निर्णय नं. १०२४१ - बैंकिङ कसुर

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री दीपककुमार कार्की
माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा
फैसला मिति : २०७६।२।२७
०७०-RB-००४०
मुद्दाः- बैंकिङ कसुर
पुनरावेदक / प्रतिवादी : का.जि.का.म.न.पा वडा नं. २७ घर भई हाल ऐ.ऐ. म्हैपी बस्ने दिल गोपाल धुजु श्रेष्ठको छोरी रघुराज बन्तको श्रीमती वर्ष ५४ की मन्दिरादेवी धुजु श्रेष्ठ
विरूद्ध
विपक्षी / वादी : सूर्यप्रसाद न्यौपानेको जाहेरीले नेपाल सरकार
खातामा चेकमा उल्लेख गरिएबमोजिम पर्याप्त रकम नभएको भन्ने चेक जारी गर्ने व्यक्तिलाई चेक जारी गर्ने बेलामा थाहा जानकारी भएको र उक्त तथ्य थाहा हुँदाहुँदै निजले दोस्रो व्यक्तिलाई रकम उल्लेख गरी चेक जारी गरेको हो भने त्यस्तो कार्य जानी जानी गरेको मान्नु पर्ने हुन्छ । वस्तुतः चेक जारी गरिने तर चेक भुक्तानी हुन नसक्ने अवस्थाको पूर्वजानकारीसहित चेक काट्ने तथा त्यसको आधारमा भुक्तानी लिने दिने कार्यले नै कसुरलाई स्थापित गर्ने नगर्ने सम्बन्धमा भूमिका खेल्ने ।
(प्रकरण नं.३)
एउटै विषयवस्तुमा दुईतर्फ मुद्दा चल्न सक्ने नसक्ने विषयमा हेर्दा एउटा कार्यले एकभन्दा बढी कसुर कायम हुन सक्ने कानूनी व्यवस्था भएको स्थितिमा बाहेक एउटा कार्यको एउटै कसुर हुने हुन्छ । एउटा कसुरमा एउटा अदालतमा मुद्दा चलेपछि सोही कसुरका सम्बन्धमा अर्को अदालतमा मुद्दा चल्न सक्दैन र यदि मुद्दा चलेमा अभियुक्तलाई दुईपटक खतरामा पारेको मानिने ।
कसैले कुनै व्यक्तिलाई रकम उल्लेख गरी चेक काटी दिएमा र उक्त चेकको रकम खाम्ने गरी खातामा पर्याप्त रकम नभएको अवस्थामा चेक फिर्ता भएको विषय एकै पटक ठगी र बैंकिङ कसुर दुईवटा कसुर हुन सक्ने नदेखिने ।
(प्रकरण नं.६)
पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री हरिहर दाहाल
विपक्षी / वादीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता श्री ध्रुवकुमार चौहान
अवलम्बित नजिर :
ने.का.प.२०७५, अंक ११, नि.नं.१०१३७, पृ.२०७९
सम्बद्ध कानून :
बैंकिङ कसुर तथा सजाय ऐन, २०६४
पुनरावेदन तहमा फैसला गर्नेः-
मा. न्यायाधीश श्री सुरेन्द्रवीर सिंह बस्न्यात
माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान
तेस्रो न्यायाधीशः-
माननीय न्यायाधीश श्री यज्ञप्रसाद बस्याल
पुनरावेदन अदालत पाटन
फैसला
न्या. अनिलकुमार सिन्हा : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम पुनरावेदन अदालत पाटनको, मिति २०६९।१२।१८ को फैसलाउपर पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः-
प्रतिवादी मन्दिरादेवी धुजु श्रेष्ठले बैंकमा लोनबापत सेवा शुल्क जम्मा गर्न मसँग रकम भएन लोन स्वीकृत भएपछि तपाइँको रकम फिर्ता गर्छु भनी मबाट पटकपटक गरी रू.१२,५०,०००।– लिएकोमा सेवा शुल्क जम्मा गरी लोन स्वीकृत गराई रकम झिकिसकेकोले मेरो रकम पटकपटक माग गर्दा सो रकम बराबरको चेक दिनु भएको र उक्त चेक लिई बैंकमा पेस गर्दा खातामा चेकमा खाम्ने रकम छैन भनी चेक फिर्ता भएको हुँदा प्रतिवादीलाई जानकारी गराई रकम माग्दा रकम नदिई चेक हरायो भनी रोक्काको निवेदन दिई जालसाजी गरेको हुँदा प्रतिवादीउपर कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको सूर्यप्रसाद न्यौपानेको जाहेरी दरखास्त ।
म महाराजगञ्ज नर्सिङ क्याम्पसमा कार्यरत व्यक्ति हुँ । म आफ्नो काम विशेषले विभिन्न ठाउँमा गई राख्नुपर्ने भएकोले मैले आफ्नो दस्तखत गरी चेकहरूमा सीमित रकम उल्लेख गरी घरमा छाड्ने गरेको थिएँ । यस्तैमा मैले दस्तखत गरी छाडेको चेकहरू थान ४ हराएको जानकारी हुन आएपछि मैले मिति २०६९।५।२९ गतेका दिन बैंक अफ एसिया लि., न्युरोडमा सो चेकहरूको भुक्तानी रोक्काको लागि निवेदन दिँदा सो बैंकबाट रोक्का गरिएको जानकारी कागजसमेत दिएको र जाहेरवाला सूर्यप्रसाद न्यौपाने भन्ने व्यक्तिलाई मैले चिनेको छैन । निजसँग मेरो कुनै कारोबार पनि भएको छैन । निज व्यक्तिले मलाई फोन सम्पर्क गरी कहिले आफैँ भेटी मेरो रकम दिनु भनी रू.१२,५०,०००।– को चेकको फोटोकपी देखाएपछि मात्र मेरो हराएको चेकमध्ये एउटा चेक सोही भएको थाहा पाएकी हुँ भन्नेसमेत बेहोराको प्रतिवादी मन्दिरादेवी धुजु श्रेष्ठको बयान ।
मन्दिरादेवी धुजु श्रेष्ठको चेक नं. ००२४२३९९५ को चेक रोक्काको लागि मिति २०६९।५।२९ मा यस बैंकमा निवेदन प्राप्त भएको, उक्त चेक बागबजार शाखामा मिति २०६९।६।२६ मा पेस हुन आएकोमा सुरूमै उक्त चेकमा उल्लिखित गरिए बराबरको रकम खातामा मौज्दात नै नरहेको हुँदा चेक फिर्ता गरिएको भन्नेसमेत बेहोराको बैंक अफ एसिया लि. को पत्र ।
जाहेरवाला सूर्यप्रसाद न्यौपाने मेरो चिनजानका व्यक्ति हुन् । प्रतिवादी मन्दिरादेवी धुजु श्रेष्ठले बैंकमा लोनबापत सेवा शुल्क जम्मा गर्न रकम भएन लोन स्वीकृत भएपछि रकम फिर्ता गर्छु भनी जाहेरवालाबाट रू.१२,५०,०००।– लिएकी थिइन् । लोन स्वीकृत भएपछि पनि सो रकम फिर्ता नगरेपछि पटकपटक माग गर्दा मिति २०६९।६।२ मा बैंक अफ एसिया नेपाल लि. को रू.१२,५०,०००।– को चेक काटी दिएकोमा सो चेक भुक्तानीको लागि बैंकमा पेस गर्दा चेकले खाम्ने रकम खातामा छैन भनी बैंकले जानकारी गराएको र निज प्रतिवादीले ठगी गर्ने मनसायले चेक दिनुपूर्व नै चेक हराएको भनी बैंकमा निवेदन दिएको थाहा हुन आएको हो भन्नेसमेत बेहोराको कृष्णबहादुर खड्काको घटना विवरण कागज ।
प्रतिवादी मन्दिरादेवी धुजु श्रेष्ठले जाहेरवाला सूर्यप्रसाद न्यौपानेलाई रू.१२,५०,०००।– भुक्तानी दिन बैंक अफ एसियामा रहेको आफ्नो नाउँको खातामा पर्याप्त रकम छैन भनी जानीजानी भुक्तानीका लागि चेक काटी दिई बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को दफा ३(ग) बमोजिमको कसुर गरेको हुँदा निज प्रतिवादीउपर सोही ऐनको दफा १५(१) बमोजिम सजाय हुन मागदाबी लिइएको मिति २०६९।१०।४ को अभियोगपत्र ।
जाहेरवाला सूर्यप्रसाद न्यौपानेसँग चिनजान छैन । निजसँग मेरो कुनै कारोबार छैन । जाहेरी बेहोरा झुठा हो । मिसिल संलग्न बैंक अफ एसियाको चेकमा भएको दस्तखत मेरो हो । अरू लिपि मेरो होइन । मेरो चेक थान चार हराएको थियो । सो हराएको चेकमा मैले सही गरेकी थिएँ । २०६९।५।२९ मा भुक्तानी रोक्काको लागि बैंक अफ एसिया, न्युरोडमा निवेदन दिई भुक्तानी रोक्का गराएकी थिएँ । मैले खाता रोक्का राखेपछि यस मुद्दामा जाहेरी दिनेले रकम भुक्तानी गर् भनी फोनलगायतबाट धम्की दिन थाल्यो । त्यसपछि मेरो हराएको चेक निजले भेटेको भन्ने थाहा हुन
आयो । मैले जाहेरवालालाई चेक जारी गरेको होइन । मैले चेक जारी नगरेको कारणबाट अभियोग दाबीअनुसार सजाय पाउनुपर्ने होइन । मैले सफाइ पाउनु पर्दछ भन्नेसमेत बेहोराको प्रतिवादी मन्दिरादेवी धुजु श्रेष्ठले मिति २०६९।१०।४ मा पुनरावेदन अदालत पाटनमा गरेको बयान ।
तत्काल प्राप्त प्रमाणबाट प्रतिवादी मन्दिरादेवी धुजु श्रेष्ठ कसुरदार देखिन आएको हुँदा निजउपर लिएको आरोपित कसुरसमेतलाई विचार गर्दा पछि बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी हाललाई मुलुकी ऐन, अ.बं. ११८ को देहाय (५), (१०) नं. अनुसार रू.५,०००।– (पाँच हजार रूपैयाँ) नगद धरौट प्रतिवादी मन्दिरादेवी धुजु श्रेष्ठबाट लिई पुर्पक्षको निमित्त तारेखमा राखी कारबाही गर्नू । उक्त धरौटी दिन नसके कानूनबमोजिम थुनुवा पुर्जी दिई थुनामा राखी कारबाही गर्ने गरी मुलुकी ऐन, अ.बं. १२४ (ग) बमोजिम यो आदेश पर्चा गरी दिएको छ । कानूनबमोजिम गर्नु भन्ने पुनरावेदन अदालत पाटनबाट मिति २०६९।१०।४ मा भएको थुनछेक आदेश ।
प्रस्तुत मुद्दा बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को दफा ३(ग) अनुसारको कसुरमा दायर हुन सक्ने अवस्था र प्रस्तुत मुद्दा सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ को अनुसूची १ अन्तर्गतको नभई विनिमेय अधिकारपत्र ऐन, २०३४ को दफा १०७क अनुसारको रहेको हुँदा अभियोगपत्र मागदाबी मुलुकी ऐन अ.बं.को १८० नं.बमोजिम खारेज हुने ठहर्छ भन्ने बेहोराको पुनरावेदन अदालत पाटनका माननीय न्यायाधीश श्री सुरेन्द्रवीर सिंह बस्न्यातज्यूको मिति २०६९।१०।२३ को राय ।
प्रतिवादी मन्दिरादेवी धुजु श्रेष्ठले आरोपित कसुर गरेको देखिएकोले निजलाई बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को दफा ३ (ग) को कसुरमा ऐ.ऐनको दफा १५(१) बमोजिम रू.५,०००।- (पाँच हजार) जरिवाना हुने ठहर्छ । मुद्दा खारेज गर्नु हुने माननीय न्यायाधीश श्री सुरेन्द्रवीर सिंह बस्न्यातज्यूको रायसँग सहमत नहुँदा प्रस्तुत मुद्दा न्याय प्रशासन ऐन, २०४८ को दफा ८ (४) र पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ११ बमोजिम तेस्रो न्यायाधीशको इजलाससमक्ष पेस गर्नु भन्ने बेहोराको पुनरावेदन अदालत पाटनका माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तानज्यूको मिति २०६९।१०।२३ को राय ।
प्रस्तुत मुद्दाको सन्दर्भमा हेर्दा, प्रतिवादी मन्दिरादेवी धुजु श्रेष्ठले जाहेरवाला सूर्यप्रसाद न्यौपानेसँग बैंकमा लोनबापत सेवा शुल्क जम्मा गर्न भनी रू.१२,५०,०००।– लिएको भनिएकोमा निजले बैक अफ एसियाबाट भुक्तानी पाउने गरी निजको खाताबाट उक्त रू.१२,५०,०००।– को चेक काटी दिएकोमा उक्त चेक बैंकमा गई भुक्तानी माग गर्दा रकम नै नभएको हुँदा भुक्तानी नभएको भन्ने कुरा बैंक अफ एसियाको चेक रिटर्न एड्भाइस तथा सक्कल चेकसमेतबाट देखिन्छ । प्रतिवादी मन्दिरादेवी धुजु श्रेष्ठले अधिकारप्राप्त अधिकारीसमक्ष र अदालतसमक्ष जाहेरवाला सूर्यप्रसाद न्यौपानेसँग चिनजान छैन, निजसँग मेरो कुनै कारोबार छैन मैले जाहेरवालालाई चेक जारी गरेको होइन भनी इन्कारी बयान गर्नुभएको भए तापनि यी प्रतिवादीले मिति २०६९।६।२ को बैंक अफ एसियाको रू.१२,५०,०००।- चेकमा मैले सही गरेकी हुँ भनी चेकमा सही गरेको तथ्यमा साबित भई बयान गर्नु भएको अवस्था छ । यसरी अभियोग मागदाबीबमोजिमको कसुरमा निज प्रतिवादीले चेक काटी सो चेकमा सही गरेको कुरामा अधिकारप्राप्त अधिकारी र अदालतसमक्ष साबित रही बयान गरेको र निजको बयानलाई बैंक अफ एसियाको चेक रिटर्न एड्भाइससमेतले पुष्टि गरिदिएकोले प्रतिवादी मन्दिरादेवी धुजु श्रेष्ठले बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को दफा ३(ग) को कसुर अपराध गरेको देखिन आयो । सो हुनाले प्रतिवादी मन्दिरादेवी धुजु श्रेष्ठले बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को दफा ३(ग) बमोजिमको कसुर अपराध गरेको ठहर्छ । सो ठहर्नाले निजलाई सोही ऐनको दफा १५(१) बमोजिम रू.५,०००।– जरिवाना हुन्छ भनी व्यक्त गर्नु भएका माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तानको रायसँग मेरो सहमति हुँदा सोही रायलाई समर्थन गरी दिएको छ भन्ने बेहोराको माननीय न्यायाधीश श्री यज्ञप्रसाद बस्यालज्यूको मिति २०६९।१२।१८ को राय तथा ठहर ।
म निवेदिका नर्सिङ क्याम्पस महाराजगञ्जमा अध्यापन गर्ने सहप्राध्यापक हुँ । म सोही कामसमेतको सिलसिलामा उपत्यकाबाहिरका नर्सिङ कलेजहरूमा परीक्षा लिन, कपी जाँच्नसमेतको काम विशेषले काठमाडौं बाहिर बारम्बार गइरहनु पर्ने भएकोले घरमा पैसाको गर्जो टार्न चेकहरूमा दस्तखत गरी घरमा छोडी जाने गरेको थिएँ । यस्तैमा मैले दस्तखत गरी छोडेको ४ थान चेकहरू हराएकोले मिति २०६९।५।२९ मा बैंक अफ एसिया, न्युरोडमा भुक्तानी रोक्काको लागि निवेदन दिएकोमा विपक्षी जाहेरवाला सूर्यप्रसाद न्यौपानेले के, कसरी, कहाँबाट चेक नं.००२४२३९९५ को चेक लिई मेरो दस्तखतबाहेकको मिति २०६९।६।२ नाम सूर्यप्रसाद न्यौपाने रकम रू.१२,५०,०००।- र अंकमा लेखी लेखाई उक्त बैंकको बागबजार शाखाबाट चेक फिर्ता गरी गराई मिति २०६९।९।९ मा मुलुकी ऐन ठगीको महलबमोजिम कसुर गरेकोले ऐ. को ४ नं. बमोजिम सजाय गरी रू.१२,५०,०००।- र हर्जाना दिलाई पाउँ भन्ने जाहेरी दिएको हुँदा मिति २०६९।१०।२ मा का.जि.अ. मा सूर्यप्रसाद न्यौपानेको जाहेरीले नेपाल सरकार वादी म पुनरावेदिकालाई प्रतिवादी बनाई द.नं.८६८ को ठगी मुद्दा दायर भएको हो । साथै मिति २०६९।१०।४ मा पुनरावेदन अदालत पाटनको वाणिज्य इजलाससमक्ष सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ को दफा १८ अन्तर्गत बैकिङ कसुर तथा सजाय ऐन, २०६४ को दफा ३(ग) को कसुरमा ऐ. को दफा १५(ख) बमोजिम सजाय गरिपाउँ मागदाबीसहित अभियोग पत्र पेस हुँदा उक्त अदालतबाट रू.५,०००।- जरिवाना हुने ठहर्याई फैसला भएको र का.जि.अ. मा मिति २०७०।९।.... को पेसी तारेख तोकी पाएकोले नेपालको अन्तरिम संविधान, २०६३ को धारा २४(६) बमोजिम एकै कसुरमा एकपटकभन्दा बढी मुद्दा चलाइने र सजाय गरिने छैन भन्ने संवैधानिक हकविपरीत भई बदरभागी छ भन्नेसमेत बेहोराको प्रतिवादी मन्दिरादेवी धुजुको यस अदालतसमक्ष परेको मिति २०७०।९।१६ को पुनरावेदन पत्र ।
यसमा प्रस्तुत मुद्दा सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ को अनुसूची १ अन्तर्गतको नभई विनिमय अधिकारपत्र ऐन, २०३४ को दफा १०७क अन्तर्गत देखिएको अवस्थामा बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को दफा ३(ग) को कसुरमा सोही ऐनको १५(१) बमोजिम जरिवाना हुने ठहर्याई सजाय भएको देखिएको र सोही विषयमा ठगी मुद्दामा समेत अभियोग लागि सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ को दफा २७ बमोजिम चेक अनादर मुद्दामा परिणत भएको देखिएको स्थितिमा पुनरावेदन अदालत पाटनको मिति २०६९।१२।१८ गतेको फैसला विचारणीय देखिँदा छलफलको लागि मुलुकी ऐन अ.बं. २०२ नं. को प्रयोजनार्थ महान्यायाधिवक्ताको कार्यालयलाई पेसीको सूचना दिई नियमानुसार गर्नु भन्ने बेहोराको यस अदालतबाट मिति २०७४।९।३ मा भएको आदेश ।
नियमबमोजिम पेसी सूचीमा चढी निर्णयार्थ इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदकका तर्फबाट उपस्थित हुनुभएका विद्वान् वरिष्ठ अधिवक्ता श्री हरिहर दाहालले जाहेरवालाले जाहेरी दिएपश्चात् काठमाडौं जिल्ला अदालतमा ठगी मुद्दा दर्ता गरियो भने सोही विषयमा बैंकिङ कसुर मुद्दा वाणिज्य इजलासमा समेत दर्ता गरिएको हुँदा एउटै विषयमा दुईतर्फ मुद्दा चलाइएको अवस्था छ । काठमाडौं जिल्ला अदालतमा ठगी मुद्दा चलाइसकेपछि प्रस्तुत बैंकिङ कसुर मुद्दा चल्ने अवस्था हुँदैन । एउटै विषयमा दुईतिर मुद्दा चलाउँदा दोहोरो खतराको सिद्धान्त आकर्षित भएको अवस्था रहेको हुनाले पुनरावेदकलाई सजाय गर्ने गरी भएको पुनरावेदन अदालत पाटन, वाणिज्य इजलासको फैसला उल्टी हुनुपर्छ भनी गर्नुभएको बहस सुनियो ।
प्रत्यर्थी / विपक्षी नेपाल सरकारको तर्फबाट उपस्थित हुनु भएका विद्वान् सहन्यायाधिवक्ता श्री ध्रुवकुमार चौहानले प्रतिवादीले जारी गरेको चेक बाउन्स भएको अवस्था छ । प्रतिवादीले उक्त चेकको हस्ताक्षर आफ्नो हो भनी अदालतमै बयान गर्दा स्वीकार गरेका छन् । यसप्रकार आफ्नो खातामा पर्याप्त रकम छैन भन्ने जानी जानी जाहेरवालालाई चेक काटेर दिएको र उक्त चेक खातामा पर्याप्त रकम नभएको भनी फिर्ता भएको हुँदा प्रतिवादीले बैंकिङ कसुर तथा सजाय निर्धारण ऐन, २०६४ को दफा ३ (ग) बमोजिमको कसुरजन्य कार्य गरेको पुष्टि हुन्छ । अतः प्रतिवादीलाई सजाय गर्ने गरी भएको पुनरावेदन अदालत पाटन, वाणिज्य इजलासको फैसला सदर हुनुपर्दछ भनी गर्नुभएको बहससमेत सुनियो ।
यसमा मबाट पटकपटक गरी प्रतिवादी मन्दिरादेवी धुजुले १२,५०,०००।- लिएकी हुँदा पछि मैले आफूले दिएको रकम पटकपटक माग गर्दा सो रकम बराबरको चेक दिएकी हुन् । उक्त चेक लिई बैंकमा पेस गर्दा खातामा चेकमा खाम्ने रकम छैन भनी चेक फिर्ता भएको हो । यस सम्बन्धमा प्रतिवादीलाई जानकारी गराई रकम माग गर्दा रकम नदिई चेक हरायो भनी चेक रोक्काको निवेदन दिएको रहेछ भन्ने बेहोराको सूर्यप्रसाद न्यौपानेको जाहेरी दरखास्त रहेको
देखिन्छ । जाहेरवाला सूर्यप्रसाद न्यौपानेसँग चिनजान छैन । निजसँग मेरो कुनै कारोबारसमेत छैन । जाहेरी बेहोरा झुट्टा हो । मैले सही गरेर राखेको चार थान चेक हराएको थियो । २०६९।५।२९ मा भुक्तानी रोक्काको लागि बैंक अफ एसिया, न्युरोडमा निवेदन दिई भुक्तानी रोक्का गराएकी थिएँ । मेरो हराएको चेकबाट नै जाहेरवालाले उजुरी गरेका हुन् भन्ने प्रतिवादी मन्दिरादेवी धुजुको बयान जिकिर रहेको देखिन्छ ।
प्रतिवादी मन्दीरादेवी धुजुउपर बैकिङ कसुर तथा सजाय ऐन, २०६४ को दफा ३(ग) बमोजिमको कसुर मा ऐ.ऐनको दफा १५(१) बमोजिम सजाय गरिपाउँ भन्ने अभियोग मागदाबी रहेकोमा पुनरावेदन अदालत पाटनबाट प्रतिवादीलाई रू.५,०००।- जरिवाना हुने गरी भएको मिति २०६९।१२।१८ को फैसलाउपर प्रतिवादीको तर्फबाट यस अदालतमा पुनरावेदन पर्न आएको देखियो ।
उल्लिखित तथ्य, पुनरावेदन जिकिर तथा वादीका तर्फबाट प्रस्तुत हुन आएको बहससमेतको सन्दर्भमा पुनरावेदन अदालत पाटनको फैसला मिलेको छ छैन ? र प्रतिवादीको प्रस्तुत पुनरावेदन जिकिर पुग्न सक्ने हो होइन ? भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने देखियो ।
२. प्रतिवादी मन्दिरादेवी धुजु श्रेष्ठले पेस हुन आएको चेक मैले जारी गरेको होइन भन्ने जिकिर लिए पनि उक्त चेकको हस्ताक्षर आफ्नो नै रहेको स्वीकार गरेको देखिन्छ । जाहेरवालाले निज प्रतिवादीले ठगी गर्ने मनसायले पहिले चेक रोक्का राखी मलाई चेक जारी गरेको रहेछ भनी दिएको जाहेरी बेहोरा तथा जाहेरी बेहोरालाई समर्थन गर्ने गरी भएको कृष्णबहादुर खड्काको घटना विवरण कागजलाई हेर्दा प्रतिवादीले चेक रोक्काको निवेदन दिएको देखिए तापनि चेक हराएको वा रोक्का निवेदन दिएपश्चात् चेक जारी गरिएको भन्ने विषय विवादित नै रहेको देखिन्छ ।
३. चेक भुक्तानी नभई फिर्ता भएको सम्बन्धमा तत्काल प्रचलनमा रहेको कानूनी प्रावधानलाई हेर्दा बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को ३(ग) ले आफूले काटेको चेकलाई खाम्ने रकम आफ्नो खातामा नभएको जानी जानी चेक काटी भुक्तानी लिने वा दिने कार्य गर्न नहुने भन्ने व्यवस्था निर्दिष्ट गरेको छ । उक्त कानूनी प्रावधानबमोजिम कसुर हुन जानी जानी चेक जारी गरिएको हुनुपर्छ र सोहीबमोजिम भुक्तानी लिने र दिने कार्य भएको हुनुपर्ने देखिन्छ । उक्त प्रावधानको “जानी जानी” शब्दले व्यक्तिको मनसायलाई निर्दिष्ट गर्दछ । खातामा चेकमा उल्लेख गरिएबमोजिम पर्याप्त रकम नभएको भन्ने चेक जारी गर्ने व्यक्तिलाई चेक जारी गर्ने बेलामा थाहा जानकारी भएको र उक्त तथ्य थाहा हुँदाहुँदै निजले दोस्रो व्यक्तिलाई रकम उल्लेख गरी चेक जारी गरेको हो भने त्यस्तो कार्य जानी जानी गरेको मान्नु पर्ने हुन्छ । वस्तुतः चेक जारी गरिने तर चेक भुक्तानी हुन नसक्ने अवस्थाको पूर्वजानकारीसहित चेक काट्ने तथा त्यसको आधारमा भुक्तानी लिने दिने कार्यले नै कसुरलाई स्थापित गर्ने नगर्ने सम्बन्धमा भूमिका खेल्दछ ।
४. उपर्युक्त दफा ३ (ग) मा उल्लेख भएको बैंकिङ कसुर हुनको लागि आफ्नो खातामा पर्याप्त रकम छैन भन्ने जानकारी हुँदाहुँदै चेक काटिएको हुनुपर्ने र चेकमा उल्लिखित रकम निजको खातामा मौज्दात नभएपनि उक्त चेकअनुसारको रकमको भुक्तानी लिएको दिएकोसमेत हुनुपर्ने अवस्था रहेबाट चेक काटिएको रकमको भुक्तानी लिँदा दिँदा बैंकका कर्मचारीसमेत संलग्न हुने हुँदा बैंकका कर्मचारी संलग्न नभएको अवस्थामा एकतर्फी चेक काटिएको आधारमा मात्र बैंकिङ कसुर हुन सक्ने देखिँदैन भनी ने.का.प. २०७५, अंक ११, नि.नं. १०१३७, पृ.२०७९ मा प्रकाशित बैंकिङ कसुर र सजाय ऐन, २०६४ को दफा ३(ग) को व्याख्याले यही अवधारणालाई अंगीकृत गरेको छ । उक्त व्याख्याबमोजिम आफ्नो खातामा पर्याप्त रकम छैन भन्ने जानकारी हुँदाहुँदै चेक काटिएको हुनुपर्ने, सोहीबमोजिम चेकको भुक्तानी लिनु दिनु भएको हुनुपर्ने देखिन्छ, यस्तो भुक्तानी लिँदा दिँदा बैंकका कर्मचारीको संलग्नताविना हुन नसक्ने भएकोले त्यसरी भुक्तानी लिएको अवस्थामा मात्र बैंकिङ कसुर हुन सक्ने कानूनी व्यवस्था देखिन्छ ।
५. प्रस्तुत मुद्दाका अन्य पाटाहरूलाई केलाउँदा सूर्यप्रसाद न्यौपानेको जाहेरी परेपछि काठमाडौं जिल्ला अदालतमा नेपाल सरकारको तर्फबाट ठगी मुद्दा चलाइएको र सोही विषयमै बैंकिङ कसुरतर्फ पुनरावेदन अदालत पाटनमा मुद्दा दायर गरेको देखिन्छ । काठमाडौं जिल्ला अदालतबाट मिति २०७०।१२।३० मा सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ को दफा २७ बमोजिम उक्त मुद्दा चेक अनादर मुद्दामा परिणत हुने ठहरी फैसला भएको देखिन्छ । यसबाट प्रस्तुत मुद्दाका जाहेरवालाले एकै विषयमा दुईवटा मुद्दा चलाउन अग्रसर भएको र अभियोजन पक्षले पनि एकै विषयमा दुई अदालतमा मुद्दा दायर गरेको पाइयो । अभियोजन पक्षले यस विषयमा सदनियतले काम गरेको अनुभूति हुँदैन । कुन मुद्दा कहाँ चल्ने वा नचल्ने भन्ने ज्ञान राख्नु अनुसन्धानकर्ता र अभियोजन पक्षबाट अपेक्षित हुन्छ ।
६. यसरी एउटै विषयवस्तुमा दुईतर्फ मुद्दा चल्न सक्ने नसक्ने विषयमा हेर्दा एउटा कार्यले एकभन्दा बढी कसुर कायम हुन सक्ने कानूनी व्यवस्था भएको स्थितिमा बाहेक एउटा कार्यको एउटै कसुर हुने हुन्छ । एउटा कसुरमा एउटा अदालतमा मुद्दा चलेपछि सोही कसुरका सम्बन्धमा अर्को अदालतमा मुद्दा चल्न सक्दैन र यदि मुद्दा चलेमा अभियुक्तलाई दुई पटक खतरामा पारेको मानिने भई फौजदारी न्यायको सर्वमान्य सिद्धान्त दोहोरो खतराको सिद्धान्त (Principle of double jeopardy) को विपरीत समेत हुन जान्छ । कसैले कुनै व्यक्तिलाई रकम उल्लेख गरी चेक काटी दिएमा र उक्त चेकको रकम खाम्ने गरी खातामा पर्याप्त रकम नभएको अवस्थामा चेक फिर्ता भएको विषय एकै पटक ठगी र बैंकिङ कसुर दुईवटा कसुर हुन सक्ने देखिँदैन । मुलुकी ऐन, ठगीको महल र बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ समेतले एकै विषयमा दोहोरो कसुर कायम गरेकोसमेत देखिँदैन । अतः जाहेरवालाले लिएको जिकिरका सम्बन्धमा काठमाडौं जिल्ला अदालतमा ठगी मुद्दासमेत दायर भई चेक अनादरतर्फ परिणत भइसकेको तथा चेक अनादर मुद्दाबाट न्याय निरूपण हुने नै हुँदा बैंकिङ कसुरतर्फ कसुर कायम गरी प्रतिवादीलाई सजाय हुने गरी भएको पुनरावेदन अदालत पाटनको मिति २०६९।१२।१८ को फैसला मिलेको देखिन नआएकोले फैसला उल्टी भई प्रतिवादीले सफाइ पाउने ठहर्छ ।
तपसिल खण्ड
प्रतिवादीले मिति २०६९।१०।४ मा र.नं. ५०९ बाट पुनरावेदन अदालत पाटनमा राखेको धरौटी रू.५,०००।- (पाँच हजार) निजले नियमानुसार फिर्ता माग्न आएमा फिर्ता गरिदिनु भनी उच्च अदालत पाटनमा लेखी पठाउनू .....................................१
प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल अभिलेख शाखामा बुझाई दिनू ...........................१
उक्त रायमा सहमत छु ।
न्या. दीपककुमार कार्की
इजलास अधिकृत : महेन्द्रप्रसाद पौड्याल
इति संवत् २०७६ जेठ २७ गते रोज २ शुभम् ।