निर्णय नं. १०२४३ - वैदेशिक रोजगार ठगी

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री दीपककुमार कार्की
माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल
फैसला मिति : २०७६।१।१९
०६८-CR-०१०२
मुद्दाः- वैदेशिक रोजगार ठगी
पुनरावेदक / वादी : बुद्धिमान सुनुवारको जाहेरीले नेपाल सरकार
विरूद्ध
प्रत्यर्थी / प्रतिवादी : जिल्ला काठमाडौं गोलढुङ्गा गा.वि.स. वडा नं. १ बस्ने तेजबहादुर तिवारीको श्रीमती टिकामाया सुनुवार (तिवारी)
शंकास्पद कथनका आधारमा फौजदारी दायित्वमा सजाय गर्नु फौजदारी कानूनको मान्य सिद्धान्तविपरीत हुन जाने ।
(प्रकरण नं.६)
वैदेशिक रोजगारीमा पठाउने प्रयोजनका लागि रकम लिएको तथ्य स्थापित नभए पनि लिखतमा उल्लिखित रकम लिएको कुरा अन्यथा प्रमाणित नभएसम्म प्रतिवादीलाई देवानी दायित्व (Civil Liability) अन्तर्गत लिखतबमोजिमको रकम कानूनबमोजिम असुलउपर गर्न पाउने नै हुँदा अभियोग दाबीबमोजिम प्रतिवादीले यस मुद्दाबाट फौजदारी दायित्व (Criminal Liability) बेहोर्नु पर्ने अवस्था नदेखिने ।
(प्रकरण नं.८)
पुनरावेदक / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री महेशप्रसाद खत्री
प्रत्यर्थी / प्रतिवादीका तर्फबाट :
अवलम्बित नजिर :
ने.का.प.२०७३, अंक १, नि.नं.९९३९
ने.का.प.२०७५, अंक ५, नि.नं.१००१७
सम्बद्ध कानून :
वैदेशिक रोजगार ऐन, २०४२
वैदेशिक रोजगार ऐन, २०६४
सुरू तहमा फैसला गर्नेः
सदस्य श्री अग्नीप्रसाद थपलिया
सदस्य डा. श्री रवि शर्मा अर्याल
श्री वैदेशिक रोजगार न्यायाधिकरण
फैसला
न्या.दीपककुमार कार्की : वैदेशिक रोजगार न्यायाधिकरणको मिति २०७१।८।२१ को फैसलाउपर वैदेशिक रोजगार ऐन, २०६४ को दफा ६६(२) र न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(क) बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्रको भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः-
तथ्य खण्ड
विपक्षीले मलाई वैदेशिक रोजगारमा बेलायत पठाउन भनी मिति २०६३।७।१४ गते मसँग रू.७९३,०००।- (सात लाख त्रियानब्बे हजार) र सक्कल राहदानीसमेत लिनु भई ३ महिनाभित्र विदेशमा रोजगारीको लागि पठाउने छु, पठाउन नसके वैदेशिक रोजगार ऐनबमोजिम गरी उक्त रकम र क्षतिपूर्ति लिनुहोला भन्ने बेहोराको लिखत कागज गरिदिनु भएकोमा बारम्बार ताकेता गर्दासमेत मलाई रोजगारमा नपठाई रकम र राहदानीसमेत नदिई आलटाल गरी ठगी गरेकोले विपक्षीलाई विभागबाट पक्राउ गरी उक्त रकम रू. ७९३,०००।- (सात लाख त्रियानब्बे हजार) र सोको ५०% ले हुने हर्जाना क्षतिपूर्ति रू.३,९६,५००।- (तीन लाख छयानब्बे हजार पाँच सय) समेत जम्मा रू.११,८९,५००।- (एघार लाख उनान्नब्बे हजार पाँच सय) र सक्कल राहदानीसमेत दिलाई भराई निज विपक्षीले वैदेशिक रोजगार ऐन, २०६४ को दफा १० विपरीतको कार्य गरेकोले ऐ. ऐनको दफा ४३ बमोजिम हदैसम्मको सजाय गरिपाउँ भन्नेसमेत बेहोराको जाहेरवाला बुद्धिमान सुनुवारले वैदेशिक रोजगार विभागमा मिति २०६६।१०।४ मा दिएको जाहेरी दरखास्त ।
जाहेरवालासँग मैले रू.४,५०,०००।- (चार लाख पचास हजार) मात्र लिएको हो । मेरो पहिलाको श्रीमान् ब्रिटिस आर्मीमा काम गर्नुहुन्थ्यो, बहालमा रहँदै वहाँ बित्नुभयो । वहाँको बाँकी रकम तथा अन्य सुविधाहरू ब्रिटिस आर्मीको अफिसबाट लिनको लागि बुद्धिमान सुनुवारले लाग्ने खर्च लगानी गर्ने र ब्रिटिस आर्मीबाट आउने रकम हामी दुवैले आधा आधा बाँडी लिन मन्जुर भई निज बुद्धिमानले मलाई पैसा दिएका
हुन् । मैले ब्रिटिस आर्मीको अफिसमा गई काम गर्न नजान्ने भएकोले तेह्रथुम घर भएको बलहादुर लिम्बूलाई उक्त रकम दिएकी हुँ । त्यसपछि मसँग निजको सम्पर्क पनि छैन र ब्रिटिस आर्मीबाट पाउने सुविधा पनि पाएकी छैन । निज बुद्धिमान सुनुवारको पासपोर्ट मैले लिएकी पनि होइन । निजसँग रकम लिएकी हुँ तर वैदेशिक रोजगारमा पठाउन भनी लिएकी होइन । म पढेलेखेकी छैन, उक्त कागज मैले पढ्न जानिन, उनीहरूले पढेर पनि सुनाएनन्, घरायसी लेनदेन भनेकोले सही गरिदिएकी हुँ । निजसँग लिएको रू.४,५०,०००।- मध्ये रू.१,२३,०००।- फिर्ता गरिसकेकी छु, बाँकी रकम केही समय पाएपछि फिर्ता गर्नेछु । वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न इजाजत लिएकी छैन भन्नेसमेत बेहोराको वैदेशिक रोजगार विभागका अनुसन्धान अधिकृतसमक्ष प्रतिवादी टीकामाया सुनुवार (तिवारी) ले गरेको बयान कागज ।
इजाजत नलिई वैदेशिक रोजगारमा पठाउने गरी गरिदिएको लिखतसमेतका आधार प्रमाणबाट निज प्रतिवादी टीकामाया सुनुवार (तिवारी) ले जाहेरवाला बुद्धिमान सुनुवारलाई वैदेशिक रोजगारमा बेलायत पठाउन भनी रू.७९३,०००।- (सात लाख त्रियानब्बे हजार) बुझिलिई वैदेशिक रोजगारमा पठाउन नसकेको र आफूले लिएको रकमसमेत फिर्ता नगरी ठगी गरेको कुरा जाहेरी दरखास्त, सोसाथ पेस हुन आएको लिखत तथा प्रतिवादी टीकामाया सुनुवार तिवारी) ले मौकामा अनुसन्धान अधिकृतसमक्ष गरेको बयान मुताबिक आफूले जाहेरवालाबाट रू.४ लाख ५० हजार लिएकोसम्म साबित भएको देखिन्छ । जाहेरी र सोसँग संलग्न लिखत मुताबिक निज प्रतिवादीले जाहेरवालाबाट रू.७ लाख ९३ हजार नै लिई जाहेरवालालाई ठगी गरेको पुष्टि भएकोले प्रतिवादी टीकामाया सुनुवार (तिवारी) लाई वैदेशिक रोजगार ऐन, २०६४ को दफा १० र ४३ विपरीतको कसुरमा सोही ऐनको दफा ४३ बमोजिम र वैदेशिक रोजगार ऐन, २०४२ को दफा २४(२) को कसुरमा सोही ऐनको दफा २४(२) र ४३ बमोजिम सजायको मागदाबीसाथ ठगी भएको रकम रू.७,९३,०००।- (सात लाख त्रियानब्बे हजार) र सोको ५०% ले हुन आउने हर्जाना रू.३,९६,५००।- (तीन लाख छयानब्बे हजार पाँच सय) समेत जम्मा रू.११,८९,५००।- (एघार लाख उनान्नब्बे हजार पाँच सय) निज प्रतिवादीबाट जाहेरवालालाई दिलाई भराई पाउँ भन्नेसमेत बेहोराको अभियोग पत्र ।
जाहेरवाला बुद्धिमान सुनुवार मैले ५ वर्ष अगाडिदेखि टीका लगाई आएको भाइ पर्दछन् । निज जाहेरवालालाई मैले वैदेशिक रोजगारका लागि बेलायत पठाउन भनी रू. ७९३,०००।- लिएको भन्ने कुरा झुठा हो । सत्य कुरा के हो भने २०६३ साल भदौ महिनातिर मेरो श्रीमान् जडिबुटीको काम गर्ने हुँदा आवश्यक परेकोले जाहेरवालासँग तीन पटक गरेर जम्मा रू.२५,०००।- (पच्चीस हजार) रकम लिएकी थिएँ । सो रूपैयाँ मैले तीन पटक गरेर फिर्ता गरेकी
छु । सो रूपैयाँ दिइसकेपछि निजले ब्याजसमेत दिनुपर्छ भनी माग गरेका थिए, मैले भएको बेला दिउँला भनेकी थिएँ । यतिकैमा निजले बालाजु चौकीमा लगी १ दिन १ रात राखी मिलापत्र गर्नुपर्दछ भनी त्यस्तो कागज गराएछन् पढी नसुनाई बेलुकातिर निजका आफ्ना मानिसहरू भेला जम्मा भई मेरो हात समाई सहिछाप गराएका थिए । यो यस्तो बेहोराको कागज भनेर मलाई केही थाहा थिएन, मैले २०६६।१०।६ गते मात्र पक्राउ परेपछि थाहा पाएकी हुँ । अनुसन्धान अधिकृतसमक्ष गरेको बयान बेहोरा त्यस बखत आत्तिएर भनेकी हुँ । रू.४,५०,०००।- लिएको, रू.१,२३,०००।-तिरेको, तिर्न बाँकी केही होइन । डर देखाएकोले मैले त्यसो भनेकी हुँ । मेरो पहिलेको श्रीमान् ब्रिटिस आर्मीमा भएको कुरा मात्र सही हो भन्नेसमेत बेहोराको प्रतिवादी टीकामाया सुनुवार (तिवारी) ले वैदेशिक रोजगार न्यायाधिकरणमा गरेको बयान ।
प्रतिवादी टीकामाया सुनुवार (तिवारी) का साक्षी खेमराज सुनुवार र सागर सुनुवारले तथा जाहेरवाला बुद्धिमान सुनुवारले गरेको बकपत्र मिसिल सामेल रहेको ।
प्रतिवादीले जाहेरवालाबाट वैदेशिक रोजगारमा पठाउने प्रयोजनको लागि रकम लिएको नदेखिएको एवम् लेनदेनमा सम्बद्ध निकायमा उजुरी गरे कानूनबमोजिम हुने नै हुँदा अभियोग दाबीबमोजिम प्रतिवादीले यस मुद्दाबाट दायित्व बेहोर्नु पर्ने देखिन आएन । अतः प्रतिवादी टीकामाया सुनुवार (तिवारी) ले आरोपित कसुरबाट सफाइ पाउने ठहर्छ भन्नेसमेत बेहोराको वैदेशिक रोजगार न्यायाधिकरणबाट मिति २०६७।७।२३ मा भएको फैसला ।
प्रतिवादी टिकामाया सुनुवार (तिवारी) ले २०६३।७।१४ गते बुद्धिमान सुनुवारलाई तमसुक गरी रू.७,९३,०००।- लिँदा आजका मितिले ३ महिनाभित्र विदेशमा रोजगारीका लागि पठाउँछु पठाउन नसके वैदेशिक रोजगार ऐन नियमअनुसार भोग्न मन्जुर छु भनी कागज गरेको देखिन्छ । उक्त समयपछि विदेशमा नपठाएपछि प्रतिवादी विरूद्ध जाहेरवालाले जाहेरी दिई तमसुक हुँदाका बखतको वैदेशिक रोजगार ऐन, २०४२ को दफा २४(२) र मुद्दा दर्ता हुँदाको वैदेशिक रोजगार ऐन, २०६४ को दफा १० र ४३ विरूद्धको कसुर करार गरी अभियोजन गरिएको हो । प्रतिवादीले कसुर र सजायबाट बच्न लेनदेनको कुराको बयान गरी न्यायमूर्तिलाई भ्रम सिर्जना गरेको कुरा फैसलाबाट देखिन्छ । उक्त रकम वैदेशिक रोजगारका लागि बाहेक प्रतिवादीले लिएको भन्ने कतैबाट पुष्टि हुने आधार
छैन । यस्तो अवस्थामा मिथ्या तर्क उल्लेख गरी आत्मनिष्ठ भई गरेको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी प्रतिवादीलाई सुरू अभियोग मागदाबीबमोजिम सजाय गरिपाउँ भन्नेसमेत बेहोराको वादी नेपाल सरकारको तर्फबाट यस अदालतमा पर्न आएको पुनरावेदनपत्र ।
यसमा प्रतिवादीउपर किटानी जाहेरी परेको, वैदेशिक रोजगारमा पठाई दिने सर्त उल्लेख गरी रकम लिएको भन्ने लिखतबाट देखिएको र जाहेरवालाले जाहेरी बेहोरा समर्थन गरी गरेको बकपत्रसमेतका प्रमाणको समुचित मूल्याङ्कन नै नगरी दाबीको कसुरबाट सफाइ दिने गरी भएको वैदेशिक रोजगार न्यायाधिकरणको फैसला प्रमाणको मूल्याङ्कनको रोहमा विचारणीय भई फरक पर्न सक्ने देखिँदा मुलुकी ऐन, अदालती बन्दोबस्तको २०२ नं. को प्रयोजनार्थ प्रत्यर्थी झिकाई आए वा अवधि व्यतित भएपछि नियमानुसार पेस गर्नु भन्ने बेहोराको यस अदालतबाट मिति २०७४।१०।१७ मा भएको आदेश ।
ठहर खण्ड
नियमबमोजिम पेसी सूचीमा चढी निर्णयार्थ इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी नेपाल सरकारतर्फबाट उपस्थित हुनु भएका विद्वान् उपन्यायाधिवक्ता श्री महेशप्रसाद खत्रीले प्रतिवादी टिकामाया सुनुवारले २०६३।७।१४ गते बुद्धिमान सुनुवारबाट रू.७,९३,०००।- लिई सो रकमबापत ३ महिनाभित्र वैदेशिक रोजगारीका लागि बेलायतमा पठाउने छु पठाउन नसके वैदेशिक रोजगार ऐन नियमअनुसार भोग्न मन्जुर छु भनी कागज गरिदिएको अवस्था छ । उक्त समयपछि पनि विदेश नपठाएपछि प्रतिवादी विरूद्ध मुद्दा दायर भएको छ । यस्तो अवस्थामा प्रतिवादीलाई तत्कालीन वैदेशिक रोजगार ऐन, २०४२ को दफा २४(२) र मुद्दा दर्ता हुँदाको वैदेशिक रोजगार ऐन, २०६४ को दफा १० र ४३ बमोजिम कारबाही हुनुपर्नेमा प्रतिवादीको मिथ्या तर्कको आधारमा सफाइ दिने गरी भएको वैदेशिक रोजगार न्यायाधिकरणको फैसला त्रुटिपूर्ण भएकोले बदर हुनुपर्छ भनी बहस प्रस्तुत गर्नुभयो ।
यसमा प्रतिवादीले जाहेरवालाबाट वैदेशिक रोजगारमा पठाउने प्रयोजनको लागि रकम लिएको नदेखिएको एवम् लेनदेनमा सम्बद्ध निकायमा उजुरी गरे कानूनबमोजिम हुने नै हुँदा अभियोग दाबीबमोजिम प्रतिवादीले यस मुद्दाबाट दायित्व बेहोर्नु पर्ने नदेखिँदा प्रतिवादी टीकामाया सुनुवार (तिवारी) ले आरोपित कसुरबाट सफाइ पाउने ठहर्छ भन्ने वैदेशिक रोजगार न्यायाधिकरणबाट मिति २०६७।७।२३ मा भएको फैसलामा चित्त नवुझाई उक्त फैसला बदर गरी प्रतिवादीलाई अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भनी वादी नेपाल सरकारको यस अदालतमा पुनरावेदन पर्न आएको देखियो ।
विद्वान् उपन्यायाधिवक्ताको बहस सुनी सुरू मिसिल र पुनरावेदन पत्रसहितको मिसिल संलग्न सम्पूर्ण कागज प्रमाणहरू अध्ययन गरी हेर्दा, वैदेशिक रोजगार न्यायाधिकरणबाट भएको फैसला मिलेको छ, छैन ? र वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्ने हो, होइन ? भन्ने सम्बन्धमा निर्णय गर्नुपर्ने देखिन आयो ।
२. निर्णयतर्फ विचार गर्दा, तपाइँ बुद्धिमान सुनुवारलाई आजका मितिले ३ महिनाभित्र वैदेशिक रोजगारमा पठाई दिनेछु पठाउन नसके ऐन नियमबमोजिम बुझी लिएको रकम र क्षतिपूर्तिसमेत बुझाउने छु भन्ने बेहोराको कागज गरी बुद्धिमान सुनुवारबाट टिकामाया सुनुवार (तिवारी) ले मिति २०६३।०७।१४ मा रू.७,९३,०००।– लिएकोमा तोकिएको समयपछि पनि वैदेशिक रोजगारमा नपठाएको कारणबाट टिकामाया सुनुवारले वैदेशिक रोजगार ठगी गरेको आरोपमा बुद्धिमान सुनुवारको जाहेरीबाट प्रस्तुत मुद्दाको उठान भएको देखिन्छ । सोही जाहेरीका आधारमा अनुसन्धान तहकिकात भई निज टिकामाया सुनुवारउपर वैदेशिक रोजगार ऐन, २०६४ को दफा १० विपरीतको कार्यमा ऐ.ऐनको दफा ४३ एवं वैदेशिक रोजगार ऐन, २०४२ को दफा २४(२) बमोजिम सजाय गरी हर्जानासहित रू.११,८९,५००।– बिगो भराई पाउन अभियोगपत्र दायर भएको देखिन्छ । मेरो पहिलाको श्रीमान् ब्रिटिस आर्मीमा काम गर्नुहुन्थ्यो । वहालमा रहँदै बित्नुभयो । वहाको बाँकी रकम तथा अन्य सुविधाहरू ब्रिटिस आर्मीको अफिसबाट लिनको लागि बुद्धिमान सुनुवारले लाग्ने खर्च लगानी गर्ने र ब्रिटिस आर्मीबाट आउने रकम हामी दुवैले आधा आधा बाँडी लिने गरी बुद्धिमानले मलाई रू.४,५०,०००।- रकम दिएको हो सोमध्ये १,२३,०००।– फिर्ता गरिसकेकी छु । ब्रिटिस आर्मीबाट हालसम्म रकम आएको छैन । बुद्धिमानको पासपोर्ट मैले लिएकी छैन रकम लिएको हुँ तर वैदेशिक रोजगारमा पठाउने भनी लिएको होइन भनी अधिकारप्राप्त अधिकारीसमक्ष बयान गरेको र न्यायाधिकरणसमक्ष बयान गर्दा जडिबुटीको व्यापार गर्नको लागि मैले रू.२५,०००।– मात्र लिएकी हुँ सो रकम तीन पटक गरेर फिर्ता गरिसकेकी छु भनी बुद्धिमानवाट दाबीबमोजिमको रकम लिएको नभई थोरै रकम लिएको भन्दै कसुरमा इन्कार रही बयान गरेको देखिन्छ ।
३. वैदेशिक रोजगारीमा पठाउने सर्तमा रकम लिएको नभई अन्य प्रयोजनका लागि थोरै रकम लिएको भनी बयान गरे पनि मिति २०६३।७।१४ मा आफूले जाहेरवालालाई गरिदिएको तमसुकलाई अन्यथा प्रमाणित गराउन सकेको नदेखिएको र अधिकारप्राप्त अधिकारी र न्यायाधिकरणसमक्ष बयान गर्दा रकम लेनादेना भएको कुरामा स्वीकार गरेको अवस्थाले प्रतिवादीले रकम लिएको तथ्य स्थापित हुन आएको छ ।
४. मिति २०६३।७।१४ मा गरिदिएको भनिएको लिखत हेर्दा, “तपाइँ बुद्धिमान सुनुवारलाई वैदेशिक रोजगार व्यवसायमा स्वीकृति प्राप्त मुलुक बेलायतमा वैदेशिक रोजगारीमा पठाउनबापत भनी आजका मितिमा रू.७,९३,०००।–रूपैयाँ लिएको ठिक साँचो हो तपाइँलाई आजका मितिले तीन महिनाभित्र विदेशमा रोजगारीका लागि पठाउने छु, पठाउन नसके वैदेशिक रोजगार ऐन, नियमबमोजिम कारबाही अघि बढाउनु भनी राजीखुसीले कागज गरिदिएको छु” भन्ने बेहोरा रहेको देखिन्छ । यी प्रतिवादीको अधिकारप्राप्त अधिकारीसमक्ष र न्यायाधिकरणमा गरेको बयानमा विदेश पठाउन भनी जाहेरवालाको पासपोर्ट लिएको होइन भन्नेसमेत बेहोरा उल्लेख गरेको देखिन्छ । जाहेरवालाले वैदेशिक रोजगारमा बेलायत पठाउन भनी रकम र पासपोर्ट लिएकोमा विदेश नपठाई पासपोर्टसमेत फिर्ता नदिएको भनी जाहेरीमा उल्लेख गरेकोमा बकपत्र गर्दा स.ज. ८ मा “राहदानीको सक्कल मसँग छ”, भन्ने र स.ज.९ मा “राहदानी मैले टिकामायालाई दिएको छैन” भन्ने बेहोरा उल्लेख गरेकोले बकपत्र र जाहेरी बेहोरा नै विरोधाभाष रहेको देखियो । जाहेरी बेहोरा र अदालतमा गरेको बकपत्रमा एकरूपता नभई पृथक बेहोरा उल्लेखन भइरहेको अवस्थाले जाहेरवाला आफ्नो भनाइमा अडिग नरहेको र जाहेरी पुष्टि गरी आफ्नो भनाइ खम्बिर गर्न सकेको पाइएन ।
५. यस सम्बन्धमा नेपाल सरकार विरूद्ध योगेन्द्रबहादुर तामाङ भएको वैदेशिक रोजगार मुद्दा (ने.का.प.२०७३, भाग ६०, अंक १, नि.नं. ९९३९) “अपराधको सूचनाको रूपमा रहेको जाहेरी दरखास्त र सो जाहेरी समर्थनको लागि पेस भएको कागजको बेहोरालाई निज जाहेरवालाले अदालतमा उपस्थित भई बकपत्र गर्दाका अवस्थामा होस् वा कुनै कागज गर्दाको अवस्थामा होस् अघिपछिका भनाईमा एकरूपता र तादाम्यता हुनु विश्वसनीय मान्न सकिने” भनी यस अदालतको संयुक्त इजलासबाट फैसला भएको देखिन्छ ।
६. माथि उल्लेख भएबमोजिम जाहेरवालाको एउटा कथन बेहोरा देवानी दायित्व (Civil Liability) सँग सम्बन्धित र अर्को भनाइ फौजदारी दायित्व (Criminal Liability) सँग सम्बन्धित देखिन आएको अवस्थामा मुद्दा मामिलामा कुन दायित्व आकर्षित हुने हो भन्ने कुरा विधिशास्त्रीय दृष्टिकोणबाट पनि महत्त्वपूर्ण र विचारणीय हुने हुँदा सो दृष्टिले समेत हेर्नुपर्ने
हुन्छ । एकातर्फ जाहेरवालाको कथनबाट नै पृथकपृथक दायित्वको अवस्था देखिएको र अर्कोतर्फ प्रतिवादीले वैदेशिक रोजगारको व्यवसाय गर्ने गरेको पुष्टि नभएको र जाहेरवालालाई रोजगारीमा पठाउने गरी भएको विवादित लिखतबाहेकका अन्य आदान प्रदान र कारोबार (Transmit & Transaction) गरेकोसमेत पुष्टि हुने कागज र व्यवहार नभएको अवस्थामा सो जाहेरी बेहोरामा वस्तुनिष्ठता नभई खण्डित भएको
छ । यसरी अभियोग दाबी पुष्टि हुन नसकेको अवस्थामा वैदेशिक रोजगारको लागि रकम लिएको भन्ने जाहेरी बेहोराको तथ्य नै शंकास्पद र सन्देहपूर्ण देखिन आएको छ । त्यस्तो शंकास्पद कथनका आधारमा फौजदारी दायित्वमा सजाय गर्नु फौजदारी कानूनको मान्य सिद्धान्तविपरीत हुन जान्छ । यसका अतिरिक्त प्रतिवादीले गरिदिएको भनिएको लिखतमा ल्याप्चे सहिछाप मात्र लागेको र निजको पति वा अन्य कुनै नातेदार रोहबरमा रहेको नदेखिनुले वैदेशिक रोजगारमा पठाउनका लागि नै रकम र पासपोर्ट लिएको भन्ने तथ्य भरपर्दो प्रमाणबाट पुष्टि हुन आएन ।
७. जहाँसम्म लिखतमा वैदेशिक रोजगारीमा बेलायत पठाउने भन्ने बेहोरातर्फ विचार गरिएन भन्ने पुनरावेदन जिकिर छ सो सम्बन्धमा विचार गर्दा, कुनै लेनादेना वा अन्य करारीय सर्तसहितको कारोबार भई सो सम्बन्धमा लिखत तयार हुँदा लिखतबमोजिमको परिपालना वा कार्यान्वयन होस् भन्ने उद्देश्यले दबाब स्वरूप कहिलेकाहीँ वैदेशिक रोजगारमा पठाइ दिने भन्नेसमेत वाक्यांश राखिन सक्छ । उक्त वाक्यांशलाई मात्र आधार मान्ने हो र अन्य परिस्थितिलाई ख्याल नगर्ने हो भने एक पक्षलाई अन्याय पर्न सक्छ । यस सम्बन्धमा भवानी काफ्ले तुलाधर विरूद्ध नेपाल सरकार भएको वैदेशिक रोजगार मुद्दा (ने.का.प.२०७५ भाग ६०, अंक ५, नि.नं.१००१७) मा “विवादमा आएको कुनै पनि लिखतमा लेखिएको बेहोरा अवस्था परिस्थितिअनुसार फरक फरक प्रकृतिबाट अन्य तथ्ययुक्त एवं वस्तुनिष्ट प्रमाणबाट समर्थित हुनु पनि आवश्यक हुन्छ । सदैव लिखतको शब्दबाट मात्र फौजदारी दायित्वको सिर्जना हुँदैन, यसको लागि मनसाय र क्रियाको साथसाथै पक्षहरूको परिस्थितिजन्य प्रमाणको विश्वसनीयता आवश्यक हुन्छ । व्यक्ति व्यक्तिबिच भएको लिखतको हरेक अवस्थामा वैदेशिक रोजगारी भन्ने शब्दको प्रयोग हुनासाथ यान्त्रिक तवरबाट सजाय गरिहाल्ने प्रवृत्ति विकास भएमा न्याय मर्ने सम्भावना रहन्छ । पक्षहरूले आफ्नो लेनदेन वा अन्य मनसायबाट खडा भएको लिखतमा त्यसको कार्यान्वयनमा दबाब सिर्जना गर्ने उद्देश्यले वैदेशिक रोजगार शब्दको प्रयोग गर्दैमा स्वतः दण्डनीय अपराध मानिएमा यसको दुरूपयोग भई परिबन्दबाट निरपराधी पनि सजायको भागी हुन जानेतर्फ अनुसन्धान एवं अभियोजनकर्ता अदालत तथा न्यायिक निकाय सदैव सचेत हुनुपर्छ” भनी यस अदालतको संयुक्त इजलासबाट फैसला भएको अवस्था छ ।
८. वैदेशिक रोजगारीमा पठाउने प्रयोजनका लागि रकम लिएको तथ्य स्थापित नभए पनि लिखतमा उल्लिखित रकम लिएको कुरा अन्यथा प्रमाणित नभएसम्म प्रतिवादीलाई देवानी दायित्व (Civil Liability) अन्तर्गत लिखतबमोजिमको रकम कानूनबमोजिम असुलउपर गर्न पाउने नै हुँदा अभियोग दाबीबमोजिम प्रतिवादीले यस मुद्दाबाट फौजदारी दायित्व (Criminal Liability) बेहोर्नु पर्ने अवस्था नदेखिँदा वैदेशिक रोजगार न्यायाधिकरणबाट प्रतिवादीले अभियोग दाबीबाट सफाइ पाउने गरी भएको फैसला अन्यथा मान्नु पर्ने अवस्था आएन । सो हुँदा विद्वान् उपन्यायाधिवक्ताले गर्नुभएको बहस जिकिर एवं यस अदालतबाट प्रत्यर्थी झिकाउँदा लिएको आधार बुँदासँग समेत सहमत हुन सकिएन ।
९. तसर्थ माथि दफा दफामा विवेचित तथ्य आधार र कारणबाट प्रतिवादी टिकामाया सुनुवार (तिवारी) ले अभियोग दाबीबाट सफाइ पाउने ठहर्याई वैदेशिक रोजगार न्यायाधिकरणबाट मिति २०६७।०७।२३ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । फैसलाको विद्युतीय प्रति अपलोड गरी दायरीको लगत काट्टा गरी मिसिल नियमानुसार गरी बुझाई दिनू ।
उक्त रायमा सहमत छु ।
न्या. हरिप्रसाद फुयाल
इजलास अधिकृत: चिन्तामणी शर्मा
इति संवत् २०७६ साल वैशाख १९ गते रोज ५ शुभम् ।