र चिन्दछु, अन्य प्रतिवादीहरूलाई चिन्दिन । निजहरूले पैसा कमाउनका लागि अपहरण गरेका हुन् । मिति २०६२।७।२४ मा मौकामा गरेको बयान बेहोरामा प्रहरीले के लेखे लेखेनन् सो कुरा प्रहरी नै जानुन्, प्रहरीले जहाँ सही गर् भन्यो त्यहाँ मैले सही गरेको हो । प्रहरीमा सनाखत कागज गर्दा इन्द्र नारायण दास र रणवीर यादवको नाम मात्रै भनेको थिएँ तर प्रहरीले किन लक्ष्मणको समेत नाम लेख्यो थाहा भएन भन्नेसमेत बेहोराको पीडित चन्दनकुमार गुप्ताले सुरू अदालतसमक्ष गरेको बकपत्र ।
प्रतिवेदक आनन्दमणी लामिछानेको बकपत्र भई मिसिल सामेल रहेको ।
किटानी जाहेरी दरखास्त, पीडित चन्दनकुमार गुप्ताबाट जाहेरी दरखास्तको बेहोरालाई समर्थन हुने गरी गरेको बयान जुन अदालतबाट प्रमाणितसमेत भएको, प्रतिवादीमध्येका राजेन्द्र मण्डलले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयानबाट अन्य प्रतिवादीहरूसमेतलाई पोल गरी बयान गरेको देखिन्छ भने प्रतिवादीहरू नवलकिशोर र लक्ष्मण यादवले राजेन्द्र मण्डललाई पोल गरी बयान गरेकोमा सो पोल गरी भएको बयानलाई पीडितले गरेको सनाखत कागजले प्रमाणित गरेको देखिन्छ । प्रतिवादी राजेन्द्र मण्डलले अनुसन्धान अधिकारीसमक्ष बयान गर्दा पीडितलाई अपहरण गरेको कुरा स्वीकार गरेकोले र विभिन्न आधार प्रमाण एवं परिस्थितिजन्य आधारमा प्रतिवादी राजेन्द्र मण्डलले पीडितलाई बिक्री गर्ने उद्देश्यले अपहरण गरी विदेश भारत लगेकोले निजलाई जिउ मास्ने बेच्ने कार्य नियन्त्रण ऐन, २०४३ को दफा ४(ख) को कसुरमा ऐ.को दफा ८(२) ले ५ वर्ष कैद र लक्ष्मण यादवका हकमा पीडितको बयानका साथै प्रतिवादीमध्येका विजयकुमारले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयानबाट यी प्रतिवादीले पीडितलाई भारतको डंगमारा भन्ने ठाउँसम्म पुर्याएको भनी मिसिल संलग्न कागजबाट देखिँदा जिउ मास्ने बेच्ने कार्य नियन्त्रण ऐन, २०४३ को दफा ४(घ) को कसुरमा ऐ. ऐनको दफा ८(४) ले १ वर्ष चार महिना कैद, अर्को प्रतिवादी इन्द्रनारायण दास, नवलकिशोर यादव, अवधेश भन्ने विजयकुमार यादवका हकमा अन्य प्रतिवादीहरूलाई जिउ मास्ने बेच्ने कार्यमा सहयोग पुर्याएको देखिएकोले १ वर्ष ४ महिना कैद हुने ठहर्छ भन्नेसमेत बेहोराको सप्तरी जिल्ला अदालतबाट मिति २०६४।३।४ मा भएको फैसला ।
मिति २०६२।७।१३ गतेको जाहेरी दरखास्तमा जाहेरवालाले मेरो नाम किटान गरी जाहेरी दरखास्त नदिएको, मिति ०६२।७।२४ को जाहेरीमा राजविराज नगरपालिका वडा नं.९ बस्ने लक्ष्मण यादवको डेरामा योजना बनाएको भन्ने कुरा उल्लेख गरेकोले जाहेरवालालाई उक्त कुरा थाहा भएको भए पहिलो जाहेरी दरखास्तमा नै सो कुरा उल्लेख गर्नुपर्नेमा नगरेको र सो कुराको पुष्टि गर्नसमेत नसकेको पीडितले गरेको सनाखत बयानबाट राजेन्द्र मण्डलको जिम्मामा १ दिन निजको दिदीको घरमा राखेको, रणवीर र राजेन्द्र मण्डलले भारतकै सिम्राहा बजारमा विजय कुमारको घरमा पुर्याएको भन्ने कुराको कुनै स्वतन्त्र प्रमाणबाट पुष्टि भएको छैन । पीडितले जाहेरवालाले रोहबरमा बयान गर्दा घटना वारदातमा देखाउन नसकेको साथै मलाई अपहरण गर्ने रणवीर र इन्द नारायण दासलाई चिन्दछु भनी बकपत्र गरेकोले र प्रहरीमा भएको कागजलाई स्वयम् पीडितले अदालतसमक्ष इन्कार गरी बयान गरेको । पीडितको प्रहरीमा भएको मिति २०६२।७।२४ को कागज अदालतबाट प्रमाणित भएर २०६२।७।२५ को अ.वं.१७२ नं. बमोजिमको सनाखत कागजलाई अदालतबाट जिल्ला न्यायाधिवक्ताको समक्षमा गरेको बयान प्रमाणित गरिदिएको छ भनी उल्लेख भएको पाइन्छ भने स्वयम् पीडितले अदालतमा बकपत्र गर्दा प्रहरीले के लेख्यो मलाई थाहा भएन भनी बकपत्र गरेको देखिन्छ । प्रतिवादीमध्येका नवलकिशोरले पोल गरेको भनी लिएको आधारसमेत निराधार छ । साथै मेरो इच्छा विरूद्ध प्रहरीमा भएको बयानलाई अन्य स्वतन्त्र प्रमाणबाट पुष्टि भएको छैन । तसर्थ, उपर्युक्त विभिन्न आधार र कारणबाट अनुसन्धान अधिकारीले गरेको अनुसन्धानलाई मात्र सत्य मानी अनुमान र शङ्काको भरमा गरिएको सप्तरी जिल्ला अदालतको फैसला त्रुटिपूर्ण हुँदा उल्टी गरी इन्साफ पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी राजेन्द्र मण्डलले मिति २०६४।५।२० मा पुनरावेदन अदालत राजविराजमा पेस गरेको पुनरावेदनपत्र ।
प्र.स.नि. हिरालालसमेतको २०६२।७।२३ को प्रतिवेदनमा जिल्ला प्रहरी कार्यालय सप्तरीले इलाका प्रहरी कार्यालय रानी विराटनगरलाई लेखेको २०६२।४।२३ को पत्रमा मेरो नामसम्म उल्लेख नभएको, मैले उक्त वारदातको परिपञ्च मिलाउने, सहयोग पुर्याउने त्यस्तो कार्यमा संलग्न भई दुरूत्साहन गर्ने वा कार्य गर्न उद्योग गर्ने जस्ता अभियोग दाबीका कुरा जाहेरवालाको जाहेरी, निजकी पत्नी मुनादेवीको कागज, पीडित वर्ष १० को चन्दनकुमारको कागज र मौकामा भएको प्रहरीसमक्षको सनाखत कागज तथा मौकामा साबित हुन सक्ने प्रतिवादी राजेन्द्र मण्डलको बयानसमेतमा उल्लेख भएको नदेखिएको अवस्थाको विवेचना नै नगरी मलाई सजाय गर्ने गरी सप्तरी जिल्ला अदालतबाट मिति २०६४।३।४ मा भएको त्रुटिपूर्ण हुँदा उक्त फैसला उल्टाई सफाइ पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी इन्द्र नारायण दासले मिति २०६४।३।९ मा पुनरावेदन अदालत राजविराजमा पेस गरेको पुनरावेदनपत्र ।
प्रतिवादी लक्ष्मण यादवले पीडितलाई बेच्ने उद्देश्यले भारतसम्म लगेको देखिएपछि सहयोग मात्र गरेको भनी जिउ मास्ने बेच्ने कार्य नियन्त्रण ऐन, २०४३ को दफा ४(ख) को कसुर मान्नुपर्नेमा ४(घ) को कसुर कायम गरी कानूनको गलत व्याख्या भएकोले उक्त फैसला बदर गरी निज प्रतिवादीलाई अभियोग माग दाबीबमोजिम नै सजाय गरिपाउँ भन्नेसमेत बेहोराको मिति २०६४।६।२२ मा पुनरावेदन अदालत राजविराजमा पेस भएको नेपाल सरकारको पुनरावेदनपत्र ।
मैले गरेको इन्कारी बयान, पीडितले अदालतमा उपस्थित भई गरेको बयान, पीडितको आमा मुनीदेवी तथा जाहेरवालासमेतले गरेको बयानबाट म निर्दोष भएको कुरा पुष्टि भएको छ । पीडित स्वयंले लक्ष्मण यादवले अपहरण नगरेको भनी बकपत्र गर्दागर्दै र वस्तुस्थिति मुचुल्काका साक्षी वन्धदास, राजेन्द्र प्रसाद दाससमेतले म निर्दोष भएको अपहरण कार्यमा कुनै संलग्नता नभएको भनी बयान गरेको साथै पीडितले गरेको प्रमाणित बयानलाई समेत झुट्टा हो भनिसकेको अवस्थामा सोतर्फ विचार नै नगरी भएको सप्तरी जिल्ला अदालतको फैसला त्रुटिपूर्ण हुँदा उल्टी बदर गरी सफाइ पाउँ भन्नेसमेत बेहोराको मिति २०६४।६।२३ मा पुनरावेदन अदालत राजविराजमा पेस भएको लक्ष्मण यादवको पुनरावेदनपत्र ।
अदालतमा आई पीडित चन्दनकुमार गुप्ता, जाहेरवाला मुनिदेवी गुप्ता, प्रहरीमा बुझिएका शत्रुधन गुप्तासमेतका व्यक्तिहरूले बकपत्र गर्दा म पुनरावेदकले पीडितलाई अपहरण गर्ने, भारततर्फ लैजाने कुनै पनि कार्यमा कसैलाई पनि सहयोग गरेको उक्साएको परिपञ्च उद्योगलगायत केही नगरेको भनी किटानीसाथ बकपत्र गरिदिएको अवस्था विद्यमान हुँदाहुँदै सोलाई वास्ता नगरी म निर्दोष व्यक्तिलाई अपराध ठहर गरी भएको फैसला बदर गरी सफाइ पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी नवल किशोर यादवको मिति २०६४।९।१५ मा पुनरावेदन अदालत राजविराजमा पेस भएको पुनरावेदनपत्र ।
यसमा प्रतिवादी इन्द्रनारायण दास, राजेन्द्र मण्डल, नवलकिशोरको पुनरावेदन सम्बन्धमा जाहेरवाला मुन्नीदेवी र पीडित चन्दन गुप्तासमेतको अनुसन्धान अधिकारीसमक्षमा भएको कागज र अदालतमा भएको बकपत्रको बेहोरा फरक परेको सन्दर्भमा सुरू अदालतले गरेको फैसला प्रमाण मूल्याङ्कनको रोहमा फरक पर्न सक्ने हुँदा अ.बं.२०२ नं. को प्रयोजनार्थ झगडिया झिकाउनु भन्नेसमेत बेहोराको पुनरावेदन अदालत राजविराजबाट मिति २०६५।३।२२ मा भएको आदेश ।
मिसिल संलग्न प्रमाणहरूबाट पीडित चन्दनकुमार गुप्ता, निजको बुबा, आमा र वादी पक्षको साक्षी प्रमाणसमेतबाट पुनरावेदकहरू राजेन्द्र मण्डल, लक्ष्मण यादव, इन्द्रनारायण दास र नवलकिशोर यादव अपहरण गर्ने कार्यमा संलग्न भएको पुष्टि नभएको अवस्थामा निजहरूलाई अभियोग दाबीबाट सफाइ दिनुपर्नेमा दोषी ठहर्याई सप्तरी जिल्ला अदालतबाट मिति २०६४।३।४ मा भएको फैसला मिलेको नदेखिँदा उल्टी भई प्रतिवादीहरूले अभियोग दाबीबाट सफाइ पाउने ठहर्छ भन्नेसमेत बेहोराको पुनरावेदन अदालत राजविराजको मिति २०६५।१०।२९ को फैसला ।
प्रतिवादीहरू राजेन्द्र मण्डल, लक्ष्मण यादव, नवल किशोर यादव, इन्द्र नारायण दास र अवधेस भन्ने विजयकुमार यादवले मिलेमतो र सरसल्लाह गरी योजनाबद्ध रूपमा पीडित नाबालक चन्दनकुमार गुप्तालाई अपहरण गरी भारत फारविसगन्जमा पुर्याई प्रतिवादीमध्येकै विजयकुमार यादवको घरमा लुकाई राखेको कुरा प्रतिवादी राजेन्द्र मण्डलबाटै खुल्न आएपछि पीडितलाई उद्धार गरी ल्याएको तथ्य इलाका प्रहरी कार्यालय रानी विराटनगरको पत्रबाट
देखिन्छ । प्रतिवादीहरूउपर जाहेरवालाको किटानी जाहेरी पर्नुका साथै पीडितले मौकामा प्रतिवादीहरूलाई चिनी अ.बं. १७३ नं. बमोजिम सनाखत गरेको अवस्था छ । पीडितले मौकामा बयान गर्दा आफूलाई प्रतिवादी राजेन्द्र मण्डलले भारतमा रूँगेर बसेका थिए । प्रतिवादी लक्ष्मण यादव मोटरसाइकलको पछाडि बसी आफूलाई घटनास्थलबाट उठाई लैजाने कार्यमा सरिक थिए भनी गरेको बयान अदालतबाट प्रमाणितसमेत भएको देखिन्छ । प्रतिवादीहरू राजेन्द्र मण्डल, लक्ष्मण यादव, विजयकुमार यादवले अनुसन्धानको क्रममा बयान गर्दा कसुर गरेकोमा साबित भई परस्पर पोल गरी बेहोरा लेखाएको छ । प्रतिवादीहरूको साबिती बयान आफ्नो इच्छा विरूद्धको हो भनी जिकिर लिएपनि उक्त जिकिर पुष्टि हुन सकेको पाइँदैन । प्रतिवादीहरूउपर परेको किटानी जाहेरी, प्रतिवादीहरूको मौकाको साबिती बयान, पीडितको बयान एवं सनाखत कागजहरू, बुझिएका व्यक्तिहरूको कागज बेहोरा, जाहेरवालाको बकपत्रसमेतले प्रतिवादीहरूबाटै वारदात घटेको तथ्य स्थापित भएको अवस्थामा प्रतिवादीहरूलाई सफाइ दिने गरी पुनरावेदन अदालतबाट भएको फैसला त्रुटिपूर्ण छ । अनुसन्धानको क्रममा साबित भएका प्रतिवादीहरू राजेन्द्र मण्डल, लक्ष्मण यादव, विजयकुमार यादवले अदालतसमक्ष बयान गर्दा इन्कार भई आफूहरू वारदातको दिन अन्यत्र रहेको भनी alibi को जिकिर लिएकोमा उक्त निर्दोषिताको जिकिर प्रमाणसहित पुष्टि गराउन सकेको पाइँदैन । पीडित र जाहेरवालाले बकपत्र गर्दा प्रतिवादीहरूको नाम उल्लेख नगरेको कारण बकपत्रलाई पूर्णरूपमा hostile भन्न मिल्दैन । Hostile हुनका लागि बाध्य पारिएको अवस्था छ । जिउ मास्नेजस्तो गम्भीर अपराधमा प्रतिवादीहरूको समूहले विभिन्न डर त्रास एवम् धम्की दिएर नाम उच्चारण नगरेको र winning away गराइएको अवस्थासमेत हुन सक्दछ । अतः उल्लिखित तथ्यगत एवम् कानूनी आधार प्रमाणहरूबाट प्रतिवादीहरूले अभियोग दाबीबमोजिमको कसुर अपराध गरेको प्रमाणित भइरहेको अवस्थामा प्रतिवादीहरूलाई सफाइ दिने गरी पुनरावेदन अदालत राजविराजबाट भएको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी प्रतिवादीहरूलाई अभियोग दाबीबमोजिम नै सजाय गरिपाउँ भन्नेसमेत बेहोराको वादी नेपाल सरकारको तर्फबाट यस अदालतमा दायर हुन आएको पुनरावेदनपत्र ।
यसमा नारायण साह रौनियारको जाहेरी, पीडित चन्दनकुमारको प्रमाणित बयान, सनाखत कागज र अदालतसमक्षको बकपत्र तथा प्रतिवादी राजेन्द्र मण्डलको अधिकारप्राप्त अधिकारीसमक्ष भएको बयानसमेतको समग्र तथ्यगत अवस्थासमेत विचार गर्दा, प्रतिवादीहरूको कसुर वारदातमा संलग्नताको स्थिति देखिनेमा निजहरूलाई सफाइ दिएको पुनरावेदन अदालत राजविराजको फैसला प्रमाण मूल्याङ्कनको रोहमा फरक पर्न सक्ने देखिँदा छलफलको निमित्त अ.बं. २०२ नं. बमोजिम प्रत्यर्थी प्रतिवादीहरूलाई झिकाई आएपछि वा अवधि व्यतित भएपछि नियमबमोजिम पेस गर्नु भन्नेसमेत बेहोराको यस अदालतबाट मिति २०६९।४।२८ मा भएको आदेश ।
जाहेरवालाको छोरालाई अपहरण गर्ने कार्यमा मेरो कुनै पनि संलग्नता छैन भनी मैले मौका र अदालतसमक्ष गरेको इन्कारी बयान, पीडित चन्दनकुमार गुप्ताको बकपत्र, पीडितकी आमा मुन्निदेवीका साथै जाहेरवाला नारायणप्रसाद रौनियारसमेतले अदालतमा गरेको बकपत्रसमेतबाट म लक्ष्मण यादव अपहरण कार्यमा संलग्न नरहेको अवस्था हुँदा पुनरावेदन अदालत राजविराजले गरेको फैसला सदर हुनुपर्दछ भन्नेसमेत बेहोराको प्रतिवादी लक्ष्मण यादवको यस अदालतमा पर्न आएको लिखित प्रतिवाद ।
यस अदालतबाट जारी भएको प्रतिवादी राजेन्द्र मण्डलका नामको म्याद निजका बाबुले बुझेको र अवधेश भन्ने विजयकुमार यादवका नाममा सार्वजनिक पत्रिकामा सूचना प्रकाशित हुँदासमेत निज प्रतिवादीहरू उपस्थित हुन आएको देखिँदैन ।
ठहर खण्ड
नियमबमोजिम दैनिक पेसी सूचीमा चढी इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान् उपन्यायाधिवक्ता श्री गंगाप्रसाद पौडेलले प्रतिवादीहरूको मिलेमतो र सरसल्लाहमा पीडित नाबालक चन्दनकुमार गुप्तालाई अपहरण गरी भारतमा पुर्याई प्रतिवादीमध्येकै अवधेश भन्ने विजय कुमार यादवको घरमा लुकाई राखेको अवस्थामा प्रहरीले पीडितलाई उद्धार गरी नेपालमा ल्याएको प्रस्ट देखिन्छ । प्रतिवादीहरूउपर जाहेरवालाको किटानी जाहेरी पर्नुका साथै पीडितले मौकामा प्रतिवादीहरूलाई चिनी सनाखत गरेको अवस्था छ । पीडितले मौकामा बयान गर्दा आफूलाई प्रतिवादी राजेन्द्र मण्डलले भारतमा रूँगेर बसेका थिए । प्रतिवादी लक्ष्मण यादव मोटरसाइकलको पछाडि बसी आफूलाई घटनास्थलबाट उठाई लैजाने कार्यमा सरिक थिए भनी गरेको बयान अदालतबाट प्रमाणितसमेत भएको छ । प्रतिवादी राजेन्द्र मण्डल अनुसन्धानको क्रममा बयान गर्दा कसुर गरेकोमा साबित भई परस्पर अन्य प्रतिवादीहरूलाई समेत पोल गरी बयान गरेको पाइन्छ । प्रतिवादीहरूउपरको किटानी जाहेरी मिसिल संलग्न अन्य प्रमाणहरूबाट स्थापित भएको अवस्थामा पीडितका साथै वादी पक्षका साक्षीले मौकाको बयान बेहोराविपरीत अदालतमा गरेको बकपत्रलाई आधार लिई प्रतिवादीहरूलाई कसुरबाट सफाइ दिने गरी भएको पुनरावेदन अदालत राजविराजको फैसला त्रुटिपूर्ण हुँदा उक्त फैसला बदर गरी प्रतिवादीहरूलाई अभियोग दाबीबमोजिम नै सजाय हुनुपर्दछ भनी गर्नुभएको बहस सुनियो ।
प्रतिवादी लक्ष्मण यादवको तर्फबाट उपस्थित विद्वान् अधिवक्ता श्री हरि फुयालले यी प्रतिवादी अधिकारप्राप्त अधिकारी र अदालतसमक्ष कसुर गरेकोमा इन्कार छन् । वारदातमा प्रयोग भएको भनिएको रणवीरले चलाएको मोटरसाइकलमा यी प्रतिवादी पछाडि बसेको र सो मोटरसाइकल निज प्रतिवादीकै हो भन्ने वादी पक्षको जिकिर भए तापनि मोटरसाइकलको पछाडि बस्ने व्यक्ति यिनै प्रतिवादी हुन् भनी कसैले पनि यकिनसाथ भन्न सकेको अवस्था छैन । बरामद भएको मोटरसाइकल भारतीय नम्बर प्लेटको रहेको छ । पीडितले अदालतसमक्ष बकपत्र गर्दा लक्ष्मण यादवलाई चिन्दिन, मलाई अपहरण गर्ने रणवीर यादव र सहयोग गर्ने इन्द्रनारायण दास हुन्, मोटरसाइकलको पछाडि को थियो चिन्दिन भनी लेखाएबाट पनि कसुरमा यी प्रतिवादीको संलग्नता नदेखिँदा पुनरावेदन अदालतले गरेको फैसला सदर हुनुपर्दछ भनी बहस प्रस्तुत गर्नुभयो ।
प्रतिवादी इन्द्र नारायण दासको तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री महादेवप्रसाद यादव, श्री सुरेन्द्रकुमार खड्का तथा अधिवक्ता श्री कमलप्रसाद खनालले जाहेरवालाको छिमेकी भएको नाताले बेला बेलामा यिनको नाम आउँथ्यो भन्ने आधारमा यी प्रतिवादीउपर किटानी जाहेरी दिएको अवस्था छ । अधिकारप्राप्त अधिकारी र अदालतमा कसुर गरेकोमा यी प्रतिवादी इन्कार छन् । मिति २०६२।७।२३ को प्रहरी प्रतिवेदनमा यी प्रतिवादीको नाम नै उल्लेख छैन । प्रतिवादीमध्येका राजेन्द्र मण्डलले यी प्रतिवादीउपर पोल गरे तापनि पीडितले अदालतमा राजेन्द्र मण्डलले कसुर गरेको छैन भनी बकपत्र गरेको अवस्था हुँदा सहअभियुक्तको पोललाई प्रमाणमा लिन मिल्दैन । वादी पक्षले यो यो कार्य गरेकाले कसुरमा निज प्रतिवादीको संलग्नता रहेको भनी पुष्टि गर्न सकेको अवस्था नहुँदा निज प्रतिवादीलाई सफाइ दिने गरी पुनरावेदन अदालतबाट भएको फैसला सदर हुनुपर्दछ भनी बहस गर्नुभयो ।
विद्वान् कानून व्यवसायीहरूबाट प्रस्तुत भएको उल्लिखित बहस जिकिरसमेत सुनी मिसिल संलग्न कागज प्रमाणहरूको अध्ययन गरी निम्न प्रश्नहरूका सम्बन्धमा निर्णय दिनुपर्ने देखिन आयो ।
पीडितको मौकाको प्रमाणित बयानलाई प्रमाणमा लिन मिल्ने हो वा होइन ?
पुनरावेदन अदालत राजविराजबाट मिति २०६५।१०।२९ मा भएको फैसला मिले नमिलेको के रहेछ ?
वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्ने हो वा होइन ?
माथि उल्लिखित विवादित प्रश्नहरूको निर्क्यौलमा पुग्नुअगाडि मिसिल सामेल रहेका केही विवादरहित तथ्यहरूको बारेमा उल्लेख गर्नु सान्दर्भिक देखिन आयो । प्रतिवादीहरू रणवीर यादव, राजेन्द्रकुमार मण्डल, विरेन्द्र यादव (वरही विरपुर बस्ने), विरेन्द्र यादव (रम्पुरा मलहनिया बस्ने), लक्ष्मण यादव, कृष्ण यादवसमेत ६ जनालाई जिउ मास्ने बेच्ने कार्य नियन्त्रण ऐन, २०४३ को दफा ४(ख) को कसुरमा सोही ऐनको दफा ८(२) बमोजिम सजाय गरी पाउन र अन्य प्रतिवादीहरू नवलकिशोर यादव, अजय यादव, विजयकुमार यादव, जंगली यादव र इन्द्रनारायण दाससमेतलाई सोही ऐनको दफा ४(घ)को कसुरमा सोही ऐनको दफा ८(४) बमोजिम सजाय गरिपाउँ भनी वादी नेपाल सरकारको अभियोग दाबी पेस भएकोमा प्रतिवादी राजेन्द्र मण्डललाई जिउ मास्ने बेच्ने कार्य नियन्त्रण ऐन, २०४३ को दफा ४(ख) को कसुरमा ऐ.को दफा ८(२) अनुसार ५(पाँच) वर्ष कैद र अन्य प्रतिवादीहरू लक्ष्मण यादव, इन्द्रनारायण दास, नवलकिशोर यादव, अवधेश भन्ने विजयकुमार यादवलाई जिउ मास्ने बेच्ने कार्य नियन्त्रण ऐन, २०४३ को दफा ४(घ) को कसुरमा ऐ. ऐनको दफा ८(४) अनुसार जनही १ वर्ष चार महिना कैद हुने ठहर्छ भनी सुरू सप्तरी जिल्ला अदालतबाट फैसला भएको पाइयो । सुरू अदालतको फैसला मिलेको नदेखिँदा उल्टी भई प्रतिवादीहरूले अभियोग दाबीबाट सफाइ पाउने ठहर्छ भनी पुनरावेदन अदालत राजविराजबाट भएको फैसलामा चित्त नबुझाई वादी नेपाल सरकारको प्रस्तुत पुनरावेदन पर्न आएको देखियो ।
मिति २०६२।७।१० गते मेरो नाबालक छोरा चन्दनकुमार गुप्ता छिमेकी केटाहरूसँग खेलिरहेको अवस्थामा नाम थाहा हुन नआएको मानिसले छोरालाई बोलाई फकाई मोटरसाइकलमा बसाई बेपत्ता पारेकाले छोरालाई पत्ता लगाई अपराधीलाई कारबाही गरिपाउँ भनी नारायण साह रौनियार गुप्ताले दिएको हुलिया निवेदनबाट प्रस्तुत मुद्दाको कारबाही सुरू भएको देखिन्छ ।
भारतीय प्रहरीको सहयोगमा पीडितलाई अपहरणमुक्त गरी प्र.स.नि. हिरालाल यादवको जिम्मामा पठाइएको भनी इलाका प्रहरी कार्यालय रानीबाट जि.प्र.का. सप्तरीलाई लेखेको पत्रबाट पीडित चन्दनकुमार गुप्ताको अपहरण भएको कुरामा कुनै विवाद देखिएन ।
पीडित चन्दनकुमार गुप्ता अपहरणमुक्त भएपश्चात् प्रतिवादीहरू राजेन्द्र मण्डल, लक्ष्मण यादव, रणवीर यादव, विरेन्द्र यादव, नवलकिशोर यादव, अजय यादव, इन्द्रनारायण दास र अवधेश भन्ने विजयकुमार यादवसमेतको संलग्नतामा बिक्री गर्ने उद्देश्यले छोरालाई अपहरण गरी भारतको विभिन्न स्थानमा पुर्याएको तथ्य हाल पक्राउ परेका प्रतिवादी राजेन्द्र मण्डलबाट खुल्न आएको हुँदा निज प्रतिवादीहरूलाई खोजतलास गरी कानूनबमोजिम कारबाही गरिपाउँ भनी पीडितका बाबुको किटानी जाहेरी परेको अवस्था छ ।
प्रतिवादी राजेन्द्र मण्डलका नाममा यस अदालतबाट जारी भएको म्याद मिति २०६९।६।१६ मा निजका बाबुले बुझेको देखिए तापनि निज प्रतिवादी अदालतसमक्ष उपस्थित भई अभियोग दाबीलाई खण्डन गरेको अवस्था छैन । यी प्रतिवादीले मौकामा बयान गर्दा जाहेरवालाको छोरा चन्दनकुमार गुप्तालाई बिक्री गर्ने उद्देश्यले अपहरण गरी भारतमा पुर्याई मेरो निगरानीमा राखिएको हो भनी कसुर गरेकोमा साबित हुनुका साथै वारदातमा अन्य प्रतिवादीहरूसमेत संलग्न रहेको भनी खुलाएको अवस्था छ भने अदालतसमक्ष कसुर गरेकोमा इन्कार रहेको देखिन्छ । प्रतिवादीहरू नवल किशोर यादव र लक्ष्मण यादवले प्रतिवादी राजेन्द्र मण्डललाई परस्पर पोल गरी बयान गरेको देखिन्छ ।
पीडितले अपहरणबाट मुक्त भई मौकामा अनुसन्धान अधिकारीसमक्ष बयान गर्दा, म साथीहरूसँग खेलिरहेको अवस्थामा तत्काल मैले नचिनेको पछि नाम खुल्न आएका भारत डंगमारा बस्ने रणवीर यादव नामको मानिसले घुम्न जाउँ भनी रिक्सामा राखेर कुनौली मोड हुँदै क्याम्पस नजिक पुर्याएपछि रणवीरले मोटरसाइकलमा चढाई मलाई बिचमा र पछाडि तत्काल नाम थाहा नभएका लक्ष्मण यादव बसेर सखडा मन्दिर छेउ रहेको नवलकिशोर र अजय भन्नेको औषधी पसलमा पुर्याए । त्यहाँबाट मोटरसाइकलमा राखी इन्डियाको डंगमारा भन्ने ठाउँमा एक रात राखी भोलिपल्ट फकिर्ना चौक भन्ने ठाउँमा पुर्याउँदा राजेन्द्र मण्डलसँग भेट भई मलाई राजेन्द्रको जिम्मामा निजको दिदीको घरमा एक दिन राखेपछि रणवीर र राजेन्द्र मण्डलले त्यहाँबाट लिएर भारतकै सिम्राहा बजारमा पुर्याए । रणवीर यादवको मौसीको घर अवधेश भन्ने विजयकुमार यादवको घरमा लगी ७/८ दिनसम्म राखे । रणवीर यादव, राजेन्द्र मण्डल र अवधेश भन्ने विजयकुमारले मेरो बारेमा कुरा गर्दा इन्द्रनारायणको नाम टेलिफोनमा कुरा भएको सुनेको हुँ । अजय र नवल किशोरलाई मेरो बारेमा जानकारी रणवीर र लक्ष्मण यादवले दिएको र मलाई इन्डिया लगेर बेच्ने कुरा सुनेको हुँ भनी घटना विवरणलाई सिलसिलेवार रूपमा खुलाएको र सो मौकाको बयान अदालतबाट प्रमाणित भई मिसिल संलग्न रहेको देखिन्छ । यसैगरी पीडित चन्दनकुमार गुप्ताले मौकामा प्रतिवादीहरूलाई चिनी अ.बं.१७३ नं. बमोजिम सनाखत कागजसमेत गरेको देखिन्छ ।
प्रतिवादीहरूउपरको किटानी जाहेरी र पीडितको मौकाको प्रमाणित बयान बेहोरालाई समर्थन हुने गरी मौकामा बुझिएका विजयकुमार गुप्तासमेतको कागज, वस्तुस्थिति मुचुल्काका मानिसहरूले गरिदिएको कागजका साथै पीडितको उद्धारमा संलग्न प्रहरी निरीक्षक आनन्दमणी लामिछानेले दिएको प्रतिवेदन र सो प्रतिवेदनलाई पुष्टि हुने गरी अदालतसमक्ष बकपत्रसमेत गरेको देखिन्छ ।
२. अब पीडित चन्दनकुमार गुप्ताले मौकामा गरेको प्रमाणित बयानलाई प्रमाणमा लिन मिल्ने हो वा होइन भन्ने पहिलो प्रश्नका सम्बन्धमा विचार गर्दा, पीडितले मौकामा बयान गर्दा आफूलाई अपहरण गरी भारतसम्म पुर्याउने कार्यमा प्रतिवादीहरू रणवीर यादव, लक्ष्मण यादव, नवलकिशोर यादव, राजेन्द्र मण्डल, अवधेश भन्ने विजय कुमार यादव, इन्द्रनारायण दास र अजय यादवको यो - यो कार्यमा संलग्नता रहेको भनी घटना विवरणलाई सिलसिलेवार रूपमा खुलाएको र सो मौकाको बयान अदालतबाट प्रमाणितसमेत भएको देखियो । निज पीडितले मौकामा प्रतिवादीहरूलाई चिनी सनाखतसमेत गरेको देखिन्छ । पीडितलाई अपहरणबाट उद्धार गरेको कागज, किटानी जाहेरी, प्रतिवेदकको बकपत्र, प्रतिवादीमध्येका राजेन्द्र मण्डलको मौकाको साबिती बयान तथा मौकामा बुझिएका व्यक्तिहरूको कागजबाट पीडितको सो मौकाको बयान समर्थित भएको देखिन आयो । पीडितले अदालतमा बकपत्र गर्दा आफूलाई अपहरण गर्ने रणवीर यादव र सहयोग गर्ने इन्द्रनारायण दास हुन् । काममा भएको बयान बेहोरा मैले भनेबमोजिम लेखिएको होइन, प्रहरीले के लेखे प्रहरी नै जानुन् भनी मौकाको भन्दा फरक बेहोरा लेखाई वारदातका सम्बन्धमा केही Hostile भई बकपत्र गरेको अवस्था छ । मौकाको बयान वारदातको लगत्तै हुने हुँदा अपराधबाट पीडित व्यक्तिले घटनाको वास्तविक तथ्य यथार्थ रूपमा खुलाउने र अदालतमा हुने बकपत्र घटनाको तत्काल नभई समयको अन्तरालपछि मात्र झिकाई गरिने कानूनी व्यवस्था रहेकाले पीडितले अन्य व्यक्तिको प्रभावमा परी Hostile भई बकपत्र गर्न सक्ने विशिष्ट परिस्थितिलाई सिधै इन्कार गर्न कतिपय अवस्थामा नमिल्ने पनि हुन सक्दछ ।
३. पीडितलाई अपहरणबाट मुक्त गरी अभिभावकको जिम्मा लगाएपश्चात् पीडितका बाबुले यी प्रतिवादीहरूउपर किटानी जाहेरी दिएको र सो जाहेरी बेहोरालाई समर्थन हुने गरी पीडितले गरेको बयान अदालतबाट प्रमाणितसमेत भएको अवस्था देखिँदा त्यस्तो प्रमाणित बयान र मुद्दामा अन्तरनिहित सबल तथ्य र मुद्दाको विशिष्ट प्रकृति तथा विश्वसनीय आधारविपरीत हुने गरी समयको लामो अन्तरालपछि Hostile हुने गरी पीडितले अदालतसमक्ष गरेको बकपत्रलाई न्यायकर्मीले समग्रतामा सतर्कताका साथ विचार गर्नु वाञ्छनीय हुन्छ ।
४. मानव बेचबिखन जस्ता विशेष प्रकृतिका मुद्दामा जाहेरवाला तथा पीडितलाई विभिन्न किसिमका डर, त्रास, धम्की दिएर वा आर्थिक प्रलोभनमा पारेर अपराधीले आफूलाई अपराधबाट उन्मुक्ति दिलाउनका लागि पीडित वा निजका घर परिवारका सदस्यसमेतलाई अदालतमा बकपत्र गर्न जान नसक्ने अवस्था सिर्जना गर्ने वा प्रतिकूल साक्षी (Hostile witness) को रूपमा बकपत्र गर्न बाध्य पार्न सक्ने अवस्थालाई महसुस गरी अदालतबाटै पीडितको बयान प्रमाणित गराउनुपर्ने कानूनी प्रावधान विधायिकाद्वारा राखिएको र सोबमोजिम नै प्रमाणितसमेत भएको बयान बेहोरालाई मुद्दामा अन्तरनिहित सबल तथ्यहरू, विश्वसनीय र भरपर्दो आधारहरू तथा तर्कसङ्गत सिलसिलेवार कथनले पुष्टि गरेको अवस्थामा पछि आएर पीडितले होइन भनी बकपत्र गरिदिएकै भरमा प्रमाणमा लिन नमिल्ने भन्ने हुँदैन । वारदातको अन्तरालपछि पीडितले अदालतमा आएर पहिलेको भनाइ बेहोराविपरीत हुने गरी बकपत्र गरेपनि सोभन्दा अगाडि अपहरणबाट निजको उद्धार गरेको कागज, किटानी जाहेरी, पीडितको मौकाको प्रमाणित बयान, प्रतिवेदकको बकपत्र तथा मौकामा बुझिएका व्यक्तिहरूको कागजको बेहोरालाई नै निष्प्रभावी हुने गरी मुद्दाको सबल तथ्यको समग्रतामा विचार नगरी पीडितले अदालतसमक्ष गरेको बकपत्रलाई न्याय निरूपणको एक मात्र आधारको रूपमा ग्रहण गर्नु तर्कसङ्गत हुँदैन ।
५. यसै सन्दर्भमा ने.का.प.२०६६ अंक ६ नि.नं. ८१६६ नेपाल सरकार विरूद्ध खेमराज पाण्डेसमेत भएको जिउ मास्ने बेच्ने मुद्दामा “अदालतमा पीडितको भनाइ प्रमाणित भएपछि निजले अदालतमा बकपत्र गर्दा अन्यथा भन्नुले खास असर पार्ने हुँदैन मौकामा प्रमाणित भएको त्यस्तो भनाइलाई मिसिलबाट देखिएको परिस्थिति र प्रमाणबाट समर्थित भएको खण्डमा प्रमाणमा लिनुपर्ने" भनी सिद्धान्त प्रतिपादन भएको पाइन्छ ।
६. जिउ मास्ने बेच्ने कार्य नियन्त्रण ऐन, २०४३ को दफा ७ (२) मा अदालतद्वारा प्रमाणित पीडितको मौकाको बयानमा लेखिएका कुरा झुठ्ठा हो भनी प्रतिवादीले जिकिर लिएमा सोको प्रमाण पुर्याउने भार प्रतिवादीमा नै रहने भनी कानूनी व्यवस्था भएकोमा प्रतिवादीहरूले पीडितको मौकाको प्रमाणित बयानलाई वस्तुनिष्ठ एवं तथ्यपूर्ण प्रमाणहरू पेस गरी खण्डन गर्न सकेको अवस्थासमेत नदेखिएबाट पीडितको मौकाको प्रमाणित बयानका साथै वादी पक्षका अन्य साक्षीहरूले गरेको कागज बेहोरालाई न्याय निरूपणको आधारको रूपमा लिन मिल्ने नै देखिन आयो ।
७. पुनरावेदन अदालतबाट भएको फैसला मिलेको छ वा छैन ? भन्ने दोस्रो प्रश्नका सम्बन्धमा विचार गर्दा, प्रतिवादी राजेन्द्र मण्डलका नाममा यस अदालतबाट जारी भएको म्याद मिति २०६९।६।१६ मा निजका बाबुले बुझेको देखिए तापनि निज प्रतिवादी अदालतसमक्ष उपस्थित भई अभियोग दाबीलाई खण्डन गरेको अवस्था छैन । यी प्रतिवादीले मौकामा अनुसन्धान अधिकारीसमक्ष बयान गर्दा जाहेरवालाको छोरा चन्दनकुमार गुप्तालाई बिक्री गर्ने उद्देश्यले अपहरण गरी भारतमा पुर्याई मेरो निगरानीमा राखिएको हो भनी कसुर गरेकोमा साबित हुनुका साथै वारदातमा अन्य प्रतिवादीहरूसमेत संलग्न रहेको भनी खुलाएको पाइन्छ । प्रतिवादीहरू नवल किशोर यादव र लक्ष्मण यादवले प्रतिवादी राजेन्द्र मण्डललाई परस्पर पोल गरी बयान गरेको देखिन्छ । प्रतिवादी राजेन्द्र मण्डलले अदालतसमक्ष बयान गर्दा अधिकारप्राप्त अधिकारीसमक्ष भएको बयान मैले भनेबमोजिम तयार भएको होइन, प्रहरीले कुटपिट गरी आफैँले लेखी तयार पारेको कागजमा सहिछाप गराएका हुन् । वारदातको समयमा म आफ्नै घर पकरीमा छु भनी Alibi को जिकिर लिई कसुरमा इन्कार भएको देखिए तापनि आफ्नो सो जिकिर विश्वसनीय तथा भरपर्दो प्रमाणहरू पेस गरी पुष्टि गराउन सकेको देखिँदैन । अधिकारप्राप्त अधिकारीसमक्ष भएको निजको बयान कागजको बेहोरा खण्डित हुने कुनै आधार प्रमाण पेस गर्न नसकेको अवस्थामा निज प्रतिवादीको मौकाको साबिती बयानलाई अन्यथा मान्नुपर्ने हो कि भन्ने अवस्थाको विद्यमानता देखिएन ।
८. अन्य प्रतिवादीहरू लक्ष्मण यादव, इन्द्र नारायण दास, नवल किशोर यादव र अवधेश भन्ने विजयकुमार यादव मौकामा र अदालतमा कसुर गरेकोमा इन्कार रही बयान गरेको भए तापनि निज प्रतिवादीहरूउपर जाहेरवालाको किटानी जाहेरी परेको, पीडितले मौकामा बयान गर्दा वारदातमा यी प्रतिवादीहरूको समेत संलग्नता रहेको भनी घटना विवरणलाई सिलसिलेवार रूपमा खुलाएको देखिन्छ । पीडितले मौकामा प्रतिवादीहरूलाई चिनी सनाखतसमेत गरेको पाइन्छ । प्रतिवादीमध्येका राजेन्द्र मण्डलले पीडित चन्दनकुमार गुप्ताको अपहरण कार्यमा यी प्रतिवादीहरूको समेत संलग्नता रहेको भनी परस्परमा पोल गरी मौकाको बयानमा उल्लेख गरेको देखिन आउँछ । मौकामा बुझिएका, वस्तुस्थिति मुचुल्काका मानिसहरूले गरिदिएको कागजका साथै प्रतिवेदकले गरिदिएको बकपत्रसमेतबाट किटानी जाहेरी, पीडितको मौकाको प्रमाणित बयानका साथै प्रतिवादी राजेन्द्र मण्डलको मौकाको बयानलाई पुष्टि गरेको
देखिन्छ । कसुरमा यी प्रतिवादीहरूको संलग्नता नरहेको भए सहअभियुक्त राजेन्द्र मण्डलले यी प्रतिवादीहरू उपर अनाहकमा पोल गर्नुपर्ने कुनै पनि आधार कारण मिसिल संलग्न तथ्यबाट देखिँदैन । मिसिल संलग्न अन्य कागज प्रमाणहरूबाट सहअभियुक्त राजेन्द्र मण्डलले यी प्रतिवादीहरूउपर गरेको पोल पुष्टि भई पीडित चन्दनकुमार गुप्ताको अपहरण कार्यमा यी प्रतिवादीहरूको समेत संलग्न रहेको देखिएकोमा कसुरबाट बच्नका लागि प्रतिवादीहरूले कसुरमा इन्कार भई गरेको बयान तथा वादी पक्षका साक्षीले अदालतमा गरेको बकपत्रको आधारमा प्रतिवादीहरूलाई अभियोग दाबीबाट सफाइ दिने गरी पुनरावेदन अदालत राजविराजबाट भएको फैसला न्यायोचित देखिएन ।
९. वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्छ वा सक्दैन ? भन्ने तेस्रो प्रश्नका सम्बन्धमा, जाहेरवाला नारायण साह रौनियारको छोरा पीडित चन्दनकुमार गुप्तालाई प्रतिवादीहरू राजेन्द्र मण्डल, लक्ष्मण यादव, नवल किशोर यादव, इन्द्र नारायण दास र अवधेश भन्ने विजयकुमार यादवसमेतको मिलेमतो र सहयोगमा बिक्री गर्ने उद्देश्यले अपहरण गरी भारतसम्म पुर्याएको र भारतीय प्रहरीको सहयोगमा पीडितको उद्धार गरी नेपाल फिर्ता ल्याइएको तथ्य मिसिल संलग्न प्रतिवादीहरूउपर परेको किटानी जाहेरी, पीडितले मौकामा बयान गर्दा आफूलाई अपहरण गर्ने कार्यमा यी सबै प्रतिवादीहरूको संलग्नता रहेको भनी घटना विवरणलाई सिलसिलेवार रूपमा खुलाई गरिदिएको प्रमाणित बयान, पीडितले मौकामा प्रतिवादीहरूलाई चिनी गरिदिएको सनाखत कागज, प्रतिवादीमध्येका राजेन्द्र मण्डलले कसुरमा अन्य प्रतिवादीहरूको समेत संलग्नता रहेको भनी अन्य प्रतिवादीहरूलाई समेत पोल गरी गरेको मौकाको साबिती बयान, मौकामा बुझिएका व्यक्तिहरूको कागज, वस्तुस्थिति मुचुल्काका मानिसहरूले गरिदिएको कागजका साथै पीडितलाई अपहरणबाट उद्धार गरी प्रतिवेदन दिने प्रतिवेदकले गरिदिएको बकपत्रसमेतबाट पुष्टि हुन आयो । वादी नेपाल सरकारले प्रतिवादी राजेन्द्रकुमार मण्डल र लक्ष्मण यादवलाई जिउ मास्ने बेच्ने कार्य नियन्त्रण ऐन, २०४३ को दफा ४(ख) बमोजिमको कसुरमा सोही ऐनको दफा ८(२) बमोजिम र अन्य प्रतिवादीहरू नवलकिशोर यादव, विजयकुमार यादव र इन्द्रनारायण दासलाई सोही ऐनको दफा ४(घ) बमेाजिमको कसुरमा दफा ८(४) नं. बमोजिम सजाय गरिपाउँ भन्ने पुनरावेदन जिकिर लिए तापनि यी प्रतिवादीहरू राजेन्द्र मण्डल, लक्ष्मण यादव, नवल किशोर यादव, इन्द्र नारायण दास र अवधेश भन्ने विजयकुमार यादवले जिउ मास्ने बेच्ने कार्य (नियन्त्रण ) ऐन, २०४३ को दफा ४ (घ) बमोजिमको सम्म कसुर गरेको देखिन आयो । प्रतिवादीहरू राजेन्द्रकुमार मण्डल र लक्ष्मण यादवलाई जिउ मास्ने बेच्ने कार्य नियन्त्रण ऐन, २०४३ को दफा ४(ख) बमोजिमको कसुरमा दफा ८ (२) बमोजिम सजाय हुनुपर्दछ भन्ने पुनरावेदन जिकिरसँग सहमत हुन सकिएन ।
१०. अतः माथि उल्लिखित आधार, कारण, प्रमाण र कानूनी सिद्धान्तसमेतका आधारमा पुनरावेदन अदालत राजविराजबाट मिति २०६५।१०।२९ मा भएको फैसला उल्टी भई प्रतिवादीहरू राजेन्द्र मण्डल, लक्ष्मण यादव, नवल किशोर यादव, इन्द्रनारायण दास र अवधेश भन्ने विजयकुमार यादवलाई जिउ मास्ने बेच्ने कार्य (नियन्त्रण ) ऐन, २०४३ को दफा ४ (घ) को कसुरमा सोही ऐनको दफा ८ (४) बमोजिम जनही ६ (छ) महिना कैद हुने ठहर्छ । अरूमा तपसिलबमोजिम गर्नू ।
तपसिल
माथि ठहर खण्डमा लेखिएबमोजिम पुनरावेदन अदालत राजविराजको फैसला उल्टी भई प्रतिवादीहरू राजेन्द्र मण्डल, लक्ष्मण यादव, नवल किशोर यादव, इन्द्र नारायण दास र अवधेश भन्ने विजयकुमार यादवलाई जनही ६(छ) महिना कैद हुने ठहरेकाले सुरू सप्तरी जिल्ला अदालतबाट निज प्रतिवादीहरूका हकमा मिति २०६४।३।४ को फैसलाअनुसारको लगतलाई कट्टा गरी अब देहायबमोजिमका प्रतिवादीहरूको हकमा देहायबमोजिमको लगत कसी असुलउपर गर्नु भनी सुरू सप्तरी जिल्ला अदालतमा लेखी पठाउनू .......१
प्रतिवादी राजेन्द्र मण्डललाई ६ महिना कैद सजाय ठहर भएकोमा निज प्रतिवादी मिति २०६२।७।२४ देखि थुनामा रही मिति २०६७।७।२४ बाट थुनामुक्त हुनेगरी आदेश भएको देखिँदा अब निजको हकमा ६ महिनाको लगत कसी असुली जनाउनु भनी सुरू सप्तरी जिल्ला अदालतमा लेखी पठाउनू .............१
प्रतिवादी लक्ष्मण यादवलाई ६ महिना कैद सजाय ठहर भएकोमा निज प्रतिवादी मिति २०६२।७।२४ देखि थुनामा रही सुरू फैसला मिति २०६४।३।४ सम्म नै निजको कैद भुक्तान भइसकेको देखिँदा निजको हकमा ६ महिनाको लगत कसी असूली जनाउनु भनी सुरू सप्तरी जिल्ला अदालतमा लेखी पठाउनू .............१
प्रतिवादीहरू नवल किशोर यादव, इन्द्रनारायण दास र अवधेश भन्ने विजयकुमार यादवलाई जनही ६ महिना कैद सजाय ठहर भएकोमा निज प्रतिवादी नवल किशोर यादव मिति २०६२।७।२७ देखि र प्रतिवादी अवधेश भन्ने विजयकुमार यादव मिति २०६२।७।२६ मा प्रहरीद्वारा पक्राउ परी सुरू फैसला मिति २०६४।३।४ सम्म नै निजहरूको हकमा कैद भुक्तान भइसकेको र प्रतिवादी इन्द्रनारायण दासको हकमा मिति २०६२।७।२४ मा पक्राउ गरी थुनामा रही सर्वोच्च अदालतको आदेशले मिति २०६३।२।२६ मा थुनामुक्त भएको र कैदको लगत भुक्तान भइसकेको देखिँदा सबैजना प्रतिवादीहरूको हकमा ६ महिनाको लगत कसी असुली जनाउनु भनी सुरू सप्तरी जिल्ला अदालतमा लेखी पठाउनू .................................१
प्रस्तुत फैसलाको जानकारी वादी नेपाल सरकार र प्रतिवादीहरूलाई दिई दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी अभिलेख शाखामा बुझाई दिनू .....१
उक्त रायमा सहमत छु ।
न्या.पुरूषोत्तम भण्डारी
इजलास अधिकृतः मुना अधिकारी (ढकाल)
इति संवत् २०७५ साल माघ २१ गते रोज २ शुभम् ।