निर्णय नं. १०२३६ - अंश चलन

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री दीपकराज जोशी
माननीय न्यायाधीश श्री तेजबहादुर के.सी.
फैसला मिति : २०७५।८।४
०७२-CI-०३६३
मुद्दा : अंश चलन
पुनरावेदक / वादी : अब्दुल हमीदको छोरा जिल्ला नुवाकोट, विदुर नगरपालिका वडा नं.१०, त्रिशुलीबजार बस्ने अब्दुल हक
विरूद्ध
प्रत्यर्थी / प्रतिवादी : अब्दुल हमीदको छोरा जिल्ला नुवाकोट, विदुर नगरपालिका वडा नं.१०, त्रिशुलीबजार बस्ने अब्दुल करिम
कुनै पनि अंशियारले आफ्नो अंशहक पारित लिखतद्वारा नै परित्याग गर्नुपर्छ भन्ने छैन । अंशियारले अंश मुद्दाको रोहमा अदालतमा पेस गरेको कुनै पनि कागजलाई स्वीकार गरेको अवस्थामा वा अंशियार स्वयं अंश मुद्दाको कारबाहीमा अदालतमा उपस्थित भई आफूले आफ्नो अंशभाग आफ्ना आमा बाबु वा अन्य अंशियारबाट लिन नपर्ने भनी अदालतसमक्षको बयान कागजमा स्वीकारेको अवस्थामा पनि अंशियारले आफ्ना आमाबाबुको तर्फबाट पाउनु पर्ने अंशभाग परित्याग गरेको मानिने ।
(प्रकरण नं.८)
एकपटक अंश परित्याग गरिसकेको व्यक्तिले पुनः उही अंशियारहरूबाट अंशहक माग गर्न र प्राप्त गर्न नमिल्ने ।
(प्रकरण नं.९)
पुनरावेदक / वादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री भोजबहादुर के.सी.
प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ताहरू श्री चन्द्रमणि पौडेल र श्री दीपक सेन
अवलम्बित नजिर :
सम्बद्ध कानून :
सुरू तहमा फैसला गर्ने :
मा.जिल्ला न्या. श्री किरणप्रसाद शिवाकोटी
नुवाकोट जिल्ला अदालत
पुनरावेदन तहमा फैसला गर्ने :
माननीय न्यायाधीश श्री दुर्गादत्त भट्ट
माननीय न्यायाधीश श्री विदुरविक्रम थापा
पुनरावेदन अदालत पाटन
फैसला
न्या. तेजबहादुर के.सी.: न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) बमोजिम यस अदालतको अधिकार क्षेत्रअन्तर्गत दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवम् ठहर निम्नानुसार रहेको छः-
तथ्य खण्ड
मेरा बाजे युसुफ मियाँका २ छोराहरूमा पिता अब्दुल हमीद जेठा र कमर हुसेन कान्छा भई निजहरूले आ-आफूले पाउने अंश हामीले थाहा नपाउँदै लिई छुट्टी भिन्न बसेका थिए । पिता अब्दुल हमीद र आमा सेरा विविबाट हामी ५ भाइछोराहरू क्रमशः जेठा म अब्दुल हक, माइला अब्दुल मजीद, साइँला अब्दुल रसिद, काइँला अब्दुल रहिम र कान्छा विपक्षी अब्दुल करिमको जायजन्म भएको हो । पिता अब्दुल हमीद २०४७ सालमा र आमा सेराविवि २०५९ सालमा आ-आफ्नो कालगतिले परलोक हुनुभयो । यसैगरी भाइहरू साइँला अब्दुल रसिद २०५८ सालमा र काइँला अब्दुल रहिम २०६३ सालमा आ-आफ्नो कालगतिले परलोक
भए । हाल जीवित म अब्दुल हक, माहिला अब्दुल मजिद र कान्छा विपक्षी अब्दुल करिम छौं । परलोक भएका भाइहरूका श्रीमती र सन्तानहरू छन् । यसैगरी हामी जीवित भाइहरूका पनि श्रीमती र सन्तान छन् । विवाह गर्न बाँकी कोही छैन । सबैको विवाह भई सन्तान जायजन्म भइसकेको छ । म फिरादी अब्दुल हक जेठा छोराको नाताले पाउनुपर्ने अंश हालसम्म पाएको लिएको छैन । अन्य भाइहरूले आफूले पाउने अंश पिता जीवित छँदै२०३३ सालमा नरम करम मिलाई छुट्टी भिन्न भई बसिसकेका र विपक्षी अब्दुल करिमसँग पिता र माता एकाघरमा बसिआएका हुँदा पुर्खौली जमिन घरहरू पिता वृद्ध भएकाले विपक्षीले नै आफ्नो नाममा नाप जाँच गराएका थिए । यही मिति ०६८ साल माघको १५ गते आइतबार बिहानको समयमा पिताको सम्पत्तिबाट मैले पाउने अंश देउ भनी विपक्षीलाई विपक्षीकै घरमा गई भन्दा दिन्न; जानेको गर भनेका, अन्य भाइहरू आफ्नो अंश लिई भिन्न भइसकेका र पुर्ख्यौली सम्पत्ति प्रतिवादीको नाउँमा भएको हुँदा विपक्षीबाट सम्पूर्ण चल अचल सम्पत्तिको तायदाती लिई मैले प्रतिवादीबाट कानूनबमोजिम पाउने २ भागको १ भाग अंश मलाई दिलाई चलनसमेत चलाइ पाउँ भन्नेसमेत बेहोराको वादी अब्दुल हकको फिराद पत्र ।
बाजे युसुफ मियाँको २ छोराहरूमा पिता अब्दुल हमिद र काका कमर हुसेन हुन् । पिता र काकाबिच २००४ सालमा अंशबन्डा भएको र सोही समयमा विपक्षी वादी अलिखितरूपमा काकासँग धर्मपुत्रको रूपमा बसेका र काकाको सम्पूर्ण सम्पत्ति एकलौटी लिएका हुन् । वादीले काकाबाट अंश प्राप्त गरिसकेका हुनाले बुबा आमाले हामी अरू ४ दाजुभाइहरूलाई हामीहरूको मुस्लिम संगठन अंजुमन स्लाह समिति; त्रिशुली शाखामा गई मिति २०१६।४।३२ मा अंश छुट्याई दिनुभएको थियो । त्यसबखत माता शेराविवि र पिता अब्दुल हमीदको जिउनी भाग छुट्याई म अब्दुल करिम र बहिनी अमिना खातुन अविवाहित भएकोले हामी २ जनाको विवाह भाग पर सारी हामी ४ भाइलाई बराबर अंश लगाई छुट्याई दिनुभएको थियो । म र बहिनी अविवाहितसमेत भएकोले हामी पिता माताका साथ एकासगोलमा रहन थाल्यौं । पिता अब्दुल करिम र माता शेराविविलाई म प्रतिवादी अब्दुल करिमले एकाघर सगोलमा राखी लालन पालन, हेरविचार, स्याहार सुसार गरेकाले मिति २०३१।१०।३० मा र.नं. ६७६/ २२५ बाट शेषपछिको बकसपत्र र र.नं. २७७/२२६ बाट हालैको बकसपत्रको लिखत रजिस्ट्रेसन गरिदिनुभएको हो । उक्त घरजग्गाहरू २०१६ सालको बन्डापत्रमा लेखिएका घरजग्गाहरू हुन् । विपक्षी वादीले २०१६ सालको अंशबन्डा-पत्र र २०३१ सालको उक्त बकसपत्रहरू विरूद्ध ऐनका म्यादभित्र बदरका लागि नालेस नगरी स्वीकार गरी बस्नुभएको छ । उक्त बकसपत्रहरूबाट प्राप्त जग्गाहरू नै २०३४ सालमा नापी हुँदा मेरो नाममा नापी दर्ता भई प्रमाण पुर्जा प्राप्त हुँदा पनि विपक्षी वादीले स्वीकार गरी बस्नुभएको छ । वादीबाहेकका हामी दाजुभाइबिच २०३३ सालमा अंशबन्डा भएको थियो भन्ने वादीको बेहोरा गलत हो । यसरी पिता माता जीवित छउन्जेल अंशमा दाबी गर्न नसकेका विपक्षीले हाल आएर पिताको अंश खाने सबैभाइलाई प्रतिवादी नबनाई केबल मलाई मात्र विपक्षी बनाई दुःख दिने नियतले दिएको झुट्ठा फिराद दाबी खारेज गरिपाउँ भन्नेसमेत बेहोराको प्रतिवादी अब्दुल करिमको प्रतिउत्तर-पत्र ।
सुरू अदालतबाट अ.बं.१३९ नं. बमोजिम अब्दुल रसिद, अब्दुल रहिम र अब्दुल मजिजका नाउँमा जारी भएको म्यादभित्र निजहरू उपस्थित नभई सुरू म्यादै गुजारी बसेका ।
वादी प्रतिवादी दाजुभाइ हुन्, निजहरूको अंशबन्डा भएको मलाई थाहा छैन, वादी कान्छा बाबुको घरमा बसेकोसम्म मलाई थाहा छ, अरू मलाई थाहा छैन भन्ने बेहोराको वादीका साक्षी रामहरि शर्मा रिमाल र कृष्णबहादुर प्याकुरेलले अदालतसमक्ष गरिदिएको एकै मिलानको बकपत्र ।
वादी प्रतिवादी दाजुभाइ हुन्, यिनीहरूबिच अंशबन्डा भएको छ छैन; मलाई थाहा छैन, यिनीहरू छुट्टाछुट्टै बसेका छन्, वादी कमर हुसेनको घरमा बसेका छन्, वादीले माता पिता जीवितै छँदै अंशमा दाबी किन गरेनन् भन्ने सम्बन्धमा मलाई थाहा छैन भन्ने बेहोराको प्रतिवादीका साक्षी पुष्करलाल प्रधानले गरिदिएको बकपत्र ।
मिति २०६९।१२।२३ मा वादी प्रतिवादीले पेस गरेको तायदाती फाँटवारी मिसिल संलग्न रहेको ।
वादीले प्रतिवादीबाट तायदातीमा उल्लिखित सम्पत्तिमध्ये स्रेस्तामा भिडेका सम्पत्तिबाट अंश पाउने देखिँदा तायदाती फाँटवारीमा उल्लिखित प्रतिवादीले हाम्रो विकास बैंकबाट लिएको ऋण रू. ४,९१,४१२/७७ बैंकमा चुक्ता गर्न बाँकी रहेको देखिँदा उक्त ऋण यी वादी प्रतिवादीले आधा आधा रकम (बराबरीका दरले) बुझाउने गरी वादी दाबीबमोजिम २ भागको १ भाग अंश वादीले प्रतिवादीबाट पाई चलन चलाई लिन पाउने ठहर्छ भन्नेसमेत बेहोराको नुवाकोट जिल्ला अदालतको मिति २०७०।९।१४ को फैसला ।
२००४ सालमा पिता अब्दुल हमिद र काका कमर हुसेन छुट्टिई भिन्न भई बसेकासम्म
हुन् । काका कमर हुसेनका छोरा नभएका हुनाले विपक्षी वादीलाई कमर हुसेनले मौखिकरूपमा धर्मपुत्र लिई धर्मपुत्रकै रूपमा राखेका हुन् । कमर हुसेनको अन्य हकखाने हकदार कोही नभएको हुनाले निजको हकको सम्पत्ति विपक्षी वादीले नै पाएका छन् । वादीले आफ्नो तायदातीमा बन्डा लाग्ने सम्पत्ति छैन भनी तायदाती दिएकोमा जालसाजी, अंश दपोट र अदालतको अवहेलनासमेतका मुद्दा गरेको छु । वादीले सबै अंशियारलाई देखाइसकेपछि अदालतमा उपस्थित नभएकै कारणले निजहरूले आफ्ना जिम्मामा राखेको सम्पत्ति निजहरूको एकलौटी हुन
सक्दैन । २०१६ सालको बन्डापत्रलाई नै नमान्ने हो भने पनि उक्त बन्डापत्रबाट बन्डा लिई छुट्टिई गएका अन्य दाजुभाइहरूले के कति कारणले चोखो भई बस्न पाउने र मैले मात्र के कति कारणले वादीलाई सम्पत्ति दिनुपर्ने भन्ने कुरा जिल्ला अदालतको फैसलाले प्रस्ट पार्न सकेको छैन । नुवाकोट जिल्ला अदालतबाट भएको फैसलामा तथ्यको पूर्ण जानकारी नलिई हचुवाको भरमा फैसला गरिएको, सबै अंशियारलाई बराबर अंश दिलाउनुको सट्टा कसैलाई अझ बढी सम्पत्ति र कसैलाई अत्यन्त कम सम्पत्ति पर्न गई अंशबन्डाको २ नं. विपरीत भएको फैसला त्रुटिपूर्ण हुँदा उक्त फैसला उल्टी गरिपाउँ भन्नेसमेत बेहोराको प्रतिवादी अब्दुल करिमको पुनरावेदन अदालत पाटनमा परेको पुनरावेदन पत्र ।
यसमा वादी अब्दुल रसिद मियाँ प्रतिवादी अब्दुल हमिद मियाँ भएको २०३३ सालको दे.मि.नं. ५२/१७७ को अंश मुद्दामा रसुवा तथा नुवाकोट जिल्ला अदालतबाट मिति २०३३।८।१३ मा भएको फैसलासहितको सुरू छिनुवा मिसिल नुवाकोट जिल्ला अदालतबाट झिकाई साथै राखी नियमानुसार पेस गर्नु भन्ने बेहोराको पुनरावेदन अदालत पाटनबाट मिति २०७१।५।१९ मा भएको आदेश ।
यसमा रसुवा तथा नुवाकोट जिल्ला अदालतबाट मिति २०३३।८।१३ मा वादी प्रतिवादीबिच ६ भाग अंश लाग्ने गरी फैसला भएकोमा पुनः नुवाकोट जिल्ला अदालतबाट मिति २०७०।९।१४ मा २ भागको १ भाग बन्डा लाग्ने गरी भएको सुरू फैसला फरक पर्न सक्ने देखिँदा छलफलका लागि अ.बं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम प्रत्यर्थीलाई झिकाई आए वा अवधि व्यतित भएपछि नियमानुसार पेस गर्नु भन्ने बेहोराको पुनरावेदन अदालत पाटनबाट मिति २०७१।८।१२ मा भएको आदेश ।
मूल पुरूष युसुफका २ सन्तानमध्ये जेठा अब्दुल हमिद र कान्छा कमल हुसेन रही कान्छा नि:सन्तान भएको कारण वादी अब्दुल हक काका कमर हुसेनको घरमा धर्मपुत्र बस्न गएको कारण वादी अब्दुल रसिद मियाँ र प्रतिवादी अब्दुल हमिम भन्ने अब्दुल हमिद मियाँ भई चलेको २०३३ सालको दे.मि.नं. ५२/१७७ को अंश मुद्दा रसुवा तथा नुवाकोट जिल्ला अदालतबाट मिति २०३३/८/१३ मा फैसला हुँदा तायदातीमा ७ अंशियार देखाए पनि अब्दुल हकले दाबी नलिएकाले निजबाहेक बाँकी ६ अंशियार देखिएकोले वादीले ६ भागको १ भाग अंश पाउने ठहर्छ भनी भएको उक्त फैसलाउपर यी वादीको पुनरावेदनसमेत नपरी उक्त फैसला अन्तिम भई बसेको देखिन्छ । वादी अब्दुल हुसेन अब्दुल हमिदका जेठा छोरा रहेको भन्ने देखिए तापनि २०१६ सालमा घरसारमा बन्डा हुँदा काका नि:सन्तान रहेको कारण वादी काकासँग बस्न गएको र निजको बन्डामा नामसमेत समावेश नभएको अवस्था देखिन आएबाट यी वादीले आफ्ना बाबुतर्फको अंशमा दाबी नरहेको भन्ने कुरा निजले गरेको बयानको उक्त स.ज. ३ मा मैले बाबुतर्फको भाग नलिई कान्छा बाबुतर्फको भाग खानेगरी कान्छा बाबुसँग बस्न गएको हो भनी उल्लेख गरेबाटै निजले बाबुतर्फको अंशको दाबी छोडेको स्पष्ट देखिन्छ । यसरी बाबुतर्फको अंशको दाबी छोडिसकेको भनी वादीले स्वयम् लिखितरूपमै घोषणा गरेको स्थितिमा पुनः अंशमा दाबी लिएको वादीको कथन विबन्धनको सिद्धान्तविपरीतको देखिँदा अंश छोडेको वादीलाई अंश दिलाउने गरी नुवाकोट जिल्ला अदालतबाट भएको मिति २०७०।९।१४ को फैसला मिलेको देखिएन । तसर्थ; उपर्युक्त वर्णित आधारमा २ भागको १ भाग अंश पाउने ठहर्याई भएको नुवाकोट जिल्ला अदालतको मिति २०७०।९।१४ को फैसला मिलेको नदेखिँदा उल्टी भई २ भागको १ भाग अंश पाउँ भन्ने फिराद दाबी पुग्न नसक्ने ठहर्छ भन्नेसमेत बेहोराको पुनरावेदन अदालत पाटनको मिति २०७२।३।१४ को फैसला ।
पुनरावेदन अदालत पाटनको फैसलाले म विपक्षीको अंशियार भएको र मैले अंश पाउनुपर्ने कुरा मानेको छ । मैले अंशजस्तो नैसर्गिक एवम् जन्मसिद्ध हक नपाएको तथ्यलाई पनि फैसलाले मान्यता दिएको छ । सो फैसलाले केबल मेरा पिता अब्दुल हमिद वादी मेरो साइँला भाइ अब्दुल रसिद प्रतिवादी भई तत्कालीन रसुवा तथा नुवाकोट जिल्ला अदालतमा चलेको २०३३ सालको दे.मि.नं.५२/१७७ को अंश मुद्दामा मलाई पेटबोलीबाट झिकाइँदा मैले उक्त अदालतमा मिति २०३३।१।२० मा गरेको बयानमा “मैले मेरो बाबुतर्फको भाग नलिई कान्छा बाबुको भाग खाने गरी कान्छा बाबु कहाँ बस्न गएको” भनी गरेको बयानको एक अंशलाई आधार बनाउँदै उक्त बयानमा बाबुतर्फको अंश भाग नलिई कान्छा बाबुतर्फको भाग खानेगरी भन्ने शब्दको व्याख्या मैले अंशभाग छोडेको भनी गरेको छ । अंश भनेको जन्मसिद्ध नैसर्गिक हक
हो । अंशियारले पाउनुपर्ने सम्पत्ति नपाएसम्म वा विधिवत अंशहक नछोडेसम्म अंश हक छुट्याई लिन पाउने हुँदा सानातिना प्राविधिक कारण देखाई अंशहकबाट वञ्चित गर्न हुँदैन । २०३३ सालको उक्त अंश मुद्दामा मसमेत ७ अंशियार देखाइएको छ र सोअनुसार तायदाती फाँटवारी पनि पेस भएको
छ । यसबाट अंश पाउने ७ जना रहेको स्पष्टै
देखिन्छ । उक्त अंश मुद्दाको फैसलालाई मैले अंशमा उतिबेला दाबी नलिएको कारण ६ भागको १ भाग अंश पाउने फैसला भएको हो । सो फैसलामा कहीँकतै मैले अंश नपाउने वा त्यागेको भन्ने कुरा उल्लेख
छैन । फैसलाले नबोलेको कुरा त्यही मुद्दाको बयानलाई आधार बनाई मैले अंशहक छोडेको निष्कर्ष निकाली विपक्षीले पुनरावेदनमा जिकिर लिएको कुराभन्दा बढी गरी मलाई अंश नपाउने गरी हराएको पुनरावेदन अदालत पाटनको फैसलामा गम्भीर कानूनी त्रुटि रही कानून, न्याय एवम् व्यवहारसमेतबाट मिलेको
छैन । तसर्थ पुनरावेदन अदालत पाटनको उक्त फैसला बदर गरी नुवाकोट जिल्ला अदालतबाट भएको मिति २०७०।९।१४ को फैसला सदर गरिपाऊँ । म ८७ वर्षको वृद्ध मानिस हुँदा यस मुद्दामा तारेखमा रहन नसक्ने भएकोले सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ५९ बमोजिम तारेखमा बस्न नपर्ने गरिपाऊँ । साथै ऐ. को नियम ६३(ङ) बमोजिम यस मुद्दालाई अग्राधिकारको सूचीमा राखिपाउँ भन्नेसमेत बेहोराको वादी अब्दुल हकको यस अदालतमा परेको पुनरावेदन पत्र ।
यसमा पुनरावेदक वादीले आफ्नो हाँगाबाट अंश पाएको कुनै प्रमाण प्रस्तुत हुन नआएको सन्दर्भमा पुनरावेदन अदालत पाटनबाट भएको फैसलामा अंशबन्डाको महलको १ नं. को व्याख्यात्मक त्रुटि भई सो फैसला फरक पर्ने हुँदा अ.बं.२०२ नं. बमोजिम प्रत्यर्थी झिकाई प्रमाणको मिसिलसमेत साथै राखी पेस गर्नु भन्ने यस अदालत संयुक्त इजलासको मिति २०७२।१२।१० को आदेश ।
यसमा पुनरावेदन अदालत पाटनको मिसिल संलग्न वादी अब्दुल हकको नामको दर्ता स्रेस्तामा देखिएको वडा नं.७ कि.नं.७ को जग्गा वादीको नाममा के कुन तवरले दर्ता हुन आएको हो सो खुलाउन वादी प्रतिवादी दुवै पक्षको अ.बं.१३३ नं. बमोजिम कागज गराई सम्बन्धित कागजको प्रमाणित प्रतिलिपिसमेत दाखेल गर्न लगाई प्रतिवादीले नुवाकोट जिल्ला अदालतमा अंश दपोटसमेतका मुद्दा दायर गरेको छ भन्ने बहसका क्रममा खुल्न आएकाले सो सम्बन्धमा प्रत्यर्थी प्रतिवादीबाट खुलाउन लगाई सो मिसिलहरू उक्त अदालतबाट झिकाई नियमानुसार पेस गर्नुहोला भन्ने यस अदालत संयुक्त इजलासको मिति २०७४।११।१३ को आदेश ।
वादी अब्दुल हकको नामको दर्ता स्रेस्तामा देखिएको साबिक त्रिशुली वडा नं.७ कि.नं.७ को जग्गा वादीले आफ्ना काकाबाट प्राप्त गरेको सम्पत्ति हो; जुन हालसम्म वादी अब्दुल हककै नाममा कायम छ । सोको जग्गाधनी प्रमाणपुर्जा पुनरावेदन अदालत पाटनमा पेस गरिसकेको छु भन्ने बेहोराको प्रतिवादी अब्दुल करिमको वारेस अष्टमान बज्राचार्यले यस अदालतको मिति २०७४।११।१३ को आदेशानुसार खुलाई पेस गरेको मिति २०७४।१२।२२ को निवेदन पत्र ।
म अब्दुल करिम वादी र विपक्षी अब्दुल हकसमेत प्रतिवादी भएको अंश चलन (मुद्दा नं. ०७०-CP-००४९), अदालतको अपहेलना (मुद्दा नं.०७०-CG-००२५), जालसाजी (मुद्दा नं.०७०-PC-००३१) र अंशदपोट मुद्दा मैले मिति २०७०।९।११ र २०७०।९।१४ मा नुवाकोट जिल्ला अदालतमा दर्ता गराई कारबाहीमा रहेकोमा यसै मुद्दाको कारणले उक्त मुद्दाहरू मिति २०७१।३।२९ मा मुल्तबी रहेको अवस्था छ भन्ने बेहोराको यस अदालतको मिति २०७४।११।१३ को आदेशानुसार प्रतिवादी अब्दुल करिमको वारेस अष्टमान बज्राचार्यले यस अदालतमा खुलाई पेस गरेको मिति २०७५।१।१४ को निवेदन पत्र ।
साबिक त्रिशुली गाउँपञ्चायत हाल विदुर नगरपालिका वडा नं.१० को घरजग्गा मेरो नाममा मेरा कान्छा बा कमर हुसेन मियाँले २०३५ साल वैशाख १७ गते “मेरो घरमा आई बसी टहल सुसार र चाकड गरिआएको” भन्ने बेहोरा उल्लेख गरी रिझबापतमा बकसपत्र १९००/१८६४ पारित गरिदिई सोही बकसपत्रको आधारमा मैले आफ्नो नाममा नापजाँच गरी कि.नं.७ कायम भएको हो । सो घरजग्गा मैले अंशबापत प्राप्त गरेको होइन भन्ने बेहोराको यस अदालतको मिति २०७४।११।१३ को आदेशबमोजिम पुनरावेदक वादी अब्दुल हकले अ.बं.१३३ नं. को प्रयोजनको निम्ति खुलाई यस अदालतमा पेस गरेको मिति २०७५।०५।२७ को निवेदन पत्र ।
ठहर खण्ड
नियमबमोजिम दैनिक पेसी सूचीमा चढी निर्णयार्थ पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादीका तर्फबाट उपस्थित हुनुभएका विद्वान् अधिवक्ता श्री भोजबहादुर के.सी. तथा प्रत्यर्थी प्रतिवादीका तर्फबाट उपस्थित हुनुभएका विद्वान् अधिवक्ताहरू श्री चन्द्रमणि पौडेल र श्री दीपक सेनले गर्नुभएको बहससमेत सुनियो ।
बहसको क्रममा पुनरावेदक वादीतर्फका विद्वान् अधिवक्ताले पुनरावेदन अदालत पाटनबाट फैसला हुँदा मेरो पक्षले २०३३ सालको अंश मुद्दामा बयान गर्दा मैले बाबुतर्फको भाग नलिई कान्छा बाबुतर्फको भाग खाने गरी कान्छा बाबुसँग बस्न गएको हो भनी उल्लेख गरेको आधारमा मेरो पक्षले आफ्ना बाबुतर्फको अंशको दाबी छाडिसकेको स्थितिमा पुनः अंशमा दाबी गर्न आएको भन्दै वादीको कथन विबन्धनको सिद्धान्तविपरीतको देखिएको भन्दै वादीलाई अंश दिलाउने गरी भएको नुवाकोट जिल्ला अदालतको फैसला नमिलेकोले उल्टी हुने भनी वादी दाबी नपुग्ने गरी गरिएको फैसला मिलेको छैन । मेरा पक्षलाई निजका कान्छाबाबुले विधिवत् धर्मपुत्र राखेका होइनन् र निजले कान्छाबाबुको अंश पाएका पनि होइनन् । मेरा पक्षलाई निजका कान्छाबाबुले आफ्नो सेवा टहल चाकरी गरेबापत केही जग्गा निजलाई शेषपछिको बकसपत्रको लिखत गरिदिएको
देखिन्छ । यो त वादीले कान्छाबाबुको सेवा चाकर गरेबापत पाएको निजको निजी आर्जनको सम्पत्तिसम्म हो । पुनरावेदक वादीले यी प्रतिवादीसमेतका अंशियारलाई विधिवत् अंश छोडपत्रको लिखत गरिदिएको पनि छैन । विधिवत् लिखतद्वारा धर्मपुत्र राख्न र हुन पाइने तथा अंश छोडपत्र गर्न पनि पाइने कानूनी व्यवस्था रहेको छ । तर अनौपचारिक ढङ्गले वा मुखले मात्र धर्मपुत्र राख्न र हुन तथा अंश छोडपत्र गर्न
पाइँदैन । यस्तो अवस्थामा प्रश्न नउठेमा मात्र क्षम्य हुन सक्ला तर प्रश्न उठेमा मान्य नहुन सक्छ । तसर्थ; अंश पाउँ भन्ने वादी दाबी पुग्न नसक्ने ठहर्याएको पुनरावेदन अदालत पाटनको उक्त फैसला उल्टी गरी वादी दाबीअनुसार २ भागको १ भाग अंश पाउने ठहर्याएको नुवाकोट जिल्ला अदालतको फैसलाबमोजिम गर्ने गरी इन्साफ गरिपाउँ भन्ने बेहोराको बहस प्रस्तुत गर्नुभयो ।
त्यस्तै; प्रत्यर्थी प्रतिवादीतर्फका विद्वान् अधिवक्ताहरूले २०३३ सालको अंश मुद्दा चल्दाकै बखत तत्कालीन जिल्ला अदालतले यी वादीलाई बुझ्दा निजले आफूलाई आफ्ना बाबुतर्फको अंश नचाहिने भनेकाले नै त्यसबखत यी वादीसमेतको ७ भाग अंशलाई ६ भाग अंश कायम गरी अंशबन्डा गर्ने गरी फैसला भएको थियो । उक्त फैसलालाई यी वादीले चित्त बुझाई सोउपर म्यादमा पुनरावेदनसमेत नगरी बसेबाट निजलाई त्यसबखत उक्त फैसला चित्त बुझेकै देखिन्छ । तर अहिले आएर आफूले पहिले गरेको बयानविपरीत आफ्ना बाबुतर्फको अंश चाहियो भनी प्रतिवादी भाइउपर अंश मुद्दा दिएकाले निज आफ्नो पूर्वकथनप्रति विबन्धित हुनुपर्ने हुन्छ । यदि यी वादीले २०३३ सालको अंश मुद्दा चल्दाकै बखत आफूलाई पनि आफ्ना बाबुतर्फको अंश भाग चाहियो भनी भनेका भए त्यसबखत जम्मा श्रीसम्पत्तिको ७ भाग लागी १ भाग अंश यी वादीले पनि पाउने नै थिए । तर त्यसबखत आफ्नो अंश त्याग गरी बसेका यी वादीले अब प्रस्तुत अंश मुद्दाबाट अंश पाउन सक्दैनन् । प्रत्यर्थी प्रतिवादी १ जना भाइबाट अंश पाउँ भन्ने अहिलेको वादी दाबी विबन्धनको सिद्धान्त प्रतिकूल र मुलुकी ऐन, अ.बं.८५ नं. प्रतिकूलसमेत देखिएबाट निजलाई वादी दाबीबमोजिम २ भागको १ भाग अंश दिने ठहर्याएको सुरू नुवाकोट जिल्ला अदालतको फैसलालाई उल्टी गरी वादी दाबी नपुग्ने ठहर्याएको पुनरावेदन अदालत पाटनको फैसला मिलेकै देखिँदा सदर हुनुपर्दछ भन्ने बेहोराको बहस प्रस्तुत गर्नुभयो ।
उपर्युक्तानुसारको तथ्य, पुनरावेदन जिकिर र बहस बुँदा रहेको प्रस्तुत मुद्दामा निम्न प्रश्नहरूको निरूपण गर्नुपर्ने देखिन्छः-
पुनरावेदक वादीले आफ्ना बाबुतर्फको अंश भाग परित्याग गरिसकेको हो होइन ?
पुनरावेदक वादीले प्रत्यर्थी प्रतिवादीबाट वादी दाबीबमोजिम अंश भाग पाउने हो होइन ?
पुनरावेदन अदालत पाटनबाट भएको फैसला मिलेको छ छैन ?
पुनरावेदक वादीको पुनरावेदन जिकिर पुग्न सक्छ सक्दैन ?
२. प्रश्न नं.१ को सन्दर्भमा विचार गर्दै प्रस्तुत मुद्दामा प्रमाणमा आएको वादी अब्दुल रसिद मियाँ तथा प्रतिवादी अब्दुल हमिम भन्ने अब्दुल हमिद मियाँ भएको २०३३ सालको दे.मि.नं.५२/१७७ को अंश मुद्दामा रसुवा तथा नुवाकोट जिल्ला अदालतबाट भएको मिति २०३३।८।१३ को फैसलासहितको मिसिल अध्ययन गरी हेर्दा; उक्त मुद्दामा प्रस्तुत मुद्दाका वादी अब्दुल हकको साइँला भाइ अब्दुल रसिद मियाँ वादी तथा निज वादी अब्दुल हककै पिता अब्दुल हमिम भन्ने अब्दुल हमिद मियाँ प्रतिवादी भई चलेको अंश मुद्दामा प्रस्तुत मुद्दाका वादी अब्दुल हक तथा प्रतिवादी अब्दुल करिमसमेतका अंशियारहरूलाई जिल्ला अदालतले बुझी निजहरूले गरेको बयान उक्त मिसिल सामेल रहेको देखिन्छ । उक्त मुद्दामा बयान गर्दा प्रस्तुत मुद्दाका वादी अब्दुल हकले स.ज.३ मा वादी अब्दुल रसिद मेरो साइँलो भाइ हो, प्रतिवादी अब्दुल हमिद बाबु हुन् र पेटबोलीबाट बुझिएको सायरा बानु आमा हुन् । हामीहरूको आमा बाबुबाट जेठा म अब्दुल हक, माइला अब्दुल मजिद, साइँला अब्दुल रसिद, काइँला अब्दुल रहिम, कान्छा अब्दुल करिम र छोरी अमिना खातुनको जायजन्म भएको हो । परिवार संख्या ठूलो भएपछि एकासगोलमा बस्न नसकी २०१६ साल श्रावण ३१ गते सगोलमा भएको श्रीसम्पत्ति छुट्ट्याई बस्ने सल्लाह भएअनुसार ५ कबलको २ वटा घरमा जम्मा १० कवलमध्ये मबाहेक ४ भाइलाई २ कवलका दरले र बाबुआमालाई १-१ कवल बन्डा गरेको हो । मैले मेरो बाबुतर्फको भाग नलिई कान्छा बाबुतर्फको भाग खानेगरी कान्छा बाबुसँग बस्न गएको हो । वादी २०१६।४।३१ मा छुट्टी आफ्नो भाग लिई बसेका हुन् भन्नेसमेत बेहोराको मिति २०३३।१।२० मा बयान गरेको देखिन्छ । त्यस्तै; सोही मितिमा उक्त मुद्दामा बुझिएको प्रस्तुत मुद्दाका प्रतिवादी अब्दुल करिमले बयान गर्दा सगोलमा बस्न नसकी जेठाबाहेक हामी ४ भाइलाई २-२ कवलका दरले र आमा बाबुलाई १-१ कवलका दरले भाग लगाई बसेका छौं । जेठा दाजु कान्छा बाबुको भाग खानेगरी कान्छा बाबुसँग बसेका छन् भन्ने बेहोराको बयान गरेको देखिन्छ ।
३. त्यस्तै; उक्त मुद्दामा बुझिएको प्रस्तुत मुद्दाका वादी प्रतिवादीकी आमा सायरा बानुले सोही मितिमा गरेको बयानमा प्रतिवादीमध्येका अब्दुल हमिद मियाँ मेरा पति, जेठा छोरा अब्दुल हक, माइला अब्दुल मजिद, साइँला अब्दुल रसिद, काइँला अब्दुल रहिम, कान्छा अब्दुल करिम र छोरी -१ समेत भएको, जेठाबाहेक ४ छोरालाई २ कवलका दरले र हामीलाई १-१ कवल छुट्टयाई बेगल बसिआएका छौं । देबरपट्टि सन्तान नभएकाले जेठा छोरा देबरसँग बस्न गएको हो भन्नेसमेत बेहोराको बयान गरेको देखिन्छ । उक्त मुद्दामा पेटबोलीबाट देखिएका अंशियारमध्ये अब्दुल मजिद र अब्दुल रहिम म्यादमा उपस्थित नभई म्याद गुजारी बसेको देखिन्छ । उक्त मुद्दाकै फिराद लेखमा वादी अब्दुल रसिद मियाँले हाम्रा बाबु आमाबाट मसहित जम्मा ५ जना छोरा र १ छोरीको जायजन्म भएकोमा जेठा छोरा अब्दुल हक कान्छाबाबु कमर हुसेनको छोरा नभएकोले २००६ सालमै कमर हुसेनकै घरमा धर्मपुत्र भई बसेको र अरू हामी बाँकी सगोलमै थियौं भनी बेहोरा उल्लेख गरेको देखिन्छ भने उक्त मुद्दाका प्रतिवादी तथा प्रस्तुत मुद्दाका वादी प्रतिवादीका पिता अब्दुल हमिद मियाँले आफ्नो प्रतिउत्तर-पत्रमा मेरा जम्मा ५ छोराहरूमा जेठा अब्दुल हकलाई मेरा कान्छा भाइ कमर हुसेनले धर्मपुत्र राखेको र अन्य ४ छोराहरू, श्रीमती र मसमेतबिच बस्ने घरसमेत भाग लगाई छुट्याई सकेको भन्नेसमेत बेहोराको प्रतिउत्तर फिराएको देखिन्छ ।
४. उपर्युक्त पृष्ठभूमिमा २०३३ सालको उक्त अंश मुद्दामा रसुवा तथा नुवाकोट जिल्ला अदालतबाट मिति २०३३।८।१३ मा फैसला हुँदा तायदातीमा ७ अंशियार देखाए पनि अब्दुल हकले दाबी नलिएकाले निजबाहेक वादीसमेत ६ अंशियार देखिँदा तायदातीबाट देखिएको अचल घरजग्गा बिगो रू.३०,०००।- को सम्पत्तिबाट ६ भागको १ भाग बिगो रू.५,०००।- को श्रीसम्पत्ति वादीले अंश पाउने ठहर्छ भन्ने बेहोराको फैसला भएको देखिन्छ । उक्त फैसलाको तपसिल खण्डको देहाय ४ मा यो मुद्दाको राय फैसला दुवै पक्षलाई सुनाई यो इन्साफमा चित्त नबुझे आजका ३५ दिनभित्र श्री बागमती अञ्चल अदालतमा पुनरावेदन गर्न जानु भनी प्रतिवादीहरूका वारेससमेत अब्दुल करिमलाई सुनाई निजहरूको अ.बं.१९३ नं. बमोजिम सुनिपाएको कागज निस्सा मिसिलसाथ राख्नु भन्ने बेहोरा उल्लेख रहेको देखिन्छ ।
५. उल्लिखित २०३३ सालको उक्त अंश मुद्दाको सन्दर्भमा प्रस्तुत मुद्दाका पुनरावेदक वादीले आफ्ना बाबुतर्फको अंशभाग परित्याग गरिसकेको हो होइन भन्ने सम्बन्धमा विचार गर्दा; प्रस्तुत मुद्दाका वादी अब्दुल हकका साइँला भाइ अब्दुल रसिद मियाँले पिता अब्दुल हमिम भन्ने अब्दुल हमिद मियाँउपर २०३३ सालमा उक्त अंश मुद्दा दिएपछि उक्त मुद्दामा अन्य अंशियारहरूलाई बुझ्ने क्रममा प्रस्तुत मुद्दाका यी वादी अब्दुल हक र प्रतिवादी अब्दुल करिमसहित यिनीहरूका अन्य भाइहरू र आमासहितका सबै अंशियारहरूलाई बुझ्न रसुवा तथा नुवाकोट जिल्ला अदालतबाट म्याद जारी भई उक्त म्यादमा प्रस्तुत मुद्दाका वादी, प्रतिवादी र निजहरूकी आमा सायर बानुसमेतलाई जिल्ला अदालतले बुझेको देखिन्छ । साथै; यी वादीका अन्य दुई भाइहरू अब्दुल मजिद र अब्दुल रहिम भने म्यादमा उपस्थित नभई उक्त म्याद गुजारी बसेका देखिन्छन् । उक्त मुद्दामा वादीको फिराद बेहोरा, प्रतिवादीको प्रतिउत्तर बेहोरा र बुझिएको यी वादीकी आमा सायरा बानु र भाइ तथा प्रतिवादी अब्दुल करिमले बयान गर्दासमेत प्रस्तुत मुद्दाका वादी अब्दुल हकले लेखाएझैं निज अब्दुल हक आफ्ना माता पिताका ५ भाइ छोराहरूमध्ये जेठा छोरा भएको, निज आफ्ना निसन्तान काका कमर हुसेनको घरमा बस्ने गरेको, निजले काका कमर हुसेनकै अंश भाग एकलौटी पाउने हुँदा निजले आफ्ना पितातर्फको अंश भाग नलिने भएको भन्ने बेहोरा समानरूपमा उल्लेख गरेको देखिन्छ । उक्त बेहोरा यी वादी अब्दुल हक स्वयंले आफ्नो बयानमा स्वेच्छाले लेखाउनुका अतिरिक्त निजका बाबु, आमा र अन्य भाइहरूले पनि फिराद दाबी, प्रतिउत्तर जिकिर र आ-आफ्नो बयानमा उल्लेख गरेबाट उक्त बेहोरामा सबै अंशियारहरूबिच मुख मिलेकै देखिएकाले सोही आधारमा उक्त अंश मुद्दामा यी वादी अब्दुल हकसमेतका जम्मा ७ अंशियार रहे तापनि अब्दुल हकले निजको अंश भाग परित्याग गरेबाट निजबाहेकका हुने बाँकी ६ अंशियार कायम गर्दै उक्त ६ अंशियारहरूबिच मात्र सगोलको सम्पत्ति बन्डा गर्नुपर्ने देखिई ती ६ अंशियारमध्ये वादी दाबीबमोजिम ६ भागको १ भाग वादीको भाग अंश वादीले पाउने ठहर्याई फैसला भएको थियो ।
६. उपर्युक्त घटनाक्रमले २०३३ सालमा प्रस्तुत मुद्दाका वादी अब्दुल हकका साइँला भाइ अब्दुल रसिद मियाँ र निजसमेतका बाबु अब्दुल हमिद मियाँबिच चलेको अंश मुद्दाकै सन्दर्भमा उक्त सम्पत्तिको अंशियारको रूपमा यी वादीलाई समेत अदालतले बुझेको, सो क्रममा बयान गर्दा यी वादीले आफूले आफ्ना बाबुतर्फको अंशभाग नलिई कान्छा बाबु (काका) को भाग खाने गरी कान्छा बाबुसँगै बस्न गएको भन्ने बेहोरा आफ्नो राजीखुशीले लेखाउँदै स्वेच्छाले आफ्नो बाबुतर्फको अंशहक परित्याग गरेको देखिन्छ । यदि उक्त बखत यी वादीले त्यसो नभनेका भए निजले समेत आफ्ना बाबुतर्फको अंशभाग पाउने नै थिए । तर निजले त्यसबखत आफ्नो अंशभाग नलिने भनी परित्याग गरेकाले नै जिल्ला अदालतबाट ७ अंशभागलाई छोट्याई ६ अंशभाग मात्र कायम गरिएको देखिन्छ । त्यसपछि पनि उक्त मुद्दामा सो फैसलाउपर निजको चित्त नबुझेको भए निजले तोकिएको म्यादभित्रै बागमती अञ्चल अदालतमा पुनरावेदन गर्न सक्नेमा निजले सो अधिकारको उपभोग नगरेबाट तत्काल यी वादी अब्दुल हकले तत्कालीन जिल्ला अदालतको उक्त फैसलामा चित्त बुझाई बसेको देखिन्छ । यस स्थितिमा पुनरावेदक वादी अब्दुल हकले आफ्ना बाबुतर्फको अंशभाग परित्याग गरिसकेको देखियो ।
७. जहाँसम्म अंश छोडपत्रको विधिवत् लिखतद्वारा मात्र अंशहक परित्याग गर्न पाइन्छ, अन्यथा लिखतको अभावमा अंशहक परित्याग गरेको सम्झन मिल्दैन भन्ने पुनरावेदक वादीको पुनरावेदन जिकिर छ, सो सम्बन्धमा विचार गर्दा; हाम्रो प्रचलित कानूनी व्यवस्थानुसार अंशियारहरूबिच अंशभाग पाउन वा छोड्नको लागि दुईवटा विधि निर्धारण भएको पाइन्छ । पहिलो; अंशियारहरू आफैँले राजीखुशीका साथ अंशबन्डाको लिखत तयार गरी कानूनबमोजिम रजिस्ट्रेसन गराई र दोस्रो; अदालतमा मुद्दा परी अदालतको फैसला वा मिलापत्रको माध्यमद्वारा । उपर्युक्त २०३३ सालमा चलेको अंश मुद्दाको सन्दर्भमा विचार गरी हेर्दा प्रस्तुत मुद्दाका वादी अब्दुल हकले दोस्रो विधि अर्थात् अदालतमा मुद्दा परी रसुवा तथा नुवाकोट जिल्ला अदालतको मिति २०३३।८।१३ को फैसलाको आधारमा आफ्नो बाबुतर्फको अंशहक परित्याग गरेको देखियो ।
८. कुनै पनि अंशियारले आफ्नो अंशहक पारित लिखतद्वारा नै परित्याग गर्नुपर्छ भन्ने छैन । अंशियारले अंश मुद्दाको रोहमा अदालतमा पेस गरेको कुनै पनि कागजलाई स्वीकार गरेको अवस्थामा वा अंशियार स्वयं अंश मुद्दाको कारबाहीमा अदालतमा उपस्थित भई आफूले आफ्नो अंशभाग आफ्ना आमा बाबु वा अन्य अंशियारबाट लिन नपर्ने भनी अदालतसमक्षको बयान कागजमा स्वीकारेको अवस्थामा पनि अंशियारले आफ्ना आमाबाबुको तर्फबाट पाउनुपर्ने अंशभाग परित्याग गरेको मानिन्छ । प्रस्तुत मुद्दाका वादीले आफ्नो घरतर्फका बाबु आमाबाट पाउनुपर्ने अंशभाग परित्याग गरेपनि निज निरअंशी रहे भएको देखिन आउँदैन । वादी २००६ सालदेखि नै आफ्नो घर र बाबु आमाबाट पाउने अंशभाग त्यागी निसन्तान काका कमर हुसेनसँग नै बस्दै आएको, आफूले उतै काकातर्फबाट नै अंशबापत सम्पत्ति पाउने हुँदा यता आफ्नो घर र बाबु आमाबाट पाउने अंशभाग त्यागेको तथ्य २०३३ सालमा वादी अब्दुल रसिद मियाँ र प्रतिवादी अब्दुल हमिम भन्ने अब्दुल हमिद मियाँ भई चलेको दे.मि.नं. ५२/१७७ को अंश मुद्दामा पेटबोलीका व्यक्तिको रूपमा झिकाइएका प्रस्तुत मुद्दाका वादी अब्दुल हकले रसुवा तथा नुवाकोट जिल्ला अदालतमा गरेको बयान कागजबाट देखिँदा र निज निरअंशी भएकोसमेत नदेखिँदा अहिले आएर आफ्नै घर र बाबु आमातर्फबाट अंश पाउँ भन्ने वादी दाबी वादीकै आचरण विरूद्ध हुनुको साथै कानूनसम्मत समेत मान्न मिलेन । तसर्थ पारित लिखतको अभावमा वादीले आफ्ना बाबुतर्फको अंशहक परित्याग गरेको सम्झन मिल्दैन भन्नेसमेतको पुनरावेदक वादी र निजतर्फका विद्वान् अधिवक्ताको जिकिर मिसिलको तथ्य तथा प्रचलित कानूनसम्मत समेत देखिएन ।
९. अब, पुनरावेदक वादीले प्रत्यर्थी प्रतिवादीबाट वादी दाबीबमोजिम अंशभाग पाउने हो होइन भन्ने दोस्रो प्रश्नतर्फ विचार गर्दा; पुनरावेदक वादी अब्दुल हक र प्रत्यर्थी प्रतिवादी अब्दुल करिम एउटै मातापिताबाट जन्मेका सहोदर दाजुभाइ नाताका व्यक्ति रहेपनि उल्लिखित २०३३ सालको दे.मि.नं.५२/१७७ को अंश मुद्दामा रसुवा तथा नुवाकोट जिल्ला अदालतको मिति २०३३।८।१३ को फैसलाअनुसार निजहरू भिन्न भइसकेका दाजुभाइ रहेको र उक्त दे.मि.नं.५२/१७७ को फैसलाबाट प्रस्तुत मुद्दाका वादी अब्दुल हकले उक्त २०३३ सालको अंश मुद्दाको रोहमा आफ्ना बाबुतर्फको अंशहक यी प्रत्यर्थी प्रतिवादीसमेतका अंशियारलाई परित्याग गरिसकेको भन्ने देखिएबाट एकपटक अंश परित्याग गरिसकेको व्यक्तिले पुनः उही अंशियारहरूबाट अंशहक माग गर्न र प्राप्त गर्न नमिल्ने भएकाले पुनरावेदक वादीले प्रत्यर्थी प्रतिवादीबाट दाबीबमोजिम अंशभाग पाउन नसक्ने नै देखियो ।
१०. साथै, यसरी एकपटक साधिकार निकायसमक्ष अंश मुद्दा परी उक्त मुद्दामा यी वादी अब्दुल हकको उपस्थितिसमेतमा निजकै इच्छा र चाहनाअनुसारको फैसला भई सोउपर निजको पुनरावेदनसमेत नपरी उक्त फैसला अन्तिम भइरहेकोमा सोही विषयवस्तुमा यी वादीले प्रतिवादी भाइ अब्दुल करिमउपर पुनः अंश मुद्दा दिएकोमा वादीको फिराद मुलुकी ऐन, अदालती बन्दोबस्तको महलको ८५ नं. को कानूनी व्यवस्था प्रतिकूल अर्थात् प्राङ्न्यायको सिद्धान्त प्रतिकूल रहेको देखिएबाट यस्तो फिराद दाबीअनुसार वादीले प्रतिवादीबाट अंशभाग पाउन नसक्ने नै देखियो ।
११. अब, पुनरावेदन अदालत पाटनबाट भएको फैसला मिलेको छ छैन भन्ने तेस्रो प्रश्नतर्फ विचार गर्दा; यसअघिका प्रकरणहरूमा भएको विश्लेषणको आधारमा प्रतिवादीबाट २ भागको १ भाग अंश पाउँ भन्नेसमेतको वादी दाबी पुग्न नसक्ने ठहर्याएको पुनरावेदन अदालत पाटनको फैसला मिलेकै देखिन आयो ।
१२. अब, पुनरावेदक वादीको पुनरावेदन जिकिर पुग्न सक्छ सक्दैन भन्ने चौथो प्रश्नतर्फ विचार गर्दा; माथि यसअघिका प्रकरणहरूमा भएको विश्लेषणको आधारमा यी पुनरावेदक वादी अब्दुल हकले आफ्ना भाइ र बाबुबिच चलेको २०३३ सालको दे.मि.नं.५२/१७७ को अंश मुद्दाको सिलसिलामा आफ्ना बाबुतर्फको अंशभाग परित्याग गरिसकेको देखिएको र सोही विषयमा पुनः प्रस्तुत अंश मुद्दा आफ्ना कान्छा भाइ प्रतिवादी अब्दुल करिमउपर दिएको देखिएकोले २०३३ सालको उक्त अंश मुद्दाबाट निरूपण भई अन्तिम भइसकेको विषयवस्तुमा पुनः अर्को मुद्दा दिन मुलुकी ऐन, अ.बं.८५ नं. समेतले नमिल्ने देखिँदा प्रतिवादी अब्दुल करिमको नाम दर्ताको सम्पत्तिबाट २ भागको १ भाग अंश दिलाई पाउँ भन्ने वादी दाबी पुग्ने ठहर्याएको सुरू नुवाकोट जिल्ला अदालतको मिति २०७०।९।१४ को फैसला उल्टी गरी वादी दाबी पुग्न नसक्ने ठहर्याएको पुनरावेदन अदालत पाटनको फैसला मिलेकै देखिन आयो । तसर्थ; वादी दाबी पुग्न नसक्ने ठहर्याएको पुनरावेदन अदालत पाटनको फैसला उल्टी गरी सुरू फिराद दाबीबमोजिम २ भागको १ भाग अंश दिलाई पाउँ भन्नेसमेतको पुनरावेदक वादीको पुनरावेदन जिकिर पुग्न सक्ने देखिएन ।
१३. अतः उपर्युक्त आधार, कारण र प्रमाणहरूबाट प्रस्तुत मुद्दामा प्रतिवादीबाट २ भागको १ भाग अंश दिलाइ पाउँ भन्ने वादी दाबी पुग्न सक्ने ठहर्याएको सुरू नुवाकोट जिल्ला अदालतको मिति २०७०।९।१४ को फैसला उल्टी गरी वादी दाबी पुग्न नसक्ने ठहर्याएको पुनरावेदन अदालत पाटनको मिति २०७२।३।१४ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक वादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । फैसलाको जानकारी दुवै पक्षलाई दिई प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाई दिनू ।
उक्त रायमा सहमत छु ।
न्या. दीपकराज जोशी
इजलास अधिकृत: प्रदीपकुमार उपाध्याय
इति संवत् २०७५ साल मंसिर ४ गते रोज ३ शुभम् ।