शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १०२४२ - मानव बेचबिखन तथा ओसारपसार

भाग: ६१ साल: २०७६ महिना: श्रावण अंक:

प्रस्तुत मुद्दामा गोपनीयताको लागि पीडित र परिवारको सदस्यको नाममा ................. राखिएको छ ।

                                               - सम्पादक

 

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री दीपककुमार कार्की

माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान

 फैसला मिति : २०७५।११।२६

 

मुद्दा: मानव बेचबिखन तथा ओसारपसार

 

०७२-CR-१०५१

पुनरावेदक / प्रतिवादी : नुवाकोट जिल्ला शिखरबेसी गा.वि.स. वडा नं.३ घर भई हाल कारागार कार्यालय नुवाकोटमा रहेको वसन्त परियार

विरूद्ध

विपक्षी / वादी : भैरवबहादुरको जाहेरीले नेपाल सरकार

 

०७२-CR-१९२४

पुनरावेदक / प्रतिवादी : नुवाकोट जिल्ला शिखरबेसी गा.वि.स. वडा नं.३ घर भई हाल कारागार कार्यालय रसुवामा थुनामा रहेको कान्छा भन्ने रवि नेपाली

विरूद्ध

विपक्षी / वादी : भैरवबहादुरको जाहेरीले नेपाल सरकार 

 

०७२-CR-१९३१

पुनरावेदक / प्रतिवादी : नुवाकोट जिल्ला उर्लेनी गा.वि.स. वडा नं. ९ घर भई हाल कारागार कार्यालय जगन्नाथदेवल काठमाडौंमा थुनामा रहेको मनोज परियार

विरूद्ध

विपक्षी / वादी : भैरवबहादुरको जाहेरीले नेपाल सरकार

 

प्रतिवादीले वारदातको समयमा आफू घटनास्थलमा नभई अन्यत्र छु भनी alibi को जिकिर लिन्छ भने सो जिकिरलाई प्रमाणित गर्ने भार पनि निज अभियुक्तउपर नै रहन्छ । त्यस्तो alibi को जिकिर तथ्यपरक, निश्चयात्मक तथा लिखित प्रमाणबाट समर्थित हुनसके मात्र सो जिकिर लिने व्यक्तिको पक्षमा प्रमाणयोग्य हुनसक्ने हुन्छ र सो जिकिर त्यस्तो निर्विवाद र तथ्यपरक प्रमाणबाट स्थापित हुन नसके त्यस्तो जिकिर लिने व्यक्तिको विरूद्ध नै प्रमाण लाग्ने ।

(प्रकरण नं.७)

 

पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान्  अधिवक्ताहरू श्री राजन अधिकारी र श्री भिमप्रसाद ढकाल

विपक्षी / वादीका तर्फबाट : 

अवलम्बित नजिर :

ने.का.प.२०६९, अंक १०, नि.नं.९०६४

सम्बद्ध कानून :

प्रमाण ऐन, २०३१

मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४

सुरू फैसला गर्ने :

मा. जिल्ला न्या. श्री किरणप्रसाद शिवाकोटी

नुवाकोट जिल्ला अदालत

पुनरावेदन तहमा फैसला गर्ने:

माननीय न्यायाधीश श्री मोहनबहादुर कार्की

माननीय न्यायाधीश श्री मनोजकुमार शर्मा

पुनरावेदन अदालत पाटन

 

फैसला

न्या.दीपककुमार कार्की : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छ:

नुवाकोट जिल्ला, नर्जामण्डप गा.वि.स. वडा नं.७ घर भई हाल नुवाकोट जिल्ला, थानसिङ गा.वि.स वडा नं.८ माइतीघरमा बस्दै आएकी मेरी बहिनी अं. वर्ष २७ की .............. र निजको छोरी तथा मेरा भान्जीहरू .............. र ..............समेत जना ३ लाई ललाई फकाई आर्थिक प्रलोभनमा पारी प्रतिवादीहरू मनोज परियार, कान्छा भन्‍ने रवि नेपाली र वसन्त परियारसमेत एकआपसमा मिली मिति २०६८।१२।१२ गते आफू बसेको स्थानबाट भारतमा लगी बिक्री गरेका हुँदा निज प्रतिवादीहरूलाई पक्राउ गरी कानूनबमोजिम कारबाही गरिपाउँ भन्‍ने पीडितको सहोदर दाजु भैरवबहादुर नेपालीको जाहेरी दरखास्त । 

मिति २०६९।०५।१६ गते (1st Sep 2012) राति २२:५६ बजेको समयमा ९१९६५४३६८४१९ नम्बरको भारतीय मोबाइलबाट पीडितकी दिदी नाता पर्ने सरस्वती नेपालीले प्रयोग गर्ने गरेको ९८०३९७९८२५ नम्बरको मोबाइलमा भएको कुराकानीको कल विवरण ।

प्रतिवादीहरू वसन्त परियार र रवि नेपाली मेरा पहिलेदेखिका चिनजानका साथी हुन् । मिति २०६८ साल चैत्र महिनामा वसन्त परियारसँग कुराकानी हुँदा निजले गाउँमा कोही केटी भएमा भारतमा लगी बिक्री गर्ने कुरा बताएका थिए । मिति २०६८।१२।१० गते म र वसन्त परियार पीडित .............. को माइती घरमा गयौं र पीडितलाई भारत लगी राम्रो काममा लगाइदिने भनी ललाई फकाई गरेका हौं । मिति २०६८।१२।१२ गते नुवाकोटको रानीपौवा भन्‍ने स्थानमा वसन्त परियार, कान्छा भन्‍ने रवि नेपाली र .............. तथा निजका छोरीहरूसँग भेटी त्यहाँबाट एउटै गाडीमा गएमा मानिसहरूले शंका गर्छन् भनी हामीहरू छुट्टाछुट्टै बसबाट काठमाडौं 

गयौं । सोको भोलिपल्ट अर्थात् मिति २०६८।१२।१३ गते  हामीहरू सबैजना बसपार्कबाट महेन्द्रनगर जाने बसमा चढी अर्को दिन मिति २०६८।१२।१४ गते महेन्द्रनगरको होटलमा बसी भोलिपल्ट अं.१६:०० बजेतिर भारतको दिल्ली जाने गाडीमा चढी दिल्ली गएका थियौं । दिल्लीमा ..............का बच्चाहरूलाई सिमला नाम गरेको एक जना महिलाको घरमा पुर्‍याएपछि सिमला र वसन्तबिच खासखुस कुराकानी भयो । त्यसपछि वसन्तले काम भयो, अब हामी जाउँ भनी हामीलाई दिल्लीको बसपार्कनजिक आनन्द बिहार भन्‍ने ठाउँमा लगी ..............लाई बिक्री गरेबापत भा.रू. १०,०००।- लिएको छु भनी वसन्तले मलाई र कान्छा भन्‍ने रविलाई रू.२,५००।- का दरले रकम 

दिए । उक्त रकम म र मेरो साथी भारतबाट फर्कँदा सकियो । निज पीडित र पीडितका बच्चाहरूलाई मसमेतले भारतसम्म पुर्‍याई निजलाई बेचबिखन गरेका हौं भन्‍ने बेहोराको प्रतिवादी मनोज परियारले अनुसन्धान अधिकारीसमक्ष गरिदिएको बयान । 

मलाई मिति २०६८।१२।११ गते अं.१४:०० बजेको समयमा मेरो साथी वसन्त परियारले फोन गरी आफू र मनोज परियार पीडितको माइतीघरमा गएका थियौं । अर्को दिन मिति २०६८।१२।१२ गते निज पीडितसँग नुवाकोटको रानीपौवामा भेटघाट गरी हामीहरू सँगै काठमाडौं जाने कुराकानी भएको छ, तिमी पनि जानुपर्छ भनी मलाई बताए । वसन्तले भनेबमोजिम २०६८।१२।१२ गते बिहान रानीपौवा बजारमा जाँदा वसन्त र .............. निजका स-साना छोरीहरू र मनोज परियारसँग भेटघाट 

भयो । हामीहरू एकै गाडीमा गएमा मानिसहरूले शंका गर्छन् भनी वसन्त परियारले बताएपछि हामीहरू छुट्टाछुट्टै गाडीबाट काठमाडौं गयौं । सोको भोलिपल्ट मिति २०६८।१२।१३ गते हामीहरू म, वसन्त, मनोज, पीडित र निजको छोरीहरू महेन्द्रनगर जाने बसमा चढी अर्को दिन २०६८।१२।१४ गते महेन्द्रनगरको होटलमा बस्यौं । सोको भोलिपल्ट अं.१६:०० बजेको समयमा भारतको दिल्ली जाने गाडीमा चढी दिल्ली गएका 

थियौं । उक्त स्थानमा पीडित र पीडितका छोरीहरूसमेतलाई सिमला नाम गरेकी एकजना महिलाको घरमा पुर्‍याएपछि निज महिलासँग वसन्तले खासखुस कुराकानी गरेका थिए । सोको केही समयपश्चात् मेरो सामुन्‍ने वसन्तले निज महिलासँग पैसा लिइसकेँ, अब हामी जाउँ, हाम्रो काम भयो भनी हामीहरूलाई बताए । वसन्तले म र मनोज परियारलाई दिल्लीको बसपार्क नजिक आनन्दबिहार भन्‍ने ठाउँमा लगी पीडित ..............लाई बिक्री गरेको, सिमला भन्‍ने महिलासँग भा.रू.१०,०००।- रकम लिएको छु भनी बताई हामी २ जनालाई रू.२५००।- का दरले रकम दिएका हुन् । उक्त रकम म र मेरो साथी मनोज परियार भारतबाट घर आउँदा सकियो । निज जाहेरवालाकी बहिनी र निजका २ स-साना छोरीहरूलाई मसमेतले भारतसम्म पुर्‍याएर निजलाई बेचबिखन गरेको हो भन्‍ने बेहोराको प्रतिवादी कान्छा भन्‍ने रवि नेपालीले अनुसन्धान अधिकारीसमक्ष गरिदिएको बयान । 

मिति २०६८।१२।१२ गते म काठमाडौंको ठमेलस्थित एभरेष्ट कलेजमा काम गरी बसेको 

थिएँ । उक्त दिन .............. तथा निजका स-साना २ जना छोरीहरू हराएका छन् । काठमाडौं आएका छन् कि छैनन् ? भनी गाउँबाट फोन गरेपछि घटनाबारे थाहा पाएकी हुँ । सोपश्चात् मैले आफन्तहरूसँग बुझ्दा कहीँकतै पनि फेला परेनन् र खोजतलासको लागि प्रहरीमा समेत खबर गरेकी हुँ । पछि आफन्तबाट सुनेअनुसार २०६८।१२।१२ गते मनोज परियार, वसन्त परियार र कान्छा भन्‍ने रवि नेपालीसमेत सँगै हिँडेको देखेको सुनेको हुँदा बुझ्नको लागि मनोज परियारको कोठामा जाँदा नभेटेको हुँदा कहीँकतै मनोज परियारसमेतका मानिसहरूले भवानीलाई नराम्रो गरेका छन् कि भनी बुझ्दै जाने क्रममा मिति २०६९।०५।१६ गते राति सुत्‍ने तरखर गरिरहेको बेलामा विदेशी नम्बर ९१९६५४३६८४१९ बाट मैले प्रयोग गरेको मोबाइल नम्बर ९८०३९७९८२५ मा फोन आयो र कुरा गर्दा टावरमा डिष्टर्ब भएको कारण स्पष्ट सुनिएन तर निजले “म .............. बोलेको हो । मलाई मनोज परियारसमेतका मानिसहरूले भारतमा पुर्‍याएको हो" भन्‍ने कुरा चाहिँ स्पष्ट सुनेको हुँ । हाल .............. हराएको सम्बन्धमा बुझ्दै जाँदा प्रतिवादीहरूसमेतले निज .............. र निजका छोरीहरूलाई ललाई फकाई आर्थिक प्रलोभनमा पारी भारतमा लगी बेचेको भन्‍ने बुझिन आयो । निज प्रतिवादीहरूलाई कानूनबमोजिम कारबाही गर्नुपर्दछ भन्‍नेसमेत बेहोराको बुझिएका मानिसहरू सरस्वती नेपाली र सोही बेहोरासँग मिल्दोजुल्दो राजकुमार नेपाली, राजकुमार परियारसमेतले गरिदिएको एकैमिलानको घटना विवरण कागज । 

मिसिल संलग्न जाहेरी दरखास्तको बेहोरा, मोबाइल नम्बर ९८०३९७९८२५ को कल विवरण, प्रतिवादीहरूको बयान र बुझिएका मानिसहरूले गरिदिएको घटना विवरण कागजसमेतका कागजातहरूको अध्ययनबाट प्रतिवादीहरू मनोज परियार, कान्छा भन्‍ने रवि नेपाली र वसन्त परियारले पीडित .............. र निजका दुईजना छोरीहरूलाई ललाई फकाई आर्थिक प्रलोभनमा पारी भारतसम्म ओसारपसार गरी सिमला तामाङको जिम्मा लगाई बिक्री गरेको पुष्टि हुनआएको हुँदा निज प्रतिवादीहरू मनोज परियार, कान्छा भन्‍ने रवि नेपाली र वसन्त परियारको उक्त कार्य मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ३ र ३(१) विपरीत दफा ३(१), दफा ४(१) को (क) र दफा ४ को (२), दफा ४(२) को (क) अनुसारको कसुर भएकाले निजहरूलाई सोही ऐनको दफा १५(१) को (क)(ङ) तथा ऐ. दफा १५(१)(ङ) को (१) बमोजिम सजाय हुन तथा ऐ. ऐनको दफा १७ बमोजिम प्रतिवादीहरूबाट पीडितहरूलाई क्षतिपूर्ति दिलाई पाउँ भन्‍नेसमेत बेहोराको अभियोग मागदाबी । 

जाहेरी दरखास्तको बेहोरा पढिबाची सुनाउँदा सुनिपाएँ । वसन्त परियार र कान्छा भन्‍ने रवि नेपालीको घर पनि सिखरबेसी हो । वसन्त परियारले म काठमाडौंमा इनार खन्‍ने काम गरिरहेको अवस्थामा आएर ककनी जाउँ भनेपछि दुवै जना ककनी आयौँ र त्यहाँ रविसँग भेट गरी म र वसन्त हराएको भनिएकी केटी भवानीको घरमा गयौं । एकरात त्यहीँ बसी भोलिपल्ट म ससुराली गई श्रीमतीलाई लिई काठमाडौं गएको हो । त्यसपछि मैले वसन्तलाई काठमाडौंमा नै भेटेको हो । केटीलाई वसन्तले ककनीमा बोलाएको रहेछ । म वसन्त र विशाल भन्‍ने दाइ ककनीमा आई म र पीडित, निजका छोरीहरू एउटा गाडीमा काठमाडौं गयौं । वसन्त र रवि अर्को गाडीमा डेढ घण्टापछि काठमाडौं आए । भोलिपल्ट वसन्त परियारले रविसँग रू.८०००।- लियो र वसन्तको सल्लाहबमोजिम बसमा चढी भारत जान भनी महेन्द्रनगर पुगेपछि त्यहीँ बस्यौं र त्यसपछि रिक्सा चढी बोर्डर पार गरेको हो । वनवासा भन्‍ने ठाउँमा पुगेपछि वसन्तले बसको टिकट काट्यो र बसमा चढेपछि आनन्दबिहार भन्‍ने ठाउँमा पुग्यौं । त्यहाँ उसको भाइको होटलमा 

बस्यौं । त्यसदिन म, वसन्त र रवि दिनभरि घुम्न गयौं र त्यसको बेलुकातिर वसन्तले मलाई र रविलाई आकासे पुलमा छाडी भाइको होटलमा जान्छु भनी गए । २०-२५ मिनेटपछि फर्की हामीहरूलाई जनही रू.२५००।- रूपैयाँ दिई एकछिनपछि आउँछु भनी गयो । त्यसपछि वसन्त परियार आउँदै आएन । हामी अलपत्रमा पर्‍यौं र १ जना नेपाली मान्छेले हामीलाई ट्याम्पुमा राखी आनन्द बिहार भन्‍ने ठाउँमा ल्याई बस चढाई पठाएको हो । .............. र निजका छोरीहरूलाई मसमेत भई भारतसम्म सँगै गएको हो र वसन्तको भाइको होटलमा राखेको थियो । त्यहाँबाट कहाँ लग्यो के गर्‍यो थाहा भएन भनी प्रतिवादी मनोज परियारले सुरू अदालतमा गरिदिएको बयान कागज । 

जाहेरी दरखास्तको बेहोरा पढिबाची सुनाउँदा सुनिपाएँ यसमा म ककनीमा ढुङ्गा फुटाउने काम गर्ने गरेको थिएँ । गाउँको छिमेकी वसन्त परियारलाई राम्ररी चिन्दछु । यस्तैमा निजले मलाई मैले विवाह गरी ल्याएको छु, मेरो भाइ भारतमा होटल गरी बसेको छ, त्यहाँ पुग्न पैसा भएन तिमीलाई त्यहाँ भारत पुगेपछि २-४ हजार थपेर दिन्छु भनेकोले चिनेको हुँदा साहुसँग ढुङ्गा फुटाएको रू.८०००।-  मागेर त्यही पैसा वसन्तलाई दिएँ र घुम्न पनि पाइन्छ, पैसा बढी पनि पाइन्छ भनेकाले मैले नचिनेकी आइमाई १ र निजका बच्चाहरू २ जना र वसन्त म र मामाको छोरा मनोजसमेत ककनीबाट काठमाडौं गयौं । काठमाडौंमा एकरात बसी भोलिपल्ट नाइट बसमा इन्डिया गएका 

हौं । त्यहाँ पुगेपछि वसन्तले केटीहरू लिएर कहाँ गयो थाहा भएन पछि उसको भाइको होटेल भन्दथ्यो हो, होइन थाहा छैन । त्यहाँ एकछिन राखी एकछिनपछि निज वसन्त आयो र दिनभरि घुम्न लग्यो । बेलुका आकासे पुलमा हामीलाई छोडी निज वसन्त बेपत्ता भयो, हामी २ जनालाई रू.२५००।- का दरले रूपैयाँ दिएको थियो । सो रूपैयाँले नपुगेर ड्राइभरलाई मैले लगाएको कानको मुन्द्रा बेची घरमा आएको हो मैले पीडितलाई बिक्री गरेको होइन साथीसम्म गएको हो भनी प्रतिवादी रवि परियारले सुरू अदालतसमक्ष गरिदिएको बयान । 

जाहेरी दरखास्तको बेहोरा पढिबाची सुनाउँदा सुनिपाएँ । उक्त समयमा म भारतको पारगञ्‍ज भन्‍ने ठाउँको क्यासिनोमा काम गर्थें । उक्त ठाउँमा मलगायत मेरा भाइबुहारीहरू पनि सँगै काम गर्थे । भारतमा बसी काम गरेको ३ वर्ष भइसकेको थियो । उक्त समयमा म नेपाल आएको थिइनँ । नेपाल फर्की आएको ३-४ महिना मात्र भएको हो । मैले गाउँमा गई केटीहरूलाई फकाई फुलाई गरेको होइन छैन । मनोज परियार र कान्छा भन्‍ने रवि परियार मेरै गाउँका मानिसहरू 

हुन् । मेरो उनीहरूसँग भेटघाट पनि भएको छैन । मैले जाहेरवालाकी बहिनी तथा भाञ्जीहरूलाई विदेशमा लगी बिक्री गरेको होइन छैन । किन त्यस्तो जाहेरी दिए मलाई थाहा छैन भनी वसन्त परियारले सुरू अदालतसमक्ष गरिदिएको बयान । 

मिसिल संलग्न मिति २०६९।०५।१९ को जाहेरी दरखास्तको बेहोरा मैले भनेबमोजिम लेखिएको ठीक हो । लागेको सहिछाप मेरो हो । प्रतिवादीहरूलाई कानूनबमोजिम सजाय हुनुपर्छ भनी जाहेरवाला भैरवबहादुर नेपालीले सुरू अदालतसमक्ष गरिदिएको बकपत्र । 

मिति २०६९।१०।१४ गतेको निवेदन पत्र म आफैँले भनेबमोजिम लेखिएको र त्यसमा लागेको सहिछाप मेरो भएको ठीक साँचो हो । मलाई प्रतिवादीमध्येका मनोज परियारले फकाएका थिए र भारत जाने क्रममा प्रतिवादीमध्येका तीनैजना साथमा थिए । प्रतिवादीहरूलाई कानूनबमोजिम सजाय हुनुपर्छ भनी पीडित ..............ले सुरू अदालतसमक्ष गरिदिएको बकपत्र । 

प्रहरीमा मैले लेखाएको कागजको बेहोरा पढिबाची सुनाउँदा सुनिपाएँ,  बेहोरा मैले भनेबमोजिम लेखिएको ठीक साँचो हो । सहिछाप मेरो हो, प्रतिवादीहरूलाई सजाय हुनुपर्छ भनी बुझिएका राजकुमार नेपाली, सरस्वती दर्जी र राजकुमार परियारसमेतले सुरू अदालतसमक्ष गरिदिएको एकैमिलानको बकपत्र । 

जाहेरी दरखास्तको बेहोरा झुट्टा हो । हालसम्म वसन्तले यस्तो कार्य गरेको नदेखिँदा मानव बेचबिखनको कार्य पनि गरेको होइन । अभियोग मागदाबीबाट छुट्कारा पाउनुपर्छ भनी वसन्त परियारको साक्षी विष्णु दमाईले सुरू अदालतसमक्ष गरिदिएको बकपत्र । 

जाहेरी दरखास्तको बेहोरा झुट्टा हो । रवि नेपाली यस्तो खालको व्यक्ति नभएको हुँदा अभियोग मागदाबीबमोजिम सजाय नभई सफाइ पाउनुपर्ने हो भनी रवि नेपालीको साक्षी कृष्णबहादुर नेपालीले यस अदालतसमक्ष गरिदिएको बकपत्र । 

यी प्रतिवादीहरूले पीडित ..............लाई ललाई फकाई भारतमा लगी बिक्री गरेको पुष्टि भई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ३ (१) विपरीत ऐ. ऐनको दफा ४(१) को (क) र दफा ४(२) को (क) अनुसारको कसुर गरेको देखिएकाले प्रतिवादीहरू मनोज परियार, कान्छा भन्‍ने रवि नेपाली र वसन्त परियार नेपालीलाई सोही ऐनको दफा १५(१)(क) बमोजिम जनही २० (बीस) वर्ष कैद र दुई लाख रूपैयाँ जरिवाना हुने 

ठहर्छ । यी प्रतिवादीहरूले पीडित ..............लाई बेच्ने उद्देश्यले विदेश भारतमा लगेको पुष्टि भएकाले यी प्रतिवादीहरू मनोज परियार, कान्छा भन्‍ने रवि नेपाली र वसन्त परियार नेपालीलाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ४(२)(क) को कसुरमा ऐ. ऐनको दफा १५(१) को (ङ) को (१) बमोजिम जनही १० (दश) वर्ष कैद र पचास हजार रूपैयाँ जरिवाना हुनेसमेत ठहर्छ । यी प्रतिवादीहरूले पीडितलाई बेच्ने उद्देश्यले भारतमा लगेबापत १० (दश) वर्ष कैद हुने ठहरेकोमा पीडितलाई भारतमा लगी बिक्री गरेबापत मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा १५ (१) को (क) बमोजिम बीस वर्ष कैद र दुई लाख जरिवाना हुने ठहरिसकेको हुँदा दण्ड सजायको १० नं. बमोजिम ठूलो सजायमा सानो सजाय हुने खत नखापिने हुँदा पीडितलाई भारतमा बेच्ने उद्देश्यले लगेबापतको सजायतर्फ केही गरिरहनु परेन । यी प्रतिवादीहरूले पीडितलाई ललाई फकाई भारतमा लगी बिक्री गरेको पुष्टि भई सजाय हुने ठहरसमेत भएकाले उल्लिखित ऐनको दफा १७ बमोजिम प्रतिवादीहरूबाट जनही रू.१,२५,०००।- (एक लाख पच्चीस हजार रूपैयाँ) पीडितले क्षतिपूर्ति पाउनेसमेत ठहर्छ भन्‍नेसमेत बेहोराको सुरू नुवाकोट जिल्ला अदालतको मिति २०७०।१२।६ गतेको फैसला ।

जाहेरवाली बहिनी ..............लाई हामीले भारतमा लगी बिक्री गरेको होइन । बिक्री गरी रकम लिएको छैन । हामीले अदालतमा पूर्ण इन्कार रही बयान बेहोरा लेखाएका छौं । भारतबाट सरस्वती नेपालीको मोबाइलमा मिति २०६९।५।१६ गते ०.०० सेकेन्ड कुराकानी भएको भन्‍ने Call Detail हुँदा सो हाम्रो विरूद्ध प्रमाणमा लाग्दैन । अधिकारप्राप्त अधिकारीसमक्षको बयान हामीले भनेबमोजिमको होइन । जाहेरी दरखास्त र जाहेरवालाको बकपत्र एक अर्कामा खण्डित छ । निजले सुनी थाहा पाएको भनी शंकाको भरमा जाहेरी दिएका छन्, पीडितले अदालतमा बयान गर्दा २ जना छोरीहरूलाई पाल्न पर्ने हुँदा आफ्नो इच्छाले नै जि.वि. रोडमा गई वेश्‍यावृत्ति गर्न थालेको भनेको अवस्थामा सोको मूल्याङ्कन नगरी भएको फैसला त्रुटिपूर्ण छ । पीडित आफूखुसी भारतमा गई स्वइच्छाले वेश्यावृत्तिको कार्य गरेकोमा हामीले कुनै फौजदारी दायित्व वहन गर्नुपर्ने होइन । प्रस्तुत मुद्दामा हामीहरूउपर न त आपराधिक मनसाय प्रमाणित भएको छ न त आपराधिक कार्य नै प्रमाणित छ । यसरी बिना आधार प्रमाण हामीलाई फौज्दारी दायित्व बहन गराउने गरी भएको फैसला बदरभागी छ, अतः हामी पुनरावेदक प्रतिवादीहरू बिल्कुल निर्दोष रहेकोमा मिसिल संलग्न प्रमाणलाई गलत रूपमा मूल्याङ्कन गरी अभियोजन पक्षले अभियोग पत्र दायर गरेकै भरमा कसुर गरेको अनुमान गरी ठहर गरिएको नुवाकोट जिल्ला अदालतको फैसला नेपालको अन्तरिम संविधान, २०६३ को धारा २४(५), प्रमाण ऐन, २०३१, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को गम्भीर कानूनी त्रुटि हुनुका अतिरिक्त स.अ.बु. (२०६६) अंक ४ पूर्णाङ्क ४०६ पृ.१८ नेपाल सरकार विरूद्ध कविन्द्र देव सिंहसमेतको मुद्दा कर्तव्य ज्यान, स.अ.बु. (२०६६) अंक ६ पूर्णाङ्क ४०८ पृ.१२ नेपाल सरकार विरूद्ध श्यामचन्द्र खड्का मुद्दा कर्तव्य ज्यान, ने.का.प. (२०४९) नि.नं.४५५३ पृ.५३४, श्री ५ को सरकार विरूद्ध हविव मिया, मुद्दा जिउ मास्ने ने.का.प. (२०५६) नि.नं.६६५६ पृ.४५, श्री ५ को सरकार विरूद्ध सोचिन्द्रप्रसाद यादवसमेत, ने.का.प. (२०६०) नि.नं. ७२८५ पृ.८३९ श्री ५ को सरकार विरूद्ध रामसुन्दर तेलीसमेत मुद्दामा प्रतिपादित सिद्धान्तसमेतको विपरीत हुँदा मुलुकी ऐन, अ.बं. २०२ नं. बमोजिम विपक्षीलाई झिकाई उक्त फैसला उल्टी गरी पूर्ण रूपमा सफाइ पाउँ भन्‍नेसमेत बेहोराको पुनरावेदक प्रतिवादी वसन्त परियार र मनोज परियारको संयुक्त पुनरावेदन पत्र ।

जाहेरवाली बहिनी ..............लाई मैले भारतमा लगी बिक्री गरेको होइन । बिक्री गरी रकम लिएको छैन । मैले अदालतमा पूर्ण इन्कार रही बयान बेहोरा लेखाएको छु । मेरो साक्षीले सो कुरालाई पुष्टि गराएका छन् । भारतबाट सरस्वती नेपालीको मोबाइलमा मिति २०६९।५।१६ मा ०.०० सेकेन्ड कुराकानी भएको भन्‍ने Call Detail हुँदा सो मेरो विरूद्ध प्रमाणमा लाग्दैन । अधिकारप्राप्त अधिकारीसमक्षको बयान मैले भनेबमोजिमको होइन जाहेरी दरखास्त र जाहेरवालाको बकपत्र एक अर्कामा खण्डित छ । निजले सुनी थाहा पाएको भनी शंकाको भरमा जाहेरी दिएका छन्, पीडितले अदालतमा बयान गर्दा २ जना छोरीहरूलाई पाल्न पर्ने हुँदा आफ्नो इच्छाले नै जि.वि. रोडमा गई वेश्‍यावृत्ति गर्न थालेको भनेको अवस्थामा सोको मूल्याङ्कन नगरी भएको फैसला त्रुटिपूर्ण छ । पीडित आफूखुसी भारतमा गई स्वइच्छाले वेश्यावृत्तिको कार्य गरेकोमा मैले कुनै फौजदारी दायित्व वहन गर्नुपर्ने होइन । प्रस्तुत मुद्दामा मउपर न त आपराधिक मनसाय प्रमाणित भएको छ । न त आपराधिक कार्य नै प्रमाणित भएको छ । यसरी बिना आधार प्रमाण मलाई फौज्दारी दायित्व बहन गराउने गरी भएको फैसला बदरभागी छ । म पुनरावेदक प्रतिवादी बिल्कुल निर्दोष रहेको मिसिल संलग्न प्रमाणलाई गलत रूपमा मूल्याङ्कन गरी अभियोजन पक्षले अभियोग पत्र दायर गरेकै भरमा कसुर गरेको अनुमान गरी ठहर गरिएको नुवाकोट जिल्ला अदालतको फैसला नेपालको अन्तरिम संविधान, २०६३ को धारा २४(५), प्रमाण ऐन, २०३१, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को गम्भीर कानूनी त्रुटि हुनुका अतिरिक्त स.अ.बु. (२०६६) अंक ४ पूर्णाङ्क ४०६ पृ.१८ नेपाल सरकार विरूद्ध कविन्द्र देव सिंहसमेत मुद्दा कर्तव्य ज्यान, स.अ.बु. (२०६६) अंक ६ पूर्णाङ्क ४०८ पृ.१२ नेपाल सरकार विरूद्ध श्यामचन्द्र खड्का मुद्दा कर्तव्य ज्यान, ने.का.प. (२०४९) नि.नं.४५५३ पृ.५३४ श्री ५ को सरकार विरूद्ध हविव मिया मुद्दा जिउ मास्ने ने.का.प. (२०५६) नि.नं.६६५६ पृ.४५ श्री ५ को सरकार विरूद्ध सोचिन्द्रप्रसाद यादवसमेत, ने.का.प. (२०६०) नि.नं. ७२८५ पृ.८३९ श्री ५ को सरकार विरूद्ध रामसुन्दर तेलीसमेत मुद्दामा प्रतिपादित सिद्धान्तसमेतले विपरीत हुँदा मुलुकी ऐन, अ.बं. २०२ नं. बमोजिम विपक्षीलाई झिकाई उक्त फैसला उल्टी गरी पूर्ण रूपमा सफाइ पाउँ भन्‍नेसमेत पुनरावेदक प्रतिवादी कान्छा भन्‍ने रवि नेपालीको पुनरावेदन पत्र ।

यसमा पीडित ..............ले बकपत्र गर्दा दिल्लीमा बिक्री गरेको भन्‍न नसकी दिल्लीमा आफ्नो स्वइच्छाले बालबच्चा पाल्नु पर्ने हुँदा काम गरेको हो भनी उल्लेख गराएको परिप्रेक्ष्य्यमा सुरू नुवाकोट जिल्ला अदालतको फैसला प्रमाण मूल्याङ्कनको रोहमा फरक पर्न सक्ने देखिँदा छलफलको लागि अ.बं.२०२ नं. प्रयोजनार्थ प्रस्तुत मुद्दाको पेसीको जानकारी पुनरावेदन सरकारी वकिल कार्यालय पाटनलाई दिई नियमानुसार पेस गर्नु भन्‍ने पुनरावेदन अदालत पाटनको मिति २०७१।९।२२ को आदेश ।

यी प्रतिवादीहरूलाई जनही २० (बीस) वर्ष कैद र रू.२,००,०००।- (दुई लाख) रूपैयाँ जरिवाना हुने साथै प्रतिवादीहरूबाट जनही रू.१,२५,०००।- (एक लाख पच्चीस हजार) रूपैयाँ पीडितले क्षतिपूर्ति पाउनेसमेत ठहर गरी सुरू नुवाकोट जिल्ला अदालतबाट मिति २०७०।१२।६ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक प्रतिवादीहरूको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने पुनरावेदन अदालत पाटनबाट मिति २०७१।१२।१७ मा भएको फैसला ।

म पुनरावेदकले जाहेरवालाकी बहिनी ..............लाई भारतमा लगी बिक्री गरेको होइन । बिक्री गरी रकम लिएको पनि होइन भनी मैले सम्मानित नुवाकोट जिल्ला अदालतसमक्ष इन्कारी बयान गरेकै छु । अधिकारप्राप्त अधिकारीसमक्षको बयान बेहोरा प्रहरीले मलाई आफ्नो कब्जामा राखी मैले नभनेको कुरा लेखाई जबरजस्ती सही गर्न लगाएको हुँदा उक्त बयान बेहोरालाई प्रमाणमा लिनै नमिल्नेमा प्रमाणमा लिई गरेको फैसला यसै आधारमा पनि आत्मनिष्ठ छ वस्तुनिष्ठ छैन । त्यसैले उक्त फैसला बदर गरी आरोपित कसुरबाट सफाइ पाऊँ । जाहेरवालाको जाहेरी र जाहेरवालाको बकपत्र एक अर्कामा खण्डित भएको अवस्था छ किनकि जाहेरवालाले जाहेरी दिँदा सुनी थाहा पाएको भनी जाहेरी दिएका छन्‌ भने पीडितले अदालतमा बयान गर्दा ठिक जाहेरी दरखास्तको बेहोरालाई खण्डन हुने गरी ३ जना छोरीहरूलाई पाल्नु पर्ने हुँदा आफ्नो स्वइच्छाले नै जि.वि. रोडमा गई आफूखुसी वेश्यावृत्ति गर्न थालेको हो भनी स्पष्ट र किटानीसाथ बयान गरेको हुँदा जाहेरवालाको प्रमाणित कागजलाई फैसला गर्दा सो कुराको कुनै विवेचना नै गरिएको अवस्था छैन । केबल गोश्वाराको रूपमा परेको जाहेरी दरखास्तलाई मात्र मुख्य आधार मानी भएको फैसला आत्मनिष्ठ छ, वस्तुनिष्ठ छैन । मउपर अभियोग मात्र लागेको छ तर त्यो अभियोगसिद्ध हुने प्रमाण अभियोजन पक्षले गुजार्न सकेको अवस्था नै छैन किनकि न त यस मुद्दामा मेरो मनसाय नै प्रमाणित भएको छ । न त आपराधिक कार्य नै प्रमाणित छ । यसरी बिना आधार प्रमाण मलाई जघन्य फौजदारी दायित्व बहन गराउने गरी भएको नुवाकोट जिल्ला अदालतको फैसलालाई सदर गर्ने गरेको पुनरावेदन अदालत पाटनको फैसला पटक्कै सत्यतामा आधारित छैन । केबल गोश्वाराका रूपमा दायर भएको अभियोग पत्र जुन अभियोगसिद्ध हुने खालका कुनै पनि प्रमाणको अभाव छ भने अर्कोतर्फ मेरा तर्फबाट बकपत्र गर्नेसमेतले यस कसुरमा मेरो कुनै पनि संलग्नता छैन भनी बकपत्र गरेका छन् भने मौकामा बुझिएका तथा घटना विवरणका व्यक्तिहरूसमेतले मैले आरोपित कसुर गरेको कुरामा मौन रही कागज गरेका आदि इत्यादि प्रमाणहरूबाट पनि मेरो यस कसुरमा कुनै पनि संलग्नता नहुँदा नहुँदैको अवस्था मिसिलबाट देख्दादेख्दै पनि पूर्वाग्रही ढङ्गबाट न्यायिक सन्तुलन नै बिग्रने गरी सुरू नुवाकोट जिल्ला अदालतबाट मलाई २० वर्ष कैद तथा रू.२,००,०००।- जरिवाना हुने ठहरी भएका फैसलालाई सदर गर्ने गरी पुनरावेदन अदालत पाटनबाट भएको फैसला प्रचलित कानूनको विपरीत हुन गएबाट उक्त फैसलाहरू बदर गरी मलाई आरोपित कसुरबाट सफाइ दिलाई पाउँ भन्ने वसन्त परियारको पुनरावेदन पत्र ।

म पुनरावेदक प्रतिवादीलाई पुनरावेदन अदालत पाटनबाट कसुरदार ठहर हुनेगरी मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ३ र ४ बमोजिमको कसुर हुनका लागि सो अपराधको आपराधिक कार्य र आपराधिक मनसायको स्थापना हुनुपर्दछ । यी दुवै तत्त्वमध्ये कुनै एकको अभावमा वा दुवैको अभाव भएमा कसुर कायम एवम् ठहर गर्न मिल्दैन । निज पीडित आफूखुसी भारत गई बसेको हुँदा ममाथि लगाइएको आरोप झुट्ठा 

हो । फैसलाले ठहर गरेको कसुर अपराधलाई प्रमाण कागजातहरूले स्वतन्त्र र वस्तुनिष्ठ तवरले पुष्टि गर्न सकेको छैन । अदालत स्वयम् वादी भई भावनात्मक एवं काल्पनिक रूपमा कसुर सजाय ठहर हुनेगरी गरेको उक्त फैसला फौजदारी न्यायको सर्वमान्य सिद्धान्तको रायमा रहेको आपराधिक कार्य विना अपराध नहुने भन्ने सिद्धान्तसमेतले विपरीत रहेको छ । मिसिल संलग्न प्रमाण कागजातबाट अभियोग दाबी झुट्टा भएको प्रमाणित हुन्छ । त्यस्तै नुवाकोट जिल्ला अदालतले गरेको फैसलालाई सदर कायम गरी पु.वे.अ. पाटनले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को कसुर गरेको भनी कसुरदार ठहर हुने गरी भएको फैसलामा गम्भीर त्रुटि र सर्वोच्च अदालतबाट प्रतिपादित नजिर सिद्धान्तसमेतको विपरीत हुने गरी गरेको उक्त फैसला बदरभागी छ । बदर गरी पूर्ण रूपमा सफाइ पाऊँ । म पुनरावदेक प्रतिवादी बिल्कुल निर्दोष रहेको मिसिल संलग्न प्रमाणलाई गलत रूपमा मूल्याङ्कन गरी अभियोजन पक्षले अभियोग पत्र दायर गरेकै भरमा कसुर गरेको अनुमान गरी ठहर गरिएको पुनरावेदन अदालत पाटनको फैसला नेपालको संविधान, २०७२ को धारा २०(५), प्रमाण ऐन, २०३१, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को गम्भीर कानूनी त्रुटि हुनुका अतिरिक्त सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तसमेतको विपरीत एवम् त्रुटिपूर्ण हुँदा मुलुकी ऐन, अ.बं. २०२ नं. बमोजिम विपक्षी झिकाई फैसला उल्टी गरी पूर्ण रूपमा सफाइ पाउँ भन्ने रवि नेपालीको पुनरावेदन पत्र ।

म पुनरावेदक प्रतिवादीलाई पुनरावेदन अदालत पाटनबाट कसुरदार ठहर हुने गरी मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ३ र ४ बमोजिमको कसुर हुनका लागि सो अपराधको आपराधिक कार्य र आपराधिक मनसायको स्थापना हुनुपर्दछ । यी दुवै तत्त्वमध्ये कुनै एकको अभावमा वा दुवैको अभाव भएमा कसुर कायम एवं ठहर गर्न मिल्दैन । निज पीडित आफूखुसी भारत गई बसेको हुँदा ममाथि लगाइएको आरोप झुट्ठा हो । उक्त फैसलाले ठहर गरेको कसुर अपराधलाई प्रमाण कागजातहरूले स्वतन्त्र र वस्तुनिष्ठ तवरले पुष्टि गर्न सकेको छैन । मिसिल संलग्न प्रमाण कागजातबाट अभियोग दाबी झुट्ठा भएको प्रमाणित हुन्छ । त्यस्तै पुनरावेदन अदालत पाटनले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को कसुर गरेको भनी कसुरदार ठहर हुने गरी भएको फैसलामा गम्भीर त्रुटि र सर्वोच्च अदालतबाट प्रतिपादित नजिर सिद्धान्तसमेतले विपरीत रहेको छ । दाबीबमोजिम बेचबिखन गरेको भए कहाँ के कसरी बेचबिखन गरिएको हो भन्ने तथ्यको अनुसन्धान गरी भारत विदेशमा अन्य कोही व्यक्तिले लगेको भए के कसरी लगी बेचबिखन गरेको भन्ने प्रमाण जुटाउने कोसिस वादी पक्षतर्फबाट नगरी केबल जाहेरी बेहोरालाई मात्र आधार मानी मानव बेचबिखन गरेको तथा ओसारपसार गरेको भनी अनुमान र शंकाको आधारमा मात्र अभियोग दायर गरेको देखिन आएबाट केबल शंकाको भरमा मात्र अभियोग ठहर गर्न नमिल्ने भनी स.अ.बु. (२०६७) चैत्र १६-३० पूर्णाङ्क ४५० पृ. १५ नेपाल सरकार विरूद्ध गोपाल मिश्र मुद्दा मानव बेचबिखन तथा ओसारपसार मुद्दामा प्रतिपादित सिद्धान्तसमेतले विपरीत हुने गरी गरेको उक्त फैसला बदरभागी छ । बदर गरी पूर्ण रूपमा सफाइ पाऊँ । अत: म पुनरावदेक प्रतिवादी बिल्कुल निर्दोष रहेको मिसिल संलग्न प्रमाणलाई गलत रूपमा मूल्याङ्कन गरी अभियोजन पक्षले अभियोग पत्र दायर गरेकै भरमा कसुर  गरेको अनुमान गरी ठहर गरिएको पुनरावेदन अदालत पाटनको फैसला नेपालको संविधानको धारा २०(५),  प्रमाण ऐन, २०३१, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को गम्भीर कानूनी त्रुटि हुनुका अतिरिक्त सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तसमेत विपरीत हुँदा मुलुकी ऐन, अ.बं. २०२ नं. बमोजिम विपक्षीलाई झिकाई उक्त फैसला उल्टी गरी पूर्ण रूपमा सफाइ पाउँ भन्ने मनोज परियारको पुनरावेदनपत्र ।

नियमबमोजिम आजको पेसी सूचीमा चढी इजलाससमक्ष निर्णयार्थ पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक रवि नेपालीका तर्फबाट उपस्थित हुनुभएका विद्वान् अधिवक्ता श्री राजन अधिकारीले र पुनरावेदक वसन्त परियारका तर्फबाट उपस्थित हुनुभएका विद्वान् अधिवक्ता श्री भिमप्रसाद ढकालले कसुरमा मेरो पक्षको कुनै संलग्नता नभएको पुष्टि भइरहेको अवस्थामा सुरू जिल्ला अदालतबाट सोतर्फ विचार नै नगरी केबल शंकाको भरमा मात्र अभियोग ठहर गरी मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ३ (१) विपरीत ऐजन ऐनको दफा ४(१) को (क) र दफा ४(२) को (क) अनुसारको कसुरमा सोही ऐनको दफा १५(१)(क) बमोजिम २० (बीस) वर्ष कैद र दुई लाख रूपैयाँ जरिवाना हुने ठहर्‍याई भएको सुरू जिल्ला अदालतको फैसला सदर हुने ठहर्‍याई भएको पुनरावेदन अदालत पाटनको फैसला उल्टी गरी पूर्ण रूपमा अभियोग दाबीबाट सफाइ पाउँ भनी गर्नुभएको बहससमेत सुनियो ।

विद्वान् अधिवक्ताहरूको बहस बुँदालाई मध्यनजर गरी मिसिल संलग्न कागज प्रमाणको अध्ययन गरी हेर्दा पुनरावेदन अदालत पाटनको फैसला मिले नमिलेको के रहेछ ? पुनरावेदक प्रतिवादीहरूको पुनरावेदन जिकिर पुग्न सक्छ सक्दैन ? भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने देखियो ।

२. निर्णयतर्फ विचार गर्दा प्रतिवादीहरू मनोज परियार, कान्छा भन्‍ने रवि नेपाली र वसन्त परियारले पीडित .............. र निजका दुईजना छोरीहरूलाई ललाई फकाई आर्थिक प्रलोभनमा पारी भारतसम्म ओसारपसार गरी सिमला तामाङको जिम्मा लगाई बिक्री गरेको पुष्टि हुन आएको हुँदा निज प्रतिवादीहरू मनोज परियार, कान्छा भन्‍ने रवि नेपाली र वसन्त परियारको उक्त कार्य मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ३ र ३(१) विपरीत दफा ३(१) दफा ४(१) को (क) र ४(२) को (क) अनुसारको कसुर भएकाले निजहरूलाई सोही ऐनको दफा १५(१) को (क)(ङ) तथा ऐ. दफा १५(१)(ङ) को (१) बमोजिम सजाय हुन तथा ऐ. ऐनको दफा १७ बमोजिम प्रतिवादीहरूबाट पीडितहरूलाई क्षतिपूर्ति दिलाई पाउँ भन्‍ने अभियोग पत्र दायर भएकोमा सुरू अदालतबाट मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ३ विपरीत दफा ४ (१)क र ४(२) क को कसुर अपराधमा ऐ. ऐनको दफा १५ को उपदफा (१) को खण्ड (क) बमोजिम प्रतिवादीलाई २० (बीस) वर्ष कैद र दुई लाख रूपैयाँ जरिवाना हुने र ऐजन ऐनको दफा १७ बमोजिम प्रतिवादीहरूबाट जनही रू.१,२५,०००।- (एक लाख पच्चीस हजार रूपैयाँ) पीडितले क्षतिपूर्ति पाउने ठहर्‍याई भएको सुरू जिल्ला अदालतको फैसलामा चित्त नबुझाई प्रतिवादीहरूको पुनरावेदन परेको देखिन्छ । कसुरमा कुनै संलग्नता नभएको पुष्टि भइरहेको अवस्थामा सुरू जिल्ला अदालतबाट सोतर्फ विचार नै नगरी प्रतिवादी बिल्कुल निर्दोष रहेको मिसिल संलग्न प्रमाणलाई गलत रूपमा मूल्याङ्कन गरी केबल शंकाको भरमा मात्र कसुर ठहर गरी सुरू जिल्ला अदालतबाट भएको फैसला सदर हुने ठहरी भएको पुनरावेदन अदालत पाटनको फैसलामा चित्त नबुझाई उक्त फैसला उल्टी गरी अभियोग दाबीबाट सफाइ पाउँ भनी प्रतिवादीहरूको छुट्टाछुट्टै पुनरावेदन परेको देखियो ।

३. नुवाकोट जिल्ला, नर्जामण्डप गा.वि.स. वडा नं.७ घर भई हाल नुवाकोट जिल्ला थानसिङ गा.वि.स वडा नं.८ माइतीघरमा बस्दै आएकी मेरी बहिनी अं. वर्ष २७ की .............. र निज ..............का छोरी तथा मेरा भान्जीहरू .............. र ..............समेत जना ३ लाई ललाई फकाई आर्थिक प्रलोभनमा पारी प्रतिवादीहरू मनोज परियार, कान्छा भन्‍ने रवि नेपाली र वसन्त परियारसमेत एकआपसमा मिली मिति २०६८।१२।१२ गते आफू बसेको स्थानबाट भारतमा लगी बिक्री गरेका हुँदा निज प्रतिवादीहरूलाई पक्राउ गरी कानूनबमोजिम कारबाही गरिपाउँ भन्‍ने भैरवबहादुर नेपालीको जाहेरी दरखास्त परेको देखिन्छ । यसरी नै जाहेरवालाले जाहेरी बेहोरालाई पुष्टि हुने गरी अदालतमा आई बकपत्रसमेत गरेको देखिन्छ । प्रमाण ऐन, २०३१ को दफा १८ मा “कुनै काम घटना वा अवस्थाका सम्बन्धमा भएको तहकिकात वा जाँचबुझको सिलसिलामा प्रचलित नेपाल कानूनबमोजिम तयार भएको कुनै लिखतमा उल्लेख भएको कुनै कुरा सो कुरा व्यक्त गर्ने व्यक्ति साक्षीको रूपमा अदालतमा उपस्थित भई बयान गरेमा प्रमाणमा लिन हुन्छ” भन्ने व्यवस्था उल्लेख भएको परिप्रेक्ष्यमा जाहेरवालाको बकपत्रलाई प्रमाणमा लिनुपर्ने हुन्छ । 

४. अनुसन्धानमा बयान गर्दा प्रतिवादीहरूले पीडित र पीडितका छोरीहरूसमेतलाई सिमला नाम गरेकी एकजना महिलाको घरमा पुर्‍याएपछि निज महिलासँग वसन्तले पैसा लिइसकेँ, अब हामी जाउँ, हाम्रो काम भयो भनी हामीहरूलाई बताए । वसन्तले म र मनोज परियारलाई दिल्लीको बसपार्क नजिक आनन्द बिहार भन्‍ने ठाउँमा लगी पीडित ..............लाई बिक्री गरेको सिमला भन्‍ने महिलासँग भा.रू.१०,०००।- रकम लिएको छु भनी बताई हामी २ जनालाई रू.२५००।- का दरले रकम दिएका हुन् भनी कसुरमा साबित भई बयान गरेको 

देखिन्छ । अदालतमा बयान गर्दा प्रतिवादी वसन्त परियार आफू उक्त समयमा भारतमा नै रहेको म नेपाल आएको थिइनँ । मेरो उनीहरूसँग भेटघाट पनि भएको छैन । मैले जाहेरवालाकी बहिनी तथा भाञ्जीहरूलाई विदेशमा लगी बिक्री गरेको होइन छैन भनी alibi को जिकिर लिएको देखिन्छ भने .............. र निजका छोरीहरूलाई मसमेत भई भारतसम्म सँगै गएका हौं । वसन्तको भाइको होटलमा राखेको थियो त्यहाँबाट वसन्तले कहाँ लग्यो के गर्‍यो थाहा भएन । हामीले बिक्री गरेको होइन भनी प्रतिवादी मनोज परियार र कान्छा भन्ने रवि नेपालीले सुरू अदालतसमक्ष बयान गर्दा कसुरमा इन्कार रहेपनि अनुसन्धानमा भएको साबितीलाई अन्यथा पुष्टि गर्न सकेको अवस्था  देखिएन ।

५. मलाई प्रतिवादीमध्येका मनोज परियारले फकाएका थिए र भारत जाने क्रममा प्रतिवादीमध्येका तिनै जना साथमा थिए । मलाई दिल्लीको वसन्त परियारको भाइको होटल देखाई अर्को मानिसको घरमा छोडी गएका हुन् । प्रतिवादीहरूलाई कानूनबमोजिम सजाय हुनुपर्छ भनी पीडित ..............ले सुरू अदालतसमक्ष बकपत्र गरेको देखिन्छ भने .............. हराएको सम्बन्धमा बुझ्दै जाँदा प्रतिवादीहरूसमेतले निज .............. र निजका छोरीहरूलाई ललाई फकाई आर्थिक प्रलोभनमा पारी भारतमा लगी बेचेको भन्‍ने बुझिन आयो । प्रतिवादीहरूलाई सजाय हुनुपर्छ भनी बुझिएका राजकुमार नेपाली, सरस्वती दर्जी र राजकुमार परियारसमेतले अनुसन्धान र अदालतमा बकपत्रसमेत गरिदिएको देखिन्छ । 

६. यी पीडितसँगै तीनैजना प्रतिवादीहरू सँगसँगै भारतमा गएको भन्‍ने कुरा प्रतिवादीहरू मनोज र रवि नेपालीको बयान र पीडितको बकपत्रबाट समेत पुष्टि भएको पाइन्छ । प्रतिवादी वसन्तले विवाह गरेको बहाना गरी पीडितलाई यी ३ जना प्रतिवादीहरू मिली भारतमा लगेको उल्लिखित तथ्यबाट पुष्टि भएको पाइन्छ । मानव बेचबिखन तथा ओसारपसार जस्तो कार्य कुनै सामान ढुवानी गरी बिक्री गर्ने जस्तो विषय होइन । यस्तो कार्य सङ्गठित रूपमा विभिन्‍न व्यक्तिहरूको छुट्टाछुट्टै भूमिकाबाट अन्तमा कार्यमा परिणत हुने सङ्गठित अपराध हो । मानव अधिकारसँग सम्बन्धित विभिन्‍न अन्तर्राष्ट्रिय दस्तावेजहरूमा नेपाल पक्ष बनेको अवस्था छ । नेपालले प्रतिज्ञा गरेका यस्ता अन्तर्राष्ट्रिय दस्तावेजहरूसमेतका आधारमा मानव बेचबिखन जस्तो सड्गठित रूपमा गरिने मानवता विरूद्धका सड्गठित अपराधले समाजमा दूरगामी असर पार्न सक्ने अवस्था हुँदा अन्य मिसिल संलग्न तथ्यबाट प्रतिवादीले कसुर गरेको देखिइरहेको अवस्थामा प्रतिवादीको इन्कारी बयान मात्रले प्रतिवादीले कसुरबाट उन्मुक्ति प्राप्त गर्न सक्ने अवस्था देखिँदैन ।

७. प्रतिवादीमध्येका वसन्त परियार नेपालीले सुरू अदालतसमक्ष बयान गर्दा घटना भएको भनिएको समयमा म भारतको पारगञ्‍ज भन्‍ने ठाउँमा थिएँ भनी Alibi को जिकिर लिएको पाइन्छ । प्रतिवादीले वारदातको समयमा आफू घटनास्थलमा नभई अन्यत्र छु भनी alibi को जिकिर लिन्छ भने सो जिकिरलाई प्रमाणित गर्ने भार पनि निज अभियुक्तउपर नै 

रहन्छ । त्यस्तो alibi को जिकिर तथ्यपरक, निश्चयात्मक तथा लिखित प्रमाणबाट समर्थित हुनसके मात्र सो जिकिर लिने व्यक्तिको पक्षमा प्रमाणयोग्य हुनसक्ने हुन्छ र सो जिकिर त्यस्तो निर्विवाद र तथ्यपरक प्रमाणबाट स्थापित हुन नसके त्यस्तो जिकिर लिने व्यक्तिको विरूद्ध नै प्रमाण लाग्दछ । जाहेरी बेहोरा, पीडितको बकपत्र, सहअभियुक्तको पोललगायत अन्य परिस्थितिजन्य प्रमाणबाट समेत निजको alibi को जिकिर खण्डित भइरहेको देखिन आयो । यस्तो अवस्थामा यी तीनैजना प्रतिवादीहरूको आपसी सल्लाह र संलग्नतामा पीडित ..............लाई भारत पुर्‍याई यी प्रतिवादीहरूबाट भारतमा बेचिएको भन्ने कुरा पुष्टि हुन आयो ।

८. यस सम्बन्धमा भएको कानूनी व्यवस्थालाई हेर्दा मानव वेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ३ मा "मानव बेचबिखन र ओसारपसार गर्न नहुने (१) कसैले पनि मानव बेचबिखन र ओसारपसार गर्नु गराउनु हुँदैन । (२) कसैले उपदफा (१) बमोजिमको कार्य गरेमा यस ऐनबमोजिमको कसुर गरेको मानिनेछ ।" भन्ने व्यवस्था रहेको देखिन्छ । त्यसैगरी सोही ऐनको दफा ४ को उपदफा (१) मा कसैले देहायको कुनै कार्य गरेमा मानव बेचबिखन गरेको मानिनेछ भनी देहाय (क) मा “कुनै पनि उद्देश्यले मानिस बेच्ने वा किन्ने” भन्ने व्यवस्था रहेको देखिन्छ भने सोही ऐनको दफा ४ को उपदफा (२) मा "कसैले देहायको कुनै कार्य गरेमा मानव ओसारपसार गरेको मानिनेछ" भनिएको र देहायको खण्ड (क) मा “किन्ने वा बेच्ने उद्देश्यले मानिसलाई विदेशमा लैजाने” भन्ने व्यवस्था रहेको देखिन्छ । प्रतिवादीले पीडितहरूलाई मानव बेचबिखन र ओसारपसार गरी पीडितहरूलाई विदेश भारतमा लगी बिक्री गर्ने कार्य गरेको देखिँदा निजको उक्त कार्यमा प्रस्तुत दफा आकर्षित हुने देखिन्छ ।

९. प्रतिवादीहरूले उक्त कसुर गरेको अवस्थामा निजलाई के कस्तो सजाय गर्ने भन्नेतर्फ हेर्दा मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा १५ को उपदफा १ मा दफा ३ बमोजिमको कसुर गर्ने व्यक्तिलाई देहायबमोजिम सजाय हुनेछ भनी र देहाय (ङ) मा किन्न, बेच्न वा वेश्यावृत्तिमा लगाउने उद्देश्यले मानिसलाई, (१) विदेश लैजानेलाई दश वर्षदेखि पन्ध्र वर्षसम्म कैद र पचास हजार रूपैयाँदेखि एक लाख रूपैयाँसम्म जरिवाना र बालबालिका लगेको भए पन्ध्र वर्षदेखि बीस वर्षसम्म कैद र एक लाख रूपैयाँदेखि दुई लाख रूपैयाँसम्म जरिवाना र देहाय (क) मा “मानिस किन्ने वा बेच्नेलाई बीस वर्ष कैद र दुई लाख रूपैयाँ जरिवाना” को सजायको व्यवस्था रहेको छ । प्रतिवादीहरूले पीडितालाई बेच्नका लागि भारत लगेको र बिक्री गरेको पुष्टि भएको अवस्था देखिँदा निजहरूको कसुरका सम्बन्धमा ऐनका उल्लिखित दफाहरू आकर्षित हुने देखिन्छ ।

१०. यस सम्बन्धमा यस अदालतबाट “घटनाबाट पीडित व्यक्तिले घटनाको तत्कालपछि व्यक्त गरेको कुरा अदालतले प्रमाण ऐन, २०३१ को दफा १०(१)(ख) बमोजिम प्रत्यक्ष प्रमाणको रूपमा लिनुपर्ने, आफूलाई बिक्री गरेको ठाउँबाट भागी काठमाडौं आई प्रहरीसमक्ष व्यक्त गरेको कुरा अदालतमा सनाखत गरी दिएको र पछि साक्षीसरह अदालतमा उपस्थित भई सोहीबमोजिम बकपत्र गरी दिएकोसमेत अवस्थामा निजको सो कथन प्रमाण ऐन, २०३१ को दफा १०(१)(ख) बमोजिम प्रमाणमा ग्रहण गर्नुपर्ने हुन्छ” (ने.का.प.२०६९ अंक १० नि.नं.९०६४) भन्ने सिद्धान्तसमेत प्रतिपादन भएको र उक्त सिद्धान्त प्रस्तुत मुद्दामा समेत आकर्षित हुने देखिन्छ । मुद्दाको तथ्य एवं कानूनी व्यवस्था र यस अदालतबाट प्रतिपादित सिद्धान्तसमेतका आधारमा प्रतिवादीहरू कसुरदार रहेको पुष्टि भएको अवस्थामा निजहरूलाई कसुरदार ठहर्‍याई जनही २० वर्ष कैद र २ लाख जरिवानाको सजाय हुने र  ऐनको दफा १७ बमोजिम प्रतिवादीहरूबाट जनही रू.१,२५,०००।- (एक लाख पच्चीस हजार रूपैयाँ) पीडितले क्षतिपूर्ति पाउनेसमेत गरी भएको सुरू जिल्ला अदालतको फैसला सदर हुने ठहर्‍याई पुनरावेदन अदालत पाटनबाट भएको फैसलालाई अन्यथा भन्न नमिल्ने हुँदा अभियोग दाबीबाट सफाइ पाउँ भन्ने पुनरावेदक प्रतिवादी तर्फबाट उपस्थित हुनुभएका विद्वान् अधिवक्ताको बहस जिकिरसँग सहमत हुन सकिएन ।

११. अतः उल्लिखित तथ्य एवं कानूनी व्यवस्थाको रोहबाट हेर्दा किटानी जाहेरी दरखास्त, प्रतिवादीले अनुसन्धानका क्रममा गरेको साबिती बयान, जाहेरवाला एवम् पीडितको बकपत्रसमेतका आधार प्रमाणबाट मिति २०७०/१२/६ मा यी पुनरावेदक प्रतिवादीहरूलाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ३, ४(१)(क) ४(२)(क) को कसुरमा ऐ, ऐनको दफा १५(१) (क) बमोजिम जनही २० वर्ष कैद र २ लाख रूपैयाँ जरिवानाको सजाय हुने र ऐजन ऐनको दफा १७ बमोजिम प्रतिवादीहरूबाट जनही रू.१,२५,०००।- (एक लाख पच्चीस हजार रूपैयाँ) पीडितले क्षतिपूर्तिसमेत पाउने गरी भएको सुरू जिल्ला अदालतको फैसला सदर हुने ठहर्‍याई पुनरावेदन अदालत पाटनबाट मिति २०७१।१२।१७ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक प्रतिवादीहरूको पुनरावेदन जिकिर पुग्न सक्दैन । दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाई दिनू ।

 

उक्त रायमा सहमत छु ।

न्या. टंकबहादुर मोक्तान

 

इजलास अधिकृत : राजकुमार दाहाल

इति संवत्‌ २०७५ साल फागुन २६ गते रोज १ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु